काठमाडौं । कुवेतमा आप्रवासी श्रमिकहरू बस्ने क्याम्पमा आगलागीमा परी पाँच जना नेपाली घाइते भएका छन् । कुवेतको महंगाफस्थित श्रमिक क्याम्पमा बुधवार बिहान ४ः ३० बजे आगलागीमा परेर पाच जना नेपाली श्रमिक घाइते भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावसका अनुसार दुईजना सुरक्षित भएको र बाँकी तीन जना सामान्य छन् । आगलागीबाट शिवशंकर पासवान र दोर्जे लामा घाइते भएका छन् । उनीहरूको अदान अस्पतालमा उपचार भइरहेको छ । उपचाररत पासवान र लामाको स्वास्थ्य अवस्थाको बारेमा अस्पतालमा नै पुगेर दूतावासले जानकारी लिएको छ ।
त्यस्तै दिनेश कुमार मण्डलको भने फरवानिया अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज भै सकेको दूतावसाले जनाएको छ । त्यस्तै जाकिर नाडाफ र सन्तोष कुमार गोइत भने सुरक्षित रहेको दूतावासले जारी दिएको छ । उक्त घटनाबारे श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कुवेतको श्रमिक क्याम्पमा आगलागी हुँदा घाईते भएका नेपाली श्रमिकको बिषयमा जानकारी लिएका छन् । कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी मन्त्री अर्यालले क्याम्पमा रहेका नेपाली श्रमिकको बिषयमा जानकारी लिएका हुन् ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गरेका छन् । स्वीट्जरल्याण्डको जेनेभामा जारी एक सय १२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर श्रम सम्बन्ध, नेपाल सरकारले थालेको आर्थिक सुधार एवम् भारत र चीनबिचको रणनीतिक बजारका कारण लगानीको वातावरण बन्दै गएकाले यसबाट लाभ लिन आग्रह गरे ।
नेपालका रोजगारदाता श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेका र दुवै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भइरहेकाले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । सम्बोधनका क्रममा उहाँले सामाजिक सुरक्षा, लैङ्गिक समानता र दिगो आयआर्जनका थप अवसर सिर्जना गर्न सम्मेलनमा सहभागी रोजगारदातालाई नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
भारतसँग १० हजार मेगावाट विद्युत खरिद सम्झौता भएको र बङ्गलादेशसँग पनि यसबारे छलफल भइरहेको बताउँदै अध्यक्ष ढकालले नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताए । यसै गरी भारत र चीनजस्ता धेरै जनसङ्ख्या भएका उदीयमान अर्थतन्त्रमा नागरिकको क्रिया शक्ति बढेकाले नेपालका ‘हिल स्टेसन’हरुमा पर्यटकीय पूर्वाधार विस्तारको सम्भावना रहेको पनि उनको भनाइ थियो ।
अध्यक्ष ढकालले सूचना प्रविधि, कृषिजन्य उद्योगलगायत उत्पादनमूलक क्षेत्रहरू नेपालमा तुलनात्मक रूपमा बढी लाभका क्षेत्र रहेका बारे विश्वका लगानीकर्तालाई जानकारी गराए । लगानी सहजीकरणका लागि सरकारले द्विपक्षीय व्यापार सम्झौताको खाका तयार पारेको, लगानी सहज बनाउने कानुनमा सुधार हुँदै गएको र दोहोरो कर हटाउने नीति अङ्गीकारको योजनामा रहेको पनि सम्मेलनका सहभागीलाई जानकारी गराए । अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र रोजगारदाताको अन्तर्राष्ट्रिय सङ्गठन (आइओइ) का उच्च पदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गरेको विज्ञप्तिमा जनाइएको छ । रासस
काठमाडौं । विदेश पठाउने भन्दै करिब एक हजार जना व्यक्तिबाट २ करोड ५० लाख ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । कन्सल्टेन्सी खोलेर पोल्यान्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसियालगायत देश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । सुर्खेतका रेशम रावल, प्रेमबहादुर रावल, काभ्रेका सुरेन्द्र तामाङ, मोरङका सन्तविर घिमिरे, डडेलधुराका राजेश साउद र अछामका टंकराज खनाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।
उनीहरूले काठमाडौंको तीनकुनेमा युनिक कन्सल्ट्स, वर्ल्डवाइड कन्सल्ट्स, ग्लोबल ह्युमेन म्यानेजमेन्ट, रायन इजुकेसन कन्सल्टेन्सी र रावल टार्भल एन्ड टुर्स कम्पनी स्थापना गरेका थिए । यी कम्पनीका नाममा उनीहरूले सामाजिक सञ्जालमा विज्ञापन गर्ने र विदेशी पठाउने आश्वासनमा सक्कली कागजपत्र लिने गरेका थिए । हरेक व्यक्तिसँग ३५ हजार रुपैयाँ असुलेर १७ हजार रुपैयाँको मात्रै रसिद दिने गरेको प्रहरीले जनाएको छ ।
सक्कली कागज फिर्ता माग्दा प्रतिव्यक्ति डेढ लाखदेखि २ लाखसम्म मागेको प्रहरीले जनाएको छ । यसरी करिब एक हजार जनाबाट २ करोड ५० लाख जति ठगी गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनी भ्रमणका क्रममा कतारको राजधानी दोहा आइपुगेका छन् । उनलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेशविक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रासयका कर्मचारीले स्वागत गरे ।
राष्ट्रपति पौडेल भोलि जेनेभा प्रस्थान गर्ने तालिका रहेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । त्यहाँ उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्ध (ग्लोबल कोलिसन फर सोशल जस्टिस्को) उद्घाटन समारोहमा भाग लिनेछन् ।
राष्ट्रपति पौडेलले जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्नेछन् । सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्धघाटन मञ्चलाई सम्बोधन जेठ ३१ ग्ते नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले भेटवार्ता गर्ने कार्यक्रम तय छ । त्यसैगरी राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्नेछन् । स्विट्जरल्याण्डको भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नेछन् ।
उनले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । असार ३ गते जर्मनी समकक्षीसँग औपचारिक वार्ता गर्नेछन् । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनेछन् ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ सत्रमा हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल मंगलबार जेनेभा गएका हुन् । पौडेलले श्रम सम्मेलनअन्तर्गत हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीबार सम्बोधनसमेत गर्नेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार पौडेलले ३० जेठमा स्वीट्जरल्यान्डका राष्ट्रपति भायोला एमहेर्डसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । जेनेभाबाट राष्ट्रपति पौडेल १ असारमा बर्लिन जानेछन् । जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टिनमियरको निमन्त्रणमा बर्लिन जाने पौडेलले ३ असारमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
जेनेभा र बर्लिन भ्रमणमा राष्ट्रपति पौडेलकी श्रीमती सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र विज्ञ डा। सुरेशचन्द्र चालिसे, राष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू सहभागी छन् । राष्ट्रपति पौडेल ५ असारमा स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौं । अवैध रुपमा अमेरिका पठाउने गिरोहका एक व्यक्ति भारतबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकुण्ठ नगरपालिका–११का ४६ वर्षीय नारायणकुमार खड्का छन् । उनी अवैध रुपमा अमेरिका पठाउने गिरोहका मुख्य व्यक्ति रहेको दाबी प्रहरीले गरेको छ । उनलाई भारतको दिल्लीबाट पक्राउ गरेर ल्याइएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खड्कालाई सार्वजनिक गरेको छ । उनले अमेरिका पठाउने नाममा ४ करोड ३३ लाख ६८ हजार ११२ रुपैयाँ ठगी गरेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको छ । जाहेरी आउने क्रम जारी रहेकाले ठगीको रकम अझै बढ्न सक्ने बताइएको छ ।
दुर्गाबहादुर वली, कमला डाँगीसहितका व्यक्तिले उनीविरुद्ध जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । खड्काले आफ्नो हाई लिंक एजुकेशन कन्सल्टेन्सी रहेको र वैदेशिक रोजगारीमा अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप छ । तर उनको कुनै पनि कन्सल्टेन्सी नरहेको खुलेको छ । रकम लिएपछि विश्वासमा दिलाउन उनले भारत लगेर बायोमेट्रिक समेत गर्न लगाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए ।
अमेरिका पठाउने भन्दै सिंगापुर, आइबरीकोस्ट हुँदै घानासम्म पुर्याएर अलपत्र पार्ने गरेको खुलेको छ । खड्काविरुद्ध ८ वटा बैंकिङ कसुर र १ वटा ठगीको मुद्दा समेत चलेको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)मा देखिएको छ । खड्काविरुद्धको बैंकिङ कसुर र ठगीको बिगो ७८ लाख ८८ हजार छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। भारत सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री प्रचण्डले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा शुभकामना व्यक्त गरेका हुन्।
सो अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा संक्षिप्त कुराकानी भएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ। प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए।
प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीसँग कुरा गर्न पाउँदा खुसी लागेको बताएका छन्। ‘प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो । उहाँको न्यानो शुभकामनाको लागि उहाँलाई धन्यवाद व्यक्त गरेँ।
भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौं,’ प्रधानमन्त्री मोदीको भनाइ उद्धृत गर्दै काठमाडौंँस्थित भारतीय राजदूतावासले जनाएको छ।
लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) दुई सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले दुई सय ४० सिट जितेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार पदबाट राजीनामा दिएका छन्। योसँगै उनले नयाँ सरकार गठन थालेका छन्। मोदी तेस्रो पटक प्रधानमन्त्री हुन लागेका हुन्।
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा रहेको नेपाली महिला विश्व सञ्जाल, लस एन्जलस च्याप्टरको समन्वयमा ललितपुरको तुलसालय अनाथ आश्रमका लागि सात लाख २४ हजार चार सय ८५ सहयोग उपलब्ध गराइएको छ । च्याप्टरका अध्यक्ष सपना सेढाई थपलियाले तुलसालयका अध्यक्ष सरूँ सुवेदीलाई सहयोग चेकमार्फत सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।
ललितपुरको नख्खुडोलस्थित आश्रममा आश्रित बालबालिका, ज्येष्ठ नागरिक र मानसिक रोग भएकाहरूको लालनपालन र बालबालिकाको शिक्षाका लागि क्यालिफोर्नियास्थित सञ्जालले गत अप्रिलमा नेपाली साङ्गीतिक ‘कन्सर्ट’ आयोजना गरी रकम सङ्कलन गरेको थियो ।
कार्यक्रममा सञ्जालकी अध्यक्ष सेढाईले नेपालमा विभिन्न कारणले बेसहारा बनेका अनाथ बालबालिका तथा ज्येष्ठ नागरिक, सडकमा अलपत्र परेका एवम् मानसिक रोग भएकाहरूको उद्धार गरी लालनपालन र समाजमा पुनर्स्थापनाका लागि आश्रमले सहयोग गरेको बताइन् ।
आश्रमकी अध्यक्ष सुवेदीले हाल २५ जना बालबालिका विद्यालय जाने गरेकाले उनीहरूलाई शैक्षिक सामग्रीका साथै मानसिक रोग भएकाहरूको औषधि उपचारमा सहयोग रकमको सदुपयोग गरिने बताइन् । उनले सहयोगका लागि संस्थाका तर्फबाट धन्यवाद ज्ञापनसमेत गरेकी छिन् । आश्रममा हाल ३५ जना बालबालिका, ज्येष्ठ नागरिक, मानसिक रोग भएकाहरूसमेत गरी ५२ जना आश्रित रहेका छन् । रासस
काठमाडौं । नेपाल आईसीसी टी–२० विश्वकप २०२४ मा सरप्राइज प्रदर्शनको तयारीमा छ । किनकी नेपाल भएको समूहमा बलियो नेदरल्यान्ड्ससँगै टेष्ट राष्ट्र दक्षिण अफ्रिका, श्रीलका र बंगलादेश छन् । यी खेलमा नेपालले जित्ने हरेक खेल महत्वपूर्ण हुनेछ । आज नेपालले पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ : १५ मा सुरु हुनेछ ।
खेल ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ । जहाँ १२ हजार भन्दा धेरै नेपाली समर्थक पुग्ने अपेक्षा गरिएको छ । नेपालले सुपर–८ को लक्ष्य राखेको छ । नेपाल र नेदरल्यान्ड्सबीच टी२० आईमा १२ खेल भएका छन् । नेपाल ५ खेलमा विजयी, ६ खेलमा पराजित र १ खेल नतिजाविहीन भएको थियो । नेपालले जितेका ५ मध्ये ३ खेल घरेलु मैदान टीयुमा छन् ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्ने भएका छन्। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको जर्मनी र स्वीट्जरल्याण्डको भ्रमण गर्न स्वीकृति दिएको हो।
जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिन र सोपश्चात संघीय गणतन्त्र र जर्मनीको भ्रमण कार्यक्रम रहेको हुनाले भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
काठमाडौं । सामाजिक सुरक्षा कोषले नयाँ स्किम थप गरेको छ । अब कोषमा आबद्ध अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले पनि औषधोपचार सुविधा पाउने भएका छन् । बिहीबारदेखि विराटनगरबाट आरम्भ भएको श्रमाधान रोजगार मेलाको अवसर पारेर कोषले विस्तार गरेका सुविधाबारे श्रम, रोजगार तथा सामाजिक मन्त्री डोलप्रसाद अर्यालले औपचारिक घोषणा गरेका हुन् ।
यसअघि २०७९ पुसदेखि औपचारिक क्षेत्रका योगदानकर्ताका श्रीमान या श्रीमतीलाई औषधोपचार सुविधामा समेटेको कोषले १७ जेठदेखि लागु हुने गरी अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले नै औषधोपचार सुविधा पाउने गरी कार्यविधि संशोधन गरेको हो ।
यससँगै अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका श्रीमान्, श्रीमती र १८ वर्ष उमेर नपुगेका छोराछोरीले वार्षिक १ लाख रुपैयाँसम्मको औषधि उपचार सुविधा पाउने भएका छन् । कोषले अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई नै उपचार सुविधामा समेट्ने गरी तीन महिनाअघि नै कार्यविधि संशोधन गरेको र बिहीबारदेखि कार्यान्वयनमा आएको निर्देशक उत्तमराज नेपालले जानकारी दिए ।
अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि कोषले उपचार सुविधा पाउन योग्य समायावधिलाई ९ महिनाबाट घटाएर ३ महिनामा झारेको छ । यसअघि कोषमा योगदान गर्न थालेको ९ महिनापछि मात्र उपचार सुविधाका लागि योग्य हुने व्यवस्था रहेकोमा अबदेखि ३ महिनाको नियमित योगदानपछि नै योग्य हुने गरी कार्यविधि संशोधन गरिएको निर्देशक नेपालले जानकारी दिए । ‘
काठमाडौं । संखुवासभाको किमाथांकासहित चीनसँग जोडिएका १४ वटै नाका आजदेखि पुनः सञ्चालनमा आएका छन्। कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्वतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा आज आयोजित एक समारोहबीच किमाथांकासहित नेपाल–चीन सीमामा रहेका १४ वटै नाका पुनः सञ्चालनमा आएको संयुक्त रूपमा घोषण गरे।
नाका सञ्चालनको घोषणा कार्यक्रममा चीनको छेन्ताङ पुगेर फर्किने क्रममा सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत नाका सञ्चालनमा आएको औपचारिक रूपमा घोषणा गरिएको बताए।
उपप्रधानमन्त्री श्रेष्ठका अनुसार सात नाका शनिबारर्देखि सञ्चालनमा आएका छन् भने अन्य सात नाका चाँडै खुला हुनेछन् । नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि किमाथांकासहित १४ वटा व्यापारिक नाका खुलाउन सफल भएको उनले बताए। गत वर्ष चैतमा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा रहेका सम्पूर्ण परम्परागत व्यापार नाका क्रमशः खुलाउने समझदारी भएअनुसार नै नाका पुनः सञ्चालन गरिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए।
उद्घाटन समारोहमा भाग लिन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ अधिकारी सहभागी प्रतिनिधिमण्डल चीनको छेन्ताङ पुगेको थियो । किमाथांका नाका खुलेपछि भोटखोलावासी उत्साहित भएका छन् ।
विगतमा यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए । तर नाका बन्द भएपछि उनीहरुलाई समस्या भएको थियो । किमाथांकामा २०३५ सालमा भन्सार कार्यालय स्थापना भएको थियो। सशस्त्र द्वन्द्वपछि भोटखोलाको हटियास्थित सीमा भन्सार कार्यालय २०५७ सालमा सदरमुकाम खाँदबारी सारिएको थियो । भोटखोलावासीलाई तिब्बत प्रवेश गर्न स्थानीयस्तरमा अनुमतिपत्र वितरण गरिएको छ। किमाथांका नाका सदरमुकामदेखि एक सय ६२ किलोमिटर टाढा पर्छ । रासस
काठमाडौं । थाइल्यान्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरु गरेको आधिकारिक रूपमा जानकारी दिएको छ । थाई एयरवेजले सन् १९६८ मा बैङ्ककदेखि कोलकाता हुँदै काठमाडौँसम्मको उडानमार्फत नेपालमा आफ्नो वायु सेवा सुरु गरेको थियो । थाई एयरवेजको यो आधा शताब्दी लामो यात्रा कोभिड महामारीका कारण २०२२ मार्चमा रोकिएको थियो ।
थाई एयरवेजले २०२३ अक्टोबर २९ मा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई नेपालका लागि जनरल सेल्स एजेन्टका रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको हो । हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । हाल थाई एयरवेजले ६० भन्दा बढी गन्तव्यमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रिमलाइनर ७८७ र एयरबस ३५० एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ ।
केप कड नेपाली समाजको आयोजनामा किरांतबर्ष ५०८४ को साकेला-उभौली पर्व अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडको साउथ डेनिस शहरमा अवस्थित जोन ए केली पार्कको मैदानमा मे १९, २०२४ (बि. स. २०८१ जेष्ठ ६ गते) आइतबारका दिन भब्यताका साथ सम्पन्न भयो ।
केप कड नेपाली समाजका अध्यक्ष केवी राईको सभापतित्व र United Kirat Rai Organization of America (UKROA) का भूतपूर्व अध्यक्ष,पासुंग बिष्णु राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको साकेला उभौली कार्यक्रमको सञ्चालन समाजका महासचिव इच्छा खड्का र सचिव सरस्वती खनालले गर्नु भएको थियो। उक्त कार्यक्रममा केप कड नेपाली समाजको निमन्त्रणालाई स्वीकार गरि आफ्नो अमुल्य समय दिएर कार्यक्रममा सहभागी भैदिनुहुने अतिथिहरुको गरिमामय उपस्थितिले कार्यक्रमको रौनक र शोभा बढेको थियो।
केप कड नेपाली समाजका वरिष्ठ उपाध्यक्ष बिष्णु मान प्रधानले कार्यक्रममा बिभिन्न संघ- संस्था बाट प्रतिनिधित्व गर्नु भएका अतिथिहरु, समाजका सम्पूर्ण सदस्यज्यूहरु तथा केपकड बासी आमाबुवा, दाजुभाइ, दिदीबहिनी र साना नानीबावुहरूलाई साकेला उभौली पर्व हर्षोल्लासका साथ मनाउन आग्रह गर्दै कार्यक्रममा हार्दिक स्वागत गर्नुभएको थियो। उहॉंले सबैलाई साकेला उभौलीको शुभकामना पनि दिनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा पासुंग बिष्णु राईले साकेला-उभौली पर्वको ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्वको बारेमा प्रष्ट पार्दै उपस्थित सबैलालाई उभौली को हार्दिक मंगलमय शुभकामना संदेश दिनुभयो। यसैक्रममा उहॉंले अमेरिका भरिमै नेपाली समाजले पहिलो पटक यसरी बृहत् रूपमा यहाँ बसोबास गर्नुहुने सबै नेपालीहरूलाई एकजुट गराएर साकेला उभौली कार्यक्रमको आयोजना गरेर एउटा नंया इतिहास रचेको छ भन्दै यसले आउने भावी पुस्तालाई राम्रो संदेश दिनेछ भन्दै आयोजकलाई धन्यवाद दिनुभयो। UKROA का केन्द्रीय महासचिव मुक्ति नारायण राई र पशुपति बुद्ध फाउन्डेशनकी बरिष्ठ उप सभापति एलिना श्रेष्ठ ले साकेला उभौली को बारेमा आ-आफ्नो मन्तव्य राख्नुको साथै सबैलाई शुभकामना दिनुभएको थियो।
उक्त कार्यक्रमका सांस्कृतिक संयोजक सिताराम राईले उभौली पर्वको बारेमा आफ्नो मन्तव्य राख्दै सबैलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गर्नुभएको थियो। त्यसैगरी नयॉं पुस्ताका भाईबहिनी, छोराछोरी हरूलाई लक्षित गरि साकेला उभौली पर्वको बारेमा अंग्रेजी भाषामा लेखेर तयार पारिएको सामाग्री संस्थाका कार्य समिति सदस्य कुमुदा पोखरेलले वाचन गरेर सुनाउनु भएको थियो।
यस कार्यक्रमको प्रमुख आकर्षण र महत्वपूर्ण पक्ष “साकेला- उभौली पुजा” प्रमुख अतिथि तथा पासुंग बिष्णु राईज्यूबाट शुभारम्भ गरिएको थियो र यसमा केप कड नेपाली समाजका संस्थापक अध्यक्ष तथा सल्लाहाकार हरि राईले उभौली पुजामा गीत गाएर नाच्दै उपस्थित सबैलाई त्यो सांस्कृतिक नाचको माहौलमा सहभागी हुन उत्प्रेरित गर्नुभएको थियो।
उभौलीको पुजा सम्पन्न गरि खानपान गरि दोस्रो चरणको कार्यक्रमको बीचमा साना नानी बावुहरूले सामूहिक रूपमा नेपाली गीतमा नाचेर र मार्सल आर्ट प्रदर्शन गरेर आ-आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। सामूहिक नृत्यमा रिया चालिसे, दिप्ती अधिकारी, आशा आचार्य र विभूती सिटौला सहभागी हुनुभएको थियो भने मार्सल आर्ट कराते तर्फ बिष्लेक्स मान प्रधान, मिलन तामाङ, विधान खड्का र आर्य थापा सहभागी हुनुभएको थियो। त्यसैगरि बाल स्वयंसेवक आभाश्री खतिवडाले कार्यक्रम स्थल मैं लेमोनेड र स्न्याक्स को पसल राखी त्यसबाट आएको सबै रकम (नगद $ १२१.८२) केप कड नेपाली समाजलाई दान गरेर सबैको लागि प्रेरणादायी काम गरि एउटा राम्रो उदाहरण प्रस्तुत गरिन्।यस्ता नेपाली मौलिक परंपरागत र सांस्कृतिक कार्यक्रमहरूमा नंया पुस्ताका नानीबावुहरूको सक्रिय सहभागिता भए मात्र संस्थाले राखेको लक्ष्य (नेपाली भाषा, संस्कृति र संस्कारको पुस्तान्तरण (linguistics and cultural transformation to new generation) मा पुग्न मदत पुग्छ । यसै कुरालाई मध्यनजर राखी कार्यक्रममा प्रतिभा प्रदर्शन गर्नुहुने सबै नानी बावुहरूलाई प्रशंसा प्रमाणपत्र प्रदान गर्नुको साथै खादा लगायर उहॉंहरुको योगदानको कदर गरिएको थियो।
त्यसैगरी, केप कड नेपाली समाजको कार्य समितिको बोर्ड बैठकको निर्णय बाट कार्य समिति सदस्यमा मनोनित छेजी शेर्पा तथा सल्लाहाकारमा मनोनित संस्थापक अध्यक्ष हरि राई लाई संस्थाका अध्यक्ष केबी राईले प्रमाणपत्र प्रदान गर्नुको साथै खादा ओडाएर स्वागत गर्नु भएको थियो ।
यस बृहत् कार्यक्रम को लागि आवश्यक खानपान को सम्पूर्ण ब्यवस्था केप कडबासी नेपालीहरूले स्वयंसेवक को रूपमा जिम्मा लिएर घर घरमै तयार पारिएका स्वास्थ्यकर साथै स्वादिष्ट परिकारहरू उपलब्ध गराउनुभएको थियो।
समाजका कोषाध्यक्ष बिमल खड्काले कार्यक्रममा सहभागी सबैको उपस्थिति दर्ता गर्नुको साथै संस्थाको सदस्यता लिन इच्छुक ब्यक्ति हरूलाई सदस्यता वितरण समेत गर्नुभएको थियो। उक्त कार्यक्रममा १७५ जना जतिको सहभागिता थियो ।
कार्यक्रमको अन्त्यमा, समाजका अध्यक्ष केबी राईले नेपालको किरांत संस्कृतिले भरिभराउ नेपाली राष्ट्रीय चाड साकेला उभौली २०२४, केप कड नेपाली समाजले पहिलो पटक आयोजना गरेको जानकारी गराउंदै यस पर्वमा आमन्त्रित सबै पाहुनाहरू, समाजका सदस्यहरु र सम्पूर्ण केप कड बासीहरूलाई उहॉंहरुले दिनुभएको अमुल्य समय, साथ र सबै खाले सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै, साकेला उभौलीको शुभकामना दिनु भएको थियो ।
केप कड नेपाली समाज, नेपाली कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न सन् २०११ मा केप कड म्यासाचुसेट्स, अमेरिकामा स्थापना गरिएको एक गैर नाफामुलक सामाजिक संस्था हो । यो संस्थाले नेपाली समुदायको हितको लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।
काठमाडौं । चीनको ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धनबारे छलफल भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका सातवटा पर्यटन तथा हस्पिटालिटी व्यवसायीहरूसहित १६ देखि १८ मेसम्म चीनको ग्वान्जाओमा नेपालको प्रचार प्रसार गरेका छन् । ३२औं ग्वान्जाओ इन्टरनेसनल ट्राभल फेयर (जीआईटीएफ) मा नेपालले सक्रिय सहभागिता जनाएको पाटा नेपालले जनाएको छ ।
३० हजार स्क्वायर मिटर क्षेत्रमा आयोजित उक्त ब्यापार मेलामा चीन र अन्य अन्तर्राष्ट्रिय देशहरूबाट ४० हजारभन्दा बढी सहभागी थिए । नेपाल पर्यटन बोर्डले १६ मेका दिन स्थानीय अपरेटर तथा सहभागी माझ नेपालको पर्यटन गन्तव्यबारे प्रस्तुति दिएको थियो । सोही दिन साँझ आयोजित ‘बायर्स नाइट’ कार्यक्रममा पाटा नेपाल च्याप्टरले चाइना आउटबाउन्ड रिसर्च इन्टिच्युटबाट पर्यटन प्रवर्द्धनका लागि समग्र भूमिका शीर्षक अन्तर्गत गोल्ड अवार्ड र जीआईटीएफ आयोजकबाट ‘द बेस्ट पार्टनर अवार्ड’ प्राप्त गरेको छ ।
सोही अवसरमा नेपाल पर्यटन बोर्डले ‘मोस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड’ र जुगल होलिडेजले ‘प्रोडक्ट इन्नोभेसन’ शीर्षकमा गोल्ड अवार्ड प्राप्त गरे । १७ मेमा आयोजित जीआईटीएफ २०२४ कन्फ्रेन्समा पाटा नेपाल कार्यसमिति सदस्य लाक्पाफुटी शेर्पा, पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशसिंह बुडाल र पर्यटन बोर्डका अधिकृत कुन्दन शर्माले ‘जलवायु परिवर्तनको परिप्रेक्षमा चिनियाँ पर्यटकका लागि नेपालले प्रदान गर्ने दिगो पर्यटन उपजहरू’ शीर्षक अन्तर्गत समूहगत छलफलमा आमन्त्रित वक्ताको रुपमा सहभागिता जनाए ।
काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको सार्वजनिक भएको छ । सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराए । अमेरिका र वेष्टइन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् । बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो । तर अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् ।
क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार सन्दीपले सफाइ दिएको फैसलासहित सबै कागजात पेस गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पनि खेलाडी परिर्वतनका लागि सहमति दिने जानकारी गराएको थियो । तर अमेरिकी दूतावासका अधिकारीले भिसा दिन नसकिने बताएका छन् ।
२ जेठमा लामिछानेले उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएका थिए । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दीपलाई सफाइ दिएको थियो । सोही दिन क्रिकेट एसोसियसन अफ नेपाल (क्यान)ले उनको निलम्बन फुकुवा गरेको थियो ।
अमेरिकाको बोस्टन सहरमा हुनगइरहेको नेपाल अमेरिका पत्रकार संघ(नेजा) को १७औं साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छ। साधारण सभालाई भव्यताकासाथ सफल बनाउन आवश्यक पर्ने सम्पूर्ण तयारीहरु अन्तिम चरणमा पुगेको नेजाका उत्तर-पूर्व क्षेत्रीय संयोजक एवम् १७औं साधारण सभा मूल आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले जनाएका छन्। उक्त साधारण सभा यही आउदो मे २५ र २६, २०२४ (शनिबार र आइतबार) मा 594 Washington Street, Braintree, MA- 02184 स्थित प्रवासी नेपालीहरुको संस्था ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड(प्याब्फोन-PABFONE)को सामुदायिक भवनमा हुनगइरहेको छ। कार्यक्रम तालिका असार मे २५ तारिख शनिवार साँझ ५ बजे साधाण सभाको उदघाटन गर्ने गरी आवश्यक तयारी गरिएको छ।
तयारीका सम्बन्धमा जानकारी दिदै संयोजक बस्नेतले भने, ‘साधारण सभाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। साधारण सभालाई सक्दो उपलब्धिमूलक बनाउनका लागि उपलब्ध साधान, श्रोत र क्षमताले भ्याएसम्म आवश्यक पर्ने तयारीमा कुनै कसर बाँकी राखिने छैन।’ उनले थपे, ‘यो संस्थाको महत्वपूर्ण उत्सवको क्षण हो। यसलाई हामीले सोही मुताबिक मनाउने गरी तयारी गरेका छौं। आशा छ कि हामी यसमा सफल हुनेछौं। र, साधारण सभाले भावि यात्राका लागि सही र ठोस मार्ग निर्देश गर्ने नै छ।’
साधारण सभा मूल आयोजक समितिका संयोजक बस्नेतका अनुसार बासस्थान, कार्यक्रम स्थल, भोजन र यातायातको व्यवस्थापकीय कार्य पुरा भैसकेको छ। कार्यक्रमका लागि चाहिने व्यानरहरु तयार भैसकेका छन् भने, आवश्यक मसलन्दहरुको पनि व्यवस्था गरिसकिएको छ। त्यसैगरी प्रमुख अतिथि, अतिथिहरू, संस्थाका सदस्य ज्यूहरुलगायत सरोकारवाहरुलाई आधिकारिक निमन्त्रणा गर्ने कार्य पनि सम्पन्न भैसकेको छ।
साधारण सभामा प्रस्तुत हुने प्रतिवेदनहरु तयार भैसकेको र संस्थाले हरेक साधारण सभाको अवसर पारेर प्रकाशित गर्ने स्मारिक ‘प्रयास’ पनि प्रकाशनको अन्तिम चरणमा रहेको संयोजक बस्नेतले जानकारी दिए। उनले नेजा सदस्यहरुलाई बोस्टनमा स्वागत गर्न आफू, नेजा परिवार र स्थानीय नेपाली समुदाय आतुर रहेको जनाउदै तयारीका क्रममा प्रत्यक्ष परोक्ष साथ सयोग गर्ने सबैलाई धन्यवादसमेत व्यक्त गरेका छन्।
काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले सोमबार साँझ पहिलोपटक नेपाली समुदायसामु टेन डाउनिङ स्ट्रिटबाट सम्बोधन गरेका छन्। नेपाल र बेलायतबीच सन् १९२३ मा मैत्री सन्धी हस्ताक्षर भएको एकसय वर्ष पूरा भएको अवसरमा लण्डनस्थित प्रधानमन्त्री निवास टेन डाउनिङ स्ट्रिटमा विशेष समारोहको आयोजना गरिएको थियो।
कार्यक्रममा प्रधानमन्त्री सुनकले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको विभिन्न आयामहरुको चर्चा गर्दै द्विपक्षीय सम्बन्धमा ब्रिटिश गोर्खाहरुको योगदानको प्रशंसा गरे। सुनकले बेलायतस्थित नेपाली डायस्पोराको काम र उपलब्धिहरुबाट आफू प्रेरित भएको पनि बताए ।
प्रधानमन्त्री सुनाकले आगामी बर्सहरूमा बेलायत र नेपालबिच व्यापार वृद्धि हुनुका साथै निजी लगानी पनि बढ्ने विश्वास व्यक्त गरे । उनले नेपालले विकास र प्रगतिका लागि गरिरहेको प्रयासमा सघाउन बेलायत सरकारले हालै ४० करोड पाउन्ड सहयोग गरेको जानकारी समेत दिए । आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्री सुनाकले नेपाल र बेलायतबिचको ऐतिहासिक सम्बन्धका विभिन्न आयामहरूको बारेमा चर्चा गर्दै द्विपक्षीय सम्बन्धमा ब्रिटिस गोर्खाहरूको योगदानको प्रशंसा गरे । बेलायती राजा चाल्र्सको नेपाल भ्रमणको स्मरण गर्दै उनले बेलायतमा रहेका विभिन्न क्षेत्रका ख्यातिप्रात नेपाली डायस्पोराको काम र उपलब्धिबाट आफू प्रेरित भएको बताए ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले मैत्री सन्धिपश्चात् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुगेको उल्लेख गरे ।
गैर आवासीय नेपाली सङ्घ पूर्व अध्यक्ष जीवा लामिछाने विश्वकै राजनीतिको केन्द्र रहेको बेलायतले मैत्री सम्धी भएको अवसरमा नेपाली समुदायलाई प्रधानमन्त्री कार्यालयमा बोलाउनुले नेपाललाई महत्त्व दिएको बुझ्न सकिने बताए । कार्यक्रममा बेलायतमा विभिन्न पेसा तथा व्यवसायमा रहेको नेपाली समुदाय, भूतपूर्व गोर्खाहरू,बेलायती सांसद तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार हिंसात्मक आक्रमण भएपछि त्यहाँको सरकारले बाहिर ननिस्किने अपिल गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् ।
उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी ‘किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब २८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म निवासरघर बाहिर ननिस्कन आग्रह छ’, भनेको छ ।
दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ । साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं+92512610321 (ह्वाट्सयाप समेत) र इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ ।
बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ । त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ । छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको जनाएको छ ।
काठमाडौं । क्यानडाको पश्चिमी प्रान्त अल्बर्टामा भीषण डढेलोका कारण छ हजार छ सय बासिन्दालाई विस्थापित गरिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जानकारी दिएका छन् । वुड बफेलोको क्षेत्रीय नगरपालिकाले स्थानीय आपत्कालीन अवस्था घोषणा गरेपछि मङ्गलबार दिउँसो खाली गर्ने आदेश जारी गरेको सिबिसी न्यूजले बताएको छ । बेकन हिल, अबासन्ड, प्रेरी क्रिक र ग्रेलिङ टेरेसका छिमेकीका लागि खाली गर्ने आदेश प्रभावकारी छ । फोर्ट म्याकमुरेका धेरै छिमेकीलाई अग्नि नियन्त्रकहरूका लागि बाटो बनाउन खाली गरिँदै गरेको बताइएको छ ।
उक्त विस्थापित क्षेत्रका सबै बासिन्दालाई अपराह्न ४ बजेसम्म छाड्न आदेश दिइएको थियो । सिबिसी न्यूजका अनुसार क्षेत्रीय अग्नि नियन्त्रण प्रमुख जोडी बुट्जले भन्नुभयो, “यो आदेशले खाली गर्ने क्षेत्रमा छ हजार पाँच सय मानिसलाई प्रभावित गर्नेछ ।” क्यानेडियन इन्टरएजेन्सी फरेस्ट फायर सेन्टरका अनुसार मङ्गलबार देशभरि एक सय ३४ वटा आगलागीका घटना भएका थिए । तीमध्ये ४३ वटा आगलागी नियन्त्रणबाहिर छन् ।
क्यानडा सरकारले देशभर सामान्यभन्दा माथिको तापक्रमले जङ्गलमा आगलागीको ठूलो जोखिम निम्त्याउन सक्ने चेतावनी दिएको छ । सन् २०२३ मा क्यानडाको डढेलोको सिजन रेकर्डमा सबैभन्दा विनाशकारी हो । क्यानडाको राष्ट्रिय फायर डाटाबेसका अनुसार सन् २०२३ मा देशभर सात हजार एक सय ३१ आगलागी रेकर्ड गरिएको थियो । ती आगलागीबाट एक करोड ७२ लाख तीन हजार छ सय २५ हेक्टर जमिन जलेको थियो । रासस\सिन्ह्वा
काठमाडौं । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे। कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका)मार्फत उक्त रकम पोखरा महानगरपालिकालाई प्रदान गरिनेछ ।
महानगरपालिकासँगको सहकार्यमा फोहरमैला व्यवस्थापनका माध्यमबाट हरित रोजगारी सिर्जना गरिनेछ। हरित रोजगारी परियोजना राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)मार्फत सञ्चालन हुनेछ । त्यस अवसरमा अर्थसचिव मरासिनीले नेपालको सामाजिक–आर्थिक विकासमा कोरियाबाट निरन्तर सहयोग प्राप्त भएकामा कृतज्ञता व्यक्त गरे।
राजदूत पार्कले परियोजनाका माध्यमबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको सन्दर्भमा आपसी सहयोग विस्तारमा जोड दिइएको उल्लेख गर्दै नेपाल कोरियाको प्राथमिकताप्राप्त देश रहेको बताए।
नेपाल अमेरिका पत्रकार संघ(नेजा)को १७औं साधारण सभा अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हुनगइरहेको छ। उक्त साधारण सभा 594 Washington Street, Braintree, MA- 02184 स्थित प्रवासी नेपालीहरुको संस्था ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड(प्याब्फोन-PABFONE)को सामुदायिक भवनमा यही आउदो मे २५ र २६, २०२४ (शनिबार र आइतबार) गर्ने निधो गरिएको छ। नेजाले उक्त साधारण सभालाई व्यवस्थित गरी सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी गर्दै सहभागिताका लागि रजिष्ट्रेशन खुला गरिसकेको छ। नेजाले आफ्ना सदस्यहरुलाई साधारण सभामा सक्रिय सहभागी हुन आव्हान गर्दै रजिष्ट्रेशन खुला गरेको हो। संस्थाको विधानको धारा ९.३.२ मा व्यवस्था भए बमोजिम साधारण सभा वा अधिवेशनमा भाग लिन चाहने सदस्यहरुले तोकिएको साधारण सभाको मिति भन्दा ७ दिन अगाडि नै रजिष्ट्रेशन गरिसक्नु पर्दछ। सोही बमोजिम संस्थाले रजिष्ट्रेशन खुला गरिसकेको नेजाका उत्तर-पूर्व क्षेत्रीय संयोजक एवम् १७औं साधारण सभा मूल आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले जानकारी दिए। रजिष्ट्रेशनका बारेमा जानकारी दिदै संयोजक बस्नेतले भने, ‘साधारण सभाको मिति निकै नजिकिसकेको छ। त्यसैले विधानले व्यवस्था गरे बमोजिम रजिष्ट्रेशन खुला गरिसकिएको छ। यथासिघ्र रजिष्ट्रेशन गरेर साधाण सभामा सहभागिताको सुनिश्चितता गर्न सबै सदस्य ज्यूहरुलाई विनम्र अनुरोध गर्दछु।’
संस्थाले जनाए अनुसार १७औं साधारण सभामा भाग लिनका लागि रजिष्ट्रेशन गर्ने अन्तिम म्याद यही आउदो मे १७ तारिख सुक्रबार रातको १२ बजे(अमेरिकाको पूर्वीय समय अनुसार) सम्म मात्र रहेको छ। रजिष्ट्रेशनका लागि सदस्यहरुले संस्थाले उपलब्ध गराएको विद्युतीय फारम भरी तोकिएको शुल्क तिरेर आफ्नो नाम दर्ता गर्नु पर्नेछ। संस्थाले रजिष्ट्रेशनका लागि एकल सदस्यलाई प्रति सदस्य १ सय पचास अमेरिकी डलर र परिवारसहितका लागि दुइ सय अमेरिकी डर रजिष्ट्रेशन शुल्क तोकेको छ। रजिष्ट्रेशनका लागि लिंक;
रजिष्ट्रेशन खुला भएसंगै सदस्यहरुले पनि साधारण सभामा सक्रिय सहभागिता जनाउन रजिष्ट्रेशन गर्दै आवश्यक तयारीमा जुट्न थालेका छन्। संयोजक बस्नेतले जानकारी दिए अनुसार साधारणसभाको मिति नजिकिदै गर्दा साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्न नेजा परिवार उत्साह, उर्जा र उमङ्गका साथ आवश्यक अन्य तयारीमा पनि जुटिरहेको छ।
काठमाडौं । नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै करिब १ खर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष (आव) २०८०–८१ को चैतसम्म शिक्षातर्फ ९५ अर्ब ८५ करोड रुपैयाँ विदेशिएको छ । यो अधिल्लो वर्षको तुलनामा धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा शिक्षातर्फ ६७ अर्ब १९ करोड रुपैयाँ मात्र विदेशिएको थियो ।
शिक्षाका लागि अधिक रकम विदेशिँदा भ्रमण व्यय समेत अघिल्लो वर्षको तुलनामा ह्वात्तै बढेको पाइएको छ । यस वर्ष ९ महिनामा भ्रमण व्यय १ खर्ब ४३ अर्ब २२ करोड पुगेको छ । यसमध्ये शिक्षामा ९५ अर्ब ८५ करोड र घुमफिरमा जानेले ४७ अर्ब ३७ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा विदेश लगेका छन् ।
यसअवधिमा नेपालले विदेशी पर्यटकका माध्यमबाट भने ६० अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको यसै अवधिमा करिब ४० प्रतिशत धेरै हो । सो वर्ष भ्रमण आय ४३ अर्ब १७ करोड थियो । सेवा खाता अन्तर्गत मुलुक भित्रने भन्दा विदेशिने रकम हुँदा यस्तो खाता घाटामा देखिन्छ ।
९ महिनाको अवधिमा सेवा खाता ५२ अर्ब २३ करोड रुपैयाँले घाटामा छ । सेवा खाता अघिल्लो वर्षको यसै अवधिमा ६३ अर्ब ९१ करोड रुपैयाँले घाटामा थियो । यस वर्ष पर्यटन आय बढ्दा घाटा केही कम भने भएको देखिन्छ ।
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको काम गर्न जान भाषा परीक्षा उत्तीर्ण गरेका छ हजार ३२१ जनामध्ये सिप परीक्षामा उत्तीर्ण भएका हुुन् । जसमा बाँकी ७७ जना सिप परीक्षामा अनुुपस्थिति रहेको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले जनाएको छ ।
सो शाखाका अनुसार उत्पादनतर्फ पहिलो चरणको परीक्षामा सहभागी ४० हजार ५८० जना सहभागी भएका थिए । यो सङ्ख्या तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार चार सय हो । सो शाखाका अनुसार गएको फागुन पहिलो सातादेखि चैत २४ सम्म ४७ हजार ५१५ जनाका लागि लिइएको पहिलो चरणको भाषा परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए ।
सो शाखाका अनुसार भाषा र सिप परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीलाई वैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म स्वास्थ्य परीक्षण गर्ने गरी नाम नम्बर सार्वजनिक गरेको छ । स्वास्थ्य परीक्षणका लागि पाटन अस्पताल लगनखेल, शुव्रmराज ट्रपिकल अस्पताल टेकुु, नेपाल कोरियामैत्री अस्पताल भक्तपुर र निजामती अस्पताल मीनभवन तोकिएको इपिएस शाखाले जनाएको छ ।
पहिलो चरणको सिप परीक्षामा सहभागी परीक्षार्थीको नतिजा दक्षिण कोरिया सरकारको मानव संशोधन विभागले बिहीबार राति सार्वजनिक गरेको जनाइएको छ । गएको फागुुन २७ गते भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको एचआरडीले वैशाख ९ गतेदेखि १५ सम्म सिप परीक्षा सञ्चालन गरिएको थियो । इपिएस शाखाले कोरियन भाषा र सिप परीक्षा उत्तीर्ण हुँदैमा कोरियामा रोजगारीको ग्यारेन्टी नहुने र रोजगारीको छनोट प्रव्रिmयामा सामेल हुनु रोस्टरमा सूचीकृत हुनु मात्रै भएको जनाएको छ ।
कोरियामा नेपाली युवाको माग बढ्न थालेपछि इपिएस अन्तर्गत १६ देशमध्ये नेपालबाट धेरै श्रमिक लैजाने योजना अनुसार सिप परीक्षाको नतिजा प्रकाशित गरिएको हो । परीक्षाका लागि आवेदन दिने नेपालीको सङ्ख्या धेरै भएपछि तीन चरणमा परीक्षा भइरहेको छ । तीन चरणकै परीक्षा सम्पन्न गर्न १० महिना अर्थात् २०८१ साल पुससम्म लाग्ने सो शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन् । उनले भाषा परीक्षाका लागि एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएकोमा १६ हजार चार छनोट गरेर पठाउने योजना रहेको बताइन् । हाल उत्तीर्ण भएका युवालाई जुन महिनामा हुने रोजगारदाता छनोटका लागि तयार हुन भनिएको छ ।
दक्षिण कोरियाले इपिएस अन्तर्गत सन् २०२४ का लागि नेपाललाई तोकेको कोटा थप गरेका कारण यो वर्ष हालसम्मकै धेरै नेपालीले कोरियाको रोजगारी पाउने सम्भावना छ । २०२३ सालमा इपिएस अन्तर्गत १९ हजार ६९८ नेपाली कोरिया प्रवेश गरेकामा २०२४ सालको हालसम्म दुई हजार ७९२ जना गइसकेका छन् ।
यसबाहेक दक्षिण कोरियाले सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र सिप बिल्डिङ क्षेत्रबाट मात्र श्रमिक लगिरहेकोमा यो वर्षदेखि वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रसमेत थप गरी यी क्षेत्रमा पनि नेपालबाट श्रमिक लैजाने भएको छ । विगतको वर्षभन्दा सन् २०२४ मा अझ बढी सङ्ख्यामा नेपाली श्रमिक कोरिया लैजाने बेहोराको पत्र कोरिया सरकारबाट आएको छ । कोरियाले यो वर्ष नेपालबाट २२ हजारभन्दा बढी युवा लैजाने आश्वासन दिएको छ ।
काठमाडौं । नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच पदर्मागमा आधारित पर्यटन विकास परियोजना सुरु गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरबार स्थित अर्थ मन्त्रालयमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल र नेपालका लागि स्वीट्जरल्याण्डका तर्फबाट राजदूत डेनियल मेउलीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा हस्ताक्षर कार्यक्रममा सहसचिव कृष्ण नेपालले यो परियोजनाले कोशी प्रदेशका आकर्षक पदमार्गहरूको स्तरोन्नति गरी स्थानीय आर्थिक विकास र दिगो पर्यटन प्रबर्धन गर्ने लक्ष्यका साथ सम्झौता गरिएको बताए । यो आयोजना आगामी चार वर्षमा स्वीजरल्यान्ड सरकारको ९.०१ मिलियन डलर अनुदान सहयोगमा सञ्चालन हुने जानकारी दिए ।
उनले १६ मिलियन बराबरको आयोजनामा प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानी समेत रहने जानकारी दिए । ‘एकीकृत पर्यटन विकाससँग सम्बन्धित आयोजनामा हामीले सम्झौता गरेका छौँ । १६ मिलियन सिएचएमको र ९.०१ मिलियन डलर स्वीजरल्यान्ड सरकारबाट अनुदान प्राप्त हुन्छ । यो आयोजनाले सन् २०२८ सम्ममा चल्छ । कोसी प्रदेश अन्तरर्गतका २९ स्थानीय तह कभर गर्छ । अहिलेसम्म १६ पदमार्गको खाका तयार भएको छ ।
त्यसबाट १ लाख नागरिकले प्रत्यक्ष लाभ लिने आयोजनामा मूल्यांकन छ,ु उनले भने, स्थानीय उत्पादन, स्थानीय अर्थतन्त्र, स्थानीय रोजगारी सिर्जनामा र स्थानीय साना तथा मझौला उद्यमहरूको विकासमा पनि सहयोग पुग्छ । यो सम्झौताले मुलुकको पर्यटन क्षेत्रमा योगदान पुर्याउँछ । कायान्वयनको लागि तीनै तहका सरकार सहकार्यमा स्वीज सरकार समन्वयात्मक रुपमा गरिने छ । सहजरुपमा कार्यान्वयन हुन्छ भन्ने अपेक्ष गरेका छौं ।’
आयोजनाले स्थानीय समुदायहरूलाई बढावा दिन र यस क्षेत्रको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्दै वार्षिक रूपमा लगभग ८० हजार आगन्तुकहरूलाई स्वागत गर्ने अपेक्षा गरिएको बताए । उनले कोसी प्रदेशमा दिगो सामाजिक–आर्थिक विकासका लागि नेपाल–स्विस साझेदारीमा अर्को कोसेढुंगा सावित हुने विश्वास रहेको बताए ।
काठमाडौं । आन्तरिक राजस्वको प्रभावकारी कार्यान्यवन क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस टयाक्स इनिसिएटिभ (एटीआई) को क्षेत्रीय प्राविधिक बैठक नेपालमा आयोजना भएको छ । काठमाडौंमा बुधबार सुरु बैठकमा एटीआई सदस्य १६ मुलुकका कर प्रशासक, विज्ञ र विकास साझेदारका प्रतिनिधि गरी ६० जनाभन्दा बढी सहभागी छन् । काउन्सिल अन इकोनोमिक पोलिसी ९सीईपी० र जर्मन इन्स्टिच्युट फर डेभलपमेन्ट एन्ड सस्टेनेबिलिटीसँगको सहकार्यमा आन्तरिक राजस्व विभागले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमको प्रमुख उद्देश्य कर प्रणालीको निष्पक्षता, पारदर्शिता, दक्षता र प्रभावकारितामा सुधारका लागि सहकार्य गर्नु रहेको विभागले जनाएको छ । गत वर्ष फिलिपिन्सको मनिलामा सम्पन्न क्षेत्रीय कार्यशालाले एटीआईको कार्यशालामा काठमाडौँमा गर्ने निर्णय गरेको थियो । कार्यशालाको अर्थ मन्त्रालयका सचिव (राजस्व) डा. रामप्रसाद घिमिरेले उद्घाटन गरे । उनले नेपालमा बैठक राखिएको र विभागलाई कार्यक्रमको सहआयोजकको भूमिका प्रदान गरेकामा धन्यवाद दिए । घिमिरेले सदस्य देशहरूले भोग्दै आएको वित्तीय चुनौती सामना गर्न कार्यशाला फलदायी हुने विश्वास व्यक्त गरे ।
सदस्य मुलुकहरूबीचको सहकार्य थप बलियो बनाउन, कर प्रशासनलाई पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउन तथा वित्त परिचालनमार्फत समावेशी र दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा अघि बढ्न कार्यशालाले मागदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरे । राजस्व परिचालन र कर छुटसम्बन्धी नीतिहरुमा समीक्षा गर्दै आगामी दिनमा लिनुपर्ने नीतिबारे सामूहिक धारणा बनाउन उनले सुझाए ।
कार्यशाला उदघाटनमा एडिस कर सञ्चालक समितिका तर्फबाट एलिस्टेयर लोबोले कार्यशालाको उद्देश्य र कार्यक्रमबारे जानकारी दिए । एटीआईले स्थापनादेखि नै विकास साझेदार संस्था र साझेदार मुलुकबीच राम्रो सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा सहकार्यले थप गति पाउने बताए ।
उनले सदस्य राष्ट्रहरुले दिगो विकास लक्ष्य हासिल गर्न सहयोगी हुने कर प्रणाली अपनाउनु पर्नेमा जोड दिए । संस्थाले आगामी दिनमा पनि साझेदारीका साथै ज्ञान र अनुभव आदानप्रदान, निष्पक्ष र प्रभावकारी राजस्व परिचालन, नीतिगत सामञ्जस्यताका लागि काम गर्ने विश्वास व्यक्त गरे । एटीआईको घोषणापत्रअनुसार कर खर्चको पारदर्शिता बढाउन, लागत लाभ मूल्यांकन सहज बनाउन तथा कर दातामाथिको कर भार घटाएर उनीहरूको विश्वास जित्ने गरी काम गर्नुपर्ने उल्लेख गरे ।
लोबोले कार्यशाला निष्पक्ष र पारदर्शी कर प्रणालीको विकास गर्न, क्षेत्रीय संयन्त्रको थप विकास गर्न, दिगो विकासका लक्ष्य हासिल गर्ने नीति तय गर्ने विश्वास व्यक्त गरे ।
यस्तै नेपालका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय निर्देशक आयशानी मेडागाङ्गोडा लाबेले दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक वित्त परिचालनका लागि कार्यशालाले प्रभाकारी भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरिन् । राष्ट्र संघको सहश्राब्दी विकास लक्ष्य हासिल गर्न एटीआई सदस्य मुलुकहरूले गरेको प्रयासको सराहना गरिन् । एसियाली विकास बैंकका तर्फबाट कर क्षेत्र हेर्ने सजन्दप भट्टाचार्य भर्चुअल रुपमा सम्बोधन गरेका थिए ।
एटीआईले सदस्यहरूका बीचमा राजस्व परिचालन सम्बन्धी एजेन्डामा सहकार्य गर्दै आएको छ । आन्तरिक राजस्व वृद्धिका लागि स्वच्छ र प्रभावकारी राजस्व संकलन र परिचालन, सदस्य राष्ट्रहरूका बीचमा नीतिगत एकरूपता, ज्ञान, सिप र क्षमता अवभिवृद्धिका क्षेत्रमा एटीआईले जोड दिँदै आएको छ ।
निष्पक्ष र प्रभावकरी राजस्व परिचालन, कर प्रणालीमा नीतिगत सुधार तथा साझेदारीमार्फत दिगो विकास लक्ष्य हासिल गर्ने, अनुभव आदानप्रदान गर्ने, विकास साझेदारहरूबीच समन्व गर्ने उद्देश्यसहित इथियोपियाको राजधानी अदिस अबाबामा सन् २०१५ को जुलाइमा भएको आयोजित विकासका लागि वित्तीय सम्मेलन (फाइनान्सिङ फर डेभलपमेन्ट) ले एटीआई स्थापना गरेको थियो ।
सहभागीहरूलाई करको अनुमान, रिपोर्टिङ, र मूल्यांकनका प्राविधिक पक्षका साथै कर प्रशासनमा प्रविधिको प्रयोग र भावी दिनमा गरिने सहकार्यका क्षेत्रबारे विज्ञले प्रशिक्षणसमेत दिनेछन् ।
कार्यशालामा नेपालका तर्फबाट संघीय संसद सचिवालय, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागका प्रतिनिधि सहभागी छन् । संस्थागत साझेदारका रूपमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधि पनि कार्यशालामा सहमभागी भएका छन् ।
कार्यशालाले नेपालको कर प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन क्षतमा विकास गर्नुका साथै नेपालले कर प्रशासनका क्षेत्रमा हासिल गरेका अनुभवबारे सदस्य राष्ट्रहरूलाई अवगत गराउन फलदायी हुने आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीले बताए ।
काठमाडौं । अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२ घर भएका ४१ वर्षीय तेजराम चौधरी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको झम्सिखेलबाट पक्राउ गरेको हो । अमेरिका पठाउने भन्दै चार जनाबाट उनले सुरुमा १ करोड १८ लाख रुपैयाँ लगेका थिए । पहिले ब्राजिलमा गएर काम गर्ने र त्यहाँबाट अमेरिका जाने भन्दै नक्कली कामदार भिसा बनाएर उनीहरूलाई पठाइएकोमा फिलिपिन्स पुगेपछि त्यहाँको अध्यागमनले फिर्ता गरिदिएको थियो ।
पीडित चार युवा नेपाल फर्किएपछि फेरि उनीहरूलाई अमेरिका पठाउने भन्दै दिल्ली पुर्याइ २ महिनासम्म राखिएको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए । दिल्लीमा बन्धक बनाएर राखेपछि त्यहाँबाट उम्कनसमेत ३९ लाख रुपैयाँ बुझाउनु परेको पीडितहरूको भनाइ छ । अमेरिका जान र बन्धक बनाएपछि छुट्नसमेत गरेर उनीहरूले डेढ करोड रुपैयाँभन्दा बढी बुझाएको एसपी रेग्मीले बताए ।
काठमाडौं । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण भएको छ । मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै युरोप, जापान, कोरिया, इजरायल लगायतका मुलुकमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी भइरहेको जानकारीमा आएको जनाएको हो ।
वैदेशिक रोजगारीमा जान इच्छुकलाई आकर्षक रोजगारीको प्रलोभन देखाउने, युरोप, अमेरिका, जापान, कोरिया, इजरायल लगायतका देशमा रोजगारीको अवसर छ भनी सामाजिक सञ्जालमा भ्रामक सूचना प्रेषित गर्ने र आम नागरिकमा भ्रम सिर्जना गरी आर्थिक पमा ठगी गर्ने गरेको पाइएको छु, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गैरकानुनी कार्य नियन्त्रण गर्न मन्त्रालय र अन्तर्गतका निकाय तथा नियमनकारी निकायह प्रतिबद्ध छन् । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउन आवश्यक नीतिगत, कानूनी एवम् संस्थागत प्रबन्ध गरी यस क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न सरकारले अधिकतम प्रयास गरिरहेको छ ।
वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट जोगिन सर्वसाधारण समेत चनाखो हुनुपर्ने मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगीबाट बच्न वैदेशिक रोजगारीमा जाने प्रक्रिया सु गर्नु अगाडि इजाजतपत्र प्राप्त संस्थामार्फत मात्र प्रक्रिया अगाडि बढाउन मन्त्रालयले आग्रह गरेको छ ।
कुनै संस्था इजाजतपत्र प्राप्त हो वा होइन, वैदेशिक रोजगारको लागि पूर्व स्वीकृति लिएको छ वा छैन भनि वैदेशिक रोजगार विभागको वेवसाइटमार्फत यकीन गर्ने, बिना प्रमाण तोकिएको शुल्क भन्दा बढी रकम नदिने र वैदेशिक रोजगारी प्रयोजनका लागि तोकिएको सेवा शुल्क संस्थाको बैंक खातामार्फत मात्र बुझाउने गर्दा ठगी बाट बचिने मन्त्रालयको भनाइ छ ।
वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कुनै पनि व्यक्ति वा संस्थाले इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा, कसैलाई वैदेशिक रोजगारमा लगाइदिन्छु भनी झुट्टो आश्वासन तथा प्रलोभन देखाएर रकम लिई ठगी गरेमा कारबाही हुने व्यवस्था छ ।
अवैध पमा कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको ५० प्रतिशतले हुने रकम हर्जनावापत असुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च भराई तीन लाखदेखि पाँच लाखसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।
काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको स्वदेश फिर्ता भएकी छिन् । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरिन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवास र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा जापानका विदेशमन्त्री योकोले शिष्टाचार भेटवार्ता गरेकी थिइन् । भेटमा द्विपक्षीयहित तथा चासोका विषयमा छलफल भएको थियो । राष्ट्रपति पौडेलसँगको भेटका क्रममा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा शून्य कार्बन उत्सर्जन नीतिको कार्यान्वयनका लागि आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको थियो ।
त्यसैगरी, प्रधानमन्त्री दाहालसँगको भेटका क्रममा आर्थिक तथा सामाजिक क्षेत्रमा सहकार्यका लागि छलफल भएको जनाइएको छ । उनले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेकी छिन् । उनी जमलस्थित मण्डला बुक प्वाइन्ट गई केही नेपाली पुस्तक खरिद समेत गरेकी छिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहेकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार भएको भेटमा उनीहरूबिच द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायतका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रूपक सापकोटाले जानकारी दिए ।
भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल–जापानबिच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले सहयोग पुर्याउँदै आएको र पछिल्लो समय नेपालको ठुला पूर्वाधार निर्माणमा पनि महत्त्वपूर्ण सहयोग गरेको बताए । उनले नेपालको पूर्वाधार एवं आर्थिक–सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार व्यक्त गरे ।
“नेपाल–जापानबिच हुँदै आएको उच्चस्तरीय भ्रमणले दुई देशबिचको कूटनीतिक सम्बन्ध अझ सबल हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “आगामी दिनमा नेपाल र जापान दुवैतर्फबाट उच्चस्तरीय भ्रमण हुने मैले विश्वास लिएको छु ।”
अवसरमा जापानी विदेशमन्त्री योकोले नेपाल–जापानबिच सम्बन्ध सदैव सौहार्दपूर्ण रहँदै आएको उल्लेख गर्दै दुई देशबिच रहिआएको समस्यारहित मित्रवत् सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाएर लैजानुपर्नेमा जोड दिइन् । उनले आर्थिक विकासमा नेपालले राखेका लक्ष्य पूरा गर्नका लागि जापान सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
सो अवसरमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल, जापानका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी, नेपालका लागि जापानी राजदूत किकुता युताकालगायतका उच्च अधिकारीको सहभागिता रहेको थियो।