Author: Vishwanews.com

  • तराईबाट पहाड र हिमालतर्फ सर्दैछ कोरोना, शनिबार कुन जिल्लामा कति संक्रमित थपिए ?

    तराईबाट पहाड र हिमालतर्फ सर्दैछ कोरोना, शनिबार कुन जिल्लामा कति संक्रमित थपिए ?

    काठमाडौं । कोरोना भाइरसको संक्रमण अब तराई भन्दा बढी पहाड र हिमाली भेगमा फैलन थालेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार २४ घण्टामा नेपालमा ३ सय ३१ जना नयाँ कोरोना संक्रमित भेटिए । उनीहरु धेरैजसो पहाडी भेगका मानिस हुन् । भारतबाट आएका मानिसहरु आआफ्नो घरमा गएसँगै पहाड र हिमालमा समेत कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएकामध्ये ४९ जना महिला हुन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका २ जना र सुनसरीका १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    उता, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ८ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा महोत्तरीका २४ जना र सर्लाहीका ३ जनासमेत कोरोना संक्रमित पाइएका छन्। नारायणी अस्पतालको प्रयोगशालामा बाराका ३ जना समेत संक्रमित पाइएका छन्।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बाराका १, बाग्लुङका १४ जना, बैतडीका १८, गुल्मीका १८ जना, डडेल्धुरा १२ जना, डोटीका ६१ जना, कैलालीका १ जना, काठमाडौंका १, नवलपरासी पूर्वका १७ जना, नवलपरासी पश्चिमका १ जना, पाल्पाका १, रामेछापका ३ जना, रौतहटका २, सर्लाहीका ६ जना र रुपन्देहीका १ जनामा समेत कोरोना संक्रमण पाइएको मन्त्रालयको तथ्यांक छ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु प्रयोगशालामा धादिङका ८ जना, पाल्पाका १६ जना र भक्तपुरका ७ जनामा समेत कोरोना संक्रमण पाइएको छ। भरतपुर अस्पतालको प्रयोगशालामा नवलपरासी पूर्वका ४ जना र स्याङ्जाका १ जनामा समेत कोरोना संक्रमण पाइएको छ।

    कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको प्रयोगशालामा रौतहटका ५ जना, त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा कैलालीका २ जना, पोखरा प्रतिष्ठानको प्रयोगशालामा बाग्लुङका ६ जना, पोखराकै क्षयरोग केन्द्र प्रयोगशालामा नवलपरासी पूर्वका ११ जना र तनहुँका २३ जनामा समेत कोरोना संक्रमण पाइएको छ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पाल्पाका १६ जनासमेत संक्रमित पाइएका छन्। बाँकेको भेरी अस्पतालको प्रयोगशालामा बाँकेका १४ जना र बर्दियाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमद्धारा जारी तथ्यांकमा उल्लेख छ ।

    नेपालमा २४ घण्टामा १ सय ७६ जना निको भए । अहिलेसम्म नेपालमा २४ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

  • थप १७६ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या १५७८

    थप १७६ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या १५७८

    काठमाडौं  । पछिल्लो २४ घण्टामा थप १७६ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न स्थानका अस्पतालबाट उनिहरु संक्रमणमुक्त भएका हुन् । मन्त्रालयको अध्यावधिक विवरणअनुसार सिराहा अस्पतालबाट २६ जना र आइसोलेशन सेन्टर बाँकेबाट ५४ जना जनाले कोरोना जितेको छन् ।

    कोशी अस्तपाल विराटनगरबाट ११ जना, सल्यानका ११ जना, सुर्खेतका १३ जना, दाङका ५ जनासमेत उपचार पछि निको भएर घर फर्किएका हुन्।

    यस्तै, डडेल्धुराका २ जना, अछामका ५ जना, दार्चुलाका २ जना, डोटीका ९ जना, धनगढीमा उपचाररत ८ जना, कैलालीको टीकापुरमा उपचाररत ४ जना, कैलालीकै १ जना, कञ्चनपुरका ६ जना, कैलालीकै ८ जना, चितवनमा उपचाररत ३ जना र नवलपरासी पूर्वमा उपचार गरी निको भएर ४ जना घर फर्कीएको मन्त्रालयले जानकारी दिएको हो।

    डिस्चार्ज हुनेमा १८ महिला र १५८ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

    योसहित नेपालमा हालसम्म १ हजार ५ सय ७८ जना उपचारपछि निको भएका छन्।

    नेपालमा हालसम्म २२ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

  • उपत्यकामा थप ८ महिलामा कोरोना संक्रमण

    उपत्यकामा थप ८ महिलामा कोरोना संक्रमण

    काठमाडौं । उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार भक्तपुरका सात जना महिलामा कोरोना संक्रमण देखिएको छ।

    शुक्रराज ट्रपिकल अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका सात जना महिलामा कोरोना देखिएको हो। त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका एक महिलामा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ८६०५ पुगेको छ भने १ हजार ५ सय ७८ जना निको भएर घर फर्किएका छन् ।

  • नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८६०५

    नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८६०५

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित संक्रमितको संख्या ८६०५ पुगेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १७६ रहेको छ ।

  • नेकपा विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने पक्षमा

    नेकपा विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने पक्षमा

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विदेशी बुहारीको सन्दर्भमा ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उभिने भएको छ । शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता विधेयकमा आफ्नो अडानका सम्बन्धमा औपचारिक निर्णय गरेको हो ।

    नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने गरी पार्टीमा सहमति जुटेको छ । नागरिकता विधेयक राज्य व्यवस्था समितिमा छलफलको क्रममा रहेको छ ।

    विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरुको माग थियो । त्यो माग भने अस्वीकृत भएको छ । विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्तावमा कांग्रेस र मधेस केन्द्रित दल भने सहमत र्भका छैनन् । संसदमा नेकपाको बहुमत छ ।

    सोहीकारण बहुमतका आधारमा भए पनि निर्णय गरेर अघि बढ्ने सहमति पार्टीले गरेको हो । नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि विचाराधिन अवस्थामा रहेको छ ।

  • वैदेशिक रोजगारी आंशिक खुला, विद्यार्थी समेत विदेश जान पाउने

    वैदेशिक रोजगारी आंशिक खुला, विद्यार्थी समेत विदेश जान पाउने

    काठमाडौं । सरकारले वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने नेपाली नागरिकलाई सरकारले अनुमति दिने भएको छ । आंशिक रुपमा वैदेशिक रोजगारी खुला गर्ने निर्णय सरकारले गरेको हो । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबारको बैठकले नेपालमा बिदामा आएका र सम्बन्धित मुलुक तथा कम्पनीबाट अनुमति प्राप्त कामदारले रोजगारीमा जान पाउने भएका छन् ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसमा उनीहरु विदेश जान सक्ने भएका छन् । सरकारले ३० फागुनदेखि श्रम स्वीकृति बन्द गरेको छ । बैदेशिक रोजगारीमा रहेका विदामा घर आएका बेला नेपालमै रोकिएका कारण उनीहरुको रोजिरोटी सुरक्षा गर्ने चूनौति सरकारसँग रहेको छ ।

    कामदार र कम्पनीले नेपाली कामदारलाई विदेश पठाउने अनुमति मागिरहेका छन् । तत्कालका लागि अहिले विदामा आएका र करार अवधि बाँकी रहेका कामदार मात्र पठाइने भएको छ ।

    नयाँ कामदारको हकमा भने निर्णय भएको छैन । विदेशमा अध्ययनरत विद्यार्थी समेत अब शिक्षा मन्त्रालयको सिफारिसमा विदेश जान सक्ने भएका छन् ।

  • गण्डकी प्रदेशमा शनिबार बिहानै ५८ संक्रमित थप

    गण्डकी प्रदेशमा शनिबार बिहानै ५८ संक्रमित थप

    पोखरा । गण्डकी प्रदेशमा शनिबार बिहानै ५८ जना कोरोना संक्रमित फेला परेका छन् । प्रदेशका ७ जिल्लामा ५८ जना कोरोना संक्रमित पुष्टी भएको हो । शनिबार तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुने व्यक्तिको संख्या संख्या ४३८ पुगेको छ । देशभर भने करीव ९ हजार मानिसमा संक्रमण पुष्टी भइसकेको छ ।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार नयाँ संक्रमितहरुमध्ये तनहुँको ऋषिङ गाउँपालिकाबाट मात्र २१ जना भेटिएका छन् । उनीहरु १ वर्षका बालकदेखि ३७ वर्ष उमेर समूहका युवा छन् ।

    तनहुकै ब्यास नगरपालिकामा २४ र २८ वर्षका दुई जना पुरुष तथा शुक्लागण्डकी नगरपालिकाका ३५ र २२ वर्षका दुई जना पुरुषमा कोरोना भेटिएको छ । नवलपुर जिल्लाका १६ संक्रमितहरुमध्ये बुलिङटार गाउँपालिकाका मात्रै ११ जना छन् । उनीहरु १७ वर्षदेखि ३७ वर्ष उमेर समूहका पुरुषहरु हुन् । यस्तै मध्यविन्दु नगरपालिकाका २५ र ४५ वर्ष उमेर समूहका दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

    नवलपुरकै बौदीकाली गाउँपालिकाका ४७ वर्षीय पुरुष, विनयत्रिवेणी गाउँपालिका २१ वर्षीय पुरुष र देवचुली नगरपालिकाका १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पाइएको छ ।
    बाग्लुङको काठेगाखोला गाउँपालिकामा ७ जना पुरुष र एक जना महिला गरी ८ जना नयाँ संक्रमित फेला परेका छन् । उनीहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् ।

    स्वास्थ्य निर्देशनालय पोखराले शनिबार बिहान जारी गरेको सूचनाअनुसार गोरखाको भिमसेन नगरपालिकामा ३६, ३३, २२, ३५ र २८ वर्षका पाँच जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    कास्कीको मादी गाउँपालिका ४१ वर्षीय पुरुष र १९ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

    यसैगरी म्याग्दीको मालिका गाउँपालिकामा ३० वर्षीय पुरुष र स्याङ्जाको पालिका नखुलेको २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उल्लेख गरेको छ ।

  • एमसीसीतर्फ संकेत गर्दै प्रचण्ड भन्छन् : सैन्य गठबन्धनसँग सम्बन्धित विदेशी सहायता अस्वीकार्य

    एमसीसीतर्फ संकेत गर्दै प्रचण्ड भन्छन् : सैन्य गठबन्धनसँग सम्बन्धित विदेशी सहायता अस्वीकार्य

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहायता स्वीकार गर्ने वा नगर्ने भन्ने सम्बन्धमा विवाद भइरहेका बेला सैन्य गठबन्धनसँग जोडिने कुनै पनि विदेशी सहयोग नेपालले स्वीकार नगर्ने बताएका छन् । एमसीसी सैन्य गठबन्धनको एक पाटो भएको नेकपा कार्यदलले निष्कर्ष निकालेको थियो ।

    नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) बीच शुक्रबार राजधानीमा संयुक्त भर्चुअल कार्यशाला सम्पन्न भयो । कार्याशालालाई शुक्रबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयबाट सम्बोधन गरेका प्रचण्डले नेपालले सैन्य गठबन्धनका लागि वितरण गरिएका कुनै पनि सहायता स्वीकार नगर्ने उल्लेख गरे ।

    नेपाल विकासको चरणमा रहेको भन्दै उनले यसबेला ठूलो सहयोग आवश्यक रहेको बताए । तर, सहयोगको नाममा नेपाल कुनै पनि सैन्य गठबन्धनमा भने जोडिन नसक्ने स्पष्ट पारे । नेकपाभित्र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा गम्भीर विवाद कायम छ ।

    एमसीसी अमेरिकी इन्डो प्यासिफिक सैन्य रणनीतिको एक भाग रहेको नेकपाका नेताहरु नै बताउँछन् । नेकपामा प्रचण्डले एमसीसीबारे ठोस धारणा सार्वजनिक गरेका छैनन् । नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने एमसिसी जसरी पनि पास गर्ने पक्षमा छन् । उनी पार्टीमा एमसीसीको पक्षमा बहुमत जुटाउने प्रयासमा छन् ।

    शुक्रबार पनि अध्यक्ष दाहालले एमसीसी र अमेरिकाको नाम भने लिएनन् । तर, उनको संकेत संशोधन बीना एमसीसी पास नहुने भन्नेमै थियो । नेपालले असंलग्न विदेश नीति अवलम्बन गर्दै आएको उनले स्मरण गरे ।

    नेपालको संविधानसँग बाझिने गरी, कुनै पनि पनि सैन्य गठबन्धनमा आवद्ध हुनुपर्ने सहयोग नेपाललाई स्वीकार्य हुन नसक्ने उनको भनाई छ । उनले नेपाल दुबै छिमेकीसँग द्वन्द्व नचाहेको समेत स्ष्ट पारे ।

    नेपाल र भारतबीचको सीमा विवादबारे बोल्दै उनले छिमेकीहरुसँगको विवाद समाधानमा नेपाल वार्ताको पक्षमा रहने उल्लेख गरे । उक्त बैठकमा नेकपा स्कुल विभाग प्रमुख तथा रक्षामन्त्री ईश्‍वर पोखरेल पनि सहभागी थिए । उनले कोभिड(१९ नियन्त्रणमा चीनले गरेको सहयोगप्रति धन्यवाद दिए।

  • काकडभिट्टाबाट भारत जाने नेपाली सामान सीमामा रोकिए

    काकडभिट्टाबाट भारत जाने नेपाली सामान सीमामा रोकिए

    झापा । भारतले काँकडभिट्टा नाकाबाट भारततर्फ निर्यात हुने नेपाली मालवस्तुलाई रोकेको छ । लकडाउन सुरू भएयता उक्त नाकाबाट सबै मालवस्तु निर्यात रोक लगाइएको थियो । बीचमा केही समय खुला भएपनि फेरी बन्द भएको छ । बिहीबार नेपालबाट भारत तथा बंगलादेश जान हिँडेका चिया, अलैंची र अम्रीसोका बोकेका ट्रक सीमानामा अड्किएका हुन ।

    ट्रक मेची पुलमा लामबद्ध भएका छन् । भारतले एकतर्फी रोक लगाएको मेची भन्सार कार्यालयले जानकारी दिएको छ । निर्यातमा रोक लगाइए पनि आयात भने भइरहेको छ ।
    लकडाउनपछि पश्चिम बंगाल सरकारले नेपालबाट जाने वस्तुहरूमा रोक लगाएको हो । लकडाउन खुकुलो भएसँगै अनुमति पाइन्छ भन्ने विश्वासहित गएका ट्रक पुलमा रोकिएका हुन् । यो नाकाबाट नेपालमा उत्पादन भएका कृषि वस्तुको निर्यात हुने गरेको छ । बंगलादेशसँग छोटो नाका यहाँबाट पर्छ ।

  • शुक्रबार काठमाडौं उतारियो विदेशमा मृत्यु भएका २३ नेपालीको शव

    शुक्रबार काठमाडौं उतारियो विदेशमा मृत्यु भएका २३ नेपालीको शव

    काठमाडौं । शुक्रबार त्रिभुवन विमानस्थल केहीबेर शोकमग्न भयो । किनकी शुक्रबार एकै उडानबाट २० वटा शव त्रिभुवन विमानस्थलमा झारियो । कतारको दोहाबाट कतार एयरवेजले २५ जना नेपाली यात्रुको साथमा कार्गोमा २० नेपालीको शव काठमाडौं ल्याएको हो ।

    नियमित उडान बन्द भएपछि विदेशमै रोकिएका शव नेपाल झारिएको हो । शुक्रबार नै साउदीबाट एक र कुवेतबाट २ जना नेपालीको शव काठमाडौं आएको छ । विदेशमा अलपत्र परेका नेपालीको उद्दारको काम अहिले धमाधम भइरहेको छ ।

    यसै क्रममा आउने चार्टर्ड उडानमा शवहरु समेत ल्याउन लागिएको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार चार्टर्ड उडानबाट विदेशमा अड्किएका सबै शव नेपाल ल्याउने योजना छ । त्यसपछि उनीहरुको पहिचानसागै आआफ्नो गृह जिल्ला पठाइने छ । यसको खर्च भने बोर्ड आफैले बेहोर्छ ।

    शवलाई विदेशबाट नेपाल ल्याउने र काठमाडौंबाट जिल्ला पुर्‍याउनेसम्मको खर्च व्यवस्थापन बोर्डले गर्छ । शुक्रबार आफन्तको शव आउने दिन विमानस्थलमा भिड देखिएको थियो ।

  • ‘लकडाउन सम्बन्धी सुरक्षा मापदण्ड जारी, राति १० देखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक’

    ‘लकडाउन सम्बन्धी सुरक्षा मापदण्ड जारी, राति १० देखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक’

    काठमाडौं  । कोरोना भाइरस संक्रमण संख्या बढ्दैगएपछि उच्च सतर्कता अपनाउन सरकारले अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाएको छ ।

    सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति १० देखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो ।

    जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णयगरेसँग राति सुरक्षाकर्मीलाई छलेर एक जिल्लाबाट अर्को जिल्लामा अनुमति बिना यात्रु ओसारपसार हुन थालेपछि थप कडाई गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

    मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

    सरकारले असार १ गतेदेखि सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखबाहेक ७३ जिल्लाभित्र निजी सवारी साधनमा जोरविजोर प्रणाली लागू गरेको छ ।

    मालसामान ढुवानी गर्दा चालक र सहचालक बाहेक कसैलाई पनि बोक्न नपाइने व्यवस्था ल्याइएको छ ।

    उद्योग/कलकारखानालगायत कार्यस्थलमा एक स्थानमा एकपटकमा १० जनाभन्दा बढी भेला हुन पाइने छैन । सामाजिकरसांस्कृतिक कार्यमा १५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ ।

  • नेपालमा थप २१६ जना डिस्चार्ज, निको हुनेको संख्या १४०२

    नेपालमा थप २१६ जना डिस्चार्ज, निको हुनेको संख्या १४०२

    काठमाडौं । शुक्रबार थप २१६ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका विभिन्न अस्पतालबाट संक्रमणमुक्त भएका हुन् ।
    संक्रमण मुक्त हुनेमा ९ जना महिला र २ सय ७ जना पुरुष रहेका छन् ।

    योसहित नेपालमा हालसम्म १ हजार ४ सय २ जना उपचारपछि निको भएका छन्।

  • नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८२७४ पुग्यो

    नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८२७४ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। यो नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप २१६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १४०२ पुगेको छ।

    कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ।

  • आज पाँच मुलुकबाट हुँदैछ नेपालीको उद्दार

    आज पाँच मुलुकबाट हुँदैछ नेपालीको उद्दार

    काठमाडौं । शुक्रबार विभिन्न पाँच मुलुकबाट नेपालीको उद्दार हुने भएको छ । विदेशमा समस्यामा रहेका, बेखर्ची बनेका र रोजगार गुमाएका नेपालीलार्य प्राथमिकताका साथ उद्दार भइरहेको छ । सोहीक्रममा शुक्रबार पाँच वटा मुलुकबाट नेपालीको उद्दार हुन लागेको हो । शुक्रबार साउदी अरेविया, यूएई, कुवेत, कतार र माल्दिभ्सबाट नेपालीलाई घर ल्याउने कार्यक्रम रहेको छ ।

    हरेक मुलुकबाट एक एक उडान तय भएका छन् । विहीबार साँझ यूएई उडेको नेपाल एयरलान्सले १४८ नेपालीलाई बोकेर आउनेछ । यस उडानमा अधिकांश गर्भवती महिला रहेको बताइएको छ । यो जहाजमा एउटा शव पनि नेपाल ल्याउन लागिएको छ ।

    शुक्रबार नै हिमालय एयरले साउदीबाट १८० जना नेपालीलाई काठमाडौं ल्याउनेछ । हिमालय एअरलाइन्सको जहाज पनि बिहीबार साउदी उडेको हो । माल्दिभ्सबाट शुक्रबार १५० जना नेपाली घर आउनेछन् ।

    कुवेत र कतारबाट पनि नेपाली आउने तय भएको छ । यद्दपी कति संख्यामा आउनेछन् भन्ने चाँही खुलेको छैन । अहिले धमाधम विदेशबाट नेपाली नागरिकको उद्दारको काम जारी रहेको छ ।

  • बिहीबार चार देशबाट आए ५ सय बढी नेपाली, दिनभर १४ उडान-अवतरण

    बिहीबार चार देशबाट आए ५ सय बढी नेपाली, दिनभर १४ उडान-अवतरण

    काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सामान्य दिनको तुलनामा केही व्यस्त रह्यो । नेपाली नागरिकलाई विदेशबाट नेपाल ल्याउने अभियान अन्तर्गत विदेशबाट जहाज आउन गालेपछि विमानस्थलमा समेत चहलपहल बढेको हो । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले सार्वजनिक गरेको विवरण अनुसार बिहीबारमात्र आन्तरिक र बाह्य गरी कुल १४ वटा उडान-अवतरण भएका छन् ।

    बिहीबार हिमालय एयरलाइन्सले मलेसियाबाट ११७ जना नेपालीलाई नेपाल ल्याएको छ । यो जहाज मलेसिया जादा भने एकजना नेपाली र १५ विदेशी गरी १६ जना यात्रु मलेसिया लगेको छ । बिहीबार नै जजिरा एयरले कुवेतबाट नेपालीलाई घर फर्काएकोछ । सलाम एयरले ओमानबाट नेपालीलाई काठमाडौं ल्याएको हो ।

    यी दुई जहाजमा क्रमशः १५० र १४६ जना यात्रु आए । कतार एयरवेज समेत बिहीबार काठमाडौं आयो । यो जहाजले दोहाबाट एक जना नेपालीलाई बोकेर आएको थियो । उसले नेपालमा रहेका २६३ जना विदेशीलाई दोहा लगेको छ । बिहीबार साँझ हिमालय एयरलाइन्सको जहाज दमाम उठेको छ ।

    यो जहाज शुक्रबार फर्कने छ । बिहीबार साँझ नै नेपाल एयरलाइन्स दुबई उडेको छ । हिमालय एयरलाइन्सले साउदी उड्दा चार जना नेपालीलाई दमाम लगेको छ । आन्तरिकमा समेत केही उडानहरु भएको विमानस्थलले जनाएको छ ।

  • नेपालमा सुनसहित १० खानीको उत्खनन् गरिने

    नेपालमा सुनसहित १० खानीको उत्खनन् गरिने

    काठमाडौं । नेपालमा सुनसहित विभिन्न १० वटा खानीको अध्ययन तथा उत्खनन् गरिने भएको छ । खानी तथा भूगर्भ विभागले रोल्पामा सुन खानी उत्खनन् गर्ने भएको छ । यसबाहेक देशका विभिन्न १० वटा खानी अध्ययन तथा उत्खनन गर्न सरकारले लाईसेन्स प्रदान गर्ने प्रक्रिया थालेको छ ।

    सुन, तामा, चुनढुंगा, नुन, कोइला, ग्रेनाइट र केओलिनसहित १० वटा खानी क्षेत्रको अध्ययन र उत्खनन गर्न लाइसेन्स वितरण गर्न सार्वजनिक सूचना प्रकाशित गरिएको हो । विभागका अनुसार दुई वटा चुनढुंगा खानी र एक एक ओटा नुन तथा ग्रेनाइट खानी उत्खनन अनुमति दिन आवेदन मागिएको हो ।

    रोल्पाको सुनछहारी गाउँपालिकामा रहेको सुन खानीसहित दुईवटा चुनढुंगा खानी, नुन तथा ग्रेनाइट खानी एक एक, तीनवटा तामा खानी, एक केओलिन र कोइला खानीका लागि भने अध्ययनका लागि मात्र बोलपत्र आह्वान गरिएको हो ।

    खानी उत्खनन तथा अध्ययन गर्न इच्छुक कम्पनीहरूले ३५ दिनभित्र आवश्यक धरौटीसहित आवेदन दिनुपर्ने भएको छ । यो लाइसेन्स प्रक्रिया चालु आवको कार्यक्रमअनुसार अगाडी बढेको हो ।

  • प्रधानमन्त्रीको प्रक्षेपण : नेपालमा फागुनपछि कोरोना नियन्त्रणमा आउँछ

    प्रधानमन्त्रीको प्रक्षेपण : नेपालमा फागुनपछि कोरोना नियन्त्रणमा आउँछ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुनपछि नेपालमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइसक्ने दावि गरेका छन् । प्रधानमन्त्रीका अनुसार साउनमा नेपालमा कोरोना सबैभन्दा उच्च विन्दुमा पुग्नेछ । त्यसपछि भने यसको ग्राफ ओरालो लाग्न शुरु हुनेछ । दशैं तिहार र छठजस्ता चाडमा हुने भेटघाटले फेरी कोरोना केही बल्झन सक्ने उनले बताए ।

    मंसिरमा अलि माथि पुग्ने ग्राफ त्यसपछि भने घट्ने उनको अनुमान रहेको छ । यस पटक चाडबाडले केही समय कोरोना बढाउने उनले उल्लेख गरे । फागुनको महिना सम्भवतः नियन्त्रणको महिना हुने प्रधानमन्त्रीको भनाई छ । यसबीचमा संक्रमितलाई सहज रुपमा आउन दिन नहुने र बाहिरबाट आउनेलाई क्वारेन्टिनमा राख्ने काम भने हुनुपर्ने उनको तर्क छ ।

    बिहीबार प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपति कार्यालयको विनियोजन बजेटबारे सांसदहरुल उठाएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री राष्ट्रिय सभामा बोलेका हुन् । प्रधानमन्त्रीले कोरोनाबाट मृत्यु भएका व्यक्तिको संख्याका सम्बन्धमा भने फेरी पनि विवादास्पद अभिव्यक्ति दिएका छन् ।

    बुधबारसम्म मृतकको संख्या २० पुगिसकेको थिए । प्रधानमन्त्रीले भने दुई\तीन जना मात्र कोरोनाका कारण मरेको गैरजिम्मेवार अभिव्यक्ति दिए । अन्य कारणले मृत्यु भएपनि कोरोना संक्रमणको पुष्टि भएपछि कोरोनाबाट भएको मृत्युमा राख्नुपर्ने डब्ल्यूएचओको प्रोटोकलका कारण यस्तो भएको उनको तर्क छ ।

    २० जना पनि अन्य देशको तुलनामा निकै कम भएको भन्द्यै नेपालको उपचार विधि र प्रतिरोधी क्षमताका कारण मृत्युदर ज्यादै न्यून भएको समेत तर्क दिन भ्याए । सरकारले राम्रो तयारी गरेका कारण संक्रमित नियन्त्रित मै रहेको र भारतबाट संक्रमित आएका कारण नेपालमा स)ख्या बढेको उनको तर्क थियो ।

    यति ठूलो संख्यामा आएका मानिसलाई विश्वको कुनै पनि देशले मापदण्डअनुसार क्वारेन्टिन गर्न नसक्ने भन्दै फेरी पनि प्रधानमन्त्री दायित्वबाट उम्कन खोजेका छन् । व्यवस्थित क्वारेन्टिन स्थलहरू बनाउन मात्र पनि एक वर्ष लाग्न सक्ने उनको तर्क छ । भारतबाट थाम्न नसक्ने गरी मानिस आएको उनको भनाई छ ।

    प्रधानमन्त्री ओलीले विदेशमा भएका नागरिकको उद्धार समेत भने जस्तो सजिलो नभएको तर्क दिए । यसरी ल्याउनेहरूमा कोरोना संक्रमण छ छैन परीक्षण गर्नुपर्ने भए पनि ओमनबाट ल्याउने क्रममा अलमल बनाइएको भन्दै दुख व्यक्त गरे ।

    प्रधानमन्त्रीले कोभिड–१९ रोकथाम र नियन्त्रणमा खर्च भएको १० अर्बको हिसाब खोज्नेसँग फेरी पनि रोष प्रकट गरे । उनले १० अर्ब तल्लो तहमा गएको, क्वारेन्टिन बनेको र उनीहरुलाई खाना खुवाउने काममा खर्च भएको तर्क दिए ।

  • नेपालको नयाँ नक्साले पायो वैधानिकता

    नेपालको नयाँ नक्साले पायो वैधानिकता

    काठमाडौं । नेपालको नयाँ नक्साले वैधानिकता प्राप्त गरेको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई राष्ट्रपतिले प्रमाणिकरण गरेसँगै नक्साले संवैधानिक मान्यता पाएको हो । निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले संविधान संशोधन विधेयक ल्याएको थियो ।

    यो विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएपछि प्रमाणिकरणका लागि विधेयक राष्ट्रपति समक्ष पुगेको थियो । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयकलाई प्रमाणीकरण गरेकी छिन् ।

    प्रतिनिधि सभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको विधेयकलाई राष्ट्रिय सभाले बिहीबार सर्वसम्मतिले पारित गर्यो । राष्ट्रिय सभाबाट पारित भएपछि फेरी प्रतिनिधिसभा पुगेको विधेयक बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष पठाएका हुन् ।

    सरकारले जेठ ५ मा लिम्पियाधुरासहितका क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा मन्त्रिपरिषद‍्बाट पास गरेको हो । जेठ ७ मा नयाँ नक्सा सार्वजनिक गरिएको थियो ।

  • नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

    काठमाडौं  । नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार मृत्यु हुनेमा सुदूरपश्‍चमका दुई जना रहेका छन् । जसमध्ये गोदावरी नगरपालिका-४ का ४६ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका- २की ४३ वर्षीया महिला रहेका छन् ।

    उनलाई जेठ ३१ गते कोरोना पुष्टि भएको थियो ।

    गोदावरी नगरपालिकाका पुरुषको सेती अस्पतालमा उपचारका क्रममा असार ३ गते साँझ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

    त्यसैगरी लक्कीचुहाकी महिलालाई टाउकोमा चोट लागेपछि उपचारका लागि नेपालगन्ज ल्याइएको थियो । उनको असार २ गते कोरोना परीक्षण गरिएको नतिजा असार ३ गते पोजेटिभ देखिएको थियो ।

    उनको असार २ गते नै निधन भएको जनाइएको छ ।

  • नेपालमा थपिए एकैपटक ६७१ कोरोना संक्रमित, संक्रमित संख्या ७८४८ पुग्यो

    नेपालमा थपिए एकैपटक ६७१ कोरोना संक्रमित, संक्रमित संख्या ७८४८ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    आज थपिएका ६७१ सहित नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।

    पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११८६ पुगेको छ।

    कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ।

    प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ।

  • मृत भेटिएका अर्घाखाँचीका पुरुषमा समेत कोरोना पुष्टी

    मृत भेटिएका अर्घाखाँचीका पुरुषमा समेत कोरोना पुष्टी

    बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा मृत अवस्थामा भेटिएका ४४ वर्षिय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । आरडीटी रिपोर्ट पोजेटिभ आए आएपछि शिततगंगा–५ का देबबहादुर विक मंगलबार राति रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । विकको जेठ २४ गते आरडीटी परीक्षण प्रतिवेदन पोजेटिभ आएको थियो ।

    त्यसपछि जेठ २५ गते पीसीआर परीक्षणका गर्न उनको स्वाबको नमूना संकलन गरी प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो । ल्याबमा पठाएको ११ दिनपछि रिपोर्ट पोजेटिभ आएको छ । पीसीआर रिपोर्ट नआउन्जेल उनको शव कसैले पनि चलाएन ।

    उनको शव बुधबारसम्म रुखमा झुण्डिएकै अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनी भारतको पञ्जाबबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति हुन् । पीसीआर रिपोर्ट आएपछि बुधबार साँझ भने नेपाली सेनाले विकको शव वडा नम्बर ५ कै जंगलमा लगेर व्यवस्थापन गरेको छ ।

  • बुधबार चार मुलुकबाट करीव १ हजार नेपाली घर फर्किए

    बुधबार चार मुलुकबाट करीव १ हजार नेपाली घर फर्किए

    काठमाडौं । बुधबार विभिन्न चार वटा मुलुकबाट १ हजार भन्दा बढी नेपाली घर फर्किएका छन् । बुधबार थाइल्याण्डको बैंककबाट २४६ जना नेपाली घर आएका छन् । उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडबडी जहाजले काठमाडौं ल्याएको हो । चार्टर्ड उडानमा दुई जना दुई वर्ष मुनीका बालबालिकासहित २४६ जना यात्रु थिए ।

    नेपाल एयरलाइन्सले काठमाडौंबाट भने थाइल्याण्डका लागि १६ जना यात्रु बोकेर गएको थियो । बुधबार नै कुवेतबाट १५० जना नेपाली महिला स्वदेश फर्किए । कुवेतमा आममाफी पाएका उनीहरुलाई कुवेत सरकारले नै नेपाल पठाएको हो । उनीहरुलाई जजिरा एयरलाइन्सले काठमाडौं ल्याएको हो ।

    बुधबार नै बंगलादेशको राजधानी ढाकाबाट दुई जना दुई वर्ष मुनीका बालबालिकासहित १५५ जना नेपाल आए । उनीहरुलाई हिमालय एयरलाइन्सले काठमाडौं ल्याएको हो ।

    उता, सिङ्गापुरबाट १४६ जना यात्रु नेपाल आएका छन् । उनीहरुलाई समेत हिमालय एयरलाइन्सले काठमाडौं ल्याएको हो । काठमाडौं आइसकेका नेपालीले १४ दिन तोकिएको क्वारेन्टाइनमा बस्नुपर्छ ।

  • विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने प्रावधानको विपक्षमा कांग्रेस, जुटेन सहमति

    विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने प्रावधानको विपक्षमा कांग्रेस, जुटेन सहमति

    काठमाडौं । नेपाली कांग्रेसको असहमतिका कारण नागरिकता विधेयकमा आज पनि सहमति जुट्न सकेन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विदेशी बुहारीलाई नेपालमा बिहे भएको ७ वर्षपछि मात्र नेपालको नागरिकता मिल्ने प्रस्ताव गरेको थियो । नेपाली कांग्रेसले भने विदेशी बुहारीलाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्ने प्रस्तावको विपक्षमा उभिने निर्णय गरेको छ ।

    बुधबार बिहान बसेको कांग्रेस पदाधिकारीको बैठकले सात वर्षपछि विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिने संसदीय समितिको प्रस्ताव नमान्ने निर्णय गरेको हो । कांग्रेसको तर्क अहिलेकै प्रावधान हुनुपर्ने रहेको छ ।

    बुधबारै बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा समेत कांग्रेसले सोही प्रस्ताव दोहोर्याएपछि निर्णय हुन सकेन । वर्तमान प्रावधान अनुसार नेपाली नागरिकसँग बिहे गरेर आएपछि उसले चाहेको बेला अंगीकृत नागरिकता लिन सक्ने उल्लेख छ ।

    कांग्रेसले नयाँ कानुनमा समेत सोही व्यवस्था राख्नुपर्ने अडान लिएको छ । कांग्रेसले प्रावधानमा असहमित राखेपछि संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने विषयमा बुधबार पनि सहमति जुट्न सकेन ।

    अंगीकृत नागरिकता प्राप्त नभएसम्म आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिने प्रस्ताव समितिको छ । नयाँ प्रावधानमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भने समर्थन रहेको छ ।

    कांग्रेसले नमानेपछि सुशासन समितिले नागरिकता विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय थप गरेको छ । नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई अंगीकृत नागरिकता कसरी दिने भन्ने सम्बन्धमा विवाद जारी रहँदा २ वर्षयता विधेयक रोकिराखेको छ ।

  • नारायणघाट-मुग्लिन सडक एकतर्फी संचालन

    नारायणघाट-मुग्लिन सडक एकतर्फी संचालन

    चितवन । बुधबार बिहान पहिरो गएपछि अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । साँझ ६ः३० मा यो सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको हो । चितवनको ईच्छाकामना गाउँपालिका ६ स्थित चारकिलो भन्ने स्थानमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो । पहिरो हटाएर १४ घण्टापछि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

    आज पनि वर्षा निरन्तर जारी रहेका कारण सडक पुरै क्लियर हुन भने सकेन । बिहीबारसम्म दुईतर्फ सडक संचालनमा ल्याउन सकिने सम्भावना रहेको छ । चारकिलोमा माथिबाट ठूलो माटोको थुप्रो खसेपछि पन्छाउन समय लागेको प्रहरीले जनाएको छ ।

    पहिरो हटाउन दिनभर पाँच वटा डोजर प्रयोग गरिएका थिए । अहिले सडकमा मालबाहक सवारी बढी गुड्छन् । त्यसबाहेक अत्यावश्यक सेवाका सवारी साधन बढी प्रयोग हुने गरेका छन् । लकडाउन जारी रहेका कारण सार्वजनिक यातायात भने खुलेको छैन ।

  • मृत भेटिएकी युवतीमा कोरोना पुष्टी

    मृत भेटिएकी युवतीमा कोरोना पुष्टी

    सर्खेत । सुर्खेतमा मृत भेटिएकी युवतीमा कोरोना भाइरस संक्रमण भएको पाइएको छ । झुण्डिएको अवस्थामा मृत भेटिएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट फर्केर १४ दिन क्वारेन्टिनमा बसेकी उनी घर फर्केपछि घर नजिकै झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । सुर्खेतको सिम्ता गाउँपालिका ८ कि २५ वर्षीय ती युवतीको पोष्टमार्टम गर्नु अगाडी नै कोरोना परिक्षण गरिएको थियो ।

    उनले १ असारमा आत्महत्या गरेकी थिइन् । उनको नमुना परिक्षणको नतिजा बुधबार आएको छ । नतिजा अनुसार उनमा कोरोना पोजेटिभ देखिएको कर्णाली सामाजिक विकास मन्त्रालयले जनाएको छ । युवती १२ जेठमा श्रीमान र छोरीसहित भारतबाट आएकी हुन् ।

    क्वारेन्टिनबाट घर पठाउने क्रममा उनीहरु सबैको आरडीटी विधिबाट कोरोना एन्टीबडी जाँच गरिएको थियो । त्यसबेला उनको रिपोर्ट नेगेटिभ थियो । यससँगै नेपालका कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । तर, यसलाई संघीय स्वास्थ्य मन्त्रालयले घोषणा गर्न भने बाँकि रहेको छ ।

  • सरकारले घटायो बिजुलीको शुल्क, अब कति तिर्नुपर्छ ? (सूचीसहित)

    सरकारले घटायो बिजुलीको शुल्क, अब कति तिर्नुपर्छ ? (सूचीसहित)

    काठमाडौं । विद्युत् नियमन आयोगले असार १ गतेदेखि लागू हुने गरी नयाँ महसुल निर्धारण गरेको छ । नेपाल विद्युत् प्राधिकरणले सरदर १० प्रतिशत विद्युत् महसुल दर घटेको जनाएको छ ।

    नयाँ महसुल अनुसार विद्युत क्षेत्रको नियमन गर्ने आयोगले औद्योगिक तथा घरायासी प्रायोजनका लागि उपयोगमा राहत दिनेगरी नयाँ महशुल निर्धारण गरिएको छ ।

    नयाँ महशुलमा घरायासी प्रयोगका लागि सिंगल फेज, थ्री फेज तल्लो र माथिल्लो भोल्टेजका लागि फरक दररेट निर्धारण गरेको छ ।
    ५ एम्पियर लाइन लिएर न्यूनतम मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ । उनीहरूलाई बिजुली भने निःशुल्क दिइने भएको छ ।

    तथ्यांक अनुसार ५ एम्पियरको सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ तिर्नुपर्ने छ । प्रतियुनिट शुल्क ३ रुपैयाँ कायम भएको छ ।

    २१ देखि ३० युनिटसम्म खपत गर्नेले ५० रुपैयाँ इनर्जी शुल्क र ६.५० रुपैयाँ प्रतियुनिट विद्युत् महसुल हिसाब गरेर तिर्नुपर्नेछ । ३१ देखि ५० युनिट खपत गर्ने ग्राहकले ५० रुपैयाँ डिमान्ड शुल्क र ८ रुपैयाँ प्रतियुनिट महसुल तिर्नुपर्नेछ ।

    ५१ देखि १०० युनिटसम्म खपत गर्दा ७५ रुपैयाँ डिमान्ड शुल्क र ९.५ रुपैयाँ प्रतियुनिट महसुल तिर्नुपर्ने भएको छ । त्यसैगरी १ सय १ देखि १ सय ५० युनिटसम्म खपत गरेमा घरेलु ग्राहकले सय रुपैयाँ डिमान्ड शुल्क र ९.५० रुपैयाँ प्रतियुनिट शुल्क तिर्नुपर्ने भएको छ ।

    १ सय ५१ देखि २ सय ५० युनिटसम्म खपत गर्ने ग्राहकका लागि १ सय २५ रुपैयाँ डिमान्ड शुल्क र १० रुपैयाँ प्रतियुनिट महसुल तोकिएको छ । २ सय ५१ देखि ४ सय युनिटसम्म खपत गर्दा १ सय ५० रुपैयाँ डिमान्ड शुल्क र ११ रुपैयाँ प्रतियुनिट महसुल तिनुपर्ने हुन्छ ।

    ४ सय युनिटभन्दामाथि बिजुली खपत गर्ने घरायसी ग्राहकले १ सय ५० रुपैयाँ डिमान्ड शुल्कसहित १२ रुपैयाँ प्रतियुनिट बिजुली महसुल तिर्नुपर्नेछ । आयोगले घरायसी ग्राहकको लागि १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरसम्म बिजुली लाइन लिँदा पनि खपतका आधारमा फरक–फरक दर तोकेको छ ।

    यसैबीच विद्युत निमयन आयोगले औद्योगिक क्षेत्रका लागि डेटिकेटेड र ट्रंक लाइन भन्ने भिन्न भिन्न शुल्क खारेज गरिदिएको छ । केही बर्षअघि मलुकमा लोडसेडिङ हुँदा उद्योगहरुले अतिरिक्त शुल्क तिरेर विद्युत खपत गर्ने गरेका थिए । तर पछिल्लो समय मुलुकमा लोेडसेडिङ हटेपनि उद्योगहरुले अतिरिक्त शुल्क तिर्दै आएका थिए । अब उद्योगीहरु अतिरिक्त शुल्क तिनुपर्ने बाध्यताबाट बचेका छन् ।

  • नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २० पुग्यो

    नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २० पुग्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा। जागेश्‍वर गौतमका अुनसार बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको थियो । ती महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

    निमोनिया रोगले ग्रस्त ती महिला जेठ ३० गते अस्पतालमा भर्ना भएकी थिइन्। यसअघि बाँके जिल्लामा ४ जेठमा नरैनापुर गाउपालिका ५ का २५ वर्ष युवाको कोरोनाबाट मृत्यु भएको थियो।

    हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा, चितवन, अर्घाखाँची, विरगञ्ज र पर्सामा एक एक जनाको मृत्यु भएको छ। गुल्मीमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ।

  • नेपालमा कोरोना संक्रमितको संख्या उच्च दरले वृद्धि, एकैदिन ५८६ जना थपिए

    नेपालमा कोरोना संक्रमितको संख्या उच्च दरले वृद्धि, एकैदिन ५८६ जना थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यीसहित कुल संक्रमित ७ हजार १७७ पुगेका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा संक्रमित थपिएको जानकारी दिए।

    पछिल्लो २४ घण्टामा ९ जना पुरुष कोरोनामुक्त भएका छन्।

    उनका अनुसार हालसम्म १ हजार १ सय ६७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमा महिला १ सय १२ र पुरुष १ हजार ५५ छन्।

  • विश्वभर कोरोना संक्रमित पौने एक करोड

    विश्वभर कोरोना संक्रमित पौने एक करोड

    काठमाडौं । संसारभर कोरोना संक्रमितको संख्या झण्डै एक करोड पुगेको छ । मंगलबार रातीसम्मको तथ्यांक नुसार कोरोनाबाट विश्वभर सङ्क्रमित हुनेको संख्या ८२ लाख ५० हजार नाघेको हो । ८२ लाख ५६ हजार २ सय ५७ जना मानिसमा सङ्क्रमण पुष्टी भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ । उनीहरुमध्ये आधा मानिसले कोरोनालाई जितिसकेका छन् । अर्थातः ४३ लाख ६ हजार ८९ जना निको भएर घर फर्किसकेका छन् ।

    कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने ४ लाख ४५ हजार ९ सय ३७ रहेको छ । पछिल्लो समय भारतमा कोरोन संक्रमणले तिब्र रुप लिएको छ । भारतमा ३ लाख ५४ हजार संक्रमित पुगेका छन् । यहाँ ११ हजार ९ सय भन्दा धेरैले ज्यान गुमाएका छन् । १ लाख ८७ हजार ५ सय ५२ जना निको भएको तथ्यांक छ ।

    विश्वमा सबैभन्दा धेरै सङ्क्रमित भएको देश अमेरिका हो । यहाँ २२ लाख ८ हजार ४ सय संक्रमित छन् । ब्राजिलमा ९ लाख २८ हजार ८ सय ३४ रहेका छन् । ५ लाख ४५ हजार ४ सय ५८ सहित रुस तेस्रो स्थानमा छन् ।

    विश्वभर ३५ लाख ४ हजार २ सय ३१ जनाको उपचार भइरहेको तथ्यांक छ । ५४ हजार ५ सय ९३ सङ्क्रमित भने अवस्थामा छन् । नेपालमा संक्रमित ६५ सय भन्दा माथि पुगेको छ । २० जनाको ज्यान गइसकेको छ ।

  • विदेशी बुहारीलाई नेपालमा ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव

    विदेशी बुहारीलाई नेपालमा ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव

    काठमाडौं । नेपालमा भित्रने विदेशी बुहारीले ७ वर्षपछि मात्र नागरिकता पाउने गरी कानून प्रस्ताव गरिएको छ । प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिले यस्तो प्रस्ताव गरी कानूनको मस्यौदामा छलफल अगाडी बढाएको छ । नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव समितिको रहेको छ ।

    नागरिकता नपाएसम्म भने आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र प्रदान गर्न सकिने गरी प्रस्ताव भएको हो । विदेशी बुहारीका विषयमा के गर्ने भन्ने सम्बन्धमा समितिमा सहमति भने जुटिसकेको छैन । नागरिकतासम्बन्धी विधेयक अहिले पनि समितिमा विचाराधीन अवस्थामा रहेको छ ।

    संसदको यसै अधिवेशनमा विधेयक अगाडी बढाउने तयारीमा समिति छ । सोहीकारण समिति सभापति शशि श्रेष्ठले विधेयकलाई अगाडी बढाएकी छिन् । समितिले गरेको प्रस्ताव अनुसार ७ वर्ष स्थायी रुपमा नेपालमा बसेको वडाको सिफारिस र अन्य मुलुकको नागरिकता वा राष्ट्रियता खुलेको कुनै प्रमाणपत्र लिएको भए त्याग गर्ने प्रक्रिया चलाएको वा नलिएको भए त्यसको प्रमाण पेश गरेपछि वैवाहिक अंगीकृत नागरिकताको बाटो खुल्ने उल्लेख गरिएको छ ।

    वैवाहिक नागरिकता पाउनुअघिको अवधिका लागि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थानीय आवासीय अनुमति दिने समितिको प्रस्ताव छ ।

    अहिलेको प्रावधान अनुसार नेपाली नागरिकसँग विवाह गरेको विदेशी महिलाले सिधै अंगीकृत नागरिकता लिन पाउने प्रावधान रहेको छ । पछिल्लो समय सरिता गिरिको प्रकरणले समितिका सदस्यहरु झस्किएको देखिएको छ । समितिको प्रस्तावमा सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुको सहमति रहेको छ । प्रमुख विपक्षी दल कांग्रेसले भने निर्णय दिइसकेको छैन ।

    कांग्रेसका सांसदले विदेशी बुहारीलाई ७ वर्षसम्म नेपाली नागरिकता नदिने प्रस्ताव ठिक भएपनि अंगीकृत नागरिकता नपाउँदासम्म राजनीतिक र प्रशासनिक बाहेक अन्य अधिकार भने प्रयोग गर्न पाउने गरी नागरिकता दिन सकिने राय व्यक्त गरेका छन् ।