Category: डायस्पोरा

  • नेपाल र टोंगा बीच कुटनीतिक सम्बन्ध स्थापना

    नेपाल र टोंगा बीच कुटनीतिक सम्बन्ध स्थापना

    काठमाडौं । नेपाल र टोंगा बीच कुटनीतिक सम्बन्ध स्थापना भएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा र टोंगाका स्थायी प्रतिनिधि तथा राजदूत भिलिएमी भाइन्गा टोनेबीच दुई मुलुकको कुटनीतिक सम्बन्ध स्थापना गर्ने सम्झौता शुक्रबार भएको हो ।

    न्युयोर्कस्थित नेपाली स्थायी नियोगका अनुसार उक्त अवशरमा पारम्परिक लाभको लागि दुई मुलुक बीच सहयोग बढाउने प्रतिबद्धता उल्लेख गर्दै कुटनीतिक सम्बन्ध स्थापना भएको हो । योसगै नेपालको कुटनीति सम्बन्ध स्थापना भएको मुलुकको संख्या १८२ पुगेको छ ।

  • साम्बाले फ्रेन्च लीगमा गरिन् पहिलो गोल

    साम्बाले फ्रेन्च लीगमा गरिन् पहिलो गोल

    काठमाडौं । नेपाली राष्ट्रि फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन) मा पहिलो गोल गर्न सफल भएकी छिन् । इए गुइगाम्पका लागि खेलिरहेकी सावित्राले शनिवार लिल विरुद्धको खेलमा गोल गर्दै इतिहास बनाएकी हुन् । युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबलरको इतिहास बनाएकी सावित्राले चौथो खेलमा गोल गरेकी हुन् । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी सावित्राले इन्जुरी टाइममा गोल गर्दै टिमलाई २–० को जित दिलाइन् । गुइगाम्पका लागि पहिलो गोल एन्टोनिए स्टारोभाले ५२औं मिनेटमा गरेकी थिइन् ।

  • दक्षिण कोरियामा हजारौं चिकित्सक किन उत्रिए सडक प्रदर्शनमा ?

    दक्षिण कोरियामा हजारौं चिकित्सक किन उत्रिए सडक प्रदर्शनमा ?

    काठमाडौं । दक्षिण कोरियामा हजारौं चिकित्सक प्रदर्शनमा उत्रिएका छन् । बीबीसीका अनुसार सरकारले बिहीवारदेखि काममा नफर्किए हडताल गरिरहेका हजारौँ कनिष्ठ चिकित्सकहरूलाई पक्राउ गर्ने र उनीहरूको मेडिकल लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ। दक्षिण कोरियामा झन्डै तीनचौथाइ कनिष्ठ चिकित्सकहरू गत सातादेखि काममा गएका छैनन्। उनीहरूको आन्दोलनका कारण ठूला शिक्षण अस्पतालहरूमा सेवा प्रभावित भएको छ। स्वास्थ्यप्रणालीमा चिकित्सकहरूको सङ्ख्या बढाउन विश्वविद्यालयहरूमा चिकित्साशास्त्रमा थप विद्यार्थीहरू भर्ना लिने सरकारको योजनाको विरोधमा प्रशिक्षार्थी चिकित्सकहरूले हडताल गरेका हुन्।

    अन्य विकसित देशहरूको तुलनामा दक्षिण कोरियामा बिरामीको अनुपातमा चिकित्सकको निकै एकदम थोरै छ। न्यून सङ्ख्या र पाका उमेरका मानिसको बढ्दो जनसङ्ख्याका कारणले एक दशकपछि त्यहाँ चिकित्सकहरूको ठूलो अभाव हुन सक्ने सरकारको तर्क छ। यो साता सोलस्थित सेन्ट मेरिज अस्पताल निकै खाली देखियो। त्यसले भविष्य कस्तो हुन्छ भन्ने झल्को दिएको छ। त्यहाँ बिरामीहरूलाई नआउन सूचित गरिएको थियो। अस्पतालको आकस्मिक कक्षबाहिर चिकित्सक र बिरामी कोही देखा परेनन्।

    दक्षिण कोरियामा चिकित्सकहरूको पारिश्रमिक तुलनात्मक रूपमा उच्च छ। तर लामो अवधि काम गर्नुपर्ने हुँदा कनिष्ठ चिकित्सकहरूले प्रतिघण्टा पाउने पारिश्रमिक सरकारले तोकेको न्यूनतम तलबभन्दा कम हुन जाने बताइएको छ । दक्षिण कोरियामा धेरै स्वास्थ्यसंस्थाहरू निजी भए पनि सस्ता छन्। तर देशमा आकस्मिक, जीवनरक्षा गर्ने शल्यक्रिया तथा विशेषज्ञ उपचारको शुल्क निकै कम निर्धारण गरिएको र कस्मेटिकजस्ता कम आवश्यक उपचारहरूमा धेरै पैसा भएको आन्दोलनरत चिकित्सकहरूको गुनासो छ।

  • हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

    हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

    काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको संघाई घर भइ हाल भक्तपुरको ठिमी नगरपालिका–३, गठ्ठाघर बस्दै आएका २८ वर्षीया झोउ जियू रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

    उनका अनुसार, झोउको साथबाट स्रोत नखुलेको १२ लाख रुपैयाँ बरामद भएको छ । उपत्यकामा गैरकानूनी रुपले राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरित हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा १४ फागुनमा खटिएको टोलीले उनलाई पक्राउ गरेको रेग्मीले बताए । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ ।

  • अमेरिकाका १४ शहरमा नेपाली कमेडी कलाकारले दिए प्रस्तुती

    अमेरिकाका १४ शहरमा नेपाली कमेडी कलाकारले दिए प्रस्तुती

    काठमाडौं । अमेरिकाका विभिन्न सहरमा नेपाली हास्यव्यंग कलाकारले दर्शकलाई हँसाएका छन्। फ्लाई नेपाको आयोजनामा अब हाँस्छ अमेरिका शीर्षकमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा हास्यकलाकार सन्दिप क्षेत्री, सुमन कार्की, भरतमणी पौडेल, कैलाश कार्की, सुमन कोइराला, मेक्सिम गौडेल (विष्णु प्रसाद पौडेल), साजन श्रेष्ठ र सन्तोष थापाले फेब्रुअरी २४ सम्म अमेरिकाको विभिन्न १४ सहरमा प्रस्तुती दिएका हुन् ।


    उनीहरूले जनवरी १२ मा नर्थ क्यारोलिना, १५ मा मिचिगन, २० मा न्यूयोर्क, २१ मा कनेक्टीक्युट, २२ मा बोस्टन, २९ मा रोचेस्टर् न्युयोर्क मा प्रस्तुती दिएका थिए। यस्तै फेब्रुअरी २ मा ह्युस्टन, ३ मा डालस टेक्सास, ९ मा लस एन्जल्स, १२ मा सन फ्रान्सिस्को, १६ मा भर्जिनिया, १७ मा ह्यारिसवर्ग पेन्सिलभेनिया, १८ मा बाल्टिमोर, मेरिल्याण्ड र २४ मा कोलम्बस, ओहायोमा आफ्नो प्रस्तुती दिएका हुन्। अमेरिकाको हरेक कार्यक्रममा सफलताका साथ सम्पन्न भएको संयोजक विनोद अधिकारीले जानकारी दिएका छन् । अमेरिकाको पूर्वदेखि पश्चिमसम्म रहेका नेपालीबीच पुग्न सफल भएको उनले बताए ।

  • अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्षले भेटे प्रधानमन्त्री

    अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्षले भेटे प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्ष एड्माइरल जोन सी एक्विलिनोले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार अपराह्न भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो। त्यस अवसरमा प्रधानमन्त्रीले नेपाल–अमेरिका सम्बन्धलाई आफूले उच्च महत्व दिँदै आएको बताए। उनले नेपालको आर्थिक विकासका निम्ति अमेरिकाबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको भन्दै त्यसप्रति कृतज्ञता व्यक्त गरे।

    नौसेनाध्यक्ष एक्विलिनोले विश्व शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघको नेतृत्वमा विभिन्न शान्ति ‘मिसन’मा नेपालले सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरेकामा बधाई ज्ञापन गरे। उनले शान्ति सेनामार्फत नेपालले निर्वाह गरेको भूमिकाको प्रशांसा पनि गरे। नौसेनाध्यक्ष एक्विलिनो यही फागुन ८ देखि यहाँ जारी ‘अभ्यास शान्ति प्रसास–४’ अवलोकनका लागि नेपाल भ्रमणमा छन्। भेटका अवसरमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटा, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सन र परराष्ट्र मन्त्रालयका उच्चअधिकारीको उपस्थिति थियो। रासस

  • रुस पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ

    रुस पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं । रोजगारीका लागि रुस पठाइदिने भन्दै रकम लिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ हलेसी घर भई काठमाडौं नागार्जुन नगरपालिका–१ बस्ने सयन्द्र राई र ललितपुर २६ का सविनकुमार राई छन् । उनीहरूले स्थानीय शेरबहादुर तुम्बापोलाई रुस पठाइदिने भन्दै ६ लाख ५० हजार रकम लिएको प्रहरीले जनाएको छ ।

    तुम्बापोलाई रसियाको प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र त्यहाँ ३ लाख ५० हजार रुपैयाँ तलब हुने प्रलोभवन देखाउँदै उनीहरूले ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । सयन्द्रलाई फागुन १० र सविनलाई ११ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

  • माल्टामा आप्रवासी बोकेको डुंगा दुर्घटना, कैयौं हताहत

    माल्टामा आप्रवासी बोकेको डुंगा दुर्घटना, कैयौं हताहत

    काठमाडौं । माल्टामा आप्रवासी बोकेको डुंगा पल्टिएर भएको दुर्घटनामा कैयौं मानिसको ज्यान गएको छ । उद्धार कार्यको क्रममा माल्टाको किनारमा आप्रवासी डुंगा पल्टिँदा पाँच जनाको मृत्यु भएको पुष्टी भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आठ जना घाइते भएका छन् । माल्टाको सशस्त्र बल (एएफएम)ले यसको पुष्टी गरेको हो ।

    करिव ७ दशमलव ६ मिटर लामो र दुईवटा मोटरबाट सञ्चालित उक्त डुंगामा सिरिया, इरिट्रिया, घाना र इजिप्टका ३४ जना यात्रु बोकेर भूमध्यसागर पार गर्दै थिए । डुंगा करिव ३.५ नटिकल माइल (६.५ किलोमिटर) पुगेपछि घटनास्थलमा एएफएम विमान पठाइएको थियो । एक एएफएम जहाज घटनास्थलमा पठाइएको थियो तर उद्धार कार्यको क्रममा डुंगा पल्टिएको बताइएको छ । घटनाको छानबिन जारी रहेको बताइएको छ ।

  • रुसी सेनामा ५३१ जना नेपाली रहेको तथ्यांक सार्वजनिक

    रुसी सेनामा ५३१ जना नेपाली रहेको तथ्यांक सार्वजनिक

    काठमाडौं । रुसी सेनामा ५३१ जना नेपाली रहेको तथ्यांक सार्वजनिक भएको छ । सेनाका आफन्तले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले यो तथ्यांक सार्वजनिक गरेको हो । तथ्याङ्क अनुसार अहिलेसम्म १६ जनाको ज्यान गएको छ । एक सय १६ जना घाइते र दुई सय ७२ जना सम्पर्कविहीन रहेको बताइएको छ ।

    अभियानकी संयोजक कृतु भण्डारीका अनुसार यो तथ्यांक सम्पर्कमा आएका पीडित परिवारका आधारमा तयार पारिएको हो । रुसी सेनामा रहेका नेपाली युवाको उद्धारका लागि सरकारलाई दबाब दिन विवरण सङ्कलन गरिएको उनको भनाई छ ।

    सम्पर्कमा आएका पाँच सय ३१ जनामध्ये एक सय २७ जनाका परिवारले घर फर्काउन पहलका लागि विवरण टिपाएका छन् । रुसी सेनामा रहेका एक हजारभन्दा बढी युवाका परिवार अनौपचारिक रुपमा सम्पर्कमा रहेको समेत बताइएको छ ।

  • वुमन्स च्याम्पियनसिप : नेपालले आज सिरियासँग खेल्दै

    वुमन्स च्याम्पियनसिप : नेपालले आज सिरियासँग खेल्दै

    काठमाडौं । वेष्ट एसियन फुटबल महासंघको आयोजनामा साउदी अरेबियामा सोमबारदेखि सुरु भएको वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल आफ्नो पहिलो खेलमा आज सिरियासँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र सिरियाबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । खेल जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा हुनेछ । नेपालले पहिलो पटक पश्चिमी क्षेत्रका राष्ट्रहरु सम्मिलित यस प्रतियोगितामा सहभागिता जनाएको हो ।

    गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय नेपाली टोली साउदी पुगिसकेको छ । जसमा फ्रेन्च लिग खेल्दै यतिहास बनाएकी फरवार्ड सावित्रा भण्डारी पनि समावेश छिन् । उनी फ्रान्सबाटै साउदी गएकी हुन् । सावित्रा बाहेक नेपालमी टिममा भारतीय लिग खेलिरहेका कप्तान एनिज्लासहित ६ खेलाडी पनि छन् । उनीहरु लिगबाट ब्रेक लिंदै राष्ट्रिय टिमका लागि खेल्न आएका हुन् ।

    भारत र फ्रान्सको लिग खेलेका खेलाडीहरु हुँदा नेपाली टोलीलाई फाइदा पुग्ने कप्तान एन्जिला र मुख्य प्रशिक्षक राजेन्द्र तामाङको विश्वास छ । तामाङले पहिलोपटक महिला टिमको जिम्मेवारी सम्हालेका हुन् । नेपालको पहिलो प्रतिद्वन्द्वी सिरिया भने यसअघि दुई पटक वाफ वुमन्स च्याम्पियनसिपमा तेस्रो भएको थियो । सन् २००५ मा पहिलो संस्करणमै तेस्रो भएको सिरिया पछिल्लो पटक २०२२ मा भएको च्याम्पियनसिपमा पनि तेस्रो भएको थियो ।

    यस्तै गत वर्ष नोभेम्बरमा भएको वाफ यू १७ वुमन्स च्याम्पियनसिपमा भने सिरिया टिम च्याम्पियन बनेको थियो । नेपालले सिरियासँग पहिलो पटक खेल्न लागेको हो । नयाँ प्रतियोगिता नयाँ परिवेश र नयाँ वातावरणमा खेल्न नेपाली टोली उत्साहित छ । नेपालको पहिलो लक्ष्य समूह चरण पार गर्दै सेमिफाइनल पुग्ने र त्यसपछि उपाधि जित्ने रहेको छ । करिब चार दशक लामो नेपाली अन्तर्राष्ट्रिय महिला फुटबलको इतिहासमा नेपाललाई पहिलो पटक उपाधि जित्ने अवसर समेत छ ।

  • नेपाली टीमलाई भारतमा ठूलो अवसर, त्रिकोणात्मक सिरिज खेल्ने

    नेपाली टीमलाई भारतमा ठूलो अवसर, त्रिकोणात्मक सिरिज खेल्ने

    काठमाडौं । नेपाली क्रिकेट टोलीले भारतीय दुई घरेलु टोली गुजरात र बरोडासँग त्रिकोणात्मक टि-२० सिरिज खेल्ने भएको छ । गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसियसनले फ्रेन्ड कप त्रिकोणात्मक टि-२० सिरिजमा नेपाललाई खेलाउने भएका हुन् ।

    चैत्र १७ (३१ मार्च) देखी सुरु हुने त्रिकोणात्मक सिरिज राउन्ड रोविनको आधारमा हुनेछ । क्यानले नेपालको सिनियर टोलीसँगै स्टेट लेभल (रणजी खेल्ने) गुजरात र बरोडाको पहिलो रोजाईको टोली हुने बताएको छ । यस सिरिजलाई नेपालले जुनमा खेल्ने टि २० विश्वकप अघिको तयारीको रुपमा समेत हेरिएको छ ।

    नेपालले पहिलो खेल चैत्र १७ (मार्च ३०) मा गुजरातसँग खेल्नेछ । दोस्रो खेल चैत्र २० (अप्रिल २) मा खेल्नेछ । चैत्र २१ (अप्रिल ३) मा गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत्र २३ (अप्रिल ५) मा बरोडासँग खेल्नेछ । फाइनल चैत्र २५ (अप्रिल ७) मा हुनेछ । सिरिजका शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

  • ललिता निवास परिसरको गैरआवासीय नेपाली संघको जग्गा अब सरकारको हुने

    ललिता निवास परिसरको गैरआवासीय नेपाली संघको जग्गा अब सरकारको हुने

    काठमाडौं । ललिता निवासको क्षेत्रभित्र जग्गा खरिद गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को जग्गा अब सरकारको हुने भएको छ । ललितानिवासको जग्गामा भ्रष्टाचार भएको ठहरसहित विशेष अदालतले त्यहाँको जग्गा सरकारको हुने फैसला गरेको हो । विशेष अदालतका सदस्यहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गरेको फैसला अनुसार, प्रधानमन्त्री निवास विस्तारका क्रममा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएकाले गैरआवासिय नेपाली संघको जग्गा पनि जफत हुनेछ ।

    विशेष अदालतले एनआरएनएलगायत ११ जना जग्गाधनी व्यक्ति र कम्पनीको हकमा भनेको छ, ‘जग्गाधनीको हैसियतमा जग्गा सट्टापट्टा गरी प्राप्त गरेका जग्गा समेत जफत हुने ठहर्छ । निजहरु उपरको अन्य आरोपदावी पुग्न नसक्ने ठहर्छ ।’ विशेष अदालतले नै फैसलामा जग्गा खरिद गर्नेहरुले आफूले जग्गा किन्दा खरिद गरेको मूल्य दावी गर्न पाउने व्याख्या गरेको छ । उसले फैसलामा ‘व्यक्ति तथा संस्थाले खरिद गरेको थैली (रकम) देवानी दायित्व सरह दावी गरी असुलउपर गर्नसक्ने’ भनेको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जग्गा किनेका तर फैसलाका कारण जफत हुने जग्गाधनीहरुले मालपोत कार्यालयमा अंकित गरेको रकम दावी गर्न पाउने बताए ।

    ‘अहिलेका जग्गाधनीले जोबाट जग्गा किनेको हो, त्यो रकम दावी गरी जिल्ला अदालतमा लेनदेन मुद्दा दायर गरी आफ्नो रकम फिर्ता लिने बाटो खुला छ’, उनले भने, ‘अघिल्लो जग्गाधनीले पनि त्यसैगरी किनेको रहेछ भने अघिल्लोसँग दावी गर्न पाउँछ । अन्तिममा भ्रष्टाचार गरेर जग्गा लिएकाहरुसम्म नै त्यो मागदावी पुग्छ ।’

  • माघसम्म कामको खोजीमा विदेशिए ४ लाख भन्दा धेरै नेपाली

    माघसम्म कामको खोजीमा विदेशिए ४ लाख भन्दा धेरै नेपाली

    काठमाडौं । कामको खोजीमा ७ महिनाको अवधिमा ४ लाख भन्दा धेरै नेपाली विदेशिएका छन् । नेपालबाट दैनिक करिब २ हजार नेपालीले मुलुक छाड्ने गरेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारी विभागका अनुसार काम खोज्दै दैनिक १ हजार ९ सय ३१ नेपालीले मुलुक छाडिरहेका छन् । चालु आर्थिक वर्ष २०८०–८१ को सात महिनामा ४ लाख ५ हजार ५ सय ५२ नेपालीले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् ।

    वैदेशिक रोजगार विभागका अनुसार साउन–माघसम्म प्रतिमहिना ५७ हजार ९ सय ३६ नेपालीले रोजगारीका लागि मुलुक छाडेका छन् । यसलाई दैनिक हिसाब गर्दा १ हजार ९ सय ३१ नेपालीले देश छाडिरहेको देखिएको हो । सात महिनामा देश छाड्ने नेपालीको संख्या गत आव २०७९–८० को यसै अवधिको तुलनामा भने केही कम छ । गत वर्ष माघ मसान्तसम्म ४ लाख ७८ हजार ८ सय ३० जना कामको खोजीमा विदेशिएका थिए । गत वर्ष यसै अवधिमा दैनिक २ हजार २ सय ८० नेपालीले देश छाडिरहेको तथ्यांकले देखाएको छ ।

    यसपालि युनाइटेड अरब इमिरेट्स (यूएई) प्रमुख गन्तव्य बनेको छ । साउनदेखि माघसम्म १ लाख १ हजार ७ सय ७८ नेपाली कामको खोजीमा यूएई पुगेका छन् । माघमा मात्र यूएईमा १७ हजार ६ज सय २ नेपाली पुगेका छन् । साउनमा ११ हजार ८ सय ७८, भदौ ११ हजार ७ सय ९, असोज १३ हजार ९ सय ५, मंसिर १२ हजार ४ सय ८५ र पुसमा १७ हजार ८ सय १४ जना नेपाली यूएई पुगेका थिए ।

    माघमा यूएईपछि साउदी अरब जाने नेपालीको संख्या धेरै छ । साउदीमा १२ हजार २ सय ७६ श्रम स्वीकृति जारी भएको छ । उक्त महिना कतारका लागि १२ हजार १ सय ६४ श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ ।

  • साउदीमा रक्सी बनाएर बेच्दा सयौं नेपालीलाई जेल

    साउदीमा रक्सी बनाएर बेच्दा सयौं नेपालीलाई जेल

    काठमाडौं । साउदी अरवमा मदिरा प्रतिवन्धित छ । यही मदिरा सेवन र बनाएर विक्री गरेको आरोपमा सयौँको सङ्ख्यामा नेपाली श्रमिक साउदी अरबमा जेल परेको सार्वजनिकभएको छ । साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो र त्यहाँ झन्डै चार लाख नेपाली छन् । रियादस्थित नेपाली राजदूतावासका प्रथम सचिवले बीबीसीसँग कुरा गर्दै बढी आम्दानी हुने लोभले नेपालीहरू मदिरा सेवन र बेचबिखनसँग सम्बन्धित कसुरमा जेल पर्ने गरेको बताएका छन् ।

    साउदी अरबसहितका श्रम गन्तव्य प्रस्थान गर्नुअघि दिइने अभिमुखीकरण कार्यक्रमहरूमा ती देशमा गर्न नहुने गतिविधिहरूबारे जानकारी गराउने गरिएको छ । तर, यो प्रभावकारी नहुँदा नेपालीले यस्तो काम गरिरहेका छन् । रियादस्थित नेपाली राजदूतावासले साउदी अरबको जेल प्रशासनले उपलब्ध गराएको आँकडालाई उद्धृत गर्दै ४८० जना जति नेपाली उक्त खाडी देशका जेलहरूमा रहेको जनाएको छ।

    वास्तविक सङ्ख्या त्यो भन्दा बढी हुनसक्ने बताइएको छ । राजदूतावासका प्रथम सचिव टोपनारायण गिरीले ८० देखि ८५ प्रतिशत नेपालीहरू मदिरा सेवन, ‍ओसारपसार र उत्पादनको कसुरमा जेलमा रहेको बताएका छन् । सात दशकदेखि मदिरामाथि प्रतिबन्ध लगाएको साउदी अरबमा मदिरा राख्ने वा बेचबिखन गर्नेलाई जरिवाना गराउने देखि जेलमा थुन्ने र कोर्रा हान्नेसम्मको सजाय तोकिएको छ।

  • कतार र साउदीसँग श्रम सम्झौता परिमार्जन गर्ने सहमति

    कतार र साउदीसँग श्रम सम्झौता परिमार्जन गर्ने सहमति

    काठमाडौं । नेपाल र कतारबीच भएको श्रम सम्झौतालाई परिमार्जन गर्ने गरिने भएको छ । साउदी अरबसँगको श्रम सम्झौताको मस्यौदा एक महिनाभित्र टुंगाउने समझदारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले कतार र साउदीका समकक्षीसँग संयुक्त अरव इमिरेट्स (युएई)मा भएको आबुधाबी डायलगको साइडलाइन बैठकमा यस्तो समझदारी भएको हो ।

    नेपाल र कतारबीच २००५ मा भएको श्रम सम्झौतालाई परिमार्जन गर्न लागिएको हो । परिमार्जन गर्न लागिएको श्रम सम्झौता नेपालमा हुन गइरहेको कतारी अमिरको भ्रमणको समयमा हस्ताक्षर गर्ने सहमति भएको हो । कतारी अमिरको पहिलो पटक अप्रिलमा नेपाल भ्रमण हुँदैछ ।

    सम्झौतामा सीप साझेदारी र श्रमिकको हक हित सुरक्षाका विषयवस्तु थप गर्ने दुवै देशले अनलाइन बैठक मार्फत छिट्टै टुङ्ग्याउने सहमति भएको छ । बैठकमा कतार पक्षबाट घरेलु कामदारका निम्ति पर्याप्त सुरक्षाका व्यवस्थाहरु गरिएको हुँदा भाषा र सीप सिकाएर सम्मानित रुपमा मात्र पठाउन तालिम प्रदान गर्ने कार्यमा सहकार्य गर्ने प्रस्ताव राखेको छ । यसैगरी साउदी अरबसँग भएको साइडलाइन बैठकमा श्रम सम्झौताको प्रस्तावित मस्यौदालाई अन्तिम रुप दिई एक महिनाभित्र हस्ताक्षर गर्ने सहमति भएको छ ।

    प्रस्तावित सम्झौतामा न्यायोचित भर्ना प्रणाली, सामाजिक सुरक्षा, कार्य घण्टा, बिमा, पेशागत स्वास्थ्य सुरक्षा लगायतका विषयलाई सम्बोधन गरिएको छ । साउदीले सीपमुलक जनशक्ति उत्पादनका निम्ति तालिम केन्द्र स्थापना गर्न हाल दिइएको सहयोगलाई निरन्तरता दिने र भाषा र सीपयुक्त श्रमिक उत्पादनमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

    साउदीले रोजगारका अवसरमा महिलाको सहभागिता सुनिश्चित गर्न अस्पताल, केयरगिभर क्षेत्रमा प्राथमिकता दिने जनाएको छ । मन्त्री भण्डारीले साउदी समक्ष मृत्यू भएका श्रमिकको शबलाई छिट्टै नेपाल सम्म पठाउन सक्ने गरी सहजीकरण गर्न र सप्लाई कम्पनीमा गएर काम नपाउने अवस्थाको निरुत्साहित गर्न आग्रह गरेका छन् ।

  • पोर्चुगल पठाउने भनी १८ लाख ठगि गर्ने महिला पक्राउ

    पोर्चुगल पठाउने भनी १८ लाख ठगि गर्ने महिला पक्राउ

    काठमाडौं । पोर्चुगल पठाउने भनी १८ लाख रुपियाँ रकम ठगी गर्ने ३० वर्षीय महिला प्रहरीको फन्दामा परेकी छिन् । प्रहरीले मञ्जु रावत घर्तीलाई पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार स्थायी घर दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १२ भई हाल काठमाडौँ सामाखुसी बस्ने घर्तीले पोर्चुगल जान प्रतिव्यक्ति १५ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तलब एक लाख ५० हजार रुपियाँ हुन्छ भनी विश्वास दिलाएकी थिइन् । प्रहरीका अनुसार उनलाई नयाँ बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

  • आबुधाबी डायगल : आप्रवासी श्रमिकको न्यूनतम तलव निर्धारण गर्न नेपालको प्रस्ताव

    आबुधाबी डायगल : आप्रवासी श्रमिकको न्यूनतम तलव निर्धारण गर्न नेपालको प्रस्ताव

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा आबुधाबी डायगल सुरु भएको छ । डायलगमा नेपालले गन्तव्य देशहरूले आप्रवासी श्रमिकको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव राखेको छ । आबुधाबी डायलगमा श्रमिकले लिने र श्रमिक पठाउने २१ देशका श्रममन्त्री र श्रम अधिकारी सहभागी छन् ।

    शनिबार सुरु भएको पहिलो बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले गन्तव्य देशले श्रमिकको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव राखेका छन् । नेपाली श्रमिकको प्रमुख गन्तव्य कतारबाहेक अन्य देशले आप्रवासी श्रमिकको न्यूनतम तलब निर्धारण गरेका छैनन् ।

    कतारले पनि न्यूनतम तलब एक हजार रियाल मात्रै निर्धारण गरेको छ । कतारले यसलाई पुनरालोकन गर्ने जनाउँदै आएको छ । यूएई, साउदी, कुवेत, बहराइन र ओमनले न्यूनतम तलब निर्धारण नगर्दा श्रमिकको करारपत्र परिवर्तन हुने गरेको छ ।

    बैठकमा श्रम सहसचिव पोखरेलले गन्तव्य देशहरूले एकै प्रकृतिको गुणस्तरीय करारपत्रलाई कार्यान्वयन ल्याउनुपर्ने, सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्ने, न्यायोचित भर्ना अभ्यास र कार्यस्थलमा व्यावसायिक स्वास्थ्य तथा सुरक्षाको सुनिश्चिता हुनुपर्नेमा जोड दिएका छन् ।

    उच्च श्रम अधिकारीहरूको शनिबारको बैठकले आइतबार हुने मन्त्रीस्तरीय बैठकका लागि एजेन्डा तय गरेको छ । मन्त्रीस्तरीय बैठकमा श्रमिकको श्रम विवादलाई सम्बोधन गर्न प्रविधिको प्रयोग, तलब सुरक्षा, रेमिट्यान्सको उचित प्रयोग, घरेलु श्रमिकको अधिकार, श्रमिकको स्वास्थ्य परीक्षण, सीपयुक्त जनशक्ति उत्पादनमा साझेदारी र न्यायोचित भर्नाको अभ्यासमाथि छलफल हुने भएको हो ।

    डायलगमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा ५ सदस्यीय टोली आबुधाबी गएको छ । आबुधाबी डायलगपछि यो टोली फेब्रुअरी १२ देखि १४ सम्म यूएईमा हुने वर्ल्ड गभर्नमेन्ट समिटमा सहभागी हुने कार्यक्रम छ ।

  • नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता

    नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता

    काठमाडौं । नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो । अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    परराष्ट्रमन्त्री साउद र अस्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो । हस्ताक्षर सम्पन्न भएपछि दुवै देशका परराष्ट्रमन्त्रीहरुले नेपाल र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्याउन सम्झौता महत्वपूर्ण हुने धारणा राखेका थिए ।

    सम्झौतामा हस्ताक्षर गरेका अस्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सले अस्ट्रेलिया र नेपालबीचको सम्बन्ध जनस्तरसम्म नै पुगेको बताए । ‘अस्ट्रेलिया र नेपाल निकटका मित्रराष्ट्रहरू हुन् । हाम्रो सम्बन्ध जनस्तरसम्म गाँसिएको छ । हाम्रो देशमा नेपाली मूलका अस्ट्रेलियालीको समुदाय तीव्र रूपमा बढिरहेको छ,’ सम्झौतामा हस्ताक्षर गरेपछि वाट्सले ट्विटरमा लेखेका छन् । वाट्सले गत वर्ष नेपाल भ्रमण गरेका थिए । उक्त कुरा पनि उनले स्मरण गरेका छन् । उक्त भ्रमणका क्रममा आफूले नेपाल सरकार, विभिन्न क्षेत्रका अगुवाहरूसँग आपसी सम्बन्ध थप गहिराइमा पुर्याउने अवसरका र उपायबारे कुराकानी गरेको उनले सम्झिएका छन् ।

    त्यसबेला परराष्ट्रमन्त्री साउदसँग भएको भेटवार्तामा दुवै देशबीचको आर्थिक सम्बन्ध थप गहिराई पुर्याउने विषयमा छलफल गरेको स्मरण गरेका उनैले दुवै देशबीच आर्थिक तथा लगानी फ्रेमवर्कमा हस्ताक्षर गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गरेका थिए । ‘त्यो छलफलपछि दुवै देशबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने गरी दुवै देशका अधिकारीरूले औपचारिक सम्झौताका लागि पटक–पटक छलफल गरेका थिए,’ उनको भनाइ छ, ’पर्थमा (यसपाली) हामीले त्यसलाई वास्तविकतामा परिणत गरेका छौँ । यो सम्झौताले हामीबीचको बलियो सम्बन्धलाई देखाएको छ ।’

  • लगानी सम्मेलन अगाडी एक दर्जन कानून संशोधन गरिने

    लगानी सम्मेलन अगाडी एक दर्जन कानून संशोधन गरिने

    काठमाडौं । आउँदो वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनलाई लक्षित गर्दै सरकारले १२ वटा कानुन संशोधनको प्रस्ताव गरेको छ । तेस्रो लगानी सम्मेलन निर्देशक समितिको आज बसेको बैठकले उद्योग, व्यवसाय एवम् लगानीमा देखिएका कानुनी तथा नीतिगत अवरोध हटाउने र निर्माण परियोजना कार्यान्वयनमा अनुभव गरिएका अप्ठ्यारा र ढिलासुस्ती हटाउने उद्देश्यले कानुन संशोधनको प्रस्ताव गरेको हो ।

    बैठकले औद्योगिक व्यवसाय ऐन (२०७६), विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन (२०७५), विशेष आर्थिक क्षेत्र ऐन (२०७३), वन ऐन (२०७६), राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन (२०२९), भूमिसम्बन्धी ऐन (२०२१), जग्गा प्राप्ति ऐन (२०३४), वातावरण संरक्षण ऐन (२०७६), विद्युतीय कारोबार ऐन (२०६३), नेपाल नागरिक उड्ययन प्राधिकरण ऐन (२०५३), विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली (२०७७) र वन नियमावली (२०७९) का विभिन्न प्रावधानहरूमा संशोधन प्रस्ताव गरेको हो ।

    बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले चासो दिइरहेको बताउँदै गम्भीरताका साथ परियोजनाहरूको तयारी गर्न निर्देशन दिए । नेपालमा अभूतपूर्व अवसर भएको भन्दै अर्थमन्त्रीले विदेशी लगानीकर्ताका साथै नेपाली लगानीकर्ता एवम् गैरआवासीय नेपालीलाई समेत आकर्षित गर्न कानुनी र नीतिगत सुधारमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए । लगानी सहजीकरण, परियोजना कार्यान्वयन र सञ्चालन तथा नाफा फिर्ता लैजान सरल व्यवस्था गरी नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुर्‍याउने लगानी सम्मेलनको प्रमुख उदेश्य रहेको उनको भनाइ छ ।

    बैठकमा नीति, कानुन तथा संरचनागत सुधार कार्यदलका संयोजक एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्यालले कानुनी तथा नीतिगत सुधार सम्बन्धमा तयार भएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    निजी क्षेत्रसमेतको सहभागितामा प्रतिवेदन तयार भई मुख्य सचिव संयोजकत्वको लगानी सम्मेलन कार्यान्वयन समितिको बैठकमा प्राप्त पृष्ठपोषण समावेश गरी तयार भएको प्रतिवेदनमा आधारित रहेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत लगानी सहजीकरण गर्न केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० मन्त्रिपरिषद्को स्वीकृतिपछि अनुमोदनका लागि संसदीय प्रक्रियामा प्रवेश गर्नेछ । त्यस्तै बैठकमा तेस्रो लगानी सम्मेलनमा प्रस्तुत हुने परियोजनाहरूको तयारीका सम्बन्धमा प्राविधिक समितिका संयोजक उद्योग मन्त्रालयका सचिव मुकुन्द निरौलाले प्रस्तुतीकरण गरेका थिए ।

  • विश्व बैंकको आयोजनामा आइडी सम्मेलन नेपालमा हुने

    विश्व बैंकको आयोजनामा आइडी सम्मेलन नेपालमा हुने

    काठमाडौं । विश्व बैंक समूहको संस्था ‘आइडेन्टिफिकेसन फर डेभलपमेन्ट (आईडी)’ सम्मेलन नेपालमा हुने भएको छ । लगानी सम्मेलनको निर्देशक समितिको तेस्रो बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो जानकारी गराएका छन् । उनका अनुसार आगामी जुन महिनामा यस्तो सम्मेलन हुने भएको हो । यसको औपचारिक पत्र केही दिनमा आउने समेत उनले बताए ।

    यो अहिलेसम्म नेपालमा आयोजना हुने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुने उनको भनाइ छ । सम्मेलनमा विश्व बैंकका अध्यक्षलगायत ९२ भन्दा बढी देशको प्रतिनिधि सम्मेलनमा सहभागी रहने अर्थमन्त्री डा। महतले बताए । त्यो अगाडि अप्रिल २८–२९ (१६–१७ वैशाख) मा नेपालमा लगानी सम्मेलन हुँदैछ ।

    लगानी सम्मेलनलाई उपलब्धिमूलक बनाउन सके नेपालमा बहुराष्ट्रिय कम्पनी मात्र होइन, निजी लगानी समेत बढ्ने सम्भावना रहेको उनले बताए । बैठकमा अर्थमन्त्री डा। महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूबाट चासो प्राप्त भइरहेको समेत बताए । उनले गम्भीर भएर परियोजनाको तयारी गर्न समेत निर्देशन दिए ।

    ‘लगानी आकर्षण गर्न हाम्रा लागि अभूतपूर्व अवसर छ, विदेशी लगानीकर्ताका साथै नेपाली लगानीकर्ता एवम् गैरआवासीय नेपालीलाई समेत आकर्षित गर्न कानुनी र नीतिगत सुधारमा सरकारले कुनै कसर बाँकी राख्ने छैन,’ अर्थमन्त्रीले भने । लगानी सहजीकरण, परियोजना कार्यान्वयन र सञ्चालन तथा नाफा फिर्ता लैजान सरल व्यवस्था गरी नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुर्‍याउन लगानी सम्मेलनको प्रमुख ध्येय रहेको अर्थमन्त्री महतको भनाइ थियो ।

  • नेजा स्थापना दिवस मनाईने

    नेजा स्थापना दिवस मनाईने

    टेक्सस ।

    नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो ‘स्थापना दिवस’ मनाउने भएको छ । संघका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा नेजा कार्यसमितिको जनवरी २०, २०२४ मा सम्पन्न बैठकले ‘अप्रिल २१’ लाई संस्थाको ‘स्थापना दिवस’ का रुपमा मनाउने निर्णय गरेको हो । संस्थाको विशेष दिन अर्थात् ‘स्थापना दिवस’ को मितिलाई सबै दृष्टिकोणबाट उपयुक्त एवं सर्वमान्य बनाउनका लागि वर्तमान कार्समितिले संस्था स्थापनाका आधिकारिक कागजातमार्फत प्राप्त विभिन्न मितिका बारेमा छलफल गरेको थियो ।


    यस सम्बन्धमा नेजाका संस्थापक एवं पूर्वअध्यक्षज्यूहरूसँगको परामर्श एवं छलफलबमोजिम अप्रिल २१-२२, २००७ मा अमेरिकाको वासिङटन डीसीमा भएको संघको प्रथम अधिवेशनलाई उपयुक्त आधार मानी सोहीअनुसार कार्यसमितिको संस्थापक/पूर्वअध्यक्ष एवं सल्लाहकारज्यूहरूसँगको संयुक्त बैठकले अप्रिल २१ लाई ‘नेजा दिवस’ मनाउने निर्णय गरेको संघका महासचिव बाबुराम दाहालले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
    साथै, ‘अप्रिल २१’ लाई ‘नेजा स्थापना दिवस’ घोषणा गरी कार्यान्वयन गर्ने र सो दिन संस्थाका लागि महत्त्वपूर्ण हुने हुँदा संस्थाको विधानमा समेत समावेश गरेर जाने बैठकबाट निर्णय गरिएको छ ।
    साथै, नेजाको स्थापना दिवसको अवसरमा संस्थाको गरिमालाई उच्च बनाउने एवं आमसमुदायको हितअनुकूल विशेष एवम् फलदायी कार्यक्रमको आयोजना गरेर सो दिवस मनाउने नेजाको उद्देश्य रहेको बताईएको छ ।

  • नेवा: नख: न्यूयोर्कको नेतृत्वमा डा. नरेश मान शाक्य

    नेवा: नख: न्यूयोर्कको नेतृत्वमा डा. नरेश मान शाक्य

    न्यूयोर्क

    नेपाल संवत ११४४ प्वहेलागाः अष्ठमी,शनिबार (Saturday, February 3, 2024) का दिन नेवा: नख: न्यूयोर्कका महासचिव तुलसी नारायण चित्रकारले जूम (zoom) को माध्यमबाट संस्थाको पाँचौं साधारण सभा संचालन गरेका छन् । साधारण सभाको अध्यक्षता नख:का अध्यक्ष महेन्द्र बीर बज्राचार्यले गरेका थिए । प्रमुख अतिथिमा नख:का पूर्व अध्यक्ष तथा सल्लाहाकार विष्णु मान प्रधान थिए । उक्त सभामा उपस्थित सबैलाई प्रथम उपाध्यक्ष डा. नरेश मान शाक्यले स्वागत गरेका थिए । नख:का प्रमुख अतिथि, संस्थापक उपाध्यक्ष, पूर्व अध्यक्ष तथा सल्लाहाकार विष्णु मान प्रधानले नेवाः नखः न्युयोर्कको स्थापना, यसको महत्त्व र इतिहासको बारेमा प्रकाश पारेका थिए ।

    उहाँले “Teamwork Makes A Dream Work” भनेर सबै सदस्यहरू मिलेर संस्थालाई अझ राम्रोसंग अगाडि बढाउनु पर्ने कुरामा जोड दिदैं कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । द्वितीय उपाध्यक्ष श्रुती अमात्यले नखःको बारेमा बोल्नुका साथै सबै मिलेर काम गरि नयाँ पु्स्तालाई समेटेर नेवाः संस्कार र संस्कृति सिकाउँदै लानु पर्ने र सदस्यहरूलाई लाभान्वित हुने खालको कार्यक्रम ल्याउनु पर्ने कुरामा जोड दिंदै कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

    कार्यक्रमको शुरूमै उपस्थित सदस्यहरूको सहभागीताको दर्ता कार्य, सचिव अनित श्रेष्ठ र सह-कोषाध्यक्ष मेनी श्रेष्ठले गरेका थिए । कार्यक्रममा उपस्थित सबै सदस्यहरुले आ-आफ्ना परिचय दिएका थिए ।

    खुल्लासत्रमा, महासचिव तुलसी नारायण चित्रकारले संस्थाको दुई वर्षको कार्यप्रगति विवरण तथा संस्थाले भए गरेका गतिविधिहरू प्रस्तुत गरेका थिए भने कोषाध्याक्ष सलोनी वन्त श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए । पेश गरिएको सो प्रतिवेदन सभाले सर्वसम्मत पारित गर्यो ।

    सभामा, दिवंगत भएका नखःका प्रथम उपाध्यक्ष डा. नरेश मान शाक्यका पिता श्री कर्ण मान शाक्यको सम्झनामा एक मिनेट मौन धारणा गरि उहाँको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धांजली अर्पण गरिएको थियो ।

    बन्द सत्रमा, नेवा: नख: न्यूयोर्कको चौंथो निर्वाचन, निर्वाचन आयुक्त विष्णु मान प्रधानले विधिपूर्वक सम्पन्न गरेका थिए । नयाँ कार्यसमितिको अध्यक्षमा डा. नरेश मान शाक्य, प्रथम उपाध्यक्षमा श्रुती अमात्य, द्वितीय उपाध्यक्षमा महेन्द्र कुमार बज्राचार्य, महासचिवमा तुलसी नारायण चित्रकार, सचिवमा अनित श्रेष्ठ, कोषाध्यक्षमा सलोनी वन्त श्रेष्ठ र सह-कोषाध्याक्षमा मेनी श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए भने कार्यसमितिको सदस्यहरूमा, दिपक कुमार प्रधान, नम्रता प्रधान, राधिका श्रेष्ठ, किरण कुमार रंजित, शोभना शाक्य, उजिला प्रधान, राजीव बाटाजु र सबिना शाक्य निर्विरोध निर्वाचित भएका थिए । १५ जनाको कार्यसमितिमा ८ जना महिलाहरू निर्वाचित भएका थिए ।सभाले विष्णु मान प्रधान र महेन्द्र बीर बज्राचार्यलाई सल्लाहाकारमा मनोनीत गरे ।

    अध्यक्ष महेन्द्र बीर बज्राचार्यले नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए भने सभामा उपस्थित सबै सदस्यहरूलाई उहाँहरूको सहयोग, सपोर्ट र गरिमामय उपस्थितिको लागि हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । उहाँले आफ्नो कार्यकालमा नखःको विभिन्न कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण सदस्य, संघ-संस्था, महिला तथा पुरूष, स्वयंमसेवी र सहयोगीहरूलाई विशेष धन्यवाद दिएका थिए । अन्तमा, नेवा: कला संस्कृतिको क्षेत्रमा सबै समुदायसँग सहकार्य गर्दै संस्थालाई अगाडि बढाउने र आधुनिक प्रविधि प्रयोग गरि भावी कार्यक्रमहरू संचालन गर्नु पर्नेमा जोड दिंदै नव निर्वाचित अध्यक्ष डा. नरेश मान शाक्यले सबैलाई धन्यवाद दिई सभाको अन्त्य गरेका थिए । अन्य पदाधिकारीहरू तथा सदस्यहरूले पनि आ-आफ्ना प्रतिवद्धता व्यक्त गरेका थिए।

    नेवा: नख: न्यूयोर्क – नेवा: परम्परा, कला र संस्कृतिको संरक्षण, प्रवर्द्धन र नयाँ पिढिमा पुस्तान्तरणका लागि सन २०११ मा न्युयोर्कमा स्थापना गरिएको संस्था हो । यो संस्थाले समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

  • विदेश पढ्न जानेसँगै विदेशियो ५८ अर्ब ४० करोड

    विदेश पढ्न जानेसँगै विदेशियो ५८ अर्ब ४० करोड

    काठमाडौं । पर्यटकबाट हुने भ्रमण आयभन्दा वैदेशिक अध्ययनमा जाने नेपालीले धेरै विदेशी मुद्रा लगेको पाइएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भ्रमण आय ३९ अर्ब ५६ करोड पुगेको छ । गत आव पहिलो ६ महिनामा २७ अर्ब ४० करोड रहेकोमा ४४.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
    आर्थिक वर्षको ६ महिनामै भ्रमण व्यय भने ९२ अर्ब ८७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये शिक्षातर्फ ५८ अर्ब ९५ करोड रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

    गत आर्थिक वर्ष पहिलो ६ महिनामा भ्रमण व्यय ५७ अर्ब ८२ करोड रहेकोमा शिक्षातर्फको व्यय ३५ अर्ब ३६ करोड थियो । गत वर्षको तुलनामा भ्रमण आय ४४.४ प्रतिशतले बढ्दा भ्रमण व्यय ६०.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । भ्रमण व्ययमा उच्च वृद्धि हुँदा पनि अन्य सेवा आयातमा बाहिरिने विदेशी मुद्रा घट्दा सेवा घाटा भने बढेको छैन । चालु आर्थिक वर्ष २०८०–८१ को ६ महिनामा खुद सेवा आय ३६ अर्ब ६ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । गत आव सोही अवधिमा खुद सेवा आय ३६ अर्ब २२ करोडले घाटामा थियो ।

  • एक महिनामै भित्रियो १ खर्ब २० अर्ब रेमिट्यान्स

    एक महिनामै भित्रियो १ खर्ब २० अर्ब रेमिट्यान्स

    काठमाडौं । एक महिनामा १ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणअनुसार पुस महिनामा १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो । साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा कुल ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भित्रिएको यो रेमिट्यान्स रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.३ प्रतिशत बढी हो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा भने सोही अवधिमा २२.६ प्रतिशतले रेमिट्यान्स वृद्धि भएको छ ।

    चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल ५ अर्ब ५२ करोड अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ । यो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८ रहेको थियो ।

  • २५ हजार डलरसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

    २५ हजार डलरसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

    काठमाडौं । प्रहरीले २५ हजार अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट चीनको ग्वानजाउ जान लागेका चिनियाँ नागरिक सियुआई विङक्यान अबेध रुपमा बोकेको डलर सहित पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि पुल्चोकमा रहेको राजस्व अनुसन्धान विभागमा पठाएको प्रहरीले जनाएको छ ।

  • लेवनानमा एक जना नेपाली शान्ती सैनिकको मृत्यु

    लेवनानमा एक जना नेपाली शान्ती सैनिकको मृत्यु

    काठमाडौं । लेबनानस्थित संयुक्त राष्ट्र संघीय शान्ति सैनिकको रुपमा कार्यरत एक नेपाली सैनिकको मृत्यु भएको छ । नेपाली सेनाका अनुसार श्री पुरानो गण ६४ औं डफ्फामा कार्यरत सिपाही सुवास थापाको बिहीबार निधन भएको हो । उनी दोखला निवासी हुन् ।

    सिपाही थापा हेडक्वाटरको बंकरमा स्ट्यान्डवाई डिउटीमा रहदा आफैंले बोकेको हतियारबाट गोली लागि घाइते अवस्थामा फेला परेको सेनाले जनाएको छ । त्यसपछि उनलाई मिसनको लेभल एक अस्पतालमा उपचारका लागि लगिएको थियो । तर उनको निधन भयो । सिपाही थापाको शव ल्याउन आवश्यक समन्वय भइरहेको सेनाले जनाएको छ ।

    सेनाले लेबनानको सीमावर्ती इलाकामा लडाई चलिरहेको हुदा त्यसको मनोवैज्ञानिक असर बाहेक अन्य कुनै कारणबाट उक्त घटना घटेको हो भन्ने बारेमा बुझ्ने कार्य भइरहेको जनाएको छ । साथै, हाल उक्त मिसनमा तैनाथ गण एक वर्ष कार्य अवधि पुग्ने क्रममा रहेको र यहि फागुनको दोस्रो साता अदलीपद्ली हुने प्रारम्भिक चरणमा रहेको पनि सेनाले जनाएको छ ।

  • स्कटल्याण्डमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको निधन

    स्कटल्याण्डमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको निधन

    काठमाडौं । स्कटल्यान्डस्थित एबरडिन सहरमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको मृत्यु भएको छ । एबरडिनको ब्याक हिल्टन रोड बस्ने अन्दाजी २२ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको गत सोमबार साँझ ६ बजे भएको आगलागीमा परेर मृत्यु भएको हो ।

    छिमेकीको तल्लो फ्ल्याटमा आगो लागेपछि दोस्रो तल्लामा रहेका उनीहरु आत्तिँदै भुईंतलामा झर्दा धुंवाको मुस्लोले निस्सासिएर बेहोस भएका र पछि निधन भएको नेप्लिज हिमालयन एसोसिएसन स्कटल्यान्डका अध्यक्ष डा. शिव तिवारीको भनाइ उधृत गर्दै एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिएका छन् । घटनास्थलमै निधन भएका दिदीबहिनी पोखरा विश्वविद्यालयका पूर्व प्राध्यापक डा. यज्ञराज सुवेदीका छोरीहरू हुन् । नेपाल पोखरा घर भएका सुवेदी परिवार लामो समयदेखि एबरडिनमा बस्दै आएको छ।

    ज्यान गुमाएका माइली र कान्छी दिदीबहिनी, बाबुआमा र ठूली दिदी तीन बेग्लाबेग्लै फ्ल्याटमा बस्ने गरेको स्कटल्यान्डको सोसल सेक्युरिटी विभागमा कार्यरत कर्मचारी अनल गौतमले जनाए । मृतक दिदीबहिनीको दाहसंस्कार आउँदो मंगलबार गर्ने तयारी छ । स्कटिस फायर एन्ड रेस्क्यु सर्भिसका क्षेत्रीय कमान्डर एन्ड्रयू राइटले भवन आगलागी भएपछि सात वटा दमकल र विशेषज्ञ टोली पठाइएको जनाएका छन् । सावधानीका रूपमा छिमेकीका घरहरु खाली गराइ केही समय सडक पनि बन्द गरिएको थियो ।

    स्कटल्यान्ड प्रहरी प्रवक्ताले सोमबार साँझ लगभग ६ बजे प्रहरी अधिकृतहरूलाई आगलागीको खबर आएको जनाएका छन् । तत्काल आकस्मिक सेवाहरू घटनास्थल पुगे पनि दुई दिदीबहिनीलाई घटनास्थलमै मृत घोषित गरिएको जनाइएको छ । आगलागीमा उनीहरुको एउटा बिरालो पनि मरेको छ । एक बच्चालाई सावधानी अपनाउँदै अस्पताल लगिएको थियो । उनी अहिले अस्पतालबाट घर फर्किइसकेका छन् । त्यस्तै अन्य ५ जनालाई स्कटिस एम्बुलेन्स सर्भिसले उद्धार गरेको थियो ।

    साँझ ६ बजेतिर सुरु भएको आगलागी स्कटिस फायर एन्ड रेस्क्यू सर्भिसले करिब तीन घण्टापछि राति ९ः ०२ बजेतिर नियन्त्रणमा लिएको थियो । आगलागीको कारण नखुले पनि यसलाई प्रहरीले शंकास्पद ठानेको छैन । यसबारे स्थानीय प्रहरी र फायर सर्भिस्ले अनुसन्धान गरिरहेका जनाइएको छ। एबरडिन ग्रामर स्कुल पढ्ने उनीहरूका सहपाठी र परिवारजनले दिवंगत दिदीबहिनी सुन्दर, दयालु र मायालु भएका उल्लेख गर्दै आर्थिक सहयोग संकलन सुरु गरेका छन् ।
    कान्तिपुर दैनिकबाट

  • नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अमेरिकाको भिसा आवेदन दिने १० जना पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अमेरिकाको भिसा आवेदन दिने १० जना पक्राउ

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अमेरिकाका लागि भिसा आवेदन दिने १० जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिकी दूतावासको समन्वयमा १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डीभी परेकाहरुसमेत रहेका प्रहरीले जनाएको छ ।

    प्रहरीले सञ्जय महर्जन, भगवती उप्रेती, रोना गुरुङ, सुमन ढकाल, विवेक उपाध्याय, सक्षम अर्याल, सुरज अधिकारी, अशोक श्रेष्ठ, पुरुषोत्तम मल्लिक र स्वर्णीम दाहाललाई पक्राउ गरेको हो । अघिल्लो वर्ष सन् २०२३ का लागि डीभी परेकाहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्न थालेपछि अमेरिकी दूतावासले प्रहरीलाई खबर गरेको हो । भिसा आवेदनका लागि उनीहरूले एसलएलसी र १२ कक्षाको नक्कली शैक्षिक प्रमणपत्र पेस गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

  • महानगर प्रमुख बालेनलाई राजदूतले दिए अमेरिका भ्रमणको निम्तो

    महानगर प्रमुख बालेनलाई राजदूतले दिए अमेरिका भ्रमणको निम्तो

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले अमेरिका भ्रमणको निम्तो दिएका छन् । बिहीबार महानगरमा भएको भेटमा उनले यस्तो निम्तो दिएका हुन् । भेटमा बालेनले सूचना प्रविधिसम्बन्धी तालिममा अमेरिकासँग सहकार्यको प्रस्ताव गरेका छन् । ‘आपसी कार्यक्रमका रुपमा हामीले आईटीको तालिम चलाउन सक्छौं । यसबाट अमेरिकन कम्पनीले कामका लागि जनशक्ति पाउँछन् । नेपाली युवाहरुले आय आर्जन गर्न पाउँछन्’ अमेरिकी राजदूतसँग बालेनले भने ।

    युनेस्को रचनात्मक सहर सञ्जालअन्तर्गत चलचित्र विधामा जोडिएर काम गरिरहेको भन्दै बालनेले यसमा हलिउडका चलचित्र निर्माता, निर्देशक, कलाकार, वितरकसँग कार्यक्रम तय गर्न सहजीकरण गरिदिन राजदूतलाई प्रस्ताव गरे । भेटमा राजदूत थम्प्सनले नेपालमा हुने सिर्जनात्मक कार्यक्रमहरुमा सहभागी हुन र यस्ता कार्यक्रममा अमेरिकाका तर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन आफूहरु सकारात्मक रहेको बताएका छन् ।

  • नेपाल सरकार र आइएलआरआईबीच सहकार्य गर्ने सम्झौता

    नेपाल सरकार र आइएलआरआईबीच सहकार्य गर्ने सम्झौता

    काठमाडौं । कृषि तथा पशुपन्छी क्षेत्रको विकासका निम्ति सहकार्य गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आइएलआरआई) बिच सम्झौता भएको छ । काठमाडौँमा बुधबार नेपाल सरकारका तर्फबाट कृषि मन्त्रालयका सचिव डा.रेवती रमण पौडेल र आइएलआरआईका तर्फबाट सहायक महानिर्देशकले डा. सिरले तारावालीले दुईपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताले पशुपन्छी अनुसन्धान र विकास, नवीन प्रविधि प्रवर्द्धन र यस क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउन दुवै निकायको प्रतिबद्धतालाई बलियो बनाउने मन्त्रालयको विश्वास छ ।

    कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले दुई पक्षीय सम्झौताले पशुपालनमार्फत गुणस्तरीय जीविकोपार्जनमा योगदान पुर्‍याउँदै अनुसन्धान र विकासमा सार्वजनिक र निजी क्षेत्रको सहभागिताका लागि बलियो ढाँचा उपलब्ध गराउने अपेक्षा रहेको बताए । आइएलआरआइले सन् २०१३ देखि अफ्रिका र एसियाका कम र मध्यम आय भएका देशका सरकारसँगको सहकार्यमा विभिन्न स्तरका पशुपन्छी क्षेत्रका गुरु योजना र लगानी योजना विकास गर्न प्राविधिक सहयोग उपलब्ध गर्दै आएको छ ।

    सम्झौता गरिएको संस्था विश्वव्यापी रूपमा पशुपन्छीको उत्पादन प्रवर्द्धनलगायत पशुपन्छीको क्षेत्रमा वैज्ञानिक अनुसन्धान सञ्चालन गर्ने एक संस्था हो । सम्झौताले पशुधनको क्षेत्रमा अनुसन्धान र विकासका विभिन्न पक्षहरूमा सहकार्य गर्न नेपाल सरकार र आइएलआरआइ तयार रहेको उल्लेख गरिएको छ । दुवै पक्ष नेपालमा जलवायु परिवर्तन, जनसङ्ख्या वृद्धि र गरिबीबाट उत्पन्न चुनौतीहरू गर्न समर्पित छन् ।

    सो साझेदारीले नेपालको कृषि विकास रणनीति ९सन् २०१५ देखि २०३५० मा योगदान पुर्‍याउने उद्देश्य राखेको छ । साझेदारीले खाद्य र पोषण सुरक्षा गर्न गरिबी न्यूनीकरण गर्न गुणस्तरीय जीविकोपार्जनका लागि पशुधनको दिगो सुनिश्चित गर्छ । सम्झौतापछि डा. सिरले तारावालीले उचित पोषण, बाल कुपोषण न्यूनीकरण गर्न संज्ञानात्मक विकास सुधार, खाद्य उत्पादन र स्वास्थ्यका लागि साना किसानको पशुपालन प्रणालीलाई गर्न सहयोग गर्ने उल्लेख गरे । कृषि सचिव पौडेलले नेपालको पशुपालनको क्षेत्रमा स्थानीय समस्यालाई समाधान गर्न सहयोग मिल्ने बताए ।