Category: अमेरिका

  • जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग गर्ने

    जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग गर्ने

    बर्लिन, १९ कात्तिक (रासस–एएफपी) । जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग गर्ने तयारी गरेको छ। रुसविरुद्धको लडाइँमा युक्रेनलाइृ सहयोग गर्न आगामी वर्ष युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा तीन अर्ब युरो बढाएर करिब ११.५ अर्ब युरो (१३.२ अर्ब डलर) पु¥याउने योजना बनाएको अर्थ मन्त्रालयले मङ्गलबार जनाएको हो।

    जर्मनीको अर्थ मन्त्रालयका प्रवक्ताले एएफपीसँग भने, “अर्थमन्त्री लार्स क्लिङबेलले सन् २०२६ को संसदीय बजेट प्रक्रियामा युक्रेनको सहयोगका लागि थप तीन अर्ब युरो प्रस्ताव गर्नुहुनेछ।” “यसमा अन्य सहयोगहरूको साथ तोपखाना, ड्रोन, बख्तरबन्द वाहन र दुई प्याट्रियट प्रणालीहरूको प्रतिस्थापन समावेश छ।

    प्रवक्ताले थपे, “जर्मनी युक्रेनको पक्षमा दृढतापूर्वक उभिएको छ र युरोपमा युक्रेनको सबैभन्दा ठूलो समर्थक हो। यो आर्थिक र सैन्य सहयोगका रूपमा लागू हुन्छ।” “हामी रूसको आक्रामक युद्धबिरूद्ध युक्रेनी भूगोल र नागरिकको रक्षार्थ आवश्यक भएसम्म हाम्रो समर्थन जारी राख्नेछौँं।”

  • लिग-२ मा नेपालको कमजोर प्रदर्शन जारी, अमेरिकासँग पुनः हार

    लिग-२ मा नेपालको कमजोर प्रदर्शन जारी, अमेरिकासँग पुनः हार

    १५ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा भइरहेको ओडिआई शृंखलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपाललाई अमेरिकाले ४ विकेटले हराएको हो । नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । अमेरिकाका लागि साइतेजा मुक्कमल्लाले सर्वाधिक ७५ रन बनाए । त्यस्तै मिलिन्द कुमारले ७० रन बनाए । शयान जहागिरले ३६ रन बनाए ।

    नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ५३ रन दिएर ३ विकेट लिए । नन्दन यादव, करण केसी र गुल्शन झाले १–१ विकेट लिए । त्यसअघि दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले दीपेन्द्रसिंह ऐरीको अर्धशतक तथा करण केसीको फिनिसिङ मद्दतमा ४९ ओभर ५ बलमा अलआउट हुँदै २७१ रन बनाएको थियो ।

    दीपेन्द्रले सर्वाधिक ७५ रन बनाए । करण केसीले अन्त्यतिर आक्रामक फिनिसिङ गर्दै ३१ बलमा ४९ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाए । अमेरिकाका लागि हर्मीत सिंहले १० ओभरमा ३३ रन दिएर ३ विकेट लिए । सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २-२ विकेट लिए भने जसदिप सिंह र शुभम रन्जानेले १-१ विकेट लिए ।

    जारी शृंखलामा लगातार तेस्रो जित निकालेको अमेरिका लिग २ तालिकाकै शीर्ष स्थानमा यथावत् छ । अमेरिकाको २३ खेलमा ३४ अंक छ । नेपाल १९ खेलमा १२ अंकसहित सातौंमा यथावत् छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको ठूलो हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो ।

  • ट्रम्प र सीबीच भेटवार्ता सुरु, सुरुवाती प्रतिक्रिया सार्वजनिक

    ट्रम्प र सीबीच भेटवार्ता सुरु, सुरुवाती प्रतिक्रिया सार्वजनिक

    १३ कात्तिक, काठमाडौं । दक्षिण कोरियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच भेटवार्ता सुरु भएको छ । यस भेटवार्तामा व्यापारका अनेक मुद्दामा कुराकानी हुने अपेक्षा गरिएको छ । भेट अघि ट्रम्पले एक संक्षिप्त प्रतिक्रिया पत्रकारलाई दिएका छन् ।

    त्यहाँ उनले बैठक फलदायी हुने बताए । उनले भने, ‘दुई मुलुकबीच सधै राम्रो सम्बन्ध रहेको छ ।’ दोस्रो पटक राष्ट्रपति बनेपछि आफुले ट्रम्पसँग तेस्रो पटक कुराकानी गर्न लागेको सीले प्रतिक्रिया दिए । दक्षिण कोरियामा आयोजित एसिया प्यासिफिक इकोनोमिक कोअपरेशन शिखर सम्मेलनका दौरान दुबै नेता कोरिया पुगेका हुन् ।

  • ट्रम्प र सीबीच आज दक्षिण कोरियामा भेटवार्ता

    ट्रम्प र सीबीच आज दक्षिण कोरियामा भेटवार्ता

    १२ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदैछ । दुई देशबीच तीव्र व्यापार युद्ध चर्किरहेका बेला शीर्ष दुई नेता दक्षिण कोरियामा भेट्न लागेका हुन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दिएको जानकारी अनुसार आज कोरियाको स्थानीय समय अनुसार बिहान ११ बजे ट्रम्प र सी बीच भेट हुनेछ ।


    यता चिनियाँ विदेश मन्त्रालयले पनि ट्रम्प र सी बीचको भेट समय तय भएको पुष्टि गरेको छ । भेट दक्षिण कोरियाको बुसान शहरमा हुनेछ । चिनियाँ विदेश मन्त्रालयले दिएको जानकारी अनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्ध र आपसी हित जस्ता मुद्दामा कुराकानी हुनेछ । ट्रम्प र सी बीचको भेटअघि मलेसियामा दुई देशका उच्चाधिकारीबीच भएको वार्ताले व्यापार सम्झौताको ढाँचा तयार गरेको बताइएको थियो ।

    ट्रम्प र सी ले दक्षिण कोरियाको ग्यांग्झूमा एशिया प्यासेफिक इकोनोमिक कोअपरेशन (एपेक) को शिखर सम्मेलनमा पनि भाग लिनेछन् । सोही सम्मेलनमा भाग लिनुअघि उनीहरुबीच भेटवार्ता तय भएको हो । ट्रम्प र सीबीच अमेरिकी किसानका सोयाबिन र कृषि उत्पादन खरिद, सन्तुलित व्यापारका विषयमा छलफल हुनेछ । समाचार संस्था रोयटर्सका अनुसार ट्रम्प र सीको भेटअघि चीनको सरकारी स्वामित्वको कम्पनी कोफ्कोले अमेरिकाबाट तीन खेप सोयाबिन खरिद गरेको छ ।

    यसलाई चीनका तर्फबाट यस वर्षको अमेरिकी कृषि उपजको पहिलो खरिद भनिएको छ । दुवै देशबीच व्यापारिक शुल्क विवाद चलिरहेको अवस्थामा चीनले अमेरिकाबाट खरिद घटाएको कारण अमेरिकी किसानहरूलाई अरबौँ डलर बराबरको क्षति भएको बताइएको छ । यो भेटवार्ताले अमेरिकी(चीन व्यापार युद्धको अन्त्य हुने विश्वास लिइएको छ ।

  • नेतान्याहूले दिए गाजामा आक्रमणको आदेश, २० दिनमै युद्धविराम अन्योल

    नेतान्याहूले दिए गाजामा आक्रमणको आदेश, २० दिनमै युद्धविराम अन्योल

    १२ कात्तिक, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सेनालाई गाजामा आक्रमण गर्न आदेश दिएका छन्। इजरायलले हमासका लडाकूहरूले युद्धविराम सम्झौता तोड्दै राफा क्षेत्रमा इजरायली सेनामाथि (आईडीएफ) गोली चलाएका आरोप लगाएको छ । यस घटनापछि सुरक्षा सल्लाहकारहरूसँग छलफल गरी नेतान्याहूले तत्काल आक्रमणको आदेश दिएका छन्। यसले गाजा क्षेत्रमा तनाव बढाएको छ र शान्तिका प्रयासहरूमा ठूलो झटका लागेको छ।

    इजरायल र हमासबीच २० दिनअघि मात्र युद्धविराम सम्झौता भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २९ सेप्टेम्बरमा नेतान्याहूको उपस्थितिमा २० बुँदे शान्ति योजना प्रस्तुत गरेका थिए, जसलाई हमासले ९ अक्टोबरमा स्वीकार गरेको थियो। नेतान्याहूले हमासमाथि अर्को आरोप पनि लगाएका छन् । त्यो हो, युद्धविराम सम्झौताअनुसार फिर्ता गर्नुपर्ने इजरायली बन्धकको शव गलत रूपमा फिर्ता गरिएको। उनले यो सम्झौतामाथिको स्पष्ट उल्लंघन भएको बताए।

    सम्झौताअनुसार हमासले सबै इजरायली बन्धकका शवहरू यथाशीघ्र फिर्ता गर्नुपर्ने थियो। तर हमासले भने इजरायली आक्रमणका कारण शव फिर्ता गर्ने कार्यक्रम रोकिएको जनाएको छ। यसअघि मंगलबार हमासले अर्को शव फिर्ता गर्ने जनाएको थियो। खान युनिसमा एक खाल्डोबाट सेतो ब्यागमा केही वस्तु निकालेर एम्बुलेन्समा राखिएको थियो, तर त्यसमा के थियो भन्ने अहिलेसम्म स्पष्ट भएको छैन।

    गाजामा हाल १३ जना बन्धकका शव अझै बाँकी छन्। हमासको भनाइ छ, ‘’ध्वंस यति धेरै छ कि शव फेला पार्न कठिन भइरहेको छ।’ इजरायलले भने हमास जानाजानी ढिलाइ गरिरहेको आरोप लगाएको छ। शव खोज्न मद्दत गर्न इजिप्टले विज्ञ र ठूला मेसिनहरू पठाएको छ । इजरायली मिडियाका अनुसार नेतान्याहूले गाजामा मानवीय सहायता रोकिने, कब्जा विस्तार गर्ने वा हमास नेताहरूलाई लक्षित गरी हवाई आक्रमण गर्ने जस्ता विकल्पहरूबारे पनि विचार गरिरहेका छन्।

    यसैबीच, मंगलबार बिहान इजरायली सेनाले वेस्ट बैंकको जेनिन क्षेत्रमा छापा मारी तीन जना प्यालेस्टिनी लडाकूलाई मारेको छ। इजरायलको ती आतंकवादी गतिविधिमा संलग्न रहेका जिकिर गरेको छ । हमासले तीमध्ये दुई जनालाई आफ्ना कासिम ब्रिगेडका सदस्य भनेको छ, तेस्रोलाई सहयोगी बताए पनि विस्तृत जानकारी दिएको छैन।

    इजरायलको भनाइमा, उनीहरू वेस्ट बैंकमा आतंक नियन्त्रणमा केन्द्रित छन्। तर प्यालेस्टिनी पक्ष र मानवअधिकार समूहहरूले भने निर्दोष मानिसहरू पनि मारिँदै गएका र हजारौँ मानिस विस्थापित भइसकेका बताएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार दुई वर्ष लामो युद्धमा हालसम्म ६८ हजार ५०० भन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ।

    एजेन्सी

  • टोकियो पुगे ट्रम्प : के छ कार्यक्रम ?

    टोकियो पुगे ट्रम्प : के छ कार्यक्रम ?

    टोकियो, कात्तिक ११ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार मलेसियाको सफल भ्रमण सम्पन्न गरी आफ्नो एसियाली भ्रमणको दोस्रो चरणका रूपमा जापान पुगेका छन् । उनको यो भ्रमण जापानका नवनिर्वाचित प्रधानमन्त्री साने ताकाइचीसँग पहिलो व्यक्तिगत भेटका लागि हो । यो भेटलाई दुई देशबिचको सम्बन्ध सुदृढीकरणको महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । क्वालालम्पुरबाट प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले मलेसियाको २४ घण्टे भ्रमणको समापन गर्दै त्यहाँका अधिकारी र जनताप्रति धन्यवाद ज्ञापन गरे ।


    उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत लेखेका छन्, “अभिनव र जीवन्त देश मलेसिया छोड्दैछु । व्यापार र दुर्लभ पृथ्वी तत्वसम्बन्धी महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरियो, साथै थाइल्यान्ड र कम्बोडियाबिच ऐतिहासिक शान्ति सन्धि सम्पन्न भयो । युद्ध होइन, शान्ति । लाखौँको जीवन बच्यो, यो कार्य गर्न पाउनु मेरो लागि गर्वको विषय हो । अब, जापानतर्फ यात्रामा निस्किएँ ।”

    एसियाली राष्ट्रको सम्मेलन (आसियान शिखर सम्मेलन) का क्रममा राष्ट्रपति ट्रम्पले अक्टोबर २५ मा जापानकी नयाँ प्रधानमन्त्री ताकाइचीसँग पहिलो पटक टेलिफोन वार्ता गर्नुभएको थियो । जापानी प्रधानमन्त्री कार्यालयका अनुसार करिब १० मिनेट लामो संवादमा दुवै नेताले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय स्थिरता र सहयोग विस्तारमा जोड दिएका थिए ।


    राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री ताकाइचीलाई ऐतिहासिक विजयका लागि बधाई दिँदै जापान–अमेरिका गठबन्धनलाई सुदृढ पार्नु आफ्नो सर्वोच्च प्राथमिकता भएको पुनः पुष्टि गरेका थिए । उनले भने, “जापान हाम्रो इन्डो–प्यासिफिक रणनीतिक भागीदारीको केन्द्रमा रहेको मित्रराष्ट्र हो ।” प्रतिक्रियामा प्रधानमन्त्री ताकाइचीले अमेरिकासँगको सम्बन्धलाई ‘इन्डो–प्यासिफिक क्षेत्रमा अपरिहार्य साझेदारी’ भनेर वर्णन गर्दै स्वतन्त्र र खुला इन्डो–प्यासिफिक (एफओआइपी) दृष्टिकोण साकार पार्न राष्ट्रपति ट्रम्पसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरिन् । साथै, उनले पश्चिम एसियाको शान्ति सन्धि सम्भव गराउन ट्रम्पको नेतृत्वको प्रशंसा गर्दै अपहरण पीडितहरूको मुद्दामा अमेरिकी सहयोग निरन्तर रहोस् भन्ने आग्रह गरिन् ।


    दुवै नेताले आगामी भेटप्रति उत्साह प्रकट गरेका छन् । प्रधानमन्त्री ताकाइचीले ट्रम्पलाई जापानमा स्वागत गर्न आतुर रहेको बताए । राष्ट्रपति ट्रम्पले पनि उनीसँग प्रत्यक्ष भेटको प्रतीक्षा गरिरहेको जनाए । राष्ट्रपति ट्रम्पको हालको तीनदिने जापान भ्रमण लगभग छ वर्षपछि हुन लागेको पहिलो भ्रमण हो ।

    क्योदो न्युजका अनुसार यो भ्रमणले द्विपक्षीय सहयोग र दीर्घकालीन गठबन्धनलाई थप सुदृढ पार्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री ताकाइचीले यस महिनाको सुरुमा जापानको पहिलो महिला प्रधानमन्त्रीको रूपमा इतिहास रचेकी थिइन् । उनले अक्टोबर ४ मा सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को नेतृत्व जित्नुभयो र त्यसपछिको संसदीय मतदानमा ४६५ मध्ये २३७ मत प्राप्त गरी आधिकारिकरूपमा प्रधानमन्त्री निर्वाचित भएकी हुन् ।

    मुख्य क्याबिनेट सचिव मिनोरु किहाराका अनुसार राष्ट्रपति ट्रम्पले आफ्नो भ्रमणका क्रममा जापानका सम्राट नारुहितोलाई पनि भेट्ने कार्यक्रम रहेको छ । उनले यस अवसरलाई ‘जापान–अमेरिका गठबन्धनलाई अझ सुदृढ पार्ने ऐतिहासिक क्षण’ भनेर वर्णन गरेका छन् । रूढीवादी विचारधारा र दृढ सुरक्षा नीतिका लागि चिनिएकी प्रधानमन्त्री ताकाइचीलाई स्वर्गीय पूर्व प्रधानमन्त्री सिन्जो आबेसँग तुलना गरिन्छ ।

    आबेले सन् २०१७ मा ट्रम्पको पहिलो कार्यकालका क्रममा उनीसँग घनिष्ठ सम्बन्ध कायम गरेका थिए । जनवरीमा दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएका राष्ट्रपति ट्रम्पले अन्तिम पटक सन् २०१९ मा ओसाकामा आयोजित जी–२० शिखर सम्मेलनमा सहभागी हुन जापान भ्रमण गरेका थिए ।


    ताकाइची नेतृत्वको नयाँ प्रशासनसँग राष्ट्रपति ट्रम्पको यो प्रत्यक्ष सम्पर्कले जापान(अमेरिका सम्बन्धमा नयाँ उचाइ थप्ने र क्षेत्रीय स्थिरता तथा रणनीतिक साझेदारीलाई निरन्तर बलियो बनाउने सङ्केत गरेको छ । रासस-एएनआई

  • व्यापार युद्ध मत्थर पार्ने अमेरिका र चीनको प्रयास सकारात्मक

    व्यापार युद्ध मत्थर पार्ने अमेरिका र चीनको प्रयास सकारात्मक

    १० कात्तिक, काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको खाकामा सहमति जुटेको समाचार सार्वजनिक भएको छ । यसै साताको अन्त्यमा दुई देशका राष्ट्र प्रमुखहरूको भेटमा त्यसबारे छलफल हुने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जानकारी दिएका छन्। बेसेन्टले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई बताएअनुसार अमेरिकामा सामाजिक सञ्जाल टिकटकको सञ्चालन अमेरिकी स्वामित्वमा हुने र दुर्लभ खनिज पदार्थहरूमा चीनले कायम गरेको नियन्त्रण स्थगित गर्ने निर्णय अन्तिम सम्झौताका लागि तयार छन्।

    उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सामानमा प्रस्ताव गरेको १०० प्रतिशत कर लागु हुने सम्भावना आफूले नदेखेको बताए। चीनले अमेरिकाबाट ठूलो परिमाणमा भटमास खरिद पुनः सुरु गर्ने विषय पनि समेटिएको बेसेन्टले बताएका छन्। दुवै देशहरू विश्वका दुई ठूला अर्थतन्त्रबीच चलिरहेको व्यापार युद्धलाई थप चर्किन नदिने प्रयासमा देखिएका छन्।

    अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच बिहीवार दक्षिण कोरियामा भेट हुने तय भएको छ। अमेरिकी अर्थमन्त्री बेसेन्टले मलेशियामा दक्षिणपूर्वी एशियाली देशहरूको सङ्गठन आसियान सम्मेलनका बेला चिनियाँ वरिष्ठ अधिकारीहरूसँग भेट गरेका थिए। एशियाको भ्रमणमा रहेका ट्रम्प पनि उक्त सम्मेलनमा उपस्थित भएका थिए। बेइजिङले छलफल रचनात्मक भएको बताएको छ।

    बेसेन्टले दुई देशहरूबीच दुई नेताको भेटका लागि ठोस खाकामा सहमति जुटेको बताएका छन्। उनले करहरू रोकिने पनि बताएका छन्। चिनियाँ सरकारले एक विज्ञप्तिमा दुवै वार्तारत पक्ष आफ्नो चासो सम्बोधन गर्ने सम्झौताका लागि प्रारम्भिक सहमतिमा पुगेको जनाएको छ। दुवै पक्षले खास विवरण टुङ्गो लगाउने पनि सहमति गरेका छन्, चीनले भनेको छ।

    दोस्रो पटक राष्ट्रपति बनेर ह्वाइट हाउस प्रवेश गरेपछि ट्रम्पले धेरै देशबाट आयात हुने सामग्रीमा ठूलो ट्यारिफ अर्थात् आयात शुल्क लगाए। यो नीतिले अमेरिकी उत्पादन र रोजगारी दुवै वृद्धि हुने उनको तर्क थियो। ट्रम्पले नयाँ ट्यारिफ लगाएपछि यूके सहितका धेरै देशहरूले अमेरिकासँग नयाँ व्यापार सम्झौता गरे। ट्रम्पले चीनमाथि सबैभन्दा चर्कोमध्येको कर लगाएका छन्। प्रतिक्रियामा बेइजिङले पनि आफूलाई अनुकूल हुने गरी उपायहरू अवलम्बन गरेको छ। नयाँ व्यापार सहमतिसँगै दुवै देशले एकअर्काबाट आयात हुने सामग्रीमा लागु गरिएको कर कटौती गर्ने तयारी गरेका छन्।

    ट्रम्पले केही समयअघि नोभेम्बरबाट चिनियाँ सामानमा शतप्रतिशत कर लगाउने बताएका थिए। चीनले कैयौँ विद्युतीय उपकरणमा प्रयोग हुने रेअर अर्थ भनिने दुर्लभ खनिज पदार्थको निर्यातमा कडाइ गरेपछि ट्रम्पले यस्तो चेतावनी दिएका थिए। उनले चीनमाथि धेरै शत्रुतापूर्ण व्यवहार गरेको र विश्वलाई बन्धक बनाउन खोजेको आरोप समेत लगाएका थिए।
    चीनले विश्वको ९० प्रतिशत रेअर अर्थ प्रशोधन गर्दै आएको छ। सौर्य ऊर्जाका प्यानलदेखि स्मार्टफोन बनाउनसम्म प्रयोग हुने उक्त खनिज अमेरिकी उत्पादकलाई आपूर्ति गर्ने विषय दुई देशबीच प्रमुख मोलमोलाइको विषय बनेको छ। ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति बनेसँगै चिनियाँ सामानमा ट्यारिफ बढाएलगत्तै चीनले पनि रेअर अर्थको निर्यातमा कडाइ गरेको थियो। यस्तो खनिजमा निर्भर कैयौँ अमेरिकी कम्पनीहरूले त्यसमा आक्रोश पोखेका थिए।

    अमेरिकी अर्थमन्त्री बेसेन्टले चीनले यो कडाइ एक वर्षका लागि खुकुलो बनाउन लागेको बताएका छन्। दुई देशबीच विवादको अर्को विषय भटमास हो। चीन विश्वमै भटमासको सबैभन्दा ठूलो खरिदकर्ता देश हो। अमेरिकासँग व्यापार युद्ध सुरु भएपछि चीनले भटमासको सबै खरिद आदेश फिर्ता लियो। जसले अमेरिकी कृषकहरूको चित्त दुख्यो।

    अमेरिकी अर्थमन्त्रीले यो समस्या छिट्टै समाधान हुने बताए पनि विस्तृतमा खुलाएका छैनन्। अमेरिकी अर्थमन्त्री बेसेन्टले भिडिओ शेअरिङ प्ल्याट्फर्मको अमेरिकी शाखाको स्वामित्वबारे पनि सम्झौताका लागि सहमति भएको बताएका छन्। अमेरिकाले चिनियाँ स्वामित्वको बाइटड्यान्सका कारण राष्ट्रिय सुरक्षामा खतरा पर्न सक्ने भन्दै अमेरिकामा उक्त एप सञ्चालन हुने शाखा खरिद गर्न चाहेको छ।

    टिकटकलाई यसअघि स्वामित्व बिक्री नगरिए अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिइएको थियो। तर ट्रम्पले प्रतिबन्धमा ढिलाइ गर्दै वार्ता अघि बढाएका छन्। पछिल्लो पटक प्रतिबन्धका लागि डिसेम्बरको समयसीमा तोकिएको छ। ह्वाइट हाउसले गत महिना टिकटकको अल्गोरिदम अमेरिकी कम्पनीको नियन्त्रणमा हुने र अमेरिकामा सञ्चालन हुने एपको सञ्चालक समितिमा सात जनामध्ये छ जना अमेरिकी हुने बताएको थियो। आफ्नो पहिलो कार्यकालमा टिकटकमाथि प्रतिबन्ध लगाउने बताएका ट्रम्पले अहिले अडान फेरेका हुन्। उनले अघिल्लो वर्ष आफ्नो चुनावी अभियानमा युवा अमेरिकीहरूसम्म पुग्न निकै लोकप्रिय यो सामाजिक सञ्जालको यथेष्ट उपयोग गरेका थिए।
    बीबीसीबाट साभार

  • अमेरिका नेपालको पाँचौ ठूलो व्यापार साझेदार मुलुक, तीन महिनामै साढे १२ अर्बको व्यापार

    अमेरिका नेपालको पाँचौ ठूलो व्यापार साझेदार मुलुक, तीन महिनामै साढे १२ अर्बको व्यापार

    १० कात्तिक, काठमाडौं । संयुक्त राज्य अमेरिका नेपालको पाँचौं ठूलो व्यापारिक साझेदार मुलुक रहेको देखिएको छ । चालु आव २०८२\८३ को पहिलो त्रैमासिक (साउन–असोज)तथ्यांक अनुसार अमेरिकासँग तीन महिनामा साढे १२ अर्ब रुपैयाँ बराबरको व्यापार भएको छ । अमेरिकाबाट नेपालमा ७ अर्ब ७१ करोड रुपैयाँको वस्तु आयात भएको छ । नेपालबाट अमेरिकामा भने ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार मुलुक भने भारत हो ।

    भारतबाट ३ महिनामा २ खर्ब ५८ अर्बको वस्तु नेपाल आएको छ । नेपालबाट ५९ अर्ब १२ करोड रुपैयाँ बराबर निर्यात भारततर्फ भएको छ । चीन दोस्रो स्थानमा छ । चीनबाट नेपालमा १ खर्ब ४ अर्बको वस्तु आएको छ । निर्यात भने १८ करोड रुपैयाँको मात्र भएको छ । तेस्रो स्थानमा अर्जेण्टिना रहेको छ । यस मुलुकबाट २७ अर्ब ८९ करोडको सामान नेपाल आएको छ ।

    नेपालबाट भने मात्र ५ लाख ८८ हजारको वस्तु निर्यात भएको छ । चौथो स्थानमा यूएइ रहेको छ । यस मुलुकबाट १३ अर्ब ७२ करोडको सामान नेपाल आएको छ । नेपालबाट भने ६१ करोडको वस्तु यूएई निर्यात भएको छ । तीन महिनामा ४ खर्ब ६८ अर्बको कुल आयात भएको छ । ७२ अर्ब ७८ करोडको निर्यात भएको तथ्यांक छ ।

  • अमेरिकी नौसेनाका फाइटर जेट र हेलिकप्टर दक्षिण चीन सागरमा खसे, ५ जनाको सुरक्षित उद्धार

    अमेरिकी नौसेनाका फाइटर जेट र हेलिकप्टर दक्षिण चीन सागरमा खसे, ५ जनाको सुरक्षित उद्धार

    १० कात्तिक, काठमाडौं । अमेरिकी नौसेनाको एक फाइटर जेट र एक हेलिकप्टर दक्षिण चीन सागरमा खसेका छन् । एकै दिन फरक–फरक समयमा भएका यी दुर्घटनास्थलबाट चालक दलका पाँच सदस्यहरूलाई सकुशल उद्धार गरिएको छ । दक्षिण चीन सागरमा आफ्नो उपस्थिति बलियो बनाउन अमेरिका सक्रिय भइरहेका बेला पहिलो दुर्घटना आइतबार स्थानीय समय अनुसार दिउँसो करिब २ः४५ बजे भएको थियो । ‘ब्याटल क्याट्स’ स्क्वाड्रन–७३सँग सम्बन्धित एमएच–६० आर सी–हक हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । खोज तथा उद्धार टोलीहरूले तत्काल हेलिकप्टरको चालक दलका तीन सदस्यहरुलाई सुरक्षित उद्धार गरेका थिए ।

    त्यसको करीब ३० मिनेटपछि, दिउँसो करिब ३ः१५ बजे, ‘फाइटिङ रेडकक्स’ स्क्वाड्रन–२२ को एक सुपर हर्नेट फाइटर जेट पनि त्यही समु्द्रमा खसेको थियो । जेटमा रहेका दुबै पाइलट समयमै प्यारासुटको सहायताले बाहिर निस्कन सफल भएका र पछि सुरक्षित उद्धार गरिएको अमेरिकी नौसेनाले जनाएको छ । अमेरिकी नौसेनाले जारी गरेको विज्ञप्तिमा पाँचै जनालाई उपचारका लागि पठाइएको र उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख छ । दुबै घटनाको कारणबारे अहिले अनुसन्धान भइरहेको छ । नौसेनाले भविष्यमा यस्ता दुर्घटना नोहाउन् भन्नका लागि सुरक्षा प्रोटोकल अन्तर्गत सबै अपरेसनहरूको समीक्षा गरिने जनाएको छ ।

  • थाईल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता, ट्रम्प पनि सहभागी

    थाईल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता, ट्रम्प पनि सहभागी

    १० कात्तिक, काठमाडौं । सीमा विवादका कारण हालै लडाइँ गरेका थाईल्यान्ड र क्याम्बोडियाले आपसी सम्बन्ध सामान्य बनाउने प्रयासमा औपचारिक शान्ति सम्झौता गरेका छन्। सम्झौता समारोहमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी भए । ट्रम्पले यसै महिनाको शुरू तिर इजरेल र हमास समूहबीच युद्धविराम गराएको पृष्ठभूमिमा यो खबर प्रकाशमा आएको हो। मलेशियाको राजधानी क्वालाम्पुर पुगेका अमेरिकी राष्ट्रपतिले जुलाईमा क्याम्बोडिया र थाईल्यान्डबीच सीमामा भएको लडाइँ अन्त्य हुनुको श्रेय लिँदै आएका छन्।

    लडाइँ नरोकेसम्म दुवै देशसँग व्यापार वार्ता रोक्ने चेतावनी ट्रम्पले दिएपछि एउटा धरमराउँदो युद्धविराम सम्झौतामा दुई मुलुक पुगेका थिए। गत जुलाईमा भएको पाँचदिने द्वन्द्वका क्रममा करिब दुई दर्जन व्यक्तिको ज्यान गएको थियो। दुई देशबीच लामो समयदेखि सीमासम्बन्धी विवाद रहिआएको छ। थाईल्यान्ड र क्याम्बोडियाबीच देखिएको सीमा विवाद नौलो चाहिँ होइन।

    क्याम्बोडियालाई फ्रान्सले उपनिवेश बनाएर सीमाङ्कन गरिएपश्चात्‌ दक्षिण पूर्वी यी दुई एशियाली मुलुकबीच एक शताब्दीभन्दा बढी समयदेखि सीमासम्बन्धी विवाद रहिआएको छ। विवादित क्षेत्रमा अवस्थित ११औँ शताब्दीको एउटा मन्दिरलाई क्याम्बोडियाले युनेस्को विश्व सम्पदा सूचीमा दर्ता गराउन खोजेपछि सन् २००८ मा विवाद चर्कियो। क्याम्बोडियाको उक्त कदमले थाईल्यान्डमा व्यापक प्रदर्शन पनि निम्त्यायो।

    पछिल्ला वर्षहरूमा दुई देशबीच बेलाबखत भिडन्त हुँदै आएका छन्, जसमा दुवै पक्षका सैनिक तथा सर्वसाधारणले ज्यान गुमाउने गरेका छन्।
    पछिल्लो तनाव गत मेमा उत्पन्न भएको थियो जब भिडन्तमा एक कम्बोडियाली सैनिक मारिए। उक्त घटनाका कारण दुई देशबीच एक दशकभन्दा बढी समयताकै द्विपक्षीय सम्बन्ध चिसिन पुग्यो।

    त्यसपछि जुलाई २४ मा तनाव उत्कर्षमा पुग्यो। सीमा क्षेत्रमा पाँच दिन लडाइँ चल्दा ३३ जना मारिए भने दशौँ हजार मानिस विस्थापित भए। बीबीसीकी टेसा वोङका अनुसार ट्रम्पले दुई देशबीच हुन लागेको समझदारीलाई शान्ति सम्झौता भनेका छन्। तर त्यो के साँच्चिकै शान्ति सम्झौता हो ? थाईल्यान्डका विदेशमन्त्रीले त्यसलाई शान्ति सम्झौता भन्न अस्वीकार गरे।

    समझदारीलाई थाईल्यान्ड र क्याम्बोडियाबीचको सम्बन्धको संयुक्त घोषणा भनी नाम दिइएको छ। सञ्चारमाध्यमहरूमाझ सार्वजनिक गरिएका शर्तहरूलाई हेर्दा समझदारीले द्वन्द्व कम गर्नका निम्ति शुरूवाती कदमहरूको ढाँचा प्रस्तुत गरेको देखिन्छ। त्यसअन्तर्गत भारी अस्त्रहरू फिर्ता ल्याउने, संयुक्त रूपमा बारुदी सुरुङहरू हटाउने तथा सीमाहरूलाई स्पष्ट रूपमा चिह्नित गर्ने कदम समेटिएका छन्। समझदारीमा औपचारिक रूपमा शान्तिको घोषणा गरिएको छैन। हुन त गल जुलाईमा पहिलो पटक लडाइँ बन्द गरेकै बेला दुई देशले अविलम्ब शत्रुता अन्त्य गर्ने समझदारी गरेका थिए।


    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एशिया भ्रमणका क्रममा शुरूमा क्वालालम्पुर पुगेका हुन्। त्यहाँ रहँदा उनी दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन आसीआनको शिखर बैठकमा पनि सहभागी हुने छन्। एक साता लामो एशिया भ्रमणमा निस्केका ट्रम्पले अमेरिकाको प्रमुख साझेदार रहिआएको जापानका नयाँ रूढीवादी नेतृत्वसँग टोक्योमा भेट्ने छन्। दक्षिण कोरियामा चाहिँ एशिया प्यासिफिक इकनमिक फोरम एपेकको शिखर बैठकमा सहभागी हुने छन्।
    त्यहाँ उनले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेटवार्ता गर्ने छन्, जसलाई उनको भ्रमणको एउटा महत्त्वपूर्ण हिस्साको रूपमा हेरिँदै छ।
    बीबीसीबाट

  • न्यूयोर्कको बलिङ ग्रिन पार्कमा फहराइयो नेपालको झण्डा

    न्यूयोर्कको बलिङ ग्रिन पार्कमा फहराइयो नेपालको झण्डा

    ९ कात्तिक, काठमाडौं । न्यूयोर्कको बलिङ ग्रिन पार्कमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । न्युयोर्क सिटी मेयरको कार्यालय र बलिङ ग्रिन पार्क एसोसिएसनको आयोजनामा नेपालको राष्ट्रिय झण्डा फहराइएको हो । अमेरिकी झण्डाको समान उचाइ र आकारमा नेपालको झण्डा राखिएको छ । यो झण्डा आगामी केही साता सो पार्कमा रहने नेपाली महावाणिज्य दूतावासले जनाएको छ । यस पार्कमा सन् १९९६ देखि विभिन्न देशका झण्डाहरू फहराउने गरिएको छ । नेपालको झण्डा पहिलोपटक सन् २०२३ मा फहराइएको थियो । त्यसयता हरेक वर्ष नेपालको झण्डा पनि राख्ने गरिएको छ ।

    नेपलको राष्ट्रिय झण्डा राख्ने कार्यक्रममा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कमा रहेका नेपाली समुदायका प्रतिनिधि र न्यूयोर्क मेयर कार्यालयका प्रतिनिधिहरू सहभागी थिए । कार्यक्रमलाई नेपाली महावाणिज्यदूत दधिराम भण्डारी, सन् २०२३ मा पहिलोपटक नेपाली झण्डा राख्ने कार्यक्रमकी युवा संयोजक श्रीया तुलाधर, बलिङ ग्रिन एसोसिएसनका अध्यक्ष आर्थर पिकालो, मेयर कार्यालयको प्रतिनिधित्व गरेका दक्षिण एसियाली सम्पर्क अधिकारी सुक्रानी धनपत लगायतले सम्बोधन गरेका थिए ।

  • उत्तर कोरियाबारे ‘सफ्ट’ सुनिए ट्रम्प, दक्षिण कोरियामा किम जोङ उनसँग भेट्ने सम्भावना

    उत्तर कोरियाबारे ‘सफ्ट’ सुनिए ट्रम्प, दक्षिण कोरियामा किम जोङ उनसँग भेट्ने सम्भावना

    एयर फोर्स वान (अमेरिका) । कात्तिक ८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उत्तर कोरियालाई ‘एक प्रकारको आणविक शक्ति’ भएको बताएका छन् । प्योङयाङका नेता किम जोङ उनसँगको सम्भावित भेटसमेत समावेश हुनसक्ने एसियाली भ्रमणका लागि अमेरिकाबाट प्रस्थान गर्नुअघि उनी दक्षिण कोरियाबारे केही नरम सुनिएका छन् ।


    एयर फोर्स वानमा पत्रकारले वासिङ्टनसँगको वार्ताका पूर्वशर्तका रूपमा उत्तर कोरियालाई आणविक राष्ट्रको रूपमा मान्यता दिनेबारे सोध्दा ट्रम्पले भने, “ठिक छ, मलाई लाग्छ उनीहरू एक प्रकारका आणविक शक्ति हुन् । जब तपाईं भन्नुहुन्छ कि तिनीहरूलाई मान्यता दिनुपर्छ, ठिक छ, उनीहरूसँग धेरै आणविक हतियार छन्, म त्यसो भन्छु ।”

    राष्ट्रपति ट्रम्प आगामी बुधबार दक्षिण कोरियामा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक)सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ । अमेरिकी सञ्चार माध्यमले यसअघि ट्रम्प प्रशासनका केही अधिकारीले उनी र उत्तर कोरियाली नेता किमबिच पुनः वार्ताको सम्भावना खोज्दै अनौपचारिक छलफल चलाएको बताएका थिए ।

    ट्रम्पले पनि किमलाई फेरि भेट्ने आशा व्यक्त गरेका छन । सम्भवतः यही वर्षभित्र । उता, किम जोङ उनले हालै आफूलाई राष्ट्रपति ट्रम्पसँगका ‘सुखद सम्झना’ रहेको बताउँदै अमेरिकाले प्योङयाङलाई आफ्नो आणविक हतियार त्याग्न बाध्य पार्ने ‘भ्रमपूर्ण माग’ त्यागेमा वार्ताका लागि तयार रहेको उल्लेख गरेका थिए ।

    दक्षिण कोरियाका एकीकरण मन्त्री चुङ डोङ–युङले पनि राष्ट्रपति ट्रम्पको आगामी भ्रमणका क्रममा किमसँग भेट हुने ‘पर्याप्त सम्भावना’ रहेको विश्वास व्यक्त गरे । तर एक वरिष्ठ अमेरिकी अधिकारीले भने नाम नखुलाउने सर्तमा सञ्चारकर्मीलाई जानकारी दिँदै सो भेट ‘यस भ्रमणको आधिकारिक तालिकामा नरहेको’ बताए ।
    हालसम्म दुवै नेताबिच भेटवार्ताको औपचारिक घोषणा गरिएको छैन । यद्यपि, दक्षिण कोरिया र संयुक्त राष्ट्रसङ्घीय कमान्डले अक्टोबरको अन्त्यदेखि नोभेम्बरको सुरुसम्मका लागि संयुक्त सुरक्षा क्षेत्र (जेएसए) भ्रमण रोकिएको जानकारी दिएका छन् ।

    किम र ट्रम्पबिच अन्तिम भेट सन् २०१९ मा दुई कोरियालाई छुट्याउने असैन्य क्षेत्र (डिमिलिट्राइज्ड जोन) भित्र पर्ने पान्मुन्जोमको जेएसएमा भएको थियो । यही स्थानमा दुवै देशका सैनिक नियमित रूपमा आमनेसामने हुने गर्छन् । मन्त्री चुङका अनुसार यस वर्ष उत्तर कोरियाली जेएसए नजिकको क्षेत्र सफा गर्ने, फुल रोप्ने, फोटो खिच्ने जस्ता गतिविधिमा व्यस्त देखिएका छन् ।

    राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा किम जोङ उनसँग तीन पटक उच्चस्तरीय शिखर वार्ता भएको थियो । तीमध्ये एक भेट सन् २०१९ मा ट्रम्पले ट्विटरमार्फत अचानक निमन्त्रणापछि पान्मुन्जोममा भएको थियो । त्यहाँ दुवै नेताले सीमामा हात मिलाएका थिए । त्यस बेला ट्रम्प उत्तर कोरियाको भूमिमा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए । तर, उत्तर कोरियाले आफ्नो आणविक हतियार कति त्याग्ने र त्यसको सट्टामा पाउने लाभबारे सहमति नजुट्दा वार्ता अन्ततः असफल भएको थियो । त्यसयता प्योङयाङले आफूलाई ‘अपरिवर्तनीय आणविक शक्ति’ का रूपमा घोषणा गर्दै आएको छ । रासस\एएफपी

  • नेपाली मुलका उद्यमीले चलाएको कम्पनी अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत, सुरु भयो कारोबार

    नेपाली मुलका उद्यमीले चलाएको कम्पनी अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत, सुरु भयो कारोबार

    ८ कात्तिक, काठमाडौं । एआई क्षेत्रमा काम गरिरहेको कम्पनी फ्युजमसिन्सले अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सेयर सूचीकृत गरेर कारोबार थालेको छ । कम्पनीले ‘फ्युज’ टिकरसहित स्थानीय समयअनुसार बिहीबारबाट कारोबार सुरु गरेको हो । विशेषगरी प्रविधि उद्योगका ठूला कम्पनीको सूचीकरणका लागि प्रसिद्ध नास्डाकमा एप्पल, माइक्रोसफ्ट, गुगल, अमेजन, मेटाजस्ता ठूला टेक कम्पनी सूचीकृत छन् । फ्युजमसिन्सले सीएसएलएम एक्विजिसन करसँगको व्यापारिक संयोजन पूरा गरेपछि नास्डाक ग्लोबल मार्केटअन्तर्गत सूचीकृत भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    बिहीबार ३।३३ डलर रहेको कम्पनीको प्रतिसेयर मूल्य शुक्रबार ४ डलर पुगेको छ । कम्प्युटर वैज्ञानिक समीर मास्केले सन् २०१३ मा संयुक्त राज्य अमेरिकामा फ्युजमसिन्स इंक स्थापना गरेका थिए । हाल यो कम्पनी नेपालसहित क्यानडा, डोमिनिकन रिपब्लिकलगायत विभिन्न देशमा विस्तार भएको छ ।
    नेपाली मूलका उद्यमीले स्थापना गरेको प्रविधि कम्पनी अमेरिकी स्टक एक्सजेन्जमा सूचीकृत हुनुलाई नेपालको प्रविधि क्षेत्रले उपलब्धिका रूपमा लिएको छ । एआईलाई सबै मानिसको पहुँचमा पुर्‍याउने आफूहरूको लक्ष्यमा यो उपलब्धि थप नयाँ अध्याय बनेको कम्पनीले जनाएको छ ।

    ‘एउटा सानो समूहसँग विचार–विमर्श र नवप्रवर्तनको प्रयासबाट सुरु गरेको यो कम्पनी नास्डाकमा सूचीकृत भइन्जेल हामीले लामो यात्रा तय गरेका छौं,’ फ्युजमसिन्सका प्रमुख मास्के भन्छन्, ‘यो उपलब्धि हाम्रो सामूहिक प्रयासबिना सम्भव हुने थिएन । यो हाम्रा लागि एउटा निर्णायक क्षण हो र वर्षौंको मिहिनेतको परिणाम पनि हो । तथापि यसलाई हामीले यात्रा सुरुवात मानेका छौं ।’

  • क्वालालम्पुरमा अमेरिका–चीन व्यापार वार्ता प्रारम्भ

    क्वालालम्पुरमा अमेरिका–चीन व्यापार वार्ता प्रारम्भ

    ८ कात्तिक, क्वालालम्पुर चीन र संयुक्त राज्य अमेरिकाबिचको पछिल्लो व्यापार वार्ता शनिबार मलेसियाको राजधानी क्वालालम्पुरमा सुरु भएको छ ।
    अमेरिकी अर्थ मन्त्रालयका प्रवक्ता र बेइजिङको सरकारी मिडियाले उक्त वार्ताको पुष्टि गरेका छन् । यो वार्ता आगामी हप्ता दक्षिण कोरियामा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको बहुप्रतिक्षित भेटको पूर्वतयारीस्वरूप प्रारम्भ गरिएको बताइएको छ ।

    बेइजिङको वाणिज्य मन्त्रालयका अनुसार उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डल मलेसियामा सोमबारसम्म रहनेछ । एएफपीका संवाददाताहरूले हे लिफेङ र उनको टोलीलाई विश्वकै दोस्रो अग्लो भवन ‘मर्डेका ११८’ मा प्रवेश गर्दै देखेका थिए । उनीहरु पत्रकारहरूसँग कुनै टिप्पणी नगरी भवनको लबी हुँदै माथिल्लो तलातर्फ गएका छन् । अमेरिकी प्रतिनिधिमण्डलले भने छुट्टै प्रवेशद्वार प्रयोग गरेको थियो । भवनका कर्मचारीहरूका अनुसार दुई देशका प्रतिनिधिहरू ९२औँ तलामा औपचारिक बैठकमा सहभागी छन् ।

    विश्वका दुई ठुला अर्थतन्त्र पछिल्ला वर्षहरूमा चलेको प्रतिशोधात्मक कर युद्धबाट थप हानि बेहोर्नु नपरोस् भनेर सहमतिको खोजीमा छन् । राष्ट्रपति ट्रम्प र राष्ट्रपति सीबीचको भेट आगामी बिहीबार दक्षिण कोरियामा आयोजना हुने एसिया–प्यासिफिक आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा हुने अपेक्षा गरिएको छ ।

    राष्ट्रपति ट्रम्पले केही दिनअघि उक्त बैठक रद्द गर्न सक्ने चेतावनी दिनुभए पनि उहाँले पुनः चीनसँग ‘राम्रो सम्झौता’ गर्न चाहने र व्यापार युद्ध अन्त्य गर्ने आशा प्रकट गरेका थिए । अमेरिकी अर्थ मन्त्रालयका प्रवक्ताले शनिबार वार्ता औपचारिक रूपमा प्रारम्भ भएको पुष्टि गरे । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले पनि दुई देशका प्रतिनिधिमण्डलबीच ‘बैठक भएको’ उल्लेख गरेको छ ।

    यसैबिच, बेइजिङले हालै आफ्नो दुर्लभ पृथ्वी (खनिज तत्व) उद्योगमा व्यापक नियन्त्रण लगाउने निर्णय गरेपछि वासिङ्टनले त्यसको प्रतिकारमा चीनबाट आयात हुने सामानमा १०० प्रतिशतसम्म कर लगाउने धम्की दिएको थियो । दुवै देशले एकअर्काका जहाजहरूमा आगमन शुल्क लगाउन थालेका छन् । अमेरिकी ‘धारा ३०१’ अनुसन्धानले उक्त उद्योगमा चीनको प्रभुत्व अनुचित भएको निष्कर्ष निकालेपछि तनाव झनै बढेको हो । रासस\एएफपी

  • ट्रम्प र सि जिनपिङ दक्षिण कोरियामा भेट गर्दै

    ट्रम्प र सि जिनपिङ दक्षिण कोरियामा भेट गर्दै

    ७ कात्तिक, काठमाडौंं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिन पिङबीच दक्षिण कोरियामा भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसले यस भेटबारे पुष्टी गरेको हो । दक्षिण कोरियामा आयोजना हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक) बैठकमा सहभागी हुने क्रममा दुई शक्ति सम्पन्न राष्ट्रपतिहरुबीच भेटवार्ता हुन लागेको हो ।

    ३० अक्टोवरका दिन यो भेटघाट हुने तय भएको छ । शिखर सम्मेलन भने ३१ अक्टोवरबाट १ नोभेम्बरसम्म चल्ने छ । ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता पहिलो पटक दुई राष्ट्रपति बीच भेटवार्ता हुन लागेको हो । अहिले अमेरिका र चीनबीच व्यापार युद्ध चलिरहेको छ । यसबीच हुन लागेको भेटलाई महत्वका साथ हेरिएको छ । एजेन्सी

  • भारतले तेल खरीद गरिरहेका दुई रुसी कम्पनी माथि अमेरिकाले लगायो प्रतिवन्ध, नेपालसम्म पर्न सक्छ असर

    भारतले तेल खरीद गरिरहेका दुई रुसी कम्पनी माथि अमेरिकाले लगायो प्रतिवन्ध, नेपालसम्म पर्न सक्छ असर

    ६ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा पहिलो पटक रूसविरुद्ध महत्त्वपूर्ण प्रतिबन्धहरूको घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले ओभल अफिसमा नेटोका महासचिव मार्क रुट्टेसँगको भेटका क्रममा यो घोषणा गरेका हुन्। प्रतिबन्धहरूले रूसका दुई ठूला तेल कम्पनीहरू रोस्नेफ्ट र लुकओइललाई निशाना बनाएको छ। युक्रेन युद्ध समाप्त गर्न रूसमाथि दबाब बढाउने उद्देश्यका साथ अमेरिकाद्वारा चालिएको एउटा ठूलो आर्थिक कदमका रूपमा यसलाई विश्लेषण गरिएको छ ।

    अमेरिकी अर्थ मन्त्रालयले रूसका दुई सबैभन्दा ठूला तेल कम्पनीहरू रोसनेफ्ट र लुकोइलमाथि प्रतिबन्ध लगाएको जानकारी दिंदै यी प्रतिबन्धहरूको सीधा उद्देश्य रूसको युद्ध मेसिनका लागि राजस्व जुटाउने र उसको कमजोर अर्थतन्त्रलाई सहयोग गर्ने क्षमतालाई कम गर्नु हो। युक्रेनमाथि पूर्ण-स्तरीय आक्रमण गरेपछि अमेरिकाले रूसी ऊर्जा क्षेत्रमाथि चालेका सबैभन्दा महत्त्वपूर्ण कदमहरूमध्ये यो पनि एक हो।

    रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग बुडापेस्टमा गर्ने भनिएको भेटवार्ता असफल भएपछि ट्रम्पको पुटिनप्रतिको असन्तुष्टि नयाँ स्तरमा पुगेको देखिन्छ।
    रूसी अधिकारीहरूले युद्ध अन्त्य गर्न कुनै सम्झौता गर्ने मनसाय नदेखाएपछि ट्रम्पले पुटिनसँगको भेटको योजना स्थगित गरेका थिए। नेटोका महासचिव मार्क रुट्टे युक्रेनलाई समर्थन जारी राख्न युरोपेली नेताहरूको गठबन्धनको तर्फबाट ट्रम्पसँग भेट्न वासिङ्टन आएका थिए। ट्रम्पले रुट्टेलाई भेटे लगत्तै यी प्रतिबन्धहरूको घोषणा गर्नुलाई युक्रेनको समर्थनका लागि महत्त्वपूर्ण कदम मानिएको छ।

    अर्थमन्त्री स्कट बेसेन्टले रूसलाई हत्याहरू रोक्न र तत्काल युद्धविराम गर्न आह्वान गरेका छन् । उनले भने, ‘राष्ट्रपति पुटिनले यो निरर्थक युद्ध अन्त्य गर्न अस्वीकार गरेपछि अर्थ मन्त्रालयले क्रेमलिनको युद्ध मेसिनरीलाई वित्तपोषण गर्ने रूसका दुई सबैभन्दा ठूला तेल कम्पनीहरूमाथि प्रतिबन्ध लगाइरहेको छ।’
    बेसेन्टले अर्थ मन्त्रालय राष्ट्रपति ट्रम्पको युद्ध समाप्त गर्ने प्रयासहरूलाई समर्थन गर्न, आवश्यक भएमा थप कारबाही गर्न तयार रहेको बताए । उनले सहयोगी देशहरूलाई पनि यी प्रतिबन्धहरूको पालना गर्न आग्रह गरे।

    यी प्रतिबन्धहरूको परिणामस्वरूप, रोसनेफ्ट र लुकोइलका अमेरिकामा रहेका सबै सम्पत्तिहरू जफत गरिएका छन्। यसका अतिरिक्त, अमेरिकी नागरिकहरूलाई यी कम्पनीहरूसँग कुनै पनि प्रकारको वित्तीय लेनदेन गर्नमा पनि प्रतिबन्ध लगाइएको छ। रोसनेफ्ट र लुकोइलको ५० प्रतिशत वा सोभन्दा बढी स्वामित्व भएका सबै संस्थाहरूमा पनि प्रतिबन्धहरू लागू हुनेछन् । जुन विदेशी वित्तीय संस्थाहरूले जानीजानी यी तोकिएका संस्थाहरूसँग महत्त्वपूर्ण लेनदेन गर्छन्, उनीहरूमाथि द्वितीयक प्रतिबन्धहरू लाग्ने जोखिम रहने चेतावनी अमेरिकाले दिएको छ ।

    अमेरिकी कारबाहीमा रोसनेफ्ट र लुकोइलका रूसमा रहेका धेरै सहायक कम्पनीहरूलाई पनि प्रतिबन्धित गरिएको छ। यी कम्पनीहरुसँग भारतले पनि तेल किन्ने गर्छ । भारतबाट नेपालले तेल किन्छ । त्यसकारण यस्ता कम्पनीहरुमाथि अमेरिकी प्रतिवन्धले विश्वभर असर पर्ने विश्लेषण गरिएको छ । पछिल्लो तथ्यांक अनुसार भारतले यी दुई कम्पनीसँग कुल मागको एक तिहाई तेल किनिरहेको छ ।

  • अमेरिकी सेनाले  महासागरमा हिडिँरहेका डुंगामा किन गरिरहेको छ आक्रमण ?

    अमेरिकी सेनाले महासागरमा हिडिँरहेका डुंगामा किन गरिरहेको छ आक्रमण ?

    ६ कात्तिक, काठमाडौं । अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी सेनाले प्रशान्त महासागरमा एक शङ्कास्पद लागुऔषध डुङ्गामा हमला गरेको जनाएको छ। बीबीसीका अनुसार, हमलामा दुई जनाको मृत्यु भएको छ। रक्षा मन्त्री पीट हेगसेथले घटनाको पुष्टि गरेका छन् ।

    उनका अनुसार, अमेरिकी सेनालाई कुनै क्षति पुगेको छैन । हेगसेथका अनुसार, उक्त डुङ्गा अमेरिकी खुफिया एजेन्सीहरूको निगरानीमा थियो र त्यो अन्तर्राष्ट्रिय जलक्षेत्रमा मादक पदार्थको खेप लिएर गइरहेको अनुमान गरिएको थियो। यो सेप्टेम्बर २ यता शङ्कास्पद लागुऔषध डुङ्गाहरूमा अमेरिकी सेनाको आठौँ कारबाही हो, तर प्रशान्त क्षेत्रमा यस प्रकारको यो पहिलो हमला हो।

  • अमेरिकाभर ‘नो किङ्ग्स’ र्‍याली, ट्रम्पको अधिनायकवादी शैलीविरुद्ध लाखौँ प्रदर्शनकारी सडकमा

    अमेरिकाभर ‘नो किङ्ग्स’ र्‍याली, ट्रम्पको अधिनायकवादी शैलीविरुद्ध लाखौँ प्रदर्शनकारी सडकमा

    वासिङ्टन, २ कात्तिक (रासस\एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर नीति र अधिनायकवादी व्यवहारविरुद्ध शनिबार देशभरै ‘नो किङ्ग्स’ नामक विशाल प्रदर्शन गरिएको छ । सबै ५० अमेरिकी राज्यका सहर–सहरमा लाखौँ मानिस लोकतन्त्रको पक्षमा र राष्ट्रपति ट्रम्पको नीतिविरुद्ध सडकमा उत्रिएका थिए । आयोजकहरूका अनुसार न्युयोर्कदेखि लस एन्जलससम्म फैलिएको यो आन्दोलनमा करिब ७० लाखभन्दा बढी नागरिकले सहभागिता जनाएका थिए । फ्लोरिडास्थित ट्रम्पको निवास नजिक र अमेरिकी हार्टल्यान्डका साना सहरहरूमा समेत विरोध प्रदर्शन भएका थिए ।

    वासिङ्टनस्थित अमेरिकी क्यापिटल नजिकै हजारौँ प्रदर्शनकारीले ‘लोकतन्त्र यस्तो देखिन्छ १’ भन्ने नारा लगाउँदै सरकारको दीर्घकालीन बन्द (शटडाउन) विरुद्ध पनि आक्रोश प्रकट गरेका थिए । रङ्गीन पोस्टरहरूमा ‘लोकतन्त्रको रक्षा गरौँ’ भन्ने सन्देश झल्किन्थ्यो भने कतिपयले आप्रवासीमाथि दमन गर्ने अध्यागमन तथा भन्सार प्रवर्तन (आइसिई) निकायको अन्त्य गर्न माग गरेका थिए । न्युयोर्ककी ६९ वर्षीया सेवानिवृत्त कोलिन हफम्यानले आँसु झर्दै भनिन्, “लोकतान्त्रिक देशको मृत्यु आफ्नै आँखाबाट हेर्नुपर्ने दिन आउनेछ भन्ने मैले कहिल्यै सोचेकी थिइनँ । हामी अहिले सङ्कटमा छौँ — यो शासनको क्रूरता र अधिनायकवादले हामीलाई घुँडा टेकाउन खोजिरहेको छ ।”

    लस एन्जलसमा प्रदर्शनकारीहरूले डाइपर लगाएको ट्रम्पको विशाल बेलुन आकाशमा उडाए । कतिपयले हालैका विश्वव्यापी विरोधहरूमा प्रचलित ‘खोपडी लोगो’ अङ्कित झण्डा फहराएका थिए । ह्युस्टनमा ‘अज्ञानताविरुद्ध लडौँ, आप्रवासीविरुद्ध होइनौँ’ भन्ने सन्देशले नागरिकको ध्यान खिचेको थियो । प्रदर्शन अधिकांश ठाउँमा शान्तिपूर्ण रहे पनि लस एन्जलसको डाउनटाउनमा केही भिड नियन्त्रणका क्रममा प्रहरीले गैरघातक गोली र अश्रुग्याँस प्रयोग गरेको लस एन्जलस टाइम्सले जनाएको छ । लस एन्जलस प्रहरीले ‘कानूनी आदेशपछि प्रदर्शनकारीहरूलाई तितरबितर गरियो’ भने पनि गिरफ्तारीबारे विवरण सार्वजनिक गरिएको थिएन ।

    न्युयोर्कमा करिब एक लाखभन्दा बढी र वासिङ्टनमा आठदेखि १० हजारसम्म प्रदर्शनकारीको भीड अनुमान गरिएको थियो । आयोजकहरूको उपस्थिति तथ्याङ्क स्वतन्त्र रूपमा पुष्टि हुन सकेको थिएन । राष्ट्रपति ट्रम्पले भने आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत प्रतिक्रिया दिँदै आफूलाई राजाको रूपमा चित्रण गर्ने एआई–निर्मित भिडियोहरूको शृङखला सार्वजनिक गरे । एउटामा उहाँलाई मुकुट लगाएर लडाकू जेट उडाउन र विरोधीहरूलाई अपमानित गर्ने दृश्य देखाइएको थियो । उहाँका सहयोगीहरूले पनि प्रदर्शनलाई ‘घृणा अमेरिका र्‍याली’ भन्दै व्यङ्ग्य गरेका थिए । सदनका अध्यक्ष माइक जोनसनले प्रदर्शनकारीहरूलाई ‘मार्क्सवादी, समाजवादी र हमास समर्थक वामपन्थीहरू’ को मिश्रण भएको बताए ।


    तर प्रदर्शनकारीहरूले ती आरोपलाई हास्यात्मक रूपमा खारेज गरे । वासिङ्टनमा सहभागी ६३ वर्षीया पाओलोले भने, “यदि यो घृणा हो भने ती आलोचकहरूलाई फेरि विद्यालय फर्किनु पर्छ ।” अर्का प्रदर्शनकारी ३४ वर्षीय सफ्टवेयर इन्जिनियर टोनीले भन्नुभयो, “हामीमाथि दक्षिणपन्थीहरूले घृणा गर्छन्, तर हामी सत्यको पक्षमा अडिएका छौँ ।”

    अमेरिकन सिभिल लिबर्टिज युनियनकी डेरड्रे सिफेलिङका अनुसार प्रदर्शनकारीहरूको मुख्य सन्देश ‘हामी समानता र कानूनको देश हौँ’ भन्ने थियो । उनले भने, “हामी सबैका लागि न्याय, प्रक्रिया र लोकतन्त्रमा विश्वास गर्छौं । हामी चुप लाग्ने छैनौँ ।” अविभाज्य परियोजनाका सह–संस्थापक लेह ग्रिनबर्गले ट्रम्प प्रशासनले डेमोक्रेटिक नेतृत्व भएका सहरहरू—लस एन्जलस, वासिङ्टन, शिकागो, पोर्टल्यान्ड र मेम्फिसमा नेसनल गार्ड पठाउने प्रयासको कडा आलोचना गरे । उनका शब्दमा, “यो धम्की, भ्रम र डरद्वारा नागरिकहरूलाई मौन पार्ने अधिनायकवादी शासनको पुरानो रणनीति हो ।”

    अमेरिकी क्यापिटल अगाडि बोल्दै प्रगतिशील सिनेटर बर्नी स्यान्डर्सले ट्रम्प शासनले लोकतन्त्रमा गम्भीर खतरा उत्पन्न गरिरहेको चेतावनी दिए । उनले भने, “हामीसँग यस्तो राष्ट्रपति छन् जसले सबै शक्ति आफ्नो र आफ्नो निकट वर्गको हातमा केन्द्रित गर्न खोजिरहेका छन् ।” १६ वर्षीय विद्यार्थी आइज्याक हार्डरले भने, “हाम्रो पुस्ताको भविष्य अन्धकारमय देखिन्छ । यो फासिस्ट बाटो हो र यसलाई रोक्नका लागि म आफ्नो हिस्साको योगदान गर्न चाहन्छु ।”

  • कतारमा इजरायलले गरेको आक्रमण ‘विश्वासघात’ : अमेरिकी दूत विटकोफ

    कतारमा इजरायलले गरेको आक्रमण ‘विश्वासघात’ : अमेरिकी दूत विटकोफ

    वासिङ्टन, २ कात्तिक, (रासस÷एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका प्रमुख वार्ताकार स्टिभ विटकोफले गत महिना कतारमा हमासका वार्ताकारहरूलाई लक्षित गरी इजरायलले आक्रमण गर्दा आफूले ‘विश्वासघात’ भएको महसुस गरेको बताएका छन् । इजरायल र हमासबीच गाजा युद्धविराम सम्झौताको मध्यस्थतामा विटकोफसँग काम गरेका ट्रम्पका ज्वाइँ जारेड कुश्नरसँग सीबीएस अन्तर्वार्तामा उनले भने, “उहाँले सेप्टेम्बर ९ मा दोहामा भएको आक्रमणको बारेमा बिहान मात्रै थाहा पाएको बताउनुभयो।

    कतार अमेरिकाको एक प्रमुख सहयोगी हो र गाजा युद्ध अन्त्यको प्रयासमा मध्यस्थकर्ताको रूपमा काम गरेको थियो। “मलाई लाग्छ, जेरेड र म दुवैले कतारमा आक्रमण हुनुलाई थोरै धोका महसुस गर्यौं,” विटकोफले सीबीएस समाचार कार्यक्रम ‘सिक्स्टी मिनेट’ लाई दिएको अन्तवार्ताको शुक्रबार सार्वजनिक एक अंशमा भनेका छन्, पूर्ण अन्तर्वार्ता आइतबार प्रसारण हुने कार्यक्रम छ।

    त्यस समयमा, हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणबाट सुरु भएको विनाशकारी गाजा पट्टीमा लडाइँ अन्त्य गर्न अप्रत्यक्ष वार्ता प्रक्रिया रोकिएको थियो। “यसले युद्धविराम पहलमा प्रभाव पारेको थियो किनकि इजिप्ट र तुर्कहरूजस्तै कतारीहरू वार्ताका लागि महत्वपूर्ण थिए,” विटकोफले भने ।
    उनले भने, “हामीले कतारीमाथिको विश्वास गुमाएका थियौँ । यसैले हमासका अधिकारी भूमिगत भए र कतारविना उनीहरूलाई प्राप्त गर्न धेरै गाह्रो थियो।” त्यतिबेला सामाजिक सञ्जालमा ट्रम्पले दोहामा हवाई आक्रमण गर्ने निर्णय प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबाट आएको बताएका थिए ।


    इजरायल र हमासले अन्ततः ट्रम्पले प्रस्तुत गरेको बन्धक र कैदीहरूको रिहाई र दुई वर्षको घातक द्वन्द्वपछि युद्धविरामको आह्वान गरिएको २० बुँदे शान्ति योजनालाई स्वीकार गरे। यसै महिना ह्वाइट हाउस भ्रमणका क्रममा ट्रम्पको दबाबमा नेतान्याहूले कतारका प्रधानमन्त्रीलाई फोन गरी दोहा आक्रमणका लागि माफी माग्न बाध्य हुनुपरेको थियो ।

  • ट्रम्प र ज़ेलन्स्कीबीच भेटवार्ता : युद्ध रोक्न र शान्ति स्थापना गर्न आग्रह

    ट्रम्प र ज़ेलन्स्कीबीच भेटवार्ता : युद्ध रोक्न र शान्ति स्थापना गर्न आग्रह

    वासिङ्टन, २ कार्तिक (रासस\एपी) । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर ज़ेलन्स्की सँग व्हाइट हाउसमा लामो भेटवार्तापछि युक्रेन र रसियालाई हालको सीमा रेखामा युद्ध तुरुन्त रोक्न र त्यसलाई अन्त्य गर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भने, “धेरै रगत बगिसकेको छ, अब दुवै पक्षले जितेको दाबी गर्न सक्छन्, तर इतिहासले त्यस निर्णय गर्नेछ।” ट्रम्पले थप्नुभयो, “तपाईंहरू जहाँ हुनुहुन्छ, त्यहीँ रोकिनुहोस्, आफ्ना परिवारमा फर्कनुहोस् र शान्ति कायम राख्नुहोस्।”

    यसअघि केही हप्ताअघि ट्रम्पले युक्रेनले रसियाबाट कब्जा गरेको सम्पूर्ण भूभाग फिर्ता लिन सक्ने विश्वास व्यक्त गरेका थिए, तर हालको अभिव्यक्तिले उनको दृष्टिकोणमा केही परिमार्जन आएको देखिन्छ। ज़ेलन्स्कीले भने, “अहिले नै युद्ध रोकिनु आवश्यक छ र त्यसपछि वार्ता अगाडि बढाउनुपर्छ,” तर ट्रम्पले युक्रेनलाई भूभाग फिर्ता दिन दबाब दिएको सम्बन्धी प्रश्नमा उनले स्पष्ट जवाफ दिन सकेनन्।

    ट्रम्पले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तापछि युक्रेनलाई लामो दूरीका टोमाहक मिसाइल उपलब्ध गराउने विषयमा केही अनिच्छा देखाएका छन् । यी मिसाइलले युक्रेनी सेनालाई रसियाको भित्री क्षेत्रमा लक्षित गर्न सक्षम बनाउने विश्वास गरिएको छ। पुटिनले यस विषयमा अमेरिकासँगको सम्बन्धमा असर पर्ने चेतावनी समेत दिएका छन् ।


    ट्रम्पले भने, “हामीसँग आवश्यक मिसाइल भण्डार हुनु जरूरी छ, किनभने कहिले पनि युद्धको अवस्था आउन सक्छ, तर हामी चाहन्छौं कि युद्ध सकिएपछि मिसाइल आवश्यक नपरोस्।” ट्रम्पले आगामी हंगेरीमा हुने बैठकमा पुटिन र ज़ेलन्स्की दुवैलाई भेट्ने सम्भावना रहेको संकेत गरे । भने ज़ेलन्स्कीले पुटिन युक्रेनमाथि आक्रमण गरिरहेका छन् र शान्ति चाहँदैनन् भनी उल्लेख गरेका छन् ।

  • सिङ्गापुरका राष्ट्रपति थरमनसँग अर्थमन्त्री खनालको भेट

    सिङ्गापुरका राष्ट्रपति थरमनसँग अर्थमन्त्री खनालको भेट

    वासिङ्टन डिसी, १ कात्तिक । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगारत्नमसँग भेटवार्ता गरेका छन् । विश्व बैंक समूहको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका खनालले ‘साइडलाइन’ बैठकमा राष्ट्रपति थरमनसँग भेट गरेका हुन् । भेटको अवसरमा मन्त्री खनालले नेपालमा भएको राजनीतिक विकासक्रम र आर्थिक प्राथमिकताको विषयमा छलफल भएको बताए । भेटमा राष्ट्रपति थरमनले दु्रत गतिको आर्थिक समृद्धि हासिल गर्न पाँच मुख्य कुरामा ध्यान दिन आग्रह गरेको यहाँस्थित दूतावासले जनाएको छ । राष्ट्रपति थरमनले मानव पुँजी, पूर्वाधार, ऊर्जा, व्यापार र खुलापनमार्फत द्रुर्त गतिको विकास हासिल गर्न सकिने विषयमा जोड दिए ।

    अर्थमन्त्री खनालले अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी)का कार्यवाहक क्षेत्रीय उपाध्यक्ष एलेन फरलेमुसँग भेटवार्ता गरे । भेटवार्ताका अवसरमा आइएफसीसँगको साझेदारी, नेपालको निजी क्षेत्रको वृद्धिको लागि सहयोगलगायतका विविध आर्थिक विषयमा छलफल भएको डिसीस्थित नेपाली राजदूतावासले जनाएको छ । भेटघाटको अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, अर्थमन्त्रालयका अधिकारीहरू र आइएफसीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

  • आक्रमण जारी राखे अमेरिकाले हमासविरुद्ध सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

    आक्रमण जारी राखे अमेरिकाले हमासविरुद्ध सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

    वासिङ्टन डिसी, असोज ३१ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लडाकु समूह हमासले गाजामा नागरिकलाई लक्षित आक्रमण जारी राखे संयुक्त राज्य अमेरिकाले हमासविरुद्ध सैन्य कारबाही गर्न बाध्य हुने बताएका छन् । ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै यदि हमासले गाजामा मानवीयताविरुद्ध आक्रमण जारी राख्यो भने उनीहरूलाई मार्नु बाहेक कुनै विकल्प नभएको बताए । हमासले बाँकी मृत बन्धकको खोजी र अमेरिकी मध्यस्थता शान्ति सम्झौताको प्रभावमा ध्यान केन्द्रित गर्दै ट्रम्पले गाजामा चलिरहेको अवस्थालाई सम्बोधन गरेको एक दिनपछि चेतावनी आएको हो ।

    चेतावनीमार्फत उनले नागरिक र बन्धकमाथि मानवीयतामाथि आक्रमण जारी रहेमा बलियो अमेरिकी कारबाहीको सामना गर्नुपर्ने कुरामा जोड दिए । शवको खोजी र हस्तान्तरण गर्ने गम्भीर कार्यको वर्णन गर्दै, ट्रम्पले पत्रकारलाई यो जटिल प्रक्रिया भएको उल्लेख गरे । हतियारको सवालमा बोल्दै उनले हमासले आफ्नो हतियारका साथ आत्मसमर्पण गर्नुपर्ने कुरामा जोड दिए । यदि हमास समूहले यो नियमको पालन गर्न असफल भयो भने निर्णायक अमेरिकी कारबाहीको चेतावनी दिए ।
    अमेरिकाले अर्जेन्टिनाको अर्थतन्त्रलाई स्थिर बनाउन २० अर्ब डलरको आर्थिक सहयोग प्याकेज घोषणा गरेको केही समयपछि ह्वाइट हाउसमा अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेसँग द्विपक्षीय भोजको क्रममा ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । राससएएनआई

  • दुुर्लभ खनिजमा ‘चीन र बाँकी विश्व’ बीचको विवाद

    दुुर्लभ खनिजमा ‘चीन र बाँकी विश्व’ बीचको विवाद

    वासिङ्टन, २९ असोज (रासस\एएफपी) । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बुधबार बेइजिङको दुर्लभ खनिज नियन्त्रण गर्ने चिनियाँ कदमको आलोचना गर्दै यो ‘चीन र बाँकी विश्व’ बचिको विवाद भएको बताएका छन् । वाशिङ्गटन र उसका सहयोगीहरूलाई यस सम्बन्धमा न त निर्देशित हुनेछन् न नियन्त्रण नै गरिनेछ। “हामी सँगै काम गर्नुपर्दछ र गर्नेछौँ भन्ने हाम्रा सहयोगीहरूका लागि स्पष्ट सङ्केत हुनुपर्दछ,” बेसेन्टले एक पत्रकार सम्मेलनमा भने ।


    अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कको बार्षिक बैठकका लागि यस हप्ता विभिन्न देशका प्रतिनिधिहरू वाशिङ्गटनमा भेला भएका बेला उनको यो टिप्पणी आएको हो। “हामी कसैलाई छुटाउन चाहँदैनौं। हामीले जोखिमलाई कम गर्न र हाम्रो आपूर्ति श्रृङ्खलालाई सकेसम्म चाँडो चीनबाट टाढा गर्न सँगै काम गर्नुपर्छ,“ बेसेन्टले भने ।
    बेइजिङले दुर्लभ खनिज तत्व, प्रविधि र वस्तुहरूको निर्यातमा नयाँ नियन्त्रण गरेको केही दिनपछि उनले यस्तो बताएका हुन् ।

    चीन कार, विद्युतीय र रक्षा उद्योग सामानको लागि चुम्बक बनाउन प्रयोग गरिने खनिजहरूको विश्वको अग्रणी उत्पादक हो। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले पत्रकार सम्मेलनमा भने, “यो केवल अमेरिकाको बारेमा मात्र होइन ।” उनले भने, “चीनको घोषणा विश्वव्यापी आपूर्ति श्रृङ्खलाको शक्ति कब्जाभन्दा बढी केही होइन।

    “यो कदम समानुपातिक प्रतिशोध होइन। यो विश्वका हरेक देशमाथि आर्थिक जबर्जस्ती गर्ने अभ्यास हो,” उनले भने। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा वासिङ्टन र बेइजिङबीचको व्यापार तनाव फेरि बढेको छ । उनले दोस्रो कार्यकाल सम्हालेपछि कुनै बिन्दुमा प्रतिशोधात्मक कर तीन अङ्कमा पुगेको थियो।

    दुबै पक्षले तनाव कम गरेका छन् तर उनीहरूको युद्धविराम अस्थनयी हो र नोभेम्बरको सुरूमा समाप्त हुनेछ। चीनबाट दुर्लभ खनिजको पछिल्लो नियन्त्रणसँगै ट्रम्पले नोभेम्बरदेखि चीनबाट आउने सामानमा थप १०० प्रतिशत कर लगाउने चेतावनी दिएका छन् । बेसेन्टले भने, “दुर्लभ खजिनको प्रतिबन्धमा ढिलाइका कारण उच्च करमा नियन्त्रण सम्भव छ ।”

  • अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच अमेरिकामा भेट

    अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच अमेरिकामा भेट

    वाशिङ्टन डिसी, ३० असोजः विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन् । भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ । भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका सदस्य त्था विकास बैंकका उच्च कर्मचारीको सहभागिता रहेको थियो ।

  • इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

    इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

    जेरुसलेम, ३० असोज (रासस\एएफपी) । गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार पुनः बन्द गरियो । इजरायलले हमासलाई आफ्नो अन्तिम मृतक बन्धकहरूको अवशेष हस्तान्तरण गर्न आग्रह गर्दै उक्त सीमालाई बन्द गरेको हो। इजरायली सार्वजनिक प्रसारक ९कान०ले सीमा पार विन्दु पुनः खुल्ने जानकारी दिएपनि बुधबार अवेरसम्म यो नाका खुल्न सकेको छैन । इजरायली सरकारका एक प्रवक्ताले यस विषयमा सोधिएको प्रश्नबारे कुनै प्रतिक्रिया दिन चाहेनन् ।

    संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविरामले ध्वस्त प्यालेस्टाइन क्षेत्रमा आवश्यक राहतका लागि सहयोग गर्न नसकेकोमा निराशा व्यक्त गरे । “हमासले बन्धकका सबै शव तत्काल फिर्ता गर्न कडा प्रयास गर्ने सहमति जनाएको छ ।

    मलाई गाजामा हमासबाट भएको नागरिकहरूविरुद्धको हिंसाले पनि गम्भीर रूपमा चिन्तित बनाएको छ,” फ्लेचरले भने । इजरायलले हप्तामा हजारौं ट्रकहरू पुग्ने गरी मानवीय सहायताको व्यापक वृद्धि गर्न अनुमति दिनुपर्छ,”उनले भने ।
    उनले भने, “इजरायलले यसका लागि सहमति जनाएको छ । अहिले धेरै मानिसहरूको जीवन सहायता निर्भर छ र यसमा विश्वले जोड दिएको छ। हामीलाई थप खुला नाका चाहिन्छ।”

    A convoy of Red Cross vehicles transports the bodies of deceased Palestinians held by Israel during the war, after their release, in Deir al-Balah, Gaza, Wednesday, Oct. 15, 2025. (AP Photo/Abdel Kareem Hana)

    –मानवीय जोखिम –

    यसैबीच, अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले बुधबार अप्रत्यासितरूपमा अवरोध हुनपुगेको ट्रम्प योजना अन्तर्गत युद्धविराम सम्झौतामा सहमति भएको मानव अवशेषको आदानप्रदानलाई इजरायल र हमासले जारी राख्ने अपेक्षा गरिएको छ । यो आदानप्रदानले हमासले बन्धक बनाइ लगेका अन्तिम २० जीवित बन्धकहरू प्यालेष्टिनी लडाकूहरूको नियन्त्रणबबाट मुक्त भइसकेका छन् भने बदलामा इजरायली जेलबाट मुक्त भएका लगभग दुई हजार प्यालेस्टिनी कैदीहरू रिहा भएका छन् ।

    सम्झौताले लडाई र बमबारीमा रोक लगाइएको छ। हमासले अहिलेसम्म आठ शव फिर्ता गरिसकेको छ, जसमध्ये सातको पहिचान भइसकेको छ । अन्य २० जनाको अवशेष गाजामा रहेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई शवहरूलाई स्वदेश ल्याउन घरेलु दबाब छ। फिर्ता भएकामध्ये आठौँ शव पूर्व बन्धकको नभएको र यसको पहिचान हुन नसकेको इजरायली सेनाले बताएको छ। यस घटनालाई लिएर केही इजरायली राजनीतिज्ञहरूले हमासलाई युद्धविराम सम्झौता तोडेको आरोप लगाएका छन्।

    इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गिभरले हमासले गाजामा रहेका सैनिकको अवशेष फिर्ता नगरेमा सहायता आपूर्ति बन्द गर्ने चेतावनी दिएका छन्। यसैबीच, इजरायलले आफ्नो हिरासतमा रहेका थप ४५ प्यालेस्टिनी शवहरू दक्षिणी गाजाको नासिर अस्पतालमा स्थानान्तरण गरिएसँगै अहिलेसम्म ९० जनाको अवशेष फिर्ता भइसकेको हमास नियन्त्रित गाजाका स्वास्थ्य मन्त्रालयले जनाएको छ। ट्रम्पको योजना अन्तर्गत इजरायलले प्रत्येक मृतक इजरायलीका लागि १५ प्यालेस्टिनीको मृत शरीर फिर्ता गर्नेछ।

  • भेनेजुएलानजिकै लागुऔषध बोकेको डुङ्गामा अमेरिकी आक्रमण, ६ को मृत्यु

    भेनेजुएलानजिकै लागुऔषध बोकेको डुङ्गामा अमेरिकी आक्रमण, ६ को मृत्यु

    वाशिङ्टन, ३० असोज (रासस\एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलानजिकै समुद्रमा लागूपदार्थ ओसारिरहेको आशङ्कामा एक सानो डुङ्गामाथि गरिएको हवाई आक्रमणमा ६ जनाको ज्यान गएको पुष्टि गरेका छन् । राष्ट्रपति ट्रम्पका अनुसार यो डुङ्गा ‘नार्कोटेररिस्ट नेटवर्क’ सँग सम्बन्धित थियो र एक चिनिएको लागूपदार्थ मार्गमा रहेको खुफिया सूचनाका आधारमा लक्षित गरिएको हो ।

    उक्त आक्रमणको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ, जसमा डुङ्गा एक प्रक्षेपास्त्रको प्रहारबाट विस्फोट भएको देखिन्छ । आक्रमणपश्चात डुंगा आगलागी भएको अवस्थामा देखिन्छ । अमेरिकी पक्षका कुनैपनि सुरक्षाकर्मीलाई क्षति पुगेको छैन । यो आक्रमण हालसम्म ट्रम्प प्रशासनद्वारा गरिएका यस्ता पाँचौं कारबाहीमध्ये एक हो, जसमा राष्ट्रपति प्रशासनले लागूपदार्थ ओसारपसारमा संलग्नहरूलाई ‘अवैध लडाकु’को रूपमा मान्दै सैन्य कारबाही गरिरहेको छ ।

    पूर्व अमेरिकी राजदूत जेम्स स्टोरीले यस्ता आक्रमणहरूले अमेरिका र त्यसका साझेदार राष्ट्रहरूबीचको खुफिया साझेदारीमा नकारात्मक असर पर्न सक्ने बताए । यसैबीच अमेरिकी संसदमा पनि यस विषयमा बहस चर्किएको छ । केही सांसदहरूले राष्ट्रपति ट्रम्पले यस्ता कारबाही गर्न कानुनी अधिकार राख्दैनन् भनी जिकिर गरेका छन् ।

    सेन्टर अडम शिफले भन्नुभयो,“यी कारबाहीहरूले अमेरिका एक खुला युद्धमा तानिने जोखिम पैदा गर्छ।” भेनेजुएलाको तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले प्रेस सम्मेलनमार्फत आक्रमणको निन्दा गर्दै अमेरिकाले ‘झूटा बहानामा आक्रमणको आधार बनाउँदैछ’ भन्ने आरोप लगाएका छन् ।

  • भारतमा गुगलको १५ अर्ब डलर लगानी, अमेरिका बाहिरको सबैभन्दा ठूलो एआई हब निर्माण हुने

    भारतमा गुगलको १५ अर्ब डलर लगानी, अमेरिका बाहिरको सबैभन्दा ठूलो एआई हब निर्माण हुने

    नयाँदिल्ली, २८ असोज (रासस\एएफपी) । विश्वप्रसिद्ध प्रविधि कम्पनी गुगलले भारतमा अभूतपूर्व लगानी योजना घोषणा गरेको छ । कम्पनीले आगामी पाँच वर्षभित्र १५ अर्ब अमेरिकी डलर बराबरको पूँजी लगानी गर्दै भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको विशाखापट्टनम सहरमा अमेरिका बाहिरको सबैभन्दा ठूलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हब निर्माण गर्ने बताएको छ ।

    गुगल क्लाउडका प्रमुख कार्यकारी अधिकारी थोमस कुरियनले नयाँदिल्लीमा आयोजित समारोहमा यस हबलाई ‘गिगावाट–स्केल एआई आधार’ का रूपमा विकास गरिने जानकारी दिए । उनले भने, “यो गुगलले अमेरिका बाहिर गर्ने सबैभन्दा ठूलो एआई लगानी हो । हामीले आगामी पाँच वर्षमा १५ अर्ब डलरको पूँजी लगानी गर्दै यस्तो पूर्वाधार तयार गर्नेछौँ जसले भारतलाई एआई प्रविधिको विश्वव्यापी नक्सामा अग्रस्थानमा पुर्‍याउनेछ ।”

    कुरियनका अनुसार गुगलले निर्माण गर्न लागेको उक्त एआई केन्द्रलाई अन्ततः ‘धेरै गिगावाट क्षमतामा’ विस्तार गर्ने योजना छ । यस लगानीले भारतमा तीव्र रूपमा बढिरहेको डिजिटल बजार र एआई उपकरणहरूको मागलाई सम्बोधन गर्नेछ । हाल भारतमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या ९० करोड नाघ्ने अनुमान गरिएको छ, जसले व्यवसाय र व्यक्तिगत दुवै तहमा प्रविधिको प्रयोगलाई नयाँ उचाइमा पुर्‍याएको छ ।

    भारतका सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले गुगलको लगानीप्रति धन्यवाद ज्ञापन गर्दै भने, “यो डिजिटल पूर्वाधार हाम्रो ‘भारत एआई’ दृष्टिकोणका लक्ष्यहरू पूरा गर्नको दिशामा महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुनेछ । यसले भारतलाई एआई प्रविधिको उत्पादन र नवप्रवर्तन केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुर्‍याउनेछ ।”

    त्यसैगरी, आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले यो परियोजनालाई राज्यका लागि ‘एक ऐतिहासिक र अत्यन्त खुशीको दिन’ का रूपमा वर्णन गरे । उनका छोरा तथा राज्यका प्रविधिमन्त्री नारा लोकेशले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भने, “यो लगानी एक वर्षको गहन छलफल र अथक प्रयासपछि सम्भव भएको हो। यो केवल सुरुआत हो—हाम्रो राज्यको डिजिटल भविष्य, नवीनता र विश्वव्यापी प्रतिष्ठाका लागि यो एक ठूलो छलाङ हो ।”

    गुगलको यो निर्णय भारतमा तीव्र रूपमा विकसित भइरहेको कृत्रिम बुद्धिमत्ता (एआई) बजारप्रति अन्तर्राष्ट्रिय कम्पनीहरूको बढ्दो चासोको अर्को उदाहरण बनेको छ । यसै महिना अमेरिकी एआई स्टार्टअप एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकारी डारियो अमोदेईले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्दै अर्को वर्ष भारतमा आफ्नो कार्यालय स्थापना गर्ने योजना घोषणा गरेका थिए ।


    प्रधानमन्त्री मोदीले एक्समा लेख्दै अमोदेईलाई धन्यवाद ज्ञापन गर्दै भने, “भारतको जीवन्त टेक इकोसिस्टम र प्रतिभाशाली युवाहरूले एआई इनोभेसनलाई गति दिइरहेका छन् । हामी विकासका लागि एआईको अधिकतम उपयोग गर्न प्रतिबद्ध छौंँ ।” एन्थ्रोपिकको यो निर्णयपछि अन्य शीर्ष एआई कम्पनीले पनि भारतीय बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने घोषणा गरेका छन् । ओपनएआईले यस वर्षको अन्त्यमा भारतमा आफ्नो कार्यालय खोल्ने तयारी गरेको जनाएको छ । यसका प्रमुख साम अल्टम्यानका अनुसार भारतमा च्याटजिपिटीको प्रयोग गत वर्षको तुलनामा चार गुणा बढेको छ ।

    यस्तै, एआई कम्पनी पप्र्लेक्सिटीले गत जुलाईमा भारतीय टेलिकम कम्पनी एयरटेलसँग साझेदारी गरेको थियो, जसअनुसार एयरटेलका ३६ करोड ग्राहकलाई एक वर्षका लागि पप्र्लेक्सिटी प्रोको निःशुल्क सदस्यता प्रदान गरिएको छ । गुगलको यो १५ अर्ब डलरको लगानीसँगै भारत एआई प्रविधिको प्रमुख केन्द्र बन्ने मात्र नभई यसले देशको डिजिटल पूर्वाधार, रोजगारी र अनुसन्धान क्षेत्रमा समेत नयाँ अध्याय खोल्ने अपेक्षा गरिएको छ ।

  • चीनद्वारा दक्षिण कोरियाली हानवा ओसनका पाँच अमेरिकी एकाइमाथि प्रतिबन्ध

    चीनद्वारा दक्षिण कोरियाली हानवा ओसनका पाँच अमेरिकी एकाइमाथि प्रतिबन्ध

    हङकङ, २८ असोज (रासस\एपी) । चीनले दक्षिण कोरियाली जहाज निर्माण कम्पनी हानवा ओसनका पाँच अमेरिकी सहायक कम्पनी (युनिट)माथि प्रतिबन्ध लगाएको घोषणा गरेको छ । चीनको वाणिज्य मन्त्रालयले मङ्गलबार उक्त कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिकामा औद्योगिक पुनर्निर्माण गर्ने रणनीतिक पहलप्रतिको प्रतिक्रियास्वरूप लिइएको बताएको छ ।

    मन्त्रालयका अनुसार चिनियाँ कम्पनीहरूले अबदेखि यी पाँच एकाइसँग कुनै पनि प्रकारको लेनदेन गर्न पाउने छैनन् । वासिङ्टनले विश्व जहाज निर्माण उद्योगमा चीनको बढ्दो प्रभुत्वबारे औपचारिक अनुसन्धान सुरु गरेपछि प्रतिबन्धको घोषणा गरिएको हो । चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार अमेरिकाको उक्त अनुसन्धानले चीनको राष्ट्रिय सुरक्षा र यसको जहाज निर्माण उद्योगलाई खतरा पुर्‍याएको छ । अमेरिकी पक्षले आफ्नो अनुसन्धानमा हानवा ओसनको संलग्नता उल्लेख गर्दै चीनको औद्योगिक नीतिलाई ‘अनुचित प्रतिस्पर्धा’ भनेर चित्रण गरेको छ ।

    अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले सन् २०२४ को अप्रिलमा धारा ३०१ अन्तर्गतको व्यापार अनुसन्धान आरम्भ गरेको थियो । उक्त अनुसन्धानले चीनको बढ्दो औद्योगिक प्रभाव अमेरिकी व्यवसायहरूका लागि प्रतिकूल रहेको निष्कर्ष निकालेको थियो । हाल अन्तर्राष्ट्रिय ढुवानी र जहाज निर्माण उद्योग वासिङ्टन र बेइजिङबीचको नयाँ व्यापारिक तनावको केन्द्रविन्दु बनेको छ । दुवै देशले मङ्गलबारदेखि एकअर्काका जहाजहरूमा नयाँ बन्दरगाह शुल्क ९पोर्ट ट्याक्स० लागू गरेका छन् ।

    प्रतिबन्धित कम्पनीहरूमा हनवा शिपिङ एलएलसी, हनवा फिली शिपयार्ड इङ्क, हनवा ओसन युएसए इन्टरनेशनल एलएलसी, हनवा शिपिङ होल्डिङ्ग्स एलएलसी र एचएस युएसए होल्डिङ्ग्स कर्प सामेल छन् । सन् २०२४ को अन्त्यमा हानवा ओसनले अमेरिकी राज्य पेन्सिलभेनियामा अवस्थित फिली शिपयार्डलाई १० करोड डलरमा खरिद गरेको थियो । त्यसपछि कम्पनीले गत अगस्टमा विश्वव्यापी प्रतिस्पर्धी जहाज निर्माण क्षमताको पुनस्र्थापना गर्न अमेरिकाको पहललाई सहयोग पुर्‍याउने उद्देश्यले पाँच अर्ब डलरको लगानीमा नयाँ डक्स र क्वे (जहाज पार्किङ सुविधा) निर्माण गर्ने घोषणा गरेको थियो ।

    चीनले आफ्ना नयाँ बन्दरगाह शुल्क अमेरिकी कम्पनीहरू तथा ती संस्थाहरूद्वारा स्वामित्व वा सञ्चालित जहाजहरूमा लागू हुने स्पष्ट गरेको छ । यसमा २५ प्रतिशत वा सोभन्दा बढी अमेरिकी स्वामित्व भएका, अमेरिकी झण्डा बोकेका वा संयुक्त राज्य अमेरिकामै निर्मित जहाजहरू समेत पर्ने बताइएको छ ।

  • अर्थमन्त्री खनाल अमेरिकामा भेटघाटमा व्यस्त

    अर्थमन्त्री खनाल अमेरिकामा भेटघाटमा व्यस्त

    वाशिङ्गटन डिसी, २९ असोजः विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाए । मङ्गलबारमात्र मन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गरे । उक्त भेटको अवसरमा द्विपक्षीय व्यापार र करका नीतिहरूका बारेमा छलफल भएको थियो । उक्त छलफल उपयोगी भएको यहाँस्थित राजदूतावासले जनाएको छ । उक्त भेटका अवसरमा अमेरिका तथा नेपालका अधिकारीहरूको सहभागिता रहेको थियो ।

    त्यसैगरी, मङ्गलबार नै मन्त्री खनालले विकासका लागि साउदी फण्डका अध्यक्ष अब्दुल रहमान अल मर्सदसँग सहकार्य गर्नेसम्बन्धी विषयमा छलफल गरे । यस अगाडि उनले नेपालको विकासमा साझेदारी गर्दै आएका विभिन्न अन्तरराष्ट्रिय निकायका प्रतिनिधिहरूसँगसमेत छलफल गरे । भेटका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधि, मन्त्री खनालका भ्रमणदलका सदस्य तथा अन्य कर्मचारीको समेत सहभागिता थियो ।

  • जेन-जी आन्दोलनपछि मडागास्करका राष्ट्रपति राजोलिना भागे, राजीनामा दिन भने अस्वीकार

    जेन-जी आन्दोलनपछि मडागास्करका राष्ट्रपति राजोलिना भागे, राजीनामा दिन भने अस्वीकार

    एन्टानानारिभो, २९ असोज (रासस÷एएफपी) । मडागास्करका सङ्कटग्रस्त राष्ट्रपति एन्ड्री राजोलिनाले सोमबार आफ्नो ज्यानमाथि भएको आक्रमण प्रयासपछि आफू अहिले ‘सुरक्षित स्थान’ मा रहेको बताउँदै बढ्दो अशान्ति र विरोधका बीच पनि राजीनामाको आह्वानलाई अस्वीकार गरेका छन् । देशमा फैलिएको विरोध प्रदर्शन र सेनाको केही हिस्साले सरकार विरोधी आन्दोलनमा समर्थन जनाएपछि दुई पटक ढिलाइ भएको भाषणमार्फत उनले पहिलोपटक सार्वजनिक रूपमा आफ्नो अवस्था स्पष्ट पारे । पछिल्ला दिनहरूमा उहाँ देश छोडेर भागेको हुनसक्ने भन्ने समाचारहरू पनि सार्वजनिक भएका थिए ।

    “सेप्टेम्बर २५ देखि मेरो ज्यान लिने र विद्रोह गर्ने प्रयासहरू भइरहेका छन् । केही सैन्य अधिकारी र राजनीतिज्ञको समूहले मेरो हत्या गर्ने योजना बनाएको थियो”, उनले फेसबुकमार्फत प्रत्यक्ष सम्बोधन गर्दै र आफ्नो स्थान गोप्य राख्दै भने, “त्यस कारण म आफ्नो जीवनको सुरक्षाका लागि सुरक्षित स्थानमा रहन बाध्य भएँ ।”

    राजधानी एन्टानानारिभोमा भइरहेको प्रदर्शनहरू प्रारम्भमा दीर्घकालीन बिजुली र पानी आपूर्तिमा अवरोधको विरोधमा सुरु भएका थिए । तर ती आन्दोलनहरू क्रमशः व्यापक सरकारविरोधी अभियानमा परिणत हुँदै राष्ट्रपतिको राजीनामाको मागमा केन्द्रित भएका छन् । राजधानीका पूर्व मेयर समेत रहनुभएका राष्ट्रपति राजोलिनाले भने संविधानको सम्मान गर्न सबैलाई आह्वान गर्दै ‘म समाधान खोज्ने अभियानमा छु,’ भनेका छन् ।


    सन् २००९ मा तत्कालीन राष्ट्रपति मार्क रावलमानानालाई अपदस्थ गर्ने विद्रोहपछि राजोलिना पहिलोपटक सत्तामा आएका थिए । हाल फेरि उही किसिमको राजनीतिक तनावले देशलाई सङ्कटमा धकेलेको छ । यसैबीच फ्रान्सेली सञ्चारमाध्यम रेडियो फ्रान्स इन्टरनेसनलले राजोलिनाले सप्ताहन्तमा फ्रान्सेली सैन्य विमानमार्फत देश छोडेको दाबी गरेको छ । यद्यपि फ्रान्सेली अधिकारीहरूले यसबारे एएफपीको प्रश्नमा प्रतिक्रिया जनाएका छैनन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि उक्त समाचार पुष्टि गर्न अस्वीकार गर्दै टापु राष्ट्रको सङ्कटप्रति ‘गहिरो चिन्ता’ व्यक्त गरेका थिए ।


    राजोलिना बुधबारदेखि सार्वजनिक रूपमा देखिएका छैनन् । सशस्त्र बलका केही समूहले राज्य प्रसारकमा कब्जा जमाउने प्रयास गरेका कारण राज्य टेलिभिजनमार्फत प्रसारण हुने भनिएको उनको सम्बोधन पनि दुई पटक ढिलाइ गरिएको थियो । सप्ताहन्तमा एन्टानानारिभोको सिटी हल अगाडि भेला भएका हजारौँ प्रदर्शनकारीहरूको समर्थनमा विद्रोही सैनिक र सुरक्षाकर्मीहरू समेत सामेल भएका थिए । तीमध्ये केहीले सन् २००९ को विद्रोहमा समेत भूमिका खेलेका थिए । शनिबार उक्त युनिटले ‘विरोधमा गोली चलाउने आदेश अस्वीकार गर्ने’ घोषणा गरेको थियो ।

    विरोधका क्रममा अर्धसैनिक प्रहरी बलका केही अधिकारी पनि प्रदर्शन स्थलमा पुगेका थिए । उनीहरूले पछिल्लो भिडियो सन्देशमार्फत ‘आफ्नो प्रतिक्रियामा गल्ती र ज्यादती भएको’ स्वीकार गरेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार प्रदर्शनको पहिलो दिनमै कम्तीमा २२ जनाको मृत्यु भएको छ, जसमा केही सुरक्षा बलका सदस्य पनि परेका छन् । राष्ट्रपतिले भने आधिकारिक रूपमा ‘१२ जनाको मृत्यु मात्र पुष्टि भएको र ती सबै लुटेरा वा भिडन्तमा संलग्न व्यक्ति’ भएको दाबी गरे ।
    दबाब बढ्दै गएपछि राजोलिनाले सोमबार २०२१ को असफल विद्रोह प्रयासमा जेल सजाय पाएका आठ जना लाई माफी दिएका छन् ।

    तिनीहरूमा फ्रान्सेली–मालागासी नागरिक पल मैलोट राफानोहाराना पनि समावेश छन् । यसबीच, सहरका प्रदर्शनकारीहरूले भने राष्ट्रपतिबाट राजीनामा र माफी दुवै अपेक्षा गरेका छन ्। “हामी चाहन्छौँ उहाँले मालागासी जनतासँग माफी माग्नुहोस् र राजीनामा दिनुहोस्”, २४ वर्षीया कानून विद्यार्थी फिनारिट्रा मनित्रा एन्ड्रियानमेलासोआले भने । अर्का प्रदर्शनकारी १९ वर्षीय स्टिभन रासोलोन्जानहरीले भने, “हामीमध्ये धेरैका आफन्तहरू विरोधका क्रममा घाइते वा मारिएका छन्, त्यसैले अब उनले जिम्मेवारी लिनैपर्छ ।”

    राष्ट्रपतिले केही हप्ताअघि स्थिति शान्त पार्ने प्रयासस्वरूप सम्पूर्ण सरकार बर्खास्त गरेका छन् । प्रदर्शनकारीहरूको अर्को माग पूरा गर्दै सिनेटले आइतबार आफ्नो अध्यक्ष र पूर्व जेन्डरमेरी प्रमुख रिचर्ड रावलमानानालाई पदमुक्त गरेको छ । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेदेखि नै मडागास्करमा राजनीतिक अस्थिरता र सैनिक हस्तक्षेप दोहोरिँदै आएको छ । पछिल्लो घटनाक्रमले फेरि एकपटक देशलाई गम्भीर सङ्कटतर्फ धकेलेको छ ।

    अफ्रिकी सङ्घको सुरक्षा परिषद्ले सबै सशस्त्र सेनालाई ‘संविधानको पालना गर्न र देशको राजनीतिक मामिलामा हस्तक्षेप नगर्न’ आग्रह गर्दै संयम र शान्तिपूर्ण समाधानको आह्वान गरेको छ ।