Author: Vishwanews.com

  • लीग च्याम्पियन लिभरपुललाई सीटीले नराम्ररी हरायो

    लीग च्याम्पियन लिभरपुललाई सीटीले नराम्ररी हरायो

    काठमाडौं । इंग्लिस प्रिमियर लीग विजेता लिभरपुललाई तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले ४–० गोल अन्तरले हराएको छ । शुक्रबार बिहान सम्पन्न खेलमा उक्त नतिजा आएको हो । सिटीको घरेलु मैदान इतिहादमा सम्पन्न खेलमा केभिन डि ब्रुइन, रहिम स्र्टलिङ र फिलिप फोडेनले एक एक गोल गरे ।

    एक गोल सीटीले लिभरपुलका एलेक्स च्याम्बर्लिङको आत्मघाती गोलका रुपमा प्राप्त गरेको हो । सीटीले २५ औं मिनेटमा अग्रता लियो । पेनाल्टी मार्फत ब्रुइनले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३५ औं मिनेटमा स्र्टलिङले अग्रता दोब्बर बनाए ।

    फोडेनले ४५ औं मिनेटमा गोल गर्दै लिभरपुललाई दबाबमा राखेका थिए । पहिलो हाफमा ३ गोलले पछि परेको लिभरपुलले दोस्रो हाफमा समेत उत्तिकै दवावमा रह्यो । आत्मघाती गोल समेत दोस्रो हाफमै भएको हो । लिभरपुलले यस सिजनको लीग भने जितिसकेको छ ।

  • ठमेलका व्यवसायीलाई एक वर्षसम्म घर भाडा ५० प्रतिशत छूट

    ठमेलका व्यवसायीलाई एक वर्षसम्म घर भाडा ५० प्रतिशत छूट

    काठमाडौं । ठमेलमा व्यवसायीले एक वर्षसम्म घर भाडामा ५० प्रतिशतसम्म छूट पाउने भएका छन् । पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी र घरधनीबीच ६ महिनादेखि एक वर्षसम्म ५० प्रतिशत घरभाडामा छुट दिने समझदारी भएको हो । पर्यटन क्षेत्रका २२ संस्थाले यस्तो जानकारी गराएका हुन् ।

    कोभिड–१९ महामारीको कारण देशकै प्रमुख पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी पलायन हुने जोखिम बढेपछि घरधनी भाडा छूट गर्न सहमत भएका हुन् । ठमेलमा दुई सय ७० कोठा तथा सटर खाली भइसकेको ठमेल पर्यटन विकास परिषद्ले उल्लेख गरेको छ ।

    ठमेल क्षेत्रका तीन सय ५० व्यवसायी र घरधनीबीच भाडा छुटमा समझदारी भइसकेको बताइएके छ । लकडाउनपछि ठमेल सुनसान छ । ठमेल नेपालको अन्तर्राष्ट्रिय चिनारी समेत भएको र पर्यटन व्यवसाय जीवन्त राख्न यस्तो निर्णय भएको व्यवसायीले बताएका छन् ।

  • गण्डकी प्रदेशमा आज थपिए ३२ संक्रमित

    गण्डकी प्रदेशमा आज थपिए ३२ संक्रमित

    पोखरा । गण्डकी प्रदेशमा आज ३२ जनामा नयाँ कोरोना संक्रमित फेला परेका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा भएको परीक्षणबाट नयाँ संक्रमित थप भएका हुन् । ४ जिल्लामा कोरोना संक्रमित भेटिएको तथ्यांक छ । शुक्रबार नवलपरासीमा मात्र १९ जना नयाँ संक्रमित थप भएका छन् ।

    कावासोती नगरपालिकाका २२ देखि ४९ वर्ष उमेर समूहका ११ जना पुरुषमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ । सोही नगरपालिकाकै २३, २६ र ४० वर्षका ३ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । नवलपरासीको मध्यविन्दु नगरपालिकाका १० देखि ३३ वर्ष उमेर समूहका ४ जना पुरुष र ३० वर्षीय महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।

    तनहुँमा शुक्रबार ९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग प्रयोगशालामा गरिएको परीक्षण अनुसार तनहुँको भिमाद र ऋषिङ गाउँपालिकामा कोरोना संक्रमितको संख्या थपिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ भिमाद नगरपालिकाका २२ र २४ वर्षको २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । ऋषिङ गाउँपालिकाको २३ देखि ४७ वर्ष उमेर समूहका ७ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

    त्यस्तै पर्वतको बिहादी, पैयूँ र फलेबास नगरपालिकामा २९, १८ र ३४ वर्षका ३ पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । त्यस्तै बागलुङको जैमिनी नगरपालिकामा पनि २१ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । अब गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ६३ पुगेको छ । जसमध्ये २ जना संक्रमितको पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो । प्रदेशभरि कोरोना भाइरसलाई जितेर घर फर्किनको संख्या २ सय ९६ छ ।

  • लगातार वर्षापछि गुल्मीका विभिन्न स्थानमा पहिरो, दुई जना वेपत्ता

    लगातार वर्षापछि गुल्मीका विभिन्न स्थानमा पहिरो, दुई जना वेपत्ता

    गुल्मी । पहाडी जिल्ला गुल्मीमा पहिरोले क्षति पुर्याउन थालेको छ । लगातार वर्षाछि गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी ढाँटफाँट भन्ने स्थानमा पहिरोले घर बगाउँदा दुई जना वेपत्ता भएका छन् । पहिरोमा परेका दुई जनाको उद्धार भएको छ ।

    एक जना महिला र एक जना पुरुष वेपत्ता रहेको स्थानीय प्रशासनले जानकारी गराएको छ । एकजना महिला र एकजना पुरुषको भने उद्धार गरिएको हो । गुल्मीमा गएरातदेखि अविरल वर्षा भएको थियो । यस स्थानमा मात्र १५–२० घर जोखिममा रहेको बताइएको छ ।

    घटनास्थलमा प्रहरी तथा सैनिक टोली पुगेका छन् । गुल्मीमा पहिरोले अन्य विभिन्न स्थानमा पनि क्षति पुर्याएको र त्यसको विवरण आउने क्रममा रहेको बताइएको छ । स्थानीय कच्चि सडकमा समेत यातायात बन्द भएको छ ।

  • नेपाली सैनिक बोकेर अफ्रिका पुग्ने भयो नेपाल एयरलाइन्स

    नेपाली सैनिक बोकेर अफ्रिका पुग्ने भयो नेपाल एयरलाइन्स

    काठमाडौं । नेपाली सैनिकको एक टोली लिएर नेपाल एयरलाइन्सको जहाज अफ्रिकी मुलुकमा जाने भएको छ । संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा खटिने नेपाली सेनाको टोली लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज उड्ने भएको छ । उडान २४ असारमा हुनेछ ।

    जहाज २५ असारमा काठमाडौं फर्कने तालीका छ । नेपाल एयरलाइन्सका अनुसार यी दुई मुलुकमा हुने उडानका सम्बन्धमा नेपाली सेना र नेपाल एयरलाइन्सबीच बिहीबार सम्झौता भएको हो । जहाज काठमाडौंबाट सैनिक लिएर सुरुमा कतारको राजधानी दोहा पुग्नेछ । त्यहाँ इन्धन थप गरी जहाज सेन्ट्रल अफ्रिकन रिपब्लक पुग्नेछ ।

    नेपालबाट गएका केही सैनिक त्यहाँ झर्नेछन् भने केही सैनिक लिएर विमान फेरि माली पुग्नेछ । मालीमा सैनिक झारेपछि विमान काठमाडौं फर्किनेछ । यसअघि नै शान्ति मिसनका लागि ती देशमा पुगेका नेपाली सैनिक सोही विमान चढेर स्वदेश फर्किनेछन् ।

    ती मुलुकबाट नेपाल फर्कन सैनिकको संख्या भने कम रहेको नेपाल एयरलाइन्सले उल्लेख गरेको छ ।

  • प्रधानमन्त्रीबाट दुबै पद नछाड्ने अडान, के हुन्छ अब ?

    प्रधानमन्त्रीबाट दुबै पद नछाड्ने अडान, के हुन्छ अब ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र नेकपाको अध्यक्ष दुबै पद नछाड्ने अडान दोहोर्याएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको छ । राष्ट्रपतिसँग मिलेर सुटुक्क संसद अधिवेशन स्थगित गरेका प्रधानमन्त्रीले पार्टी फुटाउने गरी फेरी अध्यादेश ल्याउने तयारी गर्न लागेको आशंका गरिएको छ ।

    नेकपाको स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ । बिहीबार प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेटेका छन् भने अर्को अध्यक्ष प्रचण्डले समेत राष्ट्रपतिसँग भेट गरेका छन् । सभामुख र पार्टीलाई समेत वेवास्था गरी संसद अधिवेशन अत्न्य गरेपछि प्रचण्ड र माधव नेपाल फेरी चिढिएका छन् । यता, प्रधानमन्त्रीले भने प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान आज पनि दोहोर्याएका छन् ।

    आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाटै भारतले आफूलाई पदबाट हटाउन खोजेको र त्यसमा नेपालका नेताले साथ त्यसमा लागेको अभिव्यक्ति दिएलगत्तै नेकपाको विवाद सघन बनेको हो । बिहीबार विभिन्न चरणका बैठकमा ओलीले आफ्नो अडान छाडेनन । जसले गर्दा अन्य नेता सशंकित बनेका हुन् ।

    बिहीबार दिनभर बालुवाटार र शीतल निवासको दौडधुपपछि प्रचण्ड र नेपाल पक्षका नेताहरू अब पार्टी एकता लामो समय नजाने निष्कर्षमा पुगेको बताइएको छ । सोहीकारण ओलीले पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याउने तयारीमा रहेको र उक्त प्रयोजनका लागि संसद बैठक स्थगित गरेको तर्क नेताहरुले गरेका छन् । संसद बैठक अकास्मात बन्द गरिएकोप्रति भने विपक्षी दलहरुले समेत विरोध गरेका छन् । प्रधानमन्त्री स्थायी समिति बैठकमा गएका छैनन् । तर, बैठक उनकै निवास बालुवाटारमा बसिरहेको छ ।

  • २४ घण्टामा उपत्यकामा थप ३२ जना संक्रमित थपिए

    २४ घण्टामा उपत्यकामा थप ३२ जना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा गत चौबीस घण्टा ३२ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक पुरुष कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    यसैगरी त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक पुरुष, भक्तपुरका दुई पुरुष, काठमाडौंका १७ महिला र ११ पुरुषमा कोरोना देखिएको प्रवक्ता गौतमले जानकारी दिए ।

  • नेपालमा थप ४७३ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या १४५१९

    नेपालमा थप ४७३ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या १४५१९

    काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    जसमा १०९ महिला र ३६४ पुरुष रहेका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप ६६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ५३२० पुगेको छ।

    कुल संक्रमितमध्ये ३१ जनाको मृत्यु भएको छ।

  • कोरोना संक्रमणबाट नेपालमा डेढ महिने शिशुको मृत्यु, मृतकको संख्या ३१ पुग्यो

    कोरोना संक्रमणबाट नेपालमा डेढ महिने शिशुको मृत्यु, मृतकको संख्या ३१ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । घाँटीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका ४८ दिनका शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

    मंगलबार कोरोना पुष्टि भएका ती शिशुको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।
    म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि ती शिशुको सोमबार घाँटीको शल्यक्रिया गरिएको थियो।

    शल्यक्रिया गर्नुअघि कोरोना परीक्षणका लागि सोमबार राति उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो। उनको बुबा, आमा र फुपुमा कोरोना संक्रमण परीक्षण गर्न नमुना सं‌कलन गरी पठाइएको छ ।

    योसँगै नेपालमा ३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

  • संसद्को जारी चालू अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

    संसद्को जारी चालू अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं । सरकारले संसद्को चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

    बिहिबार बसेको मन्त्रिपरिषद बैठकले आज ५ बजेपछि लागू हुने गरी संसद्को जारी अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्ने प्रावधान छ ।

    आगामी सोमबारका लागि बैठक बोलाइएको भएपनि त्यसअघि नै अधिवेशन स्थगनको निर्णय भएको हो ।

    आजै मन्त्रिपरिषद् बैठक अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।

  • बारामा चट्याङ लागेर ४ जना महिलाको मृत्यु

    बारामा चट्याङ लागेर ४ जना महिलाको मृत्यु

    बारा । बारामा चट्याङ लागेर चार जना महिलाको ज्यान गएको छ । बाराका दुई छुट्टाछुट्टै बिहाीबार बिहान परेको चट्याङले उनीहरुको मृत्यु भएको हो । घटनामा ५ जना घाइते छन् ।
    बिहीबार बिहान साढे सात बजे खेतमा चट्याङ परेको थियो । त्यसबेला खेतमा धान रोपिरहेका महिलाहरु यसको शिकार बन्न पुगेका हुन् । खेतमा धान रोपीरहेका बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको हो ।

    उता, फेटा गाउँपालिका–१ त्रिवेणीका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनरपति देवी महताको पनि मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । चट्याङले सोही ठाउँ बस्ने अन्य ५ जना पनि घाइते छन् । उनीहरुको उपचार भइरहेको छ ।

  • अब कोरोनाको परीक्षण निजी प्रयोगशालामा समेत, तीन अस्पतालले पाए अनुमति

    अब कोरोनाको परीक्षण निजी प्रयोगशालामा समेत, तीन अस्पतालले पाए अनुमति

    काठमाडौं । अब नेपालमा निजी प्रयोगशालाबाट समेत कोरोना परीक्षण हुने भएको छ । सरकारी प्रयोगशालालाले नमुनाको चाप धान्न नसकेपछि निजीमा जाने निर्णय सरकारले गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले तीन निजी प्रयोगशालालाई पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षणको अनुमति दिइएको छ ।

    अनुमति पाएका प्रयोगशालाले परीक्षणको लागि आवश्यक सरसामान र उपकरणको जोहो भने आफै गर्नपर्छ । मन्त्रालयका अनुसार काठमाडौं मेडिकल कलेज, स्टार हस्पिटल र सेन्ट्रल डाइग्नोस्टिक ल्याबोरोटरीले कोरोना परीक्षणको अनुमति पाएका छन् । अब प्रयोगशालामा बढी भएका नमूनाहरू निजी प्रयोगशालामा परीक्षण गरिनेछ। कुन परीक्षण निजीमा गर्ने भन्ने निक्यौल भने मन्त्रालय आफैले गर्ने भएको छ ।

    सरकारले अन्य निजीलाई समेत अनुमति दिएर एकै दिन ठूलो संख्यामा नमुना परीक्षण गर्ने तयारी गरेको हो । अझै ७ वटा निजी प्रयोगशालालाई सरकारको अनुमति दिने तयारी गरेको छ । सरकारले करीव डेढ दर्जन प्रयोगशालाबाट परीक्षण गरिरहेको छ ।

    केही साता अघि स्वास्थ्य मन्त्रीले दैनिक १० हजार पिसीआर परीक्षणको नतिजा सार्वजनिक गर्ने बताएका थिए । अहिले दैनिक करीव ७ हजार हाराहारी मात्र नतिजा आइरहेको छ । त्यसमा औसतः ५ सय जना नयाँ संक्रमित थप भइरहेका छन् ।

  • हाकिमको आदेश पालना नगरेको अभियोगमा दुई सैनिक अधिकृत बर्खास्त

    हाकिमको आदेश पालना नगरेको अभियोगमा दुई सैनिक अधिकृत बर्खास्त

    काठमाडौं । नेपाली सेनाको दुई सैनिक अधिकृतमाथि बर्खास्तीको कारवाही गरेको छ । सैनिक अदालतले दुई जना उच्च सैनिक अधिकारीलाई बर्खास्त गर्ने आदेश गरेको हो । आफुभन्दा माथिल्लो पदका कमाण्डरको लिखित आदेश अवज्ञा गरेपछि उनीहरु सैनिक ऐनअनुसार कारवाहीमा परेका हुन् । एक जना जर्नेल र एक जा कर्णेल बर्खास्तीमा परेका छन् ।

    सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएअनुसार बुधबार बसेको समरी जनरल अदालतलले अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सहायक रथी सरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई कारवाहीको फैसला गरेको हो । सैनिक ऐन, २०६३ अनुसार कारबाही गर्न सिफारिस भएको निर्देशनालयले उल्लेख गरेको छ ।

    दुई अधिकृतले सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको ठहर गरिएको सैनिकको भनाई छ ।

    यद्दपी कसुर के थियो भन्ने चाही खुलाइएको छैन । सेनाले पद्दति तथा प्रणालीमा आधारित संगठन सञ्चालनमा जोड दिँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने लक्ष्य अनुसार अनुशासन र आचरण विपरित कार्य गर्नेलाई शून्य सहनशिलताको नीति अवलम्बन गर्दै संगठन सुदृढीकरणमा प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

  • मेसीले पुरा गरे ७ सय औं गोल

    मेसीले पुरा गरे ७ सय औं गोल

    काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले एक ऐतिहासिक कोशे ढुंगा पार गरेका छन् । उनले बुधबार राती आफ्नो करियरको सात सय औं गोल पूरा गरेका हुन् । ला लिगा अन्तर्गत गएराति एट्लेटिको मड्रिडविरुद्ध गोल गर्दै उनले यो कीर्तिमान कायम गरेका  हुन् ।

    बार्सिलोनाले एट्लेटिकोसँग दुई दुई गोलको बराबरी खेल्यो । त्यसक्रममा बार्सिलोनाका लागि मेस्सीले एक गोल पेनाल्टीमा गरेका थिए । यो उनले आफ्नो करियरमा गरेको सात सयौं गोल हो । उनले ७ सय गोल मध्ये ६३० बार्सिलोनाका लागि र ६० गोल राष्ट्रिय टिमका लागि गरेका छन् । उनी अर्जेन्टिनाका समेत कप्तान हुन् ।

    करियरमा सात सय गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन । यसअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा यो कीर्तिमान छ । मेस्सीले ८ सय ६० खेलमा सात सय गोल पूरा गरेका हुन् । मेसि समकालिन महान खेलाडीमध्ये एक मानिन्छन् ।

  • प्रधानमन्त्री अस्पतालबाट निवास फर्किए

    प्रधानमन्त्री अस्पतालबाट निवास फर्किए

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट स्वास्थ्य जाँच गरी निवासमा फर्किएका छन् । प्रधानमन्त्री ‌‌ओली मुटुको नियमित स्वास्थ्य जाँच गराउन गंगालाल हृदयरोग केन्द्र गएका थिए ।

    अत्यावश्यक परीक्षण गरी निवासमा फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्रीमा स्वास्थ्य समस्या आएको नभई नियमित जाँचको लागि अस्पताल गएको उनको भनाई छ । प्रधानमन्त्री बुधबार साँझ अस्पताल गएका थिए ।

  • नेकपामा बुधबार छुट्टाछुट्टै भेला र दौडधुप, बिहीबार के नतिजा आउला ?

    नेकपामा बुधबार छुट्टाछुट्टै भेला र दौडधुप, बिहीबार के नतिजा आउला ?

    काठमाडौं । बुधबार नेकपाको स्थायी समिति बैठक छोटो समय बस्यो । ५ जना मात्र वत्ताले आज बोले । बोलेका मध्ये धेरैले प्रधानमन्त्रीको राजिनामा माग गरे । संकटमा परेको सरकारलाई पार्टी भित्रैबाट राजिनामा माग भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान आफु निकटका मन्त्री र नेकपाका दोस्रो तहका नेतासँग छलफल गरे ।

    छलफलमा नेताहरुले नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई एकता प्रक्रियामा प्रभाव नपर्ने गरी नेतृत्वसँग सहमति गनए सुझाव दिएका थिए । सत्ता संकटमा परेपछि पछिल्ला केही दिन प्रधानमन्त्रीले दौडधुप बढाएका छन् । बुधबार नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल निकट स्थायी समिति सदस्यको समेत छुट्टै भेला भएको छ ।

    उनीहरु ललितपुरको एक होटलमा भेला भएका हुन् । बिहीबार बस्ने स्थायी समितिमा बनाउने रणनीतिबारे छलफल गर्न यो भेला भएको बताइएको छ । भेलामा प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा लगायत नेता पुगेका छन् । नेकपाको बैठक असार १३ गतेदेखि जारी छ ।

    मंगलबार बसेको स्थायी समितिमा १८ स्थायी समिति सदस्यमध्ये १७ सदस्यले ओली पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि प्रधानमन्त्रीको पद संकटमा परेको हो ।

    यसअघि प्रधानमन्त्री ओलीले गत आइतबार बालुवाटारमा एक कार्यक्रममा आफूलाई भारतको इसारामा हटाइन लागेको र त्यसमा नेपालका नेताले साथ दिएको अभिव्यक्ति दिएपछि उनीविरुद्ध पार्टी भित्रै आलोचना शुरु भएको हो । स्थायी समिति बैठक बिहीबार समेत बस्नेछ ।

  • मुटुसम्बन्धी समस्या आएपछि प्रधानमन्त्री ओली गंगालाल अस्पतालमा

    मुटुसम्बन्धी समस्या आएपछि प्रधानमन्त्री ओली गंगालाल अस्पतालमा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि शहीद गंगालाल हृदयरोग केन्द्र (मुटु अस्पताल) बाँसवारी पुगेका छन् ।

    इसीजी र इकोको परीक्षणको लागि प्रधानमन्त्री ओली अस्पताल आएको र परीक्षण भइरहेको अस्पताल स्रोतले बताएको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको अस्पताल जाने योजना पहिले नै तय भएको जानकारी दिएका छन् ।

  • नेपालमा २ हजार ६१ जना बालबालिकामा कोरोना संक्रमण

    नेपालमा २ हजार ६१ जना बालबालिकामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार १४ हजार ४६ संक्रमित मध्ये २ हजार ६१ जना बालबालिका रहेका छन् ।

    जसमा सुदूरपश्चिम प्रदेशमा मात्र ९ वर्षमुनिका १७५ जना बालबालिकामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए ।

    सुदूरपश्चिममा कोरोना संक्रमण देखिएका सबै बालबालिकाहरू आमाबुबासँग भारतबाट आएको देखिएको मन्त्रालयले जनाएको छ । बालबालिकाहरूबाट अरूमा सर्नेदर बढी हुने हुँदा अभिभावकहरू सचेत भएर उनीहरूलाई सकेसम्म घरमै राख्न आग्रह गरे ।

  • उपत्यकामा थप १७ जनामा कोरोना संक्रमण

    उपत्यकामा थप १७ जनामा कोरोना संक्रमण

    काठमाडौं  । काठमाडौंका काठमाडौंमा १० सहित उपत्यकामा बुधबार १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

    संक्रमितहरु काठमाडाैंकाे ५ जना पुरुष र ५ महिला, ललितपुरकाे २ पुरुष र ३ महिला र भक्तपुरकाे १ पुरुष र महिला रहेकाे गाैतमले बताए ।

  • नेपालमा ४८२ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १४ हजार नाघ्यो

    नेपालमा ४८२ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १४ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    जसमा ११७ महिला र ३६५ पुरुष रहेको प्रवक्ताले गौतमले जानकारी दिएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

  • नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ३० पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ३० पुग्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार अछामको रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।

    ती पुरुषको असार १४ गते आइतबार बयालपाटा अस्पतालमा मृत्यु भएको थियो । उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वरेण्टीनमा बसिरहेका थिए।

    असार १३ गते श्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारको लागि बयालपाटा अस्पतालमा लगिएको थियो ।

    आकस्मिक कक्षमा उपचारको क्रममा उनको आइतबार दिउँसो २ बजे मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।

  • बुधबार बिहान थपिए कोरोनाका ४२ संक्रमित

    बुधबार बिहान थपिए कोरोनाका ४२ संक्रमित

    काठमाडौं । नेपालमा बुधबार बिहानै ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणबाट नयाँ संक्रमित थप भएका हुन् । गण्डकी प्रदेशमा २८ नयाँ संक्रमित थपिए ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी पूर्वका १२ जना, गोरखाका ३ जना, कास्कीका एक जना थप भएका छन् । यसैगरी स्याङ्जाका आठ जना, बाग्लुङका ३ जना र तनहुँका एक जना रहेको निर्देशनालयको विज्ञप्तीमा उल्लेख गरेको छ ।

    अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगको छ। चितवनको भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १३ जना र झापाका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

    चितवनको भरतपुर महानगरपालिकाका ११ र माडीका दुई जना रहेको भरतपुर अस्पतालको तथ्यांकमा उल्लेख छ । नेपालमा १३ हजारभन्दा बढीमा कोरोना देखिएको छ । पछिल्ला दिनमा कोरोना तिब्र रुपमा फैलिरहेको छ ।

  • योगेश भन्छन् : बुधबार राम्रो दिन हो, परिस्थिति सही दिशामा मोडिनेछ

    योगेश भन्छन् : बुधबार राम्रो दिन हो, परिस्थिति सही दिशामा मोडिनेछ

    काठमाडौं । नेकपा भित्रको अन्तरसंघर्षका कारण संकटमा परेको सरकारका एक मन्त्री योगेश भट्टराईले पुनः एक पटक आस्थामा भरोसा गर्दै आजको दिन राम्रो हुने कामना गरेका छन् । सामाजिक संजालमा स्टाटस राख्दै योगेशले भनेका छन्, ‘सबै दिन राम्रै हुन्छन्, राम्रै मानिन्छन्, बुधबारलाई अलि बढी राम्रो मान्ने नेपाली चलन छ । आज बुधबार आशा छ, परिस्थिति सहि दिशामा मोडिनेछ, धन्यवाद ।’

    उनको यो स्टाटसलाई धेरैले रहस्यमय मानेका छन् । बुधबार नै प्रधानमन्त्रीले मन्त्रीहरुसँग परामर्श थालिसकेका छन् । उता, नेकपा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनाामा दिन सबैजसो शीर्ष नेताले आग्रह गरिसकेका छन् । पार्टीले नै राजिनामा मागेको सन्दर्भमा अझ उनी कमजोर हुने निश्चित छ ।

  • मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री

    मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीहरुसँग छलफल शुरु गरेका छन् । पार्टी भित्र र बाहिरबाट सरकारको तिब्र आलोचना तथा राजिनामा माग भइरहेका बेला उनले मन्त्रीहरुसँग परामर्श गर्न लागेका हुन् । प्रधानमन्त्रीले परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बालुवाटारस्थित प्रधानमन्त्री निवासमा डाकेका छन् ।

    नेकपाको स्थायी कमिटी बैठकका बहुमत सदस्यहरुले राजीनामा मागेपछि प्रधानमन्त्री ओली संकटमा छन् । सत्ता बचाउन उनले प्रयोग गरेको भारतीय षडयन्त्रको कार्डसमेत असफल भएपछि प्रधानमन्त्रीले मन्त्रीहरुसँग परामर्श थालेका हुन् । यसअघि मंगलबार स्थायी कमिटी बैठकमा जानु अगाडि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए ।

  • मंगलबार विदेशबाट फर्किए १५३० नेपाली

    मंगलबार विदेशबाट फर्किए १५३० नेपाली

    काठमाडौं । मंगलबार दिनभरमा १५ सय ३० जना नेपाली घर फर्किएका छन् । नेपाल एयरलाइन्सले चार वटा मुलुकबाट नेपालीलाई घर ल्याएको छ । सबैभन्दा धेरै कतारबाट ४९८ जना नेपाली स्वदेश फर्किए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आजमात्र विभिन्न देशबाट आठवटा उडान भएको हो ।

    नेपाल एयरलाइन्सले कतारको दोहाबाट २६२ जना नेपाली घर ल्याएको हो । कतारबाट १० वटा शव समेत नेपाल ल्याइएको छ । कतार एयरले दोहाबाट ९ बच्चासहित २३६ जना नेपाली घर ल्याएको छ । कुवेतमा समस्यामा रहेका नेपालीलाई स्वदेश फर्काउन मंगलबार तीन उडान भएका छन् ।

    तीन उडानमार्फत ४७१ जना स्वदेश आइपुगे । नेपाल एयरलाइन्सको जहाजले १४९ जना ल्याएको छ । कुवेत सरकारले त्यहाँ आममाफी पाएका ३२२ जनालाई जजिरा एयरका दुई उडानमा नेपाल पठायो ।

    आज नेपाल एयरलाइन्सले यूएईको दुबईबाट एक बच्चासहित २६२ जना नेपालीलाई घर ल्यायो । यस मुलुकबाट एउटा शव पनि ल्याइएको छ । नेपाल एयरलाइन्सले मलेसियाको क्लालाम्पुरबाट १४६ जनालाई घर फर्काएको छ ।

    आज साउदीको दमामबाट हिमालय एयरले १५३ जनालाई नेपाल ल्याएको छ । आज नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स खाडीका विभिन्न देशमा नेपाली लिन ती मुलुकतर्फ प्रस्थान गरेका छन् ।

  • गुल्मीमा एकै दिन ४५ जना कोरोना संक्रमित डिस्चार्ज

    गुल्मीमा एकै दिन ४५ जना कोरोना संक्रमित डिस्चार्ज

    गुल्मी । गुल्मीमा एकै दिन ४५ जना कोरोना संक्रमित बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । विभिन्न स्थानीय तहमा निर्माण गरिएको आइसोलेसनमा १४ दिन बसेपछि उनीहरुलाई म‌ंगलबार डिस्चार्ज गरिएको हो । मंगलबार ४५ जना सँगै अब गुल्मीमा आइसोलेसनबाट घर जाने कोरोना संक्रमितको संख्या ८७ पुगेको छ ।

    जिल्लामा ७८ जना पुरुष र ९ जना महिला महिलाले कोरोनालाई जित्न सफल भएका हुन् । मंगलबार आइसोलेसनबाट घर फर्किनेहरुमा रेसुङ्ग नगरपालिकाका ३६, रुरुक्षेत्र गाउँपालिकाका १६, इस्मा गाउँपालिकाका १७, मालिकाका ४ तथा चन्द्रकोट, मदाने, धुर्कोट र छत्रकोटका १\१ जना छन् ।

    गुल्मी दरबारका ४ जना र सत्यवती गाउँपालिकाबाट समेत ६ जना डिस्चार्ज भएका छन् । जिल्लामा लक्षण नदेखिएका कोरोना संक्रमितको पुनः परीक्षण नगरी १४ दिन आसोलेसनमा राखेर घर पठाउने गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या ३२४ जना पुगेको छ । गुल्मीमा कोरोना संक्रमणबाट तीन जनाको भने मृत्यु भएको छ ।

  • बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउन देउ : संसदीय समिति

    बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउन देउ : संसदीय समिति

    काठमाडौं । संसदीय समितिले बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आवतजावत सहज बनाउन सरकारलाई निर्देशिन दिएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउने वातावरण सहज बनाउन सरकारलाई निर्देशन दिएको हो ।

    उपत्यका आउने जाने नागरिकको सन्दर्भमा बिरामी, कर्मचारी र व्यावसायीलाई सरलीकृत गर्ने भनी मंगलबार समितिले सरकारलाई निर्देशन दिएको हो । आवश्यक सर्तकता अपनाएर आर्थिक क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेको भन्दै समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

    समितिले प्रदेश र स्थानीय तहको समन्वयमा क्वारेन्टिन र आइसोलेसन सेन्टरको व्यवस्थापन र अनुगमन गर्न समेत संघीय सरकारलाई निर्देशन दिएको छ । अहिले आफ्नो सवारी साधन हुनेहरु निर्वाध काठमाडौं आइरहेका छन् । तर, सार्वजनिक यातायात बन्द हुँदा आम सर्वसाधारण भने काठमाडौं आउन पाएका छैनन् । यसले काठमाडौंमा रोजगारी गर्नेहरुलाई समस्यामा पारेको छ ।

  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाडौं । कडा लकडाउनका अवधिमा निकै सस्तो भएको पेट्रोलियम पदार्थ अब भने महंगिएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले मंगलबार रातीबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य बढाएको छ ।

    पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ८७ रुपैयाँ पुगेको हो ।

    भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि मूलय बढाइएको निगमले उल्लेख गरेको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने परिवर्तन गरिएको छैन ।

  • प्रधानमन्त्रीको अभिव्यक्तिको पार्टीभित्र तिब्र आलोचना, अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा मागियो

    प्रधानमन्त्रीको अभिव्यक्तिको पार्टीभित्र तिब्र आलोचना, अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा मागियो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता बचाउन भारतीय कार्ड फ्याँक्दा आफै समस्यामा परेका छन् । नेपाल कम्यूनिष्ट पार्टीको राजधानीमा जारी स्थायी कमिटिमा बोल्ने अधिकांश शीर्ष नेताले केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजिनामा दिनुपर्ने धारणा राखे । यसले नेकपा भित्र प्रधानमन्त्री अझ कमजोर बनेका छन् ।

    प्रधानमन्त्रीले यसअघि भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा नेपालका नेताहरु नै लागेको गम्भीर आरोप लगाएका थिए । धेरैले यसलाई सत्ता बचाउने भारतीय कार्डका रुपमा प्रधानमन्त्रीको अभिव्यक्ति आएको बताएका थिए ।

    मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा शीर्षनेताले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठाउँदै ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग समेत गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक ओलीको अभिव्यक्तिका कारण अन्य विषयमा प्रवेश नै नभएको एक नेताले जानकारी दिए ।

    आजको बैठकमा सुरुमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोलेका थिए । उनले नियमित एजेण्डाअनुसार सीमा विवाद र नयाँ नक्साबारे छलफल गर्नुपर्ने भए पनि परिस्थिति बदलिएको भन्दै राजिनामा भारतले नभई पार्टीले माग्ने उल्लेख गरे । उनले मदन भण्डारी जयन्तीको दिन अध्यक्ष ओलीले दिएको अभिव्यक्तिले अवस्था गम्भीर बनाएको भन्दै यस्तो अभिव्यक्तिबाट नेपाल अझै पनि आत्मनिर्णयको अधिकार प्रयोग गर्न पाएको छैन भन्ने सन्देश विश्वभर जाने उल्लेख गरे ।

    उनले पार्टीका नेतामाथि प्रधानमन्त्रीबाट भएको अविश्वासको समेत समिक्षा हुनुपर्ने उल्लेख गरे । उता, आजको बैठकमा सोमबार निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि निवेदन परेको सम्बन्धमा समेत चर्चा भएको छ ।

    झापाका मान्छेले यस्तो दल दर्ता गरेका कारण पनि धेरैले यसलाई ओलीकै षडयन्त्रका रुपमा हेरेका छन् । मंगलबार आफुविरुद्ध उठेका प्रश्नबारे जवाफ दिँदै प्रधानमन्त्रीले भने भारतको विरोध गर्दा पार्टीका नेताको चित्त दुखेको भन्दै आलोचना गरेका थिए ।

    उनले भारतीय मिडियामा आएको पक्षलाई मात्र आफुलाई उल्लेख गरेको उनको स्पटोक्ती थियो । निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ता भएको बारे भने आफू अनविज्ञ रहेको प्रधानमन्त्रीको भनाई थियो । बैठकमा वरिष्ठ नेता झलनाथ खनालले पार्टी र सरकार संचालनमा असफल भएको भन्दै प्रधानमन्त्रीको राजीनामा मागेका छन् ।

    ओलीले सरकार एकलौटी चलाएको र पार्टी बैठकहरुको पनि उपेक्षा गरेको भन्दै खनालको आरोप थियो । वरिष्ठ नेता माधवकुमार नेपालले ओलीमा दम्भ, अहंकार र अरुलाई दास बनाउने प्रवृत्ति रहेको भन्दै उनको तिब्र आलोचना गरेका थिए ।

    ओलीलाई पार्टी भन्दा गुट चाहिएको भन्दै उनको सोही प्रवृत्ति नै पार्टी र सरकारका लागि समस्या भएको उल्लेख गरे । उपाध्यक्ष बामदेव गौतमले समेत प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा माग गरेका छन् ।

  • नेपालका २४ जिल्लामा सलहको आक्रमण, मंगलबार उपत्यकामा छिर्यो

    नेपालका २४ जिल्लामा सलहको आक्रमण, मंगलबार उपत्यकामा छिर्यो

    काठमाडौं । नेपालका २४ जिल्लामा सलह पुगेको छ । मंगलबार दिउसोसम्मको तथ्याक अनुसार २४ जिल्लामा सलह पुगेको रिर्पोटिंग भएको छ । प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार मंगलबार काठमाडौं उपत्यकामा समेत सलह देखिएको छ । मंगलबार उपत्यकामा सानो झुन्ड देखिएको थियो । सलहले मकै, धान, केरा खेतीमा क्षति पुर्‍याइरहेको छ ।

    अहिलेसम्म कुल क्षतिको अनुमान भने भएको छैन । प्रारम्भिक रुपमा बालीहरूमा सलहले असर पुर्‍याउन थालिसकेको केन्द्रको भनाई छ । नेपालमा शनिबारबाट सलह छिरेको हो । रुपन्देहीको भैरहवा, बारा, पर्सा तथा सर्लाही, मकवानपुर र कपिलवस्तुबाट भित्रिएको ठूलो झुण्ड अहिले नेपालभर बिस्तार हुने क्रममा रहेको छ ।

    बारा, पार्सा, रौतहट र सर्लाहीमा देखिएको सलहको झुण्डमा त्यहाँबाट उत्तरतर्फका पहाडी भेगमा उडिरहेको छ । महोत्तरीको बर्दिवास र मकवानपुरगढीसहित सिन्धुलीमा समेत सलह पुगिसकेको छ । उता, मकवानपुरको बकैया र हेटौंडामा पनि सलह पुगेको छ । चितवनमा समेत सलहको उपस्थिति छ काभ्रे र रामेछापमा समेत सलह पुगिसकेको छ ।

    रामेछाप, काभ्रे र काठमाडौं उपत्यकामा सानो संख्यामा सलह आएको हो । रुपन्देहीको कालीकानगर, वुटवल र सैनामैनामा ठूलो झुण्ड देखिएको हो । यसले कपिलवस्तु, पाल्पा र गुल्मीमा समेत प्रभाव पारेको छ । स्याङ्जा, दाङ प्युठान र रोल्पामा समेत सलह देखिएको छ । कास्की समेत यसबाट अछुतो छैन ।