Category: अमेरिका

  • एक महिनामा अमेरिकाबाट भित्रिए ७ हजार २७४ पर्यटक

    एक महिनामा अमेरिकाबाट भित्रिए ७ हजार २७४ पर्यटक

    काठमाडौं । नेपालमा मे २०२२ मा ५३ हजार ६०८ जना पर्यटक आएका छन् । यसमध्ये अमेरिकाबाट मात्र ७ हजार २७४ जना रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपालमा भारतपछि यो वर्ष अमेरिकाबाट पर्यटक आएका छन् । सन् २०२२ को पहिलो ५ महिनामा १ लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार एक महिनामा भारतबाट मात्र २६ हजार ६६२ जना पर्यटक नेपाल आएका छन् । यो हवाई मार्ग प्रयोग गरेर आउने भारतीयको मात्र संख्या हो ।

    दोस्रो स्थानमा अमेरिकी नागरिकको संख्या धेरै छ । मे महिनामा अमेरिकाबाट मात्र ७ हजार २७४ जना पर्यटक नेपाल आएका छन् । तेस्रो स्थानमा बंगलादेश रहेको छ । यस मुलुकबाट ३ हजार २६८ जना नागरिक मे महिनामा नेपाल आएका छन् । बेलायतबाट २ हजार ४५१ जना पर्यटक नेपाल आएका छन् ।अध्यागमन विभागको तथ्यांक अनुसार एक महिनामा नेपाल आएका ५३ हजार ६०८ जना नागरिकहरु संसारभरका १६९ वटा मुलुकका नागरिक हुन् ।

    यो सूचीमा युद्धरत मुलुक युक्रेनबाट ७१ र रसियाबाट ४८८ जना नागरिक नेपालको भ्रमणमा आएको देखिएको छ । एक महिनाको अवधिमा नेपालबाट ६१ हजार ३५० जना विदेशी नागरिकले देश छाडेका छन् । विभागका अनुसार मे महिनामा विभिन्न मुलुकमा रहेका ७४ हजार ६९ जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । यसै अवधिमा १ लाख १३ हजार ७१६ जना नेपालीले भने स्वदेश छाडेर विदेश उडेको अध्यागमन विभागले जनाएको छ

  • अमेरिकामा अर्को सामुहिक गोली काण्ड : अस्पतालमा चार जना मारिए, कैयौं घाइते

    अमेरिकामा अर्को सामुहिक गोली काण्ड : अस्पतालमा चार जना मारिए, कैयौं घाइते

    ओक्लाहोमा । अमेरिकामा अर्को सामुहिक गोलीकाण्ड भएको छ । ओक्लाहोमा राज्यको टुलसास्थित एउटा अस्पतालमा भएको गोलीकाण्डमा चारजना सर्वसाधारण मारिएको बीबीसीले लेखेको छ । सन्दिग्ध आक्रमणकारी पनि मारिएको सरक्षाकर्मीको दावि छ । अधिकारीहरूका अनुसार सेन्ट फ्रान्सिस अस्पताल खाली गराउन अझै काम भइरहेको छ जहाँ एक पुरुष राइफलसहित रहेका विवरण आएका थिए। गोलीकाण्डमा कैयौँ घाइते भएको पनि अधिकारीहरूले जनाएका छन्।


    बुधवार एउटा पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपप्रमुख एरिक डालग्लिशले भनेः ‘अहिले भन्नुपर्दा चारजना सर्वसाधारण र एक आक्रमणकारी मारिएका छन’ आक्रमणकारीको अहिलेसम्म पहिचान खुलेको छैन। गोली चलाउँदा उनी आफू पनि घाइते भएको प्रहरीको अनुमान छ। प्रहरी उपप्रमुखका अनुसार सन्दिग्ध आक्रमणकारीसँग टाढाबाट निसाना लगाउने एउटा बन्दुक र अर्को ह्यान्ड गन पनि थियो। आक्रमण गर्नुको उद्देश्यबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ।

    गत साता टेक्ससस्थित एउटा विद्यालयमा २१ जनाको ज्यान जाने गरी भएको गोलीकाण्डपछि यो आक्रमण भएको छ। प्रहरी उपप्रमुख डालग्लिशका अनुसार स्थानीय समयअनुसार ४ बजेर ५२ मिनेटमा बन्दुकधारीबारे प्रहरीलाई खबर आएको थियो र त्यसको तीन मिनेटभित्र प्रहरी घटनास्थल पुगेको थियो।

    त्यहाँ पुगेका प्रहरी अधिकारीहरूले गोली चलेको आवाज सुने र त्यही आवाज सुनेर उनीहरू दोस्रो तलातर्फ बढेको बताइएको छ । अधिकारीहरूले दोस्रो तलामा रहेका मानिस लगायतका प्रत्यक्षदर्शीहरूसँग अहिले सोधपुछ गरिरहेका छन्। एबीसी न्यूजसँग कुरा गर्दै कप्तान रिचर्ड म्यूलेनबर्गले बताएअनुसार प्रहरीहरू मेडिकल क्याम्पस पुग्दा केही मानिसहरूलाई गोली लागेको देखिएको थियो भने केहीको मृत्यु नै भइसकेको थियो।

  • अर्जेन्टिनाको अपराजित खेल ३२ पुग्यो, कप्तान मेसीलाई अर्को उपाधी

    अर्जेन्टिनाको अपराजित खेल ३२ पुग्यो, कप्तान मेसीलाई अर्को उपाधी

    लण्डन । दक्षिण अमेरिकन च्याम्पियन अर्जेन्टिना र युरोपियन च्याम्पियन इटालीबीचको प्रतिस्पर्धामा जित निकाल्दै अर्जेण्टिनाले आफ्नो अपराजित यात्रा ३२ खेलसम्म पुर्याएको छ । ‘फाइनलिसीमा’ नाममा भएको प्रतियोगिताको उपाधि जित्दा अर्जेन्टिनाले इटलीलाई ३–० गोलले हरायो । इंग्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लगि मार्टिनेजले २८ मिनेटमा पहिलो गोल गरेका थिए। अर्जेन्टिनाका लागि डि मारियाले पहिलो हाफको इन्जुरी समयमा अग्रता दोब्बर पारे। पहिलो हाफमा २–० ले अघि रहेको अर्जेन्टिनाका लागि डिबालाले दोस्रो हाफको इन्जुरी समयमा मा अर्को गोल थपे ।

    खेलमा कप्तान मेसीले दुई गोलमा प्रत्यक्ष सहयोग गरेका थिए । युरोपियन र दक्षिण अमेरिकन च्याम्पियनबीच २९ वर्षपछि प्रतिस्पर्धा भएको हो। यसअघि पछिल्लो पटक सन् १९९३ मा अर्जेन्टिना र डेनमार्कबीच भएको भिडन्तमा अर्जेन्टिनाले जित निकालेको थियो । कप्तान मेसीले मुलुकका लागि अर्को उपाधी जितेका छन् । अब उनी विश्वकपमा केन्द्रित हुनेछन् ।

  • विद्यालयमा हुने बन्दुक हमलाले अमेरिकामा बालबालिकामाथि कस्तो असर परिरहेको छ ?

    विद्यालयमा हुने बन्दुक हमलाले अमेरिकामा बालबालिकामाथि कस्तो असर परिरहेको छ ?

    न्यूयोर्क (बीबीसी) । अमेरिकी विद्यालयमा भएका बन्दुक आक्रमणका घटनामा एउटा निराशाजनक भावना जोडिएको छ। घटनालाई लिएर सञ्चारमाध्यममा आक्रोशहरू देखिन छोडेपछि पनि अन्य बेलामा जस्तो सामान्य अवस्था हुने छैन। हालैको एक घटनामा १८ वर्षीय साल्भाडर रामोसले टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा गोली प्रहार गर्दा कम्तीमा १९ जना विद्यार्थी र दुई वयस्कहरू मारिए। सातदेखि १० वर्षसम्मका बालबालिकालाई पढाइने रब एलिमेन्टरी स्कूलमा उक्त आक्रमण भएको थियो।

    रामोस ह्याण्डगन, स्वचालित राइफल र थुप्रै राउन्ड गोली राख्ने क्षमताको म्यागजीनसहित आक्रामक रूपमा विद्यालय पुगेका थिए। घटनास्थलनजिकै रहेका एक सीमारक्षक सुरक्षाकर्मीले उनलाई गोली हानेर मारिदिएका थिए। तर यस्ता खालका हिंसात्मक व्यवहारले अमेरिकी स्कुले बालबालिकाका साथै शिक्षक र अभिभावकको दैनिक जीवनलाई कसरी असर गर्छ त ? सन् १९९९ मा भएको कोलम्बाइन गोलीकाण्डपछि धेरै अमेरिकी विद्यालयमा मेटल डिटेक्टरको व्यवस्था गरिएको थियो ।

    विद्यालयमा हुने धेरै जनालाई लक्षित गरी हुने गोली प्रहारका घटनाबाट सर्वसाधारणमा पीडा उत्पन्न हुनु र विद्यालयलाई सुरक्षित पार्ने उपायको अपेक्षा गरिनु बुझ्न सकिने कुरा हुन्। टेक्ससको विद्यालयमा भएको घटनापछि विद्यालय रहेका कैयौँ विद्यालयले प्रहरी उपस्थिति बढाउने बताए। सन् १९९९ मा कोलम्बाइन हाईस्कूल, सन् २००७ मा भर्जिनिया टेक यूनिभर्सिटी, सन् २०१२ मा स्यान्डी हुक प्राथमिक विद्यालय र सन् २०१८ मा पार्कल्यान्ड हाईस्कूलमा पनि घटना भएपछि यस्तै गरिएको थियो।

    यी सबै घटनाहरूमा ८८ निर्दोष मानिसहरू मारिएका थिए। विद्यालयमा हुने बन्दुक आक्रमणबारे अध्ययन गरेकी अमेरिकी विज्ञ सेरिल लेरो जोनसनले भनिन्, “प्रत्येक घटनापछि विद्यालयहरूमा सुरक्षा बढाइएको छ र मानिसहरूलाई उनीहरूका बालबालिका कोलम्बाइन, भर्जिनिया टेक अथवा स्यान्डी हूकजस्ता घटनाका पीडित हुँदैनन् भनेर आश्वास्त पारिएको छ।”


    भिक्टिम्स एन्ड अफेन्डर्स जर्नलमा लेख्दै उनले ती घटनापश्चात् विद्यालयमा बन्दुक बोकेका व्यक्ति वा सशस्त्र सुरक्षाकर्मी देखिने, एक्सरे मशीन, मेटल डिटेक्टरहरू राख्न पाउने जस्ता विषय सामान्य बनेको बताइन्। सशस्त्र व्यक्ति आए के गर्ने भनेर अमेरिकी विद्यालयहरूमा अभ्यास गर्न थालिएको छ । अमेरिकी विद्यालयहरू बन्दुकधारीले आक्रमण गरे के गर्ने भन्ने योजना बनाउन पनि अभ्यस्त भएका छन्।

    यसको अर्थ विद्यालयहरूले खतराको आकलन गर्ने, आपत्कालीन प्रतिक्रिया जनाउन योजना गर्ने, सङ्कटका बेला खटिने टोली बनाउने र बन्दुकधारीलाई तत्काल कसरी प्रतिक्रिया जनाउने भनेर अभ्यासहरू बढाइरहेको जोनसन बताउँछिन्। एभ्रीटाउन फर गन सेफ्टी सपोर्ट फन्ड नामक संस्थाका अनुसार एउटा एकदमै विवादित नीति भनेको बन्दुकधारी आउँदा के गर्ने भनेर गरिने अभ्यास हो।

    यो ९५ प्रतिशतभन्दा बढी अमेरिकी प्राथमिक विद्यालयहरूमा लागु हुँदै आएको छ। ह‍ालैका केही त्यस्ता गहन अभ्यासमा नक्कली बन्दुक बोकेका नकाबधारी पुरुषहरू र नक्कली रगत प्रयोग गरेर पीडितको भूमिका निर्वाह गर्ने विद्यार्थीहरू सहभागी भएका थिए। सन् २०२० को एउटा प्रतिवेदनमा एभ्रीटाउनले त्यस्ता अभ्यासको प्रभावकारिताले कति सघाउ पुर्‍याएको छ भनेर “कुनै अनुसन्धान” नभएको बताएको छ।

    यसैबीच त्यस्ता अभ्यास मानसिक स्वास्थ्यका लागि भने हानिकारक हुने सङ्केत देखिएको छ। उक्त प्रतिवेदनले एक अभिभावकलाई उद्धृत गर्दै लेखेको छस् “त्यस्तो अभ्यासका बेला पूर्वप्राथमिक विद्यालयमा पढ्ने मेरी छोरी शौचालयमा एक्लै बस्थिन् र अतिचिन्ताका कारण उनले एक वर्षसम्म उपचार गर्नुपर्‍यो।

    सन् २०१९ मा इन्डियानास्थित एक विद्यालयले त्यस्तो अभ्यास गराउँदा त्यसले विद्यार्थीलाई तनावमा पारेको र शिक्षकहरू पनि गोलीका छर्राबाट आहत र भयभीत भएको भन्दै उक्त विद्यालयको आलोचना भएको थियो। थुप्रै अभ्यासहरू विद्यालयका कर्मचारी वा कानुन कार्यान्वयन गराउने वयस्कका लागि हुन् ताकि उनीहरूले त्यस्ता अवस्थाको सामना कसरी गर्छन् भनेर हेर्न सकियोस्, न्याश्नल सेन्टर फर स्कूल क्राइसिस एन्ड बिरीभ्मन्टका डेभिड स्कनफील्डले बीबीसीसँग त्यतिबेला भनेका थिए। ‘बालबालिकालाई नक्कली रगतले ढाकिएर भुइँमा लडेको अभियन गर्न लगाउनु अर्थहीन छ र त्यो आघात पुर्‍याउने हुनसक्छ।’

  • युक्रेनको साटो देशका विद्यालयको सुरक्षामा प्राथमिकता देउ : ट्रम्प

    युक्रेनको साटो देशका विद्यालयको सुरक्षामा प्राथमिकता देउ : ट्रम्प

    ह्यूस्टन । अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्ससको एक प्राथमिक विद्यालयमा भएको हमलाबारे आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनले युक्रेनलाई सहायता दिनुको साटो आफ्नो विद्यालयमा सुरक्षा बढाउन भनेका हुन् । उनले अमेरिकाले युक्रेनमा सहायता बढाउनुको साटो विद्यालयको सुरक्षामा बढी फण्डिङ गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । पूर्व राष्ट्रपतिले यदि अमेरिकाले युक्रेनको सहायतामा अर्बौ डलर खर्च गर्न सक्छ भने विद्यालयको सुरक्षा किन गर्न सक्दैन भन्दै प्रश्न गरेका हुन् ।

    ह्यूस्टनमा नेशनल राइफल एशोसिएशनको एक बैठकमा भाग लिएका ट्रम्पले यस्तो बताएका हुन् । नेशनल राइफल एशोसिएशन अमेरिकाको सबैभन्दा ठूलो गन ग्रुप हो । पूर्व अमेरिकी राष्ट्रपतिको यो बयान यूवाल्डेमा एक विद्यालयमा भएको हमलाको तीन दिन पछि आएको हो । हमलामा दुई दर्जन बालबालिका तथा शिक्षकको ज्यान गएको छ । उनले इराक, अफगानिस्तानमा अमेरिकाले गरेको अर्बौं रुपैयाँको लगानीको समेत कुनै प्रतिफल नआएको समेत स्वीकार गरे ।

  • टेक्ससमा भयानक वितण्डा मच्याउनु अघि बन्दुकधारीले सामाजिक संजालबाट दिएका थिए सूचना

    टेक्ससमा भयानक वितण्डा मच्याउनु अघि बन्दुकधारीले सामाजिक संजालबाट दिएका थिए सूचना

    टेक्सस (बीबीसी) । अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा २१ जनाको ज्यान लिने गरी आक्रमण गरेका बन्दुकधारीले हमला गर्नुअघि सामाजिक सञ्जालमा त्यसबारे लेख्दै पूर्व सूचना दिएको अधिकारीहरूले खुलासा गरेका छन् । फेसबुक सञ्चालक कम्पनी मेटाका अनुसार १८ वर्षीय सन्दिग्धले लेखेका कुरा सीमित मानिसले हेर्न सक्नेगरी पोस्ट भएको थियो ।

    टेक्सस राज्यका गभर्नर ग्रेग याबटका अनुसार १९ जना बालबालिका र दुईजना शिक्षकलाई गोली प्रहार गर्नुअघि आक्रमणकारीले तीन वटा चेतावनी फेसबुकमा पोस्ट गरेका थिए। सुरुमा उनले आफ्नै हजुरआमालाई गोली हान्ने र पछि आफूले त्यसो गर्ने लेखेको याबटले बताएका छन्। त्यसपछि उनले एउटा एलिमेन्ट्री विद्यालयमा आक्रमण गर्न लागेको खुलासा गरेका थिए ।

    उक्त सन्देश ती बन्दुकधारी विद्यालय पुग्नुभन्दा १५ मिनेटअघि मात्रै पोस्ट गरिएको थियो । ती बन्दुकधारीले टेक्सस एलिमेन्ट्री स्कूलको एउटै कक्षा कोठामा १९ जना बालबालिका र दुई शिक्षकलाई गोली हानी हत्या गरेका छन् । उनले सबैलाई कोठामा थुनेका थिए। पछि उनलाई एक सीमारक्षक अधिकारीले गोली हानेर मारेका थिए। घटनामा कैयौँ बालबालिका घाइते भएका छन्। समाचारसंस्था एपीका अनुसार उक्त आक्रमण सुरु भएपछि नजिकै रहेका एक सीमारक्षक अधिकारी उक्त विद्यालय गए र ती युवकलाई गोली हानेर मारिदिए।

    घटना भएको युभाल्डी मेक्सिकोसँगको सीमाभन्दा ८० माइल पर छ। मङ्गलवारको घटनामा दुईजना प्रहरी अधिकारी घाइते भएको तर उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ। बन्दुकधारी १८ वर्षका युवाले के कारण आक्रमण गरे भन्ने कुरा स्पष्ट हुन सकेको छैन। दश दिनअघि मात्रै न्यूयोर्क राज्यमा भएको हमलामा १० जनाको मृत्यु भएको थियो।

  • न्युयोर्क सहरको मुटु म्यानह्याटनमा नेपाल डे परेड २०२२ सम्पन्न

    न्युयोर्क सहरको मुटु म्यानह्याटनमा नेपाल डे परेड २०२२ सम्पन्न

    कृष्ण आचार्य, न्युयोर्क

    संसारकै राजधानीको रुपमा परिचित एवम् पर्यटनको केन्द्र न्युयोर्क सहरमा नेपाल र नेपालीको पहिचान झल्काउने नेपाल डे परेड २०२२ सम्पन्न भएको छ । यो परेड न्युयोर्कको लागि पाँचौं संस्करण हो ।



    परेड एनआरएनए एनसिसी न्युयोर्क च्याप्टरको मुल आयोजनामा नेपाललाई विश्व सामु चिनाउने उद्देश्यका साथ यही मे २२, २०२२ मा न्युयोर्क सहरको म्यानह्याटनमा गरिएको हो ।



    कार्यक्रमको सभापतित्व एनआरएनए एनसिसी अमेरिका ,न्युयोर्क च्याप्टरका अध्यक्ष तथा नेपाल डे परेडका अध्यक्ष आंग छिरिङ्ग शेर्पाले गरेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि- संयुक्त राष्ट्र संघका स्थायी प्रतिनिधि महामहिम राजदुत अमृत बहादुर राई तथा कन्भेनर-विकाश रुवाली
    बिशेष अतिथि- डेप्यूटी कमिस्नर अफ मेयर अफिस फर इण्टरनेशनल अफेअर्स दिलिप चौहान साथै महावाणिज्यदुत बिष्णु गौतम, वाणिज्यदुत गणेशप्रसाद अधिकारी, एनआरएनए एनसिसी अमेरिकाका अध्यक्ष बुद्दिसागर सुबेदी, एनआरएनए अमेरिका पुर्ब अध्यक्ष खगेन्द्र जीसी, नेपाल डे परेड पूर्व अध्यक्ष निमा शेर्पा लगायत न्युयोर्क सिटीका प्रतिनिधि समेतको उपसिथिति थियो ।


    प्रवासी नेपालीहरुको उल्लेख्य उपस्थितिमाझ नेपाली मौलिकता झल्किने झाँकीहरु सहितको प्रदर्शनीमा सहभागी विभिन्न संघ संस्था प्रतिनिधि पत्रकार तथा बुद्दिजीवी, अतिथि सबैको सहभागिताले कार्यक्रम सफल पारेको थियो।

  • अमेरिकाबाट पुनः नेपाल फर्काइयो पाँच ऐतिहासिक मूर्ति

    अमेरिकाबाट पुनः नेपाल फर्काइयो पाँच ऐतिहासिक मूर्ति

    काठमाडौं । अमेरिकाबाट नेपाल फर्काइएका पाँच वटा ऐतिहासिक मूर्ति मंगलबार पुरातत्व विभागमा हस्तान्तरण भएको छ । मूर्ति फिर्ता गर्न पाउँदा नेपालस्थित अमेरिकी मिसनले खुशी व्यक्त गरेको छ। मिसन उपप्रमुख म्यानुएल मिकल्लेरले संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा अमेरिकाबाट फिर्ता ल्याइएका मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण गरेका हुन् ।

    अमेरिकाको डेन्वर म्युजिएमबाट फिर्ता भएको दशौं शताब्दीको उमामहेश्वर, शिकागो म्युजिएमबाट फिर्ता भएको छैटौं शताब्दीको चतुर्मुखी शिवलिङ्गसँगै नागराजा, पद्मपाणि, र शाक्यमुनि बुद्धका मूर्ति विभागलाई बुझाइएको हो। अमेरिकास्थित नेपाली दूतावासले अमेरिकी कम्पनी युपिएसको सहयोगमा कलाकृतिलाई नेपाल पठाएको हो। यसरी विदेश पुगेका मूर्ति आउनुलाई सम्पदा संरक्षणको महत्वपूर्ण कडीको रुपमा हेरिएको छ।

  • अमेरिकाको टेक्ससमा बन्दुकधारीबाट १८ जना विद्यार्थी र एक शिक्षकको हत्या

    अमेरिकाको टेक्ससमा बन्दुकधारीबाट १८ जना विद्यार्थी र एक शिक्षकको हत्या

    टेक्सस (बीबीसी) । अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा कम्तीमा १८ जना विद्यार्थी र एक शिक्षक मारिएका छन्। राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पिस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन्। अठार वर्षका आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ। कानुन पालना गराउने अधिकारीहरूले उनलाई मारिदिएको हुनसक्ने विश्वास गरिएको छ।

    रब एलिमेन्ट्री स्कूलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानी हत्या गरेका विवरण सार्वजनिक भएको पनि याबटले जानकारी दिए। उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन्। राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्। स्थानीय अस्पतालका अनुसार विद्यार्थीहरूलाई आकस्मिक सेवा उपलब्ध गराइएको छ।

    ६६ वर्षकी एक महिला अनि १० वर्षकी एक बालिका भने गम्भीर अवस्थामा रहेको जनाइएको छ। उक्त विद्यालयमा झन्डै ५०० बालबालिका भर्ना भएको बताइएको छ। अधिकारीहरूका अनुसार घटनामा मृत्यु हुनेहरूको सङ्ख्या बढ्नसक्ने देखिएको छ। अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारीसले यस्ता गोलीकाण्ड नदोहोरिउन् भनेर सुनिश्चित गर्नका लागि उनकै शब्दमा उचित र समझदारीपूर्ण नीति बनाउन आह्वान गरेकी छन्।

    मङ्गलवारको घटनामा दुई जना प्रहरी अधिकारी घाइते भएको तर उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ। बन्दुकधारी १८ वर्षका युवाले के कारण आक्रमण गरे भन्ने कुरा स्पष्ट हुन सकेको छैन।

  • कनेक्टिकट नेपाली समाजले २५६६ औं बुद्ध जयन्ति मनायो

    कनेक्टिकट नेपाली समाजले २५६६ औं बुद्ध जयन्ति मनायो

    धन लामा, मे २३, २०२ कनेक्टिकट

    कनेक्टिकट नेपाली समाज (नेकोन, युएस) ले २५६६ औं बुद्ध जयन्ति एक समारोहको आयोजना गरी मनायो । स्थानीय न्यू हार्टफोर्डमा अवस्थित अन्तर्राष्ट्रीय बौद्ध ध्यान केन्द्रमा आयोजित बुद्ध जयन्ति कार्यक्रममा नेपाली समुदायका सदस्यहरूको उलेख्य मात्रामा सहभागिता थियो ।


    कार्यक्रमको सभापतित्व कनेक्टिकट नेपाली समाज (नेकोन, युएस) का अध्यक्ष नारायण पौडेलले गर्नु भएको थियो भने प्रमुख अतिथि शेर्पा किदुक, न्यूयोर्कका भूतपूर्व अध्यक्ष तथा हिमालयन बुद्धिष्ट इन अमेरिकाका पूर्व उपाध्यक्ष उर्गेन शेर्पा, शेर्पा सोसाइटी अफ कनेक्टिकटका अध्यक्ष सोनाम शेर्पा र नेकोनका प्रमुख सल्लाहकार कृष्ण अधिकारीको आसन ग्रहण पश्चात नेकोनका उपाध्यक्ष रघु गिरीले स्वागत मन्तव्य दिनु भएको थियो ।

    लामा धर्मगुरु गेलु शेर्पाले सामूहिक मन्त्रपाठ गराईसकेपछि औपचारिक रूपमा शुरू भएको कार्यक्रममा प्रमुख अतिथि उर्गेन शेर्पाले भगवान गौतम बुद्धको जीवनी, बौद्ध दर्शन र पन्चशील, शील समाधि र वर्तमान विश्व परिवेशमा विश्व शान्तिको लागि बुद्ध शिक्षाको अपरिहार्यताको विषयमा सुन्दर प्रवचन प्रस्तुत गर्नु भएको थियो ।

    कवि तथा गीतकार धन लामाले “झरनाको पानी जस्तै स्वच्छ सफा शुद्ध बन, असत्यले ढाक्यो जगत अब तिमी बुद्ध बन” शिर्षकको कवितालाई नेपाली भाषा, अंग्रेज़ी अनुवाद र गीति लयमा प्रस्तुत गर्नु भएको थियो । त्यस्तै गरी निमा शेर्पाले बुद्ध धर्म र भगवान गौतम बुद्ध सम्बंधि कविता वाचन गरेका थिए । अन्तर्राष्ट्रीय बौद्ध ध्यान केन्द्रका आवसीय भिक्षुहरू ह्यान सा सुनिम र सुयान सुनिमले क्रमश: केन्द्रमा उपस्थित सहभागीहरूलाई स्वागत र ध्यान प्रक्रियामा समन्वयको भूमिका खेलेकी थिईन । अन्त्यमा सम्पूर्ण सहभागीहरूले भगवान गौतम बुद्धको विशाल प्रतिमाहरूमा पुष्प अर्पणका साथै बालक सिद्धार्थलाई जलले स्नान सकेपछि कार्यक्रमका सभापति नेकोनका अध्यक्ष नारायण पौडेलले कार्यक्रमको समापन गरेका थिए । कार्यक्रमको सन्चालन संक्षिप्त रूपमा नेकोन सचिव राजन तिम्सिना र बाँकी सम्पूर्ण कार्यक्रम २५६६ औं बुद्ध जयन्ति समारोहका संयोजक रोमी योन्जनले गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा ध्यान केन्द्रको तर्फबाट सम्पूर्ण सहभागीहरूलाई प्रसाद स्वरूप शाकाहारी भोजन प्रदान गरिएको थियो ।

  • इरानमा कडा सुरक्षाका बीच कर्णेलको हत्या, अमेरिकाको हात रहेको आरोप

    इरानमा कडा सुरक्षाका बीच कर्णेलको हत्या, अमेरिकाको हात रहेको आरोप

    तेहरान । कडा सुरक्षाका बीच निकै शक्तिशाली मानिने इरानको रेभलूशनरी गार्ड्सका एक कर्णेलको राजधानी तेहरानमा हत्या भएको छ । बीबीसीका अनुसार मोटरसाइकलमा सवार दुई व्यक्तिले आफ्नो निवासअगाडि कारमा रहेका सय्यद खोदाइमाथि पाँच पटक गोली प्रहार गरेको थिए । हत्याको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। इरानले भने अमेरिका र उसका साझेदार राष्ट्रहरूले हत्या गरेको आरोप लगाएको छ।

    आइतवार भएको उक्त घटनामा संलग्न भएकाहरूको खोजी भइरहेको छ। बीबीसीका मध्यपूर्वी क्षेत्रीय सम्पादकका अनुसार यो सन् २०२० मा इरानमा एकजना वरिष्ठ परमाणु ऊर्जा वैज्ञानिकको हत्यापछि भएको सबैभन्दा ठूलो सुरक्षा त्रुटि हो। घटनास्थलका तस्बिरमा रगताम्य व्यक्ति सिटबेल्टसहित कारमा रहेको देखिन्छ। कर्णेल खोदाइ रेभलूशनरी गार्ड्स अन्तर्गत गोप्य रूपमा काम गर्ने सैन्य निकाय कूड्स फोर्सका वरिष्ठ सदस्य थिए। अमेरिकाले उक्त सैन्य बलले आतङ्कवादी समूहलाई समर्थन गरेको र मध्यपूर्वमा भएका आक्रमणमा उसको हात रहेको आरोप लगाउँदै आएको छ।

    पछिल्ला वर्षहरूमा मारिने कूड्स फोर्सका खोदाइ दोस्रो वरिष्ठ अधिकारी हुन्। सन् २०२० मा इरानका सबैभन्दा शक्तिशाली कमान्डर कासिम सुलेमानी अमेरिकी हवाई हमलामा मारिएका थिए। सन् २०२० मै परमाणु ऊर्जासम्बन्धी वरिष्ठ वैज्ञानिकको समेत तेहरानमा गोली हानेर हत्या गरिएको थियो। इरानका लागि निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनी सधैँ सुरक्षाकर्मीहरूसँगै हुन्थे।इरानका सञ्चारमाध्यमहरूले स्रोतलाई उद्धृत गर्दै उनी विश्वभरि इरानले गरेका कैयौँ आक्रमणका लागि जिम्मेवार रहेको जनाएका छन्।

  • ट्याक्सी चालकसँग झगडा गरेपछि दक्षिण कोरियाले फिर्ता पठायो दुई अमेरिकी गुप्तचर

    ट्याक्सी चालकसँग झगडा गरेपछि दक्षिण कोरियाले फिर्ता पठायो दुई अमेरिकी गुप्तचर

    सोल (बीबीसी) । दक्षिण कोरियामा झगडा गरेपछि त्यहाँ खटिएका अमेरिकी गुप्तचर सेवाका दुई कर्मचारीलाई विमानमा हालेर स्वदेश फिर्ता पठाइएको छ । उनीहरू अमेरिकी राष्ट्रपति जो बाइडनको दक्षिण कोरिया भ्रमणअघि सोल पठाइएको अगुवा टोलीका सदस्य थिए। अमेरिकी सञ्चारमाध्यमहरूमा प्रकाशित विवरणअनुसार उनीहरू बिहीवार राति सोलको मदिरालयमा गएका थिए। तीमध्ये एक जनाले एक स्थानीय ट्याक्सीचालकसँग हात हालाहाल गरेका थिए।


    उक्त घटनामा कसैलाई पनि पक्राउ गरिएको थिएन। तर प्रहरीले उक्त घटनाबारे अनुसन्धान गरेको थियो। अमेरिकी गुप्तचर सेवा यूएस सिक्रिट सर्भिसका एक प्रवक्ताले एउटा विज्ञप्ति प्रकाशित गर्दै आफ्नो निकायलाई दुई कर्मचारी संलग्न उक्त घटनाबारे जानकारी रहेको र उनीहरूले सम्भवतः नीति उल्लङ्घन गरेको हुनसक्ने बताएका छन्। एन्थनी गूल्एल्मीका अनुसार ती दुवै जनालाई ूप्रशासनिक बिदाूमा पठाइएको छ र उनीहरूको अनुपस्थितिले बाइडनको भ्रमणमा कुनै प्रभाव पर्ने छैन।

    चीन र उत्तर कोरियाले दिने धम्कीका कारण उत्पन्न चिन्ताका माझ बाडइन चारदिने एशिया भ्रमणमा निस्किएका छन्। उक्त भ्रमणको पहिलो चरणमा उनी दक्षिण कोरिया पुगेका हुन्। बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई स्रोतहरूले अमेरिका फिर्ता पठाइएका दुई गुप्तचरमध्ये एक जना स्पेशल एजेन्ट र अर्का सुरक्षा विशेषज्ञ भएको बताएका छन्।

    अमेरिकी राष्ट्रपति दक्षिण कोरियाको राजधानी आइपुग्नु एक घण्टा पनि बाँकी नहुँदा शुक्रवार अपराह्ण उनीहरूलाई घर फिर्ता पठाइएको थियो। सीबीएसका अनुसार प्रशासनले घटनाका बारेमा नभई त्यतिबेला उनीहरू मातेका थिए कि थिएनन् भनेर छानबिन गर्ने छ। ट्याक्सीचालकसँग कसरी झगडा सुरु भयो भन्ने स्पष्ट छैन। उनीहरू राति घुमेर आफू बसेको होटलमा फर्किन लाग्दा झगडा परेको थियो।

  • नेपाली टीमका बलिङ कोच श्रीलंकाली धम्मिका प्रसादले पाएनन् अमेरिकाको भिसा

    नेपाली टीमका बलिङ कोच श्रीलंकाली धम्मिका प्रसादले पाएनन् अमेरिकाको भिसा

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ कोच धम्मिका प्रसादले अमेरिकाको भिसा नपाएको सामाजिक संजालमार्फत जनाएका छन् । श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासले भिसा नदिएको उनले ट्वीट गर्दै बताएका हुन् । क्रिकेट विश्वकप लिग टू खेल्न नेपाल अमेरिका जाँदै छ ।

    नेपाली क्रिकेट टिमको बलिङ कन्सलटेन्ट धम्मिका नेपाली टिमलाई बलिङको प्रशिक्षण दिन अमेरिका जाने तयारीमा थिए । तर उनलाई अमेरिकाले भिसा दिएको छैन । अमेरिकाको टेक्सास राज्यमा जुन ६ देखि १६ सम्म हुने क्रिकेट विश्वकप लिग टूमा नेपालले अमेरिका र ओमानसँग खेल्ने कार्यक्रम रहेको छ । धम्मिका प्रसाद श्रीलंकाका चर्चित क्रिकेटर हुन् ।


    के लेखेका छन् प्रसादले ?

    I’m stuck with @USEmbSL us visa, my team @CricketNep touring to usa playing with @usacricket for World Cup qualifiers I’m stuck to get my visa because of the current situation, playing first game on 6th and I have to be there before that, anyone can help me on this, 

    — Dhammika Prasad (@imDhammika) May 21, 2022

  • अमेरिकी उपमन्त्री जिया नेपालमा

    अमेरिकी उपमन्त्री जिया नेपालमा

    काठमाडौं । नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल अवतरण गरेकी छिन् । उनी भारतको नयाँदिल्ली हुँदै काठमाडौं अवतरण गरेकी हुन् । उनी तीन दिने भ्रमणका लागि शुक्रबार करिब ३ बजे दिउँसो एयर इन्डियाबाट काठमाडौं आइ पुगेकी  हुन् ।

    उनलाई विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरु र अमेरिकी राजदूतावासका अधिकारीहरुले स्वागत गरेका छन्  । उपमन्त्री जियाको नेपाल आगमन अमेरिकी अधिकारीहरूको एक दशकपछिको उच्चस्तरीय भ्रमण हो । नेपालले एमसीसी सम्झौता अनुमोदनसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाइरहँदा उनको नेपाल भ्रमण भएको हो ।

    जियाले नेपाल भ्रमणको दौरानमा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासहित अन्य उच्च अधिकारीहरुलाई भेट्ने कार्यक्रम रहेको छ । उपमन्त्री जियाले गृह मन्त्री बालकृष्ण खाँण र मुख्य–सचिव शंकरदास वैरागीसँग पनि भेटवार्ता गर्ने छिन् ।

  • एक दशकपछि नेपालमा अमेरिकी उच्च अधिकारीको भ्रमण हुँदै, उपमन्त्री जिया काठमाडौं आउने

    एक दशकपछि नेपालमा अमेरिकी उच्च अधिकारीको भ्रमण हुँदै, उपमन्त्री जिया काठमाडौं आउने

    काठमाडौं । अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया तीनदिने भ्रमणमा शुक्रबार काठमाडौं अवतरण गर्ने भएकी छिन् । यो पछिल्लो एक दशकयता अमेरिकाबाट नेपालमा हुन लागेको सबैभन्दा उच्च तहको भ्रमण हो । सन् २०१२ मा अमेरिकाका दुई उपसचिव वेन्डी शेरम्यान र मारिया ओटेरोले नेपाल भ्रमण गरेका थिए । सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेका थिए  ।

    सन् २०१२ यता यो स्तरको अमेरिकी अधिकारी नेपाल आएका छैनन् । नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध ७५ वर्ष पुगेको अवसरमा जिया आउन लागेको बताइएको छ । परराष्ट्र मन्त्रालयले भने औपचारिक रुपमा भने यसबारे विवरण सार्वजनिक गरेको छैन । उपमन्त्री जियाले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र अन्य वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको स्थानीय संचारमाध्यमले लेखेका छन् ।

  • रुसले युक्रेन युद्ध लम्ब्याउन चाहेको अमेरिकी गुप्तचरको निष्कर्ष

    रुसले युक्रेन युद्ध लम्ब्याउन चाहेको अमेरिकी गुप्तचरको निष्कर्ष

    काठमाडौं (बीबीसी) । अमेरिकी गुप्तचर अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लामो युद्धको तयारी गरिरहेको चेतावनी दिएका छन्।
    उनीहरूका भनाइमा पुटिनले पूर्वी युक्रेनमा जित हासिल गरे भने पनि त्यहाँ द्वन्द्व अन्त्य हुने सम्भावना रहेको देखिएको छैन। रुसले पूर्वी युक्रेनी भू-भाग कब्जा गर्न खोज्दा त्यहाँ ठूलो लडाइँ जारी रहेका बेला उनीहरूको यस्तो चेतावनी आएको हो। युक्रेनले उसको राजधानी किएभ कब्जा गर्ने रुसी प्रयासको प्रतिरोध गरेपछि मस्कोले डोनबास क्षेत्रतर्फ आफ्ना सेनालाई पुनः केन्द्रित गरेको छ।

    त्यसका बावजूद पनि रुसी सेनाले गतिरोध सामना गरिरहेको अमेरिकी गुप्तचर निकायको भनाइ छ। गुप्तचर संयन्त्रका राष्ट्रिय निर्देशक एभ्रिल हेन्सले मङ्गलवार अमेरिकी सिनेटको एउटा समितिमा भएको सुनुवाइका क्रममा त्यस्तो विवरण दिएकी हुन्। उनले पुटिनले डोनबास क्षेत्रभन्दा बाहिरका लक्ष्यहरू हासिल गर्न चाहेको तर आफ्नो महत्वाकांक्षा र वर्तमान रुसी परम्परागत सैन्य क्षमताबीच बेमेल सामना गरिरहेको बताइन्। उनका भनाइमा रुसी राष्ट्रपतिले युक्रेनमा ईयू र अमेरिकाले दिइरहेको सहयोगको सम्भवतः मूल्याङ्कन गरिरहेको बताएकी छन्।

    यद्यपि रुसी राष्ट्रपतिले युद्ध जारी रहँदा थप कठोर माध्यम प्रयोग गर्नसक्ने उनको भनाइ छ। तर उनले रुसका लागि नै अस्तित्वको खतरा महसुस गरेको अवस्थामा मात्र पुटिनले परमाणु अस्त्रहरू प्रयोग गर्नसक्ने बताइन्। डिफेन्स इन्टलिजेन्स एजेन्सीका निर्देशक स्कट बेरियरले उक्त सुनुवाइका क्रममा रुसी र युक्रेनी दुवै अलिकति गतिरोधमा रहेका थिए भनेका छन्। पछिल्लो लडाइँमा युक्रेनले पूर्वोत्तरको खार्किभ क्षेत्रका चारवटा बस्तीहरू पुनः आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ।

  • युक्रेन र अमेरिकी प्रथम महिलाबीच भेट

    युक्रेन र अमेरिकी प्रथम महिलाबीच भेट

    काठमाडौं (बीबीसी) । वासिङ्टनले मस्कोमाथि थप प्रतिबन्धको घोषणा गरेकै बेला अमेरिकी राष्ट्रपति जो बाइडनकी पत्नी जील बाइडनले युक्रेनी समकक्षी ओलेना जेलेन्स्कासँग युक्रेनमा भेट गरेकी छन्। यो उनीहरूबीच भएको पहिलो भेटघाट हो र त्यो युक्रेनको सीमावर्ती शहर उज्होरेडको एक विद्यालयमा भएको थियो। गत फेब्रुअरी २४ मा युक्रेनमा रुसी आक्रमण सुरु भएयता जेलेन्स्का सार्वजनिक रूपमा देखा परेको यो पहिलोपटक हो।

    युक्रेनमाथि रुसी आक्रमणको पछिल्लो प्रतिक्रियाका रूपमा अमेरिकाले रुस र बेलारुसका २६ सय नागरिकमाथि भिसा प्रतिबन्धसहित नयाँ रोकहरू लगाएको छ। अमेरिकाले तीनवटा रुसी टेलिभिजन स्टेसनमाथि पनि प्रतिबन्ध लगाएको छ। उसले रुसी वित्तिय संस्था ग्याजप्रमब्याङ्कका अधिकारीहरुमाथि पनि रोक लगाएको छ। यसैबीच औद्योगिक राष्ट्रहरूको समूह जी-सेभेनका नेताहरूले रुसी तेललाई चरणबद्ध रूपमा प्रतिबन्ध लगाउन आफूहरू प्रतिबद्ध भएको बताएका छन्।

    अमेरिकी र युक्रेनी राष्ट्रपतिका पत्नीबीच हाल विस्थापितहरूका लागि अस्थायी आश्रयस्थलका रूपमा प्रयोग भइरहेको विद्यालयमा भेट भएको हो। त्यहाँ बाइडनपत्नीले आफूले संयुक्त राज्य अमेरिकाका जनता युक्रेनका जनतासँग उभिएको देखाउन चाहेको बताइन्। उनले हाल तेस्रो महिनामा चलिरहेको युद्ध क्रूर रहेको भन्दै त्यसलाई रोक्नुपर्नेमा जोड दिइन्।

    जेलेन्स्काले युक्रेन युद्धमा रहेको बेला भ्रमण गर्नु एउटा साहसी कार्य भएको बताइन्। उनले युक्रेन र अमेरिकामा मनाइने ुमदर्स डे का दिन भएको भ्रमण निकै प्रतीकात्मक रहेको समेत बताएकी छन्। दुवै महिलाहरू उक्त विद्यालयमा बसेर हाल त्यहाँ राखिएका दर्जनौँ बालबालिकामध्ये केहीसँग खेलेका थिए।

  • श्रीलंकामा संकटकाल घोषणा प्रति अमेरिका र यूरोपले गरे आलोचना

    श्रीलंकामा संकटकाल घोषणा प्रति अमेरिका र यूरोपले गरे आलोचना

    कोलम्बो । श्रीलंकाका राष्ट्रपतिले मुलुकमा घोषणा गरेको संकटकालप्रति अमेरिका र युरोपेली सङ्घले आलोचना गरेका छन् । सरकारविरुद्ध भइरहेका प्रदर्शन भइरहेको समयमा श्रीलङ्काका राष्ट्रपति गोटबय राजपक्षलेले संकटकाल घोषणा गरेका हुन् । राष्ट्रपति राजपक्षले गत रातिबाट लागु हुने गरी सङ्कटकालको घोषणा गरेका छन् । गम्भीर आर्थिक सङ्कटसँग गुज्रिरहेको श्रीलङ्कामा मानिसहरूले औषधिसहित अत्यावश्यक सामग्रीहरू प्राप्त गर्न सङ्घर्ष गरिरहेको खबर छ ।

    बीबीसीका अनुसार शुक्रवार बसेको मन्त्रिपरिषद्को एउटा विशेष बैठकपछि सङ्कटकाल लगाउने निर्णय लिइएको थियो। कोलम्बोस्थित अमेरिकी राजदूत जुली चुङले मानिसहरूको आवाज सरकारले सुन्नुपर्ने बताइन्। उनले ट्विटरमा लेखेकी छन्, ‘अर्को सङ्कटकालको अवस्थाबाट चिन्तित छु। शान्तिपूर्ण नागरिकहरूका आवाज सुनिनुपर्छ, श्रीलङ्कालीहरू बेहोरिरहेको वास्तविक चुनौतीहरूसँग जुझ्न र देशमा सबैका लागि समृद्धि र अवसर रहने बाटोमा फर्काउन दीर्घकालीन समाधानको आवश्यकता पर्छ। सङ्कटकालीन अवस्थाले त्यसलाई मद्दत गर्दैन्।’

    युरोपेली सङ्घले सङ्कटकालले श्रीलङ्काका अप्ठेराहरू हल गर्न मद्दत नगर्ने बरु त्यो प्रत्युत्पादक हुनसक्ने चेतावनी दिएको छ। उसले भनेको छ, ‘एक महिना लामो शान्तिपूर्ण प्रदर्शनले दक्षिण एशियाको पुरानो लोकतन्त्रमा कसरी श्रीलङ्काली नागरिकहरूले आफ्नो अभिव्यक्ति स्वतन्त्रतालाई पूर्ण रूपमा अनुभूत गरिरहेका छन् भन्ने देखिएको थियो।’

    राष्ट्रपति राजपक्षको कार्यालयले सार्वजनिक सुरक्षालाई मध्यनजर राख्दै सङ्कटकाल लगाइएको जनाएको थियो। विदेशी मुद्रा सञ्चितमा गम्भीर सङ्कट बेहोरिरहेको श्रीलङ्काले खाद्यान्न, इन्धन र औषधि आयात गर्न गम्भीर समस्या भोगिरहेको छ। योभन्दा अघि पनि श्रीलङ्काका राष्ट्रपतिले गएको एप्रिल २ मा सङ्कटकाल लगाएका थिए जसलाई उनले एप्रिल ५ मा फिर्ता लिए।

  • अमेरिकी विश्वविद्यालयमा रहेको नेपाली मूर्ति फिर्ता ल्याउने सहमति

    अमेरिकी विश्वविद्यालयमा रहेको नेपाली मूर्ति फिर्ता ल्याउने सहमति

    काठमाडौं । अमेरिकाको एक विश्वविद्यालयमा रहेको नेपालको बौद्ध देवी तार–पार्वतीको मूर्ति नेपाल फर्काउने सहमति भएको छ । येल विश्वविद्यालयको आर्ट ग्यालरीको स्थायी संग्रहमा रहेको उक्त मूर्ति नेपाल फर्काउन नेपाली महावाणिज्यदूतावास, न्यूयोर्क र येल युनिभर्सिटी आर्ट ग्यालेरी, कनेक्टिकट, संयुक्त राज्य अमेरिकाबीच सहमति भएको हो । नेपाल सरकारका तर्फबाट न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले येलसँगको साझेदारीमा उक्त कलाकृति फिर्ता गर्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

    आर्गिलाइट ढुङ्गाबाट नवौं-दशौं शताब्दिमा बनेको उक्त मूर्ति येल युनिभर्सिटीमा सन् २०१५ मा एक दातामार्फत पुगेको थियो । नेपालको पुरातत्व विभाग र येल विश्वविद्यालय कला संग्रहबाट २०२१ मा गरिएका छुट्टाछुट्टै अनुसन्धानबाट यो मूर्ति २०३२ सालसम्म भक्तपुर ननगरपालिका गोलमाडी टोलस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्र रहेको पत्ता लागेको थियो । र, त्यहाँबाट हराउनुअघि बौद्धदेवी र पार्वतीको रुपमा दैनिक पूजाआजा हुने गरेको पुष्टि भएको थियो ।

    समभङ्ग मुद्रामा उभिएको, हातमा नाल र कमलको फूल लिएको र कलाशैलीका हिसाबले यो मूर्ति आरम्भिक मध्यकालको रहेको अनुमान गरिएको छ । मूर्ति फिर्ता गर्ने सहमतिपछि बोल्दै कार्यवाहक महावाणिज्यदूत गौतमले येल विश्वविद्यालय, येल विश्वविद्यालय आर्ट ग्यालेरी, उक्त ग्यालरीकी निर्देशक स्टेफनी वाइल्स, गभर्निङ बोर्ड र क्युरेटोरियल टोलीलाई धन्यवाद दिएका छन् ।


    मूर्ति हस्तान्तरण गर्ने क्रममा येल युनिभर्सिटी आर्ट ग्यालेरीकी निर्देशक स्टेफनी वाइल्सले मूर्ति फिर्ता गर्न पाउँदा खुसी लागेको बताइन् । येल युनिभर्सिटी आर्ट ग्यालरीले महावाणिज्यदूतावास र पुरातत्व विभागसँगको समन्वयमा मूर्ति नेपाल फिर्ता पठाउनेछ ।

  • अमेरिकी विदेशमन्त्रीलाई कोरोना संक्रमण

    अमेरिकी विदेशमन्त्रीलाई कोरोना संक्रमण

    काठमाडौं । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनलाई कोरोना संक्रमण पुष्टि भएको छ।

    बुधबार उनलाई कोरोना संक्रमण पुष्टि भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

    अमेरिकी विदेश मन्त्रालयले बुधबार जनाएअनुसार उनले कोरोना भाइरस विरुद्धका सबै मात्रा खोपहरु लिइसक्नुभएकोले उहाँलाई कुनै अप्ठेरो समस्या भने नदेखिएको यहाँका अधिकारीहरुले जनाएका छन् ।

    उहाँ अमेरिकाको सेन्ट्रल फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको नियमअनुसार हाल आइसोलेसनमा रहनुभएको विदेश मन्त्रालयले जनाएको छ।

    अमेरिकी विदेश मन्त्रालयले विदेश मन्त्री ब्लिंकेनले हाल कुनै पनि अप्ठेरो नभएकाे महसुस गरेको र घरबाटै काम गर्ने तयारी भइरहेकाे पनि जनाएको छ।

  • नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्न ८० करोड अमेरिकी अनुदान

    नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्न ८० करोड अमेरिकी अनुदान

    काठमाडौं । नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु. ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ।

    अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज (बिहीबार) आयोजित एक कार्यक्रममा काठमाडाैंस्थित अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) का निर्देशक सेपिदेह केवंशद र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरे।

    त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै निर्देशक केवंशदले पाँच वर्षसम्म सञ्चालन हुने यो सहायता सम्झौताले अमेरिका र नेपालबीचको सहयोग र सहकार्यको बृहत् विकास क्षेत्रको रूपरेखा प्रस्तुत गरेको र यसले नेपालको सामाजिक–आर्थिक उन्नयनमा योगदान गर्ने विश्वास व्यक्त गरे।

    अर्थ मन्त्रालयलका सहसचिव अर्यालले अमेरिकी सहयोगबाट सुदृढ लोकतान्त्रिक शासन, उद्यमशील आर्थिक वृद्धि, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको जोखिममा रहेका समुदायको प्रतिरोधात्मक क्षमता बढाएर नेपालको दिगो विकासमा टेवा पुग्ने बताए।

    अर्थ मन्त्रालयका अनुसार यो सहयोग गुणस्तरीय शिक्षा एवं स्वास्थ्य प्रणाली, दिगो ऊर्जा र कृषि विकासमा उपयोग गरिनेछ । सहायता रकमलाई सरकारको बजेट प्रणाली ९रातो पुस्तक०मा अभिलेख गरेर पारदर्शी रूपमा कार्यान्वयन गरिनेछ।

    अमेरिका नेपाललाई द्विपक्षीय सहयोग गर्ने पहिलो दातृ देश हो । नेपाल र अमेरिकाबीच आज भएको पञ्चवर्षीय विकास सहयोग सम्झौताले दुई देशबीचको ७५ वर्षको विश्वास, आपसी सम्मान र प्रतिबद्धताको सम्बन्धलाई अझ प्रगाढ तुल्याएको छ।

  • अमेरिकामा गर्भपतन गर्न पाउने अधिकार कटौती गर्ने कानूनको मस्यौदा बाहिरियो, के हुन्छ असर ?

    अमेरिकामा गर्भपतन गर्न पाउने अधिकार कटौती गर्ने कानूनको मस्यौदा बाहिरियो, के हुन्छ असर ?

    काठमाडौं (बीबीसी) । अमेरिकी लाखौँ महिलाले गर्भपतन गर्न पाउने कानुनी अधिकार गुमाउनसक्ने भन्ने चुहिएको एउटा मस्यौदा वास्तविक भएको सर्वोच्च अदालतका प्रधानन्यायाधीशले पुष्टि गरेका छन्। तर त्यसले अदालतको अन्तिम निर्णयको भने प्रतिनिधित्व नगर्ने प्रधानन्यायाधीश जोन रोबर्टस्‌ले बताएका हुन्। अमेरिकामा गर्भपतनलाई वैधानिकता दिने सन् १९७३ को फैसलालाई उल्ट्याउनसक्ने विषय उक्त चुहिएको दस्तावेजमा रहेको छ।

    यदि त्यसो भए त्यसले राज्यहरूलाई गर्भपतनमा रोक लगाउने बाटो खोल्छ। अमेरिकी राष्ट्रपति जो बाइडनले यदि उक्त निर्णय अघि बढे त्यसले स्वतन्त्रतासम्बन्धी थुप्रै प्रश्नहरू उठाउने बताएका छन्। पहिलो मस्यौदा भनिएको उक्त चुहिएको कागजातले अदालतका बहुमत सदस्यको धारणा प्रतिबिम्बित गरेको ठानिएको छ।


    उक्त मस्यौदा अन्तिम फैसला होइन र त्यसमा धारणाहरू परिवर्तन हुनसक्छन्। तर यदि रोविरुद्ध वेड नामको उक्त मुद्दाको निर्णय उल्टिए त्यसले अमेरिकाका करिब आधा राज्यहरूमा गर्भपतनमाथि रोक लगाउनसक्छ। एउटा विज्ञप्तिमा प्रधानन्यायाधीश रोबर्टस्‌ले मस्यौदा चुहिएको विषयलाई गम्भीर उल्लङ्घन भन्दै त्यसबारे अनुसन्धान गर्न सर्वोच्च अदालतको मार्शललाई भनेका छन्। उक्त मस्यौदा अमेरिकी वेबसाइट पोलिटिकोले पहिलोपटक प्रकाशित गरेको थियो।

    प्रधानन्यायाधीशले कुनै पनि तरिकाबाट अदालतको कारबाही प्रभावित नहुने पनि बताएका छन्। सार्वजनिक भएको मस्यौदाप्रति दुवै पक्षबाट तीव्र प्रतिक्रिया आएका छन्। गर्भपतनविरोधी ल फर्म अमेरिकन्स युनाइटेड फर लाइफले अदालतलाई गर्भपतन समर्थक गतिविधिहरू वा प्रतिनिधि सञ्चारहरूको अपेक्षालाई उपेक्षा गर्न आह्वान गरेको छ।

    अमेरिकामा प्रजनन स्वास्थ्यबारे सेवा दिने ठूलो संस्था प्लान्ड प्यारेन्टहुडले भने सुरक्षित र वैधानिक गर्भपतनको अधिकारको रक्षाका लागि आफूले लडाइँ जारी राख्ने बताएको छ। उसले यदि उक्त मुद्दाको फैसला उल्टिए त्यसबाट ३ करोड ६० लाख महिलाहरूले गर्भपतनको अधिकार गुमाउने जनाएको छ।

  • अमेरिकाले युक्रेनमा आफ्नो दूतावास यसै महिना पुनर्स्थापना गर्ने

    अमेरिकाले युक्रेनमा आफ्नो दूतावास यसै महिना पुनर्स्थापना गर्ने

    काठमाडौं । रुस र युक्रेनको युद्धका कारण विस्थापन भएको युक्रेनस्थित अमेरिकी दूतावास यसै महिनाबाट पुनः संचालनमा ल्याइने भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाए अनुसार अमेरिकाले यसका लागि तयारी गरिरहेको छ । अमेरिकाले युक्रेनमा मे महिनाको अन्त्यसम्म आफ्नो दूतावास पुनर्स्थापना गर्ने जनाएको छ । क्रेनको राजधानी किभमा अमेरिकाले आफ्नो दूतावास पुनःर्स्थापना गर्ने छ । फेब्रुअरीमा रूसले आक्रमण सुरू गरेपछि सुरक्षाको कारण देखाउँदै अनिश्चितकालका लागि दूतावास बन्द गरेको हो ।

    अमेरिकी कूटनीतिज्ञहरुका अनुसार दूतावास पुनर्स्थापनाका लागि आवश्यक गृहकार्य तीब्र रुपमा भइरहेको छ । समाचार संस्था एएफपीले यसको पुष्टी गरेको छ । युक्रेनमाथि रुसले गरेको आक्रमणको सबैभन्दा चर्को विरोध गर्दै आएको अमेरिकाले रूसी आक्रमणकारीले आफ्नो दूतावासमा पनि आक्रमण गर्ने खतरा रहेको भन्दै दूतवास बन्द गरेर आफ्ना सबै कर्मचारीहरूलाई स्वदेश फिर्ता गरेको थियो। फेब्रुअरी २४ मा रुसले पहिलो पटक आक्रमण गरेको हो ।

  • अप्रिलमा कोरोना महामारीयताकै धेरै पर्यटक नेपाल आए, अमेरिकाबाट मात्र ६ हजार ९५४

    अप्रिलमा कोरोना महामारीयताकै धेरै पर्यटक नेपाल आए, अमेरिकाबाट मात्र ६ हजार ९५४

    काठमाडौं । कोरोना भाइरसको महामारी शुरु भएयता अप्रिल २०२२ मा नेपालमा सबैभन्दा धेरै संख्यामा पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको पर्यटक आगमनको तथ्यांक अनुसार यो महिनामा ५८ हजार ३८४ पर्यटक नेपाल आएका छन् । यो ११ चैत २०७६ मा नेपालमा लकडाउन भएयताको सबैभन्दा उच्च संख्या हो । मार्चमा ४२ हजार ६ जना पर्यटक नेपाल आएका थिए ।

    बोर्डका अनुसार एक महिनाको अवधिमा भारतबाट मात्र २२ हजार ४७७ जना पर्यटक नेपाल आएका छन् । सन् २०२२ मा जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६ र अप्रिलमा ५८ हजार ३८४ जना पर्यटक नेपाल आएका हुन् । यो महिनामा चीनबाट २८१ जना र बंगलादेशबाट १५३७ जना पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट ६ हजार ९५४ जना र बेलायतबाट ५ हजार २५२ जना पर्यटक नेपाल आएका छन् ।

  • युक्रेन युद्धमा अवरोध गर्नेहरुलाई तीव्र प्रतिक्रिया दिने पुटिनको चेतावनी

    युक्रेन युद्धमा अवरोध गर्नेहरुलाई तीव्र प्रतिक्रिया दिने पुटिनको चेतावनी

    काठमाडौं (बीबीसी) । युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्ने कुनै पनि देशले बिजुलीको गतिमा प्रतिक्रियाको सामना गर्नुपर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन्। ‘हामीसँग सबै खाले उपकरण छन्, त्यसैले कसैले घमण्ड गर्न गर्नुपर्दैन, आवश्यक भए हामी तिनीहरूको प्रयोग गर्नेछौँ,’ उनले भने। उनको उक्त भनाइलाई बलिस्टिक क्षेप्यास्त्र र आणविक हतियारहरूसँग जोडेर हेर्न सकिने बताइएको छ। युक्रेनका सहयोगी देशहरूले हतियारको आपूर्ति बढाएका बेला पुटिनको यस्तो चेतावनी आएको हो।

    अमेरिकासहित अन्य देशले रुसलाई पराजित गर्ने सुनिश्चित गर्ने वाचा गर्दै युक्रेनलाई सैन्य सहायता दिइरहेका छन्। पश्चिमा अधिकारीहरूले युक्रेनको पूर्वी क्षेत्रमा जारी रुसी विस्तारको प्रयासमा आफूहरूले बाधा पुर्‍याएको बताएका छन्। गत साता रुसले युक्रेनी राजधानी किएभ वरपरका क्षेत्रहरूबाट पछि हटेर डोनबास क्षेत्र कब्जा गर्न ठूलो आक्रमण सुरु गरेको थियो। तर एक अधिकारीका अनुसार रुसी सेनालाई ‘कठोर युक्रेनी प्रतिरोधलाई सामना गर्न गाह्रो भइरहेको छ र उनीहरूले हार बेहोरिरहेका छन्।’ यसैबीच युरोपेली आयोगले रुसले पोल्याण्ड र बल्गेरियामा ग्यास निर्यात बन्द गरेर मोलमोलाइ गरेको आरोप लगाएको छ।

  • नेकोन युएसएले कनेक्टिकटमा मनायो पहिलो “नेपाल डे”

    नेकोन युएसएले कनेक्टिकटमा मनायो पहिलो “नेपाल डे”

    धन लामा,कनेक्टिकट

    नेप्लिज एसोसिएसन अफ कनेक्टिकट (नेकोन ) युएसए प्रमुख आयोजक र कनेक्टिकट राज्यमा भएका नेपालीहरु आवद्ध विभिन्न संघ संस्थाहरु (NRNA CT Chapter, HCEC Lions club, WHL Lions club, SNA Branford) को सह आयोजनामा यही अप्रिल २४ तारिख आइतवारका दिन कनेक्टिकटको इतिहासमा नै पहिलो पटक नेपाल डे समारोह तथा परेड सम्पन्न भएको छ ।

    स्थानीय समाजमा नेपाली-अमेरिकन समुदायको पहिचान, विभिन्न नेपाली भेषभुषा, सँस्कृति र बाजागाजा सहितको बलियो उपस्थिति रहेको सो समारोहमा सबैले आ-आफ्नो ठाउँबाट महत्वपूर्ण योगदान पुर्याएका थिए ।

    कनेक्टिकटको West Hartford लगायत विभिन्न शहरहरु Branford, Storrs, Windsor locks र अन्य Town बाट समेत आ-आफ्नो भेषभुषा सहित कार्यक्रममा ठूलो संख्यामा नेपालीहरू सहभागी भएका थिए ।

    उक्त दिनमा नेकोनको विशेष पहलमा West Hartford Town Mayor Ms. Shari G Cantor द्वारा अध्यक्ष नारायण पौडेललाई Proclamation letter हस्तान्तरण गरिएको थियो भने स्थानीय नेपाली बासिन्दाहरूको सम्मानमा West Hartford town ले officially आफ्नो प्राङ्गणमा अमेरिकी झण्डा संगै नेपाली राष्ट्रिय झण्डा पनि कनेक्टिकटको इतिहाँसमा पहिलो पटक फहराएको थियो ।

    कार्यक्रममा नेकोनको निमन्त्रणामा अमेरिकाको न्यूयोर्क स्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत महामहिम बिष्णु प्रसाद गौतम, वेस्ट हार्टफोर्ड Town Mayor Shari G Cantor, State Reps Kate Farrar र RTM Branford श्री राम चन्द्र श्रेष्ठ लगायतको विशेष उपस्थिति थियो ।

    त्यस्तै गरी यस कार्यक्रमलाइ सफल बनाउन महत्वपुर्ण भूमिका खेल्ने नेकोन उपाध्यक्ष तथा यस कार्यक्रम उपसमितिका संयोजक श्री रघुनाथ गिरी तथा सदस्यहरु , नेकोनका पदाधिकारीहरु, NRNA CT chapter का अध्यक्ष श्रीमती मुना तिवारी, HCEC lions club का अध्यक्ष श्री प्रकाश ठाकुर, WHL lions club का अध्यक्ष श्री नरेन्द्रदेव पन्त, SNA Branford का अध्यक्ष श्री पूर्ण लिम्बु लगायत उपस्थित समस्तजन प्रति नेकोन कार्यसमितिले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

    यस कार्यक्रमको प्रत्यक्ष प्रसारण नून चिनी पानी-अमेरिकाको अभियन्ता संचारकर्मी श्री अर्जुन दाहाल, चिया नास्ताको निशुल्क व्यवस्था इश्वरी आचार्य, कल्पना दाहाल कार्की, माया अर्याल र टेस्ट अफ इंडियाले गरेको थियो भने कार्यक्रमको MC रुपेश पराजुली र साँस्कृतिक झाँकीमा सहभागीहरुको फोटोग्राफी एवम समाचार सम्प्रेषणमा सहयोग नेकोनका मिडिया को-अर्डिनेटर धन लामा रहेका थिए ।

  • प्रधानसेनापति र फ्रान्सेली तथा अमेरिकी उच्च सैनिक अधिकारीहरुबीच भेटवार्ता

    प्रधानसेनापति र फ्रान्सेली तथा अमेरिकी उच्च सैनिक अधिकारीहरुबीच भेटवार्ता

    काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मासँग फ्रान्सेली तथा अमेरिकी सेनाका उच्च अधिकारीबीच भेटवार्ता भएको छ। नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा मङ्गलबार भएको छुट्टाछुट्टै भेटवार्तामा फ्रान्सेली सेनाका सहायक रथी जेवोफ्रोरी डे लारोउजीरेलगायत सैनिक अधिकारी तथा नेपालका लागि फ्रान्सका राजदूत जीलेस वोर्बाओ को समेत सहभाता रहेको थियो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भेटघाटले दुई पक्षीय तथा पारस्परिकहित तथा दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ।

    प्रधान सेनापतिसँग मङ्गलबार अमेरिकी सेनाका यूटा नेशनल गार्डको एडजुटेन्ट जनरल मेजर जनरल माइकल जे टर्लीले समेत भेटवार्ता गरेका छन् । जङ्गी अड्डामा मंगलबार भएको भेटमा दुई पक्षीयहित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको सेनाले जनाएको छ।

  • इलोन मस्कले किने ट्वीटर, मूल्य कती ?

    इलोन मस्कले किने ट्वीटर, मूल्य कती ?

    काठमाडौं । सामाजिक ट्विटरको सञ्चालक समितिले कम्पनी अधिग्रहण गर्ने अर्बपति इलोन मस्कको प्रस्तावमा सहमती जनाएको छ । बीबीसीका अनुसार मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ४४ अर्ब डलरमा ट्विटरको बोली लगाएका थिए। उनले त्यसबेला ट्विटरमा व्यापक सम्भावना रहेको र ती सम्भावनाका ढोकालाई आफूले खोल्ने बताएका थिए। उनले नक्कली खाताहरूलाई हटाउने तथा उसका सामग्रीमाथिका प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनहरूका लागि पनि आह्वान गरेका थिए।

    कम्पनीले सुरुमा मस्कले लगाएको बोलीलाई अस्वीकार गरेको थियो। तर अब उसले शेअरधनीहरूलाई सम्झौता अनुमोदनका लागि मतदान गर्न आग्रह गर्नेछ। फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन्। उनको अनुमानित सम्पत्ति २७३.६ अर्ब डलर रहेको छ। उनी विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य शेअरधनी हुन् भने अन्तरिक्षसम्बन्धी कम्पनी स्पेसएक्सको पनि उनले नै नेतृत्व गर्छन्।

    उक्त सम्झौताको घोषणा गर्दै मस्कले भनेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रता कार्यात्मक लोकतन्त्रको आधार हो र ट्विटर एउटा डिजिटल सहरको चोक हो, जहाँ मानवताको भविष्यका लागि महत्त्वपूर्ण कुराहरूको बहस गरिन्छ।’ ‘नयाँ सुविधा थप्दै, विश्वास बढाउन अल्गोरिदमहरूलाई खुला गर्दै, स्प्याम बटहरूलाई पराजित गर्दै र सबै मानिसहरूलाई प्रमाणित गर्दै म पनि ट्विटरलाई पहिलाको भन्दा राम्रो बनाउन चाहन्छु,’ उनले भनेका छन्। ट्विटरमा देखापर्ने सामग्रीलाई लिएर राजनीतिज्ञ र नियमनकर्ताहरूको दबाव परिरहेका बेला यस्तो निर्णय सार्वजनिक भएको हो।

    ट्विटरमा गलत सूचना फैलिने क्रमलाई रोक्न नसकेको भन्दै दक्षिणपन्थीदेखि वामपन्थीसम्मले उसको आलोचना गर्ने गरेका छन्। गत वर्ष भूतपूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि ट्विटरले हिंसाका लागि उत्तेजना फैलाएको भन्दै प्रतिबन्ध लगाएको थियो। सम्भवतः त्यो नै सबैभन्दा शक्तिशाली प्रयोगकर्तामाथिको प्रतिबन्ध थियो। मस्कले उक्त कम्पनी लिएको खबरले अमेरिकी दक्षिणपन्थीहरूलाई खुशी बनाएको छ।

  • हिमाल आरोहणमा अमेरिकी आरोही सबैभन्दा बढी आकर्षित

    हिमाल आरोहणमा अमेरिकी आरोही सबैभन्दा बढी आकर्षित

    काठमाडौं । नेपालमा वसन्त ऋतुमा हुने हिमाल आरोहणमा अमेरिकी नागरिकको उच्च आकर्षण देखिएको छ । पर्यटन विभागका अनुसार आइतबारसम्म कुल ८७६ जना आरोहीले नेपालका दुई दर्जन हिमाल आरोहण गर्न अनुमति लिएका छन् । जसमा सबैभन्दा धेरै अमेरिका र युरोपबाट आएका छन् । तथ्यांकअनुसार कुल १ सय ८ समूहका ८७६ जना आरोहीले अनुमति लिएका हुन् । जसमा सगरमाथाका लागि ३७ समूहका ३०२ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमा सबैभन्दा धेरै अमेरिकी नागरिक छन् । अमेरिकाबाट २७ महिलासहित १३२ जना आरोहीले विभिन्न हिमाल चढ्न अनुमति लिएको विभागले जनाएको छ ।

    विभागका अनुसार दोस्रो नम्बरमा बेलायती नागरिक रहेका छन् । बेलायतबाट वसन्त ऋतुमा हिमाल चढ्न १४ महिलासहित १०५ जना आरोहीले अनुमति लिएका छन् । तेस्रो नम्बरमा नेपाली आरोही छन् । नेपालबाट ६२ जना आरोहीले विभिन्न हिमालका लागि अनुमति लिएको विभागको तथ्यांकमा देखिएको छ । भारतबाट ५८ आरोही नेपाल आएको देखिएको छ ।

    फ्रान्सबाट ५५, क्यानडाबाट ३४, अष्ट्रेलियाबाट २९, रुसबाट २८ जना र चीनबाट २२ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ । विभागका तथ्यांक अनुसार आइतबारसम्म ७३ मुलुकका आरोहीले आरोहण अनुमति लिइसकेका छन् । जसमा युक्रेनबाट एक जनाको अनुमति रहेको छ । युरोपेली मुलुकमध्ये स्पेनबाट २५, नेदरल्याण्ड्सबाट १७, चेक रिपब्लिकबाट ११ जना आएका छन् । पर्यटन विभागको तथ्यांक अनुसार आतइबारसम्म कुल २५ वटा हिमालका लागि आरोहण अनुमति जारी भएको छ ।

    यसमा सबैभन्दा धेरै सगरमाथाका लागि आएका छन् । सगरमाथा चढ्न ३७ समूहका ३०२ जनाले अनुमति लिएका हुन् । दोस्रो स्थानमा ल्होत्से हिमाल आरोहणमा बढी अनुमति जारी भएको छ । यस हिमालका लागि २२ महिलासहित १०३ जनाले अनुमति लिएका छन् । अमादब्लम हिमालमा १८ महिलासहित ९७ जनाले अनुमति लिएको विभागले जनाएको छ ।

  • प्रधानमन्त्री देउवा र अमेरिकी संसदको टोलीबीच भेटवार्ता, के भयो कुराकानी ?

    प्रधानमन्त्री देउवा र अमेरिकी संसदको टोलीबीच भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता भएको छ। शनिबार सिनेटर किस्टर्न जिलिब्रान्डको नेतृत्वको संसदीय टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । देउवाले ट्विट गर्दै अमेरिकी संसदीय टोलीलाई स्वागत गर्न पाउँदा खुसी भएको उल्लेख गरेका छन् । भेटका क्रममा नेपाल र अमेरिकाबीचको सम्बन्धबारे विचारहरू आदानप्रदान गरिएको थियो ।

    ‘नेपाल–अमेरिका मित्रता र सरकार, संसद र आम जनतालाई समावेश गरी बहुआयामिक साझेदारी अभिवृद्धि गर्ने उपायबारे विचार आदानप्रदान गरियो,’ ट्विटरमा भनिएको छ,‘जलवायु परिवर्तन जस्ता विश्वव्यापी मुद्दामा पनि छलफल भयो।’ चार जना अमेरिकी सिनेटर र एक जना सांसदको टोली शुक्रबार साँझ काठमाडौं आइपुगेको हो ।

    टोलीमा सिनेटरहरू सेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यु जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधि सभा सदस्य मोन्डेयर जोन्स (१७ औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) समावेश छन्। सो टोलीले शनिबार बिहान परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटेका थिए। उनीहरूले आर्थिक विकासलगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।