Category: अमेरिका

  • अमेरिकी हेभिवेट बक्सर टाइसनले जब जहाजमा यात्रुमाथि मुक्का बर्साइरहे…

    अमेरिकी हेभिवेट बक्सर टाइसनले जब जहाजमा यात्रुमाथि मुक्का बर्साइरहे…

    सान फ्रान्सिस्को (बीबीसी) । पूर्व हेभिवेट बक्सर माइक टाइसनले सँगै विमानमा यात्रा गरिरहेका नजिकैका यात्रुले पानीको बोतलले हानेपछि उनलाई मुक्का प्रहार गरेको टाइसनका प्रवक्ताले दावि गरेका छन् । विमानमा लिइएको भिडिओमा टाइसन आफ्नो सिटमा अडेस लागेर बसिरहेका एक जना पहिचान नखुलेका व्यक्तिलाई निरन्तर मुक्का हानिरहेको देखाइएको छ। हल अफ फेममा सम्मानित बक्सरका एक जना प्रवक्ताले आफूलाई दुर्व्यवहार गरिरहेका एक जना आक्रामक यात्रु माथि टाइसनले त्यस्तो प्रतिक्रिया जनाएको उल्लेख गरेका छन्। त्यसपछि प्रहरीलाई खटाइएको थियो र अस्थायी रूपमा दुई जनालाई पक्राउ गरिएको थियो।

    एक जना व्यक्तिलाई सान फ्रान्सिस्को विमानस्थलमा नै उपचार गरिएको थियो। ती व्यक्तिले घटनाबारे एकदमै कम कुरा बताए र प्रहरी अनुसन्धानमा सहयोग गर्न अस्वीकार गरेको सान फ्रान्सिस्कोको प्रहरी विभागकी एक जना प्रवक्ताले विज्ञप्तिमा भनेकी छन्। थप अनुसन्धान जारी रहँदा दुवैलाई रिहा गरिएको छ। प्रहरीले त्यसमा संलग्न व्यक्तिहरूको परिचय खुलाएका छैनन्। जेटब्ल्यूको बुधवार रातिको उडान सुरु हुन लाग्दा विमानभित्र उक्त घटना भएको थियो।

    सो विमान सान फ्रान्सिस्कोबाट फ्लोरिडातर्फ जान लागेको थियो। टिएमजेडले प्रकाशित गरेको भिडिओमा सम्पूर्ण विवाद देखिँदैन र त्यो फुटेजमा पानीको बोतल पनि देखिएको छैन। टिएमजेडका अनुसार उडानको सुरुवातमा ती यात्रुसँग तस्बिर खिचाउन टाइसनले सहमति जनाएका थिए तर ती व्यक्तिले टाइसनले शान्त रहनु भन्दा भन्दै पनि उनलाई दुर्व्यवहार गरिरहे। भिडिओमा अर्का यात्रुले शान्त बनाउने प्रयासमा माइकलाई नामले बोलाएको सुनिन्छ तर अर्को व्यक्तिले टाइसनलाई धकेल्ने प्रयास गरेको देखिन्छ। त्यसपछि ती व्यक्तिको निधारमा रगत लागेको जस्तो देखिन्छ।

    सान फ्रान्सिस्कोको प्रहरी डिपार्टमेन्टले सम्भवतः घटनालाई समेटिएको हुनसक्ने उक्त भिडिओबारे जानकार रहेको जनाएको छ। सो फुटेजलाई उक्त घटनाबारे क्षेत्राधिकार भएको प्रहरीको कार्यालयमा पठाइएको जनाइएको छ। रिङभित्र र रिङबाहिर पनि विभिन्न किसिमका हिंसात्मक गतिविधिका कारण टाइसन विवादमा पर्ने गरेका छन्। सन् १९९२ मा बलात्कारमा दोषी ठहर भएपछि उनले तीन वर्ष जेलमा बिताएका थिए। सन् १९९७ मा प्रतिद्वन्द्वीको कान टोकिदिएपछि उनलाई बक्सिङबाट अयोग्य घोषणा गरिएको थियो। सन् २०२१ को फेब्रुएरी यता अमेरिकामा ७ हजार भन्दा बढी यात्रुसँग जोडिएका यस्ता घटना भएका छन्।

  • अमेरिकाले युक्रेनलाई थप ८० करोड डलर बराबरको युद्ध सहायता गर्ने

    अमेरिकाले युक्रेनलाई थप ८० करोड डलर बराबरको युद्ध सहायता गर्ने

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई ८० करोड डलर बराबरको थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेका छन्। बीबीसीले जनाए अनुसार उक्त सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत समावेश हुनेछन्। उक्त सहायता ूसीधा स्वतन्त्रताको अग्रपङ्क्तिमाू पठाइने बाइडनले बताएका छन्। यद्यपि उक्त सैन्य सहायता युक्रेन पुग्नमा विलम्ब हुनसक्ने युक्रेनी उपरक्षामन्त्रीले चेतावनी दिएका छन्। ट्याङ्क भेदी ज्याभेलिन अस्त्रहरूको सन्दर्भमा बोल्दै यसै साता बाइडनले ूकहिलेकाहीँ हामी नरम बोल्छौँ तर ठूलो भाला (ज्याभेलिन) बोक्छौँ किनकि हामीले तीमध्ये धेरैलाई (युक्रेनमा) पठाउँदैछौूँ भनेका थिए।

    युद्ध सुरु भएयता युक्रेनी फौजले ज्याभेलिन अस्त्रको प्रयोग गरेर कैयन् रुसी ट्याङ्क ध्वस्त पारेका विवरण आएका थिए। गत फेब्रुअरी २४ मा रुसी हमला भएयता तीन अर्ब डलर भन्दा बढीको सैन्य सहायता युक्रेन पठाइ सकिएको छ। यसैबीच क्रेम्लिनले पूर्वी युक्रेनमा आफ्नो आक्रमण जारी राख्दै डोनबास क्षेत्रका ४० भन्दा बढी गाउँहरू कब्जा गरेको युक्रेनी अधिकारीले बताएका छन्। तर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रणनीतिक सहर मारिऊपोल कब्जा गरेको रुसको दाबीलाई अस्वीकार गरेका छन्।

  • अमेरिकी सांसदको प्रतिनिधिमण्डल आज नेपाल आउँदै

    अमेरिकी सांसदको प्रतिनिधिमण्डल आज नेपाल आउँदै

    काठमाडौं । अमेरिकाको सत्तारुढ डेमोक्र्याटिक पार्टीका सांसदहरूको एक समूह तीन दिने भ्रमणका सिलसिलामा शुक्रवार नेपाल आउने भएको छ । अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार जना सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की आज बेलुका नेपाल आउने भएका हुन् । उनीहरुको साथमा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स पनि नेपाल आउने छन् । नेपाल अमेरिका कुटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा यो भ्रमण हुन लागेको हो ।

    अमेरिकी संसदीय टोलीले नेपाल भ्रमणका क्रममा रुसले युक्रेनमाथि गरेको आक्रमणलगायतका विषयमा पनि छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ । टोलीका सदस्य मार्क केली नासाका पूर्वअन्तरिक्ष यात्रीसमेत हुन् । टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र कांग्रेस सांसद मिनेन्द्र रिजालको नेतृत्वमा रहेको नेपाल–अमेरिका मैत्रीपूर्ण संसदीय समितिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

  • नेकोनले वार्षिक मुखपत्र “कनेक्टिकट चौतारी” विमोचन गर्दै नयाँ वर्ष २०७९ मनायो

    नेकोनले वार्षिक मुखपत्र “कनेक्टिकट चौतारी” विमोचन गर्दै नयाँ वर्ष २०७९ मनायो

    धन लामा, कनेक्टिकट

    कनेक्टिकट नेपाली समाज, नेकोन-युएसएले गत अप्रिल १७ तारिखमा “वार्षिक मुखपत्र कनेक्टिकट चौतारी” को विमोचन नयाँ वर्ष २०७९ को स्वागत सहित मनायो ।

    कोरोनाको विश्वव्यापी महामारीपछि “कनेक्टिकट नेपाली समाज, नेकोन युएसएले मनाएको यो नै वृहत कार्यक्रम हो । करिव ३०० जना कनेक्टिकटबासी नेपालीहरुको उपस्थितिमा मनाईएको सो नयाँ वर्ष कार्यक्रमलाई दुई चरणमा बाँडिएको थियो। कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथि तथा अतिथिहरुबाट संस्थाको मुखपत्र कनेक्टिकट चौतारी विमोचन गरिएको थियो भने, कार्यक्रमको दोस्रो चरणमा अतिथी कलाकारहरु वरिष्ठ गायिका कुन्ती मोक्तनको गायन, वरिष्ठ संगीतिकार शिला बहादुर मोक्तानको गायन, न्यूयोर्कका चर्चित नृत्यांगना बसन्ती राईको नृत्य तथा गायन र अन्य स्थानीय कलाकारहरु गायिका पुस्ताका खड्का, गायक तथा संगीतकर्मी केशव शर्मा दाहाल, साँस्कृतिक कार्यक्रम संयोजक रोमी योञ्जनको गायन, शंभी आचार्य, प्रकृति गिरी, प्रसंशा अर्याल, जेनी योञ्जन, रिदिमा खतिवडा, कुसुम कार्की, रिहाना घिमिरे, डोना गुरुङ र बाल-कलाकारहरु निश्चल दाहाल, कुशल दाहाल लगायतका सांगीतिक र नृत्य प्रतुतिहरु रहेका थिए ।

    महामारी पछिको विशाल कार्यक्रममा नेपालबाट आउनु भएका चर्चित गायिका कुन्ती मोक्तानको प्रस्तुतिमा सम्पूर्ण सहभागीहरु झुमेर नाँचेका थिए। साँस्कृतिक कार्यक्रमको अन्त्यमा डिजे जाङ्गबु को डिजे म्युजिकले विश्वव्यापी महामारीको पिडालाई केही समयको लागि भए पनि राम्ररी भुलाएको थियो ।

    नेपाली र अमेरिकी राष्ट्रिय गाना बजाएर शुरु गरिएको कार्यक्रमको प्रमुख अतिथि न्यूयोर्क स्थित नेपाली महावाणिज्यदूतावासका कायम मुकायम महावाणिज्यदूत बिष्णु प्रसाद गौतमले पानसमा बत्ति बालेर औपचारिक रुपमा शुभराम्भ गरि सकेपछि नयाँ वर्ष २०७९ को शुभकामना दिनु हुँदै वर्तमान परिप्रेक्षमा नेपाललाई विदेसिएका नेपालीहरुको अझ बढी माया र सहयोगको जरुरत रहेको बताउनु भयो । त्यस्तै गरि महावाणिज्यदूतावासबाट प्रदान गरिने सेवाहरु छिटो छरितो र प्रभावकारी बनाउन आफू प्रतिवद्ध रहेको जानकारी दिनु भयो ।

    कार्यक्रममा संस्थाका उपाध्यक्ष रघुनाथ गिरीले स्वागत मन्तव्य र अतिथिहरु एनआरएन कनेक्टिकट च्याप्टरका अध्यक्ष मुना तिवारीले नयाँ वर्ष २०७९ को उपलक्षमा शुभकामना मन्तव्य दिनु भएको थियो भने कनेक्टिकट चौतारी २०७९ का प्रधान सम्पादक पंकज पनेरुले मुखपत्र प्रकाशनले नेपाली समाजलाई दिएको सम्भावना र अवसरको बारेमा बोल्नु भएको थियो ।

    संस्थाका वर्तमान अध्यक्ष नारायण पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको औपचारिक सत्रको संचालन संस्थाका सचिव राजन तिम्सिनाले गर्नु थियो भने साँस्कृतिक कार्यक्रमको संचालन सानुमाया महर्जन र पंकज पनेरुले गर्नु भएको थियो । अन्त्यमा संस्थाका अध्यक्ष नारायण पौडेलले सम्पूर्ण कनेक्टिकट निवासी तथा स्वदेश र विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपालीहरुलाई नयाँ वर्ष २०७९ को हार्दिक शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भयो ।

    कार्यक्रममा नयाँ आजीवन सदस्य हिक्मत ब. थापा, कनेक्टिकट चौतारी २०७८ का सम्पादक तथा मिडिया कोअर्डिनेटर धन लामा, कनेक्टिकट चौतारी २०७९ का सम्पादक पंकज पनेरु, नयाँ वर्ष तथा बुद्ध जयन्ति संयोजक रोमी योञ्जन, नेपाली भाषा विद्यालय संयोजक दिपेश भट्ट, सम्मर पिकनिक संयोजक तेजेस बि. मल्ल, दशैं भलिबल संयोजक रिंकु श्रेष्ठ, तिहार कार्यक्रम संयोजक कुलदिप अधिकारी, कोभीड-१९ सहयोग तथा रक्तदान कार्यक्रम संयोजक संजय पन्त, पार्क रोड परेड संयोजक नारायण मिश्र, भानु जयन्ति संयोजक लक्ष्मी बजगाईं र दशैँ कार्यक्रम संयोजक बालकृष्ण कार्की लगायतलाई प्रमुख अतिथीको हातबाट प्रशंसा पत्र प्रदान गरिएको थियो।

  • रुसविरुद्ध लड्न पश्चिमा देशले युक्रेनलाई थप हतियार दिने

    रुसविरुद्ध लड्न पश्चिमा देशले युक्रेनलाई थप हतियार दिने

    काठमाडौं । रुसले पूर्वी युक्रेनमा आक्रमणको स्तर बढाएपछि युक्रेनका साझेदार मुलुकहरूले किएभलाई थप अस्त्रहरू पठाउने प्रतिबद्धता जनाएका छन्। बीबीसीका अनुसार पश्चिमा नेताहरूबीच एउटा भिडिओ कलमार्फत्‌ भएको ९० मिनेट लामो कुराकानीका क्रममा अमेरिका र अन्य देशले गोलाबारुद, ट्याङ्कभेदी र हवाई प्रतिरक्षा सामग्री लगायतका सैन्य सहायता उपलब्ध गराउने वाचा गरेका हुन्। अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो देशले गोलाबारुदसहित अतिरिक्त अस्त्रहरू दिने बताएका छन्।

    बाइडन प्रशासनले युक्रेनका लागि थप ८० करोड डलर बराबरको सैन्य सहायता घोषणा गर्ने योजना बनाएको बताइएको छ। त्यसैगरी जर्मन चान्सलर ओलाफ शोल्जले ट्याङ्कभेदी तथा हवाई प्रतिरक्षा सामग्री खरिदका लागि युक्रेनलाई रकम उपलब्ध गराउने वाचा गरे।


    ब्रिटेनले चाहिँ पानीजहाजभेदी क्षेप्यास्त्र किएभ पठाउँदैछ। रुसले पूर्वी युक्रेनमा ताजा हमला थालेपछि प्रतिरक्षाका लागि सैन्य सहायता बढाउन युक्रेनले आफ्ना साझेदार देशहरूलाई आग्रह गरेको छ। तर रुसले किएभस्थित सरकारलाई सहयोग गर्ने मुलुकहरूले युद्धलाई लम्ब्याउन चाहिरहेको आरोप लगाउँदै आएको छ। युक्रेनी अधिकारीहरूले डोन्बास क्षेत्रमा रुसले थालेको आक्रमणसँगै जारी युद्ध अर्को चरणमा प्रवेश गरेका बताएका छन्।

    रुसले पछिल्लो समय आफ्नो ध्यान केन्द्रित गरेको पूर्वी डोन्बास क्षेत्रभित्रै लुहान्स्क र डोनेत्स्क पर्छ। युक्रेनका अनुसार सोमवारयता रुसी फौजले ४८० किलोमिटर क्षेत्रमा रहेका युक्रेनी अखडाहरूलाई निशाना बनाइरहेका छन्। यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले डोन्बासमा हमलाका लागि रुसले ठूलो सङ्ख्यामा आफ्ना फौज संलग्न गराएको बताएका थिए। तर रुसले जतिसुकै सेना ल्याए पनि आफूहरू अन्तिम समयसम्म लडिरहने र प्रतिरक्षा गर्ने प्रतिबद्धता उनले जनाए।

  • एक महिनामा अमेरिका-मेक्सिको सीमाबाट २ लाख १० हजार अवैध आप्रवासी पक्राउ

    एक महिनामा अमेरिका-मेक्सिको सीमाबाट २ लाख १० हजार अवैध आप्रवासी पक्राउ

    काठमाडौं । मेक्सिकोसँगको सीमामा अमेरिकाले मार्च महिनामा २ लाख भन्दा धेरै आप्रवासीलाई गिरफ्तार गरेको तथ्यांक सार्वजनिक भएको छ ।

    समाचार संस्था रोयटर्सले जनाएअनुसार मार्च महिनामा मात्रै बाइडेन प्रशासनले अवैध रुपमा मेक्सिकोसँगको सीमा नाघेर अमेरिका प्रवेश गर्न खोज्ने २ लाख १० हजार आप्रवासीलाई पक्राउ गरेको छ ।

    यसबाहेक वैध कागजात बेगर अमेरिका प्रवेश गर्न खोज्ने अरु ११ हजार पनि नियन्त्रणमा लिइएको रोयटर्सले जनाएको छ ।

    सो संख्या अघिल्लो वर्षमा सोही महिनाको तुलनामा २४ प्रतिशतले बढि रहेको जनाइएको छ । रोयटर्सका अनुसार अघिल्लो वर्षको मार्च महिनामा १ लाख ६९ हजार अवैध आप्रवासीलाई पक्राउ गरिएको थियो ।

    यसअघिको ट्रम्प प्रशासनले लागू गरेका कठोर आप्रवासन नियममा सुधार गर्ने बाचाका साथ राष्ट्रपति बनेका बाइडेनको प्रशासनले पनि अवैध आप्रवासनको नियन्त्रण गर्ने योजनालाई निरन्तरता दिएको आरोप लाग्दै आएको छ ।

    पछिल्लो समय मेक्सिकोसँगको सीमा नाघेर अवैध रुपमा अमेरिका प्रवेश गर्नेमा मध्य अमेरिकाका मेक्सिको सहित ग्वाटेमाला, मेक्सिको, एल साल्भाडोर, होण्डुरस लगायतका मुलकका साथै रुस र युक्रेनबाट आएका आप्रवासी समेत रहेको रोयटर्सले जनाएको छ ।

    आगामी केही साताहरुमा दैनिक १८ हजारभन्दा धेरै आप्रवासी अवैध रुपमा अमेरिका प्रवेश गर्ने अनुमानका साथ तयारी थालिएको अमेरिकी आप्रवासन अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

  • क्यालिफोर्नियामा सवारी दुर्घटनामा एक नेपालीको मृत्यु

    क्यालिफोर्नियामा सवारी दुर्घटनामा एक नेपालीको मृत्यु

    काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा सवारी दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ। दुई गाडी ठोक्किँदा ३२ वर्षीय प्रज्वल विक्रम विष्टको निधन भएको क्यालिफोर्निया राजमार्ग प्रहरीले जनाएको छ।

    क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा उक्त घटना भएको हो। प्रहरीका अनुसार घटनास्थलमै विष्टको ज्यान गएको थियो। अर्का चालक गम्भीर घाइते भएका छन्। २५ वर्षीय चालकलाई युसि डेविस मेडिकल सेन्टर(चिकित्सा केन्द्र)मा उपचारको लागि राखिएको छ।

    उक्त घटना गत बिहीबार अप्रिल १४ का दिन राती ११ बजे घटेको हो। मृतककी नाम मुना विष्ट नेपालमा रहेकी छन्। उनी बुवा अनन्त विक्रम विष्टसँगै १५ वर्षदेखि अमेरिकामै बस्दै आएका थिए।

  • अमेरिकाले युक्रेनलाई थप ८० करोड अमेरिकी डलर आर्थिक सहयोग दिने

    अमेरिकाले युक्रेनलाई थप ८० करोड अमेरिकी डलर आर्थिक सहयोग दिने

    काठमाडौं । अमेरिकाले युक्रेनलाई थप ८० करोड अमेरिकी डलर आर्थिक सहयोगको घोषणा गरेको छ । पूर्वी युक्रेनमा रुसले आक्रमण तीव्र बनाएका बेला अमेरिकाले थप सहयोगको घोषणा गरेको हो।

    सहयोगमा नयाँ अस्त्रहरू पनि रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताउनुभएको छ । यसअघि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले ठूलो सङ्ख्यामा अस्त्र उपलब्ध गराउन अपिल गर्नुभएको थियो।

    प्रतिबद्धता जनाइएको ८० करोड अमेरिकी डलर बराबरका अस्त्रमा गोलीगठ्ठा र राडार प्रणाली पनि रहेका बीबीसीले जनाएको छ। त्यसबाहेक सयौँ क्षेप्यास्त्र र विशेष प्रकारका ड्रोनहरू पनि रहेका छन्।

    यसैबीच रुसी सैनिक पानीजहाजमा विस्फोटबाट क्षति भएको छ । रुसको रक्षा मन्त्रालयले ब्ल्याक सीमामा विस्फोटक पदार्थ भण्डारण गरी तैनाथ एउटा सैन्य पानीजहाजमा आगलागी र विस्फोटबाट क्षति भएको जनाएको छ।

  • अमेरिकाका एक नेपालीलाई मनी लाउन्डरिङमा जेल सजाय

    अमेरिकाका एक नेपालीलाई मनी लाउन्डरिङमा जेल सजाय

    अमेरिका । टेक्सस अर्भिङका ४६ वर्षीय दीपेन्द्र भुसाललाई क्रिप्टोकरेन्सीसँग सम्वद्ध मनी लण्डरिङ कन्सपरेसीको आरोपमा जेल चलान भएको छ ।

    डिपार्टमेण्ट अफ जस्टिस युएस एटोर्नी अफिस इस्टर्न डिष्ट्रिक्ट अफ टेक्ससले भुसाललाई क्रिप्टोकरेन्सी मनी लण्डरिङमा उनको भूमिकालाई दोषी ठहर गर्दै उक्त सजाय सुनाएको हो ।

    उनलाई ४६ महिना केन्द्रीय जेलमा राख्ने निर्णय भएको छ । एक वर्षअघि भुसाललाई सजायका लागि अदालतमा पेश गरिएको थियो ।

    विभिन्न प्रकारका गलत काममा भुसाल संलग्न भएको देखिएपछि उनी पक्राउ परेका थिए । थुप्रै गलत काम गर्दै आएका भुसालले १० हजार अमेरिकी डलरभन्दा कमको नगद कारोबार गर्दै कानुन छल्नेसम्मको प्रयास गर्दै आएका थिए ।

    उनले अमेरिका बाहिर पनि पैसा पठाएको जनाइको छ । उनलाई १४ लाख ३७ हजार ३५९ अमेरिकी डलर यसरी कारोबार गरेको आरोप लगाइएको हिमालय खबरले समाचार लेखेको छ ।

    अनलाइन जुवालगायत विभिन्न काममा नेपाली संलग्न भन्दै अहिले त्यहाँ कडाई गरिएको छ । थुप्रै नेपालीलाई अमेरिकी राजश्व विभाग आइआरएसले पत्र पठाएको बुझिएको छ ।

  • बेलायत, अमेरिका र अष्ट्रेलियाले संयुक्त रुपमा हाइपरसोनिक क्षेस्यास्त्र बनाउने

    बेलायत, अमेरिका र अष्ट्रेलियाले संयुक्त रुपमा हाइपरसोनिक क्षेस्यास्त्र बनाउने

    बेलायत, अमेरिका र अस्ट्रेलियाले आफ्नो रक्षा प्रणाली सुदृढ गर्न हाइपरसोनिक अस्त्रको अनुसन्धान अघि बढाउन लागेको बताएका छन् । बेलायत सरकारलाई उदृत गर्दै बीबस्ीले लेखे अनुसार तीन देशले गत वर्ष घोषणा गरेको ओकस सुरक्षा साझेदारी अन्तर्गत यो योजना अघि सारिएको हो। चीन र रुसले हाइपरसोनिक क्षेप्यास्त्रको निर्माण गरेपछि पश्चिमा देशहरूको गठबन्धन पनि यो अस्त्र बनाउने तयारीमा जुटेका हुन् । रुसले गत महिना युक्रेन आक्रमणमा यस्तो अस्त्रको प्रयोग समेत गरेको थियो।

    हाइपरसोनिक अस्त्रको गति आवाजको वेग भन्दा पाँच गुणा तीव्र हुन्छ। तीव्र गति र कम उचाइबाट उड्ने भएकाले जमिनका राडारबाट यस्ता हाइपरसोनिक क्षेप्यास्त्र पहिचान गर्न, रोक्न वा बीच उडानमै नष्ट गर्न समेत कठिन हुन्छ। अमेरिका र अस्ट्रेलियाले भने यस्तो हतियार निर्माणका लागि संयुक्त परियोजना सञ्चालन गरिरहेका छन्। यूकेले नयाँ सहकार्य रक्षा क्षेत्रमा केन्द्रित हुने जनाएको छ। यूकेले आफ्नै हाइपरसोनिक हतियार बनाउने योजना नरहे पनि नयाँ कार्यक्रमले आफूलाई यस्तो हतियार बनाउन आवश्यक परेको अवस्थामा पहुँच स्थापित गर्न सहयोग पुग्ने जनाएको छ।

    युक्रेनमा यस्तो अस्त्र प्रयोग गर्ने रुसको कदमबाट पछिल्लो घोषणा नजोडिएको प्रस्ट्याउँदै यूकेले अरू देशहरूले यस्तो हतियारमा लगानी गरिरहेका कारण त्यसको प्रतिरक्षाका लागि आफ्नो देशले पनि सोच्ने समय आएको बताएको छ। रुसले मार्च १९ मा युक्रेनको एउटा हतियार भण्डार नष्ट गर्न हाइपरसोनिक क्षेप्यास्त्रको प्रयोग गरेको दाबी गरिएको थियो। अमेरिकी सैन्य गुप्तचर निकायले रुसी फौजहरूले त्यसयता निरन्तर यस्तो हतियार प्रयोग गरेको दाबी गरेको छ।

    यो आक्रमणलाई सैन्य कारबाहीमा पहिलो पटक हाइपरसोनिक क्षेप्यास्त्र प्रयोग गरेको घटनाको रूपमा हेरिएको छ। यो घटनाको केही महिनाअघि चीनले दुई वटा आणविक हतियारयुक्त हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको अमेरिकी गुप्तचरहरूले बताएका थिए। दुवै क्षेप्यास्त्रले जमिनको सतहभन्दा कम उचाइबाट पृथ्वीलाई फन्को मारेका थिए। दोस्रो क्षेप्यास्त्र निर्धारित लक्ष्यमा नपुगे पनि करिब ४० किलोमिटर नजिकसम्म पुगेको थियो।

  • अमेरिकाले पुटिनका छोरीहरुलाई लक्षित गरि लगायो प्रतिवन्ध

    अमेरिकाले पुटिनका छोरीहरुलाई लक्षित गरि लगायो प्रतिवन्ध

    काठमाडौं । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीहरू सहित उनका अन्य विश्वासपात्रहरू माथि प्रतिबन्धहरू लागु गरेको छ। उक्त सूचीमा रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभको परिवारका सदस्यसहित रुसका प्रमुख ब्याङ्कहरू पनि समावेश छन्। युक्रेनमा रुसी सेनाले गरेको अत्याचारबारे विवरणहरू सार्वजनिक भएसँगै पछिल्लो प्रतिबन्धहरूको घोषणा गरिएको हो। यसैसाता राजधानी किएभ नजिकै रहेको बुचा सहरका सडकमा सर्वसाधारणहरूको शव छरप्रस्ट भेटिएको थियो।

    रुसले भने प्रमाणबिना किएभले त्यस्तो तस्बिर सार्वजनिक गरेको जनाएको छ। भूउपग्रहबाट खिचिएका तस्बिरहरूले बुचा सहर रुसीहरूको नियन्त्रणमा हुँदा सर्वसाधारण मारिएका देखिए पनि बुधवार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने घटनालाई ूकिएभको सत्ताले गरेको अशिष्ट अनि स्वार्थपूर्ण उत्तेजनाू को संज्ञा दिएका छन्। बुचामा भएको हत्याबारे आफ्नो धारणा राख्दै बुधवार अमेरिकी राष्ट्रपति जो बाइडनले ठूलो युद्ध अपराधभन्दा अरू केही नभएको टिप्पणी गरेका छन्।

    अमेरिकाले पुटिनका छोरीहरू लक्षित पछिल्ला प्रतिबन्धहरू किन लागु गर्‍यो भन्ने प्रश्नमा बाइडन प्रशासनका एकजना वरिष्ठ अधिकारीले पुटिनको केही सम्पत्ति उनका छोरीहरूको नियन्त्रणमा रहेको हुनसक्ने आफूहरूको बुझाइ रहेको बताएका छन् । अमेरिका र ब्रिटेनले सार्वजनिक गरेका पछिल्ला प्रतिबन्ध प्रमुख रुसी ब्याङ्क अनि त्यहाँका धनाढ्यप्रति लक्षित रहेको बताइएको छ। रुसको सबैभन्दा ठूलो वित्तीय संस्था स्वीएरब्याङ्कको अमेरिका र यूकेमा रहेको सम्पत्ति रोक्का गरिएको छ।

    रुसमा थप ब्रिटिश अनि अमेरिकी लगानीमा पनि प्रतिबन्ध लागु छ। युक्रेनका राष्ट्रपतिले रुस माथि लगाइएको थप प्रतिबन्धहरूको स्वागत गरेका छन्। तर त्यो अझै पर्याप्त भने नरहेको उनले टिप्पणी गरे। आफ्नो पछिल्लो सम्बोधनका क्रममा भोलोदिमिर जेलेन्स्कीले रुसले उत्पादन गर्ने तेल बहिस्कार गर्न पश्चिमा मुलुकहरूलाई आग्रह गरे।

    रुस विरुद्ध प्रतिबन्ध लगाउने विषयमा तत्काल सहमति नजुटेका कारण थप युक्रेनीहरूले ज्यान गुमाइरहेको उनले बताएका छन्। जेलेन्स्कीले तेल निर्यातबाट राम्रो आर्जन गरिरहेका कारण रुसलाई शान्ति वार्ता गम्भीर रूपमा लिन आवश्यक नरहेको धारणा व्यक्त गरेका छन्। उनले रुसी ब्याङ्कहरूलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट पूर्ण रूपमा अलग्गै राख्नुपर्नेमा युक्रेनले जोड दिइरहने बताए । बीबीसी

  • सगरमाथा चढ्न आउने आरोहीमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिक

    सगरमाथा चढ्न आउने आरोहीमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिक

    काठमाडौं । नेपालमा चालु आरोहण सिजनमा सगरमाथा चढ्न बुधबारसम्म कुल १९ समूहका १७६ जना आरोहीले अनुमति लिएका छन् । यसमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिक रहेको पर्यटन विभागले जनाएको छ । बुधबारसम्म ४२ जना अमेरिकी नागरिकले अनुमति लिएका छन् । बेलायतबाट २१, भारतबाट १५ र रुसबाट १४ जनाले अनुमति लिएका छन् ।

    नेपाल र क्यानडाबाट १०, १० जनाले अनुमति लिएका छन् । सगरमाथा चढ्न कुल ३८ मुलुकका नागरिकले अनुमति लिएका हुन् । सगरमाथासहित कुल १६ वटा हिमाल चढ्न बुधबारसम्म ५३ समूहका ४५१ जनाले आरोहण अनुमति लिएका छन् । यसममा कुल ५९ मुलुकबाट नागरिक नेपाल आएको विभागले जनाएको छ । सबैभन्दा धेरै अमेरिकाबाट ८१ जना आएका छन् ।

  • पाकिस्तान भ्रमणमा पुनर्विचार गर्न अमेरिकाले गरायो आफ्ना नागरिकलाई सचेत

    पाकिस्तान भ्रमणमा पुनर्विचार गर्न अमेरिकाले गरायो आफ्ना नागरिकलाई सचेत

    काठमाडौं । अमेरिकाले पाकिस्तानमा बढ्दो राजनीतिक अस्थिरताका बीच यात्रामा पुनर्विचार गर्न आफ्ना नागरिकलाई सचेत गराएको छ । सो मुलुकको तर्फबाट ट्राभल एडभाइजरी जारी गर्दै आतंकवादी हमला तथा अपहरणका घटना घटेको भन्दै यात्रामा विचार गर्न भनिएको हो । पाकिस्तानमा पनि बलूचिस्तान र खैबर पख्तूनख्वा प्रान्तलाई बढी संवदनशिल मानिएको छ ।

    अमेरिकाले आफ्नो नागरिकलाई आतंकवादी गतिविधि भइरहेका र सशस्त्र संघर्ष जारी रहेको इलाकामा सकेसम्म नजान भनेको हो । आतंकी संगठनले पाकिस्तानमा लगातार आक्रमणको योजना बनाइरहेको सूचना प्राप्त भएसँगै अमेरिकाको तर्फबाट यस्तो सूचना जारी भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । पछिल्लो समय पाकिस्तानमा राजनीतिक अस्थिरताले द्धन्द्ध बढेको छ ।

  • अर्थमन्त्रीले भने : एमसिसी परियोजनाको कार्यान्वयन छिटो शुरु गरौं

    अर्थमन्त्रीले भने : एमसिसी परियोजनाको कार्यान्वयन छिटो शुरु गरौं

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको कार्यान्वयन प्रकृया छिटो अघि बढाउन आग्रह गरेका छन् । सोमबार साँझ अर्थमन्त्री शर्माको नेतृत्वमा एमसिसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसिसीको नेपालस्थित राष्ट्रिय निर्देशक (निमिक्त) सञ्जय पौडेल, नेपालस्थित अमेरिकी दुतावासको राजनीतिक विशेषज्ञ रोजी कट्टेल र अर्थ मन्त्रालयका प्रतिनिधिबीच भर्चुअल बैठकमा उनले यस्तो आह्वान गरेका हुन् ।

    बैठकमा अर्थमन्त्री शर्माले परियोजनाको कार्यान्वयन अवधि एक बर्ष बाँकी रहेको देखिएकाले त्यति ढिला गर्न नहुने बताएको अर्थ मन्त्रालयले जानकारी गराएको छ । ‘एक बर्षे कार्यान्वयन अवधि मेरा लागि धेरै लामो समय भयो, हामी छिटो भन्दा छिटो काम शुरु गर्न चाहन्छौं । त्यसका लागि एमसिसीले पनि आवश्यक तयारी गरोस् भन्न चाहन्छु’ उनले भने ।


    संसद्बाट अनुमोदन भएपछि एमसिसी र अर्थमन्त्री शर्माबीच पहिलो पटक बैठक भएको हो । त्यसक्रममा उनले एमसिसी अनुमोदन प्रकृयामा केही समस्या देखिएपनि कार्यान्वयन चरणमा गएपछि कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता पनि जनाएका छन् । ‘एमसिसी आर्थिक परियोजना हो र यो चाँडै अगाडी बढ्छ भन्ने कुरामा आम नेपालीलाई विश्वास भइसकेको छ ।

    त्यसैले अब एक बर्ष भित्र कार्यान्वयन गर्ने भनेर समय तोक्ने होइन, जतिसक्छो छिटो परियोजना कार्यान्वयन गर्न थाल्नुपर्छ’ उनले भने । एमसिसी बिशुद्ध आर्थिक परियोजना भएको विषयमा सरकार स्पष्ट भएपनि विभिन्न कारणले राजनीतिकरण भएको उनको भनाई छ ।


    धेरै समस्या र चुनौतीका बाबजुत एमसीसी स्वीकार गर्ने निर्णय भएको भन्दै उनले परियोजना कार्यान्वयनमार्फत नेपालको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास लिएको बताए ।सो क्रममा एमसिसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्सले नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशामा अगाडी बढाउन परियोजनाले सघाउने बताए । उनले एमसिसी अनुमोदनका लागि अर्थमन्त्रीले गरेको नेतृत्वका लागि धन्यवादसमेत दिए ।

    ‘परियोजना अनुमोदनका लागि तपाईले गरेको नेतृत्वदायी भूमिकाका लागि विशेष धन्यवाद दिन चाहन्छु । परियोजनाबाट धेरै राम्रा र ठूला काम गरेर देखाउनुपर्नेछ’ डेपुटी भाइस प्रेसिडेन्ट ब्रुक्सले भभने । उनले परियोजनाको कार्यान्वयन छिटो भन्दा छिटो अगाडी बढोस् भन्ने आफुहरुको पनि चाहना भएको र नेपालको तयारी अनुसार नै छिट्टै काम अगाडी बढाउने प्रतिबद्धता जनाएको समेत मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

  • क्यालिफोर्नियामा गोली चल्यो, कम्तिमा ६ को मृत्यु-१२ घाइते

    क्यालिफोर्नियामा गोली चल्यो, कम्तिमा ६ को मृत्यु-१२ घाइते

    क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चल्दा कम्तिमा ६ जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमले पुष्टी गरेका छन् । घटनामा १२ जना घाइते भएका छन् । क्यालिफोर्निया राज्यको राजधानी सेक्रामेन्टोको रेष्टुरेन्ट र बारहरु रहेको व्यस्त इलाकामा स्थानीय समय अनुसार आइतबार बिहान गोली चलेको हो । गोली चलेपछि प्रहरीले जवाफी कारबाही गरेको समाचारमा उल्लेख छ ।

    घटनामा संलग्नको पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
    अमेरिका बैधानिक हतियार राख्न पाउने मुलुक हो । तर, यस प्रांवधानका कारण यहाँ वर्षेनी ४० हजार भन्दा बढी मानिसको ज्यान जाने गरेको तथ्यांक रहेको छ । जसमा आफ्नै हतियार प्रयोग गरि आत्महत्या गर्नेसको संख्या समेत जोडिन्छ । पछिल्लो समय हतियारको वैधानिकतालाई लिएर यहाँ बहस समेत प्रारम्भ भएको छ ।

  • मार्चमा भारतीयपछि अमेरिकी पर्यटक बढी नेपालमा

    मार्चमा भारतीयपछि अमेरिकी पर्यटक बढी नेपालमा

    काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी भन्दा अगाडी भारतीयपछि चिनियाँ पर्यटक बढी घुमफिरमा जाने गर्थे । कोरोनाका कारण चीनले आफ्ना नागरिकलाई घुमफिरमा खुला गरेका छैन । सोहीकारण यो स्थान अहिले अमेरिकाले लिएको छ । नेपालमा मार्च महिनामा भारतीयपछि अमेरिकी नागरिक बढी संख्यामा आएको अध्यागमन विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार मार्च २०२२ मा कुल ४२ हजार ६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यसमध्ये भारतबाट मात्र यो महिनामा १५,०१३ जना पर्यटक नेपाल आएका छन् ।

    अमेरिकाबाट ४,८९६, बेलायतबाट ४,०२९, बंगलादेशबाट २,१५२ र जर्मनीबाट १,८१७ जना पर्यटक आएको देखिएको छ । सन् २०२२ यता पर्यटक आगमनमा केही सुधार देखिएको छ । तथ्यांक अनुसार जनवरीमा १६,९७५ पर्यटक आएका थिए । फेब्रुअरीमा यसमा सुधाई भई १९,७६६ पुगेको थियो । मार्चमा कोरोना भाइरस शुरु भएयताको दुई वर्षको अवधिकै सबैभन्दा धेरै (एक महिनामा) ४२,००६ पर्यटक नेपाल आएका छन् ।

  • प्रस्तोतालाई थप्पड हानेका अमेरिकी अभिनेता स्मिथले ओस्कार एकेडेमीबाट दिए राजिनामा, थप कारवाही हुने

    प्रस्तोतालाई थप्पड हानेका अमेरिकी अभिनेता स्मिथले ओस्कार एकेडेमीबाट दिए राजिनामा, थप कारवाही हुने

    न्यूयोर्क । अमेरिकी अभिनेता विल स्मिथ ओस्कार एकेडेमीबाट राजीनामा दिएका छन्। बीबीसीका अनुसार विवादमा तानिएपछि उनले राजीनामा गरेका हुन् । उनले गत आइतवार आयोजित ओस्कार पुरस्कार वितरण समारोहमा हास्य कलाकार क्रिश रकलाई मञ्चमै पुगेर थप्पड हानेका थिए । त्यसपछि उनी विवादमा तानिए । उनले राजीनामा पत्रमा लेखेका छन्, ‘एकेडेमीको ९४ औँ पुरस्कार वितरण समारोहमा मेरो क्रियाकलाप स्तब्ध बनाउने खालको पीडादायी र अक्षम्य थियो ।’

    एकेडेमीले उनको राजीनामा स्वीकार गरेको र अनुशासनको कारबाहीको काम अगाडि बढाइरहने बताएको छ। एलोपेसिया भन्ने रोगका कारण कपाल झरेर मुडुलो टाउको बनाएकी उनकी श्रीमतीमाथि रकले ठट्टा गरेपछि स्मिथ आक्रोशित भएर मञ्चमा उक्लिएर क्रिशलाई थप्पड लगाइदिएका थिए। त्यसको एक घण्टा पनि नहुँदै उनले ‘किङ रिचर्ड’ नामको फिल्ममा ख्यातीप्राप्त टेनिश खेलाडीहरू भीनस र सेरेना विलियम्सका बाबुको भूमिकाका कारण सर्वोत्कृष्ट अभिनेता पुरस्कार प्राप्त गरेका थिए।

    ‘मैले चोट पुर्‍याएकाहरूको सूची लामो छ। यसमा क्रिश, उनको परिवार, मेरा धेरै प्रिय साथीहरू, कार्यक्रममा उपस्थित सबै र विश्वव्यापी दर्शकहरू समावेश छन्’ स्मिथले भनेका छन् । ‘मैले एकेडेमीको विश्वासविरुद्ध कार्य गरेँ। मैले अन्य मनोनीत र विजेताहरूलाई उनीहरूको असाधारण कामको लागि उत्सव मनाउने अवसरबाट वञ्चित गरेँ। म दुःखी छु।’ स्मिथले आफ्नो लक्ष्य उपलब्धिको लागि योग्यहरूतर्फ सबैको ध्यान फर्काउनु भएको समेत बताएको समाचारमा उल्लेख छ ।

    एकेडेमीका अध्यक्ष डेभिड रुबिनले स्मिथको राजीनामा स्वीकृत गरेको तर अनुशासन सम्बन्धी कारबाही जारी राखिने बताए। रकले बुधवार बोस्टनमा आयोजित एक स्ट्यान्ड(अप कार्यक्रमका क्रममा सम्बोधन गर्दै, आफू अझै पनि के भयो भनेर खुट्टाउन प्रयास गरिरहेको बताएका थिए। हाल अमेरिकाको आफ्नो कार्यक्रम इगो डेथका सिलसिलामा भ्रमणमा रहेका ५७ वर्षीय हास्य कलाकारलाई दर्शकले उभिएर सम्मान प्रकट गरेका थिए ।

  • इन्धनको मूल्य घटाउन अमेरिकाले आफ्ना कुवाबाट अतिरिक्त मात्रामा तेल निकाल्ने

    इन्धनको मूल्य घटाउन अमेरिकाले आफ्ना कुवाबाट अतिरिक्त मात्रामा तेल निकाल्ने

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले उच्च ऊर्जा मूल्यलाई घटाउने प्रयास स्वरूप अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका छन्। बीबीसीका अनुसार आउँदो ६ महिनामा १८ करोड ब्यारलसम्म तेल निकालिने बताइएको छ जुन सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च हो। युक्रेनमा जारी युद्धले सिर्जना गरेको आपूर्ति सङ्कटमाझ बाइडनका त्यस्तो कदमका खबरहरू आउन थालेसँगै तेलको मूल्य घटेको छ।

    तर विश्लेषकहरूले दैनिक १० लाख ब्यारलजति तेल निकालेर ऊर्जा सङ्कट समाधान नहुने बताएका छन्। यस्तो प्रयासले विश्वव्यापी अभावका लागि अस्थायी समाधान मात्र दिने तर रुसबाट रोकिएको आपूर्तिको अभाव पूर्ति नहुने बताइएको छ । राष्ट्रपति बाइडनले अमेरिकी तेल आपूर्ति बढाउन थप कदमहरू चालिने बाचा गरेका छन्। उनले यो वर्षको अन्त्यसम्ममा आन्तरिक उत्पादन बढ्नुअघि पछिल्लो कदम एउटा सेतुको रूपमा काम गर्ने बताएका छन्।

    रुस साउदी अरबपछिको संसारकै सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता हो। बाइडनको घोषणा लगत्तै बजार मूल्यमा केही प्रभाव परेका छन्। वेस्ट टेक्सस इन्टरमिडिएट ७ प्रतिसतले झरेर प्रतिब्यारल १०० डलर पुगेको थियो। त्यस्तै ब्रेन्ट क्रुड झण्डै ५.४ प्रतिसतले झरेर १०७ डलर पुगेको थियो। ऊर्जाको बढ्दो मूल्य अमेरिकासहित अहिले संसारभर एउटा राजनीतिक मुद्दा बनेको छ।

    अमेरिकामा नोभेम्बरमा सङ्घीय संसद्को चुनावहरू हुँदैछन्। राष्ट्रपति पुटिनले शुक्रवारबाट हुने रुसी प्राकृतिक ग्यास आपूर्तिको भुक्तानी रुबलमा गर्न दिएको समयसीमालाई पश्चिमा सरकारहरूले अस्वीकार गरेका छन्। भ्लादिमिर पुटिनले पश्चिमा वित्तीय प्रणाली रुसविरुद्ध हतियारको रूपमा प्रयोग भएको भन्दै त्यस्तो परिवर्तन आवश्यक परेको बताएका छन्। जर्मनी, फ्रान्स र अस्ट्रिया सबैले मस्कोको मागलाई धम्कीपूर्ण ब्ल्याकमेल भएको बताएका छन्।

  • अमेरिका र मेक्सिकोले गरे कतार विश्वकपको टिकट पक्का

    अमेरिका र मेक्सिकोले गरे कतार विश्वकपको टिकट पक्का

    काठमाडौं । अमेरिका र मेक्सिकोले फिफा विश्वकप २०२२ का लागि टिकट पक्का गरेका छन् । उत्तर अमेरिका छनोटको अन्तिम खेलमा कोस्टारिकासँग २-० गोलले हारेपनि अमेरिका विश्वकपमा पुगेको हो । मेक्सिकोले अन्तिम खेलमा एल साल्भाडोरलाई २-० गोलले नै हराउँदै विश्वकपमा स्थान बनाउन सफल भयो । उत्तर अमेरिका छनोटबाट यसअघि क्यानडाले विश्वकपमा स्थान पक्का गरिसकेको छ। कोस्टारिकाले भने अन्तरमहादेशीय प्लेअफ खेल्नु पर्ने भएको छ ।

    अब विश्वकपमा २९ टिमको स्थान पक्का भइसकेको छ । अब युरोपबाट एक टिम र अन्तरमहादेशीय प्लेअफबाट दुई टिम विश्वकपमा छनोट भएसँगै विश्वकप खेल्ने ३२ वटै टिमको टुंगो लाग्ने छ । अन्तरमहादेशीय प्लेअफ आगामी जुनमा हुनेछ।अन्तरमहादेशीय प्लेअफका लागि ओसियाना क्षेत्रबाट न्युजिल्यान्ड छनोट भएको छ। न्युजिल्यान्डले ओसियानाको फाइनलमा सोलोमन आइल्यान्डलाई ५-० गोलले हराएको हो ।

  • युक्रेनबारे पुटिनलाई सत्य कुरा नबताइएको अमेरिकी जाजुसहरुको भनाई

    युक्रेनबारे पुटिनलाई सत्य कुरा नबताइएको अमेरिकी जाजुसहरुको भनाई

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्धको यथार्थ तस्बिर प्रस्तुत नगरिएको पश्चिमा जासुसी निकायहरूले बताएका छन्। बीबीसीका अनुसार कुन हदसम्म उनको सेना युक्रेन युद्धमा पराजित भइरहेको छ भन्ने यकीन विवरण पुटिनलाई नदिइएकाले शान्ति वार्ताका प्रयासमा समेत प्रभाव पर्ने चिन्ता पश्चिमा अधिकारीहरूले गरेका छन्।

    रुसको युक्रेन अतिक्रमण सुरु भएको पाँच साता वित्दै गर्दा त्यहाँ मस्कोका सेनाले विभिन्न अवरोध सामना गर्नुमा पुटिनलाई युद्धमैदानको वास्तविकता नबताइनु पनि कारण रहेको ब्रिटिस तथा अमेरिकी जासुसी निकायले जनाएका छन्। ह्वाइट हाउसले भनेको छ यही कारण पुटिन र उनका सैन्य जर्नेलहरूबीच तनाव बढेको छ।

    वरिष्ठ सल्लाहकारहरूले रुसी नेतालाई युद्धमैदानमा सेनाको खराब प्रदर्शनबारे बताउन डराएका छन्। पुटिनले पश्चिमा देशहरूले लगाएको आर्थिक प्रतिबन्धको यकिन परिणामबारे समेत पूर्ण रूपमा नबुझेको ह्वाइट हाउसकी प्रवक्ताले बताइन्। अमेरिकी रक्षामन्त्रालय पेन्टागनका प्रवक्ता जोन कर्बीले यो अवस्थाको परिणाम युद्ध अन्त्य गराउने वार्ता प्रयासमा पर्न सक्ने बताए।

    आफ्नै सेना र आफ्नै युद्धबारे सम्पूर्ण जानकारी नहुनु भनेको असहज परिस्थिति भएको उनले बताए। ‘यो उनकै सेना हो। उनकै युद्ध हो। उनले नै युद्ध रोजेको हो। यस्तो बखत यदि उनलाई सबै सन्दर्भको जानकारी छैन वा आफ्ना सेना युक्रेनमा कुन हदमा हारिरहेको छ भन्ने जानकारी छैन भने त्यो अलि असहज बनाउने विषय नै हो,’ पेन्टागनका प्रवक्ताको भनाइ छ ।

  • नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त

    नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त

    काठमाडौं । नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त भएको ह्वाइट हाउसले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले थप्सनलाई नेपालका लागि राजदूत नियुक्त गरेका हुन् । उनले अमेरिकी राजदूत र्‍याण्डी बेरीलाई प्रतिस्थापन गर्ने भएका हुन् । थम्पसन अहिले अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिवका रुपमा कार्यरत छन् । अमेरिकी नीति र सो क्षेत्रका देशहरुसँगको सम्बन्धबारे हेर्ने जिम्मा उनलाई रहेको छ । थम्पसनसँग अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा बढी समयसम्म काम गरेको अनुभव रहेको समेत बताइएको छ । उनले मलेसियाको क्वालम्पुरस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनको रुपमा काम गरेका छन् । रोमानियाको बुखारेष्टस्थित अमेरिकी दूतावास, भारतको कोलकातामा अमेरिकी कन्सुलर जनरल र श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रुपमा काम गरेको अनुभव उनले बटुलिसकेका छन् । नेपालमा अमेरिकाले अधिकांश समय अनुभवी कुटनीतिज्ञलाई राजदूतका रुपमा खटाउने गर्छ । किनकी नेपाल चीन र भारतको बीचमा रणनीतिक रुपमा अवस्थित मुलुक हो ।

  • अमेरिकामा ६० बढी सवारीसाधन एकै ठाउँमा दुर्घटना, तीन जनाको मृत्यु

    अमेरिकामा ६० बढी सवारीसाधन एकै ठाउँमा दुर्घटना, तीन जनाको मृत्यु

    वासिङ्टन । अमेरिकाको अन्तर राज्य राजमार्गमा धेरै सवारी सवारी एकै ठाउँमा दुर्घटनामा हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

    देशको पेन्सिलभेनियामा सोमबार भएको दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय समय अनुसार बिहान १०ः३० बजे दुर्घटना भएको हो ।

    दुर्घटनामा कार, ट्रक, ट्याक्टर लगायतका झण्डै ६० सवारी साधन परेका थिए । हिउँ आँधीका कारण दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् ।

    दुर्घटनामा परी अरु २० जना घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

  • ३६ वर्षपछि क्यानडाले खेल्ने भयो विश्वकप फुटबल

    ३६ वर्षपछि क्यानडाले खेल्ने भयो विश्वकप फुटबल

    काठमाडौं । क्यानडा कतार विश्वकपका लागि छनोट भएको छ । ३६ वर्षपछि पहिलो पटक विश्वकप फुटबलमा छनोट भएको यो मुलुकमा यतिबेला खुसीयाली छाएको छ । आइतबार जमैकालाई ४–० ले हराएको क्यानडा कतार विश्वकपमा छनोट भएको हो । क्यानडाका लागि केयल, टाजोन र होलेटले गोल गरे । अर्को एक गोल जमैकाका एडरिनले आत्मघाती गरे । अहिले विश्वकप छनोटमा अन्तिम चरणका खेलहरु जारी छन् ।

  • डोनाल्ड ट्रम्पले हिलरी क्लिन्टनविरुद्ध किन हाले मुद्दा ?

    डोनाल्ड ट्रम्पले हिलरी क्लिन्टनविरुद्ध किन हाले मुद्दा ?

    काठमाडौं (बीबीसी) । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा आफ्नो निर्वाचन अभियानलाई रुससँग जोडिदिएर हिलरी क्लिन्टन र डेमोक्र्याटिक पार्टीका अन्य नेताहरूले धाँधली गर्न खोजेको आरोप लगाउँदै उनीहरूविरुद्ध मुद्दा दायर गरेका छन्। उक्त निर्वाचनमा ट्रम्पले क्लिन्टनलाई पराजित गरेका थिए। तर आफ्नो निर्वाचन अभियानविरुद्ध षड्यन्त्र भएको ट्रम्पको दाबी छ।

    ट्रम्पको अभियान र टोलीलाई रुसी गुप्तचरहरूसँग मिलेर उनको पक्षमा निर्वाचनको परिणाम पार्ने षड्यन्त्र गरेको आरोप लागेको थियो। अहिले बाइडनसँग पराजित ट्रम्प कसरी होटल व्यवसायबाट राष्ट्रपति पदसम्म पुगेका थिए । सन् २०२० मा रिपब्लिकन पार्टीको नेतृत्वमा रहेको एउटा सिनेट समितिले प्रकाशित गरेको प्रतिवेदनमा रुसले ट्रम्पलाई विजयी हुन सघाउन रिपब्लिकन पार्टीका राजनीतिक कार्यकारी पोल म्यानफोर्ट र विकिलीक्सको वेबसाइट प्रयोग गरेको निष्कर्ष निकालेको थियो।

    उक्त प्रतिवेदनले षड्यन्त्रबारे कुनै प्रमाण फेला नपरेको उल्लेख गरेको थियो। यद्यपि ट्रम्पले सम्भवतः न्याय अवरुद्ध हुनेगरी काम गरेको भन्दै केही उदाहरण प्रस्तुत गरेको थियो। मुद्दामा ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको बेलामा क्लिन्टन र उनका सहयोगीहरूले एउटा अकल्पनीय षड्यन्त्र रचेको आरोप लगाएका छन्।


    उनका अनुसार त्यस्तो षड्यन्त्रले चेतनालाई स्तब्ध पार्छ र यो देशको प्रजातन्त्रलाई अपमान गर्छ। एउटा शत्रुराष्ट्रसँग सम्बन्ध भएको देखाउन खोजेर प्रतिवादीहरूले रिपब्लिकन उम्मेदवार डोनल्ड जे ट्रम्पविरुद्ध मिथ्या भाष्य निर्माण गर्ने षड्यन्त्र गरेको दाबी गरिएको छ। ट्रम्पले प्रतिवादीहरूबाट क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन्। ट्रम्पले आफू २.४ करोड डलर हानि बेहोर्न बाध्य भएको दाबी गरेका छन्।

    ट्रम्पले हिलरी क्लिन्टनबाहेक डेमोक्र्याटिक पार्टीको राष्ट्रिय समितिकी अध्यक्ष डेबी वासरमान शूल्ज, अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईका पूर्वनिर्देशक जेम्स कमी र डेमोक्र्याटिक पार्टीका राजनीतिक परामर्शदाता जोन पोडेस्टालाई पनि मुद्दा हालेका छन्। अमेरिकी निर्वाचनमा रुसले हस्तक्षेप गरेको भन्ने कुरा उठेपछि रोबर्ट म्युलरको नेतृत्वमा दुई वर्ष लामो अनुसन्धान भएको थियो।

  • अमेरिकाका सँग जेलेन्स्कीको गुनासो–’आश्वासन होइन, रुससँग लड्न मिसाइल देऊ’

    अमेरिकाका सँग जेलेन्स्कीको गुनासो–’आश्वासन होइन, रुससँग लड्न मिसाइल देऊ’

    काठमाडौं । रुस–युक्रेन युद्धको आज ३० औं दिन हो । झण्डै एक महिना बितिसक्दा पनि युक्रेन हार मानेको छैन र रुस पनि पछि हट्न तयार छैन । बिहीबार, नेटोले ब्रसेल्समा यस संकटलाई लिएर आपतकालीन बैठक गर्यो।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटो शिखर सम्मेलनलाई सम्बोधन गरे । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध रासायनिक हतियार प्रयोग गरेमा नेटोले गतिलो जवाफ बाइडेनले चेतावनी दिए । उनले रुसले जति हतियार प्रयोग गर्ने नाटोले पनि त्यस्तै हतियार प्रयोग गर्ने बताए ।

    तर, रुसविरुद्व युद्ध लडिरहेको यूक्रेनलाई भने हतियारको चरम अभाव भएको छ । रुससँग लड्न उस्काइरहेको नेटोले सहयोग नगरेको भन्दै यूक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गुनासो गरेको छन् । उनले तत्कालै एक हजार मिसाइल सहयोग गर्न जेलेन्स्की गर्नुपर्ने माग गरे ।

    युक्रेनले अमेरिकालाई रुसी सेनासँग लड्न दिनमा ५०० भाला र ५०० स्टिङगर आवश्यक पर्ने बताएको छ । सीएनएनको रिपोर्टका अनुसार युक्रेनले विगत केही दिनदेखि अमेरिकी सरकारसँग थप सैन्य सहायता लिनको माग गरेको छ ।

    पहिले अनुरोध गरिएको सैन्य सहायताभन्दा धेरै एन्टि-एयरक्राफ्ट र एन्टी-ट्याङ्क मिसाइलहरू यूक्रेनले माग गरेको छ । यस सूचीमा जेट, आक्रमण हेलिकप्टर र एस–३०० जस्ता एन्टि-एयरक्राफ्ट प्रणालीहरू पनि छन्।

    युक्रेनले यो सूची गत हप्ता अमेरिकालाई दिएको थियो । हालै यो सूची अमेरिकी सांसदहरूलाई हस्तान्तरण गरिएको छ। यस सूचीमा युक्रेनले अमेरिकी निर्मित स्टिङ्गर एन्टी-एयरक्राफ्ट मिसाइल र जेभलिन एन्टी-ट्याङ्क मिसाइलहरूको बढ्दो आवश्यकतालाई जोड दिएको छ। युक्रेनले यसलाई तुरुन्तै यी हतियार र उपकरणहरूको आवश्यकता रहेको बताएको छ।

    नेटोको प्रतिक्रिया के छ ?

    नेटोको केही सांसदहरूले अमेरिकाले युक्रेनलाई उनीहरूले मागेका हतियारहरू तुरुन्तै उपलब्ध गराउनुपर्ने माग गरेका छन् । नेभाडाका डेमोक्र्याट सेन ज्याकी रोजेनले गत साता पोल्याण्ड र जर्मनीको भ्रमण गरे र ती देशहरूमा आएका युक्रेनी शरणार्थीहरूलाई मानवीय सहायता प्रदान गर्ने नागरिक समाजका संस्थाहरूसँग भेट गरे।

    “उनीहरूलाई युद्धमा बाँच्नको लागि मात्र नभई युद्ध जित्नका लागि सबै हतियार र उपकरणहरू चाहिन्छ, त्यसैले हामी उनीहरूलाई हावाबाट जमिनमा मार हान्ने मिसाइलहरू, ड्रोनहरू र सबै लजिस्टिक सपोर्ट प्रदान गर्छौं”, रोजेनले सीएनएनलाई भने।

  • युकेनका रास्ट्रपतिको आह्वान : संसारभरबाट सडकमा उत्रिएर हामीलाई समर्थन दिनुहोस

    युकेनका रास्ट्रपतिको आह्वान : संसारभरबाट सडकमा उत्रिएर हामीलाई समर्थन दिनुहोस

    काठमाडौं । निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्बोधनमा संसारभरिका मानिसलाई बिहीवार सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन अपिल गरेका छन् । बिबिसीका अनुसार आफ्नो दैनिक सम्बोधनका क्रममा केही बेर अङ्ग्रेजीमा बोल्दै उनले मानिसहरूलाई युक्रेनी प्रतीक लिएर आउन भनेका छन्।

    उनले भने, “तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्। देखिनुस् र सुनिनुस्। मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस्।” “मार्च २४ मा युद्ध रोक्न चाहने सबैजना एकत्रित हुनुस्।” उनले युक्रेनमा रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडिरहेको पनि बताए।

    रुसको निर्मम र मुढे बललाई संसारले रोक्नुपर्ने उनले बताए। रुसले आक्रमण गरेको एक महिना बितिसकेको र यसबीच आफ्नो, सबै युक्रेनी जनताको अनि यस धरतीका सबै स्वतन्त्र मानिसको मुटु चुँडिएको उनले उल्लेख गरे । ब्रसल्समा नेटो बैठक हुन लागेको बेला उनको सम्बोधन आएको छ। बुधवार युक्रेनको राजधानी किएभका भूभागमा निरन्तर रुसी बमबारी भएका छन्।

  • युक्रेनी सेनाद्धारा रुसविरुद्ध सफलतापूर्वक प्रत्याक्रमण : अमेरिका

    युक्रेनी सेनाद्धारा रुसविरुद्ध सफलतापूर्वक प्रत्याक्रमण : अमेरिका

    काठमाडौं (बीबीसी) । रुसले आक्रमण थालेको एक महिना पुग्नै लाग्दा युक्रेनी सेनाले कतिपय ठाउँमा सफलतापूर्वक प्रत्याक्रमण गरिरहेको अमेरिकाले बताएको छ। युक्रेनी सेनाले खासगरि दक्षिणी भेगमा त्यस्ता कारबाही गरिरहेको पेन्टागनको भनाई छ । अमेरिकी रक्षा मन्त्रालयका अनुसार अतिक्रमणकारी रुसी सेनाको कब्जामा पुगेका केही भूभागमा पुनः नियन्त्रण कायम गर्नेगरी युक्रेनी सेनाले सफलतापूर्वक कारबाही गरिरहेको छ। पेन्टागनका प्रवक्ता जोन कर्बीले युक्रेनीहरू खासगरि दक्षिणी भूभागका केही क्षेत्रमा प्रत्याक्रमणमा उत्रिएको बताएका छन्।

    राजधानी किएभस्थित बीबीसी सम्वाददाता लीज डुसेटले अतिक्रमण सुरु हुँदाताका पूर्णतः रक्षात्मक अवस्थामा रहेका युक्रेनीहरू अहिले ठाउँठाउँमा प्रत्याक्रमणमा उत्रिएको बताइन्। क्राइमियाको सबैभन्दा नजिक रहेको र रुसी कब्जामा गएको खेअरसन सहरलाई आफ्नो नियन्त्रणमा लिन युक्रेनीहरू प्रयत्नरत रहेका समेत उनले जानकारी गराइन् ।

    दक्षिणको अर्को सहर भोज्नेसेन्स्कमा स्थानीय नागरिक तथा युक्रेनी सेनाले रुसी ट्याङ्कको एक लहरलाई नै ध्वस्त पारेर सहरमा आक्रमण गर्न खोज्ने रुसी सेनालाई पछि हट्न बाध्य पारेका छन्। राजधानी किएभको पश्चिममा रहेको माकारिभ नगरमा फेरि युक्रेनी झन्डा फहराइएको विवरण आएका छन्। तर दक्षिणी बन्दरगाह सहर मारिओपोलमा भने सहरको केन्द्रमै चर्को लडाइँ भइरहेका छन्। त्यहाँ रुसी बमबारी रोकिएको छैन। मारिओपोल जहाँ तीन लाख मानिस फसेका छन् ।


    युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले मारिओपोल सहर नै अब बाँकी नरहेको समेत बताएका छन्। युक्रेनकी उपप्रधानमन्त्रीले इरिना भेरेस्चुकले ६ दिन अगाडि बमबारीमा परेको थिएटरमा फसिरहेको ठानिएका सयौँ मानिसलाई उद्धार गर्नबाट अझैपनि उद्धारकर्मीहरूलाई रोकिएको बताएकी छन्। कम्तीमा एक लाख मानिस मारिओपोल सहरबाट भाग्न खोजिरहेको र उनीहरू खाना र पानीको अभावबाट गुज्रिरहेको उनले बताइन्।

  • ठूलो क्षति भएकाले पुटिनले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने बाइडनको दावि

    ठूलो क्षति भएकाले पुटिनले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने बाइडनको दावि

    काठमाडौं (बीबीसी) । युक्रेन युद्धमा बेहोर्नुपरिरहेको चर्को प्रतिरोधका कारण रुसी नेता भ्लादिमिर पुटिनले अब त्यहाँ जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्नसक्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्। त्यसैको तयारी स्वरूप रुसले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र रहेका जस्ता झुटा खबर फैलाएको उनले बताए। बितेका २६ दिनका लडाइँमा युक्रेनी सेनाको चर्को प्रतिरोध अनि पश्चिमा समुदायको एकताबद्ध प्रतिक्रियाका कारण पुटिन भित्तामा पुगेको भन्दै अब उनले झनै चर्का कारबाही गर्न सक्ने बाइडनले बताएका हुन्।

    उनले अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको वा युक्रेनमा त्यस्ता अस्त्र रहेको भन्ने रुसी दाबी पूरै असत्य भएको बताए। यस्ता दाबीले बरु रुस त्यस्ता अस्त्र प्रयोग गर्न लागिपरेको प्रस्ट सङ्केत गर्ने उनले बताए। उनले भने, ूअमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको उनको दाबी बिल्कुल झुटा हो। म त्यसको ग्यारेन्टी गर्छु। साथै युक्रेनमा त्यस्ता अस्त्र रहेको दाबी पनि गरिएका छन्। यी प्रस्ट सङ्केत हुन् उनी ती प्रयोग गर्न चाहन्छन्।

    अगुवा व्यापारीहरूसँग कुरा गर्दै बाइडनले पुटिनले अमेरिकाविरुद्ध साइबर हमलाको तयारी गरिरहेको हुनसक्ने पनि बताए। त्यस्ता हमलालाई रोक्न र प्रतिक्रिया जनाउन अमेरिकाले हरकिसिमको यत्न गर्ने पनि उनले बताए। अर्थिक प्रतिबन्धहरू लगाएको बदलामा रुसले त्यसो गर्न सक्ने उनको भनाइ थियो। साथै उनले अमेरिकी कम्पनीहरूलाई उनीहरूका डिजीटल सुरक्षा प्रबन्ध कसिकसाउ बनाउन पनि आह्वान गरे। यसअघि बाइडनले पुटिनलाई युद्ध अपराधी भनेपश्चात् वाशिङ्टनसँगको सम्बन्ध पूरै विच्छेदको अवस्थामा पुगेको मस्कोले चेतावनी दिएको थियो।

  • अमेरिकाले रुससँग सम्बन्ध भएको कम्पनीका १ सय वटा जहाजको उडानमा लगायो प्रतिवन्ध

    अमेरिकाले रुससँग सम्बन्ध भएको कम्पनीका १ सय वटा जहाजको उडानमा लगायो प्रतिवन्ध

    काठमाडौं । रुससँग सम्बन्धका भएका झन्डै १०० वटा विमानलाई अमेरिकामा सरकारले उडानमा प्रतिवन्ध लगाएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार तीमध्ये रुसी धनाढ्य रोमन अब्रामोभिचको एउटा निजी विमान समेत प्रतिवन्धमा परेको छ । ५५ वर्षीय अब्रामोविच चेल्सी फुटबल क्लबका मालिक हुन्। उनको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट सम्बन्ध रहेको बताइन्छ। तर उनले यो विषय अस्वीकार गरिरहेका छन् ।

    अमेरिकी वाणिज्य मन्त्रालयले ती विमानलाई रुससहित विश्वमा जुनसुकै स्थानमा सेवा उपलब्ध गराएको पाइए ठूलो जरिवाना र जेल सजाय हुनसक्ने चेतावनी दिएको छ। रुसमाथि लगाइएका प्रतिबन्धका कारण ती विमानमा पनि प्रतिबन्ध लगाइएको अमेरिकाको भनाई छ । अमेरिकाले रुसविरुद्ध प्रत्यक्ष युद्धमा भनग लिएको छैन । तर, आर्थिक प्रतिवन्धका माध्यमबाट दवाव भने बढाइरहेको छ ।

  • रुसलाई चीनले हतियार आपूर्ति गर्न सक्ने अमेरिकाको चिन्ता

    रुसलाई चीनले हतियार आपूर्ति गर्न सक्ने अमेरिकाको चिन्ता

    काठमाडौं । चीनले रुसलाई सैन्य उपकरण आपूर्ति गर्नसक्ने र युक्रेनविरुद्ध त्यसको प्रयोग हुनसक्ने भन्दै अमेरिकाले चिन्ता व्यक्त गरेको छ । बीबीसीका अनुसार वाशिङ्गटनमा एउटा पत्रकार सम्मेलनमा ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले युक्रेनमाथि रुसी अतिक्रमणको निन्दा गर्न अस्वीकार गरेको चीनको मुहारमा उसले चाहिरहेका सबै कुरा देखिएको टिप्पणी गरेकी छिन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रवार आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग टेलिफोन वार्ता गर्दैछन्। संयुक्त राष्ट्रसङ्घका लागि चिनियाँ राजदूतले वार्ताहरूमार्फत्‌ शान्ति बहाली गर्नुपर्ने पक्षमा बेइजिङ रहेको बताएका छन्। रुस र युक्रेनबीचको युद्धले मानवीय संकट गहिरिँदै जाँदा पश्चिमा मुलुकहरु रुसलाई चीनले सहयोग नदिओस भन्ने चाहन्छन् ।