Author: Vishwanews.com

  • बाजुरामा एकै घरका ५ जना खोलामा बगेर वेपत्ता

    बाजुरामा एकै घरका ५ जना खोलामा बगेर वेपत्ता

    बाजुरा । बाजुरामा एक आमा र उनका चार जना बच्चालाई खोलाले बगाएको छ । उनीहरु वेपत्ता भएका छन् । प्रहरीका अनुसार बाजुराको हिमाली गाउँपालिका–५ कवाडी गाउँमा ३० वर्षकी सत्ता नेपाली र उनका ४ छोराछोरी स्थानीय कवाडी खोलामा बगेर बेपत्ता भएका छन् । यसको जानकारी आएसँगै प्रहरी घटनास्थलतर्फ लागेको बताइएको छ ।

    आमासँगै ५, ४ र १ वर्षकी छोरी र २ वर्षका छोरा बेपत्ता भएको परिवारले प्रहरी समक्ष जानकारी गराएका थिए । नुहाउने क्रममा दिउँसो ३ बजे उनीहरुलाई खोलाले बगाएको खबर प्रहरी चौकी बिछियामा आएको थियो । प्रहरी चौकी बिछियाबाट असई कर्ण बुढा र इलाका प्रहरी कार्यालय बुढीगंगाबाट सई नरेश शाहीको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

  • प्रदेश ५ को राजधानी दाङ र नाम लुम्बिनी राख्न प्रस्ताव

    प्रदेश ५ को राजधानी दाङ र नाम लुम्बिनी राख्न प्रस्ताव

    काठमाडौं । प्रदेश नम्बर ५ को राजधानी दाङ र नाम लुम्बिनी राख्न प्रस्ताव गरिएको छ ।

    आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाको बैठकमा प्रदेशको स्थायी राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरेका हुन् ।

    उनले प्रदेशको राजधानी देउखुरीलाई तोकियोस भन्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका हुन् । देउखुरी दाङको राप्ती गाउँपालिका, गडवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चर्चेको राप्ती नदीको किनारमा अवस्थित छ ।

    उक्त प्रस्तावमा सोमबार छलफल हुनेछ । मन्त्रीको उक्त प्रस्तावमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले विरोध गरेका छन् ।

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश ५ को राजधानी दाङ तोक्न निर्देशन दिएको थियो । प्रधानमन्त्री एवं नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले प्रदेश राजधानीबारे सहमति गरेको थियो ।

  • थप ११ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५२० पुग्यो

    थप ११ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५२० पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा मोरङ, ललितपुर, भक्तपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, बाँके र सुर्खेतमा गरी ११ जनाको मृत्यु भएको हो । ११ जनामध्ये ४ जना महिला र ७ जना पुरुष रहेका छन् ।

    मृत्यु हुनेमा मोरङमा २७, ललितपुरमा ३२ र ७० वर्षीय पुरुष, भक्तपुरमा ६१ र ५१, काठमाडौंमा ६७ वर्षीया महिला रहेका छन् ।

    मकवानपुरमा ७८, रुपन्देहीमा ६०, बाँकेमा ५२ र ५९ वर्षीय पुरुष र सुर्खेतमा ७५ वर्षीया महिलाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय २० पुगेको छ।

  • नेपालमा एकैदिन थपिए २७२२ जना कोरोना संक्रमित

    नेपालमा एकैदिन थपिए २७२२ जना कोरोना संक्रमित

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार ७३९ जनाको पीसीआर परीक्षणमा थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै संक्रमितको कूल संख्या ८२ हजार ४५० पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप ३३०७ जना कोरोना संक्रमणमुक्त भएका छन्। डिस्चार्ज हुनेको संख्या ६० हजार १९६ पुगेको छ। देशभर २१ हजार २३४ जना सक्रिय संक्रमित छन्।

  • काठमाडौं उपत्यकामा हालसम्मकै बढी १६३८ जनालाई कोरोना संक्रमण

    काठमाडौं उपत्यकामा हालसम्मकै बढी १६३८ जनालाई कोरोना संक्रमण

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १६ सय ३८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार बिहीबार थप १ हजार ६ सय ३८ जनामा पुष्टि भएको हो।

    त्यसमध्ये काठमाडौंका १२ सय ८० , भक्तपुरका १९६ जना र ललितपुरका १६२ जना छन्। यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या २६ हजार ७४१ पुगेको छ।

    काठमाडौंमा २१ हजार ६७३ ललितपुरमा २ हजार ६८७ र भक्तपुरमा २ हजार ३८१ संक्रमित पुगेका छन्।

  • अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण

    अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

    शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् ट्रम्पले ट्विट गर्दै आफूहरूलाई कोरोना पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन्। चुनावी प्रचार प्रसारमा व्यस्त रहेका ट्रम्प संक्रमण देखिएसँगै अक्टोबर १५ का लागि तय भएको दोस्रो डिबेट प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

    अमेरिका कोरोना प्रभावित मूलुककको पहिलो स्थानमा रहेको छ । अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या ७४ लाख भन्दा बढी पुगिसकेको छ । साथै २ लाख भन्दा धेरैको मृत्यु भइसकेको छ ।

  • पपुवा न्यूगिनीमा ठूलो भूकम्पको धक्का

    पपुवा न्यूगिनीमा ठूलो भूकम्पको धक्का

    पपुवा न्यूगिनी । भूकम्पबाट धेरै पिडित हुने मुलुकमध्ये एक पपुवा न्यूगिनीमा आज बिहान ठूलो भूकम्पको धक्का महसुश गरिएको छ । यहाँ ६.१ म्याग्नीच्युडको भूकम्प मापन गरिएको अधिकारीहरुले जनाएका छन् ।

    स्थानीय समयअनुसार बिहीबार बेलुका ४ बजेर ४६ मिनेटमा ठूलो भूकम्पको धक्का महसुस गरिएको थियो । पपुवा न्यूगिनीको राष्ट्रिय भूकम्प केन्द्रका अनुसार ९० किलोमिटर गहिराइबाट भूकम्प आएको छ । भूकम्पका कारण मानवीय तथा भौतिक क्षतिको विवरण अझै आइसकेको छैन ।

  • १० खेलाडीमा सिमित बार्सिलोनाको लगातार दोस्रो जीत

    १० खेलाडीमा सिमित बार्सिलोनाको लगातार दोस्रो जीत

    काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार दोस्रो जित हात पारेको छ । बार्सिलोनाले सेल्टा डि भिगोमाथि ३–० को सहज जित हात पारेको हो । बार्सिलोना ४२औं मिनेटमा १० खेलाडीमा सिमित भएको थियो । डेनिस सुआरेजमाथि फल गरेपछि डिफेन्डर क्लेमेन्ट लेङ्लेट दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाड्न बाध्य भएका थिए ।

    बार्सिलोनाले सेल्टालाई उसकै मैदानमा ३–० ले हराएको हो । यो जीतलाई महत्वपूर्ण मानिएको छ । किनकी सेल्टा लालीगामा तुलनात्मक रुपमा बलियो टोली मानिन्छ । शुक्रबार बिहान सम्पन्न खेलमा बार्सिलोनका लागि युवा स्टार अन्सु फाती र सर्जियो रोबर्टोले गोल गरे ।

    एक गोल भने आत्मघाती थियो । ११औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले फिलिपे कौटिन्होको पासमा गोल गरेका हुन् । ५१औं मिनेटमा लुकास ओलाजाले आत्मघाती गोल गरे ।

    पेनाल्टी बक्सभित्रबाट कप्तान लियोनेल मेस्सीले गरेको प्रहार लुकास ओलाजासँग डिफ्लेक्ट भएर गोलपोष्ट छिरेको थियो । ५९औं मिनेटमा मेस्सीले गोल गरे पनि मान्यता पाएन । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा मेसीको पासमा सर्जी रोबर्टोले गोल गरे । जितपछि बार्सिलोनाको दुई खेलबाट ६ अंक भएको छ ।

  • नेपाल उद्योग वाणिज्य महासंघको चुनाव मंसिरमा तय

    नेपाल उद्योग वाणिज्य महासंघको चुनाव मंसिरमा तय

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ वार्षिक साधारण सभा तथा निर्वाचन आगामी मङ्सिरमा हुने भएको छ । यसअघि गत चैतमै हुनुपर्ने चुनाव कोरोना भाइरसको महामारीसँगै पर सर्दै आएको थियो । यसले वर्तमान अध्यक्ष भवानी राणाको कार्यकाल करीव १ वर्ष लम्बिएको छ ।

    मंसिर ११ र १२ गते काठमाडौंमा साधारणसभा तथा निर्वाचन गर्ने गरी मिति तय भएको महासंघले जानकारी दिएको छ । महासङ्घको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले ५४ औँ वार्षिक साधारण सभा तथा चुनावको मिति तोकेको हो ।

    प्रज्ञा भवन र राष्ट्रिय सभा गृह मध्ये एक स्थानमा निर्वाचन हुने छ । यसअघि बसेको महासङ्घको कार्यकारिणी समितिले साधारण सभा तथा चुनावसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो । त्यो कार्यदलले महासङ्घको साधारण सभा भर्चुअल्ली र चुनावका कार्यक्रम काठमाडौंमा गर्न सिफारिस गरेको थियो ।


    नेपाल सरकारबाट अनुमति लिँदा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पूरा गर्ने र अब यसपछि कोभिड–१९ का कारण कुनै पालिकाले लकडाउन तथा निषेधाज्ञा गरेमा महासङ्घका प्रतिनिधिलाई आवात जावतमा सहजीकरण गर्ने समेतको स्वीकृति रहेको बताइएको छ ।

  • भारत र पाकिस्तानी सैनिक बीच कश्मीरमा झडप, तीन भारतीय सैनिक मारिए

    भारत र पाकिस्तानी सैनिक बीच कश्मीरमा झडप, तीन भारतीय सैनिक मारिए

    कश्मीर । भारत प्रशासित कश्मीरको सीमा क्षेत्रमा पाकिस्तानी र भारतीय सैनिकबीच भुडभेड भएको छ । घटनामा पाकिस्तानी सैनिकको गोली लागेर तीन जना भारतीय सैनिक मारिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    भारतीय सेनाका प्रवक्ता राजेश कालियाले नोगाम क्षेत्र र पूच क्षेत्रमा पाकिस्तानी सैनिकले गोली प्रहार गर्दा बिहीबार ३ भारतीय सैनिक मारिएको पुष्टी गरेका छन् । घटनामा थप ४ सैनिक घाइते भएको र उनीहरुको उपचार जारी रहेको छ ।

    भारतीय सेनाका तर्फबाट पनि कडा प्रतिकार भएको बताए पनि पाकिस्तानतर्फको क्षति भने यकिन भएको छैन । पाकिस्तानका तर्फबाट जारी बयानमा भने भारतीय सैनिकले युद्धविराम उल्लंघन गरेका कारण घटना घटेको बताएको छ । यो क्षेत्रमा भारत र पाकिस्तानबीच निरन्तर तनाव उत्पन्न भइरहेको छ ।

  • डिस्चार्ज भए क्याप्टेन विजय लामा

    डिस्चार्ज भए क्याप्टेन विजय लामा

    काठमाडौं । कोरोना भाइरसबाट संक्रमित भई अस्पताल भर्ना भएका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा डिस्चार्ज भएका छन् । संक्रमित भएसँगै उनले कोरोना अत्यन्तै खतरनाक भएको भन्दै यसविरुद्ध खेलबाड नगर्न सचेत गराइरहेका छन् ।

    उनका कोरोनाको लक्षण देखिएको थियो । भदौ २९ मा कोरोना संक्रमण पुष्टि भएपछि ललितपुरस्थित स्टार अस्पतालमा भर्ना भएका उनलाई कोरोना जित्न समेत १८ दिन लागेको छ । उनले कैयौँ पीडाबीच आफूले कोरोनासँग हरेक दिन संघर्ष गरेर जित्न सफल भएको उल्लेख गरेका छन् ।

    उनले लेखेका छन्, ‘मैले हरेक दिन कोरोनासँग लडिरहेँ। अनेक दुस्ख र कष्टबीच कोरोनासँगको संघर्षमा हार मानिन ।’ उनले कोरोनाविरुद्धको लडाईँमा आफूलाई साथ दिने चिकित्सकलाई धन्यवाद दिएका छन्।

  • पञ्जावविरुद्ध मुम्बईको प्रभावशाली जीत

    पञ्जावविरुद्ध मुम्बईको प्रभावशाली जीत

    आबुधावी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले दोस्रो जीत प्राप्त गरेको छ । किंग्स इलाभेन पन्जाबविरुद्ध ४८ रनको प्रभावशाली जीत निकाल्ने क्रममा मुम्बईले विहीबार साँझ अलराउण्ड प्रदर्शन गर्यो ।

    ब्याट, बल र फिल्ड तीन वटै फम्र्याटमा मुम्बई चलेको थियो । मुम्बईले दिएको १९२ रनको विजय लक्ष्य पछ्याएको पन्जाब निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४३ रनमा समेटियो । पन्जाबका लागि निकोलस पुरनले सर्वाधिक ४४ रन बनाए ।

    अबुधाबीको शेख जायद रंगशालामा टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९१ रन जोडेको थियो । कप्तान रोहित शर्माले ७० रन जोडेका थिए । पहिलो खेल हारेको मुम्बईले दोस्रो र तेस्रो खेलमा भने जीत निकालेको छ ।

  • सैनिक तालीमका लागि सरकारले दियो हिमचुचुरो

    सैनिक तालीमका लागि सरकारले दियो हिमचुचुरो

    काठमाडौं । नेपाली सेनाको तालीम प्रयोजनका लागि सरकारले एक हिमाल नेपाली सेनालाई प्रदान गरेको छ । सरकारले मनाङस्थित चुलु वेस्ट हिमाल नेपाली सेनाले प्रयोग गर्ने गरी प्रदान गरेको हो । यो हिमाल नेपाली सेनाले ‘ट्रेनिङ पीक’का रुपमा प्रयोग गर्ने भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका सचिव केदार बहादुर अधिकारीका अनुसार ६ हजार ४ सय ९० मिटर उचाईको यो हिमाललाई नेपाली सेनाले सैनिक उच्च शिखर शिक्षालयमा सञ्चालन हुने माउन्टेन वारफेयर एडभान्स तालिमका रुपमा प्रयोग गर्नेछ । यसरी नेपालमा कुनै एक निकायलाई चुचुरो प्रदान गरेको यो पहिलो पटक हो ।

    हिमाल अब सैनिक तालिममा सहभागी हुने शिक्षक, शिक्षार्थी र विदेशी शिक्षार्थीको आरोहणमा प्रयोग हुनेछ । सरकारले यो पिक प्रयोग गरेवापत तिर्नुपर्ने दस्तुर समेत नेपाली सेनाका लागि मिनाहा गरेको छ । १० वर्षसम्म सेनाले तालिम प्रयोजनका लागि यो हिमाल निःशुल्क प्रयोग गर्न सक्ने भएको छ ।

  • डा. केसीबारे सरकारको प्रतिक्रिया : ‘ अनसन बस्न उपयुक्त समय होइन’

    डा. केसीबारे सरकारको प्रतिक्रिया : ‘ अनसन बस्न उपयुक्त समय होइन’

    काठमाडौं । सरकारले अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता नगर्ने मुड बनाएको छ । सरकारले डा. केसीबारे पहिलो पटक प्रतिक्रिया दिँदै अहिले अनसन बस्न उपयुक्त समय नभएको प्रतिक्रिया दिएको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले कोरोना महामारीको समयमा अनसन बस्नु उपयुक्त नहुने उल्लेख गरे ।

    डा. केसी पछिल्लो दुई सातायता अनसानमा छन् । उनको स्वास्थ्य अवस्था बिग्रने क्रममा रहेको छ । प्रवक्ता ज्ञवालीले एकातिर डाक्टर, सुरक्षाकर्मी कोभिडबाट नागरिकलाई कसरी जोगाउन सकिन्छ भनेर लागिरहेको असमान्य अवस्थामा अनसन, सत्याग्रह, धर्ना, हड्ताल सुहाउँदो विषय नभएको बताए । उनले उनले डाक्टर केसीका अधिकांश माग कार्यान्वयनमा गइसकेको र बाँकी रहेका विषयमा पछि पनि छलफल गर्न सकिने उल्लेख गरे ।

  • बाबुराम, विप्लव र वैद्यलाई प्रचण्डको आह्वान : एकता गरौं

    बाबुराम, विप्लव र वैद्यलाई प्रचण्डको आह्वान : एकता गरौं

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल माओवादी छाडेर छिन्नभिन्न भएका नेताहरुलाई एकताको आह्वान गरेका छन् । डा.बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई मूलधारकै राजनीतिमा फर्कन आह्वान गर्दै उनले एकताको चाहना व्यक्त गरेका हुन् ।

    तत्कालीन माओवादी छाडेका हिँडेका प्रदेश २ का नेताहरुलाई धुम्बाराहीस्थित नेकपा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपामा प्रवेश गराउँदै प्रचण्डले यस्तो आह्वान गरेका हुन् । कम्युनिष्ट एकै पार्टीमा बसेर बहस गर्न सक्ने भन्दै उनले छलफल, संघर्ष रुपान्तरण र नयाँपन जीवन्त पार्टीमा चलिरहने विषय भएको समेत उल्लेख गरे ।

    नेपालमा कम्युनिष्ट आन्दोलन विभाजन भएकै कारण आफुहरुले दुख पाउनु परेको र समस्या उत्पन्न भएको समेत उनले बताए । कम्युनिष्ट फुटेकै कारण कांग्रेसले सरकार चलाएको भन्दै उनले एकतामा त्यति ठूलो तागत हुने उल्लेख गरे । कम्युनिष्ट एकताको तागत नेपालले विश्‍वलाई देखाइसकेका भन्दै अध्यक्ष दाहालले एकतापछि अन्य समूह पनि नेकपामा आइरहेको उल्लेख गरे ।

  • नेपालमा कोरोनाबाट पहिलो पटक चिकित्सकको मृत्यु

    नेपालमा कोरोनाबाट पहिलो पटक चिकित्सकको मृत्यु

    नेपालगन्ज । नेपालमा बिहीबारसम्म कुल ५ सय ९ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गइसकेको छ । यसमा पहिलो पटक चिकित्सकले ज्यान गुमाउनु परेको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँकेको खजुरा गाउँपालिका ३ घर भएका ५९ वर्षिय चिकित्सक डा. हरि सापकोटाको कोरोना भाइरसको संक्रमणका कारण बिहीबार ज्यान गएको हो ।

    प्रदेश स्वास्थ्य निर्देशनालयले यसको पुष्टी गरेको छ । उनमा भदौ २९ मा संक्रमण पुष्टि भएको थियो । उनमा श्वास फेर्न गाह्रो हुने समस्या आएपछि नेपालगञ्जको भेरी अस्पतालमा असोज १ गते भर्ना गरिएको थियो ।

    प्लाज्मा थेरापी विधिका साथै रेमडेसिभरको समेत प्रयोग गरेर उनको उपचार गरिए पनि बिहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि बिहान ९ बजे उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सोहीक्रममा उनको बिहीबार दिउँसो ३ः१० बजे मृत्यु भएको छ । उनी कर्णाली प्रदेश अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जनका रुपमा कार्यरत थिए ।

  • थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५०९ पुग्यो

    थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५०९ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १ महिला र १० पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु हो ।

    मृत्यु हुनेमा सुनसरीमा ५६, ५० र २७, काठमाडौंमा ७८ र ६८, भक्तपुरमा ६८, ललितपुरमा ४८ वर्षीय पुरुष रहेका छन् ।

    त्यस्तै बाँकेमा ३४ वर्षीया महिला, रुपन्देहीमा ८०, ५५ र ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु् हुनेको संख्या ५ सय ९ पुगेको छ।

  • काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परिक्षणमा काठमाडौंमा ८१७ ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनालाई कोरोना संक्रमण देखिएको छ।

    यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या २५ हजार १०३ पुगेको छ।

    काठमाडौंमा २० हजार ३९३, ललितपुरमा २ हजार ५२५ र भक्तपुरमा २ हजार १८५ संक्रमित पुगेका छन्।

  • थप १९११ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित २१ हजार ८३०

    थप १९११ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित २१ हजार ८३०

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार ४४४ जनाको पीसीआर परीक्षणमा थप १५११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै संक्रमितको कुल संख्या ७९हजार ७२८ पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप ९११ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म ५७ हजार ३८९ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

    हाल देशभर सक्रिय संक्रमित २१ हजार ८३० छन्।

  • दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा

    दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ ।

    दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

    यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको समितिले जनाएको छ । नवरात्र शुरु हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त दिइएको जनाइएको छ ।

    घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी नौ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दुर्गा सप्तशती चण्डी, देवीभागवत्, देवी स्तोत्रलगायत देवीको महिमागान गाइएका श्लोक वाचन एवं पाठ गरिन्छ । देशभरका शक्तिपीठमा घटस्थापनाकै दिनदेखि विशेषरूपमा भक्तजनको भीड लाग्ने भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले भौतिक दूरी कायम गरी दर्शन गर्नुपर्ने अवस्था छ । हाल गुह्येश्वरीलगायत राजधानीका मुख्य शक्तिपीठमा भक्तजनलाई दर्शन गर्न दिइएको छैन ।

    कात्तिक २ गते आइतबार बिहान १०ः५३ बजे पश्चिम फर्केर झण्डा फेर्ने साइत दिइएको छ । विशेषगरी नेपाली सेनाले झण्डा फेर्ने गरेको जनाइएको छ । कात्तिक ५ गते बुधबार पचली भैरव यात्राको साइत जुरेको छ । कात्तिक ७ गते शुक्रबार फूलपाती छ । फूलपाती भित्र्याउन साइत आवश्यक पर्दैन । विशेषगरी बेलुकी नवदुर्गा स्थापना गरी घटस्थापना गरिएको पूजा कोठा अथवा दशैँ घरमा फूलपाती भित्र्याइन्छ ।

    कात्तिक ७ गते शुक्रबार फूलपातीकै दिन बिहान ८ः५६ बजे तुलजा भवानीको यात्रा चलाउने साइत छ । यात्रा सकेर बिहान १०ः१४ बजे तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत निस्किएको समितिले जनाएको छ ।

    कात्तिक ८ गते शनिबार महाअष्टमी पर्व मनाइन्छ । यस दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन् । बेलुकी कालरात्रि मनाइन्छ । कात्तिक ९ गते आइतबार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आराधना गरी मनाइन्छ । यस दिन वसन्तपुरको कोतमा राज्यका तर्फबाट बलिसहित पूजा आराधना हुन्छ ।

    दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष गौतमले सुनाए । विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम छ ।

    “आर्यावर्त क्षेत्रका राज्य सञ्चालकले अनिवार्यरूपमा शुभ साइतमा देवीको प्रसाद लगाउनुपर्ने शास्त्रीय वचन छ, आर्यावर्त क्षेत्रमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भूटान, बर्मालगायत देश पर्छन्, यी देशका शासकले देवीको आशीर्वाद लिएर राज्य सञ्चालन गरे शान्ति र सुशासन दिनसक्ने शास्त्रीय मान्यता छ”, उनले भने ।

    विजयादशमीका दिन घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी मान्यजनबाट जमरासहित देवीको प्रसाद लगाइन्छ । सामान्य मानिसले भने विजयादशमीका दिन दिनभर टीका ग्रहण गर्न कुनै बाधा नरहेको समितिको निर्णय छ । देशका धेरै स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीकासहित आशीर्वाद लिइने परम्परा छ ।

    टीकाकै दिन बिहान ८ः४७ बजे तुलजा भवानीको यात्रा गराउने साइत जुरेको छ । तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत भने बिहान ९ः४९ बजेको छ । खड्गयात्रासमेत यसैदिन गरिन्छ ।

    कात्तिक १४ गते शुक्रबार विधिपूर्वक गरिने सबै बलि पूर्तिको कर्म गर्नुपर्छ । कोजाग्रत पूर्णिमा पनि कात्तिक १४ गते शुक्रबारकै दिन परेको छ । त्यस दिन रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको विशेष पूजा आराधना गरिन्छ । महालक्ष्मीको विशेष आराधना गर्ने भक्तजनले कोजाग्रत पूर्णिमाको व्रत बस्ने गर्छन् ।

    चान्द्रमासअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व यस वर्ष अधिकमास अर्थात् मलमासका कारण कात्तिक १ गतेदेखि शुरु हुँदैछ । मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुन्छ ।

  • शंकरदास वैरागी मुख्य सचिवमा नियुक्त

    शंकरदास वैरागी मुख्य सचिवमा नियुक्त

    काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्य सचिव नियुक्त गरेको हो ।

    यसअघिका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन्। कार्यकाल सकिनु केही दिन बाँकी हुँदा उनले राजीनामा दिएका हुन्। मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गतेसम्म थियो।

    वैरागी २०७२ असोज २२ मा सचिव नियुक्त हुनु भएका थिए । वैरागीले पूरै कार्यकाल अर्थात् २०८० असोज २२ गतेसम्म काम गर्न पाउने छन् ।

    प्रधानमन्त्रीको मुख्य प्रशासनिक सल्लाहकारका रूपमा काम गर्न पाइने भएकाले कर्मचारीतन्त्रमा मुख्य सचिव पद निक्के आकर्षक मानिन्छ । निजामती सेवा ऐनको दफा १९ (२)‘क’मा ज्येष्ठता र कार्यकुशलताका आधारमा बहालवाला सचिवहरूमध्येबाट एक जना मुख्यसचिव नियुक्त गरिने उल्लेख छ ।

    सरकारका ७० सचिव (विशिष्ट श्रेणी) मध्ये वरिष्ठ तीन सचिवमा परराष्ट्रका शंकरदास वैरागी, सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा र संस्कृति र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका केदारबहादुर अधिकारी रहेका थिए ।

  • पूर्वअर्थमन्त्री खतिवडालाई अमेरिका र रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस

    पूर्वअर्थमन्त्री खतिवडालाई अमेरिका र रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस

    काठमाडौं । सरकारले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

    बिहिबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो।

    यस्तै, मुख्यसचिव रहेर राजिनामा दिएका लोकदर्शन रेग्मीलाई सयुक्त अधिराज्य बेलायतको राजदूतका लागि नियुक्त गर्ने सिफारिस गरेको छ ।

    रेग्मीले केहीअघि मुख्यसचिवबाट राजीनाम दिएका थिए । उनको राजीनामा स्विकृत गरेर राजदूत बनाउने निर्णय भएको हो । रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदैछ ।

    राष्ट्रपतिले खतिवडा र रेग्मीलाई राजदूत नियुक्त गर्नुअघि संसदीय समितिले सरकारको सिफारिस अनुमोदन गर्नुपर्नेछ। त्यसका लागि संसदले चाँडै नै सुनुवाइ प्रक्रिया सुरू गर्नेछ।

    सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको छ ।

  • भारतले खोल्ने भयो सिनेमा हल र शिक्षण संस्था

    भारतले खोल्ने भयो सिनेमा हल र शिक्षण संस्था

    नयाँ दिल्ली । भारतले अक्टोवर १५ बाट सिनेमा हल, मनोरन्जन स्थल र शिक्षण संस्था खुला गर्ने भएको छ । यससँगै भारतमा जारी लकडाउन समेत समाप्त हुनेछ । किनकी अहिले पनि भारतमा सार्वजनिक यातायात र व्यापार व्यवसाय खुला भइसकेको छ । १५ तारिखदेखि स्कूल र कलेज समेत खुल्ने घोषणा केन्द्र सरकारले गरेको हो ।

    यद्दपी आफ्नो राज्यमा बन्द गर्ने की खुला भन्ने निर्णय गर्ने अधिकार भने राज्य सरकारसँगै रहनेछ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भारतमा पनि लकडाउन छ । सोहीकारण बढी भिडभाड हुने क्षेत्रहरु अहिले पनि बन्द छन् ।

    १० वर्षमुनिका बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेकाले विद्यालय खोल्ने निर्णय विद्यालयलाई दिइएको छ । विद्यालयले समेत जोखिम देखेमा बन्द गर्न सक्नेछन् ।

    केन्द्रले अनलाइन कक्षा र दूरी सिकाइ (डिस्ट्यान्स लर्निङ) लाई प्राथमिकता दिन आग्रह गरेको छ । सिनेमा, थिएटर र मल्टीप्लेक्समा ५० प्रतिशतभन्दा धेरै सीटमा मानिस राख्न नपाइने गरी खोल्न लागिएको छ ।

  • एक वर्ष कुराएर पनि निजगढ विमानस्थल बनाउने प्रस्ताव पठाएन जुरिचले

    एक वर्ष कुराएर पनि निजगढ विमानस्थल बनाउने प्रस्ताव पठाएन जुरिचले

    काठमाडौं । स्वीट्जरल्याण्डको जुरिच इन्टरनेशनल एजीले निजगढ विमानस्थल निर्माणमा इच्छा देखायो । दुई वर्ष अगाडी आयोजना भएको लगानी सम्मेलनका दौरान उसले निजगढमा लगानीको आशयपत्र हालेको थियो । अन्य ६ वटा कम्पनीलाई पाखा लगाउँदै सरकारले जुरिचलाई छनोट गरी उसबाट लगानीको प्रस्ताव माग गर्यो ।

    तर, सेप्टेम्बर ३० सम्मको अन्तिम अवधि सकिँदा समेत यो कम्पनीले प्रस्ताव पठाएन । उल्टो कोरोना भाइरसको संक्रमणको महामारीका कारण एभिएशन उद्योग धरासायी बनेको भन्दै उल्टो प्रस्ताव पठाउन नसक्ने जानकारी दियो । यसले नेपालको सबैभन्दा चर्चामा रहेको निजगढ विमानस्थलको निर्माण पुनः अन्यौलमा परेको छ ।

    यो विमानस्थलको चर्चा तीन दशकदेखि भइरहेको छ । तर, लगानीको उचित मोडल नभेटिएका कारण आयोजना अन्यौलमा छ । पर्यटन मन्त्री योगेश भट्टराईले यो आयोजना सरकार आफैले निर्माण गर्ने बताइरहेका छन् । त्यसकारण अब बल सरकारको कोर्टमा पुगेको छ । आयोजनामा अहिले पूर्वतयारीका चरणवद्ध काम भइरहेका छन् ।

    तर, रुख कटानमा भने विवाद छ । यो अदालतमा पुगेर रोकिएको छ । तर, यसबीचमा लगानीको मोडालिटी टुंगो लगाउने योजना भने सफल हुन सकेन । अब लगानी बोर्डका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसहितको बैठकले यस आयोजनाका सम्बन्धमा नयाँ रणनीति तय गर्ने बताइएको छ ।

  • फास्ट ट्रयाकका सुरुङ बनाउन २७ कम्पनीको प्रस्ताव

    फास्ट ट्रयाकका सुरुङ बनाउन २७ कम्पनीको प्रस्ताव

    काठमाडौं । काठमाडौं तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत पर्ने सुरुङमार्गको निर्माणका लागि २७ कम्पनी इच्छुक देखिएका छ् । छोक्रेडाँडादेखि धेद्रे खोलासम्म सुरुङ बनाउन कुल २१ कम्पनीको बोलपत्र परेको छ । उता, धेद्रे खोलादेखि लेनडाँडासम्मका सुरुङमा २२ ओटा कम्पनी इच्छुक देखिएका छन् ।

    त्यसमध्ये दुवैतर्फको काम गर्न १६ कम्पनी इच्छुक देखिएका हुन् । छोक्रेडाँडादेखि धेद्रे खोलासम्मको सुरुङमा मात्रै बोलपत्र राख्ने ५ ओटा र धेद्रे खोलादेखि लेनडाँडासम्मको सुरुङमा मात्रै बोलपत्र राख्ने ६ ओटा कम्पनी रहेका छन् ।

    मुल्याङ्कन समितिले बोलपत्रको मुल्याङ्कनको कार्य पुरा गरी योग्य कम्पनीलाई सूचिकृत गर्ने भएको छ । ठेक्का नेपाली सेनाले लगाएको हो । यो आयोजनाको मूख्य ठेकेदार भने सेना हो । छोक्रेडाँडादेखि धेद्रे खोलासम्म ३ किलोमिटर लामो सुरुङ बनाउनु पर्ने भएको छ ।

    धेद्रे खोलादेखि लेनडाँडासम्म दुई ठाउँमा गरी ३.१ किलोमिटर लामो सुरुङ बन्नेछ । सेनाले अहिले फास्ट ट्राकको सहज रहेको स्थानको काम गरिरहेको छ । प्राविधिक काममा भने अन्य कम्पनीमार्फत ठेक्का लगाउनु पर्ने छ ।

  • आजबाट खुल्दैछन दशैं लक्षित सहुलियत पसल

    आजबाट खुल्दैछन दशैं लक्षित सहुलियत पसल

    काठमाडौं । आजबाट देशैभर दशैं लक्षित सहुलियत पसल संचालनमा आउने भएका छन् । सरकारले आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याउन लागेको हो । नजिकिएको दसैं, तिहार, छठ, ल्होसारसमेत पर्वमा उपभोक्तालाई बजार मूल्यभन्दा सस्तोमा सामान उपलब्ध गराउन सरकारले हरेक वर्ष यस्तो पसल संचालन गर्दै आएको छ ।

    पसलमा खाद्यान्नलगायत सामग्री विक्री गरिने भएको छ । साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान र खाद्य संस्थानबाट यस्ता पसल चल्नेछन् । सुपथ मूल्यका यस्ता पसलमा नुन, चिनी, चामल, घ्यु, पनिर, तेल, दाल, मसला, चिया, चिउरालगायतका खाद्यान्न सामग्री विक्रीमा राखिने भएको छ ।

    यस्ता सुपथ पसलमा निजी क्षेत्रले राखेको मूल्यभन्दा २ रुपैयाँदेखि १० रुपैयाँसम्म कम मूल्य पर्ने भएको छ । तीन वनै संस्थानका देशभर रहेका कार्यालय, डिपो, डिलरका साथै घुम्ती सेवा पसल र अनलाइनमार्फत् उपभोक्तालाई सेवा दिइने छ ।

    कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, ललितपुर, थापाथली, जावलाखेल, भक्तपुरका साथै धुम्ती सेवा पसल र अनलाइनमार्फत् उपत्यकासहित अन्य ४९ स्थानमा यस्तो पसल चल्नेछ । दुग्ध विकास संस्थानका आउटलेट लैनचौर, न्युरोड, खुमलटार र तोकिएका अन्य स्थानमा पसल खुल्नेछन् ।

    पसलमा नुन प्रतिकेजी १८, चिनी प्रतिकेजी ७० र घ्यु प्रतिलिटर ८ सय ७० रूपैयाँमा पाइने छ । नुन र चिनी प्रति परिवार ४ केजीका दरले मात्रै बिक्रि गरिने भएको छ । दाल, चामल, फापर, तिते फापर र सेतो केराउमा प्रतिकेजी ५ रूपैयाँ छुट हुने भएको छ । खसी, बोका, च्याङ्ग्रा र सिमीमा प्रतिकेजी १० रूपैयाँ छुट हुनेछ । यस्ता पसल ८ मंसिरसम्म खुल्नेछन् ।

  • मिडियाप्रति प्रधानमन्त्रीको आक्रोस, ‘जति गाली गरे पनि सहनुपर्ने ?’

    मिडियाप्रति प्रधानमन्त्रीको आक्रोस, ‘जति गाली गरे पनि सहनुपर्ने ?’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः एक पटक संचारमाध्यमविरुद्ध आक्रोस पोखेका छन् । मिडियाले हरेक दिन सरकारलाई गाली गर्दा सरकारले सहनु पर्ने तर, एक दिन सरकारले सुझाव दिन खोज्दा बुरुक्क उफ्रने गरेको भन्दै मिडियाप्रति आक्रोसित भएका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ सञ्चार माध्यमका सम्पादकहरूसँगको भेटमा यस्तो गुनासो गरेका हुन् । सञ्चार माध्यमले सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने, तर आफूले सुझाव दिँदा सहन्न भन्ने प्रवृति देखिएको उनको भनाई छ ।

    हालै गठन भएको मिडिया एलायन्सका पदाधिकारी प्रधानमन्त्रीलाई भेट्न साँझ उनको सरकारी निवास वालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीले सञ्चार जगतले अरुलाई जे भनेपनि छुट पाइने तर यसो छोयो भने बुरुक्क उफ्रिहाल्ने, करेन्ट लागेजस्तो गर्ने भन्दै उनले मिडियाको ब्यंग्य समेत गरेका छन् ।

    केही पहिले सम्पादकहरूसँग भएको भेट स्मरण गर्दै उनले तपाईहरूले दिनरात गाली गर्दा सहनुपर्छ भनेर सिकाउने । मैले अलिकति भन्दा सहन नसक्ने के हो यो ? भन्दै प्रश्न गरेका थिए ।

  • पाकिस्तानले खोल्यो सबै शिक्षण संस्था

    पाकिस्तानले खोल्यो सबै शिक्षण संस्था

    इस्लामावाद । कोरोना भाइरसको नियन्त्रणमा दक्षिण एसियामै सफल मुलुक पाकिस्तानले अन्ततः सबै प्रकारका शिक्षण संस्था खुला गरेको छ । महामारी नियन्त्रणका लागि बन्द गरिएका पाकिस्तानका सबै शैक्षिक संस्था बुधबारबाट सूचारु गरिएको हो ।

    सरकारी अधिकारीहरुले झण्डै ६ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन भएको जानकारी गराएका छन् । पाकिस्तानी संचारमाध्यमहरुका अनुसार पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन लाख मानिस संक्रमित भए पनि नियन्त्रणमा सरकार सफल भएको छ ।

    बुधबारबाट सरकारी र निजी दुवै प्रकारका विद्यालय खुला भएका छन् । सञ्चालनमा आएका विद्यालयमा स्वास्थ्य सतर्कतासम्बन्धी मापदण्ड पालनाका नियम भने अत्यन्तै कडा बनाइएको छ । मापदण्ड पर्याप्त रुपमा पालना भएको वा नभएको बारेमा अनुगमन गर्न विभिन्न संयन्त्र परिचालन भएको बताइएको छ ।

    पाकिस्तानमा अहिलेसम्म कूल तीन लाख १२ हजार २६३ जना कोरोना भाइरसबाट संक्रमित छन् । पछिल्लो २४ घण्टामा भने मात्र ७४७ जना थपिएका छन् । यहाँ ६ हजार ४७९ जनाको मृत्यु भएको छ ।

  • खाडी क्षेत्रका चार मुलुकबाट अब काठमाडौंमा नियमित हवाई उडान

    खाडी क्षेत्रका चार मुलुकबाट अब काठमाडौंमा नियमित हवाई उडान

    काठमाडौं । सरकारले पिसिआर परीक्षण सहज नभएका खाडी क्षेत्रका मुलुकमा नियमित उडान रोकेको थियो । यी मुलुकमा माग अनुसार चार्टर्ड उडान हुँदै आएका थिए । यसले भाडा महगाें हुने गरेको थियो । बिहीबारबाट भने उक्त प्रतिवन्ध हटेको छ । अब खाडीका चार मुलुकबाट अक्टोबर १ देखि नियमित हवाई उडान सुरु हुने भएको छ ।

    साउदी अरब, कतार, कुवेत र ओमानबाट नियमित हवाई उडान खुल्न लागेको हो । अब श्रमिकले आफ्नो अनुुकुलमा टिकट काटेर घर फर्कन सक्ने भएका छन् । सरकारले भदौ १६ बाट मलेसिया, यूएई, जापान, कोरियालगायत मुलुकमा नियमित उडान खोलेको थियो ।

    तर साउदी, कतार कुवेतलगायत मुलुकमा भने पीसीआर परीक्षण सहज नभएको भन्दै यी देशबाट फर्कन खोज्ने नेपालीको लागि चार्टर्ड उडान गरिएको थियो । अब पीसीआर परीक्षण गरेर आउने श्रमिक सिधै होम क्वरेण्टीनमा जान सक्ने भएका छन् ।

    पीसीआर परीक्षण नगरी आए काठमाडौंमा होटल क्वरेण्टीनमा बस्नु पर्छ । तर, स्वदेश फर्कन सिधै सम्बन्धित एअरलाइन्स कम्पनीमा सम्पर्क गरेर टिकट काटेर आफ्नो अनुकुलमा घर फर्कने सकिने भएको छ । चार्टर्ड उडानमा जस्तो दूतावासको सूची अनुसार घर फर्कन पालो समेत कुर्न पर्ने छैन ।

  • सरकारविरुद्ध आन्दोलन चर्काउने मुडमा प्रतिपक्षी कांग्रेस

    सरकारविरुद्ध आन्दोलन चर्काउने मुडमा प्रतिपक्षी कांग्रेस

    काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेस वर्तमान सरकारविरुद्ध आन्दोलन चर्काउने मुडमा पुगेको छ । यसका लागि तयारी थाल्ने निष्कर्षमा कांग्रेस पुगेको हो । केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार जनताका समस्यामा असहिष्णु रहेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले आन्दोलनको विकल्प नरहेको निष्कर्ष समेत निकालेको छ ।

    सरकारविरुद्ध सदन र सडकबाट आन्दोलनको तयारी थालिएको नेताहरुले बताएका छन् । बुधबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बसेको थियो । बैठकले सरकारविरुद्ध आन्दोलन गर्ने प्रस्ताव असोज १९ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा लैजाने निर्णय गरेको छ ।

    कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको, भ्रष्टाचार बढेको र जनता रोग तथा भोकसँग लड्दा पनि सरकार संवेदनसिल नभएको भन्दै कांग्रेस आन्दोलनको निष्कर्षमा पुगेको हो । यसैबीच कांग्रेस केन्द्रीय समितिको बैठक भने असोज १९ मा बस्ने भएको छ ।

    बैठकमा सभापति देउवाले सामाजिक दूरी कायम गरी सडक आन्दोलन गर्ने प्रस्ताव गर्ने गरी आजको पदाधिकारी बैठक सकिएको छ । पदाधिकारीको बैठकले संसदको विशेष अधिवेशन बोलाउन समेत माग गर्ने निर्णय गरेको छ ।