Category: डायस्पोरा

  • परराष्ट्रमन्त्री कतार प्रस्थान

    परराष्ट्रमन्त्री कतार प्रस्थान

    काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकास (एनपी) साउद शनिबार कतार प्रस्थान गरेका छन् । दोहा सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
    आइतबारदेखि कतारमा सुरु हुन गइरहेको दोहा २१औँ फोरममा सहभागिता जनाउने क्रममा परराष्ट्रमन्त्री साउदले इजरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने उनको सचिवालयले जनाएको छ ।

    कतारमा रहँदा मन्त्री साउदले आफ्नो कतारी समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तानबिन साद अल–मुखारीसँग भेटवार्ता गर्ने छन् । मन्त्री साउदले यसअघि यही मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

    यस्तै उनले मंसिर ७ गते नेपालका लागि इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाइ जोशीको रिहाइका बारेमा छलफल गरेको मन्त्री साउदको स्वकीय सचिवालयले जनाएको छ । परराष्ट्रमन्त्री साउदले शुक्रबारमात्रै विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा बेपत्ता व्यक्तिहरुको विषय हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका थिए ।

  • रुसी सेनामा भर्ती भएका कुल ६ नेपालीको मृत्यु

    रुसी सेनामा भर्ती भएका कुल ६ नेपालीको मृत्यु


    काठमाडौं । अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको छ । 

    सरकारका तर्फबाट सोमबार वक्तव्यमार्फत औपचारिक जानकारी दिँदै मन्त्रालयले रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने ६ जना नेपाली नागरिकको नाम सार्वजनिक गरेको हो ।

    अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने नेपाली नागरिकमा गोरखाका सन्दिप थपलिया, वाणगंगा १ कपिलवस्तुका रुपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जा पुतलीबजार ५ का प्रितम कार्की, दोलखा मेलुङ्ग ६ का राजकुमार रोका र इलाम ५ का गंगाराज मोक्तान रहेको मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ । 

    गोरखापत्रलगायत विभिन्न सञ्चारमाध्यममा रुसी सेनामा नेपाली युवक यवुती अवैधानिक रुपमा भर्ती भएर युक्रेनविरुद्धको युद्धमा सामेल भएको समाचार प्रकाशित भएको थियो । सरकारले यसअघि मङ्सिर १६ गते केही मित्रराष्ट्रसँग परम्परागत सम्झौताका आधारमा गोर्खा भर्ती भए पनि रुससँग त्यस्तो भर्तीको सम्झौता नभएको स्पष्ट पार्दै भर्तीमा नजान अपिल गरेको थियो । 

    तथापि अवैधानिक रुपमा रुसी सेनामा गएर ज्यान गुमाएका नेपाली नागरिकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारले रुस सरकारलाई यसै वक्तव्यमार्फत अनुरोध गरेको छ । 

    नेपाली नागरिकलाई रुसी सेनामा भर्ती नगर्न र कुनै नेपाली नागरिकलाई भर्ती गरेमा त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुस सरकारसँग नेपाल सरकारले अनुरोध गरेको छ । रुसी सेनामा भर्ती भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा सरकारले कूटनीतिक पहल जारी राखेको प्रष्ट पारेको छ । 

    नेपाल सरकारले सरकारी कामकाज, रुसी सरकारको छात्रवृति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुसको यात्रा गर्नुपरेमा मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागबाट नो अब्जेक्सन प्रमाणपत्र लिएरमात्र यात्रा गर्न परराष्ट्र मन्त्रालयले अपिल गरेको छ । साथै मन्त्रालयले कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरुको सेनामा भर्ती हुन नजान पनि अनुरोध गरेको छ । 

  • कोप सम्मेलनमा सहभागी भइ स्वदेश फर्किए प्रधानमन्त्री

    कोप सम्मेलनमा सहभागी भइ स्वदेश फर्किए प्रधानमन्त्री

    काठमाडौ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबइमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ स्वदेश फर्किएका छन् । मङ्सिर १३ गते राति ९ बजे यूएई गएका प्रधानमन्त्री प्रचण्ड पाँच दिने भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका हुन् ।

    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीले स्वागत गरेका छन् ।

    शनिबार जलवायु सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै सो अवस्थाका अन्त्य गर्नुपर्ने बताएका थिए । उनले  हिमाल जोगाउन र विश्वका मानव जातिको रक्षाका लागि जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सहयोग गर्न पनि अन्तराष्ट्रिय समुदायलाई आह्वान गरेका थिए ।

    सम्मेलनमा उनले विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए ।

  • कोप-२८ मा प्रचण्डको सम्बोधन, जलवायुबाट गल्ती बीना असर भोग्नु परेको स्पष्ट

    कोप-२८ मा प्रचण्डको सम्बोधन, जलवायुबाट गल्ती बीना असर भोग्नु परेको स्पष्ट

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको बताएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा शनिबार सम्बोधन गर्दै उनले जलवायु मुद्दामा नेपाल अन्यायमा परेको बताए ।

    ‘जलवायु परिवर्तनमा नेपालको शून्य योगदान हुँदा पनि यसको विनाशकारी असर नेपालीहरुले भोगिरहनुपरेको छ, जलवायु परिवर्तनको गम्भीर असर जस्तै बाढी, पहिरो, डढेलो, हिमताल विस्फोट हाम्रा जनताहरुले भोगिरहेका छन्’ उनले भने, ‘यो अत्यन्तै अन्यायपूर्ण भयो, यसको अन्त्य हुनुपर्छ ।’

    हिमालयहरु मानव सभ्यता, पर्यावरण र जैविक विविधताको आधार हो भन्दै उनले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमालय बढी जोखिममा परेको बताए । जलवायु परिवर्तनमा योगदान नहुँदा नहुँदै विनाशको भागीदार बन्नु परेर अन्यायमा परेका नेपाली नागरिकको तर्फबाट सम्मेलनमा सहभागी भएको प्रचण्डले बताए ।

    नेपाल पेरिस सम्झौताको पालना हुनुपर्छ भन्ने पक्षमा रहेको र सन् २०४५ सम्म जिरो कार्बन उत्सर्जन गर्नेमा प्रतिवद्ध रहेको पनि उनले बताए । त्यसका लागि ४५ प्रतिशत वन क्षेत्र कायम गर्ने र नेपालको जलसम्पदाको उपयोग बढाउने उनको भनाइ छ । जलवायु परिवर्तनका कारण अति कम विकसित मुलुकहरु समस्यामा परेको पनि प्रचण्डले बताए ।

    जलवायु परिवर्तनका कारण अति कम विकसित मुलुकहरु समस्यामा परेको भन्दै उनले आर्थिक र प्राविधिक सहायता आवश्यक रहेको बताए । प्रधानमन्त्री प्रचण्डले विकसित राष्ट्र र अन्तर्राष्ट्रिय समुदायले अल्पविकसित मुलुकका लागि अनुमानयोग्य र समतामूलक स्रोत र प्रविधिको व्यवस्था हुनुपर्ने माग गरे । जलवायु संकटलाई सम्बोधन गर्न अति कम विकसित मुलुकलाई अनुदान दिनुपर्ने पनि उनले बताए । प्रधानमन्त्री प्रचण्डले हिमालय र जलवायु परिवर्तनका विषयमा संवादको आवश्यकता रहेको पनि बताए ।

  • हिमालयले साङ्घाईमा सुरु गर्यो सिधा उडान

    हिमालयले साङ्घाईमा सुरु गर्यो सिधा उडान

    काठमाडौं । हिमालय एअरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान शुरु गरेको छ । एअरलाइन्सले चीनको ठूलो सहर साङ्घाईमा आजदेखि नियमित उडान थालेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ९ बजेर २० मिनेटमा एक सय ३७ यात्रुसहितको जहाज साङ्घाई उडेको हो । यो जहाज साङ्घाईबाट यात्रु लिएर आज राति नौ बजे काठमाण्डौ फर्कनेछ । काठमाण्डौ–साङ्घाई उडान पाँच घण्टा २० मिनेटको हुनेछ । हरेक शनिवार बिहान नियमित उडान हुने कम्पनीले जनाएको छ ।

    साङ्घाईमा हिमालय एअरलाइन्सको यो पहिलो उडान हो । योसहित कम्पनीले चीनको राजधानी बेइजिङसहित विभिन्न नौ सहरमा उडान विस्तार गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनको मुख्य व्यापारिक र पर्यटकीय सहरमा सिधा उडानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै चिनियाँ पर्यटक नेपालमा आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।


    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले कोभिड महामारीपछि चीनबाट क्रमशः उडान विस्तार भइरहेकाले आउँदा दिनमा चिनियाँ पर्यटक बढ्ने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय काठमाण्डौ विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ दैनिक एक सयभन्दा धेरै उडानमार्फत झण्डै १५ हजार यात्रु आवतजावत गरिरहेको जानकारी दिए । साङ्घाई चीनको मुख्य व्यापारिक केन्द्र पनि मानिन्छ ।

  • कोप-२८ किन महत्वपूर्ण छ ?

    कोप-२८ किन महत्वपूर्ण छ ?

    काठमाडौं । संसारभरिका नेताहरू जलवायु परिवर्तन कसरी सामना गर्ने भन्ने विषयमा छलफल गर्न एउटा ठूलो राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुने दुबईमा भेला भएका छन्। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त सम्मेलनमा नेपालको नेतृत्व गर्दै छन्। चरम मौसमी अवस्थाका कारण जलवायुसम्बन्धी धेरै सूचकका सीमाहरू भङ्ग भएको वर्षको अन्त्यतिर कोप-२८ वा २८औँ विश्व जलवायु सम्मेलन हुन लागेको हो। यूएईको दुबईमा नोभेम्बर ३० मा २८औँ विश्व जलवायु सम्मेलन सुरु भएको छ

    संयुक्त राष्ट्रसङ्घले जलवायुबारे छलफल गर्न आयोजना गर्ने वार्षिक बैठकको २८औँ संस्करण नै कोप-२८ हो। यो बैठकमा भविष्यमा हुन सक्ने जलवायु परिवर्तनलाई कसरी सीमित गर्ने र त्यसका लागि कसरी तयारी गर्ने भन्ने विषयमा सरकारहरूले छलफल गर्छन्। संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा नोभेम्बर ३० मा सुरु भएको कोप-२८ डिसेम्बर १२ सम्म टुङ्गिने छ।

    ुकोपमा अङ्ग्रेजी वर्णमालाका तीन अक्षर सी, ओ र पी छन्, जसको पूरा रूप कन्फरन्स अफ पार्टिज वा पक्षराष्ट्रहरूको सम्मेलन हो। सन् १९९२ को राष्ट्रसङ्घीय जलवायु सहमतिमा सुरुमा हस्ताक्षर गर्ने राष्ट्रहरूलाई पक्षराष्ट्रहरू भनिएको हो। संसारमा सबैभन्दा बढी खनिज तेल उत्पादक देशहरूमध्ये यूएई पनि एक हो।

    कोप २८मा हुने वार्ताका लागि यूएई सरकारले त्यहाँको सरकारी तेल कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुल्तान अल जाबेरलाई नै अध्यक्ष नियुक्त गरेको छ। ग्यास र कोइलाजस्तै खनिज तेल पनि जीवाश्म इन्धन हो। यी सबै जलवायु परिवर्तनका मुख्य कारक तत्त्व हुन्। किनभने ऊर्जाका लागि तिनलाई बाल्दा कार्बनडाइअक्साइडजस्ता पृथ्वीलाई तातो बनाउने हरितगृह ग्यासहरू निस्कन्छन्। तर अल-जाबेरको कम्पनीले तेल उत्पादन क्षमतालाई अझ विस्तार गर्ने योजना बनाएको छ। कोप२८ जलवायु वार्ताको अध्यक्षता गर्ने सुल्तान अल-जाबेरबारे विवाद उत्पन्न भएको छ

    तर तेल तथा ग्यास उद्योगका तर्फबाट हुने गतिविधिका लागि दबाव दिन आफू विशिष्ट किसिमले सही स्थानमा रहेको अल जाबेरको तर्क छ। हुन त मस्दर नामक नवीकरणीय ऊर्जा फर्मको अध्यक्षका रूपमा उनले वायु ऊर्जा र सौर्य ऊर्जालगायत स्वच्छ प्रविधिको विस्तारको पनि नेतृत्व गरेका छन्। कोप २८ ले दीर्घकालीन विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्रिमा सीमित गर्ने लक्ष्यलाई जीवन्त राख्ने अपेक्षा गरिएको छ।

    करिब २०० देशहरूले सन् २०१५ मा प्यारिसमा यस लक्ष्यमा सहमति गरेका थिए। राष्ट्रसङ्घको जलवायुसम्बन्धी निकाय जलवायु परिवर्तनबारे अन्तर्सरकारी समिति (आईपीसीसी)का अनुसार जलवायु परिवर्तनका सबैभन्दा हानिकारक प्रभाव छल्नका लागि यो लक्ष्य एकदमै महत्त्वपूर्ण छ।

    मानिसहरूले व्यापक रूपमा जीवाश्म इन्धन बाल्न सुरु गर्नुअघिको समयका तुलनामा दीर्घकालीन तापमान वृद्धि दर अहिले १।१ वा १।२ड्ढऋ छ। उत्सर्जन नियन्त्रण गर्ने अहिलेका वाचाहरू भए पनि सन् २१०० सम्म तापमान वृद्धिको दर २.५ डिग्री पुग्नेतर्फ विश्व अग्रसर हुने बताइएको छ। राष्ट्रसङ्घका अनुसार यसलाई १.५ सेल्सियसमा सीमित गर्नका लागि उपलब्ध समय तीव्र गतिमा साँघुरिदै छ।

  • रुसी सेनामा नेपाली भर्ति भएकोबारे अध्ययन गर्न सरकारले बनायो समिति

    रुसी सेनामा नेपाली भर्ति भएकोबारे अध्ययन गर्न सरकारले बनायो समिति

    काठमाडौं । रुसी सेनामा नेपाली नागरिकको संलग्नतबारे अध्ययन गर्न श्रम रोजार तथा समाजिक सुरक्षा मन्त्रालयले समिति गठन गरेको छ । मन्त्रालयका उपसचिव दीपक ढकालको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको हो । केही दिन अघि युक्रेन–रुस युद्धमा नेपाली मुलुकका तीन जना नेपाली मुलुकको नागरिकको मृत्यु भएको घटना सावर्जनिक भएको थियो ।

    मन्त्रालयका सह–सचिव राजिव पोखरेलले रुसी सेनामा नेपाली नागरिकको संलग्नताबारे अध्ययन गर्न र सुझावसहितको प्रतिवदेन पेश गर्ने गरी समिति बनाएको बताए । ‘रुस–युक्रेन युद्धमा भिजिट र विद्यार्थी भिषामा नेपालीहरु पुगेको भन्ने कुरा बाहिर आएको छ’ उनले भने, ‘त्यसरी पुगेकाहरु वैध, अवैध रुपमा कसरी नेपालीहरु गए भन्नेबारे अध्ययन गर्नेछ ।’

  • प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान

    प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईतर्फ प्रस्थान गरेका छन् । उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्रीलाई विदाइ गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, मन्त्रीलगायतका सरकारका उच्च अधिकारी उपस्थित थिए ।
    विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

    कोप–२८ मा नेपालको सहभागितासँगै अतिकम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दैछ । यूएईको दुबइमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदैछ । यस वर्षको आयोजक राष्ट्रका रुपमा यूएईले अध्यक्षता गर्दैछ ।

    जलवायु परिवर्तनको प्रभावले पीडित बनेका अतिकम विकसित तथा साना मुलुकलाई जलवायु परिवर्तन गराउन सघाइरहेका विकसित मुलुकले जलवायु उत्थानशील विकासका लागि आर्थिक सहयोग गर्नुपर्ने र हानिनोक्सानी कोषमा सहज पहुँच दिनुपर्ने पहल नेपाली टोलीले गर्नेछ।

    १३ दिनसम्म सञ्चालन हुने कोप सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड बिहीबार र शुक्रबार आयोजना हुने विश्व जलवायु कार्यगत सम्मेलन नामको उच्चस्तरीय बैठकमा सहभागी हुनुहुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीले शुक्रबार सो सत्रलाई सम्बोधन गर्नेछन् । यसैगरी, प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्स र जायद सस्टेनेबिलिटि अवार्ड समारोहमा सहभागी हुनुहुने छ ।

    त्यस्तै, शुक्रबार नै प्रधानमन्त्री प्रचण्डले ‘कल अफ दि माउन्टेनः हु सेभ अस फ्रम दि क्राइसिस’ नामको उच्चस्तरीय बैठकमा सहभागिता जनाउने भ्रमण तालिकामा उल्लेख छ ।

    सो सत्रमा नेपाल पर्वतीय र हिमालयको शिर भएको मुलुक भएकाले त्यसमा जलवायु परिवर्तन र वैश्विक तापक्रमको असर तीव्ररुपमा परिरहेको तथ्य उजागर गर्दै यस क्षेत्रका मानिसको जीविकोपार्जन र जीवनशैलीमा गम्भीर असर परेको विषयलाई बलियोसँग उठान गर्ने र र हिमालका एजेण्डालाई कोप–२८ मा महत्वका साथ हेर्न अपिल गर्ने मन्त्रालयले औँल्याएको छ ।

    सम्मेलनको साइडलाइन बैठकका रुपमा प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा सहभागी विभिन्न मित्रराष्ट्र मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुख एवम् उच्चस्तरीय प्रतिनिधिमण्डलका नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गने कार्यसूची छ ।

    त्यस्तै, यूएईमा रहँदा प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहेका नेपाली समुदायसँग छुट्टै अन्तरक्रिया गर्ने कार्यसूची छ । त्यहाँ आयोजना हुने नेपाल–युएइ व्यापार सम्मेलनमा सम्बोधन गर्नेछन् । नेपाली टोलीमा वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोलगायत सरकारका अन्य उच्च अधिकारी सहभागी छन् । नेपाली टोली शनिबार स्वदेश फर्किने छ ।

  • कोरियाले थप नेपालीलाई रोजगारीको अवसर दिने

    कोरियाले थप नेपालीलाई रोजगारीको अवसर दिने

    काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि कृषि र उत्पादनको उद्योग र सिप बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप निर्माण र सेवा सर्भिसका क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ ।

    वैदेशिक रोजगार विभाग इपिएस शाखाका अनुसार दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ । सो शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको सङ्ख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको जनाउँदै भाषा परीक्षा सञ्चालन गरिने बताएका छन् ।


    दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले हाल कृषि तथा पशुपालन, उत्पादन र सिप बिल्डिङ क्षेत्रमा नेपाली माग गर्दै आएको अब निर्माण र सेवा क्षेत्रमा समेत नेपाली माग गर्ने तयारी गरेको जानकारी दिए । यसअघि कोरियाले नेपालबाट कृषि तथा पशुपालनमा मात्र नेपालीलाई माग गर्दै आएकामा केहीअघिदेखि सिप बिल्डिङमा समेत माग गर्न थालेको थियो ।

    उत्पादनमूलक क्षेत्रको परीक्षाको आवेदन सन् २०२३ भित्रै खुलेमा यसअघि सिप बिल्डिङमा भाषा परीक्षामा सामेल भएकाले आवेदन भने दिन पाउने छैनन् । उत्पादनमूलक क्षेत्रका लागि छनोट कोटा कति हुने भन्नेबारे खुलाइएको छैन ।

    इपिएसमार्फत दक्षिण कोरियाले निर्धारण गरेका रोजगारी क्षेत्रमध्ये उत्पादनमूलक क्षेत्रलाई सेवा सुविधाका हिसाबले राम्रो मानिएका कारण यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने गरेको छ । हाल उत्पादनमूलक क्षेत्रमा थप नेपाली लैजाने गरी भाषा परीक्षाको तयारी भए पनि कृषि क्षेत्रको भने केही समयपछि आवेदन खुल्ने जनाइएको छ ।

  • विपिनको रिहाईको पहल गर्न परराष्ट्र मन्त्री कतार जाँदै

    विपिनको रिहाईको पहल गर्न परराष्ट्र मन्त्री कतार जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जान भएका छन्। इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक बिपिन जोशीको रिहाईको पहलका लागि उनी मंसिर २३ मा कतार जान लागेका हुन् । यस अघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल(मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाईका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

    जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाईका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । त्यसअघि मंसिर ७ गते (बिहीवार) उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।

    परराष्ट्रमन्त्री साउदले आज (बुधबार) गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बिपिन जोशीका बुवा आमासँग पनि भेट गरेका थिए । कतार बसाइँका क्रममा उनी दोहा २१औं फोरममा पनि सहभागी हुनेछन्। डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ।

  • प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–दुबई व्यवसायिक सम्मलेन यूएईमा हुने

    प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–दुबई व्यवसायिक सम्मलेन यूएईमा हुने

    काठमाडौं । नेपाल–दुबई व्यावसायिक सम्मेलन १४ मंसिर बिहीबारका दिन संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्बर अफ कमर्सको आयोजनामा हुने व्यावसायिक सम्मेलनमा मुख्य अतिथि प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड रहने भएका छन् । व्यावसायिक सम्मेलन यूूएईस्थित नेपाली राजदूतावासको सहयोग एवम् सहकार्यमा हुन लागेको हो । सम्मेलनमा दुवै देशका करिब १ सय जना उद्यमी व्यवसायीको उपस्थिति रहने छ ।

    सम्मेलनमा दुवै देश बीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, लगानी प्रवर्द्धन एवम् श्रम बजार विस्तार, नेपाली कृषि उत्पादनको मध्यपूर्वमा बजार विस्तार तथा सम्भाव्यताका विषयमा छलफल हुने महासंघले जनाएको छ । व्यवसायिक सम्मेलनबाट नेपालमा मध्यपूर्वको लगानी आकर्षण एवम् नेपाली कृषि उत्पादनको मध्यपूर्वका राष्ट्रहरुमा निर्यात प्रवर्द्धनमा सहयोग पुुग्ने विश्वास महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यक्त गरे ।

    सम्मेलनबाट ऊर्जा एवम् पर्यटन क्षेत्रमा पनि आपसी सहकार्यको ढोका खुल्ने विश्वास गरिएको उनले बताए । महासंघले प्रधानमन्त्रीको उपस्थितिमा यसअघि भारत र चीनमा पनि व्यावसायिक सम्मेलनको आयोजना गरिसकेको छ । महासंघका अध्यक्ष ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले १५ र १६ मंसिरमा अबुधाबीमा आयोजना हुने जलवायु सम्बन्धी विश्व सम्मेलन कोप–२८ मा भाग लिने कार्यक्रम समेत रहेको छ ।

  • रुसी सेनाका रुपमा तीन नेपालीको मृत्यु भएको पुष्टी

    रुसी सेनाका रुपमा तीन नेपालीको मृत्यु भएको पुष्टी

    काठमाडौं । रुस–युक्रेन युद्धका क्रममा रुसी सेनाका रुपमा तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको हो । ढिलो गरी प्राप्त सूचना अनुसार गत कात्तिक २९ गते मारिनेमा स्याङ्जा पुतलीबजार ५ ठूलास्वाराका प्रितम कार्की, दोलखाको मेलुङ ६ सुनापती टोलका राज कुमार रोका र इलाम ५ इलामका गंगाराज मोक्तान छन् । उनीहरु तीनै जना रुसी सेनामा कार्यरत थिए ।

    मस्कोस्थित नेपाली दूतावासले मंसिर ८ गते काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेर उनीहरुको शव व्यवस्थापनका लागि परिवारसँग समन्वय गर्नुपर्ने भएकाले सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिन अनुरोध गरेपछि मात्र रुसी सेनामा कार्यरत नेपालीहरुको मृत्यु भएको खुलेको हो ।

    उक्त पत्रमा रुसी सेनाका अधिकारीले टेलिग्राममार्फत् तीन जना नेपालीहरुको मेडिकल डेथ सर्टिफिकेट मस्कोस्थित नेपाली दूतावासलाई प्राप्त भएको व्यहोरा उल्लेख छ । तर उनीहरु कुन स्थानमा र कसरी मारिए भन्ने उल्लेख छैन । यी तीन नेपालीहरुको मृत्यु हुनुअघि गोरखाका थपलिया थरका अर्का एक नेपालीको पनि गत असारमै मृत्यु भएको मिडिया रिपोर्ट सार्वजनिक भइरहेका छन् ।

    असार २९ गते मृत्यु भएका भनिएका गोरखाका थपलिया र कात्तिक २९ गते मृत्यु भएका थप तीन जना गरी चारै जनाको विवरण दूतावासले आजसम्म सार्वजनिक गरेको छैन । गत असारमा मृत्यु भएका गोरखाका व्यक्तिको शव नेपाल पठाउन नमिल्ने भन्दै रुसमै समाधिस्थ गरिएको मिडिया रिपोर्टहरु सार्वजनिक भइरहे पनि सरकारी निकायबाट त्यसको पुष्टि हुन सकेको छैन ।

  • प्रधानमन्त्री आज यूएई जाँदै

    प्रधानमन्त्री आज यूएई जाँदै

    काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईको दुबई जाँदै छन् । प्रधानमन्त्री प्रचण्ड बुधबार राति साढे ९ बजे दुबईका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन ९कोप २८० यही मंसिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा हुँदै छ ।

    सोही सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुन लागेको हो । प्रतिनिधि मण्डलमा वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु छन् । भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल पनि सहभागी हुनेछिन् ।

    प्रधानमन्त्री प्रचण्डले मंसिर १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यही दिन प्रधानमन्त्रीले पर्वतीय देशहरुको एजेण्डा उठाउन ‘हिमालको पुकार ःजलवायु संकटबाट हामीलाई कसले बचाउने छ ?’ कार्यक्रम आयोजना गर्ने पररराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गर्ने छन् । यूएई भ्रमणका क्रममा त्यहाँ रहेको नेपाली दूतावासमा जाने र नेपाली समुदायका साथै नेपाल(यूएई व्यवसायी सम्मेलनलाई सम्बोधन समेत गर्ने कार्यक्रम तय भएको छ ।

  • बुधबार यूएई जाँदै प्रधानमन्त्री, कोप सम्मेलनमा भाग लिने

    बुधबार यूएई जाँदै प्रधानमन्त्री, कोप सम्मेलनमा भाग लिने

    काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधार यूएई जाने भएका छन् । कोप २८ मंसिर १४ देखि २६ सम्म यूएईको दुबईमा हुने तय भएको छ । सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड बुधबार जाने छन् । भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु छन् ।

    प्रधानमन्त्री प्रचण्डले १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यही दिन प्रधानमन्त्रीले पर्वतीय देशहरुको एजेण्डा उठाउन ‘हिमालको पुकार : जलवायु संकटबाट हामीलाई कसले बचाउने छ ?’ कार्यक्रम आयोजना गर्ने छन् । सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गर्ने छन् । यूएई भ्रमणका क्रममा त्यहाँ रहेको नेपाली दूतावासमा जाने र नेपाली समुदायका साथै नेपाल–यूएई व्यवसायी सम्मेलनलाई सम्बोधन समेत गर्ने छन् ।

  • काठमाडौं–केरुङ रेलमार्गबारे चीनमा सचिवस्तरीय छलफल सुरु

    काठमाडौं–केरुङ रेलमार्गबारे चीनमा सचिवस्तरीय छलफल सुरु

    काठमाडौं । बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको बारेमा चीन र नेपालबीच छलफल सुरु भएको छ । रेल परियोजनाबारे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा र रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालसहितको टोली चीनमा छ । चीनले विस्तृत सम्भाव्यता अध्ययनको काम गरिरहको बेला परियोजनाको अध्ययनमा भएको प्रगति तथा परियोजनाबारे समीक्षा गर्न चीन–नेपालको सचिवस्तरीय रेल्वे संयन्त्रको बैठक बसेको हो ।

    चीनबाट १२ पुस २०७९मा आएको प्राविधिक टोलीले रसुवा र नुवाकोट पुगेर विस्तृत अध्ययन थालेको थियो । त्यसपछि चीनबाट प्राविधिक टोली नेपाल आएर अध्ययनको काम गरिरहेका छन् । चीन सरकारको चाइना रेल–वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरु रसुवा, नुवाकोट, काठमाडौं लगायतका क्षेत्रमा अध्ययनमा गरिरहेका छन् ।

    तर, अहिलेसम्म परियोजनामा कस्तो प्रगति भयो भन्ने जानकारी चिनियाँ पक्षले दिएको छैन । भौतिक पूर्वाधार मन्त्रालय स्रोतका अनुसार सचिवस्तरीय बैठकमा चीनले यसबारे नेपाललाई जानकारी गराउने अपेक्षा छ । बैठकमा चिनियाँ पक्षले नेपाल सरकारसँग जमिन, वन तथा अन्य विभिन्न तथ्य तथ्यांकसहित अपेक्षा गरेको विभिन्न सहयोगहरुबारे पनि छलफल हुने अधिकारीहरु बताउँछन् ।

    चिनियाँ प्राविधिक टोलीले अबको करिब साढे ३ वर्षमा विस्तृत सम्भाव्यता प्रतिवेदन तयार गरेर बुझाउने अपेक्षा छ । गत वर्ष नै पहिलो एक वर्षमा सर्भेको काम सकिने भनिएको थियो भने त्यसपछिको डेढ वर्षभित्र फिल्डमा पुगेर नापी र नक्सांकनको काम गर्ने तालिका तय थियो । त्यसपछिको अर्को एक वर्षभित्र इन्जिनियरिङ अध्ययन प्रतिवेदनलाई अन्तिम रुप दिएर पेश गर्ने योजना छ ।

    विस्तृत अध्ययनका लागि भविष्यमा अध्ययनका लागि काम गर्न फिल्ड पनि पनि क्याम्पहरु स्थापना गर्नुपर्ने मानिएको छ । चीनले आफ्नै खर्चमा अध्ययनको काम गरिरहेको हो । चीनले २४ मंसिर २०७५ मा हस्तान्तरण गरेको केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदनअध्ययन अनुसार विस्तृत अध्ययन भइरहेको छ ।

    केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको डीपीआर बनाउने समझदारीपत्रमा २०७६ असोजमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा हस्ताक्षर भएको थियो । त्यो समझदारी कार्यान्वयनका लागि कठमाडौंमा २०७६को मंसिर दोस्रो सातामा भएको नेपाल र चिनियाँ अधिकारीहरुको बैठकले काम बाँडफाँट गरेको थियो ।

    चीन सरकारले कोरोना नियन्त्रणका लागि लिएको कडा नीतिका कारण लामो समयसम्म प्राविधिक टोली आउन सकेको थिएन । चीनले शून्य कोभिड–१९ नीति हटाएर यात्रा प्रतिबन्धहरु खुला गरेपछि यो परियोजनाको काम कार्ययोजनाअनुसार अघि बढेको थियो ।

    अप्ठेरो भूगोलमा करिब ९८ प्रतिशत सुरुङमार्ग र पुल राखेर बन्ने आयोजना महँगो हुने निश्चित छ । त्यसैले आर्थिक लाभ विश्लेषणका आधारमा लगानी जुटेर रेलमार्ग निर्माण भएमा यो परियोजनाले नेपालको रेल्वे ‘कनेक्टिभिटी’ चीनको बन्दरगाहरुसम्म हुनेछ । चीनले अध्ययन सकाएपछि आयोजना निर्माण र लगानीको मोडालिटी र प्राविधिक जटिलताको समाधानबारे नेपाल र चीनबीच समझदारी गर्नुपर्नेछ । त्यसका आधारमा परियोजनाको निर्माणको विषय टुंगो लाग्ने छ ।

  • हमासले तीन दिनमा छाड्यो ४३ बन्धक, नेपालका विपिन अझै अज्ञात

    हमासले तीन दिनमा छाड्यो ४३ बन्धक, नेपालका विपिन अझै अज्ञात

    काठमाडौं । इजरायल र हमासबीचको युद्ध बिरामको तेस्रो दिनसम्म प्यालेस्टाइनी समूह हमासले ५४ बन्धक मुक्त गरेको छ। आइतबार हमासले थप १३ बन्धकलाई मुक्त गरेको छ । शनिबार १७ र शुक्रबार २४ बन्धक छाडिएको थियो । उनीहरुलाई रेडक्रसको जिम्मा लगाएको छ । अक्टोबर ७ देखि हमासले बन्धक बनाएका उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको भनाई छ । गाजाबाट लगिएपछि उनीहरूको स्वास्थ्य परीक्षण गराई आफन्तहरूसँग भेट समेत गराइएको छ।

    हमासले बन्धक मुक्त गरेको बदलामा इजराइलले प्रत्येक दिन ३९ जना प्यालेस्टिनियन नागरिकलाई कैदमुक्त गरेको छ। अक्टोबर ७ यता इजराइली डिफेन्स फोर्सले तीन हजारभन्दा बढी प्यालेस्टिनियन नागरिकहरूलाई पक्राउ गरी जेलमा राखेको थियो। उनीहरूमाथि इजराइली सैनिकमाथि आक्रमण र ज्यान मार्ने कोशिस गरेको आरोप लगाइएको छ। इजराइली जेलमा रहेकाहरू अधिकांश महिला र किशोरकिशोरी छन्।


    इजराइलले बन्धकमुक्त गर्न भन्दै गाजामा कम्तिमा चार दिन युद्धविराम गर्ने सहमतिलाई गत मंगलबार अनुमोदन गरी शुक्रबारदेखि कार्यान्वयन गरेको हो । हमासले इजराइली जेलमा रहेका तिनै नागरिकहरूलाई रिहा गर्ने सर्त राखेको थियो।

    हसमाले पहिलो चरणमा बन्धकमुक्त गरेकाहरू अधिकांश वृद्धवृद्धा, महिला र बालबालिका छन्। बन्धक बनाइएकाहरूमध्ये नेपालका विपिन जोशी पनि छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का २३ वर्षीय विपिन सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा अर्न एन्ड लर्न कार्यक्रमअन्तर्गत भदौमा इजराइल गएका हुन् । त्यसमध्ये १० जना हमासको आक्रमणमा मारिएका थिए । विपिनको अवस्था भने अझै अज्ञात छ ।

  • वैशाखमा लगानी सम्मेलन गर्दै सरकार

    वैशाखमा लगानी सम्मेलन गर्दै सरकार

    काठमाडौं । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ। सरकारले अयोजना गर्ने यो लगानी सम्मेलन तेस्रो संस्करण हो। आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने तयारी छ। यसका लागि अर्थ मन्त्रालयको संयोजनामा निर्देशन समिति बनेको छ भने थप विभिन्न समिति बनेका छन्।

    निर्देशन समितिको आइतबार पहिलो बैठक बसेको छ। लगानी सम्मेलनको तयारी, विगतका कमजोरी सच्याउने र त्यस अनुभवबाट पाठ सिक्ने र सम्मेलनमा सहभागीहरूमा कस्ता प्रस्ताव लैजाने भन्ने विषय बैठकमा छलफल भएको छ। सम्मेलनामा नेपाली, वैदेशिक लगानीकर्ता र गैरआवासीय लगानीकर्ताहरूको सहभागिता रहनेछ।

  • सामाजिक सुरक्षा कोषमा विदेश पुगेका साढे ४ लाख श्रमिक आवद्ध

    सामाजिक सुरक्षा कोषमा विदेश पुगेका साढे ४ लाख श्रमिक आवद्ध

    काठमाडौं । सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा जानेको संख्या साढे ४ लाख नाघेको छ । कोषको शुक्रबारसम्मको तथ्यांक अनुसार अहिलेसम्म ४ लाख ६६ हजार ६२२ जना नेपाली वैदेशिक रोजगारीकै क्रममा सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । सामाजिक सुरक्षा कोषले ८ चैत २०७९ मा वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराएको थियो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा रहेकी मञ्जु थपलियालाई सामाजिक सुरक्षा कोषको कार्ड हस्तान्तरण गर्दै यो योजनाको शुभारम्भ गरेका थिए । कोषका अनुसार वैदेशिक रोजगारमार्फत श्रम स्वीकृति लिएर जानेको हकमा निरन्तरता कम देखिएको छ । तर, वैदेशिक रोजगारीमा रही विदेशबाटै योगदान गर्नेको हकमा भने ९० प्रतिशतको निरन्तरता रहेको कोषले जनाएको छ ।

    सामाजिक सुरक्षा कोषमा योगदान गरी वैदेशिक रोजगारीमा जाने योगदानकर्तामध्ये अहिलेसम्म ३ जनाको दुर्घटनामा ज्यान गइसकेको छ । कोषबाट सुविधा प्राप्त गर्न १२ महिनामध्ये कम्तीमा ९ महिना योगदान गरेको हुनुपर्ने प्रावधान रहेको कारण ज्यान गुमाउनेहरुले कोषबाट कुनै सुविधा भने प्राप्त गर्न नसकेको कोषले जनाएको छ ।

    वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने, श्रम स्वीकृति नवीकरण र नवीकरण गर्ने बेला नभएकाले वैदेशिक रोजगार विभाग र कोषमार्फत सहभागी हुन सक्ने प्रावधान छ । वैदेशिक रोजगारीमा रहेकाले विभागको सफ्टवेयरमार्फत व्यक्तिगत रुपमा वा म्यानपावर एजेन्ट्समार्फत कोषमा सूचीकृत हुन निवेदन दिन सक्छन् । कोषमा श्रमिकले हरेक महिना २ हजार २ सय रुपैयाँ कोषमा जम्मा गर्नुपर्छ । निरन्तर योगदानको सन्दर्भमा औपचारिक क्षेत्रका श्रमिकभन्दा अनौपचारिक क्षेत्रका श्रमिकको कम सक्रिय रहेको कोषको विश्लेषण छ ।

    सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने रोजगारदाताको संख्या १८ हजार ४३९ पुगेको छ । कोषले स्थापनाको छैठौं वार्षिकोत्सव मनाउँदैछ । यस अवधिमा कोषमा योगदानकर्ता भने ९ लाख २८ हजार ४५३ जना पुगेको कोषले जनाएको छ । यस अवधिमा कोषमा भएको योगदान रकम ४४ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । कोषले आर्थिक वर्ष २०७९–८० सम्म ३० हजार रोजगारदातालाई सूचीकृत गर्ने लक्ष्य राखेको थियो । सो लक्ष्य भने कोषले पूरा गर्न सकेन ।

    आव २०७९–८० सम्म ५ लाख योगदानकर्तालाई सूचीकरण गर्ने लक्ष्य राखिएकोमा ९ लाख २८ हजार ४५३ जना योगदानकर्ता सूचीकृत गर्दै कोषले लक्ष्यभन्दा झण्डै दोब्बर योगदानकर्ता पुर्‍याएको छ । अहिलेसम्म कोषमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावी ७६ करोड १२ लाख रुपैयाँ भइसकेको छ ।

    दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम ८।७५ करोड पुगेको छ । आश्रित परिवार सुरक्षा दाबी रकम १० करोढ ९६ लाख पुगेको कोषको तथ्यांक छ । अवकाश दाबी रकम ५ अर्ब ४८ करोड ९७ लाख रहेको छ । यसरी ५ वर्षको अवधिमा ६ अर्ब ४४ करोड रुपैयाँ दावि भुक्तानी भएको कोषले जनाएको छ ।

    कोषका अनुसार अहिलेसम्म विशेष (स्पेसल) कर्जा ९ हजार ७४४ जनाले लिएका छन् । यो रकम १ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ रहेको छ । घर कर्जा लिने १७ जना छन् । यो रकम २ करोड ८९ लाख रुपैयाँ रहेको छ । शैक्षिक कर्जा लिनेको संख्या ३ जना र रकम २३ लाख ६४ हजार रहेको कोषको तथ्यांक छ । ९२६ जनाले अहिलेसम्म कर्जा मिलान गरिसकेका छन् ।

    कोषले १७ असोज २०८० मा ७५३ वटै स्थानीय तहलाई पत्राचार गरी स्थानीय तह अन्तर्गत अनौपचारिक क्षेत्रका श्रमिकलाई स्थानीय तह समेतको सह–योगदान रहने गरी कोषमा आवद्धताका लागि अनुरोध गरेको थियो । जस अन्तर्गत अहिलेसम्म ६ वट स्थानीय तहले मात्र कोषमा आवद्धताका लागि सहमति जनाएका छन् ।

    स्याङ्जाको फेदीखोला गाउँपालिका, मकवानपुरको भीमफेदी गाउँपालिका, पर्साको वीरगञ्ज उपमहानगरपालिका, बाराको जितपुर सिमरा उपमहानरगपालिका, महोत्तरीको बर्दिबास नगरपालिका र सिन्धुलीको मरिण गाउँपालिका यो स्किममा आवद्ध भएका छन् । दुई स्थानीय तह भने प्रक्रियामा रहेका छन् । बागलुङको ताराखोला गाउँपालिका र काठमाडौंको बुढानीलकण्ठ नगरपालिका प्रक्रियामा रहेको कोषले जनाएको छ ।

  • बेलायतमा नेपाली नर्स लैजान भाषाको समस्या, माग भन्दा कमको मात्र निस्कियो नाम

    बेलायतमा नेपाली नर्स लैजान भाषाको समस्या, माग भन्दा कमको मात्र निस्कियो नाम

    काठमाडौं । नर्सहरूलाई रोजगारीका लागि यूके पठाउन माग गरिएको आवेदनमा आवश्यकताभन्दा कमको मात्र नाम निस्किएको छ । वैदेशिक रोजगार विभागका अनुसार ७१ जनाको ‘सट लिस्ट’ मा नाम निस्किएको छ । हाललाई ‘पाइलटिङ’का रूपमा नेपालबाट १०० जना नर्सहरूलाई पठाउने गरी यूकेसँग समझदारी भएको थियो । सोही समझदारी अनुसार यूके जान जाहने इच्छुक नर्सहरूका लागि सरकारले गत जुलाई २० मा गोरखापत्रमा सूचना जारी गर्दै आवेदन माग गरेको थियो ।

    आवेदन भर्नका लागि ९० दिनको समय दिइएको थियो । तर, सो आवेदनमा ७७१ जनाले फर्म भरे पनि अधिंकाशको नर्सले माग अनुसारको कागजात पुर्‍याउन सकेनन् । वैदेशिक रोजगार विभागका निर्देशक गोपालराज तिमल्सिना अनुसार नेपालबाट आवश्यक कागजात पुरा गरेका ७८ जनाको आवेदन सबमिट गरिएको थियो ।

    नर्सको योग्यता, क्षमता र अनुभवको मूल्यांकन गरेर ७१ जनाको मात्रै सूची नेपालमा पठाएको छ । ‘सट लिस्ट’मा परेका नर्सको बेलुका सम्म सुचना निकालेर प्रकाशित गर्न लागेका छौं,’ तिमल्सिनाले भने । आवेदन दिँदा कम्तीमा दुई वर्षको कार्यानुभव भएको र अंग्रेजी भाषा परीक्षाको प्रमाणपत्र पेस गर्नुपर्छ । तर, अधिकांश नर्सलाई भाषाको मापदण्ड पूरा गर्न समस्या देखिएकाले कमैले मात्रै कागजात पेश गर्न सकेको तिमल्सिनाले बताए ।

    ‘आवेदन दिएका मध्ये बेलायतले खोजेको मापदण्ड अनुसारका गुणस्तरका नर्स नभेटिएको बताइएको छ । पुराना नर्समा भाषाको समस्या र नयाँ नर्समा कार्यानुभवको समस्या देखिएको छ । नेपाल र यूकेबीच भएको समझदारी अनुसार आवेदन दिन कम्तीमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्छ । दुई वर्षको कार्य अनुभव (वर्किङ एक्सपिरियन्स) पनि अनिवार्य रूपमा पेश गर्नुपर्छ ।

    नर्सहरूले इन्टरन्याशनल इङ्लिश ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) मा कम्तीमा ७ अंक ल्याउनुपर्ने हुन्छ । राइटिङ, स्पिकिङ, लिसनिङ र रिडिङ गरी चारखाले मापदण्डमा अंक दिइने आईईएलटीएसमा राइटिङ बाहेक सबैमा ७ अंक आउनुपर्ने हुन्छ । मापदण्ड अनुसार राइटिङमा भने ६।५ मात्र ल्याए पनि नेपाली नर्स यूके जानका लागि भाषामा योग्य मानिन्छन् । सटलिस्टको सूचीमा परेका नर्सको मात्रै अन्तर्वार्ता हुने र छनोटमा भएका नर्स मात्रै यूके जान पाउनेछन् ।

    उनीहरुले पठाएको सूचीमा परेको नर्स मात्रै अन्तर्वार्तामा समावेश हुन पाउनेछन् । डीएचएससी प्रतिनिधि र युेकेको स्वास्थ्य सेवा विभागका प्रतिनिधि र नर्स हुनेछन् ।
    छनोट भएर गएका नेपाली नर्सले तीन महिनाको एउटा तालिम लिनुपर्नेछ । उक्त तालिमबाट योग्य बनेपछि मात्र नेपाली नर्सहरूले त्यहाँका स्वास्थ्य संस्थामा काम गर्न पाउने नियम छ । त्यस अवधिमा पनि उनीहरूले पारिश्रमिक भने पाउनेछन् ।

    नेपाली नर्सहरूले पनि ब्रिटेनमा दर्ता भएपछि त्यहाँका ‘रजिस्टर्ड नर्स’ बराबरको तलब पाउनेछन् । सम्झौता अनुसार उनीको तलब वार्षिक २७ हजार पाउन्ड (करिब साढे ४३ लाख रुपैयाँ) देखि ३२ हजार पाउन्ड (करिब साढे ५१ लाख रुपैयाँ) सम्म पाउन सक्छन् । त्यसबाहेक उनीहरूले २७ दिनको वार्षिक र सार्वजनिक बिदाहरू पाउनेछन् ।

  • साथिको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

    साथिको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

    काठमाडौं । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नगरपालिका १३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा मृत्यु मृत्यु भएको हो ।

    क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए । मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको र उनको मृत्युबारे निजका परिवारलाई जानकारी गराइएको खड्काले बताए ।

    पोर्चुगलको ओडिमिरास्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार १२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गत मङ्गलबार राति छुरा प्रहार गरेका थिए । मदिराले मातेका गुरुङले क्षेत्रीलाई छुरा प्रहार गरेको पोर्चुगलस्थित अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए ।

    छुरा प्रहार गरी फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका हुन् । उनीहरु दुवै जना ओडिमिरास्थित एक कृषि कम्पनीमा कार्यरत थिए ।

  • सिमेन्ट निर्यात उत्साहजनक, चार महिनामा १ अर्बको निकासी

    सिमेन्ट निर्यात उत्साहजनक, चार महिनामा १ अर्बको निकासी

    काठमाडौं । नेपालले पछिल्लो ४ महिनामा सवा एक अर्ब रुपैयाँ बराबरको सिमेन्ट क्लिंकर र लाइमस्टोन निर्यात गरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको अन्तराष्ट्रिय व्यापारको पछिल्लो ४ महिनाको तथ्यांकअनुसार नेपालबाट एक अर्ब १५ करोड ९५ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर र यसको कच्चा पदार्थको रुपमा लाइमस्टोनको निर्यात बढेको हो ।

    यस अवधिमा एक अर्ब १३ करोड रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ भने २ करोड ८७ लाख रुपैयाँ बराबरको लाइमस्टोनको भारत निर्यात भएको भन्सार विभागले जनाएको छ । विभागअनुसार यस अविधिमा भारतमा ८ लाख ६ हजार टन सिमेन्ट र क्लिंकर निर्यात भएको छ भने एक करोड ३ लाख किलो लाइमस्टोन भारत निर्यात भएको छ ।

  • कतारका विदेश राज्यमन्त्री नेपाल भम्रणमा आउँदै

    कतारका विदेश राज्यमन्त्री नेपाल भम्रणमा आउँदै

    काठमाडौं । कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुराइखी बिहीबार दुई दिने भ्रमणका लागि नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार दुई दिने औपचारिक भ्रमणका लागि कतारका विदेश राज्यमन्त्री अल–मुराइखी नेपाल आउने भएका हुन् ।

    भ्रमणका क्रममा अल–मुराइखीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । यस्तै उनी परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय बैठकमा समेत सहभागी हुनेछन्

  • नेवा गुठीमा पुनः विजयमान सिंह

    नेवा गुठीमा पुनः विजयमान सिंह

    न्युयोर्क ।

    नेवा गुठी न्युयोर्कको नवौँ महाधिवेशन ज्याक्सन हाइट्सस्थित उडसाइड रेस्टुरेन्टमा भव्यरुपमा सम्पन्न भएको छ ।
    महाधिवेशनमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयनलगायत बितेका कार्यको प्रतिवेदन पेस गरिएको थियो ।


    गुठीका संस्थापक बीके नेवाले पानसमा दियो बाली सुरु गरिएको उक्त कार्यक्रममा संस्थापक नेवाले नेवा गुठी किन र केका लागि स्थापना गरेको र त्यसको उद्देश्य के हो भन्नेबारे प्रकाश पार्दै गुठीलाई यहाँसम्म ल्याई योगदान गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले हुन लागेको निर्वाचनमा सबैलाई संयमित भई एक आपसमा सदभाव कायम गरी जान अनुरोध गर्नु भएको थियो ।


    उक्त समारोहमा संस्थापक अध्यक्ष आदित्य महर्जन, पूर्वअध्यक्ष समिर महर्जनले नेवा गुठीबारे प्रकाश पार्दै सबैजना मिलेर गुठीलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
    सजना महर्जनले स्वागत भाषण गर्नुभएको उक्त कार्यक्रममा गुठीका महासचिव सन्तोष महर्जनले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष हृदय तुलाधरले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि नेवा नखका अध्यक्ष महेन्द्र बज्राचार्यले गुठीका सबै पदाधिकारीलगायत सबैलाई आफूलाई सम्मान स्वरुप स्थान दिइएकोमा धन्यवाद दिँदै आगामी कार्य समितिका सबैलाई अग्रिम बधाई दिनु भएको थियो ।


    गुठीका अध्यक्ष विजयमान सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन भद्र र सभ्य रुपमा रामकृष्ण महर्जनले गर्नुभएको थियो । उक्त कार्यको सबैले प्रशंसा गर्दै रामकृष्ण महर्जनलाई बधाई दिएका थिए ।
    कार्यक्रमको दोश्रो सत्रमा नयाँ कार्यसमितिका लागि चुनाव गराइएको थियो । अन्जन श्रेष्ठ निर्वाचन आयुक्त रहनुभएको उक्त कार्य सम्पन्न गर्न राजेन्द्र महर्जन र रोसन महर्जनले सहयोग गर्नुभएको थियो । अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी दिनुभएको थियो । कार्य समितिका अरु पदाधिकारीलाई भने निर्विरोध निर्वाचित गरिएको थियो ।


    अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएका गुठीका वर्तमान अध्यक्ष विजयमान सिंह र पूर्वउपाध्यक्ष सिर्जना तुलाधरलाई आआफ्नो कुरा राख्न लगाई सम्पन्न गरिएको निर्वाचनमा विजयमान सिंह १०६ मत ल्याई विजयी हुनुभयो । सिर्जना तुलाधरले ६२ मत ल्याउनु भयो ।
    सोही दिन विहान नेवा गुठी र नेवा नख दुबै संस्था मिली नेपाल संवत् ११४४ को उपलक्ष्यमा भिन्तुना र्यालीको आयोजना गरी नेवारी बाजा बजाई नाचगान गर्दै शुभकामना आदानप्रदान गरिएको थियो ।



    भिन्तुना कार्यक्रमका पाहुनाहरुलाई उसिनेको अण्डा र माछाको सगुन दिई रातो टीका लगाई दिएर नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको थियो । उक्त कार्यक्रममा अरु जातिका मानिसहरुको पनि ठूलो संख्यामा सहभागिता रहेको थियो ।

  • चार महिनामा भित्रियो १८ अर्ब वैदेशिक लगानी प्रतिवद्द्ता

    चार महिनामा भित्रियो १८ अर्ब वैदेशिक लगानी प्रतिवद्द्ता


    काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा (साउन–कात्तिक) मा १८ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । 

    उद्योग विभागको तथ्याङ्क अनुसार साउनदेखि कात्तिक महिनासम्म १७८ परियोजनामार्फत १८ अर्ब ३५ करोड ४३ लाख तीन हजार रुपियाँ एफडिआई आएको हो । कात्तिक महिनामा मात्र २७ परियोजनामार्फत एक अर्ब ७५ करोड रुपियाँ विदेशी लगानी प्रतिबद्धता भित्रिएको हो । 

    चार महिनामा सबैभन्दा धेरै साना उद्योग १७०, मझौला पाँच र तीन वटा ठुुला उद्योगमा लगानी प्रतिबद्धता आएको छ । नेपालमा सबैभन्दा सेवामूलक, उत्पादनमूलक, पर्यटन, सूचना प्रविधिमूलक क्षेत्रमा बढी विदेशी लगानी भित्रिने गरेको छ । 

    सेवामूलक उद्योग ६९, उत्पादनमूलक १२, पर्यटन ८६, सूचना प्रविधि पाँच, पूर्वाधारमूलक चार, खानीजन्य र कृषिजन्य उद्योग एक/ एक उद्योगमा लगानी प्रतिबद्धता आएको छ । गत असोज महिनामा १६ अर्ब ६० करोड ४३ लाख लगानी प्रतिबद्धता आएको थियो । अघिल्लो भदौ महिनामा मात्र ५१ वटा परियोजनामार्फत दुई अर्ब ७२ करोड २४ लाख रुपियाँ प्रतिबद्धता आएको विभागले जनाएको छ । गत साउन महिनामा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँ लगानीको प्रतिबद्धता आएको हो । साउन महिनामा सबैभन्दा धेरै विदेशी लगानीको प्रतिबद्धता आएको थियो ।

    सुरुदेखि हालसम्म छ हजार ३७ परियोजनामा चार खर्ब ६८ अर्ब ३२ करोड ३२ लाख २४ हजार रुपियाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ । नेपालमा प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत रकम मात्र भित्रिने गरेको छ ।

  • आँबुखैरेनीको सयपत्री फूल कतार तिर्यात

    आँबुखैरेनीको सयपत्री फूल कतार तिर्यात

    काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकामा उत्पादित सयपत्री फूल कतार निर्यात भएपछि यहाँका किसान उत्साहित भएका छन् । आँबुखैरेनी–१ स्थित आँधीमूल आमा समूह, यानचोकटार आमा समूह र मित्रता माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेको सयपत्री कतार निर्यात गरिएको हो । गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीको समन्वयमा पहिलो चरणमा तीन सय सयपत्रीको माला कतार पुर्‍याइएको हो ।

    गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भने, ‘यो गाउँपालिकाका लागि नै खुसीको कुरा हो । गाउँपालिकाको सहयोगमा पहिलो पटक सयपत्री खेती गरिएकामा कतारसम्म निर्यात भएको छ ।’ पहिलो चरणमा एउटा माला एक सय ५० रुपैयाँका दरले कतार पठाइएको छ । अरु बेला पनि सयपत्री निर्यात गर्ने बारेमा छलफल भइरहेको अध्यक्ष चुमानले बताए । फूलखेती विदेश निर्यात हुँदा यहाँका किसानमा आशा पलाएको उनको भनाइ छ । अध्यक्ष चुमानले भने, ‘पहिलो पटक तीन ठाउँमा खेती गरियो, अब यसलाई विस्तार गर्ने योजना छ ।’

    गाउँपालिकाले आयातित तथा प्लाष्टिकजन्य फूलमाला निरुत्साहित गरेको छ । गाउँपालिकाले पालिकाभित्रै उत्पादित फूललाई बढावा दिने जनाएको छ । गाउँपालिकाले चालू आवदेखि अनुदानको कार्यक्रम अगाडि बढाएको छ । सोही बमोजिम तीन ठाउँमा सयपत्री फूलखेती सुरु गरी उत्पादन भइसकेको छ । उत्पादन भएको सयपत्री बिक्रीका लागि बजारीकरण गर्न सहयोग गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख केसीले बताए ।

    गाउँपालिकाले स्थानीय कृषि उपज वस्तु बिक्री वितरणका लागि आँबुखैरेनी–३ मा हाटबजार सञ्चालनमा ल्याएको छ । उक्त हाटबजार प्रत्येक शुक्रबार सञ्चालन हुने गरेको छ । गाउँपालिकाले विद्यालयमा पढ्दै कमाउँदै र आमा समूहमा अध्यक्षसँग कृषि कार्यक्रममार्फत् फूलखेतीका लागि सहयोग गरेको थियो ।

    गाउँपालिकाका कृषि शाखा प्रमुख केसीका अनुसार तिहारमा सयपत्री फूल प्रतिकिलो रु पाँच सयसम्म बिक्री भइरहेको छ । स्थानीय स्तरमा किलोको दुई सयसम्म बिक्री गरिँदै छ । यस्तै एउटा माला ८० रुपैयाँ सम्ममा बिक्री भइरहेको छ । रासस

  • कोप २८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड यूएई जाने

    कोप २८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड यूएई जाने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन युएई जाने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन आगामी मंसिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुँदै छ । सोही सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले भाग लिन लागेको हो ।

    त्यसका लागि वन तथा वातावरण मन्त्रालयले पनि पूर्वतयारी अघि बढाएको छ । पूर्वतयारीका सम्बन्धमा मन्त्रालयले बिहीबार आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डका विकास व्यवस्थापन विज्ञ डा. पपुलुर जेन्टलले कोप–२८ मा प्रधानमन्त्री सहभागी हुने जानकारी गराए । ‘यस पटकको जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रीलगायत विज्ञ सम्मिलित रहेको सशक्त प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिनेछ,’ उनले भने ।

    नेपालबाट हालसम्म तीन सम्मेलनमा मात्र राष्ट्र वा सरकार प्रमुख स्तरबाट सहभागिता भएको छ । सन् २००९ डेनमार्कको कोपहेगनमा भएको १५औं सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल, सन् २०१८ मा पोल्याण्डमा भएको २४औं सम्मेलनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र सन् २०२१ मा स्कटल्याण्डमा भएको २७ औं सम्मेलनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो । कोप–२८ सम्मेलनमा नेपालको पेभेलियनसमेत रहने छ । यसअघिका सम्मेलनमा नेपालको आफ्नै पेभेलियन हुने गर्दैनथ्यो । तर यसपटक पहिलोपटक नेपालको आफ्नै पेभेलियन रहने र उक्त पेभेलियनमा ३० भन्दा बढी क्षेत्र र विषयबारे प्रस्तुति हुने मन्त्रालयले जनाएको छ ।

    सम्मेलनको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले नेपालको जलवायुका मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेको भन्दै नेपाल उत्साहित समेत छ । ‘यसपटक टेबल ठटाएर कुरा राख्ने हो । हाम्रा छ अलग–अलग विषयका कार्यपत्र सशक्त रुपमा विश्वलाई सुनाउने हो’ वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले भने ।

    मन्त्रालयका अनुसार कोप–२८ सम्मेलनमा नेपालको सहभागीता र नेपालले उठाउने एजेण्डाबारे तयारी तीव्र पारिएको छ । सम्मेलनको तयारी अन्तर्गत मन्त्रालयले सातै वता प्रदेशमा अन्तर्क्रिया गरी सुझावसमेत संकलन गरिसकेको छ ।

    मन्त्रालयका जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा. बुद्धिसागर पौडेलका अनुसार सम्मेलनमा नेपालका तर्फबाट उठाउनुपर्ने विषयको तयारीका लागि जलवायु वित्त, अनुकूलन, पर्वतीय प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि, हानि र नोक्सानी, लैङ्गिक, युवा, बालबालिका, जलवायु सशक्तीकरण, जलवायु परिवर्तनका असर न्यूनीकरण गरी ६ बुँदामा केन्द्रित रहेर विज्ञ समूह गठन गरी सुझाव संकलन गरिएको जानकारी दिए ।

  • पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने

    पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने

    काठमाडौं । कारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    सरकारले गएको कात्तिक पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो । पोर्चुगलमा दूतावास खोल्ने विषयमा प्रश्न उठेका बेला सरकारले निर्णय गरेर पनि सार्वजनिक गरेको थिएन ।

    सरकारले एकैपटक बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट राजदूत नियुक्त गरेको सूचना सार्वजनिक गरेको हो । हाल नेपालका विभिन्न देशमा ३० आवासीय दूतावास, ३ स्थायी नियोग र ७ महावाणिज्य दूतावास गरी विदेशमा ४० वटा कूटनितिक नियोगहरू सञ्चालन गरिरहेको छ ।

    राज्यकोषबाट बर्सेनि अर्बौं खर्च गरेर खोलेका ती नियोगबाट उचित प्रतिफल लिन नसकेको भन्दै आलोचना भइरहेका बेला सरकारले पोर्चुगलमा पनि दूतावास खोलेर राजदूत नियुक्त गरेको हो । सरकारले गत असारमा जारी गरेको बजेटमा पनि दूतावास संख्या पुनरवलोकन गर्ने उल्लेख गरेको थियो ।

  • एसिया प्रशान्त क्षेत्रका व्यावसायिक लिडरसँग नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

    एसिया प्रशान्त क्षेत्रका व्यावसायिक लिडरसँग नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

    काठमार्डाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यावसायिक लिडरहरुलाई आह्वान गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघका अध्यक्ष पिटर म्याकमुलिन एमसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले यस्तो आह्वान गरेका हुन् ।

    भेटमा नेपालको आर्थिक विकासमा एसिया प्रशान्त क्षेत्रबाट लगानी, प्रविधि एवम् विकास मोडल आकर्षण गर्न क्यासीबाट हुन सक्ने सहयोगका विषयमा छलफल भएको महासंघले जनाएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालले राजनीतिक उपलब्धि हासिल गरिसकेको र अबको यात्रा समृद्धि भएकाले यसमा सहयोग गर्न क्यासी पदाधिकारीसमक्ष आग्रह गरे ।

    नेपालले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय लगानी आह्वान गरिरहेको र नेपालमा लगानीका लागि अति नै उपयुक्त समय पनि भएको र सरकार पनि सबै प्रकारको सहयोग गर्न तयार रहेको उनको भनाइ छ । महासंघका अध्यक्ष ढकालले ३७ औं क्यासी सम्मेलन नेपालको आर्थिक विकासका मुद्दामा केन्द्रित भएको र सम्मेलन सहयोगी हुने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको बताए । एसिया प्रशान्त क्षेत्रबाट लगानी एवम् प्रविधि भित्र्याउन क्यासीमार्फत महासंघले पहल गर्ने उनले बताए ।

    क्यासीका अध्यक्ष पिटरले लगानी आकर्षण एवम् आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग पुर्‍याउन क्यासी तयार रहेको प्रतिवद्धता जनाए । भेटमा अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्य सचिव डा. बैकुण्ठ प्रसाद अर्याल र क्यासी पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति थियो ।

  • नेपाल र भियतनाम बीच दुई चार्टर्ड उडान हुने

    नेपाल र भियतनाम बीच दुई चार्टर्ड उडान हुने

    काठमाडौं । नेपाल र भियतनामबीच पर्यटक आउजाउका लागि थप दुई चार्टर्ड उडान हुने भएको छ । यसअघि आयोजक रुप्से होलिडेजले गत २१, २५ र २९ अक्टोबरमा हिमालय एयरलाइन्सको एयरबस ३२० जहाज चार्टर गरी काठमाडौं–हनोइ–काठमाडौं रुटमा उडान गरेको थियो ।

    ती उडानमा भियतनामबाट २२५ जना र नेपालबाट भियतनाममा ३२८ जना पर्यटक भ्रमणमा गएको कम्पनीले जनाएको छ । पहिलो योजना सफल भएसँगै कम्पनीले अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी सन् २०२४ मा थप दुई चार्टर्ड उडान गर्न लागेको जनाएको छ ।

    कम्पनीका अनुसार २०२४ को जनवरी ०५ र जनवरी १० मा थप दुई चार्टर उडान हुने भएको छ । यसअघिको उडानमा काठमाडौं–भियतनाम भ्रमणको प्याकेज मूल्य १ लाख २० हजार तोकिएको थियो । आगामी उडान भने ९९ हजार ९ सय ९९ रुपैयाँमा भियतनाम घुम्न पाउने गरी प्याकेज तोकिएको कम्पनीका प्रबन्ध निर्देशक रमेश पराजुलीले बताए ।

    उनका अनुसार यसमा दुई तर्फी हवाई टिकट, पाँच रात होटल र हलोङ्ग बे मा डे क्रुजसहित टुर प्याकेज समेत समेटिएको छ ।

    यसअघि सम्पन्न उडान सामान्य चार्टर्ड उडान मात्र नभएर नेपाल र भियतनामबीच एक साथ ठूलो संख्यामा पर्यटक आदान प्रदानको पहिलो अवसर भएको उनको भनाइ छ । यो भियतनाम र नेपालबीच पर्यटकीय सम्भाव्यताको सफल परीक्षण रहेको समेत उनले बताए । एक लाख २० हजार रुपैयाँ खर्चिएर नेपाली पयर्टकले भियतनामको हनोइको पाँच दिने भ्रमण गरेका थिए ।

    भियतनामबाट आएका पर्यटकले काठमाडौं, पोखरा, लुम्बिनी र सौराहाको घुमघाम गरेका थिए । नेपाल र भियतनामबीच ३ घण्टाको सोझो उडान दूरी रहेको छ । ‘हामीलाई आर्थिक रुपमा यी उडान मुनाफा योग्य छैनन् । तर, हामीले देशको पर्यटन क्षेत्रको विकासका लागि यो जोखिम उठाएका थियौं,’ उनले भनेका छन्, ‘हामी यसमा अपेक्षाकृत सफल रह्यौं । नेपालको पर्यटकीय स्थानबारे भियतनामसम्म प्रवर्द्धन गर्‍यौं ।’ १५ प्रतिशत भन्दा बढी बुद्ध धर्मावलम्बी रहेको देश भियतनाममा लुम्बिनीमा बुद्ध जन्मेको प्रचार गरेको उनले बताए ।

  • परराष्ट्र मन्त्री एनपी साउद नेपाल फर्किए

    परराष्ट्र मन्त्री एनपी साउद नेपाल फर्किए

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले अमेरिकाको एक साता लामो औपचारिक भ्रमण गरी स्वदेश फर्किएका छन् । गत १२ कात्तिकमा अमेरिका भ्रमणमा गएका साउद आइतबार स्वदेश फर्किएका हुन् । स्वदेश फर्किने क्रममा आइतबार त्रिभुवन अन्तरार्ष्ट्रीय विमानस्थलमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री साउदले भ्रमण फलदायी भएको बताए ।

    उनले भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएको समेत जानकारी दिए । ब्लिंकेनसँग भएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्तामा नेपाल‒अमेरिका द्विपक्षीय सम्वन्धका बिषयहरु तथा साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरुमा विचारको आदान – प्रदान भएको उनको भनाइ छ ।

    दुबै पक्षले आपसी हितका बिषयहरुमा सहकार्यलाई थप विस्तार र घनिभूत बनाउने प्रतिवद्धता व्यक्त गरेको उनले बताए । नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नती हुन लागेको सन्दर्भमा नेपालको विकास प्राथमिकताका बिषयहरुमा प्रकाश पार्दै सूचना प्रविधिको विकास, खाद्य सुरक्षा, कृषिको विकास, बजार पहुँच, लगानी र व्यापार लगायतका क्षेत्रहरुमा अमेरिकी सरकारबाट सहयोग बढाउन समेत उनले आग्रह गरेको बताए ।

    त्यस्तै, नेपालको लागि निर्यातयोग्य गार्मेन्ट, फुटवेयर र फार्मास्युटिकल बस्तुहरु थप गर्दै जीएसपी सुविधा र एनटीटीपीपीको विस्तार र पुनस्अनुमतीको लागि समेत उनले अनुरोध गरेका छन् । भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिंकेनले नेपालको लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरण गर्नमा भएको प्रगतिलाई प्रशंसा गरेका थिए । ब्लिंकेनले अमेरिकी सरकार नेपाल एक बलियो र समृद्ध लोकतन्त्र भएको हेर्न चाहेको भन्दै नेपालको विकास प्रयत्नमा अमेरिकी सरकारको निरन्तर सहयोग रहने बताएको जानकारी दिए ।

    भ्रमणको क्रममा साउदले यूनाइटेड स्टेट इन्ष्टिच्युट अफ पिसले वासिङ्टनमा आयोजना गरेको टक प्रोग्राममा सहभागी भएको र नेपालको परराष्ट्र नीतिका विषयमा आफ्नो विचार राखेको बताए ।