Category: अमेरिका

  • एक वर्षमा नेपालबाट अमेरिकामा १३ अर्ब ७९ करोड बराबरको वस्तु निर्यात

    एक वर्षमा नेपालबाट अमेरिकामा १३ अर्ब ७९ करोड बराबरको वस्तु निर्यात

    काठमाडौं । नेपालबाट अमेरिकामा एक वर्ष (आर्थिक वर्ष २०७७\७८) मा १३ अर्ब ७९ करोड रुपैयाँ बराबरको बस्तु निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार तुलनात्मक रुपमा सन्तुलित अन्तर्राष्ट्रिय व्यापार भएको मुलुकमा अमेरिका पर्छ । नेपालको भारत र चीनसँग भने अत्यधिक व्यापार घाटा छ । नेपालबाट गलैचा, तयारी पोशाकसहितका सामान निर्यात हुन्छ ।

    तथ्यांक अनुसार अमेरिकामा नेपालबाट १३ अर्ब ७९ करोड रुपैयाँको सामान गएको छ भने अमेरिकाबाट नेपालमा १९ अर्ब ५० करोड रुपैयाँ बराबरको सामान आयात भएको छ । नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार भारतसँग छ । आयात र निर्यात दुबै यसै मुलुकमा बढी रहेको तथ्यांक छ । यो आवमा भारतबाट कुल ९ खर्ब ७१ अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु नेपाल आयात भएको छ ।

    भारतमा नेपालबाट भने १ खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । भारतमा व्यापार घाटा ८ खर्ब ६५ अर्ब २३ करोड रुपैयाँ बराबरको छ । नेपालमा चीनबाट २ खर्ब ३३ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । चीनमा भने मात्र १ अर्ब १ करोड रुपैयाँको सामान निर्यात भएको छ ।
    कति भयो व्यापार ?
    आर्थिक वर्ष २०७७\७८ मा नेपालले अहिलेसम्मकै बढी परिमाणमा वैदेशिक व्यापार गर्न सफल भएको तथ्यांक एक वर्षको अवधिमा करीव १६ खर्ब ८० अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो आंकडा आवको तुलनामा २९.८५ प्रतिशत बढी हो । २०७७\ ७८ मा व्यापार घाटा १३ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । निर्यातमा समेत उच्च वृद्धि देखिएको छ । यो आवमा कुल निर्यात १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँको भयो ।

  • अमेरिकी डिफेन्स टीमबाट नेपाललाई ३ लाख डलर बराबरको स्वास्थ्य सामग्री प्रदान

    अमेरिकी डिफेन्स टीमबाट नेपाललाई ३ लाख डलर बराबरको स्वास्थ्य सामग्री प्रदान

    काठमाडौं । यूएस डिर्पाटेमन्ट अफ डिफेन्स टीमले नेपाललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपालस्थित अमेरिकी दुतावासले शुक्रबार यी मेडिकल सामग्री नेपाललाई हस्तान्तरण गरेको जनाएको छ । दूतावासले नेपालस्थित अमेरिकी मिशन महामारीको यो समयमा यथासक्य मेडिकल उपकरणको नेपालमा पहुँच बढाउन निरन्तर प्रयासरत रहेको उल्लेख गरेको छ । टीमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा झन्डै ३ लाख अमेरिकी डलर बराबरको श्वासप्रस्वास सम्बन्धी उपचारमा प्रयोग हुने उपकरण तथा अक्सीजन मास्क हस्तान्तरण गरेका हुन् । नेपाल सरकारका विभिन्न निकायसँग अमेरिकी सरकार नेपालको कोभीड् १९ सम्बन्धी प्रतिकार्यलाई चुस्त बनाउन र जीवन बचाउने उपकरण उपलब्ध गराउन प्रयासरत रहेको समेत दूतावासले उल्लेख गरेको छ । यसअघि अमेरिकाबाट विभिन्न मेडिकल सामग्री आइसकेको छ । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख ४० हजार डोज खोप समेत दिइसकेको छ ।

  • नेपाल राष्ट्र बैंकसहित १५ बैंकको सिस्टमबाट पैसा चोर्ने ह्याकरको चेतावनी, अमेरिकाबाट आयो फोन

    नेपाल राष्ट्र बैंकसहित १५ बैंकको सिस्टमबाट पैसा चोर्ने ह्याकरको चेतावनी, अमेरिकाबाट आयो फोन

    काठमाडौं । नियामक निकाय नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकमा ह्याकरले पैसा चोरी गर्न सक्ने भन्दै चेतावनी दिएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्तालाई फोनमार्फत नै धम्की दिइएको छ भने अन्य बैंकमा भने इमेल पठाइएको छ । ह्याकरले बैंकको प्रणाली ह्याक गरि पैसा निकाल्ने धम्की दिएका छन् । ह्याकरले पठाएको भनिएको पत्रमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख छ ।

    यससँगै बैंकहरुले पनि आफ्नो आइटी विभागलाई चनाखो हुन भनेका छन् । यसबारे अनुसन्धान समेत शुरु गरिएको छ । ह्याकरले यो चेतावनीलाई सामान्य रुपमा नलिन भन्दै धम्की समेत दिएका छन् । पछिल्ला दिनमा नेपालको बैंकिण प्रणालीमा निरन्तर प्रहार भइरहेको छ । यसले नेपालको वित्तीय प्रणालीको सुरक्षामा प्रश्न चिन्ह उठिरहेको समयमा यस्तो धम्की आएको हो ।

    नेपाली संचारमाध्यमहरुका अनुसार ह्याकरले बुधबार राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई इमेल गरेको थियो । जसमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने उल्लेख छ । यो पत्र राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहलाई समेत गएको छ । प्रवक्ता ढकाललाई बिहीबार बिहान राष्ट्र बैंकसहित नेपाल र नबिल बैंकको सिस्टम ह्याक गर्ने भनी अमेरिकाबाट फोन आएको समेत समाचारमा उल्लेख छ ।

  • अमेरिकी अर्बपति जेफ बेजोसको अन्तरिक्ष यात्रा अनुभव कस्तो रह्यो ?

    अमेरिकी अर्बपति जेफ बेजोसको अन्तरिक्ष यात्रा अनुभव कस्तो रह्यो ?

    टेक्सास । अन्तरिक्ष वैज्ञानिक बाहेक आम सर्वसाधारणका लागि अन्तरिक्ष यात्रा एक सपना मात्र हो । तर यो सपना पुरा गरेका छन् । अमेरिकी अर्बपति जेफ बेजोस र अन्य तीन यात्रुले । उनीहरुले मंगलबार अन्तरिक्षको सफल यात्रा पुरा गरि धर्तिमा ओर्लिएका छन् । अन्तरिक्ष पर्यटनलाई बढावा दिन यो अभियान शुरु गरिएको हो । बेजोसको आफ्नै कम्पनी कम्पनी ब्लु ओर्जिनले बनाएको अन्तरिक्ष यान ‘न्यु सेफर्ड’मा उनीहरूले यात्रा गरे ।

    मंगलबार साँझ १० मिनेटमा यो यात्रा पुरा गरेका उनीहरु सकुसल अवतरण भए । बीबीसीका अनुसार यो यात्रामा बेजोसका भाइ मार्क, पूर्वपाइलट ८२ वर्षिय महिला वाली फन्क र १८ वर्षीय किशोर ओलिभर डाइमेन पनि थिए । यसमध्ये ती महिला र किशोरले सबैभन्दा बढी र कम उमेरमा अन्तरिक्ष जाने रेकर्ड समेत बनाएका छन् । फन्क सन् १९६० तिरै नासामार्फत अन्तरिक्षमा जाने तयारीमा रहेको भएपनि सफल भएकी थिइनन् ।

    AP Photo/Tony Gutierrez

    यो यान पृथ्वीको सतहबाट ६६.५ माइल माथि गएर यान रोकिएको थियो । त्यहाँ गुरूत्व बल समाप्त भएको थियो । सोहीकारण जहाज केवल हावामा तैरिएजस्तै अनुभव भएको उनीहरुले बताएका छन् । करीव ४ मिनेट उनीहरुले संसारलाई नियाल्ने मौका पाए । त्यसबेला जहाजमा उनीहरुले रोमान्चित भई बोलेका शब्दहरु रेकर्ड भएका थिए । त्यसपछि उनीहरु जमिनमा फर्किए ।

    बेजोसको कम्पनीले कैयौं रकेट अन्तरिक्षमा पठाएपनि ती मानवरहित थिए । मंगलबार भने मानिससहितको रकेट अन्तरिक्षमा पठाइएको हो । जसको अनुभव मालिक आफैले पहिलो पटक गरे । न्यु सेफर्डको सीटमा फराकिला झ्याल राखिएको छ । जसकारण यात्रुले सजिलै पृथ्वीको नजर देख्न सक्छन् । यो रकेट अमेरिकाको टेक्सासबाट अन्तरिक्षमा पठाइएको थियो ।

    AP Photo
  • अमेरिकाको ओरेगनमा भिषण आगलागी, स्थिती भयावह बन्ने चेतावनी

    अमेरिकाको ओरेगनमा भिषण आगलागी, स्थिती भयावह बन्ने चेतावनी

    ओरेगन । अमेरिकी राज्य ओरेगनको जंगलमा लागेको आगोको फैलावटसँगै यहाँ स्थिति भयावह हुने चेतावनी जारी भएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार अहिलेसम्म आगोको चपेटामा तीन लाख एकड जमीन आइसकेको छ । भयानक आगोलागीसँगै आसपासका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । करीव दुई हजार भन्दा बढी फायरफाइटर्स आगो नियन्त्रणमा खटिएका छन् । सो राज्यमा इतिहासकै सबैभन्दा भयानक आगोलागी भएको संचारमाध्यमको भनाई छ । आगो ६ जुलाईबाट फैलन थालेको हो ।

    अहिले अमेरिकाका १३ अलग अलग क्षेत्रको ८० भन्दा बढी स्थानमा आगोलागी भएको छ । उच्च तापमानका कारण आगोको फैलावट तिब्र बनेको छ भने नियन्त्रणमा कठिनाई उत्पन्न भएको छ । आगोलागीका कारण ग्रामिण भेग नराम्रोसँग प्रभावित भएको अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म १६० वटा घर आगोमा जलेका छन् । २ हजार मानिसको उद्धार भएको छ । फायर एसिस्टेण्ड कमान्डर जो हेसेल ले सोमवार एक बयान जारी गरि आगो नियन्त्रणमा दिनरात टोली खटिएको जनाएका छन् । पोर्टल्याण्डको दक्षिण पूर्वमा समेत आगोलागी फैलिएको छ ।

  • अमेरिकाबाट आएको जोनसन एण्ड जोनसन कम्पनीको खोप आजबाट लगाइंदै, यी हुन् खोप केन्द्र

    अमेरिकाबाट आएको जोनसन एण्ड जोनसन कम्पनीको खोप आजबाट लगाइंदै, यी हुन् खोप केन्द्र

    काठमाडौं । अमेरिकाबाट अनुदानमा आएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप आजबाट देशभर लक्षित वर्गमा लगार्इंदैछ । खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुमा आजबाट खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकाबाट कोभ्याक्स कार्यक्रममार्फत १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आएको छ ।

    यो खोप २८ असारमा काठमाडौं आएको हो । यो खोप एक डोज मात्र लगाए पुग्छ । सोहीकारण १५ लाख ३४ हजार मानिसका लागि यो नै पूर्ण खोप हो । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी सहित पहिलो प्राथमिकतामा रहेका व्यक्तिलाई लगाइंदैछ । काठमाडौंमा ४४ वटा खोप केन्द्रबाट खोप वितरण हुने छ ।

  • कोरोनाबारे सामाजिक संजालको भूमिकालाई लिएर भड्किए राष्ट्रपति बाइडेन

    कोरोनाबारे सामाजिक संजालको भूमिकालाई लिएर भड्किए राष्ट्रपति बाइडेन

    वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन सामाजिक सञ्जालबाट कोरोना भाइरसको महामारीबारे भइरहेका मिथ्या प्रचारप्रति भड्किएका छन् । अमेरिकामा खोप लगाउन बाँकि मानिसमा मात्र कोरोनाको जोखिम रहेको भएपनि सामाजिक संजालले आतंक फैलाएको भन्दै उनले आपत्ति प्रकट गरेका छन् । उनले कोभिड १९ विरुद्धको मिथ्या सूचनाले मानिसहरूको ज्यान लिइरहेको समेत आरोप लगाए ।

    अमेरिकी संचारमाध्यमहरुका अनुसार उनले फेसबुक सहितका सामाजिक संजालमाथि निसाना साँधेका छन् । खोप र महामारीका सन्दर्भमा गलत सूचना फैलिरहेको बारे पत्रकारको प्रश्नको जवाफ दिने क्रममा उनले शुक्रबार यस्तो दावि गरेका हुन् । ह्वाइट हाउसको चिन्ता मिथ्या सूचना नियन्त्रणमा सामाजिक संजालको ससहयोगप्रति रहेको उनको भनाई छ ।

    अमेरिकामा भने अब मृत्यु र सङ्क्रमण दरको जोखिम कोरोना भाइरसका सुरक्षा विधि नअपनाएका मानिसमा मात्र रहेको सरकारी अधिकारीहरुको भनाई छ । अमेरिकामा सार्वजनिक स्थानमा मास्क लगाउन नपर्ने भनिएको छ । तर, बजारमा भिड बढ्दा जोखिम समेत उत्तिकै बढ्ने चिन्ता अधिकारीहरुमा छ ।

    ह्वाइट हाउसकी प्रवक्ता जेन सकीले समेत फेसबुक र अन्य माध्यमलाई खोपबारे मिथ्या सूचना नियन्त्रण गर्न आह्वान गरेकी थिइन् । राष्ट्रपति र ह्वाइटहाउसको पछिल्लो भनाईबारे फेसबुकले भने स्पष्टिकरण जारी गरि १ करोड ८० लाखभन्दा बढी कोभिडसम्बन्धी मिथ्या सूचना हटाएको बताएको छ ।

    अमेरिकामा ६७.९ प्रतिशतले खोपको पहिलो डोज लगाएका छन् । ५९.२ प्रतिशतले दुई डोज पुरा गरेका छन् । कतिपय मानिस भने अहिले पनि खोपमा विश्वास नभएको भन्दै लगाउन मानिरहेका छैनन् ।

  • अन्तरिक्षमा रुस र चीनको गतिविधि निगरानी गर्ने अमेरिकाको योजना

    अन्तरिक्षमा रुस र चीनको गतिविधि निगरानी गर्ने अमेरिकाको योजना

    लण्डन । अमेरिकाले अन्तरिक्षमा अन्य मुलुकले गरिरहेका गतिविधिको निगरानी बढाउने भएको छ । बीबीसीका अनुसार अमेरिकाले अन्तरिक्षका वस्तुहरूको निगरानी गर्न बेलायतमा एक ठूलो राडार प्रणाली राख्ने योजना बनाएको छ । अमेरिकाको अन्तरिक्षसम्बन्धी बलले विकास गरिरहेको एउटा विश्वव्यापी प्रणालीले ३६,००० किलोमिटर परसम्मका सम्भावित निशानालाइ पहिचान गर्न सक्ने क्षमताको भएको समाचारमा उल्लेख छ ।

    अमेरिकाले यस्तो प्रणाली टेक्सास र अस्ट्रेलियामा समेत राख्ने योजना बनाएको बीबीसीले जनाएको छ । अमेरिकी रक्षा मन्त्रालयले नयाँ रडारको क्षमताले अन्तरिक्षलाई अझ बढी सुरक्षित गराउने बताएको छ । यद्दपी यो योजनालाई भने रुस र चिनियाँ गतिविधिको निगरानी गर्नु रहेको अनुमान गरिएको छ । अन्तरिक्षमा भूउपग्रहहरू धेरै हुँदा भिडभाड बढेको साथै शस्त्रको प्रतिस्पर्धा बढिरहेको वैज्ञानिकहरुले दावि गर्छन् ।

    अमेरिका र बेलायत दुबै मुलुक रुस र चीनसँग सशंकित छन् । उनीहरुले भूउपग्रहलाई यी दुई मुलुकले हानि पुर्‍याउन सक्ने हतियार विकास गरिरहेको आरोप समेत लगाएका छन्। गतवर्ष मात्र १,००० भन्दा धेरै नयाँ भूउपग्रह अन्तरिक्षमा पठाइएको थियो ।

  • ड्यालसमा ‘बुद्ध र उनको शिक्षा’ बिषयमा निबन्ध प्रतियोगिता हुने

    ड्यालसमा ‘बुद्ध र उनको शिक्षा’ बिषयमा निबन्ध प्रतियोगिता हुने

    टेक्सस

    नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सासले स्कूलका विद्यार्थीहरुको लागी निबन्ध प्रतियोगिता गर्ने भएको छ। उक्त कार्यक्रममा किंडर-गार्टनदेखि १२ कक्षासम्मका विद्यार्थीहरुले भाग लिन पाउने छन् ।
    ऐशोसिएसनले आफ्नो फेसबुक पेज मार्फत उक्त प्रतियोगितामा भाग कसरी लिने, कुन कुन बिषयमा निबन्ध लेख्न पाउने, सहयोगी किताबहरुको लिंक, प्रतियोगिताका नियमहरु, प्रतियोगि निबन्धहरु कसरी मूल्यांकन हुने र मूल्यांकन समितिका सदस्यहरुको जानकारी दिएको थियो। उक्त प्रतियोगितामा भाग लिने विद्यार्थीलाई ४ हप्ताको तयारी समय रहेको छ।


    कार्यक्रमका संयोजक तथा ऐशोसिएसनका सचिब डा नीरज बज्राचार्यले कार्यक्रमको मुख्य उद्देश्य बुद्ध र उनको शिक्षा बारे विद्यार्थीहरुलाई आफै शोधकार्य गरी जानकारी दिने भएता पनि यस कार्यक्रमले उनीहरुको व्यक्तित्व विकासमा पनि टेवा पुग्ने जानकारी दिनुभयो।
    यस कार्यक्रमबाट विद्यार्थीहरुले कसरी सत्य तथ्य कुरा इन्टरनेट र अरु साधनहरुको उचित उपयोग गरी संकलन गर्ने, यसरी संकलित सत्य तथ्यलाई कसरी निबन्धको रुप दिने तथा आफुले तयार पारेको निबन्ध सबैको अगाडि कसरी आत्मविश्वासका साथ मौखिक रूपमा व्यक्त गर्ने भन्ने बारे व्यावहारिक ज्ञान पाउने छ।
    प्रतियोगिताका विजेताहरुलाई इनामको पनि व्यवस्था गरिएको छ।

  • एनआरएनए कनेक्टिकट च्याप्टरको कार्यभार हस्तान्तरण समारोह सम्पन्न

    एनआरएनए कनेक्टिकट च्याप्टरको कार्यभार हस्तान्तरण समारोह सम्पन्न

    हरिप्रसाद जोशी,कनेक्टिकट

    गैरआवासीय नेपाली संघ, अमेरिका कनेक्टिकट च्याप्टरको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष हरि प्रसाद जोशीको कार्यकालमा निम्न कार्यहरु सम्पादन गरिएका थिए ।
    विवरणहरु :

    १) कार्य समिति तथा सल्लाहकार समितिको पूर्णता ।
    २) आर्थिक गतिविधीहरुको पारदर्शिताको लागि बैंक खाता खोलि कार्यक्रम गरिएको ।
    ३) दुई वर्षको वार्षिक कार्ययोजना पारित गरि संस्थाको गतिविधीहरुलाई निरन्तरता दिईएको ।
    ४) नेपालको एक बिद्यालय लाइ एक लाखको छात्रवृत्ति अक्षयकोष को स्थापना गरिएको ।
    ५) अमेरिकाको जनसंख्या गणनामा नेपालीको पहिचान विषयक गोष्ठी सम्पन्न गरेको छ ।
    ६) पवित्र समाज सेवा नेपालका बालबालिकाहरुलाई रु. ५०००० हजारको सहयोग ।
    ७) नेपाली विद्यार्थी सुरज खडकालाई स्वास्थ्य उपचार को लागि $926 सहयोग ।
    ८) Help Desk मार्फत Covid-19 को महामारीमा Connecticut र New york मा विशेष सहयोग ।
    ९) स्थानिय संस्थाले मनाउने नेपाली रितिरिवाज, चाडपर्ब र समर स्कूल तथा विभिन्न कार्यक्रमहरुमा उल्लेखनीय सहभागिता ।
    १०) Connecticut Chapter को आयोजनामा पहिलो पटक एनआरएनको उत्तर पूर्वीय क्षेत्रिय कार्यक्रम यस क्षेत्रका ५ वटा राज्यहरु CT, NY, MA, NH र NJ को विशेष भेला गरी क्षेत्रिय समितिको सपथ ग्रहण कार्यक्रममा च्याप्टरको अध्यक्ष, उपाध्यक्ष र सदस्यहरुको विशेष उपस्थिति थियो ।
    ११) Covid-19 को महामारीमा मानवीय सहयोग स्वरुप स्वर्गीय राज कुमार थापाको दाहसंस्कारको लागि $1530 आर्थिक सहयोग ।
    १२. नेपालको बझाङ जिल्लामा गएको बाढीको पिडित १० परिवारलाइ रु. ५०, ००० हजार राहत स्वरूप वितरण
    १३. स्थानिय संस्था नेकोनले अघि सारेको समुदायिक भवन निर्माणको लागि NRNA connecticut chapter ले $ 6000 तिरी संस्थागत सदस्यता लिएको ।
    १३. आदरणीय एन आर एन कनेक्टिकटका समाजसेवीहरुलाई एनआरएनको आजीवन सदस्यता प्रदान गरी यस राज्यको च्यापटरको गरिमा बढाउन सफल
    १४. स्थानिक एनआरएनका सदस्य लक्षमण गिरीका मित्रलाइ नेपालमा उपचारको लागि रु. ५५,००० हजार सहयोग ।
    १५. एनआरएनए कनेक्टिकट च्यापटरले यस च्यापटरकी सदस्य स्व.लक्ष्मी भट्टराई ओझाको स्वर्गारोहण भएको छ महिनाको पूण्यतिथिमा उहाँको बैकुण्ठबासको कामना गर्दै भावपूर्ण श्रद्धान्जलीका साथ 25 जना वाट रक्तदान कार्यक्रम सम्पन्न ।
    १६.सस्थालाई आर्थिक रुपमा बलियो बनाउन माथि उल्लेखित गतिविधीहरु गरी हाल बैकमा $ 2862.02 मौजाद रहेको र एनआरएन सदस्यज्यूहरूबाट वर्ष (2021-2023 )मा जम्मा $5 दरले भुक्तानी हुन बाँकी $1250.00 गरी जम्मा $4112.02 नयाँ कार्यसमितिलाई दिन सफल ।
    १७.सदस्यता वितरणमा उल्लेखनीय वृद्धि गरी आजीवन सदस्य ८ वाट ३० र साधारण सदस्यहरु १४८ बाट २२४ गरि जम्मा २५४ पुर्याएको ।

    उल्लेखनीय कार्यक्रमहरु सफल गर्न प्रमुख सल्लाहकार श्री पिताम्बर अधिकारीज्यूको विशेष योगदान रहेको, पूर्वअध्यक्षहरु लगायत अन्य सल्लाहकारहरु, कार्यसमितिक सदस्यहरु सहयोगी दाताहरु, स्थानिय संघ, संस्थाका प्रमुखहरु , स्थानिय बुद्धिजीवि , पत्रकारहरुको योगदान प्रति निवर्तमान अध्यक्षले हार्दिक व्यक्त गर्नु भएको थियो । सो कार्यक्रम संस्थाका प्रमुख सल्लाहाकार पिताम्बर अधिकारीज्यूको सभापतित्वमा स्थानिय संस्था नेकोनका प्रमुख सल्लाकार कृष्ण अधिकारीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । च्याप्टरका निवर्तमान अध्यक्ष हरि प्रसाद जोशी ले सन्चालन गर्नु भएको थियो सो कार्यक्रम मा नेकोनका उपाध्यक्ष रघुनाथ गिरी, हार्टफोर्ट काउन्टी एभेरेष्ट सेण्टेनियल लाईन्स क्लबका अध्यक्ष प्रकाश ठाकुर, एनआरएन कनेक्टिकट च्यापटरका पूर्व अध्यक्ष घनश्याम खड्का, एनआरएन कनेक्टिकट च्यापटरका संस्थापक अध्यक्ष राम ओझा, च्याप्टरका सल्लाकार गणेश अर्याल, स्थानिय समाजसेवी, बुद्धिजीवि, आजिवन सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो भने सोहि समारोहमा १५ जना सदस्यहरुले आजिवन सदस्यता लिन घोषणा पनि गर्नु भयो,


    सो कार्यक्रममा च्यापटरका निवर्तमान अध्यक्ष हरि प्रसाद जोशीले वार्षिक प्रतिवेदन, निवर्तमान कोषाध्यक्ष नारायण मिश्र आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।
    नव निर्वाचित अध्यक्ष मुना तिवारीले आफ्नो अध्यक्षतामा नयाँ सदस्यहरुको परिचय र सपथ ग्रहण गराउनु भएको थियो । सो कार्यक्रममा यस राज्यमा पहिलो महिला अध्यक्ष हुन पाएकोमा खुशि व्यक्त गर्नु भएको थियो भने निवर्तमान अध्यक्षले सम्पूर्ण नयाँ टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

  • नेकोनद्वारा कनेक्टिकटमा नेपाली भाषा पाठशाला संचालन

    नेकोनद्वारा कनेक्टिकटमा नेपाली भाषा पाठशाला संचालन

    धन लामा, कनेक्टिकट

    नेपाली भाषा, कला तथा साहित्यको संरक्षण र सम्वर्धन गर्ने पवित्र उदेश्यले कनेक्टिकट नेपाली समाज (नेकोन) अमेरिकाले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि एक भव्य कार्यक्रमका बीच नेपाली भाषा पाठशालाको शुभारम्भ संस्थाका अध्यक्ष नारायण पौडेल र नेपालका लागि संयुक्त राज्य अमेरिका, न्यूयोर्कका महावाणिज्यदूत बिष्णु प्रसाद गौतमले संयुक्त रूपमा गर्नु भयो ।

    अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्ने नेपालीहरुका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउने उदेश्यका साथ नेकोनले हरेक वर्ष गृष्मकालीन नेपाली भाषा पाठशाला संचालन गर्दै आएको छ । यस वर्ष पनि विश्व व्यापी महामारी कोभिड-१९ ले बनाएको असहज परिस्थितिमा आएको सुधारसंगै कार्यक्रमको निरन्तरता स्वरूप भाषा पाठशाला पुन: सुन्चालन गरिएको छ। विद्यालय शुरुआतको औपचारिक कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष नारायण पौडेलले गर्नु भएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रघुनाथ गिरीले गर्नु भएको थियो । कार्यक्रममा उल्लेख्य मात्रामा नेपाली अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्यदूत बिष्णु प्रसाद गौतमले नेपाली भाषा पाठशाला, देउसी, भैलो र वार्षिक मुखपत्र कनेक्टिकट चौतारी मार्फत नेपाली भाषा, कला र साहित्यको विकास तथा विस्तारमा नेकोनले गरेको योगदानको प्रशंशा गर्दै नेपाली पाठशालामा आवश्यक शैक्षिक सामाग्रीहरुको लागि महावाणिज्यदूतावासले सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो ।
    संस्थाका प्रमुख सल्लाहकार कृष्ण अधिकारीले नेपाली समुदायका सबैलाई पाठशाला संचालनमा सक्दो सहयोगको लागि आव्हान गर्नु भयो ।

    कार्यक्रमको बारेमा प्रकाश पार्दै नेपाली भाषा पाठशालाका संयोजक दिपेश भट्टले व्यवस्थित र गुणस्तरीय ढंगले पाठशाला संचालन गर्ने वचनवद्धता प्रकट गर्नु भयो भने कार्यक्रमको संचालन नेकोनका सचिव राजन तिम्सिनाले गर्नु भाको थियो । कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष नारायण पौडेले सम्पूर्ण सहभागी, विद्यार्थी तथा अभिभावकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

  • अफगानिस्तानमा अमेरिकी फौजको सहयोग गरेका दोभासेलाई उद्धार गरिँदै

    अफगानिस्तानमा अमेरिकी फौजको सहयोग गरेका दोभासेलाई उद्धार गरिँदै

    काबुल । अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सैन्य फौज फिर्ता भएसँगै अधिकांश भूभाग तालिवानले कब्जा गरिरहेको छ । यस अवस्थामा अमेरिकी र नेटो सुरक्षा फौजलाई भाषाको अनुवादमा सहयोग गरेका अफगान दोभासेमाथि समेत जोखिम बढेको छ । सोहीकारण उनीहरूको अमेरिकाले उद्धार गर्ने भएको छ । अपरेसन एलाइज रिफ्युजी जुलाई महिनाको अन्त्यमा सुरु हुने ह्वाइट हाउसलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ तारिखसम्ममा आफ्ना सेना फिर्ता लिने समय सीमा तोकेसँगै ह्वाइट हाउसले पछिल्लो तयारी गरेको हो। उनले ती व्यक्तिहरु बहादुर भएको बताएकी छिन् । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले पत्रकार सम्मेलनका दौरान यस्तो जानकारी गराएकी हुन् ।

    बीबीसीका अनुसार सुरुवाती चरणमा झन्डै २,५०० जनालाई उद्धार गरिने र उनीहरूको भिसासम्बन्धी कामहरू भइरहँदा उनीहरूलाई अमेरिकामै वा अन्य कुनै राष्ट्रमा अमेरिकी सेनासँगै राखिने भएको छ । अहिले तालिवानले इरान, ताजिकिस्तान र तुर्केमेनिस्तानको सीमा नाकाका सबै चौकी कब्जा गरिसकेको छ ।

  • अमेरिकाले दिएको १५ लाख डोज खोप नेपाल आयो

    अमेरिकाले दिएको १५ लाख डोज खोप नेपाल आयो


    काठमाडौं । अमेरिकाले नेपाललाई दिएको १५ लाख डोज खोप नेपाल आएको छ । एक डोज मात्र लगाए पुग्ने जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप कतार एयरवेजको जहाजमार्फत आज काठमाडौं आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे । यससँगै अमेरिकाले दिएको खोपबाट १५ लाख नेपाली लाभान्वित हुने भएका छन् । अमेरिकी सरकारले उपहार स्वरुप दिएको खोप नेपाली नागरिकको जीवन रक्षाका लागि बरदान सावित हुने मन्त्री श्रेष्ठको भनाई छ । प्राप्त भएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी छ । नेपालले अब खोप अभियान चलाउने तयारी गरेको छ । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज खोप दिएको हो । अहिले नेपालले चीनबाट खरीद गरेको खोप समेत आइरहेको छ ।

  • अर्जेण्टिना बन्यो कोपा अमेरिका च्याम्पियन, मेसीलाई ऐतिहासिक उपाधी

    अर्जेण्टिना बन्यो कोपा अमेरिका च्याम्पियन, मेसीलाई ऐतिहासिक उपाधी

    काठमाडौं । अर्जेण्टिना कोपा अमेरिकाको च्याम्पियन बनेको छ । चिरपरिचित प्रतिद्धन्द्धी ब्राजिललाई १-० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको हो । रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्यो । अर्जेण्टिनाले यो जित कप्तान लियोनल मेसीको नाममा समर्पित गरेको छ । उनी समकालिन फुटबलमा महान खेलाडी मानिन्छन् । तर, उनले देशका लागि कुनै उपाधी नजिताएको आरोप लाग्दै आएको थियो ।

    अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गरेको एक मात्र गोल निर्णायक बन्यो । त्यसपछि कुनै टिमले थाप गोल गर्न सकेनन् । सन् १९९३ मा मेक्सिकोलाई हराउँदै अर्जेन्टिनाले कोपा जितेयता २८ वर्षपछि टीमले उपाधी जितेको हो । २००४ र २००७ मा अर्जेण्टिना फाइनल पुगेको थियो । त्यसबेला दुबै पटक फाइनलमा ब्राजिलले हराएको थियो । अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो । सन् २०१८ मा अर्जेण्टिनाले विश्वकप फुटबलको फाइनल पुगेर पराजित भएको थियो ।

  • कोपा अमेरिका : कोलम्बियाले कब्जा गर्यो तेस्रो स्थान

    कोपा अमेरिका : कोलम्बियाले कब्जा गर्यो तेस्रो स्थान

    काठमाडौं । जारी कोपा अमेरिका फुटबलको तेस्रो स्थानका लागि भएको भिडन्तमा कोलम्बिया विजयी भएको छ । शनिबार बिहान सम्पन्न खेलमा पेरुलाई ३२ गोलले हराउँदै कोलम्बियाले तेस्रो स्थान कब्जा गरेको हो । कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । डियाजले इन्जुरी टाइममा निर्णायक गोल गरे । पेरु सेमिफाइनलमा ब्राजिल र कोलम्बिया अर्जेण्टिनासँग पराजित भएका थिए । ब्रासिलियामा भएको खेलमा पहिले अग्रता पेरुले लिएको थयो । यसीमार योतुनले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै पेरुलाई अग्रता दिलाए ।

    दोस्रो हाफको शुरुवातमै कोलम्बिया खेलमा फर्कियो । जुवान क्वाड्राडोले ४९औं मिनेटमा बराबरी गोल गरे । लुइस डियाजले ६६औं मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए । तर ८२औं मिनेटमा पेरुका जियानलुका लापाडुलाले बराबरीमा ल्याए । प्रतियोगिताको फाइनल भने नेपाली समय अनुसार आइतबार बिहान हुँदैछ । उपाधी रक्षाका लागि ब्राजिल र अर्जेन्टिना भिड्नेछन् ।

  • रुसी साइबर हमलाकर्तामाथि कारवाही हुन्छ : बाइडेन

    रुसी साइबर हमलाकर्तामाथि कारवाही हुन्छ : बाइडेन

    वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी साइवर हमलाकर्तामाथि कारवाही हुने बताएका छन् । ह्वाइट हाउसका तर्फबाट जारी एक बयानमा उनले रूसका राष्ट्रपतिलाई अमेरिकामाथि साइवर हमला रोक्न आग्रह गरेका छन् । रुसले नरोके अमेरिका आफैले कारवाही गर्ने उनको चेतावनी छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटीन र बाइडेनबीचको फोनवार्तापछि ह्वाइट हाउसले यस्तो वयान जारी गरेको हो ।

    बाइडेनले आफुले हमलाकारीमाथि कारवाही गर्ने बताएपछि रुसी राष्ट्रपतिले मन्जुरी दिएको बयान ह्वाइट हाउसले दिएको अमेरिकी संचारमाध्यमले लेखेका छन् । उता मस्कोले भने यो बयानको खण्डन गरेको छ ।

    शुक्रवार राष्ट्रपति जो बाइडेनले रुसी समकक्षीसँग करीव एक घण्टा फोनवार्ता गरेका थिए । पछिल्लो केही समययता अमेरिकी कम्पनीहरुमा साइवर हमला भइरहेको छ । यसमा रुसी ह्याकरको हात रहेको आरोप अमेरिकाले लगाइरहेको छ । यसै महिना एकै पटक २ सय आइटी कम्पनीमाथि साइबर हमला भएको थियो ।

  • अमेरिकाबाट आउने भयो १५ लाख डोज खोप, एक डोज मात्र लगाए पुग्ने

    अमेरिकाबाट आउने भयो १५ लाख डोज खोप, एक डोज मात्र लगाए पुग्ने

    काठमाडौं । अमेरिकाले नेपाललाई दिने भनेको कोरोना खोपको मात्रा निश्चित भएको छ । अमेरिकाले सिधै वितरण नगरी कोरोना महामारी नियन्त्रणका लागि धनी मुलुकले गरिब मुलुकलाई खोप वितरण गर्न बनाएको साझा संयन्त्र कोभ्याक्स कार्यक्रममार्फत खोप नेपाललाई दिन लागेको हो । यस्तो खोप नेपालमा १५ लाख डोज आउने भएको छ । आगामी साता काठमाडौं आइपुग्ने भएको छ । सम्भतः सोमबारसम्म खोप नेपाल आउने सम्भावना रहेको बताइएको छ ।

    काठमाडौंस्थित अमेरिकी दूताबासका प्रवक्ता अन्ना रिचेलिनलाई उदृत गर्दै नेपाली संचारमाध्यमले लेखे अनुसार यसबारे छिट्टै सार्वजनिक हुनेछ । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको यो खोप एक मात्रा लगाए पुग्छ । सोहीकारण १५ लाख डोज खोप आउँदा पनि त्यति नै मानिसमा यो खोप लगाउँदा हुनेछ ।

  • अफगानिस्तानमा तालिवानको सक्रियता बढ्यो, सेना फिर्तिबारे बाइडेनको बचाउ

    अफगानिस्तानमा तालिवानको सक्रियता बढ्यो, सेना फिर्तिबारे बाइडेनको बचाउ

    काठमाडौं । अमेरिकी सैनिकले अफगानिस्तान छाडेसँगै उक्त मुलुकमा अतिवादी समूहहरुको सक्रियता बढेको छ । तालिवानले देशका महत्वपूर्ण भूभागहरु कब्जा गरेको भनेको छ । उता, राष्ट्रपति जो बाइडेन भने आफ्नो प्रशासनको यो कामप्रति सन्तुष्ट छन् । बीबीसीका अनुसार उनले अगस्ट ३१ तारिखमा अफगानिस्तानमा अमेरिकी कारबाही अन्त्य हुने बताउँदै सेना फिर्ता लिने आफ्नो निर्णयको बचाउ गरेका हुन् । युद्धको निरीक्षण गर्ने चौथो अमेरिकी राष्ट्रपति बाइडनले जीवन जोगाएको भन्दै अफगानिस्तानबाट सेना फर्किरहेको गतिको समेत बचाउ गरेका छन्। सो मुलुकमा तालिबान लडाकु समूहले देशैभर आफ्नो उपस्थिति बढाइरहेका छन् ।


    सन् २००१ को सेप्टेम्बर ११ तारिखमा अमेरिकामा भएको आतङ्कवादी हमला पश्चात् अमेरिकी सेनाले झन्डै २० वर्ष अफगानिस्तानमा युद्ध गरेको छ । यसै वर्षको सुरुवाततिर, सन् २०२१ को सेप्टेम्बर ११ भित्रमा अमेरिकी सेना त्यहाँबाट पूर्ण रूपमा फर्किसक्ने घोषणा बाइडेनले गरेका थिए । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२१ को मे महिनाभित्र अमेरिकी सेना अफगानिस्तानबाट फर्किसक्ने गरि तालिबानसँग सहमति गरेका थिए । यसलाई बाइडेनले समेत निरन्तरता दिए । अमेरिकी सेना पूर्ण रूपमा फर्किए पनि ६५० देखि १,००० अधिकारी भने अमेरिकी दूतावास, काबुल विमानस्थल र अन्य सरकारी पूर्वाधारहरूको रक्षामा अफगानिस्तानमै खटिने छन् ।

  • चीनमा लगाईयो कोरोनाको १ अर्ब ३३ करोड डोज, अमेरिकामा कति ?

    चीनमा लगाईयो कोरोनाको १ अर्ब ३३ करोड डोज, अमेरिकामा कति ?

    काठमाडौं । विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप खपत भएको छ । राससले समाचार एएफपीलाई उदृत गर्दै जनाए अनुसार यस्तो खोप चीनमा मात्र एक अर्व ३३ करोड १६ लाख ७९ हजार डोज खपत भइसकेको छ । चीन सर्वाधिक खोप लगाउने मुलुक हो । दोस्रो स्थानमा भारत छ । भारतले अहिलेसम्म ३६ करोड ८१ लाख १२ हजार ११३ डोज कोरोनाविरुद्ध खोप लगाएको छ ।

    अमेरिकामा ३३ करोड ५ लाख ६० हजार ७३५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा १० करोड ३० लाख ६२ हजार ६०९ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ । बेलायतमा आठ करोड २ लाख १२ हजार ६६८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

    जर्मनी सात करोड ८६ लाख ७२ हजार ९२ डोज कोरोनाविरुद्ध खोप लगाइएको तथ्यांक छ । पोल्याडमा छ करोड ७ लाख ५९ हजार ७४४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । फ्रान्समा पाँच करोड ७२ लाख ७९ हजार १९८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    टर्कीमा पाँच करोड ५४ लाख ६३ हजार ४०० डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली पाँच करोड ५४ लाख ५६ हजार २७६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । धनी मुलुकको तुलनामा गरिब मुलुकहरुमा भने खोपको वितरण दयनीय अवस्थामा छ । सानो जनसंख्या भएको नेपालले अहिलेसम्म २० लाख मानिसलाई समेत दोहोरो खोप दिन सकेको छैन ।

  • फेसबुक, ट्विटर र गुगलविरुद्ध ट्रम्पले हाले मुद्दा

    फेसबुक, ट्विटर र गुगलविरुद्ध ट्रम्पले हाले मुद्दा

    अमेरिका । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरुद्ध मुद्दा दर्ता गराएका छन् । उनले कम्पनीका सीईओलाई लक्षित गरि फ्लोरिडा राज्यको दक्षिणी जिल्ला मियामीको जिल्ला अदालतमा सो मुद्दा दर्ता गराएका हुन् ।

    सीईओ मार्क जुरकवर्ग सहित तीनै कम्पनीका ज्याक डोर्से र सुन्दर पीचाइलाई केन्द्रित गर्दै ट्रम्पले मुद्दा हालेका हुन् । करिब ६ महिना अघि फेसबुक, ट्विटर र युट्युबले पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रतिबन्ध लगाएका थिए । ट्रम्पले यो मुद्दा देशकै लागि गेम चेन्जर हुने जानकारी दिएका छन् ।

    ट्रम्पले हालेको मुद्दामा गलत तरिकाले अकाउन्ट प्रतिबन्ध गरिएको कुरा उल्लेख गरिएको छ । ट्रम्पले सामाजिक सञ्जालले स्वतन्त्र रुपमा बोल्न पाउने अधिकार समेत हनन् गरेको कुरा उल्लेख गरेका छन् ।

  • कोपा अमेरिका : अर्जेण्टिना फाइनलमा, उपाधी भिडन्त ब्राजिलसँग

    कोपा अमेरिका : अर्जेण्टिना फाइनलमा, उपाधी भिडन्त ब्राजिलसँग

    काठमाडौं । जारी कोपा अमेरिकामा अर्जेण्टिना उपाधी नजिक पुगेको छ । बुधबार बिहान सम्पन्न खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ गोलले हराउँदै अर्जेण्टिना फाइनल पुगेको हो । निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको हो । खेलमा अग्रता भने अर्जेण्टिनाले मार्टिनेजको गोलमार्फत ६ औं मिनेटमै लिएको थियो । कप्तान लियोनल मेसीको सटिक पासमा उनले गोल गरेका हुन ।

    खेलको ६० औं मिनेटमा कोलम्बियाका कार्डोनाले दर्शनीय गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि भने कुनै पनि टीमबाट थप गोल हुन् सकेन । पेनाल्टीमा भने अर्जेण्टिनाका गोलकिपर मार्टिनेज हिरो बने । उनले कोलम्बियाका तीन खेलाडीको प्रहार रोके । अर्जेण्टिनाका डी पोलको प्रहार समेत बाहिरिएको थियो । अर्जेण्टिनाका लागि पहिलो पेनाल्टी गोल भने कप्तान मेसीले गरेका हुन् ।

  • नेकोनद्वारा महावीर पुनको सम्मान तथा सहयोग हस्तान्तरण

    नेकोनद्वारा महावीर पुनको सम्मान तथा सहयोग हस्तान्तरण

    कनेक्टिकट

    कनेक्टिकट नेपाली समाज (नेकोन) युएसएले हाल अमेरिका भ्रमणमा रहनु भएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक डा. महावीर पुनलाई गत जुन २५ तारिखका दिन स्थानीय केनेडी पार्कमा एक औपचारिक कार्यक्रमका बीच सम्मान गर्दै सहयोग रकम हस्तान्तरण गरेको छ ।

    उक्त कार्यक्रमको संयोजन संस्थाका सहकोषाध्यक्ष संजय पन्तले गर्नु भएको थियो भने सहयोगदाताहरु र सदस्यहरु गरी करिव १०० जनाको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि डा. महावीर पुनलाई सम्मान गर्दै नेकोनका अध्यक्ष नारायण पौडेलले डा. पुनको सरल व्यक्तित्वको प्रशंसा गर्दै सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । संस्थाको तर्फबाट उपाध्यक्ष रघुनाथ गिरीले स्वागत मन्तव्य र कार्यक्रमको सहजीकरण तथा संचालन संस्थाका सचिव राजन तिम्सिनाले गर्नु भएको थियो । सम्मानित व्यक्तित्व डा. महावीर पुनले अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीको भनाई उद्धृत गर्दै विना स्वार्थ राष्ट्रका लागि सहयोग गर्नु पर्ने बताउनु भयो । साथै वहाँले सहाभागीहरुको जिज्ञासाको प्रतिउत्तर पनि दिनु भएको थियो । कार्यक्रमको अन्त्यमा नेकोनद्वारा संकलित १० हजार अमेरिकी डलर अध्यक्ष नारायण पौडेलज्यूले डा. पुनलाई हस्तान्तरण गर्नु भयो ।

    स्मरण रहोस, डा. महावीर पुन म्याग्दीको दुर्गम गाउँ नागीमा जन्मिएर पनि अमेरिकाबाट विद्यावारिधि गर्न सफल भई अमेरिकाको सुविधा र अवसरलाई छाडेर पुन नेपालको दुर्गम गाउँमा फर्केर तार रहित ईन्टरनेट तथा भिओआईपी टेलिफोनको माध्यमबाट नेपालको दुर्गम गाउँलाई इन्टरनेटको विश्व संजालमा जोड्न सफल हुनु भयो । निस्वार्थ सामाजिक सेवामा वहाँको नेतृत्व क्षमताको उच्च सम्मान गर्दै सन् २००७ मा वहाँले फिलिपिन्सबाट ५०,००० डलरको रमण म्याग्सायसे पुरस्कार प्राप्त गर्नु भयो । त्यस यता पुरस्कारको सम्पूर्ण रकम र आफ्नो जायजेथा समेत संस्थागत गर्दै “राष्ट्रिय आविस्कार केन्द्र” को स्थापना गरि देशमा विज्ञान तथा प्रविधिको अध्ययन र अनुसन्धान मार्फत नेपाली माटो सुहाउँदो प्रविधीको विकासमा युवा जनशक्तिलाई परिचालन गरिरहनु भएको छ भने, हालै विद्यमान कोभिड-१९ को महामारीमा नागरिक स्तरमा अगुवा नेतृत्वको भूमिकामा वहाँ सतिसाल झैँ उभिनु भयो । अक्सिजन सिलिन्डर, यस संग सम्बन्धित पार्टपूर्जाहरु, अस्पतालका भेन्टिलेटरहरुको मर्मत सम्भार र पिपिईको निर्माण तथा वितरणको सहजीकरण गरेर वहाँ र वहाँको केन्द्र सम्बद्ध टिमले नेपाली जनतालाई बिर्सनै नसकिने गुण लगाउनु भएको छ । डा. पुन र वहाँको राष्ट्रिय आविष्कार केन्द्रलाई आफ्नो उदेश्य प्राप्तिमा निरन्तर सफलता मिलोस, कनेक्टिकट नेपाली समाज (नेकोन) युएसएको यही हार्दिक शुभकामना !

  • कोपा अमेरिका : साविक विजेता ब्राजिल फाइनलमा

    कोपा अमेरिका : साविक विजेता ब्राजिल फाइनलमा

    काठमाडौं । साविक विजेता ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ । अहिले ४७औं संस्करणको कोपा अमेरिका फुटबल ब्राजिलमै आयोजना भइरहेको छ । मंगलबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा पेरुलाई १, ० गोलले हराएको ब्राजिल फाइनल पुगेको हो । ब्राजिलका लागि लुकास पाक्वेटाले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्यो । ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नु पर्नेछ । यो । खेल बुधबार बिहान हुँदैछ ।

  • एनआरएनको गरिमा बचाउन संस्थागत संस्कार, अनुशासन र व्यवहार अपरिहार्य

    एनआरएनको गरिमा बचाउन संस्थागत संस्कार, अनुशासन र व्यवहार अपरिहार्य

    सुपेन्द्र बस्नेत, बोष्टन

    आजको युग विश्वव्यापिकरणको युग हो ।प्राविधिकरणसंगै विकसित आधुनिकिकरणले विश्वयात्रालाई निकै सजिलो बनाइदिएको छ । जसका करण विविध कारणले जन्मभूमि छोडेर अर्कै भूमिलाई कर्मभूमि बनाउनेको संख्या दिन प्रतिदिन बढ्दो छ । यसबाट नेपालीहरु पनि अछुतो रहन सकेका छैनन् । नेपालीहरुले संसारका ८१ भन्दा बढी देशहरुमा डेरा जमाइ सकेका छन् । तिनै विविध कारणले नेपाल बाहिर (सार्क राष्ट्रहरु बाहेक) विश्वभर छरिएर रहेका नेपालीहरु र नेपाली मूलको विदेशी नागरिकहरुको साझा छाता संस्था हो ‘गैर आवासीय नेपाली संघ’ । जन्मभूमि र कर्मभूम बीच आत्मीय सामिप्यता ल्याउन सेतुको काम गर्नु , प्रवासी नेपालीहरु हितका लागि सक्दो भूमिका निर्वाह गर्नु , नेपाल र नेपालीको समृद्धिका लागि सक्दो योगदान पुर्याउनु र नेपालीको समृध्दि मार्फत विदेशमा रहेका गैर आवासीय नेपालीहरुको प्रसिद्धि बढाउनु नै यस संस्थाको मुख्य उद्देश्यहरु रहेका छन्। सन् २००३ , अक्टोबर ११ तारिखका दिन एक गैरनाफामूलक सामाजिक संस्थाको हैसियतमा स्थापित यो संस्था , नेपाल सरकाबाट मान्यता प्राप्त आधिकारिक संस्था हो । जसलाई गैर आवासीय नेपाली नियम २०६४ लागू गरी नियमन गरिएको छ ।
    संस्थाको विधानमा हरेक दुई बर्षमा नयाँ कार्यसमिति चयन गर्नु पर्ने व्यवस्था भए अनुसार , गैर आवासीय नेपाली संघ , अमेरिकाले पनि कोरोना कहरकैबीच जसोतसो निर्धारित मिति भित्रै विभिन्न राज्यहरुमा रहेका आफ्ना च्याप्टरहरुको र राष्ट्रिय समन्वय परिषद्को निर्वाचन सम्पन्न गर्यो। निर्वाचनका सम्बन्धमा लागेका अनेक खाले आरोपहरुलाई बेवास्था गर्ने हो भने , निर्वाचन सम्पन्न गर्ने कार्यसमिति र निर्वाचन आयोग धन्यवादको हकदार नै छन्। तर, निर्वाचनका दौरानमा लोकतान्त्रिक अभ्यासका नाममा भएका अलोकतान्त्रिक हर्कतहरु भने साच्चै जिब्रो कटाउने र नाक तथा निधार खुम्च्याउने स्तरको रहेको कुरा पनि जग जाहेर नै छ । यद्यपि, संस्थाको हित तथा नेपाल र नेपालीको उज्वल भविश्यको आसका खातिर, देखे पनि नदेखे झैं र सुने पनि नसुने झैं चैचुप मैचुप रहनेहरुको जमात पनि बलियो नै रह्यो । जसका करण तै चुप मै चुप, खुला दिसा गर्नेलाई देखिए-आफै लुकको अवस्थाबाट गुज्रदै संस्थागत निर्वाचन अभियान राष्ट्रिय वार्षिक साधारणसभातिर लम्कन सफल भयो। निर्वाचन पश्चात् पराजित भएकाहरुका आत्तिएका रुवावासी र विजयी हुनेहरुको मात्तिएका विजयोत्सवका हर्कतहरु संस्थाको गरिमा अनुसार विलकुल शोभनीय रहेनन्। हुनत सामान्यतया लोकतान्त्रिक निर्वाचन परिणाम सार्वजनिक भै सकेपछि ति हर्कतहरुले विश्राम लिनु पर्ने थियो । र, सबै तिता र असन्तुष्टिहरु बिर्सिएर पुनःसंस्थागत अभियानमा एकताबद्ध भइ अघि बढ्नु पर्ने हो । तर, ‘दुर्भाग्य’ त्यसले जुलाई ३-४ सम्म न्यू योर्कमा भएको गरिमामय ‘राष्ट्रिय साधारणसभा’सम्मको यात्रा तय गर्यो । उदघाटन समारोह मै विजयको दम्भ, पराजयको पिडा र घृणाको कुण्ठाले धारण गरेको पराकाष्ठा यसरी छताछुल्ल भयो कि, जसले संस्थाको गरिमा नराम्ररी चुकायो। गर्वीलो शिर झुकायो । र , मतदाहरुको आसा र भरोसा टुटायो। नवनिर्वाचितहरुलाई औपचारिक पद ग्रहणका लागि हतारो हुनु र पुरानाहरुलाई पद त्याग गर्ने बेला पसारो पर्नुले नराम्ररी जग हसायो । सुरक्षा दस्ताको चौघेरामा हतार हतार सपथ ग्रहण कार्यक्रम सम्पन्न हुँदाको क्षण, निकै दयनीय, टिठिलो र लज्जास्पद रह्यो । आयोजित गरिमामय साधारणसभालाई मुख्य गरी संस्थाको नीति नियम निर्माण गर्ने, आगामी कार्ययोजना तर्जुमा गर्ने, भए गरेका क्रियाकलापहरुको मुल्याङ्कन गर्ने र अग्रगामी कदम चाल्नका लागि पृष्ठपोषण गर्ने अमुल्य सुवर्ण अवसरका रुपमा भरपुर सदुपयोग गरिनु पर्ने थियो। तर, त्यसो नभएर साधारणसभा बदला लिने, लामो समयदेखि पालित पोषित कुण्ठा पोख्ने र एक अर्कालाई खुइल्याउने मौकाको रुपमा दुरुपयोग गरियो । यी सलबलाएका घटनाहरुका छनकहरु हेर्दा, यी समस्याहरुको समाधान तत्कालै त्यति सजिलो हुनेवाला देखिन्न। ज्ञान, बुद्धि, विवेक र सीपका दृष्टले विश्वकै अग्रपंक्तिमा रहेको मानिएको देश अमेरिकामा रहेर पनि, होनहार मानिएका संस्थाका जिम्मेवार व्यक्तित्वहरुबाटै यस्ता लज्जास्पद , निन्दनीय र खेदजनक व्यवहारहरु भएको सुनिनु र देखिनु, नेपाल र नेपालीका लागि निकै दुर्भाग्यको कुरा हो । यस घटनाले संस्था भित्र सामुहिक स्वार्थका खातिर चाहिने अपरिहार्य संस्थागत संस्कार, व्यवहार र अनुशासनको निकै अभाव र व्यक्ति स्वार्थका खातिर कुण्ठा,ठालुपन र दम्भको निकै प्रभाव रहेको पुष्टि गरेको छ। गैर आवासीय नेपाली संघ , एउटा गैरनाफामूलक सामाजिक संस्था हो ।तर, यस संस्थामा आवद्ध भएर समाजसेवा गर्ने अभियानमा किन हार्दिकता र एकता छैन ? नेतृत्व प्राप्तिका लागि लोकतान्त्रिक अभ्यासका नाममा किन अलोकतान्त्रिक क्रियाकलापहरुले प्रसय पाइरहेका छन् ? नेतृत्व प्राप्तिलाई किन जिम्मेवारी वहनका रुपमा नलिइ, पद र प्रतिष्ठा ग्रहणका रुपमा लिइन्छ ? ठेकेदारी प्रथा किन मौलादै छ ? निर्वाचन पश्चात् मतदाताहरुको अवमुल्यन किन गरिन्छ ? समाजिक कार्यमा सबैसंग हातेमालो गरी अघि बढ्न छोडेर, यस्ता लज्जास्पद संस्कार र व्यवहारहरु किन मौलाइरहेका छन् ? संस्थाको आदर्श वाक्य ‘नेपालीका लागि ,नेपाली’ लाई सार्थक बनाउने पथमा संस्था किन डोर्याउन सकिरहिएको छैन ? संस्थागत पारदर्शीता दिन प्रतिदिन किन संकुचित र कुण्ठित हुदै गइरहेको छ ? नीतिगत र आर्थिक भ्रष्टाचारको कुरा जोडदार किन उठिरहेको छ ? संस्थाप्रति लक्षित समुदायको आकर्षण किन बढ्न सकिरहेको छैन ? संस्थामा परिमाणात्क आबद्धतामा बृद्धि देखिए पनि , गुणात्मक आबद्धता किन खस्कदो छ ? छलछामे, बदनामे, पदलोलुपी, हुक्के चिलिमे र रमितेहरुको कब्जामा रहेको रत्यौली खेल्ने क्लवका रुपमा संस्थाको छवि किन संस्थागत हुदै गइरहेको छ ? संस्थामा आवद्ध जो कोही सदस्यहरुले किन अपनत्व ग्रहण गर्न सकिरहेका छैनन् ? हो अहिले संस्था हाक्ने अहोदामा रहेकाहरुलाई जोडेर यस्तै यस्तै यक्ष प्रश्नहरु खडा भइरहेका छन् । संस्थागत उद्देश्य प्राप्ति गर्ने र कार्यकाल बढी भन्दा बढी प्रभावकारी बनाउने हो भने , सबैभन्दा पहिला अग्रगामी कदमका बाधक यस्ता प्रश्नहरुको उत्तर तुरुन्त खोजी गरिनु पर्दछ । र, यि यक्ष प्रश्नहरुको सम्बोधन हुने र समस्या समाधानका लागि उपायहरु पहिचान गर्ने गरी आवश्यक एकिकृत ठोस कदम चालिनु पर्दछ।रुखका जराहरुका बाधकहरु नपन्छाइ , जति सुकै मलजल दिए पनि रुखले अपेक्षित फल दिन कदाचित् सक्दैन । त्यसैले, सर्वप्रथम संस्थागत सुदृढीकरण , सुद्धिकरण, एकिकरण र सबलीकरणका बाधकहरु पन्छाउनु अपरिहार्य छ।हैन भने सपथ ग्रहण, पदभार ग्रहण , यताउता भ्रमण, आशन ग्रहण , अर्थहीन भाषण, रासन ग्रहण र अन्तमा छेउटुप्पोको भेउ नै नपाउदै बागडोर हस्तान्तरण मै सकिने छ दुई वर्षे कार्यकाल।
    तसर्थ, संस्थाको एक साधारण सदस्यको हैसियतले विलम्ब नगरी संस्थाको गरिमा उच्च राख्न र सबैले गर्व गर्न लायक संस्था बनाउन, अति आवश्यक यिनै प्रमुख मद्दाहरुमा केन्द्रिकृत भएर आफ्नो अभियान प्रारम्भ गरिहाल्न नयाँ टिमलाई अनुरोध गर्दछु। साथै, प्राप्त अवसरलाई पद तथा प्रतिष्ठा ग्रहणका रुपमा नभई, संस्थागत हितार्थ जिम्मेवारी बहनका रुपमा बुझ्न र सोही अनुसार भूमिका निर्वाह गर्न अनुरोध गर्दै यि नै सदिच्छासहित कार्यकाल पूर्ण सफलताको कामना समेत गर्दछु ।

  • कोपा अमेरिका : अर्जेण्टिना सेमिफाइनल पुग्यो, उरुग्वे बाहिरियो

    कोपा अमेरिका : अर्जेण्टिना सेमिफाइनल पुग्यो, उरुग्वे बाहिरियो

    काठमाडौं । इक्वेडरविरुद्ध रवाफिलो जित दर्ता गर्दै अर्जेण्टिना कोपा अमेरिका फूटबलको सेमिफाइनल पुगेको छ । आइतबार बिहान सम्पन्न अन्तिम क्वाटरफाइनलमा अर्जेण्टिनाले इक्वेडरलाई ३-० गोल अन्तरले हराएको हो । आजको खेलमा क्याप्टेन मेसी पुनः एक पटक चम्किए । उनले एक उत्कृष्ट फ्रिकिक गोल गरे । दुई गोलका लागि भने असिष्ट गरे । उनले ९३ औं मिनेटमा फ्रिकिकबाट गोल गरेका थिए । खेलको अन्तिम मिनेटमा इक्वेडर १० खेलाडीमा सिमित भएको थियो ।

    इक्वेडरका रियरोले डिबक्स नजिकै डिमारियालाई लडाएपछि उनलाई रातो कार्ड दिइएको थियो । यसअघि खेलमा डी पाउलको गोलबाट ४० औं मिनेटमा अर्जेण्टिनाले लिड लियो । ८४ औं मिनेटमा मार्टिनेन्जले अग्रता दोब्बर पारे । अब सेमिफाइनल भिडन्त अर्जेण्टिना र कोलम्बियाबीच हुने छ । कोलम्बियाले आजै राती भएको खेलमा उरुग्वेलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हरायो । निर्धारित तथा थप गरिएको समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । हारपछि उरुग्वे भने प्रतियोगिताबाट बाहिरिएको हो ।

  • नेपालीकी छोरी एलिजाबेथ ठकुरीले प्राप्त गरिन् तिन पटक अमेरिकी राष्ट्रपतिद्वारा सम्मान पत्र

    नेपालीकी छोरी एलिजाबेथ ठकुरीले प्राप्त गरिन् तिन पटक अमेरिकी राष्ट्रपतिद्वारा सम्मान पत्र

    भर्जिनिया

    अमेरिकाको भर्जिनिया निवासी एलिजाबेथ ठकुरीले लगातार तेश्रो पटक अमेरिकी राष्ट्रपतिको हस्ताक्षर सहित प्रदान गरिने “राष्ट्रपति शिक्षा पुरस्कार” प्राप्त गरेकी छिन्।पिता उज्ज्वल ठकुरी र आमा प्रियंका नेपाल ठकुरीकी सुपुत्री प्रियंका भर्जिनियास्थित फ्रोष्ट मिडिल स्कुलमा अध्ययनरत छिन् ।



    उनले प्रथम पटक कक्षा ६ मा राष्ट्रपति ट्रम्पद्वारा २०१९ “राष्ट्रपति शिक्षा पुरस्कार” प्राप्त गरेको थिइन् भने कक्षा ७ मा फेरी राष्ट्रपति ट्रम्पद्वारा “राष्ट्रपति शिक्षा पुरस्कार” २०२० प्राप्त गरेको थिइन्। यसपाली २०२१ कक्षा ८ मा पनि सो उत्कृष्ट पुरस्कार एलिजाबेथ ठकुरीले राष्ट्रपति जो बाइदेनबाट पनि प्राप्त गरेकी छिन् । यसले सम्पूर्ण नेपाली समुदाय र नयाँ पिढीलाई प्रत्साहन र उर्जा उत्पादन गरिदिएको पिता उज्ज्वल ठकुरी बताउँछन् ।

    एलिजाबेथ बताउँछिन; “मैले पुरस्कार सोचेर पढेकी होइन, सधै अध्ययनलाई प्राथमिकता राख्दछु । मेहेनत गरे अमेरिकामा सबै सम्भव छ” । उनका पिताले कायम राखेका विश्व कीर्तिमानले आफुलाई पनि हौसला मिलेको समेत बताएकी छिन् ।

  • एनआरएन एनसीसी अमेरिकाको १० औं वार्षिक साधारण सभालाई प्रश्न

    एनआरएन एनसीसी अमेरिकाको १० औं वार्षिक साधारण सभालाई प्रश्न

    बिष्णु सिंह (बैजु) – आजीवन सदस्य

    एनआरएन अमेरिका २०२१-२३ पदाधिकारी कार्यकालका लागि केन्द्र र राज्य निकायहरुको चुनावपूर्व नै सदस्यता दर्ता र नविकरण गर्ने कार्य सम्पन्न भई अब एनआरएन अमेरिकामा साधारण र आजीवन गरि २० हजार भन्दा बढी सदस्यहरु संगठीत भए । आफुपनि स्वतस्फुर्त रुपमा सदस्य बनाउन लागि परेकोले खुसी र गर्व लाग्छ। तर चुनाव हुदैगर्दा ५ अध्यक्ष्यका प्रत्याशी मध्ये एक प्रत्याशी चाँहि आफुले चुनावमा अध्यक्ष पदका प्रत्याशी हुन् शुल्क बुझाएको तर एनआरएनले आफुलाई चुनावमा भाग लिन बन्देज लगाएको र तिरेको २ हजार डलर फिर्ता पनि नगरेको खबर सुन्नमा आयो। तर एनआरएन भित्र कसैको पुच्छर नसमाएको र कुनै पदमा नबस्ने कुनै स्वतन्त्र, निष्पक्ष निकाय नहुदा सदस्यले आफुलाई परेको अन्याय बिरुद्ध अदालतमा मुद्दा दायर गरेको बुझियो। घरपरिवारमा बादबिवाद, मनमुटाव हुन्छ तर त्यसलाई समाधान गर्ने उपाय गरिएको छैन भने बलियाले निर्धालाई शारीरिक र मानसिक चोट पुर्याउन सक्छ । अनि निर्धोले न्याय खोज्दै हिड्नु कुनै अपराध हुदैन। उदाहरणको लागि हालसालै नेपालमा संचारकर्मी रुपा सुनारले आफुलाई जातीय विभेद गरी मानसिक पिडा दिएकोमा कानुनी उपचारमा गईन। राष्ट्रपतिले गैरसंबैधानिक कार्य गरिी १४६ को समुहलाई प्रधानमन्त्री नियुक्त नगरेको भनि अदालतमा मुद्दा दायर गरे। के अब रुपा सुनारलाई कतै कोठा भाडामा नदिने हो त? झलनाथ वा माधव नेपाललाई प्रधानमन्त्री वा एमालेको सभापति पदमा चुनाव लड्न नदिने हो त? त्यसो हो भने प्रजातान्त्रिक, गणतान्त्रिक मुलुक भन्नु भएन।

    सदियौंदेखि दासत्व र सामन्ति प्रथाबाट जन्मे हुर्केका नेपालीहरु अमेरिका आएर अमेरिकन हुन् वा बेलायत गैर बेलायती हुन्; अनि जति डिग्री लिउन, शुट लगाउन वा गाडी चढुन। तर तिनका दिमागबाट मौका पायो कि अरुलाई दमन गर्ने र आफ्नो हैकम कायम राख्ने प्रयास गरि हाल्छन। यस्तै मौका अहिले बिद्यमान एनआरएन एनसीसी अमेरिकाको बिधानले सृजना गरेको छ। बर्तमान विधानको धारा ११०सी ले अध्यक्षको पदमा प्रत्याशी हुन् रोक लगएको छ। यसले भन्छ, “एन आर एन एनसीसी बिरुद्ध कानुनी कारवाहीको पक्षधरले चुनाव हुदैगर्दा अध्यक्ष पदमा चुनावमा भाग लिन नपाउने।” कति हास्यास्पद ! कि त एनआर एनले भन्न सक्नु पर्यो संस्था बिरुद्ध कानुनि कारवाहीका पक्षधरले संस्थाको चुनावमा तलदेखि माथिसम्म कुनैपनि पदमा भाग लिन नपाउने।

    नत्र यो अध्यक्ष पदलाई मात्र तोकेर बन्देज गर्नु त नियतबस सक्षम र काबिल व्यक्तित्वलाई नेतृत्वमा आउँन नदिने गुटको षडयन्त्र भएन र ? फेरी कुनै अन्यायमा परेको सदस्यले संस्थाका बिरुद्ध मुद्दा हालेको त पक्कै हुदैन। किनकि उ आफै चुनाव लडेर संस्थालाई सबल नेतृत्व दिन्छु भनेर चुनावको माध्यमबाट संस्थामा आउँन खोजेको हुन्छ। त्यसैले त्यस्ता मुद्दा भनेको संस्थामा तानाशाही भएर, आफुलाई मन नपर्नासाथ अरुलाई दबाउने र आफु हैकम जमाउने पदाधिकारी विरुद्धको मुद्दा हुन्छ। त्यसकारण मुद्दा संस्था बिरुध्धको हो कि पदाधिकारी विरुद्धको हो त्यो निर्क्योल नगरी कुनै सक्षम व्यक्तित्वलाई चुनावमा बन्देज गर्नु नितान्त गलत र अप्रजातान्त्रिक र मानव अधिकार विरुद्ध हुन्छ। अमेरिका जस्तो प्रजातान्त्रिक देशमा बसेर यस्तो अप्रजातान्त्रिक बिधान बोकेर एनआरएन अमेरिका चल्नु के सुहाउला त ?

    चालु एनआरएन १० औं बार्षिक साधारण सभाको विज्ञ सदस्य महानुभावहरुले यसलाई गहिरो छलफल र मनन गरि (१) विधानका यस्ता बुंदाहरु हटाउलान त ? अझै राम्रो पाईला टेकेर हिड्न नसकेको संस्थाले मुद्दा मामलालाई हटाउन संस्था भित्रै (२) ” समस्या समाधान समुह गठन गर्लान त ? साथै (३) न्याय माग्न स्वतन्त्र न्यायिक संस्थामा जान बिना रोकतोक स्वतन्त्रता देलान त ?

    चालु एनआरएन एनसीसी अमेरिकाको १० औं बार्षिक ( जुलाई ३-४ ) साधारण सभामा भागलिन सदस्यहरुलाई जानकारी गराईयो। तर धेरै से धेरै सदस्यहरुले उपस्थित नहुन भन्ने नियत बोकी हवाईजहाजबाट आउनेहरुलाइ एयरपोर्टबाट सुगम तरिकाले नजिकैको तारे होटलमा पुग्न सुबिधा हुनेगरि तारे होटेल रोजियो। न्युयोर्कमा नेपालीहरुको बाक्लो बस्ति रहेको एनआरएन सदस्यहरुको सुबिधा हेरिएन।२० डलर तिरी सदस्य बनेकाहरुले १०० डलर रजिष्ट्रेसन शुल्क तिरी सभामा भाग लिनु पर्ने भयो। संस्थामा फण्डरेज कार्य प्रभावकारी देखिएको छैन। अनि “आम्दानि अठनि खर्च रुपिया” ठुलो तारे होटलमा महँगो खर्च गर्नु कति बुद्धिमानि ? के यसले संस्थामा सवल नेतृत्वको कमी छ भन्ने देखाउदैन ?

    अनि सभामा भाग लिन सदस्यहरुलाई न कार्य प्रगतिको जानकारी छ, न आर्थिक बिवरण उपलब्ध गरिएको छ। अनि कुन आधारमा, के छलफल गर्ने ?
    के सभामा हाइई, हल्लो मात्र भन्ने हो ? कि गित गाएर नाच्ने ? यसबाट नेतृत्व सक्षमतामा प्रश्न उठदैन र? यो संस्थाको आर्थिक बर्ष के हो भन्नेसम्म यसले आईआरएसमा बुझाएको ९९० रिपोर्टमा देखिदैन। अनि २ लाख ५४ हजार ९३० डलर २०१९ मा कहाँ र के कार्यक्रममा खर्च गरेको भनि देखाएको छैन। के कार्यक्रम गरेको र कसले के कति लाभ पाए ? संस्थाको के कस्तो हित भयो ? कतै कुनै रिपोर्टमा उल्लेख छैन। जुलाई २०२१ मा सभा गर्दा २०२० को रिपोर्ट नै नल्याएर सभा गर्दा के बिषयमा सभा गर्ने ?

    यी सबै गतिबिधिबाट एन आर एनमा सबल र सक्षम नेतृव र पदाधिकारी आवस्यक छ भन्ने स्पष्ठ छ। विज्ञ सदस्य साथीहरुले यी सबै बिषयमा गहन छलफल गरि संस्थालाई अग्रगामी र प्रगतिशील बनाउनु हुनेछ भन्ने धेरैले आशा गरेको बुझिएको छ।

  • दुई सय अमेरिकी कम्पनीमाथि साइबर हमला, रुसी ह्याकरको हात रहेको आशंका

    दुई सय अमेरिकी कम्पनीमाथि साइबर हमला, रुसी ह्याकरको हात रहेको आशंका

    काठमाडौं-एजेन्सी । अमेरिकामा एक साथ दुई सय कम्पनीमाथि साइवर हमला भएको छ । एक साइबर सुरक्षा फर्मलाई उदृत गर्दै अमेरिकी संचारमाध्यमले यसको जानकारी गराएका छन् । यहाँ करीव २ सय कम्पनी हमलाबाट प्रभावित भएका छन् । हन्ट्रेस ल्याव्सले सफ्टवेयरका माध्यमबाट आफ्नो कम्पनीलाई निसाना बनाएको पुष्टी गरेको छ ।

    यससँगै २ सय हाराहारी आइटी कम्पनीलाई निसाना बनाइएको छ । सम्भावित हमलाबारे जाँच शुरु गरिएको भन्दै कम्पनीहरुले हमलामा रुसी ह्याकरको हात रहेको आशंका गरेका छन् । साइबर सुरक्षाका लागि जिम्मेवार अमेरिकाको संघीय एजेन्सीले समेत यसबारे जाँच शुरु गरिएको बताएको छ ।

  • अफगानिस्तानका महत्वपूर्ण सैन्य अखडा छाड्दै अमेरिकी तथा नेटो सैनिक

    अफगानिस्तानका महत्वपूर्ण सैन्य अखडा छाड्दै अमेरिकी तथा नेटो सैनिक

    काबुल । अफगानिस्तानका महत्वपूर्ण सैन्य अखडाबाट अमेरिकी तथा नेटोका सैनिकहरु बाहिरिएका छन् । यहाँको बाग्राम हवाई अखडाबाट अमेरिका र नेटोका अन्तिम सैनिक बाहिरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । उक्त सैन्य अखडा उग्रवादी विरुद्धको झण्डै २० वर्ष लामो युद्धको केन्द्र थियो। बीबीसीका अनुसार त्यहाँबाट भएको यस्तो सैन्य फिर्तीको सङ्केत अब अफगानिस्तानबाट चाँडै नै सम्पूर्ण विदेशी सैन्य बाहिरिने छन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ तारिखसम्ममा सबै अमेरिकी सैन्य त्यहाँबाट बाहिरिसक्ने यसअघि नै बताएका छन् । काबुलको उत्तरमा अवस्थित उक्त विशाल सैनिक अखडा खाली गरिँदा अफगानिस्तानको मुख्य उग्रवादी समूह तालिबानले भने देशका विभिन्न भागमा कब्जा जमाइरहेको दावि गरेको छ । ११ सेप्टेम्बर अमेरिकामा सन् २००१ मा भएको भएको आतंकवादी हमलाको वार्षिकी हो । यो घटनामा तीन हजार मानिसको ज्यान गएको थियो ।

    यो हमला एक अन्तर्राष्ट्रिय आतंकवादी समूह अल कायदाले गराएको हो । त्यसबेला यो समूहको आधार अफगानिस्तान थियो। बीबीसीका अनुसार उनीहरूलाई देशमा सन् १९९० को दशकदेखि नै नियन्त्रण कायम गरेका तालिबानको समर्थन थियो। ती दुवै समूहलाई परास्त गर्न सोही वर्षको केहीपछि अमेरिकी नेतृत्वको गठबन्धन सैन्यले अफगानिस्तानमा आक्रमण गरेको थियो।

    केही अघिसम्म २,५०० देखि ३,५०० सम्म अमेरिकी सैनिकहरू अफगानिस्तानमा अझै रहेका भन्ने ठानिएको थियो। अब त्यहाँ १,००० भन्दा कम अमेरिकी सैनिकहरू रहने भएका छन् । गत मे महिनासम्म अन्य गठबन्धनका ७,००० जति सैनिकहरू रहेका थिए।

  • संघर्षपूर्ण जितसहित ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा

    संघर्षपूर्ण जितसहित ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा

    काठमाडौं । आयोजक ब्राजिल चिलीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै कोपा अमेरिकाको सेमिफाइनल प्रवेश गरेको छ। शनिबार बिहान भएको खेलमा ब्राजिलले चिलीलाई १० गोल अन्तरले हरायो । ब्राजिल ४८ मिनेटमै १० खेलाडीमा सिमित भएको थियो । टोलीका गाब्रियल जेसस रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । उनले चिलीका डिफेन्डर मेनामाथि फाउल गरेका थिए ।

    खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ब्राजिलका लागि ४६ मिनेटमा लुकास पाक्युटाले गरेको गोल नै निर्णायक बन्यो । फाइनल प्रवेश गर्न ब्राजिलले पेरूको सामना गर्नेछ । पेरूले शनिबार नै सम्पन्न अर्को खेलमा पाराग्वेमाथि जित निकालेको हो । यो नतिजा पेनाल्टी सुटआउटबाट आएको हो ।