Category: डायस्पोरा

  • जापानी विदेशमन्त्री र राष्ट्रपतिबीच भेट, के भयो कुराकानी ?

    जापानी विदेशमन्त्री र राष्ट्रपतिबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेकी जापानकी परराष्ट्र मन्त्री कामीकावा योकोले शिष्टाचार भेटवार्ता गरेकी छन्। आइतबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गर्दै कार्वन उत्सजन गर्ने विकसित मुलुकहरुले जलवायु परिवर्तनको असर न्यूनिकरणका सन्दर्भमा अत्यन्त गम्भीर भइदिन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

    राष्ट्रपति पौडेलले दुई देशबीच समस्यारहित सम्बन्ध रहेको र नेपालले सधैं जापानको उच्च सद्भाव महसुस गरेको पनि बताए। नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाल र जापानबीचको आर्थिक सहयोग र सहकार्यका क्षेत्रहरू थप विस्तार हुने विश्वास व्यक्त गरेका थिए।

    सो अवसरमा जापानी परराष्ट्रमन्त्री योकोले जलवायु परिवर्तनको असरबारे जापान पनि चिन्तित रहेको उल्लेख गर्दै नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको बताइन्। उनले सन् २०५० सम्ममा कार्वन उत्सर्जन शून्यमा पुर्‍याउने लक्ष्य राखेको बताउँदै जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि वैकल्पिक उर्जाको प्रयोगका निम्ति प्रविधिमा ठूलो क्रान्ति गर्न सबै मिलेर अगाडि बढाउने बताइन्।

    नेपालको विकास र स्थिरता यो क्षेत्रकै लागि आवश्यक महसुस गरेर जापानले नेपालको विकासमा हरतरहको सहयोग गर्ने उनको भनाइ छ।

  • सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

    सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

    बाबुराम दाहाल, न्युयोर्क।

    विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले ‘सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता’ विषयमा रहेर कार्यक्रमको आयोजना गरेको छ । मे ४, २०२४ मा न्युयोर्कमा आयोजित कार्यक्रममा वातावरणीय संकटको सामनामा पत्रकारिता रहेको सन्दर्भको सेरोफेरोमा कार्यक्रमलाई केन्द्रित गरिएको थियो । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गरिएको कार्यक्रमको उद्घाटन वातावरणको जननी बिरुवामा पानी राखेर गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले समुदायमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो । प्रमुख अतिथि थापाले समुदाय र प्रेसको सुमधुर सम्बन्धपश्चात् मात्र स्वतन्त्रतालाई पूर्ण रुपमा अगाडि बढाउन सक्ने बताउनुभयो । थापाले मिडियामा ठूलो चुतौती आएको बताउँदै हिजो जोसँग सूचना हुन्थ्यो त्यो शक्तिसाली हुने गरेको थियो भने आज सूचनाको स्पष्टता नहुँदा समाजमा कन्फ्युजनको वातावरण बढेको बताउनुभयो ।

    ‘विश्वमा बढ्दै गएको सोसल मिडियाले पनि समुदायमा सूचनासम्बन्धी विभिन्न कन्फ्युजन उत्पन्न गर्ने गरेको छ,’ प्रमुख अतिथि थापाले बताउनुभयो । थापाका अनुसार गलत समाचारले समाजमा गलत धारणा उत्पन्न गर्ने हुँदा समाज गलत बाटोतिर गएको पाइने गरेको छ । समाजमा व्याप्त गलत सूचनामार्फत चुनौती सिर्जना गरिरहेको हुँदा यसलाई चिर्नका लागि नेजालाई युएनको मिसनसँग मिलेर अगाडि बढ्नसमेत आग्रह गर्नुभयो । नेपालको विकास, राजनीति, जलवायु परिवर्तन, स्वास्थ्य क्षेत्र, शान्ति स्थापनालगायतका क्षेत्रमा मिडियाको ठूलो भूमिका रहेको हुँदा यूएनसँग मिलेर अगाडि बढ्न आग्रह गर्नुभयो । साथै, अहिले यूएनले नेपालमा जलवायु परिवर्तनबाट पर्न सक्ने असरका बारेमा विभिन्न कार्यक्रम गर्दै आएको छ बताउँदै यस्ता खाले कार्यक्रममा नेपालको मुद्दालाई अभिव्यक्त गर्नका लागिसमेत आग्रह गर्नुभएको थियो । प्रमुख अतिथि थापाले प्रवासमा रहेका पत्रकारहरूलाई समग्रमा नेपाल र डायस्पोरालाई जोड्ने कार्यमा सक्रिय रुपमा अगाडि बढ्नसमेत आग्रह गर्नुभयो ।

    नेजा अध्यक्ष सुरज भण्डारी अध्यक्षता एवं महासचिव बाबुराम दाहालको सञ्चालन रहेको कार्यक्रममा विषयवक्ताको रुपमा अमेरिकाको ओहायो राज्यमा रही पत्रकारिता विषयमा विद्यावारिधि गरिरहनुभएका पत्रकार प्रकाश आचार्यले ‘सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता’ को बारेमा प्रकाश पार्नुभएको थियो । आचार्यले सञ्चारमाध्यम र सामाजिक सञ्जालबीच ठूलो भिन्नता रहेको बताउनुभयो । साथै, आचार्यले समाचार प्रकाशन गर्ने तरिका फरक-फरक हुने हुँदा समाजमा असर पर्ने खालका विषयवस्तुलाई समाचार बनाउनु उपयुक्त नहुने बताउनुभयो । साथै, विषयवक्ता आचार्यले समाजमा विकृति ल्याउने खालका समाचारलाई प्राथमिकता नदिनसमेत आग्रह गर्नुभयो ।

    सो कार्यक्रममा सामुदायिक पत्रकारिताका चुनौतीका सन्दर्भमा बोल्दै नेजाका पूर्वमहासचिव किरण मरहट्ठाले प्रवासमा रहेका पत्रकार र नेजाले सामुदायिक पत्रकारिताको नमुना पेस गर्न सफल भएको बताउनुभयो । यस्तै, समुदायले पत्रकार र पत्रकारले समुदायलाई सम्मान गर्न सक्दा मात्रै दुवै पक्षलाई फाइदा पुग्ने बताउनुभयो ।

    नेजाका अध्यक्ष सुरज भण्डारीले कार्यक्रमको उद्देश्य, नेजाका योजना एवं समुदाय र पत्रकारितालाई जोड्न नेजाको भूमिकाका सन्दर्भलाई जोडेर आफ्ना धारणा राख्नुभएको थियो । अध्यक्ष भण्डारीले नेजा उत्तर अमेरिमा रहेका पत्रकारहरूको संस्था नेजा भएकाले समुदायको आवश्यकतालाई मध्यनजर गर्दै नेजाले आफ्नो योजना तथा कार्यक्रम अगाडि बढाएको बताउनुभयो । यसैगरी, नेजाका महासचिव बाबुराम दाहालले नेजाले समुदायमा भएका कार्यक्रम एवं गतिविधिका बारेमा प्राप्त समाचार एवं समुदायलाई आवश्यक पर्ने सूचना नेजाले अमेरिकाबाट प्रकाशन हुने सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउने गरेको बताउनुभयो । महासचिव दाहालले समुदायमा गरिने गतिविधिका बारेमा विस्तृत जानकारी समेटेर नेजालाई उपलब्ध गराउनसमेत आग्रह गर्नुभएको थियो ।

    यसैगरी, कार्यक्रममा बोल्दै नेपाल सरकारका पर्यटन प्रवर्धक गोकुल श्रेष्ठले सन् २०२४ मा १२ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष रहेको बताउनुभयो । साथै, अमेरिमा बसेर नेपाललाई नेपाली आँखाले होइन अमेरिकी आँखाले हेर्न आग्रह गर्दै आफू र आफ्ना सन्ततिलाई छुट्टीको समयमा नेपाल जाने वातावरण मिलाउनसमेत आग्रह गर्नुभयो ।

    सो अवसरमा बोल्दै प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सञ्जय थापाले निष्पक्ष पत्रकारिताका आवश्यकतामा जोड दिनुहुँदै प्रवासमा रहेका पत्रकारहरूले गैरआवासीय नेपालीलाई नेपाली नागरिकताको निरन्तरताका बुलन्द आवाज उठानुपर्ने बताउनुभयो । यस्तै, नेपाली जनसम्पर्क समिति, अमेरिकाका अध्यक्ष आनन्द विष्टले लोकतन्त्रमा लागि प्रेस स्वतन्त्रता अनिवार्य रहेको बताउँदै समुदायका गतिविधि मिडियामार्फत आमजनसमुदायमा पुर्याउन मिडियाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । यसैगरी, अधिकारकी निर्देशक नर्बदा क्षेत्रीले व्यक्ति र संस्था हेरेर भन्दा कामका आधारमा रिपोर्टिङ गर्न र निष्पक्षता देखाउन पत्रकारसमक्ष आग्रह गर्नुभयो । यस्तै, एनआरएनए अमेरिका उत्तर-पूर्व क्षेत्रीय संयोजक आङछिरिङ शेर्पाले सकारात्मक प्रवाभ पार्ने समाचार सामग्री संप्रेषण गर्न विशेष जोड दिनुभयो । कार्यक्रममा बोल्नुहुँदै नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा फोनिजका पूर्वअध्यक्ष मोहनसिंह लामाले वातावणीय संकट अहिलेको मुख्य समस्या भएको हुँदा पत्रकारले यस विषयलाई महत्त्व दिएर समाचार सामग्री प्रकाशन एवं प्रसारण गर्न अनुरोध गर्नुभयो ।

    यसैगरी, नेजाका सदस्य कल्पना घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेजाका उत्तर-पूर्व क्षेत्रीय संयोजक सुपेन्द्र बस्नेतले नेजाको म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा मे २५ र २६, २०२४ हुने १७औं साधारण सभाका बारेमा जानकारी दिँदै सबैलाई निमन्त्रणा गर्नुभएको थियो ।

    नेजाका उपाध्यक्ष सुजन पण्डितको धन्यवाद मन्तव्य रहेको कार्यक्रममा नेजाका सल्लाहकार मच्छेदेवी गुरुङ, नेजाका पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारी, पत्रकारहरू लोकमणि राई, मोहनसिंह लामा, प्रेमिला गौचन, सुनिता कोइराला, सन्तोष शर्मा, किरण पाण्डे, बद्री गौतमलगायतले आफ्ना भनाइ राख्नुभएको थियो ।

  • चुच्चे नक्सा नोटमा छाप्ने नेपालको निर्णयमा यस्तो आयो भारतको प्रतिक्रिया

    चुच्चे नक्सा नोटमा छाप्ने नेपालको निर्णयमा यस्तो आयो भारतको प्रतिक्रिया

    काठमाडौं । सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन्। शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन्।

    ‘हामी स्पष्ट छौं। नेपालसँगको सीमा समस्या समाधानका लागि स्थापित मञ्चमार्फत छलफल भइरहेको छ। दुई देशबीचको सीमा समस्या समाधानबारे छलफल चलिरहँदा बीचमा उनीहरूले एकतर्फी निर्णय गरे,’ जयशंकरको भनाई उद्धृत गर्दै द इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदले एक सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेको थियो।

    एक सय रुपैयाँ दरको बैंकको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा राख्न सरकारले नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको समेत दिइसकेको छ। नेपालले २०७७ जेठ ७ गते सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो।

    भारतले उक्त भूभाग आफ्नो दाबी गर्दै त्यतिबेला आपत्ति जनाएको थियो। जेठ ३१ गते नक्सा अनुसारकै निशान छाप बनाउने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको थियो।

  • जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

    जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको आज काठमाडौं आउँदैछिन् । अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी विदेशमन्त्री खामिखावा श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौं आउन लागेकी हुन् । काठमाडौंमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    भेटका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी हुने सूचनामा उल्लेख छ । नेपाल र जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको अवसरमा उनको यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन मद्दत मिल्ने विश्वास छ । मन्त्री श्रेष्ठसँगको भेटवार्तालगत्तै खामिखावा आजै काठमाडौंबाट टोकियो फर्किने जापानको विदेश मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ ।

    जापानकी विदेशमन्त्री खामिखावाले अप्रिल २६ देखि नेपाल र श्रीलंकासहित मादागास्कार, कोट डी आइवर, नाइजेरिया र फ्रान्सको भ्रमणमा निस्किएकी थिइन् । ४ मे मा श्रीलंका पुगेकी उनी त्यहाँ एक दिन बसेर ५ तारिख नेपालको राजधानी काठमाडौं आउन लागेकी हुन् ।

    जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । नेपालमा सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरीको भ्रमण भएको थियो । यो नै हालसम्मको उच्चस्तरीय भ्रमण हो । त्यसपछि सन् २०१९ मा जापानका तत्कालीन परराष्ट्रमन्त्री कोउनो तारोउको मन्त्रीस्तरीय भ्रमण भएको थियो । नेपाललाई निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा जापान अग्रस्थानमा छ ।

  • जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

    जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । जापानी विदेशमन्त्री योको कामीकावा नेपाल भ्रमणमा आउने भएकी छिन् । उनी आगामी आइतवार काठमाडौं आउने बताइएको छ । उक्त भ्रमणका क्रममा कुनै समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम भने तय नभएको समेत बताइएको छ । तर, दुई पक्षीय सम्बन्धका समग्र पक्षबारे समीक्षा गरिने भएको छ ।

    जापानले दुई देशबीच अर्को वर्ष कूटनीतिक सम्बन्ध कायम भएको ७० वर्ष पुग्न लागेको भन्दै यो भ्रमणले त्यसलाई थप टेवा दिनसक्ने विश्वास व्यक्त गरेको छ। कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य अनि पूर्वाधारका क्षेत्रमा नेपाल र जापानबीच सहकार्यको सम्भावना छ । हालैका महिनाहरूमा भारत, चीन र अमेरिकाबाट नेपालमा भइरहेका भ्रमणका शृङ्खलाहरूमाझ नेपालको प्रमुख साझेदार रहेको जापानबाट परराष्ट्रमन्त्रीको तहको भ्रमण हुन लागेको हो।

    फ्रान्स र श्रीलङ्कासहित छ वटा देशहरूको भ्रमणको कार्यसूची अन्तर्गत कामीकावाले नेपाललाई आफ्नो अन्तिम गन्तव्य बनाएकी हुन्। काठमाडौंस्थित जापानी राजदूतावासले जापानको सर्वाधिक अग्लो पर्वत माउन्ट फुजीको मुन्तिर अवस्थित सिजुओका प्रिफेक्चरकी कामिकावाको यो पहिलो नेपाल भ्रमण भएको बताएको छ ।


    “जापान र नेपालले लामो समयदेखिको विकास सहकार्य र जनस्तरको सम्बन्धमा आधारित गहिरो सम्बन्ध कायम राखिराखेका छन्,” राजदूतावासको विज्ञप्तिमा छ। “जापानी राजदूतावासले उनको यस पटकको भ्रमणले सन् २०२६ मा कूटनीतिक सम्बन्ध कायम भएको ७० वर्ष पुग्ने दौत्य सम्बन्धलाई थप बलियो बनाउन सकारात्मक गति दिनेछ।”

  • सम्पन्न भयो लगानी सम्मेलन, के भयो उपलब्धी

    सम्पन्न भयो लगानी सम्मेलन, के भयो उपलब्धी

    काठमाडौं । नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । आइतबार उद्घाटन भएको सम्मेलनमा ८ सय विदेशीसहित २५ सय भन्दा धेरै पाहुना सहभागी भएका थिए । नेपाल लगानीकर्ताका लागि उपयुक्त थलो हो भन्ने सन्देश प्रवाहका लागि यो सम्मेलन फलदायी भएको सरकारको दावि छ । तर, ठूला परियोजनामा लगानीकर्ता आकर्षित भएर लगानी घोषणा नभएको यो सम्मेलन कर्मकाण्डमै सकिएको छ ।

    सरकारले यस पटक १ सय ५२ वटा परियोजनाहरू शोकेसमा राखेको थियो । शोकेसमा राखेका यस्ता परियोजना भविष्यमा लगानीकर्ता आकर्षित गर्न सफल हुने विश्वास सरकारको छ । सरकारले तेस्रो लगानी सम्मेलनसम्म आइपुग्दा हरेक पटक उही प्रकृतिका परियोजना शोकेसमा राख्ने र ती परियोजनालाई अगाडि बढाउन न्यूनतम तयारीका काम समेत पूरा गर्न सकेको छैन ।

    फलस्वरूप यस्ता परियोजनाहरू लगानीको पर्खाइमा मात्र सीमित बन्न पुगेका छन् । यसका बाबजुद सोमबार केही सम्झौता र समझदारीहरूमा हस्ताक्षर भने भएको छ । यसरी लगानी घोषणा गरिएकामा पनि गैरआवासीय नेपालीहरूको लगानीको हिस्सा देखिन्छ ।

    तेस्रो लगानी सम्मेलनका दौरान मनोरञ्जन क्षेत्रमा चिनियाँ र भारतीय कम्पनीसँग समझदारी भएको छ । जीकेसीसी परियोजनालाई चिनियाँ सिन्चेन ह्वाह इन्टरनेसनल र जज्याङ् अर्बन कन्स्ट्रक्सन ग्रुप तथा भारतीय कम्पनी क्रस काउन्ड्री एड्भाइजरी र साइस्पेक्टिभ इन्टरनेसनलले सम्झौतापत्रको ड्राफ्ट आदनप्रदान गरेका छन् ।

    सम्मेलनकै अवसरमा सोमबार रारामा रिसोर्ट खोल्ने अस्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको छ । लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरे । सोमबार नै नेपाल उद्योग व्यापार महासंघ ९एफएनआईसी० र इन्डियन इन्डस्ट्रिज एसोसिएसन (आईआईए) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा एफएनआईसीका तर्फबाट अध्यक्ष खिमलाल भण्डारी र आईआईएका तर्फबाट अध्यक्ष अनुजकुमार गर्गले हस्ताक्षर गरे ।

    नेपाल र भारतबीचको लगानी, व्यापार तथा उद्योग क्षेत्रमा आपसी सहकार्य तथा हित प्रवर्द्र्धनका लागि सहकार्य गर्न यो सम्झौता भएको महासंघका महासचिव खिमनारायण पराजुलीले जानकारी दिए । दुई देशका निजी क्षेत्रबीच भएको यो सम्झौताले मुख्यगरी व्यापारका क्षेत्रमा सहजीकरणका लागि टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    सोमबार नै चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्ने सम्बन्धी दुई समझदारी भएको छ । तेस्रो लगानी सम्मेलनको दोस्रो दिन सोमबार नेपालको ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बीच समझदारी भएको हो । सोमबार नै नेपाल उद्योग व्यापार महासंघ ९एफएनआईसी० र चाइना दोङ्‍गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच समझदारी भएको हो ।

    नेक्सजेनले एमएबीसीको माउ कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्नका लागि सहजीकरण गर्नेछ भने एफएनआईसीले चाइना दोङ्गन जिङ लङलाई सहजीकरण गर्नेछ । यी दुई समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ समेत सहभागी भए ।

    सोमबार सार्वजनिक निजी साझेदारीमा सहकार्य गर्न दुई संस्थाबीच समझदारी भएको छ । ‘वर्ल्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स’ ९वाप० र ‘नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स’ ९नाप० बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको हो । उक्त समझदारीपत्रमा वापकातर्फबाट अध्यक्ष जियाद–अलेक्स्यान्डर हायक र नापकातर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरे ।

    समझदारीमा दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक–निजी साझेदारी (पीपीपी) सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने समझदारीमा उल्लेख छ । नेपालमा भौतिक पूर्वाधार तथा पीपीपी पाइपलाइन सुदृढीकरण, पीपीपी परियोजना र कार्यक्रम तयारी र कार्यान्वयनमा अन्तर्राष्ट्रिय असल अभ्यास प्रवर्द्धनका लागि सहकार्य, संयुक्त रूपमा सभा–सम्मेलन, गोष्ठीका आयोजना गर्न तथा संयक्त प्रकाशन तयार गर्न दुवै संस्था सहमत भएका हुन् ।

    साखः ग्रुपले होटलमा भित्र्याउने गरी सम्झौता गरेको छ । साखः ग्रुपले नेपालमा होटल क्षेत्रका लागि वैदेशिक लगानी भित्र्याउने जनाएको छ । तेस्रो लगानी सम्मेलनका दौरान सोमबार यसबारे सम्झौता भएको छ । सोमबार साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप अफ होटल चाइनाबीच होटल व्यवसायमा सहकार्यसम्बन्धी आरएमबी पाँच करोडदेखि १० करोडसम्म लगानीका लागि सम्झौता भएको हो ।

    यसअघि आइतबार दुई वटा सम्झौता भएका थिए । नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्ट्रिज मलेसियाबीच लगानी सम्मेलनको उद्घाटनका अवसरमा द्धिपक्षीय सम्झौता भएको हो । सो अवसरमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियाका तर्फबाट अध्यक्ष टान सी थायन लाईले हस्ताक्षर गरे ।

    यसै गरी आइतबार नै डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्य गर्ने बारे नेपालको बीएलसी ग्रुप र भारतको योट्टा डाटा सर्भिसेजबीच सम्झौता भएको छ । सम्झौतामा बीएलसी होल्डिङ्सका प्रबन्ध निर्देशक मेघा चौधरी र सेन्टरका सीईओ सुनिल गुप्ताले हस्ताक्षर गरेका थिए ।

    लगानी सम्मेलनकै दौरान उद्योग विभागबाट ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । विभागले विभिन्न चार वटा उद्योगका लागि सो रकम बराबरको लगानी स्वीकृत गरेको जनाएको छ । भक्तपुरमा लगानी कम्पनीका लागि ६ अर्ब र काठमाडौंमा व्यावसायिक भवन बनाउन ३ अर्ब रुपैयाँ बराबरको लगानी यस दौरान स्वीकृत भएको थियो । कैलालीमा लघु जलविद्युत् र ललितपुरमा होटल तथा रेस्टुरेन्ट बनाउन समेत लगानी स्वीकृत भएको विभागले जनाएको छ ।

  • तेस्रो लगानी सम्मेलनको पहिलो दिन के के भयो ?

    तेस्रो लगानी सम्मेलनको पहिलो दिन के के भयो ?

    काठमाडौं । तेस्रो लगानी सम्मेलन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । १ हजार ४ सयभन्दा धेरै पाहुना सहभागी सम्मेलनमा सहभागी उच्च पदस्थ अधिकारी, राजनीतिक दलका नेतृत्व र निजी क्षेत्रका प्रतिनिधिले नेपाल लगानीका लागि उपयुक्त स्थल भएको सन्देश प्रवाहमा अधिकतम समय खर्चिए ।


    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले समेत एकैस्वरमा नेपालमा लगानीका लागि आह्वान गरे । लगानी सम्मेलनको पहिला दिन वातावरण प्रवाहमा महत्त्वपूर्ण देखिएको लगानी बोर्डको भनाइ छ । प्रधानमन्त्री दाहालले आइतबार नै विभिन्न देशका २२ वटा बढी प्रतिनिधिमण्डलसँग भेटघाट गरेका छन् ।

    छुट्टाछुट्टै भएको भेटघाट तथा छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले करिब साढे दुई घण्टा समय बिताएका थिए । प्रधानमन्त्री प्रचण्डले हरेक भेटमा मुलुकमा लगानीको वातावरण बनेको र यहाँ आएका लगानीकर्ताले राम्रो प्रतिफल पाएको जानकारी गराएका थिए । आइतबार उद्घाटन सत्रमा समेत उनले सोही सन्देश प्रवाह गर्ने जमर्को गरे । उनले नेपालले प्रयोग नभएका अपार सम्भावना र अवसरका केन्द्रमा उभिएर लगानीकर्तालाई स्वागत गर्ने बताए ।

    उनले भने, ‘नेपाल गौतम बुद्ध, सगरमाथा र वीर मानिसहरूको भूमि हो, यो विदेशी लगानीलाई हृदयदेखि स्वागत गर्ने देश हो ।’ लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहजता प्रदान गर्न निरन्तर सुधारमा सरकार दृढ रहेको उनले बताए । सोही सन्दर्भमा हालै सरकारले कानुन परिमार्जन गरेको उनले उल्लेख गरे । नेपालका ६० प्रतिशतभन्दा बढी जनसंख्या श्रमिक उमेर समूहभित्र रहेको तीव्र रुपमा विस्तार भएको मध्यमवर्गीय जनसंख्याले उपभोक्ता वृद्धिको अपार सम्भावना देखाएको प्रधानमन्त्रीको भनाइ छ ।

    देउवाले विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला रहेको भन्दै यसका लागि आह्वान गरे । उनले पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिमा बढी सम्भावना रहेको उल्लेख गरे । सरकारले नीतिहरू परिमार्जन र पुनर्संरचना गर्दा वातावरण बनाइरहेको र यसमा नेपाली कांग्रेसको नेतृत्वको सरकारले समेत काम गरेको उनको भनाइ थियो ।

    अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य रहेको बताए । उनले नेपालका आर्थिक सूचक स्थिर र सकारात्मक गएको भन्दै आश्वस्त पार्न खोजेका थिए । राजनीतिक दलहरुको सहमतिमा ऐनहरूमा गरिएको संशोधनबाट नेपाल लगानी भित्राउन कट्टिबद्ध रहेको सन्देश प्रवाह भएको उनको दाबी छ ।

    लगानी सम्मेलनमा यस पटक निजी क्षेत्र सहआयोजकका रुपमा रहेको छ । उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले एक स्वरमा सरकारको समर्थन गर्दै लगानीका लागि आह्वान गरे । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको भन्दै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्तालाई आह्वान गरे ।

    नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानीको सम्भाव्य क्षेत्रबारे चर्चा गरेका थिए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सस्तो श्रमशक्ति, छिमेकी मुलुक भारत र चीनको उपभोक्ता बजार लगायत कारण नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको बताए ।

    सम्मेलनका क्रममा आज दुईवटा सम्झौता सम्पन्न भएका छन् । डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि बीएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो । बीएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरेका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको हो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री मलेसियाका अध्यक्ष थायन लाईले हस्ताक्षर गरेका छन् ।

  • न्युयोर्क सहरमा नेपाल डे परेड २०२४ हुने तय

    न्युयोर्क सहरमा नेपाल डे परेड २०२४ हुने तय

    बिक्की पुलामी, न्युयोर्क

    बिगत बर्षहरुमा जस्तै यस बर्ष पनि न्युयोर्क सहर म्यानह्याटनमा नेपाल डे परेड २०२४ आयोजना गरिने भएको छ । सन् २०१६ देखि सुरुवात भएको “नेपाल डे परेड” २०२४ गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति, न्युयोर्क च्याप्टरको आयोजनामा हुन लागेको हो ।

    मे १९,२०२४ मा हुने “नेपाल डे परेड”का लागी गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति न्युयोर्क च्याप्टरका अध्यक्ष हेमन ब. मल्ल अध्यक्ष र शेर्पा किदुग अमेरिकाका अध्यक्ष ई. तेम्बा शेर्पा कन्भेनर रहने भएको छ ।
    कार्यसमितिमा को-कन्भेनरको जिम्मेबारी राजेश सापकोटा, तुलसी राम आचार्य, नबिन कुमार ओझा, सुवास साह, ओम बिश्वकर्मा, कुल (राजन) गौली, श्याम पौडेल, अजित शाह र कृष्ण गुरुंगले पाएका छन् । भने अन्य बिभागमा आर्थिक बिभागको संयोजकको लागी दिन दयाल (दिनेश) भण्डारी र सदस्यहरुमा बाबुराम शर्मा, टक ब. रुवाली, देबेन्द्र लामा र ध्रुबराज पौडेल रहकेा छन् ।

    मिडिया संयोजकका लागी बिक्की पुलामी, प्रचार प्रसार संयोजकका लागी चमेली खाती परियार, सांस्कृतिक संयोजकका लागी बसन्ती राई, झाकी प्रदर्शन संयोजकका लागी शंकर पौडेल, स्वयंसेवक परिचालन संयोजकका लागी दावा शेर्पा, सह-संयोजकका लागी दान बहादुर मल्ल, र्याली ब्यवस्थापन संयोजकका लागी पुनम बसेल, कार्यक्रम ब्यवस्थापन संयोजकका लागी बासु लामीछाने, अतिथी सत्कार संयोजकका लागी नवराज केसी, सह-संयोजकका लागी रश्मी श्रेष्ठ, ट्रक ब्यवस्थापन संयोजनका लागी लंग आईल्याण्ड नेपाली समाज र स्टेज ब्यवस्थापन संयोजकका लागी छिरिंग शेर्पाले जिम्मेवारी पाएका छन् ।

    त्यस्तै गरी प्रदेश संयोजकहरुमा कोशी प्रदेशकालागी टिका ढकाल, मधेश प्रदेशका लागी दिनेश यादव, बाग्मती प्रदेशका लागी पासांग नुर्बु शेर्पा, गण्डकी प्रदेशका लागी कृष्ण भट्ट, लुम्बिनी प्रदेशकाली आश बहादुर घर्ती, कर्णाली प्रदेशका लागी तिलक पुरी र सुदुर पश्चिम संयोजकका लागी दान सिंह बिष्टले जिम्मेबारी पाएका हुन् ।

  • अन्तराष्ट्रिय वित्तीय साझेदारसँग अर्थमन्त्रीको बैठक, के भने ?

    अन्तराष्ट्रिय वित्तीय साझेदारसँग अर्थमन्त्रीको बैठक, के भने ?

    काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको वित्तीय विकास संस्था (डेभलप्मेन्ट फाइनान्स इन्स्च्यिुसन) को प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेको छ । नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत डा. डेनियल मेउलको संयोजनमा विभिन्न १४ वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि सम्मिलित टोलीले मन्त्री पुनलाई बुधबार अर्थ मन्त्रालयमा भेटेको हो ।

    त्यस क्रममा प्रतिनिधिमण्डलका सदस्यहरूले नेपालमा लगानीको क्षेत्र विस्तारका लागि इच्छुक रहेको भन्दै थप लगानी ल्याउने प्रतिबद्धता जनाएका थिए । हालसम्म वाणिज्य बैंकहरूसँग मात्र सहकार्य गर्दै आएकामा आगामी दिनमा विकास बैंक र लघु वित्तमार्फत पनि लगानी गर्न चाहेको उनीहरूले बताए ।

    उक्त संस्थाले हालसम्म नेपालमा बैंकहरूमार्फत ऊर्जा, कृषि, महिला उद्यमशीलता र पिछडिएको क्षेत्रका लागि ६ सय मिलियन डलर लगानी गरेको छ । भेटमा मन्त्री पुनले वैदेशिक लगानी आकर्षित गर्ने नीतिमा सरकार रहेको बताए । सरकारले देशभित्र र बाहिरको निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाएको उनको भनाइ थियो ।

    प्रतिनिधिमण्डलमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएफसी), एसियन विकास बैंक (एडीबी), अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम ९डीएफसी०, बेलायती सरकारको स्वामित्वमा रहेको ब्रिटिस इन्टरनेसनल इन्मेस्टमेन्ट, बेल्जियमको बीआईओ इनभेस्टिङका साथै जर्मनी, फ्रान्स, नेदरल्यान्ड, स्वीट्जरल्यान्ड, स्वीडेनका सरकारी स्वामित्वका कम्पनीका प्रतिनिधि संलग्न थिए ।

    ००७ सालमा नेपाल आएको इन्स्टिच्युसनले ०७८ सालमा नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीको तेस्रो संशोधन गरेपछि कर्जा लगानी बढाएको हो । चालु आर्थिक वर्षको हालसम्म उक्त संस्थाले नेपालमा करिब १ सय ५० मिलियन अमेरिकी डलर लगानी गरेको छ । सो संस्थाले आगामी १६ र १७ वैशाखमा काठमाडौंमा हुने तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा एउटा छुट्टै सत्रको समेत आयोजना गरेको छ ।

    यसअघि सोही प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीसँग भेटेको थियो । त्यस क्रममा सचिव मरासिनीले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि प्रतिबद्ध रहेको भन्दै केही दिनअघि मात्र अध्यादेशमार्फत लगानी प्रतिकूल ठानिएका विभिन्न ९ वटा ऐन संशोधनको निर्णय गरेको बताए । नेपालले आगामी सन् २०२६ सम्ममा अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नती गर्न तथा सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडीजी) को उद्देश्य पूरा गर्ने अभियानमा रहेकाले सरकारले वैदेशिक लगानीमा जोड लिने नीति लिएको उल्लेख गरे ।

  • विविध कार्यक्रमका साथ नेजा स्थापना दिवस मनाइयो

    विविध कार्यक्रमका साथ नेजा स्थापना दिवस मनाइयो

    अमेरिका ।

    नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । संघले आफ्नो १७औं स्थापना दिवसको अवसरमा रक्तदान, अन्तरक्रिया तथा वृक्षरोपण कार्यक्रमको आयोजना गर्‍यो । सन् २००७, अप्रिल २१ र २२ गते भर्जिनिया राज्यको आर्लिङटनमा भएको प्रथम अधिवेशनको मितिलाई आधार मानी संघले यो वर्षदेखि अप्रिल २१ लाई नेजा स्थापना दिवस अर्थात् ‘नेजा डे’ को रुपमा मनाउन सुरु गरेको नेजाका महासचिव बाबुराम दाहालले जानकारी दिनुभयो ।

    नेजाले स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासंघका पदाधिकारी, नेजाका संस्थापकहरू, संस्थापक अध्यक्ष तथा पूर्वअध्यक्ष, पूर्वकार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, संस्थाका सदस्यहरू, गैरआवासीय नेपाली संघका अभियन्ताहरूको सहभागितामा अप्रिल २१ आइतबार विद्युतीय माध्यम जुममार्फत बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    सो अन्तरक्रियामा प्रवासको पत्रकारिताका विविध आयाममाथि सहभागिहरूले धारणा राख्नुभएको थियो । नेजाले क्षेत्रगत रुपमा समेत अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को, टेक्सास राज्यको युलेस र म्यासाच्युसेट्स राज्यको बोस्टनमा स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइयो ।

    नेजा उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको साझा संस्था हो । रचनात्मक ढंगका कार्यक्रम गरी संघको स्थापना दिवस मनाइएको बताउँदै नेजाका अध्यक्ष सुरज भण्डारीले आगामी दिनमा संघमार्फत अमेरिका र नेपालमा पत्रकारिताको गुणात्मक विकासका लागि विझिन्न कार्यक्रम सञ्चालन गर्न लागिएको र सक्रिय पत्रकारका लागि फेलोसिप कार्यक्रम सुरु हुन लागेको बताउनुभयो । अध्यक्ष भण्डारीले नेजा र नेपाल पत्रकार महासंघबीचको सम्झौता र सहकार्यबाट धेरै कुरा गर्न सकिने बताउनुभयो । नेपाल पत्रकार महासंघसँगको सहकार्यमा नेजाले ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार’ प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको छ ।

    नेजाले स्थापना दिवसको अवसरमा अप्रिल २० मा ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्यमा टेक्सासको युलेस सहरमा रहेको नेपाली सांस्कृतिक तथा आध्यामिक केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । यसैगरी, अप्रिल २१ मा टेक्सासको डालसमा रहनुभएका पत्रकारसँग शुभकामना साटासाट गरेको थियो भने म्यासाच्युसेट्स राज्यको बोस्टनमा शुभकामना आदान-प्रदान कार्यक्रम गरेको थियो । यस्तै, अप्रिल २२ मा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट 2-x1, डालास एभरेस्ट लायन्स क्लबसहितका लायन्स क्लबहरूसँगको सहकार्यमा टेक्सासको अर्भिङ सहरमा रहेको जेफरसन पार्कमा वृक्षरोपण गरिएको थियो ।

  • कतारी राजाको सम्मानमा राष्ट्रपतिको रात्रिभोज

    कतारी राजाको सम्मानमा राष्ट्रपतिको रात्रिभोज

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् । होटल सोल्टीमा आयोजना गरिएको रात्रिभोजमा नेपाली परम्परागत झाँकी समेत प्रस्तुत गरिएको छ । रात्रिभोजमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्रीहरू, निजी क्षेत्रका प्रतिनिधि लगायतको उपस्थिति छ ।

    राष्ट्रपति पौडेलको निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका हमाद अल थानी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । राष्ट्रपति पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यले विमानस्थलमा उनको स्वागत गरेका थिए । विमानस्थलमै कतारका राजालाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो । त्यसपछि विमानस्थलबाट उनी राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए । शीतलनिवासमा राष्ट्रपति पौडेल र कतारका राजा थानीबीच भेटवार्ता भएको थियो ।

  • राष्ट्रपति पौडेल र कतारी राजाबीच भेट, के भयो कुराकानी ?

    राष्ट्रपति पौडेल र कतारी राजाबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ । अपराह्न भएको दुई राष्ट्रप्रमुखबीचको भेटमा नेपाल र कतारबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा पनि विस्तृत कुराकानी भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।

    शीतल निवासको गण्डकी हलमा भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेतलगायत विशिष्ट पदाधिकारीहरु सहभागी थिए ।

    कतारका अमिर अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै शीतल निवास पुगेका थिए । यसअघि, विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत विशिष्ट पदाधिकारीहरुले अमिर अल थानीलाई स्वागत गरेका थिए ।

    अमिर थानीको सम्मानमा राष्ट्रपति पौडेलले मंगलबार नै रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भोलि बुधबार द्विपक्षीय वार्ता हुने कार्यक्रम छ । राष्ट्रपति पौडेलको निमन्त्रणामा कतारका अमिर अल थानी आजै नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आएका छन् ।

  • कतारका अमिर थानी काठमाडौंमा

    कतारका अमिर थानी काठमाडौंमा

    काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा उनी दिउँसो ३ः३५ मा बंगलादेशबाट विशेष विमानमार्फत काठमाडौं आइपुगेका हुन् । अमिर अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यले स्वागत गरेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनीसँग डेढ सयभन्दा बढीको भ्रमण दल छ । त्यसबाहेक औपचारिक वार्तामा बस्ने ११ जनाको विशेष प्रतिनिधि मण्डल छुट्टै रहेको छ ।


    राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तामा सोही विशेष प्रतिनिधि मण्डल साथमा रहने छ । भ्रमण दलमा कतारको प्रशासनिक मामिला हेर्ने अमिरी दिवान प्रमुख शेख साउद बिन अब्दुल रहमान, यातायातमन्त्री जसिम विन सैफ अल सुलाती, वाणिज्य तथा उद्योगमन्त्री शेख मोहम्मद बिन हमाद बिन कासिम, परराष्ट्र राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखी छन् ।

    यसैगरी अमिरी दिवानको अध्ययन र अनुसन्धान विभागका निर्देशक साद बिन नासेर अल काबी, कतार लगानी प्राधिकरण ९क्यूआईए०को एसिया र अफ्रिका लगानी प्रमुख शेख फैसल बिन थानी अल थानी, परराष्ट्र मन्त्रालयको एसिया मामिला विभाग प्रमुख युसुफ सुल्तान लाराम, अमिरको स्वकीय सचिवालयका प्रमुख बिन घनिम अल्होदैफी, राज दरबारको समारोह विभागका सहायक निर्देशक तलाल बिन अल्मास अल सुलती तथा अमिर ९राजा० का निजी सहायक मन्सुर फलेह अल–हजरी भ्रमण दलमा छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेल र अल थानीबीच साढे ५ बजेदेखि शीतल निवासमा आधा घण्टाको द्विपक्षीय भेटवार्ता हुनेछ । त्यसपछि साँझ ७ बजे होटेल सोल्टीमा राष्ट्रपति पौडेलले कतारी अमिरको सम्मानमा आयोजना गरेको राजकीय रात्रिभोज हुनेछ ।

    प्रधानमन्त्री प्रचण्ड र अल थानीबीच बुधबार बिहान साढे १० बजे होटेल सोल्टीमा औपचारिक वार्ता हुने कार्यक्रम रहेको छ । उक्त औपचारिक वार्ताका लागि ४५ मिनेट समय तय भएको छ । उक्त वार्तापछि विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

    उक्त कार्यक्रम सम्पन्न भएपछि मध्याह्न १२ बजे प्रधानमन्त्री प्रचण्डले उनको सम्मानमा होटेल द्वारिकामा दिवा भोज आयोजना गर्नेछन् । दिवा भोजमा सहभागी भएपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ । निजी विमानमा आएका उनी दिउँसो २ बजे कतारको दोहाका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

  • कतारका राजा पहिलो पटक नेपाल आउँदै

    कतारका राजा पहिलो पटक नेपाल आउँदै

    काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउन लागेका कतारका अमिर आज साँझ साढे ४ देखि साँझ ५ बजेभित्र नेपाल आइपुग्ने तालिका छ । उनको आगमनको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ । कतारी अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैं विमानस्थल जानेछन् । उनको सवारीको दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुनेछ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार मंगलबार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि ‘नोटिस टु एयरमेन’ ९नोटाम० जारी गरिएको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नेछन् । भ्रमणको दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ ।

    वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । यो भ्रमणबाट कतार र नेपालबीचको आत्मिय सम्बन्ध अझ सुमधुर हुनाका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताएका छन् ।

    उनी बुधबार स्वदेश फर्किनेछन् । बुधबार अमिर थानी फिर्ता हुने समयमा समेत यस्तै प्रकारको नोटाम जारी हुनेछ । राजकीय भ्रमणका सिलसिलामा अतिविशिष्ट पाहुनाको सम्मान र सुरक्षाका विमानस्थल बन्द गर्ने प्रचलन छ ।

  • कतारका राजालाई स्वागत गर्न राष्ट्रपति नै विमानस्थल जाने

    कतारका राजालाई स्वागत गर्न राष्ट्रपति नै विमानस्थल जाने

    काठमाडौं । पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने भएका छन् । अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । उनी मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।

    परराष्ट्र मन्त्रालयले अमिर नेपाल आउन लागेको आधिकारिक घोषणा गरेको थियो । उनको भ्रमणको नेपाली पक्षबाट लगभग सबै तयारी पूरा भइसकेको छ । नेपाल भ्रमणमा रहँदा अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नेछन् ।


    भ्रमणको दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ । वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । थानी २४ अप्रिलमै काठमाडौंबाट कतार प्रस्थान गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उनी बुधबार स्वदेश फर्किनेछन् ।

  • यूएनडीपीका ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउँदै

    यूएनडीपीका ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउँदै

    काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउने भएका छन् । उनीहरु आगामी १७ वैशाखमा काठमाडौं आइपुग्ने छन् । यूएनडीपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयसानी मेडागाङ्गोडा लाबेले सोमबार अर्थमन्त्री वर्षमान पुनसँगको शिष्टाचार भेटमा उक्त जानकारी दिएकी हुन् ।

    त्यस क्रममा यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको बैठकसमेत काठमाडौंमा बस्नेछ । यूएनडीपीको यति ठूलो बैठक नेपालमा बस्न लागेको यो पहिलोपटक हो । यसअघि उक्त बैठक थाइल्यान्डको राजधानी बैंककमा बस्ने गरेको थियो ।

    बैठकका लागि संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवम् यूएनडीपीकी एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कन्नी विग्नाराजा पनि आउनेछिन् । त्यस क्रममा विग्नाराजाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री पुन र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलगायतसँग शिष्टाचार भेट गर्ने कार्यतालिका छ । वग्नाराजासहितको टोली हेलिकोप्टरमार्फत सोलुखुम्बु क्षेत्रको भ्रमणमा जानेछ । त्यहाँ इम्जा ताल निरीक्षण गर्ने कार्यक्रम छ ।

    यूएनडीपीले इम्जामा हिमताल फुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उक्त जोखिम घटाएको थियो । तालभन्दा तल्लो भेगमा रहेका बस्तीको सुरक्षाका लागि यूएनडीपीले तालभित्र जमेको हिउँ बाहिर निकालेर तालको गहिराइ बढाएको थियो । यूएनडीपीले दोलखाको उत्तरी क्षेत्रस्थित रोल्वालिङ उपत्यकामा रहेको नेपालको सबैभन्दा ठूलो हिमताल च्छोरोल्पाको फुट्न सक्ने जोखिम पनि घटाएको थियो ।

    आगामी दिनमा त्यस्तै जोखिममा रहेकामध्ये सुनकोशी बेसिनका तीन र गण्डकी बेसिनका एक तालको जोखिम घटाउने योजना रहेको लाबेले बताइन् । भेटमा लाबेले यूएनडिपीले नेपालको गरिबी निवारण तथा स्वास्थ्य क्षेत्रमा गरिरहेको कामबारे मन्त्री पुनलाई अवगत गराइन् । उनले ग्लोबल ग्रिन क्लाइमेट फण्डको कार्यक्रम नेपालमा लागू गर्न लागेको विषयमा समेत जानकारी दिइन् । आगामी दिनमा यूएनडीपीले नेपालमा गर्ने कामलाई सरकारसँग जोड्न चाहेको उनको भनाइ थियो । त्यस क्रममा मन्त्री पुनले यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको बैठक नेपालमा गर्न लागेकोमा धन्यवाद दिए ।

  • श्रमिक चढ्ने जहाजमा पनि खानाको व्यवस्था गर्न श्रम मन्त्रीको आग्रह

    श्रमिक चढ्ने जहाजमा पनि खानाको व्यवस्था गर्न श्रम मन्त्रीको आग्रह

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जहाजभित्र अनिवार्य रुपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन् । सोमबार मन्त्रालयमा वैदेशिक रोजगारी व्यवसायी संघसँग भएको छलफलमा मन्त्री अर्यालले श्रम स्वीकृति लिएर व्यवसायी मार्फत रोजगारीमा जाने श्रमिकलाई जहाजको टिकटमा अनिवार्य खानाको व्यवस्था गर्न आग्रह गरेका हुन् । ‘युवाहरू विदेश जाँदा जहाजभित्र घण्टौंसम्म भोकै बस्नुपर्ने अवस्था छ,’ मन्त्री अर्यालले भने, ‘कम्तीमा पनि जहाजभित्र पानी र एकपटकको खानाको व्यवस्था गरिदिनुहोस् ।’

    वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले श्रमिकलाई खाना दिने विषयमा आफूहरू सकारात्मक भए पनि एयरलाइन्स कम्पनीहरूले व्यावसायिक फाइदालाई मात्र हेर्दा यस्तो अवस्था आएको बताए । ‘एयरलाइन्सले व्यावसायिक फाइदामात्र हेर्दा श्रमिकहरु भोकै बस्नुपर्छ,’ उनले भने, ‘नागरिक उड्डयन प्राधिकरणले नै एयरलाइन्सलाई अनिवार्य खाना उपलब्ध गराउन नियम बनाउनुपर्छ ।’

    नेपालबाट दैनिक औसत १ हजार ५०० श्रमिक मलेसिया र मध्यपूर्वका मुलुकमा जाने गर्दछन् । नेपालबाट यी मुलुकमा हिमालयन, नेपाल, मलिन्दो, मलेसिया, कतार, एयर अरेबिया, फ्लाइ दुबई लगायतका एयरलाइन्सले उडान भर्दै आएका छन् । चार वटा एयरलाइन्सले मात्र अनिवार्य खाना दिने गरेको व्यवसायीहरूले बताएका छन् ।

  • प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान

    प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान

    काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गरेका छन् । फ्रान्सको लियोनमा यही वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन हुने १९औँ ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिन उनी गत राति त्यसतर्फ प्रस्थान गरेका हुन् । हेड अफ एनसिबीमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधको नियन्त्रण सम्बन्धमा ‘इन्टरपोल’मा आबद्ध एक सय ९६ देशको सहभागिता रहनेछ ।

    सहभागिताका क्रममा अन्तर्राष्ट्रियस्तरमा घटेका समसामयिक घटना, अपराध अनुसन्धानको विषय, प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिलगायत विषयमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । सम्मेलनका क्रममा नेपालले भारत, चीन, जापान, मलेसियालगायतका प्रतिनिधिसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रमसमेत रहेको छ ।

    प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाललगायत प्रहरी अधिकृतले बिदाइ गरे । महानिरीक्षक कुँवरसँगै प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह पनि फ्रान्स प्रस्थान गरेका छन् । प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

  • कतारका आमिर दुई दिने भ्रमणमा मंगलबार नेपाल आउने

    कतारका आमिर दुई दिने भ्रमणमा मंगलबार नेपाल आउने

    काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबार दुई दिने भ्रमणका लागि नेपाल आउने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर थानीले २३ र २४ अप्रिलमा नेपालको राजकीय भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नेछन् । भ्रमणको दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ । वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

    थानी २४ अप्रिलमै काठमाडौंबाट कतार प्रस्थान गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्किने र त्यस क्रममा उनले फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्नेछन् । अल थानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्नेछन् । कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । कतारका अमिरबाट पहिलोपटक नेपाल भ्रमण हुन लागेको हो ।

  • अमेरिका भ्रमण पुरा गरी स्वदेश फर्किए अर्थमन्त्री

    अमेरिका भ्रमण पुरा गरी स्वदेश फर्किए अर्थमन्त्री

    काठमाडौं । अमेरिकाको वासिङटन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर अर्थमन्त्री वर्षमान पुन शनिबार स्वदेश फर्किएका छन् । मन्त्री पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा सहभागी हुनुका साथै जलवायु परिवर्तनको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठक, हाइलेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक तथा दक्षिण एसियामा स्वच्छ ऊर्जा संक्रमणसम्बन्धी सत्रका साथै विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी भए ।
    । पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डिएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का सहायक प्रबन्ध निर्देशक बो–लीसँग भेटघाट गरे ।

    मन्त्री पुनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) का उच्च पदाधिकारी, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफपी) का पदाधिकारी, अमेरिकन चेम्बर अफ कमर्ससहित निजी क्षेत्रका प्रतिनिधि र त्यहाँस्थित गैरआवासीय नेपालीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरे ।

    सम्बोधन तथा भेटघाटहरुमा मन्त्री पुनले आगामी १७ र १६ वैशाखमा हुने तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका उनको सचिवालयले जनाएको छ । मन्त्री पुन र विश्व बैंकका उच्च अधिकारीहरुबीचको वार्तामा संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्थजलासययुक्त आयोजनाको वित्तिय ढाँचाबारे महत्वपूर्ण सहमति भएको छ । आगामी जुनमा विश्व बैंकले उक्त आयोजनाका लागि वित्तिय व्यवस्थापन टुंग्याउने तयारी अघि बढाउने भएको छ ।

  • नेपालमा लगानी भित्राउन बेलायतले सहयोग गर्ने

    नेपालमा लगानी भित्राउन बेलायतले सहयोग गर्ने

    काठमाडौं । लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रममा बेलायती दूतावासले आफ्नो देश नेपालमा लगानी बढाउन तयार भएको बताएको छ । ‘हामी नेपालमा लगानी गर्ने अवसर खोजिरहेका छौं र बढाउन तया पनि छौं,’ नेपालका लागि बेलायती राजदूत रब फेनले भने, ‘तर, त्यसका लागि सरकारले लगानीमैत्री बातावरण बनाउन पर्छ ।’

    बेलायतमा पढेर आएका नेपालीहरुको संगठन ‘अबान’को छब्बीसौं वर्षगाँठ मनाउन बिहीबार दूतावासमा आयोजना गरिएको कार्यक्रममा बोल्दै राजदूत फेनले भने, ‘बेलायत नेपालको मानवीय विकासका लागि सँधै नै प्रयत्नशील मित्र हो, । तर, लगानीका लागि चाहिँ अनुकूल नीति र संयन्त्रको विकास गर्नु पर्ने देखेको छु ।’

    नेपालमा बेलायतले गरेका केही लगानीमा सरकारले नियमभन्दा बाहिर गएर कर लगाएको र त्यसमा आफ्नो देशको फरक मत रहेको राजदूत फेनले बताए । ‘तपाईंहरु बेलायतको अनुदानमात्रै चाहनु हुन्छ कि लगानी पनि भनेर मैले सरकारका अधिकारीहरुलाई भेटमा भन्ने गरेको छु,’ भूतलक्षीत कानुन बनाएर अवाञ्छित कर लगाए त्यसले लगानीकर्ताहरुलाई नेपालमा जाऊ भन्न नसकिने बताउँदै राजदूत फेनले भने, ‘जे रोजे पनि नेपालको स्वतन्त्रता हो र त्यसका हामी सम्मान गर्छौं ।’

    बेलातमा पढेर आएकाहरुको संगठन आबानले दुई देशबीचको सम्बन्धलाई व्यावसायिक र सामाजिक विकासका लागि साझेदारीमा लगाउन विविध कार्यक्रहरु गर्दै आएको छ । ‘यसका लागि दूतावासको सँधै साथ र सहयोग मिलेको छ,’ अबानकी अध्यक्ष पद्मा वैद्यले भनिन्, ‘आगामी दिनमा हामी यो साझेदारीलाई थप फराकिलो दायरमा लैजाने योजनामा छौं ।’

    ठूलो संख्यामा बेलायतीहरु नेपालका लागि सहयोग गर्न र नेपाल घुम्न आउन इच्छुक भएको र उनीहरुको नेपाल प्रतिको माया सदा रहेको पाएको भन्दै दूतावासले त्यो सद्भाव नयाँ पुस्ताका बेलायतीमा पनि सार्न थप पहलको जरुरत भएको बताएको छ । दुई देशका तन्नेरीलाई जोड्न र बेलायतको नयाँ पुस्तामा नेपालबारे चासो जगाउन त्यहाँ पढेर आएका विद्यार्थीहरुको संस्थाले ठूलो भूमिका निर्वाह गर्न सक्ने भन्दै राजदूत फेनले थप सहकार्यका लागि आफू इच्छुक रहेको बताए ।

  • कामको खोजिमा ९ महिनामा विदेशिए साढे ५ लाख नेपाली

    कामको खोजिमा ९ महिनामा विदेशिए साढे ५ लाख नेपाली

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०\८१ को ९ महिना (साउन–चैत)मा नेपालबाट कामको खोजीमा विदेशिनेको संख्या ५ लाख ३९ हजार ६९ पुगेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा केही कम हो । गत वर्षको ९ महिनामा ६ लाख २ हजार १५३ जनाले श्रम स्वीकृति लिएका थिए । नेपालबाट कामको खोजीमा चैत महिनामा मात्र झन्डै ७१ हजार नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चैतमा ७० हजार ९३३ जनाले श्रम स्वीकृति लिएका छन् । यो नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या हो । यो संख्या गत वर्ष चैतको तुलनामा समेत धेरै हो ।

    विभागका अनुसार २०७९ चैतमा ६१ हजार ४७८ जनाले श्रम स्वीकृति लिएका थिए । यस आवको मंसिरमा जारी ६८ हजार २०१ श्रम स्वीकृति जारी भएको थियो । त्यसपछि चैतमा धेरै श्रम स्वीकृति जारी भएको विभागको तथ्यांकमा उल्लेख छ ।

    चैत २०८० मा यूएईमा मात्र १७ हजार ८१८ जना नेपाली विदेशिएका छन् । साउदी अरेबियामा १३ हजार ६४१ जनाले श्रम स्वीकृति लिएका छन् । मलेसियामा १२ हजार ६०२, कतारमा ११ हजार २०४ र कतारमा ४ हजार ७६ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यस महिनामा रोमानियामा २२ सय ९९, जापानमा १३ सय ५१, बहराइनमा ९६४, क्रोएसियामा९६०, साइप्रसमा ७८१ जनाले श्रम स्वीकृति लिएका छन् ।

  • आर्थिक स्थायित्वमा सघाउने आइएमएफले दियो आश्वासन

    आर्थिक स्थायित्वमा सघाउने आइएमएफले दियो आश्वासन

    काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले नेपालको आर्थिक स्थायित्वमा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा आईएमएफका सहायक प्रबन्ध निर्देशक बो–लीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । वासिङटन डीसीमा बोलीसँग भएको भेटमा मन्त्री पुनले नेपालले चुनौतीहरूबीच आर्थिक स्थिरतालाई दृढतापूर्वक कायम राखेको बताए । गत वर्षको तुलनामा यो वर्ष अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक भएको उनको भनाइ थियो । ऊर्जा र पर्यटन क्षेत्रले अर्थतन्त्रमा राम्रो योगदान गरेको भन्दै उनले वैदेशिक मुद्रा सञ्चितिको अवस्थासमेत धेरै राम्रो हुँदा अर्थतन्त्रको बाह्य क्षेत्र राम्रो रहेको उल्लेख गरे ।

    यद्यपि सोचेजस्तो पूँजीगत खर्च सन्तोषजनक नहुँदा र राजस्व संकलनको लक्ष्य हासिल हुन नसक्दा आन्तरिक पक्ष केही दबाबमा रहेको उनले बताए । गत महिना आफूले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेदेखि पूँजीगत खर्च र राजस्व संकलन वृद्धिका लागि प्रयास अघि बढाएको मन्त्री पुनले बताए । उनले सहुलियतपूर्ण ऋण, नीतिगत परामर्श तथा क्षमता अभिवृद्धि लगायतमा नेपाललाई निरन्तर सहयोग गरेकामा आईएमएफ व्यवस्थापन र कार्यकारी बोर्डलाई धन्यवाद दिए ।

    सन् १९७६ यता कोषले लगातार नेपालको अर्थतन्त्र सुधारमा महत्वपूर्ण सहयोग गर्दै आएको भन्दै उनले १९८० को दशकमा नेपालले प्राप्त गरेको संरचनात्मक समायोजन सुविधा र ०७२ को महाभूकम्प तथा कोभिड–१९ महामारीले निम्त्याएको संकटका बेला गरेको सहयोग स्मरणयोग्य रहेको उल्लेख गरे ।

    नेपालले कोषसँग वित्तीय क्षेत्रको नियमन, राजस्व तथा सुशासनका क्षेत्रमा मिलेर काम गर्न चाहेको उनको भनाइ छ । नेपाल राष्ट्र बैंक ऐन संशोधनमा कोषका सुझावलाई ध्यान दिइने प्रतिबद्धता पनि मन्त्री पुनले जनाए । बो–लीसँग मन्त्री पुनले आगामी १६ र १७ वैशाखमा हुने तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा उच्चस्तरको प्रतिनिधित्व र लगानीकर्ता आउने वातावरण निर्माणका लागि समर्थनको माग गरे ।

    नेपालमा लगानीको राम्रो वातावरण रहेको भन्दै लगानीकर्तामा विश्वास जगाउन आईएमएफको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । भेटमा बो–लीले नेपाल राष्ट्र बैंकको ऐन संशोधनका विषयमा मन्त्री पुनसँग चासो राखेका थिए । आईएमएफले नेपाल राष्ट्र ऐन–२०५८ संशोधन गरी गभर्नरको नियुक्ति सरकारले नभई संसदले गर्नुपर्ने अडान राख्दै आएको छ ।

    राष्ट्र बैंकले आफ्नो उद्देश्यअनुसार स्वतन्त्रपूर्वक दिगो आर्थिक विकासका लागि मूल्य तथा शोधनान्तर स्थिरता र समग्र वित्तीय स्थायित्व कायम गर्न गभर्नरसहित सञ्चालक समिति सदस्यको नियुक्ति संसदबाट हुनुपर्ने सर्त आईएमएफको छ । विद्यमान ऐनमा अर्थमन्त्रीको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने र मन्त्रिपरिषद्‍ले तीनमध्ये एकलाई नियुक्त गर्ने व्यवस्था छ । त्यस क्रममा उनले नेपालको वित्तीय स्थायित्व, राजस्व परिचालन र बैंकिङ क्षेत्रको पूर्वाधारमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

  • केप कड नेपाली समाजको साधारण सभा र तेस्रो अधिवेशन सम्पन्न

    केप कड नेपाली समाजको साधारण सभा र तेस्रो अधिवेशन सम्पन्न

    केप कड, मासाच्युसेट्स

    केप कड नेपाली समाजको साधारण सभा र तेस्रो अधिवेशन अप्रिल १३, २०२४ का दिन, मेरियट होटल, केप कड, मासाच्युसेट्स अमेरिकामा सम्पन्न भयो। समाजका अध्यक्ष केवी राईको सभापतित्वमा शुरु भएको साधारण सभाको सञ्चालन सचिव ईच्छा खड्काले गर्नु भएको थियो भने उपस्थित सबैलाई सदस्य कृष्ण तिमल्सिनाले स्वागत गर्नु भएको थियो। सभाको उद्घाटन साना वालिकाहरूले बत्ति वालेर गरेका थिए ।

    सचिव ईच्छा खड्काले पेश गर्नु भएको संस्थाको प्रगति विवरण र भए गरेका गति-बिधिहरूको प्रतिवेदन तथा कोषाध्यक्ष विमल खड्काले पेश गर्नु भएको आर्थिक प्रतिवेदन सभाले सर्वसम्मत रुपमा पारित गरेको थियो।

    सभामा, समाजका सल्लाहाकार तथा विधान समितिका अध्यक्ष विष्णु मान प्रधानले प्रस्तावका लागि पेस गर्नु भएको संस्थाको विधान, उपस्थित सदस्यहरूबाट सर्वसम्मत रूपमा ताली बजाएर पारित गरिएको थियो । प्रधानले विधान माथी उठेका केही प्रश्न तथा जिज्ञासाहरूका जवाफ दिएर प्रष्ट पार्नु भएको थियो। उहाँले हामी मानव जाति सामाजिक प्राणी हो, हामी जता गएपनि हामीलाई हाम्रो समाज चाहिन्छ भन्दै, समाजका सवै सदस्यहरू मिलेर बिधानले दिएको अधिकार प्रयोग गरेर संस्थालाई अझ राम्रोसंग अगाडि बढाउनु पर्ने कुरामा जोड दिदैं कार्यक्रम सफलताको शुभकामना सहित सबैलाई नेपाली नयॉं बर्षको २०८१ को शुभकामना व्यक्त गरेका थिए ।

    बन्द सत्रमा, केप कड नेपाली समाजको नयाँ कार्य समितिको निर्वाचन प्रयोजनका लागी गठित निर्वाचन समितका अध्यक्ष हरी राई, सदस्य प्रदिप बज्राचार्य र सदस्य मनोज क्षत्रीले संस्थाको विधान बमोजिम विधिपूर्वक प्रकृया पुरा गरी अधिवेशनवाट नयाँ कार्य समितिको निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भएको थियो। नयॉं कार्यसमितिको अध्यक्षमा केवी राई, बरिष्ठ उपाध्यक्षमा विष्णु मान प्रधान, उपाध्यक्षहरुमा कुवेर विन्दुकार र कृष्ण तिमल्सिना, महासचिवमा इच्छा खड्का, सचिवमा सरस्वती खनाल, सह- सचिवमा हर्कुलस कान्दंगवा, कोषाध्यक्षमा विमल खड्का, सह-कोषाध्याक्षमा सुशिला सिंह, महिला संयोजकमा प्रमिला धमला बन्जारा र युवा संयोजक कुमार तामाङ निर्विरोध निर्वाचित भएका छन् भने कार्यसमितिको सदस्यहरुमा, अजय खतिवडा, ध्रुव थापा, ज्योति केसी, खगेन्द्र राई, कुमुदा पोख्रेल, पार्वती चालिसे, समीर ओझा, सिताराम राई र टिका तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

    विधान अनुसार २१ जना रहने कार्यसमितिमा २० जना निर्वाचित भएका छन् । नव निर्वाचित कार्य समितिले बाँकी १ सदस्य पछि वोर्ड मिटिंगको निर्णयबाट मनोनित गर्ने छ।

    संस्थापक अध्यक्ष तथा निर्वाचन समितिका अध्यक्ष हरी राई, सदस्य प्रदिप बज्राचार्य र सदस्य मनोज क्षत्रीले नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई खादा लगाई, प्रमाण पत्र प्रदान गरी पद तथा गोपनियताको सपथ गराउनु भएको थियो भने निर्वाचन समितिका अध्यक्ष राईले निर्वाचित कार्यसमिति सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू लाई बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो।

    साधारण सभामा केही सदस्यहरू मध्यबाट ठगबहादुर तिमल्सिना र हेम चालिसेले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो। सभामा उपस्थित सबैले एक आपसमा नयॉं बर्षको शुभकामना पनि आदान प्रदान गरेका थिए।

    सभाले आयोजना गरेको रात्री भोजमा बिभिन्न परिकार बनाएर ल्याउनु हुने सम्पूर्ण सदस्य तथा स्वयंसेवीहरूलाई सम्मान गरेर प्रमाण पत्र पनि प्रदान गरिएको थियो। उक्त सभामा ४६ जनाले आजिवन सदस्यता पनि लिएका थिए ।

    अन्तमा, नव निर्वाचित अध्यक्ष केवी राईले सभामा उपस्थित सबै सदस्यहरूलाई उहॉंहरूको सहयोग, समर्थन र गरिमामय उपस्थितिको लागि हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । उहॉंले विधान समिति, निर्वाचन समिति, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, स्वयंसेवकहरू र प्रत्यक्ष-अप्रत्यक्ष रुपमा साधारण सभा तथा अधिवेशन सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई विशेष धन्यवाद दिनुभएको थियो। अध्यक्ष राईले नब निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको लागी शुभकामना ब्यक्त गर्दै केप कडबासी हामी सबै नेपाली मिली हातेमालो गरेर संस्थालाई अगाडि बढाउदै जाने कुरामा जोड दिदै आफ्नो प्रतिबद्धता ब्यक्त गर्दै सबैलाई नेपाली नयाँ बर्षको २०८१ को शुभकामना दिनुभएको थियो।

    केप कड नेपाली समाज, नेपाली कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न २०११ मा केप कड, मासाच्युसेट्स, अमेरिकामा स्थापना गरिएको सामाजिक संस्था हो । यो संस्थाले नेपाली समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।

  • अमेरिकी लगानीकर्तासँग अर्थमन्त्री पुनको भेट, के भयो कुराकानी ?

    अमेरिकी लगानीकर्तासँग अर्थमन्त्री पुनको भेट, के भयो कुराकानी ?

    काठमाडौं । अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अर्थमन्त्री वर्षमान पुनले आग्रह गरेका छन्। युएस चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग वासिङटन डिसीमा अन्तर्क्रिया गर्दै मन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य रहेको बताएका हुन्। नेपालमा ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानीको राम्रो अवसर रहेको मन्त्री पुनले बताए। निजी क्षेत्रका लगानीकर्तालाई सुरक्षा दिने सरकारको स्पष्ट नीति रहेको चर्चा गर्दै उनले निर्यातमा प्रोत्साहन, लचिलो कर नीति तथा सजिलै मुनाफा लैजान सकिने नीतिगत व्यवस्थाका कारण अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल बलियो गन्तव्य हुन सक्ने उनले उल्लेख गरे।

    मन्त्री पुनले आगामी १६ र १७ वैशाखमा ‘उदीयमान नेपाल भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरेको स्मरण गराउँदै त्यसअघि नै सरकारले अध्यादेशमार्फत लगानी प्रतिकुल ठानिएका करिब एक दर्जन कानूनमा संशोधन गर्न लागेको जानकारी दिए ।

    यस्तै कम्पनी दर्ता र लगानीको सुरुआत तथा नाफा बाहिर लैजान पाउने गरी व्यवहारिक प्रक्रिया तय गरिने प्रतिबद्धता उनको छ। नेपाल कानूनको शासन भएको लोकतान्त्रिक मुलुक भएकाले उद्योग–व्यवसाय मैत्री कानून र संरचनाको राम्रो विकास गरिएको मन्त्री पुनले जानकारी दिए।


    मन्त्री पुनले सरकारका तर्फबाट लगानीकर्ताहरूलाई सहजीकरण गर्न तथा लगानीमैत्री र प्रतिस्पर्धात्मक वातावरण सुनिश्चित गर्न सरकार तयार रहेको समेत बताए।

    लगानी सम्मेलनका क्रममा लगानी बोर्डले जलविद्युत उत्पादन, प्रसारण लाइन विस्तार, पर्यटन, कृषि उत्पादन र सूचना प्रविधिसहित एक सय ३३ वटा आयोजना प्रदर्शनीमा राख्ने जानकारी दिँदै मन्त्री पुनले अमेरिकाबाट निजी क्षेत्रका प्रतिष्ठित घरानाहरूको सहभागिता हुने अपेक्षा व्यक्त गरेका छन्।

  • अमेरिकामा नेपाली चेम्बर गठन

    अमेरिकामा नेपाली चेम्बर गठन

    न्यूयोर्क । अमेरिकाको न्यूयोर्क आसपासमा व्यवसाय गरिरहेका नेपाली एवं नेपाली मूलका अमेरिकी व्यवसायीहरू सङ्गठित भएका छन् । उनीहरूले ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्स गठन गरेका हुन् । न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय गर्ने नेपाली एवं नेपालीभाषी व्यवसायीहरू संलग्न रहेको यो संस्थामा ७४ वटा व्यावसायिक कम्पनी आबद्ध भएका छन् ।

    एक वर्षसम्मको तयारीपछि गरिएको साधारण सभाले प्रदीप श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । नयाँ वर्षको अवसर पारेर न्यूयोर्कमा गरिएको कार्यक्रममा संस्थाको कार्यसमितिसहित आधिकारिक घोषणा गरिएको हो ।

  • इजरायलमा सुरक्षित छन् नेपाली

    इजरायलमा सुरक्षित छन् नेपाली

    काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई इरानी आक्रमणले कुनै असर नगरेको बताएको छ । दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको भए पनि नेपालीहरू भने सुरक्षित रहेको जानकारी गराएको हो । ‘इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको छ ।

    सो आक्रमणबाट यहाँ बसोबास गर्ने नेपाली नागरिकहरुलाई कुनै असर नपरेको र सबै नेपालीहरु सकुशल अवस्थामा रहुनुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ दूतावासको विज्ञप्तिमा उल्लेख छ । आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा आक्रमण गरिरहेको छ ।

    यसअघि दूतावासले सार्वजनिक सूचना जारी गरी आफ्नो सुरक्षाको ध्यान दिन र स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरिसकेको छ । सूचनामा कुनै समस्या परेको खण्डमा दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ मा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ । यसअघि प्यालेस्टाइनको विद्रोही संगठन हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपालीको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन् ।

  • दक्षिण कोरियामा विपक्षी गठबन्धनको जित

    दक्षिण कोरियामा विपक्षी गठबन्धनको जित

    काठमाडौं । दक्षिण कोरियाको संसदीय चुनावमा विपक्षी गठबन्धनले जित निकालेको छ । बुधबार ३०० सिटका लागि भएको निर्वाचनमा विपक्षी नेता ली जे–म्युङ्ग नेतृत्वको डेमोक्रेटिक पार्टी (डीपी)सहितको गठबन्धनले १७५ सिट जितेको कोरियाका मिडियाहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले जनाएको छ ।

    यसैगरी राष्ट्रपति यु सुक येओलको पिपुल पावर पार्टी (पीपीपी)ले १०९ सिट जितेको छ । दक्षिण कोरियामा बुधबार भएको निर्वाचनमा ६७ प्रतिशत भोट खसेको थियो । यो ३२ वर्षयताको सबैभन्दा धेरै हो । बिहीबार बिहान ६ बजेसम्म ९९ प्रतिशत मतगणना भइसकेको छ । विपक्षी पार्टीले सबैभन्दा धेरै सिट जिते पनि एकल बहुमत हासिल गर्न भने सकेको छैन ।

  • भारतीय अर्थतन्त्रबाट लाभ लिन चाहन्छौं : अर्थमन्त्री

    भारतीय अर्थतन्त्रबाट लाभ लिन चाहन्छौं : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले भारतीय अर्थतन्त्रबाट लाभ लिने नीतिमा सरकार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघ प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा उनले भारतीय अर्थतन्त्रबाट लाभ लिने गरी नीति बनाइने बताए । भारतीय अर्थतन्त्र राम्रो हुँदा नेपालको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने उनको भनाइ थियो ।

    ‘भारतको आर्थिक वृद्धि अघिल्लो वर्ष पनि राम्रो थियो । यो वर्ष पनि राम्रो हुने देखिएको छ,’ मन्त्री पुनले भने, ‘भारतीय अर्थतन्त्र सुधार हुँदा एक हदसम्म नेपालमा पनि त्यसको राम्रो प्रभाव पर्छ ।’ उनले सन् २००८ को आर्थिक मन्दी र कोरोना महामारीका बेला भारतीय अर्थतन्त्र नबिग्रिएका कारण नेपली अर्थतन्त्र मन्दीको प्रभावबाट छिट्टै सुधारिएको उनको भनाइ थियो । मन्त्री पुनले नेपालमा थप लगानीमैत्री वातावरण बन्दै गएकाले लगानी ल्याउन पनि अपिल गरे ।

    ‘विगतमा पनि भारतीय लगानीकर्ताको नेपालमा राम्रो योजना छ,’ उनले भने, ‘तेस्रो लगानी सम्मेलनको सँघारमा म यसअघि लगानी गरिरहेकालाई लगानीको क्षेत्र विस्तार गर्न आग्रह गर्छु र नयाँ लगानीकर्तालाई नेपालमा स्वागत गर्ने नीति रहेको जानकारी गराउन चाहन्छु ।’ आफूले यसअघि ऊर्जा मन्त्रालयको समेत नेतृत्व गरेको स्मरण गर्दै अर्थमन्त्री पुनले नेपालमा ऊर्जा र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

    लगानी सम्मेलनका लागि भारतीय लगानीकर्ताको राम्रो उपस्थिति हुने विश्वास व्यक्त गरेका पुनले लगानीमैत्री वातावरण बनाउन एक दर्जन कानुन संशोधन गर्न लागिएको बताए । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट डेजिग्नेट सञ्जीव पुरीले नेपालमा लगानी ल्याउन भारतीय लगानीकर्ता सकारात्मक रहेको उल्लेख गरे । भेटमा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकाल पनि सहभागी थिए ।

  • प्रधानमन्त्री प्रचण्ड कोरिया भ्रमणमा जाने

    प्रधानमन्त्री प्रचण्ड कोरिया भ्रमणमा जाने

    काठमाडौं । द्विदेशीय कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल दक्षिण कोरिया भ्रमणमा जाने भएका छन् । भ्रमणको मितिसहित एजेन्डाबारे गृहकार्य सुरु भएको परराष्ट्र स्रोतलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र दक्षिण कोरियाका तर्फबाट काठमाडौंस्थित दूतावासले भ्रमणको गृहकार्य गरिरहेको बताइएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा दाहालले शनिबार जुगल हिमालको आरोहण गर्न लागेको नेपाल–दक्षिण कोरिया संयुक्त टोलीलाई नेपालको झन्डा हस्तान्तरण कार्यक्रममा दक्षिण कोरिया भ्रमणबारे जानकारी दिए । दाहाललाई संयुक्त राष्ट्रसंघको अधिवेशन ७८ औं महासभाका दौरान न्युयोर्कमा दक्षिण कोरियाका राष्ट्रपति योन सुक योलले भ्रमणको निम्तो दिएका थिए ।

    दाहालले भने, ‘राष्ट्रपतिजीले मलाई निम्ता पनि गर्नुभएको छ । सकेसम्म त्यो निमन्त्रणालाई स्विकारेर कोरिया जाने तयारी गर्न खोज्दै छौं ।’ सोहीअनुसार भ्रमणको तयारी भइरहेको बताइएको छ । नेपाल र दक्षिण कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपालबाट रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा एक लाखभन्दा बढी नेपालीहरू गइसकेका छन् । ५० वर्षको दौत्य सम्बन्धका अवसरमा दक्षिण कोरियाली दूतावासले नेपालमा कार्यक्रमको सुरुआतसमेत गरिसकेको छ ।