Category: डायस्पोरा

  • प्रधानमन्त्री र भारतीय विदेशमन्त्री बीच भेट, के भयो कुराकानी ?

    प्रधानमन्त्री र भारतीय विदेशमन्त्री बीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेपछि जयशंकर प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए । भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार प्रधानमन्त्री प्रचण्ड र विदेशसचिव जयशंकरबीच केहीबेर ‘वान अन वान’ समेत कुराकानी भएको थियो । उनले भने, ‘त्यो भेटमा पनि दुई देशको सम्बन्ध विस्तार र सहमति तथा समझदारीहरु कार्यान्वयनकै विषयमा कुराकानी भएको छ ।’

  • १० हजार मेगावाट विजुली निर्यातको ग्यारेन्टी भयो : प्रधानमन्त्री

    १० हजार मेगावाट विजुली निर्यातको ग्यारेन्टी भयो : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेन्टी भएको बताएका छन् । रामेछापको बेथान पानीघाटमा आयोजित सत्ताइसौं बेथान वीरता दिवस, शहीद स्तम्भ उद्घाटन तथा शहीद परिवार सम्मान कार्यक्रममा पुगेका प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटपछि नेपालको विद्युत् निर्यातको ग्यारेन्टी भएको बताएका हुन् ।

    ‘वर्तमान सरकार देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको र भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणले १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेण्टी भएको छ’, उनले भने । परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आइपुगेका भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेर प्रधानमन्त्री रामेछाप पुगेका हुन् । नेपाल र भारतका उर्जा सचिवहरूले दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा आज बिहीबार नै हस्ताक्षर गरेका थिए ।

  • नेपाल र भारतबीच ऊर्जा व्यापारमा ऐतिहासिक सम्झौता, अरु कुन कुन विषयमा भयो सहमति ?

    नेपाल र भारतबीच ऊर्जा व्यापारमा ऐतिहासिक सम्झौता, अरु कुन कुन विषयमा भयो सहमति ?

    काठमाडौं । नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौता सहितका चार सहमतिमा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता भएको छ ।

    भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत् आयात गर्ने सम्झौतामा दुई देशका उर्जा सचिवले हस्ताक्षर गरेका छन् । नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमतिमा हस्ताक्षर भएको छ । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी र न्यू स्पेस इन्डिया लिमिटेडबीच भएको सहमतिमा भारतले उक्त स्याटेलाइट प्रक्षेपणका लागि नेपाललाई सहयोग गर्नेछ ।

    यस्तै हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयन सहमतिमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले हस्ताक्षर गरेका छन् । यो सहमति अनुसार काठमाडौंस्थित भारतीय दूतावासले अब एउटै परियोजनामा २० करोडसम्म सोझै लगानी गर्नसक्नेछ ।

    भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ नेपाली अनुदान सहयोग गर्ने सहमति भएको छ । दुवै देशका परराष्ट्रमन्त्रीले १३२ केभीए पावर क्षमताका तीनवटा प्रसारण लाइनको उद्घाटन गरेका छन् । संयुक्त आयोगको बैठकमा नेपाल र भारतको समग्र विषयमा समीक्षा गर्ने, आगामी दिनमा नेपाल र भारतको सम्बन्धलाई कसरी सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए । कनेक्टिभिटी, व्यापार, जलस्रोत, उर्जा व्यापारका विषयमा छलफल भएको उनले बताए ।

  • जयशंकरले आजै गर्नेछन् उच्चस्तरीय राजनीतिक भेटघाट

    जयशंकरले आजै गर्नेछन् उच्चस्तरीय राजनीतिक भेटघाट

    काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आउने भारतीय विदेशमन्त्री एस जयशंकरले आजै उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने भएका छन् । भारतीय वायु सेवाको विशेष विमानमार्फत् आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने जयशंकरले राष्ट्रपति, प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतलाई आजै भेट्ने छन् । काठमाडौंस्थित भारतीय दूतावासले दिएको जानकारी अनुसार जयशंकर आज बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुग्ने छन् ।

    त्यसपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री प्रचण्डसँग मध्याह्न १२ बजे बालुवाटारस्थित निवासमा भेट्ने कार्यक्रम तय भएको छ । दिउँसो १ बजे परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुने विदेशमन्त्री जयशंकरले दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग र साढे ४ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताको समय निर्धारण गरिएको छ । बेलुका परराष्ट्रमन्त्री एनपी साउदले आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुनेछन् ।

    शुक्रबार बिहान ८ बजे उनी पशुपतिनाथ मन्दिरमा पूजा गर्न जाने छन् । सोही दिन १२ बजेपछि उनी नयाँदिल्ली फर्किनेछन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन काठमाडौं आउन लागेका भारतीय विदेशमन्त्री जयशंकर नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गर्ने छन् ।

  • भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल भ्रमणमा आउँदै

    भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस.जयशंकर बिहान १० बजे काठमाडौं आइपुग्दैछन् । कोभिड महामारीका कारण विगत दुई वर्ष संयुक्त बैठक हुन सकेको थिएन । त्यसअघि २०७७ साल माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो । त्यसयता रोकिएको बैठक सातौं बैठक यस पटक काठमाडौंमा हुन लागेको हो । बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री एनपी साउदले गर्नेछन् ।

    संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका वृहत्त विषयमा समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा दुई देश बीचको व्यापार असन्तुलन कम गर्ने, आयात निर्यातमा सन्तुलन कायम गर्ने, ऊर्जा व्यापार लगायतका विषयमा छलफल गर्ने तयारी छ ।

    जयशंकरको भ्रमणका क्रममा २५ वर्षे विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारीसमेत छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका सिलसिलामा १७ जेठमा नेपाल र भारतबीच २५ वर्षका लागि भारतसँग विद्युत् व्यापारको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । बैठकमा सहभागी हुन काठमाडौं आउन लागेका भारतीय विदेशमन्त्री जयशंकर नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गर्ने छन् ।

    भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री जयशंकर, विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बाग्ची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरु छन् । नेपालमा रहँदा जयशंकरले उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने कार्यक्रम छ । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गर्ने छन् ।

    जयशंकर नेतृत्वको भारतीय टोली परराष्ट्रमन्त्री एनपी साउदले आयोजना गर्ने रात्रिभोजमा पनि सहभागी हुनेछ । संयुक्त आयोगको बैठक सकेर भारतीय विदेशमन्त्री जयशंकर शुक्रबार दिल्ली फर्किने कार्यक्रम छ ।

  • विमानस्थलमा अध्यागमनका कर्मचारीले काम रोक्दा केही बेर उडान अवरुद्ध

    विमानस्थलमा अध्यागमनका कर्मचारीले काम रोक्दा केही बेर उडान अवरुद्ध

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले बुधबार करिब आधा घण्टा भन्दा बढी समय काम रोक्दा उडान अवरुद्ध बन्न पुगेको छ । प्रहरीले अध्यागमनको कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै असन्तुष्ट रहेका कर्मचारीहरुले कामै करिब ५ बजेबाट काम रोकेका थिए । कर्मचारीहरुले अध्यागमन डेस्क नै खाली गरेर काम रोकेपछि विमानस्थलमामा विदेश जाने तयारीमा रहेका यात्रुहरु मर्कामा परेका थिए ।

    करिब तीन साता अघि अध्यागमन अधिकृत नुरबीर खड्का सेटिङ मिलाएर भिजिट भिसामा मान्छे पठाउने गिरोहसँगको संलग्नताको आरोप पक्राउ परेका थिए । उनलाई प्रहरीले पक्राउ गरेपछि नै कर्मचारीहरु असन्तुष्ट थिए । त्यसपछि उनीहरुले असल मनसायले गरेको काममा पनि प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गर्दै आएका थिए ।

    यसबारे अध्यागमनका कर्मचारीहरुले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रमुख गोगनबहादुर हमाललाई ज्ञापन पत्र दिएका थिए । कर्मचारीहरुको त्यही ज्ञापन पत्र र गुनासोबारे जानकारी गराउन बुधबार महानिर्देशक तामाङ र कार्यालय प्रमुख हमाल उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न सिंहदरबार गएका थिए ।

    तामङ र हमाल गृहमन्त्रीसँग कुराकानी गर्न गएको समयमा यता विमानस्थलको अध्यागमन डेस्कका कर्मचारीले काम रोकेका थिए । विमानस्थल अध्यागमन कार्यालयका उपसचिव झंकनाथ ढकालले असल मनसायले गरेको काममा अपराधी सरह व्यवहार भएको भन्दै कर्मचारीहरुले ज्ञापन पत्र दिएको र यस्तै अवस्थामा काम गर्न नसक्ने कुरा उल्लेख गरेको बताए । यही पृष्ठभूमिमा बुधबार अध्यागमनको कामै अवरोध गर्ने गतिविधि भएको हो ।

  • पानीजहाजमा फारम भरेकालाई उत्पादनशिल क्षेत्रमा भर्न थप दुई दिन समय दिइयो

    पानीजहाजमा फारम भरेकालाई उत्पादनशिल क्षेत्रमा भर्न थप दुई दिन समय दिइयो

    काठमाडौं । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले पानीजहाज निर्माण अर्थात् शिप बिल्डिङ क्षेत्रमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा फारम भर्ने समय थप गरेको छ । मङ्गलवार बसेको महानिर्देशकस्तरको निर्णयअनुसार फारम भर्ने समय दुई दिन थप भएको विभागले निकालेको सूचनामा उल्लेख छ । यसअघि यही पुस १३ गते जारी सूचनामा पुस १६ देखि १८ गतेसम्मका लागि फारम भर्ने समय तोकिएको थियो । नयाँ सूचनाअनुसार परीक्षार्थीले अब पुस २० गतेसम्म फारम भर्न पाउने छन् ।

    विभागले पुस १३ गते ललितपुर महानगरपालिका–७ बालकुमारीमा भएको घटनामा दुई जनाको ज्यान गएको र मृतकको अन्तिम संस्कारमा फारम भर्ने परीक्षार्थी समावेश हुनसक्ने देखिएको तथा फारम भर्न शुरु भएको पहिलो दिन प्राविधिक कारणले प्रणालीमा समस्या देखिएकाले दुई दिनको समय थप गरेको जनाएको छ ।

  • भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी सुरु, विहीबार नेपाल आउने

    भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी सुरु, विहीबार नेपाल आउने

    काठमाडौं । नेपाल र भारतबीच आगामी बिहीबारदेखि सुरु हुने मन्त्रिस्तरीय संयन्त्रको बैठकको तयारी बारे परराष्ट्र मन्त्रालयमा छलफल भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार मन्त्रालयमा पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रसचिव र भारतका लागि पूर्वराजदूतहरूसँग संयन्त्रको बैठकबारे छलफल गरेका हुन् । संयन्त्रको बैठकमा सहभागी हुन दुई दिने भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार बिहान नेपाल आइपुग्दै छन् ।

    छलफलका क्रममा पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रसचिव र भारतका लागि पूर्वराजदूतहरूले नेपाल–भारत सम्बन्धका विभिन्न कार्यसूचीहरूमा सुझाव दिएका थिए । भारतसँगको नेपालको सम्बन्ध महत्वपूर्ण रहेकोमा जोड दिँदै उनीहरूले सम्बन्धलाई मित्रवत् सुमधुर र पारस्परिक हितमा आधारित साझेदारीका रूपमा अगाडि बढाउँदै लैजानुपर्ने सुझाव दिए ।

    बढ्दो व्यापार घाटाका सम्बन्धमा भारतमा नेपालको निर्यात वृद्धिका उपाय पहिल्याउनुपर्ने, विद्युत् व्यापारलाई विस्तार गर्नुपर्ने, क्रस बोर्डर पूर्वाधार सुदृढ गर्नुपर्ने, विगतमा थालिएका विकास आयोजनाहरू समयमै सम्पन्न गर्न जोड दिनुपर्ने, हवाइ रुटलगायतका विषय सम्बोधन गर्नुपर्ने उनीहरूको सुझाव थियो । मन्त्रालयमा सम्पन्न छलफलमा पूर्वपरराष्ट्रमन्त्री डा। भेषबहादुर थापा, पूर्वपरराष्ट्रसचिवहरू मधुरमण आचार्य, अर्जुन थापा, दुर्गा भट्टराई, भरतराज पौड्याल, पूर्वराजदूत दुर्गेशमान सिंहलगायतको सहभागिता थियो ।

  • पर्यटकको लक्ष्य पुरा भएसँगै विदेशी राजदूतहरुलाई सरकारले दियो धन्यवाद

    पर्यटकको लक्ष्य पुरा भएसँगै विदेशी राजदूतहरुलाई सरकारले दियो धन्यवाद

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालस्थित विदेशी दूतावासहरुमा धन्यवाद पत्र पठाएको छ । पर्यटनमन्त्री सुदन किरातीले नेपालस्थित विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखलाई शुभकामना दिँदै पत्र लेखेका हुन् । मन्त्रालयका प्रवक्ता हेमराज तामाङका अनुसार पत्रमा नेपालमा पर्यटक भित्राएर नेपाल सरकारको लक्ष्य पुरा गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्रालयले विदेशी राजदूत र दूतावासलाई धन्यवाद ज्ञापन गरेको हो ।

    नेपालको आर्थिक समृद्धिको सपनालाई पर्यटन मार्फत साकर पार्नका साथै दुई देशविचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउन दुतावासले खेलेको भूमिका प्रशंसनीय रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको पत्रमा उल्लेख छ । मन्त्रालयले नेपालमा पर्यटकको संख्या बढ्नुमा नेपालस्थित विदेशी कूटनीतिक नियोगको महत्वपूर्ण योगदान र भूमिका रहेको समेत बताएको छ ।

    नेपाल सरकारले सन २०२३ मा १० लाख पर्यटक भित्राउने लक्ष्य राखेको थियो । सन २०२३ मा १० लाख १४ हजार ८ सय ७१ पर्यटक नेपाल आएका छन् । मन्त्री किरातीले नेपाल भ्रमण दशक २०२३–२०३२ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या वार्षिक ३५ लाख पु¥याउने लक्ष्य रहेको भन्दै आफ्ना नागरिकलाई नेपाल भ्रमणमा प्रोत्साहन गर्न समेत आग्रह गरेका छन् ।

  • अमेरिका पठाइदिने प्रलोभनमा २६ लाख ठगी गर्ने एक जना पक्राउ

    अमेरिका पठाइदिने प्रलोभनमा २६ लाख ठगी गर्ने एक जना पक्राउ

    काठमाडौं । अमेरिका पठाइदिन्छुु भन्दै २६ लाख रूपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन्। काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा-३ बस्ने ५९ वर्षीय भैरवबहादुर ठकुरी पक्राउ परेका हुन्। उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पक्राउ गरेको हो।

    उनीविरूद्ध कृतेश खरेल समेत २ जनाले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै पैसा लिइसकेपछि सम्पर्क विहिन भएको वैदेशिक रोजगार विभागमा उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

  • कोरियाको सिप बिल्डिङमा अनुत्तीर्णले उत्पादनमुलक क्षेत्रमा आवेदन दिन सक्ने

    कोरियाको सिप बिल्डिङमा अनुत्तीर्णले उत्पादनमुलक क्षेत्रमा आवेदन दिन सक्ने

    काठमाडौं । रोजगार अनुमति प्रणालीअन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला भएको छ । उनीहरूलाई पुस १३ गते बिहान १० बजेदेखि ३ बजेसम्म ईपीएस शाखा ग्वार्कोमा सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षाको प्रवेशपत्र र तोकिएको शुल्क लिइ सम्पर्क गर्न ईपीएस कोरिया शाखाले अनुरोध गरेको छ ।

    यसअघि ईपीएस शाखाले मंसिर १९ गते उत्पादनमूलक क्षेत्रका लागि कोरियन भाषा परीक्षाको आवेदन फाराम खुलाउँदा अन्य क्षेत्रतर्फ कोरियन भाषाको परीक्षाको लागि आवेदन दिएका आवेदकले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउने उल्लेख थियो ।

    यो व्यवस्थाविरुद्ध सिप बिल्डिङ क्षेत्रमा सामेल भएका आवेदकले उच्च अदालत पाटनमा निवेदन पेस गरेपछि अदालतले फाराम भर्न रोक नलगाउन आदेश दिएको थियो । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखाले आवेदन फाराम खुला गरेको हो ।

  • दिल्ली भ्रमणमा नजान इजरायली सरकारको एडभाइजरी

    दिल्ली भ्रमणमा नजान इजरायली सरकारको एडभाइजरी

    काठमाडौं । नयाँदिल्लीस्थित इजरायली दूतावास नजिकै मङ्गलबार बम विस्फोट भएपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको छ ।

    दिल्ली प्रहरीलाई मङ्गलबार आएको फोनमा मङ्गलबार साँझ चाणक्यपुरी कूटनीतिक क्षेत्रमा इजरायली दूतावास नजिकै विस्फोट भएको जानकारी दिइएको थियो । विस्फोटपछि दूतावास नजिकै इजरायली राजदूतलाई सम्बोधन गरिएको पत्रसमेत भेटिएको थियो । दिल्ली प्रहरीले फरेन्सिक प्रमाणका लागि सान्दर्भिक प्रमाण पठाएको छ ।

    भारतका लागि इजरायली उपराजदूत ओहद नकास कायनारले दूतावासका कर्मचारी र कूटनीतिज्ञहरू सुरक्षित रहेको र आफ्नो सुरक्षा दलले घटनाबारे अनुसन्धान गरिरहेको मङ्गलबार बताएका थिए । इजरायली राष्ट्रिय सुरक्षा परिषद्ले बम विस्फोटलाई सम्भवतः आक्रमणको स्वरूप भएको बताएको छ । भारतमा बसोबास गर्ने इजरायलीहरूलाई परिषद्ले सल्लाह दिँदै भनेको छ, “भिड हुने स्थान (मल, बजार) तथा पश्चिमी÷यहुदीले प्रयोग गर्ने स्थानतर्फ नजान प्रयास गर्नुहोला ।”

    परिषद्ले इजरायलीहरूलाई बाहिरी आक्रमणबाट बच्नका लागि रेस्टुरेन्ट, होटल तथा बारसहित धेरै सार्वजनिक स्थानमा नजान तथा कार्यक्रममा भाग नलिन पनि आग्रह गरेको छ । रासस-एएनआई

  • दक्षिण कोरियामा एक सातामा चार नेपालीको मृत्यु

    दक्षिण कोरियामा एक सातामा चार नेपालीको मृत्यु

    काठमाडौं । दक्षिण कोरियामा एक हप्तामा ४ जना नेपालीको मृत्यु भएको छ । विभिन्न दुर्घटनामा सोलुखुम्बु नेचासल्यानका रन्जन राई, नुवाकोट दुप्चेश्वरका पासाङ स्याङ्बा, पाँचथर लिगिम्बाका नरेन्द्र केरुङ र मोरङका रोहित मगरको मृत्यु भएको हो । गजेदोको पानी जहाज निर्माण कम्पनी हान्वा ओसनमा कार्यरत राईको शनिबार र छनानमा कार्यरत केरुङको सुतेकै अवस्थामा शुक्रबार निधन भएको थियो ।

    छुन्छन् नाम्दो येसन सीमा कम्पनीमा दुर्घटनामा परी स्याङ्बाको शुक्रबार मृत्यु भएको र बिरामी परेका मगरको उपचारको क्रममा ज्यान गएको हो । मगर थेगु क्षेत्रमा काम गर्दै आएका थिए । राई सोलुखुम्बु सेवा समाजका पूर्वउपाध्यक्षसमेत थिए । सोलुखुम्बु समाजका अध्यक्ष राजु राईले रन्जनको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको र मृतकको परिवारसँग सम्पर्क भइसकेको नेपाली सञ्चारमाध्यम कान्तिपुरले जनाएको छ ।

    स्याङ्बा पहिलो पाँच वर्ष सकाएर दोस्रो कार्यकालको रुपमा कोरिया आएकी थिइन् । ह्योल्मो सम्पर्क समितिका निर्वतमान अध्यक्ष बाबुज्याबा हृयोल्मोका अनुसार स्याङ्बा सेफ्टी नेट, प्यारासुटहरुमा प्रयोग हुने धागो बनाउने कम्पनीमा कार्यरत थिइन् । उनको कार्यस्थल दुर्घटनामा ज्यान गएको ह्योल्मो बताए ।

  • कार्यक्षमता कमजोर भएका राजदूत फिर्ता बोलाउने प्रधानमन्त्रीको घोषणा

    कार्यक्षमता कमजोर भएका राजदूत फिर्ता बोलाउने प्रधानमन्त्रीको घोषणा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरुलाई फिर्ता बोलाउने बताएका छन् । मंगलबार आफू प्रधानमन्त्री भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कूटनीतिक नियोगहरुलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालन गर्ने बताएका हुन् ।

    ‘म सबै आर्थिक र कुटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि प्रतिबद्ध छु। कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरू फिर्ता बोलाइनेछन्’, उनले भने । आफू प्रधानमन्त्री भएपछि विप्रेषण आप्रवाहमा २६ प्रतिशतले वृद्धि भएको भन्दै प्रचण्डले अब आफ्नो ध्यान विप्रेषणसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउनेतर्फ केन्द्रित हुने पनि बताए ।

  • यूरोपका थप ८ मुलुकसँग श्रम सम्झौता गर्दै नेपाल

    यूरोपका थप ८ मुलुकसँग श्रम सम्झौता गर्दै नेपाल

    काठमाडौं । सरकारले थप विभिन्न आठ देशसँग श्रम सम्झौताको तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसम्म १२ देशसँग श्रम सम्झौता गरेको सरकारले सन् २०२४ भित्रमा थप आठ देशसँग श्रम सम्झौताको तयारी भएको जानकारी दिएको हो । नेपालले सन् २०२४ मा कुवेत, ओमान, साउदी अरेबिया, पोर्चुगल, पोल्यान्ड, युक्रेन, माल्टा र टर्कीसँग श्रम सम्झौता गर्न लागेको हो । त्यसका लागि मन्त्रालयबाट सम्झौताको मस्यौदा तयार पारी सम्बन्धित देशलाई पठाइएको छ । ती देशबाट मस्यौदाबारे धारणा आएपछि सम्झौताको प्रक्रिया अघि बढ्ने छ ।

    सरकारले युरोपका विभिन्न मुलुकसँग श्रम सम्झौतालाई प्राथमिकता दिएको छ । सरकारले हालै रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको थियो । अब थप छ देशसँग पनि यही वर्ष सम्झौता गर्ने गरी कार्य भइरहेको मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारी दिएका छन् ।

    नेपालले हाल कतार, युएई, कोरिया, बहराइन, जोर्डन, इजरायल, मलेसियालगायतका १२ देशसँग श्रम सम्झौता गरिसकेको छ । पछिल्लो समय नेपालीको आकर्षण युरोपतिर देखिएको छ । ती देशसँग श्रम सम्झौता नहुँदा नेपाली व्यक्तिगत श्रम स्वीकृति लिएर महँगो शुल्क तिरेर जाने गरेका छन् । सहसचिव पोखरेलले श्रम सम्झौता गरेपछि ती देशमा संस्थागत रूपमा श्रमिक पठाउने बाटो खुल्ने बताए ।

  • कोरियन भाषा परीक्षाका लागि अहिलेसम्मकै धेरै आवेदन

    कोरियन भाषा परीक्षाका लागि अहिलेसम्मकै धेरै आवेदन

    काठमाडौं । दक्षिण कोरियामा काम गर्न जाने भाषा परीक्षाको लागि अहिलेसम्मकै धेरै आवेदन परेको छ । गएको पुस २ गतेदेखि ६ गतेसम्मको अवधिमा १ लाख ४३ हजारभन्दा बढीले आवेदन दिएका ईपीएस शाखाले जनाएको छ । शाखाका अनुसार यो सङ्ख्या अनलाइन प्रणालीबाट आवेदन दिने व्यवस्था भएयताकै धेरै हो ।

    शाखाले तीन वर्षदेखि अनलाइनमार्फत ईपीएसको आवेदन दिन सकिने व्यवस्था गरेको छ । गएको साउनमा भएको परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने व्यवस्था भएपछि आवेदन धेरै परेको हो । अहिले खोलिएको आवेदनको परीक्षा मिति भने तोक्न बाँकी छ ।

    दक्षिण कोरिया सरकारले उत्पादनमूलक क्षेत्रका लागि सन् २०२४ मा नेपालबाट १५ हजार ८४८ नेपाली रोजगारीका लागि लैजाने भनेको छ । रोजगारीका लागि कोरिया जान पहिले भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ । कोरिया सरकारले सन् २००८ देखि औपचारिक रुपमा नेपाली श्रमिक लैजान थालेको हो ।

  • नेपाल र श्रीलंकाबीच समृद्धिका लागि साझेदारी गर्ने सहमति

    नेपाल र श्रीलंकाबीच समृद्धिका लागि साझेदारी गर्ने सहमति

    काठमाडौं । नेपाल र श्रीलङ्काबिच एकअर्कालाई सघाउँदै दिगो समृद्धिका लागि साझेदारी गर्ने सहमति भएको छ । काठमाडौँमा बिहीबार बसेको नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा लामो मित्रतामा नयाँ साझेदारीका पहललाई बढवा दिएर एकअर्कालाई सघाउने प्रतिबद्धतासहितको समझदारी भएको हो ।

    परराष्ट्रमन्त्री नारायणप्रकाश साउद तथा श्रीलङ्काका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीको संयुक्त अध्यक्षतामा बसेको बैठकमा दुई देशबिच व्यापार र लगानी अभिवृद्धि गर्ने, बढ्दो हावा जडान, संस्कृति, पर्यटन र शिक्षा आदानप्रदान, सार्क र बिम्स्टेक प्रक्रियालाई सुदृढ गर्नेलगायत क्षेत्रीय सहयोगसहितका बहुपक्षीय मञ्चमा सहकार्यका लागि दुई पक्षीय साझेदारीलाई अगाडि बढाउने विषयमा गहन छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    बैठकमा दुई देशबिचको विकास साझेदारीको समीक्षा गर्दै सहकार्यका क्षेत्रहरूको प्रगति सन्तोषजनक रहेको भन्दै दुवै नेतृत्वले त्यसको सराहना गरेको छ । काठमाडौँ–कोलम्बो हवाई सम्पर्कको सुरुवात उत्साहजनक रहनुका साथै कोलम्बो र लुम्बिनीबिच सीधा हवाई सम्पर्कको सम्भावनाबारे छलफल भएको छ । श्रीलङ्कामा थुनामा रहेका तीन नेपालीको स्थानान्तरणको सम्भावना र उपायका बारेमा दुई मन्त्रीले परामर्श गरेका थिए ।

  • कोरियामा पानीजहाज निर्माणमा फेल भएकाले उत्पादन क्षेत्रको परीक्षा दिन पाउने

    कोरियामा पानीजहाज निर्माणमा फेल भएकाले उत्पादन क्षेत्रको परीक्षा दिन पाउने

    काठमाडौं । कोरियाको पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षामा अनुत्तीर्ण भएकाले पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन् । उच्च अदालत पाटनले पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन अन्तरिम आदेश दिएको हो ।

    यसअघि रोजगार अनुमति प्रणाली (ईपीएस) ले पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने भनेको थियो । यो निर्णयविरुद्ध १८ जनाले उच्च अदालत पाटनमा रिट दिएका थिए ।

    रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन आदेश दिएको हो । उच्च अदालतले उनीहरुलाई फारम भर्न रोक नलगाउन र आवेदन फारम भर्न दिन आदेश दिएको छ । ईपीएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि भाषा परीक्षामा सहभागी हुन सोमवारदेखि आज शुक्रवारसम्म आवेदन दिन आह्वान गरेको थियो ।

  • प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा पौने ५ करोड खर्च

    प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणमा पौने ५ करोड खर्च

    काठमाडौं । जम्बो टोली लिएर दुई साता लामो अमेरिका र चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसैका लागि पौने ५ करोड रुपैयाँ खर्च गरेको खुलेको छ । अर्थ मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र चीनको औपचारिक भ्रमणका गएका प्रधानमन्त्रीको प्रतिनिधिमण्डलको भ्रमण खर्चबापत ४ करोड ७४ लाख २ हजार रुपैयाँ भुक्तानी भएको छ । यो रकम अर्थले परराष्ट्र मन्त्रालयका नाममा निकासा दिएको हो ।

    प्रधानमन्त्री ३० भदौमा अमेरिका प्रस्थान गरेका थिए । उनले ४ असोजमा महासभालाई सम्बोधन गरेका थिए । उतैबाट उनी ५ असोजमा चीन पुगेका थिए । सो क्रममा उनी एसियन गेमको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए । त्यसपछि उनले चीनका विभिन्न राज्यको भ्रमण गरी स्वदेश फर्किएका थिए । मुलुकमा आर्थिक संकट परेका बेला दुई साता लामो घुमफिरमा निस्किएको भन्दै उनको आलोचना भएको थियो ।

  • रुस जानु अघि अब अनिवार्य ‘नो अब्जेक्सन लेटर’ लिनुपर्ने

    रुस जानु अघि अब अनिवार्य ‘नो अब्जेक्सन लेटर’ लिनुपर्ने

    काठमाडौं । रुस यात्रा गर्नुपरेमा नो अब्जेक्सन लेटर अर्थात् एनओसी अनिवार्य रुपमा लिनुपर्ने भएको छ । परराष्ट्र मन्त्रालयले बुधवार निकालेको विज्ञप्तिमा रुस यात्रा गर्नु परेमा एनओसी अनिवार्य रुपमा लिनुपर्ने प्रावधान रहेको जानकारी दिएको हो ।

    रुसी सेनामा नेपालीहरु भर्ती हुन जाने र युद्धको चपेटामा पर्ने खबर सार्वजनिक भएसँगै सरकारले एनओसी लिनुपर्ने प्रावधान ल्याएको हो । परराष्ट्र मन्त्रालयका अनुसार सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अरुलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग त्रिपुरेश्वरबाट जारी गरिने एनओसी लिएर मात्र यात्रा गर्न सकिने व्यवस्था गरिएको छ ।

    यस्तै, अरु विभिन्न गन्तव्यबाट रुस जाँदा पनि एनओसी आवश्यक हुने भएको छ । भारत, बङ्लादेश, श्रीलङ्का, यूएई, साउदी अरबिया, कुवेत, कतार र बहराईनबाट रुस यात्रा गर्नु परेमा पनि त्यहाँ रहेका नेपाली दूतावास र महावाणिज्य दूतावासहरुबाट एनओसी अनिवार्य रुपमा लिनु पर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

  • नाबालिकामाथि अनलाइन दुर्व्यवहार गरेको आरोपमा दुबईबाट एक नेपाली पक्राउ

    नाबालिकामाथि अनलाइन दुर्व्यवहार गरेको आरोपमा दुबईबाट एक नेपाली पक्राउ

    काठमाडौं । नाबालिकालाई अनलाइन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुबईबाट एक जनालाई पक्राउ गरेको छ। साइबर ब्युरोले इन्टरपोलको सहयोगमा रेड कर्नर नोटिस जारी गरी एक जना पुरूषलाई दुबईबाट पक्राउ गरी काठमाडौं ल्याएको एसपी पशुपतिकुमार रायले जानकारी दिए। पक्राउ पर्नेमा प्युठान सरूमारानी गाउँपालिका वडा नम्बर १का ३३ वर्षीय सगीर अहमद छन्।

    उनले नाबालिकालाई फेसबुकमार्फत चिनजान गरी ग्रुमिङ गराएको आरोप छ। ग्रुमिङ भनेको अनलाइन उत्पीडनका लागि बालिकालाई विभिन्न तरिका अपनाएर तयार बनाउनु हो। त्यसरी ग्रुमिङ गराइ जबरजस्ती अश्लिल क्रियाकलाप गर्न लगाएर बारम्बार दुस्ख, हैरानी तथा मानसिक यातना दिएको प्रहरीले जनाएको छ। यसरी यतना दिएको अभिभावकले थाहा पाएपछि परिवारले साइबर ब्युरोमा उजुरी दिएका थिए।
    त्यसमाथि ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गरी २०७९ माघ २५ गते अदालतमा मुद्दा दर्ता भएको थियो। तर उनी वैदेशिक रोजगारीका लागि दुबईमा रहेको खुलेपछि प्रहरीले इन्टरपोलको सहयोग लिएको हो। उक्त सहयोगमार्फत प्रहरीले उनलाई पक्राउ गरी काठमाडौं ल्याएको हो।

  • रुसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु

    रुसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु

    काठमाडौं । रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ।रूसी सेनामा कार्यरत थप एक नेपाली कुन्दन सिंह नागलको मृत्यु भएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। ‘मन्त्रालयले नेपालका लागि रूसका राजदूतमार्फत् रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनःअनुरोध गरिएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    यस्तै, युक्रेनमा बन्दी भएका चार जना नेपाली नागरिकहरूलाई रिहाइ गर्न मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयका अनुसार बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पुन युक्रेनमा बन्धक छन्। ‘बन्दी बनाइएका नेपालीहरूको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको छ,’ मन्त्रालयले भनेको छ।

  • श्रीलंकाका विदेशमन्त्री काठमाडौं आउँदै

    श्रीलंकाका विदेशमन्त्री काठमाडौं आउँदै

    काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री काठमाडौं आउन लागेका हुन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने छ । २१ र २२ डिसेम्बर (आगामी बिहीबार र शुक्रबार) हुने बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले गर्नेछन् भने श्रीलंकाको प्रतिनिधि मण्डलको नेतृत्व साब्रीले गर्नेछन् ।

    बैठकपछि विज्ञान, प्रविधि तथा अन्वेषणका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षरसमेत हुने छ । श्रीलंकाका पूर्व अर्थमन्त्रीसमेत रहेका साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, समकक्षी एनपी साउदलगायतसँग शिष्टाचार भेट पनि गर्ने छन् । उनी २३ डिसेम्बर अर्थात् शनिबार स्वदेश फर्किने छन् ।

  • नेपालीलाई रोजगारीमा लैजाने इजरायल सरकारको प्रस्ताव

    नेपालीलाई रोजगारीमा लैजाने इजरायल सरकारको प्रस्ताव

    काठमाडौं । लर्न एन्ड अर्न’ कार्यक्रमबाट फर्किएका नेपाली विद्यार्थीहरुलाई इजरायलले रोजगारीका लागि लैजान प्रस्ताव गरेको छ । आफ्नो पढाइ अन्तर्गत नै इजरायलको कृषि क्षेत्रमा छोटो समय काम गरेर फर्किएका विद्यार्थीलाई कृषि क्षेत्रमा कामदारका रुपमा लैजान इजरायलले नेपालसमक्ष प्रस्ताव गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले बताएका छन् । कृषि अध्ययन अन्तर्गत इजरायलमा लर्न एण्ड अर्न ९सिक र कमाऊ० कार्यक्रम अन्तर्गत गएका विद्यार्थी छोटो अवधि काम गरेर नेपाल फर्किने गरेका थिए । फर्केकामध्ये इच्छुक विद्यार्थीहरुलाई श्रम स्वीकृति दिएर पठाउन प्रस्ताव गरेको पोखरेलको भनाइ छ ।

    तर इजरायलमा हाल युद्ध नरोकिएका कारण तत्काल पठाउने कि नपठाउने भन्ने विषयमा छलफल गर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार इजरायलबाट सुरुमा एक हजार श्रमिकको माग भएको छ । पछि यो संख्या बढाउन सक्ने पनि बताएको पोखरेलले बताए । गत ७ अक्टोबरमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेको थियो । उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरका विपिन जोशी अझै बेपत्ता छन्, त्यस्तै ४ जना घाइते भएका थिए ।

    उनीहरु सबै सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायलस्थित कृषि फार्ममा काम गर्न गएका थिए । यो कार्यक्रमका लागि इजरायलले सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालको कृषि संकायका विद्यार्थी लैजाने गरेको थियो । तर ७ अक्टोबरको आक्रमणपछि विद्यार्थी इजरायल गएका छैनन् । हालसम्म ३२०० विद्यार्थी यो कार्यक्रम अन्तर्गत इजरायल गइसकेका छन् ।

  • एक महिनामा कामको खोजिमा विदेशिए ७१ हजार नेपाली

    एक महिनामा कामको खोजिमा विदेशिए ७१ हजार नेपाली

    काठमाडौं । एक महिनाको अवधिमा कामको खोजीमा ७१ हजार भन्दा धेरै नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा नयाँ र पुनः श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या ७१ हजार २७६ पुगेको हो । जुन चालु आव २०८०र८१ को एक महिनामा विदेशिएका नेपालीको सर्वाधिक संख्या हो । यो मंसिरमा अघिल्लो वर्षको यसै महिनामा भन्दा पनि धेरै नेपालीले आफ्नो गन्तव्य विदेश बनाएका छन् ।

    २०७९ मंसिरमा ६८ हजार ५६४ जना नेपालीले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका थिए । यस वर्ष असोजमा ५६ हजार २३५ र कात्तिकमा ४३ हजार ६२२ नेपालीले श्रम स्वीकृति लिएका थिए । यी दुई महिना मूख्य चाडबाडको सिजन मानिन्छ । त्यसलगत्तै झण्डै दोब्बर संख्यामा नेपाली विदेशिएका छन् । मंसिरमा मात्र ६ हजार ९३४ जना महिला कामको खोजीमा विदेशिएका छन् । यो महिनामा नयाँ श्रम स्वीकृति मात्र ३६ हजार ८० वटा जारी भएको छ ।

    मंसिरमा विदेशिनेमध्ये धेरैजसो नेपाली तराईका जिल्लाका छन् । धनुषबाट ३६ सय २१, झापाबाट ३३ सय ९७, मोरङबाट ३१ सय २ र रुपन्देहीबाट २३ सय ९ जना विदेश गएका छन् । चालु आवको पहिलो पाँच महिनामा पौने ३ लाख नेपाली कामको खोजिमा विदेशिएका छन् । तथ्यांक अनुसार साउनदेखि मंसिरसम्म कुल २ लाख ७७ हजार ५९२ जना नेपालीले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् । गत आवको यसै अवधिको तुलनामा भने विदेशीनेको संख्या केही कम भएको छ । गत वर्ष ५ महिनामा ३ लाख ३९ हजार ८२ जना नेपाली कामको खोजिमा विदेशिएका थिए ।

  • मालीबाट नेपाली शान्ती सैनिक फिर्ता, मिसन बन्द

    मालीबाट नेपाली शान्ती सैनिक फिर्ता, मिसन बन्द

    काठमाडौं । द्वन्द्वग्रस्त अफ्रिकी मालीमा रहेको संयुक्त राष्ट्रसंघको शान्ति मिसन बन्द भएसँगै त्यहाँ रहेको नेपाली सेना फिर्ता भएको छ । मिसनमा रहेका ५९ जना सैनिकहरू सोमबार संयुक्त राष्ट्रसंघको चार्टड विमानमा नेपाल फर्किएको नेपाली सेनाले जनाएको छ । राष्ट्रसंघले मिसन बन्द गरेसँगै त्यहाँ कार्यरत १५६ जना स्टाफ अधिकृत र १२ जना सैनिक पर्यवेक्षक गरी १६८ जना सैनिक नेपाल फर्किएका हुन् । त्यसमध्ये ९३ जना यसअघि नै स्वदेश आइसकेका थिए ।

    नेपाली सेनाका अनुसार बाँकी १६ जना केही समयपछि नेपाल आउनेछन् ।माली सरकारको निरन्तर दबाबपछि उक्त मिसन बन्द गर्ने निर्णय राष्ट्रसंघको सुरक्षा परिषद्ले गरेको थियो। मालीको सेनासँग राष्ट्रसंघको सम्बन्ध सुमधुर हुन नसकेपछि सुरक्षाको दृष्टिकोणले उक्त मिसन सबैभन्दा जोखिमपूर्ण मानिएको थियो। सन् २०१३ मा उत्तरी मालीमा हिंसात्मक संघर्ष सुरु भएपछि राष्ट्रसंघीय शान्ति मिसन स्थापना भएको थियो।

  • खाडी मुलुकमा फ्रि भिसा फ्रि टिकट नीति कार्यान्वयन असम्भव रहेको सरकारका सचिवको दावि

    खाडी मुलुकमा फ्रि भिसा फ्रि टिकट नीति कार्यान्वयन असम्भव रहेको सरकारका सचिवको दावि

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले खाडी लगायत विभिन्न मुलुकहरूमा फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिकहरू पठाउन नसकिने बताएका छन्। आइतबार काठमाडौंमा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सचिव भण्डारीले सरकारले कार्यान्वयनका लागि काम गरेको तर सम्भव नभएको बताए।

    ‘स्वास्थ्य परीक्षण प्रक्रियाकै लागि लगभग १२ हजार खर्च हुने रहेछ। अनि कसरी १० हजारमा पठाउन सकिन्छ,’ उनले भने, ‘श्रमिकहरूको एक महिनाको पारिश्रमिक बराबर सेवाशुल्क म्यानपावरले लिन पाउने गरी हामी छलफल गर्दैछौं।’ सीपयुक्त श्रमिकबाट फरक सेवाशुल्क लिनसक्ने गरी पनि छलफल भइरहेको उनले बताए। सरकारले २०७२ सालमै खाडीका सबै मुलुक तथा मलेसियामा फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिकहरू जान पाउने घोषणा गरेको छ। तर कार्यान्वयनमा आउन सकेको छैन।

  • मलेसियामा साथिको हत्या गरी नेपाल आएका व्यक्ति पक्राउ

    मलेसियामा साथिको हत्या गरी नेपाल आएका व्यक्ति पक्राउ

    काठमाडौं । मलेसियामा एउटै कम्पनीमा कार्यरत व्यक्तिको हत्या गरी नेपाल फर्किएका पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले महोत्तरी गौशाला नगरपालिका-५ बस्ने २४ वर्षीय अनिलकुमार साहलाई पक्राउ गरेको एसपी कुमोध ढुंगेलले जानकारी दिए। शनिबार हिमालयन एयरलाइन्सबाट काठमाडौं आइपुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो। उनले मंसिर २५ गते झापा शिवसताक्षी नगरपालिका-३ का ४० वर्षीय धनबहादुर प्रधानको हत्या गरेको आरोप छ। प्रधान विगत एक वर्षदेखि वैदेशिक रोजगारीका लागि मलेसियामा काम गर्दै थिए।

    त्‍यहाँ काम गर्नेक्रममा साहले प्रधानको हत्या गरेको एसपी ढुंगेलले बताए। मृतक प्रधानकी श्रीमतीले प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्। साहले आफ्नो हुलिया परिवर्तन गरी नेपाल फर्किएको भन्ने सूचना प्रहरीले पाएको थियो। त्यस सूचनाको आधारमा खटिएको टोलीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद लिएर इन्टरपोल मार्फत मलेसियन प्रहरी र मलेसियास्थित नेपाली राजदूतावाससँग समन्वय गरी अनुसन्धान अघि बढाएको छ।

  • कुवेतका अमिरको निधनमा नेपालमा शोक

    कुवेतका अमिरको निधनमा नेपालमा शोक

    काठमाडौं । सरकारले कुवेतका अमिरको निधनमा सोमबार शोक मनाउने निर्णय गरेको छ । कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाजेर अल सबाको ३० मंसिरमा ८६ वर्षको उमेरमा निधन भएको थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको सम्मानमा २ पुसमा शोक मनाउने र देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

  • अमेरिकाबाट भित्रिएको ५५ किलो गाँजा बरामद

    अमेरिकाबाट भित्रिएको ५५ किलो गाँजा बरामद

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति अमेरिकाबाट नेपाल ल्याइएको ५५ किलो गाँजा बरामद भएको छ । १०८ वटा कार्टुनमा प्याक गरेर ल्याइएको उक्त गाँजा भन्सार जाँच हुनुअघि नै बरामद गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक टोकराज पाण्डेले जानकारी दिए ।

    उनका अनुसार ठूलो परिमाणमा गाँजा नेपाल ल्याइँदैछ भन्ने सूचनाका आधारमा विमानस्थलमा कडाइ गरिएको थियो । त्यस क्रममा एउटा फर्मको नाममा ल्याइएको कार्टुनहरुमाथि शंका लागेर चेक गर्दा गाँजा भेटिएको थियो । उक्त फर्म र गाँजाबारे थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोलाई जिम्मा लगाएको छ ।

    यसअघि अमेरिकाबाट हुलाकमार्फत केही ग्राम लागूऔषध नेपाल पठाउने गरेको भेटिएको थियो । तर यति ठूलो मात्रामा एकै पटक गाँजा अमेरिकाबाट ल्याइएको भने पहिलो पटक भएको विमानस्थलका अधिकारीहरु बताउँछन् ।