Category: डायस्पोरा

  • न्यूयोर्क सहरका मेयरद्वारा मिथिला हेरिटेज कार्यक्रम आयोजना; मिथिला सम्पदा संग्रहालय बनाईने

    न्यूयोर्क सहरका मेयरद्वारा मिथिला हेरिटेज कार्यक्रम आयोजना; मिथिला सम्पदा संग्रहालय बनाईने

    न्यूयोर्क ।

    न्यूयोर्क सहरका मेयर एरिक आडम्सले आफ्नो निवासमा आयोजना गरेको मिथिला हेरिटेज रिसेप्सनमा मिथिला सेन्टर युएसएका संस्थापक अध्यक्ष अमित प्रताप शाहले न्यूयोर्कमा मिथिला सम्पदा संग्रहालय बनाईने घोषणा गरेका छन् ।


    म्यानहाटनस्थित ग्रेसी म्यानसनमा न्यूयोर्क सहरका मेयरद्वारा आयोजना गरेको ऐतिहासिक कार्यक्रममा मिथिला हेरिटेज रिसेप्शनले मिथिला क्षेत्रको समुदाय र सांस्कृतिक महत्वलाई जीवन्त बनाएको थियो ।

    कार्यक्रममा मिथिला क्षेत्रको परम्परा झल्काउने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो भने संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका बारेमा सामुदायिक सचेतना एवं मिथिला कलाको भूमिकालाई उजागर गर्ने कला देखाइएको थियो ।

    न्यूयोर्कका अधिकांश निर्वाचित पदाधिकारीहरू एवं जनप्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा नेपाल र भारत सरकारका उच्चस्तरीय अधिकारीको उपस्थिति थियो । त्यस्तै कार्यक्रममा न्यूयोर्कका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    कार्यक्रममा न्यूयोर्क सहरकी उपमेयर मीरा जोशीले सांस्कृतिक विविधतालाई आफूले सधै संरक्षण गर्ने भन्दै मिथिलाको सांस्कृतिक महत्व र पहिचानलाई संरक्षण गर्न सबै लाग्नु पर्ने बताए । न्यूयोर्क सहरले ४०० औं जन्मदिवस मनाई रहँदा यस्ता सांस्कृतिक विविधतालाई अर्को पुस्तासम्म हस्तान्तरण गर्नु सबैको दायित्व भएको बताए । कार्यक्रममा न्यूयोर्क राज्यसभाकी सदस्य जेनिफर राजकुमार, न्यूयोर्क सिटी काउन्सिल सदस्य जुली वोनलगायतले मिथिला कला र संस्कृतिको महत्वका बारेमा बोलेका थिए ।

    त्यस्तै मिथिला सेन्टर अमेरिकाका संस्थापक तथा अध्यक्ष अमित प्रताप शाहले मिथिलाको समृद्ध एवं सांस्कृतिक सम्पदालाई मान्यता दिन मेयर एरिक एडम्सल र स्थानीय सरकारले ऐतिहासिक कार्यक्रम गरेकोमा धन्यवाद दिए । सेन्टरले संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा प्रत्येक वर्ष प्रदर्शनी गर्दै आएको छ ।

    मिथिला सेन्टर अमेरिकाका सह–संस्थापक तथा मिथिला हेरिटेज म्युजियमका अगुवा नवलकिशोर यादवले मिथिला सम्पदा संग्रहालयले न्यूयोर्क शहरको सांस्कृतिक विविधतालाई सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्याउने दाबी गरे ।

    कार्यक्रममा मिथिला कला र सम्पदामा योगदान पुर्याउने विशिष्ट व्यक्ति तथा संस्थालाई न्युयोर्क शहरका मेयर एरिक एडम्सले हस्ताक्षर गरेको प्रशंसापत्रले सम्मान गरिएको थियो । सम्मानित हुनेमा मधेशी एसोसिएसन इन अमेरिका, एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा), विहार–झारखण्ड एसोसिएसन अफ नर्थ अमेरिका, रिजवुड नेपाली समाज, मिथिला सेन्टर अमेरिकाका संस्थापक सदस्य नवलकिशोर यादव र आशा शाहलगायत रहेका छन् ।

    जनकपुर उपमहानगरपालिकाका मेयरका तर्फबाट मिथिला सेन्टर अमेरिकाको टोलीसहित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका उपस्थायी प्रतिनिधि कौशल किशोर रोय र न्यूयोर्कस्थित नेपाली महावाणिज्य दुतावासका कार्यवाहक महावाणिज्यदूत चक्रकुमार सुवेदीले न्यूयोर्क शहरका मेयर एरिक एडम्सको कार्यालयलाई सीता मन्दिरको प्रतीक चिन्ह प्रदान गरे ।

    संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका लागि मिथिला हेरिटेज भन्ने नाराका साथ साताव्यापि प्रदर्शनी गरिएको हो । मिथिला सेन्टर अमेरिका, नेपाली स्थायी नियोग र नेपाली महावाणिज्य दुतावास न्यूयोर्कको संयुक्त आयोजनामा गरिएको प्रदर्शनी जुलाई १७ सम्म चलेको थियो ।

    संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले प्रदर्शनीको औपचारिक उद्घाटन गरेका थिए । प्रदर्शनीमा स्थायी र पर्यवेक्षक नियोगका प्रतिनिधिका साथै दिगो विकास लक्ष्य कार्यक्रममा सहभागि हुन आएका अधिकांश देशका प्रतिनिधिहरुको सहभागिता थियो ।

    प्रदर्शनीमा एस के सुमन, प्रतिक रायमाझी, नुपुर निशिथ, शैली झा, शिभांगी सिंह, मनिशा शाह सिं लगायतका चित्रकारको चित्रकला प्रदर्शनी गरिएको थियो । त्यस्तै जनकपुर महिला विकास केन्द्रका कलाकारहरु सेलो यादाव, सुधिरा कर्ण, कोमल पूर्वे, निर्मला राम, मञ्जुला ठाकुर, सेब्ती मण्डल र अमृता दत्तको चित्रकला पनि प्रदर्शनीमा राखिएको थियो ।

    प्रदर्शनीले मिथिलाका कलाकारहरूको जटिल र प्रतिकात्मक कलाकृतिहरूमार्फत वातावरण संरक्षणको सशक्त सन्देश र जलवायु परिवर्तनले पार्ने असरका बारेमा सचेत पारेको थियो ।

  • नेपाली पौडिबाज एलेक्स शाहले बनाए राष्ट्रिय कीर्तिमान

    नेपाली पौडिबाज एलेक्स शाहले बनाए राष्ट्रिय कीर्तिमान

    काठमाडौं । नेपाली पौडीवाज एलेक्जेन्डर (एलेक्स) शाहले पेरिस ओलम्पिकमा आफ्नो प्रदर्शनमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पेरिस ओलम्पिकमा पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका एलेक्सले ५१ः९१ सेकेन्डमा दुरी पार गरे ।

    यस इभेन्टमा ८९ पौडीवाजले हिट चरणमा प्रतिस्पर्धा गरेका थिए । एलेक्स हिट नम्बर ३ मा थिए । हिटमा उनी तेस्रो स्थानमै रहे । उनकै नाममा राष्ट्रिय कीर्तिमान ५२ः१७ सेकेन्डको थियो । एलेक्सले उक्त कीर्तिमान गत फेब्रुअरीमा दोहामा भएको वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा बनाएका थिए ।

    एलेक्सको दोस्रो ओलम्पिक सहभागिता हो । यसअघि उनले २०२० को टोकियो ओलम्पिक खेलेका थिए । टोकियोमा उनी १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दा ७१ प्रतिस्पर्धीमध्ये ५९ औं स्थानमा आएका थिए । उनी अमेरिकामा अध्ययनसँगै प्रशिक्षण गरिरहेका खेलाडी हुन् । २१ वर्षीय उनले चीनमा १९ औं एसियाली खेलकुदमा पनि सहभागिता जनाएका थिए ।

    एलेक्सको सँगै पेरिस ओलम्पिकमा सहभागी सातमध्ये ५ खेलाडीको प्रतिस्पर्धा टुंगिएको छ । पौडीकी डुवाना लामा, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, टेबलटेनिसका स्यान्टु श्रेष्ठले यात्रा टुंग्याइसकेका थिए ।

    अब ब्याडमिन्टनका प्रिन्स दाहालले आफ्नो समूह चरणको तेस्रो खेल खेल्न बाँकी छ । उनले सुरुका दुइ खेलमा भने पराजय भोगिसकेका छन् । म्याराथन धाविका सन्तोषी श्रेष्ठले भने पेरिस ओलम्पिक समापनको दिन महिला म्याराथनमा सहभागिता जनाउने छिन् । त्यसका लागि उनी आज मंगलबार त्यसतर्फ प्रस्थान गरेकी छन् ।

  • समिट एनएचएनसी कप–२०२४ सम्पन्न

    समिट एनएचएनसी कप–२०२४ सम्पन्न

    म्यानचेस्टर

    न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको ‘समिट एनएचएनसी कप–२०२४’ को उपाधि एनएचएनसी फूटबल टिमले हात पारेको छ । न्यूह्यामसर राज्यको म्यान्चेष्टर शहरस्थित रकरिमन फूटबल मैदानमा शनिबार आयोजित फाईनल खेलमा एनएचएनसी फूटबल टिमले भरमण्ट फूटबल क्लबलाई पराजित गर्दै उपाधि जितेको हो ।

    विजेता एनएचएनसी फूटबल टिमले नगद पाँच हजार डलरसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता भरमण्ट फूटबल टिमले नगद तिनहजार डलरसहित ट्रफी र मेडल प्राप्त गरेका छन् ।

    विजेता तथा उपविजेता टिमहरुलाई न्यूह्यामसर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पा, समिट न्यूह्यामसर एलएलसीका अध्यक्ष रविन थापा, नेपाली राष्ट्रिय फूटबल टिमका पूर्व कप्तान दिपक अमात्य, गैर आवशीय नेपाली संघ अमेरिका न्यूह्यामसर च्याप्टरका अध्यक्ष कमल ढुंगाना र न्यूह्यामसर नेपाली समाजका पूर्वअध्यक्ष सोम गुरुङले संयुक्त रुपमा पुरस्कार, ट्रफी तथा मेडल वितरण गरेका थिए ।

    यसबर्षको प्रतियोगिताको मुख्य प्रायोजन समिट न्यूह्यामसरले गरेको थियो भने अन्य विभिन्न स्थानीय व्यबसायीहरुले सह–प्रायोजन गरेका थिए ।

    न्यूईङ्ल्याण्ड क्षेत्रकै प्रतिष्ठित र ठूलो धनराशी रहेको प्रतियोगितामा न्यूयोर्क, मासाचुसेट्स, कनेक्टिकट, भरमण्ट र न्यूह्यामसर राज्यका गरि १२ टिमले सहभागिता रहेको थियो ।

    ‘खेलको माध्यमबाट न्यूईङ्ल्याण्ड क्षेत्रमा बसोबास गर्ने नेपालीभाषीहरुबीच भाइचारा र भातृत्वको विकास गर्ने हाम्रो निरन्तर प्रयास हो’ आयोजक न्यूह्यामसर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पाले भने ‘आगामी बर्षहरुमा फूटबलका अलवा अन्य खेलहरु पनि थप्दै जानेछौं ।’

    यसैगरी प्रतियोगिताको मुख्य प्रायोजक समिट न्यूह्यामसरका अध्यक्ष रविन थापाले खेलकुद नेपालीभाषी युवापुस्तालाई जोड्ने माध्यम भएको बताए । ‘न्यूईङ्ल्याण्ड क्षेत्रमा बसोबास गर्ने उत्कृष्ठ खेलाडीहरुको टिम बनाएर प्रतियोगिता वा मैत्रीपूर्ण खेलका लागि नेपालसम्मै लाने हाम्रो जमर्को रहनेछ’ उनको भनाइ थियो । थापाले खेलाडीहरुलाई नेपालसम्म लैजानको लागि ब्यबस्थापकीय काममा समिट न्यूह्यामसरले सक्दो सहयोग गर्ने बचन दिए।

  • ८० लाख तिरेर अमेरिका पुगेका रुकुमका ओलीको गोली हानी हत्या

    ८० लाख तिरेर अमेरिका पुगेका रुकुमका ओलीको गोली हानी हत्या

    काठमाडौं । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–१० सेजेका ३० वर्षीय दीपक ओलीको अमेरिकामा हत्या भएको छ । अमेरिकाको टेक्सासमा आइतबार बिहान बन्धुकधारी लुटेरा समूहको आक्रमणबाट ओलीको हत्या भएको हो । मृतकका माइला बुवा खिमबहादुर ओलीले दीपक काम गर्ने टेक्सासको वेको सिटी नजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा गोली हानेर हत्या गरिएको खबर पाएको जानकारी दिएका छन् । टेक्सास मै रहेका सेजे गाउँका विवेक ओली मार्फत घरमा खबर आएको उनको भनाई छ ।


    आइतबार बिहान करिब ५ बजेतिर बन्दुकधारी लुटेराहरूले गोली प्रहार गरेर हत्या गरेको र शव पोस्ट मार्टमको लागि अस्पताल लगिएको बुझिएको माइला बुवा खिमबहादुरले जानकारी दिए । उनले गोली लागेर दीपकको घटनास्थलमै मृत्यु भएको उल्लेख गरे । दीपकको हत्याको खबरपछि गाउँ नै शोकाकुल बनेको छ ।


    दीपकको घरमा बुवा, आमा, श्रीमती, छोरी र दुई भाइ छन् । एक बहिनीको विवाह भइसकेको छ भने एक भाइ दिनेश वैदेशिक रोजगारीको सिलसिलामा कोरिया छन् । कान्छो भाइ जनक अध्ययनको क्रममा काठमाडौँमा छन् । मृतककी २६ वर्षीया श्रीमती विमला बुढाथोकी ओली ५ वर्षीया छोरी पढाउन दाङको तुलसीपुर बस्छन् ।


    खिमबहादुरका अनुसार दीपक एक वर्षअघि मात्र अमेरिका पुगेका हुन् । सन् २०२३ को जुलाई महिनामा अमेरिका पुग्नुभएका दीपक अवैध बाटो हुँदै अमेरिका पुगेका हुन् । दीपकले २०७९ मङ्सिरमा घर छोडेका थिए । अमेरिका पुग्ने क्रममा बाटोमै करिब डेढ वर्ष र ८० लाख रुपियाँ खर्च भएको खिमबहादुरले जानकारी दिए । गोरखापत्रको सहयोगमा

  • सरकारले गर्यो १८ देशमा राजदूत सिफारिस

    सरकारले गर्यो १८ देशमा राजदूत सिफारिस

    काठमाडौं । सरकारले १८ देशमा राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजदूत नियुक्ति सिफारिसको निर्णय गरेको हो । सरकारले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गरेको छ । पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वसचिव चन्द्र घिमिरे राजदूत सिफारिस भएका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा माओवादी केन्द्र र एकीकृत समाजवादीको कोटामा नियुक्त भएका चीन, रुस, अष्ट्रेलियालगायतका देशका राजदूत फिर्ता बोलाउने निर्णय भएको छ ।चीनमा विष्णुपुकार श्रेष्ठ, रुसमा मिलन तुलाधर र अष्ट्रेलियामा कैलाशराज पोखरेल राजदूत छन् । ती देशमा नयाँ राजदूत सिफारिस भएका हुन् ।

  • भारतको जम्मुमा बन्धक बनाइएका २८ नेपाली मजदूरको उद्धार

    भारतको जम्मुमा बन्धक बनाइएका २८ नेपाली मजदूरको उद्धार

    काठमार्डौं । भारतको जम्मुकश्मिरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्धार गरिएको छ । उनीहरु रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सिरहाका २१ र धनुषाका सात जनालाई उद्धार गरी ल्याइएको जानकारी दिए । उनका अनुसार ती मजदुरहरु कश्मिरको श्रीनगरमा पाँच महिनादेखि बन्धक थिए ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पहलमा भारत नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको सहयोग तथा किन इण्डिया संस्थाको समन्वयमा उनीहरुलाई उद्धार गरी नेपाल ल्याइएको हो ।

    बिहीबार साँझ नेपाल ल्याइएका उनीहरुलाई दुवै जिल्लाका मानव बेचविखन नियन्त्रण समितिलाई जिम्मा लगाइएको थियो । शुक्रबार जनकपुरधाममा परिवार मिलन कार्यक्रम गरी परिवारको जिम्मा लगाइएको हो । उनीहरु मजदुरीका लागि बिचौलियामार्फत भारत पुगेको र पाँच महिनादेखि सम्पर्कमा नभएको जनाइएको छ ।

  • नेजाद्वारा क्यानाडामा अन्तरक्रिया;नेप्लिज डायस्पोरा नेपालको सहयोगी शक्तिः राजदूत पौड्याल

    नेजाद्वारा क्यानाडामा अन्तरक्रिया;नेप्लिज डायस्पोरा नेपालको सहयोगी शक्तिः राजदूत पौड्याल

    क्याल्गेरी, क्यानाडा ।

    नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले क्यानाडाको क्याल्गेरीमा समुदाय, सामुदायिक पत्रकारिता र प्रविधिको प्रयोगका सम्बन्धमा अन्तरक्रिया सम्पन्न गरेको छ । गत शुक्रबार भएको अन्तरक्रियामा सहभागीहरूले समुदायका लागि सामुदायिक पत्रकारिताको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो । पछिल्लो समय प्रविधिको विकाससँगै पत्रकारिता गर्ने माध्यम फेरिएको तथा त्यसले अवसर र चुनौति थपेको बताउँदै सहभागीहरूले समुदायले पनि सामुदायिक पत्रकारिताको विकासका लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरूले सामुदायिक पत्रकारिता गर्न गाह्रो रहे पनि समयसँगै सामुदायिक पत्रकारिता व्यावसायिक बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
    सो अवसरमा बोल्दै क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले नेपाल बाहिर बढिरहेको नेप्लिज डायस्पोरा नेपालको सहयोगी शक्ति भएको बताउनुभयो । राजदूत पौड्यालले डायस्पोरा बलियो, समृद्ध र एकताबद्व हुँदा त्यसले नेपाललाई सदैब फाइदा पुग्ने उल्लेख गर्नुभयो । राजदूत पौड्यालले नेप्लिज डायस्पोराको एउटा बलियो आधार सामुदायिक पत्रकारिता भएकाले यसलाई जोगाउनु सबैको जिम्मेवारी भएको बताउनुभयो ।


    कार्यक्रममा युनिभर्सिटी अफ ओट्टवाका प्राध्यापक डा. भानुभक्त आचार्यले विषयवक्ताको रुपमा प्रस्तुति दिँदै समुदायसँग सरोकार राख्ने र समुदायलाई सूचना दिने सामग्रीहरू सामुदायिक पत्रकारिताले उठाउनुपर्ने बताउनुभयो । विषयवक्ता डा. आचार्यले ‘न्युज मिडिया’ र ‘सोसल मिडिया’ बीच रहेको फरकका सम्बन्धमा प्रस्ट पार्नुभएको थियो । डा. आचार्यले समुदायले पनि पत्रकारिता र प्रचारकारिताबीचको फरक थाहा पाई पत्रकारिताको विकासमा योगदान दिनुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रमको अध्यक्षता गर्नुभएका नेजाका अध्यक्ष सुरज भण्डारीले नेजाले समुदायलाई आवश्यक पर्ने सूचना एवं विषयवस्तुलाई नियमित रुपमा भर्चुअल माध्यममार्फत आमसमुदायबीच प्रवाह गर्ने बताउनुभयो । अध्यक्ष भण्डारीले नेजामा उत्तर अमेरिकामा बसोवास गर्ने नेपाली पत्रकारहरूको संलग्नता रहेको हुँदा सबैले हातेमालो गर्दै पत्रकारिताको माध्यमबाट समाजसेवा गर्न सबै पत्रकारलाई आग्रह गर्नुभयो ।
    नेजाका महासचिव बाबुराम दाहालको सञ्चालन र सदस्य प्रकाश क्षेत्रीको स्वागत रहेको कार्यक्रममा एनआरएनए, क्यानाडाका अध्यक्ष माधव दुलाल, पूर्वअध्यक्ष विनोद केसी, दीपक गौतम, सम्राट थापा, एनआरएनए आईसीसी सदस्य हेमराज पाण्डेय, नेप्लिज कम्युनिटी सोसाइटी अफ क्याल्गेरीका अध्यक्ष प्रकाश बस्याल, पूर्वअध्यक्ष श्रीकान्त अर्याल, उपाध्यक्ष सूर्य अधिकारी, क्याल्गेरी नेप्लिज कम्युनिटी एसोसिसएसनका पूर्वअध्यक्ष दिनेश घिमिरे, अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष समीर पाण्डे, उपाध्यक्ष दिवस ढकाल, गुल्मेली समाज क्याल्गेरीका अध्यक्ष राजेन्द्र गौतम, नेवा सोसाइटी अफ क्याल्गेरीका अध्यक्ष हेमन्त महर्जन, सामाजिक अभियन्ताहरू राजेन्द्र पोखरेल, अनन्त आचार्य, शर्मिला रानाभाट, जानुका अर्याल, स्पन्दना आचार्य, बबिता अधिकारी, छवि अर्याल, विकास ढकाल, जगदीश चापागाईं, नरेश पोखरेल, सुमन चौलागाईं,राजीव शर्मा, विश्व भण्डारी, डम्बर सिन्च्युरी, विष्णु बजगाईं, टेक क्षेत्रीले समुदायको तर्फबाट धारणा राख्नुभएको थियो । यसैगरी, कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीहर बालमुकुन्द नेपाल, उमा ढकाल, सोमेश बर्मा, प्रमोश पोखरेल, एसपी गौतम, नरेश पोखरेल, कुसुम ज्ञवाली, युवराज पौड्यालले धारणा राख्नुभएको थियो । नेजाका क्यानाडा संयोजक गोकर्ण लामिछाने र सदस्य प्रकाश क्षेत्रीको संयोजनमा कार्यक्रम भएको थियो ।

  • यूएईमा मृत्युदण्ड पाएका दुई नेपालीले पाए सफाई

    यूएईमा मृत्युदण्ड पाएका दुई नेपालीले पाए सफाई

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा मृत्युदण्डको सजाय सुनाइएका दुई जना नेपालीले सफाइ पाएका छन् । पाँच वर्षअघि एक नेपालीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका ओखलढुंगाका भुवन श्रेष्ठ र धादिङका पहलमान थापाले गएको बुधबार यूएईको अदालतबाट सफाइ पाएका हुन् । मृतकका परिवारलाई ब्लडमनीबापत् १ करोड १३ लाख बुझाएपछि श्रेष्ठ र थापा गत बुधवार यूएईको जेलबाट रिहा भएका हुन् ।

    श्रेष्ठ बिहीबार स्वदेश फर्केका छन् भने थापाको पासपोर्टको म्याद सकिएका कारण यूएईमै छन् । उनी केही दिनभित्र नेपाल आउने उनका मामा तेजबहादुर आलेले जानकारी गराए । ३ जुन २०१९ मा नवलपरासीका बाबुराम आलेमगरको हत्या आरोपमा श्रेष्ठ र थापालाई यूएईको उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।

    पाँच वर्षदेखि यूएईको सारजाह जेलमा रहेका श्रेष्ठ र थापाको उद्धारका लागि नेपालमा अभियान चलाइएको थियो । देश–विदेशबाट संकलित रकम पीडित परिवारलाई बुझाएपछि श्रेष्ठ र थापा जेलमुक्त भएका हुन् ।

  • टाइम म्यागाजिनको १ सय सर्वोकृष्ट गन्तब्य भित्र नेपालको बर्दिया

    टाइम म्यागाजिनको १ सय सर्वोकृष्ट गन्तब्य भित्र नेपालको बर्दिया

    काठमाडौं । विश्वप्रसिद्ध म्यागाजिन टाइमले सन् २०२४ का लागि ‘संसारका १०० सर्वोत्कृष्ट ठाउँ’ को सूची सार्वजनिक गरेको छ । जसमा नेपालको बर्दिया अटाउन सफल भएको छ । निकुन्जस्थित ‘बुरहान वाइल्डरनेस क्याम्प्स’लाई टाइमले हाइलाइट गरेको छ । टाइमले यो वर्षका लागि तयार पारेको उक्त सूचीमा कसैलाई पनि क्रमांक दिएको छैन ।

    भ्रमण गर्न र बस्नका लागि सर्वोत्कृष्ट १ सय ठाउँको सूचीमा बर्दियाको बुरहान वाइल्डरनेस क्याम्प्स पर्न सफल भएको छ । टाइमले यस्तो सूची प्रत्येक वर्ष प्रकाशन गर्दै आएको छ । एक शताब्दीदेखि अमेरिकाको न्युयोर्कबाट प्रकाशन हुँदै आएको साप्ताहिक म्यागाजिन टाइमको यस्तो सूची हेरेर संसारका करोडौं पर्यटक विभिन्न गन्तव्य भ्रमण गर्न जान्छन् ।

    ‘बुरहान वाइल्डरनेस क्याम्प्सले बर्दिया राष्ट्रिय निकुञ् प्रवेश नगरिकनै पर्यटकलाई बुसवाक, क्यानोइ ट्रिप, वाइल्डलाइफ ट्र्याकिङ र जंगल सफारीमा जीपको अगाडिको सिटमा बसेर हात्ती, एक सिंगे गैंडा, हरिणलगायत जनावर नजिकबाट देखाउने सुविधा उपलब्ध गराउँछ,’ टाइमले संरक्षणविद् मनोज गौतमलाई उद्धृत गर्दै आफ्नो सूचीमा लेखेको छ, ‘यी सबै जनावर देखिन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन तर पाटेबाघ देखिने सम्भावन भने उच्च रहन्छ, जसका लागि कम्तीमा तीन दिन त्यहाँ बस्नुपर्छ । यदि बाघ देखिएन भने पनि रातभरि बाघ कराएको भने सुन्न सकिन्छ ।’

    जेन गुडल इन्स्टिच्युट नेपालका पूर्वनिर्देशक समेत रहेका गौतमले बर्दिया निकुञ्जभन्दा बाहिर खाटा वाइल्डलाइफ करिडोरमा एक टुक्रा जग्गा किनेर उक्त वाइल्डरनेस क्याम्प्स सञ्चालन गरिरहेको टाइमले लेखेको छ । पर्यटनमा दिगो भविष्य निर्माण गर्ने उद्देश्य लिएर गौतमले खरिद गरेको जग्गामा बनाइएको वाइल्डरनेस क्याम्प्स कर्णाली नदीको दुई भंगालोको बीचमा रहेको छ ।

    टाइमका अनुसार गौतमको क्याम्प्सले जंगली जनाव संरक्षलाई उच्च प्राथमिकता दिएको छ । गौतमले सौर्य ऊर्जाबाट चल्ने एउटा ट्रिहाउस पनि बनाएका छन्, जुन वर्षा मौसम सकिएपछि सञ्चालन हुने गर्छ । त्यस्तै पर्यटक भएका बेलामात्र सफारी टेन्ट स्थापना गरिन्छ । पर्यटक आएपछि स्थानीय अर्गानिक खानेकुरा पस्किने गरिएको छ ।

    गौतमले रोजगारीका माध्यमबाट आदिवासी थारू संस्कृतिमा सहयोग गर्न नजिकै गाउँमा झिँगटीको छानो भएको लामो टहरा बनाएर पर्यटकलाई बास बसाउँदै आएका छन् । जहाँ मानव–बाघ द्वन्द्वमा जीवन जोगाउने समाधानका उपायबारे जानकारी गराइने टाइमले उल्लेख गरेको छ ।

    ‘संरक्षणको फाइदा स्थानीय समुदायलाई पुग्ने गरी काम गरिएको छ । बफर जोनमा जिम्मेवार पर्यटन विकास गर्दै जाने उद्देश्य छ,’ टाइमले गौतमलाई उद्धृत गर्दै लेखेको छ, ‘बर्दियाको जस्तै मोडेलमा देशका अन्य दुर्गम क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा पनि क्याम्प सञ्चालन गर्ने लक्ष्य छ ।’

    टाइमले तयार पारेको सूचीमा न्यु मेक्सिकोको सान्टा फेमा रहेको मोडर्न एल्डर एकेमडेमी, अन्टार्कटिकाको ह्वाइट डेजर्ट, केन्याको अन्गामा अम्बोसेली, इन्डोनेसियाको बाम्बु इन्डाह, पोर्चुगलको भर्मेल्हो होटल, अस्ट्रेलियाको सन र्‍यान्च, कतारको आवर ह्याबिट्यास रास अब्रोक, आइस्ल्यान्डको हाइल्यान्ड बेस, अमेरिकाको स्नो पिक लङ बिच क्याम्पफिल्ड लगायत छन् ।

    त्यसैगरी मलेसिया, इक्वेडर, मेक्सिको, अलास्का, थाइल्यान्ड, पेरिस, स्पेन, साउदी अरब, नर्वे, भुटान, लन्डन, नैरोबी, अस्ट्रिया, बोत्स्वाना, लस भेगास, अर्जेन्टिना, अल्बानिया, बहामास, नेदरल्यान्ड लगायत ठाउँ पनि यो सूचीमा परेका छन् ।

  • यूएनका लागि नेपाली स्थायी प्रतिनिधि थापा इकोसकको उपाध्यक्षमा नियुक्त

    यूएनका लागि नेपाली स्थायी प्रतिनिधि थापा इकोसकको उपाध्यक्षमा नियुक्त

    काठमाडौं । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघ ९यूएन० का लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को सन् २०२५ को सत्रको लागि उपाध्यक्षमा बिहीबार नियुक्त भएका छन् । इकोसकलाई संयुक्त राष्ट्र संघको एउटा महत्वपूर्ण अंगको रुपमा लिइन्छ । थापा एसिया–प्रशान्त मुलुकहरुको तर्फबाट सन् २०२५ को सत्रको लागि उपाध्यक्षमा नियुक्त भएको संयुक्त राष्ट्र संघले जनाएको छ ।

    यस्तै, पूर्वी यूरोपेली मुलुकहरुबाट पोल्यान्ड र ल्याटिन अमेरिका र क्यारेबियन मुलुकहरुबाट कोस्टारिकाले उपाध्यक्ष पाउन सफल भएको छ । करिअर कुटनीतिक थापा एक वर्ष अघि स्थायी प्रतिनिधिको जिम्मेवारीसहित न्युयोर्क पुगेका हुन् । उनले यस अघि बेल्जिय तथा इयूका लागि राजदूतको भूमिका सफलता पूर्वक निर्वाह गरिसकेका छन् ।

  • बंगलादेशमा थामियो आन्दोलन, विदेशी विद्यार्थीलाई समेत जोखिम कम

    बंगलादेशमा थामियो आन्दोलन, विदेशी विद्यार्थीलाई समेत जोखिम कम

    काठमाडौं । बङ्गलादेशमा आन्दोलन मत्थर भएसँगै त्यहाँस्थित नेपाली विद्यार्थी अब स्वदेश फर्किनुपर्ने अवस्था नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आरक्षणसम्बन्धी व्यवस्थाका विषयमा त्यहाँको सर्वोच्च अदालतले उच्च अदालतको निर्णय खारेज गरेसँगै आरक्षणविरोधी आन्दोलन तुहिएको हो । आन्दोलन अन्त्य भएकाले अब नेपाली विद्यार्थीले असुरक्षित महसुस गर्नुपर्ने अवस्था नरहेको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताएका छन् ।

    फर्किन टिकट काटिसकेका र त्यो रद्द गर्न नमिल्ने अवस्थाबाहेकका विद्यार्थीलाई नफर्किन अनुरोध गरिएको राईले जानकारी दिए । फर्कनैपर्ने बाध्यता रहेको र अझै असुरक्षित महसुस गरिरहेका हकमा स्वनिर्णयले फर्किन पाउने उनको भनाई छ । मन्त्रालयका अनुसार मङ्गलबारसम्म एक हजार तीन सय नेपाली विद्यार्थी स्वदेश फर्किसकेका छन् ।


    हवाईमार्ग र स्थलमार्ग गरेर सोमबार मात्र १२६ जना नेपाल भित्रिएका छन् । नेपाली विद्यार्थीसँगै आएका माल्दिभ्स, भुटानलगायत देशका विद्यार्थीलाई पनि सुरक्षाका लागि नेपाल आउन दिइएको छ ।

    टिकट काटिसकेका हकमा फर्किन चाहनेलाई दूतावासले समन्वय गरिरहेको परराष्ट्र मन्त्रालयका सूचना अधिकारी ऋषिराज आचार्यले जानकारी दिए । बङ्गलादेशमा नेपालबाट चिकित्साशास्त्र अध्ययनका लागि विद्यार्थी जाने गरेका छन् । कतिपय सरकारी छात्रवृत्तिमा र कतिपय आफ्नै खर्चमा त्यहाँ अध्ययनका लागि जाने गरेका छन् ।

    बङ्गलादेशमा तीन हजार जना नेपाली विद्यार्थी तथा केही व्यावसायिक र सरकारी कामकाजको सिलसिलामा नेपाली नागरिक रहेको जनाइएको छ ।

  • ”विकासशील मुलुकमा स्तरोन्नतीको यात्रामा इजिप्टले नेपाललाई साथ दिन्छ”

    ”विकासशील मुलुकमा स्तरोन्नतीको यात्रामा इजिप्टले नेपाललाई साथ दिन्छ”

    काठमाडौं । नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा एलगेब्लीले २०८३ साल मङ्सिरमा विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

    इजिप्टको राष्ट्रिय दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा मङ्गलबार साँझ आयोजित स्वागत समारोहमा राजदूत एलगेब्लीले अल्पविकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा सहज ढङ्गले स्तरोन्नत हुन नेपाललाई आफ्नो मुुलुकले सघाउने बताइन् ।


    नेपालको आर्थिक–सामाजिक प्रगति एवं राजनीतिक स्थायित्व इजिप्टको चाहना भएको बताउँदै उनले असंलग्न आन्दोलन (नाम), जी–७७ संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय मञ्चमा इजिप्ट र नेपालबीच साझा चासोका विषयमा सहकार्य हुँदै आएको बताइन् ।

    जलवायु परिवर्तनलगायत आपसी हितका विषयहरूमा पनि इजिप्ट र नेपालबीच साझेदारी रहेको बताउँदै राजदूत एलगेब्लीले नामको संस्थापक सदस्य नेपाल इजिप्टको निकटको मित्र भएको बताइन् । सन् १९५७ मा नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गरेयता द्विपक्षीय सम्बन्ध अझ सुदृढ बन्दै गएको चर्चा गर्दै उनले इजिप्टका पिरामिड र नेपालको सगरमाथा विश्वभरका पर्यटकका निम्ति आकर्षणका केन्द्र बनेका बताइन् ।


    नेपालसँग सबैभन्दा पहिले कूटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुक इजिप्टले तीन सयजना नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको अवसर दिएको उल्लेख गर्दै भविष्यमा छात्रवृत्तिका कोटा बढाउन आफू प्रतिबद्ध रहेको बताइन् । दुई देशबीचको परामर्श संयन्त्रले चाँडै त्यस सम्बन्धमा निर्णय गर्ने जानकारी पनि उनले दिइन् । आर्थिक साझेदारी, लगानी एवं व्यापारका क्षेत्रमा भने दुई देशले अझै धेरै काम गर्न बाँकी रहेको बताइन् ।


    सन् १९५२ को क्रान्ति इजिप्टको विकासको वाहक बनेको बताउँदै राजदूत एलगेब्लीले गरिमामय इतिहासलाई कायम राख्दै निरन्तर विकासको बाटोमा अग्रसर हुन आफ्नो देशका जनतालाई राष्ट्रिय दिवसले प्रेरित गरेको उल्लेख गरिन् ।

  • भारतमा आयो नयाँ बजेट, नेपाललाई ११ अर्ब २० करोड अनुदान

    भारतमा आयो नयाँ बजेट, नेपाललाई ११ अर्ब २० करोड अनुदान

    काठमाडौं । भारतमा नयाँ बजेट सार्वजनिक भएको छ । लोकसभा चुनावमा बीजेपी नेतृत्वको एनडीएको जितपछि अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार बजेट प्रस्तुत गरेकी छन् । यो उनको सातौं बजेट हो । नरेन्द्र मोदी नेतृत्वको तेस्रो कार्यकालको यो पहिलो बजेट हो ।

    मंगलबार सार्वजनिक भएको बजेट अप्रिल १ देखि लागू हुनेछ । मोदी सरकारको नयाँ बजेटमा ग्रामीण विकास, साना व्यवसायको प्रवद्र्धन, सीप, रोजगारी र कृषिमा जोड दिएको छ । अर्थमन्त्री सीतारमणले बेरोजगारीको चुनौती सामना गर्न तीनवटा नयाँ योजना घोषणा गरेकी छन् । आगामी पाँच वर्षसम्म चल्ने योजनाका लागि दुई हजार करोड रुपैयाँ विनियोजन भएको छ ।

    औपचारिक क्षेत्रमा पहिलो पटक जागिर खोज्नेहरूलाई सरकारले उनीहरूको पहिलो महिनाको तलबमा १५ हजार सम्मको थप प्रत्यक्ष नगद उपलब्ध गराउने जनाएको छ । सरकारले उक्त रकम ईपीएफओमार्फत कर्मचारीको खातामा जम्मा गर्नेछ । यससँगै सरकारले निर्माण कार्यलाई तीव्रता दिन थप दुईवटा कार्यक्रम घोषणा गरेको छ । जसमा सरकारले कर्मचारी र रोजगारदाता दुवैलाई रोजगारी सम्बन्धी प्रोत्साहन दिनेछ ।

    यो निर्णयले भारतमा द्रूत रूपमा बढिरहेको स्टार्टअप उद्यम खुसी भएको बीबीसी हिन्दीले लेखेको छ । निजी कम्पनीहरूले उठाउने पुँजीमा भएको एन्जल कर हटेको छ । यससँगै मध्यमवर्गलाई केही राहत दिँदै सरकारले करका दरमा परिवर्तन गरेको छ । यो घोषणाले सानो आम्दानी गर्नेलाई राहत महसुस गराउने छ । जसअनुसार ३ लाखसम्म आम्दानी गर्नेलाई कर लाग्ने छैन । वार्षिक ३ देखि ७ लाखसम्म कमाउनेलाई ५ प्रतिशत कर लाग्ने छ ।

    यो बजेटमा विदेशी लगानीलाई पनि प्राथमिकता दिइएको छ । विदेशी कम्पनीमा लाग्ने कर्पोरेट कर ४० प्रतिशतबाट घटाएर ३५ प्रतिशतमा झारिएको छ ।
    बजेटमार्फत भाजपाले सत्तारुढ दुई महत्वपूर्ण सहयोगी दलको माग पूरा गर्ने प्रयास गरेको देखिन्छ । बिहारमा भाजपाको सहयोगी जनता दल युनाइटेड र आन्ध्र प्रदेशमा तेलुगू देशम पार्टीलाई खुसी राख्ने प्रयास गरिएको छ ।

    अर्थमन्त्री सितारमणले राजधानीको विकासका लागि आन्ध्र प्रदेशलाई १५ हजार करोड रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेकी छन् । थप सहयोग गर्ने समेत जानकारी गराइएको छ । यसबाहेक विहारका विमानस्थल, सडक र विद्युत् आयोजना निर्माणलाई प्राथमिकतामा राखिएको छ । यसका लागि २६ हजार करोड रुपैयाँ विनियोजना गरिएको छ ।

    बजेटले वित्तीय घाटा घटाउने लक्ष्य राखेको छ । खर्चको तुलनामा सरकारको आम्दानीमा कमी हुनुलाई वित्तीय घाटा भनिन्छ । यो सरकारको कुल आम्दानी र खर्चको अन्तर हो । सरकारले आफ्नो स्रोतभन्दा बढी खर्च गर्दा वित्तीय घाटाको अवस्था सिर्जना हुन्छ । यो वर्षको बजेटमा वित्तीय घाटा ४.९ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको छ । गत वर्षको बजेटमा ५.१ प्रतिशतको लक्ष्य थियो । भारतीय रिजर्व बैंकले सरकारलाई दिएको २.११ लाख करोड रुपैयाँको लाभांशले यो घाटा कम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसबाट सरकारले खर्च कटौती नगरी घाटा कम गर्ने आफ्नो लक्ष्य भेटाउने बताइएको छ ।

    भारत सरकारले आर्थिक वर्ष २०२४–२५ का लागि ४८,२०,५१२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये पुँजीगततर्फ ११,११,११ करोड रुपैयाँ रहेको छ । वर्षको पुँजीगततर्फ छुट्याइएको बजेटमा यो १६.९ प्रतिशतले बढी हो । अर्थशास्त्री तथा क्वाइन्टइको रिसर्चका संस्थापक शुभदा राव भन्छिन्, ‘यो बजेटले सरकारको ध्यान रोजगारी, साना व्यवसाय र समाज कल्याणमा केन्द्रित भएको स्पष्ट पार्छ ।’

    बजेटमा सबै वित्तीय तथा गैरवित्तीय सम्पत्तिमा दीर्घकालीन पुँजीगत लाभमा लाग्ने कर १० प्रतिशतबाट बढाएर १२.५ प्रतिशत पुर्‍याइएको छ । भारतमा एक वर्षभन्दा बढी समयसम्म राखिएको सम्पत्तिलाई दीर्घकालीन भनिन्छ । अल्पकालीन पुँजीगत लाभमा लाग्ने कर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएको छ । सितारमणले ल्याएको यो बजेटले डेरिभेटिभ कारोबारमा धितोपत्र कारोबार कर पनि बढाएको छ । भारतीय सेयर बजारका साना लगानीकर्ताले यसले राम्रो संकेत नगरेको प्रतिक्रिया दिएका छन् ।

    भारतले नयाँ बजेटमार्फत नेपाललाई ७ अर्ब भारु (११ अर्ब २० करोड) अनुदान विनियोजन गरेको छ ।

  • बंगलादेशबाट १३ सय नेपाली स्वदेश फिर्ता

    बंगलादेशबाट १३ सय नेपाली स्वदेश फिर्ता

    काठमाडौं । बङ्गलादेशमा जारी हिंसाका बीच १३ सय नेपाली स्वदेश फर्किएका छन् । त्यस मुलुकमा रहेका नेपाली विद्यार्थी समेत सबै जना सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी गराउँदै हालसम्म एक हजार तीन सय स्वदेश फिर्ता भई सकेको र बाँकी सुरक्षित रहेको जानकारी दिएको हो ।

    उता बंगलादेशमा भने आन्दोलन केही मत्थर भएको छ । अदालतले कोटा प्रणालीमा व्यापक कटौती गरिदिएको छ । विद्यार्थीहरुले मृतकलाई क्षतिपूर्ति, घाइतेका उपचार र जेलमा रहेका साथिहरुको रिहाईको माग गर्दै ४८ घण्टाको अल्टिमेटम दिएका छन् ।

  • विदेश भ्रमणबारे प्रधानमन्त्रीले मन्त्रीहरुलाई के भने ?

    विदेश भ्रमणबारे प्रधानमन्त्रीले मन्त्रीहरुलाई के भने ?

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा विदेश भ्रमणबारे निर्देशन दिएका छन् । उनले फटाफट काम गर्नुपर्ने बेला भएकाले सकेसम्म मन्त्री, सचिव लगायत उच्च पदस्थ विदेश भ्रमणमा नजान निर्देशन दिएका छन् । विदेश जानैपर्ने भए अवधि छोट्याउन उनले निर्देशन दिएका छन् । भ्रमण टोलीमा महिला हुनैपर्ने समेत प्रधानमन्त्रीको निर्देशन छ ।


    ‘भ्रमण मण्डलमा दुई जनामात्रै भए पनि कम्तीमा एक महिला अनिवार्य हुनैपर्ने निर्णय भएको बताइएको छ । रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै प्रधानमन्त्रीले सकेसम्म भ्रमण नै नगर्न निर्देशन दिएका छन् ।

    सोमबारको मन्त्रिपरिषद बैठकले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको विदेश भ्रमण स्वीकृत गरेको छ । उद्योगमन्त्री भण्डारी विमस्टेक बैठकमा र खेलकुदमन्त्री चौधरी ओलम्पिक खेल समारोहका लागि फ्रान्स जान लागेका छन् ।

  • इजरायलमा २ हजार केयर गिभर श्रमिक पठाइने

    इजरायलमा २ हजार केयर गिभर श्रमिक पठाइने

    काठमाडौं । द्वन्द्वग्रस्त मुलुक इजरायलमा २ हजार संख्यामा केयर गिभर श्रमिक पठाइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालस्थित इजरायली राजदूत हनान गोडर गोल्डबर्गरबीच भएको भेटवार्तामा नेपाली केयर गिभरहरूको संख्या बढाउने सहमति भएको हो । गत असारमा इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि ८०० जनाको आवेदन खोलेको थियो ।

    अब यो संख्या ८०० बाट बढाएर २ हजार पुर्‍याउन सकिने गरी सहमति भएको श्रम मन्त्रालयले जनाएको छ । जसमा एक हजारलाई मुख्य र बाँकी एक हजारलाई वैकल्पिक उम्मेदवारका लागि कोटा छुट्टाइएको छ । यता, द्वन्द्वग्रस्त मुलुक इजरायलमा नागरिक पठाउन लागिएको भन्दै आलोचना भइरहेको छ ।
    इजरायल–प्यालेस्टाइन द्वन्द्वमा हराएका नेपाली नागरिक विपिन जोशी अहिलेसम्म पत्तो लागेको छैन ।

  • बंगलादेशबाट आज थप १७ नेपाली स्वदेश फर्किदैं

    बंगलादेशबाट आज थप १७ नेपाली स्वदेश फर्किदैं

    काठमाडौं । बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थी आज काठमाडौँ आउनेभएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको छ ।

    प्रधानमन्त्री ओलीले शनिबार राति सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा भनिएको छ, “बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् । ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको छ ।”

    प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गरेका छन् । बङ्गलादेशमा सरकारी सेवा प्रवेशमा निर्धारित गरिएको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । करिब तीन हजार नेपाली विद्यार्थी बङ्गलादेशमा रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

  • उपसभामभुख विवादमा रास्वपाको बचाउ

    उपसभामभुख विवादमा रास्वपाको बचाउ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणमा पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्दै अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नभएको जिकीर गरेको छ ।

    भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरु नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नेदेखिएको र कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाको भनाइ छ । रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले उपसभामुख रानामगरले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी छन् ।

    एक वर्ष अघि ‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिन जाने क्रममा उनले आफूसँगै ४ पुरुष र एक महिलालाई समेत लैजानेगरी दूतावासमा पत्र पठाएकी थिइन् । आर्थिक लेनदेनसँग सम्बन्धित अडियो संवादसमेत सार्वजनिक भएको छ । त्यसको सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको रास्वपाले जनाएको छ । भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार देखिँदैन,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

  • बंगलादेश आन्दोलन : ८ सय नेपाली स्वदेश फर्किए

    बंगलादेश आन्दोलन : ८ सय नेपाली स्वदेश फर्किए

    काठमाडौं । बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलन हिंसात्मक बन्दै गएको छ । यो घटनापछि आठ सय नेपाली विद्यार्थीले बंगलादेश छाडेका छन् । परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत शनिबारसम्ममा आठ सय नेपालीले हवाई र स्थलमार्ग हुँदै बंगलादेश छाडेको जनाएको हो ।


    ढाका विमानस्थल र अन्य स्थल नाका हुँदै नेपाली विद्यार्थीको सुरक्षित यात्राका लागि ढाकास्थित नेपाली दूतावासले सहजीकरण गरिरहेको समेत मन्त्रालयले उल्लेख गरेको छ । बंगलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका लागि ‘हेल्प डेस्क’ समेत स्थापना गरिएको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बंगलादेशको सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीलाई आइतबार नेपाल फर्काउन प्रबन्ध मिलाएको जानकारी दिएका छन् ।

    प्रधानमन्त्री ओलीले शनिबार साँझ सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा भनिएको छ, ‘बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् ।

    ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीहरूलाई आइतबार बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौं फर्काउने प्रबन्ध गरिएको छ ।’

    बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सहभागी व्यक्तिका सन्तानलाई सरकारी सेवामा गरिएको विशेष आरक्षणको विरोधमा विश्वविद्यालय र क्याम्पसका विद्यार्थीले सुरु गरेको प्रदर्शन केही दिनयता हिंसात्मक बनेको हो । अहिलेसम्म कम्तीमा एक सय जनाले ज्यान गुमाइसकेको बंगलादेशस्थित अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

    बंगलादेशका विभिन्न भागमा भएका प्रदर्शनीमा सयौं जना घाइते भएका छन् । बीबीसीका अनुसार बंगलादेश सरकारले शुक्रबार रातिदेखि देशभर कर्फ्यु लगाएको छ । त्यस्तै सञ्चार सेवा, इन्टरनेट र टेलिफोनका सेवा विच्छेद गरिएको छ ।आन्दोलन चर्किंदै गएपछि त्यहाँ रहेका नेपाली विद्यार्थी हवाई र भारतीय स्थलमार्ग हुँदै फर्कन थालेका हुन् ।

    यसअघि बंगलादेशमा आन्दोलन हिंसात्मक बन्दै गएपछि नेपाल, भारत र भुटानका साढे ६ सयभन्दा बढी नागरिक बोगुरा नाका हुँदै मेघालय प्रवेश गरेको भारतीय सञ्चारमाध्यमले जनाएका थिए । जसमा १ सय ५७ जना नेपाली रहेको त्यहाँको गृह विभागलाई उद्धृत गरिएको समाचारमा उल्लेख छ । मेघालय प्रवेश गर्नेमा अधिकांश विद्यार्थी रहेको पनि जनाइएको छ ।

    बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सक्रिय व्यक्तिका छोराछोरीलाई सरकारी जागिरमा दिइएको आरक्षणको विरोधमा सुरु भएको आन्दोलनले हिंसात्मक रूप लिएको हो । ‘मुक्ति बाहिनी’ को स्वतन्त्रता संग्रामपछि बंगलादेश सन् १९७१ मा पाकिस्तानबाट अलग भएको थियो । उक्त आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीले विभिन्न स्थानमा र्‍याली गर्दै आएका थिए । आन्दोलन चर्किंदै गएपछि विश्वविद्यालय, क्याम्पस र विद्यालयहरू अनिश्चितकालीन बन्द गरिएको छ ।

  • इजरायलका नाममा हुने ठगीबाट बच्न सरकारको आह्वान

    इजरायलका नाममा हुने ठगीबाट बच्न सरकारको आह्वान

    काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभरका लागि पठाइदिने भन्दै विभिन्न संस्था र व्यक्तिले अनधिकृत रूपमा रकम असुुली गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक पठाउने प्रव्रिmया जिटुुजी अन्तर्गत पर्ने भएकाले कुुनै व्यक्ति वा संस्थाले अनधिकृत रूपमा पैसा मागेका भरमा नदिन सर्वसाधारणको ध्यानाकर्षण गराएको छ ।

    विभागले विज्ञप्तिमार्फत इजरायल पठाइदिने भनेर केही व्यक्ति र समूहले युुवासँग मनलाग्दी रूपमा रकम असुुली गरेको उजुरी विभागमा आएको र त्यस्ता व्यक्ति वा समूहबाट सचेत रहन सबैलाई आग्रह गरेको हो । विभागमा महानिर्देशक डण्डुुराज घिमिरेले इजरायलमा केयरगिभर श्रमिक पठाइदिने भनी विभिन्न निकाय तथा व्यक्तिले अनधिकृत रूपमा रकम असुुली गरेको विभागमा सूचना प्राप्त भएको र ती व्यक्ति वा संस्थाको गोप्य रूपमा निगरानी बढाएको जानकारी दिए ।


    उनले इजरायलको केयरगिभर क्षेत्रमा पठाइदिने भनी रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति तथा समूहबाट देखाइएको प्रलोभन नपर्न युुवालाई आग्रहसमेत गरे । विभागलाई प्राप्त सूचनाका आधारमा यस किसिमका ठगी र गलत प्रचारका सम्बन्धमा विभागले सूक्ष्म रूपमा अनुसन्धान गरिरहकाले यस्ता कार्य भए गरेको जानकारी भएमा जोसुुकैले कल सेन्टरलगायतका विभागमा सूचना दिन अनुुरोध गरेको छ ।

    विभागले इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि दोस्रो चरणमा आठ सय नेपाली श्रमिक लैजानका लागि असार ११ गतेदेखि साउन ११ गतेसम्म आवेदन दिन आह्वान गरेको छ ।

    विभागका अनुसार वैकल्पिक तीन सय जनासहित आठ सय जनाको केयरगिभरका लागि आवेदन आह्वान हो । नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउँदै आएको छ । यसमा निजी क्षेत्रको संलग्नता छैन । इजरायल जान इच्छुकले आउँदो साउन ११ गतेसम्म आवेदन दिनुुपर्ने विभागले जनाएको छ ।

  • परराष्ट्र मन्त्रालयले भन्यो : बंगलादेशमा नेपाली सुरक्षित छन्

    परराष्ट्र मन्त्रालयले भन्यो : बंगलादेशमा नेपाली सुरक्षित छन्

    काठमाडौं । परराष्ट्र मन्त्रालयले बंगलादेशमा नेपाली विद्यार्थी सुरक्षित रहेको बताएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै ढाकास्थित नेपाली दूतावासकै सहयोगमा त्यहाँका सबै विद्यार्थी सुरक्षित रहेको बताएको हो । विद्यार्थीको थप सहजताका लागि निरन्तर प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । तत्काल कुनै थप सहयोग आवश्यक भएमा दूतावासमा सम्पर्क गर्न सकिनेछ । त्यसका लागि अभिभावक र आफन्तले जुनसुकै समयमा दूतावासमा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले उल्लेख गरेको छ ।

    दूतावासका द्वतीय सचिव योजना बम्जन र रिया केसीलाई सम्पर्क व्यक्ति तोकिएको छ । बम्जनलाई ‌: ८८०१८८०६९१०१३ र रियालाई : ८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गर्न सकिनेछ । यसअघि दूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको थियो ।

    बंगलादेशमा सरकारी जागिरमा रहेको कोटाको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । आन्दोलनका क्रममा मानवीय क्षति बढ्दै गएको छ । हालसम्म ३५ जनाको मृत्यु भएको छ भने देशभर कर्फ्यु लगाइएको छ ।

  • दूतावासलाई लेखेको पत्रमा विवादित उपसभामूखको आयो स्पष्टीकरण

    दूतावासलाई लेखेको पत्रमा विवादित उपसभामूखको आयो स्पष्टीकरण

    काठमाडौं । आफूसहित ६ जनाको भिसा अन्तर्वार्ताको समय मिलाइदिन अमेरिकी दूतावासलाई लेखेको पत्र विवादबारे उपसभामुख इन्दिरा रानामगरले प्रष्टीकरण सार्वजनिक गरेकी छिन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उपसभामुख रानामगरले आफूले करूणाभावले सहयोग गर्न खोजेको तर विवादित बनाइएको प्रतिक्रिया दिइन् ।

    दूतावासलाई पत्र लेखेको एक वर्षपछि उक्त विषय नियोजित रूपमा बाहिर ल्याइएको पनि उपसभामुख रानामगरको भनाई छ । सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई पत्र लेखेकी थिइन्।

    उनले पत्रमा आफूसहित सबैका लागि उक्त कार्यक्रम महत्वपूर्ण भएको र संयुक्त राष्ट्रसंघबाट आएको निम्तोलाई उच्च प्राथमिकतामा राखेको समेत उल्लेख गरेकी थिइन्। रानाले पत्रमा उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङ सहभागी हुन लागेको उल्लेख गरेकी थिइन्।

    ‘यात्रा गर्नु पर्ने समयावधि अत्यन्त छोटो रहेको तर राजदुतावासमा अन्तर्वार्ता को मिति लिन लामो समय कुर्नु पर्ने अवस्था रहेको अवस्थामा मैले मसँगै उक्त कार्यक्रममा सहभागी हुन जान निमन्त्रणा आएको र उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिईदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासलाई अन्तर्वार्ताको लागी मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ,’ त्यसबारे प्रष्टीकरण दिँदै उपसभामुख रानामगरले उल्लेख गरेकी छन्, ‘कसैलाई भिसा दिने वा नदिने स्वस् निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ । मैले कसैको भिसाको लागि अनुरोध पनि गरेकी छैन।’

    उनले उपसभामुखको जिम्मेवारी वहन गरेको केही साताभित्र आएका निमन्त्रणामा सँगै जानुपर्ने भनि आएको अनुरोधलाई स्वीकार गरी लेखिएको पत्र पदीय मर्यादा अनुरुप भएन भनी आइरहेका प्रतिक्रिया तथा दृष्टिकोणप्रति पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्। ‘

    तर मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेड वर्षपछि विवादित गराउन खोज्नु म विरुद्ध नियोजित कदम रहेको देखिन्छ। मलाई नजिकबाट चिन्नेहरु मेरो स्वभावसँग जानकार नै हुनुहुन्छ । मेरा स्वभावगत कमजोरीहरु धेरै होलान्, त्यसबाट फाइदा उठाउनेहरु पनि धेरै होलान् तर अनैतिक कार्य मबाट भएको छैन, हुने छैन,’ विज्ञप्तिमा उल्लेख छ।

  • अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख विवादमा

    अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख विवादमा

    काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको छ। सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई पत्र लेखेकी थिइन्।

    उनले पत्रमा आफूसहित सबैका लागि उक्त कार्यक्रम महत्वपूर्ण भएको र संयुक्त राष्ट्रसंघबाट आएको निम्तोलाई उच्च प्राथमिकतामा राखेको समेत उल्लेख गरेकी थिइन्।

    रानाले पत्रमा उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङ सहभागी हुन लागेको उल्लेख गरेकी थिइन्। एक वर्षपछि उपसभामुख रानाले लेखेको पत्र विवादमा आउनुका केही कारण छन्। पहिलो, उपसभामुख समेत रहेकी सांसद रानाले रातो पासपोर्ट प्रयोग गर्न पाउँछिन्। रातो पासपोर्ट बोक्ने व्यक्तिले निःशुल्क भिसा प्राप्त गर्छ भने अध्यागमनको प्रक्रियामा सहजताका साथै केही कूटनीतिक उन्मुक्ति प्राप्त गर्छ।

    उपसभामुखलाई कुनै आधिकारिक भ्रमणको निम्तो आएको अवस्थामा उनलाई संघीय संसद सचिवालयले भ्रमणको प्रबन्ध मिलाउनेदेखि परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने काम गर्छ। उनी सोही समयमा अमेरिका गएर फर्किएको बताइएको छ । तर सिएसडब्लुको कार्यक्रममा भने सहभागी नभएको उनले सञ्चारमाध्यममा प्रतिक्रिया दिएकी छिन् । पत्रमा नाम भएका व्यक्ति आफूसँग अमेरिका नगएको समेत उनले बताएकी छिन् ।

  • टापु राष्ट्र किरिबास र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना

    टापु राष्ट्र किरिबास र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना

    काठमाडौं । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरिबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको सङ्ख्या १८३ पुगेको छ ।

    न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त समझदारीपत्रमा बुधबार उक्त नियोगमा आयोजित एक संक्षिप्त कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र उक्त विश्व संस्थाका लागि किरीबासका स्थायी प्रतिनिधि टेबुरोरो टिटोले हस्ताक्षर गरेका हुन् ।

    साथै दुवै देशका राजदूतले नेपाल र किरीबासबीच कूटनीतिक सम्बन्ध कायम भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी दिने पत्रमा पनि हस्ताक्षर गरे । त्यस अवसरमा दुवै मुलुकका स्थायी प्रतिनिधिले अल्पविकसित मुलुकका विकासका विषय, संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चमा पारस्परिक लाभका क्षेत्रमा साझेदारी गर्दै आपसी हित र साझा चासोका विविध विषयमा विचार आदानप्रदान गर्नुभएको उक्त नियोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    बेलायतको उपनिवेशबाट १२ जुलाई १९७९ मा स्वतन्त्र भएको किरिबासको जनसङ्ख्या १ लाख २० हजार छ भने यो टापु राष्ट्र १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएको हो । नेपाल र किरिबास जी–७७ र चीन तथा अल्पविकसित राष्ट्रहरूको समूहका सदस्य हुन् ।

  • एनआरएनए जर्मनीले थाल्यो निःशूल्क नेपाली भाषा कक्षा

    एनआरएनए जर्मनीले थाल्यो निःशूल्क नेपाली भाषा कक्षा

    काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए जर्मनीले निःशुल्क नेपाली भाषा कक्षा सञ्चालनको सुरूआत गरेको छ। हरेक आइतबार दुई वटा कक्षा सञ्चालन भइरहेको छ। एनआरएनए जर्मनीको भाषा तथा बालबालिका संयोजक सुनिता राईले हरेक आइतबार जुममार्फत् दुई वटा कक्षा सञ्चालन गर्दै आएकी हुन्।

    जसमा ४५ जनाभन्दा बढी बालबालिका सहभागी छन्। राई जर्मनीको ह्याम्बर्गमा जर्मनी स्कुलमा विगत ८ वर्षदेखि कार्यरत छन्। विदेशमा बच्चा जन्मिएपछि भाषागत समस्या हुने भएकाले नेपाली भाषा उनीहरूलाई सिकाउनुपर्छ भनेर यो कार्यक्रम सुरू गरेको उनले बताइन्।

    ह्याम्बर्गमा नेपाली पाठशाला २०१९ देखि सञ्चालन हुँदै आएको छ। संघका पूर्वअध्यक्ष विजय मोक्तान र अहिलेको अध्यक्ष निनम्मा राईले भाषा कक्षा सञ्चालनका लागि व्यवस्था मिलाएका हुन्।

  • कामको खोजीमा एक वर्षमा विदेशिए साढे ७ लाख युवा

    कामको खोजीमा एक वर्षमा विदेशिए साढे ७ लाख युवा

    काठमाडौं । आर्थिक वर्ष २०८०–८१ मा ७ लाख ४१ हजार युवा कामको खोजीमा विदेशिएका छन् । आव २०७९-८० को तुलनामा यो संख्या केही कम हो । २०७९–८० मा ७ लाख ७१ हजार युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । वैदेशिक रोजगार विभागका अनुसार यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो ।

    विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदी मलेसियाले आप्रवासी श्रमिकको भर्नामा रोक लगाउँदा यो संख्यामा कमी आएको बताउँछन् । उनका अनुसार मलेसियाले सन् २०२३ को मार्च महिनादेखि विदेशी कामदारको भर्नामा रोक लगाएको छ ।

    विभागका अनुसार गत आर्थिक वर्षको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१ र पुसमा ६५ हजार ८१३ नेपाली रोजगारीका क्रममा विदेशिएका छन् । त्यस्तै माघमा ६२ हजार १४७, फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३, वैशाखमा ७० हजार ६३७, जेठमा ७२ हजार ६०० र असारमा ५८ हजार ७३६ वैदेशिएको तथ्यांक छ ।

    विभागका अनुसार पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका लागि यूएई नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य बनेको छ । यूएईमा मात्रै गत आवमा १ लाख ९३ हजार ४३९ जना श्रम स्वीकृति लिएर गएका छन् । त्यस्तै मलेसियामा १ लाख ५१ हजार ३९५ जना रोजगारीका लागि गएका छन् । त्यसपछि क्रमशः साउदी अरब, कतार, कुवेत जानेहरू छन् ।

    पछिल्ला वर्षमा नेपाली युवाहरू कामको खोजीमा युरोपेली मुलुकसमेत जान थालेका छन् । विभागका अनुसार गत वर्ष क्रोएसिया, रोमानिया, साइप्रस, माल्टा, पोर्चुगल लगायत मुलुकका लागि थुप्रै नेपालीले श्रम स्वीकृति लिएका छन् ।

  • कोरियाबाट फर्किएकालाई पुनः रोजगारीको अवसर

    कोरियाबाट फर्किएकालाई पुनः रोजगारीको अवसर

    काठमार्डौ । रोजगार अनुुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया गई तोकिएको समय (चार वर्ष १० महिना) मा फर्किएका श्रमिक पुनः जान पाउने भएका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सूचना प्रकाशित गरेर कोरिया गएर फर्केका श्रमिकलाई पुनः काममा पठाउनका लागि आवेदन आह्वान गरेको हो ।

    सो शाखाका अनुसार इपिएसमार्फत कोरिया गएको र सन् २०१० जनवरी १ पछि भिसा अवधिभित्रै स्वैच्छिक रूपमा नेपाल फर्केकाले मात्रै आवेदन दिन पाउने छन् । त्यस्ता श्रमिकले कोरियाको उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा जान पाउने छन् ।

    उत्पादनमूलक क्षेत्रमा फाराम भर्न चाहनेले फाराममा उल्लेख भएका आठ वटा समूहमध्ये जुन उपसमूहमा फाराम भर्ने हो सोही उपसमूहसँग सम्बन्धित आठ वटा प्रश्नको उत्तर दिनुपर्ने छ । इपिएस शाखाले सार्वजनिक गरेको सूचना अनुसार यही साउन ७ देखि ११ गतेसम्म आवेदन दिन सकिने छ ।

    परीक्षा असोज ८ गतेदेखि ११ गतेसम्म हुने छ । परीक्षा तालिका भने भदौ २८ गते मात्रै सार्वजनिक गरिने सो शाखाले जनाएको छ । सो शाखाका अनुसार परीक्षाको नतिजा भने असोज २१ गते प्रकाशन गरिने छ । नेपालले दक्षिण कोरियासँग गरेको समझदारीपत्र (एमओयु) अनुरूप इपिएसमार्फत वैधानिक तवरबाट श्रमिक पठाउँदै आएको छ ।

  • विदेशमा रहेका नेपालीले ११ महिनामा पठाए साढे १३ खर्ब रेमिट्यान्स

    विदेशमा रहेका नेपालीले ११ महिनामा पठाए साढे १३ खर्ब रेमिट्यान्स

    काठमाडौं । विदेशमा रहेका नेपालीले ११ महिनाको अवधिमा साढे १३ खर्ब रुपैयाँ रेमिट्यान्स पठाएका छन् । जुन मासिक १ खर्ब २० अर्ब हुन आउँछ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार ११ महिना (साउन–जेठ) सम्म १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यस अनुसार हरेक महिना १ खर्ब २० अर्ब ६८ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको तथ्यांकबाट देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष विप्रेषण आप्रवाह १९.३ प्रतिशतले बढेको हो ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७।३ प्रतिशतले बढेर ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले मात्र बढेको थियो । यस अवधिमा श्रम स्वीकृति लिनेको संख्या भने घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष संस्थागततर्फ ४ लाख २२ हजार ९३६ जनाले श्रम स्वीकृति लिएका छन् ।

    गत वर्ष ४ लाख ५९ हजार ४१५ जनाले श्रम स्वीकृति लिएका थिए । यस वर्ष व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको छ । गत वर्ष यो संख्या २ लाख ६० हजार २६२ रहेको थियो । यस वर्ष व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या अघिल्लो वर्षभन्दा केही माथि देखिएको छ ।

  • मेघालयमा चार नेपालीको विभत्स हत्या

    मेघालयमा चार नेपालीको विभत्स हत्या

    काठमाडौं । रोजगारीका लागि भारतको मेघालय पुगेका चार जना नेपालीको घाँटी रेटेर बीभत्स हत्या भएको छ । मृतकमध्ये हालसम्म एक जनाको मात्र पहिचान खुलेको र उहाँ इलामका २३ वर्षीय रवि राई रहेको तथा अन्य चार जनाको परिचय खुल्न बाँकी रहेको स्थानीय प्रहरी प्रशासनले जनाएको छ ।

    मेघालयको पूर्वी जयन्तिया हिल्स जिल्लाका प्रहरी उपरीक्षकका अनुसार बीभत्स हत्या गरिएको घटनाबारे विषेश अनुसन्धान टोलीले छानबिन सुरु गरेको छ । मेघालय प्रहरीले घटनास्थलमा क्राइम स्क्यान युनिट, मोबाइल फरेन्सिक युनिट, घटनास्थलबाट फेला परेका प्रमाणसहित स्थानीयसँग सोधपुछ गरिरहेको जनाएको छ ।

    कोइलाखानीमा काम गर्ने अन्य नेपाली मजदुर र उनका परिवारमार्फत पनि शवको पहिचानको प्रयास गरिरहेको प्रहरीले जनाएको छ । घटनाको प्रारम्भिक अनुसन्धानमा हत्यामा आपराधिक समूहको संलग्ना देखिएको प्रहरीले जनाएको छ । चारै जनाको शव पोस्टमार्टमका लागि प्रहरीले स्थानीय सिभिल अस्पतालमा लगेको जनाएको छ । हत्या गरिएकामध्ये अन्य तीन जनासमेत धरान–भोजपुर क्षेत्रका नेपाली हुन सक्ने अनुमान मेघालय प्रहरीले गरेको जनाएको छ ।

    गोरखापत्रको सहयोगमा

  • स्व.गिरिजा प्र. कोईरालाको शताब्दिऔं जन्मजयन्तिको अवसरमा खाद्यान बितरण

    स्व.गिरिजा प्र. कोईरालाको शताब्दिऔं जन्मजयन्तिको अवसरमा खाद्यान बितरण

    बिष्णु सिंह (बैजु) ३ जुलाई,
    ज्याक्सनहाईट्स न्युयोर्क।

    नेपाली कांग्रेसका पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोईरालाको शताब्दीऔं जन्मजयन्तीको पावन अवसरमा गिरीजाप्रसाद कोईराला फाउन्डेशनले न्युयोर्कको क्विन्सस्थित ज्याक्सनहाईट्समा निःशुल्क खाद्यान बितरण कार्यक्रम आयोजना गरेको छ ।

    गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको आयोजनामा क्विन्स टुगेदर, टेष्टअफ नेपाल रेष्टुरेन्ट, भेराईटी व्वाईज एण्ड गर्लस् क्लब अफ क्वीन्स् र मेट्रोपोलीटान पार्क नामक संस्थाहरुको संयुक्त सहप्रायोजनमा सो कार्यक्रम सम्पन्न भएको हो। स्थानीय समय अनुसार मध्याह्न करिब १२ः३० बाट करिव १ घन्टासम्म टेष्ट अफ नेपाल रेष्टुरेन्टको प्रांगणबाट सो वितरण कार्यक्रम गरिएको थियो।

    लाममा पंक्तिबद्ध करीब २०० स्थानीय आगन्तुकहरूलाई पालैपालो ताजा सागसब्जी एवं तरकारी बितरण गरिएको थियो। सो वितरणबाट स्थानीय नेपाली अमेरीकी लगायत,बंगलादेश, भारत, पाकिस्तान, मेक्सीको सहित करीब १४ राष्ट्रवाट आई स्थानीय समुदायमा वसोवास गर्ने मानिसहरू प्रत्यक्ष लाभान्वित भएका थिए।

    सो वितरण कार्यक्रममा फाउन्डेशन अमेरिका च्याप्टरका उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू सुर्य सिंखडा र रेखा श्रेष्ठको सकृयता रहेको थियो भने क्विन्स टुगेदरका प्रमुख जोनाथन फोर्गोस्, न्युयोर्क मेयर अफिसबाट शुक्रानि दनपत, फाउन्डेशनकै केन्द्रीय सदस्य अम्बीरराज जोशी, नेका युवा नेताद्वय राजु रौनीयार र समाजसेवी लायन नवराज आचार्य र नेतृ कमला पन्त, पार्कर खेलाडी दिनेश सुनार, फाउन्डेशनका आजीबन सदस्य पुर्ण तामाङ लगायतले स्वयंसेवकको भुमीका निर्वाह गरेका थिए ।

    स्मरण रहोस् स्व. गिरीजावावुको शताब्दीऔं जन्मजयन्तिको पावन अवसरमा नेपाल, अमेरिका लगायत विश्वभरबाट स्मरण स्वरूप यी र यस्तै पुण्य कार्यहरू निरन्तर भैरहेका समाचारहरू प्राप्त भएका छन्। यसै अवसरमा फाउन्डेशन अमेरीका च्याप्टर एवं आजको यस कार्यक्रमसँग आबद्ध संघसंस्थाहरूले स्व. कोईरालाप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेका थिए ।