Category: अमेरिका

  • बाइडेनले रुसी राष्ट्रपतिलाई ‘युद्ध अपराधी’ भनेपछि…

    बाइडेनले रुसी राष्ट्रपतिलाई ‘युद्ध अपराधी’ भनेपछि…

    काठमाडौं (बीबीसी) । अमेरिकी राष्ट्रपति जो बाइडनले पहिलो पटक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा दिएका छन् । यससँगै रुस एक पटक पुनः भड्किएको छ । रुसी समाचार संस्था टासका अनुसार क्रेमलिनले बाइडनको उक्त टिप्पणीलाई ‘अस्वीकार्य अनि अक्षम्य’ बताएको छ। अमेरिकी राष्ट्रपतिको पछिल्लो टिप्पणीले अमेरिका र रुसबीच कूटनीतिक तनाव थप्ने सम्भावना रहेको छ ।

    बाइडनले ह्वाइट हाउसमा एक जना सञ्चारकर्मीलाई उत्तर दिने क्रममा विना तयारी त्यस्तो प्रतिक्रिया जनाएका थिए। पुटिनको निन्दा गर्न उनले यस्तो भाषा प्रयोग गरेको यो पहिलो पटक हो। पछि ह्वाइट हाउसले राष्ट्रपति बाइडनले आफ्नो मनबाट बोलेको जनाएको थियो।

    पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभले रूसी समाचार संस्था टाससँग प्रतिक्रिया जनाउँदै भने, ‘हामी राष्ट्रप्रमुखको यस्तो अभिव्यक्ति अस्वीकार्य अनि अक्षम्य मान्छौ जसका बमले विश्वभर हजारौँ मानिसहरूको ज्यान लिएको छ।’ बुधवार एक जना सञ्चारकर्मीले बाइडलाई सबै कुरा देखेपछि पुटिनलाई युद्ध अपराधी भन्न तपाईँ तयार हुनुहुन्छ ? भनेर प्रश्न गरेका थिए।

    सुरुमा बाइडनले छैन भन्ने जवाफ फर्काए। तर उनलाई प्रतिप्रश्न गरिएपछि आफ्नो जवाफ फेरे र भने ः तपाईँले मलाई के मैले ‘ भन्नेछु भनेर सोध्नु भएको हो ? मलाई लाग्छ कि उनी युद्ध अपराधी हुन्।’ पछि ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले राष्ट्रपतिले युक्रेनमा भएको हिंसाको बर्बर तस्बिर देखेपछि आधिकारिक रूपमा घोषणा गर्नु भन्दा पनि आफ्नो मनबाट बोलेको बताइन्।

  • शान्तिको नेतृत्व गर्न बाइडनलाई जेलेन्स्कीको आह्वान, भन्छन् : बालबालिकाको मृत्यु नरोके जीवनको अर्थ छैन

    शान्तिको नेतृत्व गर्न बाइडनलाई जेलेन्स्कीको आह्वान, भन्छन् : बालबालिकाको मृत्यु नरोके जीवनको अर्थ छैन

    काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई शान्तिको नेतृत्व गर्न आग्रह गरेका छन्। अमेरिकी कङ्ग्रेसलाई गरेको ऐतिहासिक सम्बोधनको अन्त्यमा उनले बाइडनलाई विश्वका र शान्तिका नेता बन्न आग्रह गरेको बीबीसीले लेखेको छ । “राष्ट्रपति बाइडन, तपाईँ आफ्नो देशका नेता हो। म तपाईँ विश्वका नेता हुनुहोस् भन्ने कामना गर्छु। विश्वका नेता हुनु भनेको शान्तिका पनि नेता हुनु हो,” उनले आफ्नो सम्बोधनको अन्त्यतिर भने।


    भावुक मुद्रामा प्रस्तुत भएका जेलेन्स्कीले थप युक्रेनी बालबालिकाहरूको मृत्यु रोक्न नसके “जीवनको अर्थ नदेखेको” बताएका थिए। अमेरिकामा शान्ति कायम गर्न देशका राष्ट्रपति र जनतामा मात्रै निर्भर नरहने भन्दै उनले भने(“त्यो तपाईँको वरपर र अरू शक्तिशालीहरूमा पनि भर पर्छ।” उनले आफ्नो देशका जनताहरू आफ्ना लागि मात्रै नभएर युरोप र विश्वको मान्यताका लागि पनि युद्ध लडिरहेको बताए।

  • यक्रुेनमा रुसको गति रोकिएको अमेरिकाको दावि

    यक्रुेनमा रुसको गति रोकिएको अमेरिकाको दावि

    काठमाडौं । भीषण बमबारीका वावजुत युक्रेनमा अघि बढ्ने रुसी प्रयास केही दिन देखि रोकिएको पेन्टागनको विश्लेषण छ । उसको पछिल्लो मूल्याङ्कन अनुसार युक्रेनी सहरहरूले बहादुरीपूर्वक आफ्नो रक्षा गर्न सफल भएका छन्। बीबीसीका अनुसार अमेरिकी रक्षा मन्त्रालयले युक्रेनले प्रभावकारी रूपमा हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेका कारण रुसी सेना हवाई हमलामा पनि त्यति धेरै अघि बढ्न नसकेको जनाएको छ। दिनभरि गोलाबारी भएको राजधानी किएभमा रातको समयमा विस्फोटन भएका छन्।

    युक्रेनको उत्तर पश्चिम क्षेत्रमा एउटा टेलिभिजन च्यानलमा भएको हवाई हमला पश्चात् भग्नावशेषमा पुरिएका मानिसहरूको उद्धार कार्यमा अधिकारीहरू खटिएका छन्। फेब्रुअरी २४ तारिखमा युक्रेनमाथि आक्रमण सुरु गरेको रुसले हालसम्म कुनै पनि ठूलो युक्रेनी सहर नियन्त्रणमा लिन सकेको छैन।

    युक्रेनमाथि आक्रमण गरेसँगै लगाइएका प्रतिबन्धबाट जोगिन रुसलाई मद्दत गरे त्यसको परिणाम चीनले भोग्नुपर्ने अमेरिकाले चेतावनी समेत दिएको छ । चिनियाँ विदेशमन्त्रालयले भने अमेरिकामाथि मिथ्या सूचना फैलाएको आरोप लगाएको छ। रुसले पनि चीनसँग सैन्य सहायता मागेको अस्वीकार गरेको छ।

  • इराकमा अमेरिकी वाणिज्य दूतावासमा मिसाइल हमला

    इराकमा अमेरिकी वाणिज्य दूतावासमा मिसाइल हमला

    काठमाडौं । इराकमा अमेरिकी वाणिज्य दूतावासमा मिसाइल हमला भएको छ र इराकी सुरक्षा अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले यसको पुष्टी गरेका छन् । इराकको उत्तर क्षेत्रम अवस्थित स्वायत्त कुर्द इलाकास्थित इरबिल शहरमा यस्तो आक्रमण भएको हो । अमेरिकी वाणिज्य दूतावासको भवनमा मिसाइल गिरेको पाइएको छ । सामाजिक संजालमा समेत वाणिज्य दूतावास नजिकै शक्तिशाली विष्फोटको आवाज सहितका सामग्री पोष्ट भएका छन् ।

    मिसाइलको निसानाकहाँ थियो भन्ने चाँही नखुलेको समाचारमा उल्लेख छ । समाचार एजेन्सी रोयटर्सका अनुसार इराक भन्दा अन्य मुलुकबाटै मिसाइल आक्रमण भएको पाइएको छ । हमलाबाट मानवीय क्षतिको भने विवरण आएको छैन । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यस घटनालाई क्रुरको संज्ञा दिएका छन् । थप विवरण आउन बाँकि छ ।

  • रुसविरुद्ध लड्न अमेरिकाले सेना नपठाउने राष्ट्रपति बाइडनको घोषणा

    रुसविरुद्ध लड्न अमेरिकाले सेना नपठाउने राष्ट्रपति बाइडनको घोषणा

    काठमाडौं । रुसविरुद्ध लड्न अमेरिकाले सेना नपठाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रवार यस्तो बताएका हुन् । उनले अमेरिका रूससँग लड्न यूक्रेनमा आफ्नो सेना पठाउने पक्षमा नरहेको बताए । उनले ट्वीट गर्दै यस्तो बताएका हुन् । यद्दपी नेटोलाई सक्षम बनाएर नेटो क्षेत्रको हर भूमी रक्षाका लागि भने प्रतिवद्ध रहेको उनले बताएका छन् । उता, युक्रेनले नेटाको सदस्यता नलिने बताइसकेको छ । एक संयुक्त र मजबूत नेटोको क्षमताबाटै नेटो क्षेत्रको रक्षा गर्ने उनको भनाई छ ।

    अमेरिका युक्रेन पुगेर रूससँग युद्ध लड्नु भनेको तेस्रो विश्व युद्ध सरह हुने उनको भनाई छ । बाइडनले आफ्नो सेना युक्रेन नजाने विषय पटक पटक दोहोर्याइरहेका छन् । उता, यूक्रेनका राष्ट्रपति भ्लादिमिर ज़ेलेन्स्कीले भने अमेरिकासँग पटक पटक सैन्य सहयोगको आग्रह गरिरहेका छन् । युक्रेनले आफ्नो मुलुकलाई नो फ्लाइ जोन घोषणा गर्न समेत नेटोसँग माग गरिरहेको छ ।

  • भूमिका श्रेष्ठले पाइन् अमेरिका सरकारले प्रदान गर्ने शाहसिक पुरस्कार

    भूमिका श्रेष्ठले पाइन् अमेरिका सरकारले प्रदान गर्ने शाहसिक पुरस्कार

    काठमाडौं । नेपालकी भूमिका श्रेष्ठले अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने सन् २०२२ को सहासिक महिला पुरस्कार पाएकी छिन् । अमेरिकी विदेश मन्त्रालयले यस्तो जानकारी गराएको हो । श्रेष्ठ नेपालको यौनिक अल्पसंख्यकको हक अधिकारका लागि काम गर्छिन् । श्रेष्ठले पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको अमेरिकी विदेश मन्त्रालयको भनाई छ । यो पुरस्कार यस अघि नेपालकी मुस्कान खातुनले समेत पाइसकेकी छिन् । खातुन एसिड प्रहारबाट घाइते बनेकी थिइन् ।

  • बाइडेनले पुनः भने : युक्रेनमा भएका अमेरिकीले तत्काल देश छाड

    बाइडेनले पुनः भने : युक्रेनमा भएका अमेरिकीले तत्काल देश छाड

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा कुनै अमेरिकी नागरिक बसोबास गरिरहेको भए तत्काल सो मुलुक छाड्न आह्वान गरेका छन् । रुसले युक्रेनसँग जोडिएको सीमा क्षेत्रमा आफ्नो सैन्य कारबाही जारी राखेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले मस्कोले युक्रेन कब्जा गरेमा त्यहाँ रहेका अमेरिकीलाई बचाउन अमेरिकाले सेना नपठाउने स्पष्ट पारेका हुन् । बीबीसीका अनुसार उनले युक्रेनको अवस्था चाँडै खतरनाक बन्नसक्ने भन्दै अमेरिकी नागरिकहरूलाई तत्काल उक्त देश छाड्न आह्वान गरेका हुन् ।

    इस्टोनिया, लाट्भिया र लिथुआनियाका नेताहरूले पूर्वी युरोपमा सैन्य सहयोग बढाउन आफ्ना नेटो साझेदारलाईआह्वान गरे लगत्तै बाइडनको उक्त भनाइ आएको हो। मस्कोले युक्रेनलाई कब्जा गर्ने योजनालाई अस्वीकार गरेको छ । पश्चिमा देशहरूलाई युद्ध उन्माद फैलाएको आरोप समेत रुसको छ । तर, यसअघिका सूचना स्रोत मिलेका कारण बाइडनको यो चेतावनीलाई गम्भीरताका साथ लिइएको छ ।

  • रुसी तेल र ग्यासमा पश्चिमा मुलुकको प्रतिवन्ध, विश्वभर पुग्नेछ असर

    रुसी तेल र ग्यासमा पश्चिमा मुलुकको प्रतिवन्ध, विश्वभर पुग्नेछ असर

    काठमाडौं । युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोधमा पश्चिमा मुलुकले आर्थिक प्रतिबन्ध अझ कठोर बनाएका छन् । अमेरिका र बेलायतले रुसी तेलमा प्रतिबन्ध लगाउने भएका छन् । युरोपेली सङ्घले रुसी ग्यासमा आफ्नो निर्भरता समाप्त गर्न गइरहेको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले रुसको अर्थतन्त्रको मुख्य धमनीूलाई नै प्रहार गर्ने बताएका छन्।

    ऊर्जा निर्यात रुसी आम्दानीको एउटा महत्त्वपूर्ण स्रोत हो, तर पश्चिमी देशहरूको यो कदमले उनीहरूकै उपभोक्तालाई पनि असर गर्ने सम्भावना हुने बीबीसीले लेखेको छ । उता, बहुराष्ट्रिय ठूला ब्रान्डहरूले रुसबाट बाहिरिने क्रम जारी राखेका छन्। रुसको अर्थतन्त्र ऊर्जा व्यापारमा धेरै मात्रामा निर्भर छ। यो साउदी अरब र अमेरिकापछि विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो। पश्चिमा प्रतिबन्धहरूको घोषणाअघि रुसले त्यस्ता प्रतिबन्धहरूले विश्वव्यापी अर्थतन्त्रमा विध्वंसक नतिजा ल्याउने चेतावनी दिएको थियो।

    उसले जर्मनीमा ग्यास आपूर्ति गर्ने आफ्नो मुख्य ग्यास पाइपलाइन बन्द गर्नसक्ने चेतावनी पनि दिएको छ। द्वन्द्वले अमेरिका र ब्रिटेनमा पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ। अमेरिकी राजनीतिका दुवै पक्षबाट राष्ट्रपति बाइडनलाई रुसी अर्थतन्त्रलाई लक्षित गर्न दबाव परेको थियो। बाइडनले भने, हामी सबैखाले रुसी तेल र ग्यास तथा ऊर्जाका सबै आयातमा प्रतिबन्ध लगाइरहेका छौँ।

  • अमेरिकाद्धारा युक्रेनलाई १० अर्ब डलर बराबरको सैन्य सहायता प्रदान गर्ने तयारी

    अमेरिकाद्धारा युक्रेनलाई १० अर्ब डलर बराबरको सैन्य सहायता प्रदान गर्ने तयारी

    काठमाडौं । रुसको सामना गरिरहेको युक्रेनलाई अमेरिकाले सैन्य सहायता उपलब्ध गराउने भएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार अमेरिकी कंग्रेसले युक्रेनका लागि १० अर्ब डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने प्रस्तावलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ । यसले युक्रेनी सेनाले ठूलो व्याकअप प्राप्त गर्नेछ । रुसी फौजहरू अगाडि बढ्ने क्रम जारी रहे पनि युक्रेनी सैनिकहरूले त्यसको डटेर प्रतिकार गरिरहेको वाशिङ्गटनस्थित सैन्य स्रोतहरूलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् ।

    अमेरिकी सैन्य स्रोतका अनुसार मस्कोले युक्रेनी हवाई क्षेत्रमा अझै पूर्ण नियन्त्रण कायम गर्न नसकेको र किएभतर्फ बढ्न खोजेको रुसी फौजको विशाल लस्कर अझै रोकिएको अवस्थामा छ। अतिक्रमणअघि जम्मा भएका रुसी फौजमध्ये ९५ प्रतिशत लडाइँमा जुटिसकेको अमेरिकी रक्षा अधिकारीहरूको विश्वास छ। युक्रेनले भने पश्चिमा मुलुकसँग निरन्तर सहायता मागिरहेको छ । राजधानी कब्जा गर्ने अभियानमा रुस अगाडी बढिरहँदा तेस्रो मुलुकबाट प्रतिकार हुन सक्ने र यस अवस्थामा विश्वयुद्धको समेत खतरा उत्पन्न हुने छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यस्तो कदम नचाल्न चेतावनी दिइरहेका छन् ।

  • जेलेन्स्कीले अमेरिकासँग भने : रुसको तेल किन्न बन्द गर

    जेलेन्स्कीले अमेरिकासँग भने : रुसको तेल किन्न बन्द गर

    काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकासँग रुसको तेल खरीद नगर्न माग गरेका छन् । अमेरिकी कंग्रेसका ३ सय सदस्यलाई भिडियोको माध्यमबाट सम्बोधन गर्दै उनले युक्रेनलाई नो फ्लाई जोन बनाउन समेत माग गरेका छन् । अमेरिकाले रूसको तेल खरीदमा रोक लगाउना साथ रुस ठूलो संकटमा पर्ने विश्वास उनको छ ।

    उनले रुसी सैनिकसँग लड्न अमेरिकासँग थप सैन्य सहायताको समेत माग गरेका छन् । उनले रूस मै निर्मित फाइटर जेट्स उपलब्ध गराउन भनेका छन्, जसले गर्दा रुसी सैनिकको सामना गर्न उनको मुलुकलाई सहज हुने छ । यी जहाज चलाउन रुसी सैनिक समेत सक्षम भएको भन्दै त्यस प्रकारका सैन्य सहायताको अपेक्षा युक्रेनले गरेको उनको भनाई छ ।

    राष्ट्रपतिको मागमा अमेरिकी सिनेटका सदस्यले ध्यानाकर्षण भएको बताएका छन् । तर, सिनेटले भने उनको अनुरोध पुरा नहुने बताएको छ । सिनेट नो फ्लाई जोन घोषणा गर्ने पक्षमा छैन । यसले युद्धमा तेस्रो मुलुक जोडिने भएकाले थप युद्धको आशंका अमेरिकाको छ । यसले नेटो सदस्यसँग रुसी सैनिकको लडाई शुरु भएको मानिने सिनेटको तर्क छ । उता, तेल खरीद बन्द गर्दा मूल्यमा आउने बढोत्तरीले अर्थतन्त्रमा पर्ने असरलाई ध्यानमा राख्दै राष्ट्रपतिको मागलाई अमेरिकी सिनेटले खारेज गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

  • एमसीसीको व्याख्यात्मक घोषणालाई अमेरिकाद्धारा स्वीकार

    एमसीसीको व्याख्यात्मक घोषणालाई अमेरिकाद्धारा स्वीकार

    काठमाडौं । अमेरिकाले नेपालको संसदबाट पारित भएको व्याख्यात्मक घोषणालाई स्वीकार गरेको छ । अमेरिकी राजदूत र्‍याण्डी बेरीले प्रतिनिधिसभाबाट अनुमोदन भएको एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले भन्दै आएको विषय भएको भन्दै अमेरिकाले स्वीकार गरेको संकेत गरेका छन् । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले बुधबार गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा व्याख्यात्मक घोषणामा असहमति नरहेको बताएका मन्त्री खाँणको सचिवालयले उल्लेख गरेको छ ।

    ‘एमसीसीबारे सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणा हामीले पहिल्यैदेखि भन्दै आएको विषय हो’ भेटमा राजदूत बेरीले राखेको धारणा उधृत गर्दै गृहमन्त्रीको सचिवालयले लेखेको छ । १५ फागुनमा प्रतिनिधिसभाले एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको थियो । तर कतिपय दल र तिनका नेताहरुले व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार नगर्ने टिप्पणी गरेका थिए ।

    मन्त्री खाँणसँगको भेटमा अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुन सकेको बताएका थिए । गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन प्रतिपक्षमा हुँदा र अहिले सरकारमा हुँदा पनि दृढ रहेको बताए । ‘एमसीसीको विषयले वर्तमान सरकारलाई असर नगरोस् भन्नेमा प्रधानमन्त्री चिन्तित हुनुहुन्थ्यो । जुन सफल भयो’ उनले भने ।

  • नेपालबाट चोरी भई अमेरिका पुर्याइएका ३ वटा सम्पदा\मूर्ति फिर्ता ल्याइयो

    नेपालबाट चोरी भई अमेरिका पुर्याइएका ३ वटा सम्पदा\मूर्ति फिर्ता ल्याइयो

    काठमाडौं । नेपालबाट चोरी भएर अमेरिका लगिएका सम्पदा\मूर्ति नेपाल फिर्ता गरिएको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट चोरिएका ३ सम्पदा करिब साढे ६ महिनाको प्रयासपछि नेपाल फर्काइएको पुरातत्व विभागले जनाएको छ । गत असोज ४ गते पूरातत्व विभागमा परेको उजुरीको आधारमा फिर्ताको पहल थालिएको थियो । यी मूर्ति अमेरिका न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टमा दुईवटा र तिब्बत हाउस ग्यालरीमा एक वटा थिए ।

    मूर्ति र काष्ठकलाका रुपमा रहेको यी सम्पदा सोमबार मात्र नेपाल ल्याइएको हो । फिर्ता गरिएका सम्पदाहरुमा ओम बहालस्थित न्हुँच्छे बहाःबाट चोरिएको मल्लकालीन ध्यान मुद्रामा रहेको प्रस्तरको बुद्ध मूर्ति, ललितपुरको यम्पी महाविहारको प्रवेशद्वारमाथि रहेको काठको कलात्मक तोरण र इटुम्बहालबाट चोरिएको उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला हो ।

    बुधबार पुरातत्व विभागमार्फत् राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अभिलेखालयको सभाहलमा भएको कार्यक्रममा रुबिन म्युजियम अफ आर्ट न्यूयोर्कका कार्यकारी निर्देशक डा. जोरिट बित्स्च्गी र क्युरेटर एडमिनिस्ट्रेसन एण्ड कलेक्सनकी निर्देशक मिचेल बेन्नेट सिमोरेल्लाले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेलाई मूर्ति तथा काष्ठकला हस्तान्तरण गरेका छन् ।

    फिर्ता गरिएका सम्पदामध्ये प्रस्तरको बुद्धमूर्ति १३ औं शताब्दीको मानिएको छ । जसलाई म्युजियमले फिर्ता गर्ने बेलामा ३० हजार अमेरिकी डलर मूल्य तोकेको थियो । काठको कलात्मक तोरण १७ औं शताब्दीको मानिएको छ । जसको मूल्य एक लाख १० हजार रुपैयाँ तोकिएको थियो भने १४ औं शताब्दीको मानिएको उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकलाको मूल्य २२ हजार रुपैयाँ मानिएको थियो । ती मूर्तिलाई अहिले राष्ट्रिय संग्रहालयमा राखिने र सम्बन्धित स्थानीय तहले सुरक्षाको प्रत्याभूति दिलाएपछि सम्बन्धित ठाउँमा प्रतिस्थापन गरिने विभागका महानिर्देशक दामोदर गौतमले जानकारी गराए ।

  • प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनीबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

    प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनीबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको विदेश मन्त्री ब्लिन्केनले पुष्टी गरेका छन् । उनले ट्विटरमार्फत यस्तो जानकारी गराएका हुन् । विदेशमन्त्री एन्टोनीका अनुसार मंगलबार साँझ भएको कुराकानी युक्रेन संकटका विषयमा केन्द्रित थियो । रुसले युक्रेनमा गरेको आक्रमणको विषयमा कुरा भएको उनले बताएका छन् ।

    रूसले युक्रेनमाथि गरेको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र अखण्डतामा समर्थनको बारेमा छलफल भएको उनले बताएका हुन् । नेपाल र अमेरिकाले आर्थिक विकास र क्षेत्रीय चुनौतीमा मिलेर काम गर्ने समेत उनले उल्लेख गरेका छन् । नेपालमा एसमीसी पास भएपछि भएको यो कुराकानीमा यस विष्यामा कुरा भयो वा भएन भन्ने चाँही खुलेको छैन ।

  • एमसीसी पास गर्न सहयोग गरेकोमा सरकारले दियो धन्यवाद

    एमसीसी पास गर्न सहयोग गरेकोमा सरकारले दियो धन्यवाद

    काठमाडौं । सरकारले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्याउने मित्र राष्ट्रहरु, दातृ निकाय, क्षेत्रीय एवं अन्तराष्ट्रिय संघ संस्थाहरुप्रति आभार व्यक्त गरेको छ । सोमबार मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुसँग कुरागर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी गराएका हुन् ।

    सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार प्रतिवद्ध रहेको जनाइएको छ ।

    मन्त्रिपरिषद्को बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्ट लाई प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्ने गठबन्धनमा आवद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष दल लगायतका अन्य राजनीतिक दलहरु, प्रतिनिधि सभाका सभामुख र सदस्यहरु सबैलाई धन्यबाद ज्ञापन गर्ने निर्णय गरेको हो । यस क्रममा प्राप्त सहयोग र सद्भावप्रति सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाईहरु, नागरिक समाज, सञ्चार जगत, बुद्धिजीवी, उद्योगी व्यवसायी सबैमा नेपाल सरकारले धन्यबाद व्यक्त गरेको छ ।

  • रुस-युक्रेन वार्तामा निस्केन निष्कर्ष, युद्ध जारी

    रुस-युक्रेन वार्तामा निस्केन निष्कर्ष, युद्ध जारी

    काठमाडौं । युद्धविराम गर्न रुस र युक्रेनबीच भएको वार्ता निष्कर्षमा पुग्न नसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । जसका कारण युक्रेनमा रुसी हमला जारी छ । यद्दपी युक्रेनको कडा प्रतिवादका कारण रुसी सैनिकको गतिमा भने कमी आएको बीबीसीले लेखेको छ । मंगलबार पनि युक्रेनमा रुसी र युक्रेनी फौजहरूबीच लडाइँ चर्केको छ। युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसको क्षेप्यास्त्र हमलाबाट कैयौँ सर्वसाधारण मारिएका छन्। अर्कोतर्फ राजधानी किएभमा खतराको जनाउ दिने साइरन फेरि बजेका छन्।


    उत्तरी शहर चर्निभमा भीषण गोलाबारी भइरहेका विवरणमा आएका छन्। रुसले युक्रेनमाथि थुप्रै मोर्चाबाट हमला गरिरहेको छ। तर युक्रेनी फौजको प्रतिवादका कारण अगाडि बढ्ने गति कम भएको छ। तीनवटै शहर युक्रेनको नियन्त्रणमा छन्। युद्ध मैदानबाट परको कुरा गर्नुपर्दा आर्थिक र कूटनीतिक कदमहरूले निरन्तरता पाएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा प्रतिबन्धहरूका कारण देशको मुद्रा रुबलको मूल्यमा थप गिरावट आउन नदिने प्रयासमा रुसीहरूलाई विदेशमा रकम लैजान प्रतिबन्ध लगाएका छन्। संयुक्त राष्ट्रसङ्घीय महासभाको एउटा विरल आपत्कालीन सत्रले तत्काल लडाइँ रोक्नुपर्ने महासचिवको माग सुनेको छ।

  • एमसीसी पास भएको विरोधमा सुर्खेतमा दलका कार्यालयमा आगजनी, प्रशासनले लगायो कर्फ्यू

    एमसीसी पास भएको विरोधमा सुर्खेतमा दलका कार्यालयमा आगजनी, प्रशासनले लगायो कर्फ्यू

    सुर्खेत । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट पास भएको विरोधमा सुर्खेतमा हिंसात्मक प्रदर्शन भएको छ । पार्टी कार्यालयहरु तोडफोड र आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ एमसीसी विरोधी प्रदर्शन चर्किएको हो ।

    प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । प्रदर्शन नरोकिएको र तोडफोड भएसँगै प्रशासनले यस्तो कदम चाल्नु परेको बताएको छ ।


    जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू लगाएको छ । सोमबार बिहान ६ बजेदेखि नै सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको सडकमा नाराबाजी गरेका बन्दकर्ताले कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् ।

  • अमेरिकाका लागि नेपाली राजदूतमा खत्री नियुक्त

    अमेरिकाका लागि नेपाली राजदूतमा खत्री नियुक्त

    काठमाडौं । एमसीसी पास भएकै दिन अमेरिकाका लागि नेपाली राजदूतको नियुक्ति भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गरेकी हुन् ।

    मन्त्रिपरिषद्को गत कात्तिक ११ गतेको बैठकले प्राध्यापक खत्रीलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो। नवनियुक्त राजदूत खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक हुन् ।

  • एमसीसी पास भएपछि अमेरिकाको स्वागत

    एमसीसी पास भएपछि अमेरिकाको स्वागत

    काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रतिनिधिसभाबाट पास भएपछि अमेरिकाले स्वागत गरेको छ । संसदको आइतबारको बैठकले एमसीसी अनुमोदन गरेको हो । अब सम्झौता कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको अमेरिकाको प्रतिक्रिया छ ।

    काठमाडौंस्थित अमेरिकी दुतावासले आइतबार अबेर विज्ञप्ति निकाल्दै एमसिसी अनुमोदन गर्ने संसदको निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुने र विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुने बताएको छ । यसले ढुवानी खर्च घट्ने समेत अमेरिकाको भनाई छ ।

    एमसिसीले २० वर्षको अवधिमा विभिन्न देशमा गरिबी निवारणमा मद्दत गरेकोसमेत लेखेको छ । २ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग गर्ने आशासहित नेपालका ऊर्जा र यातायातका क्षेत्रमा आधुनिकीकरण गर्ने लक्ष्य निर्धारण गरेपछि नेपाल सरकारले सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको समेत विज्ञप्तीमा भनिएको छ ।

  • अन्ततः संसदबाट अनुमोदन भयो एमसीसी सम्झौता

    अन्ततः संसदबाट अनुमोदन भयो एमसीसी सम्झौता

    काठमाडौं । नेपालको प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन भएको छ । नेपाल कुनै पनि अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणा गर्दै संसदले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको हो । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरे ।

    यो प्रस्ताव संसदबाट बहुमतले पारित भयो । आजै व्याख्यात्मक घोषणा पास गरेसँगै संसदबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्र र समाजवादी नेपाल सहमत भएका थिए । जसका कारण गठबन्धन कायम रहेर एमसीसी पास भएको हो । मिलेनियन च्यालेन्ज कम्प्याक्टको पक्ष भएको कारण नेपाल, अमेरिकाको हिन्द प्रशान्त रणाीति लगायतका कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा आवद्ध भएको मानिने छैन भन्ने घोषणा सं्रसदले गरेको छ ।

    नेपालको संविधान, कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य सम्झौताहरु भन्दामाथि रहेको, एमसीसी अनुदानको प्रयोग बाहेक अन्य कुनै पनि उद्देश्यका लागि अमेरिकी कानून वा नीतिहरूको पालना गर्न नेपाल बाध्य नहुने, एमसीए–नेपालको सबै क्रियाकलाप तथा कोषको लेखा परीक्षण महालेखा परीक्षकबाट गर्ने र वौद्धिक सम्पत्तिहरू नेपालको स्वामित्व रहने घोषणा गरिएको छ । व्याख्यात्मक घोषणामा एमसीसीका क्रियाकलापरकार्यक्रम सञ्चालन गर्दा नेपालको कानून वा नीति उल्लङ्घन भएकोमा ३० दिनको पूर्व लिखित पूर्वसूचना दिई कम्प्याक्ट अन्त्य गर्न पाउने अधिकार रहने समेत उल्लेख छ ।

  • गठबन्धन नभत्कने गरी एमसीसी अगाडी बढाउन दलहरुबीच कसरत

    गठबन्धन नभत्कने गरी एमसीसी अगाडी बढाउन दलहरुबीच कसरत

    काठमाडौं । दुई दिन अगाडी कांग्रेस र एमालेबीच गठबन्धन भत्काएर एमसीसी पास गराउने सहमति भएको थियो । तर, एमालेले आफ्ना माग पहिला पुरा हुनुपर्ने शर्त राखेपछि सहमति भाँडिएको थियो । त्यसपछि सत्तारुढ दलभित्रै सहमति जुटाउने प्रयास जारी छ । शनिबार अबेर सत्तारुढ दलका शीर्ष नेताबीच छलफल भएको छ । जहाँ गठबन्धन जोगाउँदै एमसीसी सम्झौता पास गराउने सहमति नजिक पुगेको बताइएको छ ।

    एमसीसी सम्झौतामा रहेको अष्पष्ट बुँदामा व्याख्यात्मक घोषणा राखेर संसदबाट पारित गराउने प्रयास सत्तारुढ दलले गरेका छन् । यसले गठबन्धन तत्काल भत्कने छैन । माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता समेत प्रश्न उठेका विषयमा संसदबाट व्याख्यात्मक घोषणा गर्न सहमत भएको बताइएको छ । यसले अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान गर्न उनीहरुलाई सहज हुनेछ ।

    एमसीसी सम्झौतासम्बन्धी प्रस्तावमा अर्को पूरक प्रस्ताव जोड्ने र त्यसले विवादित र अस्पष्ट प्रावधानको व्याख्या गर्नेछ । यस्तो प्रस्ताव कांग्रस महामन्त्री गगन थापाको हो । शनिबार कांग्रेस र एमाले बीच भएको छलफलमा सहमति नजुटेपछि सत्तारुढ दलमै सहमति खोजिएको हो । आजै पार्टीहरुले आफ्नो दलको बैठक राखी यसबारे निर्णय लिने छन् । संसद बैठक आजै बस्नेछ ।

  • चार करोड जनसंख्या भएको युक्रेनमा चौथो दिन पनि रुसको भिषण आक्रमण जारी

    चार करोड जनसंख्या भएको युक्रेनमा चौथो दिन पनि रुसको भिषण आक्रमण जारी

    काठमाडौं । रुसको भिषण आक्रमणका बीच युक्रेनमा ठूलो मानवीय क्षति हुने आंकलन गरिएको छ । युक्रेनको जनसंख्या चार करोड रहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशपछि सेनाले युक्रेनको धेरैजसो सीमा क्षेत्रबाट आक्रमण गरेको छ । रुसी फौज राजधानी किएभ नजिकै आएको छ । जसलाई युक्रेनको सेनाले प्रतिरोध गरिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देश छाड्न अश्विरकार गर्दै त्यहाँका जनतालाई रुसविरद्ध प्रतिकारमा उत्रन प्रोत्साहित गरिरहेका छन् । तर, उनले अपेक्षा अनुसार अन्तर्राष्ट्रिय सहायता भने पाउन सकेका छैनन् । युक्रेनलाई युद्धमा होमिन उक्साइरहेको अमेरिका मौन बसेको छ । गत राति राष्ट्रपति स्वयमःलाई रुसले पक्राउ गर्न खोजेको थियो । जसलाई त्यहाँको सेनाले असफल बनाएको छ ।

    उनलाई अमेरिकाले युक्रेनबाट उनलाई उद्धार गर्ने प्रस्ताव गरेको थियो । युक्रेनका स्वास्थ्यमन्त्रीले सार्वजनिक गरेको विवरण अनुसार रुसको आक्रमणयता १९८ जना युक्रेनी नागरिकको मृत्यु भएको पुष्टी भइसकेको छ । युक्रेनले आक्रमणमा सम्मिलित ३,५०० भन्दा बढी रुसी सैनिकको मृत्यु भएको र झन्डै २०० जनालाई बन्दी बनाइएको दाबी समेत गरेको छ। यसको भने पुष्टी भइसकेको छैन ।

  • युक्रेनका राष्ट्रपतिले देश छाड्न मानेनन्, अमेरिकाले गरेको थियो प्रस्ताव

    युक्रेनका राष्ट्रपतिले देश छाड्न मानेनन्, अमेरिकाले गरेको थियो प्रस्ताव

    काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राति आफूलाई पक्राउ गरेर आफ्नो पक्षका नेतालाई राष्ट्रपति बनाउने रुसी योजना युक्रेनी सुरक्षा बलले विफल बनाइदिएको सार्वजनिक गरेका छन् । भिडिओ सन्देशमा उनले युक्रेनमाथिको आक्रमण रोक्नका लागि आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाव सिर्जना गर्न रुसी जनतालाई आग्रह समेत गरेका छन्। बीबीसीका अनुसार युक्रेनी सेनाले किएभ र वरपरका सहरहरू आफ्नो नियन्त्रणमै राखेको छ ।

    आफ्नो देशसँग युरोपेली सङ्घको सदस्य हुने अधिकार समेत रहेको राष्ट्रपतिले बताए । अझैसम्म युरोपेली सङ्घको सदस्य नरहेको युक्रेनको संविधानमा युरोपेली समूहमा सहभागिता जनाउने आकाङ्क्षा व्यक्त गरिएको छ । यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनबाट उनलाई उद्धार गर्ने वाशिङ्टनको प्रस्तावलाई अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

    ‘लडाइँ यहाँ भइरहेको छ। मलाई हतियार चाहिएको छ, कुनै सवारी होइन,” अमेरिकी समाचार संस्था एपीले वार्तालापबारे जानकारी भएका एक वरिष्ठ गुप्तचर अधिकारीलाई इङ्गित गर्दै जेलेन्स्कीले त्यसो भनेको जनाएको छ। द वाशिङ्टन पोस्टले पनि अमेरिकी र युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सरकार जेलेन्स्कीलाई सहयोग गर्न तयार रहेको जनाएको छ। रुसी हमलाविरुद्ध जनाएको प्रतिक्रियाका कारण जेलेन्स्कीको समाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।

  • एमसिसिबारे शुक्रबार पनि निस्किएन निकास

    एमसिसिबारे शुक्रबार पनि निस्किएन निकास

    काठमाडौं । एसिसिबारे शुक्रबार पनि दलहरू निस्कर्षमा पुग्न सकेनन् । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता बिना निस्कर्ष सकिएसङ्गै
    एमाले र काङ्ग्रेस बीच समेत पुनः सहमतिको संभावना कम हुँदै गएको आङ्कलन गरिएको छ । शुक्रबार  बैठकमा नेकपा एमालले आफ्नो पुरानै अडान हामीलाई प्रतिनिधिसभा भित्र प्रवेश गर्ने द्वार खोलिदिनुहोस भन्ने माग दोहो-याएको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारहरुलाई जानकारी गराए ।
    भेटमा प्रधानमन्त्री देउवाले एमसीसी सबैको सहमतिमा अनुमोदन गर्न चाहेको बताए । प्रधानमन्त्रीले सबै दल ठूलो संघर्षका प्राप्त लोततन्त्रको यात्राका सहयात्रीे भएको र प्रजातान्त्रिक मुल्यमान्यतामा सबै एक ठाउँमा रहन जुरुरी छ भन्ने विचार राखेको उनले बताए । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अधिकतम् सहमतिबाट पास गरेर राष्ट्रिय महत्वको विषयमा हामी एक छौं भन्ने प्रदर्शन गर्नु पर्ने बताउनु भएको मन्त्री कार्कीले जानकारी गराए ।
    एमालेका नेता प्रदीप ज्ञवालीले आफूहरुले पूरानै माग संसदमा एमालेले सहज रुपमा उपस्थित हुने बतावरण बनाउन आग्रह गरेको र त्यसका लागि एमालेले निष्काशन गरेका १४ जनाको नाम टाँस गर्नु पर्ने वा सभामुखले स्टेप डाउन गर्नु पर्ने कुरा राखेको जानकारी दिए ।
    आजै सत्तारूढ दलको बैठक बसेको थियो । सो बैठकले पनि कुनै निस्कर्ष निकाल्न सकेन ।

  • आज संसद बैठकमा एमसीसीबारे छलफल, बाहिर चर्को आन्दोलन

    आज संसद बैठकमा एमसीसीबारे छलफल, बाहिर चर्को आन्दोलन

    काठमाडौं । प्रतिनिध सभाको बैठकमा आजबाट एमसीसीबाट छलफल प्रारम्भ हुँदैछ । कांग्रेसले दावि गरे अनुसार अबको तीन दिन भित्रमा एमसीसी पास नभए यो अमेरिकाले फिर्ता लैजाने छ । सोहीकारण उसले बरु गठबन्धन तोडियोस, तर सबै उपाय लगाएर भए पनि एमसीसी पास गर्ने रणनीति बनाएको छ । एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि सारिएको हो ।

    बैठक आज १ बजे बस्नेछ । बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामशर्म समितिको बैठकसमेत बसेको थियो तर अन्तिम समयमा आएर सोही बैठकमा सरकारले एक दिनको समय मागेपछि संसद बैठक आजलाई सारिएको छ । एमसीसीबारे संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच अझै सहमति हुन सकेको छैन । बिहीबार दिनभर प्रधानमन्त्री शेरबहादुर देउवा र सरकार सक्रिय भए पनि कुनै सहमति भएको छैन ।

    सत्तारुढ दलहरू विभाजित भएका छन्, गठबन्धन कायम रहने नरहने अनिश्चित छ । सत्तामै रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीकोविरुद्धमा छन् । जनता समाजवादीको उपेन्द्र यादव पक्ष पनि विपक्षमै देखिएपछि प्रधानमन्त्री देउवाले गठबन्धनलाई छोडेर एमालेसँगको छलफल अघि बढाएका छन् । पछिल्लो समय सरकार(नेपाली कांग्रेस र नेकपा एमाले, माओवादी र नेकपा एमालेबीच पनि पटकपटक छलफल र वार्ता भएको छ । तर, कुनै सहमति भइनसकेको नेताहरूले प्रतिक्रिया दिएका छन् ।

  • युक्रेनमा संकटकाल घोषणा

    युक्रेनमा संकटकाल घोषणा

    काठमाडौं । रुसी सेनाले हमलाको निर्देशन प्राप्त गरेसँगै युक्रेनमा संकटकाल घोषणा गरिएको छ । संयुक्त राष्ट्रसंघले यहाँ रुसी आक्रमण भएमा कम्तिमा ५० हजार मानिस मारिने चेतावनी यसअघि नै दिइसकेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा “सैन्य कारबाही”को घोषणा गरेसँगै यहाँ संकटकाल घोषणा गरिएको हो ।

    पुटिनले पूर्वी युक्रेनस्थित युद्ध क्षेत्रबाट आफ्ना हतियारहरू बिसाउन र घर फर्कन युक्रेनी सेनालाई आग्रह गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आक्रमणले युरोपेली महाद्वीपमा “ठूलो युद्धको सुरुवात हुनसक्ने” चेतावनी दिएका छन् । उनले राती ढिलो गरी देशवासीलाई सम्बोधन गर्दै यदि रुसले हमला गरे “हामी आफ्नो रक्षा आफैँ गर्छौँ” भन्ने वाचा समेत गरेका छन् ।

    उनका अनुसार युक्रेनको स्थानीय समय अनुसार बिहीवार राती १० बजेदेखि एक महिना लामो संकटकालीन अवस्थामा प्रवेश गर्दैछ। पश्चिमा मुलुकहरुको आंशकालाई सहि सावित गर्दै रुसले युक्रेनमाथि सैन्य हमला गर्न लागेको हो ।

  • रुसी राष्ट्रपतिले दिए युक्रेनमा सैन्य आक्रमणको निर्देशन

    रुसी राष्ट्रपतिले दिए युक्रेनमा सैन्य आक्रमणको निर्देशन

    काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भर्खरै पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका छन्। बीबीसीले ब्रेकिङ समाचार भर्खरै प्रकाशित गरेको छ । जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपतकालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत्‌ पछिल्लो घोषणा गरेका हुन्।

    यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जबाफ नदिएको बताएका थिए। राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले झन्डै २,००,००० सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको बताएका छन्।

  • आजबाट प्रतिनिधिसभामा एमसीसीबारे छलफल थालिने

    आजबाट प्रतिनिधिसभामा एमसीसीबारे छलफल थालिने

    काठमाडौं । प्रतिनिध सभाको बैठक आज बस्ने गरि बोलाइएको छ । बैठकमा आजबाट मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्टबारे छलफल प्रारम्भ हुने छ । दलहरु एमसीसीको मुद्दामा विभाजन भएका छन् । त्यसकारण आजबाट संसद र सडक दुबैमा परिस्थिति सहज भने हुने छैन । संसदमा एमालेको अवरोध जारी रहेको छ । बिहीबारको बैठकको मुख्य एजेण्डा अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्ट छ ।

    संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा पनि एमसीसी सम्झौतामाथि छलफल हुने उल्लेख छ । सम्भावित कार्यसूची अनुसार बैठक अघि बढे आज एमसीसीबारे छलफलको प्रस्ताव पेस हुनेछ। गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेस गरेका थिए । एमसीसीबारे छलफल सुरु हुने भएकोले नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिइसकेको छ ।

  • एमसीसीबारे चीनको दोस्रो टिप्पणी : यो उपहार हो वा पान्डोराज बक्स ?

    एमसीसीबारे चीनको दोस्रो टिप्पणी : यो उपहार हो वा पान्डोराज बक्स ?

    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे चीनले दोस्रो पटक टिप्पणी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले एससीसी उपहार हो कि पान्डोराज बक्स हो भनेर प्रश्न गरेको चिनियाँ संचारमाध्यमले जनाएका छन् । अमेरिकाको नेपालस्थित दूतावासले ५०० मिलियनको एमसीसी अनुदानलाई अमेरिकी जनताको तर्फबाट उपहार भनेको थियो ।

    जवाफमा चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले ‘उपहार अल्टिमेटमको प्याकेजसहित कहिलेबाट आउन थाल्यो भन्दै प्रश्न गरेकी छिन् । उनले भनेकी छिन्, ‘यस्तो उपहार जो कोहीले कसरी स्वीकार गर्न सक्छ ? यो उपहार हो वा पान्डोराज बक्स ?’ यो एमसीसी भन्ने प्रोजेक्ट नेपालीले भने जस्तै हेर्दा राम्रो, तर चपाउन गाह्रो मासुमा बदलिन सक्ने डर रहेको उनको टिप्पणी छ । एमसीसीबारे नेपालमा ध्रुविकरण बढ्दा दुई शक्तिराष्ट्र समेत घोचपेचमा उत्रन थालेका छन् ।

  • रुससँग लड्न अमेरिकाबाट थप हतियार आउने युक्रेनको आशा

    रुससँग लड्न अमेरिकाबाट थप हतियार आउने युक्रेनको आशा

    काठमाडौं । युक्रेनले रुससँगको मुकाविलाका लागि अमेरिकाबाट थप हातहतियार आपने अपेक्षा गरेको छ । बीबीसीका अनुसार त्यहाँका विदेशमन्त्री दिमेत्रो कुलेबाले अमेरिकाले रुसमाथि लगाएको सुरुवाती प्रतिबन्ध बलियो रहेको बताउँदै यस्तो भनेका हुन् । मङ्गलवार अमेरिकी राष्ट्रपति जो बाइडनसँग भेट गरेका उनले अमेरिकी अधिकारीहरूले आफूहरूलाई थप हतियार उपलब्ध गराउने वाचा गरेको फक्स न्यूजसँग बताएका छन् ।

    रुसको पछिल्लो कदमविरुद्ध अमेरिकाले विभिन्न प्रतिबन्धको घोषणा गरेको छ। रुसले क्राइमिया गाभ्दा अमेरिकाले लगाएको प्रतिबन्धभन्दा यो निकै धेरै रहेको अमेरिकी राष्ट्रपतिले बताएका छन्। अमेरिकाले ८० अर्ब डलरको सम्पत्ति रहेका दुई ठूला रुसी ब्याङ्कको व्यापारमा रोक लगाउने घोषणा गरेको छ।

    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुसी समकक्षीसँग तय भएको बैठक आफूले रद्द गरेको बताएका छन्। तर तनाव व्यवस्थापनका लागि आफूहरूले अमेरिकी सेना नै युक्रेनमा परिचालित हुन् भन्ने नचाहेको युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाको भनाई छ । आफूहरूले युक्रेनलाई रक्षासम्बन्धी सहयोग दिन जारी राख्ने बाइडनले प्रतिबद्धता जनाएका छन्।

    युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले रुसको पछिल्लो कदमविरुद्ध सशस्त्र बल परिचालन नगर्ने घोषणा गरेका छन्। तर जगेडामा रहेका सुरक्षा बल सदस्यहरूलाई तालिमका लागि भने बोलाउन लागिको उनले जानकारी दिए। रुस र युक्रेनबीच वार्ताको संयोजन गर्ने टर्कीको प्रस्तावलाई राष्ट्रपति जेलेन्स्कीले स्वागत गरेका छन्। उनले जर्मनी र टर्की सहित राष्ट्रसङ्घीय सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्रहरूको सहभागिता रहने शिखर सम्मेलनको आह्वान गरेका छन्।

  • देउवाले ओलीसँग भने : मलाई गठबन्धनबाट असहयोग भयो-एमसीसी पास गर्न सहयोग गर्नुहोस

    देउवाले ओलीसँग भने : मलाई गठबन्धनबाट असहयोग भयो-एमसीसी पास गर्न सहयोग गर्नुहोस

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग एमसीसी पास गर्न सहयोग मागेका छन् । मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा उनले ओलीसँग यस्तो आग्रह गरेको एमाले नेता विष्णु रिजालले जानकारी दिए । उनका अनुसार गठबन्धनबाट सरकारलाई असहयोग गरेका कारण एमसीसी अनुमोदनमा समस्या रहेको उनले बताएका छन् । सोहीकारण उनले एमालेसँग यस्तो सहयोगको आग्रह गरेका हुन् ।

    जवाफमा ओलीले आफ्नो पार्टीले ६ महिनादेखि जायज माग राख्दै संसद अवरुद्ध गरेका कारण सर्वप्रथम ती माग पुरा हुनुपर्ने बताएको रिजालले जानकारी दिए । आफ्नो माग पुरा नभएसम्म अन्य कुनै संसदीय प्रक्रियामा प्रवेश नगर्ने जवाफ ओलीले प्रधानमन्त्री देउवालाई दिएका छन् । भेटमा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत भेटवार्तामा सहभागी भए ।