वासिंटन डिसी । अमेरिकाले आफ्ना नागरिकलाई कोभिड खोपको बूस्टर डोज सेप्टेम्बर २० बाट लगाउन शुरु गर्ने भएको छ यसलाई खोपको तेस्रो मात्रा समेत भनिएको छ । यो खोप सबै अमेरिकीले पाउने भएका छन् । सेप्टेम्बर २० तारिखदेखिसबै अमेरिकीका लागि बुस्टार डोज उपलब्ध हुने बीबीसीले जनाएको छ ।
करिब ८ महिना अगाडि खोप दिइएका स्वास्थ्यकर्मी, नर्सिङ होममा बस्नेहरू र वृद्धवृद्धाले पहिलो चरणमा बूस्टर मात्रा पाउने भएका छन् । ह्वाइट हाउसले कोरोनाभाइरसको डेल्टा भेरिअन्टका कारण सङ्क्रमण बढेको र समयसँगै खोपको प्रभावकारिता घट्दै जानेू विवरणहरू प्राप्त भएकाले यस्तो कदम चाल्नुपरेको जनाएको छ। बूस्टर खोप लगाइने औपचारिक सिफारिस र अनुमति प्राप्त भएपछि अन्तिम निर्णय लिइनेछ।
जुलाई महिनाको शुरूयता अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको दैनिक सङ्ख्या बढ्दै गएको छ। त्यसबेला दैनिक दश हजारभन्दा कम सङ्क्रमित थिए । अहिले देशभरमा दैनिक १ लाख ५० हजार भन्दा बढी सङ्क्रमित देखिने गरेका छन् । अस्पतालहरूमा बिरामीको सङ्ख्या बढेको छ। मृत्यु दर बढेपछि अधिकारीहरूले मास्क र सामाजिक दूरीको नियम पुनः लगाउन लागेका छन्।
औषधी सम्बन्धी विभिन्न अमेरिकी निकायहरू सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन, द फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन र न्याशनल इन्स्टिच्यूट अफ हेल्थ र राष्ट्रपति जो बाइडनका प्रमुख मेडिकल सल्लाहकार डा एन्थोनी फाउची सबैजना बूस्टर मात्राको पक्षमा रहेको समेत बीबीसीले लेखेको छ ।
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सैन्य फिर्तीबारे सरकारको निर्णयको बचाउ गरेका छन् । अफगानिस्तानका लागि अमेरिकी सैनिकले नभई त्यहाँका सैनिकले नै लड्नु पर्ने भन्दै अमेरिकी बहिर्गमनको निर्णयमा आफू पूर्ण रूपमा कटिबद्ध रहेको बताए । युद्धग्रस्त अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि अमेरिकाको चौतर्फी आलोचना भइरहेको छ ।
बीबीसीका अनुसार उनले सरकारको निर्णयको बचाउ गरेका छन् । कति थप अमेरिकी जीवन त्यसको लागि अर्पण गर्नुपर्थ्यो ? राष्ट्रपतिले प्रश्न गरे । उनले काबुलका अत्यन्त विदारक दृश्यका बावजूद अमेरिकी फौज हटाउने उपयुक्त समय कहिल्यै पनि नहुने बताएका हुन् । अफगान राष्ट्रपति अशरफ गनीले देश छाडेर उनको सरकार ढलेपछि आइतवार तालिबानले लडाइँ जितेको घोषणा गरेको छ ।
सशस्त्र विद्रोहीहरू पुनः सत्तामा आउने अवस्थासँगै अफगानिस्तानमा करिब २० वर्ष लामो अमेरिकी नेतृत्वको गठबन्धनको उपस्थिति समेत सकिएको छ । राष्ट्रपति बाइडेनले क्याम्प डेभिडबाट सोमवार ह्वाइट हाउस फर्केर करिब एक सातापछि अफगानिस्तानबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले भनेका छन्, ‘अफगान फौजले उनीहरूकै लागि लड्न नचाहेको लडाइँ अमेरिकी सैनिकहरू लड्न सक्दैनन् र लड्नु र युद्धमा मर्नु हुँदैन।’
काबुल । आइतबार अफगानिस्तानको राजधानी काबुललाई तालिबानले नियन्त्रणमा लिएपछि काबुलमा त्राहीमाम फैलिएको छ । मानिसहरु आत्तिएको र उनीहरुले त्यहाँबाट मुक्ति चाहिरहेको संचारमाध्यमहरुले रिर्पोटिंग गरिरहेका छन् । सोमबार हामिद कारजाई विमानस्थलमा अत्यधिक भिड देखिएको छ । यो विमानस्थल अहिले अमेरिकाको नियन्त्रणमा छ ।
भिड धेरै भएपछि सेनाले यहाँ गोली चलाएको छ । सो क्रममा तीन जनाको मृत्यु भएको छ । केही मानिस उडिरहेको जहाजमा झुण्डिएका थिए । त्यसक्रममा जहाजबाट खसेर समेत तीन जनाको मृत्यु भएको छ । मानिस जहाजबाट खसिरहेको दृष्यलाई पश्चिमी संचारमाध्यमहरुले महत्वका साथ प्रसारण गरिरहेका छन् । यसरी बाहिरिन चाहनेमा त्यहाँ रहेका विदेशी नागरिक र अफगानी नागरिक समेत छन् ।
अमेरिकी सेनाले विमानस्थलमा सबै व्यवसायिक उडान बन्द गरिदिएको छ । अहिले यहाँ सैन्य उडान मात्र जारी छन् । सामाजिक सञ्जालमा शेयर गरिएको अर्को भिडियोमा मानिसहरु विमानमा चढ्नको लागि तँछाडमछाड गरिरहेको देखिएको छ । तालिबानका प्रवक्ताले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताए पनि मानिसहरु आत्तिएका छन् ।
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेनले राजीनामा दिनुपर्ने बताएका छन् । अफगानिस्तानबाट सैन्य फिर्तिको औचित्यबारे बाइडेन प्रशासनमाथि प्रश्न उठिरहेका बेला ट्रम्पको यस्तो भनाई सार्वजनिक भएको हो । ट्रम्पलाई उदृत गर्दै अमेरिकी संचारमाध्यमले जनाए अनुसार अफगानिस्तानमा गरेको अपमानका लागि बाइडेनले राजीनामा दिनुपर्छ । ट्रम्पले यदि आफू राष्ट्रपति भएको भए अफगानिस्तानबाट अमेरिका फिर्ता ‘निकै अलग र निकै सफलतापूर्वक’ हुने समेत दावि गरेका छन् ।
यस्तै बाइडन प्रशासनले ट्रम्पलाई जवाफ फर्काउँदै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने निर्णय ट्रम्पकै पालामा भएको स्मरण गराएको छ । अमेरिकी सेना फिर्ताको स्पष्ट जानकारी भने बाइडनले सत्ता सम्हालेपछि सार्वजनिक भएपनि प्रक्रिया ट्रम्पले शुरु गरेका थिए । अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएसँगै ४५ दिनमै तालिबानले सो मुलुकको सत्ता कब्जा गरेको छ ।
काबुल । आफ्नो दूतावासका कर्मचारीको सुरक्षा, महत्वपूर्ण कागजातको रक्षामा दौडधुप गरिरहेको अमेरिका अफगानिस्तानमा निरिह सावित भएको छ । यहाँ निर्णायक युद्ध शुरु गरेको ४५ दिनमै विद्रोहीले सत्ता कब्जा गरेको छ । अमेरिकाले २० वर्षसम्म सहयोग गरेको सरकारी सेनाले भने सबै स्थानमा आत्मसमर्पण गरेको छ । राष्ट्रपति भागेर उज्वेकिस्तान शरण लिन पुगेका छन् । तालिबानले सैन्य कारवाहीबारे नसोच्न विदेशी राष्ट्रहरुलाई चेतावनी दिएको छ । साथै, अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएको तालिबानले युद्ध जितेको घोषणा समेत गरेको छ ।
तालिबानका प्रवक्ताले अल जजिरालाई प्रतिक्रिया दिँदै अब अफगानिस्तानमा युद्ध सकिएको बताए । बीबीसीका अनुसार उनले भनेका छन्, हामीले चाहेको कुरा प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता । उनले अब फेरि विदेशी शक्तिहरूले अफगानिस्तानमा तिनको विगतको विफल अनुभव नदोहोर्याउने आफूहरूले ठानेको बताए। आइतवार अबेर तालिबानहरू राष्ट्रपति भवनभित्र रहेका तस्बिर सार्वजनिक भएका थिए। तिनले राजधानी काबुलको ११ जिल्ला केन्द्र कब्जा गरेका छन् ।
अहिले काबुलमा अराजकता रहेको र त्यहाँका निवासी एवम् विदेशी नागरिक काबुलबाट बाहिर निस्कन खोजिरहेको समाचारमा उल्लेख छ । अमेरिकाले काबुलको रक्षाका लागि तैनाथ गरेको उसका ६ हजार फौजलाई विमानस्थल परिसरको सुरक्षामा खटाएको छ । उसले त्यहा लगेर आफ्नो दूतावास समेत राखेको छ ।
हिन्दुहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा अमेरिकामा पनि चर्चा, चहलपहल र तयारी सुरु भैसकेको छ।जसबाट अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोष्टन पनि अछुतो रहन सकेन। गत वर्ष कोरोना कहरका कारण परिवार र कोठामा सिमित भएको तीज,यस वर्ष भने अवस्था केही सुध्रिएकाले सामूहिक रुपमा मनाइने निर्णय भएसंगै तयारी थालिएको हो।यसका लागि बोस्टन स्थित नेपाली समुदायिक संस्थाहरु ग्रेटर बोस्टन नेपाली समुदाय,गैर आवासीय नेपाली संघ र हिमालय लायन्स क्लवको संयुक्त प्रयासमा सभ्य तीज हर्षोल्लासका साथ मनाउन भव्य तयारी थालिएको हो।’बोस्टन तीज महोत्सव-२०२१’ नाम दिइएको उक्त कार्यक्रम,वाटर टाउन सिटीको सेन्ट जेम्स अमेरिकन एपोष्टोलिक भवनमा यही आउदो सेप्टेम्बर ४ तारिख (शनिवार)का दिन संयुक्त रुपमा मनाउने गरी आवश्यक तयारी थालिएको आयोजकले जनाएको छ।आयोजकका अनुसार तीजको मूल मर्मलाई आत्मसात् गर्दै धार्मिक,साँस्कृतिक,परम्परा र नेपाली पहिचानको संरक्षण तथा संवर्धन गर्नु र हर्षोल्लास मनाउनु नै महोत्सवको मुख्य उद्देश्य रहेको छ। महोत्सवमा नेपालीपन झल्किने तीज लक्षित सांगीतिक कार्यक्रमका साथै विभिन्न नेपाली मिष्ठान्न परिकारहरु समेटेर दर खाने कार्यक्रमको पनि व्यवस्था गर्न लागिएको गैर आवासीय नेपाली संघ, म्यासाचुसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङले जानकारी दिनु भयो।उहाँले भन्नु भयो ‘धार्मिक आस्था र विश्वासलाई जीवन्त राख्दै यस वर्षको तीजलाई सभ्य र मनोरञ्जनात्क रुपमा मनाउन हामी तिनै संस्था तयारीमा जुटेका छौं’।यस महोत्सवलाई पहलो पटक यसरी संयुक्त रुपमा मनाएर,परदेशमा रहेका नेपालीहरु बिचको आत्मीय एकताको सन्देश समेत दिन खोजिएको तामाङले बताउनु भयो।सहभागिताका लागि प्रति ब्यक्ति २५ डलर सहयोग शुल्क तोकिएको कार्यक्रममा,४ सय टिकट बिक्री गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ। कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न संस्थागत नेतृत्व गर्दै आवश्यक तयारीमा जुट्नु भएका ग्रेटर बोस्टन नेपाली कम्युनिटिका अध्यक्ष मिलन कुमार कार्कीका अनुसार,महोत्सवलाई चाडको मर्ममा केन्द्रिकृत गरेर नै मनाउने तयारी थालिएको छ।’ हिन्दुहरुको महान चाड हरितालिका तीजलाई धर्म,सँस्कृति, परम्परा,रितिरिवाजलाई सक्दो जिवन्त राख्ने प्रयास गर्ने छौं।’ उहाँले भन्नु भयो,’ देश,काल र परिस्थिति अनुसार उपलब्ध श्रोत साधनहरुको भरपुर उपयोग गरेर,महोत्सवलाई प्रभावकारी बनाउन सक्दो प्रयास गर्नेछौं।’ नेपालीहरु बिचको आत्मीय भातृत्वलाई एकताबद्ध र सुमधुर बनाउनमा कार्यक्रमले जोड दिने अध्यक्ष कार्कीको विश्वास छ।पहिलो पटक यसरी संयुक्त रुपमा मनाउन लागिएको तीज महोत्सवमा,अन्य संघ संस्थाहरुलाई पनि समेट्न कोसिस गरिएको भएतापनि, विविधकारणले सम्भव नभएकोमा भने अध्यक्ष कार्कीले दुःखेसो पोख्नु भयो । सामाजिक,धार्मिक,साँस्कृतिक लगायत कार्यहरुमा सामूदायिक एकिकृत भूमिका निकै महत्वपूर्ण र प्रभावकारी हुने गर्दछ।यसै तथ्यलाई आत्मसात् गर्दै बेला बेलामा नेपालीहरु समेटिएका बोस्टन स्थित संघ संस्थाहरुले, आफ्नो एकता र सक्रियता प्रदर्शन गर्दै आइरहेका छन् । यसै क्रममा पहिलो पटक बोस्टन स्थित यि तीन संस्थाहरु ‘तीज पर्व’ सामूहिक रुपमा मनाउन एकजुट भएका हुन् । महोत्सवलाई हर्षोल्लासमय बनाउन साँगितिक कार्यक्रमको पनि आयोजना गरिने महोत्सव संयुक्त आयोजक संस्था हिमालयन लायन्स क्लवकी कोषाध्यक्ष शान्ति जोशीले जानकारी दिनु भयो।’महोत्सवमा स्थानीय नेपाली कलाकारहरुद्वारा नेपालीपन झल्किने गरी तीज केन्द्रित गीतहरु र नृत्यहरु समेटेर साँगितिक कार्यक्रम पस्किने गरी तयारीमा जुटेका छौं ‘ जोशीले भन्नु भयो।नेपालीहरुको धार्मिक चाड ‘तीज’ महिला सशक्तिकरणको सुवर्ण अवसर हो भन्दै उहाँले त्यसका लागि एकता अपरिहार्य रहेको जिकिर गर्नु भयो।संयुक्त रुपमा तीज मनाउन लागिएको प्रति निकै खुशी व्यक्त गर्दै जोशीले एकता नै शक्ति भएकाले महोत्सवमा एकबद्ध भएर सक्रिय सहभागिता जनाउन, सबैलाई अनुरोध समेत गर्नु भएको छ। हिन्दुहरुको आराध्य देव मानिने शिव र पार्वतीको पूजा, प्रार्थना र आराधन गर्ने सर्वोत्तम महिनाका रुपमा मानिने श्रावण महिना प्रारम्भ भएसंगै,बोस्टन स्थित शिवालय र पशुपतिनाथ बुद्ध फाउण्डेशन शक्तिपीठहरुमा भक्तजनहरुको चहलपहल बढ्न थालेको छ।हिन्दु धार्मिक ग्रन्थ अनुसार पार्वतीले निराहार ब्रत बसी पूजा अर्चना सहित तपस्या गरेर भगवान शिव जस्तो होनहार वर पाएको धार्मिक मान्यता,आस्था र बिश्वासका आधारमा यो चाड मनाइदै आइएको छ।जस अनुसार हिन्दु धर्मावलम्बी महिलाहरुले विवाहित भए पतिको सुस्वास्थ्य,दिर्घायू र उत्तरोत्तर प्रगतिको कामना सहित सुखद् दामपत्य जीवनको र अविवाहित भए भगवान शिव जस्तै योग्य वर पाँऊ भनी पूजा,अर्चना,स्तुति र प्रार्थना गरी यो चाड भब्यताका साथ मनाउने गरिन्छ।यसका अलावा यस चाडलाई पूर्वीय दर्शन अनुसार माइती र चेली बिचको सम्बन्धलाई कसी लगाउदै सुमधुर बनाउने,ज्ञान शिक्षा आदानप्रदान गर्ने, महिला अधिकार र सशक्तिकरण गर्ने,गीत संगीतको संरक्षण तथा संवर्धन गर्ने र मनोरञ्जन गर्ने सुवर्ण अवसरका रुपमा पनि सदुपयोग गरिदै आइरहिएको छ।तर,पछिल्लो समयमा यो चाडलाई बृहत र नयाँ रुपमा मनाउने नाममा,भित्रिएका परिवर्तनहरुले भने चाडको मुख्य मर्म नै मर्न लागेको प्रति सर्वत्र चिन्ता बढेको छ । सामाजिक परिवर्तनका नाममा जानी नजानी भित्रिएका मनोरञ्जनमा मात्र केन्द्रिकृत क्रियाकलापहरुले,विभिन्न खाले विकृति र विसंगतिहरु भित्रिदा चाडको मुल मर्म मर्दै गएको कुरा जग जाहेर नै छ।तसर्थ, तीज मनाउदा त्यसप्रति सचेत र गम्भीर हुन जरुरी छ।
काबुल । तालिबानले अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति कार्यालय कब्जा गरेको छ । अमेरिकी सेना फर्कन शुरु गरेको ४५ औं दिनमै तालिबानले मुलुकमा विजयी हाँसिल गरेको हो । आइतबार राष्ट्रपति अशरफ गनीले देश छाडेर भागेपछि तालिबान राष्ट्रपति कार्यालय छिरेको हो । करीव ६ हजार सैनिकले नियमित पहरा दिने राष्ट्रपति भवनलाई उनीहरुले अब कब्जा जमाएका छन् ।
अफगानिस्तानको अधिकांश भाग नियन्त्रणमा लिएर काबुललाई घेरेको तालिबानले जनधनको क्षति नगर्न शान्तिपूर्ण शक्ति हस्तान्तरणको आशामा सहर प्रवेश नगरी काबुलको प्रवेशद्वारमा रहेको जानकारी गराएको थियो । तर सहरमा लुटपाट हुन नदिन तालिबान लडाकुलाई सहर पस्न अनुमति दिइएको तालिबानका एक प्रवक्ताले बताएको बीबीसीले लेखेको छ । ती प्रवक्ताले अफगानिस्तान र काबुलका बासिन्दाहरू डराउनु नपर्ने र तालिबानले बदला नलिने बताएका छन्।
तालिबानसँग वार्ता गरिरहेका समूहले राष्ट्रपति कार्यालयमै शक्ति हस्तान्तरण हुने कुरो बताए पनि राष्ट्रपति गनीले आफ्ना सहयोगीहरू सहित देश छोडेका हुन्। उता, काबुललाई तालिबानले घेरेपछि अमेरिकाले आफ्नो दूतावास भवन छोड्दै काबुल अन्तर्राष्ट्रिय विमानस्थलको परिसरमा स्थानान्तरण गरेको छ। हेलिकप्टरबाट दूतावासका सबै कर्मचारी र झन्डालाई विमानस्थल परिसरमा सारिएको हो ।
आफ्ना नागरिकको सुरक्षा गर्न विमानस्थल परिसरमा ४,००० अमेरिकी सैनिक परिचालन गरिएको समाचारमा उल्लेख छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार अफगानिस्तानमा १,४०० अमेरिकी कर्मचारी थिए। तीमध्ये सानो समूह मात्रै केही समयका लागि काबुलमा रहने र बाँकीलाई त्यहाँबाट निकालिनेछ ।
काबुल । यसै वर्ष अमेरिकी सत्ता सम्हालेका राष्ट्रपति जो बाइडेनले पूर्ववर्ती सरकारको एक निर्णयलाई निरन्तरता दिए । त्यो निर्णय थियो, अफगानिस्तानबाट अमेरिकी सेनाको वापसी । सुन्दा निकै प्रिय लाग्ने यो निर्णयले अन्ततः हजारौं निर्दोष मानिसहरुको ज्यान लिइरहेको छ । सयौं सैनिक मृत्युको मुखमा पुगेका छन् । अफगानिस्तान पुनः एक पटक जलिरहेको छ । बहुराष्ट्रिय सेनाको वापसीसँगै त्यहाँ तालिवान विद्रोहीको गतिविधि यति धेरै बढेको छ की उनीहरु अब राजधानी काबुल कब्जा गर्ने अन्तिम तयारीमा छन् । सोहीकारण अमेरिकासहितका मुलुकले आफ्नो दुतावासमा रहेका महत्वपूर्ण कागजात आफै नष्ट गर्न थालेका छन् ।
यो परिस्थितिमा अमेरिकालाई एक प्रश्नले घेर्न थालेको छ, अमेरिकी किन अफगानिस्तानमा युद्ध लड्यो र त्यहाँबाट के पायो ? अफगानिस्तानबाट सेना फिर्ता हुने अन्तिम मिति ११सेप्टेम्बर तोकिएको छ । यो त्यही दिन हो, जुन दिन २० वर्ष अगाडी अमेरिकाको पेन्टागन, ट्वीनटावरमा आतंकवादी हमला भएको थियो । यो घटना ओसामा विन लादेनले घटाएको र उनी अफगानिस्तानमा बसेको भन्दै अमेरिका यहाँ युद्ध लड्न आएको थियो ।
यो बीचको दुई दशकमा अमेरिकाले पाकिस्तानमा लादेनलाई त मार्न सफल भयो, तर उसले निर्दोेष अफगानी नागरिकको बगेको खुनको भने ठूलो मूल्य चुकाउनु पर्ने देखिएको छ । त्यसो त सेप्टेम्बर ११ पछिल्लो शताब्दीकै एक त्रासदीपूर्ण र बर्बर घटनामध्ये एक हो । तर, यसको बदलामा अफगानिस्तानमा २० वर्ष युद्ध लडेर फर्केको अमेरिकाले पुनः त्यहाँ युद्ध र अशान्ती मात्र छाडेर आएको छ । यसले उसको युद्ध रणनीतिमाथि गम्भीर प्रश्नहरु उठेका छन् ।
Photo : Yahoo news
सेप्टेम्बर ११ को घटनापछि अमेरिकाले अफगानिस्तानमा सबैभन्दा लामो युद्ध लड्यो । अमेरिकामा थप सैनिक पठाउन बाराक ओबामालाई सल्लाह दिने व्यक्ति यतिबेला सत्ताको बागडोर सम्हालेका छन् । उनले अहिले लिएको निर्णयले के विश्व शान्तीलाई राम्रो गरिरहेको छ ? यो प्रश्न अहिले उनीमाथि नै उठ्न थालेको छ । अमेरिका सेप्टेम्बर ११ को घटनाबाट अहिले पनि झस्कछन्छ ।
तर, त्यसबेला उठेको अतिराष्ट्रबादको भावनालाई सही नियन्त्रणमा ल्याउने उपाय अफगानिस्तान युद्ध थियो त ? हजारौं सैनिकको मृत्यु, अंगभगं, मानसिक सन्तुलन बिग्रनुका वावजुत अमेरिका हारेसरह अफगानिस्तानबाट फर्किरहँदा तालिवानले विजयी झण्डा गाडिरहेको छ । यो अवस्थामा प्रश्न उठिरहेको छ, आखिर अमेरिका अफगानिस्तानमा युद्ध लड्यो किन ?
काठमाडौं । अमेरिकामा तालिवान र सरकारी फौजबीचको भिषण युद्धका कारण असुरक्षित बन्दै गएपछि अमेरिकाले त्यहाँबाट आफ्ना नागरिकको उद्धार गर्ने भएका छ । सो प्रयोजनका लागि उसले करीव ३ हजार सैनिक अफगानिस्तान पठाउने भएको छ । अमेरिकाले काबुलस्थित आफ्नो दूतावासबाट कर्मचारीहरूलाई सुरक्षित रूपमा फिर्ता गर्नका लागि करिब तीन हजार सैनिकहरूलाई काबुल पठाउने भएको हो ।
दुई दिनभित्र ती सैनिकहरू काबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ हुने बीबीसीले उल्लेख गरेको छ । अमेरिकी विदेश मन्त्रालयले जनाए अनुसार सुरक्षाका कारण काबुलमा मुख्य कूटनीतिक उपस्थिति मात्र हुनेछ । त्यहाँका कर्मचारीको सङ्ख्या समेत घटाइनेछ। तर दूतावास भने बन्द हुने छैन । उता, बेलायतले समेत दूतावासका कर्मचारी र नागरिकलाई सुरक्षित रूपमा बाहिर निकाल्न ६ सय सैनिकहरूलाई काबुल पठाउने भएको छ ।
वासिंटन डिसी । अफगानिस्तानमा तालिबानले शहरहरु कब्जा जमाएको छ । सरकारी सेनासँगको लडाईमा तालिवानले एकपछि अर्को विजयी हाँसिल गरिरहेको छ । यसो हुनुमा त्यहाँबाट अमेरिकी नेतृत्वको विदेशी फौज फिर्ता हुनु मूख्य कारण हो । अहिले जारी युद्धमा हजारौं मानिसले थप ज्यान गुमाइरहेका छन् । यस्तो समयमा सोधिएको एक प्रश्नमा अमेरिकी राष्ट्रपति जो बाइडनले भने अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता गर्ने आफ्नो निर्णयमा कुनै पछुतो नभएको बताएका छन्।
बीबीसीका अनुसार उनले सो मुलुकका लागि लड्न अफगान नेताहरूलाई एक हुन समेत सुझाव दिएका छन् । सो मुलुकबाट २० वर्षपछि अमेरिकी नेतृत्वको विदेशी फौजले देश छाडेको छ । यसको फाइदा उठाउँदै तालिवानले हिंसा बढाएको छ । तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये कम्तीमा ८ वटालाई नियन्त्रणमा लिइसकेको समाचारमा उल्लेख छ । अन्य सहरहरूलाई पनि नियन्त्रणमा लिने कोसिसका साथ उसले लडाइँ जारी राखेको छ।
मङ्गलवार ह्वाइट हाउसमा संवाददाताहरूसँग बोल्दै बाइडनले अमेरिकाले अफगानिस्तानसँग गरेका प्रतिबद्धता पूरा गरिरहेको बताएका हुन् । बाइडनले हवाई सैनिक सहायता, सैनिकहरूलाई तलब र अफगान फौजलाई खाद्यान्न र बन्दोबस्तीका सामानहरू अमेरिकाले प्रदान गरिरहेको बताए। संयुक्त राष्ट्रसङ्घका अनुसार गएको एक महिनाभित्र अफगानिस्तानमा तालिबान र सरकारी फौजबीच भएको लडाइँमा १,००० भन्दा बढी सर्वसाधारण मारिएका छन्।
टोकियो । ३२ औं गृष्मकालिन टोकियो ओलम्पिक सम्पन्न भएको छ । अमेरिकाले ३९ स्वर्णसहित कुल ११३ पदक जित्दै प्रथम स्थान हाँसिल गरेको ओलम्पिकको समापन समारोह भने जापानको राष्ट्रिय रङ्गशालामा आइतबार साँझ आयोजित भएको हो । दर्शकको उपस्थिति बिना नै ओलिम्पिक समापन कार्यक्रम आयोजना गरियो । अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीका अध्यक्ष थोमस बाचले सो अवसरमा भब्य आयोजनाका लागि जापानी नागरिकप्रति धन्यवाद ज्ञापन गरे ।
महामारीका कारण १६ दिने कार्यक्रम यसपालि अभूतपूर्व भएको उनको प्रतिक्रिया छ । ओलिम्पिक्स खेलकुदले विश्वलाई एकसाथ ल्याएको र सबैभन्दा मूल्यवान् उपहारका रुपमा आशा दिएर गएको बताए । आगामी ओलम्पक अब फ्रान्सले आयोजना गर्नेछ । समारोहमा ओलिम्पिकको झण्डा पेरिसका मेयरलाई हस्तान्तरण गरिएको छ ।
ओलम्पिकको पदक तालिकामा संयुक्त राज्य अमेरिका ३९ स्वर्णसहित पहिलो स्थानमा रहँदा ३८ स्वर्ण जितेको चीन दोस्रो स्थानमा रह्यो । २७ स्वर्णसहित जापान तेस्रो र २२ स्वर्णसहित बेलायत तेस्रो स्थानमा रहन सफल भए । नेपालको छिमेकी मुलुक भारतले १ स्वर्णसहित ७ पटक भित्राउँदा नेपाल भने पदक बिहिन घर फर्किएको छ ।
अमेरिका । अमेरिकाले इरानको नयाँ सरकारलाई परमाणु सम्झौतासम्बन्धी वार्तामा फेरि फर्कन आग्रह गरेको छ । इरानका नवनियुक्त राष्ट्रपति इब्राहिम रायसीले जिम्मेबारी ग्रहण गरेकै दिन बिहीबार अमेरिकाले परमाणु सम्झौताको विषयलाई सकारात्मक दिशातर्फ लैजान आग्रह गरेको हो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले कूटनीतिक वार्ताको अवसर सधैँ खुल्ला नरहने चेतावनीसमेत दिएका छन् ।
सन् २०१५ मा इरान र अन्य ६ देशहरू अमेरिका, बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीबीच भएको एउटा सम्झौताअनुसार इरानलाई आर्थिक क्षति पुग्ने केही प्रतिबन्धहरू हटाइएको बदलामा इरानले आफ्ना केही परमाणु कार्यक्रम रोकेको थियो । अहिले फेरि त्यसलाई निरन्तरता दिन अमेरिकाले इरानलाई आग्रह गरेको हो । बिहीबार पद सम्हालेपछि इरानी राष्ट्रपति रायसीले पनि देशमाथि लागेका प्रतिबन्ध अन्त्यका लागि गरिने कूटनीतिक पहललाई समर्थन गर्ने आशय व्यक्त गरेका थिए ।
इरानका नयाँ राष्ट्रपतिको आशय र अमेरिकाको आग्रह मिल्दो जुल्दो भएकाले दुई देशको सम्बन्ध सकारात्मक दिशातर्फ उन्मुख हुन सक्ने अपेक्षा गरिएको छ । यसअघि सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु सम्झौताबाट अमेरिकालाई अलग्याउँदै इरानमाथि पुराना प्रतिबन्धहरूलाई निरन्तरता दिएका थिए । त्यसपछि दुई देशबीचको सम्बन्धमा तिक्तता आएको थियो ।
पश्चिमा देशहरूले इरानमाथि परमाणु हतियार बनाउन लागिरहेको आरोप लगाउने गरेका छन् भने इरानले त्यसलाई अस्वीकार गर्दै आएको छ । इरानी नयाँ राष्ट्रपति रायसीले इरानमाथिका प्रतिबन्धहरू अन्त्य गर्ने कुनै पनि कूटनीतिक प्रयासहरु आफूले गर्ने बताएका थिए । सम्बन्ध सुधार गर्न र सम्झौतालाई पुनर्जीवित गर्न अस्ट्रियाको राजधानी भियानामा केही समयदेखि वार्ता भइरहेपनि नतिजा आउन सकेको छैन तर प्रयास भने गरिरहने उनले बताएका छन् ।
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०३० मा ५० प्रतिशत विद्युतीय गाडी विक्री हिस्साको लक्ष्य निर्धारण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी भएको उनको कार्यालयले जानकारी गराएको छ । यस आदेशले अमेरिकामा पूराना तथा बढी प्रदूषण गर्ने डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई क्रमशः हटाउँदै जाने अमेरिकी नीतिलाई सुदृढ पार्ने बताइएको छ ।
बिहीबार ह्वाइट हाउसद्वारा जारी प्रेस विज्ञप्तिमा बताइएको छ, “आदेशले ‘बिल्ड ब्याक बेटर’ एजेन्डाको पूर्ण आर्थिक लाभ दिन र स्मार्ट ईन्धन दक्षता र उत्सर्जन मानकहरू अघि बढाउन सन् २०३० मा ५० प्रतिशत विद्युतीय गाडी विक्री सेयरको लक्ष्यको रूपरेखा तयार गर्न मद्दत गर्नेछ ।”
विद्युतीय सवारीसाधनमा केन्द्रित नयाँ नीतिको उद्देश्य प्रदूषण कम गर्नु, अमेरिकी परिवारहरूको पैसा बचत गर्नु र वायुलाई सफा राख्नु रहेको बताइएको छ ।
वासिङ्टन स्रोतका अनुसार विश्वभरि बढ्दो प्रविधिहरूको बाबजुद, विद्युतीय र त्यसमा प्रयोग गरिने ब्याट्री निर्माण गर्ने दौडमा अमेरिका पछाडि रहेको छ । तसर्थ, बाइडेनको नयाँ एजेण्डा अमेरिकालाई विद्युतीय सवारी साधनको उत्पादन, पूर्वाधार र नवीनतामा नेतृत्व गर्ने योजनासहित आएको छ ।
विश्व बजार विद्युतीय सवारीसाधनतर्फ आकर्षित हुँदै जाँदा, नयाँ कार्यकारी आदेशले अमेरिकालाई सन् २०३० मा नयाँ यात्रुवाहक गाडीको विक्रीबाट हरितगृह ग्यास उत्सर्जन लाई ६० प्रतिशतभन्दा बढीले कम गर्ने बाटोमा लानेछ ।
काठमाडौं । नेपालमा पछिल्लो एक महिनाको अवधिमा अमेरिकाबाट पर्यटक आगमन बढेको छ । जुलाई महिनामा अमेरिकाबाट मात्र ८१९ जना नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । जुलाईमा कुल २९९१ जना विदेशी पर्यटक नेपाल आएका छन् । नेपालमा कुटनीतिक नियोगमा काम गर्ने कर्मचारी, विभिन्न परियोजनामा काम गर्ने कर्मचारी र गैरआवासीय नेपालीलाई समेत पर्यटक मानिन्छ । यो महिनामा नेपाल आउने पर्यटकमा सबैभन्दा धेरै भने भारतीय छन् ।
भारतबाट ११४३ जना पर्यटक नेपाल आएका छन् । भारतबाट हवाई मार्गबाट नेपाल भित्रिने भारतीयलाई मात्र पर्यटक मानिन्छ । दक्षिण कोरियाबाट सबैभन्दा धेरै ५८ जना भित्रिएका छन् । चीनबाट ५० जना पर्यटक नेपाल आएका छन् । युरोपको बेलायतबाट १८५ पर्यटक नेपाल आएका छन् । बेल्जियमबाट ४५, फ्रान्सबाट ४१, जर्मनबाट ३४ पर्यटक नेपाल आएको तथ्यांक छ । क्यानडाबाट ७८ र अस्ट्रेलियाबाट ५२ जना पर्यटक नेपाल आएका छन् ।
काबुल । अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने प्रयासमा रहेको तालिवान र सरकारी फौजबीच लडाई जारी छ । तालिबानको नियन्त्रणमा पुग्नसक्ने पहिलो प्रान्तीय राजधानी हुनसक्ने खतराबीच अफगानिस्तानको एउटा मुख्य सहरमा भीषण लडाइँ भइरहेको बीबीसीले लेखेको छ । अफगान र अमेरिकी सेनाले हवाई हमला जारी राखे पनि दक्षिणी हेल्मन्ड प्रान्तको सहर लश्कर गाहमा तालिबानले कडा प्रतिवाद गरिरहेको समाचारमा जनाइएको छ ।
सो सहरमा तालिबानले एउटा टेलिभिजन स्टेशनलाई कब्जा गरेको छ । ग्रमीण क्षेत्रबाट भागेका कैयौँ मानिसहरूले कतिपय भवनहरूमा शरण लिएको समाचार छ । विद्रोहीहरूसँग लड्न सयौँ थप अफगान सैनिकहरूलाई परिचालन गरिएको समेत जनाइएको छ । बीस वर्षपछि अमेरिकी सैनिकहरू त्यहाँबाट हटेपछि अहिले अफगानिस्तानमा तालिबानले तीव्र रूपमा कैयौँ भूभाग कब्जा जमाइरहेको छ ।
यो प्रान्त अमेरिकी र ब्रिटिश सैन्य अभियानको केन्द्रविन्दु रहेको थियो । उक्त क्षेत्रलाई तालिबानले नियन्त्रणमा लिएमा त्यो अफगान सरकारका लागि ठूलो झड्का हुनेछ। यदि लश्कर गाहलाई तालिबानले नियन्त्रणमा लिएमा त्यो सन् २०१६ पछि तालिबानले नियन्त्रणमा लिएको पहिलो प्रान्तीय राजधानी हुनेछ। तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारमा पनि कब्जा गर्ने कोसिस गरिरहेको समेत जनाइएको छ ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा)अमेरिकाको सातौं अधिवेशन तथा चौधौं वार्षिक साधारणसभा सफलताका साथ सम्पन्न भएको छ । गत जुलाई २४ र २५ तारिखका दिन अमेरिकाको भर्जिनियामा सम्पन्न अधिवेशनले आगामी दुई वर्षीय कार्यकाल (सन् २०२१ -२३) का लागि विकासराज न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नेजाको नेतृत्त्व लिनका लागि ६ जना चुनावी मैदानमा उत्रिएका थिए। तर, मतदान प्रक्रिया सुरु हुनु अगावै विष्णुहरि घिमिरे, निदेश अधिकारी र किरणबाबु मरहठ्ठाले सर्वसम्मतिमा नेतृत्व चयन हुने अपेक्षाका साथ उमेदवारी फिर्ता लिएर चुनावी मैदान छोडेका थिए ।तर,बाँकी तीन जना आकाँक्षीका बीच सहमतिमा नेतृत्व चयन गर्न हरसम्भव प्रयास गरिएको भएता पनि सफलता नमिलेपछि निर्वाचन समितिले ढिलो गरी मतदानको प्रक्रिया सुरु गरेको थियो । मतदान परिणाम अनुसार विकासराज न्यौपानेले मतदान प्रक्रियामा होमिएका आफ्ना दुई प्रतिस्पर्धीहरु अनुज थापा र गोकुल ढकाललाईपछि पार्दै नेतृत्वको बागडोर सम्हाल्न सफल हुनु भएको हो।यसैगरी, उपाध्यक्ष पदमा मच्छे देवी गुरुङ निर्वाचित हुनु भएको छ । गुरुङले आफ्नो प्रतिस्पर्धी किसान रेग्मीलाई पराजित गर्नु भएको हो । निर्वाचन प्रक्रियामा महासचिव पदकालागि ध्रुव कुँवर , सुरज भण्डारी र प्रसान (वीर) एलुङ राईले उमेदवारी दर्ता गराउनु भएको थियो । तर, सहमतिमा नेतृत्व चयन गर्न मार्ग प्रसस्त गरेको भन्दै ध्रुव कुँवरले आफ्नो उमेदवारी फिर्ता लिनु भएको थियो । अरु दुई उमेदवारका बीचमा सहमति जुट्न नसके पछि अन्ति टुंगो लगाउन अन्ततः प्रजातान्त्रिक अभ्यासको बाटो ‘मतदान ‘ प्रक्रियाकै सहायता लिनु पर्यो । निर्वाचनको अन्तिम मत परिणाम अनुसार भण्डारीले आफ्नो प्रतिस्पर्धी राईलाई पराजित गर्दै चयन हुन सफल हुनु भयो। कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरु भने निर्विरोध चयन भए । सचिव पदमा कल्पना घिमिरे र कोषाध्यक्ष पदमा प्रभात भट्टराई निर्विरोध निर्वाचित हुनु भयो । यसैगरी , क्षेत्रीय संयोजकहरु पनि निर्विरोध निर्वाचित हुनु भएका छन्।निर्वाचन परिणाम अनुसार सुजन पण्डित (दक्षिण) , शिव नेपाल (पश्चिम) , लिला देवी ओझा(डिसी मेट्रो) र गोकुल श्रेष्ठ (उत्तर पूर्व) चयन हुनु भएको छ । नयाँ कार्यसमितिमा ४ सदस्य पदका लागि ४ जनाको मात्र उमेदवारी परेकाले निर्वाचन समितिले चारै जनालाई निर्विरोध निर्वाचित भएको घोषणा गर्यो। जस अनुसार अनिल अधिकारी, बाबुराम दाहाल, संगम बानिया र ज्ञानप्रसाद शर्मा निर्विरोध निर्वाचित हुनु भएको छ।
निर्वाचन परिणाम सार्वजनिक भए लगतै विश्व न्यूजका प्रतिनिधिसंग कुराकानी गर्दै न्यौपानेले आफ्नो अमुल्य मतदान दिएर निर्वाचित गराउनु हुने मतदाताहरुलाई बिशेष धन्यवाद दिदै आभार प्रकट गर्नु भयो।गत कार्यसमितिका कार्यवाहक अध्यक्ष समेत रहनु भएका न्यौपानेले खुशी ब्यक्त गर्दै निर्वाचन सफलताका साथ सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने,निर्वाचन समित , मतदाता,अग्रजहरु ,पूर्व कार्य समितिहरु, सरोकारवालाहरु , सहयोगीहरु र पत्रकारहरुलाई धन्यवाद व्यक्त गर्नु भयो।सातौं अधिवेशनबाट निर्वाचित हुनु हुने सबैलाई बधाई दिदै न्यौपानेले निर्वाचनको प्रक्रियामा सामेल हुनु भएका सम्पूर्ण उमेदवारहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो।उहाँले निर्वाचन एक गणितीय परिमाणात्मक परिणाम मात्र भएकाले,संस्थालाई संस्थागत गर्दै गुणात्मक उचाइमा पुर्याउन सबैको साथ र सहयोगका लागि अपिल गर्नु भयो।नव निर्वाचित अध्यक्ष न्यौपानेले सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दै गर्दा पराजित भएका उमेदवारहरुले पनि संस्थालाई आवश्यक पर्दा सक्दो सहयोगी भूमिका निर्वाह गर्ने बचनबद्धता गरेका थिए। निर्वाचन परिणाम पश्चात् विजयी हुने र पराजित हुने उमेदवारहरुका बिचमा देखिएको हार्दिकता, साच्चै उदाहरणीय र कदरयोग्य थियो । निर्वाचन परिणाम कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्न नेपालदेखि अमेरिका आउनु भएका नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले नव निर्वाचित कार्यसमितिलाई बधाई दिदै कार्यकाल पूर्ण सफलताको कामना गर्नु भयो । नेपाल र अमेरिकामा रहेर पत्रकारिता गर्ने पत्रकारहरुको स्तरउन्नति र प्रगतिका लागि नयाँ कार्यसमितिले आफ्नो कार्यकालमा कदरयोग्य काम गरेर देखाउने अपेक्षा गर्दै पोख्रेलले भन्नु भयो,’ संस्थागत हुदै गरेको नेजालाई अझ उचाइमा पुर्याएर संस्थाको गरिमा बढाउन नयाँ कार्यसमिति प्रतिबद्ध भएर लाग्ने छ भन्नेमा म विश्वस्त छु ।र, आगामी दिनमा नेपाल अमेरिका पत्रकार संघ र नेपाल पत्रकार महासंघका बीच अझ प्रभाकारी ढंगबाट सम्बन्ध स्थापित गर्न दुबै क्रियाशिल हुन जरुरी ठान्दछु ।’ उहाँले भन्नु भयो, ‘ दुबै संस्था र संस्थामा आबद्धहरुको भलोका लागि आवश्यकतानुसार ज्ञान र सीपहरु एक आपसमा आदानप्रदान गर्नु अरिहार्य भएको कुरामा जोड दिनु भयो ।
निर्वाचन परिणाम लगतै आङ छिरिङ शेर्पा संयोजक तथा नारायण सापकोटा, भोला आचार्य र शैलेश पोखरेल सदस्य रहेको निर्वाचन समितिले नव निर्वाचितहरुलाई संस्थाको विधान अनुसार सपथग्रहण गराएको थियो।सपथग्रहण पश्चात् पुरानो कार्यसमिति र नयाँ कार्यसमितिका बिच बुझबुझारतको काम समेत सम्पन्न गरिएको थियो। यसैबीच नवनिर्वाचित कार्य समितिको पहिलो बैठक समेत सम्पन्न भएको छ । बैठकले सातौं अधिवेशन तथा चौधौ वार्षिक साधारणसभालाई सफलताका साथ सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्नु हुने प्रमुख अतिथि, अतिथिहरु, सरोकारवाला संस्था तथा प्रतिनिधिहरु, पूर्व कार्यसमिति, निर्वाचन समिति, संस्थाका सदस्यहरु , सल्लाकारहरु,सहयोगहरु लगायत सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
लण्डन । इजरेलको स्वामित्त्वको कम्पनीले सञ्चालन गरिरहेको एमभी मर्सर स्ट्रिट नामक एक ट्याङ्करमा बिहीवार ओमानी तटमा आक्रमण भयो । यो आक्रमणमा दुई जना मारिएका छन् । घटनामा इरानको हात रहेको अमेरिका र बेलायतले दावि गरेका छन् । बीबीसीका अनुसार उनीहरूले घटना अन्तर्राष्ट्रिय कानुन विपरीत भएको भन्दै त्यसको जवाफ दिइने समेत चेतावनी दिएका छन् । इरानले घटनामा आफ्नो संलग्नता भने अस्वीकार गरेको छ। यो घटनामा एक जना बेलायती र एक जना रुमेनियाली नागरिकको ज्यान गएको थियो ।
इजरेली प्रधानमन्त्री नाफ्ताली बेनेटले उक्त घटनामा आफ्नो चिरकालीन शत्रु इरानको हात रहेको प्रमाण रहेको बताएका थिए । त्यसपछि अमेरिका र यूकेको प्रतिक्रिया सार्वजनिक भएको हो । उता, इरानले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । उक्त ट्याङ्करमा भएको हमला इजरेल र इरान बीचको अघोषित छद्म युद्धमा तनाव बढाउने पछिल्लो घटनाका रूपमा देखापरेको समेत संचारमाध्यमले लेखेका छन् । गत मार्चदेखि इजरेल र इरानद्वारा सञ्चालित कैयौँ पानी जहाजहरूमा आक्रमण भइरहेका छन् ।
काठमाडौं । गत सिजनको बसन्तु ऋतु (चैत जेठ)मा ४४ देशका चार सय ५९ जनाले सगरमाथा आरोहण गरेको पर्यटन विभागले जनाएको छ । यसमा सबैभन्दा धेरै नेपाली आरोही छन् । दोस्रो स्थानमा अमेरिका रहेको छ । तथ्यांक अनुसार शिखरमा चुम्न सफल आरोहीमध्ये सबैभन्दा धेरै नेपालका २ सय ८३ जना छन् । अमेरिकाका ३२ जना आरोहीले सफल आरोहण गर्न सफल भएको तथ्यांक छ । यसबाहेक चीनका २४ जना, भारतका २० जना, बेलायतका १३ जना र बहराइनका १० जना शिखरमा पुगेको विभागले जनाएको छ ।
यो वर्ष बहराइनबाट भने त्यहाँका राजकुमार सहितको टोलीले सगरमाथा चढेको हो । बसन्तु ऋतु नेपालमा हिमाल आरोहणको मुख्य सिजन मानिन्छ । यो वर्ष सगरमाथामा अनुमति लिएका मध्ये आधा भन्दा धेरैले भने सगरमाथा चढ्न सकेनन् । यसरी असफल हुनुमा प्रतिकुल मौसम प्रमुख कारण थियो । कोरोना महामारी हुँदाहुँदै पनि उल्लेख्य संख्यामा आरोही आएका कारण यसले व्यवसायीमा भने उत्साह थपेको छ ।
काठमाडौं । जापानमा जारी ओलम्पिकको पदक तालिकामा चीनले जापान र अमेरिकालाई पुनः पछि पारेको छ । शुक्रबार बिहान ९ बजेसम्मको तथ्यांक अनुसार पदक तालीकाको शीर्ष स्थानमा चीन छ । दोस्रो स्थानमा जापान र तेस्रो स्थानमा अमेरिका छ । उनीहरुलाई अष्ट्रेलिया, रुस (ओलम्पिकको झण्डा मुनी), बेलायत र दक्षिण कोरियाले पच्छ्याइरहेका छन् । १६ स्वर्ण, ७ रजत र १० काश्य गरि कुल ३३ पदक जितेको छ । जापानले १५ स्वर्ण, ४ रजत र ६ काश्य गरि २५ पदक हात पारेको छ ।
अमेरिकाले १४ स्वर्ण, १६ रजत र ११ काश्य गरि कुल ४१ पदक जितिसकेको छ । धेरै पदक अमेरिकाले हात पारेपछि स्वर्णका आधारमा चीन र जापानले उसलाई उछिनेका हुन् । रुस ओलिम्पक कमिटी र अष्ट्र्रलियाले समान ९\९ स्वर्ण पदक जितेका छन् । अहिलेसम्म कुल ३३ मुलुकले स्वर्ण पदक जितिसकेका छन् । ६० वटा मुलुकले कुनै न कुनै प्रकारको पदक जितेका छन् । दक्षिण एसियामा भारतले एक रजत जित्नुबाहेक कुनै पनि मुलुकले पदक जितेका छैनन् । नेपालका पाँच खेलाडीको खेल पहिलो चरणबाटै सकिएको छ ।
वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले खोप लगाउने व्यक्तिलाई १ सय अमेरिकी डलर दिने घोषणा गरेका छन् । अमेरिकामा पछिल्लो दिनमो कोरोनाको सङ्क्रमण बढिरहेको छ । तर, जनताले खोप लगाउन मानेका छैनन् । संक्रमण खोप नलगाएका मानिसमा तिब्र रुपमा बढेको छ । खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्न खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई आह्वान गरेको बीबीसीले जनाएको छ ।
उनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन जारी गरेका छन्। अमेरिकामा सङ्घीय सरकार सबैभन्दा ठूलो रोजगारदाता हो। सङ्घीय सरकारका निकायहरूमा करिब २० लाख मानिसहरू काम गर्छन्। बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ वा अनिवार्य परीक्षणको सामना र मास्क लगाउन तयार हुनुपर्नेछ। आधिकारिक विवरण अनुसार हालसम्म अमेरिकामा आधा जनसङ्ख्याले मात्र खोपको पूरा मात्रा लिएका छन्।
बिहीवार ह्वाइट हाउसमा बोल्दै बाइडनले बढी सङ्क्रामक डेल्टा भेरिअन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको बताएका छन् । उक्त भेरिअन्टले खोप नलगाएकाहरूमा महामारी निम्त्याएको छ। खोप नलगाउँदा हुनसक्ने जोखिमबारे उनले मानिसहरूको मृत्यु भइरहेको र जसको निधन नहुनु पर्ने हो उनीहरूको पनि हुनसक्ने भन्दै चेतावनी ुसमेत दिएका छन् । बाइडनले पहिले नै खोप लगाइसकेका अमेरिकीहरूका लागि न्यायसङ्गत जस्तो नदेखिए पनि सबैका हितका लागि नगद प्रोत्साहन दिने घोषणा गरिएको बताएका छन् ।
अलास्का । अमेरिकाको अलास्कामा शक्तिशाली भूकम्प गएको छ । ८.२ रेक्टर स्केलको यो भूकम्प पछिल्लो ५० वर्षयताकै शक्तिशाली मानिएको छ । अलास्काको समुद्री क्षेत्रमा गएको भूकम्पको क्षतिको विवरण भने संकलनको क्रममा रहेको बताइएको छ । सीएनएनका अनुसार अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण–पूर्वको समुद्री क्षेत्रमा ४६ किलोमिटर गहिराइमा भूकम्प गएको छ ।
यसअघि यहाँ सन् १९६४ मा ८.७ रेक्टर स्केलको भूकम्प गएको रेकर्ड छ । भूकम्पपछि दुई वटा ठूला परकम्प समेत गएको छ । भूकम्पको केही समयपछि समुद्रमा ठूला छाल आउन थालेको छ । स्थानीय प्रशासनले सुनामीको चेतावनी समेत जारी गरेको थियो । तर, अहिले भने जोखिम नभएको भन्दै सुनामीको चेतावनी हटाइएको छ ।
काठमाडौं । चीनले परमाणु क्षेप्यास्त्र भण्डारण र प्रक्षेपणमा आफ्नो क्षमता बढाइरहेको अमेरिकाले दावि गरेको छ । अमेरिकी वैज्ञानिकलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले यस्तो जनाएका छन् । भूउपग्रहबाट खिचिएको चीनको पश्चिमी भूभागको तस्बिरले त्यहाँ परमाणु क्षेप्यास्त्रका लागि आवश्यक संरचना बन्दै गरेको देखिएको फेडेरेसन अफ अमेरिकन साइन्टिस्ट एफएएसको एउटा प्रतिवेदनमा जनाइएको बीबीसीले लेखेको छ ।
अमेरिकी रक्षा अधिकारीले चीनको परमाणु क्षमता अभिवृद्धिप्रति चिन्ता व्यक्त गरेका छन्। यो चीनको पश्चिममा गत दुई महिनामा निर्माणाधीन देखिएको दोस्रो परमाणु क्षेप्यास्त्र क्षेत्र भएको बताइएको छ। निर्माणाधीन क्षेत्रमा ११० भूमिगत क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण स्थल रहेको बताइएको छ। गत महिना वाशिङ्टन पोस्ट समाचारपत्रले गान्सु प्रान्तको युमेनको मरुभूमिको एउटा क्षेत्रमा त्यस्तो १२० क्षेप्यास्त्र भण्डारण स्थल देखिएको विवरण प्रकाशित गरेको थियो।
एफएएसले सोमवारको प्रतिवेदनमा नयाँ क्षेत्र युमेनभन्दा ३८० किलोमिटर उत्तर(पश्चिमको हामिमा रहेको र त्यहाँ भर्खरै निर्माण सुरु गरिएको बताएको छ। सन् २०२० मा अमेरिकी रक्षा मन्त्रालयले चीनले आफ्नो परमाणु क्षेप्यास्त्र दोबर बनाउन लागेको बताएको थियो। यो विवरण अमेरिका र रुसबीच हतियार नियन्त्रणबारे छलफल सुरु हुने तयारी भइरहँदा आएको समेत बीबीसीले लेखेको छ ।
अमेरिकी र रुसी विदेश उपमन्त्रीहरूको छलफल रोकिएको परमाणु हतियार नियन्त्रण वार्ता सुरु गर्ने पहिलो चरणको रूपमा हेरिएको छ। चीनले भने अहिलेसम्म हतियार नियन्त्रण वार्तामा भाग लिएको छैन। अमेरिकी रक्षा मन्त्रालयको एउटा विभागले एफएएसको प्रतिवेदनबारे ट्वीट गर्दै चिन्ता व्यक्त गरेको छ। सन् २०२० मा चीनमा २०० भन्दा बढी परमाणु क्षेप्यास्त्रहरू थिए। चीनले त्यसलाई दोबर बनाउन खोजेको अमेरिकाको दावि छ । अमेरिकामा भने त्यस्ता ३,८०० क्षेप्यास्त्र छन ।
काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ओलम्पिकको पदक तालिकामा अमेरिका, चीन र जापानबीच पदक तालीका तिब्र प्रतिस्पर्धा देखिएको छ । बिहीबार बिहान ९ बजेसम्मको तथ्यांक अनुसार यी तीन मुलुकले समान १३\१३ स्वर्ण पदक जितेका छन् । कुल पदक संख्या बढी रहेको आधारमा अमेरिका पहिलो स्थानमा छ । दोस्रो स्थानमा चीन र तेस्रो स्थानमा जापान रहेको छ ।
तथ्यांक अनुसार अमेरिकाले १३ स्वर्ण, १२ रजत र १० काश्य गरि कुल ३५ वटा पदक जितिसकेको छ । चीनले १३ स्वर्ण, ६ रजत र ९ काश्य गरि कुल २८ वटा पदक हात पारेको छ । जापानले १३ स्वर्ण, ४ रजत र ५ काश्य गरि २२ वटा पदक जितिसकेको छ । यी तीन मुलुक नै सर्वाधिक पदक विजेताको अग्रपंक्तिमा रहने निश्चित भएको छ । किनकी चौथो स्थान र पाँचौ स्थानमा रहेको मुलुक कोरिया र अष्ट्रलियाले समान ७\७ स्वर्ण पदक जितेका छन् ।
अहिलेसम्म कुल ३० वटा मुलुकले स्वर्ण भित्राइसकेका छन् । ५८ वटा मुलुकको भागमा भने कुनै न कुनै प्रकारको पदक परेको छ । दक्षिण एसियाबाट भारतले एक मात्र रजत पदक जित्नुबाहेक कुनै पनि मुलुकले पदक जित्न सकेका छैनन् । नेपाली खेलाडीहरु समेत धमाधम पहिलो चरणबाटै बाहिरिएका छन् ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार दुई नेताबीच मंगलबार साँझ टेलिफोनमा करीव १० मिनेटसम्म वार्ता भएको छ । ब्लिन्केन अहिले भारतको भ्रमणका क्रममा नयाँ दिल्ली आइपुगेका छद् । उनले देउवालाई नयाँ दिल्लीबाटै फोन गरेका हुन् । सो क्रममा प्रधानमन्त्री देउवा र विदेशमन्त्री ब्लिन्केनबीच दुई मुलुकका आपसी चासोका सम्बन्धमा कुरा भएको मन्त्रालयले जनाएको छ ।
विकास सहकार्य, पर्यावरण र कोरोना भाइरसको समयमा सहकार्यक विषयमा समेत दुई नेताबीच कुराकानी भएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । कुराकानीपछि विदेशमन्त्री ब्लिन्केन स्वयमले ट्वीट गरि यसबारे जानकारी गराएका छन् । उनले नेपालका प्रधानमन्त्री देउवासँग मंगलबार कुरा गर्न पाएकोमा खुसी व्यक्त गर्दै अमेरिका–नेपालबीच सहकार्य बढाउने सम्बन्धमा छलफल गरेको उल्लेख गरेका छन् । उनले समेत जलवायु परिवर्तनको प्रभावको विषयमा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको जनाएका छन् । अमेरिकाको चासो एमसीसीमा छ । तर, यो बारे कुराकानी भए नभएको भने खुलेको छैन ।
टोकियो । ३२ औं गृष्मकालिन ओलम्पिकको पदक तालीकामा अमेरिका पहिलो स्थानमा पुगेको छ । मंगलबार नेपाली समय अनुसार बिहान ९ बजेसम्मको तालीका अनुसार अमेरिका पहिलो स्थानमा छ । उसलाई चीन र जापानले पच्छ्याइरहेका छन् । अमेरिकाले ८ स्वर्ण, ३ रजत र ८ काश्य गरि कुल १९ पद हात पारिसकेको छ । दोस्रो स्थानमा चीन छ । उसले ७ स्वर्ण, ४ रजत र ४ काश्य पदक जितेको छ । तेस्रो स्थानमा रहेको जापानले समेत समान ७ स्वर्ण जितेको छ ।
उसको २ रजत र ३ काश्य गरि कुल १२ पदक रहेको छ । रुस र बेलायतले क्रमशः ५ र ४ स्वर्ण हात पासिकेका छन् । अहिलेसम्म कुल २४ मुलुकको भागमा स्वर्ण हात परिसकेको छ । ५३ वटा मुलुकले कुनै न कुनै पदक जितिसकेका छन् । नेपाल भने अहिलेसम्म शून्य पदकमा छ । कुनै पनि दक्षिण एसियाली मुलुकले स्वर्ण जित्न सकेका छैनन् । भारतले अहिलेसम्म एक रजत पदक मात्र जितेको छ ।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी लडाकू सैनिकले सन् २०२१ को अन्त्यसम्ममा इराक छाडिसक्ने घोषणा गरेका छन् । तर, इराकको सेनालाई तालिम र सल्लाह दिन भने त्यहाँ अमेरिकी सेना रहने उनको भनाई छ । बीबीसीका अनुसार इराकी प्रधानमन्त्रीको वासिङ्टन भ्रमणका अवसरमा सम्बोधन गर्दै उनले यस्तो जानकारी गराएका हुन् ।
इराकी प्रधानमन्त्री मुस्ताफा अल(खादिमीसँग ह्वाइट हाउसमा कुराकानी गरेपछि बाइडनले यस्तो घोषणा गरेका हुन्। इराकमा अहिले पच्चिस सय लडाकु अमेरिकी सैनिक छन्। ती सैनिकहरूले इराकी फौजलाई बाँकी रहेका इस्लामिक स्टेट लडाकूसँग लड्न सहयोग गरिरहेका छन् । यो घोषणापछि पनि कैयौँ अमेरिकी सैनिक भने इराकमै रहने छन्।
बाइडनको घोषणालाई इराकी प्रधानमन्त्रीलाई सहयोग पुर्याउनका लागि गरिएको कार्यका रूपमा हेरिएको बीबीसीले लेखेको छ । अमेरिकी राष्ट्रपतिको घोषणालाई राष्ट्रपति जर्ज डब्लू बुसका बेला सुरु भएको अर्को युद्ध अन्त्य भएको रूपमा हेरिने भएको छ ।उनले यसै वर्ष अफगानिस्तानबाट अमेरिकी फौज हटिसक्ने बताएका थिए र अहिले त्यहाँबाट विदेशी सेनाहरू फिर्ता भएका छन्।
युटा । संयुक्त राज्य अमेरिकाको दक्षिण पश्चिमी राज्य युटामा भएको एक भयानक सडक दुर्घटनामा कम्तिमा ८ जनाको मृत्यु भएको छ । दुर्घटना आइतबार भएको हो । दुर्घटनाको कारण भने मरुभूमीमा आएको आँधि मानिएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार धुलो, बालुवाुसहितको आँधीले सडकमा अवरोध गरेको थियो । जसका कारण गाडीहरु एक आपसमा ठोक्किएका थिए ।
कानोस सहर नजिकै इन्टरसेक्सन १५ मा ती सवारी साधन दुर्घटनामा परेको खबर छ । सडक अवरोध भएपछि अगाडी एक चालकले गोडी रोके । त्यसपछि अन्य सवारी साधन क्रमशः सोही गाडीको पछाडी ठोक्किन पुगे । मृत्यु हुनेमा ५ जना एउटै कारमा सवार थिए । दुर्घटनामा कम्तिमा १० जना घाइते छन् ।
टोकियो । ३२ औं गृष्मकालिन ओलम्पिकको पदक तालीकामा चीनले आफ्नो दवदवा कायम राखेको छ । सोमबार बिहान नेपाली समय अनुसार साढे ८ सम्मको पदक तालीका अनुसार चीन अग्र स्थानमा कायम छ । उसले कुल ६ स्वर्ण, २ रजत र ५ काश्य जितेको छ । ५ स्वर्ण र एक रजत पदक जितेको जापान पदक तालीकाको दोस्रो स्थानमा छ । यी दुई मुलुकलाई अमेरिकाले पच्छ्याइरहेको छ । अमेरिकाले ४ स्वर्ण, ३ रजत र ४ काश्य पदक जितेको छ ।
अष्ट्रेलिया र दक्षिण कोरियाले समान २\२ स्वर्ण पदक हात पारेका छन् । अहिलेसम्म कुल १९ मुलुकको भागमा स्वर्ण पदक पुगिसकेको छ । यसमा कुनै पनि दक्षिण एसियाली मुलुकले भने स्वर्ण पदक जित्न सकेका छैनन् । तर, एसियाली मुलुकको दवदवा कायम छ । ओलम्पिकमा अहिलेसम्म ४२ वटा मुलुकले भने कुनै न कुनै प्रकारको पदक जितिसकेका छन् । २०६ वटा मुलुकले आफ्नो देशको प्रतिनिधित्व गरिरहेका छन् ।
न्याूयोर्क । कोरोना नियन्त्रणमा अमेरिकी सरकारको पछिल्लो गतिविधिप्रति प्रमुख स्वास्थ्य विज्ञ डा एन्थोनी फाउचीले आपत्ति प्रकट गरेका छन् । बीबीसीका अनुसार खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढिरहेका सन्दर्भमा उनको चेतावनी आएको हो । उनले कोरोना भाइरसका मामिलामा अमेरिका गलत दिशामा हिँडिरहेको बताएका छन्।
उनले कोरोनाभाइरसको खोप लगाइने दर कम भएका क्षेत्रमा डेल्टा भेरिअन्ट बढिरहेको उल्लेख गरेका छन् । फाउचीले स्वास्थ्य अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीमा पनि मास्क अनिवार्य गर्ने कुराबारे विचार गरिरहेको समेत बताएका छन्। उनले कमजोर व्यक्तिहरूलाई प्रतिरक्षा बढाउनेखाले खोप दिने कुरा पनि समीक्षाका क्रममा रहेको जानकारी दिए ।
खोप नलगाएकाहरूका बीचमा अमेरिकामा कोरोनाभाइरस एउटा महामारी बनेको उनको भनाइ छ । फाउचीले अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार हुन् । अमेरिकामा अहिलेसम्म जनसङ्ख्याको ४९ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेका छन् । अप्रिलयता भने खोप लगाउने दरमा कमी आएको छ । खोप लगाउन नमान्नेहरुको दावि खोपमा विश्वास नहुनु हो ।
काठमाडौं । चीनले थुपै अमेरिकी नागरिक र संस्थामाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । हङकङस्थित चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको विरोध स्वरुप चीनले अमेरिकी नागरिक र संस्थामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। बीबीसीका अनुसार यो सूचीमा पूर्व अमेरिकी वाणिज्यमन्त्री विल्बर रस समेत रहेका छन् । अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्कनु केही दिनअघि बेइजिङको उक्त निर्णय सार्वजनिक भएको हो।
हङकङमा गरिएका सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले त्यहाँस्थित चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको थियो। वाशिङ्टनले आफ्नो व्यापारिक समुदायलाई हङकङमा काम गर्दा जोखिम बढिरहेको पनि चेतावनी दिएको छ। अघिल्लो वर्ष भएका विशाल लोकतन्त्र पक्षधर प्रदर्शनहरूपछि चीनले हङकङमा नयाँ सुरक्षा कानुन कार्यान्वयनमा ल्याएको थियो। त्यसले देशको विभाजन, देश द्रोह र विदेशी शक्तिहरूसँग गठ जोड गर्ने विरुद्ध आजीवन कारावास अधिकतम सजाय तोकेको छ।
शुक्रवार चिनियाँ विदेश मन्त्रालयले पूर्वमन्त्री रससहित अमेरिकाका सात नागरिक र निकायमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको वाणिज्य मन्त्रीका हैसियतमा रसले पूर्व अनुमति नलिइ अमेरिकी फर्महरूसँग कारोबार गर्न पाउने चिनियाँ फर्महरूको सङ्ख्या विस्तार गरेका थिए। चीनको प्रतिबन्धमा पर्नेमा ह्युमन राइट्स वाचकी चीन निर्देशक सोफी रबिन्सन, यूएस चाइना इकोनोमिक एण्ड सेक्युरिटि रिभ्यू कमिसनका अध्यक्ष क्यारोलिन बार्थलमीउ र इन्टरन्याश्नल रिपब्लिकन इन्स्टिच्यूटका एडम किङ छन्।