Category: रोचक खवर

  • सागकै मुखमा खेलाडी कतार भागेपछि…

    सागकै मुखमा खेलाडी कतार भागेपछि…

    काठमाडौं । र्कीतिमानी नेपाली धाविका तुलसा खत्री पलायन भएकी छिन् । खेलाडी पलायन हुनु सामान्य हो । तर, उनले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा देशको प्रतिनिधित्व गर्दै थिइन् ।

    अर्कोतर्फ उनी विभागीय नेपाली सेनामा आवद्ध छिन् । जसले गर्दा उनलाई अन्य खेलाडीलाई जस्तै आर्थिक अवस्थाका कारण देश छाड्नु पर्ने बाध्यता पनि थिएन् ।

    तर, चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएकी धाविका खत्री १३औं सागमा बन्द प्रशिक्षण नै छाडेर भागेकी छिन् । घरेलु मैदानमा आयोजना हुने १३औं सागको उद्घाटन हुनु ३ दिनअघि बिहीबार प्रशिक्षकलाई नै झुक्याएर उनी कतार पुगेको खुलेको छ ।

    एथ्लेटिक्सका प्रमुख प्रशिक्षक चन्द्रबहादुर गुरुङका अनुसार खत्रीले प्रशिक्षणमा ढिला आउने सन्देश बुधबार दिएकी थिइन् । तर, बिहीबार साँझसम्म पनि प्रशिक्षणमा नआएपछि सोधखोज गर्दा उनी भागेको खुलेको हो ।

    प्रशिक्षकले शुक्रबार लिखित रुपमा उनी भागेको जानकारी राष्ट्रिय खेलकुद परिषद्लाई गराएका छन् । आफ्नो करियरका लागि भन्दै देशबाट खेल्ने मौका छाडेर भाग्नु परेको उनको भनाई थियो ।

    खत्रीले सागमा चार सय मिटर दौड, हडल्स र रिलेमा भाग लिने तय भएको थियो । यस खेलमा नेपालले उनीबाट पदकको आशा गरेको थियो ।

    किनकी उनले गत महिना चीनको उहानमा भएको सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा महिला चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। त्यससमय उनले ९ वर्ष पुरानो कीर्तिमान तोडेकी थिइन्।

  • युवालाई जागिर दिन सरकारले लियो साढे १३ अर्ब ऋण

    युवालाई जागिर दिन सरकारले लियो साढे १३ अर्ब ऋण

    काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले विश्व बैंकबाट साढे १३ अर्ब सहुलियत ऋण लिएको छ । यस सम्बन्धमा नेपाल सरकार अर्थ मन्त्रालय र विश्व बैंकबीच हस्ताक्षर भएको हो ।

    ‘युवा रोजगारीको लागि रुपान्तरण पहल परियोजना’का लागि विश्व बैंकले १३ अर्ब ६३ करोड ऋण उपलब्ध गराउने सम्बन्धमा बुधबार सम्झौतामा हस्ताक्षर भएको हो।

    प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यो सहुलियत पूर्ण ऋण रोजगार व्यवस्थापन सूचना प्रणालीको विकासमा खर्च हुने भएको छ ।

    यसले यसले ७ सय ५३ वटा स्थानीय तहमा बेरोजगार तथ्याङ्क संकलन तथा त्यसको लागि सूचना प्रणालीको विकास गर्न सहयोग पुग्ने भएको छ ।

    यसबाहेक प्रधानमन्त्री कार्यक्रममा सूचीकृत भएका बेरोजगार युवालाई एक सय दिन काम गरेको तलब पनि यही ऋणको रकमबाट उपलब्ध गराइने भएको छ ।

    सरकारले चालू आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ५ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

  • मालपोतका सुब्बासँग १५ करोडको सम्पत्ति, अख्तियारले चलायो मुद्दा

    मालपोतका सुब्बासँग १५ करोडको सम्पत्ति, अख्तियारले चलायो मुद्दा

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सिमराका नायब सुब्बा मदनप्रसाद गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    उनीसहित नौ जनालाई विपक्षी बनाएर अख्तियारले अदालतमा मुद्दा दायर गरेको हो । पदको दुरूपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप गुप्तामाथि लगाएको छ ।

    अन्य व्यक्ति भने गुप्ताकै परिवार हुन् । अख्तियारले १५ करोड बिगो माग गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिएको छ ।

    भ्रष्टाचार मुद्दामा गुप्ता, श्रीमती रिता देवी, छोरा विक्की गुप्ता र रकी गुप्ताको नाममा सम्पत्ति राखेको पाइएको छ ।

    यसबाहेक आफन्त कविता कुमारी, निरजकुमार गुप्ता राजेशकुमार गुप्ता, जुगुली प्रसाद र जगतनारायण यादवलाई पनि प्रतिवादी बनाएको अख्तियारले उल्लेख गरेको छ ।

    उनले २०४७ सालमा जागिर सुरू गरेका थिए । अस्वभाविक रुपमा सम्पत्ति आर्जन गरेको पाइउपछि अख्तियारले छानविन थालेको हो ।

  • गैरकानूनी शूल्क फिर्ता नगरे मेडिकल कलेज संचालकलाई बुधबारबाट पक्राउ

    गैरकानूनी शूल्क फिर्ता नगरे मेडिकल कलेज संचालकलाई बुधबारबाट पक्राउ

    काठमाडौं । सोमबार साँझ समय माग्दै गैरकानूनी शूल्क फिर्ता गर्ने प्रतिवद्धता जनाएका मेडिकल कलेज संचालकले मंगलबार त्यसतर्फ चासो देखाएनन् । सोहीअनुसार शूल्क फिर्ता नगर्ने कलेज संचालकमाथि कारवाही गर्ने तयारी गृह मन्त्रालयले गरेको छ ।

    मंगलबार साँझ गृह मन्त्रालयमा सर्वदलीय बैठक बसेको थियो । मेडिकल कलेजले गैरकानूनी रुपमा उठाएको शूल्क फिर्ता नभएपछि कलेज सञ्चालकलाई बुधबारबाट कारबाही थाल्ने निर्णय बैठकले गरेको छ ।

    बुधबारदेखि विद्यार्थीबाट जाहेरी लिने र सञ्चालकलाई पक्राउ गरी कानूनी कारबाही थाल्ने निर्णय बैठकले गरेको छ । मेडिकल कलेजलाई सरकारले १५ दिनको अल्टिमेटम यस अघि दिएको थियो ।

    त्यसपछि सोमबार २४ घण्टाको समय दिँर्दै सहमति पनि गरेको थियो । तर, मेडिकल कलेजले तोकिएको समयमा शूल्क फिर्ता गरेनन् ।

  • नाइट क्लवमा लठ्ठ तीन फूटबल खेलाडी सागबाट पनि आउट

    नाइट क्लवमा लठ्ठ तीन फूटबल खेलाडी सागबाट पनि आउट

    काठमाडौं । विश्वकप छनोटका लागि भूटान उड्ने अघिल्लो दिन ठमेलको नाइट क्लव गई झुमेका चार खेलाडीमध्ये अण्डर २३ समूहमा पर्ने तीन खेलाडीले घरेलु मैदानमै हुने दक्षिण एसियाली खेलकुद (साग)समेत गुमाएका छन् ।

    उनीहरुलाई प्रशिक्षकले नखेलाउने निर्णय लिएका छन् । नेपाली टोलीका आशालाग्दा फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अञ्जन विष्ट र डिफेन्डर दिनेश राजवंशी बीनौ नै नेपाली टोली घोषित गरिएको छ ।

    उनीहरुले खेल अनुशासनको गम्भीर उल्लंघन गर्दै देशलाई धोका दिएको आरोप छ । किनकी सामान्यतया क्लोज क्याम्पमा बसेको खेलाडी अनुमति बीना क्लवमा जान, मदिरा पिउन र मोजमस्तीमा रमाउन पाउँदैन ।

    एन्फाले उनीहरुमाथि थप अनुसन्धान समेत गरिरहेको छ । उनीहरुको सट्टामा सागमा बैकल्पिक खेलाडीले मौका पाएका छन् ।

    नेपालले सागमा मंसिर १५ गते उद्‌घाटन खेलमा बंगलादेशको सामना गर्ने छ । खेल दशरथ रंगशालामा हुने छ । रंगशालामा ४ वर्षपछि पहिलो पटक फूटबल हुन लागेको हो ।

  • वैधानिक हतियार बुझाउन गृहको निर्देशन, चुनावपछि फिर्ता

    वैधानिक हतियार बुझाउन गृहको निर्देशन, चुनावपछि फिर्ता

    काठमाडौं । गृह मन्त्रालयले घर घरमा रहेका वैधानिक हतियार चुनाव अवधिभरका लागि प्रहरीलाई बुझाउन निर्देशन दिएको छ ।

    आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका दौरान निर्वाचन हुने जिल्ला र क्षेत्रका नागरिकले आफुसँग रहेको अनुमति प्राप्त हतियार अब नजिकको प्रहरी कार्यालयमा बुझाउनु पर्ने भएका छ ।

    चुनाव प्रभावित नहोस र शान्ती सुरक्षा कायम होस भन्ने उद्देश्यले यस्तो आग्रह गर्नु परेको गृहको भनाई छ । चुनावका बेला बैधानिक हतियारको समेत दूरुपयोगको सम्भावना धेरै हुन्छ ।

    गृहले १० मंसिर भित्र हतियार बुझाउन मिति समेत तोकेको छ । चुनावपछि भने आफ्नो हतियार फिर्ता लैजान सकिन्छ । सरकारले कम हानिकारक हतियारहरु इजाजत लिएर व्यत्तिले घरमा राख्न पाउने अधिकार दिएको छ ।

  • किशोरी बलत्कार प्रयासमा दुई महिलासहित तीन पक्राउ

    किशोरी बलत्कार प्रयासमा दुई महिलासहित तीन पक्राउ

    काठमाडौं । महिलाकै मिलेमतोमा राजधानीमै एक किशोरीको बलत्कार प्रयास भएको छ । बलत्कार प्रयासको आरोपमा प्रहरीले दुई महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।

    कन्सल्टेन्सीमा जागिरको प्रलोभन देखाई अन्तर्वार्तामा बोलाएको र जबर्जस्ती करणी गर्न खोजेको भन्दै किशोरीले उजुरी दिएपछि उनीहरु पक्राउ परेका हुन् ।

    प्रहरीका अनुसार सिंनामंगलस्थित एक कन्सल्टेन्सीमा जागिर लगाइदिने भन्दै किशोरीमाथि जबर्जस्ती गर्न खोज्ने रोहितप्रसाद ढुंगाना र उनलाई सहयोग गर्ने निर्मला शर्मा र मीना रिमाल पक्राउ परेका हुन् ।

    शर्मा र रिमालले पीडित किशोरीको चिनजान रोहितप्रसाद ढुंगानासँग गराइदिएका थिए । ५ मंसिरमा बिहान ५ बजे बानेश्वरमा एक खाजाघरमा अन्तर्वार्ताका लागि बोलाएको पिडित किशोरीले बताएका छन् ।

    खाजा खाइसकेपछि डेरामा पुर्याउने भन्दै ढुंगानाले ट्याक्सीमा राखेर गोदावरी रिसोर्ट लगेका थिए । त्यहाबाट ढुंगानाको प्रतिकार गर्दै भागेर आफन्तको सम्पर्कमा पुगेकी किशोरीले उनीहरुविरुद्ध जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

  • पर्यटनमन्त्रीको दावी : ५ वर्षपछि निजगढबाट सिधै अमेरिका

    पर्यटनमन्त्रीको दावी : ५ वर्षपछि निजगढबाट सिधै अमेरिका

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले ५ वर्षपछि निजगढ विमानस्थलबाट सिधै अमेरिका उडान हुने दावी गरेका छन् ।

    शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको रणनीतिक महत्वको आयोजना भएकाले निजगढ सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै ५ वर्ष भित्र आयोजना सम्पन्न भइछाड्ने बताएका हुन् ।

    उनले त्यसपछि नेपालबाट सिधै अमेरिका उडान गर्ने बताए । विमानस्थल बनेपछि वार्षिक एक करोड पर्यटक नेपाल भित्रन थाल्ने उनले उल्लेख गरे ।

    अहिले सरकारले वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्य राखेर आगामी वर्ष भ्रमण वर्ष मनाउँदै छ ।

    निजगढ र गौतमबुद्ध विमानस्थल बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम हुने र काठमाडौंमा पनि व्यवस्थापन सहज हुने उनको भनाई छ ।

    यसै महिना भित्र यस आयोजनामा काटिने रुखको यकिन संख्या सार्वजनिक गर्ने तयारीमा सरकार रहेको उनले जानकारी दिए । यो विमानस्थलको प्रारम्भिक तयारीका काम नै अझै बाँकि छन् ।

  • अमेरिका-चीनमा भन्दा नेपालमा शान्ति

    अमेरिका-चीनमा भन्दा नेपालमा शान्ति

    काठमाडौं ।आतंकवादको जोखिम, घरेलु तथा अन्तर्राष्ट्रिय युद्ध र सामाजिक सुरक्षाका दृष्टिकोणबाट अमेरिकाको तुलनामा नेपाल शान्त पाइएको छ ।

    ग्लोबल पीस इन्डेसक्ले देखाएअनुसार १ सय ६३ मुलुकमध्ये नेपाल ७६ औं स्थानमा रहेको छ । जहाँ नेपालभन्दा पछाडी भारत, चीन, अमेरिकाजस्ता अतिविकसित मुलुक पर्छ ।

    यी मुलुकमा भौतिक विकासले चरम रुप लिएपनि शान्तीपूर्ण रुपमा बाच्न पाउने वातावरण भने क्रमशः हरण हुँदै गएको पाइएको छ । खासगरी मास सुटिंगका माध्यमबाट एकै पटकमा धेरै मानिसहरुलाई मार्ने गरी यहाँ आतकंवादी गतिविधि हुने गरेका छन् ।

    अघिल्लो वर्षको तुलनामा नेपालले १२ स्थान सुधार समेत गरेको छ । ‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ (आईईपी) ले हरेक वर्ष यस्तो प्रतिवेदन सार्वजनिक गर्ने गर्छ ।

    यो १३ औँ ग्लोबल पीस इन्डेक्स रिपोर्ट हो घरेलु र अन्तर्राष्ट्रिय युद्द, समाजिक सुरक्षा, आतङ्कवाद् , सैनिकीकरणलगायत करीव २३ सूचकांकमा देशको मूल्याङ्कन गरि प्रतिवेदन सार्वजनिक गरिन्छ ।

    विश्वमा सबैभन्दा शान्त मुलुक आइसल्यान्ड हो भने सबैभन्दा अशान्त अफगानिस्तान देखिएको छ । शान्तमुलुकमा न्यूजील्यान्ड, पोर्चुगल, अष्ट्रिया, डेनमार्क, क्यानडा, सिंगापूर, स्लोभेनिया, जापान र चेक रिपब्लिक शीर्ष १० स्थानमा छन् ।

    एसियाली मुलुकमध्ये भूटान १५ औं स्थानमा छ । दक्षिण एसियामा भूटान र श्रीलंका पछि नेपाल तेस्रो शान्तिपूर्ण देश बनेको छ । भारत १४१ औं स्थानमा छ । जुन अशान्त मुलुक हो । पाकिस्तान १५३ औं स्थानमा छ ।

    चीन ११० औँ स्थानमा रहेको छ । अमेरिका १२८ स्थानमा रहँदै एक अशान्त मुलुकका रुपमा परिचय बनाएको छ । नेपालमा गृहयद्ध अन्त्य भई शान्तीपूर्ण राजनीति शुरु भएको एक दशक नाघिसकेको छ । अहिले विकास र निर्माणका लागि यहाँ वहस प्रारम्भ भएको छ ।

  • सिंहदरबारमा रमझम, गोकर्ण विष्टको ट्याक्सी यात्रादेखि कृषि मन्त्रीको अंकमाल

    सिंहदरबारमा रमझम, गोकर्ण विष्टको ट्याक्सी यात्रादेखि कृषि मन्त्रीको अंकमाल

    काठमाडौं । बिहीबार नवनियुक्त मन्त्रीहरुले सपथ खाइसकेपछि करीव १२ बजे अपरान्हदेखि सिंहदरबार छिर्न शुरु गरे ।

    सबै जसो मन्त्रालयमा सचिवदेखि उच्च पदस्थ अधिकारीहरु फूलको थुंगासहित नयाँ मन्त्रीहरुको स्वागतमा तम्तयार थिए । कर्मचारीहरु लाइनमा बसेर मन्त्रीको स्वागतमा खटिएका थिए ।

    मन्त्रीहरु प्रवेश गर्न लागे । त्यसबेला मन्त्रालयमा छुट्टै माहौल छाएको थियो । कृषि मन्त्री घनश्याम भुषाललाई शूभकामना दिन निर्वतमान मन्त्री चक्रपाणी खनाल मन्त्रीको कार्यकक्षमै पुगेका थिए ।

    उनीहरुले एक अर्कालाई अंकमाल गरे । घनश्यामले चक्रपाणीले अगाडी बढाएका आयोजनालाई निरन्तरता दिने भन्दै राम्रा कामको जस मिलेर लिने बताए ।

    श्रममन्त्री रामेश्वर राय मन्त्रालय आउने केही ढिला गरे । यता, मन्त्रालयमा भने निवर्तमान मन्त्री गोकर्ण विष्टको बिदाई कार्यक्रम चलिरहेको थियो ।

    जब मन्त्री राय आए, त्यसपछि विष्टले बधाई तथा सफलताको शुभकामना दिए । उनी सरासर मन्त्रालय परिसरबाट निस्केर सिंहदरबारको गेटमा पुगे ।

    गुडिरहेको ट्याक्सी रोके र घरतर्फ लागे । यो दृष्य आज दिनभर सामाजिक संजाल तथा संचारमाध्यममा छाइरह्यो ।

    महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा समेत निवर्तमान मन्त्री थममाया थापा पुगिन् र नवनिुक्त मन्त्री पार्वत गुरुंगलाई शुभकामना दिइन् ।

    सामान्य प्रशसन तथा संघीय मामला मन्त्री हृदयेश त्रिपाठीको स्वागतमा निकै ठूलो लाइन लागेको थियो । उद्योग राज्यमन्त्री मोतिलाल दुगड श्रीमतीसहित मन्त्रालय पुगेका थिए ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरे । उनी निकै प्रफूल्ल देखिन्थे । भौतिक मन्त्रालयमा निवर्तमान मन्त्री रघुविर महासेठ पुगी नवनियुक्त मन्त्री बसन्त नेम्वांगलाई शूभकामना दिए ।

  • मन्त्रिपरिषद् पुनर्गठन चर्चाले दिनभर तात्यो माहौल, सूचि राष्ट्रपति कार्यालयमा

    मन्त्रिपरिषद् पुनर्गठन चर्चाले दिनभर तात्यो माहौल, सूचि राष्ट्रपति कार्यालयमा

    काठमाडौं । मन्त्रिपरिषद् पुनगर्ठनको चर्चाले बुधबार पनि नेपालको राजनीतिक सरगर्मी तात्यो । संचारमाध्यमदेखि सामाजिक संजाल यसैको चर्चामा थियो ।

    किनकी मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमै मन्त्रीहरुलाई बुधबार कुनै पनि सार्वजनिक कार्यक्रममा नजान भनेका थिए । उनको आषय बुधबार नै मन्त्रिपरिषद्पुनर्गठन हुने र मन्त्रीहरु परिवर्तन हुनेतर्फ थियो । बुधबार त्यसका लागि पटक पटक बैठकहरु समेत भए ।

    तर, बाहिर सार्वजनिक नगरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको सूचि भने बुधबार साँझ राष्ट्रपति कार्यालयमा पठाइसकेका छन् ।

    केही नयाँ र केही अनुभवी नेताहरु समेटेर सूचि राष्ट्रपति कार्यालयमा गएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

    घनश्याम भुषाल, मोती दुगड, भानुभक्त ढकाल, बसन्त नेम्वांग, हृदयेश त्रिपाठीलगायत नेता मन्त्री बन्दैछन् ।

    बुधबार नेकपा सचिवालय बैठकले अध्यक्षद्धयको जिम्मेवारी स्पष्ट बनायो ।

    त्यसअघि प्रधानमन्त्री र अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट गरे । त्यसपछि बुधबार नै बिस्तार हुने भनिएको मन्त्रिपरिषद् भने बिस्तार हुन सकेन् ।

    बिहीबार केही नयाँ र अधिकांश पुरानै अनुहारसहित मन्त्रिपरिषद् पुनर्गठन गरिदैछ । बिहीबार नै मन्त्रीहरुलाई सपथ गराउने तयारी समेत गरिएको छ ।

    त्यसो त मन्त्रीबाट बिदाई हुने हल्ला चलेका कतिपय मन्त्रालयमा बुधबार सुनसान माहौल देखिन्थ्यो । मन्त्रीहरु मन्त्रालयमा अनुपस्थित थिए ।

    मन्त्री पदबाट उद्योग मन्त्री मातृका यादव र कृषि मन्त्री चक्रपाणी खनालले आफूहरु हट्ने पक्का भएको सार्वजनिक गरिसकेका छन् । अन्य मन्त्रीहरुका सम्बन्धमा भने केही बाहिरिएको छैन ।

  • करीव २० लाख बराबरको इन्धन बोकेको ट्यांकर अपहरणमा

    करीव २० लाख बराबरको इन्धन बोकेको ट्यांकर अपहरणमा

    काठमाडौं । करीव २० लाख मूल्य बराबरको डिजेल बोकेर बाराको अम्लखेगन्जबाट विराटनगर आइरहेको ट्यांकर अपहरण भएको छ ।

    आइतबार रातको १ बजे सिराहा, लहानस्थित पूर्वपश्चिम राजमार्गको हुलाक कार्यालय अगाडिबाट ट्यांकर अपहरणमा परेको हो । ना ४ ख ४१६३ नम्बरको ट्यांकर अपहरणमा परेको नेपाल आयल निगमले जनाएको छ ।

    यो ट्यांकर ढुवानीकर्ता राजेशकुमार गुप्ताको नाममा दर्ता छ । निगमका अनुसार ट्याकंर राजमार्गको छेउँमा रोकेर चालक र सहयोगी आराम गरिरहेका थिए । त्यही समयमा ट्यांकर अपहरणमा परेको हो ।

    ट्यांकर अपहरणमा परेको भन्दै चालक मंगलबार बिहान १० बजे कार्यालय आएर मौखिक जानकारी गराएका थिए । त्यसपछि निगमले छानविन तथा खोजी तिब्र बनाएको छ ।

    यसका लागि स्थानीय प्रहरी निकायसँग समेत समन्वय भइरहेको निगमको भनाई छ । यस ट्यांकरमा २० हजार लिटर डिजल थियो ।

    विराटनगर डिपोका अनुसार चालकहरुले दिएको बयानमा ६्७ जनाको समूहले उनीहरुलाई जंगलमा छाडेर ट्यांकर लगेर भोगेको हो ।

    आइतबार राति खाना खाएर ट्याकंर चालक रामदेव यादव र सह चालक उमेश यादव ट्यांकरमा सुतेको बयान चालकले दिएका छन् । नकावधारी समूहले चालक र सहचालकको आँखामा पट्टी बाँधेर जंगलमा छाडेका थिए ।

  • प्रधानमन्त्रीको अभिव्यक्तिले भरिए भारतीय मिडियाका पाना

    प्रधानमन्त्रीको अभिव्यक्तिले भरिए भारतीय मिडियाका पाना

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिलाई भारतीय मिडियाले उच्च प्राथमिकताका साथ प्रकाशन प्रसारण गरेका छन् ।

    प्रधानमन्त्रीले कालापानीबाट तत्काल भारतीय सैनिक फिर्ता लैजान भारतलाई आग्रह गरेका थिए । त्यसक्रममा उनले नेपालको एक टुक्रा जमिन पनि भारतले लैजान नसक्ने उल्लेख गरेका थिए ।

    यस अभिव्यक्तिलाई भारतीय मिडियाले उच्च प्राथमिकताका साथ प्रकाशन प्रसारण गरेका हुन् । बीबीसी हिन्दीले निकै चासोपूर्वक प्रधानमन्त्रीको अभिव्यक्तिलाई समाचार बनाएको छ ।

    यस विषयमा प्रधानमन्त्रीले पहिला पटक सार्वजनिक अभिव्यmि दिएका थिए । भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई राजनीतिक नक्सामा समावेश गरेपछि नेपालमा भारत विरोधी अभिव्यक्ति चर्किएको छ ।

    आजतकको अनलाइन संस्करणले ओलीले रवाफिलो अभिव्यक्ति दिएको भन्दै टिप्पणी गरेको छ । बीबीसी हिन्दीले भने सन्तुलित समाचार लेखेको छ । इन्डियन एक्प्रेसले कालापानी नेपालको भएको ओलीको दाविलाई प्रकाशन गरेको छ ।

    पञ्‍जाव केशरीले पनि प्रधनमन्त्रीकै भनाईलाई हेडलाइन बनाएर समाचार निकालेको छ । भारतले नेपालको भूभागलाई आफ्नो नक्सामा राखेपछि नेपालको तर्फबाट भने सरकारले कडा शब्दमा त्यसको विरोध गरिसकेको छ ।

  • विश्वका  सबै देश दौडिएका निक बटरको दौड कथा

    विश्वका सबै देश दौडिएका निक बटरको दौड कथा

    न्युयोर्क

    हामीले विश्वभर साईकल चढेर यात्रा गर्ने साईकल यात्री त सुनेकै हो । विश्व साईकल यात्रीले यात्राका क्रममा साईकल लिएर बिभिन्न्न देशहरुमा पाईला टेक्ने गर्दछन् । तर आज एउटा यस्तो मान्छेको कथा जस्ले विश्व भरका देशहरुमा दौडिन कै लागि पुग्ने गर्दछन् । ३० बर्षीय ब्रिटिश नागरिक निक बटरले गत १० तारिख आइतबार ग्रिसमा आयोजित एक म्याराथुनमा सफलता पूर्वक दौडिएपछि विश्वका सबै देशमा आयोजित म्याराथुनमा सफलता पूर्वक दौडिएको नयाँ रेकर्ड राख्न सफल भएका छन् । बटरले संयुक्त राष्ट्र संघबाट मान्यता प्राप्त १९६ देशहरुमा आयोजित सबै म्याराथुनमा दौडिने धाबकको नयाँ किर्तिमान राख्न सफल भएका हुन् । पहिलो पटक ११ बर्षको उमेरमा म्याराथुनमा भाग लिएका बटर बैंकिङ् कर्मचारी थिए ।  उनी बैंकमा काम गर्दै समय मिलाएर बिभिन्न देशमा आयोजित दौड प्रतियोगितामा भाग लिने गर्दै थिए । उनको दौड यात्रामा एक दिन साहारा मरुभुमीमा आयोजित एक दौड प्रतियोगितामा प्रोस्टेट क्यान्सर रोगबाट पीडित केबिन वेबरसँग भेट भयो । क्यान्सर रोगी केबिनले बटरलाई प्रोस्टेट क्यान्सर रोगीहरुको सहयोगको लागि अभियान बनाएर अर्थ संकलन गर्न उत्साहित गरे ।  बटरले आजसम्म कसैले पनि संसारका सबै देशको म्याराथुनमा कुदेको रेकर्ड नभएको थाहा पाएपछि पूर्णकालिन धावक बन्ने उत्साह ती क्यान्सर रोगीबाट प्राप्त गरे, र १९६ देशमा कुदेरै छाड्ने अठोट राखे ।  अन्त्यमा सन् २०१९ को नोभेम्बर १० तारिख उनको त्यो उद्देश्य पुरा भयो । साथमा प्रोस्टेट क्यान्सर रोगीहरुको सहयोगको लागि ८३ हजार अमेरिकी डलर समेत संकलन गर्न सफल भए ।  

    बटरले समाचार संस्था सिएनएनसँग भनेका छन् “सबैले समयको महत्व बुझ्नु पर्दछ । रिटायर्डमेन्टको समय कुर्ने र ढुक्कसँग जीवन जिउने कल्पना गरेर बस्ने होईन । सबैले आफुले सकेको मनले चाहेको केही न केही गर्नै पर्छ ।” बटरको १० वटा पासपोर्टका सबै पाना बिभिन्न देशका भिसाले भरिएका छन् ।  कतीि पटक त जम्मा २४ घण्टाको लागि मात्र पनि भिसा लिन उनी आफ्नो देश बेलायत आएका थिए । बटरले आफ्नो अनुभव सुनाउदै भनेका छन्; “१९६ देश दौडने क्रममा कुकुरले टोक्यो । चक्कु देखाएर लुटियो ।जेलमा थुनियो । हजारौ मानिससँग कुदेको ।ज्वालामुखी नजिकै कुदेको । कतिपय देशको बिमानस्थलको रन वेमा समेत कुदेको जस्ता अनगिन्ती अनुभवहरु बटरले आफ्नो ईन्स्टाग्राम एकाउन्टमा लेखेका छन् ।  

    ग्रिसमा भर्खरै सम्पन्न म्याराथुनपछि केही दिन बिश्राम लिए पनि चुप लागेर भने नबस्ने बटरले बताएका छन् ।

  • नेपालबाट फिर्ता भयो उत्तर कोरियाली लगानी

    नेपालबाट फिर्ता भयो उत्तर कोरियाली लगानी

    काठमाडौं । उत्तर कोरियाली नागरिकले नेपालमा गरेको लगानी फिर्ता गरेका छन् । नेपाल सरकारको उनीहरुलाई नेपालबाट आफ्नो लगानी फिर्ता लैजान पटक पटक समय दिएको थियो ।

    अब सबै उत्तर कोरियाली लगानीकर्ताले लगानी फिर्ता लिएर नेपाल छाडिसकेको उद्योग विभागले जानकारी दिएको छ । यससँगै सरकारले संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयमा पत्र पठाउँदै नेपालबाट उत्तर कोरिायली लगानी फिर्ता गएको बताएको हो ।

    नेपालमा रहेको उत्तर कोरियाली लगानी फिर्ता पठाउन अमेरिका र राष्ट्रसंघको दवाव नेपालमाथि थियो । त्यसपछि सरकारले ताकेता शुरु गरेको हो ।

    उत्तर कोरियाको आणविक हतियार र क्षेप्यास्त्र कार्यक्रमका कारण उसको लगानी विश्वभर अमान्य मानिन्छ । सोही दवाव नेपाल सरकारमाथि पनि परेको हो ।

    नेपालमा १८ करोड ६५ लाख ४९ हजार नेपाली रुपैयाँ बराबरको उत्तर कोरियाली लगानी रहेको विभागको तथ्यांक छ । आतिथ्य सेवामा उत्तर कोरियाली नागरिकले नेपालमा लगानी गरेका थिए ।

  • सार्वजनिक यातायातका फोहोर सीट फेर्न अल्टिमेटम

    सार्वजनिक यातायातका फोहोर सीट फेर्न अल्टिमेटम

    काठमाडौं । महानगरीय ट्राफिक महाशाखा, काठमाडौंले सार्वजनिक यातायातको व्यवस्थापनमा नयाँपनः ल्याउने गरी योजनाहरु सार्वजनिक गरेको छ ।

    त्यसअन्तर्गत फोहोर सिट हटाउन व्यवसायीलाई अल्टिमेटम दिएर सुधार थाल्ने तयारी महाशाखाले गरेको छ ।

    सार्वजनिक बस, ट्याक्सीलगायतमा रहेका सीट घिनलाग्दो भएको र गाडीहरु अत्यन्तै फोहोर रहेको जनगुनासो आइरहेको छ । जनगुनासोपछि महाशाखाले व्यवसायीसँग छलफल गरी सीट फेर्न अल्टिमेटम दिने तयारी प्रहरीले गरेको छ ।

    सीटको व्यवस्थापन अस्तव्यस्त रहेको, मर्मत नभएका सीटले कपडा च्यात्नेदेखि दूर्घटना हुनेसम्मको गुनासो मानिसहरुले प्रहरीलाई टिपाउने गरेका छन् ।

    यसका साथै अब मोटरसाइकलहरुले लुकिंग ग्लास परिवर्तनगर्न नपाउने भएका छन् । काठमाडौंमा सवारी दूर्घटनामा धेरै मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् ।

    त्यसमा पनि लुकिंग ग्लास मोडिफाई गर्ने प्रवृत्ति बढेपछि प्रहरीले कारवाही अगाडी बढाएको हो ।

    शनिबार मात्रै ३४५ मोटरसाइकल चालक ऐना परिवर्तन गरेको कसुरमा कारवाहीको भागिदार बनिसकेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा सरकारले ट्राफिक कारवाही कडा बनाएको छ ।

  • विश्वकप फूटबल खेल्ने खेलाडी रातभर ठमेलको डान्सबारमा, टीमबाट हटाइए

    विश्वकप फूटबल खेल्ने खेलाडी रातभर ठमेलको डान्सबारमा, टीमबाट हटाइए

    काठमाडौं । आगामी ३ मंसिरमा कुवेतसँग विश्वकप छनोटको महत्वपूर्ण खेल, नेपालका लागि त्यो खेल यति महत्वपूर्ण छ की, आगामी यात्रा सहज बनाउन नेपालले खेल जित्नै पर्छ ।

    यसका लागि खेलाडीमा उच्च अनुशासन र देशका लागि ज्यानै दिन तयार हुनुपर्ने अवस्था छ । तर, शनिबारको फ्लाइटमा रहेका खेडाली शुक्रबार राती अबेरसम्म ठमेलको डान्सबारमा भेटिए ।

    जब त्यो सप्रमाण फेला पर्यो, अखिल नेपाल फुटबल संघ (एन्फा)ले तत्काल एक्सन लियो र नेपाली राष्ट्रिय फूटबल टोलीका चार चर्चित खेलाडीलाई निलम्बन गर्यो ।

    यसरी निलम्बनमा पर्नेमा विमल घर्तीमगर, अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङ रहेका छन । उनीहरु अहिले राष्ट्रिय फुटबल टिमबाट निलम्बनमा परेका छन् ।

    उनीहरुले फूटबलको अनुशासनलाईै गम्भीर उल्लंघन गरेका छन् । ठमेलको नाइट क्लबमा गएर मदिराले लठ्ठ भएको अवस्थामा उनीहरुलाई फेला पारिएको हो ।

    यी चार जना खेलाडी नेपाली टोलीका पहिलो रोजाईका खेलाडी हुन् । तर, अनुशासनहिन खेलाडीको स्थानमा अब नयाँ खेलाडीले स्थान पाउने भएका छन् ।

    नेपाली फूटबल पटक पटक खेलाडीकै कारण बदनाम भइरहेको छ । विगतमा त्यसमा आँखा चिम्लने गरिन्थ्यो । अहिले भने कारवाही शुरु भएको छ । आगामी दिनमा यसमा अझ सुधार हुने अपेक्षा छ ।

  • न्युयोर्कमा बन्दै छ खोला माथि पार्क र रंगशाला

    न्युयोर्कमा बन्दै छ खोला माथि पार्क र रंगशाला

    न्युयोर्क

    झण्डै ९० लाख मानिसको बासस्थान न्युयोर्क  शहर बिभिन्न कारणले संसारभरका मानिसका लागि सपनाको शहर हो । त्यति मात्र होईन, न्युयोर्क त्यस्तो शहर हो जुन शहरमा बसोबास गर्ने र घुम्ने ईच्छा   अमेरिका कै अन्य राज्यमा बसोबास गर्नेहरुका लागि पनि तिब्र हुने गर्दछ । झण्डै ४ सय बर्ष पुरानो न्युयोर्क शहरमा हरेक दिन केही न केही नयाँ पूर्वधार बनी रहेकै हुन्छन् । केही न केही नयाँ भौतिक संरचनाको बिकास भै रहेकै हुन्छ ।

    पर्यटकीय केन्द्र न्युयोर्कमा पर्यटक आकर्षणका लागि केही नयाँपन दिने कोशिस राज्य संयन्त्रमा काम गर्नेहरुका लागि चुनौतीका रुपमा रहने गर्दछ । त्यही बिशेष शहर न्युयोर्कमा सन् २०२१ मा सम्पन्न गर्ने गरी नयाँ पर्यटकीय  गन्तब्य “हड्सन रिभर” माथि तैरिने पार्क निर्माण गर्ने काम तिब्र गतीमा भै रहेको छ । न्युयोर्क र न्युजर्सी राज्यलाई छुट्याउने बिशाल हड्सन खोला माथि २ दशमलब ४ एकर्ड (२० रोपनी) को उत्रिने पार्क चेल्सी पियर्सको किनारा नजिकै निर्माण हुन लागेको हो । सन् २०२१ को स्प्रिङ्देखि संचालनमा ल्याउने लक्ष्य राखिएको तैरिने पार्कको निर्माण लागत २५ करोड अमेरिकी डलर रहेको छ । एक सय जातका बोट बिरुवा, साना पहाड झै देखिने सुन्दर प्राकृतिक दृष्य, चौर अनि पैदल मार्ग लगायतका भौतिक संरचना पार्क भित्र निर्माण गरिने छ ।  

    आँखा रमाउने प्राकृतिक दृष्य त तैरिने पार्कमा हुने नै छन् तर अचम्म लाग्दो कुरा पार्कमा ७ सय सिट क्षमताको रंगशाला समेत निर्माण हुँदै छ । अर्बपति बेरी डिलर जस्ले पार्क निर्माणको लागि आर्थिक सहयोग समेत  गरेका छन् । उनी र उनकी फेसन डिजाईनर धर्मपत्नी डेनी भोन फ्रस्टेन्वर्गले पार्क भित्रको रंगशालामा बर्षभरी आयोजना हुने हरेक कार्यक्रमको ५१ प्रतिशत  टिकट सर्वसाधारणका लागि निशुल्क प्रायोजन गर्ने समेत बताएका छन् । पानी माथि तैरिने पार्कको डिजाईनर थोमस् हिथरविक हुन ।  पार्कमा १३२ वटा सिमेन्टका ठुला ठुला सोलीहरु प्रयोग गरिने छन् । पार्कमा प्रवेश गर्न पुल तरेर जानु पर्नेछ ।

    तस्विर: टाइम आउट

  • सरकारी जागिरको उमेरहद अब ६० वर्ष

    सरकारी जागिरको उमेरहद अब ६० वर्ष

    काठमाडौं । अब सरकारी कर्मचारीले ६० वर्षसम्म सेवामा कार्यरत रहन पाउने भएका छन् । यसअघि ५८ वर्ष रहेको अनिवार्य अवकासको उमेर दुई वर्ष थप भएको हो ।

    नेपालीको औसतः आयु बढ्दै गएसँगै सरकारले निजामती कर्मचारीको उमेर हद बढाउने प्रस्तावसहित कानून बनाएको छ । निजामति सेवा ऐनको मस्यौदामा अनिवार्य अवकासको उमेर हद ६० वर्ष राख्न संसदीय समितिमा सहमति जुटेसँगै अब उमेर हद बढ्ने पक्का भएको हो ।

    संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार यस मस्यौदामाथि छलफल भयो । बैठक बुधबारसमेत चलेको थियो । कर्मचारीको उमेरहद बढाउन यसअघि लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली संयोजकत्वको एक समितिले समेत सिफारिस गरेको थियो।

    उमेरहद बढाउँदा राज्यलाई पेन्सनमा जाने ठूलो रकम बच्ने समेत तर्क सरकारको रहेको छ ।

    ५८ वर्षमै अवकास पाउँदा मानिसको अझै सक्रिय रहने उमेर हुने र थप नियुक्तीका लागि कर्मचारीले बढी चलखेल गर्ने गरेकोमा सांसदहरु एकमत देखिएका छन् । ऐनको मस्यौदामा समितिमा छलफल जारी छ ।

    कर्मचारीले विदेशी पीआर लिएमा नेपालमा पेन्सन नपाउने, स्थानीय र प्रदेश तहमा काम नगरेसम्म बढुवा नपाउने लगायत महत्वपूर्ण विषयमा सहमति जुटिसकेको छ ।

  • संसारकै सबैभन्दा लामो दुरीको यात्राका लागि यसरी उडयो लन्डनबाट जहाज

    संसारकै सबैभन्दा लामो दुरीको यात्राका लागि यसरी उडयो लन्डनबाट जहाज

    न्युयोर्क

    नागरिक उड्डयनको ईतिहासमा नयाँ किर्तिमान  बनाउँदै बिहीबार क्वानटस् एयरलाइन्सको एक जहाजले लन्डनदेखि अस्ट्रेलियाको लागि ५० जना यात्रु लिएर १७ हजार ८ सय किलोमिटरको दुरी लगातार १९ घण्टामा तय गर्ने गरी उडान भरेको छ । बिहीवार लन्डनको स्थानीय समय बिहान ६ बजे परिक्षण उडान सुरु गरेको क्वान्टस् एयरलाइन्सको एक सय मेट्रिकटन तौलको उक्त बोईङले आफ्नो उडानको क्रममा लगातर दुई वटा सुर्योदय देख्ने छ । क्वान्टस् एयरलाईन्सको महत्वाकांक्षी “प्रोजेक्ट सनराईज” ले सन् २०२२ भित्र सिड्नी – लन्डन् र सिड्नी – न्युयोर्क बीच सिधा यात्रु बाहक उडान सुरु गर्ने योजना अन्तर्गत उक्त परिक्षण उडान गरिएको हो । क्वानटस्  एयरलाईन्सको सिड्नी – लन्डन सेक्टरपछि यो बिमान कम्पनी संसार कै सबैभन्दा लामो दुरीतय गर्ने यात्रु बाहक बिमान कम्पनी हुनेछ । तीन सय यात्रु क्षमता भएको “लङरिच” नामक बोईङ    ७८७ ले परिक्षणका लागि क्याप्टन हेलन ट्रेनेरी सहित ४ पाईलटको साथ केही संचारकर्मी सहित ५० जना लिएर लन्डनबाट उडेको हो ।

    परिक्षण उडानमा क्वान्टस् एयरलाईन्सका कर्मचारी र क्वान्टस् एयरलाईन्समा नियमित उडान गर्ने (फ्रिक्वेन्ट फ्लायर ) यात्रु समेत विश्व कै सबैभन्दा लामो दुरीको हवाई यात्राको परिक्षण उडानमा छन् । उडान अबधिभर यात्रारत यात्रुहरुको निन्द्राको ढाँचा (स्लिप प्याटर्न), खानेकुराको खपत, उडान भित्रको मनोरन्जनात्मक  सामाग्री (इन फ्लाईट इन्टर्टेनमेन्ट), को प्रयोग आदीलाई अनुगमन गरिने छ । मेल्बर्न मोनास युनिभर्सिटीको एउटा समुहले उक्त परिक्षण उडानका चालक दलका सबै सदस्यहरुको उडान अगाडि र पछाडिको अवस्थाको अध्ययन गरिहरेको समेत जनाईएको छ ।  जहाजले आफ्नो यात्रामा ईन्धन भर्नको लागि कतै अवतरण गर्ने छैन । 

    क्वान्टसले गत अक्टुबर  महिनामा न्युयोर्क स्थित जोन अफ केनेडी बिमानस्थलदेखि सिड्नी एयरपोर्टसम्मको १६ हजार किलोमिटरको परिक्षण उडान १६ घण्टा केही मिनेटमा तय गरेको थियो ।  

    एजेन्सी

  • कस्ट्कोको ७५ डलर कुपनवाला फेसबुके हल्ला बकवास

    कस्ट्कोको ७५ डलर कुपनवाला फेसबुके हल्ला बकवास

    न्यूयोर्क

    बिगत केही समयदेखि सामाजिक संजालमा ब्यापक सेयर हुँदै आएको अमेरिकाको चर्चित किराना होलसेल कष्ट्को नामको “७५ डलर छुट कुपन” झुटो भएको कस्ट्कोले बताएको छ । किराना होलसेल कस्ट्सोले मंगलवार राती आफ्नो फेसबुक पेज मार्फत लेखेको छ “हामी हाम्रो शुभचिन्तक र प्रसंसकलाई धेरै माया गर्छौ तर यो ७५ डलर छुट भनिएको कुपन झुटो हो । सामाजिक संजालमा ब्यापक प्रचार गरिएको त्यो कुपनसँग हाम्रो कुनै संलग्नता छैन ।”
    यस्तो झुटो प्रचारको जानकारी गराउने हाम्रा शुभचिन्तकलाई कस्ट्कोले धन्यवाद समेत ज्ञापन गरेको छ ।

    गत बर्ष पनि कस्ट्सोको ५० औं बर्ष गाँठको उपलक्ष्यमा किनमेल गर्दा ७५ डलर छुट दिने र त्यसको लागि पोस्ट सेयर गर्नु पर्ने भन्दै फेसबुकमा झुटो प्रचार भएपछीि कस्ट्कोले आफ्नो आधिकरिक फेसबुक पेजबाट सुचना जारी गरेको थियो ।

  • नेपाल एयरलाइन्सको जहाजले पार्किंग नपाएपछि यात्रु अलपत्र

    नेपाल एयरलाइन्सको जहाजले पार्किंग नपाएपछि यात्रु अलपत्र

    काठमाडौं । सोमबार भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आएको नेपाल एयरालाइन्सको एयरबस ३३० जहाजले अवतरण गरेपछि पार्किंग गर्ने स्थल नपाएपछि एक घण्टा ५ मिनेटसम्म यात्रु जहाज भित्रै थुनिनु परेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकसाथ जहाजहरु आएका कारण र्पािर्कंग फूल भएको थियो । त्यसपछि नेपाल एयरलाइन्सको जहाजले स्थान पाएन ।

    दिल्लीबाट आएका यात्रुले एक घण्टा ५ मिनेटसम्म विमानस्थल भित्रै बस्नु परेको भन्दै सामाजिक संजालमा जानकारी गराएका छन् ।

    नेपाल एयरलाइन्सले पनि पार्किंग स्लट नपाएका कारण विमान एक घण्टा ट्याक्सी वेमा कुर्नु परेको पुष्टी गरेको छ । जहाज साढे सात बजे अवतरण भएको भएपनि साढे ८ बजेमात्र यात्रुले बाहिर निस्कन पाएका थिए ।

  • राँगा भैसीका हाड-छाला जलाउनेमाथि जरिवाना

    राँगा भैसीका हाड-छाला जलाउनेमाथि जरिवाना

    काठमाडौं । काठमाडौंमा काटिएका राँगा भैसीको हाड र छाला बोरामी हाली जलाएर काठमाडौंमा दूर्गन्ध फैलाएका तीन जनालाई नगद जरिवाना तिराएर छाडिएको छ ।

    उनीहरु अघिल्लो साता पक्राउ परेका थिए । तीनै जनालाई ललितपुर महानगरपालिकाले १२ हजार जरिमाना तिराएको हो ।

    नगदसहित आगामी दिनमा सोही प्रकारका गतिविधि दोहोर्याएमा कडा सजाय हुने शर्तसमेत राखिएको छ ।

    राजेश शेर्पा, शाजिद मुस्लिम र फेसल मुस्लिमलाई नगद जरिवाना र शर्त राखेर रिहा गरिएको हो ।

    काठमाडौंका केही चोकमा कडा गन्धसहित धुवाले राती सुत्न मुस्किल हुने गरेको गुनासो पछि प्रहरीले खोजी थालेको थियो । त्यसक्रममा उनीहरु पक्राउ परेका थिए ।

  • नियमित रुपमा थोरै दौडदा पनि यस्तो अचम्मको फाईदा

    नियमित रुपमा थोरै दौडदा पनि यस्तो अचम्मको फाईदा

    न्युयोर्क

    ढिलो दौडनुहोस् वा छिटो ! धेरै माईल्स दौडनुहोस् वा थोरै माईल्स ! तर नियमित दौडिने मानिसको अल्पायुमा मृत्‍यु हुने सम्भावना एकदमै कम हुने कुरा एउटा नयाँ अनुसन्धान बाहिर ल्याएको छ । यो नयाँ अनुसन्धान अष्ट्रेलिया, थाईल्याण्ड र फिनल्याण्डका अनुसन्धानकर्ताहरुले संयुक्तरुपमा गरेको अनुसन्धानपछि बाहिर ल्याईएको हो । नयाँ अनुसन्धानमा यस अगाडि अमेरिका, चिन, बेलायत र डेनमार्कले गरेका १४ वटा फरक फरक शारिरिक कृयाकलाप र मृत्‍युदर सम्बन्ध सम्बन्धि अनुसन्धानलाई आधार मान्दै गरिएको हो ।  अनुसन्धानकर्ताहरुले यस अगाडि गरिएका फरक फरक ६ वटा समुहका २ लाख ३० हजार मानिसहरु माथि अध्ययन गरेर नतिजा सार्वजनिक गरेको हो । यी ६ वटा समुहमा ५ बर्षदेखि ३५ बर्ष समुहका मानिसहरुलाई नियमित दौड लगायतका शारिरिक कृयाकलाप गर्ने र नगर्नेहरु बीच गरिएको थियो ।

    अध्ययनमा सधैं दौडने भन्दा नदौडने तर अन्य शारिरिक कृयाकलाप नियमित गर्ने वा अन्य शारिरिक ब्यायाम नियमित गर्ने अनि महिनामा एक दिन चाँहि धाबक कै रुपमा दौडने गरेकाहरु मध्ये सामान्य फरक देखिएको अध्ययनले बताएको छ । अध्यननका क्रममा २५ हजार ९ सय ५१ मानिसको मृत्‍यु भएको थियो । मृत्‍यु  भएकाहरु मध्ये कहिल्यै नदौडनेहरु मध्ये धेरै वा थोरै दौडनेहरुको अल्पायुमा मृत्‍यु २७  प्रतिशतले कम हुने गरेको पाईयो ।  अल्पायुमा मृत्‍यु हुनेमा पनि नियमित र अनियमित दौडनेहरुमा कहिल्यै नदौडनेहरु भन्दा हृदय रोग र क्यान्सरका कारण मृत्‍युमा ३० प्रतिशतसम्म कम देखिएको अध्ययनले बताएको छ ।  

    अनुसन्धानमा सहभागी भएका अस्ट्रेलियास्थित भिक्टोरिया युभर्सिटीका प्राध्यापक जेल्को पेडिसिकका अनुसार हप्तामा एक पटक ५० मिनेट भन्दा कम मात्र दौडिए पनि शारिरको लागि निकै नै फाईदा पुग्दछ तर त्यो भन्दा धेरै दौडिनेहरुलाई हामीले निरुत्साहित गर्नु हुँदैन । हाम्रो प्रयोगले शारिरिकरुपमा निस्कृय ब्यक्तीहरुलाई दौडन उत्साहित गर्दछ भने पहिलेदेखि दौडिरहेकाहरुलाई अझै सकृय बनाउने छ ।  

    विश्व स्वास्थ संगठनका अनुसार विश्वमा हरेक बर्ष करिब ३२ लाख मानिसको मृत्‍यु पर्याप्त शारिरिक कृयाकलापको अभावका कारण हुने गरेको छ । विश्व स्वास्थ संगठनका अनुसार १८ देखि ६४ बर्ष उमेरका मानिसले हप्तामा १५० मिनेट सामान्य ब्यायाम र ७५ मिनेट कडा ब्यायाम गर्नु पर्ने बताएको छ ।  

    (समाचार एजेन्सीको सहयोगमा)

  • प्रत्येक नेपालीका टाउकोमा साढे ३६ हजार ऋण

    प्रत्येक नेपालीका टाउकोमा साढे ३६ हजार ऋण

    काठमाडौं । नेपालले आन्तरिक तथा बाह्य निकायसँग लिएको सार्वजनिक ऋण करीव ११ खर्ब रुपैयाँ पुगेको छ ।

    अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्र १८ अर्ब रुपैयाँले ऋण बढ्दा प्रतिनेपालीको हिस्सामा पर्ने ऋण समेत बढेको हो ।

    आंकडा अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सरकारले आन्तरिक तथा बाह्य गरी कुल २३ अर्ब ३९ करोड ४१ लाख रुपैयाँ ऋण लिएको छ ।

    साथै ऋणको ब्याज र सावाँ भुक्तानीवापत ६ अर्ब ३२ करोड १२ लाख रुपैयाँ भुक्तानीसमेत गरेको छ । यस अनुसार तीन महिनामा १८ अर्ब ११ करोड रुपैयाँले ऋण बढेको हो ।

    नेपालको कुल सार्वजनिक ऋण १० खर्ब ८४ अर्ब ९३ करोड पुग्दा प्रति नेपालीको भागमा ३६ हजार ५ सय २५ रुपैयाँ पर्न जान्छ । यद्दपी यस्तो ऋण व्यक्तिले भने तिर्नु पर्दैन् ।

    नेपालको सार्वजनिक ऋणमध्ये ४ खर्ब ५३ अर्ब ४९ करोड आन्तरिक ऋण हो भने ६ खर्ब ३१ अर्ब ४७ करोड रुपैयाँ विदेशी दातालाई तिर्नुपर्ने ऋण हो ।

    तीन महिनामा भने सरकारले विदेशी बहुराष्ट्रिय दाताबाट १८ अर्ब ९ करोड ३७ लाख रुपैयाँ ऋण लिएको छ । द्विपक्षीय दाताबाट भने ५ अर्ब ३ करोड ९८ लाख रुपैयाँ ऋण लिइएको छ ।

    २६ करोड ५ लाख रुपैयाँ आन्तरिक ऋण उठेको छ । यस अवधिमा नेपालले सबैभन्दा बढी ऋण विश्व बैंकबाट लिएको छ । यस संस्थाबाट ११ अर्ब ८७ करोड रुपैयाँ ऋण लिएको छ ।

    एसियाली विकास बैंकबाट ६ अर्ब २१ करोड रुपैयाँ ऋण लिएको छ । भारतबाट २ अर्ब ३३ करोड ९१ लाख ऋण आएको छ ।

  • प्रधानमन्त्रीका सल्लाहकारहरुबाट सामुहिक राजिनामाको तयारी

    प्रधानमन्त्रीका सल्लाहकारहरुबाट सामुहिक राजिनामाको तयारी

    काठमाडौं । सचिवालय तथा सल्लाहकारहरुको कामप्रति प्रधानमन्त्रीले असन्तुष्टी व्यक्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरु फेरिने भएका छन् ।

    सचिवालयका वर्तमान सदस्यले सामूहिक राजीनामाको तयारी गरिरहेको वालुवाटार स्रोतले जानकारी दिएको छ ।

    प्रधानमन्त्रीका मूख्य सल्लाहकार विण्णु रिमालसहित विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अली रहेका छन् ।

    उनीहरुले अहिले आफ्नो जिम्मेवारी त्यागेर प्रधानमन्त्रीलाई सहजीकरण गर्न लागेको बताइएको छ । सदस्यरुले स्वच्छिक रुपमा राजिनामाको तयारी भनेपनि उनीहरुको कामबाट प्रधानमन्त्री सन्तुष्ट नभएपछि प्रधानमन्त्री स्वयमले बाटो क्लियर गर्न सुझाव दिएका थिए ।

    प्रधानमन्त्री अग्रगामी सोँचका साथ अगाडी बढ्न चाहने तर, सचिवालयले त्यसमा साथ दिन नसकेपछि उनी असन्तुष्टी थिए ।

    प्रधानमन्त्री मन्त्रीपरिषद्का कतिपय सदस्यसँग पनि सन्तुष्ट छैनन् । केही दिनमै मन्त्रीपरिषद् पुनर्गठनको समेत सम्भावना रहेको बताइएको छ ।

  • आफ्नै सचिवालयसँग किन रुष्ट छन् प्रधानमन्त्री ?

    आफ्नै सचिवालयसँग किन रुष्ट छन् प्रधानमन्त्री ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्रीको निजी सचिवायलका कर्मचारी र सल्लाहकारहरुसँग छलफल गरेका छन् । छलफलका क्रममा उनी सचिवालय र सल्लाहकारहरुको कामबाट असन्तुष्ट देखिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

    उनले आफ्नो गति अनुसार हिड्न नसक्ने कर्मचारी र सल्लाहकारलाई राजिनामा गर्न समेत सुझाएका छन् । प्रधानमन्त्री स्वास्थ्योपचार गरी घर फर्किएसँग केही अनुभूति हुने गरी काम गर्ने प्रयासमा छन् ।

    उनी आक्रामक पनि देखिएका छन् । तर, आफ्नै सचिवालयको कार्यशैली र गतिबाट भने उनी संतुष्ट हुन नसकेको बताइएको छ । सोहीकारण उनले यस्तो सुझाव दिएका छन् ।

    सरकारको कार्यशैलीका कारण जनतामा असन्तुष्टी मात्र पैदा भएको छैन, स्वयमः प्रधानमन्त्री ओलीको लोकप्रियतामा भने प्रश्न उठ्न थालेको छ ।

    यस्तो अवस्थामा प्रधानमन्त्रीले आफ्नो स्वभावअनुसार काम गर्न चाहनु र त्यसमा उनको टीमले साथ नदिँदा अवश्य असन्तुष्टी देखिन सक्छन् ।

    त्यसो त सल्लाहकारहरुले केही दिनमै ठूलै परिवर्तन हुने संकेत विभिन्न संचारमाध्यमबाट गरिसकेका छन् । उनीहरुले सचिवालयको फेरफेर सामान्य भएको समेत प्रतिक्रिया दिएका छन् ।

    प्रधानमन्त्रीले केही मन्त्रीहरुसमेत हेरफेर गर्न चाहेका छन् । तर, दुई पार्टी मिलेर बनेको नेकपा भित्रको समिकरण मिलाउनु पर्ने भएका कारण उनी एकलौटी निर्णयबाट यसो गर्न पनि सक्दैनन् ।

  • जब दुई जहाज विमानस्थलको पार्किङमै ठोक्किए

    जब दुई जहाज विमानस्थलको पार्किङमै ठोक्किए

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार दुई जहाज एक आपसमा ठोक्किएका छन् । तर, यसबाट ठूलो क्षति भने भएन ।

    विमानस्थलको आन्तरिक पार्किङ वेमा श्री एयरलाइन्सको जहाज पार्किङ गरिराखेको यति एयरको जहाजमा ठोक्किन पुगेको थियो ।

    श्रीको जहाजले यतिको पुछारमा छोएको र घटनामा जहाजमा सामान्य क्षति हुनुबाहेक अन्य क्षति नभएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिएका छन् ।

    श्री एयरलाइन्सको जहाज विराटनगरबाट आएको थियो । यात्रुसहितको उक्त जहाज पार्किङ गर्न लैजादै गर्दा ठोक्किएको हो । त्रिभुवन विमानस्थलमा अधिक भिडभाडका कारण व्यवस्थापन निकै चूनौतिपूर्ण बन्दै गएको छ ।

  • आज हरिबोधनी एकादशी, उपबास बस्ने प्रचलन

    आज हरिबोधनी एकादशी, उपबास बस्ने प्रचलन

    काठमाडौं । हिन्दु धर्मावलम्बीका लागि भगवान विण्णुको उपासना गर्ने दिन आज देशभर हरिबोधनी एकादशी मनाइदैछ । कार्तिक शुक्ल एकादशीका दिन घरघरमा हुर्किएको तुलसीको पूजा जरी हरिबोधनी एकादशी पर्व मनाइन्छ ।

    यस दिन तुलसीसँग भगवान् दामोदर (विष्णु)को विवाह हुने मान्यता रहको छ । आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी)का दिनमा सागरमा सुतेका विष्णु भगवान आजैका दिन ब्युँझने किंवदन्तीसमेत रहेको छ ।

    यस दिन तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्था रहेको छ । सोही कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउने गर्छन् ।

    तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि पनि औषधि गुणले युक्त हुन्छ । यस दिन भक्तजन उपवास बसी साँझ फलफूल खाने गर्छन् । अन्न नखानेहरुले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार खाने प्रचलन रहेको छ ।

  • नक्सा विवादमा भारतसँग कुराकानी हुन्छ: बास्कोटा, देउवाले राजदूतलाई गरे फोन

    नक्सा विवादमा भारतसँग कुराकानी हुन्छ: बास्कोटा, देउवाले राजदूतलाई गरे फोन

    काठमाडौं । नेपाल सरकारले नक्सा विवादबारे भारतीय पक्षसँग कूटनीतिक तथा राजनीतिक रुपमै छलफल चलाउने भएको छ ।

    नेपाली भूभागलाई आफ्नो नक्सामा समावेश गर्दै भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि त्यसको नेपालमा व्यापक विरोध भइरहेको छ ।

    यही सन्दर्भमा सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतसँग कुटनीतिक र राजनीतिक रुपमा कुराकानी हुने बताएका हुन् ।

    बिहीबार नियमित पत्रकार भेटघाटका क्रममा मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बास्टाले सीमा विवाद समाधान गर्न दुबै तबरबाट पहल हुने बताएका हुन् ।
    एकपक्षीय रुपमा जारी नक्सालाई नेपालले स्वीकार नगर्ने र विवाद समाधानमा पहल गर्ने उनको आश्वासन रहेको छ । सरकार गम्भीरतापूर्वक देशको सीमा रक्षा, सार्वभौम स्वाधीनताको रक्षा गर्न प्रतिवद्ध छ, उनले भने ।

    उता, बिहीबार नै कांग्रेस सभापती शेरबहादुर देउवाले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि भएको भन्दै भारतको नक्साप्रति आपत्ति जनाएका छन् ।

    देउवाले बिहीबार नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीसँग टेलिफोन वार्ता गर्दै उक्त धारणा राखेका हुन् ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार देउवाले कुराकानीका क्रममा नक्सामा भारतले समावेश गरेको भूभाग नेपालको भएको स्मरण गराएका छन् ।

    यता, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतले सार्वजनिक गरेको झण्डा मान्य नहुने बताएका छन् । बिहीबार पोखरा पुगेका प्रचण्डले लिपुलेक विवादबारे यसअघि पनि आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको स्मारण गरे ।