Author: Vishwanews.com

  • सिद्धार्थ राजमार्ग अवरुद्ध, दोभानमा खस्यो पहिरो

    सिद्धार्थ राजमार्ग अवरुद्ध, दोभानमा खस्यो पहिरो

    बुटवल । पटक पटक पहिरोका कारण अवरुद्ध हुने सिद्धार्थ राजमार्गमा फेरी पहिरो खसेको छ । जसले गर्दा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध हुन पुगेको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै पहिरो खसेको छ । रातीको समयमा सवारी साधन भएको बेला खसेका कारण मानवीय क्षति भने हुन पाएन ।

    पहिरोसँगै ठूला–ठूला ढुंगा सडकमा खसेको छ । सोमबार रातीबाट साधन आवतजावत पूर्णरुपमा बन्द गरिएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । वर्षा निरन्तार भइरहेका कारण पहिरो पन्छाउन सकिएको छैन । सडक अबरुद्ध भएपछि सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन् । सिद्धार्थ राजमार्ग पहिरोबाट बढी प्रभावित सडक हो ।

  • राम नेपाली हुन, भारतले नक्कली अयोध्या बनायो : प्रधानमन्त्री

    राम नेपाली हुन, भारतले नक्कली अयोध्या बनायो : प्रधानमन्त्री

    काठमाडौं । भारतसँग शब्दयुद्ध लडिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अर्को प्रहार गरेका छन् । प्रधानमन्त्री ओलीले राम नेपालमा जन्मेको र नेपाली रहेको उल्लेख गरे । उनले भारतले  नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको समेत आरोप लगाएका छन् ।

    २०७ औं भानु जयन्तीका अवसरमा आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल सांस्कृतिक हिसाबले थिचिएको बताए । सांस्कृतिक तथ्यहरूमाथि भारतले अतिक्रमण गरेको भन्दै उनले भगवान् रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने उल्लेख गरे ।

    भारतले विवादित अयोध्या खडा गरेको उनको तर्क छ । नेपालकी छोरी सिता भारतका रामलाई नभई अयोध्याका रामलाई दिएको भन्दै उनले अयोध्या नेपालमा पर्ने उल्लेख गरे । उनले भने, ‘अयोध्या वीरगन्जभन्दा अलि पश्चिम पट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन। अयोध्या भीषण विवाद छ है त्यहाँ, हाम्रोमा विवाद नै गर्नुपर्दैन ।’

    अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मीकि आश्रम यही (नेपालमा), र दशरथबाट सन्तान नभएपछि पुत्रिष्टी यज्ञ लगाउने पण्डितजी रिडीका भएकाले राम नेपाली नै रहेको उनको तर्क छ । संचारको कुनै सुविधा नभएको समयमा भारतले भनेको अयोध्याबाट छोरी माग्न कुनै पनि व्यक्ति जनकपुर आउन नसक्ने प्रधानमन्त्रीको तर्क छ ।

  • चार च्यानलबाहेक भारतीय न्यूज च्यानलको प्रतिवन्ध खुला

    चार च्यानलबाहेक भारतीय न्यूज च्यानलको प्रतिवन्ध खुला

    काठमाडौं । नेपालमा प्रतिवन्धमा परेका भारतीय न्यूज च्यानलहरु फेरी देखिन थालेका छन् । केवल अपरेटरहरूले चार वटा भारतीय समाचार च्यानलबाहेक अन्यको प्रसारण खुला गर्ने निर्णय लिएका हुन् । केवल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्युज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज च्यानलको प्रसारण प्रतिवन्ध भने यथावत राखेका छन् ।

    यी च्यानल नेपालबारे उग्र तथा कपोलकल्पित समाचार प्रसारण गर्नेमा पर्छन् । केही च्यानलका कारण सबै टिभिको प्रसारण रोक्नु उपयुक्त नहुने भन्दै केवल अपरेटर च्यानल खुलाउने निष्कर्षमा पुगेका हुन् । नेपालले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपाल चीनको गुलाम भएको भन्दै च्यानलहरुले नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे आपत्तिजनक सामग्री प्रसारण गरेका थिए । एबीपी न्यूजले भने अभिनेत्री मनिषा कोइरालाको अपमान गरेको थियो ।

  • नारायणगढ–मुग्लिन सडकखण्ड भासियो, एकतर्फी यातायात सूचारु

    नारायणगढ–मुग्लिन सडकखण्ड भासियो, एकतर्फी यातायात सूचारु

    नारायणगढ । करीव तीन वर्ष लगाएर गत वर्ष मात्र निर्माण सम्पन्न भएको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत १७ किलो भन्ने स्थानमा सडक भासिएको छ । यसले सडक एकतर्फी मात्र खुलेको सडक शुक्रबार बिहान भासिएको हो । त्यसपछि यातायात एकतर्फी गरेर मर्मत थालिएको नेपालको सरकारी समाचार एजेन्सी राससले उल्लेख गरेको छ ।

    आज बिहान भासिएको सो ठाउँमा ग्राबेल हालेर दुईतर्फी यातायात सञ्चालनका लागि काम भइरहेको बताइएको छ । यसअघि भासिएको ठाउँमा थप भासिएपछि समस्या भएको सरकारी अधिकारीले जनाएका छन् । सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै भासिएको हो।

    १७ किलोमा तीनदेखि ३ दशमलव ५ मिटर फराकिलो ३५ मिटर लामो क्षेत्रमा एक फिटजति सडक भासिएको छ । सो ठाउँमा सडक नौ मिटर फराकिलो छ। सडक ग्राबेलिङ गरेपछि दुईतर्फी सवारी सञ्चालन गर्न सकिने बताइएको छ । सडक निर्माण गरिएको एक वर्ष नपुग्दै सो ठाउँ र २६ किलोमा ६ दशमलव ५ मिटर फराकिलो सडक ७० मिटर लामो भाग भासिएको छ।

  • मंगलबारदेखि काठमाडौंमा ४ वटा विद्यूतीय सार्वजनिक बस चल्ने

    मंगलबारदेखि काठमाडौंमा ४ वटा विद्यूतीय सार्वजनिक बस चल्ने

    काठमाडौं । सरकारले ५० प्रतिशत यात्रु राखेर सार्वजनिक यातायात चलाउन खुला गरेको छ । तर, यातायात व्यवसायीले भने सर्वसाधारणलाई सेवा दिन मानिरहेका छैनन् । यसैबीच, सुन्दर यातायातले मंगलबारबाट चार वटा विद्यूतीय बस संचालन गर्ने भएको छ । सरकारले ५० प्रतिशत यात्रु राखेर सवारी संचालन गर्ने दिने निर्णय गरेसँगै ५० प्रतिशत भाडा समेत बढी उठाउन पाउने सुविधा दिएको छ ।

    तर, सुन्दर यातायातले भने लकडाउन अगाडिकै भाडादरमा ४ वटा विद्यूतीय बस संचालन गर्न लागेको हो । आधा मात्र यात्रु हाल्न पाइने हुनाले सरकारले ५० प्रतिशत धेरै भाडा लिन पाउने निणर्य गरे पनि आफूहरू पुरानै भाडामा गाडी चलाउने सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले बताएका छन् ।

    कम्पनीले २ वटा पुरानै रुटमा र २ वटा नयाँ रुटमा यातायात सेवा सञ्चालन गर्न लागेको छ । कम्पनीका अनुसार दुई वटा बस चक्रपथ परिक्रममा गर्नेछन् । २ वटा नयाँ गाडी सूर्यविनायक–जमल–रत्नपार्क रुटमा चल्न् भएका छन् । गाडीमा नेपाल सरकारले तोकेको भन्दा सुरक्षित स्वास्थ्य सुरक्षा अपनाइने कम्पनीको दावि रहेको छ ।

    यात्रुको लागि त सरकारले तोकेको बाहेक अतिरिक्त सुरक्षा र सुविधा दिने कम्पनीले जनाएको छ । चालक सह–चालकहरुले कम्पनीले उपलब्ध गराएको बुट, प्रोटेक्टिभ ग्लास, प्रोटेक्टिभ सुट, वासएबल ग्लब्स, मास्क लगाउने छन् । प्रत्येक यात्रुको तापक्रम जाँचिने भएको छ । मास्क नलगाउने यात्रुलाई चढ्न दिइने छैन।

    मास्क नलगाएका ६० वर्ष माथिकालाई भने कम्पनीले निःशुल्क मास्क दिने भएको छ । घातक किटाणुबाट जोगाउन प्रत्यक दिन गाडीलाई स्यानिटाइज गरिने र प्रत्येक ट्रिपपछि पनि हाते पम्पबाट स्प्रे गरिने कम्पनीको भनाई रहेको छ ।

  • नेपालमा कोरोना संक्रमित डिस्चार्जमा रेकर्ड ब्रेक, कसरी सम्भव भयो ?

    नेपालमा कोरोना संक्रमित डिस्चार्जमा रेकर्ड ब्रेक, कसरी सम्भव भयो ?

    काठमाडौं । संसारमा कोरोना महामारीले मानिसको स्वास्थ्य अवस्थालाई गम्भीर मोडमा पुर्याएको छ । धेरैजसो विकसित मुलुकले मानिसको ज्यान बचाउन ठूलो संघर्ष गर्नु परेको छ । त्यसको ठिक विपरित कमजोर स्वास्थ्य प्रणाली भएपनि नेपालमा भने कोरोनाको प्रभाव कमजोर देखिएको छ ।

    यसको प्रमाण सोमबार एकैदिन १७ सय जना कोरोना संक्रमितले कोरोनालाई जित्नु समेत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार रेकर्ड ब्रेक संख्यामा मानिसले कोरोनालाई जित्न सफल भएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ७ सय ५ जना संक्रमित डिस्चार्ज भएका हुन् । यो कोरोना भाइरसको महामारी केही कम भएको र अब जितउन्मुख भएको संकेतका रुपमा सरकारले लिएको छ ।

    विज्ञहरुले भने कोरोनाको दोस्रो लहर शहरी इलाकाबाट शुरु हुने भन्दै सचेत रहनु पर्ने सुझाव दिन्छन् । नेपालमा डिस्चार्ज हुने संक्रमितको संख्या १० हजार २ सय ९४ पुगेको छ। यो सक्रिय संक्रमितको संख्या भन्दा करीव दोब्बर हो । त्यसो पछिल्ला दिनमा नेपालका कोरोनाका नयाँ संक्रमित समेत कम फेला परिरहेका छन् ।

    मन्त्रालयका अनुसार अब आइसोलेसनमा ६ हजार ६ सय १३ जना संक्रमित रहेका छन्। नेपालमा कुल संक्रमितमध्ये ६१ प्रतिशतले कोरोनालाई जित्न सफल भएका छन् । नेपालमा कोरोनाको लक्षण बीना नै संक्रमण भएका बिरामीको संख्या धेरै छ । उनीहरुलाई १४ दिन आइसोलेसनमा बसेपछि डिस्चार्ज गर्ने नीति सरकारले लिएको छ । सोहीकारण एकसाथ धेरै संक्रमित डिस्चार्ज भएका हुन् ।

    सोमबार देशभर रहेका २५ वटा प्रयोगशालाबाट ५ हजार ८ सय ५६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । जसमा मात्र १ सय ४४ जना संक्रमित थपिएका छन्। अहिले देशभर क्वारेन्टिनमा बस्नेको संख्या भने २३ हजार ४ सय ७० छ।

  • उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

    उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा‍‍.डा. जागेश्वर गौतमको अनुसार काठमाडौंमा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जना कोरोना संक्रमित थपिएका हुन् ।

  • नेपालमा एकैदिन १७०५ जना कोरोना संक्रमित डिस्चार्ज

    नेपालमा एकैदिन १७०५ जना कोरोना संक्रमित डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५ डिस्चार्ज भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशको विभिन्न अस्पतालबाट थप १७०५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

    यो सहित डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ।

  • नेपालमा थप १ सय ४४ जनामा कोरोना संक्रमण

    नेपालमा थप १ सय ४४ जनामा कोरोना संक्रमण

    काठमाडौं  । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ५ हजार ८ सय ५६ वटा नमुना परिक्षण गरिएकोमा १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको मन्त्रालयले बताएको छ ।

    पछिल्लो २४ घण्टामा थप १७०५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ।

    कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ।

  • म्याग्दीमा पहिराले ज्यान गुमाएका १९ जनाको सामुहिक अन्त्येष्टी, ज्यान गुमाउने संख्या २८

    म्याग्दीमा पहिराले ज्यान गुमाएका १९ जनाको सामुहिक अन्त्येष्टी, ज्यान गुमाउने संख्या २८

    म्याग्दी । म्याग्दीमा पहिरोमा परी ज्यान गुमाउने मानिसको संख्या २८ पुगेको छ । आइतबार एक जनाको शव फेला परेको हो । उनीहरुमध्ये १९ जनाको भने सामुहिक अन्त्येष्टी गरिएको छ । रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा गएको बाढी तथा पहिरोमा परी दर्जनौं मानिस वेपत्ता भएका थिए । त्यसमध्ये २८ जनाको ज्यान गएको छ ।

    आइतबार मराङका खिमबहादुर जुग्जालीको शव भेटिएको हो । म्याग्दी प्रहरीका अनुसार यसअघि शनिबार २७ जनाको शव भेटिएको थियो । बाढी र पहिरोमा परेर मालिका–७, बिमकी एलिसा केसी, धवलागिरी–६, मराङ ९कल्लेनीका जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता मालिका–६, दरबाङकी गीता रोका भने अझै वेपत्ता छन् ।

    पहिरोमा परेर घाइते भएका दुईजना गर्भवतीसहित १३ जनालाई प्रभु एअर र नेपाली सेनाको  हेलिकोप्टरमार्फत उद्धार गरेर बेनी, पोखरा र काठमाडौं पठाइएको छ । धवलागिरी–६ को मराङ, कल्लेनी, राम्चे र रिखा तथा मालिका–७ को विम, दुले र नुर्बाङमा पहिरो गएपछि ठूलो मानवीय क्षति भएको छ ।

    मराङ पहिरोमा ज्यान गुमाएका १९ जनाको भने आइतबार सामुहिक अन्त्येष्टी गरियो । यहाँ अझै २ जना वेपत्ता छन् । गाउँ नै सखाप हुने गरी पहिरोले क्षति गरेपछि गाउँलेहरु शोकमा छन् । बिहीबार राति बस्ती माथिबाट खसेको पहिरोमा परी १९ को ज्यान गएको थियो । दुई परिवारका ७ जनाको एउटै चिहानमा राखी अन्त्येष्टि गरिएको छ ।

  • तनहुँमा समेत पहिरोको कहर, ११ जना वेपत्ता

    तनहुँमा समेत पहिरोको कहर, ११ जना वेपत्ता

    तनहुँ । नेपालको पहाडी भेगमा पहिरोले ठूलो जनधनको क्षति गर्ने क्रम जारी रहेको छ । सोहीक्रममा तनहुँमा समेत विभिन्न स्थानमा गएको पहिरोले ११ जना मानिसलाई वेपत्ता पारेको छ । अविरल वर्षापछि जिल्लाका थुप्रै स्थानमा पहिरो गएको छ । प्रहरीका अनुसार पहिरोमा ऋषिङ गाउँपालिकाका–८ पल्ट्याङका एकै घरका ५ जना वेपत्ता छन् ।

    व्यास नगरपालिका–९ माझकोटमा घर भत्किएर ४ जना र व्यास नगरपालिका–९ मा एक बृद्धा हराइरहेकोजिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । यसरी म्याग्दे गाउँपालिका–१ का एक सहित तनहुमा ११ जना बेपत्ता भएका हुन् । ऋषिङ गाउँपालिका–८का अनबहादुर थापाको ५ जना एकै घरका छोरा, बुहारी र नातिनी भएको प्रहरीले जनाएको छ ।

    उता, व्यास–९ माझकोटको केशरबहादुर थापाको घर भत्किदा ४ जना र सोही ठाउँका मान बहादुर घर्तीको ७० वर्षीया महिला हराइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको र उद्दारको काम जारी रहेको बताइएको छ । गण्डकी प्रदेश यस वर्ष पहिरोका कारण सबैभन्दा बढी प्रभावित भएको छ । यस प्रदेशको म्याग्दीमा २० जनाको मृत्यु भइसकेको छ । ११ जना अझै वेपत्ता छन् । लमजुंग र कास्कीमा समेत पहिरोले मानवीय क्षति गरेको छ ।

  • यूरोपमा क्रिकेटको रौनक पनि फर्कियो, पहिलो टेस्टमा वेस्ट इण्डिज विजयी

    यूरोपमा क्रिकेटको रौनक पनि फर्कियो, पहिलो टेस्टमा वेस्ट इण्डिज विजयी

    साउथह्याम्पटन । कोरोना भाइरसको महामारीबाट हजारैं मानिस गुमाएको यूरोप अब सामान्य जनजीवनमा फर्कने प्रयासमा छ । फूटबल खेलहरुक संचालनमा आइसकेको यहाँ अब क्रिकेटको रौनक समेत फर्किएको छ । यद्दपी खेल बीना दर्शक हुने गरेका छन् । कोरोना महामारीपछि पहिलो पटक भएको टेस्ट क्रिकेटमा वेस्ट इण्डिजले इंल्याण्डलाई पराजित गरेको छ ।

    जर्मेन ब्ल्याकउड ब्याटिङमा चम्किएपछि वेष्ट इन्डिजले इंग्ल्याण्ड विरुद्धको पहिलो टेष्ट ४ विकेटले जितेको हो । यससँगै वेष्ट इन्डिजले तीन खेलको सिरिजमा १,० को अग्रता बनाएको छ । पाँचौ तथा अन्तिम दिन वेष्ट इन्डिजले जितका लागि २०० रनको लक्ष्य पाएको थियो ।

    ब्ल्याकउडले दुई अर्धशतकीय साझेदारीसहित ९५ रनको इनिङ्स खेले । जसले उनको टीमलाई जितसम्म डोर्याउन महत्वपूर्ण भूमिका खेल्यो । साउथह्याम्पटनको दी रोस बोल स्टेडियममा घरेलु टोली इंग्ल्याण्डले २८४ ,८ बाट अन्तिम दिनको खेल थालेको थियो । पहिलो इनिङ्समा २०४ रनमा अलआउट भएको इंग्ल्याण्डले वेष्ट इन्डिजलाई जितका लागि २०० रनको लक्ष्य दिएको थियो ।

  • नेपालीको उद्दारका लागि तेस्रो चरणमा ४२ उडानलाई अनुमति, ६ देशमा जानेछन् जहाज

    नेपालीको उद्दारका लागि तेस्रो चरणमा ४२ उडानलाई अनुमति, ६ देशमा जानेछन् जहाज

    काठमाडौं । नेपालीको विदेशका विभिन्न मुलुकबाट भइरहेको उद्दारको तेस्रो चरण बुधबारबाट शुरु हुने भएको छ । सोमबार र मंगलबार कुनै पनि उडान हुने छैनन् । विमानस्थल, हवाईजहाज तथा अन्य स्थानको सरसफाईका लागि दुई दिन उद्दार उडान बन्द गर्न लागिएको हो । बुधबारबाट भने उडान प्रारम्भ हुनेछ ।

    तेस्रो चरणमा नेपालीको स्वदेश फिर्तीका लागि विभिन्न ६ देशबाट ४२ वटा उडानको तालिका तय भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाए अनुसार बुधबारदेखि एक सातासम्म तेस्रो चरणका उडानहरु हुनेछन् ।

    नेपालीको स्वदेश फिर्ती प्रयोजनमा हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, फ्लाई दुबई, एयर अरेबिया, जजिरा एयर र मालिण्डो एयरले उडान अनुमति पाएका छन् । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले १६, १६ उडान गर्ने भएका छन् ।

    एयर अरेबियाले २, फ्लाई दुबईले २ र मालिन्दो एयरले ४ वटा उडान गर्ने भएका छन् । जजिरा एयरको समेत दुई उडान निश्चित भएको छ ।

    आगामी साता यूएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुबेत, कतार, बहराइन र मलेसियाबाट नेपालीहरुलाई घर ल्याउने कार्यक्रम तय भएको छ । शनिबारसम्म २६ हजार ३ सय ९६ जना नेपाली स्वदेश फर्किसकेको विमानस्थलको तथ्यांक छ । यसबीचमा कुल १ सय ४९ उडान भएका छन् ।

  • साझा पार्टीका दुई प्रभावशाली नेता सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी त्यागे

    साझा पार्टीका दुई प्रभावशाली नेता सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी त्यागे

    काठमाडौं । साझा पार्टीबाट दुई प्रभावशाली नेता सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी परित्याग गरेका छन् । दुई सचिवालय सदस्य पार्टीबाट अलग भएसँगै साझा पार्टीलाई भने ठूलो धक्का लागेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा उनीहरुले पार्टीबाट बाहिरिने जानकारी गराएका हुन् ।

    पार्टीका सहप्रवक्ता शरदराज पाठकले उनीहरूलाई अहिलेसम्मको योगदानका लागि धन्यवाद दिएर विदा गरिएको जानकारी गराएका छन् । पार्टी बाहिर बसेरै सहयोग गर्ने प्रतिवद्धतासहित दुई नेताले पार्टी त्याग गरेका हुन् ।

    पार्टीका संयोजक रवीन्द्र मिश्रसँग निरन्तर विवादमा रहेका उनीहरुले पार्टी त्याग गरेका हुन् । विगतमा नेताहरुलाई गाली गर्दै राजनीतिमा छिरेका मिश्रको पार्टी दुई पटक चोइटिसकेको छ ।

    यी दुई नेताले पार्टी संगठन भंग गरी नयाँ शिराबाट अघि जाने उपाय राखेका थिए । मिश्रसहित केही नेता भने साझाबाटै फुटेर चोइटिएको विवेकशीलमा मिल्ने पक्षमा थिए । सोही विषयमा असहमति भएपछि नेताहरु अलग भएको बताइएको छ ।

  • अन्ततः दोस्रो पटक नेपाल छिर्यो सलह

    अन्ततः दोस्रो पटक नेपाल छिर्यो सलह

    काठमाडौं । नेपालमा भारतबाट दोस्रो पटक सलहको ठूलो समुह छिरेको छ । आइतबार दाङमा भारतबाट सलहको ठूलो झुण्ड भित्रिएको हो । भारतसँग जोडिएको कोइलाबास हुँदै सलहको विशाल झुण्ड नेपालतर्फ छिरेको स्थानीयले जानकारी दिएका छन् । आइतवार छिरेको सलह राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा फैलिएको छ ।

    यसले बालीमा ठूलो क्षति पुर्याउने अनुमान छ । कृषले ठूलो आवाजमा विभिन्न भाडा बजाएर सलह लखेटेका छन् । यी दुई गाउँपालिकाबाट भागेका सलहको समूह पहाडी जिल्ला तर्फ लागेको छ । प्यूठानसम्म प्यूठानसम्म सलहको झुण्ड देखिएको छ ।

    कृषकलाई दोस्रो पटक सलह भित्रन सक्ने बारे भने यसअघि नै सचेत गराइएको थियो । यसअघि दुई साता अगाडी सलह भित्रिएको थियो । तर, नेपालमा प्रतिकुल मौसमका कोरण उक्त सलह एक सातामै निष्कृय भएको थियो ।

  • अवैध मृगौला प्रत्यारोपणमा प्रहरीसमेत मुछियो

    अवैध मृगौला प्रत्यारोपणमा प्रहरीसमेत मुछियो

    काठमाडौं । अघिल्लो जेठमा भएको एक मृगौला प्रत्यारोपणमा नक्कली नाता सम्बन्ध कायम गरी मृगौला किनबेच प्रकरणमा प्रहरीको समेत संलग्नता खुलेको छ । २०७६ जेठ २७ मा चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भएको मृगौला प्रत्यारोपणमा नक्कली भान्जा खडा गरी मृगौला दिएको खुलेको हो ।

    ललितपुरका एक जनामा गरिएको मृगौला प्रत्यारोपणबारे गत असोजमा प्रहरी समक्ष एक बेनामे उजुरी परेपछि भने यो प्रकरणको अनुसन्धान थालिएको थियो । २०७६ असोज २ मा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोमा नक्कली भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको ‘बेनामे उजुरी’ परेको थियो ।

    सोही अनुसन्धानका आधारमा प्रहरीले नक्कली भान्जा खडा गरी मृगौला लिएको तथ्य पुष्टी गरेको हो । सो अभियोगमा जनप्रतिनिधि, डाक्टरसहित १२ जना पक्राउ परिसकेका छन् । त्यसमा अब प्रहरीसमेत मुछिएको छ । मिर्गौला तस्करीमा चितवनको कलेज अफ मेडिकल साइन्सेजबाट नक्कली कागजात खडा गरी विदेशमा रहेका व्यक्तिको विवरण प्रयोग गरिएको पाइएको छ ।

    जसमा तेस्रो व्यक्तिको मिर्गौला झिकेर राखिएको छ । अर्थातः सक्कली भान्जा विदेशमा रहेका बेला नेपालमा नक्कली भान्जाबाट मृगौला हालिएको छ । घटनामा मुछिएका गुल्मीको रेसुंगा नगरपालिका २ का प्रहरी सहायक निरीक्षक (असई) भीमप्रसाद ढकाल र निलम्बित प्रहरी नायव निरीक्षक (सई) योगेन्द्रराज थपलिया समेत पक्राउ परेका हुन् ।

    उनीहरुमध्ये थपलिया यसअघि पनि मृगौला प्रत्यारोपणकै प्रकरणमा मुछिएका व्यक्ति हुन् । उनी २०७६ साउनमा काभ्रे बाङ्थलीका विष्णु खड्काको भारतमा लगेर मिर्गौला निकाल्न लागिएको घटनामा पनि मुछिएका थिए । यस प्रकरणमा भरतपुर मेडिकल कलेजबाट डा. राकेश कुमार बर्मा, अस्पतालका सिइयो डा. सुप्रभात श्रेष्ठ, डा. बालकृष्ण कालाखेती पक्राउ परेका छन् ।

    कलेजका कानुनी सल्लाहकार अधिवक्ता रमेश काफ्ले, जिल्ला प्रशासन चितवनका शाखा अधिकृत रामचन्द्र ढकाल, ललितपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष गोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका अवकाश प्राप्त खरिदार नवराज केसीलाई समेत प्रहरीले यस प्रकरणमा पक्राउ गरेको छ । जिल्ला प्रशासनका कार्यालय सहायक नवराज केसीसमेत पक्राउ परेका हुन् । यसबाहेक जमुना राजभण्डारी र रेश्मा राई समेत यस प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्।

  • उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण

    उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण

    काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ

  • नेपालमा कोरोना संक्रमितको संख्या घट्यो, थप ८२ जनामा कोरोना संक्रमण

    नेपालमा कोरोना संक्रमितको संख्या घट्यो, थप ८२ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३९१६ वटा नमुना परिक्षण गरिएकोमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप १ सय ४७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ८हजार ५ सय ८९ रहेका छन्।

    कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ।

  • विदेशमा ९२ प्रतिशत नेपालीले जिते कोरोना

    विदेशमा ९२ प्रतिशत नेपालीले जिते कोरोना

    काठमाडौं । विदेशमा कोरोनाबाट संक्रमित भएको ९२ प्रतिशत नेपालीले कोरोना जित्न सफल भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता कोरोनाका कारण विदेशमा कुनै पनि नेपालीको ज्यान गएको छैन । विदेशमा कोरोना भाइरसका कारण निधन हुने र संक्रमित हुनेको दर समेत उल्लेख्य घटेको छ । स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले यसको जानकारी दिएका हुन् ।

    उनका अनुसार शनिवार साँझसम्म विश्वभर २९ हजार ६ सय २४ जनामा कोरोना देखिएको छ । त्यसमध्ये २७ हजार ३ सय ६२ जना नेपालीले कोरोनालाई जित्त सफल भएका छन् । अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अरब लगायतका देशमा रहेका नेपालीहरुमा सो साता कोरोना संक्रमण दर सामान्य रुपमा वृद्धि भएको छ ।

    नेपालमा समेत गरेर विश्वभर ज्यान गुमाउने नेपालीको संख्या १ सय ८१ छ । ४६ हजार ३ सय ४६ जना संक्रमित भएका छन् । नेपालमा करीव १७ हजारमा कोरोना देखिएको छ ।

    उता, नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपालीको उद्धार गरिएको समेत संघले जनाएको छ ।

    यसैगस अवधिमा १ सय ५७ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशबाट अझै १ सय ९ वटा शव नेपाल ल्याउन बाँकी रहेको एनआरएनको विज्ञप्तीमा उल्लेख छ ।

  • मेसीले कीर्तिमान राखेको खेलमा बार्सिलोना विजयी

    मेसीले कीर्तिमान राखेको खेलमा बार्सिलोना विजयी

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अर्को जीत दर्ता गरेको छ । यसले उसको उपाधि दाबेदारी कायमै रहेको छ । गएरात रियल भालाडोलिडलाई १ – ० गोल अन्तरले हराउदै बार्सिलोनाले रियल म्याड्रिड विरुद्ध अंक दूरी छोट्याएको छ । अब दुई प्रतिस्पर्धी क्लवबीच एक अंकको मात्र फरक छ ।

    बार्सिलोनाले साँघुरो जित दिलाउने क्रममा अर्टुरो भिडालले निर्णायक गोल गरे । खेलको १५ औं मिनेटमा भिडालले गोल गरेका हुन् । त्यसपछि खेलमा कुनै पनि गोल हुन सकेन । उनको गोलका लागि लियोनल मेस्सीले पास दिएका थिए ।

    भिडालको गोलमा अस्सिट गरेसँगै मेस्सी एकै सिजन २० गोल र गोलका लागि २० अस्सिट गर्ने पहिलो खेलाडी बनेका छन् । जितपछि बार्सिलोनाले ३६ खेलमा ७९ अंक जोडेको छ । एक खेल कम खेलेको रियलको ८० अंक छ ।
    एजेन्सी

  • झापामा नदीले बगाउँदा एकको मृत्यु, एक वेपत्ता

    झापामा नदीले बगाउँदा एकको मृत्यु, एक वेपत्ता

    झापा । झापामा नदीमा बगेर एक जनाको ज्यान गएको छ । अर्को एक जना वेपत्ता रहेका छन् । कन्काई नदीमा आएको बाढीले बगाउँदा झापाको झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मलामी गएका थिए । त्यसक्रममा पौडी खेल्न नदीमा पसेका उनलाई बाढीले बगाएको बताइएको छ ।

    खोजी तथा उद्धारका क्रममा प्रहरीले उनको शव बाह्रदशी गाउँपालिका–२ मा फेला पारेको बताएको छ । उता झापाकै भद्रपुर नगरपालिका ३ मा मेची खोलाले बगाउँदा स्थानीय ३३ वर्षीय हिरण राई बेपत्ता भएका छन्‌। उनी नुहाउन नदीमा पसेको प्रहरीको भनाई छ । उनको खोजी भइरहेको बताइएको छ ।

    अहिले देशभर बाढी र पहिरोले ठूलो मानवीय क्षति गरिरहेको छ । पहाडी भेगमा ठूलो पानी परिरहेका कारण तराईका नदीमा समेत पानीको वहाव बढेको छ ।

  • अवैध मृगौला प्रत्यारोपण गरेको आरोपमा डाक्टरसहित ६ पक्राउ

    अवैध मृगौला प्रत्यारोपण गरेको आरोपमा डाक्टरसहित ६ पक्राउ

    चितवन । चितवनमा अवैध मृगौला प्रत्यारोपण गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) भरतपुरका चार चिकित्सकसहित ६ जना पक्राउ परेका छन । एक  वर्ष अगाडी प्रत्यारोपण गरिएको एक मृगौला अवैध भएको खुलासा भएपछि उनीहरु पक्राउ परेका हुन् ।

    अवैध रुपमा मिर्गौला प्रत्यारोपण गराएको आरोपमा अस्पतालको मिर्गौला रोग विभागका प्रमुख प्रा. डा. राकेश बर्मा, प्रा. डा. बालकृष्ण कालाखेती, डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ पक्राउ परेका हुन् डा. सुप्रभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य समेत हुन् ।

    सोही अभियोगमा जिल्ला प्रशासन कार्यालय चितवनका शाखा अधिकृत रामचन्द्र ढकाल र अधिवक्ता रमेश काफ्लेलाई पनि प्रहरीले पक्राउ गरेको छ । कलेजमा एक वर्षअगाडि ललितपुरका एक व्यक्तिको मिर्गौला प्रत्यारोपण भएको थियो ।

    भान्जा नाता प्रमाणित गरेर ल्याइएका एक युवकले दिएको मृगौला अवैध भएको खुलासा भएको हो । अनुसन्धानपछि प्रहरीको अपराध अनुसन्धान ब्यूरोबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले पुष्टी गरेको हो ।

  • सिन्धुपाल्चोक पहिरोमा हराइरहेका २० जना अझै भेटिएनन्

    सिन्धुपाल्चोक पहिरोमा हराइरहेका २० जना अझै भेटिएनन्

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा पहिरोमा परी हराइरहेका २० जना नागरिकको खोजी कार्य शनिबार समेत जारी रह्यो । तर, उनीहरुबारे कुनै जानकारी भने प्राप्त भएन् । बाह्रबिसे नगरपालिका ५ जम्बुमा बुधबार राति गएको बाढी पहिरोमा परी २० जना वेपत्ता रहेका छन् । लगातार परिरहेको वर्षापछि आएको बाढी र पहिरोमा परी धनजनको ठूलो क्षति भएको छ ।

    तर, सडक अवरुद्ध भएको र पहिरोले ठूलो क्षति पुर्याएका कारण वेपत्ताहरुको खोजी कार्यमा भने कठिनाई उत्पन्न भइरहेको छ । शनिबार पनि बेपत्ताको खोजी जारी राखिएको प्रहरीले जनाएको छ । शनिबार काठमाडौंबाट समेत उद्धार टोली उद्दारमा खटिएको थियो । बाढी पहिरोका कारण सिन्धुपाल्चोकमा अहिलेसम्म ५२ घरमा क्षति पुगेको छ ।

    जम्बुका विस्थापित ३० परिवारको लागि नगरपालिकासँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट ३० थान त्रिपाल, म्याट्रेस, भाँडाकुँडा र लत्ताकपडा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यता अरनिको राजमार्गको जुरेमा सडक खुलाउने काम समेत थालिएको प्रहरीको भनाई छ । बाढीले सम्पूर्ण भाग कटान गरेको झण्डै एक सय ५० मिटर सडक भित्ताको कडा चट्टान काटेर डाइभर्ट गरी निर्माण शुरु भएको छ ।

  • नेपालमा अझै टरेन सलहको जोखिम, अर्को झुण्ड छिर्न सक्ने सम्भावना

    नेपालमा अझै टरेन सलहको जोखिम, अर्को झुण्ड छिर्न सक्ने सम्भावना

    काठमाडौं । नेपालमा सलहको अर्को झुण्ड छिर्न सक्ने जोखिम बढेको छ । भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपासमा सलहका दुई झुण्ड रहेको र यी झुण्ड नेपाल छिर्ने सम्भावना रहेको सरकारले बताएको छ । दुई झुण्डले करिब १५० हेक्टर क्षेत्रफल ओगटेका छन् ।

    प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गत रहेको सूचना केन्द्रका अनुसार हावाको वहावले यी झुण्डलाई नेपाल ल्याउन सक्ने सम्भावना रहेको छ । हावाको बहावले सलहको झुण्ड पूर्वतर्फ वाराणसी हुँदै मुजफ्फरपुर र दरभंगाको आसपासका क्षेत्रमा आउने सम्भावना रहेको बताइएको छ ।

    यसरी आएका सलहमध्ये नेपालको धनुषा, महोत्तरी, सर्लाही क्षेत्रबाट नेपालतर्फ आउन सक्ने छन् । उता, राजस्थानमा समेत ठूलो संख्यामा सलहका झूण्ड रहेको बताइएको छ ।

    यी झुण्डसमेत दक्षिण पश्चिमतर्फ बहेको वायुसँगै नयाँदिल्ली आसपासका क्षेत्र हुँदै उत्तर प्रदेशका मुरादावाद, बरेली तथा शाहजहाँपुरतर्फ अगाडि बढ्न सक्ने पूर्वानुमान गरिएको छ । त्यसो भएमा समेत नेपालमा कोरोनाको दोस्रो झुण्ड आउन सक्ने भएको छ ।

  • म्याग्दी पहिरोमा ज्यान गुमाउनेको संख्या २० पुग्यो, अझै १३ वेपत्ता

    म्याग्दी पहिरोमा ज्यान गुमाउनेको संख्या २० पुग्यो, अझै १३ वेपत्ता

    म्याग्दी । म्याग्दीमा गत शुक्रबार रातीबाट विभिन्न स्थानमा आएको पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको संख्या २० पुगेको छ । बिहीबार रातबाट लगातार वर्षा भएपछि म्याग्दीका थुप्रै स्थानमा पहिरो गएको थियो । म्याग्दीको धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा पहिरोले ठूलो मानवीय क्षति पुर्याएको छ ।

    प्रहरीका अनुसार पहिरोले पुरिएका मराङको ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव शुक्रबार भेटिएको थियो । बाँकी शव शनिबार भेटिएका हुन् । प्रहरीका अनुसार धवलागिरि–६ मराङका ११, मालिका–७ बिमका ८ र रघुगंगा–६ ठाडाखानीका १ जनाको शव भेटिएको छ ।

    धवलागिरी–६ कल्लेनीका राम्चेका सुबना लामगादे, प्रकाश केसी, आयुष लामगादे, आशिष दामगादे,आयुषा लामगादे, रेश्मा सुनार, मनबहादुर श्रीपाली, कमला श्रीपाली, सुरक्षा श्रीपाली र सुरज श्रीपालीको शव भेटिएको छ । बिमकी बिष्णु शर्मा, इच्छा केसी, गौदेवी नेपाली, विशेष नेपाली, बिरबहादुर नेपाली, उनका ३ महिनाका छोरा, बिष्णु नेपाली, सन्दीप नेपालीको शव भेटिएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

    मराङमा ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीया रितुकुमारी जुग्जाली, ८ वर्षीय कञ्चन जुग्जाली, ५ वर्षीय अर्जुन जुग्जाली, १० वर्षीया करिस्मा जुग्जाली, ५५ वर्षीया गौशरा जुग्जाली, हिराकुमारी जुग्जाली, २१ वर्षीया दिमा जुग्जाली, ३ वर्षीया दिप्ती जुग्जाली र १ वर्षीय दिवन जुग्जाली बेपत्ता छन्।

    मालिका–६ की गीता रोका दुखुखोलामा बेपत्ता छन् । कल्लेनीका ५१ वर्षीया जनिमा केसी र १६ वर्षीय सबिन पुन पनि पहिरोका कारण हराइरहेका छन् । वेपत्ता नागरिकको खोजी कार्य जारी रहेको समेत प्रहरीले जनाएको छ ।

  • डेढ महिनापछि नेपालमा एक दिनमा सबैभन्दा कम संक्रमित भेटिए

    डेढ महिनापछि नेपालमा एक दिनमा सबैभन्दा कम संक्रमित भेटिए

    काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीका बीच शनिबार एक खुसीको खबर सार्वजनिक भएको छ । करीव डेढ महिना यता पहिलो पटक सबैभन्दा कम संख्यामा कोरोना भाइरसको संक्रमित फेला परेका छन् । नयाँ संक्रमितको संख्या दुई अंकमा झरेको छ भने सक्रिय संक्रमितभन्दा निको हुने संख्या समेत अब धेरै भएको छ ।

    अर्कोतर्फ एकै दिन नयाँ थपिने संक्रमित भन्दा डिस्चार्ज हुने संख्या समेत नेपालमा धेरै भएको छ । यस्तो भने पछिल्लो तीन दिन यता जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६४८ नमुना परीक्षण गरिएको छ । जसमा मात्र ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    डेढ महिनापछि नेपालमा कोरोना संक्रमितको संख्या दुई अंकमा झरेको छ । नेपालमा ९ माघमा र १० चैत मा दोस्रो संक्रमित भेटिएका थिए । नेपालमा जेठ १३ सम्म दैनिक थपिएका नयाँ संक्रमितको संख्या २ अंक भित्रै रहेको थियो । जेठ १४ मा पहिलो पटक एकै दिन १ सय भन्दा बढी संक्रमित देखिएका थिए । उक्त दिन ३५८० नमुना परीक्षण गर्दा ११४ जनामा संक्रमण पुष्टि भएको थियो ।

    त्यसपछि लगातार तेस्रो अंकमा रहेको वृद्धि शनिबार भने दुई अंकमा झरेको हो । यसले केही सकारात्मक सन्देश दिएको छ । नेपालमा १९ असारमा एकै दिन सर्वाधिक ७४० जनामा कोरोना देखिएको थियो । नेपालमा अहिले औसतः ४ हजार पिसिआर परीक्षण भइरहेको छ ।

  • नेपालमा कोेरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

    नेपालमा कोेरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोनाबबाट थप तीन जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार काठमाडौं महानगपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्चोक पाँचपोखरी थाङपालका पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

    कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ।

  • नेपालमा थपिए ७० कोरोना संक्रमित, संक्रमितको संख्या १६ हजार ७१९ पुग्यो

    नेपालमा थपिए ७० कोरोना संक्रमित, संक्रमितको संख्या १६ हजार ७१९ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ७ सय १९पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप ४ सय ३१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको छ।

    कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ।

  • पार्टीको आन्तरिक विवादले सरकारको काम प्रभावित हुँदैन : प्रधानमन्त्री

    पार्टीको आन्तरिक विवादले सरकारको काम प्रभावित हुँदैन : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज टेलिभिजनबाट जनताका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती ९ बजे नेपाल टेलिभिजनबाट सम्बोधन गरेका उनले सरकारको प्राथमिकतामा पार्टी भित्रको विवादले कुनै प्रभाव नपार्ने बताएका छन् । पार्टी विवाद आन्तरिक मामला भएको भन्दै उनले त्यसबाट सरकारको प्राथमिकतामा कुनै कमी नआउने उनको भनाई थियो ।

    जनताको जीवन रक्षाको दायित्वबाट कसैले पनि विमुख हुन नमिल्ने भन्दै उनले केही दिनयता देशमा निम्तिएको बाढीपहिरोसहितका प्राकृतिक विपदको सामना गर्न सबै संयन्त्र प्रयत्नसिल रहेको समेत उल्लेख गरे । आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट कोही पनि पछि हट्न नमिल्ने प्रधानमन्त्रीको तर्क थियो ।

    रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि नहट्ने उनको प्रतिवद्धता रहेको छ । आफ्नो र आफुले नेतृत्व गरेको सरकारको सारा ध्यान र संम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित रहेको समेत प्रधानमन्त्रीेले बताएका छन् ।

    प्रधानमन्त्रीले अब नेकपाको विवाद मत्थर भएको संकेत समेत सम्बोधनका दौरान गरेका छन् । पार्टी विवादपछि सार्वजनिक रुपमा नबोलेका प्रधानमन्त्रीले विवाद कम भएसँगै सम्बोधन गरेको आंकलन गरिएको छ ।

  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ बढाइएको छ । निगमले बढाएको मूल्यपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ पर्नेछ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पर्ने निगमले जनाएको छ ।

    बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन । भारतबाट मूल्य बढेर आएको भन्दै नेपालमा समेत बढाउने निर्णय लिइएको हो ।

    निगमका अनुसार भारतीय आयल कर्पोरेसनबाट जुलाई १ मा आएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ६५ पैसा, डिजेलमा ३ रुपैयाँ ८२ पैसा र मट्टितेल १४ रुपैयाँ २५ पैसा बढेर आएको छ। खाना पकाउने ग्यासमा ६ रुपैयाँ ७७ पैसा मूल्य बढेर नयाँ मूल्य आएको निगमको भनाई छ ।