Category: कानुनी कुरा

  • हर्क साम्पाङको पार्टीका उपाध्यक्ष लामा पक्राउ, के हो कसुर ?

    हर्क साम्पाङको पार्टीका उपाध्यक्ष लामा पक्राउ, के हो कसुर ?

    काठमाडौँ, १ पुसः विष्फोटक पदार्थसम्बन्धी कसुरका प्रतिवादी कुमार, विश्वक्रान्ति र देवराज लामा भन्ने राजकुमार तामाङ लामालाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्षसमेत रहेका लामालाई २०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र दुई जना घाइते भएको घटनामा पाँचथरमा उजुरी परेको आधारमा पक्राउ गरिएको हो । सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले काठमाडौँको कपनबाट पक्राउ गरी आजै थप अनुसन्धानका लागि लामालाई पाँचथर पठाइएको जानकारी दिए ।


    उनका अनुसार लामालाई काठमाडौँ जिल्लाको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित घरबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको हो । यसअघि लामा २०६८ सालमा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाईम बम विष्फोट गराई मानबहादुर तामाङसहित तीन जनाको मृत्यु तथा सोम तामाङसमेत घाइते भएको कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रहेका थिए । सोही मुद्दामा जेल परेका लामा विसं २०७६ मा प्रजातन्त्र दिवसमा जेलमुक्त भएका व्यक्ति हुन् ।

  • काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी

    काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी

    काठमाडौँ, १ पुस : काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट लाखौँको धनमाल चोरी भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सोमबार मात्रै काठमाडौँको तारकेश्वर नगरपालिका, काठमाडौँ महानगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकाका विभिन्न स्थानबाट सोमबार मात्रै सुनका विभिन्न गरगहना र नगदसमेत गरी करिब ५७ लाख बराबरको धनमाल चोरी भएको हो ।

    तारकेश्वर नगरपालिका–११ नेपालटारमा सुनिता बजगार्इंको कोठाबाट रु दुई लाख ९१ हजार, तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा जयराम अधिकारीको घरबाट रु तीन लाख ७७ हजार र काठमाडौँ महानगरपालिका–१५ मा धर्मरत्न शाहीको कोठाबाट सुन तथा चाँदीका गरगहना र ल्याप्टप एक थान गरी करिब रु सात लाख ४० हजार बराबरको चोरी भएको छ ।

    प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–१ भैरव टोलमा जानेन्द्रलाल कर्णको कोठाबाट रु चार लाख चार हजार र कृष्ण मन्दिर चोक नजिकै बाबुराम पाण्डेको कोठाबाट रु ३९ लाख ४७ हजार बराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्नको खोजी गर्नुका साथै सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सरकार र राष्ट्रियता बचाउ अभियानले गरे वार्ता टोली गठन

    सरकार र राष्ट्रियता बचाउ अभियानले गरे वार्ता टोली गठन

    काठमाडौँ, २९ मङ्सिरः सरकारसँग वार्ता गर्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले तीन सदस्यीय समिति गठन गरेको छ । सो अभियानले राखेका सम्बोधन गर्न सकिने मागबारे छलफल गर्न सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको संयोजकत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरेसँगै अभियानले पनि वार्ता टोली गठन गरेको आज विज्ञप्तिमार्फत जनाएको छ ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महाभियानले केन्द्रीय सचिव प्रेमदीप लिम्बूलाई वार्ता समितिका संयोजक र सदस्यहरूमा देवीप्रसाद सङ्ग्रौला र प्रेम थापा मगरलाई राखेको छ । विज्ञप्तिमा भनिएको छ, “आइतबार मात्रै सरकारले आगामी २ पुसमा वार्ता गर्ने भनी भनेको छ, हामीले पनि छलफलका लागि वार्ता टोलीको नाम टुङ्गो लगाएर पठाएका छौँ ।” अभियानले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने र रोजगारी सिर्जना गर्नुपर्नेलगायत विभिन्न २७ बुँदे माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।

  • एमाले केन्द्रीय कमिटी तीनसय एक सदस्यीय हुने

    एमाले केन्द्रीय कमिटी तीनसय एक सदस्यीय हुने

    काठमाडौँ, २९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि सम्पन्न बैठकले १० औँ महाधिवेशनमा कायम केन्द्रीय कमिटी तीनसय एक सदस्यीय हुने निर्णय गरेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उक्त निर्णयबारे जानकारी दिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत विधान महाधिवेशनबाट पारित विषयलाई नचलाउन माग गरेको भए पनि बहुमतले १० औँ महाधिवेशनअनुसार नै कायम गर्ने निर्णय भएको छ ।

    बैठकको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजनीतिक दलको औचित्य रहेको पुष्टि भएको बताए । बैठकमा महासचिव शङ्कर पोखरेलले बन्दसत्रमा प्रस्तुत गरिने निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत एजेण्डा प्रस्तुत गरे ।

  • भ्रष्टाचार मुद्दामा खानेपानी मन्त्रालयका सचिवसहित १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन

    भ्रष्टाचार मुद्दामा खानेपानी मन्त्रालयका सचिवसहित १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन

    काठमाडौँ, २८ मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनमा भएको भ्रष्टाचारमा विशेष अदालतद्वारा सफाइ पाएका खानेपानी मन्त्रालयका सचिव डा सञ्जय शर्माविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले आज विज्ञप्ति जारी गरी मेलम्ची खानेपानी विकास समितिका तत्कालिन अध्यक्ष र खानेपानी मन्त्रालका सचिवहरु भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर, मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङ, तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेललगायत १७ जनाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दिएको जनाएको छ ।

    फैसला पुनरावलोकनका लागि आज सर्वोच्चमा गरिएको पुनरावेदनमा जेनजी सहिद परिवारको तर्फबाट सरकार तथा जेनजी आन्दोलनकारीबीचको सम्झौतामा हस्ताक्षर गरेका भोजविक्रम थापालाई विपक्षी बनाइएको छ । मेलम्ची आयोजना भ्रष्टाचारबारे अख्तियारले २०८० फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    भ्रष्टाचार मुद्दामा थापाविरुद्ध रु ३२ करोड ३५ लाख ६१ हजार ६६३ बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गरिएको थियो । विशेष अदालतले सफाइ दिएपछि अख्तियार सर्वोच्च गएको हो । विशेष अदालतले २०८१ भदौ १६ गतेको फैसलाबाट आंशिक सफाइ दिएकाले उल्लेखित फैसलाउपर चित्त नबुझेकाले आज सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको हो ।

  • कांग्रेस सांसद तथा अर्थ समिति सभापति चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    कांग्रेस सांसद तथा अर्थ समिति सभापति चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ, २८ मङ्सिर । विघटित प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेविरुद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिका निवर्तमान सभापति चालिसेमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    गोकर्णेश्वर नगरपालिकाका तत्कालीन नगरप्रमुख चालिसेले सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य गरी अस्वाभाविक रुपमा सम्पत्ति जोडेको भन्दै रु तीन करोड ६८ लाख ४७ हजार ७६१ बिगो दाबीसहित विशेष अदालतमा आरोपपत्र दायर भएको हो ।

    काठमाडौँ क्षेत्र नम्बर ३ बाट निर्वाचित भई सङ्घीय संसद्को अर्थ समितिका सभापतिसमेत रहनुभएका चालिसेले गोकर्णेश्वर नगरपालिकाको प्रमुख छँदा (२०७४ जेठ ८ देखि २०७९ असार ३२ सम्म) को अवधिलाई आधार मानेर सम्पत्ति छानबिन गरिएको अख्तियारले जनाएको छ ।

  • आगामी निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने

    आगामी निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने

    काठमाडौँ, २७ मङ्सिर । सशस्त्र प्रहरी बल नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालित हुने तयारी गरेको छ । आगामी फागुन २१ गते हुने आमनिर्वाचनलाई सफल बनाउन भरपर्दो सुरक्षा व्यवस्था प्रदान गर्ने नीतिअनुरुप ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार परिचालित हुने तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ । त्यसका लागि सशस्त्र प्रहरीले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपालको परिचालन नीति’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइसकेको छ ।

    एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सरकारबाट तोकिएको जिम्मेवारी त्रुटिरहित ढङ्गबाट सम्पन्न गराउन उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गर्नेगरी तयारी गरिएको सशस्त्र प्रहरी प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले जानकारी दिए । प्रधान कार्यालय हल्चोकमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षा चुनौतीका आधारमा निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी तोकिएको जिम्मेवारीमा परिचालन गरिने बताए । सशस्त्र प्रहरी निर्वाचन सुरक्षार्थ सुरक्षाको दोस्रो घेरामा रही अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालित हुनेछ ।

    निर्वाचन सुरक्षासँग सम्बन्धित विषयवस्तुमा सुपरीवेक्षण, समन्वय एवं सहजीकरणका लागि सशस्त्र प्रहरी मुख्यालयमा केन्द्रीय निर्वाचन सेल, प्रत्येक बाहिनी मुख्यालयमा बाहिनी निर्वाचन सेल र जिल्लामा अप्रेशनल जिम्मेवारीमा रहेका प्रत्येक गण÷गुल्ममा निर्वाचन सेल गठन गरिनेछ । निर्वाचन सुरक्षार्थ सशस्त्र प्रहरी कर्मचारीलाई मोबाइल, स्ट्राइकिङ, क्युआरटी रिजर्भ, निर्वाचन क्षेत्र सुरक्षा, सुरक्षा बेस, कमाण्ड पोष्ट, संयुक्त निर्वाचन परिचालन केन्द्र, जिल्ला निर्वाचन, मुख्य निर्वाचन अधिकृतको कार्यालयलगायत क्षेत्रमा आवश्यक बन्दोबस्तीसहित परिचालन गर्ने नीतिमा उल्लेख छ ।

    निर्वाचन विरोधी गतिविधि नियन्त्रण एवं आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सूचना आदानप्रदानलगायत परिचालनमा आवश्यकताअनुसार समन्वयात्मक रुपमा गर्ने, समकक्षी सुरक्षा निकायसँग आवश्यक समन्वय र सहकार्य गरी सीमा इलाकामा प्रभावकारी रुपमा परिचालन गर्ने नीति अख्तियार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

  • ‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

    ‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

    काठमाडौँ, २५ मङ्सिरस् सरकार र जेनजीबीच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति भएको छ । त्यसका लागि प्राथमिकताका साथ आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत पूर्वाधार विकास गरी कार्यान्वयन गरिने सहमति भएको छ । प्रधानमन्त्री सुशीला कार्की र जेनजी सहिद परिवारका तर्फबाट आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सहमतिमा योग्य नेपाली नागरिक मतदाताका रूपमा नाम दर्ता गर्ने अभियानलाई सहज र प्रभावकारी बनाइनेसमेत उल्लेख छ ।

    बेजिल्ला तथा अन्तरनिर्वाचन क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने मतदातालाई निजहरू रहेकै जिल्लाबाट आसन्न निर्वाचनमा नै मतदान गर्ने व्यवस्था गरिने पनि सहमतिपत्रमा उल्लेख छ । संसारका विभिन्न देशमा औपचारिक तथा अनौपचारिक रूपमा श्रम गर्ने प्रवासी नेपाली नागरिक, पेसा व्यवसायमा रहेका र प्रवासी नेपाली विद्यार्थीको मताधिकार सुनिश्चित गर्न नीतिगत, कानुनी तथा संस्थागत पूर्वाधार विकासको प्रक्रिया अगाडि बढाइने पनि सहमति भएको छ ।

    यस्तै, निर्वाचनमा मनोनयन दर्ता गर्दाकै बखत उम्मेदवारले आफ्नो सम्पत्ति विवरणसमेत बुझाउनुपर्नेलगायत राजनीतिक दल र उम्मेदवारको खर्च पारदर्शी बनाउन कानुनमा संशोधन गरिने छ । सबै राजनीतिक दलका सम्पत्ति तथा आर्थिक स्रोतको विवरण अनिवार्य रूपमा मागी सोउपर छानबिन गरी स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरी दोषीउपर कारबाही गर्न आवश्यक कानुनी प्रबन्ध गरिने पनि सहमति भएको छ ।

    निर्वाचन प्रणाली सुधारका लागि प्रचलित कानुनमा तत्काल संशोधन गरिने, मतपत्रमा ‘माथिका कसैलाई मतदान गर्दिनँ’ विकल्प राखिने सम्झौतामा उल्लेख छ । राजनीतिक दलभित्र अनिवार्य रूपमा प्राथमिक प्रतिस्पर्धा (प्राइमरी इलेक्सन) गरी छनोट भएको व्यक्तिमात्र निर्वाचनका लागि उम्मेदवार हुन पाउने कानुनी व्यवस्था गरिने पनि सम्झौता भएको छ ।

    निर्वाचन आयोगद्वारा तयार गरिने मतपत्रमा दल÷उम्मेदवारको क्रमाङ्क गोला प्रथाबाट निर्धारण गरिनेछ । राजनीतिक दलमा अध्यक्ष वा सभापति अधिकतम दुई कार्यकालका लागि मात्र हुनसक्ने प्रबन्ध गरिने भएको छ । निर्वाचन प्रयोजनका लागि मात्र हुने अस्वस्थ गठबन्धन नियन्त्रणका लागि कानुनी प्रबन्ध गरिने जनाइएको छ ।

    आगामी निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणालीमा समेत उम्मेदवार चयन गर्दा समानुपातिक समावेशी सिद्धान्तको पालना गर्न कानुनी प्रबन्ध गरिने सम्झौतामा जनाइएको छ ।रासस

  • सरकार-जेनजी  सम्झौता : दलीय भागबन्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य गरिने

    सरकार-जेनजी सम्झौता : दलीय भागबन्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य गरिने

    काठमाडौँ, २४ मङ्सिर : सरकार र जेनजीबीच राजनीतिक तथा नीतिगत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबन्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य गर्ने सहमति भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको सम्झौतापत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट सहिद परिवारका सदस्य भोजविक्रम थापाले हस्ताक्षर गर्नुभएको सहमतिमा भनिएको छ, “राजनीतिक, नीतिगत तथा संस्थागत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबन्डाका आधारमा गरिने नियुक्तिको अन्त्य लगायतका देहायका विषयमा निष्पक्ष छानबिन गरी सिफारिस गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने, सम्पूर्ण सार्वजनिक पदमा नियुक्त, निर्वाचित वा मनोनीत व्यक्तिको जीवनशैली, आयस्रोत र अकूत सम्पत्ति आर्जनका सम्बन्धमा दोषीलाई कानुनबमोजिमको कारबाही गर्ने ।”

    सार्वजनिक संस्थाहरूको दलीयकरण र भागबन्डाका आधारमा गरिने नियुक्तिको अभ्यास अन्त्य गर्न सम्बन्धित नीति र कानुनमा गर्नुपर्ने सुधार तथा मौजुदा कानुनको प्रभावकारी कार्यान्वयन गर्ने पनि सहमति भएको छ । विभिन्न सार्वजनिक पदधारण गरेका व्यक्ति तथा राजनीतिक दलले आफ्ना नेताहरूको नाउँमा सार्वजनिक जग्गा, सम्पत्ति र बजेटको प्रयोग गरी देशभर सञ्चालन गरेका प्रतिष्ठान, कोष, ट्रष्ट, परिषद्, केन्द्र जस्ता निकायको कार्य तथा आर्थिक गतिविधि छानबिन गरी सम्बन्धित संस्थाले सार्वजनिक हित र उद्देश्य विपरीत वा गैरकानुनी गतिविधि गरेको पाइएमा यस्ता निकायलाई खारेज गरी सम्पत्ति राष्ट्रियकरण गर्ने पनि सहमति भएको छ ।

    सम्झौतामा भनिएको छ, “नेपालको सार्वजनिक निकायमा हुने अनियमितता तथा भ्रष्टाचार निवारण, प्रशासकीय प्रणालीको पुनःसंरचना, सार्वजनिक सेवा प्रवाहको सरलीकरण, सहज पहुँच, गुनासो सुनुवाइको व्यवस्था र विद्युतीय सुशासन प्रवद्र्धनलगायत स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनको सुनिश्चितता गर्ने ।”

    स्क्रिनिङ तथा छानबिनबाट सम्बन्धित व्यक्ति ज्यान मार्ने कसुर वा सुनियोजित/सङ्गठित रूपमा कुनै आपराधिक गिरोहद्वारा भएका हुनसक्ने गम्भीर अपराधमा संलग्न रहेको नदेखिएमा पछि जाँचबुझ आयोगको प्रतिवेदनबमोजिम हुनेगरी सो व्यक्तिलाई तत्काल हिरासत/थुनामुक्त गर्न र निजविरुद्ध दायर भएका मुद्दा फिर्ता लिन नेपाल सरकारलाई सिफारिस गर्ने पनि सहमति भएको छ ।

    सहमति पत्रमा भनिएको छ, “नेपाल सरकारका सम्बन्धित निकायले माथि उल्लिखित सिफारिस बमोजिमको कारबाही यथाशीघ्र अगाडि बढाउनेछ, विसं २०८२ भाद्र २३ र २४ गते जनआन्दोलनसँग सम्बन्धित राजनीतिक विरोधको गतिविधिमा सहभागी भएकै कारण कसैउपर फौजदारी अनुसन्धान वा अभियोजन गरिने छैन ।”

    उक्त सम्झौताको पूर्ण विवरण यसप्रकार रहेको छ :

    जेन–जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबीच भएको सम्झौता प्रस्तावना देशमा व्याप्त भ्रष्टाचार, कुशासन, दण्डहीनता, भेदभाव, बहिष्करण तथा आर्थिक–सामाजिक असमानता र अन्याय जस्ता संरचनात्मक कारणहरूबाट सिर्जित द्वन्द्वको समयमै सम्बोधन नहुँदा उत्पन्न आम वितृष्णा र निराशाले जेन–जीको नेतृत्वमा वि.सं. २०८२ साल भाद्र २३ र २४ गते भएको राजनीतिक–सामाजिक जनआन्दोलन निम्त्याएको वास्तविकतालाई स्वीकार गर्दै जनआन्दोलनका क्रममा जीवन बलिदान गर्ने शहीद, घाइते एवं तिनका समस्त परिवारजनप्रति सम्मान प्रकट गर्दै, जनआन्दोलनका क्रममा भएका अपूरणीय मानवीय, सामाजिक, मानसिक, भौतिक, आर्थिक तथा अन्य सबै प्रकारका क्षतिप्रति दुःख व्यक्त गर्दै, जनआन्दोलनको सन्दर्भमा भएका सम्पूर्ण गम्भीर मानव अधिकार उल्लङ्घन तथा हिंसाजन्य ज्यादतीका घटनाहरूको स्वतन्त्र छानबिन गरी सत्य, न्याय, परिपूरण र संस्थागत सुधारका उपाय अवलम्बन गरी दण्डहीनताको अवस्था अन्त्य गर्नुपर्ने अपरिहार्यता बोध गर्दै, जेन–जीको नेतृत्वमा भएको जनआन्दोलनपश्चात् सिर्जित असाधारण परिस्थितिमा जनआन्दोलनका मागहरू सम्बोधन गर्न एउटा गैरदलीय, पारदर्शी, जवाफदेही, समावेशी र सक्षम अन्तरिम नागरिक सरकारको ऐतिहासिक आवश्यकताको उपजको रूपमा वर्तमान सरकार बनेको तथा जनविश्वास गुमाइसकेको सङ्घीय संसद्को प्रतिनिधि सभाको विघटन गरी निर्वाचनको मिति तय गरिएको ऐतिहासिक तथ्यलाई स्वीकार गर्दै, नेपालमा विभिन्न कालखण्डमा नेपाली जनताले पटकपटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, नारीवादी आन्दोलन, आदिवासी आन्दोलन, दलित आन्दोलन, मुस्लिम आन्दोलन, मधेश आन्दोलन, थरुहट आन्दोलन लगायतका हरेक आन्दोलनहरूबाट हासिल गरिएको प्रत्येक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हक, अभिव्यक्ति तथा साङ्गठनिक स्वतन्त्रता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानतामा आधारित समानुपातिक समावेशी राज्य प्रणाली, सामाजिक र आर्थिक न्याय सुनिश्चित गर्दै नेपाली जनताले संविधान सभामार्फत जारी गरेको नेपालको संविधानको सान्दर्भिकता र वैधतालाई आत्मसात् गर्दै, नेपाली जनताले प्रयोग गर्ने ‘डिजिटल’ माध्यमलाई नागरिक अभिव्यक्तिको वैध माध्यमका रूपमा ग्रहण गरी यस जनआन्दोलनका क्रममा आन्दोलनकारीहरूले प्रयोग गरेका नयाँ डिजिटल माध्यम, सांस्कृतिक प्रतीक र सिर्जनात्मक अभिव्यक्तिलाई वैध नागरिक राजनीतिक संलग्नताको रूपमा स्वीकार गर्दै, सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, संरचनागत विभेद तथा आर्थिक शोषणको कारणले सिर्जना भएको वर्गीय, जातीय, लैङ्गिक तथा यौनिक असमानता, गरिबी, सिमान्तीकरण एवम् बहिष्करण अन्त्य गर्ने दृढ सङ्कल्प लिँदै, राज्यका स्रोत साधनसम्म हरेक नेपालीको न्यायिक पहुँच र ती स्रोतसाधनको समतामूलक वितरण, बाँडफाँट र दिगो प्रयोग गर्नुपर्ने आवश्यकतामा जोड दिँदै, सुशासन, समावेशिता र जनसहभागिताका मान्यतामा आधारित सङ्घीयता, स्थानीय स्वायत्तता र विकेन्द्रीकरणको सुदृढीकरणबाट शिक्षा, स्वास्थ्य, रोजगार, आवास, भूमि, भाषा, संस्कृति, लैङ्गिक तथा सामूहिक अधिकारहरूको कार्यान्वयन तथा उद्यमशीलता, नवप्रवर्तन र अन्वेषण राज्यका भावी नीति र कार्यक्रमका मुख्य प्राथमिकता बन्नुपर्ने आवश्यकतामा जोड दिँदै, जनआन्दोलनपश्चात्को नवनिर्माणका हरेक क्रियाकलापहरूलाई सुशासनका मूल्यमान्यताबाट अनुप्राणित गरी भ्रष्टाचारमुक्त, पारदर्शी, जवाफदेही, चुस्त, मितव्ययी, समावेशी, प्रभावकारी र स्वार्थको द्वन्द्वरहित बनाउने प्रण गर्दै, नेपाली जनताको सुशासनको तीव्र आकाङ्क्षाबाट प्रेरित भई जेन–जीको नेतृत्वमा भएको जनआन्दोलनबाट प्राप्त जनादेश एवं संविधानले अङ्गीकार गरेका मूल्यमान्यतालाई आत्मसात् गर्दै नेपाल सरकार र जेन–जी जनआन्दोलनका प्रतिनिधिबीच यो सम्झौता सम्पन्न गरिएको छ । सम्झौताका उल्लिखित प्रावधानहरूको इमानदारिताका साथ प्रभावकारी कार्यान्वयनका लागि दुवै पक्ष दृढ प्रतिज्ञा व्यक्त गर्दछन् ।

    १. शहीद र घाइतेको त्याग तथा बलिदानलाई सम्मान, न्याय तथा अर्थपूर्ण स्मृतीकरणसहितको परिपूरण

    १.१ वि.सं. २०८२ साल भाद्र २३ र २४ गते जेन–जीको नेतृत्वमा भएको जनआन्दोलनको क्रममा तत्कालीन सरकारबाट भएको दमन र व्यापक हिंसाका घटनामा सहादत प्राप्त गर्नु भएका व्यक्तिलाई शहीद घोषणा गर्नेलगायत शहीद परिवारको माग र भावनाको यथाशीघ्र सम्बोधन गर्ने व्यवस्था गरिनेछ ।

    १.२ शहीद परिवार तथा घाइतेको तत्कालीन र दीर्घकालीन आवश्यकताको यथोचित सम्बोधन गर्न सम्बन्धित शहीद परिवार र घाइतेसँगको परामर्श तथा समन्वयमा तत्काल एक उच्चस्तरीय कार्यदल गठन गरी अन्तरिम राहत, क्षतिपूर्ति, निःशुल्क स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श, निःशुल्क शिक्षा, रोजगारी, सामाजिक सुरक्षा एवं अर्थपूर्ण स्मृतीकरण (मेमोरियलाइजेशन) समेतको परिपूरणीय व्यवस्था सुनिश्चित गरिनेछ।

    १.३ जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेको सामूहिक माग अनुरूप मुलुकमा सदाचार तथा सुशासन प्रवद्र्धन, भ्रष्ट्राचार निवारण तथा दण्डहीनता अन्त्य गर्न छुट्टै स्थायी प्रकृतिको आयोग गठन गरिनेछ ।

    २. भाद्र २३ र २४ का घटनाको अनुसन्धान, अभियोजन र पुनरावृत्ति हुन नदिन आवश्यक संस्थागत सुधार २.१ नेपाल सरकारले गठन गरेको भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगलाई देहायबमोजिमको कार्यादेश थप गरिनेछः

    (क) यस जनआन्दोलनका क्रममा भएको अत्यधिक बल प्रयोगको परिणामस्वरूप गैरन्यायिक हत्यालगायतका मानव अधिकार उल्लङ्घनसम्बन्धी आरोपहरूको बिना विभेद छानबिन गरी सत्य तथ्य खोज गरी फौजदारी जवाफदेहिता बहन गर्न सिफारिस गर्ने ।

    (ख) जाँचबुझ, सत्य निरूपण तथा मेलमिलापको मान्यतालाई ध्यानमा राखी उपयुक्त प्रक्रिया अपनाई जनआन्दोलनको प्रकृति तथा भाद्र २३ र २४ को विशिष्ट परिस्थितिजन्य अवस्थालाई दृष्टिगत गरी जनआन्दोलनका क्रममा भएका घटना र अन्य व्यक्ति वा समूहले आपराधिक मनसायका साथ सुनियोजित तथा सङ्गठित तरिकाले गरेका हिंसात्मक कार्यहरूको भेदलाई पूर्वाग्रहरहित रूपमा छुट्याई छानबिन गरी प्रतिवेदन पेश गर्ने ।

    (ग) कसैलाई आन्दोलनमा सहभागी भएकै कारण अनुसन्धान वा अभियोजनको दायरामा पारिएको छ भनी आन्दोलनकारी स्वयं वा निजका तर्फबाट अन्य कसैले अनलाइन, लिखित वा हटलाइनमार्फत उजुरी दिएमा सो सम्बन्धमा सम्बन्धित निकायबाट विवरण झिकाई सो विवरणका आधारमा यो सम्झौता भएको मितिले १५ दिनभित्र स्क्रिनिङ तथा छानबिन गर्ने ।

    (घ) स्क्रिनिङ तथा छानबिनबाट सम्बन्धित व्यक्ति ज्यान मार्ने कसुर वा सुनियोजित/सङ्गठित रूपमा कुनै आपराधिक गिरोहद्वारा भएका हुनसक्ने गम्भीर अपराधमा संलग्न रहेको नदेखिएमा पछि जाँचबुझ आयोगको प्रतिवेदनबमोजिम हुनेगरी सो व्यक्तिलाई तत्काल हिरासत/थुनामुक्त गर्न र निजविरुद्ध दायर भएका मुद्दा फिर्ता लिन नेपाल सरकारलाई सिफारिस गर्ने ।

    २.२ नेपाल सरकारका सम्बन्धित निकायले माथि उल्लिखित सिफारिस बमोजिमको कारबाही यथाशीघ्र अगाडि बढाउनेछन् ।

    २.३ यस जनआन्दोलनसँग सम्बन्धित राजनीतिक विरोधको गतिविधिमा सहभागी भएकै कारण कसै उपर फौजदारी मुद्दाको अनुसन्धान वा अभियोजन गरिने छैन ।

    २.४ यस जनआन्दोलनसहित नेपालका विभिन्न आन्दोलनका क्रममा सुरक्षा निकायबाट भएका अन्यायपूर्ण तथा गैरकानुनी बल प्रयोगसम्बन्धी घटनाको आवश्यक जाँचबुझ गरी भविष्यमा यस्ता घटनाको पुनरावृत्ति हुनबाट रोक्नका लागि नेपालको प्रचलित कानुन, सुरक्षा निकायका कमीकमजोरी, सुरक्षाकर्मीलाई सामाजिक, मानसिक सुरक्षाको अभावलगायत अन्य कारणहरू पहिचान गरी सम्बन्धित कानुन तथा सुरक्षा निकायमा आवश्यक संस्थागत सुधारका उपायहरूको अध्ययन तथा सिफारिस गर्न छुट्टै संयन्त्र गठन गर्ने र सो संयन्त्रले पेस गर्ने प्रतिवेदन सार्वजनिक गरी प्रतिवेदनमा उल्लिखित सिफारिसहरू तत्काल कार्यान्वयन गरिनेछ ।

    ३. राजनीतिक तथा नीतिगत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबन्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य

    ३.१ राजनीतिक, नीतिगत तथा संस्थागत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबन्डाका आधारमा गरिने नियुक्तिको अन्त्य लगायतका देहायका विषयमा निष्पक्ष छानबिन गरी सिफारिस गर्न एक उच्चस्तरीय आयोग गठन गरिनेछः

    क) सम्पूर्ण सार्वजनिक पदमा नियुक्त, निर्वाचित वा मनोनीत व्यक्तिको जीवनशैली, आयस्रोत र अकूत सम्पत्ति आर्जनका सम्बन्धमा दोषीलाई कानुनबमोजिमको कारबाही गर्ने प्रक्रिया,

    (ख) सार्वजनिक संस्थाहरूको दलीयकरण र भागबन्डाका आधारमा गरिने नियुक्तिको अभ्यास अन्त्य गर्न सम्बन्धित नीति र कानुनमा गर्नुपर्ने सुधार तथा मौजुदा कानुनको प्रभावकारी कार्यान्वयनको विषय,

    (ग) विभिन्न सार्वजनिक पदधारण गरेका व्यक्ति तथा राजनीतिक दलले आफ्ना नेताहरूको नाउँमा सार्वजनिक जग्गा, सम्पत्ति र बजेटको प्रयोग गरी देशभर सञ्चालन गरेका प्रतिष्ठान, कोष, ट्रष्ट, परिषद्, केन्द्र जस्ता निकायको कार्य तथा आर्थिक गतिविधि छानबिन गरी सम्बन्धित संस्थाले सार्वजनिक हित र उद्देश्य विपरीत वा गैरकानुनी गतिविधि गरेको पाइएमा यस्ता निकायलाई खारेज गरी सम्पत्ति राष्ट्रियकरण गर्ने विषय,

    (घ) नेपालको सार्वजनिक निकायमा हुने अनियमितता तथा भ्रष्टाचार निवारण, प्रशासकीय प्रणालीको पुनःसंरचना, सार्वजनिक सेवा प्रवाहको सरलीकरण, सहज पहुँच, गुनासो सुनुवाइको व्यवस्था र विद्युतीय सुशासन प्रवद्र्धन लगायतका विषय ।

    ४. स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनको सुनिश्चितता

    ४.१ आगामी प्रतिनिधि सभा तथा हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउन प्राथमिकताका साथ आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत पूर्वाधार विकास गरी कार्यान्वयन गरिनेछ ।

    ४.२ योग्य नेपाली नागरिक मतदाताका रूपमा नाम दर्ता गर्ने अभियानलाई सहज र प्रभावकारी बनाइनेछ । बेजिल्ला तथा अन्तरनिर्वाचन क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने मतदातालाई निजहरू रहेकै जिल्लाबाट आसन्न निर्वाचनमा नै मतदान गर्ने व्यवस्था गरिनेछ । संसारका विभिन्न देशमा औपचारिक तथा अनौपचारिक रूपमा श्रम गर्ने प्रवासी नेपाली नागरिकहरू, पेसा व्यवसायमा रहेका र प्रवासी नेपाली विद्यार्थीहरूको मताधिकार सुनिश्चित गर्न नीतिगत, कानुनी तथा संस्थागत पूर्वाधार विकासको प्रक्रिया अगाडि बढाइनेछ ।

    ४.३ निर्वाचनमा मनोनयन दर्ता गर्दाकै बखत उम्मेदवारले आफ्नो सम्पत्ति विवरणसमेत बुझाउनुपर्नेलगायत राजनीतिक दल र उम्मेदवारको खर्च पारदर्शी बनाउन कानुनमा संशोधन गरिनेछ ।

    ४.४ सबै राजनीतिक दलका सम्पत्ति तथा आर्थिक स्रोतको विवरण अनिवार्य रूपमा मागी सो उपर छानबिन गरी स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरी दोषी उपर कारबाही गर्न आवश्यक कानुनी प्रबन्ध गरिनेछ ।

    ४.५ निर्वाचन प्रणाली सुधारका लागि माथि उल्लिखित कुराको अतिरिक्त प्रचलित कानुनमा तत्काल संशोधन गरी निम्न व्यवस्था लागू गरिनेछः

    (क) मतपत्रमा ‘माथिका कसैलाई मतदान गर्दिन (NOTA)” विकल्प राखिनेछ।

    (ख) राजनीतिक दलभित्र अनिवार्य रूपमा प्राथमिक प्रतिस्पर्धा (प्राइमरी इलेक्सन) गरी छनोट भएको व्यक्ति मात्र निर्वाचनका लागि उम्मेदवार हुन पाउने कानुनी व्यवस्था गरिनेछ ।

    (ग) निर्वाचन आयोगद्वारा तयार गरिने मतपत्रमा दल/उम्मेदवारको क्रमाङ्क गोला प्रथाबाट निर्धारण गरिनेछ ।

    (घ) राजनीतिक दलमा अध्यक्ष वा सभापति अधिकतम दुई कार्यकालका लागि मात्रै हुन सक्ने प्रबन्ध गरिनेछ ।

    (ङ) निर्वाचन प्रयोजनका लागि मात्रै हुने अस्वस्थ गठबन्धन नियन्त्रणका लागि कानुनी प्रबन्ध गरिनेछ ।

    (च) आगामी निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणालीमा समेत उम्मेदवार चयन गर्दा समानुपातिक समावेशी सिद्धान्तको पालना गर्न कानुनी प्रबन्ध गरिनेछ ।

    ५. नेपालको संविधानमा गर्नुपर्ने सुधार

    ५.१ नेपालको संविधानले सुनिश्चित गरेको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्त, प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक बहुदलीय व्यवस्था, धर्मनिरपेक्षता, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यका आधारभूत मूल्य मान्यताहरूलाई अक्षुण्ण राख्दै सुशासन कायम गर्न, संविधानको प्रभावकारी कार्यान्वयनमार्फत सामाजिक–आर्थिक रूपान्तरण तथा समतामूलक समृद्धि, दिगो शान्ति र दिगो विकासका वाचा पूरा गर्न तथा बदलिँदो परिप्रेक्ष्यमा नेपाली जनताको सामूहिक विवेक र आकाङ्क्षालाई समेट्न गरिनुपर्ने संवैधानिक, कानुनी तथा संस्थागत सुधारका विषयहरूको पहिचान, अध्ययन र विश्लेषण गरी अग्रगामी परिवर्तनका लागि सुझावसहितको प्रतिवेदन पेस गर्न स्वतन्त्र विज्ञ, जेन–जी र युवासहित सरोकारवालाहरूको सहभागिता रहने गरी एक उच्चस्तरीय ‘संविधान संशोधन सुझाव आयोग’ गठन गरिनेछ ।

    ५.२ उल्लिखित आयोगले स्थानीय, प्रदेश र सङ्घीय तहमा व्यापक बहस, संवाद, अन्तरक्रिया तथा नागरिक परामर्श गरी सुझावसहितको प्रतिवेदन तयार गर्नेछ ।

    ५.३ संविधान संशोधन सुझाव आयोगको कार्यादेशमा अन्य कुराको अतिरिक्त निम्नानुसारका विषयवस्तु समेत तोकिनेछः–

    (क) संविधान कार्यान्वयनका दस वर्षको सिंहावलोकन गरी कार्यान्वयनका उपलब्धि र कमीकमजोरी पहिचान गर्ने तथा कार्यान्वयनको प्रभावकारिताका लागि ठोस सुझाव दिने,

    (ख) सुशासन कायम गर्न, अख्तियारको दुरूपयोग तथा भ्रष्टाचार निवारण गर्न, स्वार्थको द्वन्द्वको निराकरण गर्न, संविधानको कार्यान्वयनलाई प्रभावकारी बनाउने उपाय खोज्न तथा बदलिँदो परिप्रेक्ष्यमा नेपाली जनताको सामूहिक विवेक र आकाङ्क्षाको समीक्षा गरी समयानुकूल संविधान संशोधनका लागि सुझाव दिने,

    (ग) माथि प्रकरण १.३ बमोजिमको आयोगलाई संवैधानिक हैसियत प्रदान गर्ने सम्बन्धमा सुझाव दिने,

    (घ) सङ्घीय संसद् एवम् प्रदेश सभाको संरचनाको सम्बन्धमा स्थानीय, प्रदेश र केन्द्रस्तरमा बहस एवम् अन्तरक्रियामार्फत सुझाव सङ्कलन गरी देहायका विषयमा सिफारिस सहितको प्रतिवेदन पेस गर्नेः

    (१) जनसङ्ख्याका आधारमा पूर्ण समानुपातिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन प्रणालीमा आवश्यक सुधार,

    (२) अधिकतम परिपूरणीय, अधिकारपूर्ण र अर्थपूर्ण प्रतिनिधित्वको सिद्धान्तलाई आत्मसात् गर्दै महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पछाडि पारिएका वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक रूपमा विविध पहिचान गर्ने समुदाय, किसान, श्रमिक, उत्पीडित वा पछाडि पारिएका क्षेत्रका नागरिक तथा आर्थिक रूपमा विपन्न खस आर्य लगायतको प्रतिनिधित्व सुनिश्चित गर्न सुधारात्मक व्यवस्था,

    (३) राज्यको राष्ट्रप्रमुख, तीनै तहको सरकारका कार्यकारी प्रमुख र मन्त्रिपरिषद्का सदस्यको कार्यकाल १० वर्षमा नबढ्ने गरी दुई पूर्ण कार्यकालसम्म सीमित गर्ने विषय,

    (४) प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको जनप्रतिनिधिका लागि उम्मेदवार हुन न्यूनतम उमेर २१ वर्ष राख्ने विषय,

    (५) न्यायपालिका, संवैधानिक परिषद्, संवैधानिक आयोग र न्यायपरिषद्लाई राजनीतिक तथा दलीय हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त राख्न र स्वायत्त तथा स्वतन्त्र ढङ्गले कार्यसम्पादन गर्न सक्षम बनाउन र राज्यका संरचनामा युवाहरूको प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्न उक्त आयोगहरूको संरचना तथा पदाधिकारी नियुक्तिको प्रक्रियामा सुधार,

    (६) राजनीतिक दलहरूको आन्तरिक समावेशी लोकतन्त्र र सुशासनका क्षेत्रमा गर्नुपर्ने सुधारका उपाय ।

    ६. पूर्ण समानुपातिक समावेशिता र सहभागितामूलक प्रतिनिधित्व

    ६.१ यो सम्झौताबमोजिम बन्ने संयन्त्रहरूमा यथासक्य समावेशिता सुनिश्चित गरिनेछ । राज्यका संयन्त्रहरूमा अधिकतम परिपूरणीय, अधिकारपूर्ण र अर्थपूर्ण प्रतिनिधित्वका सिद्धान्तका आधारमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पछाडि पारिएका वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक रूपमा विविध पहिचान गर्ने समुदाय, किसान, श्रमिक, उत्पीडित वा पछाडि पारिएका क्षेत्रका नागरिक तथा आर्थिक रूपमा विपन्न खस आर्य लगायतको प्रतिनिधित्व सुनिश्चित गर्न यस सम्झौताबमोजिम गठन हुने जेन–जी परिषद्ले सल्लाहकारको भूमिका निर्वाह गर्नेछ ।

    ७. पारदर्शिता

    ७.१ पारदर्शी र जवाफदेही सरकारको अवधारणाअनुरूप सरकारले आफ्ना कामकारबाही, निर्णय तथा खर्चमा पारदर्शिता सुनिश्चित गर्नका लागि विधि, प्रक्रिया, कानुन, प्रविधि तथा संयन्त्रहरूमा आवश्यक सुधार, समायोजन र परिमार्जन गरिनेछ । सरकारका यस्ता निर्णय तथा कार्यलाई सूचनापाटी, वेबसाइट, सामाजिक सञ्जाल र आम प्रयोगमा रहेका सूचना तथा सञ्चारका माध्यममार्फत समेत सर्वसाधारणको सहज पहुँचमा पु¥याउने व्यवस्था मिलाइनेछ ।

    ७.२ नेपालमा विगतमा भएका मानव अधिकार उल्लङ्घन तथा हिंसाका घटना र भ्रष्टाचारसँग सम्बन्धित छानबिन लगायतका विषयमा अध्ययन अनुसन्धान गर्न गठन गरिएका सम्पूर्ण छानबिन, जाँचबुझ आयोगका प्रतिवेदन प्रचलित कानुनको अधीनमा रही सार्वजनिक गरिनेछ ।

    ७.३ नेपाल सरकारको सार्वजनिक पदहरूमा हुने सबै नियुक्तिका लागि पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय छनोट प्रक्रिया सुनिश्चित गर्न, अवसरको समानता सुनिश्चित गर्न तथा नातावाद, कृपावाद र भेदभावको अवस्था अन्त्य गर्न जेन–जीलगायत सरोकारवालासँग परामर्श गरी आवश्यक उपायहरू अवलम्बन गरिनेछ ।

    ८. अभिव्यक्ति स्वतन्त्रता र डिजिटल स्वतन्त्रता

    ८.१ इन्टरनेट र डिजिटल माध्यममा अभिव्यक्ति, सूचना प्रवाह र संवादमा कुनै किसिमको स्वेच्छिक, गैरकानुनी नियमन, निषेध वा पूर्वाग्रही सेन्सरसिप हुन नदिन आवश्यक कानुनी, भौतिक र प्राविधिक पूर्वाधारको व्यवस्था गरिनेछ ।

    ८.२ सर्वसाधारण नागरिकको डिजिटल तथ्याङ्क (डेटा) माथि राज्य वा तेस्रो पक्षका तर्फबाट गैरकानुनी निगरानी र दुरूपयोग हुन नदिने गरी कानुनी, भौतिक र प्राविधिक सुधारसहित आवश्यक पूर्वाधारको व्यवस्था गरिनेछ ।

    ९. जेन–जी परिषद्को गठन ९.१ जेन–जी आन्दोलनको मर्म र भावनाअनुसार शासन व्यवस्था सञ्चालनमा सरकारलाई योगदान गर्न, खबरदारी गर्न, सुशासन, दिगो विकास तथा समृद्धिका लागि नेपाल सरकारलाई सल्लाह, सुझाव र सहयोग प्रदान गर्नका लागि जेन–जी परिषद् गठन गरिनेछ ।

    १०. सम्झौता लागू हुने मिति र सम्झौताको कार्यान्वयन

    १०.१ दुवै पक्षका प्रतिनिधिद्वारा हस्ताक्षर भएको मितिदेखि यो सम्झौता लागू हुनेछ ।

    १०.२ यो सम्झौताको कार्यान्वयन नेपाल सरकार र जेन–जी जनआन्दोलनका प्रतिनिधिको आपसी सहमतिमा हुनेछ ।

    १०.३ यो सम्झौताको अधीनमा रहेर दुवै पक्षको सहमतिमा अन्य सम्झौता गर्न बाधा पुगेको मानिने छैन । —

  • सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

    सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

    काठमाडौँ, २४ मङ्सिर । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे । सहमतिपछि प्रधानममन्त्री सुशीला कार्कीले सरकार र जेनजी पुस्ताका प्रतिनिधिबीच भएको सम्झौता परिवर्तनका लागि कोसेढुङ्गाका रूपमा खडा रहने विश्वास व्यक्त गरिन् ।

    उनले अहिले भएको सम्झौतापत्र भोलिको परिवर्तनलाई निर्देशन गर्ने बताइन् । प्रधानमन्त्री कार्कीले भनिन्, “यसले संविधान बनाउन गाइड गर्छ । भविष्यमा रक्तपातको आन्दोलन र विपद् रोक्न प्रयास गर्छ । हामी एउटै पक्ष छौँ । जेनजी मेरा सन्तान हुन् । हामी सबैको एउटै विचार हो, युवा शक्तिले सत्ता लिओस् । उनीहरूका विचारअनुसार राज्य चलोस् । हामी सन्तानको भविष्य हेर्न चाहन्छौँ ।”

    गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा सरकारका मन्त्रीहरू, मुख्यसचिवलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

  • चीनमा १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड

    चीनमा १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड

    बेइजिङ, २४ मङ्सिर (रासस–एएफपी) । चीनले राज्यनियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनीका पूर्व कार्यकारीलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार मृत्युदण्ड दिएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । चिनियाँ हुआरोङ इन्टरनेसनल होल्डिङ्स (सिएचएच) की पूर्व महाप्रबन्धक बाई तियानहुईलाई सन् २०१४ देखि सन् २०१८ को बीचमा परियोजनाहरूको अधिग्रहण र वित्तपोषणमा अनुकूल व्यवहार गर्ने क्रममा १५६ मिलियन डलरभन्दा बढी रकम स्वीकार गरेको अभियोगमा दोषी ठहर गरिएको छ ।

    सिएचएच चाइना हुआरोङ एसेट म्यानेजमेन्टको सहायक कम्पनी हो, जसले देशको सबैभन्दा ठूलो सम्पत्ति व्यवस्थापन कोषको रूपमा खराब ऋण व्यवस्थापनका बारेमा चासो राख्छ । ह्वारोङ राष्ट्रपति सी जिनपिङको वर्षौं लामो भ्रष्टाचारको दमनको एक प्रमुख लक्ष्य भएको छ र यसका पूर्व अध्यक्ष सियाओमिनलाई सन् २०२१ जनवरीमा २५ करोड ३० लाख डलरको घुस लिएको आरोपमा मृत्युदण्ड दिइएको थियो।

    अन्य धेरै हुआरोङ अधिकारीहरू पनि भ्रष्टाचार विरोधी अनुसन्धानमा फसेका छन्। चीनमा भ्रष्टाचारका लागि मृत्युदण्डको सजाय प्रायः दुई वर्षको छुटका साथ जारी गरिन्छ र त्यसपछि आजीवन कारावासमा परिवर्तन गरिन्छ। उत्तरी शहर तियानजिनको अदालतले सन् २०२४ मेमा पहिलो पटक सुनाएको बाईको सजाय निलम्बन गरिएको थिएन। उनले आफ्नो सजायबिरूद्ध अपील गर्नुभएको थियो तर मूल फैसलालाई फेब्रुअरीमा सदर गरिएको थियो ।

    चीनको सर्वोच्च अदालत सुप्रिम पिपुल्स कोर्टले समीक्षापछि निर्णयको पुष्टि गर्दै बाईको अपराध ‘अत्यन्त गम्भीर’ भएको बताएको छ । “बाइले असाधारण रूपमा ठूलो रकम घूस स्वीकार गरेकाले उनको अपराधको अवस्था असाधारण थियो । यसको सामाजिक प्रभाव विशेष थियो र राज्य र जनताको हितले असाधारण रूपमा ठूलो क्षति बेहोरेको थियो,” सीसीटीभीले एसपिसीलाई उद्धृत गर्दै लेखेको छ।

    मङ्गलबार बिहान तियानजिनमा नजिकका आफन्तहरूसँग भेटेपछि उनलाई मृत्युदण्ड दिइएको थियो तर उनलाई कसरी मृत्युदण्ड दिइयो भन्ने खुलाएको छैन।
    चीनले मृत्युदण्डको तथ्याङ्कलाई राज्यको गोप्य रूपमा वर्गीकृत गरेको छ, यद्यपि एम्नेस्टी र अन्य अधिकारवादी समूहहरूले देशमा हरेक वर्ष हजारौँ मानिसहरूलाई मृत्युदण्ड दिने गरेको विश्वास गर्छन्।

    बाई चीनको वित्त उद्योगमा भ्रष्टाचारविरुद्ध लामो समयदेखि चलिरहेको कारबाहीमा सजाय भोग्ने पछिल्लो उच्च पदका व्यक्ति हुन् । चीनको शीर्ष सेक्युरिटिज रेगुलेटरका पूर्व प्रमुख यी हुइमानलाई गत सेप्टेम्बरमा भ्रष्टाचारको आरोपमा छानबिनको दायरामा राखिएको थियो । गत मार्चमा सरकारी स्वामित्वको बैङ्किङ कम्पनी एभरब्राइट ग्रुपका पूर्व प्रमुख ली सियाओपेङलाई छ करोड युआनको घुस लिएको अभियोगमा १५ वर्षको जेल सजाय सुनाइएको थियो ।

    बैङ्क अफ चाइनाका पूर्व अध्यक्ष लिउ लियान्गेलाई सन् २०२४ नोभेम्बरमा दुई वर्षको छुटसहित मृत्युदण्डको सजाय सुनाइएको थियो। भ्रष्टाचार विरोधी अभियानले स्वच्छ शासनलाई बढावा दिएको अभियानका समर्थकहरूले बताएका छन् तर आलोचकहरूले यसले सीलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई सफाया गर्ने शक्ति प्रदान गरेको मात्र देख्छन् ।

  • हितन्द्रको प्रतिक्रिया : न्यायको जीत भयो

    हितन्द्रको प्रतिक्रिया : न्यायको जीत भयो

    काठमाडौँ, २३ मङ्सिरः सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःबहाली गरेपछि हितेन्द्र शाक्यले न्यायको जीत भएको प्रतिक्रिया दिएका छन् । रासससँग कुरा गर्दै उनले सरकारको निर्णयबाट आहात भएकोमा न्यायालयले राहत दिएको बताए । शाक्यले भने, “न्यायलयको निर्णयले राहत महसुस भएको छ ।”

    उनले आफ्नो योग्यता र क्षमताअनुसार देश, जनता र प्राधिकरणको हितमा काम गर्ने पूर्ववत् प्रतिबद्धता दोहोर्‍याए । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलाशले शाक्यका पक्षमा परमादेश जारी गरेको हो । सरकारले गत असोज ५ गते शाक्यलाई कार्यकारी निर्देशकबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरी मनोज सिलवाललाई नियुक्त गरेको थियो । सरकारको निर्णयविरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए ।

  • प्राधिकरणमा हितेन्द्रलाई सर्वोच्चद्धारा पुनस्थापित, कुलमानलाई धक्का

    प्राधिकरणमा हितेन्द्रलाई सर्वोच्चद्धारा पुनस्थापित, कुलमानलाई धक्का

    नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सर्वोच्च अदालतले पुनस्थापित गरिदिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मन्त्रिपरिषद्‍मा लगेको प्रस्ताव पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिएको भन्दै सर्वोच्च अदालतले उनलाई पदमा पुनर्बहाली गरेको हो । यससँगै कुलमानलाई भने धक्का लागेको छ । सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई हटाउने सरकारको निर्णय बदर गर्दै पुनः प्राधिकरणकै कार्यकारी निर्देशकमा पुनःस्थापित गरिदिएको हो ।

    त्यति मात्र नभई अदालतले विभागीग मन्त्रीले शाक्यलाई हटाउन प्रतिशोधपूर्ण तरिकाले प्रस्ताव लगेको पनि आदेशमा उल्लेख छ । त्यस्तो प्रस्तावमा आधारित भई गरेको निर्णय तथा कामकारबाहीलाई स्वच्छ, न्यायसंगत र उचित कारणमा आधारित निर्णय भनी मान्न नमिल्ने पनि आदेशमा उल्लेख छ । मिसिलको मुहारबाटै स्वेच्छाचारी देखिएका यस्ता निर्णय तथा कामकारबाहीहरू कानुन र न्यायको रोहमा कायम रहन सक्ने नदेखिएको पनि आदेशमा उल्लेख छ ।


    ुनेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकलाई सो पदबाट हटाउनु पर्दा नेपाल विद्युत् प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको सर्त तथा सुविधासम्बन्धी विनियमावली, २०६१ वा निजसँग गरिएको कार्यसम्पादन सम्झौतामा उल्लिखित प्रक्रिया र आधारमा हटाउन सकिनेमा सोबमोजिमको कुनै पनि प्रकृया अबलम्बन नगरी उक्त पदबाट हटाएको देखिँदा निजलाई सो पदबाट हटाउने विपक्षी विभागीय मन्त्रीको प्रस्ताव नै पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिन आयो । त्यस्तो प्रस्तावमा आधारित भई गरेको निर्णय तथा कामकारबाहीलाई स्वच्छ, न्यायसंगत र उचित कारणमा आधारित निर्णय भनी मान्न मिलेन । मिसिलको मुहारबाटै स्वेच्छाचारी देखिएका यस्ता निर्णय तथा कामकारबाहीहरू कानुन र न्यायको रोहमा कायम रहन सक्ने देखिएन,’ आदेशमा भनिएको छ ।


    गत असोज ५ मा बसेको मन्त्रिपरिषद् बैठकले हितेन्द्र शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउँदै जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञमा सरुवा गर्ने निर्णय गरेको थियो । उक्त प्रस्ताव मन्त्री कुलमानले नै मन्त्रिपरिषद्‍मा लगेका थिए । ऊर्जामन्त्रीका रूपमा कुलमानले शपथ लिएपछि बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउँदै जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गर्दै सरुवा गरेको थियो । शाक्यले आफ्नो पद प्राधिकरणमै कायम हुनुपर्ने माग गर्दै कात्तिक २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

  • पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

    पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

    काठमाडौँ, २२ मङ्सिर । स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

  • हेटौँडाको मुख्य सडक विस्तार रोकियो

    हेटौँडाको मुख्य सडक विस्तार रोकियो

    बागमती, २१ मङ्सिरः सडक डिभिजन कार्यालय हेटाँैडाले मुख्य सडक विस्तार कार्य रोकेको छ । सर्वोच्च अदालतबाट यही मङ्सिर १९ गते जारी उत्प्रेषण आदेश आज प्राप्त भएको भन्दै सडक डिभिजन कार्यालय हेटौँडाले सडक विस्तार कार्य हाललाई रोकिएको जनाएको छ । सर्वोच्च अदालतबाट जारी उत्प्रेषण आदेशलाई सम्मान गर्दै हाललाई सडक विस्तारका लागि डोजर चलाउने कार्य रोकिएको सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए । सर्वोच्च अदालतको आदेशबारे पत्र आज कार्यालयमा प्राप्त भएकाले सडक विस्तार कार्य रोकिएको प्रमुख अधिकारीले बताए ।


    पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचौक हुँदै राप्ती खोला पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचौकदेखि सामरी पुलसम्मको सडक खण्डमा सडकको मध्य भागबाट दायाँबायाँ २५÷२५ गजभित्र निर्माण भएका स्थायी र अस्थायी घरटहरा तथा अन्य संरचनाहरु १५ दिनभित्र हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले गत शुक्रबार सार्वजनिक सूचना जारी गरेको थियो ।

    तोकिएको समय सीमाभित्र घरधनीले त्यस्तो भौतिक संरचना नहटाएको भन्दै सडक डिभिजन कार्यालयले शनिबार रातोमाटेदेखि बुद्ध चौक हुँदै राप्ती पुलसम्मका सडक सीमाक्षेत्रमा पर्ने करिब ५०० भन्दा बढी घर तथा भौतिक संरचनाहरु डोजर प्रयोग गरी भत्काएका थिए । यही मङ्सिर १९ गते सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

    सडक डिभिजन कार्यालय हेटौँडाले मुख्य सडक विस्तारका लागि १५ दिने सूचना जारी गर्दै मङ्सिर २० गतेदेखि सडक सीमाभित्र पर्ने संरचना भत्काउने सूचनाविरुद्ध विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै सडक विस्तारको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नु, राख्न लगाउनु भन्दै सडक डिभिजन कार्यालय हेटौँडामा नाममा आदेश दिएको थियो ।

  • मोरङमा बालिकाको बलात्कार र हत्या अभियोगमा ५८ वर्षिय पुरुष पक्राउ

    मोरङमा बालिकाको बलात्कार र हत्या अभियोगमा ५८ वर्षिय पुरुष पक्राउ

    काठमाडौँ, २१ मङ्सिरः नेपाल प्रहरीले १२ वर्षीया बालिकाको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले मोरङको लेटाङ नगरपालिका–२ का नवीन गौतमकी १२ वर्षीया छोरीको हत्यामा संलग्न ५८ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    गत असोज २१ गते दिउँसो हराएकी बालिकाको कात्तिक ७ गते लेटाङ–२ स्थित बेलबारी चिसाङ सामुदायिक वनभित्र शव फेला परेको थियो । घटनास्थलमा बरामद भएका कपडा हाफ पाइन्ट, चप्पल र घडीका आधारमा अनुसन्धान गर्दै जाँदा अधिकारीलाई पक्राउ गरिएको ब्युरोका सहप्रवक्ता प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए ।


    पक्राउ परेका अधिकारीले बालिकालाई विभिन्न प्रलोभन देखाएर घरभन्दा चार दशमलव पाँच किलोमिटर पर रहेको उक्त जङ्गलमा लगेर हसियाँले घाँटी रेटी हत्या गरेको अनुसन्धानमा खुलेको सहप्रवक्ता भट्टले बताए । उक्त घटनाका सन्दर्भमा प्रहरीले ज्यानसम्बन्धी कसुर मुद्दा शीर्षकमा मुद्दा दर्तागरी अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ । बलात्कार प्रतिकार गर्दा बालिकाको हत्या गरेको आरोपितले स्वीकार समेत गरेका छन् ।

  • अख्तियारद्वारा पोखरा विमानस्थलमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ५५ जनाविरुद्ध मुद्दा दायर

    अख्तियारद्वारा पोखरा विमानस्थलमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ५५ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौँ, २१ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ५५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरू स्व पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य र दीपक चन्द्र अमात्यलगायत विरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

    विमानस्थल निर्माणका क्रममा रु आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजारभन्दा बढी भ्रष्टाचार भएको अख्तियारले जनाएको छ । तत्कालीन अर्थमन्त्री रामशरण महत, तत्कालीन सचिवहरू तथा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन, प्रदीप अधिकारीलगाय ५५ जनालाई प्रतिवादी बनाइएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

  • नलिञ्चोक हेलिपोर्ट अनियमितता : महानिर्देशक अधिकारीसहित छ जना विरुद्ध भ्रष्टाचार मुद्दा

    नलिञ्चोक हेलिपोर्ट अनियमितता : महानिर्देशक अधिकारीसहित छ जना विरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ, १७ मङ्सिर । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र तत्कालीन निर्देशक मुरानी भण्डारीसमेत छ जना विरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी, तत्कालीन निर्देशक भण्डारीसमेत छ जना र अभियन्त्र कन्सल्टिङ् प्रालि उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपपत्र दायर गरेको हो ।

    नलिञ्चोकमा हेलिपोर्ट निर्माण प्रक्रियामा व्यापक अनियमितता र कानूनी प्रावधान उल्लङ्घन भएको ठहर गर्दै आयोगले उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आयोगको विज्ञप्तीमार्फत जानकारी दिइएको हो । महानिर्देशक अधिकारीसहित मुरारी भण्डारी, नल विक्रम थापा, समृद्धि श्रेष्ठ, गुरुदत्त अधिकारी तथा अभियन्त्र कन्सल्टिङ प्रालिका व्यवस्थापक विजय थापामाथि भ्रष्टाचार ऐन अनुसार सजाय माग्दै आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

    दायर गरिएको आरोपपत्रमा परामर्शदाताको छनोटदेखि अध्ययन प्रतिवेदन तयार गर्ने कार्यसम्मकै चरणमा नियमविपरीत काम गरी रु १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बराबरको हानी पुग्ने गरी भ्रष्टाचार गरिएको दाबी गरिएको छ । आयोगकाअनुसार हेलिपोर्ट निर्माणका लागि अनिवार्य हुने सम्भाव्यता अध्ययन नगरी बदनियतपूर्वक प्रक्रिया अगाडि बढाइएको, कानूनी स्वीकृति नलिई प्राविधिक तथा वित्तीय प्रस्ताव माग गरिएको, अनुभवहीन परामर्शदाता फर्मलाई मिलेमतोमा छनोट गरिएको र विस्तृत परियोजना प्रतिवेदन समेत पूर्णरूपमा नबनाई खरिद प्रक्रिया अघि बढाइएको पाइएको छ ।

    अनुसन्धानबाट प्राप्त विवरणअनुसार इञ्जिनियर समृद्धि श्रेष्ठ र तत्कालीन निर्देशक मुरारी भण्डारीले हेलिपोर्टको सम्भाव्यता अध्ययन स्वीकृत गराएपछि पनि वास्तविक अध्ययन नगरी लागत अनुमान तयार पारी परामर्श सेवा खरिद प्रक्रियामा प्रवेश गराएका थिए । सार्वजनिक खरिद ऐन तथा नियमावलीले माग गरेका ‘स्पेसिफिकेसन’, योजना, डिजाइन, खरिद गुरुयोजना, वार्षिक खरिद योजना तथा बजेट स्वीकृति झनै बिना नै निर्माण प्रक्रिया अगाडि बढाइएको आयोगले जनाएको छ ।

    त्यस्तै, हेलिपोर्ट जस्तो संवेदनशील संरचना निर्माणमासरकारको पूर्व स्वीकृति तथा वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य भए पनि कुनै प्रक्रियागत अनुमति नलिइएको प्रमाणित भएको आयोगको भनाइ छ । अख्तियारले आज दायर गरेको आरोपपत्रमा सार्वजनिक सम्पत्ति हानी–नोक्सानी, बदनियतपूर्ण निर्णय, कानूनी प्रावधान उल्लङ्घन तथा मिलेमतोद्वारा भ्रष्टाचार गरेको ठहर गर्दै सबै प्रतिवादीविरुद्ध कारबाहीको माग गरेको छ ।

  • प्रहरीलाई कुटपिट गरी लुटपाट गर्ने दुई पक्राउ

    प्रहरीलाई कुटपिट गरी लुटपाट गर्ने दुई पक्राउ

    काठमाडौँ, १७ मङ्सिर । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीलाई कुटपिट गरी लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । कार्यालयले गत भदौ २४ गतेको जेनजी प्रदर्शनीका क्रममा काठमाडौँ महानगरपालिका–२४ विशालबजारमा जनसेवाबाट खटिएका प्रहरीलाई घेराबन्दी तथा कुटपिट गरी धनमाल लुटपाटमा संलग्न दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२० चिकामुगल बस्ने ४१ वर्षीय नीरज चित्रकार र काठमाडौँ महानगरपालिका–१० दमाईंटोल बस्ने ४० वर्षीय राजकुमार क्षेत्री रहेका छन् ।

    कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले ‘ड्युटी’मा खटिएका प्रहरीलाई घेराबन्दी गरी प्रहरीका साथमा रहेको धनमाल लुटेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका नीरज चित्रकार विरुद्धमा यसभन्दा अगाडि पनि ज्यान मार्ने मुद्दामा प्रहरीवृत्त जनसेवा न्युरोडमा मुद्दा चलेको अनुसन्धानमा खुलेको छ । पक्राउ उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता आचार्यले बताए ।

  • प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ

    प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ

    रासस
    काठमाडौँ, १५ मङ्सिरः प्रहरीले प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले बैङ्किङ कसुरको आरोपमा शेरचनलाई आज पक्राउ गरेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव श्रेष्ठले जानकारी दिए । रु ९८ करोड ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सिआइबीले अनुसन्धान अगाडि बढाएको छ ।

    सिआइबीले यसअघि गत कात्तिक २२ गते बैङ्कको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो । त्यसैगरी सिआइबीले गत कात्तिक ११ गते प्रभु समूहका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्वसांसद देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । भट्टचनमाथि अनुसन्धानका क्रममा बैङ्कका सिइओ शेरचनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भट्टचनविरुद्ध रु ९८ करोड ठगी गरेको आरोप लागेको छ ।

  • अख्तियारद्वारा सात जनाविरुद्ध मुद्दा दायर

    अख्तियारद्वारा सात जनाविरुद्ध मुद्दा दायर

    काठमाडौँ, १५ मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गरी कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू र लेखाका कर्मचारीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । आयोगले पुरानो पेस्की फछ्र्यौट नभएको अवस्थामा पनि नियम विपरीत थप पेस्की दिने र आपसी मिलेमतोमा सरकारी रकम हिनामिना गर्न सहयोग गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू रामचन्द्र ढकाल, कृष्णप्रसाद तिमिल्सिना र परमेश्वर यादव, तत्कालीन लेखा अधिकृत प्रकाश गौतम, लेखापाल तुलसीराम पौडेल र लेखा सहायक गिरिराज गौतमलाई विपक्षी बनाई मुद्दा दायर गरेको छ ।

    गाउँपालिकामा कार्यरत अधिकृत छैटौँ यादवले स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न लिएको पेस्की रकम काम सम्पन्न नगरी र बिल भरपाई पेस नगरी हिनामिना गरेको आरोपमा आयोगले आज मुद्दा दायर गरेको छ । यादवले आर्थिक वर्ष २०७५\७६ देखि २०७८\७९ सम्म पटक–पटक लिएको पेस्कीमध्ये रु ४६ लाख सात हजार बराबरको बिल भरपाई पेस नगरी र सो रकम फिर्ता नगरी सरकारी सम्पत्ति हिनामिना गरेको पाइएको आयोगले जनाएको छ ।

    आयोगले आरोपीहरूबाट हिनामिना भएको बिगो रकम असुलउपर गर्न र भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा जरिवानाको मागदाबी गरेको छ ।
    त्यसैगरी थाइल्यान्डको बैङ्ककदेखि गाँजा लिएर आएका दुई विदेशी नागरिकलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ । पक्राउ पर्ने दुवै नेपाल एयरलाइन्सको उडानमार्फत बैङ्ककबाट काठमाडौँ आएका थिए । मलेसियाका नागरिक बाचा मुरुगन र श्रीलङ्काका नागरिक ३३ वर्षीय मोहम्मद आसन अललदिनलाई चार किलो १२५ ग्राम गाँजासहित प्रहरीले आज प्रक्राउ गरेको हो ।

  • गृहमन्त्री अर्यालद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन

    गृहमन्त्री अर्यालद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन

    काठमाडौँ, १३ मङ्सिरः गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको समयमा क्षतिग्रस्त भएका प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुको अवलोकन गरेका छन् । आज उनले भदौ २४ गते जेनजी आन्दोलनका कारण क्षतिग्रस्त प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुको अवलोकन गरेर प्रहरीले गरेको कामकारबाही र त्यस क्षेत्रको शान्तिसुरक्षाका बारेमा जानकारी लिए । अवलोकनका क्रममा गृहमन्त्री अर्यालले मुलुकमा शान्तिसुरक्षा कायम राख्न र अपराध नियन्त्रणका लागि प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए ।

    उनले जेनजी आन्दोलनका कारण क्षतिग्रस्त संरचना पुनर्निर्माणमा नागरिकस्तरबाट नेपाल प्रहरीले ठूलो सद्भाव पाएको बताउँदै अब प्रहरीले शान्तिसुरक्षासँगै सुशासन प्रवर्द्धन लाग्नुपर्नेमा जोड दिए । गृहमन्त्री अर्यालसँगै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले पनि उक्त क्षेत्रको अवलोकन गरे ।

  • निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

    निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ, १३ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्तिसुरक्षा बहाल गराई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन गर्ने काममा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् । शुक्रबार भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयको निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले सरकारलाई प्राप्त जिम्मेवारीबमोजिम शान्तिसुरक्षाको प्रत्याभूतिसहित घोषित मितिमा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरी राष्ट्रिय अभिभारा पूरा गर्ने अभियानमा सेनाको प्रमुख भूमिका रहेको स्पष्ट गरिन् ।

    गौरवमय इतिहास भएको नेपाली सेनाले निर्वाचन सुरक्षाका क्रममा यसअघि जस्तै प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरिन् । “जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिन्छु”, प्रधानमन्त्रीले भनिन् ।
    आगामी निर्वाचनका क्रममा नागरिकको ज्यान जाने र घाइते हुने अवस्था आउन नहुनेमा जोड दिँदै प्रधानमन्त्रीले यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरी त्रुटिरहित ढङ्गले काम गर्न निर्देशन दिइन् ।

    प्रधानमन्त्रीले जेनजी आन्दोलनका क्रममा लुटिएका र हराएका हातहतियारको खोजतलाससहित नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न, मुलुकमा शान्ति सुरक्षा सुनिश्चित गर्न तथा फरार अपराधी पक्रन खटिएका प्रहरीलाई सहयोग गर्न पनि निर्देशन दिइन् । जङ्गी अड्डा निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिइन् । यसैगरी सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ‘ब्रिफिङ¬’ गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको थियो । प्रधानमन्त्रीलगायत भ्रमण टोलीमा संलग्न विश्ष्टि पदाधिकारीहरुलाई प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गरेका थिए । निरीक्षण भ्रमण टोलीमा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याललगायत विश्ष्टि अधिकारीको उपस्थिति थियो ।

  • १९ करोड बराबर क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा युवक पक्राउ

    १९ करोड बराबर क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा युवक पक्राउ

    काठमाडौँ, १२ मङ्सिर । नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार अभौतिक मुद्रा किप्टो करेन्सीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा बारा कलैया नगरपालिका घर भई काठमाडौँको डल्लु बस्दै आएका सेफलाई पक्राउ गरिएको हो ।

    कारोबार गर्न प्रयोग भएको विभिन्न कम्पनीको मोबाइल दुई थानसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सेफलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा रु १९ करोड ८१ लाख ४९ हजार ५८१ भन्दा बढी बराबरको अभौतिक कारोबार भएको पाइएको प्रहरीको भनाइ छ । प्रहरीले अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको समेत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

    पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

    काठमाडौँ, ११ मङ्सिरः उच्च अदालत पाटनले भेपमार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई रु २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उक्त आदेश दिएको हो । महरालाई गत असोज अन्तिम साता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो ।

    पूर्वसभामुख महराविरुद्ध भेपमार्फत सुन तस्करी गरेको आरोप लागेको थियो । “तत्काल प्रमाणहरूको आधारमा प्रतिवादीलाई थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने सम्मको अवस्था नदेखिएको अवस्थामा अदालतबाट थुनामा राख्ने गरी भएको असोज २९ गतेको आदेश मिलेको नदेखिँदा बदर गरिदिएको छ”, उच्च अदालत पाटनले आज गरेको आदेशमा भनिएको छ ।

  • राष्ट्रपतिद्वारा सेना परिचालनको स्वीकृति

    राष्ट्रपतिद्वारा सेना परिचालनको स्वीकृति

    काठमाडौँ, ११ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको सिफारिसलाई स्वीकृति प्रदान गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज जारी विज्ञप्तिमा निर्वाचन सुरक्षालाई सुदृढ बनाउन सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपति पौडेलले सेना परिचालनका लागि अनुमोदन गरेको उल्लेख गरिएको छ ।

    प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को २०८२ साल मङ्सिर ८ गतेको निर्णयका आधारमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षा व्यवस्था गर्न सेना परिचालन गरिने विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

  • प्रहरीको मनोबल बढाउँदै सरकार

    प्रहरीको मनोबल बढाउँदै सरकार

    काठमाडौँ, ११ मङ्सिर । नेपाल प्रहरीको मनोबल बढाउन सरकार लागि परेको छ । उनीहरुको आत्मसम्मान, निष्पक्षता र पेशागत स्वतन्त्रता सुनिश्चितामा सरकार प्रतिबद्ध रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । जेनजी आन्दोलनका क्रममा बढी प्रभावित नेपाल प्रहरीको मनोबल बढाउन सरकारले चालेको कदमबारे मन्त्री अर्यालले राष्ट्रियसभाअन्र्तगत प्रत्यायोजित समितिको बैठकमा जानकारी दिए ।

    प्रहरीले भोग्नुपरेको मनोवैज्ञानिक, सञ्चालनगत र संरचनागत असरलाई न्यून पार्न सरकारले दतारुकताका साथ पहल गरिरहेको उनको भनाइ थियो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्न महत्वपुर्ण भूमिकामा रहेको प्रहरीको मनोबच उच्च बनाउनु आवश्यक भएको मन्त्री अर्यालले बताए ।


    “सरकारले बर्दीको प्रतिष्ठालाई मुख्य प्राथमिकतामा राख्दै गैरघातक हतियारको उपलब्धता, सेवा सुविधामा सुधार र नागरिक प्रहरीको सहकार्य जस्ता कदम चालेका छौँ । अहिले प्रहरीको मनोबल बढाउन उनीहरुको आत्मसम्मान एवं प्रतिष्ठा सुनिश्चित गर्नुपर्छ”, मन्त्री अर्यालले भने । बढुवा, सरुवा तथा परिचालनमा कुनै राजनीतिक हस्तक्षेप नगरेको दाबी गर्दै उनले त्यसले प्रहरीभित्र सकारात्मक ऊर्जा देखिएको विश्वास व्यक्त गरे । त्यसका लागि नागरिकस्तरबाट प्राप्त सहयोगले प्रहरीमा सकारात्मक ऊर्जा भर्न मद्दत पुगेको उनको भनाइ थियो ।

    “सेवा सुविधाको कुरा त छँदै छ । प्रहरीको मनोबल बढाउन उहाँहरुको ‘डिग्निटी’ मुख्य कुरा हो । बर्दीको प्रतिष्ठा बढाउने काम गरिरहेका छौँ”, उनले भने, “प्रहरीको बढुवा, सरुवा र परिचालनमा कुनै पक्षपात गरेको छैनौँ ।” गृहमन्त्री अर्यालले टियर ग्यास र गैरघातक हतियार अभावले प्रहरीलाई जोखिम बढेको देखिएको भन्दै सरकारले गैरघातक हतियारको खरिद तीव्र बनाएको जानकारी दिए ।


    “गैरघातक हतियार पर्याप्त भयो भने प्रहरी ‘घातक’ हतियार प्रयोग नगरी हानिकारक भिड नियन्त्रण गर्न सक्षम हुन्छ । यसले मानवीय क्षति न्यून गर्नेछ”, गृहमन्त्री अर्यालले भने, “प्रहरीले आत्मरक्षा होस् या अथवा आफूले संरक्षण गर्नुपर्ने, सुरक्षा दिनुपर्ने सम्पत्तिको रक्षाका लागि होस् । गैरघातक हतियारको प्रयोगका लागि त्यसको खरिदलाई अगाडि बढाएका छौं ।”

    जेनजी आन्दोलनमा ४५० भन्दा बढी प्रहरी कार्यालय क्षतिग्रस्त भएका उल्लेख गर्दै मन्त्री अर्यालले अधिकांश पुनःनिर्माण भइसकेका बताए । यी संरचनाहरु निर्माणमा नागरिकस्तरबाट स्वेच्छिक सहयोग प्राप्त हुनुलाई प्रहरीप्रति नागरिकको विश्वास र मायाको सङ्केतका रूपमा बुझनुपर्ने उनको भनाइ थियो । आन्दोलनका क्रममा बाहिरिएका हतियारमध्ये धेरैजसो फिर्ता भइसकेका छन् । फरार कैदी दैनिक फिर्ता ल्याउने काम भएको र सुरक्षा संयन्त्र पुनः सुदृढ हुँदै गएको मन्त्री अर्यालले बताए ।


    सेवा सुविधा समानता र रासनवृद्धि सम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको र छिट्टै निर्णय हुने मन्त्री अर्यालले बताए । “प्रहरीको ‘लजिस्टिक’ सँग सम्बन्धित सेवा सुविधाका विषयवस्तुलाई हामीले प्राथमिकतामा राखेका छौँ । स्वयं प्रहरी सङ्गठनबाट आएका फाइललाई धेरै विलम्ब नगरिकन अगाडी बढाएका छौँ । त्यसलाई हामीले अर्थमन्त्रालयको सहमति लिएर मन्त्रिपरिषद्सम्म पुर्याइरहेका छौँ”, उनले भने ।नेपाल प्रहरीतर्फ नियमित बजेटबाट एक सय ५६ वटा र थप बजेटबाट १०६ वटा सवारीसाधन खरिदको प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

  • ठमेलमा पर्यटकलाई दुःख दिएको र लुटपाटको आरोपमा १३ जना पक्राउ

    ठमेलमा पर्यटकलाई दुःख दिएको र लुटपाटको आरोपमा १३ जना पक्राउ

    काठमाडौँ, १० मङ्सिर । नेपाल प्रहरीले विदेशी पर्यटकलाई अनावश्यक दुःख दिएको र लुटपाटमा संलग्न रहेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेल क्षेत्रमा घुम्न आएका विदेशी पर्यटकलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबरर्जस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा गएराति उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा काभ्रेका १९ वर्षीय बादल तामाङ, बाजुराका २२ वर्षीय गणेश नाथ, तनहुँका २४ वर्षीय विशाल थापामगर, सिन्धुलीका २० वर्षीय गणेश तामाङ, सर्लाहीका १९ वर्षीय सागर मगर, सुनसरीका २२ वर्षीय रमेश क्षेत्री, दोलखाका १९ वर्षीय विशाल नेपाली, रामेछापका २१ वर्षीय मिलन नेपाली, बाँकेका २३ वर्षीय अभिषेक थापा, काभ्रेका २२ वर्षीय सञ्जय लामा, दाङकी २० वर्षीया प्रतिमा डाँगी र दाङकै २१ वर्षीया प्रमिला पुनमगर छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले स्वदेशी तथा विदेशी पर्यटकलाई दुःख दिने तथा लुटपाटमा संलग्न रहेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकालाई प्रहरीले अभद्र व्यवहारको कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

  • हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटासहित सात जनाविरुद्ध आरोपपत्र दायर

    हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटासहित सात जनाविरुद्ध आरोपपत्र दायर

    काठमाडौँ, ९ मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा अर्जुनप्रसाद सापकोटासहित सात जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । कोरोना महामारीको समयमा व्यक्तिगत सुरक्षा सामग्री (स्वास्थ्य सामग्री) खरिदमा अनियमितता गरेको आरोपमा हेटौँडास्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका तत्कालीन निमित्त निर्देशक डा सापकोटा र आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेजसहित सात जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

    आर्थिक वर्ष २०७८÷७९ मा कोभिड–१९ विरुद्ध आवश्यक व्यक्तिगत सुरक्षा सामग्री खरिदका लागि आह्वान गरेको बोलपत्रमा कम मूल्य कबोल गर्ने फार्मलाई पन्छाएर बढी मूल्य कबोल गर्ने फार्मलाई ठेक्का दिएको र सो बाट राज्यलाई रु ३१ लाख १७ हजार ८९ गैरकानुनी हानी पुगेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

    अनियमिततामा संलग्न भएको आरोपमा डा सापकोटा, तत्कालीन लेखा अधिकृत राधाकृष्ण श्रेष्ठ, तत्कालीन फार्मेसी सुपरभाइजर राजेश्वर रञ्जितकार, तत्कालीन रेफ्रिजेरेटर टेक्निसियन रवीकुमार महतो, तत्कालीन बायोमेडिकल इञ्जिनियर राजेश्वर कमली, प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाका तत्कालीन लेखा अधिकृत नेत्र नरसिंह कार्की र आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेजका प्रोप्राइटर नवराज श्रेष्ठविरुद्ध समान रु ३१ लाख १७ हजार ८९ बराबरको बिगो मागदाबी गरिएको छ ।

    अख्तियारले निज सातै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ समेतको कसुरजन्य कार्य गरेको हुँदा उक्त कसुरमा संलग्न निज प्रतिवादीउपर देहायबमोजिमको सजाय हुन मागदाबी लिई सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

  • सीमाबाट हुने अवान्छित गतिविधि र राजस्व चुहावट नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

    सीमाबाट हुने अवान्छित गतिविधि र राजस्व चुहावट नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

    काठमडौँ, ८ मङ्सिरः गृहमन्त्री ओमप्रकाश अर्यालले रुपन्देहीको सिद्धार्थ नगरपालिकास्थित भैरहवा–बेलहियामा निर्माणाधीन एकीकृत जाँच चौकी र सशस्त्र प्रहरी बल नेपालको डण्डास्थित त्यहाँको सीमा सुरक्षा गुल्मको निरीक्षण भ्रमण गरेका छन् । मङ्गलबारबाट लुम्बिनी प्रदेशबाट सुरु हुन लागेको प्रदेशस्तरीय सुरक्षा गोष्टीको पूर्वसन्ध्यामा उनले आज यहाँ आएको अवसरमा निरीक्षण भ्रमण गरेका हुन् । मन्त्री अर्यालले आजै लुम्बिनी पुगेर मायादेवी मन्दिरको दर्शन गर्दै त्यहाँको समग्र वस्तुस्थितिबारे पनि जानकारी लिए ।


    निरीक्षणका क्रममा मन्त्री अर्यालसँग गृह सचिव रामेश्वर दंगाल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत टेकेन्द्र कार्की, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी तथा सशस्त्र प्रहरी प्रमुख र जिल्लाका प्रहरी प्रमुखको उपस्थिति रहेको थियो । मन्त्री अर्याललाई प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जाँच चौकीको भौतिक प्रगति तथा उपलब्ध हुने सेवाबारे जानकारी गराए । हालसम्म जाँच चौकीको भौतिक प्रगति ७९ प्रतिशत र वित्तीय प्रगति ७७ प्रतिशत पुगेको जानकारी गराइएको गृह मन्त्रीको सचिवालयले जनाएको छ ।

    यस्तै, मन्त्री अर्यालले सशस्त्र प्रहरी बल नेपालको भैरहवास्थित सीमा सुरक्षा गुल्म, पुगेर समग्र सीमा सुरक्षा तथा वस्तुस्थितिबारे जानकारी लिए । त्यस क्रममा उनले नेपाल–भारत सीमामा हुनसक्ने अवान्छित गतिविधि र राजस्व चुहावट नियन्त्रणका लागि कठोर भएर र नेपाली नागरिकलाई सीमामा हुन सक्ने हैरानीबारे सचेत रहँदै सहज वातावरण बनाउन निर्देशन दिए । मन्त्री अर्यालले सीमाबाट हुनसक्ने अवैध ओसारपोसार, अवान्छित गतिविधि नियन्त्रणका लागि पनि जिल्ला सुरक्षा प्रमुखलाई निर्देशन दिए ।