Author: Vishwanews.com

  • आइपीएल : चेन्नईलाई राजस्थानले हरायो

    आइपीएल : चेन्नईलाई राजस्थानले हरायो

    यूएई । १३ औं संकरणको इन्डियन प्रिमियर लिग (आइपीएल) २०२० अन्तगर्त गत राती सम्पन्न खेलमा चेन्नई सुपरकिंस पराजित भएको छ । रोमाञ्चक खेलमा राजस्थान रोयल्सले चेन्नईलाई १६ रनले हराएको हो । २ सय १७ रनको लक्ष्य पछ्याएको चेन्‍नइ २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन बनाएर ओभर सकायो ।

    उसका लागि मुरली विजय र सेन वाटसनले पहिलो विकेटका लागि ६.४ ओभरमा ५६ रनको साझेदरी गरेका थिए। वाटसन ३३ र विजय २१ रन जोड्दै आउट भए । ११४ रन जोडेर पाँच विकेट गुमाएको अवस्थामा चेन्‍नइका फाप डु प्लेसिसले आक्रामक ब्याटिङ गर्दै जीतको आशा देखाएका थिए । तर, उनी १९ औं ओभरमा आउट भए। उनले ३७ बलमा १ चौका र ७ छक्कासहित ७२ रन जोडेका थिए ।

    कप्तान महेन्द्रसिंह धोनीले १७ बलमा नटआउट २९ रन जोडे । राजस्थानका लागि टेवाटियाले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए। आर्चर, गोपाल र करनले १\१ विकेट झारेका थिए । टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो ।

    राजस्थानलाई विशाल योगफलमा पुर्‍उन सञ्जु स्यामसन र स्टिभ स्मिथ चम्किए । स्यामसनले ३२ बलमा ९ छक्का र १ चौका सहित ७४ रन जोडे। कप्तान स्टिभ स्मिथ ४७ बलमा ४ चौका र ४ छक्कासहित ६९ रनमा बनाए।

    अन्तिम ओभरमा जोफ्रा आर्चरले ८ बलमा ४ छक्का सहित २७ रन जोड्दै टोलीलाई विशाल योगफलतर्फ अगाडी बढाएका थिए । प्रतियोगिताअन्तर्गत बुधबार कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स भिड्दैछन् ।

  • हुम्लामा नेपाली भूमिमा भवन नबनाएको चीनको स्पष्टिकरण

    हुम्लामा नेपाली भूमिमा भवन नबनाएको चीनको स्पष्टिकरण

    काठमाडौं । चीनले नेपाली भूमिमा भवन नबनाएको स्पष्ट पारेको छ । नेपालसँग सीमा जोडिएको कुनै पनि ठाउँमा सीमा विवाद नरहेको समेत चीनको दाबी छ । यसअघि हुम्लामा नेपाली सीमा मिचेर चीनले भवन बनाएको समाचार सार्वजनिक भएको थियो । त्यसपछि नेपाली टोली हुम्ला पुगेपनि त्यसै फर्किएको छ ।

    चीनले भने नेपाली भूमिमा बनाएको भनिएका भवनको सत्यतथ्य जाँच गर्न नेपालले सक्ने उल्लेख गरेको छ । हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएको थियो ।

    काठमाडौंस्थित चिनियाँ दूतावासले यो समाचारको खण्डन गरेको हो । दूतावासले चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद नरहेको र दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएको उल्लेख छ । नेपाल–चीन निकटका छिमेकी रहेको भन्दै दूतावासले नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान समेत गर्ने बताएको छ ।

  • वीर अस्पतालमा कैदीबन्दीको मृत्युपछि जेल र अस्पतालप्रति प्रश्नै-प्रश्न

    वीर अस्पतालमा कैदीबन्दीको मृत्युपछि जेल र अस्पतालप्रति प्रश्नै-प्रश्न

    काठमाडौं । वीर अस्पतालमा एक जना कैदीबन्दीको मृत्यु प्रकरणले आज दिनभर सामाजिक संजाल तात्यो । ज्यान गुमाएका एक कैदीबन्दीको शव असामान्य देखेपछि यो विषयलाई आफन्तले सामाजिक सञ्जालमा ल्याए । सामाजिक संजालमा भने यो विषयलाई अनेक दृष्टिकोणबाट व्याख्या शुरु भएको छ ।

    परिवारले यो विषयलाई बिरामीका कारण नभई हत्या भएको आरोप लगाएका छन् । बुटवल घर भएका रामलखन जैसवाल विगत सात वर्षदेखि थुनामा थिए । उनी कर्तव्य ज्यान मुद्दामा जेल परेका हुन् ।

    तर, केन्द्रिय कारागारमा रहेकै अवस्थामा बिरामी परेका उनलाई वीर अस्पताल उपचारका लागि ल्याइएको थियो । अस्पताल ल्याउना साथ उनको ज्यान गएको र परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टी भएको अस्पताल प्रशासनले जनाएको छ । तर, परिवारले भने यो हत्या हो भन्दै प्रशासनको दावि मान्न तयार छैनन् ।

    उता, वीर अस्पतालले मङ्गलबार साँझ विज्ञप्ति निकाल्दै सामाजिक सञ्जालमा आएका विवादास्पद विषयप्रति आपत्ति प्रकट गरेको छ ।

    ‘कोरोना सङ्क्रमित ती व्यक्तिलाई असोज ३ गते राति वीर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको अस्पतालले जनाएको छ । उनको आकस्मिक कक्षमा ल्याएर जाँच गर्ने बित्तिकै मृत्यु भइसकेको थियो, त्यसको जानकारी परिवारलाई दिएका हौँ । सेन्टर जेलबाट आएकाले त्यहाँ कोभिडको धेरै केस भएकाले पीसीआर गर्नुपर्ने भएर असोज ४ गते जाँच गर्न नमुना पठाएकोमा ५ गते रिर्पोट पोजेटिभ आएको हो’, विज्ञप्तिमा उल्लेख छ ।

    गर्मीका कारण ती व्यक्तिको शरीर बिग्रन लागेको र कोभिड भएका व्यक्तिको शव अन्यले छुन नमिल्ने भएकाले शव राख्ने स्थानमा राखेको अस्पतालको भनाई छ ।
    ‘परिवारले बिग्रन लागेको शरीर देखेकाले हत्या गरिएको आशङ्का गरेको तर त्यस्तो नभएको अस्पतालले उल्लेख गरेको छ ।

    अस्पतालका अनुसार प्रहरीको रोहबरमा परिवारलाई शव देखाउने कार्य भइरहेको छ । त्यसपछि शव नेपाली सेनाले व्यवस्थापन गर्ने छ । अस्पताल प्रशासनले मेडिकल अवस्थालाई नबुझी केही सञ्चारमाध्यममा आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता भ्रामक प्रचार भएको प्रति समेत अस्पतालले खण्डन गरेको छ ।

  • आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

    आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

    काठमाडौं । सरकारले विश्वविख्यात आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । उनको किरियामा लाग्ने खर्च समेत सरकारले बेहोर्ने भएको छ ।

    शाहसी आरोही उनी हिम चितुवाका नामबाट समेत परिचित थिए । उनको सोमबार ७२ वर्षको उमेरमा काठमाडौं जोरपाटीस्थित निवासमा निधन भएको हो ।

    सन् १९८३ मा पहिलो पटक बीना अक्सिजन सगरमाथा आरोहण गरेका उनले त्यसपछि १० पटकसम्म बीना अक्सिजन नै सगरमाथा चुचुरो टेकेका थिए । उनले अन्तिम पटक सन् १९९६ मा सगरमाथा आरोहण गरेका थिए ।

  • बुधबारदेखि साझा यातायातका लामो दूरीका बस चल्ने

    बुधबारदेखि साझा यातायातका लामो दूरीका बस चल्ने

    काठमाडौं । बुधबारबाट साझा यातायातका लामो दुरीका बस चल्ने भएका छन् । दशैंमा घरजाने यात्रुको सहज होस भन्ने उद्देश्यले लामो दुरीका गाडी संचालन गर्न लागिएको साझा यातायातले जानकारी दिएको छ ।

    साझाले सामाजिक दुरी कायम गरेर बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा गाडी चलाउने भएको छ । बुधबार साझ ७ बजे बस बाग्लुङ र सवा ७ बजे सुनौलीका लागि छुट्यो योजना छ । दुवै गन्तब्यमा जाने र आउने गरी २–२ वटा बस गुड्ने छन् ।

    साझामा यात्रा गर्न चाहने यात्रुले साझाको कार्यालय हरिहरभवन र नयाँ बसपार्कबाट टिकट काट्न सक्ने भएका छन् । यसबाहेक ई–सेवाबाट समेत टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ । भाडा भने ५० प्रतिशत बढी पर्नेछ ।

  • काठमाडौंमा डा. केसीमाथि प्रहरीको दुर्व्यवहार

    काठमाडौंमा डा. केसीमाथि प्रहरीको दुर्व्यवहार

    काठमाडौं । अनशनरत डा. गोविन्द केसीमाथि काठमाडौंमा प्रहरीले दुर्व्यवहार गरेको छ । उनी सोमबार जुम्लाबाट नेपालगञ्ज आएका थिए । नेपालगन्जबाट काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको हो । डा.केसी त्रिभुवन शिक्षण अस्पतालमा अनसनका लागि जान चाहन्थे ।

    तर, प्रहरीले उनलाई जबर्जस्ती ट्रमा सेन्टर लैजाने क्रममा दुर्व्यवहार गरेको छ । त्यसो त उनी ट्रमा सेन्टरमा समेत बस्न मानेनन् । त्यसपछि उनलाई अहिले शिक्षण अस्पतालमै लगिएको छ । केसीका सहयोगीका अनुसार केसीले ट्रमा सेन्टर नबस्ने अडान लिएपछि प्रशासनले शिक्षण अस्पताल लैजाने अनुमति दिएको हो ।

    उनी शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् । डा. केसीले सोही बेडबाट आमरण अनसन जारी राख्नेछन् । विभिन्न समसामयिक मागसहित चिकित्सा क्षेत्रमा व्यापक परिवर्तनको माग राख्दै डा. केसी १९ औं चरणको अनसनमा छन् ।

    डा. केसी भदौ २९ गते जुम्लामा अनशन बसेका थिए । उनीमाथि प्रहरीले गरेको दुव्र्यवहारको कांग्रेस नेता गगन थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत नेता कार्यक्रताले आलोचना गरेका छन् ।

  • कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो

    कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसख्या मन्त्रालयको काठमाडौंका ५० वर्षिय पुरुष र काभे्रपलाञ्चोकका ५० वर्षिय महिलाको मृत्यु भएको हो । योसँगै मृत्यु भएको संख्या ४२९ पुगेको छ।

  • काठमाडौं उपत्यकामा ६४७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ६४७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ५११, भक्तपुरका ६३ र ललितपुरका ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको मन्त्रालयले जनाएको छ। काठमाडौंमा १३ हजार ६१६, ललितपुरमा १ हजार ५ सय ४८ र भक्तपुरमा १ हजार ४ सय ५२ संक्रमित पुगेका छन्।

    आज थपिएका सहित काठमाडौंमा १४ हजार ६ सय ६५, ललितपुरमा १६ सय ८३ र भक्तपुरमा १५ सय ८९ संक्रमित पुगेको मन्त्रालयले जनाएको छ

    यो सहित उपत्यकामा कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

  • नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि, ८२३ जना डिस्जार्च

    नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि, ८२३ जना डिस्जार्च

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षणमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घन्टामा थप ८ सय २३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४८ हजार ६१ जना उपचारपछि निको भएका छन्।

    हाल देशभर १८ हजार १४२जना सक्रिय संक्रमित छन्।

  • आइपीएल : बैंगलोरले हैदरावादलाई हरायो

    आइपीएल : बैंगलोरले हैदरावादलाई हरायो

    यूएई । १३ औं इण्डियन प्रिमियर लिग (आईपीएल)मा आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राति भएको खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले हराएको हो ।

    बैंगलोरले हैदराबादलाई १ सय ६४ रनको लक्ष्य दिएको थियो । हैदराबाद भने १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनमा सिमित भयो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

  • नेकपाले आज लगाउला नयाँ मन्त्रीको टुंगो ?

    नेकपाले आज लगाउला नयाँ मन्त्रीको टुंगो ?

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा आज नयाँ मन्त्रीहरुको विषयमा छलफल हुने भएको छ । सम्भवतः आजैको बैठकबाट मन्त्रिमण्डल परिवर्तनको मोडालिटी बनिसक्ने अपेक्षा नेताहरुले गरेका छन् । मन्त्रिमण्डल परिवर्तन भने निश्चित हुने भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह साढे १२ बजे बस्ने बैठक बोलाइएको छ । आज बैठक समेत सरकारका काम र मन्त्रीहरुको हेरफेरका विषयमा केन्द्रित हुने बताइएको छ । आइतबार पार्टी कार्यलय पेरिडाँडामा बसेको बैठकले विभिन्न चार कार्यसूची तय गरेको थियो।

    तीमध्ये पहिलो दिन मन्त्रिपरिषद् पुर्नगठनबारे नीतिगत छलफल भएको थियो। बाँकी कार्यसूची भित्रका एजेण्डामाथि आजको बैठकमा छलफलको तयारी छ ।

    सोमबार प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तय कार्यसूचीभित्रका एजेण्डा मंगलबारको बैठमा टुंग्याउनेगरी छलफल समेत गरेका थिए।

  • यूएनमा प्रधानमन्त्रीको संबोधन : शान्ती स्थापनामा राष्ट्र संघको भूमिका महत्वपूर्ण

    यूएनमा प्रधानमन्त्रीको संबोधन : शान्ती स्थापनामा राष्ट्र संघको भूमिका महत्वपूर्ण

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै यो संस्था विश्वमा शान्ती स्थापनार्थ महत्वपूर्ण रहेको बताएका छन् । राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा सोमबार राति न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई पूर्वअभिलेखित ‘भिडियो’मार्फत सम्बोधन गर्दै प्रधानमन्त्रीले खासगरी कम विकसित मुलुकको हितमा अझ बढी राष्ट्रसंघबाट अपेक्षा रहने उल्लेख गरे ।

    उनले राष्ट्र संघ यतिबेला निरन्तरता र रूपान्तरणको दोसाँधमा रहेको समेत उल्लेख गरेका छन् । विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको समेत उनको भनाई छ ।

    राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सव शान्ति, समृद्धि र न्यायका निम्ति सामूहिक प्रतिबद्ध व्यक्त गर्ने अवसर भएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । शान्ति–सुरक्षा, विकास र मानवअधिकारका क्षेत्रमा नेपाल र राष्ट्रसङ्घबीच बढ्दो साझेदारीप्रति सन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त संस्थाको शान्ति स्थापनाका कार्यमा छ दशकभन्दा बढी समयदेखि नेपालले व्यावसायिक एवं समर्पित सेवा उपलब्ध गराउँदै आएको बताए।

    कमजोर देश र तिनका जनताको रक्षा, सार्वभौम समानता र सबैको मानमर्यादाको प्रवद्र्धन, महामारी, जलवायु परिवर्तनका कारण उत्पन्न सङ्कट, आतङ्कवादको अन्त्य, आणविक, रासायनिक, जैविकलगायत आम विनाशका सबै हातहतियारको उन्मूलनमा राष्ट्रसङ्घको विशेष भूमिकाको अपेक्षा विश्वले गरेको प्रधानमन्त्रीको भनाई छ ।

    ‘हामीले खोजेको भविष्य र हाम्रो अपेक्षाको संयुक्त राष्ट्रसङ्घ : बहुपक्षीयताप्रति हाम्रो सामूहिक प्रतिबद्धताको पुनर्पुष्टि’ विषयमा आयोजित उक्त बैठकको प्रारम्भमा राष्ट्रसङ्घको ७५औँ वार्षिकोत्सवसम्बन्धी घोषणापत्र अनुमोदन गरिएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जानकारी गराएको छ ।

    वार्षिकोत्सवको उक्त कार्यक्रमलाई ८८ देशका राष्ट्राध्यक्ष र ४४ मुलुकका सरकार प्रमुखसहित १८२ वक्ताले सम्बोधन गर्नेछन् ।

  • केरुङ–काठमाडौं रेलमार्ग : चीनतर्फ भौगर्भिक सर्भेको प्रारम्भिक अध्ययन सम्पन्न

    केरुङ–काठमाडौं रेलमार्ग : चीनतर्फ भौगर्भिक सर्भेको प्रारम्भिक अध्ययन सम्पन्न

    काठमाडौं । केरुङ–काठमाडौं जोड्ने रेल्वे आयोजनाको चीनको भूभागमा पर्ने क्षेत्रमा भौगर्भिक सर्भेको प्रारम्भिक अध्ययन सम्पन्न भएको छ । अध्ययन टोलीले स्थलगत रुपमा गरेको अध्ययन पुरा भएको चिनियाँ संचारमाध्यमले जनाएका छन् । यो अध्ययनको निष्कर्ष के आयो भन्ने बारेमा भने खुलाइएको छैन । रेल मार्ग निर्माणको यो प्रारम्भिक अध्ययन मात्र हो । यसमा थप अध्ययन आवश्यक रहेको चिनियाँ पक्षले जनाएको छ ।

    चिनियाँ सरकारी संचारमाध्यममा यसबाट पुष्टी गरिएको छ । समाचार अनुसार अग्ला हिमालहरु छिचोल्नुपर्ने भएकाले केरुङ–काठमाडौं रेल परियोजना एक कठिन परियोजना हुनेछ । अघिल्लो असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको समयमा सीमा वारपार रेलमार्गको सम्भाव्यता अध्ययनको समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

    सो सहमतिको कार्यान्वयन अगाडी बढाउन काठमाडौंमा भएको नेपाल र चिनियाँ अधिकारीहरुको बैठकले सम्भाव्यता अध्ययनको काम बाडेको थियो । त्यसअनुसार चीनले आफ्नो खर्चमा म्यापिङ सर्वे, भौगर्भिक अध्ययनसहित विस्तृत सम्भाव्यता अध्ययन गर्नेछ भने नेपालले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)का साथै चिनियाँ टोलीलाई सुरक्षालगायतका सहयोग उपलब्ध गराउने सहमति भएको थियो ।

    यो आयोजना नेपालले अनुदानमा बनाइदिन चीनलाई अनुरोध गरिरहेको छ । आयोजनाको पूर्वसम्भाव्यता अध्ययन रिपोर्टअनुसार यो रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब रुपैयाँ लागत लाग्छ । करिब ७३ किलोमिटर लामो रेलमार्गमा ९८.५ प्रतिशत पुल र सुरुङमार्ग हुनेछन् ।

  • राप्रपाको चुनाव चिन्ह हलो नै राख्ने सहमति

    राप्रपाको चुनाव चिन्ह हलो नै राख्ने सहमति

    काठमाडौै । राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह अब हलो नै हुने भएको छ । छ महिनाअघि एकता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव चिह्न हलो राख्ने विषयमा सैद्धान्तिक सहमति जुटाएको हो । एकीकरण हुनुअघि राप्रपा र राप्रपा संयुक्तको कार्यसम्पादन समितिको सोमबार छुट्टाछुट्टै बसेको बैठकपछि हलो चिह्नमा सहमति जुटाएको हो ।

    यसअघि हलो साविक राप्रपा संयुक्तको चुनाव चिन्ह रहेको थियो । कमल थापा नेतृत्वको साविक राप्रपा कार्यसम्पादन समितिको बैठकले पार्टी एकता जोगाउन गाई चुनाव चिह्न छाड्ने निर्णय गरेको छ ।

    यससँगै अब हलोमा सहमति जुटेको हो । धुम्बराहीमा बसेको थापा समूहको बैठकमा कतिपय नेताहरूले २०७० सालमा २५ सिट जितेर चौथो ठूलो दल बन्दा प्रयोग भएको गाई चिह्न छाड्न नहुने अडान समेत राखेका थिए ।

    चुनाव चिह्नबारे औपचारिक निर्णय मंगलबार बस्ने कार्यसम्पादन समितिको संयुक्त बैठकबाट हुनेछ । उक्त बैठकमा एकता महाधिवेशन आगामी बैशाख तेस्रो साता गर्ने विषयमा पनि सहमति जुटेको छ । दुबै पक्षबीच सहमति जुटेको छ । कार्यसम्पादन समितिको संयुक्त बैठक बसेर मंगलबार नै दल दर्ताका लागि राप्रापा निर्वाचन आयोग जाने भएको छ ।

  • विदेशमा उडान संख्या बढाउन राजदूतहरुको आग्रह

    विदेशमा उडान संख्या बढाउन राजदूतहरुको आग्रह

    काठमाडौं । विदेशमा काम गर्न गएका नेपालीहरुको नेपाल फर्कने संख्यालाई मध्यनजर गर्दै विदेशमा उडान संख्या बढाउन विभिन्‍न मुलुकका राजदूतले सरकारलाई सुझाव दिएका छन् । कोरोना संक्रमणको जोखिमका कारण विभिन्‍न देशमा नेपालीहरु अलपत्र छन् ।

    उनीहरुलाई घर फर्काउन उद्धार तथा नियमित उडानको संख्या बढाउनु पर्ने सुझाव राजदूतहरुले दिएका छन् । लकडाउनपछि नेपाल आउन नपाएका, रोजगारी गुमाएका र भिसा अवधि सकिएका हजारौँ नेपाली घर फर्कने पालो कुरेर बसेका छन् ।

    सोमबार व्यवस्थापिका संसद, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले राजदूतहरुसँग भर्चुअल बैठक गरेको छ । छलफलमा राजदूतहरुले विदेशमा नेपाली कामदारको अवस्थाका विषयमा समेत जानकारी गराएका थिए ।

    उक्त अवसरमा मलेशियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले ११ हजार बढी नेपाली श्रमिक स्वदेश फर्किए पनि अझै करिब ८ हजार फर्कन पालो कुरेको जानकारी गराए ।

    स्वदेश फर्किन नाम दर्ता गराएका बाहेक हरेक दिन ३ सय नेपालीहरुको भिसा अवधि सकिने गरेको तथ्यांक उनले दिएका छन् । उनले कल्याणकारी कोषबाट उद्धार गर्ने नीति सरकारले लिएपनि प्रभावकारी रुपमा काम गर्न नसकेको बताए । उनले निर्देशिका व्यवहारिक बनाउन सुझाव दिए ।

    ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले अहिलेसम्म करिब १४ सय मानिसलाई घर फर्काएको भन्दै घर फर्कन चाहनेको संख्या ठूलो रहेको उल्लेख गरिन् । उनले पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरुलाई स्वदेश फर्काउने गरिएको जानकारी दिइन् ।

    कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले कुवेतमा ७० हजार कामदार रहेको जानकारी गराउँदै कोभिडका कारण ९ हजार २ सय बढीले स्वदेश फर्कन नाम दर्ता गराएको उल्लेख गरे । उनका अनुसार कुवेतबाट ५४ सय जना नेपाली स्वदेश फर्किइसकेका छन् ।

    कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले कतारमा सीप नभएका अदक्ष कामदार बढी समस्यामा रहेको उल्लेख गरे । उनले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई तत्काल उद्धार गर्न नसके समस्या अझ जटिल हुने चेतावनी समेत दिए ।

    दैनिक ४ वटा उडान गर्न नसके अहिले कतारमा थन्किएका १६ हजार बढी र चाडबाडको समयमा फर्किन चाहनेहरु समेत समस्यामा पर्ने जानकारी उनले दिए । साउदी अरेबियाको लागि नेपाली राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुतले २८ हजार बढीले स्वदेश फर्किन निवेदन दिएपनि १० हजारलाई मात्रै पठाउन सकिएकोजानकारी दिए ।

    बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले कोभिड१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्णयअनुसार चार्टर्ड उडान मार्फत नेपालीहरुलाई स्वदेश फर्काउने गरिएको जानकारी दिए ।

  • यति एयरले ल्यायो आकर्षक भ्रमण प्याकेज, अब एभरेष्ट १४ हजारमै

    यति एयरले ल्यायो आकर्षक भ्रमण प्याकेज, अब एभरेष्ट १४ हजारमै

    काठमाडौं । निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले विभिन्न गन्तब्य भ्रमणका लागि आकर्षक प्याकेज ल्याएको छ । करिब डेढ दर्जन पर्यटकीय प्याकेज ल्याउँदै यतिले आन्तरिक पर्यटकलाई भ्रमणप्रति प्रोत्साहित गर्ने नीति लिएको हो । कम्पनीले स्थापनाको २२ औं वाषिर्कोत्सवको अवसर पारी सोमबार प्याकेज सार्वजनिक गरेको छ ।


    कम्पनीका प्रमुख कार्यकारी अधिकत अनोज रिमालले प्याकेज सार्वजनिक गरेका हुन् । नेपालमा ७ महिना लामो प्रतिवन्धपछि घुमघाम खुला भएको छ । सोही अनुसार सोमबारबाट हवाई यात्रा समेत सुचारु भएको छ । यतिले भनेको छ, ‘अब एयरलाइन्सले यात्रुलाई गन्तब्यसँग जोड्ने मात्र छैनन्, गन्तब्य घुमाउने पनि छन् । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार अक्टोवर २०२० बाट यी प्याकेज लागु हुने भएका छन् ।

    यतिले नेपालगन्ज, भरतपुर, जनकपुर, भैरहवा, भद्रपुर र तुम्लिङटारका लागि समेत दुईतर्फी टिकटसहितका प्याकेज ल्याएको हो । यी गन्तब्यमा होटेलको स्तर अनुसार मूल्य राखिएको छ । प्याकेज घोषित गन्तव्यको सबैभन्दा नजिकको विमानस्थलसम्म यति र तारा एयरबाट हवाई यात्रा गराइने भएको छ ।

    यतिले एभरेष्ट ट्रेल १३,९९९ प्रतिव्यक्तिमै घुमाउने भएको छ । रारामा २४९९९ प्रतिव्यक्ति, पोखरामा ५९९९ देखि ७९९९ प्रतिव्यक्ति, चितवनमा १२९९९ देखि १६९९९ प्रतिव्यक्तिसम्मका प्याकेज यतिले ल्याएको छ ।

    उता, यतिले अब टिकट समेत एप्सबाट काट्न सकिने गरी एप्स सार्वजनिक गरेको छ । अब मोवाइलबाट टिकट बुकिङ, स्काई क्लव माइलेज तथा फ्लाइट स्टाटस चेकजाँच गर्न, वेभ चेकिङ, कार्गो ट्रयाकिङ, हवाई तालिका र भाडादर हेर्न सकिने भएको छ ।

  • अब विदेशबाट डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सकिने

    अब विदेशबाट डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सकिने

    काठमाडौं । अब विदेशमा रहेका श्रमिक र नेपालीले डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार रेमिट्यान्स कम्पनीलाई नेपाली कार्यरत रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पमेन्ट गर्ने संस्था (डिजिटल वालेट सञ्चालक) सँग आवद्ध भई यस्तो सेवा सुरु गर्न सक्ने भएका छन् ।

    राष्ट्र बैंकको निर्देशनपछि अब विदेशमा रहेका नेपालीहरुले डिजिटल पेमेन्टमार्फत सिधै रेमिट्यान्स पठाउन सक्ने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । यो व्यवस्था लागू भएपछि विदेशमा रहेका नेपालीले घरमा पैसा पठाउन बैंक वा रेमिट्यान्स कम्पनीमा भौतिक रुपमै उपस्थित हुनु बाध्यता समेत हटेको छ ।

    नेपाल पैसा पठाउनका लागि मोवाइल बैंकिङ, यन्टरनेट बैंकिङ, इलेक्ट्रिक कार्ड, डिजिटल वालेट आदीको प्रयोग गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    यसरी विदेशबाट पठाएको रकमको नेपालमा रेमिट्यान्स कम्पनीहरुले नेपाली रुपैयाँमा भुक्तानी गर्ने भएका छन् ।
    यसका लागि नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७ को साविकका व्यवस्थाका अतिरित्त तोकिएका शर्त भने पुरा गर्नुपर्ने भएको छ ।

  • काठमाडौं उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ५३८, भक्तपुरका ७४ र ललितपुरका ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    काठमाडौंमा १४ हजार १५४, ललितपुरमा १ हजार ६१० र भक्तपुरमा १ हजार ५२६ संक्रमित पुगेका छन्। यो सहित उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १७ हजार २ सय ९० पुगेको छ।

  • नेपालमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६५ हजार नाघ्यो

    नेपालमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६५ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षणमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६५ हजार २ सय ७६ पुगेको छ ।

    पछिल्लो २४ घन्टामा थप १ हजार ५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४७ हजार २ सय ३८ जना उपचारपछि निको भएका छन्।

    हाल देशभर १७ हजार ६११ जना सक्रिय संक्रमित छन्।

  • नेपालमा एकै दिन १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

    नेपालमा एकै दिन १६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा एकैदिन १६ जनाको मृत्यु भएको छ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ महिला र १३ पुरुष गरि १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा काठमाडौंमा ५८ र ७३ वर्षीय, भक्तपुरमा ८४ र ६२ पुरुष रहेका छन् ।

    मकवानपुरमा १७ वर्षीया महिला र ६८ वर्षीय पुरुष, ललितपुरमा ५८ वर्षीया महिला र ६१ वर्षीय पुरुष रहेका छन् ।

    त्यस्तै चितवनमा ५५ वर्षीय पुरुष, दोलखामा ५२ वर्षीया महिला, रुपन्देहीमा ६७, बाँकेमा ५० र ५९ वर्षीय, झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ४२७ पुगेको छ।

  • विना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन

    विना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन

    काठमाडौं । हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ ।

    सोमबार बिहान १० बजे ७२ वर्षको उमेरमा निजी निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनले जनाएको छ । उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए ।

    विना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन् । शेर्पाको पुर्ख्यौली घर सोलुखुम्बुको थमो हो। उनले सन् १९८३ देखि सगरमाथा आरोहण थालेका थिए।

  • संसारभर सवा तीन करोड मानिसमा कोरोना

    संसारभर सवा तीन करोड मानिसमा कोरोना

    काठमाडौं । विश्वभर सवा ३ करोड मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । सोमबार बिहानसम्म ३ करोड १२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ । तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २ लाख ४३ हजार १९ जनामा संक्रमण पुष्टि भएको छ । यो दिन थप ३ हजार ८९१ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

    अब संसारभर कोरोनाबाट ज्यान गुमाउने मानिसको संख्या ९ लाख ६४ हजार ७६२ पुगेको तथ्यांकले देखाएको छ । संसारभर एकै दिन २ लाख ३९ हजार ७५२ मानिसले भने कोरोनालाई जितेका छन् । वर्ल्डोमिटर्सका अनुसार अब विश्वभर कोरोनालाई जितेर घर फर्कने मानिस २ करोड २८ लाख १७ हजार ५४० पुगेको छ ।

    कुल संक्रमितको ७१ प्रतिशतले कोरोनालाई जित्न सफल भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १६ हजार १८६ जनाको मृत्यु भएको छ । ४४ लाख ३६ हजार ७०९ जना संक्रमित भएकोमा २३ लाख ८३ हजार ७४ जना संक्रमणमुक्त भएका छन् ।

    उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ९८ हजार ५३० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८३ लाख ४८ हजार ३०८ पुगेको छ । त्यसमध्ये ५२ लाख ६६० जना संक्रमणमुक्त भइसकेका छन् । एसियाली मुलुकहरूमा १ लाख ७७ हजार १७३ जनाको मृत्यु भएको छ ।

    ९४ लाख ६८ हजार ८१ जना संक्रमित भएकोमा ७७ लाख ६४ हजार ११८ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ३७ हजार ९६५ जनाको मृत्यु भएको छ । ७५ लाख २५ हजार ८८८ जना संक्रमित भएकोमा ६२ लाख ८३ हजार १३९ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरूमा ३४ हजार ८ जनाको ज्यान गएको छ । १४ लाख १३ हजार ३८२ संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ५८ हजार ८०५ जना संक्रमणमुक्त भएका छन् । अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८८५ जनाको मृत्यु भएको छ । ३० हजार ५५९ जना संक्रमित भएकोमा २७ हजार ९३ जना संक्रमणमुक्त भएको तथ्यांक छ ।

  • आइपीएल : दिल्लीको रोमाञ्चक जीत

    आइपीएल : दिल्लीको रोमाञ्चक जीत

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले किंग्स एलेभेन पञ्जाबलाई रोमाञ्चक खेलमा हराएको छ । निर्धारित ओभरमा दुबै टोलीको स्कोर बराबरी भएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा दिल्लीले बाजी मार्यो ।

    युएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा निर्धारित २० ओभरमा दुवै टोलीले समान १५७ रन बनाए । त्यसपछि खेल सुपर ओभरमा पुगेको हो । त्यसक्रममा पञ्जावले पहिले ब्याटिङ गर्दै २ विकेट गुमाएर जम्मा २ रन जोड्यो ।

    पञ्जावका कप्तान केएल राहुल र निकोलस पुरनले सुपर ओभरमा ब्याटिङका लागि आएका थिए । दिल्लीका फास्ट बलर कागिसो रबाडाले दुवै खेलाडीलाई आउट गराउन सफल भए । उनी चम्किएको खेलमा पहिलो बलमा रबाडाले २ रन दिए । तर, त्यसपछि भने रन दिएनन् ।


    दिल्लीले सुपर ओभरमा ३ रनको लक्ष्य २ बल खेल्दै पूरा गरेको हो । त्यसअघि मार्कुस स्टोइनिसको विष्फोटक इनिंगको मद्दतमा दिल्लीले निर्धारित २० ओभरमा १५७ रन जोडेको थियो । उनले २१ बलमा ५३ रन बनाए ।

    उनले टोलीका लागि अन्तिम ओभरमा मात्रै २५ रन जोडे । स्टोइनिसले ७ चौका र ३ छक्का प्रहार गरे । १५८ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले पनि १५७ रन मात्रै जोडपछि खेल सुपर ओभरमा पुगेको हो ।

  • उडे आन्तरिक गन्तब्यमा जहाज

    उडे आन्तरिक गन्तब्यमा जहाज

    काठमाडौं । आजबाट आन्तरिकतर्फ उडान सूचारु भएको छ । सरकारले ११ चैतबाट उडानमाथि प्रतिवन्ध लगाएको थियो । कोरोना भाइरसको महामारीसँगै सो दिन देशव्यापी लकडाउन घोषणा भयो । सोहीअनुसार उडानहरु बन्द भएका थिए । तर, अब भने सरकारले सुरक्षा सतर्कताका साथ सबै व्यवसाय खुला गर्ने क्रममा आन्तरिक उडान खुलाएको हो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दैनिक ५० भन्दा बढी उडान हुने गरी उडान अनुमति दिइएको छ । यो संख्या साविकको तुलनामा २५ प्रतिशत मात्र हो । यसमा संख्यात्मक रुपमा सबैभन्दा बढी उडान बुद्ध एयरले गर्नेछ । किनकी बजारमा उसको बजार हिस्सा पनि बढी नै रहेको छ ।

    सरकारले सेप्टेम्बरभर २५ प्रतिशत र १ अक्टोवरबाट बजारको माग अनुसार उडान अनुमति दिने बताएको छ । अन्तराष्ट्रिय नियमित उडानतर्फ समेत सरकारले अक्टोवरदेखि थप उडानको अनुमति दिने तयारी गरिरहेको छ । नजिकिएको चाडबाडको मुखमा खुलेको उडानले वायुसेवा कम्पनीहरुलाई भने राहत मिलेको छ ।

  • नेपालबाट ३४ अर्ब कालो धन ओसारपसारमा बैंक र कम्पनीहरु संलग्न रहेको खुलासा

    नेपालबाट ३४ अर्ब कालो धन ओसारपसारमा बैंक र कम्पनीहरु संलग्न रहेको खुलासा


    काठमाडौं । नेपालमा ११ वर्षको अवधिमा ९ वटा बैंक, १० वटा कम्पनी र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको खुलासा भएको छ । सुन, अलकत्रा, पुरातात्विक सामग्री, दूरसञ्चार उपकरण सामग्रीको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली संयन्त्रहरू जोडिएको देखिएको छ ।

    अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले यो खुलासा गरेको हो ।

    नेपालमा यसलाई खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको छ । यसरी १ वर्षमा कुल ३४ अर्ब रुपैयाँ कालोधन ओसारपसार भएको पाइएको हो । ‘फिनसेन फाइल्स’ सन् १९९९ देखि २०१७ सम्मको अवधिमा भएका कारोबारको भएको समेत जनाइएको छ ।

    यस अवधिमा बैंकहरूले आफ्ना ग्राहकको शंकास्पद आर्थिक गतिविधि बारे निगरानी गरी ‘फिनसेन’ लाई विवरण उपलब्ध गराएका थिए । ती जानकारी प्राप्त गरी ‘बजफिडन्यूज‘ र आईसीआईजेले विश्वभरका आफ्नो नेटवर्कमा रहेका पत्रकारसँगको सहकार्यमा गरेको खोजलाई ‘फिनसेन फाइल्स’ नाम दिएर सार्वजनिक गरिएको छ ।

    यो विवरण अनुसार सन् २००६ को डिसेम्बरदेखि २०१७ को मार्च महिनासम्म ११ वर्षभित्र नेपालका ९ वटा बैंक, १० वटा कम्पनी र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेका छन् ।

    शंकास्पद धनको कारोबार र ओसारपसार गरेको सूचीमा स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, मेगा बैंक, हिमालयन बैंक, कास्कीको एपेक्स डेभलपमेन्ट बैंक र नेपाल बाङ्लादेश बैंकको नाम जोडिएको छ ।

    यस्तो कारोबार र ओसारपसारमा प्रत्यक्ष संलग्न १० कम्पनीहरूमा रौनियार ब्रदर्स एण्ड कम्पनी, शुभ समृद्धि टे्रडर्स प्राइभेट लिमिटेड, सास्ता ट्रेडिङ कम्पनी, सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालि, एलडी इन्टरनेशनल प्रालि, फेल्ट एण्ड यार्न प्रालि, ओमन्स पेपर क्राफ्ट कम्पनी, नेपाल इन्भेष्टमेन्ट, एक्मी मनी ट्रान्सफर कम्पनी र सन्नी इन्टरप्राइजेज छन् ।

    उनीहरुमध्ये केही कम्पनीहरूले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नै नगरी रकम ल्याउने र लैजाने काम गर्दै आएका थिए । यसबाहेक पनि झन्डै एक दर्जन जति नेपाली कम्पनीहरू अप्रत्यक्ष रूपमा संलग्न छन् ।

    तर, उनीहरूको संलग्नताबारे सोधिएको प्रश्नमा नेपालका बैंक तथा कम्पनीहरूले ‘उल्लिखित काममा आफूहरूको कुनै संलग्नता नरहेको’ भनेर शंकास्पद कारोबारलाई अस्वीकार गरेका छन् ।

    खुलासाअनुसार ११ वर्षको अवधिमा यी बैंक र कम्पनीहरूबाट कुल २९ करोड २७ लाख ९६ हजार ३८७ अमेरिकी डलर (रु.३४ अर्ब ८४ करोड २७ लाख ७० हजार १०२) शंकास्पद धन कारोबार र ओसार पसार भएको छ ।

    यो रकम आर्थिक वर्ष २०७७\७८ मा गण्डकी प्रदेश सरकारले संसदमा प्रस्तुत गरेको बजेट बराबर हो । आईसीआईजेबाट खोपकेले प्राप्त गरेका कागजातहरू विश्लेषण गर्दा नेपाल जोडिएर तीन प्रकृतिमा कारोबारहरू भएको देखिन्छ ।पहिलो, यो अवधिमा नेपालबाट कति शंकास्पद रकम बाहिरियो र कति रकम भित्रियो भन्ने खुलासा हुन्छ ।

    दोस्रो, नेपालसहित विश्वका विभिन्न मुलुकमा भएको एकमुष्ट शंकास्पद कारोबारको रकम फेला पर्छ । तर, त्यसमध्ये नेपाल जोडिएको यकिन अंक कति हो भन्ने खुल्दैन ।

    तेस्रो, नेपाली नाम, थर, ठेगाना उल्लेख गरेका व्यक्ति तथा कम्पनीले विदेशमै शंकास्पद धन कारोबार र ओसारपसार गरेको देखिन्छ । यसमा नेपालका बैंक तथा वित्तीय संस्था र कम्पनीहरू प्रयोग भएको देखिँदैन ।

    विभिन्न व्यापार, व्यवसाय र कारोबारका नाममा शंकास्पद रकम बाहिर लैजाने र भित्र्याउने काम पटकपटक भएको देखिन्छ । यतिसम्म कि कला, संस्कृति र पुरातात्विक महत्वका वस्तुहरूको समेत तस्करी गरेर आर्जन गरिएको धनलाई बैंक प्रयोग गरेर शुद्धीकरण गर्ने प्रयास भएको खुलासा गर्छ ‘फिनसेन फाइल्स’ ले ।

    अमेरिका लगायतका देशमा हुने व्यापार व्यवसायका क्रममा कुनै व्यक्ति वा संस्थाले शंकास्पद वा अवैध आर्जन, कारोबार गरेर सम्पत्ति शुद्धीकरण र अन्य आपराधिक क्रियाकलाप गर्न खोजेमा बैंक तथा वित्तीय संस्थाले उक्त गतिविधि निगरानी गर्नुपर्छ ।

    त्यस्तो देखिए ६० दिनभित्र ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क‘ (फिनसेन) लाई जानकारी दिनुपर्छ । यो अमेरिकी सरकारको ‘डिपार्टमेन्ट अफ दी टे्रजरी’ अन्तर्गतको निकाय हो । यो अमेरिकी संघीय सरकारको राष्ट्रिय कोषको कार्यालय हो

    खुलासाअनुसार ११ वर्षको अवधिमा यी बैंक र कम्पनीहरूबाट कुल २९ करोड २७ लाख ९६ हजार ३८७ अमेरिकी डलर (रु.३४ अर्ब ८४ करोड २७ लाख ७० हजार १०२) शंकास्पद धन कारोबार र ओसार पसार भएको छ ।

    यो रकम आर्थिक वर्ष २०७७,७८ मा गण्डकी प्रदेश सरकारले संसदमा प्रस्तुत गरेको बजेट बराबर हो । आईसीआईजेबाट खोपकेले प्राप्त गरेका कागजातहरू विश्लेषण गर्दा नेपाल जोडिएर तीन प्रकृतिमा कारोबारहरू भएको देखिन्छ ।पहिलो, यो अवधिमा नेपालबाट कति शंकास्पद रकम बाहिरियो र कति रकम भित्रियो भन्ने खुलासा हुन्छ ।

    दोस्रो, नेपालसहित विश्वका विभिन्न मुलुकमा भएको एकमुष्ट शंकास्पद कारोबारको रकम फेला पर्छ । तर, त्यसमध्ये नेपाल जोडिएको यकिन अंक कति हो भन्ने खुल्दैन ।

    तेस्रो, नेपाली नाम, थर, ठेगाना उल्लेख गरेका व्यक्ति तथा कम्पनीले विदेशमै शंकास्पद धन कारोबार र ओसारपसार गरेको देखिन्छ । यसमा नेपालका बैंक तथा वित्तीय संस्था र कम्पनीहरू प्रयोग भएको देखिँदैन । विभिन्न व्यापार, व्यवसाय र कारोबारका नाममा शंकास्पद रकम बाहिर लैजाने र भित्र्याउने काम पटकपटक भएको देखिन्छ ।

    यतिसम्म कि कला, संस्कृति र पुरातात्विक महत्वका वस्तुहरूको समेत तस्करी गरेर आर्जन गरिएको धनलाई बैंक प्रयोग गरेर शुद्धीकरण गर्ने प्रयास भएको खुलासा गर्छ ‘फिनसेन फाइल्स’ ले ।

    अमेरिका लगायतका देशमा हुने व्यापार व्यवसायका क्रममा कुनै व्यक्ति वा संस्थाले शंकास्पद वा अवैध आर्जन, कारोबार गरेर सम्पत्ति शुद्धीकरण र अन्य आपराधिक क्रियाकलाप गर्न खोजेमा बैंक तथा वित्तीय संस्थाले उक्त गतिविधि निगरानी गर्नुपर्छ ।

    त्यस्तो देखिए ६० दिनभित्र ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क‘ (फिनसेन) लाई जानकारी दिनुपर्छ । यो अमेरिकी सरकारको ‘डिपार्टमेन्ट अफ दी टे्रजरी’ अन्तर्गतको निकाय हो । यो अमेरिकी संघीय सरकारको राष्ट्रिय कोषको कार्यालय हो

  • फेरी हुँदैछ मन्त्रिपरिषद् पुनर्गठन ?

    फेरी हुँदैछ मन्त्रिपरिषद् पुनर्गठन ?

    काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक पेरिस डाँडामा बस्यो । बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयले प्रवेश पाएको छ । नेकपा सचिवालय स्रोतका अनुसार आज पार्टीमा विभिन्न विकल्पबारे छलफल भएका थिए ।

    त्यसमध्ये प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा आफ्नो प्रस्ताव सुनाएका थिए । सचिवालय स्रोतका अनुसार पुरै मन्त्रिहरुको सेट परिवर्तनदेखि केही मन्त्रीलाई मात्र परिवर्तन गर्ने सम्मका विकल्पमा आज छलफल भएको छ ।

    सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठन पहिलो एजेन्डा बनेको नेताहरुले जनाएका छन् । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भदौ २५ मा बसेको स्थायी कमिटीको निर्णयानुसार संघीय सरकारको मन्त्रिपरिषद् हेरफेर गर्न लागिएको जानकारी दिए ।

    उनले भने, आज बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् हेरफेरबारे छलफल सुरु गरेको छ, तर कसलाई लैजाने, कसलाई हटाउने भन्‍ने बिषयमा छलफल भएन ।’

    उनका अनुसार मन्त्रिपरिषद् हेरफेरसहित चारवटा एजेण्डा छलफलका तयार गरिएको उनको भनाई छ । आइतबारको बैठकमा एजेन्डा तय भएको र सोमबार थप छलफल हुने उनले जानकारी दिए । सोमबार १ बजे पेरिस डाँडामै बैठक बस्दैछ ।

  • लुक्ला विमानस्थलमा पिसिआर रिर्पोट नेगेटिभ नभएका यात्रुलाई प्रवेश निषेध

    लुक्ला विमानस्थलमा पिसिआर रिर्पोट नेगेटिभ नभएका यात्रुलाई प्रवेश निषेध

    काठमाडौं । लुक्ला विमानस्थलमा हवाई मार्गबाट जान चाहने सबै यात्रुको पिसिआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले यस्तो नियम बनाएको हो । तर, यहाँ उड्ने यात्रुले गाउँपालिका जानु अगाडी पीसीआर टेस्ट नेगेटिभ हुनुपर्ने शर्त गाउँपालिकाले राखेको हो ।

    खुम्बु पासाङल्हामु गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको पीसीआर टेस्ट रिजल्ट चेक जाँच गरी नेगेटिभ आए मात्र उडान अनुमति दिन पत्र लेखेको हो । हवाई उडानमा शर्त राख्ने खुम्बु पहिलो स्थानीय सरकार समेत बनेको छ । किनकी यो गाउँपालिका ग्रिन जोनमा छ ।

    एक जना पनि कोरोना संक्रमित नभएको गाउँपालिकालाई कोरोनाबाट सुरक्षित राख्न यस्ता सर्त लिनु परेको गाउँपालिकाले जनाएको छ । लुक्लामा तारा, सीता र समिट एयरले उडान गरिरहेका छन् । यो नियम हेलिकोप्टर कम्पनीको हकमा समेत लागु हुनेछ ।

  • कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २४४

    कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २४४

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २४४ पुगेको छ । पछिल्लो एक सातामा थप एक जनाको ज्यान गएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले उपलब्ध गराएको तथ्यांक अनुसार १७ मुलुकमा नेपालीको मृत्यु भएको छ ।

    यससँगै नेपालसहित कोरोनाका कारण विश्वभर कुल ६४५ नेपालीको ज्यान गएको तथ्यांकले देखाएको छ । संघका अनुसार अघिल्लो साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना संक्रमणदर केही बढेको छ । समितिका संयोजक सञ्जीव सापकोटाले दिएको जानकारी अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित देखिएका छन् ।

    कोरोनाका कारण हालसम्म अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् ।

    विदेशमा अलपत्र ६९ हजार नेपालीको उद्धार गरिएको छ । संघ, विदेशस्थित दूतावास तथा नियोगको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २८९ जनाको उद्धार गरिएको तथ्यांक रहेको छ ।

  • सोमबारबाट चल्दैछन् आन्तरिक उडानका जहाज, के के छन् यात्रुका लागि नियम ?

    सोमबारबाट चल्दैछन् आन्तरिक उडानका जहाज, के के छन् यात्रुका लागि नियम ?

    काठमाडौं । ६ महिना लामो उडान प्रतिवन्धपछि सोमबारबाट नेपालमा आन्तरिक हवाई सेवाले उडान थाल्दैछन् । यसका लागि सम्पूर्ण तयारी पुरा भएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

    नेपालमा १० चैतबाट आन्तरिक उडान बन्द भएको हो । अब हवाई यात्रामा यात्रुले केही कठिनाई भोग्नु पर्नेछ भने समय पनि केही लामो हुनेछ । किनकी अब हवाई यात्राका दौरान सुरक्षा सतर्कता अझ कडा हुनेछ ।

    विमानस्थल कार्यालयका अनुसार यात्रु जहाज उड्ने समयभन्दा कम्तिमा डेढ घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्छ। यसअघि एक घण्टा अगाडी नै विमानस्थल पुग्दा हुने व्यवस्था थियो ।

    यस्ता छन् यात्रुले पालना गर्नुपर्ने नियम
    · सबै यात्रुले एयरपोर्ट आउनु अगाडि मास्क लगाई हात स्यानिटाइज गर्नुपर्नेछ ।
    · विमानस्थल भित्र कम्तिमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्नेछ ।
    · इ टिकेटबाट चेकइन गरिने भएको छ ।
    · आफ्नो व्यागेजसँगै लैजान पाइने छैन, महिलाको हृयाण्डक्यारी र ल्यापटप ब्यागबाहेक अन्य ब्याग विमान भित्रै लैजान निषेध गरिएको छ ।
    · सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।
    · विमानभित्र हिँडडुल गर्न निषेध गरिएको छ ।
    · शौचालय विमानस्थलमै प्रयोग गरि जहाज चढ्नुपर्नेछ ।
    · कोभिड १९ को लक्षण देखिएको यात्रुलाई हवाई यात्रुलाई निषेध गरिएको छ ।
    · मास्क र फेससील यात्रुले यात्रा अवधिभर लगाउनु पर्नेछ ।

    विमान र कर्मचारीले कस्तो नियम पालना गर्नुपर्छ ?
    · र्‍याम्प बसमा यात्रुलाई सामाजिक दूरी कायम गराई बसाउनु पर्नेछ ।
    · ब्यागेज ट्रली, ट्रान्सपोर्ट भ्यान तथा अन्य सवारी साधन हरेक पटक प्रयोगपछि स्यानिटाइज गर्नु पर्नेछ ।
    · पटक पटक प्रयोगमा आइरहने ढोकाका हृयाडल तथा स्ट्याण्डहरु पटक पटक स्यानिटाइज गर्नुपर्छ ।
    · यात्रुलाई विमानभित्र र बाहिर लैजाँदा एक पटकमा चार जनालाई मात्र लैजानु पर्छ ।
    · यात्रुहरुलाई फेससील वितरण गर्नुपर्नेछ ।
    · हरेक उडानपछि विमानस्थललाई सरसफाई गर्नुपर्छ ।
    · सबै कर्मचारीले अनिवार्य मास्क लगाई यात्रुसँग सामाजिक दूरी कायम गरी सेवा दिनु पर्नेछ ।
    · हरेक कर्मचारीको दैनिक कार्यालय प्रवेशसँगै तापक्रम नाप गरिने भएको छ ।
    · हरेक कर्मचारीलाई सुरक्षित सेवा सम्बन्धमा नियमित तालीम तथा आवश्यक सुरक्षा सामग्री प्रदान गरिने भएको छ ।

  • यस वर्षको जगदम्बा–श्री शान्ति ठटाल र मदन पुरस्कार चन्द्रप्रकाश बानियाँलाई

    यस वर्षको जगदम्बा–श्री शान्ति ठटाल र मदन पुरस्कार चन्द्रप्रकाश बानियाँलाई

    यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’लाई
    काठमाडौं । यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई दिइने भएको छ।

    मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को मदन पुरस्कार बानियाँ र जगदम्बा(श्री शान्ति ठटाललाई प्रदान गर्ने निर्णय गरेको हो।

    बानियाँको उपन्यासलाई सिखा पब्लिकेसनले बजारमा ल्याएको हो ।

    ‘मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को जगदम्बा–श्री पुरस्कार शान्ति ठटालज्यूलाई तथा मदन पुरस्कार ‘महारानी’ उपन्यासका लागि श्री चन्द्रप्रकाश बानियाँज्यूलाई अर्पण गर्ने निर्णय गरेको छ’, मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका छन् ।

    गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार गत वर्ष प्रकाशितमध्ये १५१ पुस्तकहरू गुठीलाई प्राप्त भएका थिए । त्यसमध्येबाट विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १–३), चन्द्रप्रकाश बानियाँको महारानी, ललित बिष्टको मोहपथ र शारदा शर्माको यात्रामा मदन पुरस्कार–२०७६ का निम्ति छनोट भएका थिए ।

    वि. सं. २०१२ सालयता हरेक वर्ष प्रदान हुने मदन पुरस्कार यस वर्ष महारानीले पाएको हो । पुरस्कारको राशी चार/चार लाख रूपैयाँ रहेको छ ।