Category: अमेरिका

  • अमेरिकामा चार दशकयताकै उच्च आर्थिक वृद्धि

    अमेरिकामा चार दशकयताकै उच्च आर्थिक वृद्धि

    न्युयोर्क । अमेरिकी अर्थव्यवस्थामा पछिल्लो चार दशक यताकै उच्च आर्थिक वृद्धिदर देखिएको छ । कोरोना भाइरसको महामारीपछि अर्थतन्त्र चलायमान भए सङ्गै आर्थिक वृद्धिदरमा उछाल देखिएको हो । सन् २०२० मा अत्यधिक लकडाउन र प्रतिवन्धले प्रभावित भएको अर्थतन्त्रले सन् २०२१ मा तीब्रता लिएको हो ।

    अमेरिकी वाणिज्य विभागले सार्वजनिक गरेको  आधिकारिक आंकडा अनुसार अर्थव्यवस्थामा ५.७ प्रतिशतको वृद्धिदर आएको छ । यो सन् १९८४ यताकै सबैभन्दा राम्रो वृद्धिदर हो । तर, २०२२ मा भने आर्थिक वृद्धिदरमा कमि आउने अनुमान गरिएको छ । सरकारले प्रोत्साहन प्याकेजमा गत साल गरेको खर्चमा व्यापक कटौती गरेको छ । साथै ब्याजदरमा समेत भएको वृद्धिको असर अर्थतन्त्रमा पर्ने छ । साथै, अमेरिकी अर्थव्यवस्थामा  महङ्गी र कोरोनाको थप जोखिमले समेत चुनौती थप्ने छ ।  विश्व बैंकले गरेको अनुमान अनुसार सन २०२२ मा  अमेरिकी अर्थव्यवस्था ३.७ प्रतिशतले बढ्ने छ । 

  • युक्रेनमा रुसले आक्रमण गरे रुसको ग्यास पाइपलाइन अवरुद्ध गराइदिने अमेरिकाको चेतावनी

    युक्रेनमा रुसले आक्रमण गरे रुसको ग्यास पाइपलाइन अवरुद्ध गराइदिने अमेरिकाको चेतावनी

    काठमाडौं । अमेरिकाले रुसले युक्रेनमा आक्रमण गरे उसको पश्चिम युरोप जोड्ने प्रमुख ग्यास पाइपलाइन अवरुद्ध बनाइदिने चेतावनी दिएको छ । नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता जनाइएको पाइपलाइन हो।

    बिहीबार बर्लिनस्थित अधिकारीहरूले रुसले हमला गरे उक्त परियोजनामा प्रतिबन्ध लाग्न सक्ने धारणा राखेका थिए।बिबिसिका अनुसार पश्चिमा साझेदारहरूले आक्रमण भएको खण्डमा रुसको अर्थतन्त्रलाई आफूहरूले निशाना बनाउने बताएका छन् र पछिल्ला प्रतिक्रियाले आकर्षक पाइपलाइन परियोजनामा उनीहरूको अडान चर्को भइरहेको सङ्केत गरेको समेत समाचारमा उल्लेख छ ।
    रुसले आफूले हमला गर्ने योजना बनाएको अस्वीकार गर्दै आएको छ। यद्यपि उसले युक्रेनको सीमामा दशौँ हजार रुसी फौज हालैका हप्तामा खटाएको छ ।

    अमेरिकी प्रसारक एनपीआरसँग कुरा गर्दै अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता नोर्ड प्राइसले भने, “म एकदमै प्रस्ट भन्न चाहन्छु; यदि एउटा वा अर्को तरिकाले रुसले युक्रेनमाथि आक्रमण गर्‍यो भने, नोर्ड स्ट्रिम टु अघि बढ्ने छैन।” तर त्यसलाई कसरी रोकिने छ भनेर विस्तृतमा आफू नजाने उनले उल्लेख गरे।

    विदेशमन्त्रालयका प्रवक्ताले परियोजना अघि बढ्नबाट रोक्ने सुनिश्चित गर्न अमेरिकाले जर्मनीसँग मिलेर काम गर्ने पनि बताए। अमेरिकाले उक्त पाइपलाइनलाई सञ्चालन हुनै नदिने बताए पनि जर्मनीले उक्त परियोजनामाथि प्रतिबन्ध लाग्न सक्ने अवस्थालाई नकारेको छैन।

    संसद्‌मा बोल्दै जर्मन विदेशमन्त्री एनालेना बेअरबोकलेले नोर्ड स्ट्रिम टु सहित समेटिएका कडा प्रतिबन्धहरूका बारेमा पश्चिमा देशहरूले काम गरिरहेको बताइन्। अमेरिकाका लागि जर्मनीकी राजदूत एमिली हेबरले रुसले युक्रेनको सार्वभौमसत्तामाथि हस्तक्षेप गरे नर्ड स्ट्रम टु सहित कुनै पनि विषयमा वार्ता नहुने यसअघि ट्विटरबाट बताएकी थिइन्

  • अमेरिका र रुसको चेपुवामा युक्रेन

    अमेरिका र रुसको चेपुवामा युक्रेन

    काठमाडौं । दुई शक्तिशाली राष्ट्र बीचको तानातानीमा एक निरिह मुलुक चेपुवामा परेको छ । रुसले युक्रेनलाई नेटो सदस्य बन्नबाट रोक्न चाहन्छ । यदी बनेमा उसमाथि सैन्य कारवाहीको तयारी गरिरहेको अमेरिकाले आरोप लगाउँदै आएको छ । अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसको मागलाई अस्वीकार गर्दै आएको छ ।

    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन सङ्कट समाधानका लागि रुसले अघि सारेका मागको औपचारिक रूपमा जवाफ दिँदै अमेरिकी अडान प्रस्तुत गरेको बीबीसीले लेखेको छ । उनले वाशिङ्टनले आफ्नो मूलभूत सिद्धान्तमा कुनै छुट नदिने बताएका छन् । एन्टोली ब्लिङ्कनले सङ्कट समाधानका लागि गम्भीर कूटनीतिक बाटो अगाडि बढाउने प्रस्ताव राखेका छन् र रुसले त्यसैलाई रोज्नुपर्नेमा उनको जोड छ ।

    एकजना रुसी मन्त्रीले चाहिँ नेटोसँगको समन्वयमा आएको ब्लिङ्कनको प्रतिक्रियाको आफ्नो देशले अध्ययन गर्ने बताएका छन्। यसअघि रुसले पनि नेटो सैन्य गठबन्धनको बिस्तार र सम्बन्धित सुरक्षा मामिलाबारे आफ्ना चिन्ताका विषयमा लिखित सूची जारी गरेको थियो। त्यसमध्ये युक्रेन र अरूलाई गठबन्धनमा सामेल हुने सम्भावनालाई अस्वीकार गर्न नेटोसँग माग गरिएको थियो।

    युक्रेनलाई जोडेर नयाँ प्रतिबन्ध लगाइए सम्बन्ध टुट्न सक्ने चेतावनी समेत अमेरिकालाई रुसले दिइसकेको छ । रुसले युक्रेनको सीमा क्षेत्रमा हातहतियारसहित ठूलो सङ्ख्यामा सैनिकहरू तैनाथ गरेको छ। अमेरिकाले पनि साढे ८ हजार सैनिक तयारी हालतमा रहेको बताएको छ ।

  • युक्रेनका लागि साढे ८ हजार सैनिक एलर्ट अवस्थामा छन् : अमेरिका

    युक्रेनका लागि साढे ८ हजार सैनिक एलर्ट अवस्थामा छन् : अमेरिका

    वासिंटन । युक्रेनमाथि रुसले हमला गर्नसक्ने खबरका बीच करिब साढे आठ हजार अमेरिकी सैनिक छोटो सूचनामै जहाँ पनि जानसक्नेगरी उच्च सतर्क अवस्थामा रहेको पेन्टागनले जनाएको छ । बीबीसीका अनुसार रुसले भने युक्रेनमाथि हमला गरेर कब्जा गर्ने आफ्नो मनसाय नभएको बताउँदै आएको छ। पछिल्ला महिनाहरूमा रुसले युक्रेन नजिक ठूलो सङ्ख्यामा सैनिकहरूको उपस्थिति बढाएपछि त्यहाँ जुनसुकै बेला युद्ध हुनसक्ने चिन्ताहरू व्यक्त भइरहेका छन्।


    युक्रेन मामिलालाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले सोमवार आफ्ना युरोपेली साझेदारसँग भिडियो कलमार्फत कुराकानी गरेका छन्। उनीहरूले रुसविरुद्ध सामूहिक रणनीति अपनाउनेबारे छलफल गरेको बताइएको छ। पेन्टागनले सैनिकहरू तयारी अवस्थामा रहेका भए तापनि उनीहरूको तैनाथीबारे हालसम्म निर्णय भइनसकेको जनाएको छ।

    पेन्टानगनका प्रवक्ता जोन कर्बीले यदि नेटोले र्‍यापिड एक्सन फोर्सुलाई परिचालन गर्ने वा रुसी सैनिकहरूको उपस्थिति रहेको क्षेत्रमा कुनै नयाँ अवस्था उत्पन्न भएमा मात्र तयारी अवस्थामा रहेका सैनिकहरू त्यस क्षेत्रमा पठाइने जानकारी दिएका छन्। उनले युक्रेनमै अमेरिकी सैनिक तैथान गर्ने कुनै योजना भने नभएको बताए।

    नेटोका केही सदस्य राष्ट्रहरू डेनमार्क, स्पेन, फ्रान्स र द नेदरल्यान्डस्‌ले पूर्वी युरोपमा सुरक्षा बढाउनका लागि युद्धपोत र लडाकु जहाज पठाउनेबारे विचार गरिरहेको यसअघि नै बताइसकेका छन्। नेटोका महासचिव जेनेरल येन्स स्टोल्टेन्सबर्गले युक्रेनमा हमला गरिए रुसले त्यसको महँगो मूल्य चुकाउनुपर्ने बताएका छन्।

  • युक्रेनमा बढ्यो युद्धको खतरा, अमेरिकाले दुतावासका कर्मचारीलाई देश छाड्न भन्यो

    युक्रेनमा बढ्यो युद्धको खतरा, अमेरिकाले दुतावासका कर्मचारीलाई देश छाड्न भन्यो

    वासिंटन डिसी । अमेरिकी विदेश मन्त्रालयले युक्रेनस्थित आफ्नो दूतावासका कर्मचारीका आफन्तलाई सो देश छाड्न आदेश दिएको छ। यसले सो मुलुकमा युद्धको खतरा बढेको संकेत गरेको छ । बीबीसीका अनुसार रुसले युक्रेनमाथि हमला गर्ने चिन्ताबीच त्यस क्षेत्रमा तनाव बढेको हो । अमेरिकी विदेश मन्त्रालयको एक आदेशमा यस्तो भनेको छ । अमेरिकी विदेश मन्त्रालयले दूतावासमा रहेका अत्यावश्यक बाहेकका कर्मचारीहरूलाई पनि युक्रेन छाड्न अनुमति दिएको छ।

    उसले अमेरिकी नागरिकहरूलाई युक्रेनबाट बाहिरिन आह्वान समेत गरेको छ। एउटा वक्तव्यमा उसले युक्रेनमाथि रुसले हमला गर्ने विवरणहरू आएको उल्लेख गरेको छ । रुसले आफूले युक्रेनमाथि हमला गर्ने र उसलाई कब्जा गर्ने दाबीहरूको खण्डन गर्दै आएको छ। अमेरिकी विदेश मन्त्रालयले युक्रेनमा सुरक्षा अवस्था पूर्वानुमान गर्न नसक्ने खालको रहेको र सामान्य सूचनाकै भरमा त्यो एकदमै खतरनाक अवस्थामा पुग्नसक्ने बताएको हो ।

    युक्रेनको सीमा नजिकै एक लाख रुसी सेना तैनाथ गरिएसँगै युरोपमा नयाँ द्वन्द्व सुरु हुनसक्ने जोखिम रहेको नेटोका प्रमुखले चेतावनी दिएका छन्। शनिवार अमेरिकाले उपलब्ध गराएको झन्डै ९० टन बराबर ुुहातहतियार सहायता युक्रेन पुगेको छ। यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेनप्रति रुसको शत्रुतापूर्ण व्यवहारका कारण अमेरिकाली उक्त देशमाथि चाँडै नै विभिन्न खाले प्रतिबन्धहरू लगाउने बताएका थिए। उनले यदि यस्ता उपायहरू समयमै सुरु गरिए रुसको प्रतिरक्षा क्षमता कमजोर बन्ने दाबी गरेका थिए।

  • शुक्रबार साँझ न्युयोर्कमा गोली चल्दा दुई प्रहरीको मृत्यु

    शुक्रबार साँझ न्युयोर्कमा गोली चल्दा दुई प्रहरीको मृत्यु

    न्युयोर्क

    शुक्रबार राति न्युयोर्कस्थित हार्लमको एक अपार्टमेण्ट बिल्डिङमा गोली चल्दा दुई प्रहरीको मृत्‍यु भएको छ । एकको घटनास्थमा र अर्को प्रहरीको उपचारको क्रममा मृत्यु भएको हो ।
    घटनामा सन्धिग्द अपराधिलाई तेश्रो प्रहरीले गोली हान्दा घाईते अवस्थामा रहेको प्रहरीले जनाएको छ । शुक्रबार साँझ ६ बजेर १५ मिनेट जाँदा एक महिलाले आफ्नो छोरासँग झगडा परेपछि ९११ मा कल गरेर प्रहरी सहायता मागेकी थिईन् । सहयोग गर्न पुगेको प्रहरी माथि सन्धिग्दले गोली चलाएका थिए । घटनामा २२ वर्षीय जेसन रिभेरा र २७ वर्षीय विल्बर्ट मोरा
    नामका प्रहरीको मृत्‍यु भएको छ । ४७ वर्षीय लस्वन म्यक्निल नामका सन्धिग्दले प्रहरी माथि गोली चलाएको प्रहरीको दाबी छ ।

  • चर्चित हलिउड स्टार आर्नोण्ड गम्भिर सडक दुर्घटनामा

    चर्चित हलिउड स्टार आर्नोण्ड गम्भिर सडक दुर्घटनामा

    न्युयोर्क

    चर्चित हलिउड स्टार आर्नोण्ड स्वार्जनेगर शुक्रबार राति लस एन्जलसस्थित गम्भिर सडक दुर्घटनामा परेका छन् । लस एन्जलसको सडकमा गाडी देब्रे पट्टी टर्न गर्न खोज्दा आर्नोण्डको एस् यु भि अर्को तर्फबाट टर्न गर्न खोजेको गाडीसँग ठोक्किएको टि एम जे न्युजले लेखेको छ ।

    आर्नोल्डले देब्रे जाने हरियो एरो संकेत नबल्दै, रातो एरोमा देब्रे जाँन खोज्दा बिपरित दिशाबाट टर्न गर्दै गरेको अर्क्रो गाडीसँग ठोकिएको प्रहरी अधिकारीलाई हवाला दिदै टि एम जेले लेखेको छ । दुर्घटनामा हलिउड स्टार आर्नोण्डलाई सामान्य चोट लागेको छ भने अर्को गाडी चालक एक महिला भने गम्भिर घाईते भएकी छिन् ।

    तस्बिर श्रोत : टी एम जे न्युज


    ७४ वर्षीय हलिउड स्टार आर्नोण्डको एस यु भि अर्को प्रियस कारको छतमा नै चढेको तस्बिर संचार माध्यमहरुले सार्वजनिक गरेका छन् भने दुर्घटनाका प्रत्यक्षदर्शीहरुले दुर्घटना कुनै मुभी छायांकन जस्तो देखिएको प्रतिकृया दिएका छन् ।

    आर्नोण्ड कलाकार बाहेक चर्चित बडी बिल्डर, ब्यापारी, फिल्म निर्माता र क्यालिफोर्नियाका ३८ औं गभर्नर पनि हुन् ।

  • युक्रेनको विषयमा अमेरिका रुससँग किन त्रसित छ ?

    युक्रेनको विषयमा अमेरिका रुससँग किन त्रसित छ ?

    वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा हस्तक्षेप गर्न चाहेको पुनः दोहोर्याएका छन् । तर, पूर्ण आकारको युद्ध नचाहेको भने पुटिनले गर्न नसक्ने उनको भनाई छ । उनको यो भनाई लगत्तै मस्कोको तर्फबाट एक बयान जारी गरि बाइडनको भनाईको खण्डन गरिएको छ । युक्रेनमा रुसले हस्तक्षेप अथवा हमलाको तयारी गरिराखेको भन्ने अमेरिकी भनाइलाई अस्वीकार गरेको छहो ।

    उसले युक्रेनतर्फको सीमामा १ लाखजति सङ्ख्यामा सेना तैनाथ गरेसँगै अमेरिका भने यतिबेला युक्रेनको विषयलाई लिएर त्रसित बनेको हो । रुसले भने पश्चिमा सरकारहरूसँग प्रस्तुत गरेका कयौँ मागमा युक्रेन कहिल्यै नेटोमा नजोडियोस् र उक्त रक्षा गठबन्धनका सैन्य गतिविधि सदस्य देशभित्रै सीमित रहुन् भन्ने चाहन्छ । उता, रुसी हमलाको चिन्ताबारे एक पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा बाइडनले रुसले आक्रमण भने गर्न सक्ने सम्भावना रहेको बताएका छन् ।

    बाइडनले पश्चिमा विश्वको परीक्षा लिन चाहेका रुसी नेताले त्यसको गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी समेत पुनः दिए । ह्वाइटहाउसका तर्फबाट जारी एक विज्ञप्तीमा प्रेस सेक्रेटरी जेन साकीले यदि रुसी सेना युक्रेनभित्र पसेमा त्यो नयाँ हस्तक्षेप मानिेने र अमेरिका तथा उसका साझेदारबाट तत्काल, कडा र एकीकृत जवाफ दिइने उल्लेख छ । बीबीसीका अनुसार बाइडनले युक्रेनमाथि हमला भएमा रुसमाथि अहिलेसम्मै नदेखिएको प्रतिबन्ध लगाइने बताएका छन्।

  • अमेरिकामा वायुसेवा कम्पनीको विरोधपछि ५ जी सेवा रोकियो

    अमेरिकामा वायुसेवा कम्पनीको विरोधपछि ५ जी सेवा रोकियो

    न्यूयोर्क । अमेरिकामा ५ जी मोवाइल सेवा तत्काल प्रयोगमा नआउने भएको छ । यो प्रविधि लागु गर्ने सम्बन्धमा वायुसेवा कम्पनीहरुको शुरुबाटै विरोध थियो । सोहीकारण मोबाइल सेवा कम्पनीहरु वितमानस्थलहरुमा फाइभ जी सेवा स्थगति गर्न सहमत भएका छन् । विमान कम्पनीहरुले फाइभ जी सेवाले उडानमा असर पुर्याउने भन्दै अमेरिका आउजाउ गर्ने उडान रद्द गरेका थिए । त्यसपछि अमेरिकाका एटी एण्ड टी र भिरिजोनले फाइभ जी त्कालका लागि स्थगित गरेका बीबीसीले लेखेको छ ।

    यी कम्पनीहरुले अमेरिकामा बुधबारदेखि फाइभ जी सेवा सुरु गर्ने निर्णय गरेका थिए । एटी एण्ड टीका प्रवक्ताले समाचार एजेन्सी पीटीआईलाई प्रतिक्रिया दिंदै आफूहरुले ४० बढी देशमा यो सेवा सुरु गरिसकेको तर अमेरिकामा सुरु गर्न नसक्दा निराश भएको बताएका छन् । फाइभ जी सेवा सुरु हुने जानकारी पाएलगत्तै भारतको ध्वजाबाहक एयर एण्डिया, इमिरेट्स लगायतका कम्पनीहरुले अमेरिकाको उडान रद्द गरेका थिए ।

    अमेरिकाकै अमेरिकन एयरलाइन्स, डेल्टा, युनाइटेड लगायतका १० भन्दा बढी एयरलाइन्स कम्पनीहरुले पनि फाइभ जी मोबाइल फोन सेवा सुरु नगर्न आग्रह गरेका थिए । फाइभ जी सिग्नलको सी ब्याण्डले हवाई उडानमा असर पुर्याउने चेतावनी एयरलाइन्स कम्पनीहरुले दिएका छन् । यसले विमानको नेभिगेसन सिस्टमलाई असर गर्ने एयरलाइन्स कम्पनीहरुको भनाइ छ । विमानमा रेडियो अल्टिमिटर जडान गरिएको हुन्छ ।

    यसले विमानको गतिविधिको जानकारी दिनुका साथै पाइलटलाई सुरक्षित तरिकाले विमान उडाउन सहयोग गर्दछ । फाइभ जीले त्यही रेडियो अल्टिमिटरमा असर पुर्याउने चेतावनी दिइएको छ । यसले विमानको ब्रेकिङ सिस्टममा पनि असर गर्ने र रनवेमा विमानलाई रोक्न नसकिने हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।एयरलाइन्स कम्पनीहरुले फाइभ जी सिग्नललाई हवाई अड्डाभन्दा करिब दुई माइल टाढा राख्नुपर्ने माग गरेका छन् ।

    यदि यसो नगरिएमा फाइभ जीले विमान उद्योग, यात्रु, आपूर्ति प्रणाली, भ्याक्सिन वितरण र अर्थव्यवस्थामा असर पर्ने चेतावनी उनीहरुले दिएका छन् । मोबाइल कम्पनीहरुले उच्च गतिको इन्टरनेट सेवा फाइभ जी लागू गर्नका लागि आफ्नो नेटवर्क प्रणालीलाई अपग्रेड गरेका छन् । यस कार्यमा अरबौं डलर खर्च गरिएको छ ।

    तर एयरलाइन्स कम्पनीहरुको विरोधका कारण त्यो लगानीमा जोखिम पैदा भएको विश्लेषण गरिएको छ । अमेरिकाको वायरलेस उद्योगको समूह सीटीआईएले भने फाइभ जी प्रणाली सुरक्षित रहेको जनाएको छ । एयरलाइन्स कम्पनीहरुले तथ्यलाई तोडमोड गरेर डर पैदा गर्न खोजेको आरोप पनि उसले लगाएको छ ।

  • बाइडनको कोरोना खोपसम्बन्धी नीतिमा सर्वोच्चको रोक

    बाइडनको कोरोना खोपसम्बन्धी नीतिमा सर्वोच्चको रोक

    वासिंटन डिसी । अमेरिकामा बोइडेन सरकारले ल्याएको कोरोना खोप सम्बन्धी नीतिमा सर्वोच्च अदालतले रोक लगाएको छ । खासगरि ठूला कम्पनीका कर्मचारीहरूले खोप लगाउनुपर्ने र साप्ताहिक रूपमा कोरोनाभाइरसको परीक्षण गर्नुपर्ने भन्ने राष्ट्रपति जो बाइडनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको हो । बीबीसीका अनुसार देशकै माथिल्लो तहको अदालतका न्यायाधीशले उक्त खोप नीति बाइडन प्रशासनको अधिकारभन्दा बाहिर रहेको बताएका छन् ।

    तर उनीहरूले सरकारी कोषबाट चलेका स्वास्थ्य सेवा केन्द्रहरूमा कार्यरत कर्मचारीले खोप लगाउनुपर्ने बाइडनको नीतिलाई भने स्वीकृति दिएका छन्। बाइडन प्रशासनले यो नीतिले कोरोनाभाइरसको महामारीविरुद्ध लड्न मद्दत गर्ने जनाउँदै आएको छ। जीवन बचाउने ठानेर आफूले ल्याएको नीतिलाई अदालतले अस्वीकार गर्दा त्यसमा आफू निराश भएको बाइडनले बताएका छन्। तर सरकारी स्वास्थ्यकर्मीलाई खोप अनिवार्य लगाउने भन्ने आफ्नो नीतिलाई अदालतले स्वीकृति दिन गरेको निर्णयको चाहिँ उनले स्वागत गरेका छन्।

    पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले अदालतको आदेशप्रति खुसी व्यक्त गर्दै खोप अनिवार्य लगाउनुपर्ने नीतिले अर्थतन्त्रलाई थप क्षति पुर्‍याउने बताएका छन् । बाइडन प्रशासनको कार्यस्थलमा खोप नीति अन्तर्गत कर्मचारीहरूले कोभिड-१९ विरुद्ध खोप लगाउनुपर्थ्यो वा मास्क लगाउनुपर्थ्यो र आफ्नै खर्चमा साप्ताहिक रूपमा परीक्षण गर्नुपर्थ्यो। कम्तीमा १०० जना कर्मचारी रहेका कार्यस्थलमा यो लागु हुने भनिएको थियो। यो नीति अन्तर्गत ८ करोड ४० लाख मानिस पर्थे। विपक्षीलगायत केही रिपब्लिकन राज्यहहरू र केही व्यापारिक समूहले प्रशासनले यो नीति आफ्नो शक्तिभन्दा बाहिर गएर ल्याएको बताएका थिए।

    गत नोभेम्बरमा यो नीति घोषणा गरिएसँगै तत्कालै यसविरुद्ध मुद्दाहरू परेका थिए। सर्वोच्च अदालतका ९ न्यायाधीशमध्ये ६ जनाले नीतिविरुद्ध निर्णय सुनाएका हुन्। ती न्यायाधीशहरूले आफ्नो निर्णयमा लेखेका छन्, कोभिड(१९ घर, विद्यालय, खेल कार्यक्रम वा मानिस भेला हुने अन्य ठाउँमा फैलिनसक्छ। नीतिका केही विषय यसै साताबाट लागु हुन लागेका बेला अदालतको यो निर्णय आएको छ।

  • अमेरिकामा एक पुरुषमा सुँगुरको मुटको सफल प्रत्यारोपण

    अमेरिकामा एक पुरुषमा सुँगुरको मुटको सफल प्रत्यारोपण

    बाल्टिमोर । आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति एक अमेरिकी पुरुष बनेका छन् । बीबीसीले लेखे अनुसार चिकित्सकले बाल्टिमोरमा सात घण्टा लामो प्रयोगात्मक प्रक्रियामार्फत मुटु प्रत्यारोपण गरेका हुन् । प्रत्यारारेपण गरेको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको छ।


    यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो, यद्यपि उनको लामो समय बाँच्ने सम्भावना कति छ भन्ने अझै स्पष्ट छैन।
    ‘प्रत्यारोपण गर वा मरको अवस्था थियो,’ ५७ वर्षीय बेनेटले शल्यक्रियाको एक दिनअघि भनेका थिए, ‘मलाई थाहा छ यो अँध्यारोमा हानिएको गोली हो तर यो नै मेरो अन्तिम विकल्प हो।’

    युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरूलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले यो प्रक्रिया गर्न एउटा विशेष खालको छुट दिएको थियो। प्रत्यारोपण गर्ने चिकित्सा टोलीलाई यसले वर्षौँको अनुसन्धानको परिणाम दिएको छ र यसले विश्वभरि मानिसको जीवनलाई परिवर्तन गर्नसक्छ।

    शल्यचिकित्सक बार्ट्ली पी। ग्रिफिथले यो शल्यक्रियाले विश्वलाई अङ्ग अभाव सङ्कटको समस्या समाधानका लागि एक कदम नजिक ल्याउने बताएको युनिभर्सिटी अफ मेरिल्याण्ड स्कूल अफ मेडिसिनको विज्ञप्तिमा उल्लेख छ। अमेरिकामा दैनिक अङ्ग प्रत्यारोपणको पर्खाइमा रहेका १७ जना मानिसको ज्यान गइरहेको छ। एक लाखभन्दा बढी मानिसहरू पर्खाइको सूचीमा रहेको बताइएको छ।

  • न्यूयोर्कमा अपार्टमेन्टमा आगलागी, कम्तिमा १९ जनाको ज्यान गयो

    न्यूयोर्कमा अपार्टमेन्टमा आगलागी, कम्तिमा १९ जनाको ज्यान गयो

    न्यूयोर्क । अमेरिकाको न्यूयोर्कस्थित एक अपार्टमेन्ट भवनमा आगलागी भएको छ । घटनामा ९ बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । न्यूयोर्कका मेयर एरिक यडम्सका अनुसार अन्य ३२ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । उनीहरूको अवस्था जटिल छ। मेयरले उक्त घटना सहरका लागि भयानक र पीडादायी क्षण भएको बताएका छन् ।

    डेमोक्र्याट सिनेटर चक शुमरले पनि संघीय तहमा जे गर्न आवश्यक छ त्यो गरिने प्रतिबद्धता जनाएका छन्। अहिलेसम्म आगो निभाइसकिएको समेत खबर छ । अग्नि विभागका आयुक्त डेनियल निग्रोले १९ तले भवनको प्रत्येक तलामा पीडितहरू भेटिएको बताएका छन्। उनले उक्त आगलागीलाई पहिला कहिल्यै नभएको पनि भनेका छन्। उनले एनबीसी न्यूजसँग बोल्दै मृत्यु हुनेको सङ्ख्या न्यू योर्कमा ३० वर्षयताकै खराब भनेका छन्।

    आयुक्तले आगलागीबारे सूचना पाएको तीन मिनेटमै घटनास्थल पुगेको बताए। फिलडेल्फियास्थित अपार्टमेन्टमा आगलागी भएको केही दिनपछि न्यू योर्कमा यो घटना भएको हो। फिलडेल्फियामा पनि आगलागीमा परि ८ बालबालिकासहित १२ जनाको ज्यान गएको थियो। अधिकारीहरूका अनुसार आइतवार न्यू योर्कको ब्रोङ्कस अपार्टमेन्ट ब्लकमा स्थानीय समय अनुसार बिहान करिब ११ बजे दोस्रो र तेस्रो तलामा आगलागी भएको थियो। आगलागी नियन्त्रणका लागि करिब २०० अग्निनियन्त्रकलाई घटनास्थलमा पठाइएको अधिकारीहरूले बताएका छन्। विद्युतीय हिटरमा खराबी आएपछि आगलागी भएको हुनसक्ने ठानिएको छ।

  • ‘अमेरिकामा कोरोनाको प्रकोप छिट्टै अन्त्य हुन्छ’- जो बाइडेन

    ‘अमेरिकामा कोरोनाको प्रकोप छिट्टै अन्त्य हुन्छ’- जो बाइडेन

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको प्रकोप अमेरिकामा सधैं रहिरहन्छ भन्ने नलागेको बताएका छन्। बाइडेनले ह्वाइट हाउसको ब्रिफिङमा कोरोनाको प्रभाव भने अन्य मुलुकमा रहिरहने टिप्पणी गरेका छन्।

    कोरोनाविरुद्ध अमेरिकाले काम गरिरहेकोले यसको प्रकोप छिट्टै अन्त्य हुने विश्वास व्यक्त राष्ट्रपति बाइडेनले गरेका हुन्। ‘हामीले विकास गरेका धेरै उपकरण हामीसँग छ। कोभिड तथा कोभिडजन्य अन्य रोगका विपत्तिको सामना गर्न हामीले उपकरण विकास गरिरहेका छौं’, उनले भने।

    बाइडेनको उक्त टिप्पणी अमेरिका र विश्वभरि अत्यधिक ट्रान्समिसिबल ओमिक्रोन भेरियन्टका कारण कोरोना भाइरसको गम्भीर वृद्धि भइरहेका बेला आएको हो।

    अमेरिकी सरकारले शुक्रबार ओभर-द-काउन्टर कोभिड-१९ परीक्षण किटहरू वितरणको लागि ५० मिलियन अमेरिकी डलर भन्दा बढीको ठेक्का प्रदान गरेको छ।

    रक्षा विभागको विज्ञप्ति अनुसार ओमिक्रोन भेरियन्टको प्रतिक्रियामा अमेरिकी जनतालाई ५०० मिलियन घर-घरमा कोभिड-१९ परीक्षणहरू कुनै पनि लागतमा उपलब्ध गराउने बाइडेनको योजनाको एक भागको रूपमा यो सम्झौता जारी गरिएको थियो।

    हालसम्म अमेरिकामा ६ करोड ४ लाख ६४ हजार कोरोना संक्रमित भएका छन्। जसमा ८ लाख ५८ हजारभन्दा बढीको ज्यान गएको छ। हाल अमेरिका संक्रिय संक्रमितको संख्या १ करोड ७४ लाखभन्दा बढि रहेका छन्।

  • अमेरिकाको फिलाडेल्फियामा एक भवनमा आगलागी हुँदा कम्तिमा १२ को मृत्यु

    अमेरिकाको फिलाडेल्फियामा एक भवनमा आगलागी हुँदा कम्तिमा १२ को मृत्यु

    फिलाडेल्फिया । अमेरिकाको फिलाडेल्फियामा एक भवनमा भएको आगलागीमा परि कम्तिमा १२ जना मारिएका छन् । जसमा ८ बालबालिका रहेको अमेरिकी संचारमाध्यमले लेखेका छन् । घटनामा दुई जना घाइते छन् । यो भवनमा २६ जना रहेको बताइएको छ ।

    आगलागीका समयमा भवनमा रहेका अरु आठ जनाले भागेर ज्यान जोगाएको समेत खबर छ । आगलागीको समयमा बज्ने सङ्केत घडीले काम नगरेपछि आगो निभाउन ढिलाइ भएको उद्धारकर्मीलाई उदृत गर्दै एपीले उल्लेख गरेको छ । विद्युत् सर्ट भएपछि आगो उठेको अनुमान छ । भवन पुरै जलेको छ ।

  • अमेरिकामा एकै दिन १० लाख माथि कोरोना पुष्टि

    अमेरिकामा एकै दिन १० लाख माथि कोरोना पुष्टि

    वासिङ्टन डिसि । अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा मानिसमा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक आएको छ ।
    जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको यो आङ्कडा अनुसार सोमबार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका हुन् । यो कुनै पनि मुलुकमा देखिएको हालसम्म कै सबैभन्दा ठूलो सङ्ख्यामा सङ्क्रमण हो । 
    संक्रमण बढ्दो क्रममा रहे पनि राष्ट्रपति जो बाइडनले स्कुलहरु खुला राख्न निर्देशन दिएका छन् । जुन निर्णयको यहाँ आलोचना भएको छ ।

    कोरोनाको लहर बढिरहेको बेला अमेरिकी अधिकारीहरुले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण उच्च विन्दुमा पुग्न बाँकी रहेको बताएका छन् । प्रमुख स्वास्थ्य सल्लाहकार एन्थोनी फाउचीले अमेरिकामा कोरोनाको ग्राफ तीव्ररुपमा बढिरहेको र महामारी उच्चविन्दुमा पुग्न अझै बाँकी रहेको बताएका छन् ।

    अहिले कोरोनाविरुद्धको खोप नलगाएकाहरु अस्पतालमा भर्ना हुने र मृत्यु हुने क्रम जारी रहेको भन्दै उनले सबैलाई खोप लगाउन आह्वान गरेका छन् ।

  • नेपालमा आउने धेरै पर्यटक मध्ये दोस्रो स्थानमा अमेरिकी नागरिक

    नेपालमा आउने धेरै पर्यटक मध्ये दोस्रो स्थानमा अमेरिकी नागरिक

    काठमाडौं । नेपालमा एक वर्षको अवधि (सन २०२१) १ लाख ५० हजार ९ सय ६२ जना पर्यटक भ्रमणमा आएका छन् ।  नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको यो तथ्यांक अनुसार नेपालमा भारतीय नागरिक पछि अमेरिकी नागरिक बढी आएका छन् । कोरोना अघि भारतिय र चिनियाँ नागरिकको बाहुल्यता थियो ।

    सन् २०२१ मा यो संख्या सन् २०२० को तुलनामा ८० हजार कम पर्यटन नेपाल आएका छन् । सन् २०२० मा २ लाख ३० हजार ८५ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए ।।कोरोना भाइरसको प्रभाव देखिनु अगाडी सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार १ सय ९१ जना पर्यटक आएका थिए ।
    सन् २०२१ मा कुल ६४ हजार ६ सय ७३ जना भारतीय पर्यटक नेपाल आएको तथ्यांक छ । यो वर्ष दोस्रो स्थानमा अमेरिकी नागरिक छन् । अमेरिकाबाट कुल २२ हजार ८ सय ५३ जना पर्यटक नेपाल आएका छन् । यो कुल पर्यटक आगमनको १५.१४ प्रतिशत हिस्सा हो ।

    तेस्रो स्थानमा रहेको बेलायातबाट ८ हजार ६ सय ८० जना नेपाल आए । चीनबाट ६ हजार १ सय ९६ र बंगलादेशबाट ५ हजार ४४ जना पर्यटक नेपाल आएका छन् ।

    कुन मुलुकबाट कति पर्यटक आए ? (प्रमुख पाँच)

    • भारत : ६४६७३

    • अमेरिका : २२८५३

    • बेलायत : ८६८०

    • चीन : ६१९६

    • बंगलादेश : ५०४४

  • जहाजमा कोरोना पुष्टी भएपछि अमेरिकी शिक्षिकाले बनाइन् शौचालयलाई आइशोलेसन

    जहाजमा कोरोना पुष्टी भएपछि अमेरिकी शिक्षिकाले बनाइन् शौचालयलाई आइशोलेसन

    शिकागो । एक अमेरिकी शिक्षिकाले उडानका बेला गरिएको परीक्षणमा आफूलाई कोभिड १९ भएको पुष्टि भएपछि विमानको शौचालयलाई आइशोलेसन बनाएकी छिन् उनी पाँच घण्टा शौचालयमा एक्लै बसेको बीबीसीले लेखेको छ । घटना २० डिसेम्बरको हो । शिकागोबाट आइसल्यान्डको रीकिभिक उडेकी मरिसा फोटियोले विमानभित्र घाँटी दुखेको बताइन्। उनका अनुसार उनले आफूसँग भएको तत्काल परीक्षण गर्ने किट प्रयोग गरेर सङ्क्रमण भएको हो कि भनेर हेरेकी थिइन्।

    परीक्षणमा सङ्क्रमण देखिएपछि उनी स्वैच्छिक रूपमा उडान अवधिभरि विमानको शौचालयमै बसिन्। विमानका एक कर्मचारीले उनलाई त्यहीँ खानेकुरा र आवश्यक सामाग्री उपलब्ध गराएको उनको भनाइ छ। विमान चढ्न जानुअघि कोभिड १९ परीक्षणको नतिजा पेस गर्नु पर्ने वा नपर्ने प्रष्ट थिएन। विमानमा १५० यात्रु सवार रहेको र उनीहरुको सुरक्षाका लागि आफुले यस्तो निर्णय लिएको समेत ती महिलाले बताएकी छिन् ।

    आइसल्यान्ड एअर विमानको शौचालयबाट उनले टिकटकमा सार्वजनिक गरेको भिडिओ ४० लाख पटकभन्दा बढी हेरिएको समेत बताइएको छ। उनले आफूलाई अप्ठेरो बेलामा सहयोग गर्ने विमान परिचारिकाको प्रशंसा गरेकी छन्। फोटियोका अनुसार आइसल्यान्डमा अवतरण गरेपछि उनी रेडक्रसको होटलमा आइसोलेशनमा बसिरहेकी छन्।

  • अमेरिकालाइ रुसको अर्को चेतावनी : युक्रेनमा प्रतिवन्ध नलाउ

    अमेरिकालाइ रुसको अर्को चेतावनी : युक्रेनमा प्रतिवन्ध नलाउ

    वासिङ्टन डिसि । रुसले अमेरिकालाई युक्रेनमा थप प्रतिवन्ध नलाउन चेतावनी दिएको छ । बिहीवार अबेर अमेरिकी  राष्ट्रपति जो बाइडेनसँग भएको टेलिफोन वार्तामा रुसि रास्ट्रपति भ्लादिमिर पुटिनले त्यस्ता प्रतिबन्धहरू ‘ठूलो भुल’ हुने बताएका हुन्। रुसमा प्रतिवन्ध लागेमा रुस र अमेरिकाको सम्बन्ध मै असर पुग्ने उनको चेतावनी छ ।

    बिबिसीका अनुसार बाइडेनले युक्रेनमाथि हुने जुनकुनै हस्तक्षेपलाई अमेरिका र उसका साझेदारले डटेर जबाफ दिने बताए ।

    रुसको आग्रहमा भएको त्यस्तो संवाद एक महिनामै दुई राष्ट्रपतिबिच भएको दोस्रो हो। उनीहरू बीचको कुराकानी झन्डै एक घण्टा चलेको थियो। बाइडनले राष्ट्रपति पुटिनलाई कूटनीतिक समाधान खोज्न भनेको बताइएको छ।

    युक्रेनी अधिकारीहरूले रुससँगको पूर्वी सीमानजिक एक लाखभन्दा धेरै रुसी फौज तैनाथ भएको बताइरहँदा तनाव मत्थर पार्ने पछिल्ला प्रयास भएका हुन्।

    अमेरिकाले पुटिनलाई यदि युक्रेनमाथि हमला गरिए ‘यसअघि कसैले नदेखे जस्तो’ प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।

    सीमानजिक उच्च सैनिक तैनाथीले पश्चिमी विश्वमा चासो बढाएको छ। दुई राष्ट्रपतिबीचको कुराकानी झण्डै एक घण्टा चलेको थियो। तर मस्कोले हमलाको योजना नरहेको बताउँदै ती फौजहरू अभ्यासका क्रममा त्यहाँ रहेको जनाएको छ।

    उसले रुसी सीमाभित्र सैनिकहरू स्वतन्त्र रूपले सर्न पाउनु आफ्नो अधिकार रहेको बताएको छ। रुसले पश्चिमा विश्वबाट उसले भन्ने गरेको सुरक्षा सुनिश्चितताको माग गरेको छ।

  • अमेरिकामा आइसोलेसन बस्ने अवधि आधा घट्यो

    अमेरिकामा आइसोलेसन बस्ने अवधि आधा घट्यो

    न्यूयोर्क । अमेरिकामा लक्षण नदेखिएका कोरोनाभाइरस सङ्क्रमितले आइसोलेसनमा बस्नु पर्ने अवधि आधा घटाएको छ । यसअघि दश दिन रहेकोमा अब पाँच दिन मात्र बसेृ पुग्ने भएको हो । सेन्टर्स फर डिजिज कन्ट्रोलले त्यसपछिका पाँच दिन मास्क लगाउन सुझाव दिएको बीबीसीले जनाएको छ । अहिलेका नयाँ सुझावहरू बाध्यकारी छैनन्, तर त्यसलाई अमेरिकाका कैयौँ व्यापारिक समुदाय र नीति निर्माताहरूले नजिकबाट हेरिरहेको समाचारमा उल्लेख छ ।

    कोभिड सङ्क्रमणमा वृद्धि भएर अमेरिकाभरिको यात्रा अस्तव्यस्त हुँदा पछिल्लो घोषणा आएको हो। ओमिक्रोन भेरिअन्टले अस्पतालमा भिडभाड बढाउने जोखिम रहँदा राष्ट्रपति बाइडनले परीक्षणमा रहेका कमजोरीसँग जुझ्ने प्रतिबद्धता जनाएका छन्। सीडीसीले विज्ञानमा आधारित रहेरै अहिलेको परिवर्तन सिफारिस गरिएको भन्दै अधिकांश सङ्क्रमण प्रारम्भिक अवस्थाका बिरामीबाट सर्ने गरेको बताएको छ।

    उसले कोभिड सङ्क्रमण भएका तर खोप नलगाएका वा बुस्टर खोप लगाउन बाँकी रहेका व्यक्तिहरूबारेका आफ्ना सुझावलाई पनि अद्यावधिक गरेको छ। यस्ता समूहहरूले पाँच दिन क्वारन्टीनमा बस्नुपर्ने र अर्को पाँच दिन कडाइपूर्वक मास्क प्रयोग गर्नुपर्ने उसको भनाइ छ।

    बुस्टर खोप लगाएका व्यक्तिहरूले सङ्क्रमितसँग सम्पर्कमा पुगेपनि क्वारन्टीनमा बस्नुनपर्ने तर निरन्तर १० दिन मास्क लगाउनुपर्ने सुझावमा उल्लेख छ। पछिल्लो विवरणबारे जानकारी दिँदै सीडीसीकी निर्देशक रुसेल वुलेन्स्कीले नयाँ परिवर्तनहरूले मानिसहरूले सुरक्षित रूपमा आफ्नो दैनिक जीवनलाई निरन्तरता दिने सुनिश्चित गरेको बताइन्।

    यसअघि सोमवार राष्ट्रपति बाइडनले कोरोनाभाइरसको सङ्क्रमणसँग जुझ्न चुनौती देखिए सङ्घीय सहयोगका लागि अनुरोध गर्न गभर्नरहरूलाई अनुरोध गरेका थिए। हाल अमेरिकामा ओमिक्रोन सबैभन्दा सक्रिय प्रकारको भेरिअन्टका रूपमा देखिएको छ र त्यहाँ पछिल्ला दुई दिनमा दैनिक दुई लाखभन्दा बढी सङ्क्रमणका घटना देखा परेका छन्।

  • अमेरिकालाई तालिवानको चेतावनी: आन्तरिक मामलामा दख्खल नदेउ

    अमेरिकालाई तालिवानको चेतावनी: आन्तरिक मामलामा दख्खल नदेउ

    काबुल । तालिबान सरकारले अफगानिस्तानको आन्तरिक मामलामा दख्खल नगर्न अमेरिकालाई चेतावनी दिएको छ । तालिवान सरकारका विदेशी राजनीतिक मामलाका उपमन्त्री शेर मोहम्मद अब्बास स्टानिकजईले अमेरिकालाई यस्तो चेतावनी दिएका हुन् । अफगानिस्तान एक स्वतन्त्र मुलुक भएको भन्दै उाले मुलुकको आन्तरिक मामलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

    आइतबार एक सभामा उनले अमेरिकी सेनाले बगराम एयरफिल्ड छाडेको सन्दर्भ निकाल्दै अमेरिकी सेना रातको अध्यारोमा भागेको समेत बताए । अफगानिस्ताले पछिल्लो चार दशकमा उपभोग गर्न नसकेको स्वतन्त्रता पछिल्लो चार महिनायता गरिरहेको समेत उनको भनाई छ ।

    पछिल्लो ४० वर्षको युद्धमा तालिवान कमजोर नभएको भन्दै उनले आवश्यक परे अर्को ४० वर्ष समेत लड्ने सक्ने क्षमता रहेको चेतावनी उनले दिएका हुन् । यसैबीच अफगानिस्तानले महिलाका लागि नयाँ नियम कार्यान्वयनमा ल्याएको छ । जहाँ लामो दूरीमा कुनै पनि महिला अब एक्लै यात्रा गर्न पाउने छैनन् । उनको साथमा पुरुष हुनु अनिवार्य हुने छ ।

  • सीमा तनावका बीच भारत र चीनबीच कीर्तिमानी १२० खर्बको व्यापार

    सीमा तनावका बीच भारत र चीनबीच कीर्तिमानी १२० खर्बको व्यापार

    काठमाडौं । भारत र चीनबीचको सम्बन्धमा उतारचढाव देखा परिरहेको समयमा दिल्ली र बेइजिङबीचको द्विपक्षीय व्यापार यो वर्ष १०० अर्ब अमेरिकी डलर (१२० खर्ब रुपैयाँ) भन्दा बढीको आँकडामा पुगेको छ।

    यत्रो ठूलो उपलब्धि भए पनि दुवै देशमा यसबारे खासै चर्चा भएको छैन। पूर्वी लद्दाखमा उत्पन्न सैन्य गतिरोधपछि भारत र चीनबीचको सम्बन्ध नाजुक अवस्थाबाट गुज्रिरहेको हुनाले यस्तो भएको हुनसक्ने विश्लेषण गरिएको छ।भारतीय समाचारसंस्था प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार दुई देशबीच सन् २००१ मा १.८३ अर्ब डलर कारोबारबाट सुरु भएको थियो।

    उक्त व्यापारले यो वर्षको ११ महिनाभित्रै १०० अर्ब डलरको आँकडा पार गरेको हो। यसले दुई देशको व्यापार अझ माथि उठाउनका लागि ठूलो अवसर दिएको टिप्पणी भइरहेको छ।

    कतिको व्यापार भयो ?

    चीनको जनरल एडमिनिस्ट्रेशन अफ कस्टम्सको अघिल्लो महिनाको तथ्याङ्कका अनुसार भारत र चीनबीचको द्विपक्षीय व्यापार ११४.२६३ अर्ब डलर पुगेको छ। जनवरीदेखि नोभेम्बर २०२१ का बीचमा उक्त व्यापार ४६.४ प्रतिशतले बढेको बताइएको छ। भारतबाट चीनतर्फको निर्यात २६ अर्ब डलरभन्दा बढी रहेको छ जुन प्रत्येक वर्ष ३८.५ प्रतिशतले बढिरहेको छ।

    भारतले चाहिँ चीनबाट ८७.९ अर्ब डलर बराबरको आयात गरेको छ र त्यो ४९ प्रतिशतसम्मले बढिरहेको छ। द्विपक्षीय व्यापार वृद्धि भए पनि भारतका लागि द्रुत गतिमा व्यापार घाटा बढी रहेको छ। यसको अर्थ भारतले चीनमा जति समान बेच्छ त्योभन्दा कैयौँ गुणा धेरै खरिद गरिरहेको छ। भारत र चीनबीचको सम्बन्ध अत्यधिक सुस्त भएका समयमा पछिल्लो आँकडा आएको हो।

    कीर्तिमानी व्यापारमाथि सवाल र नाजुक सम्बन्ध

    रक्षा विश्लेषक ब्रह्मा चेलानीले यो व्यापार वृद्धिलाई लिएर मोदी सरकारमाथि प्रश्न गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘चीनबाट भइरहेको सीमा अतिक्रमणका बीच मोदी सरकारले सन् २०२१ मा चीनको साथ व्यापारमा भएको ५० प्रतिशत वृद्धिलाई कसरी सही ठहर्‍याउँछ जसमा ज्यानुअरी र नोभेम्बर महिनाका बीच चीनका तर्फ ६१.५ अर्ब डलर बढी छ जो यो सालको भारतको कुल रक्षा खर्चको लगभग बराबर हो।’

    अघिल्लो वर्षको मे महिनाको पाँच तारिखमा भारत र चीनबिच सैन्य गतिरोध सुरु भएको थियो। उक्त तनावको क्रममा पान्गोङ लेक क्षेत्रमा हिंसात्मक झडप भएको थियो जसमा दुवै देशका कैयौँ सुरक्षाकर्मी मारिएका थिए। त्यसपछि दुवै देशले आआफ्ना क्षेत्रमा हजारौँ सशस्त्र सुरक्षाकर्मी तैनाथ गरेका थिए।

    सैन्य र कूटनीतिक छलफलपछि दुवै पक्षले यो वर्षको फेब्रुअरीबाट पान्गोङ लेकको उत्तर र दक्षिणतर्फको गोगरा क्षेत्रबाट अगस्ट महिनाबाट पछि हट्न सुरु भएको थियो। दुवै पक्षबीच ३१ जुलाईसम्ममा १२ चरणमा कुराकानी भएको थियो। केही दिनपछि गोगरामा दुवै सेनालाई पछाडि फर्काउने प्रक्रिया पूरा भएको थियो।

    त्यसलाई शान्ति र संयम कायम गर्न एकदमै महत्त्वपूर्ण मानिएको थियो। सीमामा पर्ने लाइन अफ क्रन्ट्रोलमा दुवै देशले ५० देखि ६० हजार सुरक्षाकर्मी तैनाथ गरेका छन्। यो सङ्घर्षको अवस्थामा पनि भारत र चीनबीच दुवै देशका विदेशमन्त्री र वरिष्ठ सैन्य कमान्डरहरू निरन्तर सम्पर्कमा रहनु र तनावलाई नियन्त्रणमा लिनुलाई सकारात्मक कदमका रूपमा हेर्ने गरिएको छ। लद्दाखको गतिरोधले भारत र चीनबीच व्यापारबाहेक बाँकी सबै सम्बन्धलाई लगभग ठप्प बनाइदिएको छ।-बीबीसी

  • अमेरिकाबाट पाँच महिनामा १९ अर्बको आयात, साढे ७ अर्बको निर्यात

    अमेरिकाबाट पाँच महिनामा १९ अर्बको आयात, साढे ७ अर्बको निर्यात

    काठमाडौं । अमेरिका नेपालसँग बढी व्यापार हुने मुलुकको पहिलो ५ मुलुक भित्र पर्छ । सबैभन्दा ठूलो हिस्सा भारतले ओगटेको छ । त्यसपछि चीन आउँछ । चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउन–मंसिरसम्म)अमेरिकाबाट नेपालमा १८ अर्ब ८८ करोडको सामान आयात भएको भन्सार विभागले जनाएको छ । यस अवधिमा नेपालबाट अमेरिकामा भने ७ अर्ब ३३ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।

    वस्तु बढी निर्यात हुने मुलुकमा अमेरिका दोस्रो स्थानमा छ । नेपालले चालु आवको पहिलो ५ महिनामै एक खर्बको निर्यात गर्दा दोस्रो स्थानमा अमृरिका रहेको छ । पहिलो स्थानमा भने भारत रहेको छ । मंसिरसम्म नेपालले भारतबाट कुल ५ खर्ब रुपैयाँको वस्तु आयात गरेको छ । यसमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ १ खर्ब २२ अर्ब हाराहारीको आएको छ ।

    तथ्यांक अनुसार भारतमा नेपालबाट ८४ अर्ब १५ करोड रुपैयाँको निर्यात भएको छ । भारतसँग कुल ४ खर्ब १५ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा छ । चीनबाट यस अवधिमा १ खर्ब २२ अर्बको सामान नेपाल आएको छ । नेपालबाट भने ३८ करोड १६ लाख रुपैयाँ बराबरको सामान मात्र चीन गएको छ ।


    भन्सार विभागको तथ्यांक अनुसार पाँच महिनामा नेपालको कुल वैदेशिक व्यापारको आकार ९ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आवको तुलनामा ६३।५५ प्रतिशत बढी हो । गत आवको यस अवधिमा कुल वैदेशिक व्यापारको आकार ५ खर्ब ७५ अर्ब ५५ करोड रुपैयाँको थियो ।

  • ओमिक्रोनसँग जुध्न अमेरिकाको तयारी, ५० करोड र्‍यापिड कीट नि:शुल्क बाँड्ने

    ओमिक्रोनसँग जुध्न अमेरिकाको तयारी, ५० करोड र्‍यापिड कीट नि:शुल्क बाँड्ने

    वासिंटन डिसी । अमेरिकाले कोरोना भाइरसको नयाँ भेरियन्ट आमिक्रोनविरुद्ध लड्न नयाँ योजना सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले ओमिक्रोन भेरियन्टको फैलावटसँग जुझ्न ५० करोड र्‍यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् । मङ्गलवार सम्बोधनका क्रममा उनले मुलुक भित्र अब परीक्षणलाई तीव्रता दिने बताए । साथै अस्पतालहरूमा सेनाले सहयोग गर्ने उल्लेख गरेका छन् ।

    लकडाउनबारे भने कुनै तयारी नरहेको उनको भनाई छ । अहिले अमेरिकामा ओमिक्रोन भेरियन्ट तिब्र रुपमा फैलिरहेको छ । पुष्टि भएका नयाँ सङ्क्रमितमध्ये झन्डै दुई तिहाइमा यो भाइरस देखिएको छ । सुरुमा दक्षिण अफ्रिकामा पहिचान भएको ओमिक्रोन भेरिअन्ट हाल विश्वव्यापी रूपमा फैलिएको छ। अमेरिकामा ओमिक्रोनका कारण हालसम्म एक जनाको मृत्यु भइसकेको छ । यद्दपी यो भाइरसबाट मृत्युदर भने कम रहेको छ ।

    ७३ प्रतिशत वयस्क अमेरिकीहरूले खोपको पूर्ण मात्रा प्राप्त गरिसकेका छन् । मङ्गलवार बाइडनले पुनः आफूलाई जोगाउन र खोप लगाउन आग्रह गरेका छन् । ओमिक्रोनले न्युयोर्क र वासिङ्टनसहित कैयौँ अमेरिकी सहरहरूमा चिन्ता बढाएको छ । यहाँ परिवार सदस्यहरूसँग भेट्नुअघि सर्वसाधारण परीक्षण गराउन लामबद्ध भएको देखिएको बीबीसीले लेखेको छ ।

  • यौन दुर्व्यवहारको अभियोगमा ८४ वर्षिय अमेरिकी पादरीमाथि १२ वर्ष जेल सजाय

    यौन दुर्व्यवहारको अभियोगमा ८४ वर्षिय अमेरिकी पादरीमाथि १२ वर्ष जेल सजाय

    काठमाडौं । इस्ट टिमोरमा एक अदालतले अमेरिकी क्रिश्चियन पादरीमाथि १२ वर्षको जेल सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार उनीमाथि यौन दुर्व्यवहारको अभियोग लागेको छ । थुप्रै टुहुरा बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेकोमा ८४ वर्षीय रिचर्ड डासबाचलाई मंगलबार अदालतले यस्तो सजाय सुनाएको हो ।


    रिचर्डले १९९० को दशकमा जोखिममा रहेका बालबालिकाका लागि आश्रय दिँदैआएका थिए । त्यस क्रममा उनले १४ वर्षमुनिका बालिकाहरूलाई यौन शोषण गर्नुका साथै तीमध्ये एकलाई बाल पोर्नोग्राफीमा लगाएको र घरेलु हिंसा गरेको भन्दै मुद्दा दायर भएको थियो । राजधानी डिल्लीबाट २०० किमि टाढाको ओकस जिल्लामा उनले यौन दुर्व्यवहार गरेको भन्दै गत फेब्रुअरीमा मुद्दा दायर भएको थियो ।

    उनले सञ्चालन गरेको टोपु होनिस आश्रयस्थलमा बालिकाहरूमाथि शोषण गरेको आरोप लागेको हो । रिचर्डको अपराधको गाम्भिर्यतालाई ध्यानमा राख्दै बढीमा ३० वर्षको जेल सजाय सुनाउनुपर्ने पीडित समूहले जनाएको छ । कट्टर क्याथोलिक राज्यको रुपमा चिनिने इस्ट टिमोर १९९९ मा इन्डोनेसियाबाट अलग भएको देश हो । जहाँ ९८ प्रतिशत क्याथोलिक क्रिश्चियनहरूको बसोबास रहेको बताइन्छ ।

    उक्त राष्ट्र निर्माणको क्रममा चर्चहरूको प्रमुख भूमिका रहेको इतिहास छ । उक्त आश्रयस्थलमा विदेशी दाताहरूको पनि सहयोग रहेको थियो । मुद्दाको प्रक्रियाकै क्रममा पीडितहरूले आफूहरूमाथि धम्की आएको भन्दै गुनासो गरेका छन् ।

  • बोइङ र एअरबसले अमेरिकी सरकारलाई भने : फाइभजीले नागरिक उड्डयनमा नकारात्मक असर पर्छ

    बोइङ र एअरबसले अमेरिकी सरकारलाई भने : फाइभजीले नागरिक उड्डयनमा नकारात्मक असर पर्छ

    न्यूयोर्क । विश्वका दुई सबैभन्दा ठूला विमान निर्माता कम्पनीका अधिकारीहरूले अमेरिका सरकारलाई मोबाइलको फाइभजी प्रविधिलाई लागु गर्न हतार नगर्न आग्रह गरेका छन्। एक पत्रमा बोइङ र एअरबसका प्रमुख अधिकारीहरूले सो प्रविधिले नागरिक उड्डयन उद्योगमा ठूलो नकारात्मक असर पर्न सक्ने चेतावनी दिएकोे बीबीसीले जनाएको छ । यसअघि पनि फाइभजीको सी-ब्यान्ड तरङ्गको प्रयोगले विमानको विद्युतीय उपकरणको कामलाई प्रभावित पार्न सक्ने सम्भावना रहेको बताइएको थियो।

    अमेरिकाका दुई ठूला टेलिकम कम्पनीहरू एटीएन्डटी र भेरिजन सन् २०२२ को ज्यानुअरी ५ देखि फाइभजी प्रविधि लागु गर्ने तयारीमा छन्। फाइभजीले विमानको सुरक्षित उडान गर्ने क्षमतालाई नकारात्मक असर गर्न सक्छ, बोइङमा डेभ कल्हन र एअरबस अमेरिकाका जेफ्री निटलले अमेरिकी यातायातमन्त्री पीट बूटजेजलाई पठाएको पत्रमा लेखिएको छ।

    सो पत्रमा एअरलाइन्स फर अमेरिकाले गरेको एउटा अध्ययनको तथ्याङ्कलाई संलग्न गरिएको छ। सो अध्ययनले सन् २०१९ देखि अमेरिकामा फाइभजी नियम लागु भएको भए अहिलेसम्म ३४५,००० यात्रुवाहक उडान र ५,४०० मालवाहक उडान ढिलो वा अन्यत्रै अवतरण वा रद्द भएको हुने निष्कर्ष निकालेको छ। उड्डयन उद्योग र अमेरिकी नागरिक उड्डयन निकाय एफएएले फाइभजीले विमानका उचाइ मापन यन्त्रजस्ता महत्त्वपूर्ण उपकरणलाई असर गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

    यही महिना एफएएले फाइभजीले उडान अन्यत्रै लग्नुपर्ने अवस्था आउन सक्ने भन्दै यस विषयमा विस्तृत जानकारी जनवरी ५ अगाडि दिने बताएको छ। नोभेम्बरमा एटीएन्डटी र भेरिजनले फाइभजी लागु गर्ने कार्यक्रम ज्यानुअरीलाई सार्दै यसले विमानलाई गर्न सक्ने असर कम गर्ने उपायहरू लागु गर्ने बताएका थिए।

    उड्डयन उद्योगले भने ती उपायहरू पर्याप्त नभएको बताएका छन् भने बोइङ र एअरबसले विमानस्थलमा र वरपर फाइभजी मोबाइल सिग्नल नियन्त्रण गर्ने प्रस्ताव गरेका छन्।

    गत साता यूनाइटेड एअरलाइन्सका प्रमुख कार्यकारी स्कट किर्बीले एफएएको फाइभजी नियमले अमेरिकाका ४० वटाभन्दा बढी ठूला विमानस्थलमा रेडिओ उचाइ उपकरण प्रयोग गर्न नसकिने बताएका थिए। अमेरिकी मोबाइल सेवा प्रदायकहरूको समूह सीटीआईएले भने फाइभजी सुरक्षित रहेको र उड्डयन उद्योगले तथ्य बङ्ग्याएर त्रास उत्पन्न गर्ने काम भएको बताएको छ।

  • दक्षिण अमेरिकी मुलुक चिलीमा ३५ वर्षिय युवा बने राष्ट्रपति

    दक्षिण अमेरिकी मुलुक चिलीमा ३५ वर्षिय युवा बने राष्ट्रपति

    काठमाडौं । दक्षिण अमेरिकी मुलुक चिलीमा ३५ वर्षिय युवा राष्ट्रपति बनेका छन् । उनी इतिहासकै सबैभन्दा कम उमेरका राष्ट्रपति बनेका हुन् । ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने पक्का भएको समाचार एजेन्सीहरुले लेखेका छन् । उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेका छन् । बीबीसीका अनुसार आइतबार राष्ट्रपतीय चुनावमा सम्पन भएको छ ।

    उनले ५६ प्रतिशत मत ल्याएका छन् । कास्तले ४४ प्रतिशत मत पाएका छन् । बोरिकले आफू गम्भीर चुनौतीको सामना गर्न तयार रहेको समेत उल्लेख गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएका बोरिक विद्यार्थी नेता समेत हुन् । उनले सन् २०१९ र २०२० असमानता तथा भ्रष्टाचारविरोधी प्रदर्शनमा समर्थन जनाएका थिए ।

  • क्रिसमस र न्यू इयरको यात्राले कोभिडको नयाँ भेरियन्ट फैलने अमेरिकी विज्ञको चेतावनी

    क्रिसमस र न्यू इयरको यात्राले कोभिडको नयाँ भेरियन्ट फैलने अमेरिकी विज्ञको चेतावनी

    वासिंटन डिसी । नजिकिएको क्रिसमस र न्यू इयरको यात्राले कोभिड विरुद्धका खोपको पूर्ण मात्र लगाइसकेकामा समेत कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिन सक्ने एकजना शीर्ष अमेरिकी सङ्क्रामक रोगविज्ञले बताएका छन्। बीबीसीका अनुसार डा. एन्थोनी फाउचीले आइतवार आयोजित एक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । महामारीबारे अमेरिकी सरकारलाई सुझाव दिने फाउचीले नयाँ भेरिअन्ट हाल विश्वभर फैलिरहेको बताए।

    अहिले विश्वभर प्रतिवन्ध शुरु गरिएका छन् । युरोपमा फ्रान्स र जर्मनीले यात्रा प्रतिबन्ध लगाएका छन् । नेदरल्यान्ड्सले क्रिसमस नजिकिँदै गर्दा कडा लकडाउन लागु गरेको छ। अनुसन्धानकर्ताहरूले बुस्टर मात्राले गम्भीर बिरामी हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्न सक्ने बताएसँगै विभिन्न देशका सरकारहरूले उनीहरूको कोभिड खोपको बुस्टर मात्रा दिने कार्यक्रमहरू अघि बढाइरहेका छन्।

    आइतवार फाउचीले अमेरिकाको पछिल्लो अवस्था हेर्दा ओमिक्रोनले अस्पतालहरूमा व्यापक चाप बढाउन सक्ने देखिएको बताएका छन्। हाल देखिए जस्तै अवस्था रहे अमेरिकी अस्पतालमा निकै चाप बढ्ने उनको चेतावनी छ । फाउचीले सर्वसाधारणहरूले मास्क लगाउने अनि सामाजिक दूरी कायम राख्नेजस्ता सावधानीका उपायहरू अपनाउनुपर्ने बताए।

    उनले धेरै भन्दा धेरै अमेरिकीहरूलाई खोप र बुस्टर मात्रा लगाउन आग्रह गरे । अमेरिकाको जनसङ्ख्याको झन्डै ७३ प्रतिशतले कोभिडविरुद्ध खोपको कम्तीमा एक मात्रा प्राप्त गरेको सेन्टर फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सन (सीडीसी)ले जनाएको छ। त्यहाँ हालसम्म ३० प्रतिशत सर्वसाधारणले बुस्टर मात्रा लगाएका छन्।

  • युएस नेपाल क्लाइम्बर्स एसोसियसनको तेश्रो अधिवेशन सम्पन्न

    युएस नेपाल क्लाइम्बर्स एसोसियसनको तेश्रो अधिवेशन सम्पन्न

    डिसेम्बर १२, २०२१ न्यूयोर्क

    अन्तर्राष्ट्रिय पर्वतारोहण दिवसको अवसर पारेर युयस् नेपाल क्लाइम्बर्स एसोसियसनको तेश्रो अधिवेशन सम्पन्न भएको छ । न्युयोर्कको क्वीन्समा सम्पन्न अधिवेशनले पासाङ् निमा शेर्पाको नेतृत्वमा आगामी ३ वर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    संस्थाको भूपु अध्यक्ष तथा फाउण्डर सेराप जाङ्बु शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शेर्पा किदुक अमेरिकाका प्रेसिडेन्ट छिरीङ शेर्पा, शेर्पा संघ अमेरिकाका प्रेसिडेन्ट आङ जाङ्बु शेर्पा, शेर्पा किदुक अमेरिका बोर्ड अफ ट्रष्टिजका कोअर्डिनेटर पेम्बा ग्याल्जेन शेर्पा, शेर्पा किदुक अमेरिकाका प्रबक्ता पासाङ् जि शेर्पा, गुरुङ सोसाइटी अमेरिकाका निबर्तमान सदस्य तथा युयस नेपाल क्लाइम्बर्स एसोसियसनका आजीवन सदस्य जीत गुरुङ, युयस् नेपाल क्लाइम्बर्स एसोसियसनका भूपु महासचिवद्वय लाक्पा नुरु शेर्पा र महासचिव आङ ग्याल्जेन शेर्पा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

    उक्त कार्यक्रममा संस्थाका महासचिव मिङ्मार लामाद्वारा संस्थाले बिगत ३ बर्से कार्यकालमा गरेका कामको प्रतिबेदन प्रस्तुत गरेका थिए भने संस्थाका कोषाध्यक्ष लाक्पा गेलु शेर्पाले संस्थाको खर्च तथा आम्दानीको हिसाबकिताब प्रस्तुत गरेका थिए ।

    कार्यक्रमको अन्त्यमा प्रेसिडेन्ट पासाङ् निमा शेर्पाले संस्थाको बारेमा चर्चा गर्दै उपस्थित सबैलाई धन्यवाद दिएका थिए भने अधिवेशनका सभापति शेराप जाङ्बु शेर्पाले सम्पूर्ण नवनिर्वाचित नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए ।

    उक्त कार्यक्रममा नवनिर्वाचित नयाँ कार्यसमितिलाई युनाईटेड शेर्पा एसोसियसन इन्क अमेरिकाका प्रेसिडेन्ट छिरीङ शेर्पा तथा शेर्पा संघ अमेरिकाका प्रेसिडेण्टले प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रम संस्थाका सचिव कर्णबहादुर तामाङले गरेका थिए ।

    नवनिर्वाचित कार्यसमिति;

    १. पासाङ् निमा शेर्पा, प्रेसिडेण्ट
    २. मिङ्मार लामा, फष्ट भाईस प्रेसिडेण्ट
    ३. पासाङ शेर्पा, सेकेन्ड भाईस प्रेसिडेण्ट
    ४. आङ दावा शेर्पा, महासचिव
    ५. पासाङ् शेर्पा, सचिव
    ६. लाक्पा नुरु शेर्पा, ट्रेजरर
    ७. लाक्पा गेलु शेर्पा, भाईस ट्रेजरर
    ८. आङ काजी शेर्पा, बोर्ड् मेम्बर
    ९. लाक्पा जि शेर्पा, बोर्ड् मेम्बर
    १०. दा वोङ्छु शेर्पा, बोर्ड् मेम्बर
    ११. काजी शेर्पा, बोर्ड् मेम्बर
    १२. दोमे शेर्पा, बोर्ड् मेम्बर
    १३. छुरिम डोमा शेर्पा, बोर्ड् मेम्बर
    १४. पासाङ् शेर्पा, बोर्ड् मेम्बर
    १५. मिङ्मार टि शेर्पा, बोर्ड मेम्बर
    १६. ङिमा गेल्जेन शेर्पा, बोर्ड मेम्बर
    १७. दावा जाङ्बु शेर्पा, बोर्ड मेम्बर

  • अमेरिकामा विनासकारी आँधी, ६ राज्य प्रभावित-१ सय भन्दा बढीको मृत्यु

    अमेरिकामा विनासकारी आँधी, ६ राज्य प्रभावित-१ सय भन्दा बढीको मृत्यु

    कन्टकी । संयुक्त राज्य अमेरिकाका छवटा राज्यमा शुक्रवार राति आएका विनासकारी आँधीबेहरीले ठूलो मानवीय क्षति पुगेको छ । आँधीका कारण कम्तीमा ८३ जनाको मृत्यु भएको र यस्तो आंकडा १ सय नाघ्न सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार त्यहाँ आँधीका कारण सम्पर्कविहीन भएका दर्जनौँ अरू मानिसलाई जीवित उद्धार गर्न सकिन्छ कि भनेर व्यापक खोजी भइरहेको छ।

    शुक्रवार ३० वटा आँधीबेहरी आएको रेकर्ड छ । प्रभावित क्षेत्रमा सहायताका लागि सरकारले यथासम्भव प्रयास गर्ने आश्वासन राष्ट्रपति जो बाइडनले दिएका छन्। कन्टकी राज्यमा मात्र ७० जनाभन्दा बढीको मृत्यु भएको र मृतकको सङ्ख्या १०० नाघ्न सकने कन्टकीका गभर्नर एन्डी बिशिअरले बताएका छन्। टोर्नेडो भनिने उक्त आँधीबेहरीलाई राज्यको इतिहासकै सबैभन्दा नराम्रो संज्ञा दिइएको छ ।

    कन्टकीमा गभर्नरले सङ्कटकाल घोषणा गरेका छन्। राष्ट्रपति बाइडनले शुक्रवारको आँधी अमेरिकामा आएका ठूलामध्ये एक भएको टिप्पणी गरेका छन्।
    मेफील्ड सहरस्थित एउटा मैनबत्ती कारखानाभित्र दर्जनौँ मानिसको मृत्यु भएको छ। त्यहाँ कार्यरत ११० जनामध्ये ४० जनाभन्दा बढीलाई जीवितै उद्धार गरिएको थियो भने ६० जना अझै हराइरहेका छन्। उक्त आँधीबेहरीका कारण अन्य राज्यमा मानिसहरूको मृत्यु भएको छ।

    आँधीबेहरीको ३६५ किलोमिटर लामो मार्गमा पर्ने सबै ठाउँमा ठूलो क्षति पुगेको छ। यसैबीच राष्ट्रपति बाइडनले एउटा सङ्घीय आकस्मिक विपद् घोषणापत्रमा हस्ताक्षर गर्दै उक्त राज्यका लागि रकम निकासा गरेका छन्। दक्षिणी इलनोयको एड्वार्ड्सभिलस्थित एमजनको एउटा गोदाम अर्को आँधीमा भत्किएको अधिकारीहरूले बताएका छन्।

    उक्त राज्यका प्रहरी प्रमुखका अनुसार त्यहाँ छ जनाको मृत्यु भयो भने कति जना हराइरहेका छन् त्यो निर्क्योल भएको छैन। मिजुरी राज्यमा पनि आँधीका कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ।

  • अमेरिकी खोप फाइजरले ओमिक्रोनविरुद्ध पनि प्रभावकारी प्रतिरक्षा गर्ने पुष्टी

    अमेरिकी खोप फाइजरले ओमिक्रोनविरुद्ध पनि प्रभावकारी प्रतिरक्षा गर्ने पुष्टी

    न्यूयोर्क । फाइजर बायोएनटेकले कोभिडविरुद्ध उसले उत्पादन गरेका खोपको बूस्टर मात्राले ओमिक्रोन भेरिअन्ट विरुद्ध प्रभावकारी प्रतिरक्षा विकास गर्ने पुष्टी गरेको छ । बीबीसीका अनुसार अन्य भेरिअन्टविरुद्ध दुई मात्रा लगाउँदा विकास हुने एन्टिबडि अर्थात् रोग प्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध तीन मात्रा लगाउँदा प्राप्त हुने अमेरिकी खोप निर्माता कम्पनीले जनाएको हो । यसअघि कोभिडविरुद्धका खोपहरू नयाँ भेरिअन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले बताइसकेको छ ।

    विश्वभरका अध्ययनकर्ताहरूले ओमिक्रोनबारेका तथ्याङ्कलाई नजिकबाट नियालीरहेका छन्। ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकारमध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरिअन्ट हो। बुधवार एक विज्ञप्ति सार्वजनिक गर्दै फाइजरका प्रमुख कार्यकारीले खोपको तेस्रो मात्राले ओमिक्रोनविरुद्ध सुरक्षा बढाउने जनाएका छन्।

    तर उक्त कम्पनीले पछिल्लो नतिजा प्रारम्भिक रहेको बताउँदै वास्तविक प्रभावकारिता मूल्याङ्कनुु गर्नका लागि तथ्याङ्क सङ्कलन जारी राख्ने बताएको छ। फाइजरले ओमिक्रोनलक्षित खोप विकास गरिरहेको र त्यो एकसय दिनभित्र वितरण गर्नका लागि तयार हुने जनाएको छ।