Category: डायस्पोरा

  • श्रम स्वीकृति अब एक घण्टामै पाइने

    श्रम स्वीकृति अब एक घण्टामै पाइने

    काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई एक घण्टामै श्रम स्वीकृती प्रदान गरिने भएको छ । आइतबार वैदेशिक रोजगार विभाग, ताहचलमा भएको पत्रकार सम्मेलनमा श्रम मन्त्री डीपी अर्यालले श्रम स्वीकृती अब एक घण्टामै दिइने बताएका हुन् ।

    ‘श्रमिकले सबै प्रक्रिया पुरा गरी आवश्यक कागजपत्रसहित कार्यलय समयभित्र अनलाइनबाट आवेदन दिएमा २ मिनेट ४४ सकेण्डमा श्रम स्वीकृती प्रदान गर्न सक्ने अवस्था छ’ उनले भने, प्राविधिक समस्या, विद्युतको आपूति र इन्टरनेटको स्पिडलाई ध्यानमा राखेर एक घण्टा तोकेका हौं ।’ श्रम स्विकृतिका लागि श्रमिकले आवश्यक सबै कागजात कार्यालय समय (बिहान १० देखि बेलुका ५ बजे) भित्र अपलोड गर्नुपर्नेछ । कागजातमा समस्या नभएमा अनलाइन फराम भएको अवस्थामा एक घण्टाभित्रै श्रम स्वीकृती पाइने छ ।

    अनलाइनमार्फत श्रम स्वीकृती दिन थालेको धेरै भइसक्यो । तर यसका लागि प्रयोग हुने बैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) ले लोड थेग्न समयमै श्रम स्वीकृती पाउन गाह्रो थियो । आफू श्रम मन्त्रालयमा आएपछि नीतिगत र प्राविधिक सुधार गरेको मन्त्री अर्यालले दाबी गरे । वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि २०७९ संशोधन गरेर प्रक्रिया छोट्याइएको छ । यसअघि एउटा तहले कागजपत्र प्रमाणीकरण गर्ने र अर्को तहले स्वीकृती गर्ने व्यवस्था थियो । अहिले एउटै तहले श्रमिकको कागजपत्र प्रमाणीकरण गर्ने र श्रम स्वीकृती पनि त्यही तहले दिने व्यवस्था गरिएको छ ।

    श्रम स्विकृतिलाई छिटो गर्न कर्मचारीहरुले दुई वटा सिफट्मा परिचालन गरिएको छ । हाललाई विहान ७ देखि दिउँसो २ बजेसम्म एउटा र २ बजेदेखि बेलुका ९ बजेसम्म अर्को गरी कर्मचारीले दुई सिफट्मा काम गर्ने व्यवस्था गरिएको छ । आगामी दिनमा भने विहान १० बजेदेखि साँझ ५ बजे नै कर्मचारी खटाउने योजना छ ।

    सफ्टवेयरमा पनि सुधार गरिएको छ । ‘पहिले फेमिशमा अत्याधिक भार थियो’ विभागका महानिर्देशन डण्डुराज घिमिरेले भने, ‘अहिले सफ्टवयरमा भएका अनावश्यक डाटा फालेर भार कम गरेका छौं ।’ फेमिस सफ्टवेयर परामर्शदाताका एक जना प्राविधिकलाई विभागमा डेडिकेटेड रुपमा राखिएको छ ।

  • ओभर-स्टे गरेको अभियोगमा १० बंगलादेशी नागरिक पक्राउ

    ओभर-स्टे गरेको अभियोगमा १० बंगलादेशी नागरिक पक्राउ

    काठमाडौं । भिसा अवधि समाप्तपछि पनि गैरकानूनी रुपमा (ओभर स्टे) बस्दै आएका १० बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले सोह्रखुट्टे क्षेत्रबाट १० जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा अनिसुर रहमान, अबदुल्लाह, इमामुल हुसेन, हाफिजुर रहमान, सोजिब हुसेन, शैफुल इस्लाम, बिल्लाल हुसेन, सलिम, नासिर उड्डिन र एसिन खान छन् । पक्राउ परेका सबैलाई कारबाहीका लागि अध्यागमन विभागमा पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए । अध्यागमनले उनीहरुलाई स्वदेश फिर्ता गराउने प्रक्रिया अघि बढाउने भएको छ ।

  • ८ महिनामा भित्रियो साढे ९ खर्ब रेमिट्यान्स

    ८ महिनामा भित्रियो साढे ९ खर्ब रेमिट्यान्स

    काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८६,९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १८४,२७८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३५१,७६१ र १९२,५५९ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १८.९ प्रतिशतले वृद्धि भई रु. १०४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३.९ प्रतिशतले बढेको थियो ।

  • लगानी सम्मेलनमा सहभागी हुन स्वीट्जरल्यान्डका लगानीकर्तालाई आग्रह

    लगानी सम्मेलनमा सहभागी हुन स्वीट्जरल्यान्डका लगानीकर्तालाई आग्रह

    काठमाडौं । नेपालमा हुन लागेको लगानी सम्मेलनमा सहभागी हुन स्वीट्जरल्यान्डका लगानीकर्तालाई आग्रह गरिएको छ । नेपाल र स्वीजरल्यान्डबीच द्विपक्षीय परामर्श संयन्त्रको बैठकको दौरानमा बिहीबार जेनेभामा नेपाली पक्षले स्वीट्जरल्यान्डको टोलीलाई लगानी सम्मेलनमा सहभागिताका लागि आग्रह गरेको हो । वैशाख १६ र १७ मा तेस्रो लगानी सम्मेलन काठमाडौंमा हुँदैछ । द्विपक्षीय बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका युरोप-अमेरिका महाशाखाका प्रमुख तथा सहसचिव गणेशप्रसाद ढकालले उक्त आग्रह गरेका हुन् ।

    स्वीट्जरल्यान्डको तर्फबाट भने विदेश मन्त्रालयका एसिया र प्रशान्त क्षेत्रका सहायक राज्यमन्त्री हेइन्रिच स्चेलेन्बर्गले गरेका थिए । बैठकमा दुई पक्ष बीचको सम्पूर्ण सम्बन्धको समीक्षा गर्दै नेपाल र स्वीट्जल्याड बीचको आर्थिक सम्बन्ध, विकास साझेदारी, बहुपक्षीय सहकार्य, वर्तमान विश्वका विषयहरु तथा जलवायु परिवर्तन र मानव अधिकारबारे छलफल भएको जेनेभास्थित नेपाली दूतावासले जनाएको छ ।

  • एनआरएनका दुई महाधिवेशन अदालतबाट अमान्य

    एनआरएनका दुई महाधिवेशन अदालतबाट अमान्य

    काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघका दुईपटक भएका महाधिवेशन र त्यसक्रममा चुनिएका सबै कार्यसमितिलाई अमान्य ठहर गरेको छ ।
    बुधबार न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले हालैको महाधिवेशपछि बनेका बद्री केसी र आरके शर्माको नेतृत्वमा रहेको छुट्टाछुट्टै समितिलाई अमान्य ठहर गरेको हो ।

    त्यति मात्रै होइन त्यसअघिको महाधिवेसनबाट चुनिएको तीनजना अध्यक्ष भएको कार्यसमितिलाई पनि सर्वोच्चले अमान्य घोषणा गरेको छ । साथै, अघिल्लो महाधिवेशनपछि शेष घले पक्षले गठन गरेको विनोद कुँवर नेतृत्वको समितिलाई पनि सर्वोच्चले खारेज गरिदिएको छ ।

    इजलासले १ माघ २०७८ मा एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश दिएको छ । २०७८ चैत ८ देखि ११ गतेसम्म काठमाडौंमा भएको एनआरएनएको दशौं महाधिवेशनबाट कुल आचार्य, रविना थापा र बद्री केसी एक एक वर्ष अध्यक्ष रहने घोषणा भएको थियो । तर अर्को समूहले विनोद कुँवर अध्यक्ष, उमेशकुमार पुडासैनी उपाध्यक्ष र जानकी गुरुङ महासचिव भएको समिति गठन गरेको थियो ।

    विनोद कुँवरसमेतले आफूहरु वैधानिक समिति रहेको दाबी गर्दै अर्को पक्षले गरेको विधान संशोधनलाई मान्यता दिने परराष्ट्र मन्त्रालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

    सर्वोच्चले एनआरएनएको महाधिवेशनअघि सदस्यता सम्बन्धी विवाद उठाएर उच्च अदालत पाटनमा मुद्दा परेको र महाधिवेशन नगर्न अन्तरिम आदेश जारी भएको फैसलामा उल्लेख गरेको छ । सर्वोच्चले एनआरएनएको त्यतिबेलाको निर्वाचन, विधान संशोधन सम्बन्धी काम कारबाही एनआरएनएसम्बन्धी ऐन, नियम एवं गैरआवासीय नेपाली समुदायको आदर्श मूल्य मान्यता विपरीत भएको ठहर गरेको छ । त्यसैले संघको गरिमा, एकता, उद्देश्य र प्रभावकारितालाई नकारात्मक प्रभाव पर्नबाट जोगाउन उपयुक्त आदेश जारी गर्नुपर्ने भन्दै त्यतिबेलाको दुबै समितिलाई अमान्य घोषित गरेको हो ।

    एनआरएनएमा पूर्वअध्यक्षहरु शेष घले, उपेन्द्र महतोलगायत सघंलाई जन्माउन र पहिचान दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिहरु संलग्न उच्चस्तरीय समितिमा कसैको विवाद नभएको भन्दै उक्त समितिलाई यथावत कायम राख्ने आदेश दिएको छ ।

    उच्चस्तरीय समितिमा कुल आचार्य, डा बद्री केसी र रविना थापा, विनोद कुँवर, उमेशकुमार पुडासैनी जानकी गुरुङ गरी ६ जनालाई थप गर्न पनि सर्वोच्चले आदेश दिएको छ । उच्चस्तरीय समितिले पहिलो बैठक बसेको मितिले ६ महिनाभित्र संघको सदस्यता, निर्वाचन तथा अधिवेशन प्रतिनिधि छनोट लगायत सबै विवाद समाधान गरी एकता महाधिवेशन गराउन आदेश दिएको छ ।

    गैरआवासीय नेपाली संघको गत कात्तिकमा भएको अधिवेशनमा पनि विवाद भएको थियो । एउटा पक्षले बद्री केसीको अध्यक्षतामा र अर्को पक्षले आरके शर्माको अध्यक्षतामा समिति गठन गर्दै आधिकारिक भएको दाबी गरेका थिए । तर सर्वोच्चले उनीहरुको कार्यसमिति गठन हुनुभन्दा पहिलेकै कार्यसमिति बदर गरिदिएपछि अब एनआरएनएमा शेष घले संयोजक रहेको उच्चस्तरीय समितिबाहेक सबै समितिहरु अवैधानिक भएका छन् ।

  • चीन भ्रमण पुरा गरी उपप्रधानमन्त्री आज स्वदेश फर्कने

    चीन भ्रमण पुरा गरी उपप्रधानमन्त्री आज स्वदेश फर्कने

    काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कंदै छन् । उनी आज बिहान साढे १० बजे काठमाडौं पुग्ने कार्यक्रम छ । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत १२ गते चीन भ्रमणमा गएका थिए ।

    भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यी, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयान लगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए । बेइजिङमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन पनि गरेका थिए ।

    उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले तिब्बतमा रहेको कैलाश मानसरोवर क्षेत्रको अवलोकनसमेत गरेको थियो । नेपाली प्रतिनिधिमण्डलमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख एवं सहसचिव कृष्ण ढकाल, बेइजिङस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन सुरेन्द्र यादव, उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, नायब शिष्टाचार महापाल उत्तमकुमार शाही, परराष्ट्र मन्त्रालयका उपसचिव अरुणा घिसिङलगायत सहभागी थिए ।

  • आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने प्रधानमन्त्रीको आश्वासन

    आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने प्रधानमन्त्रीको आश्वासन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताएका छन् । शनिवार साँझ माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विदेश स्थित नेपाली दूतावास मार्फत तदारुकताका साथ तयारीको कार्य भई रहेको छ,’ प्रधानमन्त्रीले भने। उनले गैरआवासीय नेपाली सङ्घमा देखिएको समस्या आगामी २ गते अदालतको फैसला पछि निर्णय गरिने बताए ।

    हाल देखिएको तीन फरक नेतृत्वको एनआरएनएलाई एक ठाउँमा राखी सहमति प्रयत्न गर्ने कथंकदाचित सहमति नभए सरकारले गठन गरेको छानबिन समितिले दिई सकेको प्रतिवेदन अनुसार केही दिनभित्रै टुङ्गोमा पुग्ने बताए । प्रधानमन्त्रीले विभिन्न मुलुकमा रहेको राहदानी समस्या हल गर्न परराष्ट्र मन्त्रालयमा सधैँका लागि घुम्ती स्थायी संयन्त्र बनाइएको र बढी समस्या भएका ठाउँमा कन्सुलर नियुक्ति गर्ने बताए ।

    प्रधानमन्त्रीले अर्को एक प्रसङ्ग उल्लेख गर्दै सरकारले तिन करोड रूपियाँ तलका आयोजना ,परियोजना सङ्घीय सरकारले नभै प्रदेश सरकारले निर्णय लिन सक्ने गरी अगाडी जाने तयारी भैसकेको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले प्रवासमा अब पार्टी र मोर्चा फरक फरक बन्ने बताइन् ।

  • अर्थमन्त्रीले ४० देशस्थित नेपाली राजदूतहरुसँग गरे भर्चुअल छलफल

    अर्थमन्त्रीले ४० देशस्थित नेपाली राजदूतहरुसँग गरे भर्चुअल छलफल

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन् । आगामी १६ र १७ वैशाखमा तय भएको लगानी सम्मेलन तयारीस्वरुप मन्त्री पुनले राजदूतहरुसँग छलफल गरेका हुन् । जुम बैठकका लागि मन्त्री पुन शुक्रबार साँझ अबेर परराष्ट्र मन्त्रालय गएका थिए । बैठकमा मुख्यसचिव बैठकुण्ठ अर्याल, परराष्ट्रसचिव सेवा लम्साल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुशील भट्टलगायत सहभागी थिए ।

    मन्त्री पुनले राजदूत र नियोग प्रमुखहरुलाई अबको एक महिना लगानी सम्मेलन केन्द्रित भएर काम गर्न प्रधानमन्त्रीका तर्फबाट निर्देशन दिए । ‘लगानी सम्मेलन राष्ट्रको इज्जत, प्रतिष्ठा, गौरबको विषयसँग जोडिएको छ’, पुनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूकै तर्फबाट म यहाँहरुलाई आग्रह गर्छु कि अबको एक महिना सबै काम छाडेर यसैमा लाग्नुस् ।’

    मन्त्री पुनले विदेशी विकास साझेदार, ठूला लगानीकर्ता, सम्भावित लगानीकर्ता, कार्यक्रमका वक्ता र उच्च पदस्थ सरकारी व्यक्तित्वहरुलाई यसअघि नै निम्ता पठाइसकिएको स्मरण गर्दै सम्मेलनमा आउन निश्चित भएकाहरुको सूची तयार पारेर पठाउन निर्देशन दिएका थिए ।

    लगानीमैत्री वातावरण बनाउन सरकारले नीतिगत, प्रक्रियागत र कानूनी सुधारको काम अघि बढाएको बताए । त्यसका लागि एक दर्जन बढी कानूनमा संशोधनमार्फत सुधारको प्रक्रिया अघि बढाइएको विषयमा आफू रहेको देशका लगानीकर्ता र सरकारी एजेन्सीहरुलाई जानकारी गराउन पनि मन्त्री पुनले आग्रह गरे ।

    ‘१२ वटा कानून र कतिपय द्विपक्षीय समझदारीहरु गर्ने कुरामा पनि छलफ चलिरहेको छ । लगानीत्रैकी कानून बनाउन भइहरेका प्रयासबारे लगानीकर्ता र सरकारी एजेन्सीहरुलाई भन्नुस्’, उनले भने । यस्तै मन्त्री पुनले सरकारको मुल नेतृत्व उही रहेको र एकाध मन्त्रीहरु मात्र फेरिएकाले लगानी सम्मेलन र लगानीसम्बन्धी नीतिमा कुनै फेरबदल नभएको विषयमा समेत अनतर्राष्ट्रिय समुदालयलाई आश्वस्त तुल्याउन प्रयास गर्नुपर्ने बताए ।

    मन्त्री पुनले गैरआवासीय नेपालीले आर्जन गरेका ज्ञान, सिप र प्रविधिलाई मातृभूमिमा प्रयोग गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिँदै सो समुदायमा यो सन्देश प्रवाह गर्न राजदूतहरु र नियोग प्रमुखहरुलाई अनुरोध गरे । भारत, चीन, कोरिया र खाडीसहित विभिन्न मुलुकहरुमा भइरहेका पूर्वतयारीका कामलाई थप तीव्रता दिन मन्त्री पुनले निर्देशन दिए । बैठकमा संयुक्त राज्य बेलायत, अष्ट्रेलिया, जर्मनी, बंगलादेश, भारत, ओमान, दक्षिण कोरिया र मलेसियालगायतका राजदूत तथा नियोग प्रमुख सहभागी थिए ।

  • रुसमा अब म्यानपावरबाट काम गर्न जान पाइने

    रुसमा अब म्यानपावरबाट काम गर्न जान पाइने

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रूसमा म्यानपावर कम्पनीमार्फत् श्रम स्वीकृति लिएर जान पुनः खुला गर्ने निर्णय गरेको छ। सचिवस्तरीय निर्णय गर्दै म्यानपावरमार्फत् त्यहाँ श्रमिकहरू जान पाउने व्यवस्था गरिएको हो। यसअघि नेपालीहरू विभिन्न बहानामा रूस गई रूसी सेनामा भर्ती भएका र रूस–युक्रेन युद्धमा मृत्यु भएका घटनापछि सबै प्रकारका श्रम स्वीकृति स्थगन गरिएको थियो।

    गत पुस १९ गते वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै रूसका लागि श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन भएको जनाएको थियो। श्रम स्वीकृति रोकिएका कारण रूसबाट बिदामा आएका नेपालीहरूको माग सम्बोधन गर्दै सचिवस्तरीय निर्णयबाट श्रम स्वीकृति दिन थालिएको विभागले जनाएको छ।

  • अमेरिकी दूतावासको स्पष्टीकरण : हामी धार्मिक स्वतन्त्रताको पक्षमा छौं

    अमेरिकी दूतावासको स्पष्टीकरण : हामी धार्मिक स्वतन्त्रताको पक्षमा छौं

    काठमाडौं । अमेरिकाले नेपालमा धार्मिक स्वतन्त्रता तथा नास्तिकता प्रवर्द्धन गर्न रकम बाँडेको भनी अमेरिकी सिनेटरले लगाएको आरोप र त्यससँग जोडिएर आएका सार्वजनिक टिप्पणीहरुबारे आफ्नो स्पष्टीकरण सार्वजनिक गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार यससम्बन्धी ‘टकिङ प्वाइन्ट’ सार्वजनिक गर्दै अमेरिकी सरकार हरेक नागरिकहरुलाई आफ्नो रोजाइको धर्म मान्ने वा नमान्ने अधिकारको पक्षमा रहेको स्पष्टीकरण दिएको हो ।

    ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता ऐन पारित भएको २५ वर्षभन्दा लामो समयदेखि अमेरिकी सरकार संसार भर सबै ठाउँका मानिसहरूको आआफ्नो सिद्धान्तअनुसार विश्वास गर्ने वा नगर्ने अधिकारका पक्षमा उभिएको छ’ दूतावासबाट जारी नोटमा भनिएको छ, ‘अमेरिकी विदेश मन्त्रालयको यस विश्वव्यापी अनुदानलाई सबै व्यक्तिको धार्मिक स्वतन्त्रताको प्रवर्द्धन र रक्षा गर्नका निम्ति तर्जुमा गरिएको थियो । यसमा त्यस्ता देशका सीमान्तकृत धार्मिक वा विश्वास समुदायका सदस्यहरू समेत पर्दछन्, जहाँ उनीहरूले उत्पीडनको सामना गरिरहेका छन् ।’

    दूतावासको नोटमा भनिएको छ….

    ‘अमेरिकी विदेश मन्त्रालयका कार्यक्रमहरूले कहिल्यै पनि कुनै निश्चित धार्मिक विश्वास, दर्शन वा सिद्धान्तहरूलाई प्रवर्द्धन गर्दैनन् । बरु तिनीहरूले सबै व्यक्तिहरूको दुर्व्यवहार, विभेद र हिंसाबाट मुक्त रही आफ्नो रोजाइको धर्म वा विश्वास ग्रहण गर्न वा अपनाउन सक्ने क्षमतालाई प्रवर्द्धन गर्दछन् । यस कार्यक्रमले दक्षिण एसियाका त्यस्ता स्थानीय संघसंस्था र समुदायहरूको क्षमता अभिवृद्धि गर्न मद्दत पुर्‍याएको छ जहाँ उनीहरूले आफ्नो विश्वासका कारण विभेद र सीमान्तीकरण भोगेका छन् ।

    नेपालमा अमेरिकी सरकारको यस आर्थिक सहयोगले जातीय विभेद तथा बालविवाह विरुद्ध लड्ने र सबैको सहिष्णुता र पारस्परिक सम्मानका लागि वकालत गर्ने लगायतका कार्यमार्फत सीमान्तकृत विश्वास समुदायका सदस्यहरूको संरक्षण र उनीहरूका लागि पैरवी गर्ने प्रयासमा सहयोग गरेको छ ।’

    अघिल्लो साता अमेरिकी सिनेटमा विपक्षी दल रिपब्लिकनका सांसद माट ब्रायनले सरकारमाथि नेपालमा धार्मिक स्वतन्त्रता र नास्तिकताको प्रवर्द्धनका लागि रकम बाँडेको आरोप लगाएका थिए । उनले कोलम्बिया लगायत देशमा यौनकर्मी समलिंगीहरुलाई समेत रकम बाँडिएको भन्दै असन्तोष जनाएका थिए ।

    नेपालसँग सम्बन्धित भएर उनले उठाएका प्रश्न र त्यसबारे नेपालका विभिन्न व्यक्ति, पार्टी र संस्थाहरुले प्रश्न उठाइरहेको सन्दर्भमा अमेरिकी दूतावासले जवाफ दिएको हो ।

    नेपालमा धार्मिक आस्था, धर्म परिवर्तन लगायत विषयमा बाह्य देशहरुले भूमिका खेलिरहेको भनी उठ्ने गरेका आशंकालाई बल दिंदै रिपब्लिकन सिनेटरले मार्च २२ मा संसदीय समितिमा प्रश्न उठाएका थिए । दुई वर्षअघि रिपब्लिकनकै अर्का सांसद न्युट ग्रिनरिचले पनि यस्तै आशंका सहित प्रश्नहरु गरेका थिए ।

  • श्री एयरलाइन्सले अमेरिकाबाट नेपाल ल्यायो दुई वटा जहाज

    श्री एयरलाइन्सले अमेरिकाबाट नेपाल ल्यायो दुई वटा जहाज

    काठमाडौं । निजी लगानीको श्री एयरलाइन्सले एक साथ दुई जहाज थपेको छ । कम्पनीले ८० सिट क्षमताका दुई जहाज मंगलबार काठमाडौं अवतरण गराएको हो । नाइनएन–एओके र नाइनएन–एओएल जहाज क्यानडामा निर्माण भएको कम्पनीले जनाएको छ । यी जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो ।

    श्री एयरलाइन्सका पाइलटले अमेरिकाको पोर्टल्याण्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजबे, आइसल्याण्डको केफलामिक, जर्मनीको म्युनिक, इजिप्टको काइरो, संयुक्त अरब इमेरिटसको दुबई तथा भारतको इन्दौर हुदै जहाजहरु काठमाडौं ल्याइएको हो । अमेरिकाबाट २५ घण्टाको उडानपछि यी जहाज काठमाडौं ल्याइएको कम्पनीले जनाएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रक्रिया पुरा गरी यी विमान श्री एयरलाईन्सले आफ्ना आन्तरिक उडानमा लगाउने भएको छ । श्रीले सन् २०१७ देखि ५० सिट क्षमताको २ वटा सीआरजे २०० तथा ७० सिट क्षमताको २ वटा आर जे ७०० जेट विमानबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन थालेको हो ।

    सुरुमा काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढीसहितका विमानस्थलमा उडान थालेको कम्पनीले त्यसयता जहाज थप्दै गन्तव्य विस्तार गरिरहेको छ । सन् २०१९ देखि २ वटा र सन् २०२२ मा थप २ गरि ४ वटा ८० सिट क्षमताका जहाज ल्याएको कम्पनीले अहिले पोखरा, सुर्खेत, जनकपुर तथा सिमरामा समेत सेवा विस्तार गरिसकेको छ ।

  • परराष्ट्र मन्त्री श्रेष्ठ र चिनियाँ समकक्षीबीच भेट

    परराष्ट्र मन्त्री श्रेष्ठ र चिनियाँ समकक्षीबीच भेट

    काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका विदेशमन्त्री वाङबीच मंगलबार भएको भेटमा द्विपक्षीय सम्बन्धको समीक्षा भएको छ । साथै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि दुवै नेताले प्रतिबद्धता जनाएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपालमा चीनले अघि बढाएका परियोजना कार्यान्वयनलाई द्रुत रूपमा अघि बढाउने विषयमा समेत छलफल भएको थियो ।

  • परराष्ट्र मन्त्री चीन भ्रमणमा, आज समकक्षीसँग भेटवार्ता

    परराष्ट्र मन्त्री चीन भ्रमणमा, आज समकक्षीसँग भेटवार्ता

    काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको बेइजिङमा भेटवार्तामा व्यस्त छन् । बेइजिङ पुगेलगत्तै उनले हिजो चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य वाङ हुनिङ, अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानलगायतसँग भेटवार्ता गरेका थिए । भेटमा नेसनल कमिटी अफ द चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (.सिपिपिसिसी)का अध्यक्ष हुनिङले दुई देशले बिआरआई कार्यान्वयन योजनामा चाँडै हस्ताक्षर गर्ने विश्वास व्यक्त गरेका थिए ।

    उपप्रधानमन्त्री श्रेष्ठले आज समकक्षी वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । चिनियाँ विदेशमन्त्री यीले रात्रिभोजसहित श्रेष्ठलाई स्वागत गर्नेछन् । उपप्रधानमन्त्री श्रेष्ठ आज बिहान हुवावे रिसर्च एन्ड डेभलपमेन्ट एक्जुकेटिभ्स एक्जिबिसन सेन्टरको भ्रमणमा सहभागी हुने र त्यहाँबाट नेपाली राजदूतावास पुगेर लगानीसम्बन्धी सेमिनारलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी नौ दिन लामो औपचारिक भ्रमणमा आइतवार चीन प्रस्थान गरेका हुन् ।

  • विश्व बैंकका उपाध्यक्षलाई लगानी सम्मेलनमा नेपालले दियो निम्तो

    विश्व बैंकका उपाध्यक्षलाई लगानी सम्मेलनमा नेपालले दियो निम्तो

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने गरी तयारी भइरहेको तेस्रो लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई निमन्त्रणा गरेका छन् । बिहीबार राति अर्थमन्त्री पुन र विश्व बैङ्कका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनबीच भर्चुअल संवाद भएको थियो । उक्त संवादका क्रममा अर्थमन्त्री पुनले लगानी सम्मेलनमा भाग लिनका लागि निम्ता गरेको उनको सचिवालयले जनाएको छ ।

    उक्त संवादका क्रममा अर्थमन्त्री पुनले उनीहरुलाई औपचारिक रुपमा यसअघि नै निमन्त्रणा पठाइसकिएको स्मरण गराउँदै लगानी सम्मेलन निर्देशक समिति अध्यक्षका हैसियतले व्यक्तिगत रुपमा पनि निम्तो दिएका हुन् । जवाफमा उपाध्यक्ष रेजरले निमन्त्रणाका लागि धन्यवाद दिनुहुँदै नेपाल र विश्व बैङ्कबीचको विकास साझेदारीमा थप सहकार्यका क्षेत्रबारे कुराकानी गर्न इच्छुक रहेको बताए ।

    लगानी सम्मेलनका लागि आवश्यक कानुनी र प्रक्रियागत सुधारका काम अघि बढेको जानकारी अर्थमन्त्री पुनले गराए । सम्मेलनलाई नेपालले अवसरका रुपमा लिएको बताउँदै उनले विश्व बैङ्कसहित अन्य विकास साझेदारसँगको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

  • थाइल्याण्डमा अलपत्र १३ नेपालीलाई फिर्ता ल्याइयो

    थाइल्याण्डमा अलपत्र १३ नेपालीलाई फिर्ता ल्याइयो

    काठमाडौं । थाइल्याण्डमा अलपत्र बनेका १३ नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासले १३ जनाको उद्धार गरी नेपाल फिर्ता गरेको जनाएको छ । थाइल्याण्ड र म्यानमार सीमा नजिक म्यानमारको म्याबड्डीमा लामो समयदेखि समस्यामा परेका १३ जनाको उद्धार गरिएको हो । थाई परराष्ट्र मन्त्रालय, थाई इमिग्रेसन ब्यूरो र नेपाली दूतावास यांगोनको समन्वयमा उद्धार गरी नेपाल फिर्ता गरिएको थाइल्याण्डस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

    उद्धार गरिएका १३ नेपाली नागरिकलाई शुक्रबार थाइल्याण्डको मेइसोटसम्म कर्मचारी खटाइ थाई–म्यानमार सीमा पार गराइएको थियो । त्यसपछि थाइल्याण्डको मेइसोटतर्फ ल्याई त्यहाँबाट हवाई यात्रा मार्फत बैंकक हुँदै नेपाल एअरलाइन्सको उडान नम्बर आरए ४०२ मार्फत काठमाडौं पठाइएको दूतावासले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

  • परराष्ट्र मन्त्री श्रेष्ठ आइतबार चीन भ्रमणमा जाँदै

    परराष्ट्र मन्त्री श्रेष्ठ आइतबार चीन भ्रमणमा जाँदै

    काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण जान लागेका हुन् । श्रेष्ठ चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमणमा रहने मन्त्रालयले जानकारी दिएको छ ।

    भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै उनले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठ भ्रमण सम्पन्न गरी चैत १९ गते स्वदेश फर्किनेछन् ।

  • बंगलादेशी नागरिकलाई यूरोप पठाउने प्रलोभनमा जब नेपालमा बनाइयो बन्धक…

    बंगलादेशी नागरिकलाई यूरोप पठाउने प्रलोभनमा जब नेपालमा बनाइयो बन्धक…

    काठमाडौं । बंगलादेशी नागरिकलाई युरोपका विभिन्न देशहरु पठाउने भन्दै नेपाल ल्याइ बन्धक बनाएको आरोपमा चार बंगाली नागरिकहरु पक्राउ परेका छन् ।
    पक्राउ पर्नेहरुमा ३८ वर्षीय नुरुल हुडा, ३० वर्षीय एमडी मासुम बिल्लाह, ३१ वर्षीय शामिम अहमद र ३३ वर्षीय प्रणय कुमार दे छन् । उनीहरु सबैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । यो समूहले बंगलादेशी नागरिकहरुलाई रोजगारीका लागि युरोपका विभिन्न देशहरुमा पठाउने भन्दै नेपालमा ल्याएर बन्धक बनाएको पाइएपछि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले बताए ।

    बंगलादेशबाट नेपाल ल्याई पकनाजोलस्थित निभाना ग्रिन पिस होम नामक होटलमा बन्धक बनाएर राखेको भन्ने सूचना आएपछि प्रहरीले चार जनालाई उद्धार गर्नुका साथै चार जनालाई पक्राउ गरेको हो । उनीहरुलाई ५ चैतमा बंगलादेशबाट काठमाडौं ल्याएर बन्धक बनाइएको थियो । होटलमा बन्धक बनाएर पासपोर्ट नियन्त्रणमा लिने, कुटपिट गर्ने र रकम असुल्न गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय परिसर पठाइएको छ ।

  • श्रम कार्यालयको अनुगमनमा निस्किए श्रम मन्त्री

    श्रम कार्यालयको अनुगमनमा निस्किए श्रम मन्त्री

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार कार्यालय ताहाचलको अनुगमन गरेका छन् । बिहीबार साँझ मन्त्री आफैं ताहाचल पुगेर श्रम स्वीकृति दिने कार्यालयको अनुगमन गरेका हुन् । अर्यालले श्रम स्वीकृतिको प्रक्रिया र समस्याको विषयमा कर्मचारीसँग जानकारी लिएका थिए ।

    श्रम स्वीकृति प्रक्रियालाई सहज र सरल बनाउन यस अघि नै निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि कार्यालयको २० वटा कम्प्यूटर अपडेट गरिएको छ । कर्मचारीलाई तीन वटा सिफ्टमा काम गर्न लगाइएको छ । श्रम स्वीकृतिको प्रक्रियालाई सहज बनाउन पुनः श्रम स्वीकृतिलाई एउटै तहले स्वीकृत गर्ने व्यवस्था मिलाउने मन्त्रालयले तयारी गरेको छ ।

    हालको व्यवस्थाअनुसार संस्थागत श्रम स्वीकृतिको लागि १५ जना कर्मचारीले कागजपत्र प्रमाणीकरण गर्ने र सात जना कर्मचारीले स्वीकृत प्रदान गर्ने व्यवस्था छ । व्यक्तिगत श्रम स्वीकृतितर्फ १५ जनाले कागजपत्र प्रमाणीकरण गर्ने र सात जना कर्मचारीले प्रमाणीकरण गर्ने व्यवस्था छ । तर, अबदेखि व्यक्तिगत श्रम स्वीकृतितर्फ २२ जना कर्मचारीले नै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाउने मन्त्रालयको तयारी छ ।

    प्रत्येक कर्मचारीलाई श्रम स्वीकृतिको लागि निश्चित कोटा समेत तोकिने, विदाको दिनमा पनि श्रम स्वीकृति प्रदान गर्ने, श्रम स्वीकृतिको लागि तोकिएको कोटामा हटाइने मन्त्रालयको तयारी छ । दिउँसो १ बजेदेखि मात्रै टोकन वितरण गर्ने व्यवस्था गर्ने तयारी गरिएको छ । विहान ९ बजेदेखि एक बजेको समयमा धेरै जनाले फेमिसको प्रयोग गर्ने हुँदा सर्भर ‘स्लो’ हुने भएकोले केही दिनका लागि सो अवधिमा टोकन वितरण नगर्ने व्यवस्था गर्ने तयारी गरिएको हो ।

    हाल दैनिक एक हजार ५००देखि दुई हजार श्रमिकले पुन श्रम स्वीकृतिको लागि आवेदन दिने गरेका छन् । त्यस्तै एक हजार जनाले नयाँ श्रम स्वीकृतिको लागि आवेदन दिने गरेका छन् । कार्यालयले पनि सोही अनुपातमा दैनिक श्रम स्वीकृति प्रदान गर्दै आएको छ । कागजपत्र नपुगेका श्रमिकको हकमा भने तीन दिनभित्रका कागजपत्र बुझाएको अवस्थामा सोही टोकनलाई मान्यता दिइँदै आएको छ । तीन दिन भित्र कागजपत्र नबुझाएका नयाँ टोकन लिनुपर्ने व्यवस्था छ ।

  • केजरीवाल पक्राउले भारतमा हंगामा

    केजरीवाल पक्राउले भारतमा हंगामा

    काठमाडौं । प्रवर्तन निर्देशनालय (ईडी)को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेसँगै भारतमा हंगामा सुरु भएको छ । विपक्षी दलले निर्वाचनको अगाडी भएको यो गिरफतारीलाई राजनीतिक दाउपेचका रुपमा सरकारको आलोचना गरेका छन् । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो ।

    दुई घन्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दिल्ली सरकारकी मन्त्री एवं आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको बताइन् ।

    उनले भनिन्, प्रधाानमन्त्री मोदीलाई कुनै एक नेताको डर छ भने उनी अरविन्द केजरीवाल हुन् ।’ दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजरीवालमाथि छानबिन गर्दै आएको छ । भारतीय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले मोदीले भारतलाई मुद्रा लोकतन्त्रमा रुपान्तण गर्न खोजेको आरोप लगाएका छन् । मोदी डराइरहेको समेत उनको भनाई छ ।

  • सभामुखसहित सांसदको टोली स्विट्जरल्याण्ड प्रस्थान

    सभामुखसहित सांसदको टोली स्विट्जरल्याण्ड प्रस्थान

    काठमाडौं । सभामुख देवराज घिमिरे नेतृत्वको टोली स्विट्जरल्याण्ड प्रस्थान गरेको छ । संघीय संसद सचिवालयका अनुसार उनीहरु अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४८औं महासभामा सहभागी हुन बिहीबार स्विट्जरल्याण्ड प्रस्थान गरेका हुन् । आईपीयू प्रधान कार्यालय स्विट्जरल्याण्डको जेनेभामा छ ।


    टोलीमा सभामुख घिमिरे सहित सांसदहरु रमेश लेखक, महेशकुमार बर्तौला, हितराज पाण्डे, सन्तोष परियार र राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलबासे छन् ।
    संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई र संसदका उपसचिव प्रदीप गुरागाईं सहभागी छन् । टोली यही चैत १६ गते स्वदेश फर्किनेछ ।

  • अर्थमन्त्री र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी ?

    अर्थमन्त्री र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले चिनियाँ सहयोग तथा लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ । उनले प्रक्रियामा रहेका आयोजना अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । चीनले पछिल्लो दशकमा गरेको आर्थिक विकास र गरिबी निवारणको काम विश्वकै लागि उदाहरणीय हुन सक्ने बताएको चर्चा गर्दै चीनको अनुभव नेपालका लागि पनि सान्दर्भिक हुन सक्ने उल्लेख गरे ।

    चीनले नेपालको भौतिक विकाससहित विभिन्न क्षेत्रमा विगतदेखि नै सहयोग गर्दै आएकामा धन्यवाद दिँदै पुनले नेपालको अर्थतन्त्रमा केही शिथिलता देखिएको र जनताको विकासको आकांक्षा उच्च भएकाले नियमितभन्दा थप सहयोगको अपेक्षा राखिएको उल्लेख गरे ।

    ०७२ को महाभूकम्प, कोभिड–१९ महामारी र पछिल्लो जाजरकोट भूकम्पपछि चीन सरकारका तर्फबाट भएको मानवीय सहयोग स्मरणयोग्य रहेको उनको भनाइ थियो । चिनियाँ लगानीमा चक्रपथको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने विश्वास व्यक्त गरे । यस्तै उनले जिलोङ–केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम पनि तत्काल अघि बढाउनुपर्ने बताए ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत असोजमा भएको चीन भ्रमण क्रममा चिनियाँ समकक्षी ली छ्याङसँगको भेटमा त्यसबारे द्विपक्षीय सहमति भएको थियो । मन्त्री पुनले क्रस हिमालय रेलवे परियोजनालाई नेपालले उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै चिनियाँ पक्षबाट भइरहेको सम्भाव्यता अध्ययन प्रगतिबारे चासो व्यक्त गरे । नेपाल र चीनबीच रेल मार्गसम्बन्धी परियोजनामा यसअघि नै सैद्धान्तिक सहमति भइसकेको छ । केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन निर्माण काम जारी छ ।

    ‘रेलमार्ग नेपालीको सपना हो,’ मन्त्री पुनले भने, ‘यो आयोजनालाई हामीले प्राथमिकतामा राखेका छौं । छिटो काम अघि बढोस् भन्ने चाहन्छौं ।’

    मन्त्री पुनले तातोपानी र रसुवागढी नाका नियमित सञ्चालनमा आएकामा चिनियाँ पक्षलाई धन्यवाद दिए । यस्तै उनले जनस्तरबाट अरू परम्परागत नाका समय–समयमा बन्द हुने गरेका गुनासो आउने गरेको भन्दै नाका बन्द हुने अवस्थाको अन्त्य होस् भन्ने चाहेको स्पष्ट गरे । टोखा–छहरे सुरुङ मार्ग निर्माणको कामलाई पनि नेपालले प्राथमिकतामा राखेकाले सम्भाव्यता अध्ययनको काम छिटो सकाउन आग्रह गरे ।

    मन्त्री पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनका लागि निमन्त्रणा गरिसकिएको जानकारी दिँदै बढिभन्दा बढी लगानीकर्ता आउन प्रेरित गरिदिन राजदूत छनलाई आग्रह गरे । यस्तै मन्त्री पुनले भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्न आग्रह गरे । जवाफमा राजदूत छनले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण र प्रधानमन्त्री दाहालको चीन भ्रमण क्रममा भएका द्विपक्षीय सहमति कार्यान्वयनमा जोड दिए ।

    उनले नेपाल र चीनबीच लामो मित्रता र सहकार्य रहेको भन्दै आगामी दिनमा आपसी समन्वय र सहकार्य थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

    राजदूत छनले नेपालको लगानी सम्मेलन सफलताको शुभकामना दिँदै चिनियाँ व्यवसायीको लगानी सम्मेलनमा उत्साहजनक सहभागिता रहने प्रतिबद्धता जनाए ।

    चीनले नेपालको आर्थिक र सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै उनले कृषि, उद्योग र प्रविधि क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए ।

    ‘चीन–नेपाल सम्बन्ध उचाइमा पुर्‍याउन तथा नेपालको विकास र समृद्धिमा हातेमालो गर्न चाहन्छौं,’ राजदूत छनले भने, ‘दुई देशबीच आगामी दिनमा आपसी समन्वय र सहकार्य थप प्रगाढ हुने विश्वास दिलाउन चाहन्छौं ।’

    यस्तै उनले पोखरा र भैरहवा विमानस्थलमा चिनियाँ कम्पनीका जहाजले उडान गर्नेबारे छलफल चलिरहेको जानकारी मन्त्री पुनलाई दिए । त्यसका लागि हवाई रुट साथै पोखरा–काठमाडौं र भैरहवा–काठमाडौं उडान समेत अनुमति चाहिने उल्लेख गरे ।

  • श्रम मन्त्रीले मागे विदेशी जेल र अस्पतालमा रहेका नेपालीको विवरण

    श्रम मन्त्रीले मागे विदेशी जेल र अस्पतालमा रहेका नेपालीको विवरण

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृहमा रहेका तथा अस्पतालमा उपचाररत नेपाली श्रमिकको अवस्थाको बारेमा खोजखबर थाल्न निर्देशन दिएका छन् । गन्तब्य मुलुकमा रोकिएका श्रमिकको शवको पनि तथ्याङ्क उपलब्ध गराउन वैदेशिक रोजगार बोर्डलाई मन्त्री अर्यालले निर्देशन दिए ।

    सोमबार वैदेशिक रोजगार बोर्डसँगको छलफलमा मन्त्री अर्यालले वैदेशिक रोजगारीमा क्रममा रहेका श्रमिकको अवस्थाको विषयमा सरकार जानकार हुनुपर्ने भन्दै श्रमिक बन्दीगृहमा पर्नुको कारण र समस्या समाधानका विषयमा समेत जानकारी गराउन निर्देशन दिए ।


    सबै गन्तब्य मुलुकबाट तथ्याङ्क संकलन उद्धार तथा समस्या समाधानको योजना बनाइने समेत उनले बताए । उनका अनुसार विदेशी हस्पिटलमा रहेका श्रमिकका स्थानिय अस्पतालसँग सहकार्य गरी नेपालमा नै उपचार गरिने व्यवस्था मिलाइनेछ । ‘बन्दीगृहमा रहेका श्रमिकलाई कानुनी उपचारको लागि आवश्यक सहयोग गर्नेछौं’ उनले भने । विदेशमा अड्किएका शवलाई पनि जतिसक्दो छिटो नेपाल झिकाईने व्यवस्था गरिने मन्त्री अर्यालले बताए ।

    बोर्डका कर्मचारीसँगको छलफलमा मन्त्री अर्यालले विदेशमा दुर्घटनामा परेका श्रमिकले सम्बन्धित मुलुकबाट पाउने बिमाको सुविधाको विषयमा पनि पहल गर्न बोर्डलाई निर्देशन दिए । ‘विदेशी मुलकले आप्रवासी श्रमिकलाई बिमाको सुविधा प्रदान गरेका हुन्छन् । तर, सबै नेपाली श्रमिकलाई यस विषयमा जानकारी नहुन सक्छ । त्यसैले धेरै श्रमिक यो सुविधाबाट बन्चित भएको सुनेको छु,’ उनले भने,‘यस्तो सुविधाबाट नेपाली श्रमिकले पाउने अर्बो रुपैयाँ बाँकी रहेको जानकारी पाएको छु ।’ नेपाली श्रमिकले पाउने यस्तो सुविधाको लागि पहल गर्न उहाँले बोर्डलाई निर्देशन दिए ।

    छलफलमा श्रम सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगार बोर्डलाई श्रमिकको कल्याणकारी कार्यमा संवेदनशिल हुन समेत आग्राह गरे । ‘बोर्डले श्रमिकको मुद्धामा संवेदनशिल नभएको गुनासो छ । त्यसैले आफनो जिम्मेवारी प्रति सचेत हुनुहोस,’ उनले भने । सोमबार मन्त्री अर्यालले नेपालका श्रम गन्तब्य मुलुक मलेसिया, कतार, साउदी अरब, युएई, बहराइन, ओमान, दक्षिण कोरिया र कुवेतका श्रम सहचारी तथा श्रम काउन्सलरसँग श्रमिकको समस्याको बिषयमा भर्चुअल छलफल गरेका छन् ।

  • साउदी अरबमा गैरकानूनी रुपमा बसेका नेपालीलाई एक्टिज भिसाले राहत

    साउदी अरबमा गैरकानूनी रुपमा बसेका नेपालीलाई एक्टिज भिसाले राहत

    काठमाडौं । साउदी अरबमा गैरकानूनी रुपमा बसेका नेपालीले दूतावासको सिफारिसमा बहिर्गमन (एक्जिट) भिसा पाउन थालेका छन् । विभिन्न कारणले गैरकानुनी बनेकाहरूलाई रियादस्थित नेपाली दूतावासले स्वदेश फर्कने भिसा प्राप्त गर्न आवश्यक पहल गरेको बताएको छ । सन् २०२३ मा मात्र दुई हजार जनाभन्दा बढी नेपाली नागरिकहरूले रियादस्थित नेपाली दूतावासको पहलमा त्यस्तो भिसा पाएका छन्।

    सन् २०२४ को साढे दुई महिनामा पनि उल्लेख्य सङ्ख्यामा कामदारहरूले त्यस्तो भिसा पाएको बीबीसीले लेखेको छ । कागजातविहीन बनेको दूतावासमा निवेदन दिएपछि सम्बन्धित निकायमा पहल गरी दूतावासले भिसा मिलाउने काम गरेको छ । यस वर्षको पहिलो साढे दुई महिनामा ८८६ जना नेपाली नागरिकले यस्तो भिसा लिएर स्वदेश फिर्ता भएका छन् । साउदी अरबमा हजारौँको सङ्ख्यामा कागजपत्रविहीन कामदारहरू रहेको अनुमान गरिएको छ ।


    गैरकानुनी बनेर गत वर्ष एक्जिट भिसा पाएका दुई हजार जनाभन्दा बढी नेपालीमध्ये अधिकांशले साउदी अरेबियामा आवासीय अनुमति (आईकमा) नवीकरण नगरेको पाइएको छ। यस्तो अनुमतिको नवीकरण रोजगारदाताले गरिदिनुपर्ने हो तर रोजगारदाताले नवीकरण नगरिदिने र कामदारहरूले पनि त्यसको बेवास्ता गर्दा उनीहरू गैरकानुनी बन्ने रहे गरेका छन् ।

  • युक्रेनले सार्वजनिक गर्यो ५ नेपाली युद्धबन्दी

    युक्रेनले सार्वजनिक गर्यो ५ नेपाली युद्धबन्दी

    काठमाडौं । युक्रेनले रुसी सेनामा भर्ती भएका नेपालीसहित ८ युद्धबन्दी सार्वजनिक गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार थुनामा रहेका युद्धबन्दीमध्ये शुक्रबार ५ नेपाली क्युबा, सोमालिया र सियरा लियोनका एक–एक गरी ८ जनालाई सार्वजनिक गरेको हो। उनीहरूलाई सार्वजनिक गर्दै युक्रेनी सेनाले रूसी सेनामा भर्ती हुनबाट आफ्ना नागरिकहरूलाई रोक्न आग्रह गरेको छ। ‘अन्य देशले आफ्ना नागरिकहरूलाई विदेशी सेनामा भर्ती नगराउन् र उनीहरू पनि सचेत होऊन् भन्नका लागि हामीले युद्धबन्दीलाई सार्वजनिक गरेका हौं ताकी उनीहरू नफसुन्,’ युद्धबन्दीहरुको उपचार समन्वय विभागका प्रतिनिधि पेट्रो यात्सेन्कोले शुक्रबार पत्रकार सम्मेलनमा भने।

    पत्रकार सम्मेलनमा युद्धबन्दीहरूलाई बर्दीमा उपस्थित गराइएको थियो। त्यहाँ दुई पङ्क्तिमा उनीहरुलाई राखिएको रोयटर्सले उल्लेख गरेको छ। प्रवक्ता यात्सेन्कोले उनीहरूलाई पनि अन्य युद्धबन्दीहरूलाई जस्तै व्यवहार गरिएको पनि बताए। युक्रेनले उनीहरूको परिचय भने खुलाएको छैन।

    तस्बिरमा अघिल्लो लहरमा बायाँतर्फका तीन र पछिल्लो लहरमा दायाँबाट दुईजना नेपाली नागरिक हुन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले सार्वजनिक गरिएको भनिएकाहरू थप नयाँ व्यक्तिहरू नभएको पाइएको बताएका छन् । ‘उहाँहरूलाई दोस्रो पटक बयान लिइएको रहेछ। त्यही क्रममा सार्वजनिक गरिएको हो । नयाँ युद्धबन्दी होइनन्,’ उनले भने।

    रूसी सेनामा भर्ती भएका ६ जना नेपाली युवकहरूलाई युक्रेनले बन्दी बनाएको विषय यसअघि नै मन्त्रालयको जानकारीमा रहेको उनले बताए। राजापुर नगरपालिका १ बर्दियाका विवेक खत्री, मण्डनदेउपुर नगरपालिका ६ काभ्रेका सिद्धार्थ ढकाल, लेटाङ २ मोरङका विकास राई, दाङका प्रतिक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछाने युक्रेनमा बन्दी बनाइएका हुन्। उनीहरुलाई युक्रेनको नियन्त्रणबाट मुक्त गरी स्वदेश ल्याउने प्रक्रिया भइरहेको प्रवक्ता राईले बताए। त्यहाँ नेपालको दूतावास पनि नभएकाले अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी र जर्मनीस्थित नेपाली दूतावासबाट पहल भइरहेको उनले बताए।

  • कामको खोजीमा एक महिनामा विदेशिए ६५ हजार भन्दा धेरै नेपाली

    कामको खोजीमा एक महिनामा विदेशिए ६५ हजार भन्दा धेरै नेपाली

    काठमाडौं । काम खोज्दै एक महिनामा साढे ६५ हजार नेपाली विदेशिएका छन् । वैदैशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन २०८० मा मात्र ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् । योसँगै चालु आर्थिक वर्ष (आव) २०८०–८१ आठ महिनामा नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ७१ हजार २ सय १० पुगेको छ । नेपालबाट हरेक दिन औसत २ हजार नेपाली काम खोज्दै विदेशिने गरेका छन् । फागुनमा काम खोज्दै विदेशिनेमध्ये ६ हजार ७ सय ६८ महिला छन् । पछिल्लो तीन महिनायता लगातार ६० हजारभन्दा माथिको संख्यामा नेपाली विदेशिएको तथ्यांकमा देखिन्छ ।

    फागुन २०८० मा काम खोज्दै विदेशिने नेपाली अघिल्लो वर्ष सोही महिनाको तुलनामा केही बढी हो । अघिल्लो वर्ष फागुनमा ६१ हजार ८ सय ४५ नेपाली विदेशिएका थिए । तथ्यांक अनुसार यो वर्ष आठ महिनामा पौने ५ लाख नेपाली विदेशिएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने केही कम हो । अघिल्लो वर्ष आठ महिनामा ५ लाख ४० हजार ६ सय ७५ नेपाली विदेशिएका थिए । गत वर्ष काम खोज्दै विदेश जाने नेपालीको संख्याले रेकर्ड राखेको थियो ।

    यो वर्ष युनाइटेड अरब इमिरेट्स (यूएई) मा नेपालीको अधिक आकर्षण देखिन्छ । फागुनमा मात्र १८ हजार ७ सय ७ श्रम स्वीकृति यूएईका लागि भएको छ ।
    साउदी अरबमा १३ हजार २ सय ६७, कतार ११ हजार ३ सय ९० र मलेसियामा ८ हजार ४ सय १७ श्रम स्वीकृति जारी भएको तथ्यांकमा देखिएको छ । यो महिना कुवेतमा मात्र ३ हजार २ सय ६, जापान १ हजार ३ सय ६०, कोरिया ७ सय ३०, रोमानिया १ हजार ७ सय ८४, मौरिसस ८ सय ५९ र क्रोएसियामा ९ सय १५ श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ ।

  • अब जन्म दर्तासँगै राष्ट्रिय परिचय पत्र बाँडिने, अमेरिकासहित एक दर्जन मुलुकबाट पनि लिन पाइने

    अब जन्म दर्तासँगै राष्ट्रिय परिचय पत्र बाँडिने, अमेरिकासहित एक दर्जन मुलुकबाट पनि लिन पाइने

    काठमाडौं । अब जन्मदर्ता गर्दा नै राष्ट्रिय परिचय नम्बर (एनआईएन) दिइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्मदर्ता गर्दा नै दिन स्थानीय तह र नेपाली कुटनीतिक नियोगहरुलाई परिपत्र गरेको छ । विभागले नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरका व्यक्तिको जन्मदर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ताको प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्न भन्दै परिपत्र गरेको हो । नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरका सन्तानको जन्म दर्ताको प्रमाणपत्र संशोधन तथा प्रतिलिपी जारी गर्दा समेत राष्ट्रिय परिचय नम्बरसहितको संशोधित तथा प्रतिलिपी प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गर्न पनि विभागले निर्देशन दिएको छ ।

    कुनै प्राविधिक कारणले जन्म दर्ता गर्दा राष्ट्रिय परिचय नम्बर प्राप्त हुन नसकेमा विभागमा सम्पर्क गरी राष्ट्रिय परिचय नम्बर पाएपछि मात्र प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्न पनि परिपत्रमा भनिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ मा नेपाली नागरिकका सन्तानको जन्म दर्ता गर्दा नै स्थानीय पञ्जीकाधिकारीले विभागबाट तोकिएबमोजिम परिचय नम्बर प्राप्त गरी सम्बन्धित व्यक्तिलाई त्यस्तो परिचय नम्बर दिनुपर्ने व्यवस्था छ ।

    त्यसैअनुसार विभागले २७ फागुन २०८०को निर्णयअनुसार नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरको सन्तानको जन्म दर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ताको प्रमाणपत्र जारी गर्न भन्दै परिपत्रमा गरेको छ । ऐन र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली २०७७ मा विदेशस्थित नेपाली नियोगबाट समेत पञ्जीकरण गर्ने व्यवस्था भएअनुसार २१ फागुनदेखि विभिन्न नेपाली नियोगबाट व्यक्तिगत घटना (जन्म र मृत्यु) दर्ता प्रक्रिया सुरुवात भइसकेको छ ।

    नेपाली राजदूतावास बेइजिङ चीन, टोकियो जापान, पेरिस फ्रान्स, दोहा कतार, मड्रिड स्पेन, लण्डन संयुक्त अधिराज्य, क्यानबेरा अस्ट्रेलिया, वासिङ्टन डीसी अमेरिका, बर्लिन जर्मनी, क्वालालम्पुर मलेसिया, रियाद साउदी अरेबिया, सियोल दक्षिण कोरिया, अबुधाबी संयुक्त अरब ईमिरेट्स, बैंकक थाईल्याण्डर ओटवा क्यानडाबाट जन्म तथा मृत्यु दर्ता गर्न सुरु भएको छ ।

  • कुवेतमा सडक पार गर्दा तीन नेपालीको मृत्यु

    कुवेतमा सडक पार गर्दा तीन नेपालीको मृत्यु

    काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान ५ बजेतिर भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौं सानो भर्‍याङ्गका सुजन कार्की, पन्चदेवल विनायक-५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगर रहेका छन् ।

    नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेका छन् । मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको पनि उनले बताए ।

    नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल ठकुरीका अनुसार हवालीमा बस्दै आएका सुजन कार्की र धिरज गुर्मछाने मगर सोमवार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए । मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किने क्रममा सुरत उनीहरुलाई बस चढाउन आएका थिए । त्यही बेला तीनै जनालाई कारले ठक्कर दिंदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरुको शव पोष्ट मार्टमका लागि फरवानिया अस्पतालमा राखिएको छ ।

    अरब टाइम्सले भने महाबुल्ला क्षेत्रको सडक दुर्घटनामा दुई जना नेपाली नागरिक र अर्का एक अपरिचित व्यक्तिको मृत्यु भएको जनाएको छ । एउटा शवको सुरुमा पहिचान नखुले पनि पछि कम्पनीसँग सम्पर्क गर्दा उनी पनि नेपाली नै रहेको पुष्टि भएको हो । साथै शवलाई फरेन्सिक जाँचका लागि पठाइएको र कार चालक कुवेतका नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको समाचारमा उल्लेख छ ।

  • रुसी सेनामा थप ७ जना नेपालीको मृत्यु

    रुसी सेनामा थप ७ जना नेपालीको मृत्यु

    काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु पुष्टि गरेको छ । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धका क्रममा उनीहरूको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । यससँगै सरकारले प्राप्त गरेको औपचारिक तथ्यांकअनुसार रसियामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ । यसअघि १२ जना नेपालीको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

    परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागमा हालसम्म २०० भन्दा बढीका परिवारले उद्धारका लागि निवेदन दिएका छन् । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको जनाएको छ । यसैगरी, रुसी सेनामा ज्यान गुमाएका नेपालीहरुको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनःअनुरोध गरिएको छ ।

    नेपाल सरकारको उपरोक्त प्रयासहरुका बावजुद रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकहरुले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । परम्परागत रूपमा रहेको सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको यसअघि नै जनाएको थियो । मन्त्रालयले १८ मंसिर र ४ पुसमा प्रेस विज्ञप्तिमार्फत सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नुपरेमा नो अब्जेक्सन लेटर लिएर मात्र यात्रा गर्ने प्रावधान मिलाएको छ ।

  • भिजिट भिसामा यूएई जान लागेका तीन जना महिला विमानस्थलबाट फर्काइए

    भिजिट भिसामा यूएई जान लागेका तीन जना महिला विमानस्थलबाट फर्काइए

    काठमाडौं । भिजिट भिसामा यूएई जान लागेको अवस्थामा ३ जना महिला विमानस्थलबाट फर्काइएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार, सोधपुछपछि शंकास्पद देखिँदा एजेन्टलाई पनि बोलाइएको थियो । त्यसक्रममा शंकास्पद रुपमा यूएई पठाउन लागेको खुलेपछि फर्काइएको उनले बताए । एजेन्ट रुपन्देहीको रुद्रपुरका भबिलाल थापालाई पनि नियन्त्रणमा लिइएको शर्माले जनाए ।

    उनीहरुले बिहीबार राति साढे १० बजे हिमालय एयरलाइन्सबाट दूबई जान लागेका थिए । पक्राउ परेका थापालाई थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको एसएसपी शर्माले बताए । प्रहरीका अनुसार, भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोह नै सक्रिय छ । सजिलै काम पाइने प्रलोभनमा विदेश लगेर अलपत्र पार्न गरिएको भेटिएपछि प्रहरी जाँचमा कडाइ गरेको छ । रसियन सेनामा जाने कतिपय नेपालीलाई पनि एजेन्टले भिजिट भिसामा दूबई लगेर त्यहाँबाट मस्को पठाएको अनुसन्धानबाट देखिएको थियो ।

  • मलेसियामा अवैध रुपमा बसेका नेपालीसहित श्रमिकले घरफिर्ति अभियानमा भाग लिन पाउने

    मलेसियामा अवैध रुपमा बसेका नेपालीसहित श्रमिकले घरफिर्ति अभियानमा भाग लिन पाउने

    काठमाडौं । मलेसियाले अवैधानिक रूपमा बसेका नेपालीसहित आप्रवासी श्रमिकका लागि घर फिर्ती कार्यक्रम ल्याएको छ । मलेसियास्थित नेपाली दूतावासले अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकका लागि फागुन १८ गतेदेखि आगामी २०८१ पुस १६ गतेसम्म घर फिर्ती कार्यक्रम राखेको छ । दूतावासले यस कार्यक्रम अन्तर्गत स्वदेश फर्कन मलेसियामा बिनाभिसा प्रवेश गरेका वा भिसाको म्याद सकिएर बसेकाको हकमा पाँच सय मलेसियन रिङ्गिट जरिबाना र भिसाको नियम उल्लङ्घन गरी मलेसियामा बसेकाको हकमा तीन सय मलेसियन रिङ्गिट जरिबाना तिर्नुपर्ने जनाएको छ ।

    दूतावासले सूचना सार्वजनिक गर्दै मलेसियामा अवैधानिक रूपमा बसेका नेपालीलाई यो मौकाको फाइदा उठाएर स्वदेश फर्किने अवसर लिन आग्रह गरेको जनाएको छ । दूतावासका अनुसार अवैधानिक रूपमा मलेसिया बस्दै आइरहेका घर फर्कन चाहने विदेशी नागरिकको सहजीकरणका लागि मलेसियाको अध्यागमन विभागले कुनै निकाय वा व्यक्तिलाई जिम्मेवारी दिएको छैन ।

    यसका लागि घर फर्कन चाहने नेपालीले स्वयम् प्रक्रियाअगाडि बढाउनुपर्ने दूतावासको सूचनामार्फत जानकारी गराइएको छ । घर फर्कनका लागि वैध राहदानी वा यात्रा अनुमति पत्र ९ट्राभल डकुमेन्ट० का लागि नेपाली दूतावासमा आवेदन दिनुपर्ने छ । निवेदन दिएको १४ दिनभित्र नेपाल फर्कने एकतर्फी हवाई टिकको व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ ।

    दूतावासका अनुसार मलेसियाको अध्यागमन विभागलाई जरिबाना रकम नगदमा तिर्न नमिल्ने भएकाले डेबिट कार्ड वा क्रेडिट कार्डबाट तिर्न सकिन्छ । अथवा ‘टच एन गो ई वालेट’ मार्फत पिन नम्बर लिई पनि जरिबाना रकम तिर्न सकिन्छ । दूतावासले आवश्यक कागजात र तोकिएको रकम लिई मलेसियाको अध्यागमन विभागले तोकेकामध्ये आफूलाई पायक पर्ने ठाउँमा गएर आवेदन दर्ता गर्न भनेको छ ।

    मलेसिया सरकारले घर फर्किन चाहनेलाई पेराक, पुलाउ, पिनेङ, सेलान्गोल, सङ्घीय क्षेत्र क्वालालम्पुर, सङ्घीय क्षेत्र लाबुवान, सङ्घीय क्षेत्र पुत्रजन्य अध्यागमन विभागको मुख्य कार्यालयलगायतका १४ स्थानमा गएर आवेदन दिन सकिने व्यवस्था गरेको भन्दै नेपाली दूतावासले कागजातविहीन नेपाली आप्रवासीलाई आफ्नो पायक पर्ने ठाउँमा गएर आवेदन दिएर यस अवसरको फाइदा लिन आग्रह गरेको छ ।