Author: Vishwanews.com

  • नेपालमा थप ४८ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २६९८

    नेपालमा थप ४८ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २६९८

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट ४८ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएका जानाकारी अनुसार देशको विभिन्न अस्पतालबाट ८ महिला र ४० जना पुरुष संक्रमण मुक्त भएका हुन् ।

    देशभरबाट हालसम्म २ हजार ६९८ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला २२४ र २ हजार २७४ जना पुरुष रहेका छन्।

  • नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या २७ पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या २७ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएका जानाकारी अनुसार बेवारिसे अवस्थामा भेटिएको अन्दाजी ३० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

    असार ११ गते ती महिला अचेत अवस्थामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै भेटाएको र उपचारका लागि राप्ति स्वास्थ्य अस्पतालमा लगेर जाँच गर्दा मृत्यु भएको पाइएको थियो ।

    असार १२ गते उनको कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सम्पर्क स्थापित गराउने काम भइरहेको जनाइएको छ ।

    हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

    देशभर कोरोना भाइरस संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।

  • नेपालमा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ११७५५

    नेपालमा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ११७५५

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९३ जनामा कोरोना जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ९३ जनामा कोरोना जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    थपिएका ५९३ सहित नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ।

    पछिल्लो २४ घण्टामा थप ४८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या २६९८ पुगेको छ।

    कुल संक्रमितमध्ये २६ जनाको मृत्यु भएको छ।

    प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ।

  • काभ्रेमा बोधिचित्त लुटेरा र गाउँलेबीच झडप, ५ घाइते

    काभ्रेमा बोधिचित्त लुटेरा र गाउँलेबीच झडप, ५ घाइते

    काभ्रे । गतराती काभ्रेमा लुटेरा समुह र गाउँलेबीच झडप भएको छ । काभ्रेको रोशी गाउँपालिकामा हतियारधारी समूहसँगको झडपमा ५ जना गाउँले घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेको प्रहरीले समेत लुटेर समूहलाई लक्षित गरी गोली चलाएको थियो ।

    बोधिचित्त लुटपाट गर्न गएका समूहसँगको झडप हुँदा ५ जना स्थानीयबासिन्दा सामान्य घाइते भएका काभ्रे प्रहरीले उल्लेख गरेको छ । घाइतेको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । गएराति हतियारधारी समूह बोधिचित्त लुटपाट गर्न गएको सूचना आएपछि प्रहरी गाउँ पुगेको थियो ।

    गाउँलेले प्रतिकार गर्न खोज्दा आक्रमण गरेको बताइएको छ । प्रहरी पुगेपछि हतियारधारी समूह भागेको प्रहरीले जनाएको छ । भागेको समुहलाई लक्षित गरी प्रहरीले गोली चलाएको हो ।

    घटनामा संलग्नको पहिचान भइसकेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । बहुमूल्य बोधिचित्त काभ्रेमा पाइन्छ ।

  • ३० वर्षपछि लिभरपुलले जित्यो इंलिस प्रिमियर लीगको उपाधी

    ३० वर्षपछि लिभरपुलले जित्यो इंलिस प्रिमियर लीगको उपाधी

    काठमाडौं । लिभरपुलले जारी सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । लिभरपुलले ३० वर्षपछि इंग्लिस प्रिमियर लिग उपाधि रक्षा गर्न सफल भएको हो । गतराती दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई चेल्सीले २ –१ गोल अन्तरले हराएपछि लिभरपुल लीग विजेता बन्न पुगेको हो ।

    घरेलु मैदानमा चेल्सीलाई जीत दिलाउने क्रममा क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरेका हुन् । सिटीका केभिन डी ब्रुयनले एक गोल फर्काए । चेल्सीले लिभरपुलको जीतको ढोका खोलिदिएको हो यस्तो संयोग ३० वर्ष पछि मिलेको छ ।

    लिभरपुललाई यो सिजन उपाधि जित्न थप एक जित आवश्यकता थियो । तर, सिटीले अंक गुमाएपछि योर्गेन क्लोपको टिम ३१ खेलमै च्याम्पियन बनेको हो । सिटीले चेल्सीलाई हराएको भए लिभरपुलको उपाधि पछि धकेलिने वा अर्को खेल लिभरपुलले जित्नै पर्ने बाध्यतामा हुने थियो ।

  • आज विदेशबाट १२ सय नेपालीको उद्दार हुँदै

    आज विदेशबाट १२ सय नेपालीको उद्दार हुँदै

    काठमाडौं । आज विदेशमा अलपत्र रहेको करीव १२ सय नेपालीलाई घर ल्याइने भएको छ । नेपाली नागरिकको उद्दार गर्ने क्रममा शुक्रबार एक हजार दुई सय नेपालीलाई घर फर्काउन लागिएको हो । शुक्रबार बहराइन, युएई, कुवेत र मलेसियाबाट नेपाली घर आउँदैछन् ।

    त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार कुवेतबाहेक सबै मुलुकबाट शुक्रबार दुई दुई उडानको तालिका छ । बहराइनमा दुई र मलेसियामा एक उडान नेपाल एयरलाइन्सले गर्दैछ ।

    युएईमा हिमालयन र एयर अरेविया, कुवेतको जजिरा एयरलाइन्स र मलेसियाको एउटा उडान हिमालय एयरलाइन्सबाट हुने गरी तालिका तय भएको भएको छ । यसरी आएका नेपालीलाई काठमाडौं, भक्तपुर र ललितपुरमा बनाइएको होल्डिङ सेन्टरमा राखिन्छ ।

    त्यसपछि सेनाको व्यवस्थापनमा उनीहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा पठाइन्छ । विदेशबाट आउने नागरिकले पीसीआर रिपोर्ट ल्याएमा होम क्वारेन्टिनमा बस्न पाउने गरी प्रावधान राखिएको छ । पैसा तिर्न सक्ने मानिसहरु भने होटल क्वारेन्टिनमा बस्ने गरी तोकिएको छ ।

  • नेपालमा कोरोनालाई जित्नेको संख्या २३३८, २४ घण्टामा ११४ जना डिस्चार्ज

    नेपालमा कोरोनालाई जित्नेको संख्या २३३८, २४ घण्टामा ११४ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा कोरोना भाइरसलाई जित्ने बिरामीको संख्या २३ सय नाघेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट ११४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भए ।

    यस अवधिमा १०६ पुरुष र ८ महिला संक्रमित निको भएका हुन्। अब नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या २ हजार ३३८ पुगेको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने २६ पुगेको छ । नेपालमा ११ हजार भन्दा बढी संक्रमित पुष्टी भइसकेको छ ।

  • कोभिडसँगै विपद् व्यवस्थापनमा नेपाली सेनाको तत्परता

    कोभिडसँगै विपद् व्यवस्थापनमा नेपाली सेनाको तत्परता

    काठमाडौं । नेपाली सेनाले आफ्नो मातहतका सबै निकायलाई कोभिड १९ को रोकथाम तथा नियन्त्रणसँगै विपद् व्यवस्थापनमा समेत तयार रहन निर्देशन दिएको छ। सेनाले विपद् प्रतिकार्यको तयारी गर्न ‘अपरेसन अर्डर’ जारी गर्दै यस्तो निर्देशन दिएको हो । उपकरण सहितको न्यूनतम सामग्रीसहित खोज तथा उद्धार कार्यमा खटिन तयारी अवस्थामा रहन र ठूला उपकरण सम्भावित ठाउँहरूमा राख्न सैनिक जंगी अड्डाले मातहतका सबै निकायलाई निर्देशन दिएको हो ।

    नेपाली सेनाले सबै सुरक्षा फौजलाई तैनाथी अवस्थामा रहन समेत निर्देशन दिएको हो । नेपालमा मनसुनको सिजन चलिरहेको छ । जसले गर्दा देशभर बाढी र पहिरोको जोखिम उत्तिकै रहन्छ । आपतकालिन अवस्थामा उद्दारमा नेपाली सेना अग्रपंक्तीमा खटिनुपर्छ । तर, कोभिड १९ को संक्रमणका कारण सेनाले अहिले जनशक्तिलाई यसको व्यवस्थापनमा समेत खटाउनु परेको छ ।

    विपद् व्यवस्थापनका लागि परिचालन हुने अन्य सरोकारवाला निकायहरूसँग समन्वय र सम्पर्कको लागि गृह मन्त्रालयमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समन्वय गरिरहेको छ ।

    विपद व्यवस्थापनका लागि चार चरणमा फौज परिचालन हुने भएको छ । प्रत्येक जिल्लामा तैनाथ गणबाट १ सय ४ जनाको टोली रहन्छ । गुल्म भएको स्थानमा ३० जनाको फौज आधारभूत उद्धार सामग्रीसहित परिचालन हुने गरि व्यवस्थापन मिलाएको नेपाली सेनाले जनाएको छ । अन्तिम अवस्थामा विपद् व्यवस्थापन निर्देशनालयका युनिट र १४ बाहिनी अन्तर्गतका युनिटबाट फौज परिचालन गर्ने रणनीति सेनाको छ ।

  • दैलेखमा मृत भेटिएका युवकमा कोरोना पुष्टी

    दैलेखमा मृत भेटिएका युवकमा कोरोना पुष्टी

    काठमाडौं । दैलेखका मृत अवस्थामा भेटिएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतबाट १ महिनाअघि आएका २१ वर्षीय युवक झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । बुधबार बिहान उनको शव दुल्लु अस्पताल दैलेख ल्याएर पोस्टमार्टम तथा स्वाब संकलन गरिएको थियो । उनको स्वाव कोरोना परीक्षण गर्न सुर्खेत पठाइएको थियो।
    बिहीबार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । भारतबाट आएका दैलेख दुल्लु नगरपालिका १० का युवक १४ दिन दुल्लु नगरपालिकाको क्वारेन्टिनमा बसेका थिए ।

    क्वारेन्टिनमा उनको आरडिटी परीक्षण गरिएको थियो । उक्त परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो । स्थानीय प्रशासनका अनुसार उनले आत्महत्या गर्नुको कारण भने खुलिसकेको छैन । सेनाले उनको शव व्यवस्थापन गर्नेछ । मृत्युपछि कोरोना पुष्टी भएको भएपनि उनको मृत्युको कारण भने कोरोना मानिने छैन ।

  • चीनसँग सीमा विवाद नरहेको सरकारको स्पष्टोक्ती

    चीनसँग सीमा विवाद नरहेको सरकारको स्पष्टोक्ती

    काठमाडौं । सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको स्पष्ट पारेको छ । यसअघि केही संचारमाध्यमले चीनसँग विभिन्न स्थानमा सीमा विवाद रहेको समाचार प्रकाशित गरेका थिए । यसलाई नियतवश प्रकाशित गरिएको भन्दै सामाजिक संजालमा आलोचना समेत भएको थियो ।

    खासगरी भारतसँगको सीमा विवाद चर्किने समयमा हरेक पटक चीनलाई समेत जोडेर नेपालमा समाचार प्रकाशित हुने गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी सीमा विवादसम्बन्धी समाचार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा प्रकाशन भएको तर कृषि मन्त्रालयबाट त्यस्तो प्रतिवेदन अस्तित्वमा नै नभएको जानकारी आएको उल्लेख गरेको छ ।

    कृषि मन्त्रालयका अनुसार सीमासम्बन्धी विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने जानकारी आएको समेत परराष्ट्रको विज्ञप्तिमा बताइएको छ । हराएको भनिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ हुँदै नभएको समेत स्पष्ट पारेको हो । प्राकृतिक अवस्थितिका कारण दुई देशबीचको सहमतिमा मै स्तम्भ नराखिएको परराष्ट्रले स्पष्ट पारेको हो ।

    नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा सम्झौताले निर्धारण गरेबमोजिम नै रहेको उल्लेख गरेको छ । सीमासम्बन्धी केही समस्या देखिएमा दुई देशबीचको समझदारीमा समाधान हुने परराष्ट्रको विज्ञप्तिमा लेखिएको छ ।

    कृषि मन्त्रालयले समेत बिहीबार विज्ञप्ति जारी गरी नेपाल र चीनबीच सीमा विवाद भनी उल्लेख गरिएको समाचारमा आधार बनाइएको प्रतिवेदन मन्त्रालयबाट प्रकाशित नै नभएको उल्लेख गरेको थियो ।

    मन्त्रालयले उक्त समाचारको खण्डन गर्दै प्रतिवेदन यस मन्त्रालयबाट प्रकाशित नै नभएको र सोसम्बन्धी विषय मन्त्रालयको कार्य क्षेत्रसमेत नभएकाले भन्दै समाचारमा सत्यता नरहेको उल्लेख गरेको थियो ।

  • नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ पुग्यो, २४ घण्टामा दुई जनाको निधन

    नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ पुग्यो, २४ घण्टामा दुई जनाको निधन

    काठमाडौं । नेपालका कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मानिसको संख्या २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुगाउने संक्रमितको संख्या २ थप भएको छ । स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको छ । उनी मधुमेहका बिरामी थिए ।

    ८ असारमा अस्पताल भर्ना भएका उनको उपचारका क्रममा ज्यान गएको हो ।

    यता, पाटन अस्पतालमा उपचारका क्रममा ५० वर्षका पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनी करिब ५ महिना अगाडि मिर्गौला प्रत्यारोपण गरेका बिरामी हुन् । नर्भिक अस्पतालमा रहँदा उनमा कोरोना पुष्टि भएको थियो । त्यसपछि पाटन रिफर गरिएका उनको उपचारका क्रममा बिहीबार ज्यान गएको हो ।

  • नेपालमा ११ हजार पुगे कोरोना संक्रमित, एकै दिन थपिए ४३४

    नेपालमा ११ हजार पुगे कोरोना संक्रमित, एकै दिन थपिए ४३४

    काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमित बिरामीको संख्या ११ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४३४ जनामा नयाँ संक्रमित भएसँगै कुल संख्या ११ हजार नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ९ जना नयाँ कोरोना संक्रमित थपिए ।

    काठमाडौंमा दुई महिला र दुई पुरुष, भक्तपुरमा एक महिला र तीन पुरुष तथा ललितपुरमा एक पुरुषमा संक्रमण पुष्टि भएको छ । बिहीबार सबैभन्दा धेरै पाल्पामा १२२ जना संक्रमित थपिएका छन् । कञ्चनपुरका ६० जना, रौतहटका ३८, दैलेखका १९, बझाङका १८, अछाम र सुर्खेत १३र१३ जना र डडेलधुराका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
    तनहुँ र धनुषाका ९र९ जना, बाजुरा र सप्तरीका ८र८ जना, प्युठान र रुपन्देही ७र७ जना, सुनसरी, बर्दिया र म्याग्दीका ६र६ जना, सर्लाही, महोत्तरी र नवलपरासीका ५र५ जना, बैतडी, कैलाली, कालीकोट, बाँके, नवलपरासी र ताप्लेजुङका ३र३ जना तथा सिराहा, इलाम, जुम्ला, लमजुङ, रामेछाप, धादिङ, गोरखा र बाग्लुङका २र२ मा संक्रमण पुष्टि भएको छ ।

    यसैगरी बाँके, दार्चुला, खोटाङ, जुम्ला, ओखलढुङ्गा, कास्की, सल्यान, झापा, मोरङ, बारा, डोल्पा, दाङ, गुल्मी, स्याङ्जा र रुकुमपूर्वका १र१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अब नेपालमा कुल संक्रमित ११ हजार १६२ पुगेको हो ।

  • मेलम्चीको सपना, घरघरमा पानी आउन अझै पुरै एक वर्ष लाग्ने

    मेलम्चीको सपना, घरघरमा पानी आउन अझै पुरै एक वर्ष लाग्ने

    काठमाडौं । मेलम्चीको पानी घरघरमा थापेर प्यास मेटाउने राजधानी बासीको अपेक्षा पुरा हुन अर्को थप एक वर्ष कुर्नु पर्ने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा बुधबार मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे जानकारी गराउँदै खानेपानी मन्त्री बीना मगरले थप एक वर्ष काठमाडौैंमा पानी नआउने स्पष्ट पारिन् ।

    बैठकमा खानेपानीमन्त्री बिना मगर, मन्त्रालयका सचिव माधव बेल्बासे, खानेपानी आयोजना प्रमुख तिरेशप्रसाद खत्री लगायत उपस्थित थिए । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले मेलम्चीको पानी घरघरमा कहिले आइपुग्छ भनेर ठ्याक्कै भन्न नसकिने उल्लेख गरे । विगतमा मिति तोक्दा तोकिएको समयमा काम पुरा नहुँदा ‘फेसबुकमा भाइरल’ बनाउने काम मात्रै भएको भन्दै उउनी तर्सिए पनि ।

    यसपटक मिति तोक्ने भन्दा छिटोभन्दा छिटो काम गर्नेतिर केन्द्रित भएको बताए । मन्त्री बीना मगरले भने अहिलेसम्म ९९ प्रतिशत भौतिक काम पूरा भएको बताइन् । आयोजनाको भौतिक निर्माणको काम सम्पन्न भएपछि उद्घाटनको मिति तोक्ने मन्त्री मगरले उल्लेख गरिन् ।

    मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेश खत्रीले समेत ९९ प्रतिशत काम सम्पन्न भएको जानकारी गराए । उनका अनुसार सुरुङको ९९ प्रतिशत काम सकिएको छ । डीआइपाइपसहितको वैकल्पिक पानी पथान्तरण प्रणालीको काम शतप्रतिशत सकिएको छ । सुरुङ तथा पानी प्रसोधन केन्द्रबीचको जडान कार्य ९८ प्रतिशत सकिएको छ ।

    पानी प्रसोधन केन्द्रमा समेत काम पुरा भएको छ । कोकर ड्याम, हाइड्रोमेकानिकल गेट ६ गोटा जडान कार्य पनि सम्पन्न भएको पनि उनले जानकारी दिए । हेडबर्क्सको काम भने ६५ मात्रै प्रतिशत सकिएको उनले बताए ।

    बाँकी भौतिक काम पुस मसान्तसम्म सकिने उनले बताए । त्यसपछि परीक्षणको काम सुरु हुने आयोजना प्रमुख खत्री बताउँछन् । पानी परीक्षण सुरु भएपछि परीक्षण सम्पन्न गर्नका लागि अर्को तीन महिना लाग्ने उनको भनाई छ ।

  • नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, गण्डकीमा थपिए ११ संक्रमित

    नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, गण्डकीमा थपिए ११ संक्रमित

    पोखरा । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचार गराइरहेका एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको हो । स्याङ्जा सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गतरात ११ः३५ मा निधन भएको अस्पतालले जनाएको छ ।

    अब नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या २५ पुगेको छ । उनी असार ८ मा अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनी डायबिटिजका बिरामी रहेको समेत अस्पतालले जानकारी दिएको छ ।

    पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् । यसअघि सोही अस्पतालमा स्याङ्जाकै ५८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।

    उता गण्डकी प्रदेशमै बिहीबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा, म्याग्दी, बाग्लुङ र नवलपुरमा नयाँ संक्रमित पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले उल्लेख गरेको छ । संक्रमण पुष्टि हुनेमा स्याङ्जाका एक जना, बागलुङका २ जना छन् ।

    त्यस्तै, म्याग्दीका २० देखि ३२ वर्ष उमेर समूहका ६ जना पुरुष छन् । नवलपुरमा संक्रमण पुष्टि हुने २ जना छन् । गण्डकी प्रदेशभर बिहीबारसम्म ७ सय ५३ जनामा कोरोना पुष्टि भएको छ ।

  • बुधबार १ हजार नेपाली घर फर्किए

    बुधबार १ हजार नेपाली घर फर्किए

    काठमाडौं । बुधबार विभिन्न मुलुकबाट १ हजार जना नेपाली घर फर्किएका छन् । ६ देशबाट ९ सय ९९ जना नेपाली स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कोरोना भाइरसको संक्रमणका बीच विदेशमा रोकिएका र अलपत्र परेका नेपालीको उद्दारको काम अहिले भइरहेको छ ।

    बुधबार साउदीको दमामबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत १५४ जना नेपाली घर फर्किए । साउदीकै जेद्दाबाट नेपाल एयरलाइन्सले २५५ जनालाई नेपाल ल्याएको छ । जेद्दाबाट एउटा शव पनि नेपाल आएको छ । हिमालय एयरलाइन्समार्फत यूएईको आबुधाबीबाट ३ बालबालिकासहित १४९ जना घर फर्किए ।

    कुवेतबाट १५५ जना र मलेसियन एयरको कार्गो लिएर आएको जहाजमार्फत चार जना नेपाली घर आए । टर्कीको राजधानी इस्तानाबुलबाट टर्किस एयरलाइन्सको चार्टर्ड जहाजमार्फत २८२ जना नेपाली घर आएका छन् । बुधबार मात्र कुल १४ अन्तर्राष्ट्रिय उडान भएका छन् ।

    ६ वटा चार्टर्ड जहाज नेपाली लिएर काठमाडौं आए । बुधबार नै कतारको दोहा, यूएईको आबुधाबी, कुवेत र जापानको नारितामा नेपाली लिन जहाज उडेका छन् । बुधबार कुल १३ वटा अन्तर्राष्ट्रिय उडानको तालिका तय भएको छ ।

  • परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

    परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

    काठमाडौं । बुधबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी विदेश मन्त्री माइक पोम्पियोबीच टेलिफोन वार्ता भएको छ । कोरोना कहरका बीच यी मुलुकका विदेशमन्त्रीबीच भएको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । किनकी यतिबेला नेपालमा अमेरिकी सहायतामा संचालन हुने एमसीसी पास गर्ने वा नगर्ने विषयमा विवाद जारी रहेको छ ।

    मन्त्री ज्ञवाली र पोम्पियोबीच बुधबार टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयले पुष्टी गरेको छ । कोरोना महामारीको सन्दर्भमा दुई देशले भोगेका अनुभव साटासाट भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । दुवै देशले कोरोनाको कारण ज्यान गुमाएकाप्रति समवेदना प्रकट गरेका छन् ।

    परराष्ट्र मन्त्री ज्ञवालीले अमेरिकाबाट निरन्तर प्राप्त सहयोगको प्रशंसा गरेका थिए । नेपालमा बुधबारबाट नेकपाको स्थायी कमिटि बैठक शुरु भएको छ ।

    यो बैठकले एमसीसी पास गर्ने वा नगर्ने भन्ने टुंगो लगाउने छ । सोही सन्दर्भमा दुई मुलुकका विदेश मन्त्रीबीच टेलिफोन वार्ता भएको हो । यद्दपी वार्तामा एमसीसीबारे छलफल भयो या भएन भन्ने खुलाइएको छैन ।

  • रुकुम घटनाका २३ अभियुक्त पुर्पक्षका लागि कारागार चलान

    रुकुम घटनाका २३ अभियुक्त पुर्पक्षका लागि कारागार चलान

    रुकुम । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिका, सोती गाउँमा भएको नरसंहारमा आरोपित २३ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत रुकुमले जेठ १० मा ६ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तमध्ये २३ जनालाई कारागार चलान गर्ने आदेश दिएको हो ।

    वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ अभियुक्तलाई जिल्ला अदालतबाट पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको हो । शुक्रबारदेखि शुरु भएको थुनछेक बहस बुधबार सकिएको हा । जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलले यस्तो आदेश गरेका छन् ।

    २ जनालाई १ लाख धरौटी र ३ जना अभियुक्तलाई साधारण तारेखमा छाड्न आदेश दिइएको छ । साधारण तारेखमा छुट्ने प्रतिवादीहरुमा इन्द्रबहादुर मल्ल, तुल बहादुर मल्ल र दिपेन्द्र चन्द छन्।

    यसअघिको दुई जना नाबालक भने पुर्पक्षका लागि सुधारगृहमा पठाउने आदेश आएको थियो ।

    अन्तरजातीय प्रेममा रहेका एक युवकले युवतीलाई भगाउन गाउँ गएका बेला गाउँलेले युवाको जमातलाई लखेट्ने क्रममा यो घटना भएको हो । घटनामा जाजरकोटका नवराज विकसहित ६ जनाको ज्यान गएको थियो ।

  • आज आयो स्थानीय तहको बजेट, ६ महानगरमा ३९ अर्ब १४ करोड

    आज आयो स्थानीय तहको बजेट, ६ महानगरमा ३९ अर्ब १४ करोड

    काठमाडौं । आज देशभरका स्थानीय तहले बजेट ल्याउने दिन अधिकांश स्थानीय तहको बजेट सार्वजनिक भएको छ । महानगरपालिका र उपमहानगरपालिका सबैले बजेट ल्याए । ७५३ स्थानीय सरकारमध्ये कुन सरकारको बजेट सार्वजनिक भयो भन्ने तथ्यांक भने आइसकेको छैन ।

    काठमाडौंमा एक महिनाको घर भाडा छूट दिने घरबेटीलाई वार्षिक बहाल करमा छूट, तीनकुनेमा बुद्ध पार्क निर्माणजस्ता नीति समेटेर महानगरपालिकाले १६ अर्ब ४२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । काठमाडौंले चालु आवमा बजेटमा राखेका केही असम्भव परियोजना भने अहिले झिकेको छ ।

    मोनोरेल परियोजनालाई बजेटमा पारिएको छैन । काठमाडौंले कवाडीमा पनि कर उठाउने गरी बजे ल्याएको छ । पोखरामा शहरी सौन्दर्यलाई प्राथमिकता दिने गरी बजेट आएको छ । महेन्द्रपुलमा अत्याधुनिक पुल निर्माणको योजना समेत पोखरामा समेटेटिएको छ ।

    विराटनगरले प्रजातन्त्र सेनानीलाई मासिक २५ सय रुपैयाँ भत्ता दिने गरी नीति तथा बजेट ल्याएको छ । भरतपुरले गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा संयुक्त कोष स्थापना गर्ने भएको छ ।

    ललितपुरले समेत शहरी सौन्दर्यलाई प्राथमिकता दिँदै विकासको जग वडा वडामा बसाउने घोषणा गरेको छ । वीरगञ्जले शिक्षामा पर्याप्त बजेट राखेको छ । ७५३ स्थानीय तहका बजेटमध्ये सबैभन्दा ठूलो काठमाडौंले ल्याएको छ ।

    काठमाडौंसहित ६ वटै महानगरपालिकाको बजेट भने ३९ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।

  • पूर्वराजा भन्छन् : युवा सधै सडकमा आउनुपर्ने अवस्था किन सिर्जना गरिन्छ ?

    पूर्वराजा भन्छन् : युवा सधै सडकमा आउनुपर्ने अवस्था किन सिर्जना गरिन्छ ?

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको महामारी कारण आफ्नो जन्मोत्सव नमनाउने घोषणा गरेका छ । यसअघि हरेक जन्मदिनमा उनलाई शुभकामना दिन समर्थकको ठूलो भिड लाग्ने गर्छ । सोहीकारण शाहले बुधबार एक विज्ञप्ती निकाल्दै जन्मोत्सव नमनाउने घोषणा गरेका हुन् । उनले कोरोना भाइरसका कारण जनताले भोग्नुपरेको समस्या समाधान गम्भीर हुन सरकारको भने ध्यानाकर्षण गराएका छन् ।

    कोरोनाबाट मृत्यु भएकाहरुप्रति श्रद्धा व्यक्त गरेका उनले संक्रमितको स्वास्थ्य लाभको कामना समेत गरेका छन् । उनले चुनौतीसँग अवसर पनि आएको भन्दै विभिन्न कारणले स्वदेश फर्किएकाहरुलाई देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाउन आग्रह गरे ।

    उनले राष्ट्रियता तथा अन्य विषयमा समेत चासो राखेका छन् । हाम्रो देशभक्ति, स्वाधीन स्थिति एवं स्वाभिमानमाथि बारबारकिन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ भन्ने प्रश्न राख्दै उनले जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ भन्ने सवाल समेत खडा गरेका छन् ।

    रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहित विरुद्धका सन्धि संझौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दा बल्दा र दुखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ भन्दै उनले शासकहरुबाट जवाफ मागेका छन् ।

    भ्रष्टाचार, लापरवाही, पक्षपात जस्ता विषय पनि आइरहेको भन्दै उनले यी विषयलाई लिएर हाम्रा होनहार युवाहरु, तमाम देशभक्त स्वतन्त्र नागरिक सडक संघर्षमा उत्रिरहनु किन परेको भन्ने प्रश्न उनले राखेका छन् ।

    आरोप प्रत्यारोप वा निषेध प्रतिरोधको भावनाले कसैको हित नगर्ने भन्दै पूर्वराजाले गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नुपर्ने उल्लेख गरेका छन् ।

  • २४ घण्टामा ११४ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २३३८

    २४ घण्टामा ११४ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २३३८

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभरबाट १ सय १४ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न अस्पतालबाट ८ महिला र १०६ जना पुरुष संक्रमण मुक्त भएर घर फर्किएका हुन् ।

    जलेश्वर अस्पताल महोत्तरीबाट १ महिला र १८ पुरुष, कोभिड अस्पताल सपही जनकपुरबाट २० पुरुष, सिन्धुली अस्पतालबाट ३ पुरुष, भरतपुर अस्पतालबाट ३ पुरुष, चितवनबाट ५ महिला १३ पुरुष, कपिलबस्तुबाट १ महिला, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका ४ पुरुष, मोरङका १८ पुरुष र सुनसरीका १ महिला ४ पुरुष, तेह्रथुमका १ पुरुष, दमौली अस्पताल तनहुँबाट १ पुरुष डिस्चार्ज भएका छन्।

    त्यसैगरी, धौलागिरी अस्पताल बागलुङ बाट ४ पुरुष, गोरखा अस्पतालबाट १ पुरुष, विपी कोइराला शुक्ला गण्डकी अस्पताल तनहुँबाट ६ पुरुष, कालिका अस्पताल स्याङजाबाट १० पुरुष संक्रमण मुक्त भएका छन्।

    देशभरबाट हालसम्म २ हजार ३३८ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला १९७ र २ हजार १४१ जना पुरुष रहेका छन्।

    नेपाल पछिल्लो २४ घण्टामा ६२९ कोरोना संक्रमित थप भएका छन्। योसँगै कूल संक्रमितको संख्या १० हजार ७सय २८ पुगेको छ। जसमध्ये २४ जनाको मृत्यु भएको छ।

  • नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०७२८

    नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०७२८

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    आज थपिएका ६२९ सहित नेपालमा संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ।

    पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ । जसमा यो सहित संक्रमण मुक्त हुनेको संख्या २ हजार ३ सय ३८ पुगेको छ । कुल संक्रमितमध्ये २४ जनाको मृत्यु भएको छ।

  • पाकिस्तान क्रिकेट बोर्डका १० खेलाडीमा कोरोना पुष्टी

    पाकिस्तान क्रिकेट बोर्डका १० खेलाडीमा कोरोना पुष्टी

    इस्लामावाद । पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका १० जना खेलाडीमा कोरोना संक्रमण पुष्टी भएको छ । पाकिस्तानी क्रिकेट बोर्डले मंगलबार सात खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेको छ । तीन खेलाडीमा यसअघि नै कोरोना पुष्टी भएको थियो ।

    मंगलबार फखर जमा, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाजमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । यसअघि शादाब खान, हारिस रउफ र हैदर अलीमा कोरोना संक्रमण भएको बोर्डले पुष्टी गरेको थियो ।

    बेलायत भ्रमण अघि पाकिस्तानले खेलाडीको कोरोना टेस्ट गरेको हो । सो क्रममा नेगेटिभ देखिएका खेलाडी मात्र बेलायत भ्रमणमा जाँदैछन् । पाकिस्तान र इंग्ल्याण्डबीच निर्धारित तीन टेस्ट र टी–२० म्याच सिरिज संचालनको तयारी गरिएको छ । पाकिस्तानमा भने कोरोना उच्च विन्दुमा चलिरहेको छ ।

    अहिलेसम्म एक लाख ८५ हजारभन्दा बढि मानिस संक्रमित भएका छन् । चार हजार मानिसले ज्यान गुमाइसकेका छन् ।

  • आज नेकपा स्थायी कमिटि बैठक, एमसीसीबारे निर्णय होला ?

    आज नेकपा स्थायी कमिटि बैठक, एमसीसीबारे निर्णय होला ?

    काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ । यसअघि मंगलबार राती अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अनौपचारिक छलफल भएको थियो । उक्त बैठकमा एमसीसी सम्झौता, सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता दिने जस्ता एजेण्डा तय गरेको छ ।

    यी एजेण्डामा आज स्थायी कमिटि बैठकमा छलफल हने भएको छ । नेकपा भित्र एमसीसीलाई लिएर तिब्र विवाद छ । बहुमत सदस्य एमसीसीका केही प्रावधान संशोधन नगरी पारित गर्न नहुने पक्षमा छन् । नेकपा स्थायी कमिटीको बैठकले एमसीसी सम्झौताबारे सरकारलाई एक निर्णय दिनेछ ।

    एमसीसी सम्झौता संसदले पारित गर्नुपर्ने म्याद असार १७ गते सकिँदै गर्दा अहिले छलफलले तिब्रता पाएको छ । उक्त दिन संसदले एमसीसी पास नगरे यसको म्याद थप्नु पर्छ । म्यादा थप भएन भने यो कार्यक्रम स्वतः निश्क्रिय हुन्छ । एमसीसी कार्यक्रममा अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान सहयोग दिने उल्लेख छ ।

    बुधबारको नेकपा स्थायी कमिटी बैठकले गर्ने निर्णय नै निर्णायक हुनेछ । बैठकले दिने निर्देशन नेकपा संसदीय दलले मान्नुपर्छ । एमसीसीको पक्षमा एकमत नभएपछि सुझाव दिन भन्दै नेकपाले भलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको तीन सदस्यीय अध्ययन कार्यदल बनाएको थियो ।

    कार्यदलको बहुमतले एमसीसी सम्झौता हुबहु पारित गर्न नमिल्ने मतसहितको प्रतिवेदन तयार पारेर पार्टी नेतृत्वलाई बुझाएको छ । विपक्षी दल कांग्रेस भने एमसीसीको पक्षमा रहेको छ ।

  • मंगलबार विभिन्न देशबाट फर्किए ७८३ नेपाली, हिमानी शाह समेत थाइल्याण्डबाट स्वदेश फिर्ता

    मंगलबार विभिन्न देशबाट फर्किए ७८३ नेपाली, हिमानी शाह समेत थाइल्याण्डबाट स्वदेश फिर्ता

    काठमाडौं । मंगलबार विदेशमा अलपत्र परेका नेपालीमध्ये ७ सय ८३ जनाले नेपालको भूमि टेक्न पाए । जसमा दुई यात्रु पूर्वराजकुमारी हिमानी शाह र उनका पुत्र हृदयेन्द्र शाह थिए । विभिन्न पाँच देशबाट चार्टर्ड उडानमार्फत ७८३ जना नेपाली स्वदेश फर्किएका हुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्ध देवेन्द्र केसीका अनुसार थाइल्यान्डबाट आएको नेपाल एयरलाइन्सको जहाजबाट हिमानी शाह र उनका पुत्र आएका थिए ।

    मंगलबार कतारको दोहाबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४४ जना नेपाली घर फर्किए । कतारबाट नेपालीका लागि दोस्रो उडान भएको छ । कुवेतको जजिरा एअरलाइन्सले आममाफी पाएका १६० जना नेपालीलाई निःशुल्क काठमाडौं ल्यायो । यसको खर्च कुवेत सरकारले बेहोरेको हो ।

    गैरकानुनी श्रमिकलाई आममाफी दिँदै कुवेत सरकारले हरेक दिन निःशुल्क कामदार काठमाडौं पठाइरहेको छ । थाइल्याण्डबाट भने आज ७८ जना स्वदेश फर्किए । सोही समुहमा हिमानी समेत थिइन् ।

    अस्ट्रेलियाको सिड्नीबाट पनि त्यहाँ रोकिएका नेपालीहरु स्वदेश फर्किएका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड वाइडबडी जहाजमार्फत २५८ जना आज स्वदेश फर्किए । माल्दिभ्ससबाट १४३ जना नेपाली घर फर्किएका छन् । बुधबार विभिन्न आधा दर्जन गन्तब्यबाट उडान हुने भएको छ ।

  • टेनिस स्टार नोभाक जोकोभिच दम्पत्तिलाई देखियो कोरोना

    टेनिस स्टार नोभाक जोकोभिच दम्पत्तिलाई देखियो कोरोना

    काठमाडौं । विश्‍व नम्बर एक साविर्याका टेनिस स्टार नोभाक जोकोभिच र उनकी पत्नी जेलेनामा कोरोना संक्रमण भएको छ । यो अहिलेसम्मकै स्टार खेलाडीमाथि कोरोनाको आक्रमण हो ।

    जोकोभिचको अगुवाईमा सम्पन्न एड्रिया टूर टेनिस प्रतियोगितामा भाग लिएका अन्य दुई खेलाडीमा कोरोना देखिएपछि जोकोभिचले परिक्षण गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । उक्त परीक्षणबाट दम्पत्तिमा कोरोना पुष्टी भएको हो ।

    जोकोभिचले ट्विटर ह्याडिलबाट यसको पुष्टी गरेका हुन् । आफ्नी पत्नीमा समेत परीक्षण नतिजा पोजेटिभ आएको उनको स्वीकारोक्ती छ । जोकोभिचका सन्तानमा भने कोरोना नदेखिएको बताइएको छ ।

    प्रतियोगितामा भाग लिएका कुल तीन जना खेलाडीमाथि कोरोनाको संक्रमण देखिएको हो । प्रतियोगितापछि खेलाडी र टीमका सदस्यले पार्टी मनाएको र त्यसपछि कोरोना पुष्टी भएपछि जोकोभिचको आलोचना समेत भइरहेको छ । जोकोभिचले प्रतियोगिता सकारात्मक कामका लागि आयोजना भएपनि अवस्था प्रतिकुल बनेको बताएका छन् ।

  • भारत-पाकिस्तान सीमा क्षेत्रमा एक गौर्खा सैनिकको मृत्यु

    भारत-पाकिस्तान सीमा क्षेत्रमा एक गौर्खा सैनिकको मृत्यु

    काठमाडौं । सोमबार भारत–पाकिस्तान सीमा क्षेत्रमा भएको तनावमा भारतीय सेनामा कार्यरत एक गोर्खा सैनिकको ज्यान गएको छ । भारतीय सेनामा कार्यरत नेपालीको ज्यान गएको भारतीय संचारमाध्यमले सैनिक स्रोतलाई उदृत गर्दै पुष्टी गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार जम्मु कश्मीरको रजौरी जिल्लामा रहेको लाइन अफ कन्ट्रोलमा भएको घटनामा उनको ज्यान गएको हो ।

    पाकिस्तानले लाइन अफ कन्ट्रोलमा युद्धविरामको उल्लंघन गर्दै गोलीबारी गरेको भारतीउ दावि छ । भारतीय सेनामा कार्यरत नेपाली दीपक कार्कीको मृत्यु भएको छ । उनी गुल्मीका स्थायी बासिन्दा हुन् । घटनामा परी गम्भीर घाइते भएको उनको उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ ।

    घटना सोमबार बिहान भएको थियो । भारत र पाकिस्तानको बीचमा तनाव जारी रहेको छ । यस भेगमा ठूलो संख्यामा गोर्खा सैनिक तैनाथ गरिएको छ । जुन महिनामा मात्र भारत–पाकिस्तान सीमा क्षेत्रमा ४ जना सैनिकको ज्यान गइसकेको छ । बढी संवेदनसिल क्षेत्रमा भारतले गोर्खा सैनिक खटाउने गरेको छ ।

  • कोरोनाको औषधी बनाएको बाबा रामदेवको दावी, प्रयोग र प्रचार-प्रसारमा सरकारको रोक

    कोरोनाको औषधी बनाएको बाबा रामदेवको दावी, प्रयोग र प्रचार-प्रसारमा सरकारको रोक

    नयाँ दिल्ली । भारतका चर्चित योग गुरु रामदेवले कोरोना भाइरससँग लड्ने आयुर्वेदिक औषधि पत्ता लगाएको दावि गरेका छन् । उनले मंगलबार औषधी सार्वजनिक गर्दै यसको प्रयोग भइसकेको र मानिसहरु निको भएको समेत दावि गरेका थिए । यता, भारत सरकारले भने बाबाको उक्त दाविसँगै पतञ्‍जली ग्रुपलाई औषधीको प्रयोग र प्रचार प्रसार रोक्न निर्देशन दिएको छ ।

    भारतीय संचारमाध्यमहरुका अनुसार भारत सरकारले यो औषधी कोरोना विरुद्ध आधिकारिक रुपमा परीक्षण नभएको भन्दै प्रचार प्रसार र प्रयोग रोक्न निर्देशन दिएको हो । भारतीय स्वास्थ्य मन्त्रालयले औषधिको आधिकारिक परीक्षण नभएसम्म प्रचार प्रसार नगर्न निर्देशन दिएको हो ।

    उता, उत्तराखण्ड सरकारको लाइसेन्सिङ्‍ग अथोरिटीबाट यस उत्पादनको अनुमतिपत्रको प्रतिलिपि माग भएको छ । मंगलवार बिहान पतञ्‍जलि आयुर्वेदका प्रमुख रामदेवले कोरोना भाइरसबाट बच्‍न कोरोनिल नामक आयुर्वेदिक औषधि तयार भएको बताएका थिए ।

    उनले यस औषधीबाट बिरामी ठीक भएको समेत दावि गरेका छन् । यता, मन्त्रालयले भने कोरोना भाइरस विरुद्ध औषधी निर्माणका बेला अपनाइएको विधि, अध्ययनको सम्पूर्ण विवरण समेत मागेको छ ।

    पतञ्‍जलिको कोरोना ट्याब्लेट बारे वैज्ञानिक परीक्षण नभएसम्म आधिकारिक पुष्टी नहुने स्पष्ट पारेको छ । कोरोना महामारीको औषधि बनाउन कम्पनीले मन्त्रालयबाट अनुमति अनिवार्य भएको र अनुमति पछि मात्र औषधी बनाउन सक्ने मन्त्रालयले जानकारी गराएको छ । रामदेवको औषधीले ७ दिनमा कोरोना संक्रमित ठिक भएको दावि गरिएको छ ।

  • काठमाडौं छिरेपछि १४ दिन होम क्वारेन्टिन

    काठमाडौं छिरेपछि १४ दिन होम क्वारेन्टिन

    काठमाडौं । अब काठमाडौं उपत्यकाबाट छिर्ने सबै मानिस १४ दिन होम क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रनेलाई १४ दिन क्वारेन्टाइनमा राख्न गृहमन्त्रालयले सरोकारवालालाई परिपत्र गरेको हो । अहिले घरधनीले पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण नगरी घरमा छिर्न नदिएको भन्दै परीक्षण गराउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सर्वसाधारणको भीड बढेको छ ।

    भीड व्यवस्थापन गर्न हम्मेहम्मे परेपछि सरकारले यस्तो नीति ल्याएको हो । पीसीआर टेष्ट गर्न भन्दै भीड बढेका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै उपत्यका बाहिरबाट आउनेलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिए मात्र अस्पताल आउने व्यवस्था गर्न गृहलाई अनुरोध गरेको थियो । गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई स्वास्थ्यको पत्रअनुसार निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब बाहिर जिल्लाबाट काठमाडौं उपत्यकामा आएपछि १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्छ । डा. गौतमका अनुसार उपत्यका बाहिरबाट आउनेलाई घरबेटीले कोरोना परीक्षणको रिपोर्ट माग्ने गरेको प्रति समेत मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख छ ।

    ‘काठमाडौं उपत्यकामा उपत्यका बाहिरबाट भित्रिने घरडेरा गरी बस्ने मानिसहरुलाई केही घरभेटीहरुले कोभिड १९ को पीसीआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाएको पाइएको उनले उल्लेख गरे ।

    यस सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकषर्ण भएको उनको भनाई छ । उनले उपत्यका बाहिरबाट काठमाडौं आउनेलाई कोरोना परीक्षणको दवाब नदिन समेत आग्रह गरे ।

  • नेपालमा थप ५३८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १० हजार ९९ पुग्यो

    नेपालमा थप ५३८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १० हजार ९९ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन थप ५ सय ३८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।

    अहिलेसम्म देशका ७७ जिल्लामध्ये ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

    पछिल्लो २४ घण्टामा ८२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म २ हजार २२४ जना कोरोना संक्रमित निको भइसकेका छन् भने २४ जनाको मृत्यु भएको छ ।

  • नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु,मृतकको संख्या २४ पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु,मृतकको संख्या २४ पुग्यो

    काठमाडौं । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। कर्णालीको सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति अनुसार दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षे पुरुषको सोमबार राति ९ बजे मृत्यु भएको हो।

    विगत २ महिनादेखि क्षयरोगको औषधि सेवन गर्दै आएका ती पुरुष असार ३ गते प्रदेश अस्पताल सुर्खेतको आकस्मिक कक्षमा उपचारका लागि भर्ना भएका थिए । उनमा असार ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    यो सँगै कर्णालीमा कोरोना संक्रमण पुष्टि भएका मृत्यु हुनेको संख्या ५ पुगेको छ। दैलेख २, सुर्खेत २ र डोल्पा १ गरी ५ पुगेको हो।

    देशभर भने योसँगै कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ।