Category: रोचक खवर

  • कांग्रेसमा बहुमतले तोक्यो महाधिवेशनको मिति

    कांग्रेसमा बहुमतले तोक्यो महाधिवेशनको मिति

    काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति २०७७ साल फागुन ७ देखि १० सम्म गर्ने गरी तोकेको छ ।

    वरिष्ठ नेता रामचन्द्र पौडल समूहले बहिस्कार गरेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकको बहुमतले १४ औं महाधिवेशनको मिति तोकेको हो ।

    शुक्रबार पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो । यसअघि पटक पटक तोकिएको बैठक पौडेल समूहले बहिष्कार गरेपछि बस्न सकेको थिएन् । शुक्रबार भने बस्यो ।

    बैठकले बहुमतका आधारमा वर्तमान कार्यसमितिको म्यादसमेत एक वर्ष लम्ब्याएको छ । कांग्रेसको वर्तमान कार्यसमितिको म्याद १९ फागुन २०७६ मा सकिन्छ ।

    कार्यसमितिको म्याद सकिनेवित्तिकै महाधिवेशन गर्न सम्भव नभएको भन्दै केन्द्रिय समिति बैठकले पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको एक वर्ष लम्ब्याएको हो ।

    बैठकले १४ औं महाधिवेशनको कार्यतालिका समेत सार्वजनिक गरेको छ । अन्तरिम संरचनाको काम पुस मसान्तभित्र सक्न समितिले निर्वाचन समितिलाई आग्रह गरेको छ ।

    माघबाट क्रियाशील सदस्यता वितरण तथा नवीकरण शुरु हुने भएको छ । नयाँ क्रियाशील सदस्यता र क्रियाशील नवीकरणको नामावलीको अन्तिम सूची ०७७ आश्विनसम्म सकिने भएको छ ।

    त्यसपछि अधिवेशनका काम प्रारम्भ हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पार्टी सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्य मात्र शुक्रबारको बैठकमा उपस्थित थिए ।

    बैठकले केन्द्रीय विभागको संख्यासमेत थपेको छ । अब कांगे्रसमा ४७ केन्द्रिय विभाग हुने भएका छन् ।

    विधानमा विभागको संख्या २८ रहने प्रावधान रहेको छ । बहुमतले गरेको यो निर्णयलाई पौडेल र कृष्ण सिटौला समूहले मान्नेमा भने शंका रहेको छ ।

  • छोरी केन्द्रित प्रदेश सरकारका आकर्षक योजना

    छोरी केन्द्रित प्रदेश सरकारका आकर्षक योजना

    काठमाडौं । नेपालमा छोरा र छोरीका बीच हुने विभेद एक मूख्य परम्परागत समस्या हो ।

    अरुको घर जाने छोरीलाई पढाउनु पर्दैन भन्ने र त्यति महत्व नदिने समाजमा परिवर्तन ल्याउन पछिल्लो समय प्रदेश सरकारहरुले आकर्षक योजना ल्याउन थालेका छन् ।

    १ पुसबाट कर्णाली प्रदेश सरकारले छोरीको खाता खोलेर हरेक महिना ५ सय रुपैयाँ प्रदेश सरकारका तर्फबाट डिपोजित गर्न थालेको छ ।

    यसै सन्दर्भमा प्रदेश सरकारले समेत ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रम कार्यान्वयन थालेको छ ।

    यस अन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमा कार्यक्रम शुरु गर्न लागेको प्रदेश सरकारले जनाएको छ । यस कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउन छोरी बीमा सप्ताह सञ्चालन गरिने भएको छ ।

    सरकारले १ माघ २०७५ यता प्रदेश भित्र जन्मिएका छोरीको शिक्षाका लागि बीमा गर्ने घोषणा प्रदेश सरकारले गरेको थियो ।

    तर, कर्मचारीको अभावजस्ता कारणले सोचेजति प्रगति हुन सकेको छैन ।

    अब प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा शिविर नै सञ्चालन गरी घरदैलो कार्यक्रममार्फत बीमा सुविधा बिस्तार गर्ने भएको हो ।

    २ माघ २०७६ बाट प्रदेशस्थित आठ वटै जिल्लामा शिविर सञ्चालनको तयारी गरिएको छ ।

    शिविरमा शिक्षा बीमाका साथै छोरीको स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरणसहितका कार्यक्रम संचालन हुनेछन् ।

  • ठेकदारसँग झुक्यो सरकार, फेरी संशोधन भयो खरीद नियमावली

    ठेकदारसँग झुक्यो सरकार, फेरी संशोधन भयो खरीद नियमावली

    काठमाडौं । सरकारले पछिल्लो ८ महिनायता चौथो पटक सार्वजनिक खरीद नियमावली संशोधन गरेको छ ।

    ठेकेदार कम्पनीले जे भन्छन्, त्यही प्रावधान राख्दै सरकारले प्रावधान संशोधन गर्दा काम नगर्ने ठेकेदारका अगाडी समेत सरकार झुकिरहेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकदारलाई कारवाही गर्न विभागीय मन्त्रीहरुलाई समेत गत महिना निर्देशन दिएका थिए ।

    तर, भित्रभत्रै उनकै नेतृत्वको मन्त्रीपरिषद्ले ठेकेदारलाई सहज हुने गरी चौथोपटक सार्वजनिक खरीद नियमावली संशोधन गरेको छ ।

    जसअनुसार काम अलपत्र पारेका ठेकेदारको आयोजनाको म्याद फेरी थपिने भएको छ ।

    यसले ठेकेदारलाई काम नगरेवापत कारवाही हुनपर्नेमा उल्टो प्रोत्साहन मिल्नेछ ।

    सोमबार मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरीद नियमावलीको नवौं संशोधन गरेको बिहीकार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

    ३० वैशाखमा सरकारले छैठौं संशोधन गरेयता चार पटक खरीद नियमावलीमा संशोधन गरेको हो ।

    नवौं संशोधनबाट म्याद सकिएर अलपत्र आयोजनामा पुरानै निर्माण व्यवसायीलाई थप एक वर्ष काम गरिराख्ने प्रावधान राखिएको छ ।

    व्यवसायीहरु काम छिटो अगाडी बढाउनुको साटो आन्दोलनमा थिए । उनीहरु संसिरयता विभिन्न चरणको आन्दोलनमा थिए ।

  • ठमेलका नाइट क्लब पुग्ने खेलाडीको सजाय घटाइयो

    ठमेलका नाइट क्लब पुग्ने खेलाडीको सजाय घटाइयो

    काठमाडौं । राष्ट्रिय टोलीले विश्वकप छनोटमा खेल्न विदेश उड्नु एक दिन अगाडी क्लोज क्याम्पबाटै भागेर ठमेलको नाइट क्लवमा पुगेका चार खेलाडीमाथिको कारवाही घटाइएको छ ।

    उक्त काण्डमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङमाथि अखिल नेपाल फूटबल संघ (एन्फा)ले कारवाही गरेको थियो ।

    एन्फाले चारै जना खेलाडीको कारवाही घटाएको छ । एन्फाको अनुशासन समितिले उनीहरूलाई निलम्बनसम्बन्धी निर्णय लागू हुने मिति परिवर्तन गर्दै सजाए घटाइदिएको हो ।

    एन्फाले १३ डिसेम्बर २०१९ देखि लागु हुने गरी विमल घर्तीमगर र डिफेन्डर दिनेश राजवंशीलाई तीन महिना निलम्बन गरेको थियो ।

    मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङका लागि ४५ दिनको निलम्बन थियो ।

    अब भने एन्फाले खेलाडी नाइट क्लबमा गएको दिनदेखि गणना गर्ने निर्णय लिएको छ । यसअनुसार अब खेलाडीको प्रतिवन्ध कम भएको छ ।

    उनीहरुको निलम्बन १६ नोभेम्बर २०१९ बाट गणना हुने भएको हो । यसअनुसार यी खेलाडीले जारी सहिद स्मारक ए डिभिजन लिगमा भाग लिन पाउने बाटो समेत खुलेको छ ।

    फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरूद्ध खेल्न भूटान उड्ने अघिल्लो रात उनीहरु ठमेलको नाइट क्लवमा पुगी रक्सीले मात्तिएका थिए ।

  • सरकारको ‘दुई तिहाई’ उपाधी संकटमा

    सरकारको ‘दुई तिहाई’ उपाधी संकटमा

    काठमाडौं । समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय लिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्व सरकारको दुई तिहाई उपाधी गुम्ने खतरा बढेको छ ।

    संसदमा स्पष्ट दुई तिहाई सांसदको समर्थनमा गठन भएको वर्तमान सरकार समाजवादी पार्टीले समर्थन फिता लिएमा भने उक्त उपाधीबाट खस्किने छ ।

    किनकी नेकपाको मात्र सांसद संख्याले दुई तिहाई पुग्दैन । यद्दपी दुई दलको हैसियतमा सरकार भने सुरक्षित नै रहन्छ ।

    तर, समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय लिएको भएपनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिने निर्णय गरिसकेको भने छैन ।

    यसले गर्दा अब संविधान संशोधनका विषयमा वर्तमान सरकारले अझ बढी फलामका च्यूरा चपाउनु पर्ने हुन्छ ।

    किनकी प्रधानमन्त्री केपी शर्मा ओली हरेक विषयलाई सहमति भन्दा पनि पेलेरै जाने मुडमा देखिएका छन् । संसदमा २७५ संख्या रहेको छ ।

    प्रतिनिधिसभामा दुईतिहाइ बहुमत पुग्न सरकारको पक्षमा १ सय ८३ जना सांसद हुनुपर्छ । नेकपासँग भने १ सय ७४ जना मात्र सांसद रहेका छन् । समाजवादी पार्टीमा भने १७ जना सांसद रहेका छन् ।

    पार्टीले बुधबार सरकारको समर्थन जारी रहने वा हट्ने भन्ने विषयमा सार्वजनिक गर्न तयारी गरेको छ ।

  • काठमाडौंबाट एकै पटक समातिए १२२ चिनियाँ नागरिक

    काठमाडौंबाट एकै पटक समातिए १२२ चिनियाँ नागरिक

    काठमाडौं । विभिन्न आपराधिक तथा अवैध गतिविधिमा संलग्न रहेको आशंकमा प्रहरीले सोमबार ठूलो संख्यामा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

    काठमाडौं प्रहरीले चलाएको ‘सर्च एण्ड एरेष्ट’ अपरेशनका दौरान एकैदिन १२२ जना चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले पुष्टी गरेको छ ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं प्रहरी परिसर, टेकुले यो अपरेशन चलाएका हुन् ।

    प्रहरीका अनुसार मनमैजु, महाराजगञ्ज र बुढानीलकण्ठ क्षेत्रबाट ती व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा केही महिलासमेत रहेका छन् ।

    भिसा अवधि सकिएका व्यक्ति पनि अवैध रुपमा बसेको र विभिन्न क्षेत्रमा काम पनि गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

    ब्यारेक सिस्टममा एकै घरमा २५ देखि ३० जनासम्म बसेर काम गर्ने गरेको भेटिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले चिनियाँ नागरिकको साथबाट थुप्रै ल्यापटप र मोबाइल बरामद गरेको छ । उनीहरुलाई काठमाडौं प्रहरी मातहतका विभिन्न वृत्त र प्रभागमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    नेपालमा चिनियाँ नागरिकको संलग्नता आपराधिक तथा अवैध गतिविधिमा बढेको छ । सुन तस्करी, मानव वेचविखान, बैंक ह्याकिंग, लागूऔषधजस्ता गतिविधिमा संलग्न रहेको पाइएको छ ।

    गत भदौ दोस्रो साता नेपाली बैंकबाट एटीएम कार्ड प्रयोग गरेर डेढ करोडभन्दा बढी रकम चोरि भएको काण्डमा ६ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । त्यसपछि प्रहरीले नेपालमा चिनियाँ नागरिकमाथि निगरानी बढाएको थियो ।

  • २१ किलो चरेश बरामद

    २१ किलो चरेश बरामद

    काठमाडौं । पर्सा प्रहरीले सोमबार बिहान २१ किलो चरेश बरामद गरेको छ। पर्साको धोबिनी गाउँपालिका– ५ स्थित बैरिया खोलाबाट २१ किलो चरेश बरामद भएको प्रहरीले पुष्टी गरेको हो ।

    चरेश कसले बोकेको थियो भन्नेबारे प्रहरीले सार्वजनिक गरेको छैन । भिस्वाबाट खटिएको सशस्त्र प्रहरीको चरेश बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

    नेपालमा पछिल्ला दिनमा अवैध लागुऔषधको ओसार पसार तिब्र रुपमा भइरहेको छ ।

  • बुटवल “सडक मानव” मुक्त सहर घोषित

    बुटवल “सडक मानव” मुक्त सहर घोषित

    बुटवल । मागेर दिनचर्या बिताउनु पर्ने बाध्यतामा रहेका सहयोगापेक्षी बेसहाराहरुलाई व्यवस्थापन गर्दै वुटबल उपमहानगरपालिका सडक मगन्ते मानवमुक्त सहर घोषणा भएको छ ।

    शनिबार प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, सामाजिक विकासमन्त्री सुदर्शन बराल, पर्यटनमन्त्री लिला गिरी, नगरप्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य र मानवसेवा आश्रमका प्रतिनिधिले संयुक्त रूपमा बुटवलाई सडक मानवमुक्त घोषणा गरेका हुन् ।

    यस सहरलाई मानव सभ्यतासहितको मानवअधिकारमैत्री नगर निर्माण गर्ने घोषणा पनि कार्यक्रममा गरियो ।

    मन्त्री केसीले प्रदेश सरकारको ‘समृद्ध प्रदेश खुसी जनता’ अभियानको एक अंशका रुपमा यस अभियानलाई लिनु पर्ने उल्लेख गरे ।

    पछिल्ला दिनमा बुटवल सुरक्षित सहरका रुपमा स्थापित भएको भन्दै उनले अब सडकमा माग्न पर्ने अवस्थाको पनि अन्त्य भएको उल्लेख गरे ।

    सामाजिक विकासमन्त्री सुदर्शन बरालले छिट्टै सम्पूर्ण प्रदेशलाई नै सडक मानवमुक्त बनाउने गरी काम भइरहेको बताए ।

    उक्त अभियानमा स्थानीय तहहरु अग्रसर हुनुपर्ने उनको भनाई छ ।

    मानव सेवा आश्रमसँग सहकार्य गरी सडकमा बेसहारारूपमा जीवन बिताइरहेका व्यक्तिलाई उद्वार, उपचार र आवासको व्यवस्था मिलाउने काम सम्पन्न भएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् ।

    एक वर्षसम्म चलेको यस अभियानका दौरान ११७ जनालाई उद्दार गरिएको छ ।

  • सूचना-प्रविधिलाई सामान्य ठान्दा नसोचेको परिणाम, प्रधानमन्त्रीको रिट्वीटले हंगामा

    सूचना-प्रविधिलाई सामान्य ठान्दा नसोचेको परिणाम, प्रधानमन्त्रीको रिट्वीटले हंगामा

    काठमाडौं । शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट भारतीय कंग्रेस आइकी अध्यक्ष सोनिया गान्धीले नागरिकता कानुनविरूद्ध बोलेको भिडिओ रिट्वीट भयो ।

    त्यसपछि यस विषयले अन्तराष्ट्रिय रुपमै हंगामा मच्चियो । किनकी भारतमा नागरिकता विधेयकको विरोधमा आन्दोलन जारी छ ।

    उक्त भिडियो आन्दोलनको विरुद्धमा बोलिएको थियो । किनकी सत्तामा मोदी छने भने सोनिया विपक्षमा ।

    छिमेकी मुलुक, त्यसमाथि हिन्दु राष्ट्रका रुपमा चिनिने नेपालका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्याण्डिलबाट सोनिया गान्धीको भिडियो रिट्वीट भएपछि त्यसले चर्चा पाउनु स्वाभाविक थियो ।

    शनिबार पनि यसको चर्चा सेलाएन । किनकी शुक्रबार साँझ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पासवर्डको दूरुपयोग गर्न यस्तो भएको भन्दै स्पष्टिकरण सार्वजनिक गर्न भ्याएका थिए ।

    भारतीय कंग्रेसको आधिकारिक ट्विटरमा राखिएको भिडिओलाई ‘शिभम विज’ नाम गरेको ट्वीटर ह्याण्डलले रिट्वीट गरेकोमा सोही भिडिओलाई प्रधानमन्त्री ओलीको ह्याण्डलबाट रिट्वीट गरिएको छ ।

    जब यसले चर्चा पाउन थाल्यो, तत्काल उक्त ट्वीट डिलिट भयो । तर, मानिसहरुले स्कृनसाट राख्न भ्याइसकेका थिए । यस घटनाले नेपालका राज्य संचालकहरुको संवेदना तथा गम्भीर्यता पनि देखाउँछ ।

    किनकी उनीहरु यस्ता घटनालाई सामान्य रुपमा लिन्छन् । तर, अन्तर्राष्ट्रिय क्षेत्रमा यसको ठूलो महत्व रहन्छ ।

  • राष्ट्रिय मुद्दामा प्रतिपक्ष र सत्तारुढ दलका मत फेरी बाझिए, एमसीसीमा विवाद

    राष्ट्रिय मुद्दामा प्रतिपक्ष र सत्तारुढ दलका मत फेरी बाझिए, एमसीसीमा विवाद

    काठमाडौं । अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) सँगको सम्झौतालाई सदनबाट पारित गर्ने विषयलाई लिएर यतिबेला नेपालमा विवाद जारी रहेको छ ।

    नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा नेताहरुले यस सम्झौताको चर्को विरोध गरिरहेका छन् ।

    खासगरी एसीसीमा अमेरिकाले यस सम्झौताका शर्तलाई अन्य कुनै कानूनले समेत नछुने गरी शक्तिशाली बनाउन खोजेपछि यसमा विवाद छ ।

    तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने एसीसी तुरुन्त संसदबाट पारित गर्नुपर्ने पक्षमा उभिएको छ ।

    कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्यो । बैठकमा एमसीसीलाई यथाशीघ्र सदनबाट पारित गर्दै कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

    एमसीसी ‘कांग्रेस सरकारमा रहँदा भएको सम्झौता हो । सोहीकारण एमसीसीलाई पारित गराउन कांग्रेस लागिपरेको छ ।

    तर, सत्तारुढ दलका नेता भने संविधानभन्दा पनि कुनै एक देशसँगको सम्झौता माथि नहुने भन्दै एमसीसीका कडा शर्त मान्दै यो सम्झौता पारित गर्न नहुने पक्षमा छ ।

    करीव ५० अर्ब रुपैयाँ लगानी हुने एसीसीअन्तर्गत अमेरिकाले नेपालको सडक र जलविद्युत क्षेत्रमा लगानी गर्न ल्याइएको कार्यक्रम हो ।

    सत्तारुढ दलले यसलाई इण्डो प्यासिफिक रणनीतिका रुपमा हेर्छन् । जसलाई चीनले रुचाउँदैन ।

    चीनले पछिल्लो समय नेपालमा ठूला र रणनीतिक महत्वका आयोजना अगाडी बढाइरहेको सन्दर्भमा उसलाई चिढाएर अमेरिकालाई खुसी बनाउन नहुने तर्क नेकपाका नेताहरुसँग रहेको छ ।

  • पेप्सीले छल्यो ६५ करोड राजस्व, मुद्दा दायर

    पेप्सीले छल्यो ६५ करोड राजस्व, मुद्दा दायर

    काठमाडौं । राजस्व छलेको आरोपमा पेप्सी उत्पादक कम्पनी वरुण वेभरेजविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले भ्याट छलीको मुद्दा दायर गरिएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दियो ।

    झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर प्रयोग गरी ६४ करोड ९६ लाख २ हजार ३ सय ४० राजस्व चुहावट गरेको विभागले उल्लेख गरेको छ ।

    विभागले उक्त कम्पनीबाट ६४ करोड ९६ लाख २ हजार ३ सय ४० रुपैयाँ विगो र विगोको दोब्बर गरी कूल १ अर्ब २९ करोड ९२ लाख ४ हजार ६ सय ८० जरिवाना माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

    मुद्दामा ३ वर्ष कैद सजायसमेत माग गरिएको छ । विभागले वेभरेजका संचालक अमित गुप्तासहित ७ जनाविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको हो ।

    वरुण वेभरेज प्रालिले राजश्व चुहावट गर्ने दूरासयले झुट्टा तथा नक्कली कर विजक जारी गरेको विभागले उल्लेख गरेको छ ।

    यस मुद्दामा वेभरेजका वर्तमान तथा पूर्व सञ्चालक अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविणकुमार अग्रवाल, विनादेकुमार सिंह र अशोक कुमारलाई विपक्षी बनाइएको छ ।

    कुनै पनि बहुराष्ट्रिय कम्पनीविरुद्ध राजस्व अनुसन्धान विभागले दर्ता गरेको यो सबैभन्दा ठूलो मुद्दा हो ।

  • अब निर्माण सामग्रीको माग नदीबाट मात्र पुरा हुँदैन : अर्थमन्त्री

    अब निर्माण सामग्रीको माग नदीबाट मात्र पुरा हुँदैन : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब नेपालको विकास निर्माणका लागि आवश्यक नदीजन्य निर्माण सामग्रीको आपूर्ति अब नदीबाट मात्र नपुग्ने बताएका छन् ।

    बिहीबार अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले अब पहाडबाट उत्खनन् गरी यस्ता सामग्रीको आपूर्तिमा लाग्नु पर्ने उनले बताएका हुन् ।

    पहाड नफोरेसम्म नदीजन्य सामग्रीको आपूर्ति पुरा नहुने उनको भनाई छ ।

    भैरहवा विमानस्थल निर्माण गर्न नजिकै सामग्री भएपनि चितवनबाट आपूर्ति गर्नुपर्ने बाध्यता रहेको भन्दै यसले विकास निर्माणको समय र लागत दुबै बढाउने उल्लेख गरे ।

    अर्थ समितिले विकास बजेट कम खर्च भएको सन्दर्भमा बिहीबार विकासे मन्त्रालयका सचिव तथा अर्थमन्त्री र योजना आयोगका पदाधिकारीसँग छलफल गरेको थियो ।

    सो छलफलका क्रममा मन्त्रालयहरुले नदीजन्य सामग्रीको अभावलाई विकास बजेट खर्च हुन नसक्नुको एक कारण मानेका थिए ।

    जवाफमा अर्थमन्त्री खतिवडाले अब नदीले मात्र निर्माण सामग्रीको आपूर्ति गर्न नसक्ने बताएका हुन् ।

  • आठ वर्षसम्म जिब्रो छेड्ने जुजुभाइको नछापिएको कथा

    आठ वर्षसम्म जिब्रो छेड्ने जुजुभाइको नछापिएको कथा

    विश्वन्युज संवाददाता
    काठमाडौं

    ‘तिम्ले यो गर्न सक्दैनौँ, तीन दिन भोकै बस्नुपर्छ, एक महीनादेखि तयारी गर्नुपर्छ, सबैलाई भोज खुवाउनुपर्छ’ भनेर गाउँलेले जिब्रो छेड्न डर देखाएका थिए । त्यसो त झक्तपुर थिमिको बिस्का (बिस्केट) जात्रामा जिब्रो छेड्दा रगत बग्यो भने अनिष्ट हुन्छ भन्ने जनविश्वास रहेकोले डर पलाउनु स्वभाविक थियो ।
    “गाउँलेको कुरा मेरो दिमागमा खेलिरह्यो, डर पनि लाग्यो, जतिसुकै पिडा भए पनि रगत चाहिँ नबगोस् भन्ने चाहना मात्रै हुन्थ्यो, पहिलो पटक जिब्रो छेड्दा रगत नआएपछि त्यसबेला बल्ल आफूले गरेको काम सफल भएको महसुस भयो र खुसी लाग्यो”, जुजुभाई बासँ श्रेष्ठले अनुभव सुनाए ।
    भक्तपुर थिमिका श्रेष्ठले २०६६ वैशाख २ गते पहिलोपटक जिब्रो छेडेका थिए । जिब्रो छेडेपछि चन्द्राकारको महादीप बोकेर हिँड्नुपर्छ । जिब्रो निकालेर शहरको परिक्रमा गर्नुपर्छ । यसरी जिब्रो छेडेका व्यक्तिलाई सर्वसाधारणले देवता सरह मान्छन् । मानिसलाई दुःख कष्ट दिने राक्षसलाई समातेर जिब्रो छेडी सहर घुमाए दुःख नाश हुन्छ भन्ने विश्वासमा जात्रा मनाइन्छ । जात्राको आकर्षण नै जिब्रो छेड्ने परम्परा हो । त्यही परम्परा धान्नका लागि जुजुभाईले आठ वर्षसम्म जिब्रो छेडेर २०७३ सालदेखि टुङ्ग्याए । तर अहिले पनि उनलाई गुरुको मान प्राप्त छ । त्यसैले उनी निक्कै खुसी छन् ।
    जात्रैजात्राको शहर भक्तपुरको धार्मिक महत्व बोकेको, कला संस्कृति र मठमन्दिरले सिङ्गारिएको मध्यपुरथिमिको पर्याय हो, बिस्का जात्रामा जिब्रो छेड्ने परम्परा । कलाकारसमेत रहेका जुजुभाई आफ्नो मौलिक कला र संस्कृतिलाई बचाउन जिब्रो छेडेर जिम्मेवारी पूरा गरेको महसुस गर्छन् ।
    भक्तपुरको बोडेमा वर्षेनी जिब्रो छेड्ने बुद्धकृष्ण बाग श्रेष्ठले २०६६ सालमा नछेड्ने भनेर पत्रपत्रिकाबाट खबर सार्वजनिक भयो । त्यसपछि उनले परिवारसँग सल्लाह गरेर जिब्रो छेड्ने निर्णय लिए । जिब्रो छेडिने सुइरोलाई लामो समयदेखि तेलमा डुबाएर राखिन्छ । त्यही सुइरो ल्याएर देवगणको पूजा गरी मौलिक बाजा बजाउंँदै सबैका सामु जिब्रो छेड्ने परम्परा छ ।
    जिब्रो छेडेपछि अर्धचन्द्रको महादीप बालेर काँधमा बोकाइ सहर परिक्रमा गरिन्छ । बोडेका विभिन्न शक्तिपीठ दर्शन गराएपछि विधिपूर्वक झिकेर सुइरोलाई त्यही राख्ने परम्परा रहेको यहाँका संस्कृति अध्येता प्रदीप श्रेष्ठले बताए । ‘श्रीश्री जुजुभाईकी जय’ भनेर जयजयकार गरेको सम्झना उनका सामु अझै ताजा छ ।
    जुजुभाईले भने, ‘हामी साधारण मान्छेलाई देवतुल्य भनेर भन्छन्, आफूलाई त्यस्तो महसुस भएन, तर त्यहाँबाट लोकप्रिय भएँ, गाउँले र अरुले चिन्न थाले, पहिलो आर्ट शिक्षकको रुपमा मात्रै थिएँ, त्यसपछि सबैमाझ परिचित हुने मौका मिल्यो ।’ आठ पटक जिब्रो छेडेर संस्कृतिलाई बचाउन पाउँदा मनमा शान्ति मिलेको उनले बताए ।

    पहिलो पटक जिब्रोमा सुइरो रोप्दा

    पहिलोपटक सुइरो रोप्दा जुजुभाईलाई डर र खुसीको मिश्रित अनुभव रहयो । जिब्रोको माथिल्लो भागमा मासु हुने भएकाले सजिलै जाने तर तल्लो भागको झिल्ली छेड्न निक्कै गाह्रो भएको उनले सुनाए । छेड्दा जति दुख्छ त्योभन्दा बढी निकाल्दा दुख्ने जुजुभाईको अनुभव छ ।
    “झण्डै दुई घण्टा छेडेको जिब्रो बाहिर राख्नुपर्छ, ¥याल बगिरहेको हुन्छ, जिब्रो कक्क्रक्क भएर सुकिसकेको हुन्छ, त्यसबेला सुइरो निकाल्दा पिडा महसुस हुने रहेछ”, जुजुभाईले भने । उनले २०६६ सालदेखि २०७३ सम्म जिब्रो छेडेर संस्कृतिलाई निरन्तरता दिए । त्यसपछि बुद्धकृष्ण बाग श्रेष्ठले पुनः निरन्तरता दिँदै आएका छन् ।
    तीर्थमायाँ र सानुभाईको पाँचौँ सन्तान (माइला छोरा) जुजुभाईका तीन दाजुभाई र तीन दिदीबहिनी छन् । जिब्रो छेड्न छाडेपनि गुरुको स्थानबाट पूजाआजामा सरिक हुँदै आएका जुजुभाईले २८ वर्षको उमेरमा पहिलो अनुभव लिए । परम्पराअनुसार जिब्रो छेडेमा अनावृष्टि हुँदैन, अनिकाल लाग्दैन, महामारी, महाभूकम्प आउँदैन, पाहुनालाई सजिलोसँग पाल्न सकिन्छ र धर्मप्रति आस्था बढ्छ भन्ने जनविश्वास छ ।
    विधिपूर्वक जिब्रो छेड्नुपर्छ । सुइरो बनाउने व्यक्तिले पनि व्रत बस्नुपर्छ । जिब्रो छेड्नेले पनि तीन दिन व्रत बस्नुपर्छ । पशुपक्षीलाई छुन हुँदैन, तीन दिन पानी मात्रै खाएर बस्नुपर्छ र विभिन्न अनुष्ठान गरेर बस्नुपर्छ । अर्काको घरमा समेत जान नहुने परम्परा छ ।

    जुजुभाईको नदेखिएको पाटो

    जिब्रो छेडेर चर्चा कमाउनुभएका जुजुभाई फाइन आर्टस्का अनुभवी कलाकार हुन भन्ने कुरा कला क्षेत्रमा बाहेक कमैलाई थाहा होला । जलरङ र एक्रेलिकबाट चित्रकारिता गर्न मन पराउने जुजुभाई लामो समयदेखि स्कूलका विद्यार्थीलाई चित्रकला पढाउँदै आएका छन् । फुटबलकासमेत पारखी जुजुभाई भन्छन्, “आर्ट भनेको मेरो मुख्य पेशा हो, जीवनभर गर्ने काम हो, जिब्रो छेड्ने परम्परा सकुञ्जेल मात्रै गर्ने हो ।”
    कलाकारले फेसबुकको माध्यमबाट शुरु गरेको शनिवारीय स्थलगत चित्रकला कार्यशालाको ‘मध्यपुरथिमि सिरिज’अन्तर्गतको छैठौँ कार्यक्रममा मध्यपुरथिमिस्थित शिवाटोलको महादेव र गणेशको मन्दिरलाई जलरङले आर्ट पेपरमा उन्दै गर्दा भेट्टिएका जुजुभाई चित्रकलाले संस्कृति र परम्परा संरक्षणमा सहयोग पुग्ने बताउँछन् ।
    गएको भदौ २८ गतेदेखि शुरु उक्त अभियानअन्तर्गत थिमिको बोडे, नगदेश, निगुपुखु (दुई पोखरी), चपाचो, सिद्धिकाली र लायाकुमा कार्यशाला सम्पन्न भइसकेको छ । थिमिको महत्व र किम्बदन्तीका बारेमा संस्कृति अध्येता प्रदीप श्रेष्ठले पत्रकारहरुलाई जानकारी गराए । कार्यक्रम संयोजक दिवेश प्रधान चित्रकलामार्फत थिमिलाई चिनाउनु नै अभियानको मुख्य उद्देश्य रहेको बताउँछन् ।
    कात्तिक १० गते कलाकारले बनाएका चित्र दुई पोखरीमा प्रदर्शन गरिँदैछ । पुरातत्व विभागका पुरातत्व अधिकृत प्रकाश खड्काले ५०० वर्ष पुरानो पूर्वमध्यकालका संरचना र लिच्छविकालिन सभ्यता रहेको थिमिमा नयाँ वर्षको बेला मनाउने बिस्का (सिन्दुर) जात्रा प्रसिद्ध रहेको बताए । यो मेला नेपालमा मात्र होइन अहिले संसारभरको चासोको मेला बन्न थालेको छ ।

     

     

     

  • काठमाडौंमा स्थायी रुपमै लागू होला जोर-विजोर प्रणाली ?

    काठमाडौंमा स्थायी रुपमै लागू होला जोर-विजोर प्रणाली ?

    काठमाडौं । काठमाडौं उपत्यका, अधिक सवारी र साँघुरो सडक संरचनाका कारण अत्यधिक सडक जाम हुने शहरमध्ये एकमा गनिन्छ ।

    यसले मानिसको जनजीवनमा नकारात्मक प्रभाव पारेको छ । यसै सन्दर्भमा काठमाडौंमा स्थायी रुपमा जोर-विजोर प्रणाली लागु गर्द माग गर्दै सर्वोच्च अदालतमा रीट दायर भएको छ ।

    काठमाडौं उपत्यकामा अत्यधिक ध्वनी प्रदूषण र टाफिक जाम भएकाले जोर-विजोर प्रणाली माग गरिएको रीट दायर भएको हो । अधिवक्ता रिता कार्की र श्‍यामकुमार श्रेष्ठले सात पृष्ठ लामो रीट सर्वोच्चमा दर्ता गराएका हुन्।

    रीटमा स्थायी रुपमा जो(बिजोर नम्बर अनुसार सवारी संचालनको आदेशको माग गरिएको छ । २० वर्ष पूराना सवारी साधन उपत्यकामा गुड्न दिन नहुने र प्रभावकारीरुपमा वातवरण प्रदूषणको जाँच गरिनु पर्ने मागसमेत रीटमा छ ।

    रीटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १५ सरकारी संयन्त्रलाई विपक्षी बनाइएको छ ।

    काठमाडौं उपत्यकामा अति विशिष्ट व्यक्तिका सवारी साधन, आकस्मिक सेवामा गुड्ने सवारी साधन, निजामती कर्मचारी एवम् संस्थानका सवारी साधन, सुरक्षाकर्मीका सवारी साधन, विदेशी कूटनीतिक नियोगका सवारी साधन, विकलाङ्ग व्यक्तिले चलाउने व्यक्तिगत बाहन, बालबालिका बोक्ने विद्यालयको सवारी साधनबाहेक अन्य सबै व्यक्तिगत तथा भाडाका सवारी (दुई पांग्रे र चार पांग्रे) का लागि स्थायीरुपमा जोर बिजोर प्रणालीको माग गरिएको छ ।

    यसमा सर्वोच्चले सकारात्मक आदेश दिएमा काठमाडौं धेरै हदसम्म चुस्त शहरका रुपमा स्थापित हुने देखिएको छ ।

  • अवैध रुपमा अमेरिका छिरेका ५ युवकलाई चार्टर्ड विमानमा नेपाल फर्काइयो

    अवैध रुपमा अमेरिका छिरेका ५ युवकलाई चार्टर्ड विमानमा नेपाल फर्काइयो

    काठमाडौं । अवैध रुपमा अमेरिका पुगेका ५ जनालाई अमेरिकी सरकारले नेपाल फिर्ता गरेको छ ।

    ५ नेपाली र ३ पाकिस्तानी नागरिक लिएर अमेरिकाको चार्टर्ड जहाज बुधबार काठमाडौं आएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

    नेपालबाट आप्रवासीका रुपमा अमेरिका रहने गरी दलाललाई ठूलो रकम तिरेर अमेरिका पुगेका उनीहरु अमेरिकी अध्यागमनको हिरासतमा थिए ।

    गैरकानूनी बाटो समाएर अमेरिका पुगेका उनीहरुलाई लामो समय अमेरिकी हिरासतमा राखेर बुधबार मात्र नेपाल पठाइएको हो ।

    विमानस्थल प्रहरीका अनुसार रूकुम स्यालापाखा, ९ का नरेन्द्र रेउले, प्रमोदकुमार पुन मगर, बाग्लुङ धम्जाका देवेन्द्रबहादुर क्षेत्री, दाङ घोराहीका अभिश्वर बुढामगर र नवलपरासी कावासोतीका अर्जुन पौडेल क्षेत्रीलाई अमेरिकाले नेपाल फर्काएको हो ।

    उनीहरुलाई जहाज भित्र समेत हतकडी लगाएर ल्याइएको थियो । नेपालमा आएपछि मात्र हतकडी खुला गरिएको हो ।

    नेपाल तथा भारतका दलाल मिलेर उनीहरुलाई विभिन्न मुलुकको बाटो हुँदै अमेरिका लगेको बताइएको छ ।

    प्रहरीले उनीहरुको वयानपछि दलालको खोजी गर्ने बताएको छ ।

    अमेरिकाको स्थायी बासिन्दाका रुपमा आप्रवासीको मान्यता पाउने लोभमा दलाललाई ठूलो रकम तिरेर गएका उनीहरुलाई अमेरिकी अध्यागमनले पक्रिएर राखेको थियो ।

    नेपालबाट सुखको लोभमा नेपालमा भएभरको सम्पत्ति बेचेर यसरी अलपत्र पर्ने नेपालीको संख्या बढ्दो क्रममा रहेको छ ।

  • नियमित खुर्सानी खाँदा यस्तो अचम्मको फाईदा

    नियमित खुर्सानी खाँदा यस्तो अचम्मको फाईदा

    भान्छामा स्वादको लागि प्रयोग गरिने खुर्सानीमा अचम्मको गुण पत्ता लागेको छ । बढ्दो हृदयघातको समाचार आईरहँदा नियमित रुपमा खुर्सानी खाने मानिसहरुलाई हृदयघातको सम्भावना निकै कम हुने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ । हप्तामा चार पटक पिरो खुर्सानी खाने मानिसहरुको मृत्‍यु हृदयघातका कारण हुने सम्भावनामा ४० प्रतिशतले कमी हुने गरेको तथ्य सार्वजनिक भएको हो । त्यसरी खुर्सानी खाने बानी भएकाहरुको मृत्‍युदरमा समेत खुर्सानी नखानेहरु भन्दा २३ प्रतिशतले कमी हुने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । ईटालीस्थित २२ हजार ८ सय ११ जना नागरिकमा ८ बर्ष लगाएर गरिएको परिक्षणबाट प्रकाशित उक्त तथ्य जर्नल अफ द अमेरिकी कलेज अफ कार्डियोलोजी मार्फत उक्त परिक्षणको तथ्य सार्वजनिक भएको हो । अनुसन्धान नियमित खुर्सानी खाने र नखाने मानिसहरुमा केन्द्रित थियो ।

    ईटालीस्थित मारियालौरा बोनासियो नामकी एक सरुवा रोग बिज्ञले खुर्सानी सेवनका फाईदा बारे बोल्दै भनेकी छिन् “संसारमा कोही स्वास्थबर्धक खाना खान्छन् कोही स्वास्थबर्धक खाना खाँदैनन्, ति दुबै प्रकारका मानिसका लागि खुर्सानीको अत्यन्त अत्यन्त सकारात्मक असर छ” । अनुसन्धान ईटालीको पोजिलीस्थित डिपार्ट्मेन्ट् अफ ईपिडेमियोलोजी एन्ड प्रिभेन्सन अफ आई आर सि सि एस न्युरोमेडले गरेको हो ।

    श्रोत : एजेन्सी

  • पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफमाथि मृत्युदण्डको फैसला

    पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफमाथि मृत्युदण्डको फैसला

    इस्लामावाद । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफ माथि अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । उनलाई लाहौर हाइकोर्टले देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको हो ।

    हाइकोर्टका तीन न्यायाधीशको बेञ्चले सैनिक विद्रोहमार्फत राष्ट्रपति बनेका मुशर्रफमाथि मृत्युदण्डको सजाय सुनाएको हो । सजाय सुनाइरहँदा मुशर्रफ भने दुबईमा एक अस्पतालमा उपचारार्थ भर्ना भएका छन् ।

    उनले आफूमाथि लागेको संविधानको अवहेलना र देशद्रोहको मुद्दा निराधार भएको दावि गर्दै आएका छन् ।

    आफू देश सेवामा समर्पित भएको समेत उनको दावि छ । इस्लामाबादको विशेष न्यायालयले २०१४ मा देशद्रोहको एक मुद्दामा पूर्वराष्ट्रपति मुशर्रफलाई अभियुक्त बनाएको थियो ।

    २०१३ मा पाकिस्तानी मुस्लिम लिग (नवाज)ले सरकारको बागडोर सम्हालेपछि उनीमाथि मुद्दा शुरु भएको हो । उनी मुद्दा शुरु भएपछि एक पटक मात्र अदालतमा उपस्थित भएका छन् ।

    त्यसबाहेक उनी विदेशमै रहेका छन् । उनले १९९९ मा सैन्य विद्रोहमार्फत पाकिस्तानको शासन सत्ता हात पारेका थिए । २००१ मा उनी सैन्य प्रमुख रहेकै समयमा राष्ट्रपति घोषित भए ।

    २००२ मा जनमत मार्फत थप पाँच वर्षका लागि राष्ट्रपति बनेका थिए । २००७ मा राष्ट्रपति निर्वाचन भयो, त्यसमा पनि उनी विजयी भए ।

    यस चुनावविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि उनले संकटकाल घोषणा गरेका थिए ।

    त्यसपछि मुख्य न्यायाधीशलाई हटाएर नयाँ मुख्य न्यायाधीश नियुक्त गरी आफ्नो पदलाई वैधानिकता दिएका थिए । २००८ मा उनी पदमुक्त बनेका हुन् ।

  • क्लोज क्याम्पबाटै नाइट क्लव पुग्ने विमल र दिनेशमाथि तीन महिने प्रतिवन्ध

    क्लोज क्याम्पबाटै नाइट क्लव पुग्ने विमल र दिनेशमाथि तीन महिने प्रतिवन्ध

    काठमाडौं । विश्वकप छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको महत्वपूर्ण खेलका लागि भूटान उड्ने अघिल्लो रात ठमेलका नाइट क्लवमा पुगेर मस्ती गर्ने फूटबल खेलाडीहरुमाथि अखिल नेपाल फूटबल संघ (एन्फा)ले प्रतिवन्धको घोषणा गरेको छ ।

    चार जना खेलाडी क्लोज क्याम्पबाट भागेर नाइट क्लव पुगेका थिए । विमल घर्ती मगर, दिनेस राजवंशी, अञ्जन बिष्ट र देवेन्द्र तामाङमाथि एन्फाले प्रतिबन्ध लगाएको छ ।

    त्यसमध्ये विमल र दिनेशमाथि ९० दिनको प्रतिबन्ध लागेको छ । उनीहरुले शनिबार बाट शुरु हुने शहीद स्मारक लीगसमेत गुमाएका छन् ।

    अञ्जन बिष्ट र देवेन्द्र तामाङलाई ४५ दिनको प्रतिबन्ध लागेको छ । प्रतिबन्धका साथ एन्फाले प्रति खेलाडी ५० हजार नगद जरिवाना समेत तोकेको छ ।

    अनुशासनहिन बन्दै गएका खेलाडीमाथिको कारवाहीपछि यता राष्ट्रिय टीमले भने उनीहरु बीना पनि निकै राम्रो प्रदर्शन गरेका कारण एन्फालाई सजाय तोक्न कुनै दवाव सिर्जना भएन् ।

    यी चार खेलाडीले सागमा फूटबल गुमाएका थिए । तर उनीहरु नभएपनि नेपालले स्वर्ण जितेको छ । कुवेतविरुद्ध समेत नेपाल मात्र १ गोलले पराजित भई नेपाल फर्किएको थियो ।

  • तातोपानी भन्सार प्रमुखविरुद्ध साढे १० करोड भ्रष्टाचार मुद्दा

    तातोपानी भन्सार प्रमुखविरुद्ध साढे १० करोड भ्रष्टाचार मुद्दा

    काठमाडौं । तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध साढे १० करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा बिगो दाबी गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

    अख्तियारले शुक्रबार मुद्दा दायर गरेको जनाएको छ । अख्तियारले अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर गरेको छ ।

    बस्नेतले कमाएको पैसा आफू र आफ्ना परिवारको नाममा राख्ने गरेका थिए । २०४५ सालमा लेखापालको रुपमा उनी सरकारी सेवा छिरेका थिए ।

    त्यसयता उनको वैधानिक कमाई १ करोड ७८ लाख २० हजार ९ सय ७५ रुपैयाँ ८२ पैसा मात्र रहेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

    उनको नाममा भने वैधानिक आम्दानीबाहेक नै १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा खर्च र बचत देखिएपछि अख्तियारले मुद्दा चलाएको हो ।

    उनले भन्सार नाकाबाट नेपाल आयात हुने सामानको भन्सार पास गर्ने बेला व्यापारी, क्यारिङ्ग व्यवसायी र भन्सार एजेन्टसँग गैरकानूनी रुपमा रकम बुझ्ने गरेका थिए ।

    बस्नेतले लिने घुस बुझ्ने काम भने संखुवासभाको खाँदबारी–१ बस्ने जेठान नबिनकुमार गौलीबाट हुने गरेको अख्तियारले उल्लेख गरेको छ ।

    ज्वाइँले लिएको घुस जेठानको नाममा जमिन तथा घरमा लगानी भएको पाइएको छ । त्यसपछि भने जेठानबाट बक्सिस पाएको भन्दै आफ्नो नाममा गराउने धन्दा उनको थियो ।

    अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा बिगो तथा बिगोअनुसार जरिवाना, २ वर्षसम्म कैद तथा गैरकानून रुपमा आर्जन गरेको सम्पत्ति जफतको मागदाबी गरिएको छ ।

    जेठान नबिन कुमार गौलीको हकमा भने ९ करोड २१ लाख ५२ हजार ७ सय ९२ रुपैयाँ बिगो तथा २ वर्षसम्म कैद तथा गैरकानून रुपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न मागदाबीसहित  मुद्दा दर्ता भएको छ ।

  • टाइम वर्ष व्यक्ति बनीन् १६ वर्षिय ग्रेटा : ट्रम्प, सी र मार्कसमेत पछि परे

    टाइम वर्ष व्यक्ति बनीन् १६ वर्षिय ग्रेटा : ट्रम्प, सी र मार्कसमेत पछि परे

    काठमाडौं । १६ वर्षीया ग्रेटा थनवर्ग टाइम म्यागजिनले घोषणा गर्ने वर्ष व्यक्ति घोषित भएकी छिन् । उनी जलवायु परिवर्तनबारे खरो उत्रिएर अभियानमा लागेकी अभियन्ता हुन् ।

    १६ वर्षीया स्वीडेन की नागरिकले उनले वर्ष व्यक्तिको सूचिमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, फेसबुकका संस्थापक मार्क जुकरबर्क, हङकङका आन्दोलनकारीसहित विश्वका शक्तिशाली शासक र व्यक्तिहरुलाई उछिनेकी छिन् ।

    टाइम म्यागजिनले सन् २०१९ का लागि वर्ष व्यक्ति घोषणा गरेको हो । वर्षभर संसारमा प्रभावशाली काम गरेका व्यक्तिलाई यो उपाधी दिने गरिएको छ ।

    ग्रेटाले सेप्टेम्बर २०१९ मा संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन एक्सन सम्मेलनमा दिएको मन्तव्यले संसारभर चर्चा बटुलेको थियो ।

    त्यसपछि उनी संचारमाध्यमको केन्द्रमा पर्न थालेकी थिइन् ।

    ग्रेटाले टप १० सूचिमा रहेका न्यूजल्याण्डकी पूर्व प्रधानमन्त्री जेसिन्दा एड्रिन, अमेरिकी फुटबलर मेगान रिपोनी, ट्रम्पका वकिल रुदी जिलिनी, दि ह्विसेल ब्लोअर र युएस हाउस अफ रिप्रिजेन्टेटीभकी सभामुख न्यान्सी पेलोसीसमेत उछिनेकी छिन् ।

    सन् २००३ मा स्वीडेनको राजधानी स्टकहोममा जन्मेकी ग्रेटा सन् २०१८ मा स्वेडनको संसद भवन अगाडि धर्ना बसेर चर्चामा आएकी थिइन् ।

    उनले जलवायुका लागि विद्यालय हड्ताल नारा नै प्रारम्भ गरेकी थिइन् । उनका बुबा र आमा संगित र कलाकारिता क्षेत्रमा आवद्ध छन् ।

    उनले हरित गृह ग्यास उत्सर्जन विरुद्ध आन्दोलन गरिरहेकी छिन् । उनी सन् २०१९ को नोवेल शान्ति पुरस्कारको मनोनयनमा समेत परेकी किशोरी हुन् ।

    एजेन्सी

  • अब सडकमा माग्नेलाई ३० हजार जरिवाना, ३ वर्ष कैद

    अब सडकमा माग्नेलाई ३० हजार जरिवाना, ३ वर्ष कैद

    काठमाडौं । काठमाडौंका सडकलाई माग्नेमुक्त बनाउने अभियानस्वरुप काठमाडौं महानगरपालिकाले कारवाही थाल्ने भएको छ ।

    २८ मंसिरबाट महानगरपालिकाले अभियानकै रुपमा माग्नेहरुमाथि पनि कारवाही थाल्ने तयारी गरेको हो ।

    विभिन्न बाहनामा सडकमा माग्न बस्ने वा सहयोगको अपिल गर्नेका लागि कारवाहीका तयारी भएको महानगरपालिकाले सूचना निकाल्दै जनाएको छ ।

    त्यसो त सरकारले पनि नेपाललाई माग्नेमुक्त बनाउने अभियान थाल्ने जनाएको छ । नेपालका शहरहरुमा नेपालीभन्दा बढी भारतीय माग्नेहरुको सडकमा बाहुल्य रहेको छ ।

    मंगलबार सूचना निकालेको महानगरले तीन दिनभित्र सबै प्रकारका माग्नेलाई सडकबाट हट्न अल्टिमेटम दिएको छ । २९ मंसिरमा महानगरपालिकाले स्थापना दिवस मनाउँदै छ ।

    सोही अवसर पारेर काठमाडौं महानगरपालिकाले काठमाडौंलाई माग्नेरहित क्षेत्र घोषणा गर्दैछ । माग्ने र माग्न प्रोत्साहन गर्ने दुबैलाई कारबाही हुने महानगरपालिकाले जनाएको छ ।

    मुलुकी अपराध संहिताको दफा १ सय २६ मा भिक्षा माग्न र भिक्षा माग्न प्रोत्साहन गर्न नहुने र गरेमा बढीमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने महानगरपालिकाले जनाएको छ ।

    तीन दिन भित्र बाटोबाट माग्ने नहटे मानव सेवा आश्रमसँगको सहकार्यमा उनीहरूको व्यवस्थापन थालिने र उनीहरुलाई बालाजु २२ धारास्थित एक घरमा राखेर व्यवस्थापनको योजना छ ।

    त्यसपछि वास्तविक पिडामा रहेर माग्ने वा पेशेवर माग्ने छुट्याएर सोहीअनुसार कारवाही अगाडी बढ्ने भएको छ ।

    काठमाडौंमा कसैले पेशा वा व्यवसायका रुपमा माग्नेलाई सडकमा खटाउने गरेका पाइए उनीहरु दुबैमाथि कारवाही हुने भएको छ ।

  • दुई इन्जिनियर २० लाख घुससहित पक्राउ

    दुई इन्जिनियर २० लाख घुससहित पक्राउ

    प्युठान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई इन्जिनियरलाई २० लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

    सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर निरज महर्जन र इन्जिनियर ध्रुव श्रेष्ठ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका हुन् ।

    आयोगको टोलीले उनीहरूलाई करिब २० लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो। काठमाडौं बानेश्वरस्थित एलिनाज बेकरी क्याफेबाट उनीहरु पक्राउ परेको आयोगले पुष्टी गरेको छ ।

    सेवाग्राहीसँग बिल भुक्तानी गरेवापत उक्त घुस मागेको सुराकीका आधारमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

  • गौरिकालाई चौथो स्वर्ण, कसले तोड्ला यो रेकर्ड

    गौरिकालाई चौथो स्वर्ण, कसले तोड्ला यो रेकर्ड

    काठमाडौं । पौडीवाज किशोरी गौरिका सिंहले जारी दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली खेलाडीका लागि एक दूर्लभ रेकर्ड राखेकी छिन् ।

    उनले सोमबार भएको प्रतिस्पर्धामा स्वर्ण जित्दै एउटै सागमा ४ स्वर्ण जित्ने कीर्तिमान कायम गरेकी हुन् । उनले सोमबार १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै चौथो स्वर्ण हात पारेकी हुने ।

    उनले १०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा गरेकी छिन् । उनले भारतीय पौडस्वाज शिवा‌ंगी शर्मालाई उछिनिन् । सागमा धेरै स्वर्ण पदक जितेको कीर्तिंमान तेक्वान्दो खेलाडी दीपक विष्टको नाममा छ ।

    गौरिकाले दीपकको कीर्तिमान बराबरीसमेत गरेकी छिने । तर, दीपकले चार स्वर्ण जित्न चार वटै साग खेलेका छन् । गौरिकाले भने एकै सागमा यो उपलब्धी हाँसिल गरेकी हुन् ।

    यस सागमा उनको नाममा चार स्वर्णसहित ८ पदक पुगेको छ । उनले दुई रजत र दुई काश्य पदकसमेत जिथेकी छिन् ।

    गौरिकाले राखेको यो दूर्लभ रेकर्ड उनी स्वयमबाहेक अर्को खेलाडीले तत्काल तोड्ने सम्भावना कम छ । किनकी उनी मात्र १७ वर्षकी भइन् । उनले अझै धेरै सागमा सहभागिता जनाउन सक्ने उमेर बाँकि छ ।

  • कर्णालीमा छोरीको बैंक खाता सरकारले खोलिदिने, २० पुगेपछि मात्र पैसा निकाल्न पाउने

    कर्णालीमा छोरीको बैंक खाता सरकारले खोलिदिने, २० पुगेपछि मात्र पैसा निकाल्न पाउने

    सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो क्षेत्रभित्रका छोरीको बैँक खाता आफैले खोलि दिने निर्णय गरेको छ ।

    १ साउन २०७६ यता कर्णालीको क्षेत्रफलमा जन्मिएका सबै छोरीको बैँक खाता सरकारले नै खोलिदिने योजना प्रदेश सरकारले कार्यानवयन गर्न लागेको हो ।

    चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत सरकारले ‘बैँक खाता छोरीकोः सुरक्षा जीवन भरीको’ कार्यक्रम राखेको थियो ।

    यसका लागि बजेट समेत छुट्याइएको थियो । यस कार्यक्रमलाई कार्यान्वयन गर्न कार्यविधि तयार भएको हो । मुुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले कार्यविधि तयार पारेको हो ।

    छोरीहरुको सामाजिक सुरक्षा सुनिश्चित गर्न प्रदेश सरकारले बैँक खाता खोल्ने कार्यक्रमलाई प्रभावकारी बनाउन लागेको बताएको छ ।

    कार्यविधिमा उल्लेख भएअनुसार अब १ साउन २०७६ भन्दा पछि कर्णालीमा जन्तिमा सबै छोरीको बैँक खाता रहनेछ ।

    यस खातामा प्रदेश सरकारले छोरी २० बर्ष नपुगेसम्म पहिलो महिना एक हजार र त्यसपछि हरेक महिना पाँचसय रुपैँया जम्मा गरिदिने भएको छ ।

    खासगरी छोरी जन्मिदा हेयको दृष्टिले हेने बाबुआमाको सोच पनि परिवर्तन हुने अपेक्षा सरकारको छ । छोरीमाथि हुने विभेद अन्त्य हुनुका साथै उमेर पुगेपछि स्वावलम्बन बन्न समेत यस कार्यक्रमले सहयोग गर्ने भएको छ ।

    कर्णाली मानव विकास सूचकांकमा पछि परेको प्रदेश हो । त्यसकारण यो कार्यक्रम महिला सशक्तिकरणका लागि प्रभावकारी हुने विश्वास लिइएको छ ।

    कार्यविधि अनुसार रकम भने छोरीको बैँक खातामा जम्मा गर्ने गरी प्रदेश सरकारले सबै स्थानीय तहमा पठाउने भएको छ ।

    कर्णालीमा बार्षिक करिब ७ हजार छोरी जन्मिने गरेको अनुमानित तथ्यांक रहेको छ । अहिलेकै रकम अनुसार छोरी २० वर्षकी पुग्दा उनको खातामा एक लाख २० हजार रुपैँया जम्मा हुुन्छ ।

    यद्दपी समय सापेक्षा यो रकम बढाउन सक्ने अधिकार सरकारलाई दिइएको छ । यो रकम छोरी २० वर्ष नपुगेसम्म निकाल्न पाइने छैन ।

    एक दम्पत्तिबाट जन्मिएका दुई वटी छोरीले मात्र यो सुविधा पाउनेछन् । २० वर्ष अगाडी नै बिहे गर्ने छोरीले नि त्यो रकम पाउने छैनन् ।

    माध्यामिक शिक्षा समेत छोरीले बिचमै छाड्न पाउने छैनिन । यसले शिक्षा, जीवनस्तर, बालबिबाह रोक्ने ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

  • गौरिकालाई सागमा ऐतिहासिक तेस्रो स्वर्ण

    गौरिकालाई सागमा ऐतिहासिक तेस्रो स्वर्ण

    काठमाडौं । गौरिका सिंह नेपाली पौडी प्रतिस्पर्धामा चम्किलो नाम हो । राष्ट्रिय खेलकुदमा सबै खाले रेकर्ड तोडेर आफ्नो नाममा बनाइसकेकी यी खेलाडी यतिबेला सागमा चम्किरहेकी छिन् ।

    उनले आइतबार ऐतिहासिक तेस्रो स्वर्ण जित्न सफल भएकी छिन् । एउटै सागमा तेस्रो स्वर्ण जित्ने उनी पहिलो नेपाली खेलाडी पनि बनेकी छिन् ।

    उनले १३औं सागको पौडीतर्फ आइतबार ४०० मिटर फ्री स्टाइलमा स्वर्ण जिइने । उनले निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पुरा गरेकी हुन ।

    आइतबार नै सम्पन्न ५० मिटर ब्याकस्ट्रोकमा भने उनी रजत पदकमा सिमित भइन्। उनले पौडीको पहिलो प्रतिस्पर्धामा २०० मिटर फ्री स्टायल र दोस्रो दिन २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् ।

    १०० मिटर ब्याकस्ट्रोकमा उनी रजत पदकमा सिमित भएकी थिइन् । ४०० मिटर फ्री स्टाइलमा गौरिका सहितको टिमले काश्य पदक जितेको थियो ।

    यससँगै १३औं सागमा गौरिकाको नाममा मात्र तीन स्वर्ण, एक रजत र एक काश्य गरी ५ पदक पुगेको छ । गौरिका बेलायतमा हुर्किएकी नेपाली चेली हुन् ।

    काठमाडौंमा जन्मिएकी उनी बुवा पारस सिंह र आमा गरिमा राणाका साथ २ वर्षको उमेरमै बेलायती पुगेर उत्रै हुर्किएकी हुन् ।

    यी चेलीले आफ्नो समर्पण भने सधैभरी नेपालकै लागि भएको बताएकी छिन् । उनले १२ औं सागबाटै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व थालेकी थिइन् ।

  • ४ बलात्कारीलाई हैदरावाद पुलिसको इन्काउन्टर

    ४ बलात्कारीलाई हैदरावाद पुलिसको इन्काउन्टर

    हैदरावाद । भारतमा महिला पशु चिकित्सक माथि बलात्कारपछि हत्याको आरोपमा प्रहरीले पक्राउ गरेका ४ जनालाई गोली प्रहार गरि मारेको छ ।

    डाक्टरमाथि बलात्कार गरी उनलाई जिउँदै जलाएर मारेको आरोप उनीहरुमाथि थियो । २६ नोभेम्बर राती घटेको यस घटनामा संलग्नलाई प्रहरीले हिरासतमा राखी अनुसन्धान गरिरहेको थियो ।

    उनीहरुलाई शुक्रबार राती ३ बजेको समयमा हैदराबादको एनएच ४४ हाइवेमा पुर्याएर प्रहरीले गोली हानेको हो । महिला डाक्टरको बलात्कार पछि जलाएको गम्भीर अपराधपछि भारतभर व्यापक प्रदर्शन भएको थियो ।

    बलात्कारी आरोपी ४ जनामाथि नै प्रहरीले गोली चलाएर मारेपछि भने भारतमा त्यसको ठूलो समर्थन भएको छ ।

    ती डाक्टरका पिता र बहिनीले बलात्कारीको इन्काउन्टरबाट आफ्नो छोरी तथा दिदीले न्याय पाएको बताएको भारतीय संचारमाध्यहरुले जनाएका छन्  ।

    २६ नोभेम्बर साँझ ६ बजे स्कूटर पार्क गरी अस्पताल छिरेकी उनी राती ९ बजे घर फर्कर्ने तरखरमा थिइन् । तर, नजिकै ट्रकमा रहेका ५ जनाले उनको स्कुटर पन्चर गराइदिए र बलात्कारको योजना बनाए ।

    डाक्टर रातमा एक्दै थिइन्, स्कूटरको टायर पन्चर थियो । उनलाई सहयोगको जरुरत थियो । ती ४ युवालाई उनलाई सहयोग गर्ने आश्वासन दिए । तर, उनी डराएकी थिइन् ।

    उनले घरमा बहिनीलाई फोन गरिन र आफू घर नआइपुगेसम्म फोन नकाट्न भनिन् । तर, केही समयमै उनको फोन स्वीच अफ भयो ।

    त्यसपछि घर परिवारले प्रहरीलाई खबर गरे । रातभर उनको अत्तोपत्तो लागेन् । बिहान पुलमुनी उनको शव भेटिएको थियो । शवलाई जलाइएको अवस्थामा फेला पारिएको थियो ।

    हैदरावादमा भएको यस घटनालाई लिएर भारतभर हरेक दिन प्रदर्शन भएका थिए । चर्को आलोचनाका बीच प्रहरीले आरोपीलाई गोली हानी मारिदिएको हो ।

    प्रहरीले भने घटनाबारे विस्तृतमा बताउन घटनास्थलमा लगेको बेला प्रहरीको हतियार खोसेर भाग्न खोजेपछि चारै जना प्रहरी कारवाहीमा मारिएको बताएको छ ।

    अहिले हैदराबाद पुलिसको बागडोर कमिश्नर भीसी सज्जनारको हातमा छ । उनलाई भारतमा इन्काउन्टर विशेषज्ञ मानिन्छ । उनले यसअघि पनि जघन्य अपराधका आरोपीलाई गोली हानेर मारेको घटना धेरै छन् ।

    तेलंगनाको वारंगलमा यसअघि एक कलेज छात्रामाथि एसिड प्रहार भएको घटनाका दोषिलाई समेत उनकै नेतृत्वमा गोली हानी मारिएको थियो ।

  • भान्छामा खाना पकाउँदै गर्दा झ्यालबाट गोली आएर लाग्दा

    भान्छामा खाना पकाउँदै गर्दा झ्यालबाट गोली आएर लाग्दा

     

    न्युयोर्क      

    मानिसको जीवनमा कति बेला नसोचेको घटना घट्न पुग्छ थाहा हुँदैन । घर भित्र आरामसँग बसिरहेको समयमा शक्तिशाली  भुकम्प आएर घर नै गर्ल्याम् गुर्लुम्म् ढलेर मान्छेको मृत्‍यु भएको त सुनेको नै हो ।  बाटोमा हिड्दै गर्दा गाडी उछिट्टिएर आएर मान्छेलाई हानेर मारेको पनि सुनेकै हो । तर न्युयोर्कको ब्रुकलिनस्थित एक घरमा बुधबार राती कल्पना नै नगरेको घटना घटेको छ । ब्रुकलिनको फ्ल्याटबुस एभिन्युमा रहेको आफ्नो दुई तल्ला माथिको अपार्टेमेन्टको किचनमा खाना बनाई रहेको अवस्थामा बन्द गरेको झ्यालबाट गोली उडेर आई एक महिलाको छातीमा लाग्दा ति महिला घाईते हुन पुगेकी छिन् । घटना बुधबार राती ११ बजे घटेको थियो । गोली लागेपछि ५७ बर्षीय ती महिलालाई किङ्स काउन्टी हस्पिटल लगिएको थियो ।  

    स्वास्थ अवस्था स्थिर रहेकी ती घाईते महिलाका अनुसार आफ्नै अपार्टेमेन्टको किचनमा काम गर्दै गर्दा अकस्मात गोलीको आवाज सुनेपछि यसो भुँई तिर हेरेपछि मात्र आफुलाई गोली लागि सकेको थाहा पाएको उनले प्रहरी अधिकारीलाई बताएकी छिन् । घाईते महिला केही बर्षदेखि आफ्नो पतिको साथ उक्त अपार्टेमेन्टमा बसोबास गर्दै आएकी थिईन । प्रहरीका अनुसार ती घाईते महिला गोली प्रहार गरिएको लक्षित ब्यक्ती भने होईनन् । उक्त भवनको नजिकै पार्क गरेर राखिएको कारमा भने गोलीले प्वाल पारेको भेटिए पनि हालसम्म शंकास्पद कोही पनि पक्राउ परेको छैन ।

  • प्रधानमन्त्रीको १० दिनको उपचार खर्च २ लाख ५५ हजार

    प्रधानमन्त्रीको १० दिनको उपचार खर्च २ लाख ५५ हजार

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अघिल्लो मंगलबार अस्पताल भर्ना भएका थिए ।

    १० दिन अस्पतालमा बसेका उनको उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको अस्पतालले जानकारी दिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका अनुसार प्रधानमन्त्रीको शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा उक्त रकम खर्च भएको हो ।

    यस अस्पतालमा आईसीयू बेडको प्रतिदिन शुल्क मात्र १२ सय ५० रुपैयाँ रहेको छ । अस्पतालका अनुसार प्रधानमन्त्रीलाई सामान्य नागरिकलाई लिने सरह शुल्क लिइएको छ ।

    प्रधानमन्त्रीको एपेण्डिसाइटिसको अप्रेसन गरिएको हो । उपचारमा संग्लग्न एक डाक्टरहरुका अनुसार यस अस्पतालको सेवा र उपचारबाट प्रधानमन्त्रीखे संतुष्टी व्यक्त गरेका थिए ।

    बिहीबार प्रधानमन्त्रीले अस्पतालबाट डिस्चार्ज हुने बेला डाक्टरहरुलाई धन्यवाद दिएका थिए । आफू ठिक भएर फर्केको बताउँदै उनले अस्पतालमा उपचार गराउन पाउँदा आफूलार्ए खुसी लागेको प्रतिक्रिया दिएका थिए ।

  • ठूलो पशुबली दिने मेला गढीमाई शुरु

    ठूलो पशुबली दिने मेला गढीमाई शुरु

    बारा । सबैभन्दा ठूलो पशुबलीका रुपमा संसारभर चर्चित गढीमाई मेला मंगलबारबाट शुरु भएको छ ।

    सोमबार राति मुख्य पूजा सम्पन्न भएसँगै मंगलबार बिहान मन्दिरमा पञ्चबली दिइएको थियो । यससँगै गढीमाई मेलाको मूख्य आकर्षणको रुपमा रहेको पशुबली शुरु भएको छ ।

    मेलामा भाकल अनुसार पशु ल्याएर देवीका नाममा बली दिने प्रचलन रही आएको छ । पञ्चबलीमा बोका, कुखुरा, परेवा, मुसा र राँगा बली दिने गरिन्छ ।

    यस मन्दिरमा मूल पुजारी थारु समुदाय बाट हुने गर्छन् । मूल पुजारीको घरमा पुजा सकिएपछि सोमबार रातिबाट ब्रम्हस्थानमा पूजा सुरु गरिएको मेला आयोजक समितिले जनाएको छ ।

    उक्त पूजा समापन भएपछि माईको मन्दिर अघि रहेको पुरानो त्रिशुल हटाएर नयाँ फेर्ने प्रचलन रहेको छ । त्यसपछि ब्रम्हस्थानमै पञ्चबली दिइएसँगै भक्तालुका लागि पञ्चबलीको साइत फुकेको हो ।

    यस मन्दिरमा पशुबली अघि नरबली दिने समेत प्रचलन रहेको छ । नरबलीका रुपमा चौधरी समुदायका धामीले जिब्रो, आँखा मुनि, छाती, पाखुरा र तिघ्राबाट पाँच थोपा रगत झिकेर चढाउने गरिन्छ ।

    मेला एक महिनाभर चल्छ । तर, पशुबलीको मूख्य दिन भने मंगलबार र बुधबार हो । गढीमाई मन्दिर बाराको महागढीमाई नगरपालिकामा पर्छ ।

    गढीमाईको मेला हरेक पाँच–पाँच वर्षमा मंसिर शुक्ल सप्तमीदेखि आरम्भ हुन्छ । मेलामा नेपालसहित भारतबाट आउने भक्तालुले बढी पशुबली दिने गरेका छन् ।

    यस मेलामा दिइने पशुबली रोक्ने पशुअधिकारकर्मी सक्रिय रहेका छन् । स्थानीय सरकारले पनि पशुबलीलाई प्रोत्साहन नगर्न सचेत गराएको छ । तर, मानिसको आस्थासँग जोडिएको विषय भएकाले सोझै हस्तक्षेप गर्न भने सकिएको छैन ।

  • विवादित ट्वीटका कारण आलोचनाको शिकार भए रवीन्द्र मिश्र

    विवादित ट्वीटका कारण आलोचनाको शिकार भए रवीन्द्र मिश्र

    काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उपनिर्वाचनमा आफ्नो दललाई जनताले नराम्रोसँग हराएपछि विवादित ट्वीट गरेका छन् ।

    उनले जनमतको अपमान हुने गरी जनताले भ्रष्टता, र असक्षमतालाई अनुमोदन गरेको भन्दै ट्वीट गरेपछि उनको बौद्धिक स्तरलाई लिएर सामाजिक संजालमा व्यापक आलोचना भइरहेको छ ।

    जनताले भोट दिएर जिताएका उमेदवारलाई हार्दिकताका साथ बधाई दिनुको साटो उनले ठूला दलप्रति विष ओकल्ने प्रयास गरेका छन् ।

    नकारात्मक टिप्पणीमार्फत राजनीति गरिरहेका दलका विकल्प दिन्छु भन्दै राजनीतिमा होमिएका मिश्र र उनको दलले पनि पुरानै ढर्रा कायम राखेपछि उनी आलोचनाको शिकार बनेका हुन् ।

    उपनिर्वाचनमा अधिकांश स्थानमो उनको दलको जमानत जफत भएको छ । निर्वाचनमा नेकपा र कांग्रेसको बाहुल्य देखिएको छ । खासगरी पोखराको निर्वाचन परिणाम आइसकेपछि उनको आक्रामक ट्वीट सार्वजनिक भएको थियो ।

    उनले भनेका छन्, ‘उपचुनावमा साझा पार्टीले छोटो समयमा जे गर्‍यो त्यसमा थप धेरै मेहनत गर्नुपर्ने सन्देश दिएको छ’ कास्की–२ को निर्वाचन परिणाम सार्वजनिक भए लगत्तैले संयोजक मिश्रले ट्विटरमा भनेका छन्, ‘मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ ।’

    उनको यो ट्वीटसँगै सामाजिक संजालमा विषय ओकलेको भन्दै उनीविरुद्ध नकारात्मक टिप्पणी जारी रहेको छ ।