Author: Vishwanews.com

  • ६ महिनापछि खुल्यो रसुवागढी नाका

    ६ महिनापछि खुल्यो रसुवागढी नाका

    रसुवा । नेपाल र चीन जोड्ने व्यापारिक रसुवागढी नाका ६ महिनापछि संचालनमा आएको छ । चीनमा कोरोनाले महामारीको रुप लिएपछि यो नाका गत माघदेखि बन्द थियो । यो नाका चीनले एकलौटी बन्द गरे थियो । अहिले चीनमा कोरोनाको जोखिम घटिसकेको छ । सोहीकारण नेपाल सरकारले चीन सरकारसँग नाका सुचारु गर्न आग्रह गरेको थियो । सोहीअनुसार सुरक्षा प्रवन्ध पछि आजदेखि नाका सञ्चालनमा आएको हो ।

    रसुवागढी भन्सार कार्यालयका अनुसार बिहान ८ बजेबाट नाका संचालनमा आएको छ । अब चीन र नेपालबीच यो नाका हुँदै पुनः व्यापार शुरु भएको छ । दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदारी बनाइएको छ । नाका सञ्चालन गर्न बनाइएको सुरक्षा प्रोटोकलअनुसार दैनिक चार वटा चिनियाँ ट्रकले १ सय २० टन सामाग्री दुई देशबीचको सीमा मितेरी पुलसम्म ल्याइदिने भएका छन् ।

    मितेरी पुलसम्म ल्याइएको सामान पुनः ढुवानी गरेर नेपाली कन्टेनरले नेपालतर्फ ल्याउने गरी सहमति भएको छ । व्यवसायीहरु चीनतर्फ जान पाउँदैनन् । रसुवागढीसम्म पुग्न समेत जिल्ला प्रशासनको पास अनिवार्य गरिएको छ । चालक र सहयोगीको कोरोना परीक्षण गरिएको छ ।

  • भारत विश्वमै सर्वाधिक संक्रमित हुने तेस्रो मुलुक बन्यो

    भारत विश्वमै सर्वाधिक संक्रमित हुने तेस्रो मुलुक बन्यो

    नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारत कोरोना भाइरसबाट धेरै प्रभावित विश्वमै तेस्रो स्थानमा आएको छ । भारतले रुसलाई उछिनेको हो । पछिल्लो २४ घण्टामा भारतमा करीव २४ हजार नयाँ संक्रमित थपिए । यससँगै भारतले रुसलाई उछिन्न सफल भएको हो । अब भारतमा कुल संक्रमित ६ लाख ९७ हजार पुगेको भारतीय स्वास्थ्य मन्त्रालउले जनाएको छ । रुसमा भने ६ लाख ८१ हजार संक्रमित रहेका छन् ।

    विश्वभर सबैभन्दा बढी प्रभावित अमेरिका हो । यस मुलुकमा २९ लाख ८१ हजार संक्रमित पुगेका छन् । ब्राजिलमा १६ लाख संक्रमित रहेको तथ्यांक छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ४२ हजार ६ सय संक्रमित थपिए । यस मुलुकले २४ घण्टामा २३४ जना नागरिकलाई गुमाएको छ ।

    ब्राजिलमा २६ हजार २ सय संक्रमित थपिए । यहाँ ५३५ जनाको मृत्यु भएको तथ्यांक छ । भारतमा २४ घण्टा भित्र ४२१ र रुसमा १३४ जनाको ज्यान गएको तथ्यांक छ । पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ७१ हजार संक्रमित थपिए । यसअविधमा ३ हजार ५ सयको मृत्यु भयो ।

    अब संसारभर संक्रमितको संख्या १ करोड १५ लाख पुगेको छ। मृतकको संख्या ५ लाख ३६ हजार पुगेको छ ।६५ मानिसले यो रोगलाई जित्न सफल भएका छन् ।

  • आज निक्लेला नेकपा विवादको समाधाान ?

    आज निक्लेला नेकपा विवादको समाधाान ?

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आजका लागि बोलाइएको छ । यसअघि शुक्रबार बोलाइएको बैठक विवादले उग्र रुप लिएसँगै स्थगित भएको थियो । बैठक अगाडी अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच निर्णायक वार्ता हुने बताइएको छ । उक्त वार्ता निष्कर्षमा पुग्न सके विवाद समाधान हुनेछ । नत्र पार्टी फूटको जोखिममा रहेको निष्कर्षमा स्वयम नेकपाका नेताहरु पुगिसकेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच आइतबार भएको वाताले कुनै निष्कर्ष निकाल्न नसकेपछि आज फेरी बैठक बस्ने निर्णय भएको छ । सहमतिका लागि प्रयास गर्ने सहमति सहित आइतबारको बैठक टुंगिएको थियो ।

    प्रधानमन्त्री र पार्टी अध्यक्ष प्रधानमन्त्री ओलीले सरकार एकलौटी चलाएको, नेताहरुको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै पार्टी भित्रै उनको राजिनामा माग भइरहेको छ । अध्यक्ष दाहाल, वरिष्ठ नेता माधव कुमार, झलनाथ खनाल र बामदेव गौतम एकातर्फ छन् भने ओली अर्को पक्षमा छन् ।

    सोहीकारण अहिले प्रधानमन्त्री ओली एक्लिएका छन् । पार्टीमा एक्लिएका उनले विपक्षी दल कांग्रेससँग हिमचिम बढाउन थालेपछि झन आलोचना बढेको छ । कांग्रेस नेता गगन थापाले जनताले दुई तिहाई बहुमतको साथ दिएको ५ वर्ष एकै पार्टीले सरकार चलाउन दिएको आदेश भएको भन्दै सरकार परिवर्तनको खेल घृणित भएको बताइसकेका छन् । सोहीकारण तत्काल कांग्रेसले समेत ओलीलाई साथ दिने सम्भावना कम छ ।

  • नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ६५४७

    नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ६५४७

    काठमाडौं । नेपालमा कोरोना भाइरसलाई पराजित गर्ने बिरामीको संख्या उल्लेख्य बढेको छ । आइतबारसम्म ६ हजार पाँच सय ४७ जना संक्रमितले कोरोनालाई जितेर घर जान सफल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका अनुसार आइतबारमात्र नेपालमा दुई सय ९३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

    अहिले देशभर कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार सात सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक अनुसार प्रदेश नम्बर १ मा अहिलेसम्म ६ सय ९४ जना सङ्क्रमित भेटिएका छन् । चार सय ६९ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर २ मा चार हजार एक सय ६० जनामा सङ्क्रमण देखिएको छ । दुई हजार ३४ जना डिस्चार्ज भएका छन् ।

    वाग्मती प्रदेशमा पाँच सय ६३ जनामा सङ्क्रमण देखिएको छ । दुई सय ३४ जना डिस्चार्ज भएका छन् । गण्डकी प्रदेशमा एक हजार एक सय ४२ जनामा सङ्क्रमण देखिएको छ । दुई सय १४ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर ५ मा तीन हजार नौ सय ६८ सङ्क्रमित देखिएका छन् । एक हजार सात सय २५ जना डिस्चार्ज भएका छन् ।

    कर्णाली प्रदेशमा एक हजार पाँच सय ७९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ६ सय ७८ जनामा सङ्क्रमण देखिएको छ । यी प्रदेशमा क्रमशः एक हजार एक सय ९१ र ६ सय ८० जना डिस्चार्ज भएको तथ्यांक छ । देशका २५ वटा प्रयोगशालाबाट कोरोना परीक्षण सुरु भएको छ ।

    आइतबार चार हजार सात सय १० जनाको कोरोना परीक्षण भएको मन्त्रालयको तथ्यांक छ । अहिले संक्रमितको दरमा केही कमी आएको छ । आइतबारसम्म दुई लाख ५१ हजार सात जनाको परीक्षण गरिएको तथ्यांक रहेको छ ।

    देशभर क्वारेन्टिनमा ३१ हजार पाँच सय ७३ जना रहेका छन् । ६ हजार पाँच सय ४७ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । नौ हजार दुई सय तीन जनाको आइसोलेशनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । नेपालमा ३४ जनाको ज्यान गएको छ ।

  • नेकपा विवाद : अफवाह र हल्लैहल्लामा बित्यो आइतबार, तर सहमति जुटेन

    नेकपा विवाद : अफवाह र हल्लैहल्लामा बित्यो आइतबार, तर सहमति जुटेन

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको विवादमा आइतबार समेत सहमतिको कुनै संकेत भेटिएन् । आइतबार थुपै्र भेटघाट र छलफल भएपनि कुनै पनि छलफल निष्कर्षमा भने पुग्न सकेनन् । आइतबार बिहान नेकपाका अध्यक्ष प्रचण्डसहित शीर्ष नेता माधव कुमार नेपाल र झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरे ।

    भेटमा नेताहरुले राष्ट्रपतिविरुद्ध अविश्वासको प्रस्ताव आउने भन्ने अफवाह मात्र भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याउन सक्ने सम्भावित अध्यादेशको बारेमा मात्र सचेत रहेको बताएका थिए । यसअघि प्रधानमन्त्रीले शनिबार मन्त्रीहरुसँग राष्ट्रपति र आफुविरुद्ध षडयन्त्र भइरहेको बताएको थिए ।

    नेताहरुले भने यसलाई ओलीको सत्ता जोगाउने कार्ड मात्र भएको बताएका छन् । शीतल निवासको छलफलपछि प्रचण्ड ओलीसँग निर्णायक वार्ताका लागि भन्दै प्रधानमन्त्री निवास गएका थिए । प्रचण्ड र ओलीबीच दुई दुई जना दोस्रो तहमा नेतासमेत सहभागी थिए । ओलीको साथमा शंकर पोखरेल र विण्णु पौडेल तथा प्रचण्डको साथमा जनार्दन शर्मा र वर्षमान पुन सँगै थिए ।

    यो वार्तामा सोमबारको स्थायी समिति बैठक अगाडी पुनः सहमतिको प्रयास गर्ने सहमति भएको छ । तर, दुबै नेता आफ्नो अडानमा अडिग रहेपछि सोमबार समेत सहमति हुनेमा भने आशंका जारी नै छ । आइतबार नै प्रधानमन्त्रीको विशेष दूतका रुपमा नेता सुवास नेम्बांग काग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बुढानिलकण्ठ पुगे ।

    उक्त भेटमा संवैधानिक निकायमा नियुक्तिको विषयमा कुराकानी भएको बताइए पनि सत्ता साझेदारीका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने र देउवासँग मिलेर अर्को सरकार गठन गर्ने गरी ओलीको प्रस्ताव देउवासँग पुगेको समेत स्रोतको दावी रहेको छ ।

    यसले आइतबार पनि आशंका र अफवाहका बीच छलफल टुगिंएका छन् । तर, नेकपाको सन्दर्भमा अब के हुन्छ भन्ने सम्बन्धमा भने आइतबार कुनै निष्कर्ष आएन । छलफल सोमबार निर्णायक हुने नेताहरुको दावी रहेको छ ।

  • मेलम्चीको सुरुङमा पानी हालियो, निर्माणको अन्तिम चरणमा आयोजना

    मेलम्चीको सुरुङमा पानी हालियो, निर्माणको अन्तिम चरणमा आयोजना

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हालेर सफल परीक्षण गरिएको छ । आइतबार २६ किलोमिटर लामो सुरुङमा पानी छाडिएको हो । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा ल्याउने बहुप्रतिक्षित यो आयोजना अब भने अन्तिम चरणमा पुगेको दावी सरकारले गरेको छ ।

    आइतबार खानेपानी मन्त्री बीना मगरले आयोजना अर्को चरणमा प्रवेश गरिसकेको बताइन् । विभिन्न समस्या र चुनौतीहरू पार गर्दै काठमाडौंवासीको दुई दशकभन्दा लामो ब्यघ्र प्रतीक्षालाई सम्बोधन गर्ने क्रममा सुरुङमा पानी पथान्तरण गरिएको उनको भनाई छ । आजका मितिदेखि आयोजना नयाँ चरणमा प्रवेश गरेको मन्त्रालयको भनाई रहेको छ । सुरुङ परीक्षण गर्न आवश्यक सबै प्राविधिक तयारी सकिएको सरकारको भनाई छ ।

    अहिले परीक्षणमा प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटर पानीका दरले सुरुङमा पानी छोडिएको हो । यसरी पानी पठाउँदा २६ किलोमिटर सुरुङ भरिन करिब १५ देखि २० दिनसम्म लाग्ने भएको छ । पूर्ण रुपमा भरिएको सुरुङलाई करिब १० दिन थुनेर राखिने छ । त्यसपछि पानी भरिएकै परिमाणमा सुरुङबाट पानी छाडिनेछ । यसरी छाड्दा उत्तिकै दिन लाग्ने मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ ।

    सुरुङ खाली भएपछि सुरुङको अवस्थाबारे अध्ययन गरिनेछ । यसको र्ण परीक्षण गर्न अर्को ७ दिन लाग्ने छ । त्यसबेला केही समस्या देखिएमा समाधान गरिने भएको छ । समस्या नदेखिएको अवस्थामा भने नियमित रूपमा सुरुङमा पानी पठाउन थालिने भएको छ । यो आयोजनाको अधिकांश काम इटालियन कम्पनी सीएमसीले गरेको थियो ।

    सीएमसीले बीचमै काम छाडेपछि आयोजनाको बाँकि काम चिनियाँ कम्पनी सिनो हाइड्रोबाट भइरहेको छ । यो परीक्षण अनुसार सुन्दरीजलसम्म भने अब मेलम्चीको पानी आउने भएको छ । तर, घर घरमा भने मेलम्चीको पानी भने आइहाल्दैन । मेलम्चीको पानी वितरण गर्न सहरमा जोडिएका  लाइनमा परीक्षण गर्नुपर्ने छ । पानी जम्मा गर्न आठवटा नयाँ ट्यांकी समेत बनाइएका छन् । ती संरचनाको परीक्षण तथा सफाईको काम पानी आएपछि मात्र हुनेछ ।

  • काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण

    काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जनामा संक्रमण पुष्टि भएको हो ।

    उपत्यकामा कहाँ कहाँ कोरोना संक्रमित थपिएका हुन् भन्ने विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छैन।

  • नेपालमा थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो

    नेपालमा थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप १ सय ३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ। मृतकको संख्या ३५ पुगेको छ ।

  • नेपालमा कोरोनाबाट थप एकको मुत्यु, क्वारेन्टिनमा मृत्यु भएका युवकमा संक्रमण पुष्टि

    नेपालमा कोरोनाबाट थप एकको मुत्यु, क्वारेन्टिनमा मृत्यु भएका युवकमा संक्रमण पुष्टि

    काठमाडौं । बागलुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    आइतबार बिहान मृत्यु भएका निसीखोला गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

    उनि परिवारका पाँच सदस्यसहित गत असार १ गते भारतबाट आएका थिए। मृतकको स्थायी घर निसीखोला गाउँपालिका भए पनि उनको ससुराली ढोरपाटनमा भएकाले त्यहीँ नजिकको क्वारेन्टिनमा बसेका थिए।

    लामो समयदेखि भारतमा बस्दै आएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।

  • विदेशबाट १२५ शव ल्याइयो, अझै १ सय ५ ल्याउन बाँकी

    विदेशबाट १२५ शव ल्याइयो, अझै १ सय ५ ल्याउन बाँकी

    काठमाडौं । लकडाउनका कारण विदेशमा रोकिएका शव ल्याउने क्रम शुरु भएयता १ सय २५ वटा शव नेपाल ल्याइएको छ । सरकारले नेपालीको उद्दार थालेसँगै क्रमशः शवहरुसमेत नेपाल ल्याउन लागिएको छ ।

    खाडी र मलेसियाबाट एक हप्ताको अवधिमा मात्र ३८ जना नेपालीको शव स्वदेश ल्याइएको बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । यी देशबाट अहिले धमाधम उद्दार उडान जारी छ । बोर्डका अनुसार कोरोनाको महामारी सुरु भएपछि विदेशमा विभिन्न कारणले ज्यान गुमाएका तर अन्तर्राष्ट्रिय उडान बन्द हुँदा उतै रोकिएका ३३७ शव नेपाल ल्याउनु पर्ने थियो । त्यसमध्ये शनिबारसम्ममा १२५ जनाको शव नेपाल आइसकेको छ ।

    आइतबारसम्म साउदीबाट ३९, मलेसियाबाट ३८, कतारबाट ३०, यूएईबाट ७, कुवेतबाट ७, बहराइनबाट ३ र ओमानबाट १ नेपालीको शव आएको छ । यी शव बुझ्न मृतकका परिवार काठमाडौं आउन नसकेमा बोर्ड आफैंले शव बुझेर घरसम्म पुर्‍याइदिने व्यवस्था समेत गरेको छ । यसअवधिमा १३२ जना नेपालीको भने सम्बन्धित मुलुकमै अन्त्येष्टि गरिएको छ । त्यसवापत सरकारले मृतकका परिवारलाई नेपालमा किरियाखर्च उपलब्ध गराएको थियो ।

    बोर्डका अनुसार अझै खाडी तथा मलेसियासँगै विभिन्न देशमा गरी १०५ जना नेपालीको शव स्वदेश ल्याउन बाँकी रहेको छ । अहिले सबैभन्दा धेरै शव साउदीमा छन् । साउदीमा ५२, मलेसियामा १९, यूएईमा १३, कतारमा ७, कुवेतमा ५, बहराइनमा २ र अन्य विभिन्न देशमा ७ जना गरी १०५ नेपालीको शव गन्तव्य देशमै रोकिएका छन् ।

  • के राष्ट्रपति दल विशेषको विवादमा तानिन मिल्छ ?

    के राष्ट्रपति दल विशेषको विवादमा तानिन मिल्छ ?

    काठमाडौं । राष्ट्रप्रमुखका रुपमा निर्वाचित भइसकेपछि दलको दायराबाट माथि उठ्नुपर्ने पद राष्ट्रपति यतिबेला नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विवादको मियो बनेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएका सबै कदममा आँखा चिम्लेर समर्थन गर्दै आएकी थिइन् । त्यसमाथि शनिबार प्रधानमन्त्रीले आफ्नो कुर्सीको बचाउमा अब राष्ट्रपतिलाई समेत मुछेका छन् ।

    प्रधानमन्त्री निकटकै मानिसबाट शनिबार बिहानदेखि राष्ट्रपतिलाई महाअभियोगको हल्ला फिजाइएको थियो । त्यसकै साहारामा उनले साँझ मन्त्री र राज्यमन्त्रीहरुसँग बैठक गरी आफु दुई (राष्ट्रपति र प्रधानमन्त्री) विरुद्ध षडयन्त्र भइरहेको भन्दै अब कित्ताकाट गर्नुपर्ने अवस्था आएको उल्लेख गरेका थिए । त्यसका लागि तयार रहन समेत उनले मन्त्रीहरुलाई चेतावनी दिएका थिए ।

    प्रधानमन्त्रीले आफ्नो कुर्सीको रक्षाका लागि धेरै कार्ड खेलिसकेका छन् । त्यसमा सबैभन्दा बलियो कार्ड अरुलाई भारत समर्थक र आफु भारत विरोधी राष्ट्रवादी नेता देखिनु थियो । सोहीकारण भारतले आफ्नो सत्ता उल्टाउन लागेको र त्यसमा नेपालका नेताले साथ दिएको अभिव्यक्ति उनले दिएका थिए । सोही अभिव्यक्तिका कारण आलोचनाको शिकार बनेका प्रधानमन्त्रलीले अब फेरी राष्ट्रपतिलाई केन्द्रमा तानेका छन् ।

    नेकपाका नेताहरु यसलाई प्रधानमन्त्रीको अन्तिम अस्त्र मान्छन् । यो उपायमा पनि असफल भएमा उनी देशमा संकटकाल घोषणाको मुडमा हुनेछन् । किनकी उनले स्पष्ट भनेका छन्, म दुबै पद छाड्दिन् । प्रधानमन्त्रीले राष्ट्रपतिलाई एक पदको विवादमा तान्ने र त्यसमा राष्ट्रपतिले दिएका साथलाई भने धेरै मानिसले गणतन्त्र माथिकै प्रहारका रुपमा ब्याख्या गर्न थालिसकेका छन् ।

  • प्रधानमन्त्रीले आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा तानेको नेकपा प्रवक्ताको स्पष्टोक्ती

    प्रधानमन्त्रीले आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा तानेको नेकपा प्रवक्ताको स्पष्टोक्ती

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले प्रधानमन्त्रीका पछिल्ला गतिविधिले आफ्नो स्वार्थका लागि पवित्र संस्थाहरुलाई विवादमा तान्ने प्रयास भइरहेको संकेत गरेका छन् । राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुटो प्रचार गर्दै उक्र संस्थालाई विवादमा तान्ने काम भएको उनको भनाई छ ।

    टुइटमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै उनले आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षडयन्त्र भएको बताएका थिए ।

    उनले अब पार्टी विभाजनको संघारमा पुगेको संकेत गर्दै कित्ताकाटका तयार रहन समेत आग्रह गरेका थिए । प्रवक्ता श्रेष्ठले भनेका छन्, राष्ट्रपतिको विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुटा प्रचार कसैले नगरौं । राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं ।’

    राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था भएको भन्दै श्रेष्ठले यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतान्न आग्रह गरेका छन् । उनले महाअभियोग ल्याउने प्रस्तावको झुठो प्रचारमा राष्ट्रपति स्वयंको पनि ध्यान जाने विश्वास व्यक्त गरेका छन् ।

  • प्रधानमन्त्री वार की पारको मुडमा, मन्त्रीहरुसँग भने : कित्ता छुट्याउनुपर्छ

    प्रधानमन्त्री वार की पारको मुडमा, मन्त्रीहरुसँग भने : कित्ता छुट्याउनुपर्छ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अब पार्टी एक भएर जान नसक्ने निष्कर्षमा पुगेका छन् । उनले सोही भावको सन्देश शनिबार मन्त्रीहरुलाई समेत दिएका छन् । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएका प्रधानमन्त्रीले राष्ट्रपति र आफूविरुद्ध षडयन्त्र भइरहेको उल्लेख गरे ।

    बालुवाटार स्रोतका अनुसार अब मन्त्रीहरुले समेत कित्ता छुट्याउने समय आएको भन्दै त्यसमा तयार रहन आग्रह गरे । षडयन्त्र चिर्न आफुले कदम चाल्नु पर्ने हुन सक्छ भन्दै उनले अब मन्त्रीहरुले समेत कित्ता स्पष्ट पार्नुपर्ने प्रधानमन्त्रीको भनाई थियो । यसले प्रधानमन्त्री अब पार्टी विभाजनको मुडमा पुगिसकेको संकेत मिल्ने स्रोतको भनाई छ ।

    प्रधानमन्त्रीले मन्त्रीहरुसँग भेट्नु अगाडी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका थिए । शनिबार दिउँसो राष्ट्रपतिविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने षडयन्त्र भइरहको हल्ला संचारमाध्यममा फैलिएको छ । यसबाट प्रधानमन्त्री ओली अझ बढी आत्तिएकको पाइएको छ ।

    अब प्रधानमन्त्री वार की पारको मुडमा रहेको समेत बताईको छ । उनले आज अर्का अध्यक्ष प्रचण्डसँग भेट्न मानेका थिएनन् । सोहीकारण स्थायी समिति बैठक समेत स्थगित भएको छ । ओलीले स्थायी समिति बैठकको समेत सामना गर्न सकेका छैनन् ।

  • कैलालीमा विष सेवन गरेका दुई युवती मृत फेला

    कैलालीमा विष सेवन गरेका दुई युवती मृत फेला

    धनगढी । कैलालीमा विष सेवन गरेका दुई युवतीको ज्यान गएको छ । शनिबार दिउँसो धनगढी उप–महानगरपालिका वडा नम्बर ७ बेलीस्थित मिलन सामुदायिक वनभित्र उनीहरू मृत भेटिएको प्रहरीले जानकारी गराएको छ ।

    धनगढी उप–महानगरपालिका वडा नम्वर ७ की १९ वर्षीया गोमा विक र चुरे गाउँपालिकाकी २३ वर्षीया करिस्मा रावत विष सेवन गरेपछि मृत भेटिएको प्रहरीले जनाएको छ । रावत दिदीको घरमा बस्न भनी धनगढी आएकी थिइन्।

    केही महिनादेखि साथी गोमासँगै बस्दै आएको बुझिएको प्रहरीको भनाई छ । जंगलमा घाँस काट्न गएका युवती बेहोस अवस्थामा लडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा सल्फासको बोतल भेटिएको प्रहरीले जनाएको छ ।

    अत्यन्तै मिल्ने साथि भएपनि विष सेवन गरी सँगै आत्महत्याको कारण भने खुलेको छैन । शवलाई पोष्टमार्टम गर्न सेती प्रादेशिक अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । पछिल्लो समय नेपालमा आत्महत्याका घटनामा उल्लेख्य वृद्धि भएको छ ।

  • एनआरएनएलाई आइएलओले दिने भयो ५ करोड; नेपालीको उद्दारमा खर्च हुने

    एनआरएनएलाई आइएलओले दिने भयो ५ करोड; नेपालीको उद्दारमा खर्च हुने

    काठमाडौं । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई चार लाख २४ हजार डलर (करीव पाँच करोड १० लाख रुपैयाँ) अनुदान उपलब्ध गराउने भएको छ । विदेशमा अफ्ठ्यारोमा रहेको नेपालीलाई घर फिर्ति अभियानमा खर्च गर्न तथा कोरोना भाइरसविरुद्ध लड्न अन्तर्राष्ट्रिय श्रम सङ्गठनले एनआरएनएलाई रकम दिने सम्झौता भएको हो ।

    एनआरएनएका अध्यक्ष कुमार पन्तका अनुसार यो रकम खासगरी मलेसिया, यूएई, कतार र साउदी अरब गरी चार देशका नेपालीलाई सहयोग गर्न उपयोग गरिने भएको छ । कोरोनाले श्रम बजारमा पारेको प्रभाव र श्रमिकको हितका विषयमा अध्ययन गर्न समेत यो रकम उपयोग गरिने भएको छ ।

    अध्यक्ष पन्तका अनुसार सम्बन्धित देशमा रहेका नेपाली कुटनीतिक नियोगमार्फत रकम परिचालन हुनेछ । अहिले विभिन्न मुलुकबाट नेपालीलाई घर फर्काउने अभियान जारी छ । अहिलेसम्म करीव १७ हजार नेपाली घर आइसकेका छन् ।

  • बझाङ पहिरो: ६ जनाको शव फेला, उद्दारमा गएको सेनाको गाडी दुर्घटनामा

    बझाङ पहिरो: ६ जनाको शव फेला, उद्दारमा गएको सेनाको गाडी दुर्घटनामा

    बझाङ । बझाङमा गएको पहिरोमा मृत्यु हुनेको संख्य ६ पुगेको छ । बझाङको केदारस्युँ गाउँपालिका–८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । अझै एक जना वेपत्ता रहेको बताइएको छ । एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय बालक प्रयाग जेठारा र ७ बालिका अष्मिता जेठाराको शव फेला परेको छ ।

    १५ वर्षीया बालिका सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको समेत पहिरामा परी ज्यान गएको छ । २० वर्षीय गिरी जेठारा अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । शनिबार बिहान गाउँ माथिबाट पहिरो आएपछि १७ वटा घर बगाएको थियो । धेरै मानिसले राती पहिरो आएको थाहा पाएपछि भागेर ज्यान बचाएका थिए । ७ जना भने वेपत्ता थिए ।

    स्थानीय बासिन्दाका अनुसार यस घटनामा २२ वटा भैँसी, ६५ वटा बाख्रा र २४ वटा गाइगोरु समेत पहिरोमा बगेका छन् । यस गाउँमा ६५ घर परिवार छन् । बस्तीको बीचबाट आएको पहिरोका कारण अहिले गाउँ नै जोखिममा परेको छ। यसैबीच बझाङको केदारस्युँ गाउँपालिका ८ को मल्लेसीमा गएको पहिरोमा पुरिएकाहरूको उद्धार गर्न गएको सेना सवार गाडी दुर्घटनामा परेको छ।

    केदारस्युँ गाउँपालिका–४ बाग्थलामा सेना चढेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । सेनाले से १ ज ४७७ नम्बरको जिप लिएर पहिला गएको स्थानतर्फ लागेको थियो । सोही जीप दुर्घटनामा परेको हो ।

    गाडीमा नेपाली सेनाका उपसेनानी शिव श्रेष्ठसहित १५ जना चढेका थिए । गाडी सडक छेउमा पल्टिँदा नेपाली सेनाका ३ जना जवान घाइते भएका छन् । घाइते हुनेमा सिकेन्द्र चलाउने, राजु कुमाल र मीनबहादुर शाही रहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था भने सामान्य छ ।

  • नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ३४ पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ३४ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देवदह नगरपालिका रुपन्देहीका ७५ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा असार १७ गते मृत्यु भएको हो। उनलाई १४ गते अस्पताल भर्ना गरिएको थियो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार क्षयरोगका बिरामी थिए। उपचाका क्रममा मृत्यु भएपछि उनको असार १८ गते पिसिआर परीक्षण गरिएको थियो।

    योसँगै नेपालमा ३४ कोरोना संक्रमितको मृत्यु भएको छ।

  • नेपालमा थप २३२ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १५४९१ पुग्यो

    नेपालमा थप २३२ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १५४९१ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या यससँगै संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप २ सय ७३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६ हजार ४ सय १५ पुगेको छ। मृतकको संख्या ३४ पुगेको छ ।

  • नेकपा स्थायी समिति बैठक स्थगित

    नेकपा स्थायी समिति बैठक स्थगित

    काठमाडौं । शनिबारका लागि डाकिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले थप समय माग गरेपछि बैठक स्थगित भएको बताइएको छ । अर्को बैठक सोमबारका लागि बोलाइएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल(प्रचण्ड)लाई आन्तरिक परामर्श गरी विवाद मिलाउन नेताहरुले आग्रह गरिरहेका छन् ।

    यसक्रममा शुक्रबार दुई नेताबीच तीन घण्टा छलफल भएको थियो । आज दुबै अध्यक्षबीच फेरी छलफल गर्ने बताइएपनि छलफल भने हुन सकेन । बरु स्थायी समिति बैठक नै स्थगित गरिएको छ ।

    शुक्रबार दुवै अध्यक्षले छलफल गर्ने र शनिबार स्थायी कमिटी बैठक बस्ने शीर्ष तहमा सहमति भएको थियो । शुक्रबारको छलफल बीना निष्कर्ष टुगिएको थियो । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्ष ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने निष्कर्षमा छन् । प्रधानमन्त्री भने दुबै पद नछाड्ने अडानमा छन् ।

  • बझाङ पहिरो : दुई जनाको शव भेटियो

    बझाङ पहिरो : दुई जनाको शव भेटियो

    बझाङ । बझाङमा गएको भिषण पहिरोमा पुरिएका मध्ये दुई जनाको शव भेटिएको छ । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा शनिबार राती गएको पहिरोमा १७ वटा घर बगेको स्थानीय बताएका थिए । त्यसमा पुरिएका मध्ये दुई जनाको शव भेटिएको छ । अझै केही व्यक्ति अझै सम्पर्कविहीन रहेको स्थानीयको भनाई छ । मृतकको पहिचान हुन बाँकि रहेको छ ।

    प्रहरी घटनास्थलतर्फ लागेका कारण क्षतिको यकिन विवरण प्रहरी पुगेपछि मात्र प्राप्त हुने स्थानीय प्रशासनले जनाएको छ । घटनास्थलमा जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली लागेको छ । कालंगा जलविद्युत आयोजनामा खटिएको नेपाली सेनाको एक टोली समेत घटनास्थलतर्फ लागेको छ । तर, बाटोमा पहिरो गएको र सवारी साधन नपुग्दा जोखिम मोलेरै सुरक्षाकर्मी जान परेको प्रशासनको भनाई छ ।

  • बझाङमा पहिरो, १७ घर पुरिए, मानवीय क्षतिको विवरण आउन बाँकि

    बझाङमा पहिरो, १७ घर पुरिए, मानवीय क्षतिको विवरण आउन बाँकि

    बझाङ । बझाङमा पहिरोमा १७ घर पुरिएका छन् । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयलाई उदृत गर्दै प्रहरीले बताएका छ । प्रहरी घटनास्थलमा पुग्न बाँकि रहेका कारण क्षतिको एकिन विवरण भने नआइसकेको प्रहरीले बताएको छ पहिरो आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    अहिले नेपाली सेना र प्रहरी टोली घटनास्थलतर्फ लागेको स्थानीय प्रशासनले जनाएको छ । पहिरोले कच्ची बाटो बगाएका कारण प्रहरी पुग्न समेत कठिन भएको छ । खोलामा बाढी बढेर तर्न समेत कठिन रहेको बताइएको छ । स्थानीय बासिन्दाका अनुसार घरमाथिको डाडाँ नै खसेर १७ वटा घर बगाएको छ । घटनामा ७ जना बेपत्ता छन् । उनीहरुको खोजी जारी रहेको छ ।

  • नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ३३ पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ३३ पुग्यो

    काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    शुक्रबार आइसोलेशनमा भर्ना भएका संक्रमितको शनिबार बिहान पाँचबजे मृत्यु भएको गोरखा अस्पतालद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

    ती पुरुष यही असार १६ गते कतारबाट आएका थिए । उनलाई पालुङटारस्थित जीवनज्योति माविको क्वारेन्टिनमा राखिएको थियो । त्यहाँ लगातार खोजी लागेपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

    उनी मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुगेको छ। गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

    यसअघि कोरोना संक्रमण पुष्टि भएका स्याङ्जाका ६० र ५५ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो ।

  • लद्दाख पुगे भारतीय प्रधानमन्त्री मोदी

    लद्दाख पुगे भारतीय प्रधानमन्त्री मोदी

    नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीन विवादित सीमा क्षेत्र लद्दाख पुगेका छन् । उनी शुक्रबार भारतीय सेनाको विशेष विमानबाट उक्त क्षेत्रमा पुगेका हुन् । सो क्षेत्रमा खटिएका सैनिकलाई सम्बोधन समेत गरेका मोदीले अब विस्तारवादको युग समाप्त भइसकेको बताए । उनी बीना योजना सीमाक्षेत्रको भ्रमणमा पुगेका हुन् ।

    यहाँ गत महिना चीन र भारतीय सैनिकबीचको मुडभेटमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । उनले मारिएका भारतीय सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गरे । यो समय विस्तारवादको नभई विकासको युग भएको भन्दै उनले विस्तारवादी शक्ति कि परास्त हुने वा पछि हट्ने बताए ।

    चीनको नाम नलिई उनले चीन पछाडी हट्नु पर्ने दावी गरे । भारतीय प्रधानमन्त्री मोदी गत महिना भारतीय सैनिकको ठूलो हताहतीपछि दवावमा थिए । चीनविरुद्ध कडा कदम चाल्न डराइरहेको भन्दै उनको आलोचना भइरहेको छ । सोही सन्दर्भमा उनी अचानक लद्दाख पुगेका हुन् ।

    उनले झडपका दौरान ज्यान समर्पण गरेका सैनिकले देखाएको वीरताले भारतको सौर्यबारे विश्वले सन्देश पाएको समेत उल्लेख गरे । प्रधानमन्त्रीसँगै भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरभाने र डिफेन्स स्टाफका प्रमुख जनरल बिपिन रावतसमेत लद्दाख पुगेर सैनिकलाई हौसला प्रदान गरेका छन् ।

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने समय ६ महिना सारियो

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने समय ६ महिना सारियो

    काठमाडौं । भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि ६ महिना पर सरेको छ । अब यो विमानस्थल आगामी डिसेम्बरसम्म सक्ने गरी समयावधी थप भएको हो । यसअघि ३० जुन २०२० मा निर्माण सक्ने लक्ष्य यस विमानस्थल आयोजनाको थियो । तर, कोरोना भाइरसको संक्रमणका बीच आएको अवरोधले प्रभावित भएपछि यो आयोजना पर धकेलिएको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी डिसेम्बरसम्म भौतिक निर्माण र तयारीको काम सकिने गरी सम्झौता भएको जानकारी गराएका छन् । उनका अनुसार त्यसपछि संचालन पूर्वको तयारीमा करीव ३ महिना समय लाग्नेछ । यसरी आगामी ९ महिनाभित्र विमानस्थल व्यवसायिक सञ्चालनमा आइसक्ने भएको छ । मन्त्री भट्टराईका अनुसार यो विमानस्थलमा अहिले उपकरण जडानको काम जारी छ ।

    लकडाउनपछि विदेशमा प्राविधिक कामदार रोकिएपछि रफ्तारमा काम गर्न नसकिएको उनले बताए । लकडाउनको अवधिमा विमानस्थल निर्माणमा ३ प्रतिशत भौतिक प्रगति देखिएको छ । गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति अहिले ९१ प्रतिशत पुगेको छ ।

    गौतमबुद्ध विमानस्थलको भौतिक संरचनाको काम करीव सम्पन्न भएको छ । मन्त्रालयका अनुसार लकडाउनकै बीच धावनमार्ग र पार्किङ जोड्ने लिंक ट्याक्सी वे निर्माणको काम सकिएको छ ।

    रनवे लाइट जडानको काम समेत अन्तिम चरणमा छ । टर्मिनल भवनमा एयर कन्डिसन तथा अन्य उपकरण जडान सम्बन्धी कार्य जारी रहेको मन्त्रालयले उल्लेख गरेको छ । मार्वल, टायल राख्ने तथा रंगरोगनको काम समेत भइरहेको छ ।

    मेसिनरी र यन्त्र उपकरण आउने क्रम शुरु भएको मन्त्रालयको भनाइ छ । विमानस्थल निर्माणमा अहिले पनि २९ चिनियाँसहित २७५ कामदार खटिएका छन् । यो आयोजना नेपालको राष्ट्रिय गौरवका आयोजनामध्ये एक हो ।

  • प्रचण्ड-ओलीको तीन घण्टा लामो वार्तामा समेत निस्किएन निकास

    प्रचण्ड-ओलीको तीन घण्टा लामो वार्तामा समेत निस्किएन निकास

    काठमाडौं । शुक्रबार नेकपा भित्रको विवाद मिलाउने सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड बीच करीव चीन घण्टा वार्ता भयो । वालुवाटारमा भएको यो वार्तालाई निर्णायक माानिएको थियो । वार्तामा दोस्रो पुस्ताका नेता विण्णु पौडेल र जनार्दन शर्मासमेत सहभागी भएका थिए । नेकपा स्रोतका अनुसार वार्तामा दुबै नेता आफ्नो अडानमा टसमस भएनन् ।

    त्यसकारण शुक्रबार कुनै निष्कर्ष भने निस्किएन । यद्दपी बिहीबार विकसित राजनीतिक परिस्थितिका बीच नेकपा फुटिहाल्छ की भन्ने अनुमान भने शुक्रबार दुई नेताको वार्तापछि केही मत्थर भएको छ । शनिबार स्थायी कमिटि बैठक आह्वान गरिएको छ । त्यसअघि नै दुई नेता पुनः बसेर विवाद साम्य बनाउने सन्दर्भमा दुई नेताबीच सहमती भएको स्रोतको भनाई छ ।

    दुबै नेताबीच सौहार्दपूर्ण वातावरणमा बैठक भएको र पार्टी एकता कायम राख्ने सन्दर्भमा भने सहमती देखिएको बताइएको छ । शुक्रबार प्रधानमन्त्रीको समर्थनमा कृतिम जुलुसहरु बजारमा निस्किएपछि त्यसले पार्ने प्रभावका सन्दर्भमा प्रचण्डले सचेत गराएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय आफ्नो सरकार ढाल्न भारतले चलखेल गरेको र त्यसमा नेताका नेताले साथ दिएको अभिव्यक्ति दिएपछि नेकपामा विवाद चुलिएको हो ।

    आफ्नो सत्ता टिकाउन भारतीय कार्ड प्रयोग गरेको भन्दै पार्टी भित्रै प्रधानमन्त्रीको व्यापक आलोचना भइरहेको छ । नेकपाका अधिकांश स्थायी समिति सदस्य प्रधानमन्त्रीको विपक्षमा देखिएका छन् ।

  • नेपालमा एकैदिन ८ सय २३ जनाले जिते कोरोना

    नेपालमा एकैदिन ८ सय २३ जनाले जिते कोरोना

    काठमाडौं । नेपालमा थप ८ सय २३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन् ।

    योसहित नेपालमा हालसम्म ६ हजार १ सय ४३ जना उपचारपछि निको भएका छन्। कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

    हालसम्म नेपालमा ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

  • नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको वृद्धिमा नयाँ रेकर्ड

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको वृद्धिमा नयाँ रेकर्ड

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप ८२३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको छ।

  • कोरोनाका कारण काठमाडौंमा एक जनाको मृत्यु, मृतकको संख्या ३२ पुग्यो

    कोरोनाका कारण काठमाडौंमा एक जनाको मृत्यु, मृतकको संख्या ३२ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ बानेश्वर बस्दै आएका ८५ वर्षीय एक पुरुषको असार १७ गते मृत्यु भएको हो।

    उनलाई उच्च रक्तचाप र पार्किन्सनको समस्या भएपछि अस्पताल पुर्‍याइएको थियो।

    मृतक ती पुरुषको पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको गौतमले बताए।

    हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

  • क्वारेन्टिनमै आत्महत्या गरेका रोल्पाका युवकमा कोरोना पुष्टि

    क्वारेन्टिनमै आत्महत्या गरेका रोल्पाका युवकमा कोरोना पुष्टि

    काठमाडौं । रोल्पामा क्वारेन्टिनमै आत्महत्या गरेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    बुधबार झुन्डिएर आत्महत्या गरेका रोल्पा, गंगादेव गाउँपालिका ५ का ३१ वर्षका पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो । मृतक दुवईबाट गत असार १० गते रोल्पा पुगेका थिए । क्वारेन्टिनहरु खाली नभएपछि गाउँकै काका नाता पर्नेको घरमा बस्दै आएका उनले झुण्डिएर आत्महत्या गरेका थिए ।

    संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका ब्यक्तिको पनि स्वाब परीक्षणको तयारी गरिएको छ ।

  • कानपुरमा गोली हानेर ८ प्रहरीको हत्या

    कानपुरमा गोली हानेर ८ प्रहरीको हत्या

    काठमाडौं । भारतको कानपुरमा ८ जना प्रहरीलाई गोली हानेर मारिएको छ । भारतको उत्तरप्रदेशस्थित कानपुर जिल्लामा यो घटना भएको हो । बिहीबार राति करिब एक बजे अज्ञात समूहले घरको छतबाट प्रहरी टोलीमाथि अन्धाधुन्द गोली चलाएको थियो । भारतीय संचारमाध्यमका अनुसार गाउँमा एक जना अभियुक्तलाई पक्राउ गर्न जाँदा यो घटना भएको हो ।

    एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ जना प्रहरी मारिएको प्रहरीले पुष्टी गरेको छ । केही प्रहरीहरु घाइते भएको बताइएको छ । उनीहरुको कानपुरस्थित रिजेन्सी अस्पतालमा उपचार भइरहेको छ । लामो समयदेखि फरार अभियुक्त विकास दुवे नामक व्यक्ति गाउँमा आएको थाहा पाएपछि प्रहरीहरु बिकरु भन्ने गाउँ पुगेका थिए ।

    प्रहरीलाई घरमा लुकेर बसेको समूहले गोली हानेको हो । आक्रमणमा अभियुक्त दुवे र उनको समुहले गरेको प्रहरीले जनाएको छ । यो समूहले प्रहरीको हतियारसमेत लुटेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आक्रमणकारीहरु विरुद्ध कारवाही हुने उल्लेख गरेका छन् । उत्तर प्रदेश प्रहरीले सबै सीमा नाका बन्द गरी अपराधीको खोजी शुरु गरिसकेको उनले जानकारी गराएका छन् । भारत विश्वमै बढी अपराध हुने मुलुकमध्ये एक हो ।