Category: रोचक खवर

  • बेलायती प्रधानमन्त्री विरुद्ध अदालतको फैसला, संसद निलम्बन अवैधानिक

    बेलायती प्रधानमन्त्री विरुद्ध अदालतको फैसला, संसद निलम्बन अवैधानिक

    लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको संसद निलम्बन गर्ने निर्णयलाई बेलायती सर्वोच्च अदालतले अवैधानिक घोषित गरेको छ ।

    प्रधानमन्त्री जोनसनले पाँच साताका लागि संसद निलम्बन गरेका थिए । उनको निर्णय बेलायती महारानीबाट पनि अनुमोदन भएको थियो ।

    प्रधानमन्त्री बोरिसले ९ सेप्टेम्बरदेखि बेलायतको तल्लो सदन हाउस अफ कमन्स पाँच साताका लागि निलम्बन गरेका थिए।

    बेलायतलाई यूरोपेली यूनियनबाट हटाउने प्रक्रिया अनुसार उनले संसद निलम्बन गरेका हुन् ।

    संसदबाट अवरोध हुने निष्कर्ष निकाल्दै उनले संसद निलम्बन गरेका थिए । जोनसन युरोपियन युनियनबाट बेलायतलाई ३१ अक्टोबर सम्म बाहिर निकाल्ने योजनामा छन् ।

    बेलायती संसदमा धेरै सांसद यस निर्णयको विपक्षमा रहेपछि उनले संसद नै विघटन गर्ने निर्णय लिएका हुन् ।

    त्यसो त बेलायतमा अधिवेशन सुरू हुनुअघि केही समय संसद निलम्बन गर्न सक्ने कानुनी प्रावधान भने रहेको छ ।

    जोनसनले संसद विघटन गरेपछि उच्च अदालतमा मुद्दा परेको थियो ।

    बेलायती सर्वोच्च अदालतकी अध्यक्ष लेडी हेइलका अनुसार ११ जना न्यायाधीशले सर्वसम्मत रूपमा उक्त निर्णयलाई खारेज गरिदिएको जानकारी गराएकी छिन् ।
    एजेन्सी

  • अब एक हजारको नोटमा दुइ वटा हात्ति

    अब एक हजारको नोटमा दुइ वटा हात्ति

    काठमाडौं । नेपाली एक हजारको नोटमा अब दुई वटा हात्तिको फोटो राखिने भएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार चितवनमा हुर्किरहेका दुई जुम्ल्याहा हात्ति राम र लक्ष्मणको तस्वीर राखेर नयाँ हजारको नोट निकालिने भएको छ ।

    नयाँ डिजाइन अर्थ मन्त्रालयबाट स्वीकृत समेत भइसकेको छ। चिनियाँ कम्पनीबाट यो नोट प्रकाशित हुने भएको छ ।

    नोट छपाइको सम्झौता भएको करिब १ वर्षमा नयाँ नोट प्रचलनमा आइसक्ने राष्ट्र बैंकको भनाई छ ।

    अहिले एक हजारको नोटमा एउटा मात्र हात्ति रहेको छ । यो हात्ति विदेशी रहेको र नेपाली हात्तिकै फोटो हुनुपर्ने माग उठ्दै आएको छ ।

    राम-लक्ष्मण अहिले चितवन राष्ट्रिय निकुन्जमा हुर्किरहेका छन् । ३१ करोड थान नोट छपाईका लागि चिनियाँ कम्पनीले जिम्मा पाएको बताइएको छ ।

  • नयाँ नोट सटहीमा सहज

    नयाँ नोट सटहीमा सहज

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट साट्न सहज व्यवस्था गरेको छ । बैंकका अनूसार अब ग्राहकले नयाँ नोट साट्न केवल राष्ट्रबैंंककै कार्यालयमा लाइन लाग्न नपर्ने व्यवस्था गरेको हो ।

    १० असोजबाट नयाँ नोट साट्न सकिने भएको छ । त्यसका लागि राष्ट्र बैंकबाहेक पनि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट उपलब्ध हुनेछ ।

    केन्द्रमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, विरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट नयाँ नोट उपलब्ध हुने भएको छ ।

    राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका उपत्यकामा विभिन्न कार्यालयले समेत नयाँ नोट साट्ने छन् । यी सरकारी बैंक हुन् ।

    यस पटक पाँच, दश, २०, ५० र १०० दरका एक÷एक पकेट गरी प्रति व्यक्ति रु १८ हजार ५०० का दरले नयाँ सटही सुविधा दिइएको छ ।

    सो रकमभन्दा बढी सटही सुविधा चाहिने नयाँ नभई सुकिला नोट उपलब्ध हुने भएका छन् ।

    राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकका सबै शाखा कार्यालयमा समेत नयाँ तथा सीमितमात्रामा नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

    राष्ट्र बैंकले नोटलाई पुरानो हुने गरी टिका नलगाउन, पानीले नछुन र सफा राख्न समेत आग्रह गरेको छ । नयाँ नोट छपाईमा मात्र वर्षेनी ठूलो रकम खर्च हुने गरेको छ ।

  • बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा

    बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा

    यूएई । संसारकै अग्लो भवन बुझै खालिफामा इतिहासमै पहिलो पटक नेपाली झण्डा चम्किएको छ ।

    संविधान दिवसका अवसर पारी यूएईस्थित नेपाली दूतावासको पहलमा नेपाली झण्डा फहराइएको हो ।

    शुक्रबार स्थानीय समय अनुसार ९ बजेर १० मिनेट जाँदा हजरौं पर्यटक तथा नेपाली नागरिक भेला भएको अवस्थामा आकर्षक झण्डाले माहौल गुन्जाएमान भएको थियो ।

    हजारौं पर्यटक तथा नेपालीले नेपालको नाम लिँदै संविधान दिवस मनाएका थिए ।

    बुर्ज खालिफा संसारभरका पर्यटकको आकर्षणको केन्द्र हो । यूएईको दुवई भ्रमणमा पुग्ने जो कोही पनि पनि यो भवन हेर्न छुटाउँदैनन् ।

    पहिलो पटक संसारभरका पर्यटकलाई देखाउने गरी नेपाली झण्डा फहराउन सफल भएकोमा दूतावासको प्रशंसा भइरहेको छ ।

  • गर्भपतन गर्दा गर्दै बच्चा कराए पछि

    गर्भपतन गर्दा गर्दै बच्चा कराए पछि

    चिनमा एक जना महिलाले बच्चालाई जन्म नदिने निर्णय गर्दै ३४ हप्ताको गर्भपतन गराउँदा गराउँदै बच्चा जिउँदै जन्मिएको घटना अदालतसम्म पुगेको छ । “हु” नामकी ती महिलालाई उनको पेटमा जन्मिनको लागि तयारी अवस्थामा रहेको बच्चा अपांग भएको चिकित्सकले बताए पछि उनी गर्भ पतन  गराउने निर्णयमा पुगेकी थिईन ।  हुको निर्णय  अनुसार चिकित्सकले गर्भपतन गर्नको लागि शल्यकृया गर्दै थिए । शल्यकृयाको दौरान भ्रुणमा मुटुको चाल समेत नभएको निष्कर्ष निकाल्दै भ्रुणलाई आमाको शरिरबाट चिकित्सकहरुले अलग गरेको मात्र थिए बच्चा कराएको आवाज अकस्मात सुनियो ।  गर्भपतन गराउँदा हुन सक्न्ने सम्भाबित खतराको लागि अस्पतालका अधिकारिहरुले अनुमती समेत दिएपछि ३४ हप्ताको गर्भपतन गराउने निर्णय गरिएको थियो ।  

    घटना सन २०१६ को मार्च महिनाको भए पनि  बेजिङ्गस्थित इन्टर्मिडिएट पिपुल्स कोर्टले अदालतमा अस्पताल बिरुद्ध मुद्दा दर्ता भए पछि भर्खरै स्टेटमेन्ट जारी गरेको छ ।  

    अस्पतालको लापर्वाहीले अपांग बच्चा पाल्नु परेको भन्दै पेकिङ युभर्सिटी पिपुल्स  हस्पिटलसँग हु दम्पत्तीले १ दशमलव २२ मिलियन युआन क्षतिपूर्ती दाबी गरेका छन् ।

    श्रोत : डेली मेल

  • दशैंका नयाँ नोट १० असोजबाट साट्न सकिने

    दशैंका नयाँ नोट १० असोजबाट साट्न सकिने

    काठमाडौं । दसैंमा नयाँ नोट १० असोजबाट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।

    १० गतेदेखि नयाँ नोट साट्न सकिने र त्यसका लागि स्थान तय गरिएको बैंकको भनाई रहेको छ ।

    राष्ट्र बैंकका अनुसार काठमाडौंबाहेक बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र बैंक कार्यालयबाट नयाँ नोट साट्न सकिने भएको छ ।

    काठमाडौंमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटार नयाँ नोट सटही हुनेछ। प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट साट्न सकिने बैंकले स्पष्ट पारेको छ ।

    ५, १०, २०, ५० र १ सयका नयाँ नोट वितरण हुनेछ। त्योबाहेक आफूसँग भएको पुराना नोटको साटो सुकिला नोट साटेर समेत लैजान सकिने सुविधा राष्ट्र बैंकले दिएको छ ।

    राष्ट्र बैंकको बालुवाटार कार्यालयसहित उपत्यकाका २५ ठाउँबाट नयाँ नोट साट्न सकिने भएको छ ।

    जब राष्ट्र बैंकले नयाँ नोट साट्न थाल्छ, त्यसपछि नेपालीका लागि दशैं आएको अनुभूति हुन्छ । यस वर्ष ११ असोजमा घटस्थापना परेका छन् ।

  • बानेश्वरबाट १० जुवाडे पक्राउ

    बानेश्वरबाट १० जुवाडे पक्राउ

    काठमाडौं । प्रहरीले काठमाडौंको नयाँ बानेश्वरबाट १० जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८ पुरुष र २ महिला छन् ।

    महानगरीय प्रहरी बृत्त बानेश्वरले जुवा खेलिरहेकै स्थानबाट रंगेहात उनीहरुलाई पक्राउ गरेको हो ।

    उनीहरुको साथबाट एक लाख २३ हजार ८ सय ३५ रुपैयाँसमेत बरामद भएको प्रहरीले उल्लेख गरेको छ । नयाँ बानेश्वरस्थित संगम चोकबाट बुधबार साँझ उनीहरु पक्राउ परेका हुन् ।

    जुवा खेलिरहेको भन्ने विशेष सूचनाका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    चाडबाड नजिकिएको मौकामा शहरी इलाकामा अत्यधिक जुवातास खेल्नेहरु भेटिन्छन् । त्यसक्रममा आपराधिक गतिविधि समेत वृद्धि हुने गर्छ । मदिरा र जुवा एक अर्काको परिपुरक जस्तै बनेका छन् ।

    रियल इस्टेटको व्यवसाय गर्ने भनी फ्लाट भाडामा लिएर बसेका व्यक्तिले व्यवसायीक रुपमा जुवा खेलाउने गरेको भेटिएको प्रहरीको भनाई छ ।

  • गृहमन्त्रीका भाई १ लाख धरौटीमा थुनामुक्त

    गृहमन्त्रीका भाई १ लाख धरौटीमा थुनामुक्त

    काठमाडौं । काठमाडौं । संगठित अपराध सम्बन्धी कसूरमा प्रहरीद्धारा समातिएका नरेश बहादुर थापा १ लाख धरौटीमा थुनामुक्त भएका छन् ।

    उनी गृहमन्त्री रामबहादुर थापाका भाई हुन् । बुधबार आरोपित नरेशलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको हो ।

    जिल्ला अदालत, काठमाडौंका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले थापालाई १ लाख रुपैयाँमा थुनामुक्त गर्न आदेश दिएको हो ।

    उनीसँगै समातिएका अन्य आरोपितलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतबाट भएको हो ।

    थापासँगै पवन खड्का, समिरमानसिंह बस्न्यात, सुरेन नगरकोटी बलामी, जावेद अनवर दिन, शैलेश प्रजापती, विनोद लामा, विरवल भट्टराई र मनबहादुर पुन मगरविरुद्ध प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो ।

    जावेद फरार सूचिमा छन् भने बस्न्यात केन्द्रीय कारागार, सुन्धारामा कैद जीवन बिताइरहेका छन् ।

    गुण्डा नाइके समिरमान सिंह बस्न्यातका दुई सहयोगी पवन खड्का र सुरेन नगरकोटीसँग नरेको सम्बन्ध भेटिएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो ।

    गुण्डा नाइके बस्न्यात निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको गोली हानी भएको हत्याका मूख्य योजनाकार हुन् ।

    उनले जेल भित्रै बसी अन्य व्ववसायीलाई धम्क्याउने र रकम नदिन शरदकै हालत बनाउने भन्दै धम्की दिने गरेका थिए ।

    त्यस काममा उनका सहयोगी साथ दिइरहेका थिए । सोही प्रणाणका आधारमा प्रहरीले छानविन अगाडी बढाएको थियो ।

  • अमेरिकाको एक बिद्यालयमा पढन् जाँदा सधैं एउटै लुगा लगाए पछी साथीहरुले यस्तो गरे

    अमेरिकाको एक बिद्यालयमा पढन् जाँदा सधैं एउटै लुगा लगाए पछी साथीहरुले यस्तो गरे

    न्युयोर्क   

    बिद्यालयमा सवै विद्यार्थीका लागि समान पोसाक लगाउनु पर्ने ब्यवस्था नगरेका कारण अमेरिकाको एक सरकारी बिद्यालयमा दु:खदायी घटना घटेको छ । टेनेसी राज्यस्थित मार्टिन लुथर किंग बिद्यालयमा भर्खरै हाई स्कुल भर्ना भएका एक विद्यार्थीलाई आफ्नै कक्षामा अध्ययनरत विद्यार्थीहरुले हरेक दिन एउटै लुगा लगाएर आएको भन्दै जिस्क्याए पछी माथिल्लो कक्षामा अध्ययनरत अन्य दुई विद्यार्थीले आफ्नै पोसाक दिएको घटना सामाजिक संजालमा ब्यापक हुन पुगेको छ । ती राम्रो मन भएका दुई विद्यार्थीले झोलामा हालेर पोसाक दिदै गरेको हृदयबिदारक भिडियो अहिले सामाजिक संजालमा ब्यापक प्रचार भएको छ । क्रिस्टोफर गराम र एयान्टविन गरेट नामका दुई विद्यार्थीले आफ्ना केही पुराना र नयाँ लुगाको साथमा केही जोर नयाँ जुत्ता समेत दिएका थिए ।  

    माईकल टोड नामका एक बालकलाई बिद्यालय गएको केही दिन दिनदेखि नै आफ्नै कक्षामा अध्ययन गर्ने साथीहरुले उनको रुपको बारेमा हरेक दिन जसो खिसी गर्न थालेका थिए ।  टोडलाई जिस्क्याउनेहरुको दाबी छ कि उनले हरेक दिन एउटै पोशाक लगाएर बिद्यालय आए । पिडित विद्यार्थी  टोडले जिस्क्याउने गिज्याउनेहरुलाई भनेका छँन् “आफु धेरै छिटो छिटो बढेको कारण आफ्नी आमाले लुगा किनेरै भ्याईनन् त्यही भएर फरक लुगा लगाउन पाईन” ।  

    डब्लु एच बि क्यु -टिभीसँगको कुराकानीमा क्रिस्टोफरले भनेका छँन् “मैले जब केही मान्छेहरुले गिज्याएको देखें, तब मलाई एकदम दु:ख लाग्यो र केही जोर नयाँ जुत्ताको साथमा लुगा दिएको हुँ ।”

    दुई साथीहरुले लुगा र जुत्ता दिए पछी माईकल टोडले युएस ए टुडेसँग भनेका छन् कि; “यो दिन मेरा लागि सबैभन्दा उत्तम दिन हो र यि दुई साथीहरु मेरो जीवनको सबैभन्दा राम्रा मानिस हुन् ।”  समाचार भाईरल भए पछी अहिले माईकललाई चन्दा दिने र लुगा दिन चाहनेहरु थुप्रै बाहिर आएका छन ।  

    अमेरिकाका अधिकांश सरकारी बिद्यालयहरुमा बिद्यालयको आफ्नै युनिफर्म तोकिने गरिएको छैन ।

  • अर्थमन्त्रीको एक भाषण, जसले बढायो २७ अंकले नेप्से

    अर्थमन्त्रीको एक भाषण, जसले बढायो २७ अंकले नेप्से

    काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडालाई शेयर लगानीकर्ता त्यति रुचाउँदैनन् । किनकी अर्थमन्त्रीले शेयरमा हुने लगानीलाई अनुत्पादक ठान्छन् ।

    अर्थतन्त्रका ज्ञाता मानिने अर्थमन्त्री भएको समयमा पनि नेप्से परिसूचक लगातार घटिरहेको छ । यसले लगानीकर्ताहरु निरन्तर निरासामा छन् ।

    मंगलबार करीव चमत्कार जस्तै भएको छ । यस दिन एकै पटक २७ अंकले बजार वृद्धि भएको छ । आखिर के त्यस्तो चमक्कार के भयो ?

    जसले बजारमा एकै पटक ठूलो वृद्धि भयो ? मुलुकमा सकारात्मक सन्देश दिने खासै ठूलो परिवर्तन पनि भएको छैन ।

    विज्ञहरुका अनुसार शेयरबजारप्रति अनुदार अर्थमन्त्रीको एक उदार भाषणका कारण लगानीकर्ता हौसिएका हुन् ।

    मंगलबार बिहानै कर्मचारी संचयकोषको वार्षिक साधारणसभामा पुगेका अर्थमन्त्री खतिवडाले कोषलाई पनि शेयर बजारमा आउन आग्रह गरेका थिए ।

    अर्थमन्त्रीले शेयर बजारमा सन्चय कोष तथा नागरिक लगानी कोषलाई समेत समावेश गर्ने बताएका थिए । उनको यो भाषणसँगै लगानीकर्ता हौसिएका छन् ।

    साताको दुई दिन लगातार दोहोरो अंकले घटेको शेयर बजार तेस्रो दिन मंगलबार २६.९१ अंकले बढेको छ ।

    मंगलबार १२३.८४ अंकबाट शुरु भएको कारोबार ११५०.७४ अंकमा पुगेर बन्द भएको छ ।

    यस दिन १७१ कम्पनीको १३ लाख ७७ हजार ९ सय ४६ कित्ता शेयर कारोबार भएको छ । जसबाट ३८ करोड ३९ लाख ५७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

  • नेपालगन्ज घटनाबारे बुद्ध एयरको स्पष्टिकरण : हुलका कारण जहाज नै ढल्कियो

    नेपालगन्ज घटनाबारे बुद्ध एयरको स्पष्टिकरण : हुलका कारण जहाज नै ढल्कियो

    काठमाडौं । बुद्ध एयरले नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि भएको दुव्र्यवहार सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्पष्टिकरण बुझाएको छ ।

    सोमबार बुझाएको स्पष्टिकरण अनुसार केही समय मन्त्रीका कारण र केही समय भीडले गर्दा निर्धारित समयभन्दा २४ मिनेट जहाज ढिला उडेको स्पष्ट पारेको छ ।

    मन्त्रीले जानकारी गराएर आफू बाटोमा भएकाले आउँदै गरेको उल्लेख गरेका थिए । त्यसकारण केही समय यात्रुलाई बाहिरै राखेर कुराइएको कम्पनीले स्पष्ट पारेको छ ।

    तर मन्त्री आइसकेपछि एउटा समूहले हुलहुज्लत गर्दा कारण उडानमा थप ढिलाई भएको र विमान समेत एकातिर ढल्किएको बुद्ध एयरले प्राधिकरणलाई बुझाएको स्पष्टिकरणमा उल्लेख गरिएको छ ।

    जहाजभित्र भीडले मन्त्रीका कारण जहाज १ घन्टा कुरेको भन्दै भिडियो खिची सामाजिक संजालमा राखि अपमान गरेका थिए । मन्त्री भट्टराईले भने आफ्ना कारण मात्र १५ मिनेट ढिलो भएको भन्दै माफी समेत मागिसकेका छन् ।

    बुद्ध एयरका अनुसार नेपालगञ्जबाट ६ः४० मा उड्नुपर्ने बिमान २४ मिनेट ढिला गरी ७ः०४ मा उडेको थियो ।

    यसमध्ये ६ देखि ८ मिनेट हुलहुज्जतका कारण ढिलाई भएको थियो । बाँकी समय भने मन्त्रीलाई कुर्नु परेको थियो ।

    ‘घटनामा मन्त्रीका सुरक्षाकर्मी र सहयोगीले देखाएको संयमताले गर्दा आक्रोशित समूहलाई समयमै साम्य पारी उडान गरिएको बुद्ध एयरले लेखेको छ ।
    पत्र अनुसार जहाजमा ६ः३० मा यात्रुको बोर्डिङ गराइएको थियो ।

    त्यसअघि मन्त्रीका सहयोगीले ६ः२५ बजे नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणमार्फत फोन गरेर धम्बोजी आइपुगेको जानकारी गराएका थिए । तर, फोनमा जानकारी गराइएभन्दा केही ढिला मन्त्री एयरपोर्ट प्रवेश गरेका थिए ।

    विमानमा बसेको १० मिनेटसम्म जहाज नउडेपछि ६ः४० बजे १४ \१५ जनाको समूह परिचारिकाहरुलाई अटेर गर्दै बाहिर निस्किएका थिए ।

    ६ः५० मा मन्त्री जहाजमा चढेका थिए । त्यसपछि सबै यात्रु उनीसँगै भित्र पसेर हुलहुज्जत गर्दा जहाज उड्न थप ढिला भएको कम्पनीले स्पष्ट पारेको छ ।

    धेरै जना मानिस एकै ठाउँ उभिएर विवाद गर्न थाल्दा एक भागमा बढि वजन भएर विमान ढल्किएको समेत प्राधिकरणलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ ।

  • काठमाडौंका घरबेटीले विद्यूतको व्यापार गर्न नपाउने

    काठमाडौंका घरबेटीले विद्यूतको व्यापार गर्न नपाउने

    काठमाडौं । प्राधिकरणलाई सस्तोमा मूल्य तिरेर घरमा बस्नेसँग दोब्बर मूल्य असुल गर्ने घरबेटीलाई अब नेपाल विद्यूत प्राधिकरणले कारवाही गर्ने भएको छ ।

    घरबेटीले विद्यूतको व्यापार गर्न नपाउने भन्दै अब उजुरीका आधारमा कारवाहीको चेतावनी दिएको हो । प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले तोकिएको भन्दा बढी दरमा भाडावालासँग महसुल नलिन घरबेटीसँग आग्रह गरे ।

    पछिल्लो समय आफ्नो घर बहालमा लगाउने घरबेटीले भाडावालसँग चर्को दरमा विद्युत महसुल उठाउने गरेको गुनासो प्राधिकरणमा पुगेको छ ।

    उनका अनुसार प्राधिकरणले घरबेटीलाई लोड अनुसार प्रतियूनिट ३ देखि १३ रुपैयाँसम्म शूल्क लगाउँछन् ।

    तर, घरबेटीले भाडावालसँग १५ देखि २० रुपैयाँसम्म उठाउने गरेका छन् ।

    घिसिङका अनुसार प्राधिकरणले तोकभन्दा बढी दरमा शूल्क उठाउनु गैरकानूनि काम हो । घरबेटीले विद्यूतको व्यापार गर्न पाउँदैनन् ।

  • उडिरहेको जहाजमा पाईलटले कफी पोख्दा

    उडिरहेको जहाजमा पाईलटले कफी पोख्दा

    चालक दलका ११ सदस्य सहित ३३७ जना बोकेर एट्लान्टिक महासागर माथिको आकाशमा उड्दै गरेको एउटा जहाज  पाइलटले ककपिटमा एक्कासी कफी पोखेको कारण आकस्मिक अवतरण गर्न वाध्य भएको छ । गत फेब्रुअरी ६ तारिखका दिन जर्मनीको फ्र्यांकफर्टबाट मेक्सिकोको क्यानकुनका लागि उड्दै गरेको कनडोर एयरलाईन्सको एयरबस ए ३३० – २४३ मध्य आकाशमा उड्दै गर्दा पईलटले खाँदै गरेको कफी एक्कासी  ककपिटमा पोख्न पुगेका थिए । कफी पोखिएर जहाजको अडियो कन्ट्रोल प्यानलमा भित्रसम्म पुगेको थियो ।तत्काल चालकले जहाजलाई आयरल्याण्डको स्यानन बिमानस्थलमा आकस्मिक अवतरण गरेका थिए ।  

    घटनाको बारेमा लामो अनुसन्धानको ६ महिना पछी सार्बनजिक  गरिएको रिपोर्टमा भनिएको छ “घटनामा कुनै पनि यात्रुलाई चोटपटक लागेको थिएन । एयर एक्सिडेन्ट ईन्भेस्टिगेसन ब्रान्चले जारी गरेको रिपोर्टका अनुसार “अडियो कन्ट्रोल प्यानलमा कफी पोखिए पछी जहाजको ककपिटमा धुँवा समेत निस्कन सुरु भए पछी जहाजलाई आकस्मिक अबतरण गर्ने निर्णयमा चालक पुगेका थिए” । 

    १३ हजार घण्टा जहाजको सफल उडान गरी सकेका ४९ बर्षीय  चालकको हातमा क्याबिन क्र्युले बिर्को बिनाको एक कप कफी दिईन् । अकस्मात कफीको कपमा पाईलटको हात ठोक्कियो अनि पोखियो ।  जहाज उत्तर एट्लान्टिक  महासागरको माथि  थियो । जहाजमा ३३७ जना सवार थिए ।  कन्ट्रोल प्यानल भित्र तातो कफी पसे पछी धुँवा आउन थाल्यो र आगोको गन्ध पनि आयो । त्यतिकैमा कन्ट्रोल प्यानल भित्रको एउटा बटन तातोले पग्लिए पछी चालक जहाजलाई आकस्मिक अवतरण गराउन बाध्य भएका हुँन्  । घटना पछी जहाजका क्र्यु मेम्बरहरुलाई भबिष्यमा जहाज उडानको समयमा चिया कफी पानी जस्ता तरल पदार्थ बितरण गर्दा आवस्यक सबै बस्तु होसियार साथ प्रयोग गर्न चेतावनी दिईएको छ ।  जहाजलाई आयरल्याण्डमा आकस्मिक अवतरण गर्नु परेको कारण जहाज कम्पनीलाई ८० हजार पाउण्ड ब्ययभार परेको बताईएको छ । 

    एजेन्सी

  • अब विमानस्थलमा ‘बिग सिक्स’लाई मात्र जहाजसम्मै सवारी

    अब विमानस्थलमा ‘बिग सिक्स’लाई मात्र जहाजसम्मै सवारी

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब आन्तरिक उडानतर्फ सम्माननीय उपाधि प्राप्त ६ जना अतिविशिष्ट व्यक्तिले मात्र जहाजसम्म आफ्नो सवारी साधन लैजान पाउने भएका छन् ।

    भीआइपीका नाममा उक्त सुविधाको दूरुपयोग बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यस्तो नियम ल्याएका हुन् ।

    नियम कार्यान्वयनमा आएको विमानस्थल कार्यालयले बिहीबार जानकारी गराएको छ ।

    अब सम्माननीय उपाधी पाउने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानान्यायाधिश, प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले मात्र जहाजसम्म आफ्नो सवारी लगेर जहाजमा चढ्ने सक्ने सुविधा पाउने भएका छन् ।

    अन्य सबै भीआइपीहरुले भने वायुसेवा कम्पनीले उपलब्ध गराउने गाडीमा चढेर टर्मीनलदेखि जहाजसम्म पुग्नु पर्ने भएको छ ।

    यसबाट आम सर्वसाधारणकै भिडमा अब मन्त्री, पूर्वप्रधानमन्त्री तथा अन्य विशिष्ट व्यक्तिले बसमै यात्रा गरी जहाजसम्म चढ्नु पर्ने भएको विमानस्थल कार्यालयले स्पष्ट पारेको छ ।

  • सेनापतिको ऐतिहासिक निर्णय, पहिलो पटक सम्पत्ति विवरण सार्वजनिक

    सेनापतिको ऐतिहासिक निर्णय, पहिलो पटक सम्पत्ति विवरण सार्वजनिक

    काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पहिलो पटक सेनापतिको सम्पत्ति विवरण सार्वजनिक गर्ने परिपाटी थालेका छन् ।

    मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सेनापति थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

    त्यस अवसरमा उनले आफ्नो १ वर्षे कार्यकालको प्रगति विवरण समेत सार्वजनिक गरे । पारदर्शीता कायम गर्न सम्पत्ति विवरण सार्वजनिक गरेको उनले उल्लेख गरे ।

    सेनाको वेवसाइटबाट प्रधानसेनापतिको सम्पत्ति विरण हेर्न सकिन भएको छ । सेनाभित्रको आर्थिक अनियमिततालाई क्रमशः छानविनको दायरामा ल्याउने प्रतिवद्धता समेत सेनापतिले गरे ।

    गलत प्रवृत्ति भए त्यसलाई सच्याउन ढिला गर्नु नहुने उनको भनाई थियो । तर, राम्रा संस्कारलाई भने जोगाउनु पर्ने उनले बताए ।

    विवरण अनुसार प्रधानसेनापतिको काठमाडौंमा तीन स्थानमा जग्गा रहेको छ । लमजुंग र नवलपरासीमा पनि उनले जग्गा रहेको उल्लेख गरेका छन् ।

    ५५ तोला सुन र ५ सय ९० तोला चाँदी उनीसँग रहेको विवरणमा उल्लेख छ । यसबाहेक हिराको हार र औठीसमेत रहेको छ । विभिन्न बैंकमा नगद तथा शेयर विवरणसमेत उनले आफ्नो सम्पत्ति विवरणमा भरेका छन् ।

  • भद्रगोललाई दर्शकको झटारो, यूट्यूवमा लाइकभन्दा धेरै डीसलाइक

    भद्रगोललाई दर्शकको झटारो, यूट्यूवमा लाइकभन्दा धेरै डीसलाइक

    काठमाडौं । मूख्य कलाकार बाहिरिएपछि आएको टेलिफिल्म भद्रगोललाई दर्शकले नेगेटिभ प्रतिक्रिया दिएका छन् ।

    भद्रगोलको शुक्रबार प्रसारण भएको नयाँ एपिसोडलाई दर्शकले विफल पारिदिएका हुन् ।

    आइतबार साँझसम्म यस एपिसोडमा १७ हजार लाइक आएका छन् । २८ हजार डिसलाइक छन् । यसको मतलव करीव दोब्बर संख्यामा दर्शकले यो टेलिफिल्मलाई मन पराउन सकेनन् ।

    नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य टेलिश्रृंखला भद्रगोल ६ हप्तापछि पुन प्रशारणमा आएको थियो ।

    आर्थिक लेनदेनमा कुरा नमिलेपछि भद्रगोलबाट निर्देशकद्वय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहित २१ जनाको पुरानो टिम बाहिरिएको छ ।

    मिडिया हबले कलाकारको नयाँ टिम बनाएर भद्रगोल पुनः प्रसारणमा ल्याएको छ । भद्रगोलमा पाँडे, जिग्री, बले र कक्रोसको भूमिकालाई दर्शकले खुब मन पराएका थिए ।

    नयाँ श्रृंखलामा भने निर्देशनको जिम्मेवारी ज्योती काफ्ले र अशोक धितालले पाएका छन् ।

    उता, कट्टेल र घिमिरेसहितको टोली भने नयाँ टेलिफिल्मको तयारीमा जुटेको बताइएको छ । नेपालमा टेलिभिजन संसारमा हास्य टेलिफिल्मले राम्रो लोकप्रियता पाइरहेका छन् ।

  • एक पत्रकारले ७६ लाख ५० हजारको एक सिसी बियर पिउँदा यस्तो भयो हालत

    एक पत्रकारले ७६ लाख ५० हजारको एक सिसी बियर पिउँदा यस्तो भयो हालत

    एजेन्सी 

    गत ५ तारिख मंगलवार पिटर लालोर नामका   एक अस्ट्रेलियन पत्रकारले आफ्नो ट्विटर् एकाउन्टमा सानो बियरको सिसी र साथमा आधा बियरले भरिएको फोटो राख्दै लेखे; “यो बियर हेर्नुस् । यो बियर ईतिहासकै सबैभन्दा महंगो बियर हो । मैले यो एक सिसी बियरको मुल्य म्यान्चेस्टरस्थित मालमेसन होटलको बारमा अस्ट्रेलियन डलर ९९ हजार ९ सय ८३ र ६४ सेन्ट तिरे” ।  

    बिगत २५ बर्षदेखि लगातार पेय पदार्थको रिपोर्टिङ गर्दै आएका र पेय पदार्थबारे निकै जानकार अस्ट्रेलियन पत्रकार पिटर लालोरलाई इङ्ल्यान्ड म्यान्चेस्टरस्थित मालमेसन होटलको बारले ६ डलर ७६ सेन्ट्स अमेरिकी डलर मुल्य पर्ने एक सिसी बियरलाई १० हजार गुणा बढाएर ६७ हजार ६ सय ८९ अमेरिकी डलर लिएपछि आफू जिल्ल परेको प्रतिकृया बिभिन्न संचार माध्यमलाई बताएका छन् ।  

    गत अाईतबार पिटरले आफ्नो एक जना साथीलाई ट्रेन स्टेसनमा छाडेपछि बाटोमा पर्ने मालमेसन होटेलको बारमा बियर पिउन छिरेका थिए । पत्रकार पिटरले होटलको बारमा काम गर्ने बार टेन्डरलाई अमेरिकन ड्राफ्ट बियर बाहेक ब्रिटिश स्वादको बियर दिन अनुरोध गरे । बार टेन्डरले हेनिकन बियर पिउन सल्लाह दिईन् । त्यतिकैमा स्कटिस बियर कालडोनियन पिउने निर्णयमा पिटर पुगे । बियर पिएपछि बार टेन्डरले पिटरलाई बिल दिईन । बिलमा मुल्य भन्दा निक्कै धेरै रकम लेखे जस्तो पिटरलाई लागेको थियो । तर त्यतिबेला उनले रिडिङ ग्लास नलगाएको कारण प्रस्ट हुन सकेनन् तर बार टेन्डरलाई उनले मुल्यको बारेमा सोधे । बार टेन्डरले कुनै उत्तर नदिएर उल्टै खित खित गर्दै एक्लै हाँसिन् मात्र । जब पत्रकार पिटरको ब्यांक खाताबाट एक्कै पटक ६७ हजार ६ सय ८९ अमेरिकन डलर रकम घट्यो अनि मात्र उनी जिल्ल परे ।  जीवनको अधिकतम समय पेय पदार्थको बारेमा मात्र लेख्दै आएका पिटर आँफैले पिएको एक सिसी बियरको त्यति ठुलो मुल्य तिर्नु परे पछी उनी निक्कै छक्क परे । तर भुलवस चार्ज भएको उक्त्त रकमको बारे होटल ब्यबस्थापनले माफी माग्दै फिर्ता दिने निर्णय गरे पनि उक्त्त रकम पिटरको ब्यांक  खातामा आउन भने १० दिन लाग्ने बताईको छ ।

  • अमेरिकामा समुन्द्री आँधीको न्वारान यसरी गरिन्छ

    अमेरिकामा समुन्द्री आँधीको न्वारान यसरी गरिन्छ

    न्यूयोर्क

    अमेरिकामा यतिबेला समुन्द्री आँधीको सिजन चल्दै छ । हरेक बर्ष एट्लान्टिक  महासागरमा जुन १ देखि नोभेम्बर ३० सम्मलाई आँधीको सिजन मानिन्छ । त्यस्तै पूर्वी उत्तर प्यासिफिकको आँधीको सिजन भने मे १५ देखि नोभेम्बर ३० सम्म हो ।  आँधीको कारण हरेक बर्ष अमेरिकामा थुप्रै मानवीय क्षति हुन्छ भने थुप्रै मानिस घरवार बिहिन हुन पुग्दछन् । भर्खरै मात्र क्यारेबियन मुलुक बहामासमा आएको डोरियन नामक आँधीले थुप्रै मानवीय र भौतिक क्षति पुर्याएर अहिले अमेरिकाको पूर्वीय तटतर्फ अगाडि बढिरहेको छ । वर्षैपिच्छे आउने यस्ता समुन्द्री आँधीको बारेमा सञ्चार सम्पर्क गर्न र स्मरण गर्नको लागि सहज होस् भनेर लामो समय अगाडि मौसमबिद्हरुले यस्तो बिनासकारी आँधीहरुलाई समेत नाम रखिने प्रचलन शुरु गरेका छन् । हरेक वर्ष समुन्द्री आँधीको सिजन शुरु हुनु अगाडि नै तिनीहरुको नामको सुची तयार पारिने र त्यस अगाडि नै सम्बन्धित निकायबाट नामहरु प्रमाणित गरेर राखिने प्रचलन छ । सन् १९५० को शुरुवातदेखि यु एस नेसनल हरिकेन सेन्टरले आँधीलाई नाम दिने प्रचलन ल्याए पछी हाल विश्वका अधिकांश देशहरुमा यही प्रचलन छ । अहिले अमेरिकामा सन् २०२४ सम्मका समुन्द्री आँधीहरुको नाम मौसमबिदहरुले जुराएर राखिसकेका छन् । प्रारम्भमा अंग्रेजी अक्षर “ए” “बि” गर्दै बर्णाक्रम अनुसार आँधीहरुको नामाकरण गरिने प्रचलन सुरु गरिए पनि नामहरु दोहोरिन गएको कारण हाल महिला र पुरुषको नामलाई पालै पालो दिने चलन चलाईएको छ । यसरी महिला र पुरुष नामहरुको सुची हरेक ६ बर्षको लागि तयार पारेर रखिने गरिएको छ । ६ बर्ष पछी पुन: दोहोर्याउने गरिएको छ ।  

    एटलान्टिक महासागरमा यो बर्ष आउने आँधीहरुको नामावली यस्तो छ :

    एन्ड्रिया, बेरी, शन्टल, डोरियन, आईरिन्, फर्नाण्ड, ग्याब्रियल, हम्बर्टो, ईमेल्दा, जेरी, करिन, लोरेन्जो, मलिसा, नेस्टोर, ओल्गा, पाब्लो, रेबेका, सेबास्टियन, तान्या,भ्यान, विन्डी ।

    पूर्वी उत्तर प्यासिफिक महासागरमा आउने यो बर्षको आँधीका नामवली :

    अल्बिन, बार्बरा, कस्मी, डलाईला, एरिक, फ्लोसी, गिल, हेंनरिट, इभो, जुलिएट, किको, लोरिना, मारियो, नर्दा, ओक्टाभे, प्रिस्सिला, रेमोन्ड, सोनिया, टिको, भल्मा, वालिस, जिना,योर्क, जेल्दा ।

  • ३६ वर्षिय मालिंगाको जादुमयी बलिङ, लगातार ४ बलमा ४ विकेट झारे

    ३६ वर्षिय मालिंगाको जादुमयी बलिङ, लगातार ४ बलमा ४ विकेट झारे

    श्रीलंकाली तिब्र गतिका बलर लासिथ मालिंगाले घातक बलिङ गरेपछि श्रीलंकाले शुक्रबार सम्पन्न खेलमा न्यूजिल्याण्डलाई पराजित गरको छ ।

    ३ खेलको टी२० श्रृंखला अन्तर्गत पहिलो दुई खेल हारेको श्रीलंकालाई लाज बचाउन समेत तेस्रो खेल जित्नै पर्ने बाध्यता थियो ।

    घरेलु मैदानमा पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर मात्र १२५ रन जोड्यो । जवाफी ब्याटिङमा उत्रिएको न्यूजिल्याण्ड ८८ रनमा समेटियो ।

    उसलाई धरासायी बनाउने क्रममा कप्तान समेत रहेका मालिंगाले जादुमयी बलिङ गरेका हुन । ४ ओभर बलिङ गरेका उनले मात्र ६ रन दिएर ५ विकेट झारे ।

    मालिंगाले तेस्रो ओभरको तेस्रो बलमा कोलिन मुन्रोलाई १२ रनमा आउट गरी पहिलो विकेट लिए । त्यसपछिको बलमा हेमिश रदरफोर्डको विकेट लिए ।

    तेस्रो ओभरको पाँचौ बलमा कालिन डी ग्रान्डहोमको विकेट लिँदै ह्याट्रिक पुरा गरे ।

    ओभरको छैठौं बलमा समेत रोस टेलरलाई पेभिलियन फर्काउँदै ३६ वर्षिय मालिंकाले लगातार चार बलमा ४ विकेट लिँदै सनसनीपूर्ण प्रदर्शन गरेका हुन् ।

  • भारतीयले आफ्नै शरीरमा आगो लगाए

    भारतीयले आफ्नै शरीरमा आगो लगाए

    झापा । एक भारतीय नागरिकले आफ्नै शरीरमा आगो लगाई आत्मदाह गरेका छन् । झापामा बिहीबार दिउँसा भारतीय नागरिकले आफ्नै शरीरमा आगो लगाएका हुन् ।

    प्रहरीका अनुसार अर्जुनधारा–६स्थित फर्निचर उद्योगमा काम गर्दै आएका मजदुरले शरीरमा तार्पिनको तेल र स्प्रिट खन्याई आगो लगाएका थिए । उनको निधन भएको छ ।

    भारतको पश्चिम बंगालस्थित पानीट्यांकीका २३ वर्षीय विश्वनाथ बरमनले आत्मदाह गरेको प्रहरीको भनाई छ ।

    उनले फर्निचर उद्योगको ट्वाइलेट गई शरीरमा आगो लगाएका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

    पछिल्लो समय नेपालमा आत्महत्याको संख्या उल्लेख्य रुपमा बढेको छ ।

  • जब सीता एयरको एक इन्जिन आकासमै फेल भयो….

    जब सीता एयरको एक इन्जिन आकासमै फेल भयो….

    काठमाडौं । सीता एयरको जहाज एक इन्जिनको भरमा लुक्लादेखि काठमाडौं आइपुगेको छ । सीता एयरका वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले ट्वीट गर्दै त्यसको जानकारी गराएका छन् ।

    उनका अनुसार लुक्लाबाट उडेको केही समय भित्रै जहाजको एक इन्जिनले काम गर्न छाडेको थियो । तर चालक दलले जहाजलाई काठमाडौं नै ल्याउने निर्णय गरे ।

    लुक्ला काठमाडौं उडान २५ मिनेट अवधिको हो । बुधबार बिहान लुक्लाबाट उडेको ९ एन–एजेएच जहाज पौने ९ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको हो ।

    विमानस्थलका अनुसार उक्त जहाजले आपतकालिन अवतरणको माग गरेको थियो । किनकी एक इन्जिनका भरमा आएको उक्त जहाजसँग आकासमा थप होल्ड गर्न सक्ने जोखिम लिनु उपयुक्त हुँदैनथ्यो ।

    कम्पनीकाअनुसार जहाजमा यात्रु थिएनन् । चालक दलका सदस्य र जहाज सुरक्षित रहेको कम्पनीले जनाएको छ । सीताले पहाडी र हिमाली क्षेत्रका जोखिमपूर्ण विमानस्थलहरुमा उडान गर्छ । यस कम्पनीसँग ४ वटा साना जहाज रहेका छन् ।

  • सिंगापुरबाट प्रधानमन्त्रीको दोस्रो भिडियो कन्फ्रेन्स

    सिंगापुरबाट प्रधानमन्त्रीको दोस्रो भिडियो कन्फ्रेन्स

    काठमाडौं । आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपालमा रहेका मन्त्रीहरुबीच भिडियो कन्फ्रेन्समा कुराकानी भएको छ ।

    प्रधानमन्त्री उपचारका लागि सिंगापुर गएपछि दोस्रो पटक यस्तो कुराकानी भएको हो । पहिलो पटक भएको भिडियो कन्फ्रेन्स निकै विवादित बन्न पुगेको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भिडियो कन्फ्रेन्सलाई मन्त्रीपरिषद् बैठक भनि टुइट गरेपछि त्यस बैठकको बैधानिकता माथि नै प्रश्न उठेको थियो ।

    किनकी कानून अनुसार प्रधानमन्त्री देश बाहिर रहँदा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्रीलाई दिइएको हुन्छ ।

    यस्तो अवस्थामा प्रधानमन्त्रीले भिडियोका माध्यमबाट मन्त्रीहरुसँग गरिएको कुराकानीको विषयलाई लिएर ठूलो विवाद भइरहेको छ ।

    आइतबार पनि प्रधानमन्त्रीले मन्त्रीपरिषद्का सबै सदस्यसँग सामूहिक रुपमा भिडियोमा कुराकानी गरेका छन् ।

    कुराकानीका क्रममा समसामयीक विषयवस्तुबारे प्रधानमन्त्रीले मन्त्रीबाट जानकारी लिएको बताइएको छ ।

    प्रधानमन्त्रीले सुर्खेतमा गाईगोरुलाई भीरबाड लडाएर मारिएको घटनालाई गम्भीर रुपमा लिएको बताइएको छ ।

    प्रधानमन्त्रीको चासोपछि गृहमन्त्री रामबहादुर थापा बादलले छानविन समिति गठन गरी घटनबारे छानविन भइरहेको प्रधानमन्त्रीलाई अपडेट गराएका थिए ।

    चिनियाँ ह्याकरले एटीएमबाट पैसा चोरेको घटनाबारे पनि उनले प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

  • पत्रकार बन्न लाइसेन्स अनिवार्य

    पत्रकार बन्न लाइसेन्स अनिवार्य

    काठमाडौं । पत्रकारको योग्यताको विषयलाई लिएर नेपालमा लामो समयदेखि वहस जारी रहेको छ । खासगरी ब्लग र यूट्यूवको लहर आएसँगै पत्रकारको योग्यतामाथि प्रश्न उठिरहेको छ ।

    यसै मेसोमा कानुनमै पत्रकारको योग्यता तोक्ने गरी सांसदहरुले मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएका छन् ।

    आइतबार सत्तारुढ दल नेकपाका १४ जना राष्ट्रियसभा सदस्यले संसद सचिवालयमा दर्ता गराएका छन् र संशोधन प्रस्तावमा पत्रकारिता पेशामा प्रवेश गर्दा परीक्षा लिनुपर्ने उल्लेख गरिएको छ ।

    पत्रकारिता व्यवसायी परीक्षा नाम दिइएको यो परीक्षा मिडिया काउन्सिल अन्तर्गत रहने परीक्षा समितिले लिने उनीहरुको प्रस्तावमा उल्लेख रहेको छ ।

    काउन्सिलले वर्षमा दुई पटक पत्रकारिता पेशामा प्रवेश गर्ने सम्बन्धि परीक्षा सञ्चालनको प्रस्ताव गरिएको छ ।

    त्यसका लागि पाठ्यक्रम पनि काउन्सिलबाटै तयार पार्नुपर्ने प्रावधान संशोधनमा समेटिएको छ ।

    पत्रकारिता क्षेत्रमा पढेलेखेका पत्रकारको तुलनामा राजनीतिक पहुँचका भरमा आएका मानिसहरुको बाहुल्य रहँदा यो पेशा प्रति नै नागरिकको वितृष्णा फैलिदै गएको छ ।

  • जिवित देवि कुमारीलाई मासिक ५० हजार भत्ता

    जिवित देवि कुमारीलाई मासिक ५० हजार भत्ता

    काठमाडौं । काठमाडौं महानगरपालिकाले जीवित देवी कुमारीको मासिक भत्ता बढाएको छ ।

    यसअघि २५ हजार रुपैयाँ मासिक दिँदै आएकोमा अब शतप्रतिशत बढाएर ५० हजार पर्याइएको महानगरपालिकाले जानकारी दिएको छ ।

    आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी मेयर विद्यासुन्दर शाक्यले कुमारीको मासिक भत्ता बढाउने घोषणा गरेका हुन् ।

    पूर्वकुमारीले मासिक १५ र पूर्व गणेश र पूर्व भैरवले १२–१२ हजार प्राप्त गर्नेसमेत कार्यक्रममा जानकारी गराइयो । चिताइदारको पनि मासिक भत्ता ५० हजार पुर्याइएको छ भने पूर्वचिताइदारले मासिक १५ हजार पाउने भएका छन् ।

    उनीहरुको यसअघिको रकम ८\८ हजार रुपैयाँ रहेको थियो । सोही कार्यक्रममा काठमाडौँ महानगरपालिकाले ईन्द्रजात्रा व्यवस्थापन समितिलाई १३ लाख ९३ हजार सात सय रुपैयाँको चेक दिएको छ ।

    इन्द्रजात्रालाई नेपालको पहिचानका रुपमा स्थापित गर्न विभिन्न मुलुकबाट विशिष्ट पाहुनाहरुसमेत बोलाउने तयारी गरिएको छ । काठमाडौं उपत्यका सांस्कृतिक विशेषताका कारण पनि विश्वभर परिचित शहर हो ।

  • ट्राफिक जाम छल्न एम्बुलेन्सको प्रयोग

    ट्राफिक जाम छल्न एम्बुलेन्सको प्रयोग

    तेहरान । एम्बुलेन्स आपतकालिन सेवामा प्रयोग हुने सवारी साधन हो । खासगरी सडकमा बीना अवरोध बिरामीलाई अस्पताल पुर्याउनु छ भने यसको प्रयोग गरिन्छ ।

    त्यसकारण यस सवारीमा एक प्रकारको साइरन जडान गरिएको हुन्छ । त्यो बजाइसकेपछि सडकमा सबैले आपतकालिन अवस्थामा रहेको मानिसको बचावटका लागि बाटो खाली गराइदिन्छन् ।

    तर, इरानबाट एक रोचक खबर बाहिरिएको छ, जहाँ पछिल्लो समय एम्बुलेन्सको प्रयोग आपतकालिन अवस्थामा भन्दा पनि ट्राफिक जामबाट बच्न बढी प्रयोगमा आइरहेको छ ।

    त्यो पनि गरिब मानिसले आँट गर्ने कुरै भएन । पहुँचवाला र धनीमनी मानिसले ट्राफिक जाम जामबाट सहजै पार पाउन धेरै रकम तिरेर एम्बुलेन्स प्रयोग गर्न थालेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

    यसरी सद्दे मानिसले एम्बलेन्सको दूरुपयोग गर्नु भने संसारभर गैरकानूनी मानिन्छ । इरानको राजधानी तेहरानमा यस प्रकारको गतिबिधि बढिरहेको छ ।

    तेहरान यस मुलुकको सबैभन्दा उच्च जनघनत्व भएको शहर हो । यस शहरमा मात्र १ करोड ४० लाख मानिस बसोबास गर्छन् ।

    हालै एक फूटबल खेलाडीले बोलाएको एम्बुलेन्सबाट यसको नमुना सार्वजनिक भएको हो । उनले एम्बुलेन्सलाई ट्याक्सीका रुपमा घरमा बोलाएका थिए । उनको घरमा कोही पनि बिरामी थिएनन ।

    खासगरी अभिनेता, खेलाडी तथा धनी मानिसहरुले जामबाट छुटकारा पाउन यो उपाय अपनाइरहेको संचारमाध्यमले लेखेका छन् ।

    एजेन्सी

  • कीर्तिपुरका मेयरलाई हाफ प्यायन्ट लगाएर भेट्न नपाइने

    कीर्तिपुरका मेयरलाई हाफ प्यायन्ट लगाएर भेट्न नपाइने

    कीर्तिपुर । कीर्तिपुर नगरपालिकाले मेयर उपमेयरलाई भेट्न आउने आगन्तुकलाई हाफ पायन्ट लगाएर नआउन सूचित गरेको छ ।

    नगरपालिकाले मंगलबार सूचना जारी गर्दै मर्यादित र शिष्ट पोशाकमा मात्र आउन र हाफ पायन्ट लगाएर नआउने आग्रह गरेको छ ।

    नगरपालिकाले भड्किलो पोशाकमा आगन्तुक आउन थालेपछि यस्तो सूचना जारी गर्नु परेको बताएको छ ।

    तर, सामाजिक संजालमा भने नगरपालिकाको यस सूचनाप्रति व्यापक आलोचना भइरहेको छ ।

    नेपालमा गरिब किसान नागरिकको बाहुल्य रहेको भन्दै सुकिला मुकिला मात्र भेट्ने मेयरको रणनीति गलत रहेको प्रतिक्रिया आइरहेका छन् ।

    तर, नगरपालिकाले भने सेवाग्राही भन्दा फुर्सदमा गफिने मान्छे हाफ पायन्ट मै छिर्न थालेपछि यस्तो निर्णय लिनु परेको बताएको छ ।

    मेयर र उपमेयरलाई भेट्न समेत दिउसो २ बजेपछि मात्र जानु पर्ने भएको छ ।

  • सुनको मूल्य एकै दिन १२ सय बढ्यो, इतिहासकै बढी भाउ

    सुनको मूल्य एकै दिन १२ सय बढ्यो, इतिहासकै बढी भाउ

    काठमाडौं । नेपालमा सुनको मूल्यले अर्को कीर्तिमान बनाएको छ । बजारमा छापावल सुनको मूल्य इतिहासकै महङ्गो भएको हो ।

    आइतबार एकै दिन सुन १२ सय रुपैयाँले बढ्यो । यससँगै सुनको भाउ ७२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    यसअघि सुनको मूल्य ७१ हजार ५ सय रुपैयाँ रहेको थियो । उक्त कीर्तिमान आइतबार तोडिएको हो ।

    तेजाबी सुन भने प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य प्रतितोला ८ सय ५० रुपैयाँ पुगेको महासंघले उल्लेख गरेको छ ।

    सुनको मूल्य ह्वात्तै बढेपछि बजारमा सुनको कारोबार ठप्प छ । सुन बैंकमा गएर थुप्रिएको छ ।

    नजिकिएको तीजमा पनि उपभोक्ताले सुनको वास्ता गरिरहेका छैनन् । किनकी बजारमा छोइनसक्नु भाउले नेपालीलाई सुन निकै परको वस्तु बनाइसकेको छ ।

    बिक्रि नै हुन नसकेपछि बैंकहरुबाट पनि सुनको आयात रोकिएको छ । बैंकहरुमा अहिले करीव ८ सय किलो सुन थुप्रिएर बसेको छ ।

  • फलफुल खानुहुन्छ ? सावधान !

    फलफुल खानुहुन्छ ? सावधान !

    योगेश डंगोल ‘आदी’/न्यूयोर्क

    अमेरिकामा हुनुहुन्छ र फलफुल खाँदै हुनुहुन्छ भने पर्खनुस् । पहिले फलफुलमा टाँसिएको स्टिकर हेर्नुस् । त्यसमा कतिवटा अंक छ ? कतिबाट शुरु भएको छ ? त्यो अंकको अर्थ के हो, के जनाई रहेको छ ? त्यो जानकारी लिएर मात्र खाँदा सही फलफुल खाएको ठहर्नेछ । नत्र अनेकौं डरलाग्दो रोगको शिकार हुन सक्नुहुन्छ । सरकारको स्वास्थ्य बिभागले फार्मबाट तुरुन्तै टिपेर ल्याएको फार्मर्स मार्केटको अर्गानिक फलफुल बाहेकका कुनै अन्य फलफुलको उत्पादन प्रकृया र भण्डारन गरिएको अवस्थाको चेकजाँच गरेर स्टिकर टाँसेपछि मात्र बजारमा बेचबिखन गर्न पाईन्छ । अमेरिकाको समस्या के छ भने, युरोपमा बन्देज गरिएको अवस्थाको फलफुल, तरकारी, जुस इत्यादी अमेरिकामा खुलेआम बिक्री बितरण भईरहेको हुन्छ । भारतबाट बिषाक्त तरकारी नेपालमा भित्रिएको समाचार जस्तै डरलाग्दो तरकारी फलफुल अमेरिकामा पनि बिक्री भईरहेको छ । 

    प्लास्टिकको भाँडोमा माईक्रोवेभ मार्फत तताएर खाँदा जस्तै खतरनाक तत्वहरु पेस्टिसाईट्स, प्रोसेस्ड र इन्जेक्टेड फलफुल तरकारीहरु खाँदा शरिरमा प्रवेश गर्दछ । जसको कारण क्यान्सर जस्ता रोगहरु लाग्ने सम्भावना बढी रहन्छ । यो नसोच्नुस् कि अमेरिकामा सबै कुरा राम्रो पाईन्छ । अमेरिका पैसाले सबै काम कुरा गर्न सकिने देश हो । कसैसँग यथेष्ट पैसा छ भने अमेरिकामा मान्छे मारेपनि कानूनका अनेक छिद्र प्रयोग गरी जेल बस्न नपर्ने देश हो । यहाँ जुन सामान, जति मुल्यमा, जसले जसरी बेचेपनि महंगो मुल्य लिएको निहुँमा कारवाही हुँदैन । उपभोक्ता आफै सचेत छैन भने यहाँ उस्तै चिजलाई दोब्बर मुल्य पनि लिइ दिन सक्छ । नेपालमा जस्तो खाद्य पदार्थको मुल्य सरकारले निर्धारण गर्दैन । अर्थात यहाँ समाजबादको कुनैपनि तप्काको अभ्यास हुँदैन । त्यसैले आफुले दैनिक खाने खाना कस्तो छ ? त्यो जान्न जरुरी छ । खासगरी फलफुल र तरकारी ।

    सामान्यतया हामीले बजारमा फलफुल छान्दा चिल्लो दाग नलागेको हेरेर छान्छौं । जुन गलत हो । राम्रो फलफुल चिल्लो हुँदैन । धरैजसो फलफुलमा लामो समयसम्म किरा नलागोस् भनेर किरालाई मन पर्ने फलफुलको गुण नै सुई हालेर निष्कृय पारेको हुन्छ । नकुहिनको लागि र फलफुलमा साईनिङ् ल्याउनको लागि टोक्सिक केमिकल्स लगाईन्छ । फरबुजालाई गुलियो बनाउका लागि इरिथ्रोसिन बी नामक सुई लगाइन्छ । रंगको सुई नगलाएको फरबुजा सिन्दुर जस्तो रातो कहिल्यै हुँदैन । काँचो केरा, गोलभेडा, आँप, सुन्तला, स्याऊ इत्यादी फलफुललाई काँचैमा किराबाट बचाउनको लागि टिपेर सुईबाट बाँकी पकाउनेसम्मको प्रकृया पुरा गरेको हुन्छ ।

    हरेक फलफुलमा टाँसिएको अंकको अर्थ के हो ?

    यदि फलफुलमा ५ अंकवाला स्टिकर टाँसिएको छ र त्यो ९ बाट शुरु हुन्छ भने त्यो पूर्ण रुपमा शुद्ध अर्गानिक हो । यस्तो फलफुल होलफुड, कुनै कुनै ट्रेडर्स जो, सबै अर्गानिक मार्केट्समा पाईन्छ । (न्यूयोर्क ज्याक्सन हाईट्समा बस्नुहुन्छ भने ३७ एभेन्यू बिटवीन ८४ र ८५ स्ट्रिटको अर्गानिक मार्केटमा पाईन्छ) 

    कुनै फलफुलमा ५ अंकवाला स्टिकर छ तर ८ बाट शुरुभएको छ भने जेनेटिकल्ली मोडिफाईड हो । खान सकिन्छ र अर्गानिक होइन ।

    तँपाईले किन्नु भएको फलफुलमा ४ अंकवाला स्टिकर छ । जुन ३ वा ४ अंकबाट शुरु भएको छ भने आजै खान बन्द गर्नुहोस् । त्यो फलफुललाई ३ ओटा कृतिम प्रकृया पुरा गरेको छ । पकाउन, सुरक्षित राख्न र चिल्लो देखाउन ३ किसिमको हानिकारक केमिकलको प्रयोग गरिएको छ । थप जानकारी हेल्थ डिपार्टमेण्टको वेवसाईड वा गुगलदाईबाट लिन सकिन्छ ।

    हरेक वर्ष अमेरिकामा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सरकारले चेतनामुलक कार्यक्रम गरिरहेको हुन्छ । तर व्यापारी र पहुँचवालाले त्यो समाचार बाहिर आउन नै दिदैनन् । सरकारी निकायले पनि, कारण भगवान जानुन, तर तदारुकताका साथ पहल गर्दैनन् । जबकी युरोपमा हरेक महिना यस सम्वन्धमा जनचेतनामुलक कार्यक्रमहरु भईरहेका हुन्छन् । वर्ल्ड हेल्थ अर्गनाईजेशन र डिपार्टमेण्ट अफ हेल्थ लगायतका सरोकारवाला निकायलाई सबै यथार्थ थाहा छ तर अमेरिकाको ३० करोड जनताको बजार मागलाई बिचार गरेर यस बिषयमा मौन देखिन्छ ।

    सरकारले रोकोस् नरोकोस्, आफु र आफ्नो परिवारको स्वास्थ्यलाई बिग्रनबाट रोक्ने काम तँपाईको हो । थोरै खानुहोस् तर राम्रो शुद्ध खानुहोस् । खानाको स्वरुपमा बिष सेवन गरेर बहुमुल्य जीवनलाई रोगको मुख नधकेलौं ।

  • मापसेको आरोपमा एनआरएनए अध्यक्ष भट्टलाई विमानस्थलबाटै फिर्ता

    मापसेको आरोपमा एनआरएनए अध्यक्ष भट्टलाई विमानस्थलबाटै फिर्ता

    काठमाडौं । अत्यधिक मादक पदार्थ सेवन गरी जहाज चढेको भन्दै सिल्क एयरले गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्लाई जहाजबाटै फिर्ता पठाइदिएको छ ।

    शनिबार राती काठमाडौंबाट सिंगापुर जाने तयारीमा रहेका भट्ट र उनका सहयोगी सनत न्यौपानेलाई एयरलाइन्सले यात्रामा रोक लगाएको हो ।

    उनी सिंगापुरमा उपचारार्थ रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जान लागेको बताइएको छ ।

    उनका सहयोगी सनत न्यौपानेले फेसबुक लाइभबाटै प्रधानमन्त्रीलाई भेट्न सिंगापुर जान लागेको बताएका छन् ।

    शनिबार दिउसभर विजेनेश बैठकहरुमा सहभागी हुने क्रममा मादक पदार्थ सेवन गरेको समेत उनले स्वीकार गरेका छन् ।

    विमानस्थ्लको सबै प्रक्रिया पुरा गरी जहाजमा उड्न तयार रहेको अवस्थामा भट्ट र न्यौपानेलाई जहाजका पाइलटले ओर्लन आदेश दिएको बताइएको छ ।

    संसारभर मादक पदार्थ सेवनका कारण यात्रुलाई कम्पनीले उडानमा रोक लगाउने प्रचलन हुन्छ । यस्तो काण्डमा बढीजसो सेलिब्रटी फसिने गरेका छन् ।

    किनकी उनीहरु शक्ति प्रदर्शनको घमण्ड विमानस्थलका कर्मचारीसमक्ष देखाउने गर्छन् ।

  • सम्पत्ति सुद्धिकरण मामलामा भारतका पूर्व अर्थमन्त्री चिदम्बरम पक्राउ

    सम्पत्ति सुद्धिकरण मामलामा भारतका पूर्व अर्थमन्त्री चिदम्बरम पक्राउ

    नयाँ दिल्ली । सम्पत्ति सुद्धिकरणका माध्यमबाट भ्रष्टाचार गरेको अभियोगमा भारतका पूर्वअर्थमन्त्री पी. चिदम्बरम पक्राउ परेका छन् ।

    भारतीय केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)ले बुधबार मध्यरातमा उनलाई घरबाटै पक्राउ गरेको थियो ।

    पक्राउ गर्ने समयमा ठूलो संख्यामा समर्थक उनको घरबाहिर भेला भएका थिए । प्रधानमन्त्री मनमहोन सिंहको पालामा अर्थमन्त्री बनेका उनी भारतका चर्चित अर्थमन्त्री पनि हुन् ।

    उनलाई बिहीबार अदालतमा उपस्थित गराउने तयारी छ । १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिने तयारी ब्यूरोले गरिरहेको छ ।

    उनले अग्रीम जमानतको याचिका दिल्ली उच्च अदालतमा गरेको भएपनि अदालतले उनको याचिक अस्वीकार गर्यो ।

    त्यसपछि उनी पक्राउ परेका हुन । मिडिया प्रविधि कम्पनी आईएनएक्स काण्डमा उनी मुछिएका छन । उक्त कम्पनीमा विदेशी लगानी स्वीकृत गर्ने विषयमा आर्थिक अनियमितताको आरोप उनीमाथि लागेको छ ।

    करीव २४ घण्टा सम्पर्क विहिन अवस्थामा रहेका पी चिदम्बरम बुधबार अकस्मात कांग्रस मूख्यालय पुगी पत्रकार सम्मेलन गरेका थिए ।

    उनले आफूमाथि लागेको आरोपको खण्डन गरेका थिए । पत्रकार सम्मेलन गरी घर फर्कना साथ ब्यूरोले उनलाई पक्राउ गर्यो ।

    भारतमा पछिल्लो समय भ्रष्टाचार आरोपमा मुद्दा चलाइएको उनी हाइप्रोफाइल व्यक्ति हुन् ।

    यस घटनाले आगामी दिनमा ठूलो राजनीतिक तरंग समेत ल्याउने आंशक विश्लेषकहरुले गरेका छन् ।

    नरेन्द्र मोेदीको दोस्रो कार्यकालमा केही ठूला काण्डहरुको फर्दाफास हुने अनुमान यसअघि नै गरिएको थियो ।

    एजेन्सी