Category: अमेरिका

  • कि खोप लगाउ, नभए हरेक साता कोरोना परीक्षण गर : राष्ट्रपति बाइडेन

    कि खोप लगाउ, नभए हरेक साता कोरोना परीक्षण गर : राष्ट्रपति बाइडेन

    वासिंटन डिसी । अमेरिकी सरकारले खोप वितरण सुस्त भएपछि नागरिकका लागि कडा रवैया अपनाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड १९ विरुद्ध लड्न विभिन्न उपायहरू सार्वजनिक गरेका छन्। बीबीसीका अनुसार उनले गरेको पछिल्लो घोषणा अनुसार ठूला कम्पनीका कर्मचारीहरूले कोभिड विरुद्धको खोप लगाउनुपर्ने वा साप्ताहिक रूपमा परीक्षण गराउनुपर्ने भएको छ ।

    अमेरिकामा ठूलो जनसंख्याले खोप लिन मानिरहेको छैन । अमेरिकामा कोभिड सङ्क्रमण बढी रहेका बेला पछिल्लो घोषणा गरिएको हो। अमेरिकामा कोभिडका बिरामी बढेका कारण अस्पतालहरू भरिभराउ भएका छन्। त्यहाँ हालसम्म ६,५०,००० भन्दा बढीले कोभिडका कारण ज्यान गुमाइसकेको तथ्यांक समेत बीबीसीले छापेको छ । बिहीवार ह्वाइट हाउसबाट गरिएको एक सम्बोधनका क्रममा बाइडनले १०० भन्दा बढी कर्मचारी रहेका सबै व्यवसायहरूमा अनिवार्य खोप लगाएको सुनिश्चित गर्न वा आफू कोभिड नेगेटिभ रहेको प्रमाण साप्ताहिक रूपमा दिने व्यवस्था लागु गराउन सरकारी निकायहरूलाई निर्देशन दिएका छन् ।

    यो निर्देशनले ८ करोड अमेरिकीहरूलाई प्रभावित पार्ने बताइएको छ। यो स्वतन्त्रता वा व्यक्तिगत छनोटको बारेमा नभई व्यक्ति र उसको वरपर रहेकाहरूलाई जोगाउन गरिएको घोषणा भएको उनले बताए । सङ्घीय सरकारले उपलब्ध गराएको सुविधाको उपभोग गरिरहेका १७ करोड स्वास्थ्य सेवा कर्मचारीहरूले पनि पछिल्ला नियमहरूको पालना गर्नुपर्ने छ।

    तुलनात्मक रूपमा छिट्टै सर्न सक्ने डेल्टा भेरिअन्ट अमेरिकामा फैलिएका बेला थप अमेरिकीहरूलाई खोप लगाउनका लागि बाइडनले नयाँ योजनाहरू तय गरेका हुन। बाइडनले खोप नलगाएका ८ करोड अमेरिकीहरू बारे निराशा व्यक्त गर्दै उनीहरूले अस्पतालहरूमा भिड बढाइरहेको र आर्थिक सुधारलाई कमजोर बनाइरहेको टिप्पणी गरे। उनले आफूहरूको धैर्य कमजोर हुँदै गएको बताउँदै सर्वसाधारणहरूलाई खोप लगाउन आग्रह गरे।

  • कप्तान मेसीको ह्याट्रिकमा अर्जेण्टिना विजयी

    कप्तान मेसीको ह्याट्रिकमा अर्जेण्टिना विजयी

    काठमाडौं । कप्तान लियोनल मेसीको ह्याट्रिकको मद्दतमा दक्षिण अमेरिकी विश्वकप फुटबल छनोटमा अर्जेण्टिनाले लगातार ८ औं जित निकालेको छ । दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेण्टिनाले शुक्रबार बोलिभियामाथि ३-० गोल अन्तरको जित निकाल्यो । ब्युनर्स आयर्समा सम्पन्न खेलमा तीन वटै गोल मेसीले गरेका हुन् । कप्तान मेस्सीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेका हुन् ।

    अर्जेन्टिनाले १४औं मिनेटमा कप्तान लियोनेल मेसीको गोलबाट अग्रता लियो । लियान्द्रो ड्यानियल पारेडेसको पासमा उनले दर्शनीय गोल गरे । ६४औं मिनेटमा कप्तान मेस्सीले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । उनले मार्टिनेजसँगको वान टु वान पासमा उत्कृष्ट गोल गरे । ८९औं मिनेटमा मेसीले ह्याट्रिक पुरा गरे । अर्जेन्टिनाबाका लागि यो उनको ७९औं गोल हो । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको ८ खेलबाट १८ अंक पुगेको छ ।

  • एमसीसी उपाध्यक्ष फतिमा आज नेपाल आउँदै

    एमसीसी उपाध्यक्ष फतिमा आज नेपाल आउँदै

    काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार आज नेपाल भ्रमणमा आउने भएक िछिन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी बिहीबार बिहान कतार हुँदै नेपाल आउन लागेको अमेरिकी दूतावासले जनाएको छ । नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा चर्को बहस जारी छ ।

    यो भ्रमणले एमसीसी अगाडी बढाउने वा रोक्ने भन्नेमा पनि ठोस निर्णय हुन सक्ने बताइएको छ । उनी चारदिन नेपाल बस्ने छिन् । सो अवसरमा उपाध्यक्ष सुमारले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे विभिन्न पक्षहरुसँग कुराकानी गर्ने बताइएको छ । नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेटघाट गर्नेछिन् । उनले एमसीसीमा रहेका भ्रम चिर्न प्रयास गर्नेछिन् ।

  • एमसीसीबारे अमेरिकाले नेपाललाई पठायो जवाफ, के दियो स्पष्टिकरण ?

    एमसीसीबारे अमेरिकाले नेपाललाई पठायो जवाफ, के दियो स्पष्टिकरण ?

    काठमाडौं । नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को व्यापक विरोध भइरहेको समयमा अर्थ मन्त्रालयले सोधेका ेप्रश्नको जवाफ अमेरिकाले नेपाललाई पठाएको छ । नेपालले सोधको प्रश्नको जवाफमा एमसीसीले यो सहयोग सैन्य रणनीतिको हिस्सा नरहेको स्पष्ट पारेको छ । सन् २०१७ मा हस्ताक्षर भएको यो सम्झौता अनुमोदन गर्ने समय ढल्कनै लागेको छ ।

    एमसीसी अब संशोधन समेत नहुने अमेरिकाले बताएको छ । मन्त्रालयले यो सहयोग इन्डो प्यासेफिक रणनीति अन्तर्गत भए नभएको, नेपालको संविधान माथि रहने वा नरहने, बौद्धिक सम्पत्ति को सँग रहने ?सहितका ११ वटा प्रश्न र १७ सहायक प्रश्न मिलेनियम च्यालेन्ज कर्पोरेसन, अमेरिकामा पठाएको हो ।

    अमेरिकाले ति सबै प्रश्नको जवाफ दिएको छ । बुधबार त्यसको जवाफ एमसीसीले सरकारलाई पठाएको छ । अमेरिकाले एमसीसी नेपाल कम्प्याक्ट हिन्द प्रशान्त रणनीति मातहतको सम्झौता नभएको भन्दै एमसीसी कम्प्याक्टहरु एमसीसी र साझेदार सरकारबीचका सम्झौता भएको बताएको छ । अमेरिका र नेपालबीचको बलियो सम्बन्ध हिन्द प्रशान्त रणनीति भन्दा धेरै अघि देखिको भएको समेत उसले बताएको छ ।

    एमसीसी लागू हुने अमेरिकी कानुन (मिलेनियम च्यालेन्ज ऐन २००३) ले कुनै पनि सैन्य प्रयोजनका निम्ती अनुदान कोषको प्रयोग गर्नबाट एमसीसीलाई निषेध गरेको भन्दै अमेरिकाले कानुनी बन्देजका बारेमा कप्याक्ट स्पष्ट रहेको बताएको छ । इन्डो प्यासिफिक रणनीतिको सम्बन्धमा नेपालको कुनै पनि निर्णय एमसीसी नेपाल कम्प्याक्टबाट अलग र स्वतन्त्र रहने एमसीसीले बताएको छ ।

  • साइकल स्वस्थ जीवनको पर्याय

    साइकल स्वस्थ जीवनको पर्याय

    कुमार न्यौपाने, न्युयोर्क

    सन् २०१८ मा संयुक्त राष्ट्रसंघ महासभाले जुन ३ लाई साईकलको दिन अर्थात ‘साइकल डे ‘ भनेर घोषणा गरेसंगै साईकलसंगको मानव सम्बन्ध र आगामी दिनमा यसको प्रयोग अत्याधिक रुपमा बढ्दैछ भन्ने पुष्टि भएको छ । यो मानवको स्वास्थ्य, स्वच्छ वातावरण र सुगम र सहज यात्राको बिषय पनि बनेको छ । यस अर्थमा साईकलको बिश्वव्यापी मान्यताले साईकलको इतिहासको कदर भयो र यसका यात्रीहरुकालागि खुसीको खवर बन्यो । यस खबरले जीवन गुजाराका लागि साईकलमा भर पर्ने एउटा मजदुर कति खुसी भयो होला थाहा भएन तर करोडौं साईकल यात्रीहरुको प्रतिनिधि पात्रको रुपमा साईकललाई नै आफ्नो व्यवसाय बनाई टुर डे फ्रान्स जस्तो प्रतियोगीताको लगातार सातौं पटकको किर्तिमानी बिजेता लान्स आम्स्ट्रङ्ग या विश्वशान्ति नारा बनाइ साईकलबाट नै संसार घुमेका किर्तिमानी नेपाली साईकल यात्री पुष्कर शाह पनि खुसी भए होलान ।


    जर्मन आविष्कारक वारोन भन ड्राइसले सन १८१७ मा प्याडल विनाको साईकल बनाएपछि फ्रेन्चहरुले साईकलको डिजाइनहरुमा परिमार्जन गर्दै लगे । क्रमिक रुपमा साईकलको आकार प्रकार र विकसीत सुबिधाहरुमा भएका परिवर्तनहरु आजपर्यन्त पनि कायमै छन । युग अनुसारको सुहाउँदो साईकलहरु बजारभरी पाइन्छ । बिश्वको उपभोग्य बस्तुहरुको उत्पादन, माग र त्यसको आपूर्तिलाई हेर्ने हो भने आज चीन बिना कल्पना गर्न नसकिने भएको छ । अन्य उपभोग्य सामानहरु जस्तै साईकलमा पनि चीनियाँ उत्पादनले बिश्वको ९.७ अरव डलरको साईकलको व्यापार मध्ये झण्डै ४०% (३.७ अरव) माग पूर्ति गर्ने रहेछ । कुनै बेला विश्वको साईकलको देश भनेर चिनिने चीन आर्थिक सम्बृद्धिसंगै साईकललाई मोटरकारले प्रतिस्थापन गर्दैछ । ठुलो जनसंख्या भएका देशहरुमा साईकलको प्रयोग घट्दै जाँदा वातावरण प्रदुषण बिन्दु चाँहि बढ्दै गएको प्रमाणहरु भेटिदैछन । पर्याबरणको संरक्षण हेतु नेदरल्याण्ड, डेनमार्क, अन्य स्केण्डीनेभियन देशहरु, जापान, कोरीया, कम्बोडिया, फ्रान्स र अन्य युरोपीय देशहरु साथै अमेरीकाले साईकल र साईकल यात्री सम्बन्धि नीति बनाई लागू गरेका छन । विश्वभरी साईकलको प्रयोगमा बिबिधता देखिएको छ । हिजोको दिनमा बाध्यताको रुपमा वा जिविकोपार्जनको लागि प्रयोग हुँदै आएको साईकल आज स्वस्थ जीवन, ओलम्पिक खेल, व्यवसायिक गतिविधि, रोमाञ्चक खेल (माउन्टेन बाईकिङ्ग) र यात्राको पर्याय बनेको छ
    केही समयदेखिको बसोवासको अनुभवले यो न्युयोर्क सहरको साईकल जीवन हेर्दा मिश्रित प्रकारको देख्छु । यँहा साईकलमा रोमाञ्कता छ र अर्कोतिर नैराश्यता । नैराश्यतालाई बिषय बनाई न्युयोर्केली साईकल यात्रीहरुको टाउको दुखाई भनेर लेख नै छापेको न्युयोर्क टाइम्स भन्छ, साईकलको सुरक्षा भएन अनि पर्याप्त साईकल स्ट्याण्डहरु खै ? यस सहर र वरपर झण्डै २० लाख साईकल छन । दैनिक साईकलबाट ओहोरदोहोर गर्नेको संख्या मात्रै झण्डै ६ लाख छन तर साईकल स्ट्याण्डहरु जम्मा ५६ हजारको लागि मात्र ! भएका साईकल स्ट्याण्डहरुपनि थोत्रा र पुराना साईकलहरुको थुप्रोले भरिएका । ति जंक (फोहोर) मानिने थोत्रा साईकलहरुको उचित व्यवस्थापन नभएसम्म साईकल स्ट्याण्ड थपेपनि समस्या जहाँको त्यही हुने देखिन्छ । छाना तथा सुरक्षा नभएका कारण छोटो वा लामो समयको लागि साईकल अड्याउन पनि मुश्किल छ । केही घण्टाका लागि साईकल बिसाउँदा नै सिङ्गै साईकल वा साईकलका महत्वपुर्ण भागहरुको चोरीको विगविगीले साईकल यात्रीको टाउको दुखाएको छ । सहरका कयौं साईकल बिसौनीहरुमा ताल्चा मारिएको भाग मात्रै भेटिनुले साईकलको असुरक्षाको मापन गर्न सकिन्छ र आफु बस्ने घर, अपार्टमेण्टमा साईकल राख्ने ठाँउको अभावले ईच्छा हुँदाहुँदै पनि साईकल किन्न नसकेकाको पिडा पनि उत्तिकै छ ।


    साईकलको उज्यालो पाटो पनि छ । विश्वव्यापी रुपमै साईकलको प्रयोगमा हिजो भन्दा बढोत्तरी हुदैछ । साईकलको स्वर्ण समय भनेर मानिने यो कोरोना कालले साईकलको महत्वलाई नयाँ उचाइमा पुर्याएको छ । १,३५० माइल साईकल बाटाहरु भएको न्युयोर्क सहरमा साइकलको लागी बाटाहरु थपिदै छन र साईकल बिसौनीहरु पनि व्यवस्थित र सुविधासम्पन्न बन्नुपर्छ भन्नेमा सबै जागरुक देखिन्छन । साईकलको अर्को अनौठो लाग्ने पक्ष छ त्यो हो यँहा पाईने साईकलमा प्रकारहरु । सानो ठुलो, सस्तो महँगो, होचो अग्लो, मोटो पालतो, गह्रुङ्गो, हलुङ्गो, व्यवसायिक, खेलकुदको लागी, शारीरिक फरकपन भएकाहरुको लागी, सामान बोक्नको लागी, बच्चाहरु डुलाउनको लागी, बिद्युतीय, या सोलारबाट चल्ने या दोब्र्याएर लैजान मिल्ने (फोल्डिङ्ग) साईकलहरुले साईकल यात्रीहरुलाई रौनकता थप्दो छ । सहरले व्यवस्था गरेको सिटीवाइक नाउँका साईकलहरु पनि प्रसस्त नै छन । आफैले सिटिवाइक एप डाउनलोड गरी साईकल बिसौनिबाट साईकल लिई मन लागेको ठाँउ जाने र नजिकैको बिसौनीमा छोड्न मिल्ने साईकलको सहर बनाउने योजना अनुसार हाल भएको १८ हजार सीटीबाइकको संख्यामा थप गरी ४० हजार बनाउने भन्ने योजनाले साईकल र साईकल यात्रीहरुको हितमा काम हुदैछ भन्ने देखिन्छ ।
    लण्डनको भन्दा एकतिहाई कम साईकल स्ट्याण्ड भएको न्युयोर्क सहरले व्यवस्थित गर्न नसकेको अर्को पाटो सववेमा साईकल अड्याउनको लागी स्ट्याण्डहरुको अभाव । न्युयोर्कमा सववे भने झैं लण्डनका अण्डरग्राउण्ड ट्रेन सिस्टममा टाढाका जागीरे यात्रुहरुकोलागी निकै राम्रो व्यवस्था भएको पाइन्छ । यस्तो पुर्वाधारमा बेइजिङ्ग, टोकियो र सोल अव्वल मानिन्छन । युरोपका कयौं सहरहरुले साईकललाई साच्चिकै माया गरेका छन, नेदरल्याण्ड र डेनमार्कका प्रधानमन्त्रीहरु नै नियमीतरुपमा साईकल चढी कार्यालय जाने भएकोले आज ती देशहरु मोटरजन्य प्रदुषणलाई उल्लेख्यरुपमा कम गर्न सक्षम भएका छन । विश्व पर्यावरण, नागरीक स्वास्थ्य, साईकल यात्रीहरु र बटुवाहरुको हितकोलागी कोपनहेगनाइजेसन मोडलको साईकल सम्बन्धी पुर्वाधारको बिकास आजको आवश्यकता हो भनि विज्ञहरु बताउँदैछन ।
    आफ्ना कुराहरु ठुला र लामा परियोजनाहरु नभएपनि काठमाडौंका केही सडकहरु, पाटनको मुख्य सडक तथा भक्तपुरको बाटोहरुमा साईकल मैत्री बाटोहरु बन्दै जानु सकारात्मक कुरा हो । पुष्कर शाह लगायत कयौं साईकल यात्री तथा सम्बन्धित संघसंस्थाहरुको बारम्वारको माग, परामर्श र आव्हनमा नेपालमा पनि साईकल मैत्री सडक बनाउन पर्ने र साईकलको सुविधाकोलागी राज्यले लगानि गर्नुपर्ने बिषय सुन्न पाईदैछ ।
    साईकल चलाउन सबैलाई मनपर्छ होला । एकताका भनेको सुनिन्थ्यो कि चितवन तिर साईकल चलाउन नजान्ने छोरीमान्छेको बिहे नै हुन्न । हाम्रो तिर चितवनको जस्तो नभएतापनि दिदीहरुले सिक्नको लागि भाडामा साईकल ल्याउनुहुन्थ्यो, त्यसैको मौका छोपी साईकलसंग नजिकिन पाउँथें । १८९० ताका न्युर्योकको हार्लेमतिर महिला उत्थानको नारा संगै साईकल चलाउन सहरले नै सिकाउदै गर्दा १९९० तिर मेरो दिदीहरु चाँहि स्वतस्फुर्तरुपमा साईकल चलाउन जान्नुपर्छ भन्दै सिक्दैथिए । स्वतन्त्रता र उत्थानको आन्दोलनमा होमिएको साईकलसंगको मेरो त्यस्तो अविष्मरणीय सम्बन्ध त छैन तर केही सम्झनाहरु भने पक्कै छन ।
    सानोमा दिदीहरुले सिक्नको लागी भाडामा ल्याउने फुच्चे साईकलहरु मौका पाउँदा घुमाएको भरमा सिकेको मलाई साहिँलो दाजुले रक्सौलबाट सिटिजन घडिसंगै ल्याइदिनुभएको मझ्यौलो साईकलले निकै खुसी दिएको थियो । एसएलसी परीक्षा र ट्युसनको चक्करले नयाँ साईकल जुराइदियो । हेटौंडा वरपर साईकल कुदाएको सम्झना ताजै छ, पछि काठमाण्डौंमा साईकलसंग खासै नाता रहेन । त्यसपछिको बाह्र पन्ध्र बर्षको समय मोटरसाईकल र मोटरगाडी भनेरै बित्यो । अघिल्लो महिना आल्बनि घुम्ने क्रममा छोरीको करले भाडामा लिएको साईकलको छोटो यात्रा नै उ बेलाको साईकलको यात्रा सम्झाउने माध्यम बन्यो । हरिया घाँसबीचका गोरेटो बाटोहरुमा साईकल कुदाएको गहिरो आनन्दपुर्ण सम्झनाले मन पुलकित भयो । हाल बसोवास रहेको इष्ट भिलेजको पिटर कुपर अपार्टमेण्टमा साईकलको लागी स्टोरेज छ छैन बुझ्दैछु, तिव्र गतिको यो व्यस्त सहरमा आफु र परिवार सुहाउँदो साईकल किन्ने सोच्दैछु ।
    भनिन्छ नि हजारौं माइलको यात्रा पनि पहिलो पाईलाबाटै सुरु हुन्छ त्यही नै सही, यो एउटा सानो पहलले विश्व जलवायु परिवर्तनको उग्रतालाई मत्थर पार्न झिनो काम गरोस र आफ्नै वरपरको पर्यावरण र स्वास्थ्य जोगाउन साईकल किन्ने मेरो सोचाईसंग धेरैको सोचाई मिलोस ।

  • अमेरिकामा कलाकारहरुको अधिवेशन सम्पन्न

    अमेरिकामा कलाकारहरुको अधिवेशन सम्पन्न

    पुष्कर बराल, न्यूयोर्क

    उत्तर अमेरिकामा रहेका नेपाली कलाकारहरुको संस्था नेपाली अमेरिकन कलाकार संघको साधारण सभा तथा ५ औं महाधिवेशन सम्पन्न भएको छ।
    न्युयोर्कको क्विन्समा सम्पन भएको महधिवेशनले आगामी नयॉ कार्यसमिति अनेक बाधा बिरोध र अड्चनका बाबजुत पनि निर्विरोध चयन गरेको छ । नयाँ अध्यक्षमा लोक गायिका निसा सुनार निर्विरोध निर्वाचित भएका छन। हिजो न्यूयोर्कमा सम्पन्न संघको अधिबशनबाट निसा सुनार अध्यक्षमा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएकी हुन् | यो कार्य समितिको कार्यकाल २ बर्षको रहने समितिले जनाएको छ ।
    १७ सदसिय कार्यसमितीमा प्रमुख संरक्षक अभए ढुङ्गेल सहित सम्पूर्ण पदमा सर्वसम्मत नेतृत्व चयन भएका छन् । ३ जनाको निर्वाचन समिति रहेको निर्वाचन समितिमा समाजसेवी जिपिके फ़ाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरे , तमु परिवारका अध्यक्ष मनिता गुरुङ, समाजसेवी बिष्णु राना मगर थिए । निर्वाचन प्रमुख सोमनाथ घिमिरेले सम्पूर्ण पदको लागी उमेद्वार दर्ता गर्न ३० मिनेट र उमेद्वारी दिन र फिर्ता गर्न दिईएको समय ५ मिनेटको समयमा सबै पदहरुको लागी पद सँख्या बराबर मात्रा उमेद्वारी परेको हुँदा उमेद्वारी दिनुहुने सबैजना निर्विरोध तथा स-सम्मातित रुपमा विजयी हुनुभएको घोषणा गर्नु भएको थियो ।

    कार्यक्रमका प्रमुख अथिति न्युयोर्कका कार्यवहाक महाबाणिज्यदुत बिष्णु प्रसाद गौतम तथा बिशेष अथिति फिप्नाका अध्यक्ष लोक चेम्जोङ, पर्यवेक्षक केशबराम राईको संम्योजकत्वमा समाजसेवी नवराज केसी गोमा योन्जन, सुमन टि लिम्बु रहेका थिए । सोहि असररमा नवनिर्वाचित पधादिकारीहरुलाई आ-आफ्नो पदको सपथग्रहण प्रमुख निर्वाचन आयुक्तद्वारा गरिएको थियो ।

    नव निर्वाचित कार्यसमितिमा अध्यक्ष-निसा सुनार, वरिष्ठ उपाध्यक्ष-बसन्ती राई , उपाध्यक्ष-बिमल डॉगी, उपाध्यक्ष-बिक्की पुलामी मगर, उपाध्यक्ष राजेन्द्र राई, उपाध्यक्ष ईत्ना कार्की, महासचिव-संगीता थापा मगर, सचिव-मधुर गिरी, कोषाध्यक्षमा पुष्कर बराल सह-कोषाध्यक्ष-पुजा न्यौपाने, र समितिको बोर्ड सदस्यहरुमा नविन श्रेष्ठ, चिनिया लाल श्रेष्ठ, बुद्धिमान घिसिङ, पुष्पा बस्नेत, माया राई रहेका छन् ।

    अधिवेशन कार्यक्रममा न्युयोर्कका समाजसेवि साहित्यकार पत्रकार कलाकर्मी र बिभिन्न संघसंस्थाका प्रतिनिघिहरुको उपस्थिति थियो ।
    नेपाली अमेरिकी कालाकार सँघले अहिलेको जस्तो बिसम परिस्थितिमा पनि सबैलाई उदाहरण प्रस्तुत गर्दै हामी नेपाली भनेको कर्ममा विश्वास गर्ने फ़ुटेर होईन जुटेर अघि बढ्नु पर्दछ भन्दै हामीले प्रजातांत्रिक पद्धतिबाट कर्मको विश्वास गर्दै न कुनै भोटिङ् न कुनै बिबाद न कुनै गुट उप-गुट, बिना नयाँ कार्यसमिति गठन गरेकोमा यसले सबैमा एउटा गतिलो पाठ सिक्न मद्दत गर्नेछ र आजको हाम्रो आवश्यकता पनि हो भन्ने कलाकारहरुले संदेश दिएका छन् ।

  • अमेरिकी दूतावास भन्छ : हामी एमसीसीको स्वस्थ बहसको पक्षमा छौं

    अमेरिकी दूतावास भन्छ : हामी एमसीसीको स्वस्थ बहसको पक्षमा छौं

    काठमाडौं । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने वा नगर्ने भन्ने विषयले बहसको उचाई छोएको छ । यस विषयमा नकारात्मक टिप्पणी बढी आइरहेका छन् । केही दिन अगाडी गृह मन्त्रालयले एमसीसीका सम्बन्धमा नकारात्मक टिप्पणी नगर्न भन्दै विज्ञप्ती निकालेको थियो । तर, अमेरिकी दुतावासले भने अमेरिकी सरकार स्वस्थ्य बहसको पक्षमा रहेको बताएको छ ।

    काठमाडौंस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे तथ्यमा रहेर हुने बहसको पक्षमा अमेरिकी सरकार रहेको बताएको हो । दूतावासले आफू अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको र एमसीसीबारे पनि तथ्यमा आधारित भएर हुने बहसलाई स्वागत गर्ने बताएको हो । दूताबासले सोमबार साँझ ट्वीट गर्दै ‘लोकतन्त्रमा आफ्नो विचार शान्तिपूर्ण ढंगले व्यक्त गर्ने अधिकार रहेको समेत बताएको छ । मंगलबार एमसीसीका उपाध्यक्षको नेपाल भ्रमण हुँदैछ ।

  • विश्व शान्ति, सद्भाव र समानताका लागि न्यूयोर्कमा शान्तिपूर्ण प्रदर्शन हुने

    विश्व शान्ति, सद्भाव र समानताका लागि न्यूयोर्कमा शान्तिपूर्ण प्रदर्शन हुने

    न्युयोर्क

    सोलिड्यारिटी फोर डा. केसी अलाइन्सले न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ ।
    आयोजकका अनुसार कार्यक्रम यही २० र २१ सेप्टेम्बर २०२१ का दिन बिहान ९ बजेदेखि ४ बजेसम्म विश्व शान्ति, सद्भाव र समानताका लागि गर्न लागिएको हो ।

    कार्यक्रमलाई लक्षित गर्दै सत्याग्रह अभियन्ता डा. गोविन्द केसीले सबै समक्ष अपील गरेका छन् । अनुरोधको पूर्णपाठ;

    “हामी एक दशकदेखि नेपालको स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार र सुशासनका लागि लडिरहेको विदितै छ । हाम्रो सत्याग्रह आन्दोलनमा नागरिक समाजका सदस्यहरुको पनि सहयोग र सद्भाव रहदैं आएको छ । सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा न्यायोचित पहुँच सुनिश्चित गर्नु नै हाम्रो आन्दोलनको उदेश्य रहेको छ । नेपालका पछिल्ला सरकारहरुबाट भएका अनेक अवरोध र धोखापूर्ण कार्यका बावजुद पनि हाम्रो सत्याग्रह मार्फत स्वास्थ्य तथा शिक्षा क्षेत्रहरुमा केही महत्वपूर्ण उपलब्धिहरु हासिल गर्न देश सक्षम भएको कुरा म निवेदन गर्न चाहन्छु ।

    यसै क्रममा १९ औं पटकमा २५५ दिन अनशन आन्दोलनका रूपमा सत्याग्रह गर्नु परेको थियो । नेपालको समग्र स्वास्थ्य शिक्षा तथा सेवाको सुधारका अभियानलाई निरन्तरता दिदैं विगत दुई दशकदेखि विश्वका अन्य धेरै देशहरुमा भएका प्राकृतिक र मानव निर्मित प्रकोपका बेला मानवीय राहत कार्यमा पनि म निरन्तर संलग्न रहदै आएको कुरा पनि म स्मरण गराउन चाहन्छु ।

    यसै क्रममा युद्धग्रस्त यमनका जनताहरुलाई तीन महिना सेवा दिएर भर्खरै फर्किएको छु । म्यानमारबाट विस्तापित रोहिंग्या शरणार्थीहरुलाई बंगलादेशमा सन् २०१९-२०२० मा सेवा गर्ने अवसर पनि पाएँ । सन् २०१९ अफ्रिकाको मोजाम्विकमा आएको साइक्लोन इदाइका पीडित जनतालाई एक महिना राहत-सेवा पुर्याउने अवसर पाएँ । भारतको बद्रीकेदार बाढीपहिरो (सन् २०१३) पीडितको सेवामा रहँदा मृत्युको मुखबाट बच्न सफल भएँ । अन्य मानवीय कार्यमा फिलिपिन्सको टाक्लोबानको टाइफुन हैयान (सन् २०१३), हेटीको विनाशकारी भूकम्प (सन् २०१०) भारत गुजरातको महाभूकम्प (सन् २००१), पाकिस्तान नियन्त्रित कास्मिरको महाभूकम्प (सन् २००५), वर्माको आँधिबेरी साइक्लोन नर्गिस (सन् २००८) र पाकिस्तानको बाढीको विपद् (सन् २०११)का बेला पनि मानवसेवा-धर्म गर्नु मेरो कर्तव्य ठाने।
    यो पनि स्मरण रहोस्, नेपाल आफैंले एक दशक लामो सशस्त्र संघर्षको सामना गर्नुपरेको थियो । जसमा हजारौं मानिस मारिए, धेरै घाइते र लाखौं विस्थापित भए । त्यो दुर्दान्त सयममा पनि घाइतेहरुको उपचारमा म संलग्न भएको कुरा पनि विदितै छ भन्ने लागेको छ ।

    विश्वमा घटेका कहालिलाग्दा त्रादस घटनाको प्रत्यक्षदर्शी बन्नुले मानविय द्वन्दका कुरुपतासँगै दैवीय विनाश र त्यसबाट सृजित पीडा, निराशा र भयावहताको नजिकबाट अनुभव गर्ने मौका पाएँ । यस्तै बेलमा हामीले अनुपम मानवीय करुणा, माया र आशाको दीयो बाल्नु पर्छ भन्ने ठानेर देश–देशावर पुगेँ ।

    मैले नेपालका सुगममात्र हैन अनेक दूर्गम ठाउमा बसोवास गर्ने निसहाय जनताको सेवाका लागि पटकपटक भ्रमण गरेँ । राहत-सेवा र अध्ययन भ्रमणका क्रममा संसारमा भएको वातावरणीय विनाश र जलवायु संकटको प्रभावलाई पनि नजिकबाट नियाल्ने मौका पाएँ । संसारका सम्पूर्ण मावन तथा पशुप्राणीका लागि विनाशक बन्दै गएको जलवायु विनाशको यो विश्वव्यापी समस्याको सबैभन्दा बढी कष्ठ गरीवीमा बाँच्न वाध्य मानिसले नै भोग्नु परेको अनुभव गरेँ ।

    म यहाँ अर्को एउटा कुरा पनि ध्यानाकृष्ट गराउँन चाहन्छु- म आफैं पनि ‘कोभिड निमोनिया’ संक्रमित भएको थिएँ । आज म जस्तै धेरै डाक्टर, स्वास्थकर्मी र सर्वसाधरण मृत्युवरण गर्न वाध्य भए । यसको प्रमुख कारण खोपको अभाव नै थियो । अहिले पनि विकासशील देशहरुमा ९०% भन्दा बढी मानिस अझै पनि कोभिड खोपको पहुँचबाट वञ्चित छन् । यो निराशाजक अवस्थामा विकसित देशहरु आफ्ना नागरिकका लागी ‘बूस्टर जाब’ तिर लागेका छन् । खोप वितरण प्रणालीको यो असमानतालाई अन्याय मात्र हैन रंगभेदको रूपमा पनि तुलना गर्न सकिन्छ ।

    आज संसार एक ग्लोबल गाउँमा परिणत भएको छ । संसारको एक कुनामा जे भए पनि त्यसले हरेक कुनामा सबैलाई प्रभावित गर्छ । यो कुरा पनि कोभिड–१९ले पनि प्रमाणित गरेका छ तर मानवीय र प्राकृतिक साधन-स्रोतको वितरणमा निराशा लाग्दो असमानता छ ।

    आज विश्वभरिका मानिसहरु द्वन्दको अन्त्य, जलवायु कार्य, जलवायु न्याय, स्वास्थ्य र सबैका लागी शिक्षा तथा कोभिड खोपका लागि वकालत गर्दै आएका छन् । मलाई विश्वास छ- हामी सबैको सामूहिक प्रयासले मात्र मानवता र हाम्रो गृहग्रह पृथ्वीलाई बस्ने ठाउँको रूपमा बचाउन सकिन्छ ।

    आज हामीले देशव्यापीभन्दा माथि उठेर विश्वव्यापी नागरिकको हैसियतले केही गर्न जरुरी ठानेको छु । त्यसैले नेपालमा मात्र हैन यी मुद्दाहरु ग्लोबल फोरममा उठाउनु हाम्रो पनि दायित्व हो भन्ने लाग्छ ।

    अत: २१, सेप्टेम्बर २०२१ विश्व शान्ति दिवस हो । यसै समयमा संयुक्त राष्ट्र संघको महासभा पनि बस्दै छ । विश्वमा फैलिएको द्वन्द, पर्यावरणीय विनास, सबैका लागि स्वास्थ र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उदेश्यले अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र संघको मुख्यालय भवन नजिकैको क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गरिने भएको हुँदा सक्रियतापूर्वक भाग लिन म अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायलाई संस्थागत तथा व्यक्तिगतरूपमा हार्दिक अपील गर्छु ।

    यो प्रदर्शनी एउटा नेपालीका तर्फबाट नभई संसारभर छरिएर रहेका सबै नेपालीको भावनात्मक प्रदर्शनी पनि हुने विश्वास मैले लिएको छु ।
    प्रदर्शनीका क्रममा हामी संयुक्त राष्ट्रको नियमका साथै कोभिड-१९ का लागि सिडिसी, अमेरिकाका प्रोटोकलको कडाईसंग पालन गर्नेछौं ।
    प्रदर्शनका विषयहरुः

    • जलवायु कार्य र जलवायु न्याय
    • सबैका लागि कोभिड खोप सहित सबैका लागि स्वास्थ्य र शिक्षा
    • यमन, सोमालिया, दक्षिण सुडान, इथियोपिया, सिरिया, र मध्य अफ्रिकी गणतन्त्र लगायत युद्धग्रस्त देशहरुमा स्थायी शान्ति स्थापना गर्न सबै देशले भूमिका खेल्नु पर्ने ।
    • म्यानमार, अफगानिस्तान, यमन इथियोपिया सोमालिया दक्षिण सुडान लगायत अन्य देशका शरणार्थीहरुलाई न्यायिक र मानवीय सहायता गर्नु पर्ने ।
      अन्त्यमा, विगतका सत्याग्रह तथा आन्दोलनमा भएको यहाँहरूको सक्रिय सहभागित, विश्वास, समर्थन र एकताका लागि सबैप्रति सादर धन्यवाद भन्न चाहन्छु”।

    सम्पर्कका लागि;
    सोलिड्यारिटी फोर डा. केसी अलाइन्स
    डा. गोविन्द केसी
    Ph: 984-009-6711
    Email: [email protected]
    सम्पर्क- शिव प्रकाश (अमेरिका)
    Ph: 781-325-2242
    Email: [email protected]

  • एमसीसीबारे नेपालले अमेरिकालाई लेख्यो पत्र, के छ पत्रमा ?

    एमसीसीबारे नेपालले अमेरिकालाई लेख्यो पत्र, के छ पत्रमा ?

    काठमाडौं । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहायता स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा तिव्र विवाद छ । यसै विवादका बीच एसीसी सम्झौताका ‘विवादित विषय’बारे स्पष्ट गर्न भन्दै नेपाल सरकारले अमेरिकी सरकारलाई पत्र लेखेको छ । यस्तो पत्र अर्थ मन्त्रालयले दूतावासमार्फत अमेरिकी सरकारलाई पठाएको हो । जसमा सम्झौतामा उल्लेख रहेका केही अस्पष्ट बुँदालाई थप स्पष्ट गर्न भनिएको छ ।

    सरकारले पत्रमा एमसीसी अमेरिकाको ‘इन्डो प्यासेफिक रणनीति’को अंग भए, नभएको र एमसीसी अमेरिकी सुरक्षा नीतिसँग जोडिएको, नजोडिएकोबारे स्पष्ट गर्न भनेको छ । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाबारे बुझ्न आगामी साता नेपाल आउने तयारी छ । एमससी संसदमा विचाराधिन रहेको छ ।

  • एमसीसीकी उपाध्यक्ष सुमर नेपाल आउने

    एमसीसीकी उपाध्यक्ष सुमर नेपाल आउने

    काठमाडौं । नेपालमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता कार्यान्वयनमा तिब्र विवाद र बहस जारी रहेको समयमा एक उच्चस्तरीय एमसीसीको टोलीले नेपाल भ्रमण गर्ने भएको छ । एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर नेपाल आउन लागेकी हुन् । उनको साथमा एमसीसी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स समेत रहने बताइएको छ । यो भ्रमण आगामी साता हुने सम्भावना छ । पाँच दिनसम्म नेपाल रहने टोलीले एमसीसी बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धनका नेताहरू र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेट्ने भएको छ ।

    नेपालले २०७४ भदौ २९ मा ऊर्जा र सडक पूर्वाधार निर्माण गर्न ५ सय मिलियन अमेरिकी डलर अनुदान पाउने गरी एमसीसीसँग सम्झौता गरेको गरेको हो । यो सम्झौता संसदबाट अनुमोदन भएमात्र कार्यान्वयनमा आउँछ । तर, सम्झौताको चार वर्ष पुग्नै लाग्दा पनि सम्झौता कार्यान्वयनमा आउन सकेको छैन । नेपालमा एमसीसी पास नहुँदा अमेरिका भने असन्तुष्ट रहेको छ । नेपालमा एमाले भित्र एमसीसीका पक्षमा दुई धार छन् । माओवादी विपक्षमा र कांग्रेस पक्षमा रहेको छ ।

  • अफगानिस्तानमा बसिरहनुको औचित्य थिएन, सेनाले उच्चस्तरको काम गर्यो : बाइडेन

    अफगानिस्तानमा बसिरहनुको औचित्य थिएन, सेनाले उच्चस्तरको काम गर्यो : बाइडेन

    वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेना अफगानिस्तानमा बसिरहनुको कुनै औचित्य नरहेको भन्दै सेना फिर्तीको बचाउ गरेका छन् । अफगानिस्तानबाट मंगलबार पुरै सेना अमेरिका फर्किएपछि देशबासीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सम्बोधनका क्रममा तालिबान शासनमा रहन नचाहने र अफगानिस्तानबाट बाहिर निस्कन चाहने एक लाख २० हजारभन्दा बढीको हवाई उद्धार गरिएको समेत जानकारी गराए । यसका लागि उनले सेनालाई धन्यवाद दिएका छन् । सन् २००१ मा अमेरिकी सेना अफगानिस्तान छिरेको हो ।

    तर, सेना बर्हिगमन हुँदा यहाँको सत्ता पुनः तालिवानको हातमा पुगेको छ । अमेरिकामा भएको आतङ्कवादी हमलाको जिम्मा लिएको अलकायदाको आधार उक्त देश रहेको भन्दै त्यसबेला अमेरिकाले हमला गरेको हो । राष्ट्रपति बाइडेनले अमेरिकी, अन्य साझेदार देशका नागरिक र अमेरिकीका लागि काम गरेका तर अफगानिस्तान छाड्न चाहने अफगानीको उद्धार गर्न विमानस्थलमा नियन्त्रणको प्रयोजनमा ६ हजार सैनिक पठाएका थिए। यो कदमलाई उनले युद्ध अन्त्यको घोषणा समेत गरेका छन् ।

  • अमेरिकामा टिम एभरेष्टका खेलाडीहरुले दुई स्वर्ण र एक रजत पदक जित्न सफल

    अमेरिकामा टिम एभरेष्टका खेलाडीहरुले दुई स्वर्ण र एक रजत पदक जित्न सफल

    बाल्टिमोर

    भारतको लखनऊमा अगष्ट १४-१६, २०२१ मा सम्पन्न भएको प्रथम अन्तर्राष्ट्रिय अनलाईन ओपन तेक्वान्दो पुम्से प्रतियोगितामा टीम एभरेष्टका खेलाडीहरुले दुई स्वर्ण र एक रजत पदक जित्न सफल भएका छन ।

    महिला ४० बर्ष भन्दा माथिको मास्टर समुहमा मास्टर कल्पना कार्कीले ईन्डिया, हङकङ लगायत अन्य पाँच राष्ट्रका खेलाडीहरुलाई पछि पार्दै ६.१ अंक प्राप्त गरी स्वर्ण पदक जित्न सफल भएका छन् । माष्टर कल्पना अमेरिकाको बाल्टिमोरमा एभरेष्ट वर्ल्ड क्लास तेक्वादो स्कुल सन्चालन गरी प्रशिक्षण दिदै आईरहेका छन् ।

    त्यसैगरी पुरुष ४० बर्ष भन्दा माथीको मास्टर समूहमा मास्टर राजु नगरकोटीले मलेशिया, हङकङ, जर्मनि लगायत अन्य ६ राष्ट्रका खेलाडीहरुलाई पछि पार्दै फ़ाइनलमा ईन्डीयाका खेलाडीसँग झिनो अन्कले पछि हुदै ५.७ अंक प्राप्त गरी रजत पदक जित्न सफल भएका छन । मास्टर राजु नगरकोटी तिन दशकदेखि निरन्तर रुपमा नेपाल, मकाऊ र अमेरिकामा खेलाडी, प्रशिक्षक र निर्णायकको भुमिका निर्वाह गर्दै आईरहेका छन् ।

    यसैगरी सीनियर तेक्वान्दो खेलाडी रमेश कार्कीले ईन्डीया, क्यानाडा लगायत अन्य ६ राष्ट्रका खेलाडीहरुलाई पछि पार्दै ५.९ अंक प्राप्त गरी स्वर्ण पदक जीत्न सफल भएका छन । रमेश कार्की हाल भारतीय सैनिक सँगै तेक्वान्दो खेललाई पनि प्राथमिकताका साथ निरन्तरता दिदै आईरहेका छन ।

  • अफगानिस्तानका लागि अमेरिकी दूतावास अब कतारबाट चल्ने

    अफगानिस्तानका लागि अमेरिकी दूतावास अब कतारबाट चल्ने

    दोहा । अफगानिस्तानस्थित अमेरिकी दूतावास कतारमा सारिएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै दूतावास समेत सारिएको हो । २० वर्षको युद्धपछि अमेरिी सैनिक मंगलबाट पूर्ण रुपमा अमेरिका छाड्दै स्वदेश फर्किएका छन् । यसको खुसियालीमा तालिवानले उत्सव समेत बनाएको छ । अमेरिकी विदेशमन्त्री एँटोनी ब्लिंकेनले अमेरिकाले अफगानिस्तानमा एक नयाँ कूटनीतिक मिशन शुरू गरेको बताएका छन् ।

    उनका अनुसार अमेरिका काबुलस्थित दूतावास बन्द गरेको छ । अब यो दूतावास कतारको राजधानी दोहामा स्थानान्तरण भएको छ । उनले यूएस मिलिट्रीको अन्तिम उडान पुरा भएको भन्दै अफगानिस्तानसँगको सम्बन्ध नयाँ शिराबाट अगाडी बढ्ने बताए । उनले यसलाई नया अध्याय शुरूभएको समेत जनाएका छन् । सैन्य अभियान पुरा भएसँगै अमेरिकाले डिप्लोमेटिक मिशन शुरू गरेको समेत उनले बताएका छन् ।

  • अन्ततः अफगानिस्तानबाट पूर्णरुपमा फिर्ता भयो अमेरिका, २० वर्षे कारवाही अन्त्य

    अन्ततः अफगानिस्तानबाट पूर्णरुपमा फिर्ता भयो अमेरिका, २० वर्षे कारवाही अन्त्य

    काबुल । संयुक्त राज्य अमेरिकको सेना मंगलबारबाट पूर्ण रुपमा अफगानिस्तानबाट फिर्ता भएको छ । अमेरिकाले यहाँ २० वर्ष युद्ध लडेसँगै फिर्ता भएको हो । काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएको बीबीसीले लेखेको छ । उक्त फौज फिर्ती अभियानको सुपरिवेक्षण गरेका जनेरल फ्र्याङ्क मकेन्जीका अनुसार अमेरिकाले पछिल्ला केही सातामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको छ ।

    अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रमुख जनरल मकेन्जीका अनुसार हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टीन विमान उडेको छ। योसँगै सैन्य उद्धारको पाटोका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ। जुन मिसन सन् २००१ को सेप्टेम्बर ११ लगत्तै सुरु भएको थियो र जस अन्तर्गत ओसामा विन लादेन तथा उनका थुप्रै अल कायदा षडयन्त्रकारीहरूमाथि कारबाही भएका छन् ।

    उनले अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनुपरेको र दुई दशकमा २४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको समेत बताएका छन् । अन्तिम अमेरिकी विमान बाहिरिएसँगै, तालिबानहरूले काबुलको रात्रिकालीन आकाशमा रातो प्रकाश छरेर अनि मेसिन गनमार्फत गोली चलाएर खुशीयाली मनाएका थिए। साथै बाहिरिन लागेका अमेरिकी फौज र तालिबानका एलिट सुरक्षा गार्डहरू एउटा अप्ठेरो क्षणमा आमने सामने भएका थिए।

    अन्त्यहीन युद्धपश्चात् अमेरिकी फौज फर्कन लागेपछि ती तालिबान दस्ता विमानस्थललाई आफ्नो नियन्त्रणमा लिन आइरहेका थिए। यसअघि नै अमेरिकी राष्ट्रपति जो बाइडनले अगष्ट ३१ भित्र अमेरिकाबाट फौज फिर्ता गर्ने बताएका थिए। यसैबीच अमेरिकी राष्ट्रपति बाइडनले फौज फिर्तीबारे मङ्गलवार अमेरिकी जनतालाई सम्बोधन गर्दैछन्।

  • काबुल विमानस्थललाई लक्षित गरि हानिएका रकेट विफल पारेको अमेरिकाको दावी

    काबुल विमानस्थललाई लक्षित गरि हानिएका रकेट विफल पारेको अमेरिकाको दावी

    काबुल । काबुल विमानस्थललाई लक्षित गरि हानिएका रकेटलाई आफ्नो क्षेप्यास्त्र प्रतिरोधक प्रणालीले विफल पारिदिएको अमेरिकाले दावि गरेको छ ।
    अफगानिस्तान छोड्न लागेको अमेरिकी सेनाले अहिले काबुल विमानस्थलमा सुरक्षा घेरा बनाइराखेको छ । अफगानिस्तान नियन्त्रणमा लिएको तालिबानले विदेशी सेनालाई देश छोड्न निर्धारण गरेको समयसीमा सकिन लागेको छ । ३१ अगष्टसम्म सेनाले विमानस्थल छाड्नु पर्छ । अमेरिकाका अनुसार सोमवार बिहान कम्तीमा पाँचवटा रकेटलाई खसालिएको छ ।

    बीबीसीले लेखे अनुसार यो घटनामा अमेरिकी सेनापट्टि कोही हताहत भएको सङ्केत आएको छैन । केही स्थानीयवासीले छर्रा आफ्नो घरमा खसेको बताएका छन्। स्थानीय सञ्चारमाध्यमले प्रकाशित गरेका भिडिओ र तस्बिरमा काबुलका छतबाट धुवाँ निस्किएको र एउटा जलेको गाडी सडकमा देखिएको समेत समाचारमा उल्लेख छ । अफगान सञ्चारमाध्यमका अनुसार एउटा सवारीसाधनको पछाडिपट्टिबाट रकेट आक्रमण गरिएको थियो।

  • अमेरिकाको लुइजियानामा अहिलेसम्मकै शक्तिशाली आँधी, क्षतिको विवरण संकलन हुँदै

    अमेरिकाको लुइजियानामा अहिलेसम्मकै शक्तिशाली आँधी, क्षतिको विवरण संकलन हुँदै

    लुइजियाना । अमेरिकाको लुइजियानामा अहिलेसम्मकै शक्तिशाली समुद्री आँधीले जनजीवन प्रभावित बनाएको छ । आँधीले तटीय क्षेत्रमा डुबान बढाएको छ भने सात लाख मानिस विद्युत सेवाबाट बञ्चित भएको बीबीसीले लेखेको छ । मौसमविद्हरूका अनुसार आइडा नामक आँधी केही कमजोर भएर क्याटगरी थ्रीको आँधीमा रूपान्तरण भएको छ । दुई सय किलोमिटर प्रतिघण्टा वेगको आँधी निम्त्याइरहेको र बिस्तारै उत्तरतर्फ बढिरहेकाले यसको विनाशकारी क्षमता अझ बढी हुनसक्ने चेतावनी मौसम विद्को छ ।


    दशौँ हजार व्यक्तिहरूलाई तटीय क्षेत्रबाट उद्धार गरिएको छ । त्यहीँ बसिरहेका व्यक्तिहरूलाई कैयौँ दिनसम्म मद्दत गर्न नसकिने सम्भावनातर्फ अधिकारीहरूले सचेत समेत गराएका छन्। बीबीसीले लुइजियानाका गभर्नर जोन बेल एडवर्ड्सलाई उदृत गर्दै लेखे अनुसार महामारीका कारण थप क्षमता नभएकाले धेरै बिरामीहरूलाई अस्पतालहरूमा उद्धार गरिएको छैन । हजारौँ मानिसहरू सुरक्षित स्थानतर्फ भागेका छन् ।

    मानिसहरुलाई आँधी नरोकिएसम्म भित्रै बस्न भनिएको छ। कट्रिना आँधीले सन् २००५ मा १८ सय जनाको ज्यान लिएपछि त्यहाँ विपद्सँग जुझ्ने क्षमतालाई मजबुत बनाइएको थियो। राष्ट्रपति बाइडेनले आइडाले जीवन जोखिममा पार्ने भन्दै यसको क्षति तटीय क्षेत्रभन्दा भित्रसम्म हुने उल्लेख गरेका छन्।

  • काबुलमा आत्मघाती हमलाकारी बोकेको गाडीलाई अमेरिकी सेनाले निस्तेज पारेको दावि, ठूलो दुर्घटना टर्यो

    काबुलमा आत्मघाती हमलाकारी बोकेको गाडीलाई अमेरिकी सेनाले निस्तेज पारेको दावि, ठूलो दुर्घटना टर्यो

    काबुल । अफगानिस्तानमा आत्मघाती आक्रमणको योजना असफल पारेको अमेरिकी सेनाले दावि गेको छ । काबुल एयरपोर्ट बाहिर आईएसआईएस केले गत विहीबार गरेको ठूलो हमलापछि अर्को हमलाको तयारीमा उक्त आतंकवादी संगठन थियो । यसबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमणको चेतावनी आएको जानकारी गराएका थिए । अमेरिकी सेनाले आत्मघाती विष्फोटक पदार्थ बोकेको गाडीलाई लक्षित गरि ड्रोन हमला गरेको र गाडीलाई ध्वस्त पारेको बताइएको छ ।

    यसबाट काबुलमा अर्को एक ठूलो दुर्घटना टरेको अमेरिकी सेनाको दावि छ । आइतबार सेनाले सुसाइड बम्बरले भरिएको एक गाडीमा ड्रोन हमला गरेको उल्लेख छ । गाडीमा सुसाइड बम बोकेका मानिस सवार थिए । उनीहरु विमानस्थलमा गत बिहीबार जस्तै आक्रमणको लक्ष्यसहित आएका थिए । यूएस सेन्ट्रल कमान्डका प्रवक्ता बिल अर्बनले अमेरिकी सेनाले काबुल मा एक गाडीमा मानव रहित एयर स्ट्राइक गरिएको जनाएक हुन् ।

    यसबाट काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रीय विमानस्थलमा आईएसआईएसको विष्फोट गराउने खतरा टरेको समेत उनले जनाएका छन् । उनले सेनाको टारगेट सफल रहेको समेत बताए । उनका अनुसार यो कारवाहीका दौरन कुनै पनि नागरिक हताहती भएको खबर भने छैन । तर, केही संचारमाध्यमले भने यो आक्रमणका क्रममा ६ जनाको मृत्यु भएको खबर सार्वजनिक गरेका छन् । मिसाइल हिट हुने क्रममा गाडीमा ठूलो विष्फोट भएको थियो ।

  • बाइडेन भन्छन्: काबुलमा अर्को हमला हुन सक्छ

    बाइडेन भन्छन्: काबुलमा अर्को हमला हुन सक्छ

    वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुलमा अर्को आतंकवादी आक्रमणको चेतावनी दिएका छन् । उनले काबुल एयरपोर्टमा पुनः हमलाको सूचना आएको जानकारी गराएका छन् । बाइडेनका अनुसार अमेरिकी कमान्डरले यसबारे जानकारी गराएका छन् । अमेरिकी विदेश मन्त्रालयले समेत अमेरिकी नागरिकसँग विमानस्थलको नजिक नजान भनेको छ । अमेरिकाले अहिले पनि अफगानिस्तानबाट नागरिकहरुको उद्धार गरिरहेको छ । उता, बेलायतले समेत सैनिक र आफ्ना अधिकारीहरुको उद्धार गरिरहेका छन् ।

    बिहीबार काबुल एयरपोर्टको गेटमा भएको आत्मघाती हमलामा १७० भन्दा बढीको ज्यान गइसकेको छ । यो आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट केले लिएको छ । काबुल विमानस्थलमा भएको हमलापछि अमेरिकाले पश्चिमी अफगानिस्तानमा ड्रोन हमला गरेको थियो । जसमा काबुल हमलाका योजनाकार मारिएको अमेरिकाले बताएको छ । राष्ट्रपति बाइडेनले आक्रमणकारीलाई कुनै पनि मूल्याम नछाड्ने चेतावनी दिएका थिए । आईएस के अफगानिस्तानको सबैभन्दा हिंस्रक चरमपन्थी संगठन मानिन्छ ।

  • काबुल हमलाका योजनाकार मारिएको अमेरिकी दावी

    काबुल हमलाका योजनाकार मारिएको अमेरिकी दावी

    काबुल । अमेरिकी सेनाले अफगानिस्तानस्थित इस्लामीक स्टेट समूहविरुद्ध गरेको हवाई आक्रमणबाट काबुल विष्फोटका योजनाकार मारेको दावि गरेको छ । अमेरिकी अधिकारीले काबुल विमानस्थलमा १७० जनाको ज्यान लिने गरी गरिएको हमलाको योजनाकारलाई निशाना बनाइएको जनाएका छन्। बीबीसीका अनुसार अमेरिकाले नाङ्घहार प्रान्तमा गरिएको सो हमलामा एउटा ड्रोनको प्रयोग गरेको थियो । त्यसले इस्लामीक स्टेटका सदस्यलाई मारेको समाचारमा उल्लेख छ।

    काबुलमा रहेका अमेरिकी अधिकारीहरूले थप आक्रमणहरूलाई ध्यान दिँदै विमानस्थलको प्रमुख क्षेत्रहरूभन्दा परै बस्न नयाँ चेतावनी जारी गरेका छन्। वरिष्ठ तालिबान अधिकारीहरूले उनीहरूले काबुल विमानस्थलको मुख्य भाग नियन्त्रणमा लिएको र अमेरिकीहरू जाने बित्तिकै सम्पूर्ण विमानस्थल कब्जामा लिने बताएका छन्।

    अमेरिकाले अन्तिम समयसम्म अफगानहरूको उद्धार जारी राख्ने र विमानस्थल अझै पनि आफ्ना फौजको नियन्त्रणमा रहेको बताइरहेको छ।अमेरिकाले प्रारम्भिक सङ्केतहरूले इस्लामीक स्टेटका सदस्य मारिएको र कुनै पनि गैरसैनिक हताहत नभएको उल्लेख गरेको छ ।

  • काबुल विष्फोटमा ज्यान गुमाउने १७० पुगे, अमेरिकाले आइएसलाई लक्षित गरि गर्यो ड्रोन हमला

    काबुल विष्फोटमा ज्यान गुमाउने १७० पुगे, अमेरिकाले आइएसलाई लक्षित गरि गर्यो ड्रोन हमला

    काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलको गेटमा बिहीबार भएका विष्फोटमा मर्नेको संख्या १७० पुगेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार यो घटनामा कम्तिमा १३ अमेरिकी सैनिक मारिएका छन् । आक्रमण आइएसआइएस-के नामक संगठनले जिम्मा लिएको छ । अमेरिकाले यो घटनाको बदला लिने बताएको थियो । अमेरिकी राष्ट्रपति जो बायडेनले यस्तो बताएका थिए ।

    समाचार सुत्रहरुका अनुसार सोही अनुसार अमेरिकी सेनाले अफगानिस्तानमा आइएसको अखडा रहेको क्षेत्रमा ड्रोन आक्रमण शुरु गरेको छ । अमेरिकी सेनाले नांगाहार प्रान्तमा ड्रोन हमला गरेको हो । यस आक्रमणका दौरान आइएसका केही लडाकु मारिएको समेत अमेरिकाको दावि छ । काबुल विमानस्थल अमेरिकी सेनाको कब्जामा छ । सोहीकारण आइएसले ठूलो आक्रमण गरि अमेरिकालाई चूनौति दिएको हो ।

  • काबुल विष्फोटमा मर्नेको संख्या ९० पुग्यो, कसले गरेको हो आक्रमण ?

    काबुल विष्फोटमा मर्नेको संख्या ९० पुग्यो, कसले गरेको हो आक्रमण ?

    काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलनजिकै बिहीवार भएका दुई शक्तिशाली बम विस्फोटका कारण मर्नेको संख्या ९० भन्दा माथि पुगेको छ । १५० भन्दा बढी मानिस घाइते भएका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ । घटनामा १३ जना अमेरिकी सैनिक र ३० भन्दा बढी तालिवान लडाकुको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

    अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिएसँगै भएको यो सबैभन्दा ठूलो आत्मघाती हमला हो । अफगानिस्तानबाट बाहिरिन अफगान र विदेशी नागरिकहरू विमानस्थलमा जम्मा भएको समयमा भएको यो विष्फोटका कारण बढी मानवीय क्षति भएको हो । यसअघि पश्चिमा मुलुकका सरकारले काबुलमा आक्रमण हुनसक्ने चेतावनी जारी गरेका थिए । त्यसको केही घण्टा भित्रै आक्रमण भएको हो ।

    पहिलो विस्फोटन स्थानीय समयानुसार बेलुकी ६ बजे ब्यारन होटलनजिकै र विमानस्थलको घेराबाहिर भएको थियो। बीबीसीका अनुसार होटलमा ब्रिटिश अधिकारी बसेका थिए । उनीहरुले बेलायत जान चाहने अफगान नागरिकहरूको कागजपत्र हेर्न यो होटेल प्रयोग गरेका थिए । अमेरिकी अधिकारीका अनुसार कम्तीमा एक आक्रमणकारीले विस्फोटक पदार्थ भिरेका थिए। उनले आफैलाई उडाए । आबी गेटमा अहिले अमेरिकी र ब्रिटिश सेनाको पहरा छ । आक्रमणको जिम्मा आईएसआईएस के समूहले लिएको छ।

  • टेक्ससमा निबन्ध प्रतियोगिता, नियति र ओजस्वी विजेता

    टेक्ससमा निबन्ध प्रतियोगिता, नियति र ओजस्वी विजेता

    टेक्सस । नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सासले स्कूलका विद्यार्थीका लागि गत महिना शुरु गरेको बुद्ध र उनको शिक्षा बिषयक निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा विजेताद्वय नियति श्रेष्ठ र ओजस्वी अर्याललाई ईभ्यालुएटर्स च्वाईस अवार्ड र संसा गुलाती र रयान मान सिंह लाई अनरेवल मेन्सन अवार्ड बाट सम्मानित गरियो ।

    नियति श्रेष्ठलाई उक्त पुरुस्कार फोर नोवल युथ र ओजस्वी अर्याललाई बुद्धिजम एन्ड साईन्स, हाऊ ओभरल्याप बिषयक निबन्धको लागि प्रदान गरेको हो। किंडर गार्डन देखि १२ कक्षा सम्मका विद्यार्थीले भाग लिन पाउने कार्यक्रममा ४ कक्षा देखि १२ कक्षा सम्मका १६ जना विद्यार्थीले भाग लिएका थिए। कार्यक्रममा सम्पुर्ण प्रतियोगीले आ आफुले तयार पारेको निबन्ध पढेर सुनाएका थिए ।

    एशोसिएसनले आफ्नो फेसबुक पेज मार्फत उक्त प्रतियोगितामा भाग कसरि लिने, कुन कुन बिषयमा निबन्ध लेख्न पाउने, सहयोगी किताब हरुको लिंक, प्रतियोगिताका नियम, प्रतियोगी निबन्धहरु कसरी मूल्यांकन हुने र मूल्यांकन समितिका सदस्यले जानकारी गराएका थिए । प्रतियोगितामा भाग लिने विद्यार्थी लाई ४ हप्ताको तयारी समय दिएको थियो।

    उक्त कार्यक्रमको मुख्य उद्देश्य बुद्ध र उनको शिक्षा बारे विद्यार्थीलाई शोधकार्य गरि जानकारी दिने थियो । कार्यक्रमले उनीहरुको व्यक्तित्व विकासमा पनि टेवा पुग्ने आशा गरिएको छ । कार्यक्रमबाट विद्यार्थीले कसरी सत्य तथ्य कुरा इन्टरनेट र अन्य साधनको उचित उपयोग गरि संकलन गर्ने, यसरी संकलित सत्य तथ्यलाई कसरी निबन्धको रुप दिने तथा आफुले तयार पारेको निबन्ध सबैको अगाडी कसरि आत्मविश्वासका साथ मौखिक रूपमा व्यक्त गर्ने भन्ने बारे व्यावहारिक ज्ञान दिने यस प्रतियोगिता को उद्देश्य राखिएको छ ।

    नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सास द्वारा आयोजित यस पहिलो बुद्ध र उनको शिक्षा बिषयको निबन्ध प्रतियोगिताको मुल्यांकन समितिमा एशोसिएसनका सचिब डा नीरज बज्राचार्य (संयोजक), धिरेन गुरुङ (सल्लाहकार), अनुजा घिमिरे, सुशील चौधरी, श्रद्धा श्रेष्ठ तथा सुरेश बस्याल छन् ।

  • ‘काबुल विमानस्थलमा जोखिम छ, सकेसम्म नजानु’

    ‘काबुल विमानस्थलमा जोखिम छ, सकेसम्म नजानु’

    काबुल । अमेरिका र बेलायतले काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको भन्दै सकेसम्म त्यहाँ नजान आफ्ना नागरिकलाई सचेत गराएका छन् । विमानस्थल पुगिसकेकाहरूलाई तत्काल त्यहाँबाट फर्कन समेत भनिएको बीबीसीले लेखेको छ । दुवै राष्ट्रले बुधवार अबेर त्यस्तो सूचना जारी गरेका हुन्। काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र भित्र हजारौँ सर्वसाधारण प्रतीक्षारत छन्।

    १० दिन अघि तालिबानले नियन्त्रणमा लिएको काबुलबाट ८२,००० भन्दा बढीलाई हवाई मार्ग हुँदै अन्यत्रै लगिएको छ र राष्ट्रहरू अगस्ट ३१ भित्र मानिसहरूको उद्धार सम्पन्न गरिसक्ने गरि जुटेका छन् । तालिबानले त्यो समयसीमा लम्ब्याउने विषयको विरोध गरेको छ तर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनका अनुसार अगस्ट ३१ पछि पनि अफगान नागरिक र विदेशीहरूलाई देश छोड्न दिने उसले बाचा गरेको छ। अफगानिस्तानमा अतिवादी समूहले पार्न सक्ने खतराबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार मात्र चर्चा गरेका थिए ।

    सँगै बेलायत र अमेरिकाको चेतावनी सार्वजनिक भएको हो । आक्रमणको जोखिम रहेकाले जतिसक्दो चाँडो हवाई उद्धार हुनु राम्रो रहेको बाइडेनको भनाई छ । भिडभाडयुक्त विमानस्थलमा खटेका सैन्य कमान्डरहरू आत्मघाती विस्फोटनको सम्भावनाका कारण चिन्तित रहेको समेत समाचारमा उल्लेख छ । उता, तालिबानले समेत विमानस्थल नजान अफगानी नागरिकलाई चेतावनी दिएको छ ।

  • अफगानी नागरिकलाई काबुल विमानस्थल जान रोक लगाउने तालिबानको घोषणा

    अफगानी नागरिकलाई काबुल विमानस्थल जान रोक लगाउने तालिबानको घोषणा

    काबुल । तालिबानले अफगानी नागरिकलाई अब काबुल विमानस्थल जान रोक लगाउने भएको छ । अमेरिकाको उक्साहटमा ठूलो संख्यामा अफगानी नागरिकले देश छाडेको भन्दै तालिबानले उनीहरुको सुरक्षाको ग्यारेन्टी समेत गरिने बताएको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगान नागरिकहरूलाई अब काबुल विमानस्थल प्रवेश गर्न नदिइने बताएको बीबीसीले लेखेको छ ।

    मङ्गलवार एक पत्रकार सम्मेलनमा उनले विमानस्थलमा रहेका अफगानी नागरिक घर फर्किनुपर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गरिने बताएका हुन् । उनले अमेरिकाले मानिसहरूलाई विमानस्थलमा बोलाउँदै विमान चढाइरहेको समेत आरोप लगाएका छन् ।

    अमेरिकी साझेदारहरूले अफगानिस्तानबाट अमेरिकी सेना फर्किने समयसीमा अगस्ट ३१ अगावै तालिबानको पुनरागमन हुँदा त्रसित भएर भागेका सबै अफगान नागरिकको उद्धार गर्न नसकिने बताइसकेको छ । काबुलको विमानस्थ्ल अमेरिकी सेनाको नियन्त्रणमा छ । काबुल विमानस्थलबाट अहिलेसम्म ५८ हजार हाराहारी मानिस विदेश उडेको बताइएको छ ।

  • अमेरिकासहित त्रिदेशीय सिरिज खेल्न ओमान उड्यो नेपाली क्रिकेट टोली

    अमेरिकासहित त्रिदेशीय सिरिज खेल्न ओमान उड्यो नेपाली क्रिकेट टोली

    काठमाडौं । त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलाका सिलसिलामा नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान उडेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय नेपाली टोली मंगलबार बिहान ओमानतर्फ लागेको हो । विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय श्रृङ्खला भदौ २८ देखि असोज ४ गतेसम्म हुँदैछ । त्यसअघि नेपालले पपुवा न्युगिनीसँग भदौ २० र २३ गते दुई वटा एक दिवसीय सिरिज खेल्ने कार्यक्रम रहेको छ । यी दुई प्रतियोगिताका लागि नेपालले राम्रो तयारी समेत गर्न भ्याएको छ । किनकी यसबीचमा नेपालले अन्य खेलमा व्यस्त हुनु परेको छैन ।

  • काबुल विमानस्थल नछाड्न अमेरिकामाथि अन्तर्राष्ट्रिय दवाव

    काबुल विमानस्थल नछाड्न अमेरिकामाथि अन्तर्राष्ट्रिय दवाव

    काठमाडौं । तालिबानको कब्जामा आएको अफगानिस्तानस्थित अन्तर्राष्ट्रिय विमानस्थल भने अहिले अमेरिकाको नियन्त्रणमा छ । यहाँ हजारौं सैनिक खटिएका छन् । उता, अमेरिकामाथि यो विमानस्थल तत्काल नछाड्न अन्तर्राष्ट्रिय दवाव आएको छ । बीबीसीका अनुसार अमेरिकी अधिकारीले राष्ट्रपति जो बाइडेनले अगष्ट महिनाको अन्त्यपछि पनि अफगानिस्तानमा सैनिक उपस्थिति कायम राख्ने या नराख्ने विषयमा २४ घण्टाभित्र निर्णय लिन सक्ने बताएका छन् ।

    राष्ट्रपति बाइडनलाई उनका साझेदारहरूले थप मानवीय उद्धार जारी राख्नु पर्ने भएकाले काबुल विमानस्थलबाट फौज फिर्ता नगर्न दबाब दिएका हुन् । मङ्गलवार हुने भर्चुअल जीसेभेनको शीर्ष बैठकमा उक्त विषय प्रमुख मुद्दा हुने भएको छ ।
    तालिबानहरूले अर्को हप्ताभन्दा पछिसम्म अमेरिका बस्न खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिएका छन् । पछिल्लो २४ घण्टामा यो विमानस्थलबाट १६ हजार मानिसको उद्धार भएको छ ।

    स्थल सीमाबाट आवतजावत सहज बनाउन अफगानिस्तानका छिमेकीहरूसँग पनि कुराकानी भइरहेको बताइएको छ । यसअघि आफ्ना साझेदारहरूबाट उद्धारको समयसीमालाई अगष्ट ३१ बाट बढाउन माग गरिएको भएपनि अमेरिकाले तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानबाट उद्धार कार्य तोकिएकै समयमा सम्पन्न गर्ने बताउँदै आएको छ ।

    अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आफू अझै पनि उक्त समयसीमा परिवर्तनको पक्षमा नरहेको बताइरहेको छ। यूके, फ्रान्स र जर्मनीले जी सेभेनको बैठकमा त्यसो नगर्न दबाब बढाउने रणनीति बनाएका हुन् । तालिबानले समयसीमा बढाउनुले सहमतिको उल्लङ्घन हुने भन्दै चेतावनी दिएको छ ।

  • अफगानिस्तानमा उद्धार उडानका लागि अब गैरसैनिक जहाज पनि खटिने

    अफगानिस्तानमा उद्धार उडानका लागि अब गैरसैनिक जहाज पनि खटिने

    काबुल । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानबाट मानिसहरूको उद्धार गर्न अब गैरसैनिक वायुसेवाका विमान समेत प्रयोग गर्न सक्ने गरि अनुमति दिएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १८ वटा विमानले अफगानिस्तान बाहिरका सुरक्षित स्थानबाट मानिसहरूलाई तेस्रो देशमा पुर्‍याउने उल्लेख गरेको बीबीसीले लेखेको छ । अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि हजारौँ अफगानहरू देशबाट भागेर सुरक्षित ठाउँमा जान काबुल विमानस्थलमा जम्मा भएका छन्।

    आइतबार राष्ट्रपति बाइडनले अमेरिकाले अघिल्लो हप्ता झन्डै २८ हजार जनाको उद्धार गरिएको जानकारी गराएका थिए । काबुल विमानस्थल बाहिर हजारौँ लामबद्ध भइरहँदा कम्तीमा २० जना मानिस मारिएको समेत रोएटर्सले लेखेको छ । अघिल्लो हप्ता अमेरिकाले २८ हजार जनाको उद्धार गरेको बताइएको छ । बेलायती सशस्त्र बल सम्बन्धी मन्त्री जेम्स हिपीले तालिबानहरूले हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा मानिसहरूलाई व्यवस्थित गरिदिइरहेको र त्यसले देश छाड्ने अपेक्षा गरिरहेकालाई सहज भइरहेको बताएका छन् ।

    बेलायतले अगस्ट १३ यता ५ हजार ७ सय २५ जनाको उद्धार गरिसकेको छ । काबुलमा बेलायतका १ हजारभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् । आइतबार अमेरिकाको रक्षा मन्त्रालयले सीआरएएफ भनिने सिभिल रिजर्भ एअरफ्लिट नियमलाई उद्धारका निम्ति क्रियाशील गराउने घोषणा गरेको हो । यसले सङ्कटको समयमा अमेरिकालाई गैरसैनिक विमानहरू उद्धारमा खटाउन सघाउँछ।

    सन् २००३ मा इराकमा आक्रमण गर्दा र सन् १९९० देखि १९९१ सम्मको खाडी युद्धमा पनि गैरसैनिक विमान खटाइएका थिए। अहिले खटाइने १८ वटा विमानमध्ये चारवटा युनाइटेड एअरलाईन्सका छन्। अमेरिकी एअरलाईन्स, एट्लस एअरलाइन्स, डेल्टा एअरलाईन्स र ‌ओम्नी एअरका तीन, तीनवटा र दुईवटा हवाइयन एअरलाईन्सका जहाज छन् ।

  • अफगानिस्तानबाट अमेरिकी सैन्य जहाज चढेकी महिलाबाट जहाजमै सन्तान पैदा

    अफगानिस्तानबाट अमेरिकी सैन्य जहाज चढेकी महिलाबाट जहाजमै सन्तान पैदा

    लण्डन । अफगानिस्तानबाट अमेरिकी सैन्य जहाज चढेकी एक महिलाले जहाजमै सन्तान पैदा गरेकी छिने । बीबीसीका अनुसार उनी अफगान नागरिक हुन् । उद्धारका लागि परिचालन गरिएको अमेरिकी उडानका क्रममा उनले जर्मनीमा बच्चा जन्माएकी हुन् । आइतवार सामाजिक सञ्जाल ट्विटरमा यूएस एअर मोबीलीटी कमान्डले ती महिला आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला प्रसव पीडा सुरु भएको उल्लेख गरेको छ ।

    उनको अवस्था जटिल हुँदै गएपछि विमानका कमान्डरले विमानमा हावाको चाप बढाउन उडानको उचाइ कम गर्ने निर्णय गरेका थिए । यसले उनलाई स्थिर बनाउन र आमाको ज्यान बचाउन मद्दत गरेको थियो । जर्मनीको विमान अवतरण हुने बित्तिकै अमेरिकी सैन्य चिकित्सकहरूको टोली आइपुग्यो र बच्चा जन्माउन सहयोग गरेको समाचारमा उल्लेख छ । बच्चा र आमा दुवैको अवस्था राम्रो रहेको बताइएको छ । उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको छ ।

  • अमेरिका र ओमनसँगको सिरिज खेल्ने नेपाली क्रिकेट टीम घोषणा, को-को परे ?

    अमेरिका र ओमनसँगको सिरिज खेल्ने नेपाली क्रिकेट टीम घोषणा, को-को परे ?

    काठमाडौं । अमेरिका र ओमानसँग नेपालले खेल्न लागेको सिरिजका लागि राष्ट्रिय क्रिकेट टीमको घोषणा भएको छ । आगामी सेप्टेम्बर १३ देखि २० सम्म ओमानमा हुने नेपाल, ओमान र अमेरिका सम्मिलित विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा भएको हो । नेपाल क्रिकेट संघले शनिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ । टीममा गुल्शन झा पहिलो पटक छनोट भए ।

    रोहित पोडेलको पुनरागमन भएको छ । बन्द प्रशिक्षणमा रहेका १९ मध्ये कमल सिंह ऐरी र शहाब आलमलाई भने टीममा राखिएको छैन । नेपाली टिम आगामी मंगलबार ओमान प्रस्थान गर्नेछ । त्रिकोणात्मक सिरिजअघि नेपालले ओमानमै पपुवा न्यु गिनीसँग दुई एक दिवसीय सिरिज खेल्दैछ ।

    यस्तो छ नेपाली टीम : ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषावकर, विक्रम सोव

  • अफगानिस्तानबाट १३ हजार मानिसको गरियो हवाई उद्धार, अझै ६० हजार भन्दा बढी पर्खाइमा

    अफगानिस्तानबाट १३ हजार मानिसको गरियो हवाई उद्धार, अझै ६० हजार भन्दा बढी पर्खाइमा

    वासिंटन डिसी । अफगानिस्तानबाट अहिलेसम्म १३ हजार मानिसको हवाई उद्धार भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो आंकडा सार्वजनिक गरेका हुन् । ह्वाइटहाउसमा पत्रकारसँग कुरा गर्दै उनले यो अहिलेसम्मकै सबैभन्दा ठूलो उद्धार मिसन भएको समेत बताएका छन् । यसलाई उनले सबैभन्दा जोखिमपूर्ण उद्धार समेत भनेका छन् । बाइडनका अनुसार अमेरिकी फौजलाई सहयोग गरेका ६० हजार भन्दा बढी अफगानी नागरिकलाई समेत उद्धार गरिने छ ।

    उनीहरु अफगानिस्तान छाड्न चाहिरहेका छन् । तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि अमेरिकी फौजलाई सहयोग गरेका त्यहाँका नागरिकले असुरक्षित महसुस गरेका छन् । उता, तालिबानले समेत यनीहरुको घर घरमा पसेर तलासी लिएको खबर सार्वजनिक भइरहेका छन् । यो घटनामा अमेरिकाले ठूलो आलोचना बेहोर्नु परेको छ । बाइडेनले त्यहाँ रहेका सबै अमेरिकीले घर फर्कन चाहेमा उनीहरुलाई फर्काइने बताएका छन् ।

    पहिलो प्राथमिकतामा अमेरिकी नागरिक हुने र त्यसपछि अफगानिस्तान छाड्न चाहने अन्य मुलुकका नागरिकको समेत उद्धार हुने उनले बताएकाछन् । अफगानिस्तानमा फैजले निकै कठिन परिस्थतिको सामना गर्नुपरेको भन्दै यो मिसन सहज नभएको उल्लेख गरे ।