Category: रोचक खवर

  • एक साता सीमा नाका बन्द हुने, सोमबारबाट लागू

    एक साता सीमा नाका बन्द हुने, सोमबारबाट लागू

    काठमाडौं । अबको एक साता भारत र चीनतर्फको सीमा नाका नेपालले बन्द गर्ने भएको छ । सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने निर्णय गरेको हो ।

    आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । सोमबार विहान १० बजेबाट एक साताका लागि नाका बन्द हुने भएका छन् ।

    भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको थियो । भारतले भने आनकानी गर्दै आएको छ ।

    यसबीचमा धेरै ठूलो सख्यामा नेपालीहर घर फर्किसकेका छन् । भारतमो कोरोनाको संक्रमण तिब्र रुपमा फैलिरहेको छ । बिहारमा समेत यसबाट मानिसको ज्यान गएको छ । सोहीकारण नेपालले नाका बन्द गर्ने निर्णय लिएको हो ।

    शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले भारत सहमत नभए एकतर्फी रुपमै भएपनि सीमा नाका बन्द गर्नुपर्नेमा निष्कर्ष निकालेको संचारमाध्यमले उल्लेख गरेका छन् । भारतले आइतबार मध्यरातिबाट अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गरेको छ ।

    नेपालको यो निर्णयले नियमित वस्तु आपूर्तिमा भने असर नपर्ने नेपाल आयल निगमले जनाएको छ ।

  • आज भारतमा जनता कर्फ्यु, घरबाहिर ननिस्कन आह्वान

    आज भारतमा जनता कर्फ्यु, घरबाहिर ननिस्कन आह्वान

    नयाँ दिल्ली । आज भारत सरकारको आह्वानमा जनता कर्फ्यु जारी रहेको छ । कोरोना भाइसविरुद्ध लड्न प्रधानमन्त्री नरेन्द्र मोदीले यसको प्रस्ताव गरेका थिए । उनले जनतालाई घर बाहिर ननिस्कन आह्वान गरेका छन् ।

    उनले देशवासीका नाममा सम्बोधन गर्दै आइतबार जनता कर्फ्युको घोषणा गरेका हुन् । आज विहान ७ बजेदेखि बेलुका ९ बजे सम्म कर्फ्यु लाग्नेछ ।

    कर्फ्यु घोषणापछि सडक सुनसान बनेका छन्। मानिसहरु घरबाट बाहिर निस्किएनन् । उनीहरुले सरकारको घोषणाको पालना गरेका छन् ।

    केन्द्र सरकारको निर्णय अन्य सरकारहरुले समेत अनुशरण गरेका छन् ।

    प्रधानमन्त्री मोदीले भिडभाड कम गर्न र भाइरसको संक्रमण घटाउन मानिसहरुलाई घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।

    भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५ जनाको ज्यान गएको छ । ३ सय भन्दा बढी संक्रमित पुष्टी भइसकेको छ ।

  • कोरोनाबारे झुटो हल्ला फिजाउने पक्राउ

    कोरोनाबारे झुटो हल्ला फिजाउने पक्राउ

    काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बारे झुटो हल्ला फिजाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    कोरोनाको संक्रमणबाट एक जनाको मृत्यु भएको तर नर्भिक अस्पतालले लुकाइरहेको भन्दै अडियो सन्देश सामाजिक संजालमा पठाएका थिए ।

    यो अडियो भाइरल बनेको थियो । यसले सर्वसाधारणमा त्रास फैलिएको थियो ।

    प्रहरीका अनुसार रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगर पक्राउ परेका हुन् । कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ भने नेपालमा पनि उच्च जोखिममा छ ।

    तर कोरोना संक्रमणको पुष्टि नेपालमा भएको छैन ।

    उनले भने नेपालमा संक्रमण्ले मानिसको मृत्यु भएपनि अस्पताल र सरकारले लुकाएको भन्दै अफवाह फैलाएका थिए । प्रहरीले अब यसरी अफवाह फैलाउनविरुद्ध कडा कारवाहीको तयारी गरेको छ ।

  • चितवनमा तीन दिनमा बन्यो ७० सैयाको अस्पताल, बुटवल र विराटनगरमा बन्दै

    चितवनमा तीन दिनमा बन्यो ७० सैयाको अस्पताल, बुटवल र विराटनगरमा बन्दै

    चितवन । कोरोना भाइरसको संक्रमण भित्रिहालेमा त्यसको उपचारका लागि काठमाडौं बाहिर अस्थायी अस्पताल निर्माणमा तिब्रता दिइएको छ ।

    संक्रमित भइहालेको उनीहरुलाई अलग्गै राखेर उपचार गर्नुपर्ने भएकाले प्रदेश तथा स्थानीय सरकारले तल्लो तहमा ठूलो क्षमताका अस्थायी अस्पताल निर्माणमा तिब्रता दिएका हुन् ।

    चितवनस्थित भरतपुर महानगरपालिकाले तीन दिनमा ७०९ सैयाको अस्पताल निर्माण गरेको छ । अब यो अस्पताल आकस्मिक अवस्थामा उपयोगमा ल्याउन सकिने भएको छ ।

    यता, बुटबलमा समेत १ सय शैय्याको कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण शुरु भएको छ । अस्पताल शनिबारसम्म निर्माण सम्पन्न हुने भएको हो ।

    बुटवल धागो कारखानाको फिनिसिङ ब्लकमा अस्पताल बनाइदैछ । बुटवल उप—महानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल उपमहानगरपालिका १० स्थित बन्द अवस्थामा रहेको धागो कारखानाको भवनमा अस्पताल बनाउन लागिएको हो ।

    नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय युवा यसको निर्माणमा खटिएका छन् । पहिलो चरणमा एउटा ब्लकमा एक सय बेडको आइसोलेसन कक्ष निर्माण हुने भएको छ ।

    उता, प्रदेश १ सरकारले विराटनगरमा एकसाता भित्र कोरोना संक्रमितको उपचारका लागि अस्थायी अस्पताल निर्माण गरी संचालनमा ल्याउने भएको छ ।

    कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै प्रदेश सरकारले तत्काल ५० शैय्याको अस्थायी अस्पताल निर्माण थालेको हो । विराटनगरमा रहेको नेशनल ट्रेडिङको भवनमा अस्थायी अस्पताल बनाइने भएको छ ।

    यस अस्पताललाई अन्य अस्पतालबाट रेफर भएर आएका संक्रमितको उपचार गर्ने गरी तयारी गरिएको हो ।

    अस्पताललाई आवश्यक पर्ने सामाग्री भने तत्कालका लागि विराटनगरमा रहेका अस्पतालबाटै जोहो हुने छ प्रदेश १ मा ४४० जना अटाउने क्वारेन्टाइन समेत निर्माण भइसकेको छ ।

    प्रदेश सरकारले मोरङको मिक्लाजुङ– ५ मा पर्ने टाँडीमा २००, झापाको भद्रपुरमा ४० र उदयपुरको बेलसोतमा २०० जना अटाउने क्वारेन्टाइनस्थल तयार पारिसकेको छ । अहिले कोरोना विरुद्ध देशभर तिब्रताका साथ काम भइरहेका छन् ।

  • भारतमा आइतबार जनता कर्फ्यु, कोरोनाबाट चौथो व्यक्तिको मृत्यु

    भारतमा आइतबार जनता कर्फ्यु, कोरोनाबाट चौथो व्यक्तिको मृत्यु

    नयाँदिल्ली । भारतले कोरोना संक्रमणविरुद्ध ऐकिवद्धता जनाउन आइतबार जनता कर्फ्यु घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विहीबार साँझ जनताका नाममा सम्बोधन गरेका थिए ।

    उक्त अवसरमा उनले जनस्तरबाट कोरोनाविरुद्ध सचेतना जगाउन आइतबार जनता कर्फ्युको घोषणा गरे । यस दिन भारतमा सबै मानिस घरमै बसेर यो दिन मनाउने छन् ।

    प्रधानमन्त्री मोदीले आइतबार बिहान ७ बजेदेखि राति ९ बजेसम्म जनता कर्फ्यु लागू गरिएको घोषणा गरेका हुन्।

    भारतमा बिहीबार कोरोना भाइरसबाट थप एक जनाको ज्यान गएको छ ।

    उनी चौथो भारतीय बनेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पन्जावमा ७० वर्षीय वृद्धको ज्यान गएको हो । उनी इटालीबाट जर्मनी हुँदै मार्च ७ मा भारत आएका थिए ।

    मन्त्रालयका अनुसार मधुमेहको बिमारबाट ग्रस्त उनमा कोरोनाको पुष्टी भने बुधबार मात्र भएको थियो । बिहीबार साँझ भारतीय स्वास्थ्य मन्त्रालयले यसको पुष्टी गरेको छ ।

    भारतमा कोरोना भाइरसको संक्रमणबाट चार जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक सय ६७ पुगेको छ ।

    विश्वभर फैलिएको भाइरसबाट वृद्धवृद्धाहरु धेरै प्रभावित भएको भारतीय प्रधानमन्त्री मोदीले उल्लेख गरेका छन् ।

    उनले केही हप्तासम्म ६० वर्षभन्दा माथिका नागरिकलाई घरबाट बाहिर ननिस्कन आग्रह समेत गरेका छन्। यस्तै, अत्यावश्यक काम परेको खण्डमा बाहेक प्रत्येक नागरिकलाई घरमै बस्न उनले आह्वान गरेका हुन् ।

  • प्रचण्डले सर्वसाधारणसँग भेट घटाए

    प्रचण्डले सर्वसाधारणसँग भेट घटाए

    काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बिहीबारबाट सर्वसाधारणसँगको भेटघाट बन्द गरेका छन् ।

    कोरोना भाइरसको संक्रमणको डरले उनले आम रुपमा भइरहेको दैनिक भेटघाटको काम अनिश्चितकालका लागि बन्द गरेका हुन् ।

    अब प्रचण्डले अत्यावश्यक काममा बाहेक अन्य भेटघाट गर्ने छैनन् । प्रचण्ड निवासमा धेरै ठूलो संख्यामा नागरिक पुग्ने गरेका छन् ।

    नेता, कार्यक्रता तथा पत्रकारको समेत उनको निवासमा भीड लाग्छ । नेपालका कोरोना संक्रमण बढ्ने डरले सरकारले समेत २५ जना भन्दा बढी मानिस एकै स्थानमा भेला हुन रोकेको छ ।

  • सामान्य बन्दै चीनको जनजीवन

    सामान्य बन्दै चीनको जनजीवन

    बुहान । कोरोना भाइरसको संक्रमणबाट माथि उठेसँगै चीन अब सामान्य जनजीवनमा फर्कन थालिसकेको छ । कोरोना भाइरस महामारीको केन्द्रविन्दु वुहानमा बिरामीको संख्या घटेको छ ।

    स्कूल, कलेज तथा उद्योगहरु नियमित संचालनमा आउन थालेका छन् । यससँगै चीनले बुहानमा खटाएका अन्य राज्य तथा क्षेत्रका चिकित्सक आफ्नो कार्यक्षेत्रमा फर्कन थालेका छन् ।

    मंगलबारबाट स्वास्थ्यकर्मीलाई बिदा दिन थालिएको छ । चीनका विभिन्न स्थानबाट ४१ वटा स्वास्थ्यकर्मीको टोलीमा ३ हजार ६ सय ७५ स्वास्थ्यकर्मी वुहानमा खटिएका थिए ।

    यहाँ कोरोना भाइरसको संक्रमणबाट पिडितको उपचारका लागि एक दर्जनभन्दा बढी ठूलो अस्थायी अस्पताल बनाइएको थियो ।

    ती अस्पताल समेत भत्काउन थालिएको छ । चीनले रंगशाला, प्रदर्शनी केन्द्रलगायत स्थानमा अस्थायी अस्पताल बनाएको थियो ।

    चीनले कडा निगरानीसहित यातायात र एयरलाइन्स सेवा समेत खुला गरिरहेको छ । हुबेई प्रान्तमा ४२ हजार हाराहारी चिकित्सक सेवामा खटिएका थिए ।

    कतिपयले त कोरोना विरुद्ध लड्दालड्दै ज्यान समेत गुमाए । हुबेईमा सोमबार एक मात्र नयाँ संक्रमित फेला परेका थिए । मंगलबारसम्म चीनमा अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ५५ हजार ९ सय ८७ पुगेको छ।

  • एसइइसहित चैतमा निर्धारित सबै परीक्षा स्थगित

    एसइइसहित चैतमा निर्धारित सबै परीक्षा स्थगित

    काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलने आंशका बढेको भन्दै सरकारले चैतमा निर्धारित सबे परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ ।

    यससँगै बिहीबारबाट संचालनको तयारी रहेको माध्यमिक शिक्षा (एसईई) परीक्षा समेत स्थगित भएको हो ।

    सरकारले अन्तिम समयमा आएर भने परीक्षा स्थगित गर्ने निर्णयको भने व्यापक आलोचना भएको छ ।

    जोखिमको आशंका निकै अगाडीबाट भएपनि अन्तिम समयमा आएर परीक्षा रोकेको भन्दै सरकारको आलोचना भएको हो । चैत ६ गतेबाट सुरू हुने तय भएको परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने तयारीमा थिए ।

    नेपालमा धेरै विद्यार्थीको आफुले पढेको स्कूलमा एसइइ परीक्षा हुँदैन । उनीहरु डेरा नै लिएर टाढा गएर परीक्षा दिनुपर्ने हुन्छ । उनीहरू भने प्रभावित भएका छन् ।

    कोरोनाबारे निर्णय गर्न सरकारले उपप्राधानमन्त्री पोखरेलको नेतृत्वमा समन्वय समिति बनाएको छ ।

    समितिको बुधबार दिउँसो बसेको बैठकले एसईई परीक्षा स्थगित नगर्ने तर परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क स्थापना गरेर सुरक्षित र व्यवस्थित गर्ने निर्णय गरेको थियो ।

    तर, बुधबारनै साँझ अर्को निर्णय गर्दै पहिलाको निर्णय सच्याइएको हो । बुधबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले एसइइ परीक्षा स्थगत गर्न सरकारलाई सिफारिस गरेको थियो ।

    सरकारले विश्वविद्यालयहरूलाई समेत चैतमा लिन लागेका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ ।

    त्रिभुवन विश्वविद्यालयले भने बिहीबार निर्धारित परीक्षा यथावत संचालन हुने र त्यसपछि के गर्ने भन्नेबारे बिहीबार नै अर्को सूचना निकाल्ने जानकारी गराएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालय र सीटीइभीटीलाई निर्देशन दिएका छन् ।

  • चितवनमा तीन दिनमा बन्ने भयो अत्याधुनिक अस्पताल

    चितवनमा तीन दिनमा बन्ने भयो अत्याधुनिक अस्पताल

    भरतपुर । भरतपुर महानगरपालिकाले चितवनमा कोरोना भाइरसको सम्भावित उपचारका लागि अत्याधुनिक सेवासहितको अस्पताल बनाउने भएको छ ।

    आगामी तीन दिनमा अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने दाबी महानगरपालिकाको रहेको छ ।

    भरतपुर महानगरपालिकाको पहलमा भरतपुर–१० मा रहेको प्रदर्शनी केन्द्रमा अत्याधुनिक आईसीयूसहितको अस्पताल सञ्चालनमा ल्याइने भएको हो ।

    महानगरपालिका यसको तयारीमा समेत जुटिसकेको छ । प्रदर्शनी केन्द्रमा रहेको भवनलाई तीन दिन भित्र अस्पतालमा परिणत गरिने भएको छ ।

    अस्पतालमा अत्याधुनिक उच्च प्रविधिको बेड १०, आईसीयू बेड १० र जनरल वार्ड बेड ५० गरी ७० बेड रहने भएका छन् ।

    यस कार्यमा चितवनस्थित विभिन्न अस्पतालबाट प्राविधिक सहयोग लिइने भएको छ ।

    आपतकालिन अवस्थामा पूर्वतयारी स्वरुप यो अस्पताल बनाउन लागिएको हो । चितवनका अस्पतालहरुबाटै जनशक्ति ल्याएर आवश्यक पर्दा सेवा सञ्चालन गरिने भएको छ ।

    तीन बिघा क्षेत्रफलमा रहेको प्रदर्शनी कक्षमा तीनवटा भवन छन् । कोरोनाको संक्रमणको जोखिम बढेसँगै अहिले देशभर सचेतना बढाइएको छ ।

  • प्रदेश दुई नाम राख्न असफल

    प्रदेश दुई नाम राख्न असफल

    जनकपुर । मंगलबार प्रदेश नं २ आफ्नो प्रदेशको नाम तोक्न असफल भएको छ । दुई तिहाईले अनुमोदन नभएसम्म नाम राख्न मिल्दैन । मंगलबार प्रदेशको नाम राख्ने विषयमा मतदान भएको थियो ।

    मतदानबाट चार वटा नामका प्रस्ताव अस्वीकृत भए । नेपाली कांग्रेसका सांसद राजेश्वर साहले राखेको मध्यप्रदेश नामको प्रस्तावमाथि मंगलबार प्रदेशसभामा मतदान भएको थियो।

    उक्त प्रस्तावका पक्षमा प्रदेशसभाका ४२ जनाले मतदान गरे भने विपक्षमा ६५ मत खसेको थियो । कांग्रेसले नै प्रस्ताव गरेको मिथिला भोजपुरा नाम पनि अस्वीकृत भएको छ ।

    कांग्रेसले राखेको प्रस्तावको पक्षमा २८ मत र विपक्षमा ७९ मत खसेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रस्ताव गरेको जानकी नाम पनि अस्वीकृत भएको छ।

    जानकी नामका पक्षमा ३७ मत खसेको थियो भने विपक्षमा ७० मत खसेको छ ।

    प्रदेश सभामा कुनै पनि पार्टीको दुई तिहाई बहुमत छैन । सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रस्ताव गरेको मधेश प्रदेश नामको पक्षमा ६० मत पर्‍यो । दुई तिहाईका लागि १२ भोट पुगेन । प्रस्तावको विपक्षमा भने ४८ मत खसेको थियो ।

    यससँगै मंगलबार भएको दिनभरको मतदान खेर गएको छ । फेरी पनि प्रदेश नं २ नामविहिन प्रदेशका रुपमा रहेको छ ।

  • बिहान ९ बजेबाटै स्कूल खोल्ने प्रस्ताव

    बिहान ९ बजेबाटै स्कूल खोल्ने प्रस्ताव

    काठमाडौं । सरकारले बिहान ९ बजेबाटै स्कूल संचालन गर्न प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यकामा ट्राफिक जाम व्यवस्थापनको प्रयोजनका लागि स्कूल छिट्टै संचालन गर्ने प्रस्ताव गरेको हो ।

    निजी विद्यालय बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म संचालनको तयारी सरकारले गरेको हो । अहिले कार्यालय समयमै स्कूल पनि संचालन हुने भएकाले १० बजे सडकमा अति धेरै ट्राफिक जाम हुने गरेको छ ।

    मन्त्रालयले आइतबार स्कूलहरु ९ बजे नै संचालन गर्ने सम्बन्धमा निजी विद्यालय सञ्चालकका प्रतिनिधिसँग छलफल गरेको छ ।

    छलफलमा मन्त्रालयले विद्यालय सञ्चालनको समय परिवर्तनको प्रस्ताव गरेको हो ।

    अहिले १० बजेबाट ५ बजेसम्म स्कूल चल्ने गरेका छन् । छलफलमा निजी तथा आवासीय विद्यालय एसोसिएशनका प्रतिनिधीले सरकारको प्रस्तावका सम्बन्धमा संघभित्र छलफल गर्नुपर्ने बताएका थिए ।

    सामुदायिक विद्यालयसहित सबै विद्यालय एकै समयमा खुल्ने नीति ल्याउनु पर्ने उनीहरुको भनाई छ ।

    काठमाडौँमा स्कूलले विद्यार्थी ओसार्दा सडकमा एकसाथ धेरै बस निस्कन्छन् । जसले ट्राफिक जाम बढाएको छ ।

    सरकारले अब नजिकको स्कूलमा मात्र विद्यार्थीलाई पढाउने अविभावकलाई प्रोत्साहित गर्ने गरी नयाँ समय अगाडी सारेको हो । यसले बसले यात्रु बोक्ने बाध्यता कम हुनेछ ।

  • कालो बजारी गर्न मास्क थुपार्ने ८ जना प्रहरीको फन्दामा

    कालो बजारी गर्न मास्क थुपार्ने ८ जना प्रहरीको फन्दामा

    काठमाडौं । प्रहरीले कालोबजारीका लागि हजारौं थान सर्जिकल मास्क थुपार्ने ८ जनालाई पक्राउ गरेको छ ।

    कोरोना भाइरसको त्राससँगै बजारमा सर्जिकल मास्कको अभाव भएको छ । तर, व्यापारीले भने बढी मूल्यमा बिक्रि गर्न यस्तो मास्क लुकाएका छन् ।

    प्रहरीले बढी मूल्यमा मास्क बिक्रि गरेको पाइए तत्काल खबर गर्न सर्वसाधारणसँग आग्रह गरेको छ । शनिबार काठमाडौंको डल्लुबाट कालो बजारी गर्न जम्मा गरिएको ७८ हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी ९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय र न्रिप कार्की रहेको प्रहरीले उल्लेख गरेको छ ।

    यसैगरी काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का पनि पक्राउ परेका छन् मञ्जुश्री सप्लायर्सबाट ३ रुपैयाँ पर्ने एउटा मास्कलाई ३१ रुपैयाँमा होलसेल दिने र बजारमा ५० रुपैयाँमा बेच्ने तयारी गरिरहेको पत्ता पाएपछि प्रहरीले पक्राउ गरेको हो ।

    कोरोनाको मौका छोपेर बजारमा कृतिम अभाव सिर्जना गर्ने र बढी मूल्यमा सामान बेच्ने गिरोह सक्रिय रहेका छन् ।

  • प्रधानमन्त्रीलाई नवौं दिनमा पत्नी राधिकाले भेटिन्

    प्रधानमन्त्रीलाई नवौं दिनमा पत्नी राधिकाले भेटिन्

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज पत्नी राधिका शाक्यले भेटेकी छिन् । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरेको ९ औं दिनपछि पत्नी राधिका शाक्यले भेटेकी हुन् ।

    उनी प्रधानमन्त्रीलाई भेट्ने दोस्रो भिजिटर बनेकी छिन् । यसअघि बुधबार आठौं दिन मिर्गौलादाता भान्जी समीक्षा संग्रौलाले प्रधानमन्त्रीलाई भेटेकी थिइन् ।

    समीक्षाको भने बुधबार नै डिस्चार्ज भएको छ । तर, प्रधानमन्त्रीलाई भने अस्पतालले अझै डिस्चार्ज गरेको छैन ।

    दोस्रो भिजिटरका रुपमा पत्नी राधिका शाक्यले बिहीबार भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्टी गरेका छन् ।

    बुधबार र बिहीबार पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै समाचार सार्वजनिक भएका थिए ।

    चिकित्सकबाट त्यस्तो कुनै संकेत नपाएको उनले बताएका छन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको नवौं दिन स्वास्थ्य स्थिति सामान्य रहेको र नियमित परीक्षणहरु भइरहेको अस्पतालले उल्लेख गरेको छ ।

    प्रधानमन्त्रीको गत बुधबार मिर्गौला प्रत्यारोपण भएको थियो । उनी त्रिवि शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका छन् ।

  • पर्वतारोहणमा पनि सचेतना, आरोहीले यात्रा विवरण बुझाउनु पर्ने

    पर्वतारोहणमा पनि सचेतना, आरोहीले यात्रा विवरण बुझाउनु पर्ने

    काठमाडौं । पर्वतारोहणमा आउने पर्यटकमार्फत नेपालमा कारोना नफैलियोस भन्ने उद्देश्यले सरकारले सचेतना बढाएको छ । बसन्त ऋतुमा हुने पर्वतारोहणमा सरकारले कडा नियम ल्याएको छ ।

    पर्यटन विभागका अनुसार आरोहीले पर्वतारोहण अनुमति पत्र लिनु अगाडि गरेको १४ दिनको यात्रा विवरण पेश गर्नुपर्ने भएको छ । यसको व्यवस्थापन भने ट्राभल एजेन्सीले गर्नेछ ।

    अहिले विश्वभर कोरोनाको संक्रमण फैलिएको छ र विश्व स्वास्थ्य संगठनका अनुसार कुनै पनि व्यक्तिमा कारोना भाइरस संक्रमण भएको २ देखि १४ दिनमा देखिन सक्ने बताइन्छ ।

    आरोहीहरु कोरोना प्रभावित मुलुक भएर आए नआएको थाहा पाउन यसो गर्न लागिएको हो । त्यसरी आएको भए उनीहरुमा जोखिमको समेत विश्लेषण गर्न सकिने हुन्छ ।

    आरोही र पर्वतारोही दलका सम्पूर्ण सदस्यको स्वास्थ्य रिपोर्ट आरोहण व्यवस्थापन गर्ने सम्बन्धित ट्राभल एजेन्सीले अनलाइनमार्फत विभागमा बुझाउनु पर्ने नियम ल्याइएको छ ।

    त्यसलाई विभागले स्वीकृत गरेपछि मात्र आरोहण अनुमति जारी हुने भएको छ । पर्वतारोही दलले पर्वतारोहणबाहेक अन्य गतिविधि गर्ने भएमा पर्यटन विभागमा पूर्व जानकारी दिनुपर्ने भएको छ ।

    पर्वतारोही दलले पर्वतारोहणमा प्रयोग गर्न लैजाने सम्पूर्ण सामग्रीको सूचि पनि विभागमा उपलब्ध गराउनु पर्ने गरि नियम तोकिएको छ ।

    आरोही दलसम्बद्ध पर्वतारोहण दलका साथमा जाने आरोहीको बीमा गर्दा उसको जुन भूमिका हो, त्यो खुलाउनुपर्छ ।

    नभए आरोहण प्रमाणपत्र जारी नहुने विभागले जानकारी गराएको छ । नेपालमा आरोहणको मूख्य सिजन नै वसन्त ऋतु हो । यसबेला सगरमाथा आरोहणका लागि ठूलो संख्यामा पर्यटक आउने गर्छन् ।

  • श्रीमानमाथि श्रीमतीले प्रहार गरिन् एसिड

    श्रीमानमाथि श्रीमतीले प्रहार गरिन् एसिड

    काठमाडौं । नेपालमा पुरुषले महिलामाथि एसिड प्रहार गरेको धेरै घटना दोहोरिने गरेको छ । तर, सोमबार राती पुरुषमाथि महिलाले एसिड प्रहार गरेकी छिन् । काठमाडौंमै यस्तो घटना भएको हो ।

    काठमाडौंको बालाजुमा कोठामा सुतिरहेका पुरुषमाथि महिलाले एसिड हानेकी हुन् ।

    नुवाकोट घर भइ तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरीमा कोठा लिएर बस्दै आएका २४ वर्षीय रामराजा थापामाथि तेजाब प्रहार भएको प्रहरीले जानकारी दिएको छ । उ

    नी डेरामा श्रीमती र चार महिने बच्चाको साथमा सुतेको समयमा मुख र हातमा एसिड हानिएको छ ।

    झ्याल ढोका बन्द गरेर सुतेको समयमा आक्रमण भएका कारण घटनामा श्रीमती कै हात भएको आशंका प्रहरीले गरेको छ ।

    श्रीमतीलाई प्रहरीले पक्राउ गरिसकेको छ । घरमा वियरको बोतलमा एसिड भेटिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार श्रीमतीको यो दोस्रो बिबाह थियो । पुरुष र महिलाबीच राम्रो सम्बन्ध नरहेको र उमेरमा समेत श्रीमान भन्दा श्रीमती बढी रहेको छिमेकीले बताएका
    छन् ।

  • पशुपतिमा झाडु लगाउँदा भाइरल बने पारस

    पशुपतिमा झाडु लगाउँदा भाइरल बने पारस

    काठमाडौं । पूर्वयुवराज पारस शाह शनिबार पशुपतिनाथ मन्दिर परिसरमा देखिए । पारसको राजशी रवाफ समाप्त भइसकेको धेरै भइसक्यो, तर उनी आफ्नो स्टाटसलाई मेन्टेन गर्न नसकेका कारण आम नागरिकका नजरमा भने आलोचित पात्र हुन् ।

    शनिबार भने उनी अलि भिन्न रुपमा प्रस्तुत भए । पशुपतिनाथ मन्दिर परिसरमा उनले झाडु समातेर सरसफाइ गर्न लागे ।

    लामो समय लागू औषधको कूलतमा फसेका पारसको शारीरिक अवस्था कमजोर देखिन्छ । तर, झाडु लिएर सुरसफाई गरिरहेको उनको तस्वीर भने अहिले भाइरल भइरहेको छ ।

    पशुपतिमा पारस शाहलाई बोल्न आग्रह गरिएको थियो । तर, उनी बोलेनन् । उनलाई झाडु र पन्जा दिएर पन्जा लगाउन भनिएको थियो ।

    तर, पारसले पन्जा नलाई सिधै झाडु समातेर बडार्न थालेका थिए । उनले सरसफाई अभियानको शुभारम्भ गरेका थिए ।

  • सर्वाधिक शान्ती सेना पठाउने देशमा नेपाल चौथो

    सर्वाधिक शान्ती सेना पठाउने देशमा नेपाल चौथो

    काठमाडौं । विश्व शान्ती स्थापनामा नेपालले गरेका प्रयासको सधैभरी प्रसंशा हुने गर्छ । यसमध्ये एउटा कारण शान्ती सेना समेत हो । संयुक्त राष्ट्र संघको आव्हानमा संसारभरबाट शान्ती सेना खटिएका हुन्छन् ।

    विश्‍व शान्ति स्थापनामा फौज पठाउने विश्‍वका १२२ देशमध्ये नेपाल चौथो ठूलो देश बन्न सफल भएको छ ।

    १ जनवरी २०२० यता नेपाल चौथो स्थानमा उस्किलएको हो । यसअघि नेपाल पाँचौ स्थानमा थियो ।

    अहिले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनामा विभिन्‍न १२ द्वन्द्वग्रस्त देशमा नेपाली सुरक्षाकर्मी खटिएका छन् । नेपाली कण्टिन्जेण्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृत गरि कूल ५ हजार ६ सय ५८ जना सुरक्षाकर्मी शान्ती सेनाका रुपमा विदेशमा सक्रिय छन् ।

    नेपाली सेनाका ५ हजार ९६ जना शान्ति सैनिक र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका ५६२ जना फौज विभिन्‍न द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ रहेको तथ्यांक छ ।

    पहिलो पटक सन् १९५८ मा युनाइटेड नेसन अब्जर्भेसन ग्रुप इन लेबनान मिशनमा नेपाली सेनाको तर्फबाट ५ जना सैनिक पर्यवेक्षक सहभागी भएका थिए ।

    हालसम्म १ लाख २९ हजार ८९९ जना सैनिक यो मिसनमा खटिएका छन् ।

    नेपाली सेनाबाट १ हजार ४०१ जना महिला शान्ति सैनिकले समेत भाग लिइसकेका छन् । अहिले १८१ जना महिला विभिन्‍न मिशन खटिएको तथ्यांक छ ।

  • अब बैंकमा निक्षेपका रुपमा सुन राख्न पाउने

    अब बैंकमा निक्षेपका रुपमा सुन राख्न पाउने

    काठमाडौं । अब बैंकहरुमा ग्राहकले सुनलाई निक्षेपका रुपमा राख्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले सुन निक्षेपमा राख्ने व्यवस्था कार्यान्वयन गर्न बैंकहरुलाई परिपत्र गरेको छ ।

    बिहीबार बैंकहरुका नाममा परिपत्र गर्दै राष्ट्र बैंकले कार्यविधि बनाई सुन निक्षेपमा राख्ने व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएका हुन् ।

    सरकारले चालु आर्थिक वर्षको बजेटबाट नेपाली नागरिकले सम्पत्तिको रुपमा आर्जन गरेका सुन र चाँदीलगायत बहुमूल्य धातु बैंकमा निक्षेपको रुपमा जम्मा गर्ने ब्यवस्था मिलाउने घोषणा गरेको थियो ।

    यो सुविधा वाणिज्य बैंकमा मात्र उपलब्ध हुने भएको छ । सुन निक्षेपमा राख्न बैंकहरुले नीति तथा कार्यविधि भने आफै बनाउन सक्ने छन् ।

    कार्यविधि बनाएर सञ्चालक समितिबाट पारित गर्नुपर्ने प्रावधान राखिएको छ ।

    सुन निक्षेप लिँदा निक्षेपकर्ताबाट उपलब्ध हुने सुनको शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्रको स्थापना गर्न समेत राष्ट्र बैंकले बैंकहरुलाई आग्रह गरेको छ । कम्तीमा ९९५ फिटनेसको सुनमात्र स्वीकार गर्नुपर्ने भएको छ ।

  • यो वर्ष सार्वजनिक स्थलमा होली खेल्न प्रतिवन्ध

    यो वर्ष सार्वजनिक स्थलमा होली खेल्न प्रतिवन्ध

    काठमाडौं । सरकारले सार्वजनिक स्थानमा होली खेल्न नदिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागु पूर्णिमा (होली)का अवसरमा कार्यक्रम तथा भीडभाड नगर्न आग्रह गरेको हो ।

    कोरोनाभाइरसको संवेदनशिलतालाई मध्यनजर गर्दै होलीका अवसरमा कार्यक्रम गर्ने वा भीड हुने कार्य गर्न रोक लगाइएको कार्यालयले जनाएको छ ।

    होलीका लागि कार्यालयले कुनै पनि निकायलाई सार्वजनिक कार्यक्रम गर्न स्थानीय प्रशासनले अनुमति दिएको छैन ।

    त्यसो त भारतमा पनि दिल्ली सरकारले राजधानीमा होलीका औपचारिक कार्यक्रममा प्रतिवन्ध लगाएको छ । बुधबार दिल्ली सरकारले यस्तो निर्णय गरेको हो ।

    अहिले भाइरस संक्रमणको डर सबैतिर भएको र विभिन्न सञ्चार माध्यमले पनि जानकारी दिइरहेकाले मानिसहरू सचेत हुनुपर्ने भन्दै औपचारिक कार्यक्रम र भीडभाड नगर्न स्थानीय प्रशासनले सचेत बनाएको छ ।

    उता, स्वास्थ्य मन्त्रालयले समेत यो रोगको संक्रमणबाट बच्न भीडभाडमा नजान आग्रह गरेको छ ।

    होलीको अवसर पारी काठमाडौंमा हजारौं मानिस सडकमा एकसाथ निस्किएर रमाइलो गर्ने प्रचलन रहेको छ । यो वर्षको होली आगामी २६ फागुनमा परेको छ ।

  • अर्थमन्त्री डा. खतिवडाको पुनबहाली, आजै लिए सपथ

    अर्थमन्त्री डा. खतिवडाको पुनबहाली, आजै लिए सपथ

    काठमाडौं । राजिनामा दिएको २४ घण्टा नबित्तै अर्थमन्त्री डा. युवराज खतिवडाको पदमा पुनबहाली भएको छ ।

    उनले साविकमा जस्तै अर्थ र सूचना प्रविधि तथा संचार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । उनलाई बुधबार नै राष्ट्रपति विद्यादेवि भण्डारीले पद तथा गोपनीयताको सथप ग्रहण गरेका छन् ।

    त्यसलगत्तै उनी मन्त्रालय पुगेर कार्यभार ग्रहण गरे । उक्त अवसरमा उनले आफू कमाण्डरको आदेश अनुसार फिल्डमा खटिएको भन्दै आदेश जारी रहेसम्म खटिने उल्लेख गरे ।

    मंगलबार राष्ट्रियसभा सदस्यका रुपमा उनको दुई वर्षे कार्यकाल सकिएको थियो । त्यसपछि उनले पदबाट राजिनामा दिएका थिए ।

    कार्यकाल सकिएपनि उनी सोही पदमा फर्किएका हुन् । मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७८ अनुसार खतिवडालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

    पदभार ग्रहण गर्दै अर्थमन्त्रीले बजेट निर्माण, आर्थिक नीति अगाडि बढाउने सन्दर्भमा विकास प्रशासन, सामाजिक न्याय, समानताको लडाइ लड्ने एक योद्धाका रुपमा आफूलाई प्रस्तुत गरे ।

    लडाइँमा बेलासम्म लडिरहने, जुनबेलासम्म कमाण्डरले फर्किएर आउ भन्दैन भन्दै उनले आफु युद्ध जितेर मात्र फर्कने उल्लेख गरे ।

    उनी सांसद नभएपनि आगामी ६ महिनासम्म मन्त्री पदमा रहन सक्छन् । त्यसपछि या संघीय संसदको सांसद बन्न पर्छ, नभए पुनः राजिनामा गर्नुपर्छ । त्यसपछि पनि उनलाई अर्थमन्त्रीमा निरन्तरता दिन फेरी नियुक्ती गर्नुपर्छ ।

  • १८ मेघा प्रोजेक्ट, जसले फेर्नेछन् देशको मुहार

    १८ मेघा प्रोजेक्ट, जसले फेर्नेछन् देशको मुहार

    काठमाडौं । राष्ट्रिय योजना आयोगले १५ औं योजना स्वीकृत गरेको छ । पञ्चवर्षिय योजनाले कूल १८ वटा आयोजनालाई दीर्घकालिन प्रभाव पार्ने क्षमता भएका गेमचेन्जर (रुपान्तरणकारी) आयोजनाका रुपमा परिभाषित गर्दै योजना बनाएको छ ।

    ती आयोजना सम्पन्न भएपछि मुलुकको विकास र जनताको समृद्धिको चाहनामा ठूलो प्रभाव पर्ने आयोगको विश्वास रहेको छ ।

    १५ औं योजनामा समावेस गरिएका यस्ता आयोजना सम्पन्न गर्न कूल १९ खर्ब लागत लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये कतिपय आयोजना चालु अवस्थामा रहेका छन्, कतिपय अब संचालनको तयारीमा छन् ।

    आयोगले १५ औं योजनामा राख्न गेमचेन्जर आयोजना विभिन्न मन्त्रालयबाट माग गरेको थियो । देशको समग्र विकासमा योगदान गर्नसक्ने स्पष्ट आधार, त्यस्ता आयोजनाको निर्माण अवधि र लागतसहितको अवधारणापत्र मन्त्रालयबाट आएपछि त्यसलाई १५ औं योजनामा राखिएको हो ।

    आयोगका अनुसार यी आयोजनालाई ९ क्षेत्रमा विभाजन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना र समृद्धिका लागि वन कार्यक्रम गेम चेन्जर आयोजनाका रुपमा रहेको छ ।

    यसैगरी ,जग्गा प्रशासन सुदृढीकरण तथा अनौपचारिक भूसम्बन्ध व्यवस्थापन कार्यक्रम, औद्योगिक पूर्वाधार विकास आयोजना र स्वास्थ्य संस्था तथा स्वास्थ्य सेवा विस्तार आयोजनालाई समेत यसमा राखिएको छ ।

    सार्वजनिक विद्यालय सबलीकरण आयोजना, प्राविधिक तथा व्यवसायिक शिक्ष एवम् तालिम आयोजना, राष्ट्रपति महिला सशक्तीकरण परियोजना र माथिल्लो अरुण जलविद्युत आयोजना अर्को गेम चेन्जर आयोजना हुन ।

    राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण लाइन आयोजना, पूर्व पश्चिम राजमार्ग स्तरोन्नति आयोजना र गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक आयोजनालाई समेत यसमा राखिएको छ ।

    प्रादेशिक तथा स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम, नयाँ शहर विकास आयोजना, शहरी करिडोर आयोजना र डिजिटल नेपाल र राष्ट्रिय परिचय पत्र तथा घटना दर्ता कार्यक्रमलाई गेम चेञ्जर आयोजनाका रुपमा अघि बढाएको छ।

  • नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, एक जना पक्राउ

    नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, एक जना पक्राउ

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार भएको छ । यद्दपी जुत्ता प्रचण्डसम्म पुग्न भने सकेन ।

    राष्ट्रिय सभागृहमा आइतबार आयोजना भएको एक कार्यक्रममा जुम्लाका रतन तिरुवाले प्रचण्डलाई लक्षित गर्दै दर्शक दीर्घाबाट जुत्ता प्रहार गरेका थिए ।

    प्रचण्डले भाषण सकेर अभिवादन भनिसकेपछि उनले जुत्ता प्रहार गरेका थिए ।

    भाषण मन नपरेका कारण आवेशमा आएर जुत्ता हानेको बयान उनले दिएका छन् ।

    उनी पूर्वलडाकु तथा शहीदका छोरा भएको प्रचार गरिएपनि यो सत्य नभएको जुम्लास्थित नेकपा पार्टी कार्यालयले स्पष्ट पारेको छ ।

    जुत्ता प्रहार गरेका उनलाई तत्काल प्रहरीले पक्राउ गरेको थियो ।

    राष्ट्रिय सभागृहमा भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा यस्तो घटना भएको छ ।

    प्रचण्डमाथि पटक पटक यस प्रकारका घटना हुने गरेको छ । खासगरी द्धन्द्धकालिन घटनाका कारण यो घटना दोहोरिने गरेको छ ।

  • अविवाहित शेरधन राईमाथि ‘पति दावि’ गर्दै मुद्दा

    अविवाहित शेरधन राईमाथि ‘पति दावि’ गर्दै मुद्दा

    काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई अविवाहित छन् । तर, एक जना महिलाले उनी आफ्नो पति भएको र नाता कायम गरिपाउँ भन्दै अंश मुद्दा दायर गरेकी छिन् ।

    दोलखाकी बालिका खड्काले राईमाथि अंश मुद्दा दायर गरेकी हुन् । काठमाडौं जिल्ला अदालतमा उनले नाता कायम गरी अंश दिलाई पाऊँ भन्दै मुद्दा दायर गरेको अदालतले पुष्टी गरेको छ ।

    मुख्यमन्त्री राईले शारीरिक यातना दिएको तथा यौन दुर्व्यवहार गरी घरेलु हिंसा गरेको आरोप समेत उनले लगाएकी छन् ।

    खड्काका अनुसार उनले सञ्चार मन्त्री भएका बेला राईले राजधानीको गोल्फुटारमा कोठा लिई राखेका थिए ।

    आफूहरु २०७१ सालदेखि सँगै रहेको समेत उनको दावि छ । आफुमाथि भएको अन्यायबारे नेकपाका नेताहरुले समेत वेवस्था गरेको उनको भनाई छ ।

  • अमेरिकी दूतावासका कर्मचारी भन्दै ठगी गर्ने पक्राउ

    अमेरिकी दूतावासका कर्मचारी भन्दै ठगी गर्ने पक्राउ

    काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासमा काम गर्ने कर्मचारीको भेषमा ठगी धन्दा गर्ने एक जना पक्राउ परेका छन् ।

    कर्मचारीको दाबी गर्दै ठगी गर्ने केदार खड्का पक्राउ परेका हुन् । सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा–७ मा बस्ने ४१ वर्षीय खड्काले आफूलाई विकासका नाममा चिनाउने गरेको प्रहरीले उल्लेख गरेको छ ।

    महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार उनी बिहीबार दिउँसो पक्राउ परेका थिए ।

    दूतावासको ‘एक्जुकेटिभ म्यानेजर’ भएको भन्दै लाखौ ठगिसकेको उनीबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

    उनको अनुसन्धानबाट थप तथ्य पत्ता लाग्ने अनुमान प्रहरीको छ ।

  • सरकारलाई अलोकप्रिय बनाउन विपक्षी लागे : प्रधानमन्त्री

    सरकारलाई अलोकप्रिय बनाउन विपक्षी लागे : प्रधानमन्त्री

    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरु सक्रिय भएको बताएका छन् ।

    नेकपाको अध्यक्ष समेत रहेका ओलीले पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै अनावश्यक विषयलाई उचालेर जनतामा भ्रम छरेको उनको आरोप छ ।

    ‘गैरविषयलाई विषय बनाउने, कहिले के कहिले के भनेर सरकारको आलोचना गर्ने,’ प्रधानमन्त्रीको भनाई थियो ।

    विपक्षीले आफ्नो अस्तित्व रक्षाका लागि मात्र यो सबै हतकण्ठा गरिरहेको उनको भनाई छ ।

    प्रधानमन्त्रीको अनुसार विपक्षी कुखुराका चल्ला जस्तै हुन् ।

    ‘कुखुराका चल्लाहरूले फट्यांगो टिपेर गुरर कुद्छ। त्यो चल्लाले के टिप्यो थाहा नपाइकन अरू चल्लाहरू पछिपछि कुद्छन्,’ प्रधानमन्त्री ओलीले भने ।

    संसदमा विधेयक पेश हुने भन्दै त्यहाँ छलफल गर्नुको साटो जनतामा भ्रम छर्ने र सरकारलाई अलोकप्रिय बनाउन भूमिका खेल्ने काम भइरहेको उनको भनाई छ ।

    संसदमा विषयवस्तुमा छलफल गर्नुको साटो कुरै नबुझी विरोध गर्ने गरेको उनको भनाई छ ।

    मिडिया काउन्सिल, सूचना प्रविधि, मानव अधिकार सम्बन्धी विधेयक संसदमा दर्ता भएपनि यसको विरोधमा दलहरु उभिएका छन् । प्रधानमन्त्रीले यो प्रवृत्तिको आलोचना गरेका हुन् ।

  • आलोचित बन्यो प्रधानमन्त्रीको वर्थडे केक

    आलोचित बन्यो प्रधानमन्त्रीको वर्थडे केक

    काठमाडौं । रोगले थलिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव जन्मस्थान तेह्रथुमको आठराईमा मनाउने इच्छा देखाए । सोहीअनुसार व्यवस्थापनमा जुट्यो स्थानीय सरकार ।

    हजारौं विद्यार्थीलाई पाठ्यक्रम बाड्ने, वृद्धवृद्धालाई न्यानो लुगा बाड्ने र केक काट्ने रवाफिलो शैलीसहित हेलिकोप्टरमा प्रधानमन्त्री जन्मस्थान पुगेका थिए ।

    त्यहा पुगुन्जेल त सबैको सहानुभूति नै थियो । तर, जब उनले काटेको केक सार्वजनिक भयो, यो विषय अहिले सामाजिक संजालमा आलोचनाको विषय बनेको छ ।

    ओलीको जन्मदिनमा बनाइएको केकमा नेपालको नक्सा रहेको छ । उनले त्यो नक्सा काटेका छन् भने उच्च पदस्थ अधिकारीले केक खाएका छन् ।

    यसलाई धेरैले देशप्रतिको अपमान भन्दै प्रधानमन्त्रीको आलोचना गरेका हुन् ।

    यो केक अर्डर गर्ने निकायलाई प्रधानमन्त्रीले नै यस्तो केक बनाउने दिएका थिए वा स्थानीय सरकारहरुले चाकडी गरेका हुन भन्ने त खुलेको छैन । तर, गोकुल बास्कोटा काण्ड नसेलाउँदै अब फेरी केक काण्डले माहोल तताउने निश्चित रहेको छ ।

  • श्रीमानको बर्दी लगाएर टीकटकमा अभिनय गरेपछि…

    श्रीमानको बर्दी लगाएर टीकटकमा अभिनय गरेपछि…

    काठमाडौं । प्रहरी बर्दीमा टिकटक भिडिओ भाइरल भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सई रत्नबहादुर थापामाथि कारबाही थालेको छ ।

    उनीमाथि विभागीय कारवाहीको तयारी भएको कार्यालयले जनाएको छ । भक्तपुरस्थित सुँडाल प्रहरी कार्यालयका इञ्चार्ज रहेका उनको स्थानमा कार्यालयले सई राजु प्रसाईंलाई खटाएको छ ।

    वास्तवमा आफैले टिकटक बनाउनुभन्दा पनि श्रीमतीले श्रीमानको बर्दी लगाएर टिकटकमा अभिनय गरी श्रीमानकै आइडीबाट टीकटकमा अपलोड गरेपछि थापामाथि विभागीय कारवाही हुने भएको हो ।

    थापाले आफूले टिकटक नै नचलाउने प्रतिक्रिया विभिन्न संचारमाध्यममा दिएका छन् । तर, उनको भिडियो श्रीमतिले सार्वजनिक गरिदिएपछि उनीमाथि फसाद आइपरको हो ।

    प्रहरी बर्दीको दुरुपयोगको कारवाही उनीमाथि हुनेछ । किनकी उनले आफ्नो बर्दी श्रीमतीलाई लगाउन दिएको खुलेको छ ।

    भिडिओमा दिलु मगरले पेस्तोल हातमा लिएर अभिनय गरेको देखिन्छ। अर्को भिडिओमा रत्नबहादुर र दिलुसँगै बसेर खिचिएको र भिडियो प्रहरी कार्यालय भित्रैको देखिएको छ ।

    त्यसकारण पदको दुरुपयोग भएको पाइएको कार्यालय स्रोतको भनाई छ । पछिल्लो समय धेरै महिला तथा किशोर किशोरी टिकटकको लतमा फसिसकेका छन् ।

  • शेयर बजारमा कीर्तिमानी कारोबार, अर्थमन्त्री हट्ने हल्लाको प्रभाव

    शेयर बजारमा कीर्तिमानी कारोबार, अर्थमन्त्री हट्ने हल्लाको प्रभाव

    काठमाडौं । आइतबार एकाबिहानै विभिन्न संचारमाध्यममा अर्थमन्त्री डा. युवराज खतिवडाको पद हट्ने खबर सार्वजनिक भयो ।

    उनको पद अन्य मन्त्रीजस्तै कुनै बदमासी गरेर नभई कानून अनुसार नियमित कार्यकाल पुरा गरी उनी बिदा हुँदैछन् ।

    किनकी उनको सांसद पद दुई वर्षे कार्यकालका लागि हो । २० फागुनबाट उनको सांसद पद रहने छैन ।

    त्यसअवस्थामा अर्थमन्त्रीका रुपमा उनले कार्यभार निरन्तरता दिन कानूनी अड्चन रहेको छ ।

    किनकी संविधानअनुसार सांसद नभएको मानिस मन्त्री हुने प्रावधान छैन । त्यसो त दोस्रो कार्यकालका लागि राष्ट्रपतिबाट उनको पुनः नियुक्ति भएमा भने अर्थमन्त्री पद यथावत रहन सक्छ ।

    तर, नेकपाले राष्ट्रिय सभा सांसदमा बामदेव गौतमलाई ल्याउन लागेको खबर एकाएक सार्वजनिक भएपछि यसको प्रभाव शेयर बजारमा परेको छ ।

    आइतबार सेयर बजारमा अहिलेसम्मकै उच्च कारोबार भएको कीर्तिमान बनेको छ ।

    नियमित कारोबार हुने १७६ कम्पनीको किनबेचबाट कारोबार रकम ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँ नाघेको हो ।

    सूचक समेत एकै दिन ६९.५६ अंकले बढेको छ । नेप्से परिसूचक ३० महिनायताकै उच्च बिन्दुमा पुग्दा १५०४ अंकमा दिनको कारोबार बन्द भएको छ ।

    विश्लेषकहरु आजको परिवर्तनलाई वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडासँग तर्सिरहेका लगानीकर्ताको प्रभाव मान्छन् ।

    किनकी अर्थमन्त्रीले नीतिगत रुपमा कुनै निर्णय नलिएपनि शेयर कारोबारलाई अनुत्पादक ठान्ने उनको परम्परागत सोचबाट लगानीकर्ता तर्सिरहेका छन् ।

    आइतबार सबैभन्दा बढि जीबन बीमा कम्पनी १९२ अंकले बढेको छ। निर्जीवन बीमा कम्पनी १४० र बैंकिङ ८६ अंकले बढेको छ।

    विकास बैंक ८५ र लघुवित्त ५५ अंकले वृद्धि भएको हो । दिनभर भएको कारेबारबाट १४२ कम्पनीका सेयरधनीले कमाएका छन्।

    गुमाउने २७ कम्पनीका लगानीकर्ता रहेको छन् । १२ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढिले उक्लियो ।

    तारागाउँ रिजेन्सी, वरुण हाइड्रो, पञ्चकन्या माइ, नेशनल हाइड्रो र ओरेन्टल होटलका लगानीकर्ता गुमाउने तर्फ परेका छन् ।

  • जन्मदिन मनाउन तेह्रथुम जाँदै प्रधानमन्त्री

    जन्मदिन मनाउन तेह्रथुम जाँदै प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ६९ औं जन्मदिन मनाउँदैछन् । सोही सिलसिलामा उनी जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाँदैछन् ।

    उनी हेलिकोप्टर चढेर आठराइ, सल्ले जान लागेका हुन् । ओली २००८ साल फागुन ११ गते तेह्थुमको आठराईमा जन्मिएका हुन् ।

    तर, सानैमा उनको परिवार झापा झरेको थियो । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको छ ।

    त्यसपूर्व उनले जन्म दिनको अवसरमा जन्मथलो जाने ईच्छा देखाएका हुन । उनको पुख्र्यौली घर रहेको स्थानमा प्रधानमन्त्रीको निजी खर्चमा हेलिप्याड बनाइएको छ ।

    प्रधानमन्त्रीले आफ्नो पुख्यौली घरजग्गालाई ट्रष्टको रूपमा विकास गर्ने इच्छा समेत व्यक्त गरेका छन् । जन्मस्थानमा उनले विभिन्न विकास योजनाका प्याकेज घोषणा तथा शिलान्यासको तयारी समेत गरिएको छ ।

  • महाशिवरात्रीमा पशुपतिमा सजाइएका फूल भक्तजनले चोरेपछि

    महाशिवरात्रीमा पशुपतिमा सजाइएका फूल भक्तजनले चोरेपछि

    काठमाडौं । पशपति क्षेत्र विकास कोषले शुक्रबार महाशिवरात्रीको रौनकलाई खास बनाउन पशुपतिमा कुनै कसुर बाँकि राखेको थिएन ।

    करीव २ करोड मूल्य खर्च गरेर भारतबाट ल्याइएको विशेष फूले पशुपति क्षेत्र झकिझकाउ भएको थियो । पशुपति पुग्ने सबैले यसको प्रशंसा समेत गरेका थिए ।

    तर, शनिबार बिहानै पशुपति झण्डै कुरुप जस्तै देखिन पुग्यो । यो कसरी भयो ? किनकी यसरी सजाइएका फूल पशुपति पुगेकै मानिसले चोर्न लागे । एक एक गर्दै फूलका थुंगा चुट्र्दै गए ।

    फलस्वरुप पुशपति कुरुप देखिएको हो । पशुपतिनाथ मन्दिर र परिसरलाई बेहुलीझैं सजाउन फूलबाट पशुपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वार, शिवलिंग, शिवको बाहन साँढे सजाइएको थियो।

    तर भोलीपल्ट भने त्यो सबै सुन्दरता लुटिएको छ । कोषका अनुसार भक्तजनले एक एक गर्दै चुट्दै फूल लगेका हुन् ।

    एक दुई जनालाई सम्झाएर नपुग्ने, मान्छे त खराब भएपछि पशुपतिको सजावटको स्वरुपनै बिग्रिएको कोषका अधिकारीहरु बताउँछन् ।

    उनीहरु भन्दै थिए, बरु बाँदरले केही गरेनन्, मान्छेले छाडेनन् । करीव १० लाख मानिस पशुपतिमा दर्शनका लागि पुगेको अनुमान कोषको रहेको छ । शनिबार बिहानबाट कोषले सरसफाई थालेको थियो ।