Author: Vishwanews.com

  • नेपालमा बलात्कारीलाई मृत्यदण्ड दिने कानुनबारे अध्ययन गर्न निर्देशन

    नेपालमा बलात्कारीलाई मृत्यदण्ड दिने कानुनबारे अध्ययन गर्न निर्देशन

    काठमाडौं । नेपालमा बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय दिनुपर्ने बहस अहिले उत्कर्षमा छ । ८ दिन अगाडी बझाङ खिकिलाको मन्दिरमा १२ वर्षिया सम्झना कामीको बलात्कारपछि भएको हत्याले नेपालमा पुनः एक पटक बालिका बलात्कार गर्ने माथि मृत्युदण्ड दिनुपर्ने कानुन बहसमा आएको हो ।

    संसदीय समितिले समेत यस घटनालाई गम्भीर रुपमा लिँदै नेपालमा बलात्कारीलाई मृत्युदण्डको सजाय ल्याउनुपर्ने पहल थालेको छ । संसदको महिला तथा सामाजिक समितिले बलात्कारीलाई मृत्युदण्ड दिने कानुनबारे अध्ययन गर्न सरकारलाई निर्देशन समेत दिएको छ ।

    बुधबार बसेको समिति बैठकले बलात्कारका घटनामा संलग्नलाई मृत्यु दण्ड दिन सम्भव हुने वा नहुने बारे अध्ययन गर्न सरकार र कानुन आयोगलाई निर्देशन दिएको छ ।

    समितिले बलात्कार एवं बलात्कारपछि हुने हत्याजस्ता जघन्य अपराधलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकारको गम्भीर चुनौती भन्दै बालबालिकालेखि वृद्धावस्थाका महिलामाथि बलात्कारका घटना हुनुको मुख्य कारण कमजोर कानुन र दण्ड सजाय हुनु र यस्ता घटनाको सहजै गैरकानुनी व्यवस्थापन हुनु भएको समेत मानेको छ ।

    यसअघि कंचनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्याको अभियुक्त खुलेआम हिँडिरहेको छ । उसको पहिचान, पक्राउ र कारवाहीमा समेत सरकार चुकेपछि पुनः यस्तै प्रकारका घटना दोहोरिन थालेका छन् ।

    बलात्कारीलाई मृत्युदण्ड दिने, नपुंशक बनाउनुपर्ने आवाज उठेको भन्दै समितिले नेपालको अन्तर्राष्ट्रिय प्रतिवद्धता, संवैधानिक व्यवस्था, पीडक र पीडितको मानव अधिकारका दृष्टिले कति सम्भव छ भन्ने विषयमा अध्ययन गर्न सरकारलाई निर्देशन दिएको हो ।

    मृत्युदण्ड सम्भव भए कसरी सम्भव छ र असम्भव भए कसरी असम्भव छ, मृत्युदण्ड वा नपुंशक बनाउने कानुनी व्यवस्था गर्दा त्यस्ता अपराध घट्ने सम्भावना कस्तो हुन्छ, यसको विकल्प के हुन सक्छ जस्ता विषयमा सकारात्मक तथा नकारात्मक पक्षबाट बहस चलाउन आवश्यक देखिएको समितिको निष्र्का रहेको छ ।

    उल्लिखित विषयलाई नागरिकस्तरमा छलफलमा ल्याई निश्कर्षमा पुर्‍याउन, अन्तर्राष्ट्रिय अभ्यास र हाम्रो आवश्यकताका सम्बन्धमा विस्तृतमा अध्ययन गर्न गराउन समिति नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय तथा नेपाल कानुन आयोगलाई निर्देशन दिइएको हो ।

  • पीसीआरमा शुल्क समायोजन नगरे ८ वटा ल्याब लाइसेन्स खारेज गर्ने सरकारको चेतावनी

    पीसीआरमा शुल्क समायोजन नगरे ८ वटा ल्याब लाइसेन्स खारेज गर्ने सरकारको चेतावनी

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढी शुल्क लिएको भन्दै आठ वटा प्रयोगशालालाई तत्काल शुल्क घटाउन निर्देशन दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। जागेश्रवर गौतमले पीसीआरको शुल्क घटाउन २४ घण्टे अल्टिमेटम दिएका हुन्।

    मन्त्रालयको गुणस्तर मापन महाशाखाले बुझाएको प्रतिवेदनमा विभिन्न आठ वटा प्रयोगशालाले तोकिएको भन्दा बढी शुल्क लिने गरेको पाइएको उनले बताए ।

    बढी शुल्क लिनेमा ह्याम्स अस्पताल, मेटिसिटि अस्पताल, स्टार अस्पताल, बिएण्डबी अस्पताल, सूर्या ल्याव, डिकोर ल्याव, सिडिएल ल्याव र इन्टीपेर ल्यावल लगायत रहेको गौतमले बताए ।

    बढी पैसा लिने अस्पताललाई कालोवजारी गरेको आधारमा प्रयोगशाला बन्द गराउन गृह मन्त्रालय र वणिज्य विभागलाई पत्र पठाउने निर्णय भएको गौतमले जानकारी दिए।

    सरकारले भदौ २८ गते नै पीसीआरको शुल्क सबै ल्याबका लागि २ हजार मात्रै तोकेको थियो। तर पछिल्लो समय केही प्रयोगशालाहरूले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएर परीक्षण गर्दै आएका छन्।

  • थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४९८ पुग्यो

    थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४९८ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २ महिला र ५ पुरुष गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा सुनसरीमा ६०, मोरङमा ६०, सप्तरीमा ३९ वर्षीय पुरुष, काठमाडौंमा ३४ र ३६ वर्षीया महिला, ५४ वर्षीय पुरुष रुपन्देहीमा ८२ वर्षीय पुरुष रहेका छन् ।

    यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ९८ पुगेको छ।

  • काठमाडौंमा उपत्यकामा थपिए ९०२ कोरोना संक्रमित

    काठमाडौंमा उपत्यकामा थपिए ९०२ कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परिक्षणमा काठमाडौंमा ६९७ ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनालाई कोरोना संक्रमण देखिएको छ।

    जसअनुसार काठमाडौंमा २७४ महिला र ४२३ पुरुष, भक्तपुरमा ५३ महिला र ४० पुरुष, ललितपुरमा ४६ महिला र ६६ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

  • नेपालमा थप १५५९ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ७७,८१७ पुग्यो

    नेपालमा थप १५५९ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ७७,८१७ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार २०५ जनाको पीसीआर परीक्षणमा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै संक्रमितको कुल संख्या ७७ हजार ८१७ पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप १०५७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म ५६ हजार ४ सय २८ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

    हाल देशभर २० हजार८९१ जना सक्रिय संक्रमित छन्।

  • कुवेतका राजा सवाहको अमेरिकामा निधन

    कुवेतका राजा सवाहको अमेरिकामा निधन

    काठमाडौं । कुवेतका राजा शेख सबा अल अहमद अल सवाहको ९१ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार उपचारका क्रममा अमेरिकामा निधन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । उनी जुलाई १८ मा अस्पताल भर्ना भएका थिए । शल्यक्रिया सफल भएपनि स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारको लागि उनी जुलाई २३ मा अमेरिका गएका थिए ।

    उनमा अमेरिकी अस्पतालमा के को उपचार भइरहेको थियो भन्ने चाँही खुलाइएको छैन । उनी सन् २००६ देखि कुवेतको राजा बनेका थिए । सबा अल अहमद ५० वर्षदेखि विदेशी नीति सम्हाल्दै आएका नेता हुन् । उनको निधनमा कुवेतमा ४० दिनसम्म शोक अवधि घोषणा भएको छ ।

    तीन दिनका लागि सबै कार्यालय बन्द भएका छन् । सभा अलको निधनपछि अब कुवेतमा उनका भाइ शेख नवाफ अल अहमद अल सबाहले राज्य सम्हालेका छन् । भाई ८३ वर्षीय हुन् । यसअघि शेख सभा अल अस्पताल भर्ना भएको बेला पनि राज्य उनैले सम्हालेका थिए ।

  • भारतका उपराष्ट्रपतिलाई कोरोना संक्रमण

    भारतका उपराष्ट्रपतिलाई कोरोना संक्रमण

    नयाँदिल्ली । भारतमा उपराष्ट्रपति वैंकैया नायडूमा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ । बहालवाला अधिकारीमध्ये भारतमा कोरोना पुष्टी हुने उनी सबैभन्दा उच्च तहका नेता हुन् । यसअघि भारतका पूर्वराष्ट्रपति प्रवण मुखर्जीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ ।

    उपराष्ट्रपति नायडूको सचिवालयले ट्वीट गदै उनका कोरोना पोजेटिभ देखिएको पुष्टी गरेको हो । चिकित्सकले उनलाई घरमै आइसोलेशनमा बस्न सल्लाह दिएका छन् । उनकी श्रीमतीमा भने कोरोना रिपोर्ट नेगेटिभ आएको ट्वीटमा उल्लेख छ ।

    भारतमा अहिले कोरोनाको फैलावट उच्च छ । २४ घण्टामा भारतमा साढे ८० हजारमा कोरोना पुष्टि भएको छ । यहाँ कुल सङ्क्रमितको संख्या ६२ लाख पुगेका छ । ५१ लाख ८४ हजार निको भएका छन् । साढे ९७ हजारको भने कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ ।

  • लगातार तेस्रो खेलमा पनि टीममा परेनन् सन्दीप, दिल्ली पराजित

    लगातार तेस्रो खेलमा पनि टीममा परेनन् सन्दीप, दिल्ली पराजित

    आवुधावी । जारी आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्स तेस्रो खेलमा पराजित भएको छ । यो खेलमा पनि नेपाली स्टार सन्दीप लामिछानेले भने खेल्ने मौका पाएनन् । दिल्लीलाई मंगलबार राति सम्पन्न खेलमा सनराइजर्स हैदरावादले १५ रनले पराजित गरेको हो । प्रारम्भिक दुई खेल हारेको हैदरावादले कसिलो बलिङमार्फत दिल्लीलाई हराउन सफल भएको हो ।

    पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेटको क्षतिमा १६२ रन जोड्यो। उसका लागि जोनी वायस्टोले ४८ बलमा ५३ रन जोडे । कप्तान तथा ओपनर डेभिड वार्नरले ३३ बलमा ४५ रन र केन विलियमसनले २६ बलमा ४१ रन बनाएका थिए ।

    बलिङमा दिल्लीका अमित मिश्रा र कागिसो रबाडाले २, २ विकेट लिए। १६३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन मात्र जोड्न सक्यो। दिल्लीका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले सर्वाधिक ३४ रन बनाए ।

    रिशव पन्तले २८ रन तथा शिमरन हेटमेयरले २१ रन मात्र बनाउन सके । अन्य ब्याट्सम्यान चल्न सकेनन् । बलिङमा हैदरावादका रासिद खानले ३ विकेट लिए। उनले ४ ओभरमा १४ रन मात्र दिएका थिए ।

  • रसियाबाट साढे २ करोड खोप नेपाल आउने खबरले तातियो विश्वबजार

    रसियाबाट साढे २ करोड खोप नेपाल आउने खबरले तातियो विश्वबजार

    काठमाडौं । मंगलबार विश्वभर एक खबर सनसनिपूर्ण रुपमा फैलियो, रसियाले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप नेपालले साढे २ करोड डोज खरीद गर्न सम्झौता गरेको छ । त्यो सम्झौता पनि सरकारी निकायले होइन, निजी कम्पनीले ।

    धेरैका लागि अपत्यारिलो लाग्ने यो खबर वास्तविक भएको पुष्टी त्यति बेला भयो, जब रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) ले यसको घोषणा गर्यो र भन्यो, ‘नेपालको औषधि वितरक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सलाई २५ मिलियन अर्थात साढे २ करोड ‘स्पुतनिक–भी’ दिन सहमत भएका छौं ।’ ‘स्पुतनिक–भी’ रसियाले बनाइरहेको नोवेल कोरोना भाइरसविरुद्धको भ्याक्सिन हो ।

    यस खबरबारे विश्वभर प्राथमिकताका साथ समाचार बनेका छन् । रोयटर्सदेखि भारतीय मिडियासम्मका समाचारमाध्यमले यसलाई समाचारमा समेटेका छन् । तर, यता सरकारी नियका भने यो सम्झौताबारे बेखर देखिएका छन् ।

    महामारीविरुद्ध खोप ल्याउने र जनतालाई वितरण गर्ने दायित्व सरकारको हो । तर, खोपको अन्तिम परीक्षण नहँदै नेपालका लागि यो खोपको आयातकर्ताका रुपमा एक निजी कम्पनीले सम्झौता गरिसकेको छ । तर, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, औषधी व्यवस्था विभागलगायत नेपालका सरकारी आधिकारी निकायलाई भने यसबारे खबरै नभएको पाइएको छ ।

    अहिले ‘स्पुतनिक–भी’को तेस्रो चरणका परीक्षण भइरहेको छ । मध्यअक्टोवरसम्म यसको परीक्षण पुरा हुने अपेक्षा गरिएको छ । त्यसो भएमा छिट्टै खोप बजारमा आउने तथ्य भने पक्का भएको छ । तर, खोपको उत्पादन थालिएपछि नेपालमा ल्याउन र प्रयोग गर्न पनि नेपाल सरकारको अनुमति अनिवार्य हुन्छ ।

    विश्वभर १ सय ४० भन्दा बढी खोपको परीक्षण भइरहेको छ । यसमा मुलुकहरुले अर्बौ रुपैयाँ खर्च गरिरहेका छन् । उनीहरु त्यो खर्च खोप बेचेरै उठाउन चाहन्छन् । सोहीकारण अब मुलुकहरुले आफ्नो बजारको खोजी शुरु गरिसकेका छन् ।

    त्यसक्रममा रुसले नेपालको निजी कम्पनीमार्फत नेपाल छिर्न खोजेको स्पष्ट भएको छ । यसमा अप्रत्यक्ष रुपमा सरकारी मान्छेहरुले समेत साथ दिएका छन् । किनकी ट्रिनिटी नामक कम्पनी तत्कालीन एमाले निकट स्वास्थ्य सामाग्री आपूर्तिकर्ता विशाल पण्डित संलग्न रहेको कम्पनी हो ।

  • ब्रोइलर चल्लालाई मेहेन्दी लगाउँदै लोकल बनाउँदै…

    ब्रोइलर चल्लालाई मेहेन्दी लगाउँदै लोकल बनाउँदै…

    काठमाडौं । मेहेन्दी एक सौन्दर्य प्रशासन हो । यसले सुन्दरता थप्ने विश्वासमा प्रयोग गरिन्छ । तर, नेपालमा केही व्यक्तिले ब्रोइलर कुखुराको चल्लालाई लोकल कुखुरा बनाउन मेहेन्दी प्रयोग गर्ने खुलेको छ । रोचक तथ्य त यसरी लोकलमा परिणत भएको कुखुरा सधैभरी लोकल नै बन्दैन ।

    १०\ १२ दिनपछि यसको आफ्नो वास्तविक स्वरुप खुल्छ र ग्राहकले आफु ठगिएको पत्ता पाउँछ । आज यस्तै ठगीमा संलग्न व्यापारीहरु पक्राउ परेका छन् । आज चार जना भारतीय नागरिक ब्रोइलरका चल्ला ल्याएर रङ लगाउँदै गर्दा फेला परेका हुन ।

    प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । मंगलबार महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका १४ कलङ्कीबाट चल्लालाई रङ लगाउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक प्रेमसिलादेवी जययसवाल, वकील खान, सुनिता जयसवाल, चन्दादेवी शाह छन् ।

    उनीहरुले चितवन लगायत विभिन्न जिल्लाबाट ब्रोइलरको चल्ला ल्याइ रङ लगाएर लोकलको मुल्यमा बिक्री गर्दै आएको खुलेको छ । १० रुपैयाँ प्रतिगोटा मूल्यमा किनेका चल्लालाई रङ लगाएपछि प्रतिगोटा रु. १५० सम्ममा विक्री गर्ने गरेको समेत प्रहरीले बताएको छ ।

    प्रहरीलाई आएको सूचनाका आधारमा प्रहरी उनीहरुसमक्ष पुगेको थियो । प्रहरीले उनीहरुको साथबाट रङ लगाएका झण्डै चार हजार र रङ लगाउने तयारीमा राखिएका २४ हजार चल्ला बरामद गरेको छ ।

  • लकडाउनका कारण मिटर रिडिङ छुटेका विद्युतका ग्राहकलाई जरिवाना नलाग्ने

    लकडाउनका कारण मिटर रिडिङ छुटेका विद्युतका ग्राहकलाई जरिवाना नलाग्ने

    काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन सरकारले चालेको लकडाउन तथा निषेधाज्ञाका कारण मिटर रिडिङ हुन नसकेका वा छुटेका विद्युतका ग्राहकलाई जरिवाना नलाग्ने भएको छ । बन्दाबन्दीको समयमा नेपाल विद्युत प्राधिकरणका धेरै ग्राहस्थ र औद्योगिक ग्राहकको मिटर रिडिङ छुटेको छ ।

    प्राधिकरण आफैले मिटर रिडिङ नगर्ने र उल्टो जरिवाना हुन लागेको गुनासो ग्राहकबाट आउन थालेपछि उर्जा मन्त्री वर्षमान पुनले जरिवाना नउठाउन निर्देशन दिएका हुन् ।

    ऊर्जा, जलश्रोत ताथ सिंचाइमन्त्री पुनले प्राधिकरणका कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई बुधबार मन्त्रालयमा बोलाएर तत्काल जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

    उनले जरिवाना लिइसकेको भए उक्त रकम ग्राहकले आगामी महिना बुझाउने शुल्कमा मिलान गर्न समेत निर्देशन दिएका छन् । मन्त्री पुनले यो अवधिको तत्काल मिटर रिडिङ गराउन र कर्मचारी गएर रिडिङ गर्न नसक्ने अवस्थामा ग्राहक आफैंलाई मिटरको नम्बर टिपाएर शुल्क लिन समेत उनले निर्देशन दिएका छन् ।

    सोहीअनुसार प्राधिकरणले जरिवाना नलिन देशभरका वितरण केन्द्रलाई एकैसाथ निर्देशन दिएको छ । मन्त्री पुनले खराब मौसम, प्रणालीको खराबी वा अरु प्राविधिक कारणले विद्युत अनियमित भए तत्काल समस्या समाधान गर्न समेत निर्देशन दिएका छन् ।

    कुलमानको विदाईसँगै प्राधिकरण व्यवस्थापनलाई सोहीअनुसार चुस्त राख्न अहिले उर्जा मन्त्री पुनलाई निकै हम्मेहम्मे परिरहेको छ ।

  • तातोपानी नाका १९ असोजबाट खुल्ने

    तातोपानी नाका १९ असोजबाट खुल्ने

    काठमाडौं । दशैंको मुखमा सिन्धुपाल्चोकको तातोपानी नाका खुल्ने भएको छ । नाका १९ असोजबाट खुल्ने निर्णय भएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले असोज १९ बाट चीनबाट सामान नेपाल आइपुग्ने नेपाली संचारमाध्यमलाई जानकारी दिएका छन् ।

    मंगलबार प्रमुख जिल्ला अधिकारी ढकाल नेतृत्वको नेपाली टोली र ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वमा वार्ता भएको थियो । यी दुई टोलीबीच नाका खोल्ने विषयमा सहमति भएको बताइएको हो । उनका अनुसार दुई देशको टोलीबीच असोज १८ गतेसम्म तयारी पूरा गर्ने र १९ गतेबाट चिनियाँ सामान नेपालमा झार्ने व्यवस्था गर्ने सहमति भएको हो ।

    नाका खुल्ने दिनसम्म नेपालले लोड अनलोड गर्ने मजदुरको टोली तयारी अवस्थामा राख्नुे सहमती भएको छ । तातोपानी भन्सार कार्यालयका अनुसार चीनबाट ल्याएका सामान लोड अनलोड गर्न पीसीआर रिपोर्ट नेगेटिभ आएका २५ र २९ जनाको दुई वटा श्रमिक टोली तयारी अवस्थामा राखिने भएको छ ।

    सबै श्रमिकको हरेक ५, ५ दिनमा पीसीआर परीक्षण गराउने र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने सहमति समेत भएको छ । चीनतर्फको रसुवागढी नाकाबाट भने सामान आउन थालेको छ ।

  • थप १० जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ४९१ पुग्यो

    थप १० जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ४९१ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ पुरुष र ३ महिला गरि थप १० जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा मोरङका ६८ वर्षीय, महोत्तरीका ५८ वर्षीय, काठमाडौंका ६० र ७० वर्षीय, चितवनका ५५ वर्षीय, बाँकेका ५३ वर्षीय र ३९ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    त्यसैगरी, सर्लाहीका ७२ वर्षीय, काठमाडौंका ५७ र बाँकेमा ७६ वर्षीय महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ४९१ पुगेको छ।

  • काठमाडौंमा ७४७ सहित उपत्यकामा थपिए ९३४ कोरोना संक्रमित

    काठमाडौंमा ७४७ सहित उपत्यकामा थपिए ९३४ कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९३४ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परिक्षणमा काठमाडौंमा ७४७ ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनालाई कोरोना संक्रमण देखिएको छ।

    जसअनुसार काठमाडौंमा ३०७ महिला र ४४० पुरुष, भक्तपुरमा २८ महिला र ४५ पुरुष, ललितपुरमा ४७ महिला र ६७ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

    उपत्यकामा कोराना संक्रमितको संख्या २२ हजार ९६४ पुगेको छ। काठमाडौंमा १८ हजार ५७७ ललितपुरमा २ हजार ३४६ र भक्तपुरमा २ हजार ३७ संक्रमित पुगेका छन्।

  • नेपालमा थप १५१३ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ७६२५८ पुग्यो

    नेपालमा थप १५१३ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ७६२५८ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५१३ जना कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार ८९१ नमुना जाँचमध्ये १५१३ जनामा संक्रमण देखिएको हो।

    योसँगै संक्रमितको कुल संख्या ७६ हजार २५८ पुगेको छ। २४ घण्टामा ७३१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ।

    देशभर २० हजार ३९६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।

  • गरिब मुलुकलाई कोरोना परीक्षण छिटो गर्ने प्रविधि, टेस्टको नतिजा २० मिनेटमै

    गरिब मुलुकलाई कोरोना परीक्षण छिटो गर्ने प्रविधि, टेस्टको नतिजा २० मिनेटमै

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ ले केही मिनेटभित्रै कोरोना भाइरस संक्रमण पत्ता लगाउने परीक्षण विधि विस्तार गर्ने भएको छ । न्यून र मध्यम आय भएका मुलुकलाई सहजता होस् भन्नको लागि उक्त प्रविधि विस्तार गर्न लागेको हो ।

    पाँच डलर मात्र लागत पर्ने सो परीक्षण प्रविधि स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित मुलुकमा पठाउन लागिएको डब्लुएचओले जनाएको छ ।

    डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यो परीक्षणले न्यून र मध्यम आय भएका मुलुकलाई कोरोना भाइरस नियन्त्रणका लागि प्रमुख कोसेढुङ्गा साबित हुने बताए ।

    गेब्रेयेससको अनुसार नयाँ प्रविधिले १५ देखि २० मिनेटमा कोरोना परीक्षणको नतिजा दिनेछ । औषधि निर्माता एबोट एण्ड एसडी बायोसेनरले बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनसँग मिलेर १२ करोड टेस्ट्स तयार पार्ने सहमति जनाइसकेको छ ।

    यसले प्रयोगशालाको सुविधा र पर्याप्त स्वास्थ्यकर्मी नभएका क्षेत्रमा परीक्षणको दायरा बढाउने डब्लुएचओको भनाइ छ । उत्पादकहरूसँग सम्झौता गरेर डब्लुएचओले छ महिनाभित्र १२ करोडवटा त्यस्ता परीक्षण उपलब्ध हुनेछ ।

    सम्झौताले १ सय ३३ देशमा सहायता पुग्नेछ । त्यसमा हाल महामारीले धेरै असर पारेका र मृत्यु भएका मुलुकहरु पर्दछन् ।

    परीक्षणका लागि नमुना दिएपछि त्यसको नतिजा आउन लामो समय लाग्दा धेरै देशमा कोरोनाभाइरस फैलिन नदिन गाह्रो हुने गरेको छ । विश्वभर कोरोनाबाट मृत्यु हुनेमध्ये आधाभन्दा धेरैको मृत्यु अमेरिका, ब्राजिल, भारत र मेक्सिकोमा भएको छ । एजेन्सी

  • भारतस्थित अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टीको कार्यालय बन्द

    भारतस्थित अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टीको कार्यालय बन्द


    काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले भारत सरकारले प्रतिशोधस्वरूप आफूमाथि शृंखलाबद्ध आक्रमण गरेको भन्दै भारतमा रहेको आफ्नो कार्यालय र सबै कार्य बन्द गर्ने घोषणा गरेको छ।

    मंगलबार एम्नेष्टी इन्टरनेशनल इन्डियाले एक विज्ञप्ति जारी गर्दै भारत सरकारले आफ्नो बैंक खाता पूर्ण रूपमा बन्द गरिदिएको १० सेप्टेम्बरमा आफूले थाहा पाएको जनाउँदै त्यसले आफ्ना काम बन्द गर्नुपर्ने अवस्थामा पुगेको उल्लेख गरेको छ।

    भारत सरकारले भने एम्नेष्टी इन्टरनेशनल इन्डियाको दावीमा कुनै प्रतिक्रिया दिइसकेको छैन। एम्नेष्टीले आफ्ना सबै कर्मचारीलाई बिदा गर्नुपरेको तथा अहिले चलिरहेका काम र शोध कार्य रोक्न बाध्य पारिएको उल्लेख गरेको छ।

    भारत सरकारले गरिरहेको मानवअधिकार उल्लंघनका घटना मानवअधिकारवादी संघसंस्थाले उजागर गरिरहेको प्रतिशोध स्वरूप सरकारले बैंक खाता बन्द गरिदिएको एम्नेष्टीले आरोप लगाएको छ।

    एम्नेष्टीले गत दुई वर्षमा आफूहरूमाथि सरकारी निकायहरूले गरिरहेका प्रहारहरूको सन्दर्भमा अहिले बैंक खाता बन्द गरिदिने कार्य कुनै दुर्घटनास्वरूप नभएको बताएको छ।

    आफूहरूले निरन्तर रूपमा मानवअधिकारको पक्षमा आवाज उठाउँदै आएको र हालै दिल्ली र जम्मु कश्मिरमा भएका मानवअधिकारका गम्भीर उल्लंघनका घटनामा आवाज उठाएकोमा भारत सरकारले प्रतिशोध साँधेको एम्नेष्टी इन्टरनेशनल इन्डियाका कार्यकारी निर्देशक अभिनाशा कुमारले विज्ञप्तिमा भनेका छन्।

    एम्नेष्टी इन्टरनेशनल भारतमा ८ वर्षदेखि कार्यरत थियो। त्यहाँ १५० जना कर्मचारी कार्यरत थिए। पछिल्लो समय भारतमा मानवअधिकारको गम्भीर उल्लंघनका ठूला घटनाविरुद्ध एम्नेष्टीले स्पष्ट र कडा आवाज उठाउँदै आएको थियो। भारतका हिन्दूत्ववादी संघ-संगठनले एम्नेष्टीको विरोध गर्दै आएका थिए।

    संसारको सबभन्दा ठूलो लोकतान्त्रिक मुलुकमा मानवअधिकारवादी संस्थालाई बन्द हुने अवस्थामा पुर्‍याइएको भन्दै भारत सरकारको विरोध भइरहेको छ।

  • नेपाल आउने पर्यटकको लागि शर्तैशर्त: एक साता होटल क्वारेन्टिन बस्नैपर्ने, ६ लाखको बीमा अनिवार्य

    नेपाल आउने पर्यटकको लागि शर्तैशर्त: एक साता होटल क्वारेन्टिन बस्नैपर्ने, ६ लाखको बीमा अनिवार्य

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्वतारोहण तथा पदायात्रामा नेपाल आउँदा पालना गर्नुपर्ने शर्त सम्बन्धी मापदण्ड २०७७’ जारी गरेको छ।

    सरकारले कात्तिक १ कात्तिकदेखि पर्वतारोहण तथा पदयात्रा गतिविधि खुला गर्ने गरी २९ भदौमा गरेको निर्णय अनुसार मापदण्ड जारी गरेको हो ।

    यही असोज ९ गते स्वीकृत भएको मापदण्डमा नेपाल आउने पर्यटकको लागि शर्तैशर्त राखिएको छ ।

    शर्त अनुसार पर्वतारोहण वा पदयात्राका लागि विदेशबाट आउने पर्यटकले नेपाल आउनु अगावै नेपालको भिसा प्राप्त गरेको हुनुपर्छ ।

    तर, सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्था, समूहमा पर्वतारोहण, र पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वसहमति लिई नेपाल आउन सक्नेछ ।

    नेपाल आउजे पर्यटकले कम्तिमा ७ दिन क्वारेन्टिनमा रहने गरी नेपालमा होटल बुकिङ गरेको कागजात पेश गर्नुपर्ने, कोरोनासम्बन्धी प्रयोजनका लागि कम्तिमा प्रतिव्यक्ति पाँच हजार अमेरिकी डलर (करीब रू. ६ लाख)को बीमा गरिएको कागजात पेश गर्नुपर्नेछ ।

    नेपाल प्रवेशपश्चात पर्यटकले न्युनतम ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ। होटल क्वारेन्टिन अवधिको पाँचौ दिन पर्यटककै खर्चमा पिसीआर परीक्षण गर्नुपर्ने र नेगेटिभ रिपोर्ट आएमा पदयात्रा वा पर्वतारोहणमा जान पाइने जनाइएको छ।

    तर नतिजा पोजेटिभ आएमा नेगेटिभ नआएसम्मको अवधिमा होटल क्वारेन्टिनमा बस्नुपर्ने मापदण्डमा उल्लेख छ।

    मापदण्डमा पर्वतारोहण वा पदयात्रामा जाने नेपाली टोलीकाे पनि अनिवार्य रूपमा कम्तिमा रू. १ लाखको कोरोना बीमा गराउनुपर्ने, स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ।

  • विवादमा फसेपछि यो वर्षको पद्मश्री पुरस्कार रद्द

    विवादमा फसेपछि यो वर्षको पद्मश्री पुरस्कार रद्द

    काठमाडौं । यस वर्ष कुनै पनि श्रष्टाले पद्मश्री पुरस्कार नपाउने भएका छन् । यसअघि सञ्जीव उप्रेती र मोदनाथ प्रश्रितलाई यो पुरस्कार दिने निर्णय खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले गरेको थियो । तर, पात्रहरुबीच नै आरोप प्रत्यारोप र विवाद भएपछि अन्ततः पुरस्कार नै रद्द गरिएको छ ।

    आइतबार यो वर्षको पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ र पद्मश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई प्रदान गर्ने निर्णय भएको थियो । पुरस्कार दिने निर्णय भएकै दिन मोदनाथ प्रश्रितमाथि यौन उत्पीडनको आरोप रहेकाले उनीसँगै उभिएर आफुले पुरस्कार लिन नसक्ने उप्रेतीले बताएका थिए ।

    सोमबार गलत आरोप लगाएर आफुलाई विवादमा तान्न खोजिएको भन्दै प्रश्रितले पनि पुरस्कार नलिने घोषणा गरेका थिए । त्यसपछि प्रतिस्ष्ठानले यो वर्ष पुरस्कार नै वितरण नगर्ने घोषणा गरेको हो । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति निकालेर यसको पुष्टी गरेका छन् ।

    पुरस्कारका लागि छनोट भएका दुवै प्रतिभाले पुरस्कार अस्वीकार गर्ने घोषणा गरेपछि उनीहरुको इच्छालाई कदर गर्दै यस्तो निर्णयमा पुग्नु परेको उनको भनाई छ । प्रतिष्ठानको उद्देश्य कसैको भावना र संवेदनामा ठेस पुर्याउने नभएको र उत्पन्न असहजताका लागि दुःखी भएको उनको भनाई छ ।

    प्रतिष्ठानले २०६३ सालदेखि प्रत्येक वर्षको उत्कृष्ट कृतिका लागि पद्मश्री साहित्य पुरस्कार र समग्र साहित्य क्षेत्रमा गरेको योगदानका आधारमा पद्मश्री साधना सम्मान प्रदान गर्दै आइरहेको छ ।

  • नेपाली सेनामा स्थगित भएका भर्ना पुनः शुरु

    नेपाली सेनामा स्थगित भएका भर्ना पुनः शुरु

    काठमाडौं । नेपाली सेनाले आफ्नो संगठनमा रिक्त रहेका पदमा शुरु गरेको भर्ना प्रक्रिया कोरोना भाइरसको महामारीसँगै स्थगित गरेको थियो । यसरी स्थगित भएका भर्ना पुनः प्रारम्भ भएको सेनाले जनाएको छ । कोरोना महामारीपछि चैत ७ गतेदेखि स्थगित गरिएको भर्ना प्रक्रिया पुनः सूचारु भएको सेनाले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

    २०७६ माघ ७ मा सेनाले विभिन्न पदका लागि विज्ञापन मागेको थियो । त्यसपछिका कारण परीक्षाहरु स्थगित भएका थिए । स्थगित गरिएका सबै भर्ना प्रक्रिया सूचारु भएको सेनाले जनाएको छ । सूचारु गरिएका परीक्षाबारे लोकसेवा आयोगको वेभसाईट, नेपाल आर्मीको वेभसाइट वा मोबाइल एपबाट जानकारी पाउन सकिने भएको छ ।

  • रोमाञ्चक खेलमा मुम्बईलाई आरसीबीले हरायो

    रोमाञ्चक खेलमा मुम्बईलाई आरसीबीले हरायो

    आबुधावी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार राती एक रोमाञ्चक प्रतिस्पर्धामा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई हराएको छ । दुबै टोलीबाट २० ओभरमा समान २ सय १ रन बनेपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा भने बैंगलोरले बाजी मार्यो ।

    टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा २०१ रन बनाएको थियो । २०२ रनको विजय लक्ष्य पछ्याएको मुम्बईले ५ विकेटको क्षतिमा २०१ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

    आईपीएलको इतिहासमै यो सर्वाधिक रनमा बनेको टाइ थियो । कमजोर अवस्थामा रहेको मुम्बईलाई किरोन पोलार्ड र इशान किशनले उकासेका थिए । पोलार्डले २४ बलमा ६० रन र इशानले ५८ बलमा ९९ रन बनाएपछि खेल बराबरीमा आउने अवस्था बनेको हो ।


    सुपर ओभरमा मुम्बईले बैंगलोरलाई मात्र ८ रनको लक्ष्य दिन सक्यो । यो लक्ष्य बैंगलोरका विराट कोहली र एबी डिभिलयर्सले सहजै पच्छ्याउन सफल भए । जारी आईपीएलमा यो दोस्रो सुपर ओभर हो । यसअघि दिल्ली क्यापिटल्स र किंग्स इलाभेन पन्जाबबीच सुपर ओभर भएको थियो । यो खेल दिल्लीले जितेको छ ।

  • धरान र नेपालगन्जमा तीन संक्रमितको ज्यान गयो

    धरान र नेपालगन्जमा तीन संक्रमितको ज्यान गयो

    काठमाडौं । मंगलबार बाँकेको नेपालगन्ज र धरानमा गरी तीन जना कोरोना भाइरसका संक्रमितको ज्यान गएको छ । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको ज्यान गएको हो । कलेजका अनुसार कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको ज्यान गएको हो ।

    अस्पतालका अनुसार नेपालगन्जका मृतक स्वास्थ्यकर्मी समेत हुन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार दुवैजनाको प्लाज्मा थेरापी र रेम्डिसिभिर विधिबाट उपचार भइरहेको थियो । उता, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।

    मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनी नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएर धरान ल्याइएका थिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी नोबेल मेडिकल कलेजमा भर्ना भएको अस्पतालले जनाएको छ । त्यसपछि उनमा कोरोना पुष्टी भएको थियो ।

  • कहिलेबाट खुल्छन् दशैंमा घर जाने अग्रिम टिकट ?

    कहिलेबाट खुल्छन् दशैंमा घर जाने अग्रिम टिकट ?

    काठमाडौं । दशैं नजिकिएको छ । शहर बजारमा बस्नेहरु अधिकांश आफ्नो जन्मघर फर्कने यो चाडका लागि यातायात व्यवसायीलाई व्ववस्थापन निकै हम्मे हम्मे पर्छ । तर, यसपाली देशभर कोरोना महामारी छ । यस्तो अवस्थामा दशैं कसरी मनाउने भन्ने अन्यौलसमेत रहेको छ । तर, सर्वसाधारणमा चासो भने छ, दशैंमा घर जाने बसका अग्रिम टिकट कहिले खुल्छन् ?

    यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन व्यवसायीसँग अनौपचारिक प्रस्ताव भने गरिसकेको छ । यातायात व्यवसायीहरुसँग विभागको यस्तो प्रस्ताव आएको व्यवसायीले जानकारी दिएका छन् ।

    असोज २० देखि २५ सम्म अग्रिम टिकट बुकिङ खुला गर्ने र त्यसपछि नियमित प्रक्रियाबाट यातायात संचलन गर्ने प्रस्ताव विभागले गरेको हो । त्यसो त शहर बजारमा काम नभएका मानिसहरु अहिले पनि घर फर्किरहेका छन् । अहिले घर फर्कनेहरुका लागि तुलनात्मक रुपमा वातावरण सहज पनि छ ।

    किनकी सवारी साधनमा साविकमा जस्तो अधिक भिडभाड छैन । विभागका अनुसार यो वर्ष करिब ५ लाख व्यक्ति दशैं मनाउन उपत्यका बाहिर जाने अनुमान छ । त्यसो त उपत्यकाबाट मात्र हरेक वर्ष २० लाख भन्दा बढी मानिस दशैं मान्न बाहिरिने गरेका छन् । यो पटक आधा जती मानिस पहिला नै गाउँ गएर बसेका छन् ।

    केही मानिस भने कोरोनाको जोखिमका कारण काठमाडौं नछाड्ने मुडमा हुनेछन् । उता, व्यवसायी भने सवारी साधनमा सबै सिटमा यात्रु राख्न पाउनुपर्ने अडानमा छन् । अहिले बसमा एक सीटमा एक जना मात्र यात्रु राखेर यात्रा भइरहेको छ । सरकारले सार्वजनिक सवारीमा ५० प्रतिशत बढी भाडा लिएर सिटमा ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने नियम कार्यान्वयनमा ल्याएको हो ।

  • झापामा एक वृद्ध महिलाको विभत्स हत्या

    झापामा एक वृद्ध महिलाको विभत्स हत्या

    झापा । झापामा एक वृद्ध महिलाको विभत्स हत्या भएको छ । उनको मृत शरीर आफ्नै घरको खाटमुनी भेटिएको हो । झापा, गौरादह नगरपालिका १ की ६५ वर्षीया मनमाया भण्डारीको आफ्नै घरमा खाटमुनि शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शव सोमबार दिउँसो साढे ४ बजे फेला परेको हो ।

    स्थानीयले प्रहरीलाई खबर गरेपछि घटना बाहिरिएको हो । आफ्नै घरमा हात बाँधिएको अवस्थामा उनको शव भेटिएको र शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ ।

    महिलाको टाउकोमा गम्भीर चोट देखिएको र रगत बगेका कारण उनको विभत्स हत्या भएको अनुमान प्रहरीले गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा कसैलाई प्रहरीले पक्राउ भने गरिसकेको छैन ।

  • बिहीबारबाट चल्ने भए दशैंका सहुलियत पसल

    बिहीबारबाट चल्ने भए दशैंका सहुलियत पसल

    काठमाडौं । नजिकिएको दशैंलाई लक्षित गरी सरकारले बिहीबारबाट सहुलीयतपूर्ण पसल संचालनमा ल्याउने भएको छ । बजारमा अधिक बढिरहेको भाउ नियन्त्रण गर्दै सर्वसाधारणलाई राहत दिने उद्देश्यले सहुलियतपूर्ण पसल संचालन गर्ने निर्णय भएको हो । यसले महंगी नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले १५ असोजबाट पसल संचालनमा ल्याउने निर्णय गरेको हो । यस्तो पसल ६ मंसिरसम्म चल्नेछ । देशभर ६० वटा सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याइने भएको छ । ‘काठमाडौं उपत्यकामा १३ वटा यस्ता पसल चल्ने भएक छन् ।

    सहुलियत पसलमा राख्ने सामानको टुंगो भने लागिसकेको छैन । सोमबारको निर्णयअनुसार काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पाँच, साल्ट ट्रेडिङले पाँच, तथा दुग्ध विकास संस्थाले तीन गरी १३ वटा पसल सञ्चालनमा ल्याउने भएका हुन् ।

    उपत्यकाबाहिर खाद्यले २४ वटा कार्यालय र साल्ट ट्रेडिङको २३ कार्यालयमार्फत सहुलियत पसल सञ्चालनमा आउने बताइएको छ ।

  • नेपालमा विशेष कृषि केन्द्र स्थापना हुने, इजरायलको लगानी

    नेपालमा विशेष कृषि केन्द्र स्थापना हुने, इजरायलको लगानी

    काठमाडौं । कृषि क्षेत्रमा इजरायली नमुना विश्व प्रसिद्ध छ । त्यहाको प्रविधिलाई नेपालमा भित्राउन सरकारी स्तरबाटै पहल थालिएको छ । यसै क्रममा नेपाल सरकारले इजरायलको अत्याधुनिक कृषि प्रविधिसहितको विशेष केन्द्र स्थापना गर्न अनुमति दिएको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । नेपालमा विशेष कृषि केन्द्र स्थापना भएपछि कृषिको आधुनिकिकरण र विकासमा ठूलो टेवा पुग्ने विश्वास लिइएको उनले बताए ।

    उनका अनुसार नेपाल सरकार र इजरायल सरकारबीच कृषि विशेष केन्द्र स्थापनामा इजरायल सरकारले सहयोग गर्ने सहमति भएको छ । त्यसका लागि एमओयु स्वीकृत गर्ने र नेपालका सात वटै केन्द्रमा कृषि केन्द्र स्थापना गर्न दिने निर्णय सरकारले गरेको हो ।

  • नेपालमा एसिड आक्रमणकारीविरुद्ध बन्यो कडा कानून, अध्यादेश जारी

    नेपालमा एसिड आक्रमणकारीविरुद्ध बन्यो कडा कानून, अध्यादेश जारी

    काठमाडौं । सरकारले एसिड आक्रमण गर्ने व्यक्तिहरुविरुद्ध कडा कानूनी कारवाहीका प्रावधानसहित नयाँ कानून कार्यान्वयनमा ल्याएको छ । एसिड आक्रमणका दोषिलाई कडा कारवाही गर्ने व्यवस्थासहित कानूनी व्यवस्था गर्न सरकारले आज अध्यादेश जारी गरेको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले आज एसिड तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यावधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् । राष्ट्रपतिबाट आज एकै दिन तीन वटा अध्यादेश जारी भएका छन् ।

    एसिड तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ नयाँ कानून हो । फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश हो। गत विहिबार मन्त्रिपरिषदको बैठकले अध्यादेश पारित गर्दै जारी गर्न राष्ट्रपति समक्ष पठाएको थियो। सोहीअनुसार अध्यादेश जारी भएको हो ।

    नयाँ कानून अनुसार अब कानूनमा आक्रमणकारीले २० वर्ष सजाय तोकिएकोमा २० वर्ष नै सजाय काट्नुपर्ने भएको छ । अरुको शरीरमा एक थोपा मात्र पनि एसिड परेमा त्यसको कसुर कडा हुने भएको छ ।

    तेजाब आक्रमण गर्नेले कुनै पनि बाहनामा छूट नपाउने गरी कानून बनेको हो । महिला वा पुरुष, जो माथि आक्रमण भएपनि यो कानून आकर्षित हुने भएको छ । एसिड आक्रमण गरेको अवस्थामा जहिलेसुकै उजुरी दिन सक्ने प्रावधान रहेको छ । ।

    तेजाबसम्बन्धी कसुरमा २० वर्षसम्म सजाय र दश लाख रुपैयाँसम्म जरिबाना तोकिएको छ। आक्रमणकारीको सम्पत्ति रोक्का गरेर पीडितलाई तुरुन्तै क्षतिपूर्ति भराइने व्यवस्था पनि गरिएको छ।

    तेजाब छ्यापेर पीडितको अनुहार, आँखा, नाक, कान, घाँटी तथा संवेदनशील अङ्गमा क्षति पुर्‍याइएमा २० वर्षसम्म कैद सजाय निर्धारण गरिएको छ। शरीरका अन्य अङ्गमा तेजाब मात्रै परे १० वर्ष सजाय राखिएको छ ।

  • देउवाविरूद्ध २७ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित विरोध पत्र दर्ता

    देउवाविरूद्ध २७ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित विरोध पत्र दर्ता

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित २७ जना केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवालाई पार्टी विधिसम्मवत चलाउन माग गरेका छन् । उनीहरुले असोज १९ गते राखिएको केन्द्रीय समिति बैठकमा आफूहरूका माग न्यायपूर्ण र विधिसम्मत समाधान गर्न सभापति देउवासँग माग गरेका हुन् ।

    उनीहरुले सोमबार सभापति देउवालाई ज्ञापनत्रप बुझाउँदैं नजिकिँदै गरेको पार्टीको १४ औं महाधिवेशन सार्ने खेलमा नलाग्न पनि सभापति देउवालाई चेतावनी दिएका छन् । उनीहरुले सभापतिबाटै पार्टीमा अराजकता, द्वन्द्व, पक्ष–विपक्षको रुपमा ध्रुवीकृत भएको आरोप लगाएका छन् ।

    ‘यस्तो पक्षपात पूर्ण ढंगबाट महाधिवेशन गर्न खोज्नुले केवल पार्टी कब्जा गर्ने नियत देखिन्छ । महाधिवेशनको मिति तोकिसकेपछि पार्टीका विभाग एवं अन्य संरचनामा विभिन्न नियुक्तिहरु गर्नु वैधानिक व्यवस्था र महाधिवेशनको आचारसंहिताको ठाडो उल्लंघन हो । तसर्थ केन्द्रीय विभाग गठनका कार्य तत्काल रोकिनु पर्दछ,साथै पार्टीको विधान विपरित भईरहेको क्रियाशील सदस्यता वितरण तत्काल बन्द गरिनु पर्दछ भन्ने कुरा जिल्ला सभापतिहरु एवं हामीले बारम्बार सभापतिज्यूलाई ज्ञापनपत्रद्वारा विभिन्न पटक आग्रह गरेका हौं’, ज्ञापनपत्रमा भनिएको छ ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, शेखर कोइराला, दीपक गिरी, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरूङ, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, कल्याणकुमार गुरूङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईंको हस्ताक्षर बुझाइएको हो ।

  • एक महिनामै बैंकिङ मार्फत १८ अर्ब ३९ करोडको कारोबार

    एक महिनामै बैंकिङ मार्फत १८ अर्ब ३९ करोडको कारोबार

    काठमाडौं । विद्युतीय भुक्तानी कारोबारको संख्या उल्लेख्य वृद्धि भएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार रकम र संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।

    कोरोना संक्रमणको त्रास बढेसँगै सरकारले लकडाउन र निषेधाज्ञा पछि फिजिकल भन्दा डिजिटल बैंकिङ कारोबार बढेको हो ।

    चालु आर्थिक बर्षको पहिलो महिना अर्थात् साउन महिनामा मात्र मोबाइल बैंकिङ मार्फत १८ अर्ब ३९ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    तथ्याङ अनुसार साउनमा मोबाइल बैंकिङबाट ५९ लाख २३ हजार ४११ पटक कारोबार भएको थियो ।

    यस्तै, असार महिनामा मोवाइल बैंकिङबाट ५८ लाख १७ हजार ६८१ पटक कारोबार हुँदा १८ अर्ब ८३ करोड ९० लाख बराबरको भुक्तानी भएको देखिन्छ ।

    राष्ट्र बैंकका अनुसार साउन महिनामा एटिएमबाटमात्रै ४७ लाख ६९ हजार ३ सय ४० वटा कारोबार भएका छन् ।

    जसबाट ३८ अर्ब ३९ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ । यस अवधिमा डेबिट कार्डबाट पनि राम्रै कारोबार भएको छ ।

    साउन महिनामा मात्रै डेबिट कार्डबाट ५४ लाख २६ हजार ३ सय ६८ वटा कारोबार मार्फत ४१ अर्ब ७८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो महिना असारमा भने डेबिट कार्डबाट ३३ लाख १६ हजार ५ सय ५४ कारोबारमार्फत २५ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको थियो ।

    बिशेषगरि कोरोना भाइरसको त्रास बढ्दै गएपछि नेपालमा पछिल्लो समय विद्युतीय माध्यमबाट हुने भुक्तानीको मात्रा बढ्दै गएको छ ।

    मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट, आरटीजीएस मार्फत हुने कारोबार बढ्दै गएको राष्ट्र बैंकको भनाइ छ ।

    विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकले बताएको छ ।

    साउन महिनामा इन्टरनेट बैंकिङ मार्फत ३ अर्ब बराबरको कारोबार भएको छ ।

    यस्तै, सबैभन्दा बढी आरटीजीएस मार्फत भएको तथ्यांकमा देखिन्छ । आरटीजीएस मार्फत ८७ खर्ब १५ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    यस्तै, कनेक्ट आईपीएसबाट ४७ अर्ब ३६ करोड बराबरको भुक्तानी भएको छ । यसैगरि इ कर्मसबाट १ अर्ब २० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

  • थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४८१ पुग्यो

    थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४८१ पुग्यो

    काठमाडौं । नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा २ महिला र २ पुरुष गरी थप ४ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सुनसरीमा ३८, भक्तपुरमा ५१ वर्षीया महिला, बाँकेमा ४७ र गुल्मीमा ३४ वर्षीय पुरुष रहेका छन् यो सहित मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ।