Category: डायस्पोरा

  • नेपालबाट चोरेर अमेरिका पुर्याइएका मूर्ति नेपाल ल्याइयो, विभागको जिम्मा

    नेपालबाट चोरेर अमेरिका पुर्याइएका मूर्ति नेपाल ल्याइयो, विभागको जिम्मा

    काठमाडौं । चोरी गरेर अमेरिका पुर्‍याइएका दुईटा मुकुन्डो र दुईटा मूर्तिहरु नेपाल फिर्ता ल्याइएको छ । यी मूर्ति बुधबार पुरातत्व विभागलाई जिम्मा लगाइएको छ ।तामा धातुबाट १६ औं शताब्दीमा निर्मित भैरवका दुई मुकुन्डो, १६ औं शताब्दीमा प्रस्तरबाट बनेको उमामहेश्वरको मूर्ति र १७ औं र १८ औं शताब्दीमा प्रस्तरबाटै निर्मित दुर्गाको मूर्ति नेपाल फिर्ता गरिएको हो । भैरवका दुई मुकुन्डो दोलखाको भिमेश्वर नगरपालिका २ स्थित गुरकोट टोलबाट २०५० साल फागुन २२ गते चोरी भएर विभिन्न माध्यम हुदै अमेरिकाको डलास म्यूजियम अफ आर्ट र रुविन म्युजियम अफ आर्टमा पुगेका थिए ।

    उमामहेश्वरको मूर्ति पाटनको ओमवहाल परिसरको फल्चाबाट सन् १९८० देखि सन् १९९० को दशकको बीचमा चोरी भएर ब्रुकलिन म्युजियममा पुगेको थियो । दुर्गाको मूर्ति भक्तपुरको हनुमानघाटस्थित स्मारक स्वरुप शिवलिङ्ग रहेको स्थानबाट चोरी भएर अमेरिका पुगेको थियो । यी कलात्मक वस्तुहरुको उत्पत्ति स्थल नेपाल भए‌को भनी यस विभागवाट प्रमाणित गरेपछि अन्तर्राष्ट्रिय कानुन अनुसार नेपाल फिर्ता भएको पुरातत्व विभागद्वारा जारी विज्ञप्तिमा छ ।

    यस अघि बेलायत, अस्ट्रिया, अमेरिका, चीन\तिब्बत, भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट जम्मा १४५ थान मूर्तिहरु तथा कलावस्तुहरु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघसंस्थाहरुको प्रयासबाट फिर्ता भइसकेका छन्। अमेरिका, फ्रान्स, बेलायत, अष्ट्रेलिया जस्ता देशहरुबाट थप अरु केही कलात्मक वस्तुहरु फिर्ताको लागि कूटनीतिक पहल भइरहेको विभागले जनाएको छ । संयुक्त राज्य अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका पुरातात्विक महत्व भएका वस्तुहरुको संख्या ७२ पुगेको छ ।

    यी कलात्मक वस्तुहरू फिर्ता गराउन अमेरिकाको न्यूयोर्कस्थित नेपाली बाणिज्यदूतावास, अमेरिकाको म्यानहट्टन डिस्ट्रिक्ट अटर्नी अफिस न्यूयोर्क, यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन न्यूयोर्क, अमेरिका डलास म्युजियम अफ आर्ट, रुबिन म्युजियम अफ आर्ट, ब्रुकलिन म्युजियम, संस्कृति, तथा पर्यटन नागरिक उड्ययन मन्त्रालय र अर्थ मन्त्रालयले भूमिका खेलेको भन्दै विभागले धन्यवाद दिएको छ । यी कलात्मक वस्तुहरु अमेरिकाबाट नेपालसम्म ल्याउने कार्यमा न्यूयोर्कस्थित नेवा गुठीले आर्थिक सहयोग गरेको थियो । गुठी प्रति पनि विभागले धन्यवाद व्यक्त गर्दै प्रशंसा पत्र प्रदान गरेको छ ।

  • बेलायती सेनाध्यक्ष नेपाल भ्रमणमा, प्रधानमन्त्री प्रचण्डसँग भेट

    बेलायती सेनाध्यक्ष नेपाल भ्रमणमा, प्रधानमन्त्री प्रचण्डसँग भेट

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा नेपाल–बेलायत सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    उनीहरुबीच द्विदेशीय सहयोग विस्तारबारे पनि छलफल भएको थियो । नेपालको प्रमुख विकास साझेदार बेलायतले नेपालको सामाजिक–आर्थिक उन्नयनका निम्ति निरन्तर सहयोग गरेकामा प्रधानमन्त्री प्रचण्डले हार्दिक आभार व्यक्त गरेका छन् ।


    शिष्टाचार भेटमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालका लागि बेलायतका राजदूत तथा यहाँस्थित बेलायती राजदूतावासका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो । उनले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का तथा प्रधानसेनापति प्रभुराम शर्मासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन् ।

  • न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन

    न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन

    काठमाडौं । साहसिक पर्वतीय खेलकूदको अन्तर्राष्ट्रियस्तरमा प्रबर्धन गर्ने उद्देश्यले न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन भएको छ । अन्तर्राष्ट्रिय माउण्टेन गाइड तथा प्रशिक्षक ङवाङ नीमा शेर्पाको अध्यक्षतामा न्यूयोर्क राज्यमा गठन भएको सो संस्थाले पर्वतीय खेलकूदमा नेपालीमूलका अमेरिकीलाई ओलम्पिकसम्म पुराउने लक्ष्य राखेको छ । संस्थाको उपाध्यक्षमा समाजसेवी तथा गाईड पेमा शेर्पा, महासचिवमा संचारकर्मी सन्जोग आचार्य, सचिवमा सगरमाथा आरोही मिङमा टी शेर्पा र कोषाध्यक्षमा पर्वतारोहण प्रशिक्षक गेल्बु शर्पा छन् ।


    त्यसैगरी, सदस्यमा विश्व कीर्तिमानी आरोही छुरीम शेर्पा, सगरमाथा आरोही तासी शेर्पा सगरमाथा आरोही सोनाम शेर्पा, हिमाली खानाका फूड गुरु सुरेश बस्नेत, क्यानडा निवासी आरोही डेन्डी शेर्पा, सगरमाथा आरोही उषा बिष्ट, सगरमाथा आरोही अन्तर्राष्ट्रिय माउण्टेन गाइड नीमा तासी शेर्पा, एथलेटिक्स खेलाडी सोनाम शेर्पा र होटल ब्यवसायी बिक्रम अधिकारी र सगरमाथा आरोही पासाङ दावा शेर्पा छन् ।

    संस्थाको संरक्षकमा न्यूयोर्कमा वरिष्ठ व्यवसायी तथा समाजसेवी गेल्जेन नुरु शेर्पा, प्रमुख सल्लाहकार शेर्पा केदुगका अध्यक्ष तथा वरिष्ठ समाजसेवी तेम्बा शेर्पा, होटल व्यवसायी रोशन बालान, कोलाराडोका सफल व्यवसायी तथा समाजसेवी पाइलट पेम्बा शेर्पा र मिचिगन निवासी विश्वकीर्तिमानी आरोही पेमदोर्जी शेर्पा छन् । पर्वतीय खेलहरुलाई बिस्तार गर्ने उद्देश्यले स्थापना भएको संस्थालाई नेपाल ओलम्पिक कमिटी, खेलकुद मन्त्रालय, सगरमाथा आरोही संघ, नेपाल क्लामिड स्पोर्टस एसोसियसन र अन्य सम्बन्धित संघ संस्थाले सहकार्य र समर्थनको प्रतिबद्धता जनाएका छन् ।

    स्की, वाल क्लाइम्बिङ, माउण्टेन बाइक, प्याराग्लाइडिड, रक क्लाइमिडलगायत पर्वतीय खेलकुद गतिविधिमा भाग लिने दिने तथा राष्टि«य अन्तर्राष्ट्रिय खेलाडीलाई सहभागिताका लागि प्रोत्साहन गर्ने उद्देश्य सो संस्थाले राखेको छ ।

  • कोरियाली लगानीलाई नेपालमा स्वागत गर्न तयार छौं : परराष्ट्र मन्त्री

    कोरियाली लगानीलाई नेपालमा स्वागत गर्न तयार छौं : परराष्ट्र मन्त्री

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा कोरियाली लगानीलाई स्वागत गर्न तयार रहेको बताएका छन् । नेपाल र कोरियाको द्वैत्य सम्बन्ध सुरु भएको ५०औँ वर्षगाँठको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले हाल नेपालमा लगानी गरिरहेका कोरियाली कम्पनीको प्रशंसा समेत गरे ।

    ‘नेपालमा लगानी गरिरहेका सामसंग टेलिभिजन, हुन्डाई मोटर्सलगायत अन्य कोरियाली लगानीकर्ता कम्पनीहरूको प्रशंसा गर्न चाहन्छु । नेपालमा लगानीको सम्भावना खोज्दै चासो राख्ने कोरियाली कम्पनीहरूले आफ्नो लगानी विस्तार गरेको हेर्ने नेपालको चाहना छ’, मन्त्री साउदले भने, ‘यस वर्षको अप्रिलमा हुने लगानी शिखर सम्मेलनमा कोरियाली लगानीकर्ता र उद्यमीहरूको ठूलो संख्यामा उपस्थिति हुने अपेक्षासहित स्वागत गर्न तयार छौं ।’

    नेपाल र कोरियाबीच सन् १९७४ मे १५ मा स्थापना भएको कूटनीतिक सम्बन्ध समयसँगै प्रगाढ बन्दै गएको र यो सम्बन्ध मित्रता, सौहार्दता, सहयोग, आपसी सम्मान र साझेदारीमा आधारित रहेको उनको भनाइ थियो । उनले आगामी दिनमा यो सम्बन्ध अझ प्रगाढ हुने आशा व्यक्त गरे । दुई देशबीच आर्थिक सहयोग विस्तार गर्ने प्रचुर सम्भावना रहेको भन्दै उनले ती सम्भावनाको अन्वेषण गरी द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि गर्न आग्रह गरे । ‘कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा साझेदारीलाई सुदृढ बनाऔं’, उनले भने ।

    कोरियामा हजारौं नेपाली कामदारहरू रहेको भन्दै उनले अहिले ठूलो संख्यामा नेपाली अध्ययनका लागि पनि कोरिया छनोट गरिरहेको जानकारी गराए । साथै, हजारौं कोरियाली नागरिक पर्यटकका रूपमा नेपाल आउने गरेका र नेपालमा ठूलो संख्यामा कोरियालीहरूले लगानी गरेकामा पनि आगामी दिनमा नेपाल यसलाई अझ अझ विस्तार गर्न चाहिरहेको बताए ।

    साथै, दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई गति दिने भन्दै उनले कूटनीतिक सम्बन्धको स्वर्ण जयन्ती उत्सवको अवसरमा छलफल गर्न सकिने बताए । कोरियाबाट फर्केका नेपालीले दुई राष्ट्रबीचको जीवन्त पुलको काम गरेको भन्दै उनीहरुको अनुभव र विशेषज्ञताले अन्य युवाहरु र फर्केका प्रवासीहरुलाई मातृभूमिमा अवसरहरु खोज्न मद्दत गर्ने आशा साउदले व्यक्त गरे ।

    साथै, घनिष्ठ मित्रको रूपमा नेपालका तर्फबाट छोटो अवधिमा कोरियाले हासिल गरेको प्रगति, विकास र समृद्धिको उत्कृष्ट यात्राको प्रशंसा समेत गरे । नेपालले कोरियाको सफलताका कथाहरूबाट सिक्न सक्ने भन्दै उनले पारस्परिक रूपमा लाभदायक क्षेत्रमा साझेदारी बढाउन चाहेको समेत बताए । नेपालले सन् २०२६ मा अल्पविकसित देशबाट विकासोन्मुख राष्ट्रको स्थितिमा स्तरोन्नति गर्न लागेको भन्दै त्यसमा कोरियाको समर्थन रहनेमा विश्वास व्यक्त गरे ।

  • नेपाल सुहाउँदो योजना बनाउन विकास साझेदारको सरकारलाई सुझाव

    नेपाल सुहाउँदो योजना बनाउन विकास साझेदारको सरकारलाई सुझाव

    काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औं योजना र अति कम विकसित मुलुक ९एलडीसी०बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग राय लिएको छ । आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा मंगलबार भएको छलफलमा संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत विभिन्न देशका राजदूत तथा प्रतिनिधिले सुझाव दिएका छन् । आयोग आगामी ५ वर्षका लागि तयार गरिरहेको १६औं योजनाका लागि विभिन्न क्षेत्र तथा सरोकारवालाहरुसँग सुझाव लिइरहेको छ । सोही क्रममा मंगलबार आयोगले अन्तर्राष्ट्रिय विकास साझेदार समूहसँग छलफल गरेको हो ।

    नेपालस्थित अन्तराष्ट्रिय विकास साझोदार समूहको नेतृत्व हाल संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि हाना सिंगर हाम्डी र नेपालका लागि फिनल्याण्डका राजदूतले संयुक्त रुपमा गरिरहेका छन् । छलफलमा अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिका सन्दर्भमा पनि छलफल भएको आयोगले जनाएको छ । नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि हाना सिंगर हाम्डीले सफल एलडीसी स्तरोन्नति पछि नेपाल विकासको अर्को अध्ययायमा प्रवेश गर्ने बताइन् ।

    १६औं योजनामा एलडीसी स्तरोन्नतिका सन्दर्भमा पनि सोच्नु पर्ने उनको सुझाव थियो । अन्य सहभागी विकास साझेदारहरुले आफ्नो कन्ट्री प्रोगामलाई १६औं योजना र अति कम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति रणनीतिसँग तादम्यता मिलाउनु पर्ने बताए । आयोगका उपाध्यक्ष डा। श्रेष्ठले विकास साझेदारहरुबाट धेरै राम्रा सुझावहरु आएको बताए ।

    नेपालको विकासका लागि विकास साझेदार समूहले गर्दै आएको सहयोगको लागि धन्यबाद दिँदै आएका सुझावहरु १६औं योजना र स्मुथ ट्रान्जिसन स्ट्रेटिजी फर एलडिसी मा समावेश गर्ने प्रतिवद्धता जनाएका छन् । आयोगले यसअघि आज नै १६औं योजनाको सन्दर्भमा राष्ट्रिय विकास परिषद्का नवनियुक्त सदस्यहरुसँग छलफल गरेको थियो ।

  • चिनियाँ उपमन्त्री र प्रचण्डबीच भेटवार्ता

    चिनियाँ उपमन्त्री र प्रचण्डबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिए।

    उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन्। नेपालमा रहँदा उहाँले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ।

  • गुल्मीबाट मात्र ३० जनाले लिए गैरआवासीय नागरिकता

    गुल्मीबाट मात्र ३० जनाले लिए गैरआवासीय नागरिकता

    काठमाडौं । नेपालबाट विदेशमा गएर त्यहाँको नागरिकता लिइसकेका ३० जनाले गुल्मीबाट गैरआवासीय नागरिकता लिएका छन् । गुल्मी जिल्ला प्रशासन कार्यालयबाट गत कात्तिक महिनाको १९ गतेबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरिएको थियो । यस्तो नागरिकता लिने संख्या पछिल्लो समय बढ्दै गएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । गैरआवासीय नेपाली नागरिकता लिनका लागि आवश्यक कागजपत्र पूरा गरेको खण्डमा एकै दिनमा नागरिकता प्रदान गर्दै आएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे बताए ।

    प्रशासनमा थोरै जनशक्ति रहेकाले एकै दिन धेरै गैरआवासीय नागरिकता लिन गएमा भने उसै दिन प्रदान गर्न नसकिने उनको भनाइ छ । गैरआवासीलाई नागरिकता प्रदान गर्न प्रक्रिया पुर्‍याउन समय लाग्छ । गैरआवासीय नेपाली नागरिकले नागरिकता प्राप्त गर्नका लागि सम्बन्धित वडाको सिफासिससहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता, नागरिक भएको प्रमाण, सार्क सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेको खण्डमा सम्बन्धित प्रशासन कार्यालयबाट गैर आवासीय नेपाली नागरिकता प्रदान हुनसक्ने व्यवस्था रहेको छ ।

    गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकारबाहेकका सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको छ । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० लागू भएपछि गैरआवासीय नेपाली नागरिकले नागरिकता प्रमाणपत्रको व्यवस्था सुरु भएको हो । गैरआवासीय नागरिकताले भोट दिन, चुनाव लडन, पासपोर्ट बनाउन पाउने छैनन् । तर, सम्पति राख्न, व्यापार व्यवसायमा लगानी गर्न पाउनेछन् ।

  • नेपालीले चलाएको कम्पनी अमेरिकी स्टक एक्सचेन्जमा सूचिकृत हुँदै

    नेपालीले चलाएको कम्पनी अमेरिकी स्टक एक्सचेन्जमा सूचिकृत हुँदै

    काठमाडौं । कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टलिजेन्स (एआई) क्षेत्रमा काम गर्ने नेपाली मूलका उद्यमीले सञ्चालन गरिरहेको कम्पनी फ्युज मेसिन अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने भएको छ । सन् २०१३ मा नेपाली व्यवसायी डा। समीर मास्केले सुरु गरेको यो कम्पनी विश्वकै प्रतिष्ठित स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने पहिलो नेपाली मूलको कम्पनी हुने भएको छ ।

    अमेरिकामा मुख्यालय रहेको फ्युज मेसिनले नेपाल, डोमिनिक रिपब्लिकलगायतका देशमा कार्यालय स्थापना गरी कार्य गरिरहेको छ । नास्डाकमा सूचीकृत हुने लक्ष्यसहित फ्यूज मेसिन र सीएसएलएम एक्विजिसन कम्पनीबीच मर्जर सम्झौता भएको छ । सीएसएलएम नास्डाकमा सूचीकृत भई कारोबार गरिरहेको कम्पनी हो ।

    सम्झौतापछि फ्युज मेसिनले चालु पुँजी प्रयोजनका लागि सीएसएलएमबाट झण्डै २ करोड अमेरिकी डलर लगानी प्राप्त गर्ने छ । फ्यूज मेसिनका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मास्केले सो रकमले नयाँ प्रोडक्ट विकास गर्न सहयोग पुग्ने बताएका छन् । फ्यूज मेसिनको कुल मूल्याङ्कन २ सय मिलियन अमेरिकी डलर (२५ अर्ब रुपैयाँ) हुने गरी नयाँ कम्पनी मर्जरको सम्झौता भएको डा. समीर मास्केले बताएका छन् ।

    सन् २०२४ को दोस्रो त्रैमासको अन्त्यसम्ममा नास्डाकमा सूचीकृत हुनेगरी मर्जर सम्झौतालाई अगाडि बढाइएको दुवै कम्पनीले जनाएका छन् । काठमाडौंमा जन्मिएका डा। मास्केले अमेरिकी विश्वविद्यालयबाट उच्च शिक्षा हाँसिल गरी आर्टिफिसियल इन्टलिजेन्सका क्षेत्रमा काम गर्दै आएका थिए ।

    उनी कोलम्बिया विश्वविद्यालयका एसोसिएट प्रोफेसरसमेत रहेका छन् । नास्डाकमा सूचीकृत हुनु आफ्नो कम्पनीका लागि ठूलो कोसेढुंगा भएको बताउँदै मास्केले नेपाली मूलको कम्पनी सूचीकृत हुनु आफैंमा ऐतिहासिक समेत भएको बताए ।

  • रुसी सेनामा भर्ति भएका थप एक नेपाली युवाको मृत्यु

    रुसी सेनामा भर्ति भएका थप एक नेपाली युवाको मृत्यु

    काठमाडौं । रुसी सेनामा थप एक जना नेपाली युवाको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएका रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले मोक्त्तानको मृत्यु भएको खबर परिवारलाई प्राप्त भएको नेपाली सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

    गत भदौमा रुसी सेनामा भर्ती हुन पुगेका उनको मृत्युको खबर गत पुस १२ गते परिवारलाई आइपुगेको थियो । मृतक मोक्तानसँगै रुसी सेनामा पुगेका साथीहरुले परिवारलाई उनको मृत्युको खबर पठाएका थिए । त्यसपछि उनकाबारे थप कुनै खबर आएको थिएन । मृतक पूर्व नेपाली आर्मी हुन् । उनको घरमा श्रीमती, आमा एक छोरा र एक छोरी छन् ।

  • युगान्डा भ्रमण पुरा गरी प्रधानमन्त्री आज स्वदेश फर्किने

    युगान्डा भ्रमण पुरा गरी प्रधानमन्त्री आज स्वदेश फर्किने

    काठमाडौं । युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै छन् । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भई उनी आज काठमाडौँ फर्कनु हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    गत माघ ४ गते युगान्डाको कम्पालामा आयोजित सम्मेलनमा भाग लिन उनी नेपाली टोलीको नेतृत्व गर्दै त्यहाँ पुगेका हुन् । प्रधानमन्त्री दाहाल राति २ः४५ बजे कतार एयरवेजबाट दोहा पुगेका छन् । दोहाबाट नेपाल फर्किन लागेका उनी आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालसँगै परराष्ट्र मन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल लगायतको टोलीका सदस्य छन् ।

  • विजनेश भिसा लिन अब अध्यागमन धाउनु नपर्ने

    विजनेश भिसा लिन अब अध्यागमन धाउनु नपर्ने

    काठमाडौं । बिजनेस भिसा लिन अब अध्यागमन विभाग जान नपर्ने भएको छ । अध्यागमन विभागका महानिर्देशक रूद्रसिंह तामाङका अनुसार विभागले उद्योग विभाग अन्तर्गत रहेको एकल विन्दु सेवा केन्द्रबाट सेवाग्राहीले बिजनेस भिसा प्राप्त गर्ने व्यवस्था मिलाएको छ । बिजनेस भिसामा जानेहरूले उद्योग विभागमा इन्ट्री गरेपछि त्यहीँबाट अनलाइनमार्फत अध्यागमन कार्यालयले विवरण प्राप्त गर्ने र डकुमेन्टका आधारमा अनलाइनबाटै भिसा जारी हुने व्यवस्था गरिएको महानिर्देशक तामाङले बताए ।

    यो सेवा माघ २ गतेदेखि नै सुरू भएको र यसले विभागमा इन्ट्री गरेपछि अध्यागमन गएर स्वीकृत गरी फेरि विभागमै जानुपर्ने अवस्थाको अन्त्य भएको उनले बताए । अब डकुमेन्ट भेरिफाइ गर्नुपरेको खण्डमा मात्र अध्यागमन कार्यालय जानुपर्ने महानिर्देशक तामाङले जानकारी दिए।

    विभागले चाँडै अनलाइन भुक्तानीको सुविधा पनि ल्याउन लागेको छ। त्यसका लागि मोबाइल एप्स बनाउने काम पनि अन्तिम चरणमा रहेको महानिर्देशक तामाङले बताए। अनलाइन भुक्तानीको प्रयोग सफल रहेमा नेपालमा पनि इ(भिसा सुरू गरिने उनले बताए। यसले नेपाल घुम्न आउने विदेशीहरूलाई धेरै सहज हुनेछ। यसबाट नेपाल आउने पर्यटकको संख्या वृद्धि गर्न पनि सघाउन पुग्ने महानिर्देशक तामाङको भनाई छ ।

  • घाना र न्यूयोर्कमा सम्मानित भए जिपी कोईराला फाउण्डेशनका अध्यक्ष घिमिरे

    घाना र न्यूयोर्कमा सम्मानित भए जिपी कोईराला फाउण्डेशनका अध्यक्ष घिमिरे

    न्यूयोर्क। जिपी कोईराला फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे घाना र न्यूयोर्कमा सम्मानित भएका छन् । न्युयोर्कस्थित साउथ एसियन समुदायको सबै भन्दा पुरानो संस्था न्यु( अमेरिकन डेमोक्रेटिक क्लब लगायत न्यु अमेरीकन युथ फोरम र न्यु अमेरिकन ओमेन्स फोरमले विशिष्ट व्यक्तिलाई सम्मान गरेको हो । सो क्रममा न्युयोर्कमा आयोजित एक कार्यक्रममा घिमिरेलाई साउथ एशियन एक्टिभिष्ट अफ द एअर प्रदान गरियो ।

    न्युयोर्क कुईन्सस्थित जमैका हिलसाईडको ताजमहल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । सम्मान कार्यक्रममा नेपाली समुदायबाट घिमिरे सम्मानित भएका हुन् । घिमीरेले फाउन्डेशनमार्फत समाजमा पुर्याएको योगदान र अमेरिकामा दक्षिण एसियाली समुदायमा शान्ति र प्रगतिको साथ विविधतामा एकताको पुल निर्माण गरेको भन्दै सम्मान गएिको हो ।

    आयोजक संस्थाका अध्यक्षहरू क्रमशःमोर्सद आलम,रूवीयन रहमन् र आहानाफ आलमले घिमिरेलाई सम्मान गरे । फाउण्डेशनका अध्यक्ष घिमिरे भर्खरै अफ्रिकी देश घानामा मानवीय पुरस्कार ग्लोबलद्वारा सम्मानित भएका थिए । सम्मान गत १४ तारिक आईतबार गरिएको हो ।


    कार्यक्रममा कांग्रेस ओमन ग्रेस मिंगले घिमिरेलाई छुट्टै सम्मानपत्रद्वारा सम्मान गरेकी थिईन । डिनर सहित आयोजित कार्यक्रममा प्रमुख अतिथि माननीय कंग्रेसओमेन ग्रेस मींग न्युयोर्कका सिनेटर ज़ोन लु, लेरोय काम्री, न्यु योर्कका ऐसेम्बली मेम्बर क्रमशः स्टिभन रागा, जोहरन मम्दानी र अलिसीया हाईन्डमान, न्यु(योर्क शहरको काउन्सिल मेम्बर क्रमशः शेखर कृष्णन, लिण्डा लि र सान्ड्रा आगं लगायत उपस्ुिथत थिए ।

    अमेरिकी नेपाली, वंगलादेशी, भारतीय, पाकिस्तानी, श्री लंकान भुटानिस र अफगानी र गायनीज लगायत दक्षिण एशियाई मुलुकका सक्रिय व्यक्तिहरु कार्यक्रममा उपस्थित थिए । कार्यक्रममा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता रामचन्द्र अधिकारी, सदस्यहरू राजीव बतास, शेखर कार्की, गीता अधिकारी, कवि र साहित्यकार कमला प्रशांई, बाल कवि कविन बिक्रम शाह, समाजसेवीहरू कमला पन्त, किरण पौडेल, पुर्व सांसद विजुल विश्वकर्मा, नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष नीशा सुनार उपस्थित थिइन् ।

    साथै, नेपाली अमेरिकन कलाकार संघकी वरिष्ठ उपाध्यक्ष वसन्ती राई, लोक गायिका संगीता थापामगर, वरिष्ठ लोक गायक बिमल डांगी, वरिष्ट हास्यकलाकार महादेव त्रिपाठी, १८ औं पटक गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स विजेता पार्कर दिनेश सुनार, गायक सुवर्ण शाक्य लगायत दर्जनौं नेपाली समाजिक अभियन्ता तथा कलाकार उपस्थित थिए । कार्यक्रममा फिलीपिनो नृत्य र नेपाली नृत्य एवं प्रहशन गरिएको थियो ।

  • सार्कलाई सक्रिय बनाउनेबारे नेपाल र श्रीलंकाका सरकार प्रमुखबीच छलफल

    सार्कलाई सक्रिय बनाउनेबारे नेपाल र श्रीलंकाका सरकार प्रमुखबीच छलफल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटावार्ता भएको छ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको १९ औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका प्रधानमन्त्री दाहाल र राष्ट्रपति विक्रमासिंघेबीच दुईपक्षीय प्रतिनिधिमण्डलको भेटवार्ता भएको हो । भेटवार्तामा प्रधानमन्त्री दाहालले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलंका एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य र हितका मामिलामा समेत दुवै देश एक ठाउँ उभिन आवश्यक रहेकोमा जोड दिएका थिए ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री दाहालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकोमा जोड दिँदै त्यसका निम्ति साझा भूमिका खेल्नुपर्ने बताएका थिए । उनले सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयहरू सम्बोधन गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए ।

    भेटवार्तामा श्रीलंकाका राष्ट्रपति विक्रमासिंघेले सार्कलाई सक्रिय तुल्याउन आफूहरूको सहयोग रहने बताउँदै क्षेत्रीय हित र साझा आर्थिक क्रियाकलापमा नेपाल र श्रीलंकाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । नेपाल र श्रीलंका सार्कका सदस्य राष्ट्र हुन् । भेटवार्तामा प्रधानमन्त्री दाहालसँगै नेपाली प्रतिनिधिमण्डलका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साललगायत परराष्ट्र मन्त्रालयका अधिकारीहरू उपस्थित थिए ।

  • सन् २०२३ मा स्थायी बसोबासको अनुमति लिएर अमेरिकामा मात्र गए २१ हजार नेपाली

    सन् २०२३ मा स्थायी बसोबासको अनुमति लिएर अमेरिकामा मात्र गए २१ हजार नेपाली

    काठमाडौं । सन् २०२३ मा स्थायी बसोबासको अनुमतिपत्र (पीआर) लिएर नेपालबाट अमेरिकामा मात्र २१ हजार नेपाली गएको पाइएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यस वर्ष स्थायी बसोबासको् पीआर लिएर विदेश गएका झन्डै ७१ हजार मानिसमध्ये अमेरिकामा मात्र २१ हजार मानिस पुगेका हुन् । नेपालीहरु १०९ वटा देशमा पुगेका छन् । नेपालीहरू विकसित भनिएका अमेरिका, ब्रिटेन, स्विट्जरल्याण्डदेखि राजनीतिकरूपमा अस्थिर अफ्रिकाका इथिओपियासम्मका विभिन्न देश सन् २०२३ मा पुगेको अध्यागमन विभागको तथ्याङ्क छ।

    अध्यागमन विभागका अनुसार सो हैसियतमा यात्रा गर्ने पुरुषहरूको सङ्ख्या महिलाभन्दा करिब २५ सयले बढी छ। स्थायी बसोबासको अनुमतिपत्र लिएर नेपालबाट बाहिरिने अधिकांश नेपालीहरू अमेरिका, युरोप र एशियाका आकर्षक भनिएका गन्तव्यहरूमा गएको अध्यागमन विभागको तथ्याङ्कले देखाउँछ।

    स्थायी रूपमा नै मुलुक छाडिरहेका नेपालीहरूको वास्तविक आँकडा बाहिर ल्याउन सन् २०२३ मा पहिलो पटक सरकारले अलग्गै किसिमले अभिलेख राखेर उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । स्थायी बसोबासको अनुमतिपत्र लिएर विभिन्न १०९ देशका लागि सन् २०२३ मा ३६ हजार ६७२ पुरुष, ३४ हजार २६७ महिला र १ जना अन्य लैङ्गिक पहिचान भएका व्यक्ति बाहिरिएको देखिन्छ।

    त्यसमध्ये झन्डै २१ हजार संयुक्त राज्य अमेरिका गएको तथ्याङ्कले देखाउँछ। त्यसपछि संयुक्त अधिराज्य र नर्दर्न आयरल्याण्डमा गरी १६ हजार २ सय भन्दा बढी अनि हङकङमा ११ हजार बढी नेपाली पीआर लिएर यात्रा गरेका छन्। उक्त सूचीको चौथो स्थानमा नेपाली विद्यार्थीहरूको बढ्दो चाप रहेको अस्ट्रेलिया छ जहाँ ८ हजारभन्दा बढी पीआरवाहक गएको देखिन्छ।

    २६ सयभन्दा बढी नेपाली पीआर वाहक सन् २०२३ मा जापान गएको तथ्याङ्कले देखाउँछ। क्यानडा, पोर्चुगल, जर्मनी, न्यूजील्याण्ड र यूएई पीआर बोकेर नेपालीहरूले यात्रा गर्ने प्रमुख १० देशमा पर्ने सो आँकडाले देखाउँछ। उक्त आँकडा अनुसार झन्डै ३०० नेपालीहरू सन् २०२३ मा स्थायी अनुमतिपत्र वाहकको हैसियतमा भारत पुगेको सरकारी तथ्याङ्कले देखाउँछ। नेपालीहरूसँग दक्षिण एशियाका भुटान, बाङ्ग्लादेश, पाकिस्तान र श्रीलङ्कासहित विभिन्न देशका पीआर रहेका पनि उक्त विवरणमा उल्लेख छ।

    चीनमा १०६ जना, ताइवानमा ३६ जना र मकाओमा २० जना नेपालीहरू पीआरसहित त्यहाँ सन् २०२३ मा पुगेका थिए। अध्यागमन विभागका अनुसार सन् २०२३ मा २ लाख ४ हजारभन्दा बढी नेपाली पर्यटनको उद्देश्यसहित विदेश गएका थिए। पीआरसहित विभिन्न प्रयोजनले नेपालबाट बाहिरिने नेपालीहरूको सङ्ख्या १६ लाख ०३ हजारभन्दा बढी थियो ।

  • रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता पठाइदिन परराष्ट्र मन्त्रीको आग्रह

    रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता पठाइदिन परराष्ट्र मन्त्रीको आग्रह

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुससँग त्यहाँको सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन् । साथै उनले नेपाली नागरिकहरुलाई रूसी सेनामा भर्ना नलिन पनि अनुरोध गरेका छन् । युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री साउदले रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग भेटघाट गरेका थिए । भेटका क्रममा परराष्ट्रमन्त्री साउदलेकेही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको बताए । उनले अघि भने, ‘रुसलाई हामीले नेपाली नागरिक भर्ना नगर्न आग्रह गरेका छौँ ।’

    युक्रेनसँग भएको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि आग्रह गरे । ‘रुसमा मृत्यु भएका व्यक्तिका परिवार धेरै पीडामा छन् । आफन्तको शव प्राप्त गरी आफनो संस्कृतिअनुसार अन्त्येष्टि गर्ने परिवारको चाहनालाई सम्मान गर्नु हाम्रो मानवीय दायित्व हो, उनले भने, नेपाली नागरिकका शवलाई चाँडै स्वदेश फिर्ता गर्न हार्दिक अनुरोध गर्दछौं ।’ जवाफमा रुसी उपविदेशमन्त्रीले परराष्ट्रमन्त्री साउदले उठाएका विषयहरू सम्बोधनका लागि पहल गर्ने बताएका छन् ।

  • हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न प्रधानमन्त्रीको अपिल

    हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न प्रधानमन्त्रीको अपिल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूलाई आह्वान गरेका छन् । ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको ‘नाम’ को १९ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, “म ‘नाम’ का साथीहरूलाई हाम्रो आह्वान–हिमालयको आह्वानलाई समर्थन गर्न आह्वान गर्दछु । हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु हाम्रो साझा हितमा छ ।”

    पहाडहरू विश्वव्यापी जनसङ्ख्याको १५ प्रतिशत र पृथ्वीको जैविक विविधताको ५० प्रतिशतको घर उल्लेख गर्दै प्रधानमन्त्रीले सबै जीवित प्राणीहरूलाई यसले विश्वव्यापी सेवाहरू प्रदान गर्ने बताए । हिमाली देश नेपालले हिमाल, हिमाली पारिस्थितिक प्रणाली र त्यहाँ बसोबास गर्ने जनताको संरक्षणका लागि वकालत गर्दै आएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनको विनाशकारी प्रभाव कारण डरलाग्दो दरमा घट्दै गएको हिमनदीहरूका स्वरुप र यसले अरबौंको जीवन र जीविकोपार्जनमा ल्याउने अनगिन्ती पीडाको आफूहरु शाक्षी रहेको स्पष्ट पारे ।


    असंलग्न मूल्य र सिद्धान्तप्रति हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले साझा समृद्धिका लागि अत्यन्त इमान्दारी सद्भाव, ऐक्यबद्धता र सहयोगका साथ काम गर्नुपर्नेमा जोड दिए । उनले भने, “कसैलाई पनि पछि नछोडी न्यायपूर्ण, समतामूलक, शान्तिपूर्ण, दिगो र समृद्ध विश्व निर्माण गर्न ‘नाम’ लाई बलियो बनाऔँ ।”

  • युगाण्डामा प्रधानमन्त्रीको सम्बोधन : प्यालेस्टाइन र इजरायलबीचको युद्ध रोक्न आह्वान

    युगाण्डामा प्रधानमन्त्रीको सम्बोधन : प्यालेस्टाइन र इजरायलबीचको युद्ध रोक्न आह्वान

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसङ्घको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सिमाभित्र शान्ति-सुरक्षाका लागि उभिन चाहेको बताएका छन् । ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको ‘नाम’ को १९ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘विश्वको ६० प्रतिशतभन्दा बढी राष्ट्रसङ्घका सदस्य, विश्वका आधाभन्दा बढी जनसङ्ख्या र संयुक्त राष्ट्रसङ्घपछि सबैभन्दा बढी प्रतिनिधि रहेको यस संस्थाले विश्व शान्ति र सुरक्षाको लागि उपयुक्त भूमिका निर्वाह गर्नुपर्छ ।’

    सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिँदै प्रधामन्त्री ‘प्रचण्ड’ले समय नेपाल शान्तिप्रिय देश भएकाले विश्वमा भएका सबै प्रकारका द्वन्द्व र भू(राजनीतिक प्रतिद्वन्द्वको निन्दा गर्ने बताए ।

    उनले भने, ‘युक्रेन र गाजामा भइरहेको द्वन्द्व अत्यन्त पीडादायी छ । नयाँ र पुराना द्वन्द्वका नतिजाले यस क्षेत्रलाई नभई सम्पूर्ण विश्व र विशेषगरी दक्षिण विश्वलाई घेरेको छ । त्यसैले यो सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्ने समय हो ।’

    नेपालले सार्वभौम समानता, आपसी सम्मान, पारस्पारिक लाभ र विवादको शान्तिपूर्ण समाधानमा आधारित सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको स्पष्ट पार्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘असम्लग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तहरूमध्ये एक हो ।’

    ‘नाम’ का निरन्तरको मूल्यमान्यता र सिद्धान्तहरु पवित्र रहेको उल्लेख गर्दै उहाँले यसको पालनाले हामीलाई शान्तिमय, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्ग निर्देश गरिरहेको बताए ।

    उनले भने, ‘नेपाल शान्तिका प्रतीक गौतम बुद्धले दिक्षित गरेको शान्तिपूर्ण सहअस्तित्वको शाश्वत सत्यमा विश्वास गर्दछ । विविधतामा एकता र वसुधैव कुटुम्बकम अर्थात् ‘विश्व एउटै परिवार’ हाम्रो जीवन पद्धती बनेको छ । यी मूल्यमान्यताहरू हाम्रा सामाजिक-सांस्कृतिक परम्परामा परापूर्वकालदेखि नै स्थापित हुँदै आएका छन् ।’

  • युगाण्डामा बस्ने नेपाली समुदायसँग प्रधानमन्त्रीको अन्तर्क्रिया

    युगाण्डामा बस्ने नेपाली समुदायसँग प्रधानमन्त्रीको अन्तर्क्रिया

    माघ ४, कम्पाला। असंलग्न आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा भाग लिन बिहीबार बेलुकी युगाण्डाको कम्पाला पुगेका  प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युगाण्डामा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तर्क्रिया गरेका छन् ।

    सो अवसरमा  प्रधानमन्त्री प्रचण्डले भने, “युगाण्डामा मेरो पहिलो भ्रमण हो। तपाईहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ। यहाँ तपाईहरूले केही कुरा उठाउनुभयो। ती महत्वपूर्ण छन्। हिजोमात्रै मैले गृह मन्त्रीजीसँग गरेको छलफलबाट  भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरिएको छ। केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतहरू बोलाएर कुरा गरिएको छ।”

    उनले  भेटघाट तथा अन्तरक्रियाबाट आफुले विदेशमा रहेका नेपालीहरूका दुखकष्ट बुझ्ने अवसर पाएको भन्दै देशको विकास र समृद्धिका लागि महत्वपूर्ण भूमिका खेलिरहेका विदेशमा बस्ने नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन नसक्ने बताए ।


    कार्यक्रममा गैरआवासीय नेपाली संघ युगाण्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्री लगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभावकत्व महसुस भएको बताइन ।
    गैरआवासीय संघका युगाण्डाका संरक्षक रमेश कंडेलले युगाण्डामा ३५० जनाभन्दा बढी नेपाली रहेको जानकारी गराउए ।

  • असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री युगाण्डा प्रस्थान

    असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री युगाण्डा प्रस्थान

    काठमाडौँ। असंलग्न आन्दोलनका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगाण्डा प्रस्थान गरेका छन् ।
    माघ ५ र ६ गते हुने असंलग्न आन्दोलनका राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री  बिहीबार राति २ः१५ बजे कतार एयरवेजको जहाजमार्फत कम्पाला प्रस्थान गरेका हुन् ।
    शिखर सम्मेलनमा सहभागी हुने नेपाली  प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीकी छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका अधिकारीहरू छन् । प्रधानमन्त्रीले असंलग्न राष्ट्रहरूको सम्मेलनलाई माघ ५ गते सम्बोधन गर्नेछन । उनी
    उहाँ माघ ७ गते नेपाल फर्किने कार्यक्रम छ।

  • यसियाली विकास बैङ्क र सरकारबीच २२ अर्ब सहायताको सम्झौता

    यसियाली विकास बैङ्क र सरकारबीच २२ अर्ब सहायताको सम्झौता


    काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी) बिच १६ करोड अमेरिकी डलर (करिब २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब ७० करोड बराबर) को अनुदान सम्झौता भएको छ ।

    सहरी जीवनयापन सुधार परियोजना (अर्बन रेजिलियन्स एन्ड लाइभाबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट) कार्यान्वयनका लागि आज अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा अर्थसचिव कृष्णहरि पुष्कर र एडिबीका नेपालका लागि देशीय निर्देशक आर्नोड कोस्वाले हस्ताक्षर गरे।

    सो परियोजना पोखरा महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकामा कार्यान्वयन हुनेछ । सम्झौतापत्रमा हस्ताक्षर पछि प्रतिक्रिया दिँदै अर्थसचिव पुष्करले यो परियोजना कार्यान्वयन हुने पालिकाको वित्तीय तथा समग्र प्राकृतिक पारिस्थितिक प्रणालीमा सकारात्मक प्रभाव पार्ने बताए ।

    महिला, सीमान्तकृत तथा अर्थसामाजिकरुपमा पिछडिएका समूहको लागि इन्टर्नसिप, सीप सुधार र स्थानीय कलालाई समर्थन गर्नमा पनि योगदान गर्ने उनको  भनाइ छ । एडिबीका देशीय निर्देशक कोस्वाले आज सम्झौता भएका परियोजनाले सम्बन्धित पालिकाको पूर्वाधारमा सुधार, पर्यटन सम्पदाको पुनरुत्थान र सुधारमा सहयोगी हुने अपेक्षा गरिएको बताए ।

    पूर्वाधार निर्माण र आर्थिक क्रियाकलाप सञ्चालनसँगै राजस्व वृद्धि, डिजिटलरुपान्तरण र स्थानीय सरोकारवालाको क्षमता अभिवृद्धिका लागी सहयोग गर्ने उनको भनाइ छ । सम्झौता कार्यान्वयन पछि ती पालिकामा प्राकृतिक, सांस्कृतिक र सम्पदा पर्यटन सम्पदाको पुनः पुनरुत्थान गर्न, संस्थागत क्षमतालाई सुदृढ गर्न सहयोग गरेर परिवर्तनकारी प्रभाव पार्ने अपेक्षा गरिएको छ । यस परियोजनाले सम्बन्धित नगरपालिकाको लगानी योजनामा तोकिएका प्राथमिकतासँग मिलाएर पूर्वाधार विकास गर्ने जनाइएको छ । रासस 

  • प्रधानमन्त्री ४ माघमा युगाण्डा जाने

    प्रधानमन्त्री ४ माघमा युगाण्डा जाने

    काठमाडौं । असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ४ माघमा युगाण्डा जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव सेवा लम्साल, प्रधानमन्त्रीकी छोरी गंगा दाहालका साथै उच्च सरकारी अधिकारीहरु रहनेछन् ।

    ५ माघमा असंलग्न राष्ट्रहरुको सम्मेलनको एउटा सत्रमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने छन् भने सम्मेलनमा सहभागी राष्ट्रका प्रतिनिधिमण्डल प्रमुखहरुलाई युगाण्डाका राष्ट्रपतिले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनेछन् । सम्मेलनका क्रममा प्रधानमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । सम्मेलनअघि मन्त्रीस्तरीय बैठक भएकाले परराष्ट्रमन्त्री साउद भने २ माघमै युगाण्डा जाने छन् । प्रधानमन्त्री ७ माघमा स्वदेश फर्किने कार्यक्रम छ ।

  • रेमिट्यान्समा उत्साह कायमै, एकै महिनामा भित्रियो १३५ अर्ब

    रेमिट्यान्समा उत्साह कायमै, एकै महिनामा भित्रियो १३५ अर्ब

    काठमाडौं । नेपालबाट कामको खोजिमा विदेश पुगेका नेपालीले पठाउने रेमिट्यान्स उत्साह कायम छ । चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाह मासिक एक खर्ब भन्दा माथि भित्रिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

    यस अनुसार यस वर्ष हरेक महिना १ खर्ब रुपैयाँ भन्दा माथि रेमिट्यान्स आएको छ । मंसिर महिनामा मात्र १ खर्ब ३५ अर्ब २९ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको छ । कात्तिक मसान्तसम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रहेको रेमिट्यान्स मंसिर मसान्तमा पुग्दा ६ खर्ब नाघेको हो । नेपाल राष्ट्र बैंकका अनुसार मंसिरसम्मको रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा २७.६ प्रतिशत धेरै हो । अघिल्लो वर्ष रेमिट्यान्स २३ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४ अर्ब ६२ करोड रहेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा २४.५ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो । यस अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने गत वर्षको तुलनामा कम रहेको छ । यस वर्ष ५ महिनामा १ लाख ७३ हजार ५५५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । गत वर्ष यो संख्या २ लाख ३६ हजार ७७९ रहेको थियो । पुनः श्रम स्वीकृति लिनेको संख्या यस वर्ष १ लाख ४ हजार ३७ रहेको छ । गत वर्ष यसै अवधिमा १ लाख १५ हजार ९४८ रहेको थियो ।

  • नेपालबाट पढ्न जाने विद्यार्थीसँगै ५ महिनामा विदेशियो ४७ अर्ब ३५ करोड

    नेपालबाट पढ्न जाने विद्यार्थीसँगै ५ महिनामा विदेशियो ४७ अर्ब ३५ करोड

    काठमाडौं । नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीले ५ महिनामा ४७ अर्ब ३५ करोड रुपैयाँ विदेश पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को मंसिर मसान्तसम्म भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड रुपैयाँ विदेशिएको छ । यसमध्ये शिक्षाका लागि मात्र ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको हो । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १८ अर्ब ५४ करोड बढी हो । गतवर्ष ५ महिनामा शिक्षामा २८ अर्ब ८१ करोड विदेशिएको थियो ।

    नेपाल राष्ट्र बैंकका अनुसार सेवा खाता अन्तर्गत भ्रमण व्यय ५९.५ प्रतिशतले बढेको छ । भ्रमण आय भने ४७.५ प्रतिशतले मात्र बढेको छ । जसका कारण खुद सेवा आय अझै पनि २६ अर्ब ९३ करोडले घाटामा रहेको देखिएको छ । अघिल्लो वर्षको यसै अवधिमा खुद सेवा आय ३० अर्ब ९६ करोडले घाटामा थियो । तथ्यांक अनुसार सेवा खाता अन्तर्गत भ्रमण आय ४७.५ प्रतिशतले बढेर ३३ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ ।

  • प्रधानमन्त्री प्रचण्ड माघमा युगाण्डा भ्रमणमा जाने

    प्रधानमन्त्री प्रचण्ड माघमा युगाण्डा भ्रमणमा जाने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले युगान्डा भ्रमण गर्ने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णयले उनको भ्रमण स्वीकृत गरेको हो । सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले युगान्डाको राजधानी कम्पालामा माघ ५ र ६ गते आयोजना हुने असंलग्न आन्दोलनका विजयी राष्ट्रहरूको १९ औँ सम्मेलनमा भाग लिने छन् ।

    त्यसअघि माघ ३ र ४ गते हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री एनपी साउद र माघ १ र २ गते हुने पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ ।

  • अमेरिका पठाइदिन्छु भनेर साढे २३ लाख ठगेको आरोपमा महिला पक्राउ

    अमेरिका पठाइदिन्छु भनेर साढे २३ लाख ठगेको आरोपमा महिला पक्राउ

    काठमाडौं । अमेरिका पठाइदिन्छु भनेर २३ लाख ५० हजार ठगेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महत छिन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीका अनुसार बेन्जुले अमर बहादुर पुन नाम गरेका एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र त्यसका लागि ५० लाख रूपैयाँ लाग्ने बताएकी थिइन्।

    रामबहादुरबाट पटकपटक गरी २३ लाख ५० हजार रूपैयाँ लिएपछि उनी सम्पर्कविहीन बनेकी थिइन्। ठगिएका अमरबहादुरको उजुरीपछि बेन्जुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी रेग्मीले जानकारी दिए।

  • विदेश जाने श्रमिकमाथि थप भार नथप्न प्रधानमन्त्रीले दिए निर्देशन

    विदेश जाने श्रमिकमाथि थप भार नथप्न प्रधानमन्त्रीले दिए निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रमिकमाथि आर्थिक भार थप्ने गरी कुनै निर्णय नगर्न र भएका निर्णयको कार्यान्वयन समेत नर्गन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा श्रममन्त्री शरतसिंह भण्डारी, सचिव केबलप्रसाद भण्डारी लगायतलाई निर्देशन दिंदै प्रधानमन्त्रीले प्रचण्डले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम लगायत अन्य तालिमहरु निःशुल्क रूपमै दिने व्यवस्था गर्न भनेका छन् ।

    पछिल्ला दिनमा श्रममन्त्री भण्डारीले श्रमिकको आर्थिक शोषण हुने र म्यानपावर व्यवसायीलाई ठगी गर्न बाटो खोल्ने गरी विभिन्न निर्णय गरिरहेका छन् । ७ सयको पूर्वप्रस्थान अभिमुखीकरणको शुल्क २८ सय रुपैयाँ पुर्‍याउने निर्णयप्रति प्रधानमन्त्रीले ध्यानाकर्षण जनाएका छन् ।

    पूर्वप्रस्थान अभिमुखीकरणका लागि वैदेशिक रोजगार बोर्ड वा सीप विकास तालिम प्रतिष्ठानबाट के कसरी स्रोत उपलब्ध गराउन सकिन्छ भन्नेबारे विस्तृत अध्ययन गरी श्रमिकको अधिकतम हितलाई ध्यानमा राखी कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन छ ।

    ‘हाल वृद्धि भएको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउनुहोला,’ प्रधामनन्त्रीले भनेका छन्,‘आन्तरिक वा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप सेवा शुल्क लगायत थप आर्थिक भार पर्ने कुनै प्रकारको काम नगर्ने नगराउने व्यवस्था गर्नुहोला ।’

    हालै बैदेशिक रोजगार बोर्ड र मलेसियाको फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर ९एफडब्लुडब्लूएमसी० बीच भएको वैदेशिक रोजगारका विषयमा भएको भनिएको सम्झौतालाई हाल कार्यान्वयन नगर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीले मन्त्रालयलाई निर्देशित गरेका छन् ।

    ‘दक्षिण कोरियाममा हाल ईपीएस प्रणालीबाट मात्र नेपाली श्रमिक पठाउने व्यवस्था भएकोमा ई–७ भिसालाई समेत सोही प्रणालीमा आवद्व गराउन कोरिया सरकारसँग भएका श्रम सम्झौता नवीकरणको कार्य प्रारम्भ गर्नुहोला,’ उनले भनेका छन् ।

  • माल्दिभ्स र भारतबीच किन चर्कियो द्धन्द्ध, पर्यटनमा कस्तो असर ?

    माल्दिभ्स र भारतबीच किन चर्कियो द्धन्द्ध, पर्यटनमा कस्तो असर ?

    काठमाडौं । भारत र माल्दिभ्सबीच चर्किएको वाकयुद्धले माल्दिभ्सको पर्यटनमा नकारात्मक असर पर्ने अनुमान गरिएको छ । माल्दिभ्सले भारत र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा आपत्तिजनक टिप्पणी गर्ने तीन मन्त्रीलाई निलम्बन गरिसकेको छ । तर, भारतमा ब्वाइकट माल्दिभ्स अभियान चलाइएको छ । यस अभियानलाई क्रिकेट र बलिउड सलिब्रेटीले समेत साथ दिएका छन् ।

    माल्दिभ्स भारतीय भीआइपी र सेलिब्रेटीहरुबीच लोकप्रिय गन्तब्य हो । पछिल्लो समय भारतीयहरुले हजारौं बुकिंग रद्द गरेको समाचार सार्वजनिक भइरहेका छन् । माल्दिभ्सका तीन जना मन्त्रीले सामाजिक सञ्जाल पोस्टमा प्रतिक्रिया दिँदै मोदीलाई विदूषक, आतङ्ककारी र इजरेलको कठपुतली भनेका थिए।

    मोदीबारे त्यस्तो टिप्पणी गरिएको भोलिपल्ट भारतले माल्दिभ्सका उच्चायुक्तलाई स्पष्टीकरण दिन बोलाएको थियो । माल्दिभ्सको विदेश मन्त्रालयका एक प्रवक्ताले ती टिप्पणीहरू व्यक्तिगत भएका र तिनले सरकारको धारणा प्रतिनिधित्व नगर्ने बताए। ती मन्त्रीहरूको टिप्पणीले भारतीय सामाजिक सञ्जालमा खैलाबैला मच्चाएको हो । सोमवार माल्दिभ्सका दिल्लीस्थित उच्चायुक्त इब्राहिम शाहिबलाई भारतीय विदेश मन्त्रालयबाट बाहिरिँदै गरेको देखिएको थियो।

    माल्दिभ्सका लागि भारतीय उच्चायुक्त पनि मालेमा त्यहाँको विदेश मन्त्रालय गएका थिए। तर भारतीय उच्चायुक्तको कार्यालयले मुनु महावर एउटा पूर्वनिर्धारित बैठकका लागि गएको बताएको छ। गत वर्ष सत्तामा आएका मुइज्जूले गत वर्ष झन्डै ७५ भारतीय सैनिकलाई माल्दिभ्स छाड्न आग्रह गरेपछि भारत र उक्त टापुराष्ट्रबीच तनाव उत्पन्न भएको थियो। निलम्बित हुनेमा मल्शा शरीफ, मरियम शिउना र अब्दुल्ला महजूम मजिद छन् ।

    उनीहरूलाई बर्खास्त गर्न माग गरिएको भए पनि माल्दिभ्सका सञ्चारमाध्यमहरूले ती मन्त्रीहरूलाई निलम्बन मात्र गरिएको जनाएका छन्। ती मन्त्रीहरूले मोदीले भारतको लक्षद्वीपका टापुहरूको पर्यटन प्रवर्धन गर्ने खालका तस्बिरसहित गरेको पोस्टमा त्यस्तो प्रतिक्रिया जनाएका थिए। शिउनाले भारतलाई गाईको गोबरसँग पनि तुलना गरिन्। केहीले माल्दिभ्समा बिदा मनाउन जाने आफ्नो योजना रद्द गर्ने घोषणा पनि गरे। गत वर्ष माल्दिभ्स जाने पर्यटकमध्ये सबैभन्दा ठूलो भाग भारतीयहरूको थियो।

    भारतीय टिकट बुकिङ साइट ईजमाईट्रिपका प्रमुख कार्यकारी अधिकृतले उनको कम्पनीले माल्दिभ्सका लागि सबै बुकिङ अहिलेका लागि स्थगित गरिएको बताएका छन्। माल्दिभ्स सफा बालुवायुक्त समुद्री तट र रिसोर्ट एवं मुगाबाट बनेका टापुका लागि प्रसिद्ध छ। बलीवुड कलाकार अक्षय कुमार र केही क्रिकेटरसहित प्रख्यात भारतीयहरूले माल्दिभ्सका मन्त्रीले गरेका ती टिप्पणीप्रति दुःख व्यक्त गरेका छन्।

  • सीएनआई र इण्डियन चेम्बर अफ कमर्सबीच सहकार्य गर्ने सहमति

    सीएनआई र इण्डियन चेम्बर अफ कमर्सबीच सहकार्य गर्ने सहमति

    काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) बीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने सम्बन्धी दुई वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । युनियन अफ एसियन चेम्बर (यूएसी) र समावेशीता तथा लैंगिक समानताका लागि सहकार्य गर्ने विषयमा समझदारी गरिएको हो । नेपाल उद्योग परिसंघले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र इण्डियन चेम्बर अफ कमर्सका अध्यक्ष अमेया प्रभुले हस्ताक्षर गरे ।

    साझेदारीले नेपाल र भारतबीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्न सरोकारवालालाई प्लेटफर्म प्रदान गर्ने बताइएको छ । दुई देशबीच द्विपक्षीय सम्बन्ध विस्तार तथा पारस्परिक हितका लागि सहकार्य हुने समेत सीएनआईले जनाएको छ । कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले नेपालमा पर्यटन, जलविद्युत्, सूचना प्रविधि लगायत क्षेत्रमा लगानीको अवसर रहेको भन्दै नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरुलाई आग्रह गरे ।

    इण्डियन चेम्बर अफ कमर्सका अध्यक्ष प्रभुले नेपाल र भारतबीचको सम्बन्धलाई महत्व दिंदै दुवै देशले संयुक्त उद्यम र साझेदारीको हरेक अवसरको सदुपयोग गर्नुपर्ने बताए । पारस्परिक समृद्धि र दिगो विकासका लागि यस्ता सहकार्यको रणनीतिक महत्व रहेको उनको भनाइ थियो ।

    परिसंघका उपाध्यक्ष निर्माण चौधरीले क्षेत्रीय व्यावसायिक विकासमा यूएसीको महत्वबारे प्रकाश पारे । उनले यूएसीले एसियन राष्ट्र बीचमा आर्थिक सहकार्य तथा साझेदारी विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । परिसंघका उपाध्यक्ष अमित मोरले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई सुदृढ गर्ने र क्षेत्रीय सहयोगलाई प्रवर्द्धन गर्न यो सहकार्य सहयोगी हुने बताए ।

  • यूरोपेली मुलुकमा अब संस्थागत रुपमै कामदार पठाउन पाइने

    यूरोपेली मुलुकमा अब संस्थागत रुपमै कामदार पठाउन पाइने

    काठमाडौं । यसअघि व्यक्तिगत श्रम स्वीकृति लिएर आफुखुसी युरोप गइरहेका नेपालीका लागि सरकारले सहजीकरण गरिदिएको छ । सरकारले संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत कामदार पठाउन कानुनी बाटो खोलिदिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि २०८०’ सार्वजनिक गर्दै संस्थागत माग पत्र प्रमाणीकरण प्रक्रियाको बाटो खुलेको छ ।

    कार्यविधिमा मागपत्र जाँचबुझ गरी प्रमाणीकरण गर्न श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा ५ सदस्यीय मागपत्र प्रमाणीकरण समिति बनाउने बताएको छ । समितिमा रोजगारदाताले कामदारलाई उपलब्ध गराउने पारिश्रमिक एवम् सेवा सुविधा र विगत तीन महिनाको पारिश्रमिक वितरणको अवस्था, कामदारको कार्यस्थल, आवास, स्वास्थ्य र सुरक्षासम्बन्धी अवस्था, रोजगारदाता कालोसूचीमा परे नपरेको विवरण, रोजगारदाताको वैधानिकता, रोजगारदाताले श्रम गन्तव्य मुलुकको सरकारबाट प्राप्त नेपाली कामदार र माग गर्न दिएको स्वीकृतिसम्बन्धी कागजात पेस गर्नुपर्ने हुन्छ ।

    त्यसरी मागपत्र प्रमाणीकरण भएमा खाडी क्षेत्र र मलेसियाका रोजगारदाताले एकसय जनाभन्दा कम कामदार लैजान चाहेमा ४० हजार रुपैयाँ, एकसयभन्दा माथिका लागि ६० हजार रुपैयाँ पेस गर्नु पर्ने हुन्छ । त्यस्तै, पूर्वी एसिया, जापान, कोरिया, इजरायल लगायतका देशहरुमा एकसयभन्दा कमका लागि ५० हजार र एकसयभन्दा बढीका लागि ७५ हजार रुपैयाँ पेस गर्नुपर्नेछ । युरोप तथा बाँकी अरु देशमा एकसयभन्दा कमका लागि ३५० यूएस डलर र एकसयभन्दा बढीका लागि ५ सय डलर राजस्व बुझाउनुपर्ने कार्यविधिमा उल्लेख छ ।

    कार्यविधिमा संस्थागत माग पत्र पेस भएको १५ दिनभित्र दूतावासले प्रमाणीकरण नगरेमा सिधै श्रम मन्त्रालयले हेर्ने व्यवस्था गरिएको छ । यसअघि वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५ अनुसार दूतावासबाट मागपत्र प्रमाणित भएपछि मात्रै कामदार भर्ना प्रक्रिया शुरु हुन्थ्यो । अब संशोधित व्यवस्थाअनुसार युरोपसहित गन्तव्य देशको रोजगारदाताले नेपाली कामदार ल्याउनको लागि नेपाली दूतावासमा मागपत्र प्रमाणीकरणका लागि पेस गर्नुपर्ने हुन्छ ।

    १५ दिनभित्र जाँचबुझ भइ नआएको अवस्थामा प्राप्त रोजगारीका अवसर गुम्न नदिन एवम् वैदेशिक रोजगारलाई विश्वसनीय र व्यवस्थित बनाउनका लागि मन्त्रालयमा नै मागपत्र पेस गर्न सकिने नयाँ व्यवस्था गरिएको छ ।

  • नेपालले रुस र युक्रेनमा श्रम स्वीकृति रोक्यो

    नेपालले रुस र युक्रेनमा श्रम स्वीकृति रोक्यो

    काठमाडौं । सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ । वैदेशिक रोजगार विभागले यस्तो जानकारी गराएको हो । विभागका अनुसार अब संयुक्त अरब इमिरेट्स (यूएई) बाट पनि नेपालीहरु रुस जान पाउने छैनन् । वैदेशिक रोजगार विभागले रुस र युक्रेनमा भएको युद्ध र त्यसमा नेपाली मारिएको घटना सार्वजनिक भइरहेको प्रसंग उल्लेख गर्दै श्रम स्वीकृति रोकेको बताएको छ ।

    ‘हाल रसिया तथा युक्रेनबीच युद्ध भइरहेको तथा नेपाली नागरिक रुसी सेनामा भर्ना भई युद्धमा दुःखद् निधन भएका समाचार विभिन्न समाचारपत्रमा आइरहेको सन्दर्भमा,’ विज्ञप्तिमा भनिएको छ, ‘अध्ययन तथा छानबिनसमेत भइरहेकोले वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगत रूपमा नेपाली नागरिक रसिया जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गरी हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ ।’ यूएईको राजधानी आबुधाबीस्थित नेपाली दूतावासले पनि यूएईबाट रुसको यात्रा गर्न दूतावासको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) चाहिने जनाएको छ ।

    रुसी सेनामा भर्ना हुन गएका मध्ये ठूलो संख्या यूएईमा कार्यरत नेपाली रहेको पुष्टि भएको छ । अहिले मारिएका अधिकांश नेपाली यूएईको सुरक्षा गार्डदेखि बाइक राइडरसम्म छन् । ‘सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति र पेसा व्यवसायमा संलग्न भएका बाहेक यूएईमा बसोबास गर्ने नेपालीले रुस भ्रमण गर्नुपरेमा यस दूतावासबाट एनओसी लिएर मात्रै यात्रा गर्नुहुन नेपाल सरकारको निर्णयअनुसार सबैमा अपिल गरिन्छ,’ बिहीबार दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    रुसी सेनामा भर्ती भई युक्रेनसँग लड्ने नेपालीको संख्या बढेपछि सरकारले श्रम स्वीकृतिमा रोक लगाएको बताइएको छ । युक्रेनी सेनामा समेत नेपालीको संलग्नता हुने सम्भावना बढेपछि युक्रेनसमेत जान रोक लगाइएको छ । विभागले रुस जानका लागि मंसिरमा ४० जनालाई श्रम स्वीकृति दिएको थियो । विभागका अनुसार श्रमस्वीकृति लिएर पछिल्लो १७ महिनामा ६ सय ३६ नेपाली रुस गएका छन् ।

    सबैभन्दा बढी पछिल्लो ५ महिनामा ३ सय ४४ जना गएको देखिन्छ । साउनमा ५३, भदौमा १ सय ६१, असोजमा ४७ र कात्तिकमा ४३ नेपाली रुस गएका छन् । अध्यागमन विभागका अनुसार २०२२ को जनवरीदेखि नोभेम्बर २०२३ सम्म अध्ययन, श्रम र भिजिट भिसामार्फत २९ सय जना रुस गइसकेका छन् ।

    रुस र युक्रेनबीच २ वर्षदेखि करिब १७ सय किलोमिटर फ्रन्टलाइन (सीमाक्षेत्र) मा युद्ध चर्किरहेको छ । रुस–युक्रेन युद्धपछि झन्डै १२ सय नेपालीले युक्रेन छाडेका थिए । युक्रेनविरुद्धको युद्धपछि रुसले नेपालीलाई आफ्नो सेनामा भर्ती गराइरहेको छ । रुसले सैन्य समूहमा न्यूनतम एक वर्ष सेवा गर्ने विदेशीलाई नागरिकता नै दिने र अन्य सेवामा भन्दा चार गुणा बढी तलब दिने गरी कानुन जारी गरेपछि नेपाली युवाको आकर्षण बढेको छ ।

    रुसी सेनामा भर्ती हुनेमा अधिकांश पूर्वनेपाली सेना, पूर्वप्रहरी, पूर्वमाओवादी लडाकु छन् । रुसी सेनामा भर्ती भएका नेपालीले कम्तीमा ७ सय नेपाली भर्ना भइसकेको दाबी गरेका छन् । तर, सरकारले भने दुई सय नेपाली मात्र रुसी सेनामा भर्ना भएको दाबी गर्दै आएको छ ।

    केही समयअघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरूको जानकारीमा दुई सय नेपाली रहेको बताएका थिए । विभिन्न प्रलोभनमा परेर रुसी सेनामा भर्ना भएका नेपालीमध्ये १० जनाको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । सय जना सम्पर्कविहीन छन् । त्यस्तै रुसी सेनामा भर्ती भएका ४ जना नेपाली युक्रेनी सेनाको नियन्त्रणमा छन् ।