Author: Vishwanews.com

  • पहिरोले तातोपानी नाका जाने बाटो थुनियो, स्वास्थ्य सामग्री बोकेका कन्टेनर अलपत्र 

    पहिरोले तातोपानी नाका जाने बाटो थुनियो, स्वास्थ्य सामग्री बोकेका कन्टेनर अलपत्र 

    सिन्धुपाल्चोक । तातोपानी नाका नजिकै पहिरोले बाटो अवरुद्ध गरेपछि चीनबाट स्वास्थ्य सामग्री लिएर फर्कने तयारीमा रहेका कन्टेर उतै रोकिएका छन् । सडक ठूलो पहिरो खसेर अवरुद्ध भएपछि चीन गएका ट्रक नाकामै अलपत्र परेका हुन् ।

    ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारेपछि तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनर बाटोमै अलपत्र परेको रेर थन्किएका इलाका प्रहरी कार्यालय कोदारीले जानकारी दिएको छ । तातोपानीको लिपी बजारदेखि २०० मिटर नजिकै भीरमा पहिरो गएको छ ।

    यहाँ १४ कन्टेनर बाटोमै रोकिएको बताइएको छ । चीनबाट फर्किएका कन्टेनरले कोरोनासँग लड्ने स्वास्थ्य सामग्री बोकेका छन् । नाकामा भने करिब ५० ट्रक र कन्टेनर रोकिएको प्रहरीले जनाएको छ ।

    यो स्थान पटक पटक पहिरो गइरहने भएकाले यस सडक खण्ड पटक पटक अवरुद्ध हुने गरेको छ । २६ माघबाट बन्द भएको तातोपानी नाका २६ चैतबाट खुलेको हो । अहिले चीनसँग यही नाका मात्र संचालनमा छ । रसुवागढी नाका भने बन्द रहेको छ ।

  • आज अष्ट्रेलियाबाट २५९ नेपालीको उद्दार गरिदै

    आज अष्ट्रेलियाबाट २५९ नेपालीको उद्दार गरिदै

    काठमाडौं । विदेशमा रहेका नेपालीको उद्दार गर्ने सिलसिलामा आज अष्ट्रेलियाबाट पहिलो चरणमा नेपालीहरु घर फर्कने भएका छन् । त्यसका लागि नेपाल एयरलाइन्सको जहाज अष्ट्रेलियाको सिड्नी पुगिसकेको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाज अन्नपूर्णले २५९ जना नेपालीलाई बोकर काठमाडौं आउनेछ ।

    उनीहरु अधिकांश छोराछोरी भेट्न पुगी उतै अलपत्र परेका नागरिक रहेको बताइएको छ । यस उडानमा न्यूजिल्याण्डबाट समेत ११ जना नेपाली मिसिएका छन् । उनीहरु बिहान न्यूजिल्याण्डबाट अष्ट्रेलिया आइपुगेका छन् । अष्ट्रलियाबाट नेपाल फर्किन इच्छुक नेपालीको संख्या १३ सय रहेको छ ।

    पहिलो चरणमा २५९ जनालाई काठमाडौं पठाउन लागिएको छ । यस गन्तब्यबाट प्रतियात्रु २ हजार ३ सय ५० अष्ट्रेलियन डलरमा उडान भएको हो । सबै यात्रुको पीसीआर परीक्षण गरिएको र नतिजा नेगेटिभ आएको बताइएको छ ।

    यो जहाज सिड्नी आउने क्रममा भने २९ जना अष्ट्रेलियन नागरिक तथा अष्ट्रेलियन स्थायी बासिन्दालाई लगेर गएको थियो । अष्ट्रेलियाबाट दोस्रो उद्दार उडान भने २७ जुनमा मेलबर्नबाट तोकिएको नेपाली दूतावासले जनाएको छ ।

  • नेपालमा लकडाउन खुकुलो भएपनि महामारी नटरेको डब्लूएचओको चेतावनी

    नेपालमा लकडाउन खुकुलो भएपनि महामारी नटरेको डब्लूएचओको चेतावनी

    काठमाडौं । नेपालमा लकडाउन खुकुलो भएपनि कोरोना महामारीको जोखिम भने कम नभएको विश्व स्वास्थ्य संगठनले बताएको छ । संगठनको नेपालस्थित कार्यालयले कोभिड १९ को महामारी कायमै रहेको भन्दै सतर्क सहत आम नागरिक र सरकारलाई सचेत समेत गराएको छ ।

    संगठनका नेपाल प्रमुख जोस भ्यान्डेलरले नेपाल सरकारले लकडाउन खुकुलो पारे पनि कोरोना महामारी नटरेको उल्लेख गरे । लकडाउन खुकुलो भएपछि शहर बजारमा सर्वसाधारणको क्रियाकलाप बढेको छ । कार्यालय सञ्चालनमा आएका छन् । यस अवस्थामा सबै जना चनाखो र सुरक्षित हुनुपर्ने उनको भनाई छ ।

    भ्यान्डेलरले सकेसम्म भिडभाडबाट टाढा रहन, जानै परे दूरी कायम गर्न, मास्क लगाउन र साबुन पानीले हात धुने सुझाव समेत दिएका छन् ।

    लकडाउन सबैका लागि मुस्किलको समय रहेको भन्दै तर महामारी भने अझै पनि रहेको र थप संक्रमणको डर रहेको समेत उनको भनाई छ । ज्वरो, खोकी वा कुनै शंकास्पद लक्षण देखिएमा तुरुन्त स्वास्थ्यकर्मीलाई देखाउन उनले आह्वान गरेका छन् ।

  • पर्यटनमन्त्री सहभागी वेवनारमा अश्लिल भिडियो बजेपछि…

    पर्यटनमन्त्री सहभागी वेवनारमा अश्लिल भिडियो बजेपछि…

    काठमाडौं । सोमबार सामाजिक संजाल एक रमाइलो समाचारका कारण तात्यो । त्यो थियो पर्यटन मन्त्री योगेश भट्टराईलाई कसैले अश्लिल भिडियो देखायो । सन्दर्भ हो, नेपाल पर्यटन बोर्डले आयोजना गरेको टूरिजम पोर्टोकल सार्वजनिक गर्न आयोजना भएको अनलाइन सम्मेलन ।

    जुम सफ्टवेयर प्रयोग गरी करीव २ सय जना सहभागी भएको बैठकमा जब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्बोधन थाले, त्यसपछि अकस्मात स्कृनमा अश्लिल भिडियो आइपुग्यो । भिडियो देखाउने मानिसले तथानाम म्यासेज लेख्यो, जुन सबै सहभागीले सजिलै पढ्न सक्थे । त्यसपछि आयोजकले बैठक सम्पन्न गर्यो ।

    देशको मन्त्री नै सहभागी भएको बैठकमा देखिएको यो हर्कतलाई धेरैले मजाक बनाएपनि यसले नेपालको सूचना प्रविधिमा सरकारी उदासिनताको एक उदाहरण भने पेश भएको छ । नेपाल पर्यटन बोर्डले वेवनारमा सहभागी हुन भन्दै आइतबारदेखि जुम बैठकको लिंक सामाजिक संजालमा राखेको थियो ।

    सम्भवतः सोही लिंकबाट एक्सेस लिएर ह्याकरले बैठकमा यो हर्कत गरेको हुन सक्ने आंशका गरिएको छ । बोर्डले यस घटनाप्रति माफी माग्दै छानविन प्रक्रिया शुरु भइसकेको बताएको छ ।

    पछिल्लो समय जुम सफ्टवेयरका सम्बन्धमा उपभोक्ताबाट यस प्रकारका गुनासा धेरै आएका छन् । लकडाउनका बेला यो सफ्टवेयर सामुहिक छलफलका लागि भने निकै उपयोगी सावित भइरहेको छ ।

  • पाल्पामा भिषण पहिरो, ४ गाडी पुरिए, तीन जनाको शव फेला

    पाल्पामा भिषण पहिरो, ४ गाडी पुरिए, तीन जनाको शव फेला

    बुटवल । पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारी भन्ने स्थानमा सोमबार भिषण पहिरो गएको छ । पहिरोले दुई वटा गाडी बगाएको थियो भने दुई गाडीमा क्षति पुर्याएको छ । दूर्घटनामा अहिलेसम्म ३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका एउटा मिनी ट्रक र पानी बोक्ने ट्यांकर पहिरोले बगाएको छ ।

    दूर्घटनामा तीन जना पुरुषको ज्यान गएको छ । तीनजना मध्ये दुईजनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

    पहिरोले अगाडिको सडक अवरुद्ध भएपछि रोकिएर मिनी ट्रक र ट्यांकरमाथि पहिरो खसेको थियो । पहिरोले सडकमै रोकेको एउटा कार र कुखुरा बोक्ने जिपमा समेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । रातभर परेको पानीले यस स्थानमा पहिलो गएको थियो ।

    सोहीकारण सवारी साधन रोकिएका थिए । त्यसै समय आएको पहिरोले ठूलो क्षति निम्त्याएको हो । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली खटिएको छ । प्रहरीले थप क्षतिको विवरण अझै सार्वजनिक गरेको छैन ।

  • नेपालमा एकैदिन ३७० जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या २१४२

    नेपालमा एकैदिन ३७० जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या २१४२

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ७० जना कोरोना संक्रमित  डिस्चार्ज भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न अस्पतालबाट संक्रमितहरु निको भएर घर फर्किएका हुन् ।

    सोमबार थपिएका ५३५ सहित नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । यो सहित कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार १ सय ४२ पुगेको छ । कुल संक्रमितमध्ये २३ जनाको मृत्यु भएको छ।

  • नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण, ९५६१ पुगे संक्रमित

    नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण, ९५६१ पुगे संक्रमित

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका ५३५ सहित नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।

    पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ३ सय ७० रहेको छ । जसमा यो सहित संक्रमण मुक्त हुनेको संख्या २ हजार १ सय ४२ पुगेको छ । कुल संक्रमितमध्ये २३ जनाको मृत्यु भएको छ। गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। अब नेपालमा रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिन बाँकी छ।

  • नेपालमा निरन्तर भारी वर्षा, बाढी र पहिरोको जोखिम

    नेपालमा निरन्तर भारी वर्षा, बाढी र पहिरोको जोखिम

    काठमाडौं । नेपालमा मनसुन शुरु भएसँगै भारी वर्षा जारी छ । सोमबार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र प्रदेश ५ का केही ठाउँमा ठूला वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अन्य स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ । ठूलो वर्षाका कारण पहाडी भेगमा पहिरो तथा खोलामा पानीको वहाव बढ्ने छ ।

    तराईमा समेत नदिको स्तर बढ्न सक्ने भन्दै सतर्कता अपनाृन विभागले आग्रह गरेको छ । भारी वर्षा हुने ठाउँका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखा आग्रह गरेको हो ।

    मनसुनी वायुको प्रभावका कारण नेपालमा वर्षा भइरहेको छ । यो आज दिनभर जारी रहनेछ । प्रदेश १, प्र्रदेश २, प्रदेश ५, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको मौसम बुलेटिनमा उल्लेख गरिएको छ ।

    राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा समान्य बदली हुनेछ । अन्य प्रदेशमा पूर्ण बदली रहने भएको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही ठाउँमा र प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको बुलेटिनमा उल्लेख छ ।

  • नेपालमा रसुवाबाहेक सबै जिल्लामा फैलियो कोरोना

    नेपालमा रसुवाबाहेक सबै जिल्लामा फैलियो कोरोना

    काठमाडौं । नेपालमा रसुवाबाहेक सबै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । केही दिन अगाडीसम्म अधिकांश हिमाली जिल्ला सुरक्षित रहेकोमा अब भने हिमाली भेगका समेत रसुवाबाहेक सबै जिल्लामा कोरोना भेटिएको हो । पछिल्लो समय ओखलढुंगामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै अब रसुवा मात्र सुरक्षित देखिएको छ ।

    नेपालमा एक सातामा ३ हजार २ सय ६६ जना सङ्क्रमित थपिए । अहिले नेपालमा देशभर ९ हजार २६ जना कोरोना भाइरसको संक्रमित पुगिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ ।

    नेपालमा २३ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । ३२ जेठमा रुकुमपश्चिममा संक्रमण देखिएसँगै माथिल्लो भेगमा संक्रमण पुष्टि हुन थालेको थियो । त्यसपछि क्रमशः मनाङ, मुस्ताङ र ओखलढुंगामा समेत कोरोना भेटिएको छ । मुस्ताङमा ८३ वर्षिय वृद्धमा शनिबार कोरोना सङ्क्रमण देखिएको हो ।

    आइतबार ओखलढुंगामा एक जनामा पुष्टी भएको छ । अब नेपालभर ७६ जिल्लामा कोरोना भाइरस पुगेको छ । नेपालमा अहिलेसम्म १ हजार ७ सय ७२ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।

  • सरकारी इन्डक्सन चुलो अब होम डेरीभरी

    सरकारी इन्डक्सन चुलो अब होम डेरीभरी

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको इनडक्सन चुल्हो अब होमडेरीका रुपमा घरमै प्राप्त गर्न सकिने भएको छ । कम्पनीले शनिबारदेखि काठमाडौं उपत्यकामा होम डेलीभरी सेवा थालेको हो । बाल्ट्रा कम्पनीको इन्फ्रारेड इन्डक्सन चुल्हो, जडिबुटी कम्पनीको स्यानिटाइजर, साल्ट ट्रेडिङको आयो नुन, गहुँको पिठो र दुग्ध विकास संस्थानको शुद्ध घिउ पनि होम डेरीभरी गरिने कम्पनीले जानकारी दिएको छ ।

    यसअघि कम्पनीले चामल, गेडागुडी लगायतका खाद्यन्नको चक्रपथभित्र मात्रै डेलिभरी सेवा दिएको थियो । अब भने सस्तो डिलसँगको सहकार्यमा सेवा विस्तार गरिएको हो । सस्तो डिलको वेबसाइटमा खाद्य कम्पनीको सामाग्री राखिने भएको छ ।

    उपभोक्ताको अर्डर आएपछि गोदाममा भएको सामान सस्तो डिलका कर्मचारीले ग्राहकको घरसम्म पुर्याउने भएका छन् । यसरी डेलिभरी दिँदा अर्डरको रकम भने खाद्य कम्पनीको बैंक खातामा जम्मा हुने गरी व्यवस्थापन मिलाइएको छ ।

    लकडाउन अवधिभर सस्तो डिलले डेलिभरीवापत कुनै शुल्क समेत नलिने भएको बताइएको छ । कम्पनीले बाल्ट्रा कम्पनीको इन्डक्सन ४ हजार रुपैयाँमा बेच्दैछ ।

  • आइतबार एकै दिन विदेशबाट फर्किए ११५० नेपाली

    आइतबार एकै दिन विदेशबाट फर्किए ११५० नेपाली

    काठमाडौं । आइतबार विभिन्न मुलुकबाट नेपालमा एकै दिन ११५० जना नेपाली घर फर्किएका छन् । कारोना भाइरसको महामारीका कारण संकटमा परेका नेपालीको उद्दारको काम अहिले भइरहेको छ । यसै क्रममा आइतबार मात्र एक शिशुसहित ११५० जना नेपाली घर फर्किएका हुन् ।

    कोभिड १९ संकट व्यवस्थापन सेन्टरको तथ्यांक अनसार आइतबार यूएईबाट ३३८ जना नेपाल आएका छन् । उनीहरु दुई वटा उडानबाट नेपाल आएका हन् । एक उडानमा १५३ र अर्को उडानमा १८५ जना थिए ।

    बंगलादेशबाट २५० जना आएका छन् । साउदी अरबबाट एक शिशुसहित २४७ जना, कुवेतबाट १६६ जना र कतारबाट १४९ जना स्वदेश फर्किएको तथ्यांक छ ।

    यूएई र मलेसियाबाट १५०, १५० जना घर फर्किएका छन् । उनीहरुलाई एक दिन होल्डिंग सेन्टरमा राखेर अर्को दिन सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा पठाइनेछ ।

  • स्कूल बन्द भएपनि विद्यालयले मागे शूल्क, सरकार मुकदर्शक

    स्कूल बन्द भएपनि विद्यालयले मागे शूल्क, सरकार मुकदर्शक

    काठमाडौं । सरकारले लकडाउन अवधिभर कुनै पनि प्रकारको शूल्क नलिन विद्यालय सञ्चालकलाई निर्देशन दिएको छ । तर, त्यसविपरित विद्यालय संचालकहरुले भने लकडाउन अवधिको समेत शुल्क बुझाउन अभिभावकलाई दवाव दिएका छन् । आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका हुन् ।

    उनीहरुले संयुक्र विज्ञप्ती जारी गर्दै २०७६ को बाँकी बक्यौता सम्भव भएसम्म चुक्ता गर्न र २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्न अभिभावकलाई आग्रह गरेका छन् । प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले विज्ञप्ती जारी गरेका हुन् । कोरोना भाइरसको महामारी शुरु भएपछि ११ चैतयता सबै विद्यालय बन्द छन् । सरकारले चैत महिनाको शुल्क नलिन विद्यालयहरूलाई निर्देशन दिइसकेको छ ।

    यसबीचमा विद्यालयले अनलाइन कक्षा चलाएका छन् । उक्त अनलाइन कक्षाको समेत शुल्क लिन नपाइने सरकारको निर्देशन छ । तर, त्यसविपरित विद्यालय संचालकले भने अभिभावकसँग शूल्क मागेका हुन् । लकडाउनले गर्दा विद्यालयको आम्दानी शून्य भएको भन्दै यसले देशभर करिब दुई लाख शिक्षक कर्मचारीको जीवनयापन कठिन भएको उनीहरुको तर्क रहेको छ ।

    सरकारले निजी विद्यालयलाई राहत प्याकेज नल्याएपछि विद्यार्थीसँग शुल्क उठाउनुको विकल्प नभएको समेत उनीहरुले बताएका छन् । यस सम्बन्धमा भने सरकारले कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

  • सुनको मूल्य तोलाको ९० हजार नाघ्यो

    सुनको मूल्य तोलाको ९० हजार नाघ्यो

    काठमाडौं । नेपालमा सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । अब सुन प्रतितोला मूल्य ९० हजारभन्दा माथि पुगेको छ । लकडाउनको अवधिमै तोलामा १० हजारभन्दा माथिको वृद्धि भइसकेको छ । शनिबारको तुलनामा भने आइतबार तोलामा ७ सय रुपैयाँ बढ्यो । छापावाल सुनको मूल्य ९० हजार ६ सय र तेजाबी सुनको प्रतितोला भाउ ९० हजार तीन सय रुपैयाँ पुगेको छ ।

    आइतबारको मूल्य नेपाली बजारको अहिलेसम्मकै सर्वाधिक रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । शुक्रबार छापावाला सुनको भाउ तोलामा ८९ हजार ९ सय र तेजाबी ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

    आइतबारकालागि महासंघले चाँदीको भाउ भने ९४० रुपैयाँ तोकेको छ । चाँदीको भाउ शुक्रबारको तुलनामा १० रुपैयाँ तोलामा बृद्धि भएको छ । सरकारले सुनको आयातमा भन्सार बढाएको र अन्तर्राष्ट्रिय मूल्य समेत निरन्तर बढ्दा सुनको मूल्यको आकास छोएको हो ।

  • नागरिकता विधेयक संसदीय समितिबाट पारित, विपक्षी दलको असहमति

    नागरिकता विधेयक संसदीय समितिबाट पारित, विपक्षी दलको असहमति

    काठमाडौं । नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी नागरिकलाई नेपालमा सात वर्ष लगातार बसेपछि मात्र अंगीकृत नागरिकता दिनेसम्बन्धी व्यवस्था संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेको छ । यो व्यवस्था संसदीय समितिमा बहुमतले पारित भएको हो । आइतवार बसेको समितिको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र समाजवादी जनता पार्टीले भने फरक मत राखे ।

    तर, शनिबार नेकपाले यो प्रावधानको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । सोहीकारण बहुमतले विदेशी बुहारीलाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने गरी नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव पारित भएको हो । प्रस्तावको पक्षमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद देखिए । प्रमुख प्रतिपक्ष कांग्रेस र जनता समाजवादीका सांसद विपक्षमा रहे ।

    उनीहरुले बिहे भएर नेपाल आउनासाथ वा महिलाले चाहेको समयमा नागरिकता पाउनु पर्ने अडान राखेका छन् । समितिबाट पारित भ्एको विधेयक प्रतिनिधिसभामा पेश हुन्छ । विपक्षीले भने विदेशी महिलालाई सात वर्ष पछिमात्रै अंगीकृत नागरिकता दिने विषय व्यवहारिक नहुने र संविधानको मर्म विपरीत हुने तर्क राखेका छन् ।

    तराई मधेसमा अधिकांश व्यक्तिको विवाह भारतमा हुने भएकले यसले नेपाल र भारतबीचको भगिनी सम्बन्धमै असर पर्न सक्ने विपक्षी सांसदहरुको तर्क रहेको छ । यता, सत्तारुढ दलले बहुमतिको बलमा विधेयक पारित गरेपछि विपक्षी दल भने मोर्चाबन्दीमा उत्रिएका छन् । उनीहरुले एक स्वरमा यो प्रावधानको विरोध गरेका हुन् ।

  • नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण, ९०२६ पुगे संक्रमित

    नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण, ९०२६ पुगे संक्रमित

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    आज थपिएका सहित ४२१ सहित नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप १९४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १७७२ पुगेको छ।

    कुल संक्रमितमध्ये २३ जनाको मृत्यु भएको छ।

    प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७५ जिल्लामा संक्रमण देखिएको छ।

  • नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार गुल्मीमा होम-क्वारेन्टिनमा बसेकाबेला मृत्युु भएका ६९ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको हो ।

    करिब दुई हप्ताअघि भारतको मुम्बईबाट आई होम क्वारेन्टिनमा बसेका छत्रकोट गाउँपालिकाका ती पुरूषको बिहीबार राति मृत्यु भएको थियो।

    मुम्बईबाट आएका उनलाई प्यारालाइसिसको समस्या रहेपछि गाउँपालिकाको वडा नम्बर ५ मैनडाँडामा रहेको घरमै रेखदेख गर्नेगरी राखिएको थियो।

    उनलाई घरमा ल्याएपछि नै आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको भए पनि पिसिआर परीक्षणको लागि भने शुक्रवार बिहानमात्र उनको स्वाब संकलन गरिएको थियो। यो सहित नेपालमा कोेरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

  • साउदीबाट बिहानै फर्किए २४६ नेपाली, अन्य मुलुकबाट पनि आधा दर्जन उडानको तयारी

    साउदीबाट बिहानै फर्किए २४६ नेपाली, अन्य मुलुकबाट पनि आधा दर्जन उडानको तयारी

    काठमाडौं । साउदीको रियादबाट आइतबार बिहानै २४७ जना नेपाली काठमाडौं अवतरण गरेका छन् । नेपाल एअरलाइन्सको वाइडबडी जहाजबाट उनीहरु काठमाडौं आएका हुन् । यस उडानमा एक नाबालकसहित २४७ जना नेपाली थिए । साउदीस्थित नेपाली दूतावासका अनुसार यस उडानमार्फत ६ महिनादेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका ४ महिलासहित १२ जना महिला र बाँकी पुरुष घर फर्किएका हुन् ।

    आज यूएईबाट तीन उडानमार्फत नेपाली स्वदेश फर्कनेछन् । कुवेतमा आममाफीमा सहभागी नेपाली पनि स्वदेश फर्कंने भएका छन् । कतारको दोहाबाट पनि नेपाली आउनेछन् । मलेसियाबाट पनि नेपाली फर्कने कार्यक्रम रहेको छ ।

    यूएईको आबुधाबीबाट १ सय ५१ जना नेपाली लिएर हिमालय एअरलाइन्सको जहाज काठमाडौंका लागि उडिसकेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । यो जहाजमा २ जना नाबालक सहित २६ जना महिला र १ सय २३ जना पुरुष छन् ।

    नेपाल फर्किनेहरुमा ज्येष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेका नेपाली छन् ।

  • आज अन्तराष्ट्रिय योग दिवस, संसारभर मनाइदै

    आज अन्तराष्ट्रिय योग दिवस, संसारभर मनाइदै

    काठमाडौ‌ँ । आज संसारभर अन्तराष्ट्रिय योग दिवस मनाइन्छ । जुन महिनाको २१ औँ तारिखका दिन संयुक्त राष्ट्रसंघले योग दिवस घोषणा गरेको हो । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए ।

    प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री स्व‍. सुशील कोइरालाले समर्थन गरेका थिए । प्रस्तावलाई अहिले विश्वका अधिकांश मुलुकको समर्थन प्राप्त भइसकेको छ । योग दिवसका अवसरमा विभिन्न सङ्घसंस्थाले कार्यक्रम आयोजना गरिरहेको छन् । यस वर्ष प्रत्यक्ष भेटघाटको साटो प्रविधिका माध्यमबाट सबैले घर घरमा योगा गरी यो दिवस मनाउँदैछन् ।

    योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुने यसका अभियन्ताहरु बताउँछन् । यस वर्ष ‘घरघरमा योग, परिवारका साथमा योग’ भन्ने राखिएको छ ।

  • आज खण्डग्रास सूर्यग्रहण, नेपालबाट ९८ प्रतिशतसम्म देखिने

    आज खण्डग्रास सूर्यग्रहण, नेपालबाट ९८ प्रतिशतसम्म देखिने

    काठमाडौं । नेपालमा आज खण्डग्रास सूर्यग्रहण लाग्दैछ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सूर्यग्रहण सुरु हुने भएको छ । यो ग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुनेछ । मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिने भएको छ । यस बेला भूसतहको तापक्रम घटेर चिसो हुने भएको छ ।

    नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने खगोलविद्हरुले बताएका छन् । बीपी कोइराला मोमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी विज्ञान संग्रहालय, विकास समितिका अनुसार पोखरामा विहान १० बजेर ५२ मिनेटमा, महेन्द्रनगरमा १० बजेर ५४ मिनेटमा, जनकपुरमा १० बजेर ५६ मिनेटमा र भद्रपुरमा ११ बजेर ५२ मिनेटमा सूर्यग्रहण सुरु हुने भएको छ ।

    जनकपुरबाट ८२ प्रतिशत, पोखराबाट ८८ प्रतिशत, झापाको भद्रपुरबाट ८१ प्रतिशत र कन्चनपुरको महेन्द्रनगरबाट ९३ प्रतिशत सूर्य ढाकेको देखिने भएको छ । नेपालका लागि यो सूर्यग्रहण महत्वपूर्ण रहेको छ । अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण नेपालमा देखिने भएको छ ।

    सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा सूर्य छेकिन गइ चन्द्रमाको छायाँ पृथ्वीमा पर्नु नै सूर्य ग्रहण हो । धर्मशास्त्रका अनुसार सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि तथा मकर राशि भएका मानिसले मात्र हेर्न हुन्छ । सूर्यग्रहण नाङ्गो आँखाले हेर्नु हुँदैन ।

  • कुवेतबाट उद्दार गरिएका ७ महिलामा देखियो कोरोना

    कुवेतबाट उद्दार गरिएका ७ महिलामा देखियो कोरोना

    काठमाडौं । कुवेतबाट नेपाल फर्किएका ७ जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनका दौरान उपत्यकामा ८ जना महिलामा संक्रमण पुष्टी भएको बताएको छ । उनीहरुमध्ये ७ जना कुवेतबाट फर्केर खरिपाटी क्वारेन्निमा बसेका महिला भएको पुष्टी भएको छ । अन्य एक जना महिला भने काठमाडौंको रहेको बताइएको छ ।

    अहिले विदेशबाट धमाधम नेपालीको उद्दार भइरहेको छ । नेपाल आउने क्रममा सबैको पीसीआर परिक्षण गरिएको हुनुपर्ने शर्त राखेको भएपनि विभिन्न समस्याका कारण सबै नेपालीले परिक्षण गर्न सकेका छैनन् ।

  • भारत र चीनलाई नेपालको सुझाव : शान्तिपूर्ण निकास खोज

    भारत र चीनलाई नेपालको सुझाव : शान्तिपूर्ण निकास खोज

    काठमाडौं । भारत र चीनबीच चर्किएको सीमा विवादका बीच यी दुई मुलुकको बीचमा रहेको मुलुक नेपालले औपचारिक धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै समस्या समाधानमा शान्तिपूर्ण उपायको खोजी गर्न दुबै मुलुकलाई आग्रह गरिएको छ ।

    दुई देशबीचको विवाद शान्तिपूर्ण तरिकाबाट समाधान हुनुपर्ने नेपालको अडान यहाँ दोहोर्याइएको छ । नेपाल जहिले पनि क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको मन्त्रालयको भनाई छ । परराष्ट्र मन्त्रालयले गलवान उपत्यकामा देखिएको विवाद दुवै देशले शान्तिपूर्ण तरिकाबाट समाधान खोज्ने विश्वास लिएको छ ।

    भारत र चीनको सीमा विवादका दौरान लद्दाखमा २० भारतीय सैनिक मारिएका छन् । यसबाहेक अन्य कैयौं घाइते भएको बताइएकोे छ । चीनतर्फको क्षति भने सार्वजनिक भएको छैन ।

  • तराईबाट पहाड र हिमालतर्फ सर्दैछ कोरोना, शनिबार कुन जिल्लामा कति संक्रमित थपिए ?

    तराईबाट पहाड र हिमालतर्फ सर्दैछ कोरोना, शनिबार कुन जिल्लामा कति संक्रमित थपिए ?

    काठमाडौं । कोरोना भाइरसको संक्रमण अब तराई भन्दा बढी पहाड र हिमाली भेगमा फैलन थालेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार २४ घण्टामा नेपालमा ३ सय ३१ जना नयाँ कोरोना संक्रमित भेटिए । उनीहरु धेरैजसो पहाडी भेगका मानिस हुन् । भारतबाट आएका मानिसहरु आआफ्नो घरमा गएसँगै पहाड र हिमालमा समेत कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएकामध्ये ४९ जना महिला हुन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका २ जना र सुनसरीका १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    उता, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ८ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा महोत्तरीका २४ जना र सर्लाहीका ३ जनासमेत कोरोना संक्रमित पाइएका छन्। नारायणी अस्पतालको प्रयोगशालामा बाराका ३ जना समेत संक्रमित पाइएका छन्।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बाराका १, बाग्लुङका १४ जना, बैतडीका १८, गुल्मीका १८ जना, डडेल्धुरा १२ जना, डोटीका ६१ जना, कैलालीका १ जना, काठमाडौंका १, नवलपरासी पूर्वका १७ जना, नवलपरासी पश्चिमका १ जना, पाल्पाका १, रामेछापका ३ जना, रौतहटका २, सर्लाहीका ६ जना र रुपन्देहीका १ जनामा समेत कोरोना संक्रमण पाइएको मन्त्रालयको तथ्यांक छ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु प्रयोगशालामा धादिङका ८ जना, पाल्पाका १६ जना र भक्तपुरका ७ जनामा समेत कोरोना संक्रमण पाइएको छ। भरतपुर अस्पतालको प्रयोगशालामा नवलपरासी पूर्वका ४ जना र स्याङ्जाका १ जनामा समेत कोरोना संक्रमण पाइएको छ।

    कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको प्रयोगशालामा रौतहटका ५ जना, त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा कैलालीका २ जना, पोखरा प्रतिष्ठानको प्रयोगशालामा बाग्लुङका ६ जना, पोखराकै क्षयरोग केन्द्र प्रयोगशालामा नवलपरासी पूर्वका ११ जना र तनहुँका २३ जनामा समेत कोरोना संक्रमण पाइएको छ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पाल्पाका १६ जनासमेत संक्रमित पाइएका छन्। बाँकेको भेरी अस्पतालको प्रयोगशालामा बाँकेका १४ जना र बर्दियाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमद्धारा जारी तथ्यांकमा उल्लेख छ ।

    नेपालमा २४ घण्टामा १ सय ७६ जना निको भए । अहिलेसम्म नेपालमा २४ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

  • थप १७६ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या १५७८

    थप १७६ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या १५७८

    काठमाडौं  । पछिल्लो २४ घण्टामा थप १७६ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न स्थानका अस्पतालबाट उनिहरु संक्रमणमुक्त भएका हुन् । मन्त्रालयको अध्यावधिक विवरणअनुसार सिराहा अस्पतालबाट २६ जना र आइसोलेशन सेन्टर बाँकेबाट ५४ जना जनाले कोरोना जितेको छन् ।

    कोशी अस्तपाल विराटनगरबाट ११ जना, सल्यानका ११ जना, सुर्खेतका १३ जना, दाङका ५ जनासमेत उपचार पछि निको भएर घर फर्किएका हुन्।

    यस्तै, डडेल्धुराका २ जना, अछामका ५ जना, दार्चुलाका २ जना, डोटीका ९ जना, धनगढीमा उपचाररत ८ जना, कैलालीको टीकापुरमा उपचाररत ४ जना, कैलालीकै १ जना, कञ्चनपुरका ६ जना, कैलालीकै ८ जना, चितवनमा उपचाररत ३ जना र नवलपरासी पूर्वमा उपचार गरी निको भएर ४ जना घर फर्कीएको मन्त्रालयले जानकारी दिएको हो।

    डिस्चार्ज हुनेमा १८ महिला र १५८ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

    योसहित नेपालमा हालसम्म १ हजार ५ सय ७८ जना उपचारपछि निको भएका छन्।

    नेपालमा हालसम्म २२ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

  • उपत्यकामा थप ८ महिलामा कोरोना संक्रमण

    उपत्यकामा थप ८ महिलामा कोरोना संक्रमण

    काठमाडौं । उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार भक्तपुरका सात जना महिलामा कोरोना संक्रमण देखिएको छ।

    शुक्रराज ट्रपिकल अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका सात जना महिलामा कोरोना देखिएको हो। त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका एक महिलामा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ८६०५ पुगेको छ भने १ हजार ५ सय ७८ जना निको भएर घर फर्किएका छन् ।

  • नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८६०५

    नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८६०५

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित संक्रमितको संख्या ८६०५ पुगेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १७६ रहेको छ ।

  • नेकपा विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने पक्षमा

    नेकपा विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने पक्षमा

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विदेशी बुहारीको सन्दर्भमा ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उभिने भएको छ । शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता विधेयकमा आफ्नो अडानका सम्बन्धमा औपचारिक निर्णय गरेको हो ।

    नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने गरी पार्टीमा सहमति जुटेको छ । नागरिकता विधेयक राज्य व्यवस्था समितिमा छलफलको क्रममा रहेको छ ।

    विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरुको माग थियो । त्यो माग भने अस्वीकृत भएको छ । विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्तावमा कांग्रेस र मधेस केन्द्रित दल भने सहमत र्भका छैनन् । संसदमा नेकपाको बहुमत छ ।

    सोहीकारण बहुमतका आधारमा भए पनि निर्णय गरेर अघि बढ्ने सहमति पार्टीले गरेको हो । नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि विचाराधिन अवस्थामा रहेको छ ।

  • वैदेशिक रोजगारी आंशिक खुला, विद्यार्थी समेत विदेश जान पाउने

    वैदेशिक रोजगारी आंशिक खुला, विद्यार्थी समेत विदेश जान पाउने

    काठमाडौं । सरकारले वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने नेपाली नागरिकलाई सरकारले अनुमति दिने भएको छ । आंशिक रुपमा वैदेशिक रोजगारी खुला गर्ने निर्णय सरकारले गरेको हो । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबारको बैठकले नेपालमा बिदामा आएका र सम्बन्धित मुलुक तथा कम्पनीबाट अनुमति प्राप्त कामदारले रोजगारीमा जान पाउने भएका छन् ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसमा उनीहरु विदेश जान सक्ने भएका छन् । सरकारले ३० फागुनदेखि श्रम स्वीकृति बन्द गरेको छ । बैदेशिक रोजगारीमा रहेका विदामा घर आएका बेला नेपालमै रोकिएका कारण उनीहरुको रोजिरोटी सुरक्षा गर्ने चूनौति सरकारसँग रहेको छ ।

    कामदार र कम्पनीले नेपाली कामदारलाई विदेश पठाउने अनुमति मागिरहेका छन् । तत्कालका लागि अहिले विदामा आएका र करार अवधि बाँकी रहेका कामदार मात्र पठाइने भएको छ ।

    नयाँ कामदारको हकमा भने निर्णय भएको छैन । विदेशमा अध्ययनरत विद्यार्थी समेत अब शिक्षा मन्त्रालयको सिफारिसमा विदेश जान सक्ने भएका छन् ।

  • गण्डकी प्रदेशमा शनिबार बिहानै ५८ संक्रमित थप

    गण्डकी प्रदेशमा शनिबार बिहानै ५८ संक्रमित थप

    पोखरा । गण्डकी प्रदेशमा शनिबार बिहानै ५८ जना कोरोना संक्रमित फेला परेका छन् । प्रदेशका ७ जिल्लामा ५८ जना कोरोना संक्रमित पुष्टी भएको हो । शनिबार तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुने व्यक्तिको संख्या संख्या ४३८ पुगेको छ । देशभर भने करीव ९ हजार मानिसमा संक्रमण पुष्टी भइसकेको छ ।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार नयाँ संक्रमितहरुमध्ये तनहुँको ऋषिङ गाउँपालिकाबाट मात्र २१ जना भेटिएका छन् । उनीहरु १ वर्षका बालकदेखि ३७ वर्ष उमेर समूहका युवा छन् ।

    तनहुकै ब्यास नगरपालिकामा २४ र २८ वर्षका दुई जना पुरुष तथा शुक्लागण्डकी नगरपालिकाका ३५ र २२ वर्षका दुई जना पुरुषमा कोरोना भेटिएको छ । नवलपुर जिल्लाका १६ संक्रमितहरुमध्ये बुलिङटार गाउँपालिकाका मात्रै ११ जना छन् । उनीहरु १७ वर्षदेखि ३७ वर्ष उमेर समूहका पुरुषहरु हुन् । यस्तै मध्यविन्दु नगरपालिकाका २५ र ४५ वर्ष उमेर समूहका दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

    नवलपुरकै बौदीकाली गाउँपालिकाका ४७ वर्षीय पुरुष, विनयत्रिवेणी गाउँपालिका २१ वर्षीय पुरुष र देवचुली नगरपालिकाका १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पाइएको छ ।
    बाग्लुङको काठेगाखोला गाउँपालिकामा ७ जना पुरुष र एक जना महिला गरी ८ जना नयाँ संक्रमित फेला परेका छन् । उनीहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् ।

    स्वास्थ्य निर्देशनालय पोखराले शनिबार बिहान जारी गरेको सूचनाअनुसार गोरखाको भिमसेन नगरपालिकामा ३६, ३३, २२, ३५ र २८ वर्षका पाँच जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    कास्कीको मादी गाउँपालिका ४१ वर्षीय पुरुष र १९ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

    यसैगरी म्याग्दीको मालिका गाउँपालिकामा ३० वर्षीय पुरुष र स्याङ्जाको पालिका नखुलेको २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उल्लेख गरेको छ ।

  • एमसीसीतर्फ संकेत गर्दै प्रचण्ड भन्छन् : सैन्य गठबन्धनसँग सम्बन्धित विदेशी सहायता अस्वीकार्य

    एमसीसीतर्फ संकेत गर्दै प्रचण्ड भन्छन् : सैन्य गठबन्धनसँग सम्बन्धित विदेशी सहायता अस्वीकार्य

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहायता स्वीकार गर्ने वा नगर्ने भन्ने सम्बन्धमा विवाद भइरहेका बेला सैन्य गठबन्धनसँग जोडिने कुनै पनि विदेशी सहयोग नेपालले स्वीकार नगर्ने बताएका छन् । एमसीसी सैन्य गठबन्धनको एक पाटो भएको नेकपा कार्यदलले निष्कर्ष निकालेको थियो ।

    नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) बीच शुक्रबार राजधानीमा संयुक्त भर्चुअल कार्यशाला सम्पन्न भयो । कार्याशालालाई शुक्रबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयबाट सम्बोधन गरेका प्रचण्डले नेपालले सैन्य गठबन्धनका लागि वितरण गरिएका कुनै पनि सहायता स्वीकार नगर्ने उल्लेख गरे ।

    नेपाल विकासको चरणमा रहेको भन्दै उनले यसबेला ठूलो सहयोग आवश्यक रहेको बताए । तर, सहयोगको नाममा नेपाल कुनै पनि सैन्य गठबन्धनमा भने जोडिन नसक्ने स्पष्ट पारे । नेकपाभित्र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा गम्भीर विवाद कायम छ ।

    एमसीसी अमेरिकी इन्डो प्यासिफिक सैन्य रणनीतिको एक भाग रहेको नेकपाका नेताहरु नै बताउँछन् । नेकपामा प्रचण्डले एमसीसीबारे ठोस धारणा सार्वजनिक गरेका छैनन् । नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने एमसिसी जसरी पनि पास गर्ने पक्षमा छन् । उनी पार्टीमा एमसीसीको पक्षमा बहुमत जुटाउने प्रयासमा छन् ।

    शुक्रबार पनि अध्यक्ष दाहालले एमसीसी र अमेरिकाको नाम भने लिएनन् । तर, उनको संकेत संशोधन बीना एमसीसी पास नहुने भन्नेमै थियो । नेपालले असंलग्न विदेश नीति अवलम्बन गर्दै आएको उनले स्मरण गरे ।

    नेपालको संविधानसँग बाझिने गरी, कुनै पनि पनि सैन्य गठबन्धनमा आवद्ध हुनुपर्ने सहयोग नेपाललाई स्वीकार्य हुन नसक्ने उनको भनाई छ । उनले नेपाल दुबै छिमेकीसँग द्वन्द्व नचाहेको समेत स्ष्ट पारे ।

    नेपाल र भारतबीचको सीमा विवादबारे बोल्दै उनले छिमेकीहरुसँगको विवाद समाधानमा नेपाल वार्ताको पक्षमा रहने उल्लेख गरे । उक्त बैठकमा नेकपा स्कुल विभाग प्रमुख तथा रक्षामन्त्री ईश्‍वर पोखरेल पनि सहभागी थिए । उनले कोभिड(१९ नियन्त्रणमा चीनले गरेको सहयोगप्रति धन्यवाद दिए।

  • काकडभिट्टाबाट भारत जाने नेपाली सामान सीमामा रोकिए

    काकडभिट्टाबाट भारत जाने नेपाली सामान सीमामा रोकिए

    झापा । भारतले काँकडभिट्टा नाकाबाट भारततर्फ निर्यात हुने नेपाली मालवस्तुलाई रोकेको छ । लकडाउन सुरू भएयता उक्त नाकाबाट सबै मालवस्तु निर्यात रोक लगाइएको थियो । बीचमा केही समय खुला भएपनि फेरी बन्द भएको छ । बिहीबार नेपालबाट भारत तथा बंगलादेश जान हिँडेका चिया, अलैंची र अम्रीसोका बोकेका ट्रक सीमानामा अड्किएका हुन ।

    ट्रक मेची पुलमा लामबद्ध भएका छन् । भारतले एकतर्फी रोक लगाएको मेची भन्सार कार्यालयले जानकारी दिएको छ । निर्यातमा रोक लगाइए पनि आयात भने भइरहेको छ ।
    लकडाउनपछि पश्चिम बंगाल सरकारले नेपालबाट जाने वस्तुहरूमा रोक लगाएको हो । लकडाउन खुकुलो भएसँगै अनुमति पाइन्छ भन्ने विश्वासहित गएका ट्रक पुलमा रोकिएका हुन् । यो नाकाबाट नेपालमा उत्पादन भएका कृषि वस्तुको निर्यात हुने गरेको छ । बंगलादेशसँग छोटो नाका यहाँबाट पर्छ ।