Category: डायस्पोरा

  • साउदीमा काम नपाएर अलपत्र नेपाली कामदारलाई स्वदेश फर्काउन पहल

    साउदीमा काम नपाएर अलपत्र नेपाली कामदारलाई स्वदेश फर्काउन पहल

    २ जेठ, काठमाडौं । नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको छ । रोजगारदाता कम्पनी टाट पल्टिने अवस्थामा पुगी कामविहीन भएका चार सय ६९ नेपाली नागरिकमध्ये केहीले तलबभत्ता उपलब्ध गराउन र नेपाल फिर्ता तथा अन्य कम्पनीमा स्थानान्तरणका लागि पहल गरिदिन अनुरोध गरेका थिए । कामदारको अनुरोधपछि राजदूतावासले समस्या समाधानका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको जनाएको छ । नेपाल फर्कन चाहनेको हकमा बहिर्गमन भिसाका लागि साउदी सरकारको सम्बन्धित श्रम कार्यालयलाई आवश्यक कागजातसमेत पठाइसकिएको नेपाली दूतावासले जनाएको छ ।

    साउदी अरबबाट नेपाल जान इच्छुक नेपाली श्रमिकलाई र विशेषगरी सेन्दान इन्टरनेसनल कम्पनीमा कार्यरतलाई यथाशक्य बहिर्गमन भिसा जारी गरिदिन अनुरोध गर्दै आवश्यक पहल गरिसकिएको दूतावासले जनाएको छ । नेपाल फर्कन चाहनेको हकमा बाँकी सेवा सुविधा प्राप्त गर्ने कानुनी आधार पूरा गरी फर्काउने तथा साउदी अरबका अन्य कम्पनीमा स्थानान्तरण भई रोजगार गर्न चाहनेका लागि आवश्यक प्रक्रियालाई सहजीकरण गर्न साउदी सरकारको श्रम मन्त्रालय र सम्बन्धित अन्य निकायहरूमा भएका वार्ता तथा छलफल सकारात्मक रूपमा अगाडि बढेको छ । समस्यामा परेका नेपाली नागरिकलाई धैर्यताका साथ रहन तथा खाना, आवास र स्वास्थ्यसम्बन्धी समस्या परेमा राजदूतावासमा सम्पर्क गर्न भनिएको छ ।

  • सगरमाथा संवाद आजदेखि, १७५ विदेशी पाहुना काठमाडौँमा

    सगरमाथा संवाद आजदेखि, १७५ विदेशी पाहुना काठमाडौँमा

    २ जेठ काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ । संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय भएको छ । आजदेखि सुरु हुने सो कार्यक्रम यही जेठ ४ गतेसम्म सञ्चालन हुने छ ।

    परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाका अनुसार, सो सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै सङ्ख्यामा नेपाली सहभागी हुने छन् । कार्यक्रममा १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीन, भारतलगायत मुलुकका विशिष्ट पाहुना नेपाल आइसकेका छन् । अन्य मुलुकका विशिष्ट अतिथि आउनेक्रम जारी छ ।

    उद्घाटन समारोहमा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त श्रव्यदृश्य सामग्री प्रस्तुत गरिने छ । भारत र चीनका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउने विशिष्ट पाहुना र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ । संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पठाएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिने छ । उद्घाटनपछि ‘प्लेनरी सेसन’ आयोजना हुने छ । यस सत्रमा सहभागी सबै राष्ट्र र अन्तरराष्ट्रिय एवं क्षेत्रीय सङ्गठनको प्रस्तुति रहने छ ।

    आजै छुट्टाछुट्टै विषयका समानान्तर सत्रको सुरुआत हुने छ । सबै सत्र शनिबार ४ः३० बजेसम्म सम्पन्न हुने कार्यसूची छ । राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषयज्ञाता र अनुसन्धानकर्ताको गहन ढङ्गको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइने छ ।

    सगरमाथा संवादमा विभिन्न मुलुकका साथै सार्क, बिम्स्टेक, विश्व बैंक, एसियाली विकास बैंकलगायत विकास सहायता संस्था, विश्वविद्यालय, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायतबाट ६१ विदेशी तथा स्वदेशी सङ्गठन एवं संस्थाले भाग लिने छन् ।

    संवाद आयोजनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको संयोजकत्व र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको सहसंयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सचिवालय गठन गरिएको छ । संवादमा उच्चस्तरीय उद्घाटन सत्रसहित एक ‘प्लेनरी सेसन’, समानान्तर सत्र तथा केही साइड इभेन्टहरू पनि हुने तालिका रहेको सचिवालयका सदस्यसचिवसमेत रहनुभएका वन मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जानकारी दिनुभयो । तेस्रो तथा अन्तिम दिन विदेशी पाहुनालाई हिमाल देखाउनका लागि पर्वतीय उडानको व्यवस्था मिलाइएको छ भने संवादको काठमाडौँ घोषणा जारी गरिने छ ।

    नेपालले संरक्षणमा गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन र जलवायु सङ्कट समाधानमा विश्वका असल अभ्यास तथा सामाधानका उपाय सिक्नका लागि संवाद उपयोगीसिद्ध हुने बताइएको छ । संयुक्त राष्ट्रसङ्घले यो वर्ष २०२५ लाई अन्तरराष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरेका सन्दर्भमा संवादमा पनि महत्वका साथ हिमालका विषय उठाइनेछन् ।

    सगरमाथा संवाद एक बहुसरोकारवाला संवाद मञ्च हो, जुन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्त्वका प्रमुख मुद्दाहरूमाथि विचार–विमर्श गर्न समर्पित छ । यो संवादको नाम विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट राखिएको छ । यसको उद्देश्य मानवताको साझा हित र सामूहिक कल्याणको अवधारणालाई प्रवर्द्धन गर्नु हो । प्रत्येक दुई वर्षमा सगरमाथा संवादको आयोजना गर्ने सरकारले यसअघि नै निर्णय गरेको छ ।

  • भारतीय वन तथा वातावरणमन्त्री यादव नेपालमा

    भारतीय वन तथा वातावरणमन्त्री यादव नेपालमा

    १ जेठ, काठमाडौं । भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणमा आएका छन् । उनी सगरमाथा संवादमा सहभागी भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । आज अपराह्न काठमाडौँ आएका मन्त्री यादवलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरे । सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सञ्चालन हुँदैछ ।

  • गैरआवासीय नेपालीको साढे दुई अर्ब लगानीमा ठमेलमा खुल्यो लग्जरी हेरिटेज होटल

    गैरआवासीय नेपालीको साढे दुई अर्ब लगानीमा ठमेलमा खुल्यो लग्जरी हेरिटेज होटल

    १ जेठ, काठमाडौं । नेपाली कला, संस्कृति र आतिथ्यता झल्किने गरी ठमेलमा हेरिटेज होटल ‘आर्या होटल एन्ड स्पा’ सञ्चालनमा आएको छ । जापानमा करिब साढे दुई दशक बिताएका धादिङका गैरआवासीय नेपाली कृष्ण सिम्खडाको एकल स्वामित्वमा होटल सञ्चालनमा ल्याइएको हो । सञ्चालक सिम्खडाले नेपाली पर्यटनमा भविष्य देखेर नै आफ्नै देशमा लगानी गरेको बताए । “म जापानमा बस्दा महत्वपूर्ण कुरा सिक्ने मौका पाएँ, उनीहरूलाई आफ्नो कला र संस्कृतिलाई लामो समयदेखि जोगाइराखेका छन् । मलाई पनि आफ्नै देशमा आएर केही गर्नुपर्छ भन्ने सोचले होटल निर्माण सुरु गरेँ ।”

    सिम्खडाको बुझाइअनुसार ठमेल विदेशमा नेपाल चिनाउने माध्यम हो । नेपाल आउने सबैजसो पर्यटक ठमेल नपुगी फर्कंदैनन् । नेपालबाट स्वदेश फर्कंदै गर्दा उनीहरुले नेपाली कला र संस्कृतिको अनुपम अनुभव लिएर फर्किन पाऊन् भन्ने उद्देश्यले आफ्नै सोचमा होटल निर्माण गरेको उनको भनाइ छ । होटल फरक र मौलिक बनाउने प्रयास गरिएको छ । मूल ढोकाबाट भित्र पस्दै गर्दा नेपाली शिल्पकलाले स्वागत गर्छ । परम्परगत पोसाकमा सजिएका कर्मचारीले आतिथ्यता प्रदर्शन गर्छन् । पहिलो तलादेखि नै नेवारी शिल्पकलाको बेजोड प्रस्तुति यहाँ देख्न सकिन्छ । होटलका थाम, कुर्सी, कुसनमा नेपालीपन झल्काउने प्रयास गरिएको छ । ठमेल नरसिंह चोकमा छ यो होटल ।

    होटलको लबीमा मयूर झ्याल र देशमरु झ्यालको मिश्रणसहितको उत्कृष्ट काष्ठकला देख्न सकिन्छ । होटलका रूपमा देखिने टुँडाल, फाल्चा, आँखीझ्याललगायत नेपाली कलाकृतिले जोकोहीलाई मोहित बनाउँछ । पाहुनालाई स्वागत गर्नका लागि पनि नेपाली परम्परालाई अँगालिएको सिम्खडाले बताए । उनका अनुसार करिब २० आना जग्गामा निर्माण भएको होटलमा जग्गासहित रु दुई अर्ब ५० करोड लगानी भइसकेको छ ।

    “विदेशका चिल्ला होटल हेर्न त सबै आउँछन् तर नेपाली कला र संस्कृति झल्कने होटल निर्माण गर्न सकियो भने यसले हाम्रो संस्कृति संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्छ भन्ने विश्वास छ”, सिम्खडाले भने । ७२ वटा रुम भएको होटलमा ४१ वटा डिलक्स रुम छन्, जसलाई आधुनिक र परम्परागत गरी दुई शैलीमा डिजाइन गरिएको छ । परम्परागत शैलीमा डिजाइन गरिएका रुममा नेपाली कला बढी देख्न सकिन्छ ।

    होटलका हेरिटेज रुमहरुमा भक्तपुरमा निर्माण गरिएको तेलिया इँटा बिछ्याइएको छ । परम्परागत शैलीको कोठामा ऐनाको फ्रेमदेखि दराजको ढोकामा काष्ठकला देख्न पाइन्छ । होटलका रुमहरु स्वयम्भू, धरहरा र सिटी भ्यू हुनेगरी तयार गरिएको छ । दुई सभाहल रहेको होटलको १२औँ तलामा ‘सोरा’ नामक अल डे डाइनिङ रेष्टुरेन्ट छ । त्यसैको छेउमा ‘स्काई लाइन सोरा’ पनि छ । सोरा स्काई लाइनको सिसामा स्काई वाकको मजा लिँदै डिनर गर्न सकिन्छ । यहाँ एक सय साठी डलरदेखि एक हजार ६०० डलर सम्मका विभिन्न वर्गका रुमहरू रहेका सञ्चालक सिम्खडाले पत्रकारहरूलाई जानकारी दिए ।

  • सगरमाथा संवादमा भाग लिन नेपाल आए चिनियाँ राष्ट्रिय जन कांग्रेस उपाध्यक्ष

    सगरमाथा संवादमा भाग लिन नेपाल आए चिनियाँ राष्ट्रिय जन कांग्रेस उपाध्यक्ष

    १ जेठ, काठमाडौं । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणका लागि बिहीबार राति काठमाडौँ आइपुगेका छन् । उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरे । सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म यहाँ हुँदैछ ।

  • आइसिसी विश्वकप लिग २ खेल्न स्कटल्याण्ड उड्यो नेपाली क्रिकेट टोली

    आइसिसी विश्वकप लिग २ खेल्न स्कटल्याण्ड उड्यो नेपाली क्रिकेट टोली

    ३१ वैशाख, काठमाडौं । नेपाल क्रिकेट सङ्घ९क्यान०ले आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरेको छ । नेपाली टोली आज साँझ ६ बजे त्यसतर्फ प्रस्थान गरेको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, केन्द्रीय सदस्य छुम्बी लामालगायतले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

    क्यानका अध्यक्ष चन्दले बेलायतमा हुने अभ्यास खेलले टोलिलाई हौसला प्रदान गर्ने भन्दै लिग २ शृङ्खलाका लागि शुभकामना प्रदान गरे । नेपालले लिग २ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग आगमी जुन २ देखि १० तारिख (आगामी जेठ १९–२७ गतेसम्म सिरिज खेल्नेछ । लिग २ सिरिजपछि नेपालले ती देशसँग टी–२० आई सिरिजसमेत खेल्ने क्यानले जनाएको छ । उक्त सिरिज भने जुन १५ देखि २० तारिख (आगामी असार १–६ गते) सम्म सञ्चालन हुनेछ ।

    लिग २ खेल्नु अगाडि नेपालले बेलायतको स्थानिय टोली तथा स्टकल्याण्डको ‘ए’ टोलीसँग अभ्यास खेलसमेत खेल्नेछ । लिग २ को शृङ्खलाका लागि नेपाली टोलीको कप्तान रोहितकुमार पौडेलसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल छन् ।

  • गैरआवासीय नेपालीलाई ठूला पूर्वाधारमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

    गैरआवासीय नेपालीलाई ठूला पूर्वाधारमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

    ३१ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशका ठूला पूर्वाधारमा लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् । गैर–आवासीय नेपाली सङ्घ (एनआरएनए)द्वारा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले विश्वभर फैलिएको नेपाली डायस्पोरामा नवीनता र वित्तीय पुँजी रहेको र त्यसलाई सदुपयोग गरेर देश विकासमा लाग्नुपर्नेमा जोड दिए । उनले भने, “एनआरएनए अलगअलग होइन, एकजुट भएर जानुपर्दछ । नेपाली जहाँ पनि राजनीति गर्छन् भन्ने सन्देश प्रवाह भएको छ । यो सकारात्मक होइन । यसलाई चिर्दै एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।”

    एनआरएनले उठाएका मुद्दामा महासङ्घले समर्थन गर्दै आएको उल्लेख गर्दै अध्यक्ष ढकालले गैरआवासीय नेपालीलाई अधिकार मात्र खोज्नेभन्दा पनि देशप्रतिको कर्तव्यलाई सम्झेर काम गर्न आग्रह गरे । “म विदेश यात्राका क्रममा डायस्पोराबाट कहिलेकाहीँ नकारात्मक टिप्पणी हुने गरेको सुनेको छु । अमेरिका, अष्ट्रेलिया, कोरियाको तुलनामा हाम्रो देशमा कम विकास भएको छ ।

    त्यसैले एनआरएनएसँगको अनुभव, पुँजी, सीप र प्रविधिलाई नेपालमा प्रयोग गरेर नेपाललाई पनि अरू देश जस्तै समृद्ध मुलुक बनाउने काम गर्न आग्रह गर्दछु,” उनले भने । नेपालको पूर्वाधार विकासका लागि उद्योग वाणिज्य महासङ्घको पहलमा १० अर्ब पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरी काम भइरहेको जानकारी दिँदै एनआरएनएलाई पनि कम्पनीमा सहभागी हुनआह्वान गरे ।

  • कोरियामा नेपालले रोक्यो ‘एनओसी’

    कोरियामा नेपालले रोक्यो ‘एनओसी’

    ३१ वैशाख, काठमाडौं । सरकारले दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) वितरणमा रोक लगाएको छ । शिक्षा मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरेर दक्षिण कोरियाका लागि एनओसी जारी गर्ने काम तत्कालका लागि स्थगन गरिएको बताएको छ । दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीले रोजगारीलाई बढी प्राथमिकता दिएको र अध्ययनलाई निरन्तरता नदिने समस्या देखिएको मन्त्रालयको भनाइ छ ।

    ‘पढ्ने समय कम भएका विश्वविद्यालयमा भर्ना हुने र पैसा कमाउनतर्फ लागेर अध्ययनलाई निरन्तरता नदिने समस्या देखिएको छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘काम पाउन नसकेकाहरू मानसिक समस्या तथा डिप्रेसनमा पर्ने गरेका छन्, कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयमा समेत विद्यार्थी भर्ना भएकाले समस्या देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    कोरिया अध्ययन गर्न जाने व्यवस्थामा नियमन गर्नु आवश्यक देखिएकाले एनओसी वितरण स्थगित गर्नुपरेको मन्त्रालयले जनाएको छ । यसको नियमन र व्यवस्थित गर्न कार्यदल गठन गरिएको र कार्यदलको सिफारिसका आधारमा थप निर्णय गर्ने गरी हाललाई एनओसी रोकिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

    दक्षिण कोरिया धेरै नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जानेमध्ये १० औं मुलुकभित्र पर्छ । गत आर्थिक वर्षमा ६ हजार ८ सय ८९ जनाले दक्षिण कोरियाका लागि एनओसी लिएको शिक्षा मन्त्रालयको तथ्यांक छ । त्यतिबेला १ लाख १२ हजार ५ सय ९३ जना विद्यार्थीले विदेश पढ्न जान एनओसी लिएका थिए । ६६ देशमा ९४ विषय अध्ययनका लागि शिक्षा मन्त्रालयले एनओसी प्रदान गरेको तथ्यांक छ ।

    २०८० साउनदेखि ०८१ असारसम्म सबैभन्दा बढी जापानका लागि ३४ हजार ७ सय ३१ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र लिएको शिक्षा मन्त्रालयले जनाएको छ । जापानपछि नेपाली विद्यार्थीको आकर्षण क्रमशः क्यानडा, अस्ट्रेलिया, बेलायत, अमेरिका, दक्षिण कोरियालगायतमा देखिन्छ । क्यानडा पढ्न जान १५ हजार ९ सय ८२, अस्ट्रेलिया जान १४ हजार ३ सय ७२ जना, बेलायत जान १३ हजार ३ सय ३९ जना, अमेरिका जान ११ हजार २ सय ६१ जना विद्यार्थीले एनओसी लिएका छन् ।

  • बेलायतमा नेपाली भजन महोत्सव

    बेलायतमा नेपाली भजन महोत्सव

    ३१ वैशाख, बेलायत । बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली समाज युके’को आयोजना दोस्रो भजन महोत्सव सम्पन्न भएको छ । लण्डन, स्कटल्याण्ड, वेल्स, बर्मिङ्घम तथा उल्भरह्याम्टनलगायत आठ स्थानमा बसोबास गर्ने नेपालीहरुको सांस्कृतिक झाँकीसहितका टोली वेष्टमिडल्यान्डस्को उल्भरह्याम्पटस्थित श्रीकृष्ण मन्दिरमा जम्मा भएका थिए । ‘आफ्नो पहिचान धर्म संस्कृति र आदर्शलाई जोगाउँ, सभ्य र उन्नत जीवनलाई अँगालौँ’ भन्ने नारासहित सम्पन्न महोत्सवमा आठवटै टोलीले आ–आफ्नो भजन प्रस्तुत गरेका थिए ।

    महोत्सव उद्घाटन गर्दैै उल्भरह्याम्टन काउन्सिलका मेयर लिन्डा लिचले, बेलायतमा जीवन बिताइरहेका नेपालीहरुले आफ्नो संस्कृति संरक्षणमा खेलेको भूमिकाप्रति खुसी व्यक्त गरे । उनले भने, “म नेपाली समाजले आफ्नो संस्कृति जोगाउन खेलेको भूमिकाको प्रशंसा गर्छु र यस अभियान आगामी दिनमा पनि निरन्तर रहनेमा विश्वस्त छु ।” महोत्सवमा यसपटक धेरै टोली सहभागी भएको र सहभागीको सङ्ख्या पनि बढेको जानकारी दिँदै कार्यक्रम संयोजक नेपाली समाज वेष्टमिडल्यान्डस्का पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक शिव खरेलले नेपाली संस्कृति संरक्षणका लागि बेलायतमा रहेका नेपाली समुदाय सचेत बन्दै गएकामा भन्दै खुसी व्यक्त गरे ।


    महोत्सवमा ६०० भन्दाबढीको सहभागिता थियो । उनले भने, “नेपाली समुदायमा नेपाली धर्म र संस्कृतिप्रतिको धारणा पुनःजागरण गराउन महोत्सव आयोजना गर्न थालिएको हो, यसमा हामी सफल भएका छौँ ।” साझा नेपाली समाज युकेका अध्यक्ष दीपक सापकोटाले कार्यक्रमले नेपाली धर्म र संस्कृतिको संरक्षण र प्रचारका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्रवासमा बसेर पनि नेपालको धर्म संस्कृतिको जगेर्ना गर्ने र खासगरी नयाँपुस्तालाई सनातन संस्कार र संस्कृति सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

    नेपाली समाज वेष्टमिडल्यान्ड्सका अध्यक्ष भीम शर्माले कार्यक्रमले बेलायतमै जन्मिएका नेपाली पुस्तालाई आफ्नो संस्कृतिबारे जान्नका लागि यो ठूलो अवसर भएको बताए । महोत्सवमा सहभागी भजन मण्डलीले भजन प्रस्तुत गर्नुका साथै नेपाली कला, संस्कृति, वेषभूषा झल्किने नृत्य प्रस्तुत गरेका थिए । त्यसअवसरमा निःशुल्क रुपमा नेपाली खानाका परिकार उपलब्ध गराइएको थियो ।
    रासस

  • सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना आउँदै

    सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना आउँदै

    ३० वैशाख, काठमाडौं । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्ने ‘सगरमाथा संवाद’मा एक सय ७५ विदेशी पाहुना सहभागी हुने भएका छन् । परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले संवादको तयारीका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा विदेशी पाहुनासहित करिब त्यतिकै सङ्ख्यामा नेपाली सहभागी हुने जानकारी दिइन् ।

    उनका अनुसार संवादमा करिब ३५० जना सहभागी हुनेछन् । बाह्र देशको उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुनेछ । पहिलो संस्करणको सगरमाथा संवादको मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ रहेको छ । सगरमाथा संवाद नेपालले स्थापना गरेको एउटा अन्तरराष्ट्रिय मञ्च हो । मानव जगतका विभिन्न समस्या र मुद्दाबारे संवाद गर्ने, छलफल गर्ने तथा समाधानका लागि एउटा निष्कर्षमा पुग्ने यसको उद्देश्य रहेको छ ।

    “संवादको तयारी अन्तिम चरणमा पुगेको छ । हामीले तयारीका विभिन्न चरण पार गरी यहाँसम्म आइपुगेका छौँ । हामीले १० वटा जति पूर्वसंवादलगायतका तयारी पूरा गरेका छौँ,” मन्त्री डा राणाले भनिन् । प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्बोधन हुने उक्त समारोहमा परराष्ट्रमन्त्री डा राणाले स्वागत मन्तव्य दिने कार्यक्रम छ । उक्त कार्यक्रममा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त श्रव्यदृश्य सामग्री प्रस्तुत गरिने छ । भारत र चीनका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउने विशिष्ट पाहुना र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम रहेको संवाद सचिवालयले जनाएको छ ।

    कार्यक्रममा संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसङ्घका महासचिवले पठाएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिने छ । उद्घाट्नपछि १२ छुट्टाछुट्टै विषयमा कार्यक्रम सञ्चालन हुनेछन् । राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषय ज्ञाता र अनुसन्धानकर्ताको गहन ढङ्गको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा संभावनामा जोड दिइने कार्यक्रम रहेको मन्त्री डा राणाले बताइन् ।

    सगरमाथा संवादमा विभिन्न मुलुकका साथै सार्क, बिम्स्टेक, विश्व बैङ्क, एसियाली विकास बैङ्कलगायत विकास सहायता संस्था, विश्वविद्यालय, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायतबाट ६१ विदेशी तथा स्वदेशी संगठन एवं संस्थाले भाग लिनेछन् मन्त्री डा राणााले नेपाललाई तटस्थ, संवादप्रेमी कूटनीतिको नेतृत्वदायी भूमिकामा स्थापित गर्न सकिन्छ भन्ने दृढ विश्वास रहेको उल्लेख गर्दै विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकास गरी राष्ट्रिय आत्मविश्वास बढाएर नेपालको विश्वव्यापी छविलाई उचित रूपमा स्थापित गर्न सकिन्छ भन्ने मान्यता राखिएको बताइन् ।

  • उपसभामुखले भेटिन् बङ्गलादेशका सरकार प्रमुख, के भयो कुराकानी

    उपसभामुखले भेटिन् बङ्गलादेशका सरकार प्रमुख, के भयो कुराकानी

    २९ वैशाख, ढाका । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युत्का क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन् । बङ्गलादेशमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग आज ढाकामा भएको भेटमा उनले बङ्गलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका सात राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय सहकार्य आवश्यक भएको बताए । प्राध्यापक युनुसले भने, “बङ्गलादेश, नेपाल, भूटान र भारतको उत्तरपूर्वीमा रहेका सात राज्यबीचको एकीकृत आर्थिक योजना आवश्यक छ, यसबाट हामीले छुट्टाछुट्टै भन्दा सँगै भएर धेरै फाइदा लिन सक्छौँ ।”


    उनले नेपाल र बङ्गलादेशबीच जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सकिने उल्लेख गरे । गत अक्टोबरमा बङ्गलादेश–नेपाल–भारतमाझ नेपालबाट बङ्गलादेशमा भारतीय ग्रीडमार्फत ४० मेगावाट विद्युत् ल्याउनका लागि त्रिपक्षीय सहमति भएको थियो । उनले बङ्गलादेशले यस क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा प्रतिबद्धताका साथ काम गरिरहेको पनि उल्लेख गरे । “हामीले रङ्गपुरमा सुरु गर्न लागेको एक हजार शय्याको अस्पतालको सेवा नेपाल र भुटानबाट आउने बिरामीका लागि पनि लक्षित छ, क्षेत्रीय सहकार्यबाट स्वास्थ्य क्षेत्रमा समृद्धि हासिल गर्न सकिन्छ”, उनले भने ।

    त्यस अवसरमा उपसभामुख इन्दिरा रानाले विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यका लागि नेपालको इच्छुक रहेको उल्लेख गरिन् । “नेपालका सबै सांसदहरु बङ्गलादेशसँग नजिक रहेर काम गर्न चाहना राख्नुभएको छ, हामी दुई देशबीचमा आर्थिक सहकार्य र नागरिकस्थरमा सम्बन्ध विस्तारमा गम्भीर छौँ ।”

    उहाँले हाल बङ्गलादेशका मेडिकल कलेजमा दुई हजार सात सयभन्दा बढी नेपाली विद्यार्थी रहेको उल्लेख गर्दै यहाँको गुणस्तरीय शिक्षाको प्रशंसा गरिन् । उनले यसमार्फत दुई देशबीचमा शैक्षिक सहकार्य पनि गर्न सकिने सम्भावना औँल्याइन् । त्यसअवसरमा दुवै पक्षबाट भौतिक अन्तरआबद्धताका विषयमा छलफल भएको उपसभामुख रानाको सचिवालयले जनाएको छ ।

    प्रमुख सल्लाहकार युनुसले दुई देशबीच सडक सञ्जाल विस्तारबाट नेपालले उल्लेख्य मात्रामा व्यापारिक लाभ लिन सक्ने धारणा राखिन् । त्यस अवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारी, प्रमुख सल्लाहकार युनुसका दिगो विकास लक्ष्य कार्यक्रमका संयोजक लामिया मोरसेद र बङ्गलादेशका परराष्ट्र मन्त्रालयका महाप्रबन्धक इस्रात जहानलगायतको उपस्थिति थियो ।

  • विदेशमा रहेका नेपालीले ९ महिनामा पठाए झण्डै १२ खर्ब रेमिट्यान्स

    विदेशमा रहेका नेपालीले ९ महिनामा पठाए झण्डै १२ खर्ब रेमिट्यान्स

    २९ वैशाख, काठमाडौं । विप्रेषण (रेमट्यान्स) आप्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको नौ महिनामा रु ११ खर्ब ९१ अर्ब ३१ करोड बराबरको विप्रेषण नेपाल भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव दुई प्रतिशतले वृद्धि भएको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह सात दशमलव तीन प्रतिशतले वृद्धि भई आठ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष सोही प्रकृतिको आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु १३ खर्ब एक अर्ब ९४ करोड पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा रु ११ खर्ब ७४ अर्ब ५४ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ४९ हजार ६५२ रहेको छ ।

  • सगरमाथा संवादका लागि भारत सरकारले नेपाललाई दियो १५ इभी कार

    सगरमाथा संवादका लागि भारत सरकारले नेपाललाई दियो १५ इभी कार

    २८ वैशाख, काठमाडौं । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोगस्वरुप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । आज परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सवारीसाधन हस्तान्तरण गरे । नेपाल—भारत सहयोग कार्यक्रमअन्तर्गत ती सवारीसाधन उपलब्ध गराइएका हुन् ।

    त्यस अवसरमा मन्त्री डा राणाले सगरमाथा संवादका लागि उपलब्ध गराइएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद ज्ञापन गरिन् । उनले जलवायु परिवर्तन नेपालको मात्र नभई यस क्षेत्रकै साझा चुनौतीका रूपमा रहेकाले यसको समाधानका लागि आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेको बताइन् । संवादले जलवायु परिवर्तनसम्बन्धी यस क्षेत्रका साझा समस्याको उजागर गर्दै तिनको समाधानका उपाय खोजीका लागिसमेत सामूहिक प्रयत्नको ‘मोडल’ तय गर्ने जानकारी दिँदै उनले यसमा भारत सरकारको सहयोग उल्लेखनीय रहेको बताइन् ।

    मन्त्री डा राणाले संवादको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र अब नेपाल सरकार विदेशी उच्चपदस्थ व्यक्तित्व तथा पाहुनाको स्वागतको प्रतीक्षामा रहेको बताइन् । नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले भारत सरकारले नेपालको आर्थिक, सामाजिकलगायत क्षेत्रमा पु¥याउँदै आएको सहयोगको चर्चा गर्दै सगरमाथा संवादका लागि सवारीसाधन उपलब्ध गराउन पाएकामा खुसी व्यक्त गरे । उनले जलवायु परिवर्तनका साझा चुनौती समाधानमा अवलम्बन गरिने उपायमा भारत सरकार नेपालको साथमा रहेको बताए ।

  • आतंकवादविरुद्धको लडाईमा समर्थन गरेकोे भन्दै भारतले नेपाललाई दियो धन्यवाद

    आतंकवादविरुद्धको लडाईमा समर्थन गरेकोे भन्दै भारतले नेपाललाई दियो धन्यवाद

    रासस

    २७ वैशाख, काठमाडौं । भारतले नेपाल सरकार र यहाँका राजनीतिक पार्टीले भारतको जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरोध गर्दै त्यसका विरुद्धमा चालिएको कदमप्रति एक्यबद्धता जनाएकामा नेपाललाई धन्यवाद दिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार लैनचौरस्थित दूतावासमा काठमाडौँस्थित मुलधारका आमसञ्चार माध्यमका सम्पादकहरुसँगको भेटघाट तथा छलफलका क्रममा जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरुद्धमा नेपाल सरकार र समग्र नेपाली जनता उभिएकोमा खुशी व्यक्त गर्दै आतङ्कबादका विरुद्ध समग्र विश्व एक हुनुपर्नेमा जोड दिए । यहाँका समग्र नागरिक समाज र विशेषगरी आमसञ्चार क्षेत्रबाट प्राप्त सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास उहाँले व्यक्त गरे ।
    काश्मीरको पहलगाममा एक नेपालीसहित २६ जना निर्दोष मानिसको ज्यान लिनेगरी भएको आतङ्वादी हमला र त्यसपछि विकासित घटनाक्रमका बारेमा जानकारी दिँदै राजदूत श्रीवास्तवले पहलगाम हमलामा पाकिस्तान जिम्मेवार रहेको बताए । पाकिस्तानको ‘द रेसिस्टेन्ट फोर्स (टीआरएफ)’ले गत ‘२२ अप्रिल’मा पहलगाममा २६ जना सर्वसाधरण मानिसको ज्यान लिने गरी हमला गरेको बताउँदै उनले त्यसपछि पनि जम्मु–काश्मीर क्षेत्रका सर्वसाधरण जनतासहित धार्मिक, पुरातात्विक एवम् ऐतिहासिक महत्वका सम्पदालाई लक्षित गरी लगातार आक्रमण गरिहेको र जसरी हुन्छ दुई देशबीच द्वन्द्व चर्काउन खोजिरहेको भनी खेद व्यक्त गरे ।
    पहलगाम हमलापछि पनि पाकिस्तानले सीमा क्षेत्रमा ड्रोन तथा मिसाइल आक्रमणलाई तीव्रता दिइरहेको, काश्मीर क्षेत्रस्थित ‘लाइन अफ कन्ट्रोल’को भारतीय सेनाका चेकपोष्ट ध्वस्त बनाएको र १६ जना भारतीयको मृत्यु भएको जानकारी दिँदै राजदूत श्रीवास्तवले यसकिसिमको अपूरणीय क्षतिका बावजुद् भारतको तर्फबाट संयमता अपनाइ जवाफी कारवाही मात्र गरेको स्पष्ट गरे ।

    पाकिस्तान सरकारकातर्फबाट छिमेकी दुई देशबीचको द्वन्द्वलाई बढवा दिने गरी नियोजित रूपमा लगातार गलत र भ्रामक सूचना सम्प्रेषण भइरहेकामा खेद व्यक्त गर्दै राजदूत श्रीवास्तवले भने, “भारत द्वन्द्व चर्कियोस् भन्ने पक्षमा छैन तर देश र जनताको रक्षाको पक्षमा भने कोहीकसैसँग सम्झौता गर्ने पक्षमा छैन । यता पाकिस्तानी जनतासमेत शान्तिका पक्षमा देखिन्छन्, सम्पूर्ण विश्व समुदाय आतङ्कवादको विरुद्धमा उभिएको अवस्था छ, यसतर्फ पाकिस्तानी सरकार र त्यहाँका सेनाको ध्यान जान जरुरी छ ।” पाकिस्तानी पक्षबाट भ्रम फैलाइएजस्तो सीमा क्षेत्रमा जारी द्वन्द्वमा भारतीय पक्षको क्षति नभएको पनि उहाँले जानकारी दिए ।
    भारतका जिम्मेवार आमसञ्चारमाध्यम र निकायबाट युद्धलाई प्रश्रय दिने काम नभएको स्पष्ट गर्दै उनले जारी द्वन्द्वसम्बन्धी यथार्थ एवं वास्तविक समाचारका लागि राज्यका आधिकारिक निकायसँग भर पर्न अनुरोध गरे । उनले आतङ्कबाद, आतङ्कवादी हमलासहित काश्मीर क्षेत्रमा जारी द्वन्द्वबाट भारत र पाकिस्तान मात्र नभई सार्क क्षेत्रसहित समग्र विश्व नै प्रभावित हुने भएकाले आतङ्कबादका विरुद्ध डटेर सामना गर्दै विश्व शान्तिका पक्षमा अन्तरराष्ट्रियजगत एक हुनुपर्नेमा जोड दिए ।
    सो अवसरमा सञ्चारकर्मीको जिज्ञासामा राजदूत श्रीवास्तवले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको जानकारी दिँदै आतङ्कवादको विरोधसहित त्यसका विरुद्ध हुने कदमप्रति प्रधानमन्त्रीबाट ऐक्यबद्धता प्रकट भएकामा खुशी व्यक्त गरे । यसैगरी विश्व शान्तिको पक्षमा दृढ रहेको नेपालको कुनै पनि भूमि आतङ्कवादको विरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गर्नुभएको पनि उनले जानकारी गराए ।

    अर्को एक प्रश्नको जवाफमा राजदूत श्रीवास्तवले भारतस्थित संवेदनशील क्षेत्रका केही विमानस्थल र सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिएको बताउँदै छिमेकी देश नेपालतर्फको आपूर्ति व्यवस्थामा भने कुनै पनि किसिमको समस्या नआउने विश्वास दिलाए । उनले पेट्रोलियम पदार्थसहित कुनै पनि किसिमका वस्तुको नेपालतर्फको आपूर्ति व्यवस्था सहज हुने भएकाले ढुक्क हुन अनुरोध गर्दै विद्यमान असहज परिस्थितिलाई मध्यनजर गरी घुसपैठसहित अवाञ्छित गतिविधि हुन नदिन दुवै देशकातर्फबाट सीमा सुरक्षामा विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए ।

  • नेजाको नवौँ अधिवेशनः पत्रकार महासङ्घका अध्यक्ष शर्मा अमेरिकामा

    नेजाको नवौँ अधिवेशनः पत्रकार महासङ्घका अध्यक्ष शर्मा अमेरिकामा

    २६ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)को नवौँ अधिवेशनमा अतिथिका रुपमा सहभागी हुने सिलसिलामा संयुक्त राज्य अमेरिका पुगेकी छिन् । अमेरिकाको नेभाडा राज्यको लस भेगस सहरमा हुने अधिवेशनमा सहभागी हुन जाने क्रममा अध्यक्ष शर्मा त्यहाँ पुगग्दा उनलाई नेजाका अध्यक्ष सुरज भण्डारीलगायतका पदाधिकारीले स्वागत गरे । नेजाको निमन्त्रणामा महासङ्घका अध्यक्ष शर्मा गत बुधबार यहाँबाट त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

    उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेजाको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा अतिथि तथा पत्रकारहरू गरी करिब २०० प्रतिनिधिको सहभागिता रहने ‘कन्भेनर’ रोशन अधिकारीले जानकारी दिए । नेजाका महासचिव बाबुराम दाहालका अनुसार सो अधिवेशनमा भाग लिन ८१ प्रतिनिधिले सदस्यता दर्ता गरिसकेको, नेजाको वार्षिक प्रकाशन ‘प्रयास’ सार्वजनिक गरिनाका साथै पत्रकारिता पुरस्कार र पत्रकारिता सम्मानसमेत प्रदान गरिने कार्यक्रम छ । गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिका नेभाडा राज्य च्याप्टरका अध्यक्ष दुर्गा प्याकुरेलले नेजाको नवौँ अधिवेशनलाई लस भेगसका नेपाली समुदायले निकै उत्सुकताका साथ सहकार्य गरेको बताए ।

  • भारत र पाकिस्तानमा नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण

    भारत र पाकिस्तानमा नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण

    २६ वैशाख। काठमाडौं । सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीचको सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्नसक्ने सम्भावित समस्याप्रति सचेत भई आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरेले उक्त ध्यानाकर्षण गराएका हुन् ।

    बैठकमा सांसदहरुले भारत र पाकिस्तानबीचको तनावबाट नेपालमा पर्नसक्ने सम्भावित प्रभावबारे सरकार सचेत हुनुपर्नेमा जोड दिँदै आवश्यक तयारी थाल्न सुझाव दिएका थिए । सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए ।प्रतिनिधिसभा बैठकमा आव २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल भएको छ ।

  • प्रधानमन्त्री र भारतीय राजदूतबीच भेट, के भयो कुराकानी ?

    प्रधानमन्त्री र भारतीय राजदूतबीच भेट, के भयो कुराकानी ?

    २६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत ‘२२ अप्रिल’ मा आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराए ।

    उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही मात्र गरेको तर ‘जेट हमला’ गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गरे । राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

    सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्वशान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडानअनुरूप उक्त आतङ्कवादी हमलाको भत्र्सना गरे । उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध नेपालको भूमि प्रयोग गर्न नदिने स्पष्ट गरे ।

  • पाकिस्तानमा रहेका नेपाली सुरक्षित, सम्पर्कमा छन् : परराष्ट्र मन्त्रालय

    पाकिस्तानमा रहेका नेपाली सुरक्षित, सम्पर्कमा छन् : परराष्ट्र मन्त्रालय


    २६ वैशाख, काठमाडौं । सरकारले पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी तथा अन्य नेपालीहरू सम्पर्कमै रहेको जनाएको छ । भारत–पाकिस्तान तनाव बढिरहेका बेला पाकिस्तानमा अध्ययनरत् विद्यार्थीहरू जोखिममा रहेको भन्दै तिनलाई स्वदेश फिर्ताको पहल गर्न माग भएको थियो । परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दैै पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको जनाएको हो ।

    ‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्ण रूपमा सचेत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसको निमित्त पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।’ मन्त्रालयले यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परे सम्पर्क गर्न सक्ने गरी दूतावासका कर्मचारीलार्य जिम्मेवारी दिएको छ ।

  • सीमा क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ बनाउन गृह प्रशासन सक्रिय

    सीमा क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ बनाउन गृह प्रशासन सक्रिय

    २५ वैशाख, काठमाडौं । गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।
    सीमा क्षेत्रको सुरक्षा मजबुत बनाउन सरकारले दिएको निर्देशनपछि सुरक्षा निकायले सुरक्षा निगरानी थप बढाएको हो । सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा ३१२ वटा पट्रोलिङ र एक हजार ८४४ स्थानमा चेक प्वाइन्ट राखेको छ ।

    वैशाख २३ गते मङ्गलबार बिहानदेखि बिहीबारसम्म ४८ घण्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २२८ वटा एकल पेट्रोलिङ गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शेलेन्द्र थापाले जानकारी दिए । भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँग संयुक्त पट्रोलिङ वैशाख २३ गते २० वटा, २४ गते १६ वटा र २५ गते ४८ वटा गरिएको छ । त्यस्तै एकल पेट्रोल वैशाख २३ गते ८९ वटा, २४ गते ६४ वटा र २५ गते ७५ वटा गरिएको जनाइएको छ ।

    सोही अवधिमा सीमा इलाकाका एक हजार ८४४ ठाउँमा चेक प्वाइन्ट राखिएको छ । वैैशाख २३ गते ५६४, वैैशाख २४ गते ६४० र वैैशाख २५ गते ६४० ठाउँमा गरी एक हजार ८४४ ठाउँमा चेक प्वाइन्ट राखिएको हो । सीमामा गस्ती पट्रोल तथा सुरक्षा जाँचलाई निरन्तरता दिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

    उक्त क्षेत्रहरुमा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरी, नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुुर, नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत कार्यालयबाट १० हजारभन्दा बढी सशस्त्र प्रहरी बल नेपालको जनशक्ति परिचालन गरिएको छ ।

    सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध गतिविधिलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरुसँग समन्वय गरी सूचना आदानप्रदान गरी सीमामा आवतजावत गर्नेहरुलाई निगरानी गर्ने कार्यसमेत कडाइका साथ गरिएको छ ।

    नेपाल–भारत सिमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यसप्रकारको आवतजावतलाई सहजीकरण गर्ने कार्यसमेत गरिएको छ । यसैगरी सहरी क्षेत्रका सम्भावित सुरक्षा दिनुपर्ने महत्वपूर्ण ठाउँहरुमा निगरानी बढाइएको सशस्त्र प्रहरीबल नेपालले आज जानकारी गराएको छ ।

  • भारत–पाकिस्तान तनावमा नेपालको पहिलो प्रतिक्रिया सार्वजनिक, के भन्यो ?

    भारत–पाकिस्तान तनावमा नेपालको पहिलो प्रतिक्रिया सार्वजनिक, के भन्यो ?

    काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावबारे धारणा सार्वजनिक गर्दै नेपालले आतंकवादविरुद्धको लडाईंमा सधैं साथ दिने बताएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर ‘आतंकवाद विरुद्धको लडाईंमा नेपाल सबैको साथमा उभिएको’ स्पष्ट पारेको हो । छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता दोहोर्‍याएको नेपालले यस क्षेत्रको शान्तिको निम्ति दुवै देशलाई अपिल गरेको छ ।

    ‘२२ अप्रिल २०२५ मा भारतको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि नेपाल सरकार भारत र पाकिस्तानबीच बढ्दो तनाव प्रति गहिरो चिन्तित छ । यस आक्रमणमा एक नेपाली नागरिकले पनि आफ्नो अमूल्य जीवन गुमाएका थिए,’ परराष्ट्रले भनेको छ, ‘यस दुःखद समयमा नेपाल र भारत साझा शोक र पीडामा एकताबद्ध भएर उभिएका थिए । नेपालले सबै प्रकारका आतंकवादविरुद्धको दृढ अडान अनुरूप बर्बर आतंकवादी आक्रमणको तुरुन्तै र स्पष्ट रूपमा निन्दा गरेको थियो ।’


    परराष्ट्रले दुई छिमेकी देशबीच बढ्दो तनाव कम हुने र यस क्षेत्रमा शान्ति बहाल रहनेमा आशावादी रहेको जनाएको छ । भारतले पाकिस्तानमा गरेको मिसाइल आक्रमणबारे स्पष्ट उल्लेख नगरे पनि नेपाल सरकारले घटनाको झन्डै दुई दिनपछि आफ्नो धारणा दिएको हो ।

  • काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो

    काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो

    २४ वैशाख, काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिका–१२ शङ्खुमा केही दिनदेखि बस्दै आएका म्यानमारका रोहिङ्ग्या शरणार्थीलाई आज काठमाडौँ फर्काइएको छ । स्थानीय जनप्रतिनिधि तथा प्रहरीले ११ परिवारका ४९ जना रोहिङ्ग्या शरणार्थीलाई फर्काइएको हो । जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले गत सोमबार साँझदेखि उक्त स्थानमा बसेका उनीहरु काठमाडौँस्थित कपनबाट आएकाले उतै फर्काइएको जानकारी दिए । उनका अनुसार प्रहरी, वडाध्यक्ष मोहनप्रसाद लामिछाने तथा स्थानीयको रोहबरमा फिर्ता पठाइएको हो ।

    यसअघि विसं २०७६ माघमा पनौती नगरपालिका–३ कुशादेवीमा १० परिवारका १३ बालबालिकासहित ३४ रोहिङ्ग्या शरणार्थीले टहरा बनाएर बसेका थिए । एक सय ४० जना शरणार्थी बस्नेगरी टहरा बनाउन लागेको अवस्थामा स्थानीयले अवरोध गरेपछि उनीहरु उक्त ठाउँ छाडेर लसुनटार फर्किएका थिए । काठमाडाँैको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटार र राममन्दिर क्षेत्रका टोलमा म्यानमारबाट आएका रोहिङ्ग्या शरणार्थी बस्दै आएका छन् । ती दुई स्थानमा करिब १४ रोपनी जमिनमा करिब ४०० शरणार्थी रहेको अनुमान गरिएको छ ।

  • गैरआवासीय नेपालीको समेत लगानी रहेको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

    गैरआवासीय नेपालीको समेत लगानी रहेको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

    २१ वैशाख, बेनी । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यस आयोजनाको पूर्वाधार निर्माण सम्पन्न भएर भौतिक संरचना र विद्युत्गृहमा जडान भएका मेसिन उपकरणको परीक्षण सुरु गरिएको आयोजनाका ‘प्लान्ट म्यानेजर’ विनोद पौडेलले जानकारी दिए ।

    उनका अनुसार, बाँध, सुरुङ, विद्युत्गृह र स्वीचार्डतर्फको सम्पूर्ण काम सकिएको छ । विद्युत्गृहमा टर्बाइनलगायतका मेसिन उपकरण जडान गरेर आवश्यक परीक्षण गरिसकिएको उनले बताए । आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रसारणमा जोड्नका लागि आठ किलोमिटर लामो ट्रान्समिसन लाइन निर्माणाधीन अवस्थामा छ । आगामी जेठ १ गते परीक्षण उत्पादन गर्ने लक्ष्यसहित प्रसारण लाइनको टावरमा तार तान्ने काम धमाधम भइरहेको आयोजनाले जनाएको छ ।

    कुइनेमंगले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको यस आयोजनामा सुरुङ र पेनस्टक पाइप हुँदै ल्याइने पानीलाई छरीस्थित रघुगङ्गा नदी किनारमा निर्माण भएको विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ । यस आयोजनामा तीन हजार ३८२ मिटर लामो सुरुङ र छ सय ३४ मिटर पेनस्टक टनेल रहेको छ । गैरआवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ ।

    रु तीन अर्ब ६० करोड लागत अनुमान गरिएको यस आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेको आयोजनाले जनाएको छ । आयोजनामा सिभिलतर्फ साकुरा पावर÷त्रिपल एस जेभीले ठेक्का लिएको थियो भने इलेक्टोमेकानिकलतर्फको ठेक्का टोयर हाइड्रोले लिएको थियो ।

  • अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

    अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

    २० वैशाख, काठमाडौं । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा शिविरमा ८०० भन्दा बढीले प्रत्यक्ष लाभ लिएका छन् । दूतावासले यही वैशाख १७ गतेदेखि १८ गतेसम्म उक्त शिविर सञ्चालन गरेको थियो । शिविरमध्ये शुक्रबार युएइमा कार्यरत नेपाली नागरिकको निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो । उक्त शिविरमा तीन सय बढीले सेवा लिएका थिए । नेपाली सेवाग्राहीलाई अहिल्या हस्पिटल अबुधावीका डा याशिर श्रेष्ठसहितको स्वास्थ्यकर्मीको टोलीले निःशुल्करुपमा आँखा, मधुमेह, ब्लड प्रेसरको परीक्षण गरेको थियो ।

    स्वास्थ्य परीक्षणसँगै डा श्रेष्ठले शारिरीक तथा मानसिक समस्या र समाधानका विषयमा जानकारी गराउँदै उपस्थित नेपाली नागरिकसँग अन्तरक्रियासमेत गर्नुभएको नेपाली दूतावासले जनाएको छ । कार्यक्रममा दूतावासले श्रमसँग सम्बन्धित विविध विषयमा सचेतनामूलक जानकारीसमेत उपलब्ध गराएको थियो । सो अवसरमा कन्सुलर प्रमाणीकरणलगायत अन्य सेवा नियमितरुपमा सञ्चालन गरिएको थियो ।

    राजदूतावासले सेवा प्रवाहसँगै यूएइमा कार्यरत नेपालीलाई शारिरीक तथा मानसिक स्वास्थ्य र श्रमसम्बन्धी विषयमा आवश्यकताअनुसार समयसमयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । राहदानी नवीकरणसम्बन्धी विशेष काउन्टर सञ्चालन गरी सेवा उपलब्ध गराउने कार्यमा गैरआवासीय नेपाली सङ्घ, युएइ तथ नेपाली समाज, युएइले स्वयंसेवक उपलब्ध गराइ सहयोग गरेको थियो ।

    राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाई प्रभावकारी सेवा प्रदान गर्न दूतावास सधँ क्रियाशील र कटिबद्ध रहेको दूतावासले जनाएको छ । दूतावासले यसअघि पनि आवश्यकताअनुसार विभिन्न समयमा विशेष काउन्टर सञ्चालन गरेर यस किसिमका शिविर सञ्चालन गर्दै आएको छ ।

  • बेलायतका लागि नेपाली राजदूत घिमिरेले राजासमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

    बेलायतका लागि नेपाली राजदूत घिमिरेले राजासमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

    १९ वैशाख, काठमाडौं । संयुक्त अधिराज्यका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेले राजा चाल्र्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बकिङ्घम राजप्रासादमा बिहीबार अपराह्न आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा राजा चाल्र्सले विभिन्न समयमा भएका ऐतिहासिक नेपाल भ्रमणको स्मरण गर्दै बेलायत सरकारले नेपालको विकासलाई प्राथमिकतामा राखेको जानकारी दिए ।


    बेलायती राजाले नेपालसँगको आफ्नो देशको मैत्रीपूर्ण सम्बन्ध सुमधुर एवं परस्परमा लाभदायक रहेको जनाउँदै त्यसप्रति सन्तुष्टि व्यक्त गरेको लण्डनस्थित नेपालको दूतावासले जनाएको छ । दुई शताब्दी लामो द्विदेशीय सम्बन्धको चर्चा गर्दै राजदूत घिमिरेले नेपालको सामाजिक–आर्थिक विकासका खातिर संयुक्त अधिराज्यबाट प्राप्त सहयोगका निम्ति आभार व्यक्त गरे ।

    राजदूत घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट राजाको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै संयुक्त अधिराज्यका जनताको निरन्तर प्रगतिको कामना गरेका थिए । त्यस अवसरमा राजदूत घिमिरेकी धर्मपत्नी सरिता घिमिरे, बकिङ्घम राजप्रासाद, बेलायती विदेश मन्त्रालय तथा नेपालको दूतावासका वरिष्ठ कूटनीतिक अधिकारीहरूको उपस्थिति थियो ।

  • भारतमा नेपाली छात्राको मृत्युबारे परराष्ट्र मन्त्रालयको चासो

    भारतमा नेपाली छात्राको मृत्युबारे परराष्ट्र मन्त्रालयको चासो

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाले मर्माहत भएको बताएकी छन् । साथै उनले परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जनाएकी छन् । पर्साको वीरगञ्ज निवासी प्रिशा विहीबार राति आफ्नै होस्टेल कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । परिवारका सदस्यहरु त्यहाँ पुगेपछि पोष्टमार्टम गर्ने तयारी छ । प्रिशाका परिवारका सदस्यहरु भारत प्रस्थान गरिसकेका छन् ।

    गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् । विहीबार दोस्रो नेपाली विद्यार्थीको सोही विश्वविद्यालयमा मृत भेटिएकी हुन् । परराष्ट्रमन्त्री राणाले यो घटनाले निकै मर्माहित बनाएको भन्दै सामाजिक सन्जालमा लेखेकी छन्, ‘प्रिशाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ उनी थप लेख्छिन्, ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ ।’

  • भारतको कलिंगा इन्स्टिच्यूटमा पुनः नेपाली छात्रा मृत फेला

    भारतको कलिंगा इन्स्टिच्यूटमा पुनः नेपाली छात्रा मृत फेला

    काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा मृत फेला परेकी छिन् । वीरगञ्ज घर भएकी प्रिशा साह बिहीबार बेलुकी करिब ८ बजे होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेको नेपाली सञ्चारमाध्यमले भारतीय स्रोतलाई उदृत गर्दै पुष्टी गरेका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि गरेका छन् ।

    उनले प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । प्रिशा होस्टलमा सिनियर दिदीहरूसँगै बस्ने गरेकी थिइन् । तर, घटनाको क्रममा कोठामा कोही नभएको समेत समाचारमा उल्लेख छ । गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् । आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् ।

    त्यसपछि प्रकृतिको न्याय माग्दै क्याम्पसमा नेपाली विद्यार्थीले गरेको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो । कलेज प्रशासनको निर्देशनमा सुरक्षागार्डले नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट गरेका थिए भने प्रशासनले होस्टल छाडेर जान निर्देशन दिएको थियो । घटना बढ्दै जाँदा तनावको स्थिति पैदा भएको थियो ।

  • प्रधानमन्त्रीसँग भाजपा विदेश प्रमुख चौथाइवालेको भेट

    प्रधानमन्त्रीसँग भाजपा विदेश प्रमुख चौथाइवालेको भेट

    १८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले आज भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चौथाइवाले तीन दिने नेपाल भ्रमणका लागि काठमाडौंमा छन् । उनले शीर्ष नेताहरुसँग भेटवार्ता गरिरहेका छन् ।

  • विदेशमा रहेका नेपाली हाम्रा लागि सफ्ट पावरः परराष्ट्रमन्त्री

    विदेशमा रहेका नेपाली हाम्रा लागि सफ्ट पावरः परराष्ट्रमन्त्री

    १८ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसका नेतृ डा आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताएकी छिन् । कांग्रेसको जनसम्पर्क समिति समन्वयले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले दोस्रो पुस्तालाई नेपालसँग आबद्ध गराउन आवश्यक रहेको बताइन् । “विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरु हाल विभिन्न मुलुकको राजनीतिमा पनि सक्रिय हुनुहुन्छ, उहाँहरु हाम्रा लागि सफ्ट पावर हुनुहुन्छ, हामीले त्यसको उपयोग गर्नुपर्छ”, उनले भनिन् ।

    डा राणाले अहिले गैर आवासीय नेपाली कार्डको विषय मुख्य रहेको उल्लेख गर्दै यो जारी गर्न आवश्यक रहेको बताइन् । “तपाईंहरुले लामो समयदेखि एनआरएन कार्डको विषय उठाउँदै आउनुभएको छ, कार्ड जारी गर्न ढिलाइ भइसकेको छ, आजसम्म यहाँहरुले देखाउनुभएको धैर्यताको म कदर गर्छु”, उनले भनिन् । अहिले नेपालमा स्थायी सरकार गठन भएकाले चाँडै कार्ड जारी हुनेमा उनले विश्वास विश्वास गरिन् ।

    एनआरएन कार्डको विषयमा संविधान निर्माणको समयमा व्यापक छलफल भएको उल्लेख गर्दै डा राणाले कांग्रेस यो विषयमा सुरुदेखि नै प्रतिबद्ध रहेको उल्लेख गरिन् । अहिले विदेशमा रहेका नेपालीहरुमा सामाजिक सुरक्षा कोषसम्बन्धी आवश्यक जानकारी कम भएकाले पनि समस्या भइरहेको उनको भनाइ थियो । कांग्रेस नेपालको एक मात्रै लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै उहाँले पार्टीप्रति विश्वास र भरोसा गर्न आग्रह गरिन् । “हामी लोकतान्त्रिक पार्टी हो भन्दै आउने र जाने भइरहेका छन्, तर लोकतन्त्रमा विश्वास राख्ने पार्टी कांग्रेस मात्रै हो”, उनले भनिन् ।

  • पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

    पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

    १५ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । प्रगतिशील नेपाली समाजको अधिवेशनमा भाग लिन शुक्रबार भारत पुगेका अध्यक्ष भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।

    भेटका क्रममा उहाँहरूबीच दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे सकारात्मक छलफल भएको पूर्वप्रधानमन्त्री भट्टराईको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार विशेषगरी दुई देशबीचको आर्थिक सम्बन्धलाई कसरी नयाँ उचाइमा पु¥याउने र थप प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको थियो । भेटमा अध्यक्ष भट्टराईले भारतको कश्मिर क्षेत्रको पहलगाममा भएको आतङ्कवादी हमलाबारे दुःख व्यक्त गर्दै निन्दा तथा भर्त्सना गरेका थिए ।

  • कश्मीर घटनाबारे पूर्वराजाले सार्वजनिक गरे आफ्नो प्रतिक्रिया

    कश्मीर घटनाबारे पूर्वराजाले सार्वजनिक गरे आफ्नो प्रतिक्रिया

    १३ वैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंककारी समूहको आक्रमणप्रति दुःख व्यक्त गरेका छन् ।
    शाहले शनिबार एक समवेदना सन्देश जारी गर्दै उक्त आक्रमणका कारण हिन्दूवादी यात्रीहरूको निधन भएकोप्रति आफू दुःखी भएको बताएका छन् । ‘हालै हाम्रो छिमेकी मित्रराष्ट्र भारतको जम्मु कश्मीर पहलगाममा भएको आतंककारी आक्रमणका कारण धेरै हिन्दूवादी यात्रीहरुको दुःखद् निधन भएकोमा हामीलाई अत्यन्त दुःख लागेको छ’ पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो घटनामा परी ज्यान गुमाएका एक नेपाली सहित सबै दिवंगत आत्माप्रति हाम्रो भावपूर्ण श्रद्धाञ्जलि । साथै मृतकजनका सबै शोकसन्तप्त परिवारमा हाम्रो आत्मीय समवेदना ।’

    ‘वसुधैव कुटुम्बकम्’ को आदर्श विपरीत यस्ता अपराध हुनु पाप कर्म रहेको शाहले बताएका छन् । ‘वसुधैव कुटुम्बकम्’को आदर्श अवलम्बन गर्ने सनातनी वैदिक हिन्दू धर्मावलम्बीहरूको दिव्य मानवीय मान्यता हो । त्यो मान्यता विपरीत यस प्रकारका जघन्य अपराध गर्नु गराइनु सर्वथा धर्म निषिद्ध पाप कर्म हो भन्ने हामी ठान्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण विश्वक्षेत्र र समग्र हिन्दू समुदायलाई नै मर्मान्त पार्न भएको यस्ता घटनाको जति निन्दा गरे पनि थोरै हुन्छ ।’ यस्तो घटनाको विश्वव्यापी भर्त्सना र निन्दा हुनुपर्ने आफ्नो धारणा रहेको शाहले विज्ञप्ति मार्फत बताएका छन् ।