Category: डायस्पोरा

  • अन्तर्राष्ट्रिय विद्यार्थी सीमित गर्ने योजना अस्ट्रेलियाको अर्थतन्त्रका लागि घातक

    अन्तर्राष्ट्रिय विद्यार्थी सीमित गर्ने योजना अस्ट्रेलियाको अर्थतन्त्रका लागि घातक

    काठमाडौं । अस्ट्रेलियाको सबैभन्दा ठुलो व्यापारिक समूहले विश्वविद्यालयहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने सरकारको योजनाले अर्थतन्त्रलाई क्षति पुर्‍याउने चेतावनी दिएको छ । अस्ट्रेलियाका एक सयभन्दा बढी ठुला निगमका प्रमुख कार्यकारी समावेश बिजनेस काउन्सिल अफ अस्ट्रेलिया ९बिसिए० ले बुधबार अीट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थीको प्रवेश कटौतीले देशको आवास आपूर्तिको अभाव समाधान नगरी अर्थतन्त्रलाई नोक्सान पुर्‍याउने जनाएको छ ।

    सत्तारुढ लेबर पार्टीले मे महिनामा अस्ट्रेलियाको उच्च आप्रवासीहरूको प्रवेश कटौती गर्ने व्यापक रणनीतिको एक हिस्साको रूपमा विश्वविद्यालयहरूमा भर्ना गर्न अनुमति दिइएको नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या सीमित गर्ने योजना प्रकट गरेको थियो । सरकारलाई प्रस्ताव पेस गर्दै बिसीएले अन्तर्राष्ट्रिय शिक्षा प्रदायकको रूपमा अस्ट्रेलियाको प्रतिष्ठा र उच्च शिक्षा क्षेत्रको समग्र गुणस्तरलाई क्षति पुर्‍याउन सक्ने जनाएको छ ।

    अर्थतन्त्र ठप्प हुँदै गइरहेको उल्लेख गर्दै सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गरेर गलत छोटो अवधिको निर्णय लिन लागेकोमा उनीहरूले चिन्ता व्यक्त गरेका छन् । यसले अर्थव्यवस्थामा दीर्घकालीन नकारात्मक असर पारी सबै अस्ट्रेलियालीहरू प्रवावित हुने बिसिएका प्रमुख कार्यकारी ब्रान ब्ल्याकले बुधबार विज्ञप्तिमा उल्लेख गरेका छन् ।
    सरकारी तथ्याङ्क अनुसार सन् २०२३ मा अस्ट्रेलियाको अर्थतन्त्रमा अन्तर्राष्ट्रिय शिक्षाको मूल्य ४७.८ अर्ब अस्ट्रेलियाली डलर थियो । यसले अस्ट्रेलियाको फलाम, कोइला र प्राकृतिक ग्यास पछिको चौथो ठुलो हिस्सा धानेको छ । सरकारले सोमबारको घोषणामा अष्ट्रेलियामा अध्ययन गर्न आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि भिसा आवेदन शुल्क ७१० अस्ट्रेलियाली डलरबाट एक हजार ६०० अस्ट्रेलियाली डलर वा दोब्बरभन्दा बढी बनाएको छ । रासससिन्ह्वा

  • विदेशस्थित कूटनीतिक नियोगको क्षमता बढाउनु पर्छ : प्रधानमन्त्री

    विदेशस्थित कूटनीतिक नियोगको क्षमता बढाउनु पर्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीहरूको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतीकरण सम्बन्धी छलफलमा प्रधानमन्त्री दाहालले विदेशस्थित नेपाली नियोगहरुलाई सशक्त बनाउन आवश्यक रहेको बताए ।

    बैठकमा प्रधानमन्त्री दाहालले विदशमा रहेका नेपालीहरूको हितरक्षा र अधिकारलाई आफूले उच्च प्राथमिकता दिएको भन्दै त्यसका लागि संस्थागत र संरचनागत क्षमता अभिवृद्धि मुख्य विषय भएको बताएका थिए ।

    प्रधानमन्त्री दाहालले भने, ‘विदेश जाने नेपालीहरूको संख्या बढ्दैछ। तर, हाम्रो परराष्ट्र मन्त्रालय, मातहतका कार्यालय र नियोगहरू आवश्यकताअनुसार बलियो बनाउन सकिएको छैन। दरबन्दी धेरै पूरानो छ। यसलाई बदलेर संगठन र जनशक्ति व्यवस्थापन सुदृढ गरौँ। विदेशमा रहेका नेपालीहरूको हितरक्षा र अधिकारलाई केन्द्रमा राखेर काम गरौँ। सचिवस्तरमा प्राविधिक तयारी गर्नुस्। त्यसपछि हामी छिट्टै एउटा निष्कर्षमा पुग्नेछौँ।

    बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार राष्ट्रियताको सवाल कुटनीतिमा अभिव्यक्त भएको भन्दै नेपालले परराष्ट्र मन्त्रालय र यसअन्तर्गतका निकायहरूको सवलीकरण गर्नुपर्ने बताए ।

  • कोरियाको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा ८ जना पक्राउ

    कोरियाको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा ८ जना पक्राउ

    काठमाडौं । दक्षिण कोरिया दूतावासको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले ८ जनालाई पक्राउ गरेको छ । अनलाइनमार्फत भिसा पाउने मिति रोज्न पाउने सुविधामा एजेन्टहरुले पहिले नै समय लिएर उक्त समय सर्वसाधारणलाई बेच्ने गरेको पाइएपछि ८ जनालाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।


    पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–५ घर भएका २१ वर्षीय दीपेन्द्र राई, नवलपुरको देवचुली नगरपालिका–१२ का २४ वर्षीय पवन काफ्ले, कावासोती नगरपालिका–८ का २१ वर्षीय संघर्ष ढकाल, काठमाडौं कलंकीका ३३ वर्षीय नवीन पौडेल, पोखरा महानगरपालिका–९ का समेश शेरचन र गोरखाको चुमनुब्री गाउँपालिका–७ का २१ वर्षीय छिरिङ निमा लामा छन् । अन्य दुई जनाको नाम प्रहरीले खुलाएको छैन ।

    उनीहरुले पहिल्यै अनलाइनमार्फत भिसाको डेट होल्ड गर्ने र अन्तर्वार्ताका लागि डेट नपाउनेहरुलाई प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले बेच्ने गरेको पाइएको सीआईबी स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् ।


    ३० हजार रुपैयाँ तिर्दा भिसाको डेट पाएको तर भिसा नपाएको गुनासो दूतावासमा आएपछि दूतावासले सीआईबीलाई जानकारी गराएको थियो । दूतावासको पत्रपछि सीआईबीले ८ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

    पक्राउ परेकामध्ये पवन इनोभा कन्सल्टेन्सी, संघर्ष युनिभा, नवीन यति सर्भिस् कन्सल्टेन्सी, सुमेश नोभा कन्सल्टेन्सी र छिरिङ यति सर्भिस् कन्सल्टेन्सीमा आबद्ध रहेको देखिएको सीआईबीले जनाएको छ ।

  • मलेसियाको जेलमा रहेका ६१ प्रतिशत नेपालीको मिलेन कागजात

    मलेसियाको जेलमा रहेका ६१ प्रतिशत नेपालीको मिलेन कागजात

    काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसियाको जेल र घर फिर्की केन्द्रमा रहेका ६१ प्रतिशत श्रमिकको कागजात नमिलेका कारण रहेको तथ्य सार्वजनिक भएको छ । प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) र सेन्टर फर दी स्टडी अफ लेबर एन्ड मोबिलिटी (सेस्लाम) ले मलेसियाको ‘डिपोर्टटेसन सेन्टर’ अर्थात् जेलमा बसी नेपाल फर्केका ७५८ जना नेपाली श्रमिकको अवस्था अध्ययन गर्दा यस्तो पाइएको तथ्य सार्वजनिक गरेको हो ।

    प्रतिवेदनमा जेल र घर फिर्की केन्द्रमा रहेका नेपालीले समयमा कानुनी प्रतिरक्षासमेत नपाएको उल्लेख छ । अध्ययन प्रतिवेदनले फिर्की केन्द्रको अनुगमन र स्थानीय अधिकारीसँग समन्वय बढाउन मलेसियामा रहेको नेपाली दूतावासलाई सुझाव दिएको छ । प्रतिवेदन अनुसार सो अवधिमा मलेसियामा जेल पर्नेमध्ये सबैभन्दा बढी ६१ प्रतिशत कम्पनी छाडेका रहेका छन् ।

    यस्तै सहकर्मी वा रोजगारदातासँग झगडा (आठ प्रतिशत) र हत्या, चोरी, अवैध लागुऔषध बेच्ने र प्रयोग गर्ने, नक्कली मदिराको बिक्री, जुवा र अपहरण गर्ने (तीन प्रतिशत) जस्ता आपराधिक गतिविधिका कारण ठुलो सङ्ख्यामा नेपाली श्रमिक मलेसियामा जेल पर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

    कागजपत्रसम्बन्धी मुद्दामा पक्राउ परेका ८० प्रतिशतभन्दा बढी नेपाली आप्रवासी श्रमिक काम पर्ने अनुमतिपत्र बाँधिएको रोजगारदाता कहाँबाट भागेको र त्यसकारण वैध कागजात नभएकाले नौ प्रतिशतसँग वैध भिसा वा काम गर्ने अनुमतिपत्र नभएकाले जेल परेको प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदन अनुसार नेपालका एजेन्ट वा भर्ना एजेन्सीबाट ठगिएका छन् भने एक प्रतिशतसँग राहदानी वा परिचयपत्र नभएकाले जेलमा परेका छन् । प्रतिवेदनले कूटनीतिक नियोगका लागि श्रम स्वीकृतिको अवधि समाप्त भएका अलेखबद्ध श्रमिकका लागि पनि कानुनी सहायता उपलब्ध गराउन आवश्यक परेको भन्दै नेपाली श्रमिकको कानुनी प्रतिरक्षाका लागि निर्देशिका लागु गर्न सुझाव दिएको छ ।

    मलेसियाको कानुन अनुसार भिसामा उल्लेख भएकै रोजगारदाता कम्पनीमा काम गर्नुपर्ने हुन्छ । धेरैले राम्रो सेवा सुविधा खोज्दै कम्पनी परिवर्तन गर्ने गर्छन् । कम्पनी छाडेर भाग्दा राहदानी रोजगारदाता वा कम्पनीमै छोडेपछि उनीहरू कागजविहीन हुन्छन् र कानुनी झमेलामा फस्ने गरेका छन् । रोजगारदातासँगको झगडा, विवाद र अन्यत्र बढी कमाइ हुने अपेक्षाले पनि श्रमिकले कम्पनी छाड्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

  • नक्कली म्यानपावर चलाउने दुई भारतीय पक्राउ

    नक्कली म्यानपावर चलाउने दुई भारतीय पक्राउ

    काठमाडौं । नक्कली मेनपावर सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ५ बाइपासमा सम्बन्धित निकायबाट दर्ता नगरी सञ्चालन गरिएको जेडी मेनपावरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

    अवैधरुपमा सञ्चालित मेनपावर पनि बन्द गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए । प्रहरीका अनुसार श्रम तथा रोजगार कार्यालय बुटवलसँगको समन्वयमा मुम्बईका २४ वर्षीय निर्सग रविन्द्र राणे र सोही स्थानका ३७ वर्षीय जावेद मसिहलाई पक्राउ गरिएको हो ।

    उनीहरूको साथबाट ल्यापटप, भारतीय आधार कार्ड, भारतीय बैंकको चेकबुक र डेबिट कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति र सामान आवश्यक कारबाहीका लागि श्रम तथा रोजगार कार्यालय बुटवललाई बुझाइएको छ । प्रशासनले बन्द गरिएको मेनपावरबाट पीडितलाई श्रम तथा रोजगार कार्यालय बुटवलमा सम्पर्क गर्न आग्रह गरेको छ ।

  • रसुवागढी नाकामा राखियो तीन भाषामा साइन बोर्ड

    रसुवागढी नाकामा राखियो तीन भाषामा साइन बोर्ड

    काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीस्थित अध्यागमन कार्यालयले तीन भाषाको ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको छ । कार्यालय प्रमुख मुरारी निरौलाले नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको जानकारी दिए । उनले ‘साइनबोर्ड’ले पर्यटकको आवागनमा थप सहज हुने बताए ।


    कार्यालयका अनुसार चालु आवको साउनदेखि हालसम्म एक हजार ७२ जनाले मानसरोवर , २२ जनाले ल्हासा ४० जनाले ल्हासा र कैलाश दुवै स्थानका लागि एवं पाँच जनाले गन्जाउलगायत अन्य स्थान जानका लागि अनुमति लिएका थिए । अध्यागमनले पर्यटकको रूपमा आवतजावत गर्नेको राहदानी अभिलेख राख्ने र रसुवावासीका लागि केरुङसम्म जान आउन नेपाल–चीन सीमा क्षेत्रका बासिन्दालाई प्रदान गरिने स्थायी परिचयपत्रसमेत प्रदान गरिँदै आएको छ ।

  • वैदेशिक रोजगारीबाट फर्केर उद्यमी बनेका ८ युवा सरकारद्धारा सम्मानित

    वैदेशिक रोजगारीबाट फर्केर उद्यमी बनेका ८ युवा सरकारद्धारा सम्मानित

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर देशमा उद्यमी बन्न सफल आठ युवा उद्यमीलाई पुरस्कृत गरेको छ ।
    मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रममा उनीहरुलाई नगदसहित सम्मन गरिएको हो । पुरस्कृत हुनेमा एक लाख ५० हजार रुपियाँसहित ‘उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार २०८०’ बाट झापामा व्यावसायिक रूपमा केरा र मकै खेती गर्दै आएका चन्द्रप्रसाद बस्नेत पुरस्कृत भए ।


    जनही ७५ हजार रुपियाँ नगदसहित ‘उद्यमी राष्ट्रिय पुरस्कार २०८०’ बाट गुल्मीका रविलाल पन्थ, झापाका मोहनप्रसाद सङ्ग्रौला, जुम्लाका टक्कबहादुर नेपाली, कन्चनपुरका चन्द्रसिंह थापा, नुवाकोटका अर्जुन परियार, म्याग्दीका भूपेन्द्र शर्मा र बाराका हिराबहादुर थापा पुरस्कृत भए । उनीहरुलाई श्रममन्त्री डोलप्रसाद अर्यालले नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरे ।


    देशमा नै रोजगारीका अवसर सिर्जना गर्न प्रेरित गर्नका लागि मन्त्रालयले प्रत्येक वर्ष वैदेशिक रोजगारबाट फर्किएर नेपालमा उद्यमी बनेका उद्यमीलाई पुरस्कृत तथा सम्मान गर्दै आएको छ । राष्ट्रिय सम्मान तथा पुरस्कारका लागि उद्यमीलाई सार्वजनिक रूपमा नै आवेदनको माग गरिएको थियो । इमेलमार्फत ८९ जना उद्यमीको पुरस्कारका लागि आवेदन आएको थियो ।

    विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ बमोजिमको पुरस्कार सिफारिस समितिले उद्यमीको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणबाट प्राप्त प्रतिवेदनका आधारमा ‘उत्कृष्ट राष्ट्रिय पुरस्कार’ बाट एक जना र ‘उद्यमी राष्ट्रिय पुरस्कार’ बाट प्रत्येक प्रदेशबाट एकएक जनाका दरले सात जना सफल उद्यमी युवालाई पुरस्कृत गरिएको हो ।

  • रास्वपामा राजदूत छान्ने जिम्मा स्वर्णिम र शिशिर खनाललाई

    रास्वपामा राजदूत छान्ने जिम्मा स्वर्णिम र शिशिर खनाललाई

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत छनोटको जिम्मा उपाध्यक्ष डा. स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई जिम्मा दिएको छ । सत्ता गठबन्धनको भागवण्डामा रास्वाले दुई देशका लागि राजदूत पाएको छ । पार्टीका तर्फबाट नाम सिफारिसका लागि सम्भावित नाम सुझाउन रास्वपाले अनलाइन फर्म र इमेलमार्फत आह्वान गरेको थियो ।

    जसमा २४० भन्दा बढी सुझाव आएको र तीमध्ये ७ जनाको नाम अन्तर्राष्ट्रिय विभागले सभापति रवि लामिछानेलाई बुझाएको छ । तर लामिछानेले उपाध्यक्ष वाग्ले र खनाललाई जिम्मा दिएका रास्वपाले जानकारी दिएको छ । राजदूत चयनका लागि रास्वपाले संयुक्त राष्ट्र संघका लागि पूर्व स्थायी प्रतिनिधि (राजदूत) प्रा डा जयराज आचार्यसँग परामर्श गर्ने पनि जनाएको छ ।

  • थाइल्याण्डमा गरियो नेपाल प्रवर्द्धन

    थाइल्याण्डमा गरियो नेपाल प्रवर्द्धन

    काठमाडौं । बैङ्ककस्थित नेपाली राजदूतावासले बिहीबार नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण सङ्घसँगको संयुक्त आयोजनामा बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ ।

    त्यस अवसरमा थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले पर्यटन क्षेत्रको व्यावसायिक सम्भावनाको खोजी गर्न सहभागी सबैलाई आग्रह गरे । नेपालले थाई पर्यटकहरूलाई भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र शान्तिको स्रोत, राजर्षि जनकको राजधानी जनकपुरदेखि मन्त्रमुग्ध गर्ने हिमालयका अनौठास्थलहरूको अवलोकनमा जान आग्रह गर्नुभएको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ ।

    नेपाल सांस्कृतिक, सम्पदास्थल, प्रकृतिप्रेमी, तीर्थयात्री, साहसिक, मनोरञ्जन, खेलकुद, जङ्गल सफारी गर्न चाहने हरेक वर्गका निम्ति पर्यटकीय गन्तव्य हो भन्दै राजदूत ओलीले धेरै लामो मैत्रीपूर्ण र ऐतिहासिक सम्बन्ध भए पनि नेपाल र थाइल्याण्डबीच अझै धेरै अन्वेषण गर्न बाँकी रहेको बताए ।

    उनले दुवै देशका व्यवसायी समुदायबीच व्यापार सञ्जाल, साझेदारी विकास र सूचना आदानप्रदान हुनुपर्नेमा जोड दिँदै नेपालको पर्यटन प्रवर्द्धनका लागि आवश्यक हरसम्भव सहयोग उपलब्ध गराउन दूतावास सधैँ तत्पर रहेको बताए ।
    सन् २००८ मा थाइल्याण्डबाट पहिलो सगरमाथा आरोहण गरेका र थाई नेपाल फ्रेन्डसिप एसोसिएसनका अध्यक्ष भितिदनान रोजानापानिचले नेपाल र हिमालयका बारेमा आफ्ना अनुभव सुनाए ।


    ‘एक्सपेरियन्स नेपालः लुम्बिनी टु हिमालयन ब्लिस’ शीर्षकमा भएको उक्त कार्यक्रममा नेपाल दूतावास र र नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा), नेपाल र थाइल्याण्डबाट २५ ट्राभल एण्ड टूर कम्पनी, थाइल्याण्डका ५० ट्राभल एण्ड टूर कम्पनी, नेपाल एयरलाइन्स, थाई एयरवेज र थाई लायन एयरका प्रतिनिधि, थाई सरकारका अधिकारी तथा व्यवसायी, सञ्चारकर्मी, गैरआवासीय नेपाली सङ्घ र थाई–नेपाल सङ्घका प्रतिनिधिहरुको सहभागिता थियो ।

  • कायरोमा नेपाली तस्वीर प्रदर्शनी आयोजना

    कायरोमा नेपाली तस्वीर प्रदर्शनी आयोजना

    काठमाडौं । कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा सोही दूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना गरिएको छ ।

    नेपाल–इजिप्ट द्विपक्षीय सांस्कृतिक आदानप्रदान प्रवर्द्धन कार्यक्रमअन्तर्गत तार, काठ र ढुङ्गाबाट सृजना गर्ने इजिप्टका कलाकार गलाल गोमाको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा फोटो पत्रकार तथा वृत्तचित्र निर्माता अशरफ तलात र फोटोग्राफर यासेर अला मुबारकले नेपालमा खिचेका तस्बिर र मुहार चित्र एवं फौजी मोर्सीलगायत १८ जना कलाकारका मुहारचित्र राखिएको उक्त दूतावासका तृतीय सचिव माधवराज काफ्ले जानकारी दिए ।


    प्रदर्शनीमा अशरफ तलातले गत मार्च र मेमा मुस्ताङ र लुम्बिनीमा खिचेका तथा यासेर आलाले गत शिवरात्रिमा पशुपतिनाथ मन्दिरको वरिपरि खिचेका तस्बिर समावेश गरिएका थिए ।

    त्यस अवसरमा इजिप्टका सांसद डा माई अल–बत्रानले नवीन अवधारणाको प्रयोगसहितको कला प्रदर्शनीले दुई मुलुकबीचको जनस्तरको सम्बन्धलाई सुदृढ गर्न टेवा पुग्ने धारणा व्यक्त गरे । इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफर र कलाकारप्रति आभार व्यक्त गरे ।

    उनले कलाकारका सृजनाले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई प्रवर्द्धनमा योगदान पुग्ने बताए । उनले सहभागी कलाकारलाई कदरपत्र प्रदान गरे । प्रदर्शनीमा सहभागी फोटोपत्रकार अशरफ तलत र यासेर अलाले आफूहरूको नेपाल भ्रमणबारे वर्णन गर्दै दुई देशबीच जनस्तरमा भ्रमण आदानप्रदान बढ्दै गएको बताए ।

    प्रदर्शनीमा कलाकार गलाल गोमाको तार मूर्तिकलाका साथै फौजी मोर्सी, खालेद अल मार्सफी, खालेद सलाह, शिमा शफेई, अहमद गेसा, मारवा इब्राहिम, नौरा मकराम, सफिया याह्या, हानी हसन अब्देलगा, हनी हसन अब्देलगाको क्यारिकेचर कलाको विविध सङ्ग्रह प्रदर्शन गरिएको थियो ।

    प्रदर्शनीमा व्यङ्ग्य चित्रकारहरूद्वारा सृजना गरिएका राजर्षि जनक, पासाङल्हामु शेर्पा र सन्दुक रुइतलगायत १५ जनाभन्दा बढी नेपालीप्रति समर्पित ‘क्यारिकेचर’ समावेश गरिएको थियो । कायरोस्थित युनाइटेड ओइल कम्पनीमा कार्यरत नेपाली वैज्ञानिक डा प्रकाश अधिकारीले विदेशमा नेपालबारे प्रचारप्रसार गर्न आयोजित यस्ता प्रदर्शनीले सहयोग पुग्ने बताए ।


    कार्यक्रममा कलाकार तथा कलाप्रेमी, कूटनीतिज्ञ, स्थानीय पत्रकार, विद्यार्थी, नेपाली समुदायका सदस्यसहित एक सय जनाको सहभागिता थियो । रासस

  • नेपाल र चीन परामर्श संयन्त्रको बैठकमा के भयो सहमति ?

    नेपाल र चीन परामर्श संयन्त्रको बैठकमा के भयो सहमति ?

    काठमाडौं । नेपाल र चीनबीच भएको कूटनीतिक परामर्श संयन्त्रको बैठकमा दुवै पक्ष परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बनाउन सहमत देखिएका छन् ।
    नेपाली पक्षबाट परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ नेतृत्वको प्रतिनिधि मण्डलबीच मंगलबार भएको बैठकपछि परराष्ट्रमन्त्री स्तरीय आयोग बनाउने सहमति भएको हो ।

    नेपाल र भारतबीच सन् १९४७ परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग छ । तर, चीनसँग सचिव स्तरको संयन्त्र मात्र रहँदा कतिपय निर्णय कार्यान्वयनमा ढिलाइ भएको भन्दै मन्त्रीस्तरमै संयन्त्र बनाउनुपर्ने विषय पहिल्यैदेखि उठेको परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

    बैठकपछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अहिले भएका दुईपक्षीय संयन्त्रलाई थप मजबुत बनाउँदै परराष्ट्रमन्त्री स्तरमा नयाँ संयन्त्र बनाउन दुवै पक्षले जोड दिएको उल्लेख गरिएको छ । बैठकमा नेपाल–चीन सम्बन्धबारे समीक्षा भएको भन्दै विगतमा भएका सहमति र समझदारीको कार्यान्वयनको अवस्थाबारे समेत समीक्षा भएको भनिएको छ । ‘दुवै पक्षले एकआपसमा सहमति भएका क्षेत्रमा सहकार्य बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् भने पारस्परिक हितका लागि आर्थिक अवसरको क्षेत्रमा काम गर्ने प्रतिवद्धता पनि जनाएका छन्’, विज्ञप्तिमा भनिएको छ ।

    बैठकमा परराष्ट्र मन्त्रालयका उत्तरपूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकालसहित मन्त्रालयका अन्य उच्च अधिकारीहरु पनि सहभागी थिए । चिनियाँ पक्षबाट नेपालस्थित राजदूत छन् सङसहितका अधिकारीहरु सहभागी थिए । चिनियाँ उपविदेशमन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई सोमबार नै भेटिसकेका छन् भने बुधबार राष्ट्रपति रामचन्द्र पौडेल र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गर्दैछन् ।

  • इजरायलले थप ८ सय नेपाली कामदार लैजाने

    इजरायलले थप ८ सय नेपाली कामदार लैजाने

    काठमाडौं । वैदेशिक रोजगार विभागले आठ सय कामदार इजरायल पठाउने भएको छ । मङ्गलवार सूचना प्रकाशन गरी विभागले २१ दिन भित्र आवेदन दिने इच्छुकहरूलाई आव्हान गरेको छ । नेपाल सरकार र इजरायल सरकारबिच भएको श्रम सम्झौता अनुसार इजरायलका लागि दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउँदै आएको छ ।

    इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपाङ्गता भएका व्यक्तिहरूको स्याहारको लागि सहायक कामदारको रूपमा कार्य गर्नु पर्ने हुन्छ । २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेका नागरिकले सो मुलुकका लागि अवसर पाउने भएका छन् । सुरुमा ५ सय पठाउने र थप माग संख्याका आधारमा ३ सय कामदार पठाइने वैदेशिक रोजगार विभागले सूचना प्रकाशित गर्दै जानकारी दिएको छ । इजरायल जान चाहनेले विभागको वेवसाइटबाट विस्तृत जानकारी लिन सक्ने भएका छन् ।

  • प्रधानमन्त्री र चिनियाँ उपविदेश मन्त्रीबीच भेटवार्ता

    प्रधानमन्त्री र चिनियाँ उपविदेश मन्त्रीबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा सोमबार भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो ।

    सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति खुसी व्यक्त गरे । उनले आगामी दिनमा नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नतिि हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक पर्ने बताए ।

    जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुनले सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा नेपालको पर्यटन प्रवर्द्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय गरेको जानकारी गराए । उनले नेपालको आर्थिक–सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उपविदेशमन्त्री सुन नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा भाग लिन आज नेपाल आएका हुन् । भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रूपक सापकोटा, परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिति रहेको थियो । त्यसैगरी चीनका तर्फबाट नेपालस्थित चिनियाँ राजदूत छैन सङ अधिकारीहरू सहभागी थिए ।

  • चिनियाँ उपविदेशमन्त्री आज नेपाल भ्रमणमा आउँदै

    चिनियाँ उपविदेशमन्त्री आज नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ सोमबारदेखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन् । यसबीच उनी असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुनेछन् । परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कार्यक्रम छ । प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित हुनेछन् ।


    भ्रमणमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ । त्यसक्रममा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । उपविदेशमन्त्री सुन असार १२ गते फिर्ता हुने जनाइएको छ ।

  • थाइ नरेश समक्ष नेपाली राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

    थाइ नरेश समक्ष नेपाली राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

    काठमाडौं । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राजदूत ओलीले शनिबार थाइल्याण्डको एम्फोरन राजदरबारमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ ।

    ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत ओलीले थाई नरेशासँग शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजदूत ओलीले थाई नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै थाइल्याण्ड अधिराज्यका मैत्रीपूर्ण जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गरे ।


    राजदूत ओलीले नेपाल र थाइल्याण्डबीच घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको, त्यो सम्बन्ध दुवै देशका सरकार र जनताबीच आत्मीयतापूर्वक कायम रहेको, ऐतिहासिक रुपमा साझा संस्कृति र साझा मूल्यमान्यताले दुवै देश बाँधिएका बताए । राजदूत ओलीले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र महाराजा राजर्षि जनकको राजधानी जनकपुरमा उपयुक्त समयमा थाई नरेशलाई स्वागत गर्न राष्ट्रपति पौडेलको चाहनाबारे अवगत गराए ।


    प्रत्युत्तरमा थाई नरेशले राष्ट्रपति पौडेलको निमन्त्रणालाई सहर्ष स्वीकार गरेको समाचारमा उल्लेख छ । निमन्त्रणाका निम्ति राष्ट्रपति पौडेलप्रति कृतज्ञता ज्ञापन गर्दै उनको सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेका छन् । ओहोदाको प्रमाणपत्र पेस गर्न आयोजित विशेष समारोहमा थाइल्याण्डकी रानी सुथिदा बज्रसुधाबिमलाक्षणा उपस्थित थिइन् ।

  • सरकारले ८ देशमा राजदूत सिफारिस गर्यो, अमेरिकामा चन्द्र घिमिरे

    सरकारले ८ देशमा राजदूत सिफारिस गर्यो, अमेरिकामा चन्द्र घिमिरे

    काठमाडौं । सरकारले भारत, अमेरिका र बेलायतसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सत्तारुढ दलहरूको भागबन्डाअनुसार राजदूत सिफारिस गरेको हो । एक मन्त्रीका अनुसार भारतका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीको नाम सिफारिस भएको छ ।

    कांग्रेस निकट पूर्वमुख्यसचिव रेग्मी एमालेको जोडबलमा राजदूत भएका हुन् । मुख्य सचिवबाट केही समय पहिला बिदा हुने क्रममा सरकारले उनलाई बेलायतका लागि राजदूत बनाएको थियो । कार्याकाल पूरा नहुँदै फिर्ता बोलाइएका उनी पछिल्लो समय एमाले नेतृत्वसँग नजिक भएका थिए ।

    अमेरिकाका लागि नेपाली राजदूत सिफारिस भएका चन्द्र घिमिरे पूर्वसचिव हुन् । मुख्य सचिव बन्ने लाइनमा रहेका उनले त्यो अवसर पाएनन् । त्यही कारण अहिले उनलाई अमेरिका लागि राजदूत बनाइएको एमाले निकट स्रोत बताउँछन् । बेलायतका लागि डा। विजन पन्त सिफारिस भएका छन् । डा। पन्त सुशील कोइराला प्रधानमन्त्री भएको बेला विकास सल्लाहकार थिए । गोरखाका पन्त अहिले सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रको कोटाबाट राजदूत सिफारिस भएका हुन् ।

    यस्तै दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रञ्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि नेपाली राजदूतमा अबुसुफ्यान खान सिफारिस भएका छन् । मानवअधिकारकर्मी समेत रहेका प्याकुरेल तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको विज्ञ सल्लाहकार थिए । तत्कालीन नेकपाले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उनले राजीनामा दिएका थिए ।

    डेनमार्कका लागि राजदूत सिफारिस भएकी सुम्निमा, पद्मरत्न तुलाधरकी छोरी हुन् भने मलेसियनका लागि राजदूत सिफारिस भएका तिमिल्सना रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष हुन् । दुवै एमालेको सिफारिसमा राजदूत भएका हुन् । त्यसैगरी बैठकले अष्ट्रेलियाको न्यू साउथ वेल्सका लागि सञ्जीवकुमार शर्मा र भिक्टोरियाका लागि निराजन गौलीलाई अवैतानिक राजदूत नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

  • नेपथ्यले अमेरिकामा म्युजिकल टुर गर्ने;‘टर्मिनल फाइभ’ न्युयोर्क भेन्यू

    नेपथ्यले अमेरिकामा म्युजिकल टुर गर्ने;‘टर्मिनल फाइभ’ न्युयोर्क भेन्यू

    न्युयोर्क ।

    नेपालकै चर्चित लोक रक समुह नेपथ्यले न्यूयोर्कको म्यानह्याटनस्थित टर्मिनल फाइभमा सांगितिक प्रस्तुति दिने भएको छ । तीन हजार दर्शक अटाउने क्षमता भएको टर्मिनल फाइभमा नेपथ्यले आगामी अगष्ट ३० को साँझमा सांगितिक प्रस्तुति दिने भएको हो ।

    टर्मिनल फाइभ न्ययोर्कको ठूलो सांगितिक कार्यक्रमहरु हुने ठाउँ हो । न्यूयोर्कमा याक प्रोडक्सन, डिजे रित र इसेन्स स्माइल्सले नेपथ्यको ऐतिहासिक साँझ कार्यक्रम गर्न लागेको हो । ‘नेपथ्य जस्तो लामो इतिहास भएको लोकप्रिय नेपाली ब्याण्डलाई न्यूयोर्कमा प्रस्तुत गर्न पाउँदा हामी एकदमै उत्साहित छौं,’ इसेन्स स्माइल्सकी डा. सुलोचना गुरुङले भनिन्, ‘यो ऐतिहासिक सांगितिक कार्यक्रमलाई सार्थक बनाउन यहाँहरु सबैको साथ सहयोगको अपेक्षा गरेका छौं ।
    आयोजकले संयुक्त रुपमा पत्रकार सम्मेलन गरि नेपथ्यको सांगितिक कार्यक्रमबारे जानकारी दिएको हो । नेपथ्य भएकैले म्यानह्याटनको टर्मिनल फाइभमा कार्यक्रम गर्न लागेको याक प्रोडक्शनकी छोमो डसेलले बताइन् । ‘स्पिकिङ फ्र्याङ्क्ली, इट्स अ भेरी एक्पेन्सिभ प्रोजेक्ट, बट्, वि क्यान्नट डु इन अ स्मल भेन्यू,’ उनले भनिन्, ‘अगेन, दे आर नेपथ्य, वि रेस्पेक्ट द्याट।’

    उनले ‘इन पर्सन’ टिकट ज्यादै कम भएको भन्दै नेपाली गीत संगीतका पारखी र नेपथ्यका फ्यानहरुलाई अनलाई टिकट किन्न अनुरोध गरिन् । ‘जति सस्तोमा बेच्न सकिन्छ अहिले त्यति सस्तोमा टिकट अनलाइन उपलब्ध छ,’ उनले भनिन्, ‘अहिले फस्र्ट फेजमा टिकट नकिने पछि फेज टुमा टिकटको मुल्य बढ्छ ।’ अहिले टिकटको अनलाइन मुल्य करिब १ सय ५ डलर छ । त्यसमध्ये ८० डलर आयोजकले पाउने छन् ।

    ‘नेपथ्य आफैमा ठूलो नाम हो,’ डिजे रितका ठिले थकालीले भने, ‘नेपथ्यले २०१६ मा एक पटक कन्सर्ट गर्नुभएको थियो । यति धेरै वर्षपछि आफैँले कन्सर्ट आयोजना गर्न पाउँदा गर्व लागिरहेको छ ।’ कार्यक्रम आयोजनास्थलमा पार्किङ पाउने सम्भावना कम छ, साथै, पे पार्किङ महंगो भएकाले सार्बजनिक सवारी साधन प्रयोग गर्नु उपयुक्त हुने आयोजक ठिले थकालीले जानकारी दिए ।

    टिकटका लागि आयोजकले बनाएको ब्रोसरमा रहेको क्यूआर कोड स्क्यान गर्नु गरेर टिकट बुक गर्न सकिने छ। साथै, टर्मिनल फाइभको वेवसाइट वा गुगल सर्च गर्दा पनि टिकट खरिदको लिंक सजिलै भेटिन्छ ।

    टर्मिनल फाइभमा साँझ ठीक ९ बजे नेपथ्यले प्रस्तुति सुरु गर्ने आयोजकले बताएका छन् । कार्यक्रमस्थलमा नेपाली खानाको स्टल समेत हुने छ । आयोजकले कार्यक्रममा मदिराजन्य पदार्थ राख्ने छैन, तर टर्मिनल फाइभ ब्यबस्थापनको बार भने खुला रहने छ । नेपथ्यले लोक संगितलाई रक शैलीमा गाएर नेपाली संगितलाई अन्तराष्ट्रियकरण गर्न ठूलो भूमिका खेलेको छ । बन्दको समयमा शान्तिका लागि शिक्षा अभियान लिएर गाउँ गाउँमा पुगेको थियो ।


    कार्यक्रमलाई सफल बनाउनका लागि नेपाली गीत संगीतप्रमी तथा शुभेक्षुकहरुलाई कार्यक्रममा आएर सहयोग गरीदिन आयोजकले अनुरोध गरेको छ ।
    नेपाली श्रोता र दर्शकहरुबीच चर्चित ब्याण्ड नेपथ्यले नयाँ र सर्वकालिक हिट गीतहरु प्रस्तुत गर्ने छ । दर्शकको भावनालाई बुझेर स्टेजमा प्रस्तुती दिने साथै नाच्न र नचाउन माहिर समूह नेपथ्यले बेलायतको वेम्ब्ली स्टेडियम लगायत विदेशका ६५ तथा स्वदेशमा ५० बढी स्थानमा कन्सर्ट गरिसकेको छ ।
    नेपथ्यको अमेरिकाको म्युजिकल टुर अगस्ट ३ बाट कोलोराडो बोल्डर थियटरबाट सुरु हुने छ । नेपथ्यले हालसम्म अगस्ट ६ र ७ मा पेन्सिलभेनियाको द फोरम अडिटोरियम, अगस्ट ९ र १० मा सान फ्रान्सिस्कोको द वारफिल्ड, अगस्ट १६ र १७ मा ओहायोको केम्बा लाइभ तथा अगस्ट २३ र २४ मा टेक्सासस्थित अर्भिङको टोयोटा म्युजिक फ्याक्ट्रीमा सांगितिक प्रस्तुति दिने तय भइसकेको छ । त्यस्तै अगस्ष्ट २३ मै बस्टनको रोयलमा पनि नेपथ्यको सांगितिक कार्यक्रम राखिएको छ ।

  • स्वदेश फर्किदै राष्ट्रपति

    स्वदेश फर्किदै राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर आज बिहान स्वदेश फर्कँदै छन् । उनी जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज बिहान ९ः४५ बजे नेपाल फर्कने कार्यक्रम छ । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गरे । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारी सहभागि छन् ।


    यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भएको थियो । सो अवसरमा दुई देश बिचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ । दुई पक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।

    सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण हो । जर्मनीमा रहँदा राष्ट्रपति पौडेलले आइतबार जर्मनीका विज्ञान प्रविधि तथा अनुसन्धानसँग सम्बन्धित विभिन्न संस्थाहरूको अवलोकन गरे । अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरबारे अनुसन्धानका साथै यो असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन आग्रह गरेका थिए ।

  • कागजात नभएका अमेरिकी नागरिकका आप्रवासी पति-पत्नीलाई कानुनी मान्यता दिने तयारी

    कागजात नभएका अमेरिकी नागरिकका आप्रवासी पति-पत्नीलाई कानुनी मान्यता दिने तयारी

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकका गैरकाकानुनी रुपमा बसिरहेका पति–पत्नीहरूलाई कानुनी मान्यता दिने नीति घोषणा गर्ने भएका छन् । राष्ट्रपति निर्वाचनमा आप्रवासीहरूको मत समेत ठूलो प्रभावी हुने भएकाले चुनाव अघि नै बाइडेनले उनीहरूको सहानुभूति प्राप्त गर्न यो नीति ल्याउने लागेका हुन् ।

    यो नीति घोषणा भएपछि अमेरिकी नागरिकका ५ लाखभन्दा बढी पति–पत्नी र साथै २१ वर्ष मुनिका ५० हजार युवाहरूले लाभ उठाउने ह्वाइट हाउसको विश्वास छ । यो नीतिले अमेरिकी नागरिकसँग विवाह गरी बसिरहेका गैरकानुनी हैसियतका पति वा पत्नीहरूलाई निर्वासनबाट जोगाउने छ ।

    बीबीसीको एक समाचारअनुसार यो नीति कम्तिमा १० वर्षदेखि अमेरिकामा बसेकाहरूलाई लागू हुनेछ र उनीहरूलाई कानुनी रूपमा अमेरिकामा काम गर्न पनि बाटो खुल्नेछ । राष्ट्रपति बाइडेनले जुनको सुरुमा अमेरिकी अध्यागमन प्रणालीलाई अधिकतम निष्पक्ष र न्यायोचित बनाउने वाचा गरेका थिए ।

    यस नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावअघि धेरै मतदाताहरूको लागि आप्रवासन मुख्य चिन्ताको विषय भएको जनमत सर्वेक्षणहरूले देखाएका छन् । बाइडेनले ल्याउन लागेको यो नीतिलाई केहीले भने आलोचना गरेका छन् ।

  • जिपि कोईराला फाउण्डेशनमा ईमिग्रेसन समस्याबारे बुझ्न संघीय सासंद ग्रेस मेङ

    जिपि कोईराला फाउण्डेशनमा ईमिग्रेसन समस्याबारे बुझ्न संघीय सासंद ग्रेस मेङ

    बिष्णु सिंह (बैजु )
    १७ जुन २०२४, न्युयोर्क।

    गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको कार्यालयमा अमेरिकी हाउस कांग्रेस प्रतिनिधि कंग्रेसवुमन ग्रेस मेंग नेपालीहरुको ईमिग्रेसन समस्याबारे जानकारी लिन उपस्थित भएका छन् । कंग्रेसवुमन मेंगलाई फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले खादा लगाई कार्यालयमा स्वागत गरेका थिए। कांग्रेसवुमनले करीब डेढ घण्टाको समय दिनु भएको यस ऐतिहासिक, विशेष भेटघाट एवं समसामयिक विषयहरूमा छलफल एवं ध्यानाकर्षण कार्यक्रममा समसामयिक विषयहरू एवं अमेरीकामा भएका आप्रवासीका विविध समस्याहरू तथा सोका समाधानका विषयमा छलफल भएको थियो । नेपाली समुदायका सदस्यहरुले कांग्रेसवुमन ग्रेस मेंगसॅंग प्रत्यक्ष आ-आफनो अध्यागमनका मुद्दाहरू कसरी प्राथमिकता पाउॅंछ भन्ने प्रश्न गरेका थिए।

    कतिपय सदस्यहरुको अध्यागमनका मुद्दा ७ बर्ष देखि १५ बर्षसम्म पनि कुनै सुनुवाई नभएको जिकीर गरे। यसैक्रममा कांग्रेसवुमन मेगंले, तपाईहरुको समस्याका समाधानका लागि म आफै अध्यागमनका प्रतिनिधिहरूसॅंग प्रत्यक्ष संलग्नता हुदै तपाईहरुको मुद्दालाई छिटो र सजिलो बनाउॅंन कसरत गर्ने छु, भन्नु भयो र तपाईहरुको कुनै पनि कार्यका लागि मेरो कार्यालयमा फ्लसींग या फोरेस्ट हिल्सको कार्यालय समयमा स्वागत छ भन्नु भयो। उहाँलाई स्वागत गर्न फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्यहरू ध्रुव कुँवर क्षेत्री, रेखा श्रेष्ठ, सुर्य सिंमखडा, फाउन्डेशनका सदस्य बिकास कुवॅंर, पुर्ण तामागं, सुजल सिंमखडा, समाजसेवि ईन्द्र तामांग, कोरियोग्राफर गोविन्द राई, UKROAकी पुर्व अध्यक्ष एंव समाजसेवी मुना राई, एनआरएनए युएसए न्युयोर्ककी महिला सचिव एंव समाजसेवी गिता अधिकारी, हामी नेपाली ग्लोवल अमेरिकाका अध्यक्ष शोभाकान्त पाण्डे, कलाकार महादेव त्रिपाठी, गिनीज बुक विश्व रेकर्ड होल्डर दिनेश सुनार पार्कर, महिला उद्यमी सुष्मिता श्रेष्ठ लगायत ५७ जनाले कार्यालयका टोलीसॅंग भेटघाट एंव आ-आफ्ना समस्यावारे समाधानका लागि प्रत्यक्ष कुराकानी गरेका थिए।

    कार्यक्रमको शुरूवात गर्दै अध्यक्ष घिमीरेले आफ्नो टीमका सदस्यहरूको परिचय गराई वहाँलाई फाउन्डेशनमा स्वागत गर्नुको उद्देश्यबारे प्रष्ट पार्नुभएको थियो। वहाँले फाउन्डेशनले विशुद्ध सामाजिक गतिविधि गर्दै आएको र स्थापनादेखि कोरोनाकहरको डरलाग्दो अवस्था व्यहोर्दै हालसम्म गर्दै आएका सामाजिक गतिविधिवारे प्रष्ट पारेका थिए । अध्यक्ष घिमिरेले अमेरिकामा रहेका लाखौं आप्रवासी कानुनत बस्न र काम गर्न योग्य भएता पनि स्थायी वसोवासको अनुमति पाउन अनेकौं सास्ति व्यहोरेको भन्दै कांग्रेसवुमन ग्रेस मेंगलाई ध्यानआकर्षण गराउॅंनु भयो।

    परिचयका क्रममा वरिष्ठ समाजसेवी ईन्द्र तामांगले वर्षौंदेखि परिवारसँग छुट्टीएर वस्नुपरेको कारणले मानसिक यातना व्यहोरीरहेको हुँदा एक जिम्मेवार सांसदको हैसीयतले यथासक्य शिघ्र कानुनी रूपमा हल गरीदिन वहाँसमक्ष अपिल गर्नु भयो। सो अवसरमा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामाले नेपाल अमेरिकाबीच आपसी सहयोग र सम्बन्ध प्रगाढ रहेको बताउँदै आगामी दिनहरूमा अझ सुमधुर रहोस भन्ने चाहना रहेको बताउनुभयो। सदस्य ध्रुव कुँवर क्षेत्रीले आफ्नो ज्यानको पर्वाह नगरी आफु यु एस ऐम्बेसी अफगानिस्तानमा सुरक्षाकर्मीको रूपमा तैनाथ हुंदा अमेरिकी सरकार प्रति वफादार भएर गरेको रोचक कार्यहरु सुनाएका थिए । त्यस्तै अर्का सदस्य रेखा श्रेष्ठले आफुले यसै फाउन्डेशन मार्फत विविध सामाजिक कार्यहरूमा समाजको सेवामा खटीँदै आएको र आवश्यक पर्दा भोलीका दिनहरूमा पनि खटीरहने प्रण गर्नुभयो र वॅंहाले आफ्नै रेस्टुरेन्ट टेस्ट अफ लाहोरबाट चिया र समोसा प्रायोजन गर्नु भएको थियो।

    व्यक्तिगत एवं सामूहिक समस्याहरूका बारे प्रत्येकले आपसी अन्तर्कृया एवं छलफलगरि माननीय कांग्रेसवुमन आदरणीय ग्रेस मेंगसँग खुलेर छलफल गरीएको सो कार्यक्रममा आफ्नो धारणा राख्दै माननीय मेंगले आफु यहाँका जनताद्वारा चुनीएको एक जनप्रतीनीधिको हैसीयतले कुनैपनि पार्टी र व्यक्ति एवं समुदायप्रती निष्पक्ष भै कानुन अनुसार क्रमशः यथासक्य समस्याहरू समाधान गर्न लागिपरेको प्रष्ट पार्दै सरकार समक्ष यथेष्ट बजेटको मागगरी विशेषगरी जटील बन्दैगईरहेको आप्रवासी समस्या समाधान गर्न वर्तमान वाईडेन सरकारलाई घच्घच्याईरहेको प्रष्ट पार्नुभयो।
    वहाँले आफुले नेपाल र नेपालीलाई असाध्यै माया गर्ने र मौका मिलेमा निकट भविष्यमा नेपालको भ्रमण गर्ने ईच्छासमेत जाहेर गर्नुभयो। कांग्रेसवुमन आदरणीय ग्रेस मेंगले अमेरीकामा जीपि फाउन्डेशनले गरेको सामाजिक सेवाको उच्च प्रशंसा गर्दै आफुले फाउन्डेशनको कार्यालय भ्रमण गर्न पाउॅंदा निकै हर्षित भएको र यति राम्रो कार्यालय रहेछ भन्दै प्रसंसा गर्नु भयो र अबदेखि प्रत्यक महिनामा एक पटक यसरी नै भलाकुसारी गर्दै प्रत्यक्ष संम्वाद, आवस्यकता अनुसार फाउन्डेशनकै कार्यालयमा आप्रवासीहरुको समस्या समाधान गर्न घुम्ति सिविर संचालन गरी नेपाली लगायत स्थानीय समुदायका सेवाग्राहीहरूका समस्या हलगर्न लागीपर्ने बचनबद्दता समेत व्यक्त गर्नुभयो।
    अन्त्यमा फाउन्डेशनको तर्फवाट अध्यक्षले कांग्रेसवुमन ग्रेस मेंग र वॅंहाको ५ सदस्य टोलीलाई फाउण्डेशनको कार्यालयमा उपस्थित भई अमेरिकी संघीय एजेन्सीहरूसँग के कसरी सहायता प्राप्त गर्ने भन्ने बारे बृहत छलफल गर्न पाएकोमा फाउन्डेशले आभार व्यक्त गरेका थिए ।

  • नेपाली राष्ट्रपति र जर्मनी समकक्षीबीच भेटवार्ता

    नेपाली राष्ट्रपति र जर्मनी समकक्षीबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच सोमबार भेटवार्ता भएको छ । जर्मनीको वर्लिनस्थित राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गरे । सोसलिस्ट इन्टरनेशनल तथा प्रोग्रेसिभ एलायन्स जस्ता संस्थाहरु सामाजिक न्याय, मानव अधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रतालगायतका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्ने धारणा राष्ट्रपति पौडेलले राखे ।

    उनले नेपालको शान्ति प्रक्रियामा जर्मनीबाट प्राप्त सहयोगको लागि धन्यवाद दिँदै नेपालको विकासको पथमा मित्र राष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा विश्वस्त रहेको बताएका राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले बताए । हालैका वर्षहरुमा जर्मनी नेपाली युवाहरुको लागि उच्च शिक्षा अध्ययन, सीपयुक्त काम र सीपजन्य तालिमको लागि एक आकर्षक गन्तव्यको रुपमा स्थापित भएको तथा नेपाल र जर्मनीबीच सीपयुक्त श्रम आप्रवासन र ज्ञान आदानप्रदानका क्षेत्रमा गत वर्ष एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएकले यसको कार्यान्वयनबाट जनस्तरको सम्बन्ध अझ मजबुत हुने राष्ट्रपति पौडेलले बताए ।

    जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टरले जर्मनी नेपालको आर्थिक विकासको लागि हरतरहको सहयोग गर्न तत्पर रहेको बताएका उनको भनाइ उद्यृत गर्दै राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।

  • बर्लिन पर्खाल पुगे राष्ट्रपति, ऐतिहासिक स्थल अवलोकन

    बर्लिन पर्खाल पुगे राष्ट्रपति, ऐतिहासिक स्थल अवलोकन

    काठमाडौं । मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले आज तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनको पर्खाललगायत एतिहासिक स्थलको अवलोकन गरेका छन् । सो अवसरमा प्रथम महिला सविता पौडेलसहित भ्रमण दलका अन्य सदस्यहरु पनि सहभागी थिए । जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुगेका हुन् ।

    राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच वर्लिनमा आजै भेटवार्ता हुने कार्यक्रम रहेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ । स्वीटजरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागीपछि उनी जर्मनी भ्रमणमा गएका हुन् ।

  • राष्ट्रपतिलाई जर्मनीमा गार्ड अफ अनर

    राष्ट्रपतिलाई जर्मनीमा गार्ड अफ अनर

    काठमाडौं । जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान दिइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए
    ।

    स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्‌घाटसत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति यहाँ आएका हुन् ।

  • मातृभूमी नर्बिसन राष्ट्रपतिको आह्वान

    मातृभूमी नर्बिसन राष्ट्रपतिको आह्वान

    काठमाडौं । मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले मातृभूमी नर्बिसन आह्वान गरेका छन् । जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आइतबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलको सम्मानमा आयोजित सो समारोहमा प्रथम महिला सविता पौडेल, भ्रमण दलका सदस्य र यँहास्थित नेपालीहरूको सहभागिता थियो ।

    सो अवसरमा राष्ट्रपति पौडेलले एकचोटीको नेपाली सधैंको नेपाली रहेको धारणा व्यक्त गर्दै संसारमा जहाँ रहेपनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नविर्सन आग्रह गरे । जहाँ रहेपनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पुर्याउन म सबै नेपालीलाई हार्दिक आव्हान गर्दछु, राष्ट्रपति पौडेलले भने ।

    उनले आफूले अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलनलाई सम्बोधन गर्दै श्रम र सामाजिक न्यायको सम्मानका लागि विश्व समुदायलाई अपिल गरेको स्मरण गरे । उनले जलवायु परिवर्तनले पारेको असर न्युनिकरण गर्नु आजको विश्वको साझा चुनौति रहेको बताउदै खासगरी यसका कारक नरहेका विकाससील देशहरूलाई विकसित देशहरूले असर न्यूनीकरणमा सघाउनु पर्नेमा जोड दिए ।


    सो अवसरमा राष्ट्रपति पौडेललाई जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा यहाँस्थित नेपालीहरूले स्वागत गरेका थिए । सो अवसरमा राजदूत खड्काले जर्मन नेपालबीच लामो समयदेखिको सम्बन्ध, विकास र सहयोगका बहुआयामिक पक्षबारे जानकारी गराए । सो अवसरमा जर्मनमा रहेको गैर आवासीय नेपाली संघका तर्फका राष्ट्रपति पौडेललाई अभिनन्दन गरिएको थियो ।

  • प्रधानमन्त्ती प्रचण्ड र सिपिपिसिसीका उपाध्यक्षबीच भेट

    प्रधानमन्त्ती प्रचण्ड र सिपिपिसिसीका उपाध्यक्षबीच भेट

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बार्टरले आइतबार शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता र सहमति कार्यान्वयनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

    भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय आफ्नो चीन भ्रमणका क्रममा भएका सम्झौता क्रमश कार्यान्वयनमा गइरहेकामा खुसी व्यक्त गरेका थिए। प्रधानमन्त्रीले नेपाल–चीन सीमा क्षेत्रमा रहेका परम्परागत १४ वटा नाका सञ्चालनमा ल्याउने तथा महत्त्वपूर्ण सम्झौता क्रमश कार्यान्वयन हुँदै गएकामा चीन सरकारलाई धन्यवाद दिएको उनको सचिवालयले जानकारी दिएको छ।

    प्रधानमन्त्री प्रचण्डले दुई देशबीच भएको अन्य सम्झौता पनि क्रमश कार्यान्वयन हुँदै जाने विश्वास व्यक्त गरेका छन्। चीन र नेपाल बीचको संसदीय अभ्यासको आदानप्रदान आगामी दिनमा थप विस्तार तथा निरन्तरता दिने गर्ने बारेमा पनि उनीहरूबीच छलफल भएको छ।

    भेटका अवसरमा सिपिपिसिसीका उपाध्यक्ष बार्टरले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्त्व दिँदै आएको र आगामी दिनमा थप अभिवृद्धि हुने विश्वास दिलाए। भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटा, प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल र परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल सहभागी थिए।

  • थाइ–नेपाल मैत्रीसङ्घ गठन

    थाइ–नेपाल मैत्रीसङ्घ गठन

    काठमाडौं । थाइ तथा नेपाली नागरिकबीच आपसी सम्बन्ध, सद्भाव एवं सहयोग अभिवृद्धि गर्ने उद्देश्यले थाइ–नेपाल मैत्रीसङ्घ गठन भएको छ । दुई देशबीच सामाजिक, आर्थिक, सांस्कृतिक, प्राज्ञिकलगायत क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले थाइल्याण्डमा स्थापना भएको उक्त संस्थाको अध्यक्षमा थाइल्याण्डका प्रथम थाइसगरमाथा आरोही तथा व्यवसायी वितिध्नन रोजनापनित रहेको बैङ्ककस्थित नेपालको राजदूतावासले जनाएको छ । त्यस अवसरमा नेपाली राजदूत धनबहादुर वलीले नवगठित संस्थाले आफ्नो उद्देश्य हासिल गर्न आगामी दिनमा आयोजना गर्ने हरेक कार्यक्रममा राजदूतावासको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । रासस

  • जर्मनी पुगे राष्ट्रपति पौडेल

    जर्मनी पुगे राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुगेका छन् । उनी जेनेभाबाट रोयल डच एयरलान्सबाट प्रथम महिला सविता पौडेलका साथ जर्मनी पुगेका हुन् । उनलाई जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्वागत गरेका छन् ।

    राष्ट्रपति पौडेल संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क(वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न बर्लिन पुगेका हुन् । राष्ट्रपति पौडेलले असार ३ गते जर्मनीका समकक्षीसँग औपचारिक वार्ता गर्ने उनको सचिवालयले जनाएको छ ।

    जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इस्टिच्युट फोर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्टिच्युट, जर्मन रिसर्च फर जीयो(साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम छ । साथै सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम छ । त्यसैगरी आज आइतबार उनले जर्मनीमा रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किने कार्यक्रम छ ।

  • नेपाली टोली सेन्ट भिन्सेन्टमा, अभ्यासमा सन्दीप समेत सहभागी

    नेपाली टोली सेन्ट भिन्सेन्टमा, अभ्यासमा सन्दीप समेत सहभागी

    काठमाडौं । आइसिसी टी– २० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम दुई खेल खेल्न नेपाली टोली बिहीबार सेन्ट भिन्सेन्ट पुगेको छ । बुधबार अमेरिकाको फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट जानका लागि तय भएको नेपाली टोलीको यात्रा खराब मौसमका कारण रोकिएको थियो । बुधबार लगातार पानी परेका कारण हवाई उडान रद्द भएका थिए । नेपाली टोली बिहीबार दिउँसो वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट पुगेको हो । समूह ‘डी’ अन्तर्गत नेपाल अमेरिकामा दुई खेल सकेर बाँकी दुई खेल खेल्न सेन्ट भिन्सेन्ट गएको हो ।

    नेपाल समूहको पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । डालासमा भएको पहिलो खेलमा नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको थियो । यस्तै फ्रलोरिडामा बुधवारका लागि तय भएको श्रीलङ्काविरुद्धको दोस्रो खेल भारी वर्षाका कारण रद्द भएको थियो ।

    नेपालले सेन्ट भिन्सेन्टमा शनिवार दक्षिण अफ्रिकासँग तेस्रो र सोमबार बङ्गलादेशसँग अन्तिम खेल खेल्नेछ । नेपाललाई समूह चरण पार गरेर सुपर आठमा स्थान बनाउन अबका दुई खेल जित्नै पर्ने बाध्यता छ । अहिले समूहमा लगातार तीन जित निकालेको दक्षिण अफ्रिका ६ अङ्क जोड्दै शीर्षस्थानमा छ । दक्षिण अफ्रिकाले सुपर आठमा स्थान बनाई सकेको छ ।

    यस्तै दोस्रो स्थानमा रहेको बङ्गलादेशको चार अङ्क छ । बिहीबार भएको खेलमा बङ्गलादेशले नेलरल्यान्ड्सलाई २५ रनले हराएको थियो । हारे पनि तीन खेलबाट दुई अङ्क बनाएको नेदरल्यान्डस तेसो स्थानमा छ । दुई खेलबाट एक अङ्क बनाएको नेपाल चौथो र तीन खेलबाट एक अङ्क बनाएको श्रीलङ्का अन्तिममा छ । श्रीलङ्का विश्वकपबाट बाहिरी सकेको छ ।

  • राष्ट्रपति पौडेल र स्वीस समकक्षीबीच भेटवार्ता

    राष्ट्रपति पौडेल र स्वीस समकक्षीबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्यान्डकी राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्ड को बर्नमा बुधबार भेटवार्ता भएको छ । स्वीट्जरल्यान्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा सहभागी हुन गएका राष्ट्रपति पौडेल र स्वीट्जरल्यान्डकी राष्ट्रपति एमहर्डबीच भेटवार्ता भएको हो ।

    राष्ट्रपतिको सचिवका अनुसार सो अवसरमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणाली र राजनीतिक अधिकार सुनिश्चित भएपछि नेपालको आवश्यकता र प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु रहेको र लोकतन्त्रलाई दिगो बनाउन आर्थिक विकास अपरिहार्य रहेको बताएका थिए ।

    सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन प्रयत्नशील छ, यस स्तरोन्नतिलाई सतत्, दिगो तथा अपरिवर्तनीय बनाउन आवश्यक छ, यस ऐतिहासिक विकास लक्ष्य हासिल गर्न हामीलाई ठूलो स्रोत, साधन, प्रविधि, लगानी तथा आार्थिक सहकार्यको आवश्यकता रहेको छु, राष्ट्रपतिको भनाइ उदृत गर्दै भ्रमणदलमा सहभागी राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

    राष्ट्रपति पौडेलले नेपालको आर्थिक सामाजिक विकासमा सन् १९५०को दशकदेखि स्वीस सरकारले गरेको सहयोगले नेपालीको मन जितेको बताउँदै नेपाल सरकारले स्वीस लगानीकर्ताहरूलाई नेपालमा स्वागत गर्न चाहेको र यसका लागि आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहेको बताएको पनि पोखरेलले जानकारी दिए ।

    पौडेलले स्वीट्जरल्यान्ड शान्ति, लोकतन्त्र, कानुनी राज्य तथा समृद्धिका लागि विश्वमा नै मानक मुलुक रहेको बताउँदै यसले अवलम्बन गरेको तटस्थताको नीति नेपालजस्तो असंलग्नताको नीति अंगीकार गरेको मुलुकका लागि अनुकरणीय रहेको पनि उल्लेख गरे ।

    पौडेलले नेपाल र स्वीट्जरल्यान्डबीच संघीयता, संसदीय लोकतन्त्र, मानव अधिकार, विधिको शासन, तटस्थता आदि साझा मूल्य मान्यता तथा सिद्धान्तहरू रहेको र सहभागितामूलक लोकतन्त्र, मानवअधिकार, मौलिक अधिकार, लैंगिक समानता, जलवायु परिवर्तनजस्ता धेरै सामाजिक आर्थिक तथा पर्यावरणीय मुद्दाहरूमा दुई देशबीच समान धारणा रहेको पनि बताए । उनले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको उल्लेख गर्दे नेपालले अत्यन्त न्यून कार्वन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको नकारात्मक असर बेहोरिरहेको बताए ।

    सो अवसरमा स्वीट्जरल्यान्डका राष्ट्रपति भियोला एमहर्डले नेपाललाई आफूहरूले कुन क्षेत्रमा सहयोगको आवश्यकता रहेको हो त्यसमा सहयोग गर्न तयार रहेको बताइन् । राष्ट्रपति पौडेलले नेपालको सामाजिक र आर्थिक रूपान्तरणका लागि कृषि, पर्यटन र जलस्रोतको क्षेत्रमा लगानीका लागि आग्रह गरेका थिए । उनलाई पौडेलले नेपाल भ्रमणका लागि आमन्त्रण गरे भने स्वीस राष्ट्रपति एमहर्डले समय मिलाएर उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बताइन् । उनले नेपालको शान्ति प्रक्रिया र सत्य निरूपणको विषय आफूहरूको प्राथमिकतामा रहेको पनि जानकारी दिइन् ।

    उनले तेन्जिङ नोर्गे शेर्पाका नातिले आफ्नो गृहनगरमा चीज उत्पादन गर्न सिकिरहेको उल्लेख गर्दै नेपालसँग आफ्नो देशको भूगोलमा मात्र नभएर संस्कृति र परिकारमा पनि समानता रहेको उल्लेख गरिन् । उनले नेपालको संविधानमा संघीयता र समावेशीकरणको व्यवस्था गरेकोमा उच्च प्रशंसा गरिन् ।

    उनले नेपालका विभिन्न आयोजनामा स्वीस सरकारको लगानीले विशेष स्थान लिएको उल्लेख गर्दै दुई देशबीचको ठूलो स्तरको विकास साझेदारीले ६० वर्ष पूरा गरिसकेको र यो अझै अभिवृद्धि हुने विश्वास दिलाइन् ।

  • कुवेत आगलागी : मत्यु हुने अधिकांश भारतीय

    कुवेत आगलागी : मत्यु हुने अधिकांश भारतीय

    काठमाडौं । कुवेतको मंगाफ शहरस्थित एक बहुतले भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । मृतकहरुमध्ये अधिकांश भारतीय नागरिक छन् । द गार्जियनले मृतकहरुमध्ये ४२ जना भारतीय नागरिक भएको पुष्टि भएको जनाएको छ । भारतीय मिडियाहरुले पनि ४२ जना भारतीय नागरिकको मृत्यु भएको पुष्टि गर्दै तिनीहरु धेरैजसो केरला र तमिलनाडुका भएको जनाएको छन् ।

    मृतकहरु २० देखि ५० वर्ष उमेर समूहका छन् । भारतका विदेश राज्यमन्त्री कीर्तिवद्र्धन सिंह आज कुवेत जान लागेका छन् । राज्यमन्त्री सिंहले आगलागीको कारणबारे कुवेत सरकारसँग बुझ्ने, घाइतेहरुलाई भेट्ने र शवहरुलाई भारत ल्याउने बताइएको छ । आगलागीमा परी भारतीय नागरिकको मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् ।

    कुवेतका मिडियाहरुका अनुसार ६ तले भवनमा बुधबार बिहान स्थानीय समय अनुसार ६ बजे आगलागी भएको थियो । सो भवनलाई एक स्थानीय कम्पनीले श्रमिक क्याम्पको रुपमा प्रयोग गर्दै आएको थियो । त्यहाँ करिब २ सय प्रवासी कामदारहरुलाई राखिएको थियो । यद्यपि सो भवनको क्षमता भने त्योभन्दा कम रहेको बताइएको छ । सो भवनमा नेपाली कामदारहरु पनि थिए । आगलागीमा परी ५ जना नेपालीहरु घाइते भएको प्रारम्भिक सूचना छ । आगलागीको कारण खुलेको छैन । कुवेत सरकारले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान थालेको जनाएको छ ।