Category: अमेरिका

  • क्यानडामा मुस्लिम परिवारमाथि नियोजित रुपमा चलाईयो ट्रक, चार जनाको हत्या

    क्यानडामा मुस्लिम परिवारमाथि नियोजित रुपमा चलाईयो ट्रक, चार जनाको हत्या

    काठमाडौं\एजेन्सी । क्यानडामा एक मुस्लिम समुदायका परिवारमाथि नियोजित रुपमा ट्रकले आक्रमण गरिएको छ । घटनामा चार जनाको मृत्यु भएको छ । घटना आइतबारको हो । बीबीसीका अनुसार क्यानडा पुलिसले यसको पुष्टी समेत गरेको छ । क्यानडाको ओटारियो प्रान्तको सिटी अफ लन्डन भन्ने स्थानमा भएको हो । यस घटनामा परिवारका एक ९ वर्षिय बालक मात्र बच्न सफल भएका छन् । यद्दपी उनी गम्भीर घाइते छन् । उनको अस्पतालमा उपचार जारी छ ।

    प्रहरीले २० वर्षका एक व्यक्तिलाई सुनियोजित रुपमा ट्रक हमला गरि ज्यान लिएको अभियोगमा पक्राउ गरेको छ । उनी क्यानडाकै नागरिक हुन् । क्यूबेक सिटी मस्जिदमा सन् २०१७ मा भएको आक्रमणपछि यो मुसलमान समुदायमाथि नियोजित रुपमा भएको दोस्रो घातक आक्रमण मानिएको छ । सो समय ६ जनाको मृत्यु भएको थियो ।

    सोमवार डिटेक्टिव सुप्रिटेन्डेन्ट पाल वेटले पत्रकार सम्मेलनमा बताए अनुसार यो परिवार मुसलमान भएकै कारण आक्रमण भएको बताएका हुन् । उनका अनुसार यस प्रकृतिका घटना न्यूनिकरण गर्न प्रहरीले कडा कानुन ल्याउने तयारी गरेको छ । घटनामा ७४, ४४ र १५ वर्षका महिला र ४६ वर्षका पुरुषको ज्यान गएको छ । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । यो घटना फुटपाथमा हिडिरहेका माथि नियोजित ट्रक चलाएर गराइएको हो ।

  • बेलायती पूर्वराजकुमार ह्यारी र मेघनलाई अमेरिकामा पुत्रीलाभ

    बेलायती पूर्वराजकुमार ह्यारी र मेघनलाई अमेरिकामा पुत्रीलाभ

    क्यालिफोर्निया । बेलायती राजपदवी छोडी अमेरिका बसिरहेका पूर्वराजकुमार ह्यारी दम्पत्तिलाई पुत्रीलाभ भएको छ । उनकी पत्नी मेघन मार्कलबाट शुक्रबार पुत्री जन्मिएकी हुन् । अमेरिकी संचारमाध्यमहरुका अनुसार क्यालिफोर्नियास्थित एक अस्पतालमा उनले छोरीलाई जन्म दिएकी छन् । छोरीको नाम लिली राखिएको छ। यो बेलायती महारानीको उपनाम समेत हो । तर, छोरीको पुरा नाम भने लिलिबेट डायना माउन्टब्याटन विन्डसर हुने भएको छ । ह्यारीकी आमाको नाम डायना हो ।

    समाचारमा जनाइए अनुसार आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य छ । यो दम्पत्तिको पहिलो सन्तान पुत्र छन् । लिली अमेरिकामा जन्मिएसँगै अब उनले अमेरिकाको जन्मसिद्ध नागरिकता समेत पाउने छिन् । यसले उनलाई अमेरिकाकी राष्ट्रपति सम्मको ढोका खोल्ने छ । त्यसो त मेघन अमेरिकी नागरिक हुन् ।
    बकिङहम दरबारले समेत सबैभन्दा कान्छो सन्तानको जन्म भएसँगै खुसीयाली मनाएको खबर छ । यो खबरले महारानीसहित राजपरिवारका सबै सदस्य खुसी भएको दवबारबार प्रतिक्रिया सार्वजनिक भएको छ ।

  • जो बाइडेन र महारानी एलिजाबेथ द्वितीयबीच भेटवार्ता हुने

    जो बाइडेन र महारानी एलिजाबेथ द्वितीयबीच भेटवार्ता हुने

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती महारानी एलिजाबेथ द्वितीयबीच भेटवार्ता हुने भएको छ । आगामी साता जो बेलायत जाँदैछन् । उनी जी सेभेन समिटमा भाग लिने सिलसिलामा त्यहाँ जान लागेका हुन् । सो अवसरमा जो र प्रथम महिला जिल बाइडेनसहित एलिजाबेथसँग भेटवार्ताको समय तय भएको बकिङ्हम प्यालेसलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् ।

    विश्वमा सबैभन्दा ठूलो अर्थतन्त्र भएका राष्ट्रका नेताहरूबीच हुने जीसेभेन समिटमा भाग लिन जाने क्रममा जो जुन १३ मा विन्डसर महल पुग्ने कार्यक्रम छ । यससँगै बाइडेन महारानी एलिजाबेथलाई भेट्ने १२ औं अमेरिकी राष्ट्रपति बन्ने भएका छन् । एलिजाबेथलाई २०१९ मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भेटेका थिए । महारानी अहिले ९५ वर्षकी भइन् । उनले पहिलो पटक सन् १९५१मा अमेरिकी राष्ट्रपतिलाई भेटेयता सबै अमेरिकी राष्ट्रपतिसँग उनको भेट भएको छ । यो बाइडेनको राष्ट्रपतिका रुपमा पहिलो विदेश भ्रमण हो ।

  • कोभ्याक्समार्फत निःशुल्क आउने छ अमेरिकाले बाँड्ने खोप

    कोभ्याक्समार्फत निःशुल्क आउने छ अमेरिकाले बाँड्ने खोप

    काठमाडौं । अमेरिकाले जुन महिनाभरिमा कोभिडविरुद्धको आठ करोड मात्रा खोप विश्वभर बाँड्ने योजना सार्वजनिक गरेको थियो । यसमध्ये पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण हुने भएको छ ।

    बीबीसीका अनुसार संसारभरि उचित तरिकाले अनि उच्च जोखिममा परेका देशहरूलाई ती खोप बाँडिनेछ । अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड १९ विरुद्ध १ करोड ९० लाख मात्रा खोप विश्वभरि खोप बाँड्ने कोभ्याक्स कार्यक्रमलाई दिने घोषणा गरेका हुन् ।

    यसरी आउने खोप अनुदानमा आउने छ । त्यसका अतिरिक्त ६० लाख मात्रा भारत तथा क्यानडा लगायतका देशलाई प्रत्यक्ष दिने घोषणा समेत बाइडेनले गरेका छन् ।
    विश्वलाई आठ करोड मात्रा खोप वितरण गर्ने अमेरिकी योजनाको यो पहिलो एक तिहाइ हिस्सा हो। खोप बाँडिने देशहरूको सूचीमा नेपाल पनि रहेको छ।

    काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाललाई प्रत्यक्ष सहयोगसहित कोभ्याक्समार्फत् कुल ७० लाख खोप एसियाली देशहरूलाई दिइने जनाएको छ। यसमध्ये कति नेपालमा आउने छ भन्ने चाँही दुतावासले पनि खुलाएको छैन । अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकाले प्रत्यक्ष खोप सहयोग गर्ने देशहरूमा नेपाल पनि रहेको भन्दै त्यसबारे थप विवरण चाँडै आउने उल्लेख गरेका छन् ।

  • अमेरिकाले नेपाललाई दिने भयो कोरोना खोप

    अमेरिकाले नेपाललाई दिने भयो कोरोना खोप

    काठमाडौं । अमेरिकी सरकारले नेपाललाई कोरोना खोप प्रदान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले टुइटरमार्फत यसको पुष्टी गरेका छन् । उनले अमेरिकी सरकारले नेपाललाई खोप दिने गरि गरेको निर्णयको नेपालले हार्दिक स्वागत गरेको बताएका छन् ।

    राष्ट्रपतिका संचार सल्लाहकार टिका ढकालले भने अमेरिकाले नेपाललाई ५० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेको दावि गरेका छन् । तर, यसको भने पुष्टी भएको छैन । अमेरिकी सरकारले नेपालसहित १६ एसियाली मुलुकलाई खोप दिने घोषणा गरेको छ ।

    अमेरिकाको यो घोषणाले नेपाल र अमेरिकाबीचको सम्बन्ध अझ सुदृढ बनाउन भूमिका खेल्ने प्रधानमन्त्री ओलीको भनाई छ । यसअघि नेपाल सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवि भण्डारीले अमेरिकी राष्ट्रपति जो बायडेनलाई पत्र लेख्दै खोप उपलब्ध गराउन आह्वान गरेकी थिइन् ।

  • नासाले अब शुक्रग्रहमा मिसन थाल्ने, दुई मिसनको तयारी

    नासाले अब शुक्रग्रहमा मिसन थाल्ने, दुई मिसनको तयारी

    न्यूयोर्क । अमेरिकी अन्तरिक्ष निकाय नासा अब शुक्रग्रहको मिसनमा केन्द्रित हुने भएको छ । यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने योजना नासाले सार्वजनिक गरेको हो । बीबीसीका अनुसार पृथ्वी जीवन्त भए पनि उसको सबैभन्दा नजिकको छिमेकी ग्रह किन आगोको गोला बन्यो भनेर जान्ने नासाले लक्ष्य लिएको छ।

    शुक्रग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यका साथ दुईवटा मिसन त्यहाँ पठाउने घोषणा नासाले गरेको हो । ती मिसन प्रत्येकका लागि ५० करोड डलर बजेट प्राप्त हुने समाचारमा उल्लेख छ । ती मिसनहरूले वैज्ञानिक समुदायलाई ३० वर्षदेखि यता पहिलो पटक उक्त ग्रह अनुसन्धान गर्ने मौका दिने बताइएको छ । यसअघि नासाले शुक्र ग्रहनजिक म्याजेलन मिसन सन् १९९० ताका पठाएको थियो।

    त्यसपछि उक्त ग्रहको नजिक भएर अन्य यानहरूले यात्रा नगरेको बीबीसीले लेखेको छ । नासाले दुई मिसनका प्रस्तावहरू वैज्ञानिकहरूबाटै समीक्षा गराएर तथा तिनको वैज्ञानिक महत्त्व तथा विकास योजनाको सम्भाव्यताको आधारमा छानेको बताएको छ।
    ूयी दुई मिसनहरूले शुक्रग्रह कसरी आगोको गोलाजस्तो संसार बन्न पुग्यो जहाँको सतहमै पनि सिसासमेत पग्लन्छ भनेर जान्न खोज्ने बताइएको छ । सूर्यभन्दा दोस्रो स्थानमा रहेको शुक्रग्रह सौर्यमण्डलकै सबभन्दा तातो ग्रह हो।

  • गैर आवासिय नेपाली संघ अमेरिकाको नयाँ नेतृत्वमा बुद्धी सुवेदी

    गैर आवासिय नेपाली संघ अमेरिकाको नयाँ नेतृत्वमा बुद्धी सुवेदी

    अमेरिका । गैर आवासिय  नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको सम्पन्न निर्वाचनमा बुद्धि सुबेदी अध्यक्षमा विजयी भएका छन्। आफ्ना निकटतम प्रतिष्पर्धी कृष्ण लामिछानेलाई पराजित गर्दै सुवेदी विजयी भएका हुन्। सुवेदीले ५ हजार ६ सय १८ मत प्राप्त गरी आगामी २ बर्षको लागि बिजयी भएका हुन । दुई दिनसम्म अनलाइन मार्फत सम्पन्न निर्वाचनमा १५ हजार ७ सय ६८ मत खसेको थियो। सँघमा २० हजार एकसय ३८ मतदाता थिए ।
    संघको बरिष्ठ उपाध्यक्षमा कृष्णजीवी पन्थ विजयी भए। उनले आफ्ना प्रतिष्पर्धी बीआर लामालाई १२ सय ८७ मतले पराजित गरे। पन्थले ६ हजार ८ सय ५० मत प्राप्त गरे भने प्रतिष्पर्धी लामाले ५ हजार ५सय ६३ मत प्राप्त गरेका छन्। विजयी पन्थ पपुलर मत ल्याउनेमध्येका एक हुन्।


    त्यसैगरी उपाध्यक्षमा सुमन थापा, गोपेन्द्र भट्टराई, विकास उप्रेती र डिलु पराजुली बिजयी भएका छन्।

    महासचिववमा अन्जनकुमार चौंलागाईं विजयी भएका छन्। उनले ६ हजार ३ सय १२ मत प्राप्त गरे। महिला उपाध्यक्षमा दीक्षा बस्नेत विजयी भइन्। उनले ८ हजार २ सय ४५ मत प्राप्त गरिन्।

    सचिवमा अनुप खनाल विजयी भए भने महिला सचिवमा सुनिता सापकोटा कंडेल, कोषाध्यक्षमा राजीव श्रेष्ठ, संयुक्त कोषाध्यक्षमा अग्निप्रसाद ढकाल, युवा संयोजकमा त्रिभुवन पाण्डे, महिला सयोजकमा सुन्दरी गुरुङले जित हात पारेका छन्।

  • एक अमेरिकी पाइलटले ककपिटमै अश्लिल हर्कत गरेको स्वीकार

    एक अमेरिकी पाइलटले ककपिटमै अश्लिल हर्कत गरेको स्वीकार

    मेरिल्यान्ड । एक अमेरिकी वायुसेवाका भूतपूर्व विमान चालकले ककपिटमै अश्लिल हर्कत गरेको स्वयमः स्वीकार गरेका छन् । यो घटना गतवर्षको हो । जहाज उडिरहेको समयमा ककपिटमै अश्लील र अभद्र कार्य गरेको उनले अदालतसामु स्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ ।

    माइकल हाक नामक ती पाइलटले विमानकी सहचालिकाको अगाडि ककपिटमै लुगा खोलेको र ल्यापटपमा अश्लील चलचित्र हेरेको विपक्षी वकिलहरुको आरोप थियो । साउथवेस्ट वायुसेवाको उडान जारी रहँदा ६० वर्षीय हाकले ककपिटमा थप अभद्र व्यवहार समेत गरेको आरोप लागेको छ ।


    मेरिल्यान्डमा एक न्यायाधीशले हाकलाई ५,००० अमेरिकी डलर जरिबाना गर्नुका साथै एक वर्ष परीक्षणकालमा राख्न आदेश दिएको समाचारमा उल्लेख छ । यो घटना सन् २०२० अगस्ट २० को दिन फिलाडेल्फीयादेखि ओर्ल्यान्डोसम्मको उडानमा भएको हो ।

    विमान सुरक्षित उचाइमा पुगेपछि हाक आफ्नो कुर्सीबाट उठेको, जानाजान लुगा खोलेको र ल्यापटपमा अश्लील चित्र र चलचित्र हेर्न थालेको बयानमा उल्लेख छ । विमानकी सहचालिकाले आफ्नो काम गरिरहँदा हाक भने अझै थप अभद्र व्यवहार देखाइरहेको सरकारी वकिलको कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हाकले उडानअघि कहिल्यै ती सहचालिकालाई नभेको समेत बताइएको छ ।

    अमेरिकाका सहमहकन्यायाधिवक्ता माइकल कनिङ्घमले सहचालिकाले त्यस्तो व्यवहार भोग्नु नपर्ने अधिकार रहेको बताएको एपी समाचार संस्थालाई उदृत गर्दै बीबीसीले लेखेको छ । सो घटना हुँदा विमान मेरिल्यान्डमाथि उडिरहेकोले त्यहाँ मुद्दा चलाइएको हो। हाकले सार्वजनिक स्थलमा अश्लील र अभद्र व्यवहार देखाएको स्वीकार गरेका छन्।

    न्यायाधीश जे मार्क कल्सनले हाकको व्यवहारले सहचालिकालाई आघात पारेको र त्यसले यात्रुहरूको सुरक्षालाई खतरामा पार्न सक्ने बताएका थिए। फ्लोरिडाका हाक २७ वर्ष सो वायुसेवामा विमान चालक रहेर गत वर्ष अगस्टमा सेवा निवृत्त भएका छन् ।

  • अमेरिकाको फ्लोरिडामा गोली चल्यो, कम्तिमा दुईको मृत्यु

    अमेरिकाको फ्लोरिडामा गोली चल्यो, कम्तिमा दुईको मृत्यु

    फ्लोरिडा । अमेरिकाको फ्लोरिडाको मियामीमा आइतबार बिहान भएको गोलीकाण्डमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार थप २२ जना घाइते छन् । स्थानीय प्रहरीलाई उदृत गर्दै समाचारमा जनाएअनुसार स्पोर्ट कारमा आएका तीन व्यक्तिले कारबाट बाहिर निस्केर भीडमा अन्धाधुन्ध गोली चलाएका छन् । आइतबार बिहान एल मुला बैंक्वेट हलको बाहिर यो घटना भएको हो ।

    मियामीको डेड प्रहरी विभागका निर्देशक अल्फ्रेडो ‘फ्रेडी’ रामिरेज तृतीयले घटनाको पुष्टी गरेका छन्। शनिबार समेत मियामीको एक पर्यटकीय क्षेत्र नजिकै बन्दुकधारीले गोली चलाउँदा कम्तिमा सात व्यक्ति घाइते समाचार छ । बन्दुकका कारण बढेको हिंसाले अमेरिकाको सुरक्षा प्रणालीमै प्रश्न खडा गरेको छ ।

  • अनुमोदित नै नभएको एमसीसीलाई आगामी वर्ष ९ अर्ब बजेट

    अनुमोदित नै नभएको एमसीसीलाई आगामी वर्ष ९ अर्ब बजेट

    काठमाडौं । अमेरिकी अनुदानमा संचालन हुने मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल आयोजनाले आगामी आर्थिक वर्षका लागि ९ अर्ब १० करोड ५४ लाख रुपैयाँ बजेट पाएको छ । तर, नेपालले यो कार्यक्रम अनुमोदन भने गरिसकेको छैन । एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा अहिले पनि विवाद छ । आगामी वर्ष सरकारले आफ्नै स्रोतबाट १ अर्ब १ करोड र अमेरिकी सरकारको अनुदानबाट ८ अर्ब ९ करोड रुपैयाँ खर्च गर्ने गरी बजेट ल्याएको हो ।

    ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ नेपालमा अमेरिकी सहयोगमा सञ्चालन हुन लागेको ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको प्रसारणलाइन आयोजना व्यवस्थापन तथा सञ्चालन गर्न गठित संयन्त्र हो । चालु आवमा भने सरकारले १० अर्ब भन्दा बढी बजेट विनियोजना भएको थियो । चालु वर्षमा विनियोजन भएकोमध्ये नुवाकोटको रातमाटेमा ३८५ रोपनी जग्गा किन्न करिब १ अर्ब ३५ करोड खर्च भइसकेको छ ।

    मन्त्रिपरिषद बैठकले गत वैशाख ९ मा आयोजनामा आवश्यक बजेटको जोहो गर्ने निर्णय गरेको थियो । राजनीतिक दलहरूबीचको असमझदारीका कारण २०७६ असार ३० गते अनुमोदनका लागि दर्ता भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्झौता अहिले पनि प्रतिनिधिसभामा विचाराधीन अवस्थामा रहेको छ ।

  • नेपालले चीन र अमेरिकासँग ५०\५० लाख डोज खोप किन्ने तयारी

    नेपालले चीन र अमेरिकासँग ५०\५० लाख डोज खोप किन्ने तयारी

    काठमाडौं । नेपालले अमेरिका र चीनबाट ५०\५० लाख डोज कोरोना खोप किन्ने तयारी गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार आगामी दुई सातामा यस प्रक्रियाको टुंगो लाग्नेछ । चीनबाट ५० लाख र अमेरिकाबाट ५० लाख डोज खोप खरिद प्रकृया अगाडी बढाइएको र यसबारे केही दिनमै ब्रेक थ्रु हुने उनको दावी छ ।

    स्वास्थ्य पत्रकार मञ्चको भर्चुअल अन्तक्र्रिया कार्यक्रममा मन्त्री ज्ञवालीले केही देशले सहयोग नै घोषणा गर्ने र केही देशसँग खरिद प्रकृया सुरू भएको बताएका हुन् । नेपाल खोप खरीदमा अहिले चीन र अमेरिकामा केन्द्रित भएको जानकारी उनले गराए । खोपका लागि नेपाल अनुदानमा मात्रै भर नपरी खरिद गर्न लागिएको उनको भनाई छ ।

    मन्त्री ज्ञवालीका अनुसार अर्थ मन्त्रालयले ३६ अर्ब रुपैयाँको स्रोत सुनिश्चितता दिएको छ । चीनले अनुदानमा दिने घोषणा गरेको १० लाख डोज खोप जुन २ तारिखमा काठमाडौं आइपुग्ने समेत उनले जानकारी दिए ।

  • कोभिड उत्पत्तिको अनुसन्धान गर्ने अमेरिकाको प्रयासमा चीनको आपत्ति

    कोभिड उत्पत्तिको अनुसन्धान गर्ने अमेरिकाको प्रयासमा चीनको आपत्ति

    काठमाडौं\एजेन्सी । चिनियाँ प्रयोगशालाबाट कोभिड१९ को उत्पत्ति भएको हो कि होइन भन्नेबारे थप अनुसन्धान गर्न अमेरिकाले गरिरहेको प्रयासमा चीनले आपत्ति जनाएको छ । बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनले भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने अपेक्षा व्यक्त गरेसँगै चीनको प्रतिक्रिया सार्वजनिक भएको हो ।

    चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई ‘राजनीतिक आवरण दिएको र अरूलाई दोषी देखाएको’ आरोप लगाएको छ। चीनले कोभिड १९ र चीनको वुहान शहरस्थित अनुसन्धान प्रयोगशालाबीच कुनै सम्बन्ध नरहेको समेत स्पष्ट पारेको छ । कोभिड १९ सबैभन्दा पहिले सन् २०१९ को अन्त्यतिर वुहान शहरमा देखा परेको थियो। त्यसयता विश्वभरि १६ करोड ८० लाखभन्दा बढी सङ्क्रमण पुष्टि भएका छन् । ३५ लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।


    चिनियाँ अधिकारीहरूले प्रारम्भिक सङ्क्रमण वुहानको समुद्री खानेकुरा पाइने बजारसँग जोडिएको बताएका थिए । यसलाई आधार मान्दै वैज्ञानिकहरूले उक्त भाइरस जनावरबाट मानिसमा सरेको सैद्धान्तिक धारणा राखेका थिए।


    उता, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले समेत यसै वर्षको स्थलगत अध्ययनपछि उक्त भाइरस कुनै प्रयोगशालाबाट बाहिर आउने सम्भावना एकदमै न्यून रहेको बताएको थियो । यता, अमेरिकी सञ्चारमाध्यमले भने भाइरस चिनियाँ प्रयोगशालाबाट उत्पत्ति भएको सम्भवतः दुर्घटनावश चुहिएको हुन सक्ने भन्दै समाचार प्रकाशित गरिरहेका छन् ।

  • क्लालिफोर्नियामा अर्को गोली काण्ड, रेल यार्डमा कर्मचारीले गोली चलाएर ८ को हत्या

    क्लालिफोर्नियामा अर्को गोली काण्ड, रेल यार्डमा कर्मचारीले गोली चलाएर ८ को हत्या

    क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा एक बन्दूकधारीले अन्धाधुन्ध गोली चलाएर कम्तिमा ८ जनाको हत्या गरेका छन् । गोली चलाउने व्यक्तिको समेत ज्यान गएको छ । उनले आत्महत्या गरे वा प्रहरीको गोलीबाट ज्यान गयो भन्ने खुलेको छैन । मृत्यु हुनेहरु रेल यार्डमा खटिएका कर्मचारी छन् ।

    समाचार एजेन्सीहरुले जनाए अनुसार गोलीबारीको घटना सान जोसेस्थित सान्टा क्लारा काउन्टी ट्रान्सपोर्टेशन अथोरिटीको रेल यार्डमा भएको हो । यो घटना स्थानीय समय अनुसार बुधबार बिहान पौने सात बजे भएको सीएनएनले लेखेको छ । अधिकारिहरुका अनुसार मारिनेमा सोही यार्डमा कार्यरत कर्मचारी छन् ।

    गोली हान्ने कर्मचारील सहकर्मीमाथि गोली वर्षा गर्नुअगाडी आफ्नो घरमा समेत आलो लगाएको खुलेको छ । अमेरिकामा बन्दुकको प्रहारबाट वर्षेनी ठूलो संख्यामा मानवीय क्षत हुने गरेको छ । गन भ्वाइलेन्स अर्काइवको तथ्यांक अनुसार यो वर्ष मात्र अमेरिकामा २३० गोलीबारीका घटना भइसकेका छन् । जसमा एक घटनामा कम्तिमा ४ वा सो भन्दा बढी मानिसको ज्यान जाने गरेको छ ।

    बुधबारको यो घटना रेल कर्मचारि बीचको एक बैठक पछि शुरु भएको बताइएको छ । घटना लगत्तै प्रहरीलाई खबर पुगेको थियो । प्रहरी पुग्दा गोली चलिरहेको बताइएको छ । बीबीसीका अनुसार बन्दूकधारीको नाम सैमुअल कसीडी हो । उनको उमेर ५७ वर्ष रहेको छ ।

  • जर्ज फ्लोइड हत्याको वर्ष दिन पुरा, राष्ट्रपति बाइडेनले परिवारका सदस्यलाई भेट्दै

    जर्ज फ्लोइड हत्याको वर्ष दिन पुरा, राष्ट्रपति बाइडेनले परिवारका सदस्यलाई भेट्दै

    वासिंटन । अमेरिकाको मिनीपोलिसमा अश्वेत युवा जर्ज फ्लोइडको प्रहरीबाट भएको हत्याको हत्याको वर्ष दिन पुरा भएको छ । गत वर्ष आजकै दिन भएको यो घटनामा संलग्न प्रहरी अधिकृत दोषि सावित भइसकेका छन् । आज अमेरिकामा उनको परिवार, सामाजिक कार्यक्रता र नेताहरुले र्यालीसहितका विभिन्न कार्यक्रम गरि नउको सम्झना गर्दैछन् । यो दिनलाई असमानता र नश्लभेद विरुद्धको आन्दोलनका रुपमा समेत लिइएको छ ।

    फ्लोइडको ज्यान गएसँगै विश्वभरबाट अमेरिकाको कडा आलोचना भएको थियो । प्रहरी अधिकृत डेरेक चाओविनले फ्लोइडको घाँटीमा करीव ९ मिनेट आफ्नो घुँडाले थिचेका थिए । जसको असरले उनको मृत्यु भएको हो ।

    यसैबीच, आज ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेनले फ्लोइडका परिवारसँग भेट्दैछन् । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीका अनुसार यहाँ मिडियालाई भने इन्ट्री छैन । भेटमा फ्लाइडकी छोरी जियाना, उनकी आमा राक्सी वाशिंगटन, बहिनी, भाई तथा भतिजाहरु सहभागी हुने भएका छन् ।

  • अमेरिकाद्धारा डब्लूएचओलाई आह्वान : कोरोना उत्पत्तिको पारदर्शी छानविन गर

    अमेरिकाद्धारा डब्लूएचओलाई आह्वान : कोरोना उत्पत्तिको पारदर्शी छानविन गर

    न्यूयोर्क\बीबीसी । अमेरिकाले विश्वलाई ठूलो मानवीय क्षति पुर्याएको कोरोना भाइरसको महामारी उत्पत्तिबारे पारदर्शी छानविन गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)सँग आह्वान गरेको छ । बीबीसीका अनुसार अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड १९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओसँग आग्रह गरेका हुन्।

    अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट निस्किएका सम्बन्धमा प्रमाणहरू बढ्दो देखिएको विवरण आएको छ । कोभिड १९ सबैभन्दा पहिला सन् २०१९ मा चीनको केन्द्रीय हुबेई प्रान्तको वुहानमा पुष्टी भएको हो । त्यसयता भाइरसबाट विश्वभर १६ करोड ७० लाख मानिस प्रभावित एका छन् ।

    ३४ लाख मानिसको ज्यान गइसकेको छ। यस वर्षको मार्चमा डब्ल्यूएचओले चिनियाँ वैज्ञानिकहरूसँग मिलेर जारी गरिएको संयुक्त विवरणमा उक्त भाइरसको उत्पत्ति कुनै प्रयोगशालामा भएको सम्भावना अत्यन्तै कम भएको उल्लेख थियो ।


    अमेरिकी जासुसी सूत्रलाई उदृत गर्दै लेखिएका समाचारहरुका अनुसार सन् २०१९ को नोभेम्बर महिनामा वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीन सदस्य बिरामी भएर अस्पताल भर्ना भएका थिए ।

    यस सन्दर्भमा डब्ल्यूएचओको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई समेत अनुमति दिइनुपर्ने बताएका छन्। बेइजिङ भने यसमा सहमत छैन । उसले भाइरस बरू अमेरिकी प्रयोगशालाबाट आएको हुनसक्ने बताएको छ।

  • नेपाललाई प्राथमिकतामा राखेर खोप दिन अमेरिकी सरकारसँग आग्रह

    नेपाललाई प्राथमिकतामा राखेर खोप दिन अमेरिकी सरकारसँग आग्रह

    काठमाडौं । सरकारले कोभिड –१९ विरुद्ध खोप सहयोग गर्न अमेरिकासँग आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनबीच टेलिफोन वार्ता भएको थियो । उक्त अवसरमा मन्त्री ज्ञवालीले खोप सहयोग गर्न अनुरोध गरेका हुन् ।

    ज्ञवालीले विकासोन्मुख देशहरुलाई अमेरिकाले बचत भएका खोप वितरण गर्दा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उपविदेशमन्त्री शेर्मनले महामारीसहित नेपालको सामाजिक –आर्थिक क्षेत्रमा नयाँ अमेरिकी सरकारले निरन्तर सहयोग गर्ने आश्वासन दिँदै दशकौँ पुरानो अमेरिका–नेपाल मैत्रीको सराहना गरेको बताइएको छ ।

    प्रक्रियामा रहेका अमेरिकी सहायताअन्तर्गतका महत्वपूर्ण परियोजनाबाट नेपालको समृद्धिका थप द्वारहरु खोल्ने विश्वास पनि उनले व्यक्त गरे । उनीहरुबीच नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै कोभिड –१९ को महामारीको सन्दर्भमा सहयोग र अन्तर्राष्टिय चासोका साझा विषयमा विचारमिवर्श भएको थियो ।


    आगामी असोजमा नेपालले आयोजना गर्ने योजना बनाएको सगरमाथा संवादका सन्दर्भमा दुवै पक्षले जलवायु परिवर्तनका प्रभाव कम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • आफ्ना नागरिक सवार विमान बीनासूचना अन्तै मोडेर घण्टौं कुराएको घटनामा अमेरिकाको निन्दा

    आफ्ना नागरिक सवार विमान बीनासूचना अन्तै मोडेर घण्टौं कुराएको घटनामा अमेरिकाको निन्दा

    काठमाडौं\एजेन्सी । ग्रीसबाट लिथुआनियातर्फ उडेको र्‍यानएयरको जहाज आइतवार कैयौँ घण्टासम्म बेलारुसतर्फ मोडिएको घटनाप्रति अमेरिकाले कडा आपत्ति जनाएको छ । बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्रालयले यस्तो आपत्ति जनाएको छ ।

    समाचारमा जनाएअनुसार विमानमा सवार एक पत्रकारलाई पक्राउ गर्न त्यसो गरिएको हो । अमेरिकाले बेलारुसको कार्यले विमानमा सवार अमेरिकी नागरिकसहितका यात्रुहरूको जीवन खतरामा पारेको भन्दै निन्दा गरेको हो । युरोपेली देशहरूले समेत बेलारुसमाथि राज्य आतङ्कको आरोप लगाएका छन्।

    बीबीसीका अनुसार नेक्स्टा ग्रुपका पूर्वसम्पादक रोमन प्रोटासेभिचलाई हिरासतमा लिएपछि उक्त विमानलाई पुनः उड्न दिइएको छ । बेलारुसका सञ्चारमाध्यमका अनुसार उक्त जेट विमानमा बम भएको भन्दै मिग २९ लडाकू विमानहरूले घेरेर बेलारुसको राजधानी मिन्स्कमा जहाज ओरालेका थिए। तर जहाजमा बम थिएन ।

    अन्ततः विमान उसको वास्तविक गन्तव्य लिथुआनियाको राजधानी भिल्नियसमा स्थानीय समयअनुसार राति सवा नौ बजे ओर्लियो । यो समय तोकिएकोभन्दा ७ घण्टा ढिलो हो । विमानमा रहेका यात्रुहरूले आफूहरूलाई विमान मिन्स्कतर्फ मोडिएको कारणबारे केही सूचना नदिइएको प्रतिक्रिया समेत दिएका छन् ।

    बेलायती विदेशमन्त्री डोमिनिक राबले समेत बेलारुसको यस्तो हर्कतको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । बेलारुसकी विपक्षी नेता स्भेत्लाना तिखानोभ्स्कायाले प्रोटासेभिचको रिहाइको माग गरेकी छन्। उक्त विमान ग्रीसको एथेन्सबाट भिल्नियसतर्फ जाँदै गर्दा लिथुआनियाली सिमाना नजिकै पुगेपछि मिन्स्कतर्फ मोडाइएको समाचारमा उल्लेख छ । विमानमा १७१ जना यात्रु थिए ।

  • अमेरिकाबाट आयो स्वास्थ्य सामग्री बोकेको जहाज, आइतबार थप दुई जहाज आउने

    अमेरिकाबाट आयो स्वास्थ्य सामग्री बोकेको जहाज, आइतबार थप दुई जहाज आउने

    काठमाडौं । अमेरिकी सरकारको तर्फबाट नेपाललाई प्रदान गरेको स्वास्थ्य सामग्रीको पहिलो खेप नेपाल आएको छ । आज एक कार्गो जहाजले ती सामान नेपाल ल्याएको हो । परराष्ट्र मन्त्रालयका अनुसार नेपालको कोभिड१९ महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको स्वास्थ्य सहायताको पहिलो खेपका सामान नेपाल आएको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सहयोग नियोग युएसएड र अमेरिकी दूतावासका प्रतिनिधिले स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई सामग्री हस्तान्तरण गरेका छन् । आज सर्जिकल मास्क, फेस सिल्ड र ग्लोब्स संलग्नलगायत सामान नेपाल आएका छन् ।

    अमेरिकाबाट १०० थान भेन्टिलेटर, परीक्षण किट्स, पीपीई, अक्सिजन उपकरण समेत आइसकेका छन् । अब अमेरिकाबाट आइतबार १००० थान अक्सिजन सिलिन्डर आउने छन् । थप दुई जहाजले नेपालमा मेडिकल सामान ल्याउन लागेको जानकारी मन्त्रालयले गराएको छ ।

  • इजिप्टको मध्यस्थतामा थामियो इजरायल-प्यालेस्टाइन युद्ध, अमेरिकाको स्वागत

    इजिप्टको मध्यस्थतामा थामियो इजरायल-प्यालेस्टाइन युद्ध, अमेरिकाको स्वागत

    काठमाडौं\एजेन्सी । इजिप्टको मध्यस्थतापछि इजरायल र प्यालेस्टीनी विद्रोहीबीचका युद्ध थामिएको छ । करीव दुई सातायता जारी युद्धका कारण अढाइ सय मानिसले ज्यान गुमाइसकेका छन् । बीबीसीका अनुसार युद्धविराम स्थानीय समयानुसार शुक्रवार राति २ बजेबाट शुरु भएको छ।

    प्यालेस्टिनी विद्रोही तथा इजरायलको सुरक्षा क्याबिनेटले इजिप्टको मध्यस्थतामा गरिएको युद्धविरामप्रति स्वीकृति जनाएका हुन् । युद्धविरामपछि गाजामा विजयोत्सव मनाउन गोली चलाइएका आवाज आएको खबर छ । तर, इजरायल रकेट हान्न छाडिएको छ । यसअघि इजिप्टले इजरायल तथा गाजामा युद्धविराम पालना गराउन सुरक्षा प्रतिनिधिमण्डल पठाएको थियो ।


    हमासले पूर्वी जेरुसलेमबारे नखुलाइएका केही सहमति भएको बताएको छ। तर इजरायलले भने दाबी अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले युद्धविरामको स्वागत गरेका छन्। यसले मध्येपूर्वमा प्रगतिका निम्ति अवसर दिएको उनको भनाई छ ।
    युद्धविराम लागु हुनुअगावै बोल्दै उनले इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग कुरा गरेको र लडाइँ अन्त्य गराएकोमा उनलाई बधाइ दिएको बताएका थिए। साथै बाइडनले युद्धविरामको मध्यस्थता गराएकोमा इजिप्टका राष्ट्रपति सीसीलाई पनि धन्यवाद दिएका छन्।

  • युद्धमा व्यापार गर्दै अमेरिका, इजरायललाई ८६ अर्बको अत्याधुनिक हतियार बेच्दै

    युद्धमा व्यापार गर्दै अमेरिका, इजरायललाई ८६ अर्बको अत्याधुनिक हतियार बेच्दै

    काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच हिंसात्मक संघर्ष जारी रहेका बेला अमेरिकाले इजरायललाई ठूलो परिमाणमा हतियार बेच्न लागेको समाचार सार्वजनिक भएको हो ।

    अन्तर्राष्टिय संचार माध्यम वासिङ्टन पोस्टका अनुसार अमेरिकाले इजरायललाई ७३५ मिलियन अमेरिकी डलर (करिब ८६ अर्ब नेपाली) रुपैयाँ बराबरको हतियार बेच्ने भएको हो ।

    बाइडेन प्रशासनले इजरायललाई हतियार बेच्ने प्रस्तावलाई स्वीकृति दिएको समाचारमा जनाइएको छ । अमेरिकाले इजरायललाई ज्वाइन्ट डिरेक्ट अट्याक म्युनिसन्स (जेडीएमएमए) विक्री गर्न लागेकोजनाइएको छ । जेएडीएम बम फिट गरेर प्रहार गर्न मिल्ने हतियार हो । यसमा २२७ देखि ९०७ किलोसम्म बम फिट गर्न सकिन्छ ।

    गाजा क्षेत्रमा द्वन्द्व चर्किरहेको समय भए पनि अमेरिकी संसद्मा उक्त प्रस्ताव पास हुने अपेक्षा गरिएको छ । अहिलेसम्म इजरायललाई हतियार बेच्ने प्रस्तावमा डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका नेताहरुले कुनै आपत्ति जनाएका छैनन् । अमेरिकी सदनले हतियार विक्रीको प्रस्तावलाई रोक लगाउन सक्ने भए पनि यस पटक भने रोक लगाउने सम्भावना कम भएको बताइएको छ ।

    गाजा क्षेत्रमा द्वन्द्व चर्किएको दुई सातामा बिते पनि तत्काल युद्ध अन्त्य हुने संकेत देखिएको छैन । अहिलेसम्म प्यालेस्टाइनतर्फ ६१ बालबालिकासहित २१२ जनाको मृत्यु भएको छ भने २ बालबालिकासहित १० जना इजरायलीको मृत्यु भएको छ ।

  • अमेरिकाले ८ करोड डोज खोप अरु मुलुकलाई दिने

    अमेरिकाले ८ करोड डोज खोप अरु मुलुकलाई दिने

    वासिंटन डिसी । स्वदेशमा खोप अभियान तिब्र बनाएको अमेरिकाले जुन महिनाको अन्तिमसम्म अन्य मुलुकलाई खोप दिन शुरु गर्ने भएको छ । अमेरिकाले करीव ८ करोड डोज खोप विभिन्न मुलुकलाई दिने तयारी गरेको हो । राष्ट्रपति जो बाइडेनले यस्तो जानकारी गराएका छन् । उनका अनुसार जुन महिनाको अन्तिमसम्म संसारका विभिन्न मुलुकले अमेरिकी खोप पाउने छन् ।

    उनले कुन देशले कति खोप पाउने भन्ने चाँही खुलाएनन् । यसरी हुने वितरण अनुदान हो वा बिक्रि भन्ने समेत खुलेको छैन । ह्वाइट हाउसमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले अमेरिका बाँकी संसारका लागि खोपको माग आपूृर्ति गर्न तयार रहेको बताएका हुन् । अन्धाधुन्ध फैलिरहेको रोग र मृत्युले जुन मुलुकलाई अस्थिर बनाए पनि त्यसको असर र खतरा अमेरिकामा समेत हुने भन्दै उनले खोप वितरण गरिने जनाएका हुन् ।

    अहिले अमेरिकाले फाइजर, मोडेर्ना र जोन्सन एन्ड जोन्सनको खोप आपतकालिन प्रयोगमा अनुमति दिइसकेको छ । अक्सफोर्ड, अष्ट्राजेनेकाको खोपले भने अनुमति पाएको छैन । सोहीकारण अमेरिकाले ती कम्पनीबाट निर्मित ४० लाख डोज खोप मेक्सिको र क्यानडालाई प्रदान गरेको छ ।
    अमेरिकाले रूस र चीनले भन्दा बढी खोप बाँकि विश्वलाई बाड्ने योजना बनाएको छ । यसवापत कुनै शर्त वा सहयोग भने नमाग्ने रणनीति अमेरिकाको छ ।

  • इजरायलले एपी र अलजजिराको कार्यालय बनायो ध्वस्त, पत्रकारको सुरक्षा गर्न अमेरिकाको आह्वान

    इजरायलले एपी र अलजजिराको कार्यालय बनायो ध्वस्त, पत्रकारको सुरक्षा गर्न अमेरिकाको आह्वान

    वासिंटन डिसी । इजरायलले प्यालेस्टाइनमा संचारमाध्यमहरुको रहेको एक भवनमा मिसाइल प्रहार गरी ध्वस्त बनाइदिएको छ । गाँजा क्षेत्रमा रहेको यो भवनमा एपी, अलजजिरासहित विश्वस्तरीय संचारमाध्यमको कार्यालय रहेको थियो । इजराययले संचारमाध्यमका कार्यालयमा आक्रमण गरेपछि अमेरिका भड्किएको छ । उसले इजरायललाई पत्रकारको सुरक्षा सुनिश्चित गर्न आह्वान गरेको छ ।

    व्हाइड हाऊसकी प्रवक्ता जेन साकीले ट्वीट गर्दै यस्तो आह्वान गरेकी हुन् । उनले स्वतन्त्र मिडियामा आँच पुर्याउने कुनै पनि गतिविधि नगर्न समेत इजरायललाई चेतावनी दिएकी छिन् । शनिवार इजरायलले एक हवाई हमलाका माध्यमबाट उक्त भवन ध्वस्त बनाएको हो । यो भवनमा कुनै मानिस त्यो बेल थिए वा थिएनन् भन्ने खुलेको छैन ।

    अल जजिराका कार्यवाहक महानिदेशक डा. मुस्तफ़ा स्वेगले अन्तर्राष्ट्रिय स्तरमा मिडिया माथिको आक्रमणलाई युद्ध अपराध मानिने विषयलाई सम्झाएका छन् । इजरायलले आफ्नो अपराध विश्वभरबाट अलग राख्न मिडिया माथि आक्रमण गरेको आरोप समेत अलजजिराले लगाएको छ ।

  • सगरमाथामा एक अमेरिकीसहित दुई आरोहीको मृत्यु

    सगरमाथामा एक अमेरिकीसहित दुई आरोहीको मृत्यु

    काठमाडौं । सगरमाथा आरोहणका क्रममा बुधबार दुई आरोहीको ज्यान गएको छ । पर्यटन विभागका अनुसार एक अमेरिकी र स्विस गरी दुई विदेशी आरोहीको आरोहणका दौरान मृत्यु भएको हो । सगरमाथामा ४० वर्षीय स्विस नागरिक अब्दुल वाराइचको सगरमाथा आरोहण गरेर फर्किने क्रममा मृत्यु भएको छ । सगरमाथा चुचुरो पुग्ने क्रममा अमेरिकी आरोही ५५ वर्षी पुवे लियूको समेत ज्यान गएको छ ।

    उनको बुधबार राति १२ बजे निधन भएको हो । उनको मृत्यु ७ हजार ९ सय मिटर उचाइस्थित चौथो क्याम्पमा भएको जनाइएको छ । चौथो क्याम्प भन्दामाथि हिलारी स्टेप उक्लिँदै गर्दा आरोही लियूमा थकान र स्नो–ब्लाइन्डनेस (हिउँका कारण हुने अन्धोपना) को सामना गरेपछि उनलाई क्याम्प ४ मा झारिएको थियो । त्यही नै उनको मृत्यु भएको हो ।

  • नेपालमा आगामी साताबाट स्वास्थ्य सामग्री पठाउने अमेरिकाको आश्वासन

    नेपालमा आगामी साताबाट स्वास्थ्य सामग्री पठाउने अमेरिकाको आश्वासन

    काठमाडौं । अमेरिकी सरकारले नेपाललाई आगामी साताबाट स्वास्थ्य सामग्री सहयोग गर्ने बचन दिएको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले आज उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग टेलिफोन वार्ता गर्दै यस्तो आश्वासन दिएका हुन् । उनका अनुसार आगामी साताबाटै स्वास्थ्य सामग्री नेपाल आउन थाल्ने जानकारी आएको उप्रधानमन्त्री पोखरेलको सचिवालयले उल्लेख गरेको छ ।

    सामग्री के हुनेछ भन्ने चाँही खुलेको छैन । राजदूत बेरीले खोप सहायता दिने बारे समेत पहल गरिरहेको जानकारी गराएका छन् । सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराउन आग्रह गरेका थिए । कोरोना भाइरसको संक्रमणबाट जुधिरहेको नेपाललाई खोपको आवश्यकता रहेको भन्दै अमेरिकी सरकारको सहयोग चाहेको उल्लेख गरेका थिए ।

    उनले खोपसँगै भेन्लिटेलर, पिपिई, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, अस्थायी अस्पताल स्थापना गर्न आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्तिको सहयोगको अपेक्षा अन्तर्राष्ट्रिय समुदायबाट गरिएको उनले बताएका छन् । बेरीले नेपालमा रहेका अमेरिकी नागरिकलाई घर फर्काउन हवाई उडानको अनुमति समेत माग गरेका छन् ।

  • नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाले जारी गर्‍यो ‘ट्राभल एड्भाइजरी ‘

    नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाले जारी गर्‍यो ‘ट्राभल एड्भाइजरी ‘

    नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी
    काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएको छ ।

    कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न बुधबार ट्राभल एड्भाइजरी जारी गरेको छ ।

    अर्को सूचना जारी नभएसम्म नेपाल भ्रमण नगर्न अपिल गरिएको छ । नेपालले भने यसअघि नै सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ ।

  • अमेरिकामा १२-१५ वर्षका किशोर-किशोरीमा कोरोना खोप लगाउन स्वीकृति

    अमेरिकामा १२-१५ वर्षका किशोर-किशोरीमा कोरोना खोप लगाउन स्वीकृति

    वासिंटन डिसी । अमेरिकाले अब १२ देखि १५ वर्षसम्मका किशोर किशोरीम समेत कोरोना विरुद्धको खोप दिने भएको छ । न्यूज एजेन्सी रोयटर्सका अनुसार यो अभियान यसै साता अर्थातः १३ मे बाटै शुरु गर्ने तयारी छ । अमेरिकी नियामक निकायले सोमबार फाइजर-बायोएनटेकको कोभिड १९ विरुद्धको खोप किशोरावस्थाका मानिसमा समेत दिन आपतकालीन मन्जुरी दिएको छ ।

    यो उमेरका किशोर किशोरीमा खोप दिइने संसारकै पहिलो अभियान हुने छ । कोरोना विरुद्धको अभियानमा यसलाई निकै ठूलो सफलता समेत मानिएको छ । खासगरी विद्यालय जाने उमेर समुहका बालबालिकालाई यो खोप दिँदा आगामी दिन अझ सहज हुने अपेक्षा गरिएको छ ।


    अमेरिकी राष्ट्रपति जो बाइडेनले राज्यहरुसँग आफ्नो राज्यमा रहेका युवामा छिटो खोप उपलब्ध गराउन आह्वान गरेका छन् । उनले अभिभावकसँग समेत आफ्ना बच्चालाई खोप अभियानमा सामेल बनाउन आह्वान गरेका छन् । अमेरिकामा १६ वर्षभन्दा माथिका मानिसका लागि भने खोप अहिले पनि उपलब्ध छ ।

  • दिवेश अमेरिकन आइडलकाे टप ७ बाटै बाहिरिए

    दिवेश अमेरिकन आइडलकाे टप ७ बाटै बाहिरिए

    काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलको टप ७ बाटै बाहिरिएका छन् ।

    सोमबार बिहान सार्वजनिक भएको भोटिङको नतिजाबाट उनी टप ७ बाटै बाहिरिएका हुन्। अमेरिकन आइडलको १८ औं संकरणको उनि उपविजेता बनेका थिए।

    गतवर्षका १० प्रतिस्पर्धीलाई अमेरिकन आइडलले दोस्रो मौका दिएको छ। उनले पनि सोही अभिप्रायका साथ यस सिजनमा सहभागि जनाएका थिए ।

    सन् १९९७ मा जन्मेका पोखरेल कन्सास राज्यको विचिटामा परिवारसँग बस्छन्।

    उनी ७ वर्षअघि अमेरिका गएका हुन्। काठमाडौंको एस कलेज इन्स्टिच्युटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए।

  • अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला, आपतकाल घोषणा

    अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला, आपतकाल घोषणा

    न्यूयोर्क । अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइन कोलोनियलमा र्‍यान्समवेअर साइबर हमला भएको छ । बीबीसीका अनुसार साइबर हमलासँगै स्थानीय सरकारले आपतकाल घोषणा गरेको छ। साइबर हमलाकारीको समूहले शुक्रवार त्यस्तो हमला गरेको हो । अहिले सेवा सुरु गराउने प्रयास जारी रहेको समेत समाचारमा उल्लेख छ ।

    कोलोनियल पाइपलाइनले प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्छ । इस्ट कोस्टको निम्ति डिजेल, ग्यासोलिन तथा जेट इन्धनको सम्पूर्ण आपूर्तिको यो ४५ प्रतिशत हो। शुक्रवार साइबर हमलाकारीले यस पाइपलाइनको सेवा रोकिदिएका थिए । विज्ञहरूका अनुसार सोमवार इन्धनको मूल्य २.३ प्रतिशतले बढ्न सक्नेछ । तर यदि प्रभाव लामो समय रह्यो भने मूल्यमा असर पनि धेरै पर्ने बीबीसीले लेखेको छ ।

    विभिन्न सूत्रहरूले उक्त र्‍यान्समवेअर हमला डार्कसाइड नामक साइबर आपराधिक समूहले गराएको पुष्टि गरेका छन्। सो समूहले बिहीवार कोलोनियलको नेटवर्कमा छिरेर करिब १०० जीबी डाटामा पकड जमाएको हो ।
    त्यसपछि समूहले फिरौती मागेको हो । फिरौती नदिए सबै डाटा सार्वजनिक गरिदिने चेतावनी साइबर हमलाकारीको छ ।

  • कोलोराडोस्थित एक घरमा गोली चल्दा कम्तिमा ७ जनाको मृत्यु

    कोलोराडोस्थित एक घरमा गोली चल्दा कम्तिमा ७ जनाको मृत्यु

    कोलोराडो । अमेरिकाको कोलोराडो राज्यमा एक घरमा अन्धाधुन्ध गोली चल्दा कम्तिमा सात जनाको मृत्यु भएको छ । त्यहाको क्यान्टरबरी मोबाइल होम पार्कस्थित घरमा जन्मोत्सव पार्टी चलिरहँदा गोली चलेको अमेरिकी संचारमाध्यमले जनाएका छन् । घटना आइतबार बिहान भएको हो ।

    बन्दुकधारीले अन्धाधुन्ध गोली हानीर ६ जनाको हत्या गरेसँगै आफुलाई गोली हानेको प्रहरीले जनाएको छ । प्रहरीले बन्धुकधारी र पीडितको नाम भने सार्वजनिक गरेको छैन । बन्धुकधारी बर्थडे पार्टीमा सहभागी एक जना युवतीका प्रेमी रहेको समाचारहरुले खुलाएका छन् । पार्टीमा रहेका सबै बच्चा भने सुरक्षित रहेको प्रहरीको भनाई छ ।

    अनुसन्धान अगाडी बढेका कारण थप विवरण आउने समाचार एजेन्सीहरुले लेखेका छन् । अमेरिकामा शनिबार मात्र मेरिल्याण्डको बाल्टिमोरमा भएको आगजनी र गोलीकाण्डमा एक नेपालीसहित ४ जनाको ज्यान गएको थियो । अमेरिकामा बन्दुककै कारण हरेक वर्ष हजारौं मानिसले अकालमा ज्यान गुमाउने गर्छन् ।

  • न्युयोर्कको प्रमुख पर्यटकीय स्थल टाईम्स स्वायरमा गोली चल्यो

    न्युयोर्कको प्रमुख पर्यटकीय स्थल टाईम्स स्वायरमा गोली चल्यो

    न्युयोर्क

    शनिबार साँझ न्युयोर्कको अति ब्यस्त स्थान टाईम्स स्क्वायरमा गोली चलेको छ । एक महिला तथा नाबालकलाई गोली लागेको छ । शनिबार साँझ चलेको गोली प्रहारबाट महिलाको खुट्टामा गोली लागेको छ । घाईते महिला तथा नाबलकललाई उपचारको लागि बेलभ्यु अस्पताल लगिएको छ ।


    घटना टाईम्स स्वायरस्थित सेभेन एभिन्यु र ४४ स्ट्रिटमा घटेको हो ।न्युयोर्कको ब्यस्त पर्यटकीय स्थानमा दुई जना घाईते हुने गरी गोली चलाऊने ब्यक्तिको बिबरण लगायतका थप विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।