Category: रोचक खवर

  • गोकुल काण्डबारे प्रचण्ड भन्छन् : गल्ती गर्नेले छूट पाउँदैनन्

    गोकुल काण्डबारे प्रचण्ड भन्छन् : गल्ती गर्नेले छूट पाउँदैनन्

    नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गोकुल बास्कोटाको अडियो सार्वजनिक भएको घटनाबारे सार्वजनिक रुपमा मुख खोलेका छन् ।

    उनले गल्ती गर्ने कसैलाई पनि पार्टीबाट छुट नहुने स्पष्ट पारेका छन् । प्रेस संगठन नेपाल नवलपुरले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले गल्ती गर्नेलाई पार्टीबाट कुनै पनि प्रकारको संरक्षण नहुने स्पष्ट पारे ।

    जसले गल्ती गर्छ, ऊ कारवाहीको भागिदार हुनै पर्ने उनको भनाई छ । कमिसन रकमका लागि मोलमोलाई गर्दै गरेको अडियो सार्वजनिक भएपछि सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले राजिनामा दिएका छन् ।

    उनको अडियो काण्डपछि वर्तमान सरकारको भ्रष्टाचार विरोधी अभियानबारे धेरैले प्रश्न उठाएका छन् ।

    सञ्चारमन्त्रीको विषयमा आएको कुराबारे प्रधानमन्त्रीले तत्काल पहल लिएर उहाँलाई राजीनामा दिने र बाँकी अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्ने पहल लिएकाले गोकुल बास्कोटा काण्ड समाधानको विषयतिर गएको प्रचण्डको भनाई छ ।

    अहिले विषय अनुसन्धानको प्रक्रियामा रहेकाले गल्ती गर्नेको पक्षमा पार्टी नउभिने स्पष्ट पारे । उनले पार्टी र सरकारका कामलाई प्रभावकारी बनाउने सम्बन्धमा गहन छलफल भइरहेको समेत उल्लेख गरेका छन् ।

  • नेपालमा सुनको कीर्तिमानी मूल्य

    नेपालमा सुनको कीर्तिमानी मूल्य

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार कीर्तिमान कायम गर्दै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७८ हजार १ सय र तेजावी सुन ७७ हजार ८ सय रुपैयाँमा कारोबार भयो ।

    यो अहिलेसम्मकै बढी हो । शुक्रबार चाँदीको मूल्य प्रतितोला ९ सय १५ रुपैयाँ पुगेको छ ।

    बिहीबारको तुलनामा सुनको मूल्य तोलामा एकै दिन पाँच सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने यथावत नै रहेको छ ।

    ६ फागुनयता सुनको मूल्यले हरेक दिन कीर्तिमान राखेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दा त्यसले नेपाली बजारमा समेत सुनको मूल्यले निरन्तर भाउ प्रभावित गरिरहेको छ । मूल्य बढेपछि सुनको खपत भने निरन्तर घट्दो क्रममा रहेको छ ।

  • बास्कोटाले गरे राजिनामा

    बास्कोटाले गरे राजिनामा

    काठमाडौं । आर्थिक लेनदेनका लागि मोलमोलाई गरेको अडियो सार्वजनिक भएसँगै सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले राजिनामा गरेका छन् ।

    उनले प्रधानमन्त्री समक्ष राजिनामा बुझाएका हुन् । आफूमाथि उठेको प्रश्नका कारण नैतिक रुपमा जिम्मेवारी लिँदै राजिनामा गरेको मन्त्री बास्कोटाले उल्लेख गरेका छन् ।

    सेक्यूरिटी प्रेस खरीद गर्ने सम्बन्धमा उनले कमिसनवापत प्राप्त हुने रकमका सम्बन्धमा गरेको कुराकानीको अडियो टेप सार्वजनिक भएपछि उनीमाथि नैतिक दवाव सिर्जना भएको हो ।

    यद्दपी उनले यो कमिसन लिन भने पाएनन् । किनकी उनले स्वीस कम्पनीबाट किन्ने भनेको सेक्यूरिटी प्रेसको सम्भौता पछि फ्रान्सेली कम्पनीबाट किन्ने निर्णय गरिएको थियो ।

    यसबारे लेखासमितिले समेत निर्देशन दिने तयारी गरेको थियो । तर, त्यो निर्देशन आउन नपाउँदै अडियो सार्वजनिक भएको हो ।

    बिहीबार बिहान धनगढी रहेका मन्त्री बास्कोटा काठमाडौं आएलगत्तै दिउँसो राजिनामा गरेका हुन् ।

  • संचारमन्त्री बास्कोटाले आर्थिक मोलमोलाइ गरेको अडियो सार्वजनिक, राजनीतिमा हङ्गामा

    संचारमन्त्री बास्कोटाले आर्थिक मोलमोलाइ गरेको अडियो सार्वजनिक, राजनीतिमा हङ्गामा

    काठमाडौं । सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले आर्थिक मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि राजनीति तात्तिएको छ ।

    सेक्युरिटी प्रेस खरिद गर्ने सम्बन्धमा स्विस कम्पनीका एजेन्टसङ्गको अडियो वार्तामा मन्त्री बास्कोटाले कर्मचारीलाई अश्लील शब्दसमेत बोलेका छन् ।

    उनले भनेका छन्, “यस्तो कुरामा यी मु… कर्मचारीसँग लग्यो भने यिनीहरुले हेप्छन्…’

    अडियो सम्वादमा सेक्युरिटी प्रेसबारे मन्त्री बास्कोटाले कर्मचारीलाई संकेत गर्दै एजेन्टसँग भनेका छन्, ‘यो मु….ले बनाएको त ३५ अर्बको छ नि, यो ३५ अर्ब नै नभएपछि, २७ अर्बको निस्केपछि २८ अर्ब बनाउनोस् ।’

    अडियो सम्वादमा मन्त्री बास्कोटासँग कुरा गर्ने व्यक्ति स्वीस कम्पनको एजेन्ट भएको खुलेको छ ।

    अडियोको सुरुमै एजेन्टले मन्त्री बास्कोटालाई भनेका छन्,‘ यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ.. समय मिलाउनुहोला ।’

    अडियोमा सेक्युरिटी प्रेसका एजेन्ट र मन्त्री बास्कोटावीच ७४–७५ करोड कमिसन लेनदेनबारे कुरा भएको पाइएको छ ।

    मन्त्री बास्कोटाले कर्मचारीहरुलाई नभन्नु भन्दै कमिसन लेनदेनमा सहमति जनाएको अडियो सम्वाद बाहिरीएको हो ।

    मन्त्री बास्कोटासँग कमिसनबारे सम्वाद गर्ने व्यक्ति स्वीस कम्पनीका एजेन्ट विजय मिश्र हुन् ।

    उनैले यो सम्वाद बाहिर ल्याएका हुन ।

    मन्त्रीले ठूलो कमिसनको लोभमा स्विस कम्पनीलाई छाडेर जर्मन कम्पनी सङ्ग सम्झौताको प्रक्रिया अगाडी बढाएपछी मिश्रले अडियो पत्रकारलाई दिएका हुन ।

    अडियो सार्वजनिक भए सङ्गै प्रधानमन्त्री र प्रचण्ड बीच भेटवार्ता भएको छ

  • चिनियाँ राजदूतको विज्ञप्तीपछि बिच्किए सम्पादक

    चिनियाँ राजदूतको विज्ञप्तीपछि बिच्किए सम्पादक

    काठमाडौं । द काठमाडौं पोष्ट’मा प्रकाशन भएको एक लेखको विषयमा मंगलबार नेपालस्थित चिनियाँ दूतावासले कडा शब्दमा विज्ञप्ति जारी गर्यो ।

    खासगरी माओको तस्वीरमा मास्क प्रयोग भएको कार्टुनसहित प्रकाशित विज्ञप्तीपछि नेपालमा दूतावास आलोचित बन्न पुगेको छ ।

    बुधबार नेपाली संचारमाध्यमका सम्पादकले दूतावासको विज्ञप्तीप्रति आफनो ध्यानाकर्षण भएको बताएका छन् ।

    सम्पादकहरुले बुधबार एक संयक्त वक्तव्यमा जारी गरेका छन् । उक्त वक्तब्यमा दूतावासले कूटनीतिक मर्यादा बिर्सेर वक्तब्य निकालेको उल्लेख गरिएको छ ।

    द काठमाडौं पोस्टले मंगलबार विचार पृष्ठमा सिकागो ट्रिब्युन र द कोरियन हेराल्डमा प्रकाशित इभो डाल्डरको चीनसम्बन्धी लेख साभार गरेर जस्ताको तस्तै छापेको थियो ।

    उक्त लेखका विषयमा चिनियाँ दूतावासको कडा टिप्पणी सार्वजनिक भएको थियो । चिनियाँ दूतावासको विज्ञप्तिमा सम्पादकहरुले आपत्ति जनाएका छन् ।

    उनीहरुले कुनै विचार वा समाचार प्रकाशित गरेवापत सम्पादकको नामै उल्लेख गरेर लाञ्छित गर्ने र धम्की दिने कार्यप्रति असहमति जनाएका हुन् ।

    दूतावासको विज्ञप्तीमा काठमाडौं पोष्टका सम्पादकको नाम नै किटान गरी उनले निरन्तर तीन विरोधी अभियानलाई साथ दिएको उल्लेख गरिएको छ ।

  • पूर्वराजा असन्तुष्ट, भन्छन् ‘प्रजातन्त्र व्यवहारमा देखिनुपर्छ’

    पूर्वराजा असन्तुष्ट, भन्छन् ‘प्रजातन्त्र व्यवहारमा देखिनुपर्छ’

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह अहिलेका शासकहरुको काम गर्ने शैलीबाट असन्तुष्ट छन् ।

    त्यसलाई उनले ७० औँ प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा प्रेशित गरेका छन् ।

    राजनीतिक दललाई उनले व्यवहारमा प्रजातान्त्रिक आचरण देखाउन सन्देश दिएका छन्। उनले प्रजातन्त्र शब्दमा भन्दा कर्ममा देखिनु पर्ने उल्लेख गरेका छन् ।

    अहिले भारतमा रहेका पूर्वराजा ज्ञानेन्द्रले ‘प्रजातन्त्र शब्दमा होइन, कर्ममा उत्रनु पर्दछ, रुपमा होइन, सारमा झल्कनु पर्दछ, भनेका छन् ।

    प्रजातन्त्र कुनै अलंकार वा रुपान्तरण मात्र होइन। त्यो जीवनपद्धति र व्यवहारमा देखिनु पर्दछ।

    राष्ट्रको प्रतिष्ठा प्रवर्द्धन र आम जनचाहनाको परिपूर्ति नै प्रजातन्त्रको प्राण हो । प्रजातन्त्र देश र जनताको निम्ति प्रतिफलकारी हुनुपर्ने उनको धारणा छ ।

    केही टाठाबाटाका निमित्त नभई प्रजातन्त्र सबै जनता तथा सिंगो देशको निम्ति प्रतिफलकारी हुनुपर्ने उनको भनाई छ ।

  • देउवा गच्छदारकै पक्षमा

    देउवा गच्छदारकै पक्षमा

    विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भष्ट्राचार आरोप लागेका आफ्नो पार्टीका उपसभापति विजय कुमार गच्छदारको बचाउ गरेका छन् ।

    उनले ललिता निवास प्रकरणमा गच्छदारमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन् ।

    मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले उस्तै मुद्दामा कसैले उन्मुक्ति पाउने र कसैमाथि मुद्दा दर्ता हुनु अन्याय भएको उनको भनाई छ ।

    गच्छदारमाथि भएको अन्यायको कांग्रेसले प्रतिवाद गर्ने समेत उनले बताए ।

    ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा अख्तियारले तत्कालीन मन्त्री गच्छदारलगायत १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    तर सोही मुद्दामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई भने नीतिगत निर्णय गरेको भन्दै मुद्दा दायर गरेको थिएन ।

    अख्तियार सरकारको दबाव र प्रभावमा परेको भन्दै कांग्रेसले यस प्रकरणको विरोध गर्दै आएको छ ।

  • प्रहरी सङ्गठनमा जागीर छाड्ने सङ्ख्या बढ्दो, रोक्न नयाँ नियम ल्याइयो

    प्रहरी सङ्गठनमा जागीर छाड्ने सङ्ख्या बढ्दो, रोक्न नयाँ नियम ल्याइयो

    काठमाडौं । प्रहरी सङ्गठनमा जागिर छाड्ने युवाको सङ्ख्या बढ्दो छ ।

    खासगरी एक पटक सुरक्षा फौजमा तालीम प्राप्त गरि अनुभव बटुलेका युवालाइ विदेशमा राम्रो पारिश्रमिकमा काम पाइने प्रलोभनले धेरै युवा पेशाबाट पलायन हुने गरेका छन् ।

    नेपालको मगङ्गिमा पारिश्रमिकले खान लाउन, बालबच्चा पढाउन र बाउ आमाको उपचार खर्च नै नधान्ने अवस्था नेपालमा छ ।

    त्यसकारण वैदेशिक रोजगारीका लागि जागिर छाड्ने प्रवृती बढेको हो ।

    युवाहरुले धमाधम जागिर छाडिरहेका छन्। यसले उनीहरुको तालिममा राज्यले गर्ने ठूलो खर्च खेर जाने गरेको छ ।
    धमाधम जागिर छाड्ने युवा बढेपछि नेपाल प्रहरीले जागिर छाड्नु अघि केही नयाँ नियम पालना गर्नुपर्ने प्रावधान ल्याएको छ।

    अब प्रहरीमा काम गर्दागर्दै राजीनामा दिन चाहने व्यक्तिले श्रीमतीलाई साक्षी राख्नुपर्ने प्रावधान आएको हो ।

    राजीनामा दिनेक्रममा स्वीकृतिसहित स्वयं श्रीमतीलाई उपस्थित गराउनुपर्ने नियम नेपाल प्रहरीले ल्याएको हो ।

    परिवारको सहमती बिना नै जागिर छाड्ने र त्यसले पछि पारिवारिक कलह बढाएको गुनासो पछि सङ्गठनले यस्तो नियम ल्याउनु परेको बताएको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार अब प्रहरी जवान र हवल्दारले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा राजीनामा बुझाउनु पर्नेछ ।

    त्यसरी राजीनामा दिँदा श्रीमतीलाई उपस्थित गराउनुपर्नेछ ।

    कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ७ महिनामा १५९२ जना प्रहरीले जागिर छाडिसकेका छन् ।

    अघिल्लो वर्ष ३०७३ जना प्रहरीले जागिर छाडेको तथ्यांक कार्यालय सङ्ग छ ।

  • खरिपाटीका स्थानीयमा कोरोना आतंक

    खरिपाटीका स्थानीयमा कोरोना आतंक

    भक्तपुर । चीनको वुहानबाट ल्याइएका नेपाली यतिबेला दङ्ग छन् ।

    उनीहरुले सरकारलाइ स्यावासी दिइरहेका छन ।

    अर्कोतर्फ उनीहरुलाई राखेको स्थान खरिपाटीमा भने एक प्रकारको आतंक छ ।

    खरिपाटिमा स्थानीयहरु अब कोरोना फैलन्छ भन्ने त्रासमा छन् ।

    त्यसकारण संभव हुनेहरूले आइतबारबाटै घर र डेरा छाडेर अन्तै जान थालेका छन् ।

    सोमबार खरिपाटिबाट दर्जनौ व्यक्तिले सो स्थान छाडेको स्थानीय प्रशासनले जनाएको छ ।

    क्वारेन्टाइनमा राखेका विद्यार्थीहरुको चहलपहल बाहिरैबाट देखिने र उनीहरुको सासबाट खुला हावामा किटाणु जादा कोरोना फैलने त्रासमा स्थानीय छन् ।

    हावाबाट भन्दा पनि सङ्क्रमित मानिसको नजिक जादा मात्र यो रोगका किटाणु सर्छन भनेर सरकारले स्थानीयलाई काउन्सिलिङ नै गर्न सकेको छैन ।

    अर्कोतर्फ चीनबाट आएका नेपाली सङ्क्रमित होइनन्, संक्रमण मात्र होइन, अलि उच्च ज्वरो आएका मानिसलाइ समेत चीनले विमानस्थल मै रोक्छ ।

    यसपटक पनि ४ जना नेपाली चीनमै रोकिए ।

    अन्तर्राष्ट्रिय प्रचलन अनुसार कम्तीमा दुई साता क्वारेन्टाइनमा राख्नु पर्ने भएकाले यसो गर्नु परेको सम्बन्धमा सरकारले स्थानीयलाई सम्झाउन नसक्दा खरिपाटिमा सामाजिक समस्या देखा परेको हो ।

  • काङ्ग्रेस भन्यो : दुई वर्षको काममा सरकार फेल

    काङ्ग्रेस भन्यो : दुई वर्षको काममा सरकार फेल

    काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले दुई वर्षको काममा सरकार “फेल” भएको विश्लेषण गरेको छ ।

    सरकारले यस अवधिमा गरेका कामलाइ पास मार्क समेत दिन नसकिने विश्लेषण काङ्ग्रेसको रहेको छ ।

    त्यसो त काङ्ग्रेसले आफ्नो प्रतिपक्षी भूमिका समेत प्रभावकारी भने नभएको बताएको छ ।

    काङ्ग्रेसले आइतबार सरकारका कामको विश्लेषण बारे आफ्नो धारणा सार्वजनिक गरेको हो ।

    त्यसक्रममा काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरेका थिए ।

    उनले पार्टीबाट शालीन र जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह भएपनि प्रतिपक्ष कमजोर भएको आलोचना खेप्नुपरेको स्वीकार गरे ।

    आगामी दिममा जिम्मेवार बन्ने उनको भनाइ थियो ।

    तर, काङ्ग्रेस सालिन हुनुलाइ कमजोरी भने नठान्न उनले चेतावनी दिए ।

    शर्माले भने, ‘कांग्रेसको भूमिकालाई कमजोरी ठान्ने मनोविज्ञान सत्ताले कम्तीमा राख्न हुन्न भन्ने अपिल र आग्रह गर्न चाहन्छु ।’

    सरकार सङ्ग अनुकुल समय हुदाहुदै पनि त्यसलाइ उपयोग गर्न नसकेको उनको भनाइ छ ।

    काङ्ग्रेसले नेकपाको घोषणापत्र पल्ट्याउदै उसले गरेका वाचाअनुसार काम गर्नै नसकेको प्रतिक्रिया दिएको छ ।

    सरकारले दुई बर्षमा गर्ने भनेका सबै कार्यक्रम अलपत्र परेको, चुनावमा गरिएका बाचाहरुको कन्तबिजोग रहेको कांग्रेसको भनाइ छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार संसदमा सम्वोधन गर्दै सरकारले सबैतिर राम्रो काम गरेको दावी गरेका थिए । काङ्ग्रेसले भने उक्त दाविमा सत्यता भेटेन ।

    सरकार अधिनायकवादी लागेको समेत काङ्ग्रेसको भनाइ छ । वर्तमान सरकार गठन भएको ३ फागुनमा दुई वर्ष पूरा भएको छ

  • ८६ अर्बका १२ सयभन्दा बढी ठेक्का अलपत्र

    ८६ अर्बका १२ सयभन्दा बढी ठेक्का अलपत्र

    देशभर १२ सय भन्दा बढी ठेक्का अलपत्र अवस्थामा रहेको पाइएको छ । कतिपय ठेक्का लागेर अपलत्र परेका छन् भने कतिपयको काम समेत अगाडी बढिसकेको छ ।

    यस्ता आयोजनामा ठेकेदारले पेस्की र जमानतबापत १० अर्ब समेत बुझिसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग गत वर्ष यस्तो आयोजनाको विवरण संकलन गरेको थियो ।

    अहिले उक्त विवरणलाई पुनः अपडेट गरेको छ । अपडेट अनुसार देशभर रुग्ण ठेक्काको संख्या एक हजार दुई सय दुई रहेको छ । यसमा राज्यले ८६ अर्ब ४४ करोड लगानी गरिसकेको छ ।

    एक हजार एक सय ५३ वटा ठेक्का वेवारिसे अवस्थामा छन् । त्यस्ता आयोजनाका लागि राज्यले ४० अर्ब ३६ करोड लगानी गरिसकेको छ ।

    गतवर्ष रुग्ण आयोजनाको सूचि एक हजार आठ सय ४८ देखिएकोृ थियो ।

    अख्तियारको तथ्यांक अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका सात सय एक, शहरी विकास अन्तर्गतका दुई सय ९३, उर्जा अन्तर्गतका एक सय ७३, संघीय मामिला अन्तर्गतका २३, पर्यटन अन्तर्गतका ७, संचार अन्तर्गतका ४ र खानेपानी मन्त्रालय अन्तर्गतका एक आयोजना रुग्ण अवस्थामा रहेका छन् ।

  • असारसम्म काठमाडौंमा मेलम्ची !

    असारसम्म काठमाडौंमा मेलम्ची !

    काठमाडौं । सरकारले आगामी असारसम्म काठमाडौंमा मेलम्चीको पानी आइसक्ने दावी गरेको छ ।

    खानेपानी मन्त्री विना मगरले बिहिवार मन्त्रालयको तर्फबाट स्वेतपत्र जारी गर्दै उक्त दावी गरेकी हुन ।

    मन्त्री मगरका अनुसार आयोजनाको कामले गति लिएको छ काठमाडौं उपत्यका भित्र खानेपानी पाइपको सन्जाल बिस्तारको काम उत्तिकै गतिमा भइरहेको छ ।

    जसले गर्दा असारसम्म मेलम्चीको पानी काठमाडौं आउने आधार तय भएको छ ।

    काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर खानेपानी बितरण गर्ने उद्देश्यले यो आयोजना शुरु भएको हो ।

    आर्थिक वर्ष २०५५\५६ बाट शुरु भएको यो आयोजनामा अहिलेसम्म २७ अर्ब खर्च भइसकेको छ ।

    चालू आवमा मात्र ७ अर्ब ३८ करोड बजेट आयोजनाका लागि छुट्टाइएको छ ।

  • अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी जीत

    अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी जीत

    काठमाडौं । अमेरिकामाथि एक दिवसीय क्रिकेटमा नेपालले कीर्तिमानी जीत निकालेको छ ।

    त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालले बुधबार अमेरिकामाथि ८ विकेटको रवाफिलो जीत निकालेको हो ।

    बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकालाई वानडे इतिहासमै कीर्तिमानी कम स्कोरमा सम्ट्दा मात्र ३५ रन मात्र बनाउन दियो ।

    टस जितेर बल रोजेको नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको हो ।

    नेपाली बलर सन्दीप लामिछानेले ६ र सुशन भारीले ४ विकेट लिएर अमेरिकाको पारीलाई ध्वस्त बनाएका थिए ।

    अमेरिकाले दिएको ३६ रनको न्यून लक्ष्य नेपालले ५.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो ।

    लेग स्पिनर सन्दीप लामिछाने एक्लैले ६ विकेट लिएर नेपालको तर्फबट वानडे क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी बने ।

    उनी एशोसिएट मुलुकबाट एकै पारीमा सर्वाधिक उत्कृष्ट पिगरमा बलिंग गर्ने खेलाडी समेत बन्न सफल भए ।

    अमेरिकाले नेपालविरूद्ध बनाएको ३५ रन एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो सबैभन्दा कम स्कोर हो ।

    सन् २००४ मा श्रीलंकाले जिम्बावेलाई समान ३५ रनमै रोकेको थियो । जितसँगै नेपालले त्रिकोणात्मक सिरिजमा दुई जित हात पारेको छ।

    यसअघि पनि नेपालले अमेरिकालाई नै हराएको थियो।

    त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकी र ओमानी टोली नेपाल भ्रमणमा आएका हुन् । ओमानले सिरिजका चारवटै खेल जित्यो । ओमानले नेपाल र अमेरिका दुबैलाई हराएको हो ।

  • दिल्लीमा आमआदमीको ह्याट्रिक, केजरीवाललाई भारी बहुमत

    दिल्लीमा आमआदमीको ह्याट्रिक, केजरीवाललाई भारी बहुमत

    काठमाडौं । भारतको दिल्ली विधानसभामा आम आदमी पार्टीले लगातार तेस्रो पटक चुनाव जितेको छ ।

    केजरीवालको पार्टी आम आदमीले भारी बहुमतका साथ चुनाव जितेको हो । मंगलबार साँझसम्म अधिकांश सीटको नतिजा आइसकेको छ ।

    कूल ७० सीटका लागि भएको निर्वाचनमा आम आदमीले भारी बहुमत ल्याएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केजरीवाललाई बधाई समेत दिएका छन्।

    शनिबार दिल्लीमा भएको विधानसभा चुनावको नतिजा मंगलबार बिहानदेखि आउन थालेको छ ।

    साँझसम्म अधिकांश ठाउँको अन्तिम नतिजा आइसकेको छ। प्रधानमन्त्रीले आमआदमीलाई बधाई दिँदै दिल्लीका जनताको आकांक्षा पुरा गर्न शुभकामना समेत दिएका छन् ।

    मंगलबार साँझसम्म आमआदमी पार्टीले ४६ सिटमा जित निकालेको छ । १६ सिटमा अग्र स्थानमा छ ।

    बहुमत ल्याउन ३६ सीट भए पुग्छ । भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टी (भाजपा)ले दिल्लीमा मात्र ६ सिटमा जीत निकालेको छ ।

    अब दुई सीटमा मात्र भाजपाको अग्रता छ । मंगलबार रातीसम्म सबै स्थानको नतिजा आइसक्नेछ ।

    आम आदमी पार्टीले ९० प्रतिशत सिट ल्याएको छ । अब उसले केजरीवालको नेतृत्वमा पुन सरकार चलाउने छ ।

    उनी यसअघि लगतार दुई पटक मुख्यमन्त्री बनिसकेका छन् ।

    केजरीवाल सन् २०१३मा ४९ दिनका लागि मुख्यमन्त्री बनेका थिए।

    सन् २०१५मा भएको विधानसभा चुनावमा ७० मध्ये ६७ सिट जित हासिल गरी उनको पार्टीले एकलौटी सरकार चलाएको थियो । अहिले पनि आम आदमी कै एकलौटी सरकार चल्नेछ ।

  • गच्छदारको मुद्दामा कांग्रेस लचिलो, अब संसद चल्ने

    गच्छदारको मुद्दामा कांग्रेस लचिलो, अब संसद चल्ने

    काठमाडौं । उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान ायोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै आक्रामण भएको नेपाली कांग्रेस लचिलो बनेको छ ।

    अब नेपाली कांग्रेसले गच्छदारको मुद्दालाई लिएर संसदमा अवरोध गर्न नहुने निष्कर्षमा पार्टी पुगेको हो ।

    खासगरी सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको एक विभागजस्तो बनाएर राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाउने गरेको निष्कर्ष निकाल्दै कांग्रेसले गच्छदारको हकमा भने पार्टीले काँध थाप्न नसक्ने भएको छ ।

    कानूनी रुपमा कमजोर धरातल र गलत व्यवहार भइसकेको अवस्थामा गच्छदारले आफै कानूनी लडाई लड्नु पर्ने भएको छ ।

    खासगरी गच्छदारलाई मुद्दा हालेर दुई पूर्वप्रधानमन्त्रीलाई किन छाडेको भन्ने कांग्रेसकै अभिव्यक्तिले गच्छदारसमेत दोषि थिए भन्ने प्रमाणित हुने भएकाले यो मुद्दालाई कांग्रेसले अब नउचाल्ने निष्कर्षमा पुगेको हो ।

    संसदको गतिरोध खोल्नेबारे औपचारिक निर्णय संसदीय दलबाट हुने भएको छ ।

    अख्तियारले २२ माघमा ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भौतिक योजनामन्त्री गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै कांग्रेसले तीन पटकसम्म संसदमा अवरोध गरिसकेको छ ।

    सोमबार कांग्रेसका शीर्षनेताहरुबीच संसदको अवरोध हटाउने सहमति जुटेको हो ।

    पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्नुभन्दा अगाडी शीर्ष नेताबीच छलफल भएको थियो । केन्द्रीय समिति बैठकमा उपसभापति गच्छदारले डेढ घन्टा लामो भाषण गरेका थिए ।

  • हङकङमा पानी जहाजमै थुनिएका ३६ सय मानिस मुक्त

    हङकङमा पानी जहाजमै थुनिएका ३६ सय मानिस मुक्त

    हङकङ । हङकङ चार दिनसम्म पानीजहाजमा थुनिएका ३६ सय मानिस मुक्त भएका छन् । कोरोना भाइरसको निगरानीका लागि भन्दै उनीहरुलाई जहाजमै बन्धक बनाइएको थियो ।

    उनीहरुलाई कोरोनाको परीक्षण गरि मुक्त गरिएको छ । जहाजका केही कर्मचारी र यात्रमा कोरोना रहेको आंशक गरिएकोपछि वर्ल्ड ड्रीम क्रुजमा करीव३ हजार ६ सय यात्रु र चालक दललाई सदस्य जहाजमै थुनिएका थिए ।

    जापानमा त्यस्तै पानीजहाजमा कोरोनाभाइरसबाट सङ्क्रमित मानिस भेटिएपछि यो जहाजमा पनि आंशका बढेको थियो ।

    चीनबाट फैलिएको कोरोनाको संक्रमणले अहिलेसम्म ९ सय भन्दा बढी मानिसको ज्यान गइसेको छ ।

    चीनसहित २७ मुलुकमा यसको संक्रमण बढेको छ । ३५ हजार भन्दा बढी मानिसमो यसको संक्रमण फैलिएको छ ।

    यो रोगका कारण बढाईएको सुरक्षा निगरानीका कारण हरेक मुलुकमा मानिसको आवतजावत प्रभावित भएको छ ।

    त्यसमा पनि चिनियाँ नागरिकलाई अझ बढी सास्ती छ । चीनमा बसेर फर्कने अन्य मुलुकका नागरिकमाथि पनि उत्तिकै निगरानी गरिएको छ ।

  • २६ जनाको ज्यान लिने सैनिकलाई थाई प्रहरीले मार्यो

    २६ जनाको ज्यान लिने सैनिकलाई थाई प्रहरीले मार्यो

    बैंकक । थाइल्यान्डमा मास सुटिंगमार्फत दुई दर्जनको ज्यान लिने सैनिक जवानलाई थाई प्रहरीले मारेको छ ।

    शनिबार सैन्य क्याम्पबाट एक जना अफिसरलाई गोली हानेर मारेपछि उनी सपिंग मलमा आएका थिए ।

    त्यसक्रममा उनले गोली हानेर कूल २६ जनाको ज्यान लिएका थिए । एकसाथ धेरै जनाको हत्यापछि पनि उनी भाग्न सफल भएका थिए ।

    पछि खोजतलास गरी सुरक्षाकर्मीले आइतबार ती सैनिकलाई एउटा सपिङ मल भित्रै गोली हानेर मारिदिएका छन् ।

    उत्तरपूर्वी शहर नाखोन राट्चासीमाको टर्मिनल २१ मलमा ती सैनिकलाई मारिएको थाई अधिकारीले जनाएका छन् ।

    सन्क्याहा सैनिक ३२ वर्षीय जक्रपन्थ थोम्मा हुन् । थोम्माले नाखोन राट्चासीमास्थित सैन्य क्याम्पमा खटिएका थिए ।

    आक्रमण अघि उनी फेसबुक लाइभमा आएका थिए । त्यस क्रममा उनले बदला लिन लागेको बताएका छन् ।

    भिडियोमा त्यो केको बदलामा हमला गर्नु परेको थियो भन्नेचाही खुलाएका छैनन् ।

  • ६ महिनामा साढे २० हजार चालक ट्राफिक कारवाहीमा

    ६ महिनामा साढे २० हजार चालक ट्राफिक कारवाहीमा

    काठमाडौं । नेपालमा ट्राफिक नियमबारे चालक कति उदासिन छन् भन्ने एक उदाहरण ट्राफिक प्रहरीको तथ्याकले देखाएको छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २० हजार ४ सय ३३ जना नियम उल्लंघनको कसुरमा कारवाहीमा परेका छन् ।

    यो संख्या साउनयताको मात्र हो ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालका अनुसार जथाभावी पार्किङ, सवारी मोड्ने, ढोका खुल्लै राख्ने, एकतर्फी बाटोमा सवारी प्रवेश गराउने, हर्न बजाउने, लेन अनुशासन पालन नगर्नेजस्ता कारवाहीमा यी चालक परेका हुन् ।

    पछिल्लो समय प्रहरीले १ पुसबाट ट्राफिक उज्यालो कार्यक्रम संचालन गरेको छ ।

    यस कार्यक्रमका दौरान ८१ हजार २ सय ८९ जनालाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतनालगायत विषयमा जानकारी गराइएको छ ।

    जसमा ४५ हजार १ सय ४७ जना पैदलयात्री रहेका छन् ।

    १ हजार ६ सय ४८ जना मोटरसाइकल चालक, ६ सय १२ जाना निजी सवारी चालक, ११ हजार ८ सय ३ जना सार्वजनिक सवारी चालक र सहचालक, ९ सय जना विभिन्न संघ संस्थाका सवारीचालक, ७ हजार १ सय ४ जना विद्यार्थी र ५७ सरकारी सवारी चालकका लागि सचेतना चलाइएको थियो ।

    उपत्यकाको ट्राफिक व्यवस्थापन सहज, व्यवस्थित र चुस्त बनाउन प्रविधिमैत्री ट्राफिक व्यवस्थापनका काम समेत निरन्तर भइरहेको उनले बताए ।

    उनका अनुसार यसको पहिलो पाइला ट्राफिक लाइट हो । अहिले उपत्यकाका १७ स्थानमा लाइट बल्न थालेको छ ।

  • कांग्रेसका शक्तिशाली हस्तीलाई पालौपालो भ्रष्टाचार मुद्दा

    कांग्रेसका शक्तिशाली हस्तीलाई पालौपालो भ्रष्टाचार मुद्दा

    काठमाडौं । नेपाली कांग्रेसका शक्तिशाली नेता हुन विजय गच्छदार । उनको प्रभाव तराई र खासगरी जनजाती समुदायमा बढी छ ।

    थारु समूदायबाट प्रतिनिधित्व गर्ने उनी नेपालमा सम्भवतः धेरै पटक मन्त्री हुने नेतामा पर्छ । एक दर्जन पटक उनले कार्यकारी भूमिकामा मन्त्रालय सम्हालेका छन् ।

    उनी यस पटक ललितानिवास जग्गा काण्डमा मुछिएका र अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । यसरी मुद्दा चल्ने उनी एक्लो नेता होइनन् ।

    कांग्रेसका कुनै समयका शक्तिशाली नेता खुम बहादुर खड्का, चिरन्जीवी वाग्ले र जेपी गुप्तालाई समेत अख्तियारले दोषि सावित गरिसकेको छ ।

    जब उनीहरु अख्तियारको फन्दामा परे, त्यसपछि राजनीतिक जीवन नै समाप्त भइसकेको छ । लामो समय सत्तामा बसेका कांग्रेस नेताहरु पटक पटक अनियमितता र भ्रष्टाचारमा मुछिने गरेका छन् ।

    अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट समेत स्वतःनिलम्बित भएका छन् ।

    अब उनी विरुद्धको मुद्दा अन्तिम किनारा नलागेसम्म सांसद रहनेछैनन् । भ्रष्टाचार मुद्दामा अख्तियारको दाबी अदालतबाट ठहर भएमा भने उनी कम्तिमा १२ वर्ष जेल बस्नु पर्छ ।

    जुन उनको शक्तिशाली राजनीतिक जीवनको अन्तिम प्राप्त हुनेछ ।

    किनकी राजनीतिक दल सम्बन्धी कानुनमा भ्रष्टाचारजन्य नैतिक पतन हुने फौजदारी मुद्दामा अन्तिम अदालतबाट सजाय पाएको व्यक्ति चुनावमा उम्मेदवार हुन नपाउने प्रावधान रहेको छ ।

  • बिष्णु पौडेल र कुमार रेग्मीलाई जोगाएकोमा अख्तियारको आलोचना

    बिष्णु पौडेल र कुमार रेग्मीलाई जोगाएकोमा अख्तियारको आलोचना

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा काण्डमा १७५ जनाविरुद्ध मुद्दा दायर गर्यो ।

    तर, यस काण्डका चर्चित पात्र नेकपाका महासचिव विण्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी भने चोखिएका छन् ।

    नेकपा महासचिव विष्णु पौडेलको नाम जोडिनुको कारण उनका छोरा नवीन पौडेलले यहाँ जग्गा लिएका थिए ।

    जग्गा लिएका सबै माथि मुद्दा लाग्दा उनी किन जोगिए ? अद्यितयारको प्रतिवेदन अनुसार यी दुई जनाले सरकारी जग्गा फिर्ता गरेका छन् ।

    यसबाट ठूला र शक्तिशाली व्यक्तिलाई अख्तियारले पनि जोगाउँछ भन्ने नजिर स्थापित गरेको छ ।

    यो नजिरको अहिले जमेर आलोचना भइरहेको छ । अख्तियारले १७५ जनालाई प्रतिवादी बनाएर बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    यीमध्ये ६० जना सरकारी कर्मचारी र पदाधिकारी छन् । कर्मचारीमध्ये अधिकांश निर्णय प्रक्रियामा सामेल नभएका साना कर्मचारी, जसको भूमिका केवल टिप्पणी उठाउने मात्र हुन्छ, उनीहरुलाई फसाइएको छ ।

    मन्त्रिपरिषद्बाट निर्णय गरी टिप्पणी उठाउन आदेश दिने पूर्वप्रधानमन्त्रीदेखि मूख्यसचिवहरुसमेत यस प्रकरणमा उम्कन सफल भएका छन् ।

    यसले फेरी एक पटक मुलुकमा ऐन सानाका लागि मात्र हो भन्ने नजिर बनेको छ । जसबाट अद्यितयार उम्कन सकेन । मुद्दा दायर भएकामध्ये ५० जग्गाधनी एवं मोही छन् ।

    विशेष अदालतमा दायर भएको मुद्दामा प्रतिवादी बनाइएका थप ६५ जनालाई ‘जग्गा जफत गर्ने प्रयोजनका लागि मात्र’ प्रतिवादी बनाइएको छ ।

    यसमा बहालवाला न्यायाधीश रेग्मी र नेतापुत्र पौडेललाई भने ‘जग्गा जफत गर्ने प्रयोजनका लागि’ समेत प्रतिवादी बनाइएन ।

  • प्रधानमन्त्रीको सांगितिक रुप भयो सामाजिक संजालमा भाइरल

    प्रधानमन्त्रीको सांगितिक रुप भयो सामाजिक संजालमा भाइरल

    काठमाडौं । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसुरी बजाइरहेको र पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सारंगी रेटिरहेको फोटो सार्वजनिक भयो ।

    प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको यो सांगितिक रुप भने सामाजिक संजालमा भाइरल भएको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेको यो तस्वीरलाई आम मानिसले हाँसोको पात्र तथा ब्यंग्यका पमा प्रस्तुत गरेका छन् ।

    कसैले प्रधानमन्त्री निवासलाई रोधीघर भनेका छन् भने कसैले पार्टी प्यालेस भन्दै व्यंग्य गरेका छन् ।

    मंगलबार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य र पाहुनाहरुकै अगाडी यो सांगितिक माहौल बनेको हो ।

    बालुवाटारमा प्रधानमन्त्रीले बाँसुरी धुन बजाएर सबैलाई अचम्मित बनाएका हुन् ।

    मदन भण्डारी कला, साहित्य प्रतिष्ठानको आयोजना र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा नेपाली मौलिक धुन, सारंगी साँझ कार्यक्रम चलाइएको थियो ।

    सोही कार्यक्रमको तस्वीर भाइरल भएको हो । सम्पादकसमेत सोही अवसरमा बालुवाटारमा उपस्थित थिए ।

  • बालुवाटार जग्गा प्रकरण : नेता बचे, कर्मचारी मुछिए

    बालुवाटार जग्गा प्रकरण : नेता बचे, कर्मचारी मुछिए

    काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नेतालाई जोगाइएको छ ।

    ललितानिवासमा ११४ रोपनी जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वमुख्य सचिव लीलामणि पौडेलसहित ४० जनाभन्दा बढीलाई दोषि सावित गरेको छ ।

    यस प्रकरणमा अधिकांश कर्मारीलाई मुछेर राजनीतिक दलका नेताहरुलाई भने सफाई दिइएको बताइएको छ ।

    मन्त्रिपरिषदले कार्यदेश दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको थियो ।

    कीर्ते गरेर नक्कली मोही खडा गरी सरकारी सम्पत्तिमा हानी पुर्‍याएको निष्कर्ष प्रहरीले निकालेको छ । स्रोतका अनुसार यस प्रकरणमा प्रहरीले नेतालाई भने दोषि देखेको छैन ।

    जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालदेखि नेकपाका महासचिव विष्णु पौडेसम्मको नाम जोडिएको थियो ।

    गृह मन्त्रालय स्रोतका अनुसार ब्युरोको प्रतिवेदन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मन्त्रालयमा बुझाएका हुन् ।

    प्रतिवेदनमा निर्णय प्रक्रियामा संलग्न कर्मचारी, राणा परिवार, मोहीसहितका व्यक्तिमाथि कारवाहीको सिफारिस भएके छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिव छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसह–सचिव कलाधर देउजा, गेहनाथ भण्डारीलगायत व्यक्तिमाथि कारवाहीको सिफारिस भएको छ ।

    यसबाहेक डा. शोभाकान्त ढकाल, रामकुमार सुवेदी, भाटभटेनी सुपर मार्केटका संचलक मीनबहादुर गुरुङसहितका व्यक्तिमाथि पनि कारवाहीको सिफारिस भएको छ । ढकाल यस काण्डका मूख्य योजनाकार मानिएका थिए ।

  • ४८ वर्षिय राजीव ढुंगाना बने नेपाल विद्यार्थी संघका अध्यक्ष

    ४८ वर्षिय राजीव ढुंगाना बने नेपाल विद्यार्थी संघका अध्यक्ष

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति गठन गरेका छन् ।

    उनले ४८ वर्षिय राजीव ढुंगानालाई अध्यक्ष बनाएका छन् । यस विषयले भने पुनः सभापति देउवा एक पटक सामाजिक संजालमा हाँसोको पात्र बनेका छन् ।

    किनकी जीवनको ४८ औं वसन्त पार गरिसकेका व्यक्तिलाई उनले विद्यार्थी संगठनको नेतृत्व सुम्पिएका हुन् ।

    देउवाले महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरलाई मनोनित गरेका छन् । तदर्थ समितिले ६ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गर्नुपर्नेछ ।

    सुनसरीका स्थायी ढुंगाना उनी ११ औं महाधिवेशनमा समेत अध्यक्षको दाबेदार थिए । तर, अध्यक्ष बन्न सकेनन् ।

    मनोज वैद्य नेविसंघको काठमाडौं जिल्ला अध्यक्ष र पशुपति क्याम्पसका तत्कालीन स्ववियु सभापति हुन् ।

    पाल्पाकी महेश्वरी कुँवर पद्मकन्या क्याम्पसको तत्कालीन स्ववियु उपसभापति एवम् नैनसिंह महर नेतृत्वको नेविसंघकी सहमहामन्त्री हुन् ।

    नेविसंघको ११ औं महाधिवेशनबाट नैनसिंह महरको अध्यक्षतामा कार्यसमिति चयन भएपनि यस कार्यसमितिले १२ औं महाधिवेशन गराउन नसकेका कारण नेविसंघ नेतृत्वविहिन बन्न पुगेको थियो ।

    विधानअनुसार भदौ २ गते महाधिवेशन हुनुपर्ने थियो । पार्टीले म्याद थपेर माघ २ सम्म पुर्याए पनि हुन सकेन् ।

    सोहीकारण आगामी ६ महिना भित्र महाधिवेशन गर्ने गरी तदर्थ समिति गठन भएको हो ।

  • ४ लाख रुपैयाँको विवादमा बंगलादेशी साथीको हत्या, मृत्युदण्डको डरले नेपाल फर्किए

    ४ लाख रुपैयाँको विवादमा बंगलादेशी साथीको हत्या, मृत्युदण्डको डरले नेपाल फर्किए

    काठमाडौं । एकसाता अगाडी काठमाडौंमा बंगलादेशी नागरिक मुहिउद्दिन अहमद परवेजको हत्या भयो ।

    हत्याको जानकारी एक साता अगाडी नै आएको भएपनि प्रहरीले भने बुधबार मात्र घटना सार्वजनिक गरेको थियो ।

    यस घटनामा संलग्न रहेको आरोपमा झापाको काकडभिट्टाबाट दुला मियाँलाई प्रहरीले प्रक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

    प्रहरीका अनुसार काठमाडौंबाट विदेश उडाउने प्रलोभन देखाएर लिएको पैसाका कारण साथीको हत्या भएको देखिएको छ ।

    उनलाई मियाँले रक्सीको बोतलले टाउकोमा हानी हत्या गरेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार मृतकले मियाँलाई लेवनान पठाउने भनेर ३ लाख टाँका (नेपाली ४ लाख ३ हजार) लिएका थिए ।

    तर, काठमाडौंबाट लेवनानको भिषा लागेन । सोहीकारण उत्पन्न भएको विवादमा अहमदको हत्या भएको प्रहरीलृ जानकारी दियो ।

    ७ माघमा सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको कोठा नं. ११४ मा अहमदको शव भेटिएको थियो । तर, प्रहरीले भने यो घटना सार्वजनिक गरेको थिएन् ।

    ६ माघमा हिमालय एयरलाइन्स चढेर काठमाडौं ओर्लिएका दुबै जना होटेलमा बसेका थिए । तर, विवाद भएपछि बोटलले टाउकोमा हानेर हत्या भएको हो ।

    प्रहरीका अनुसार अहमद हत्याको जिम्मेवारी मियाँले लिइसकेका छन् ।

    बंगलादेशले भिसा नदिने भएकाले उनीहरु काठमाडौंबाट लेवनान जाने सेटिंगमा थिए । तर, त्यो सफल नभएपछि विवाद उत्पन्न भएको हो ।

    प्रहरीका अनुसार घटनाका सम्बन्धमा प्रहरीले नै ढिला पत्ता पायो । त्यतिन्जेल उनी भागेर सीमापारि पुगिसकेका थिए ।

    भागेर बंगलादेश जाँदा हत्यारा प्रमाणित हुँदा फाँसीको सजाय पाइन्छ । त्यसको डरले उनी पुनः नेपाल फर्किने तयारीमा रहँदा प्रहरीले पक्राउ गरेको हो ।

  • कोरोनासँग भिड्न चीनले दुई दिनमै बनायो भब्य अस्पताल

    कोरोनासँग भिड्न चीनले दुई दिनमै बनायो भब्य अस्पताल

    बुहान । चीन अहिले कोरोना भाइरसको संक्रमणविरुद्ध संघर्ष गरिरहेको छ । यस रोगसँग लड्न चीनले चमत्कारिक काम गरेर देखाएको छ । चीनमा २ दिनमै एक भब् अस्पताल बाइएको छ ।

    यो अस्पताल एक सय शैयाको रहेको छ । अत्याधुनिक सुविधा सम्पन्न अस्पतालमा केवल कोरोना रोगको मात्र उपचार हुने भएको छ ।

    कोरोनालाई चीनमा अहिलेसम्मकै खतरनाक संक्रमण मानिएको छ । यो संक्रमण मानिसबाट मानिसमा सर्ने गर्छ ।

    चीनमा दोस्रो अस्पताल पनि बनिरहेको छ । यो अस्पताल १० दिनभित्र निर्माण सक्ने लक्ष्य रहेको छ ।

    चीनको वुहान सहर नजिकै २ दिनमा १ हजार शय्याको इमरजेन्सी वार्डसहितको अस्पताल तयार पारिएको हो ।

    आसपासका अस्पतालमा राखिएका बिरामीलाई त्यस अस्पतालमा सारिएको छ ।

    अस्पताल केबल ४८ घण्टामा तयार पार्न सयौँ डोजर र हजारौं मानिस एकै पटक खटिएको बताइएको छ । बुधबार बिहान साढे १० बजेदेखि उपचार शुरु भएको हो ।

  • के पत्रकारले अब लाइसेन्स लिनुपर्छ ?

    के पत्रकारले अब लाइसेन्स लिनुपर्छ ?

    काठमाडौं । अब नयाँ पत्रकारले परिक्षा पास गरी लाइसेन्स लिनुपर्ला ? मिडिया काउन्सिल विधेयकमा यस्तो प्रावधान राखिएको छ ।

    पत्रकारिता पेशामा आउनेका लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको हो ।

    सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले यस्तो प्रावधानसहित नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयक पारित गरेको छ ।

    समिति सभापति परशुराम मेघी गुरुङका अनुसार अहिले पत्रकारिता पेशामा आवद्ध भइसकेका व्यक्तिलाई भने यो प्रावधानले कुनै प्रभाव पार्ने छैन ।

    नयाँ आउन चाहानेका लागि मात्र यो प्रावधान लागु हुने भएको हो । काउन्सिलले पाठ्यक्रम बनाएर परीक्षा लिने व्यवस्था गरिएको हो ।

    पछिल्लो समय पत्रकारिता पेशाप्रति उत्पन्न नकारात्मक भावना हटाउन यो प्रावधान सहयोगी हुने अपेक्षा रहेको छ ।

  • कांग्रेस मूख्यालयमा विद्यार्थीबीच कुटाकुट

    कांग्रेस मूख्यालयमा विद्यार्थीबीच कुटाकुट

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी संघका कार्यक्रताबीच कुटाकुट भएको छ ।

    शीर्ष नेताबीच सहमति भएको दुई दिन बित्न नपाउँदै दुई गूटका विद्यार्थीहरुबीच भने केन्द्रिय कार्यालयमा कुटाकुट भएको हो ।

    नेताहरुबीच १४ औं महाधिवेशनको कार्यतालिका संशोधनका विषयमा सहमति भएको थियो । त्यसपछि पहिलोपटक सोमबार केन्द्रिय समिति बैठक बोलाइएको थियो ।

    सहमतिअनुसार बोलाइएको बैठकमा सोमबार पौडेल र सिटौला समूहका नेतासमेत उपस्थित थिए ।

    बैठकले १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको थियो ।

    शनिबार बूढानीलकण्ठमा भएको वार्तामा कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका र नेपाल विद्यार्थी संघको विवाद पनि टुंग्गो लगाउने सहमति भएको थियो ।

    तर शीर्ष नेताबीचको सहमति अनुमोदन गर्न आयोजित केन्द्रीय कार्यसमिति बैठकमा भने नेपाल विद्यार्थी संघका नेताहरुबीच कूटाकूट भएको हो ।

    उनीहरुले पार्टी कार्यालयमा नाराबाजीसहित गमला हानाहान गर्दै कूटपिटमा उत्रिएका थिए ।

    सोमबार पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूह विधान कार्यान्वयनको माग गर्दै धर्नामा बसेको थियो ।

    सोही क्रममा पार्टी सभापति देउवा पार्टी कार्यालय प्रशवे गर्न लाग्दा अवस्था तनावपूर्ण बनेको थियो ।

  • मनाङ्गे छुटे, मिलन हिरासतमै

    मनाङ्गे छुटे, मिलन हिरासतमै

    कास्की । कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई झापड हानेर पक्राउ परेका प्रदेशसभा सदस्य दीपक मनाङ्गे रिहा भएका छन् । उनी ६ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।

    मनाङेले झापड हानेका मिलन प्रहरी हिरासतमै रहेका छन् । मूख्यमन्त्री कप फुटबल प्रतियोगिताका विषयमा भएको विवादमा सांसद मनाङ्गेले मिलनलाई गत ७ माघमा झापड हानेका थिए ।

    त्यसपछि मिलनले अभद्र व्यवहार भएको भन्दै प्रहरीलाई उजुरी दिएका थिए । मनाङ्गेलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

    आइतबार जिल्ला प्रशासन कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अभद्र व्यवहारको मुद्दा पेश गरेको थियो ।

    यो कसुरमा दोषि सावित भएमा १ वर्षसम्म कैद सजाय र १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

    सात दिनसम्म खेलाडीसँगै बसेर ट्रेनिङ गरेको आफूलाई हिरासतमा सुत्न पाएको तथा आराम मिलेको प्रतिक्रिया मनांगेले दिएका छन् ।

    उनीले अब रक्सी खाने योजना बनाएको समेत प्रतिक्रिया दिएका छन् । मनाङ्गेविरुद्ध उजुरी दिएको भोलिपल्ट मिलनविरुद्ध पनि उजुरी गरेको थियो । उनीविरुद्ध ठगी गरेको आरोप रहेको छ ।

    बैंकिङ कसुर समेत लागेका उनलाई भने अनुसन्धानका लागि ७ दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ ।

  • ड्वेन स्मिथले भैरहवाबाट एभरेष्ट प्रिमियर खेल्ने

    ड्वेन स्मिथले भैरहवाबाट एभरेष्ट प्रिमियर खेल्ने

    काठमाडौं । वेस्ट इण्डिजका भेट्रान क्रिकेटर ड्वेन स्मिथले नेपालको घरेलु फ्रेन्चाइज क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग खेल्ने भएका छन् ।

    उनी २०२० संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आउन लागेको आफैले उल्लेख गरेका छन् ।

    स्मिथले भिडियो सन्देश सार्वजनिक गर्दै नेपाल आउन आतुर रहेको समेत उल्लेख गरेका छन् ।

    भैरहवा ग्लाडिएटर्सबाट एभरेष्ट प्रिमियर खेल्ने ३६ वर्षीय स्मिथले वेष्ट इण्डिजका लागि तिनै फर्म्याटको क्रिकेट खेलेका छन् ।

    उनी आक्रामक ब्याट्सम्यान हुन् । बल र ब्याट दुबैमा उनी चल्न सक्छन् । ‘मैले नेपाल र त्यहाँको भौगालिक सुन्दरताबारे धेरै सुनेको छु । म त्यहाँ जान निकै आतुर छु,’ उनले भनेका छन् ।

    भैरहवाका कप्तान शरद भेषावकरले लामो समयसम्म वेष्ट इण्डिज र आईपीएल क्रिकेटको पावर हाउसका रुपमा रहेका स्मिथले आफ्नो कप्तानीमा खेल्न लागेकोमा खुसी व्यक्त गरेका छन् ।

  • दीपक मनांगेले झापड हानेका एन्फा कास्कीका अध्यक्ष गुरूङ पनि पक्राउ

    दीपक मनांगेले झापड हानेका एन्फा कास्कीका अध्यक्ष गुरूङ पनि पक्राउ

    पोखरा । प्रदेश सांसद दीपक मनाङे एन्फा कास्कीका अध्यक्ष मिलन गुरूङलाई झापड हानेको अभियोगमा बिहीबार पक्राउ परेका थिए । उनै गुरूङलाई प्रहरीले शुुक्रबार पक्राउ गरेको हो ।

    उनीविरुद्ध ठगी तथा बैंकिङ कसुरको जाहेरी परेको प्रहरीले जनाएको छ ।

    कास्की प्रहरीका अनुसार गुरूङविरूद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी र बैंकिङ कसुरको जाहेरी परेको हो । जाहेरी पछि मिलनलाई पक्रन प्रहरीले अदालतबाट पक्राउ अनुमति मागेको थियो ।

    उनीविरुद्ध धेरै जनाबाट ‘ठगी र बैंकिङ कसुरमा उजुरी परेको बताइएको छ ।

    मनांगेले भने उनलाई मंगलबार झापड हानेका थिए। उनको पक्राउपछि मनांगेले आफ्नो उद्देश्य सफल भएको भन्दै खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

    मनांगेलाई भने जिल्ला प्रशासन कार्यालय कास्कीले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।