Category: डायस्पोरा

  • अस्ट्रेलियाका सभामुख नेपाल भ्रमणमा आउने

    अस्ट्रेलियाका सभामुख नेपाल भ्रमणमा आउने

    काठमाडौं । अस्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकले आगामी अक्टोबरमा नेपाल भ्रमण गर्ने भएका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले सभामुखको नेपाल भ्रमणबारे जानकारी गराएकी छिन् । अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा भेट गर्ने क्रममा अस्ट्रेलियाले नेपाललाई उच्च प्राथमिकतामा राखेको बताउँदै भ्रमणबारे जानकारी गराएकी हुन् ।

    भेटमा द्विपक्षीय सम्बन्ध र पारस्परिक सहयोगबारे छलफल भएको थियो। अध्यक्ष तिमिल्सिनाले नेपाली विद्यार्थीको आकर्षक शैक्षिक गन्तव्यका रूपमा अस्ट्रेलिया परेको बताउँदै छात्रवृत्तिको सङ्ख्या बढाउन आग्रह गरे । उनले यसप्रकारको व्यवस्थाले धेरै विद्यार्थी लाभान्वित हुने बताए ।

    नेपाल र अस्ट्रेलियाबिच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। अध्यक्ष तिमिल्सिनाले अस्ट्रेलियामा विभिन्न पेसा र व्यवसायमा ठूलो सङ्ख्यामा अस्ट्रेलियामा नेपाली रहेको बताउँदै दुई देशबिचमा सिधा हवाई उडान सञ्चालन गर्न सके दुवै देशले लाभ लिन सक्नेमा जोड दिए ।

    सो अवसरमा राजदूत भोल्कले अस्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको जानकारी गराइन् । उनले क्यानबेरामा बढी बोलिने भाषामा नेपाली भाषा तेस्रो स्थानमा रहेको जानकारी गराएकी छिन् ।

  • एसडीजी सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन

    एसडीजी सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन

    काठमाडौं । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा संचालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरुका पक्षमा अन्तर्राष्ट्रिय समुदायले यसअघि गरेको प्रतिवद्धता कार्यान्वयनमा जोड दिएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले कोभिड–१९ महामारी, जलवायु परिवर्तन र भू–राजनीतिक तनावजस्ता विश्वव्यापी सङ्कटले अतिकम विकसित देशको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गर्दै यसबाट उम्कन उद्दार योजना जरुरी रहेको बताए । प्रधानमन्त्री प्रचण्डले सन् २०२१ को तुलनामा सन् २०२२ मा अल्पविकसित देशमा विदेशी प्रत्यक्ष लगानीको प्रवाह लगभग ३० प्रतिशतले घटेको उल्लेख गर्दै यसबाट पूर्वाधार, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षामा लगानीलाई ठूलो धक्का लागेको तथा बाह्य ऋणले संकटको जोखिम बढाएको बताए ।


    उहाँले अतिकम विकसित देशले स्वदेशी श्रोत र संस्थालाई सुदृढ र परिचालन गर्ने अधिकतम प्रयास जारी राखेको बताउँनुहुँदै दिगो विकास लक्ष्य हासिल गर्न एक्लो प्रयासले मात्रै नपुग्ने बताए । यसका लागि दोहा कार्ययोजना, जसप्रति अन्तर्राष्ट्रिय समुदायको समर्थन र प्रतिबद्धता रहेको थियो। उनले यसलाई स्वीकार गर्न आग्रह गरे । उनले दिगो विकास लक्ष्य हासिल गर्न थप लगानी, संरचनात्मक रूपान्तरणका लागि समर्थन र कोभिड महामारीबाट द्रुत र दिगो रिकभरी हासिल गर्न आवश्यक हुने बताए ।

  • जनसम्पर्क समितिको कार्यक्रममा परराष्ट्र मन्त्रीको स्वागत कि बिदाई ?

    जनसम्पर्क समितिको कार्यक्रममा परराष्ट्र मन्त्रीको स्वागत कि बिदाई ?

    न्युयोर्क

    सेप्टेम्बर १७ तारिखमा जनसम्पर्क समितिले नेपालका परराष्ट्रमन्त्री एन पी सावद र भूपू मन्त्री जितेन्द्र देवको स्वागत कार्यक्रम आयोजना गर्यो। संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन आएका मन्त्री अति ब्यस्त भएकोले समयाभावको कारण सबैलाई ठिक अपरान्ह २ बजे उपस्थित हुन सुचना जनसम्पर्कका स्थायी महामन्त्री मुनेन्द्र नेम्वाङले सुचना जारी गरे। अनि अमेरिका जस्तो संसारको प्रमुख बिकसित देशमा समयको मूल्य र महत्व बुझेका बिभिन्न डाक्टर, वकिल, म्यानेजर, प्रोफेसर, जात जातका संस्थाका प्रतिनिधि, बिभिन्न संस्थाका बर्तमान र भुतपुर्व पदाधिकारीहरु, पत्रकारहरु मन्त्रीहरुको दर्शनार्थ २ बजे अगावै कार्यक्रम स्थल पुगे। तर मन्त्री त ३:३० सम्म पनि आईपुगेनन। बल्ल मन्त्री आईपुगे । सबैजना हतार गर्दै हल भित्र प्रवेश गरे। जनसम्पर्कका सभापति र महामन्त्रीले पाहुनाहरुलाई खादा माला लगाएर केही बोल्न दिएर चियापान गराई कार्यक्रम गर्लान भनि उपस्थितले सोचेका थिए। तर मन्त्रीको व्यस्त समयको बावजुद महामन्त्रीले सहभागीहरुको लामो परिचय गराए। अनि सहभागीहरुले मन्त्रीलाई खादामाला ओडाई स्वागत गर्न समय छुट्ट्याईयो। दर्शनार्थीहरुले खादामाला सहित उपस्थित हुनुपर्ने सुचना नपाएकोले केही समय त्यसै अलमलमा परे। अनि जनसम्पर्कको तर्फबाट एक गुण्टो खादा ल्याएर बीपीको फोटो छेउ थुपारियो। तर एक दुइ जनाले मात्र मन्त्रीलाई खादा लगाई दिए।

    त्यसपछि २ मिनेटको समय दिएर मन्तब्य राख्न बक्ताहरु डाकियो। तर बक्ताले अहिले अल्पमतको प्रचण्ड सरकार भएको ठिक भएन। प्रजातन्त्रमा बहुमतको अथवा प्रमुख पार्टीले शासन चलाउन पर्छ। त्यसैले काग्रेस अगाडि बढी सरकार आफुले चलाउनु पर्छ भनि दिए। ति बक्तालाई अहिले माओबादी, समाजबादी र कांग्रेसले आलोपालो ५ बर्ष सरकार चलाउने सहमति अनुसार सरकार चलेको थाहा रहेनछ। अहिले कति त्याग तपस्या गरी बल्ल प्रचण्ड सरकारमा एन पी सावद मन्त्री हुन् पाएका छन। अब सरकार नै हटाउने माग भएपछि मन्त्री सावदको स्वागतको सट्टा बिदाईको कार्यक्रम गरे जस्तो सुनिएपछि मन्त्री सावदलाई आफ्नै सरकारको बद्खुवाई सुनेर हर्ष हुने त् कुरो नै भएन।
    त्यस्तै अर्का एन आर एन आई सी सीका पदाधिकारीले दोहोरो नागरिकता दिन निवेदन गरे। तिनलाई अहिले नागरिकता बाड्ने प्रक्रिया शुरु भएको समेत जानकारी रहेनछ।
    त्यस्तै अन्य बक्ताले युएनमा के बोले ठिक हुन्छ भनि मन्त्रीलाई सल्लाह सुझाव बिन्ति चढाए।

    त्यस्तै जनजाति महासंघले बोले पनि अनेक जातजातकाले फेरी बोल्ने पालो आयो। अनि अनेक के के समयको पावन्दी बेगर बोलियो। यस्ता बकम्फुसे नेपालको गाउँ पाखातिर गर्न जस्तो कार्यक्रममा आएको महसुस भएपछि बिज्ञ ब्यक्तित्वहरु बिस्तारै बाहिरिदै गए। मन्त्रीले बोल्ने बेलासम्म त करिब करिब हल खाली हुन् पुग्यो ।
    जनसम्पर्कका नेतृत्वकारीहरु मन्त्रीलाई एयरपोर्टमा स्वागत गर्न गएका थिए। फेरी यो अर्को कार्यक्रम गर्नुको पछाडि रहस्य बुझ्दा त चाकडी देखाउन मनसाय रहेको धेरैले बुझे। अमेरिका जस्तो देशमा आएर समयको महत्व र कार्यक्रमको प्रभावकारिता जानकारी नभएकाले के कार्यक्रम गर्नु भन्ने धेरैको भनाई रह्यो।

  • न्यूयोर्कमा नेपाली पत्रकारसँग के भने प्रधानमन्त्रीले ?

    न्यूयोर्कमा नेपाली पत्रकारसँग के भने प्रधानमन्त्रीले ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गर्ने आश्वासन दिएका छन् । उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको समेत जानकारी गराए । कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित हुन नदिने उनको प्रतिवद्धता छ ।

    संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागी हुन आइतबार न्युयोर्क आएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँगको भेटमा सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको भन्दै त्यसको नियमनका लागि विशेष पहल गर्ने समेत बताए । प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताए।

    उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको आरोप लगाए। अप्रधानमन्त्री प्रचण्डले पार्टी पंक्तिको उपल्लो तहमै केहि समस्या देखिएको भन्दै त्यसलाई सच्याएर जानुको विकल्प नरहेको बताए।

    न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्वोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साईडलाईन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ। उनले अल्पविकसित राष्ट्रको अध्यक्ष भएका कारण पनि अहिले महासभामा सहभागी हुनै परेको बताए। प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

  • न्यूयोर्कमा प्रधानमन्त्री प्रचण्ड र युक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता

    न्यूयोर्कमा प्रधानमन्त्री प्रचण्ड र युक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता

    काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उनीहरूबीच संयुक्त राष्ट्र संघको मुख्यालयमा भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी सहकार्य र साझेदारी लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    साथै, नेपालमा संयुक्त राष्ट्र संघको संलग्नता र साझेदारीलाई अझ सुदृढ गर्नेबारे पनि प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच छलफल भएको छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री प्रचण्ड शनिबार अमेरिका गएका थिए । प्रधानमन्त्री प्रचण्डले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    विश्व समुदायको विश्वास पुनःजागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले मन्तव्य दिने कार्यसूची छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् प्रधानमन्त्री प्रचण्ड असोज ५ गते न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।

  • न्यूह्यामसायरमा सामुहीक तीजको रौनक (तस्वीरहरु)

    न्यूह्यामसायरमा सामुहीक तीजको रौनक (तस्वीरहरु)

    म्यानचेस्टर

    न्यूह्यामसायरमा बसोबास गर्ने नेपाली महिलाहरुले संयुक्त रुपमा तीज मनाउने एवं दर खाने कार्यक्रम सम्पन्न छन् । न्यूह्यामसायर नेपाली समाजको सहजिकरणमा न्यूह्यामसायर दिदी बहिनी समुहले आयोजना गरेको सामुहिक तीज उत्सवमा राज्यभरबाट महिलाहरुले सहभागिता जनाएका थिए ।

    अघिल्लो शनिबार मेरिम्याकमा आयोजित उत्सवमा २०० हाराहारी दिदी बहिनी सहभागी भएको समुहकी अध्यक्ष किरण गुरुङले जानकारी दिइन् । ‘सिकोष्ट देखि क्लेरमोन्टसम्मका दिदी बहिनीहरुले उत्साहजनक सहभागिता जनाइदिनुभयो, गुरुङले भनिन्- बर्षमा कम्तिमा एक दिन राज्य भरका दिदीबहिनी भेला भएर खुसी साटासाट गर्न पाउँदा आनन्द लागेको छ ।’

    समाजका अध्यक्ष लाक्पा शेर्पाले न्यूह्यामसायरबासी नेपालीको हार्दिकता र भाइचाराको उपजस्वरुप तीज उत्सव जस्ता कार्यक्रम सहजता पुर्वक आयोजना गर्न सकिएको बताए । उत्सवमा सहभागि दिदीबहिनीको उत्साहले आफुहरुलाई आगामी दिनमा पनि कार्यक्रम निरन्तरता दिन उर्जा मिलेको उनले बताए ।

    कार्यक्रममा नृत्य लगायतका प्रस्तुती देखाइएका थिए । त्यसपछि दिदीबहिनीहरुले डिजे संगीतमा खुलेर नाचगान गरेका थिए भने अन्त्यमा सामुहिक रुपले केक काटेर तीजको खुसियाली मनाइएको थियो ।

  • विदेशबाट एक महिनामा भित्रियो कीर्तिमानी रेमिट्यान्स, साउनमा ११६ अर्ब

    विदेशबाट एक महिनामा भित्रियो कीर्तिमानी रेमिट्यान्स, साउनमा ११६ अर्ब

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा १ सय ्१६ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ। यो नेपालको इतिहासमा एक महिनामा भित्रिएको सर्वाधिक रकम हो । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक पहिलो महिनाको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनका अनुसार गत वर्षको साउनको तुलनामा रेमिट्यान्स २५.८ प्रतिशतले बढेको छ ।

    गत आर्थिक वर्ष २०७९–८० को साउनमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । साउनमा ८७ करोड ९८ लाख अमेरिकीडलर बराबर रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । डलरमा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.५ प्रतिशतले रेमिट्यान्स बढेको छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन भइरहेको छ ।

    सोहीकारण नेपाली रुपैयाँमा रेमिट्यान्सको वृद्धि धेरै देखिएको छ । यसअघि २०७९ फागुनमा १ खर्ब ९ अर्ब रेमिट्यान्स आएको थियो । कोभिड–१९ महामारीमा भएको लकडाउनसँगै केही महिना घटेको रेमिट्यान्स पहिलो पटक २०७७ असारमा १ खर्ब नाघेको थियो । पछिल्लो ९ महिनादेखि भने लगातार १ खर्बभन्दा बढी रेमिट्यान्स आइरहेको छ ।

  • अमेरिका प्रस्थान गरे प्रधानमन्त्री

    अमेरिका प्रस्थान गरे प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार प्रधानमन्त्री दाहाल न्युयोर्क प्रस्थान गरेका हुन् । प्रधानमन्त्री दाहालले असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । असोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् ।

    न्युयोर्कमा रहँदा दाहालले संयुक्त राष्ट्रसंघको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको छ । संयुक्त राष्ट्रसङ्गको ७८औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् प्रधानमन्त्री दाहाल आगामी असोज ५ गते न्युयोर्कबाटै चीनको औपचारिक भ्रमणका लागि हाङझाउ जाने कार्यक्रम छ ।

    प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा छोरी गंगा दाहाल, परराष्ट्रसचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी सहभागी छन् । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद भने तयारीका लागि यसअघि अमेरिका पुगिसकेका छन् ।

  • प्रधानमन्त्री आज अमेरिका प्रस्थान गर्ने

    प्रधानमन्त्री आज अमेरिका प्रस्थान गर्ने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका प्रस्थान गर्दैछन् । उनी साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट अमेरिकाको न्युयोर्क जानेछन्। १८ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिननेपालका प्रतिनिधिमण्डलको प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन्। भ्रमण टोलीमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता हुनेछ।

    प्रधानमन्त्रीको सचिवालयबाट स्वकीय सचिव गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुईजना सुरक्षा गार्ड रहेका छन्। महासभाको ७८ औं सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्नेछन्। न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुनेछन्।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन पुगेका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन्। महासभा चलिरहँदा प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग साइडलाइन भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाट सीधै चीन जानेछन्।

  • एसियाडमा नेपालले अहिलेसम्मकै जम्बो टिम पठाउँदै

    एसियाडमा नेपालले अहिलेसम्मकै जम्बो टिम पठाउँदै

    काठमाडौं । चीनको हान्झाउमा आयोजना हुने एसियाली खेलकुद अर्थात एसियाडमा नेपालले अहिलेसम्मकै जम्बो टोली पठाउने तयारी गरेको छ । सेप्टेम्बर २३ देखि अक्टोबर ८ (असोज ६–२३) सम्म चल्ने १९औं एसियन गेम्समा नेपालबाट २९ खेलमा २५३ खेलाडीले भाग लिने भएका हुन् । नेपाल ओलम्पिक कमिटीको सोमबार बसेको १६औं कार्यकारी बैठकले एसियाडमा सहभागी हुने खेल र खेलाडी संख्या टुंगो लगाएको छद्ध ।

    शिक्षक, म्यानेजर र अन्य अफिसियलको संख्या अझै टुंगिएको छैन । एसियाडमा भाग लिन जाने खेलाडीलाई बिहीबार एक कार्यक्रम गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिदाइ पनि गरे । एसियन गेम्स उद्‌घाटन हुने बेला चीन भ्रमणमै रहने प्रचण्ड उद्‍घाटन समारोहमा पनि सहभागी हुने छन् ।

    ‘यस पटक महिला भलिबल, महिला फुटबल, महिला कबड्डी, महिला ह्याण्डबल, पुरुष रग्बीमा नेपालले पहिलो पटक सहभागिता जनाउँदैछ । डान्स स्पोर्ट्समा पनि नेपाली खेलाडी सहभागी हुँदैछन् । २४ खेलाडी सहभागी गराउने भलिबल (पुरुष र महिला) बाहेक सबैभन्दा धेरै खेलाडी सहभागी गराउनेमा ई–स्पोर्ट्स दोस्रो स्थानमा छ । ई–स्पोर्ट्सका पाँच इभेन्टमा नेपालका २३ खेलाडी सहभागी हुने छन् ।

    यसअघि ई(स्पोर्ट्समा ५ खेलाडी मात्र गणना गरेर राखेपले २३४ खेलाडी सहभागी हुने बताए पनि २३ खेलाडी सहभागी हुने भएपछि नेपालबाट सहभागी हुने कुल खेलाडी २५३ पुगेका हुन् । पहिलो पटक एसियाड खेल्न लागेको महिला फुटबल टिममा २२ खेलाडी छन् । भारोत्तोलनमा ५ खेलाडी छन् ।

    नेपालबाट आर्चरीमा ४, एथलेटिक्समा ८, बास्केटबलमा ४, ब्याडमिन्टनमा ८, बक्सिङमा १३, ब्रेकिनमा १, क्यानोईमा १, क्रिकेटमा १५, साइक्लिङमा २, फेन्सिङमा ६, गल्फमा ६, ह्यान्डबलमा १६, जुडोमा ८, कपर्दीमा १२, करातेमा ८, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, टेबल टेनिसमा ६, तेक्वान्दोमा ११, टेनिसमा ६, ट्रायथलनमा ४, कुस्तीमा ४ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ ।

    सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औं एसियन गेम्समा नेपालबाट सबैभन्दा धेरै २०३ खेलाडी सहभागी थिए । त्यसबेला नेपालले २५ खेलमा सहभागिता जनाएको थियो । २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाडमा नेपालबाट २९ खेलमा १८५ खेलाडीले सहभागिता जनाएका थिए ।

  • प्रधानमन्त्री प्रचण्ड शनिबार न्यूयोर्क जाने

    प्रधानमन्त्री प्रचण्ड शनिबार न्यूयोर्क जाने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दैशनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनले २१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस महासभाको सामान्य बहसको विषय “विश्वव्यापी एकताको पुनर्निर्माण विश्वास र पुनर्जागृत स् २०३० को एजेन्डा र यसको दिगो विकास लक्ष्य सबैका लागि शान्ति, समृद्धि, प्रगति र दिगोपनमा तीव्रता दिने” भनी छनोट गरिएको छ ।

    प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै १९ सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने छन् । न्यूयोर्कमा हुँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

    उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी रहनुहुनेछ । रासस

  • जलविद्युत् क्षेत्रमा विदेशी लगानी भित्राउन निजी क्षेत्रको पहल

    जलविद्युत् क्षेत्रमा विदेशी लगानी भित्राउन निजी क्षेत्रको पहल

    काठमाडौं । नेपालको जलविद्युत् क्षेत्रमा आवश्यक ऋण उपलब्ध गराउन डच बैंक एफएमओसँग स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आग्रह गरेको छ । एफएमओका प्रतिनिधिहरुसँग भएको छलफलमा इप्पान पदाधिकारीहरुले नेपालको ऊर्जा क्षेत्रमा खर्बौ डलर लगानी आवश्यक भएको भन्दै सस्तो दरमा दीर्घकालीन ऋण उपलब्ध गराइदिन आग्रह गरेको हो ।

    वित्तीय व्यवस्थापन गर्न नसकेका कारण २ हजार ६०० मेगावाट क्षमताका जलविद्युत आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता नै खारेजीको अवस्था आएको भन्दै इप्पान अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा अथाह लगानीको अवसर भएको बताए ।

    ‘सरकारले हालै १२ वर्षमा ३५ हजार मेगावाट विद्युत् उत्पादनको रणनीति लिएको छ । नेपाली बैंकहरूले यी सबै आयोजनाको वित्तीय व्यवस्थापन गर्न सक्दैनन्,’ कार्कीले भने, ‘किनभने अहिले नै २ हजार ६०० मेगावाट क्षमताका आयोजना वित्तीय व्यवस्थापन नभएका कारण पीपीए खारेजीको अवस्था छ ।’


    एफएमओका प्रमुख कार्यकारी अधिकृत माइकल जोंजेनीलले नेपालमा जलविद्युत प्रवर्द्धकले वातावरण, समाज र सरकारलाई केन्द्रमा राखेर काम गरेमा नेपालको ऊर्जा क्षेत्रमा एमएफओले ठूलो लगानी भित्र्याउन चाहेको बताए । २०१९ देखि इप्पानसँग सहकार्य गर्दै आएको स्मरण गराउँदै उनले आईएफसीका मापदण्ड र ईएसजीलाई केन्द्रमा राखेर काम गर्न इप्पानले ठूलो भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे ।

    इप्पानका उपाध्यक्ष आशिष गर्गले नेपालको जलविद्युत् उत्पादन र उपयोगको तथ्याङ्क प्रस्तुत गर्दै विकासको विभिन्न चरणमा रहेका ५३ हजार ४३१ मेगावाट क्षमताका १ हजार २२४ आयोजनामा १ खर्ब १३ अर्ब डलर लगानी आवश्यक हुने बताए । उनले निर्माण भइसकेका करिब २ हजार ९०० मेगावाट क्षमताका १९१ आयोजनामा ५ अर्ब र निर्माणाधीन ७ हजार १०७ मेगावाट क्षमताका १२९ आयोजना ९४ हजार २१५ मेगावाट क्षमताका ६ आयोजना विदेश निर्यात हुने मा ११ अर्ब डलर लगानी भएको बाहेक अझै ९५ अर्ब डलर लगानी थप आवश्यक पर्ने तथ्याङ्क प्रस्तुत गरे ।

    पीपीए गरेर निर्माणको पर्खाइमा रहेका १२९ आयोजनालाई ५ अर्ब र अध्ययन सकेर पीपीएको पर्खाइमा रहेका ९ हजार ४०० मेगावाट क्षमताका १८५ आयोजनालाई २० अर्ब डलर लगानी तत्कालै आवश्यक भएको पनि उनको भनाइ छ । त्यस्तै सरकारले ऊर्जा दशक घोषणा गरेर थप ३० हजार मेगावाट विद्युत् उत्पादनको रणनीति बनाइरहेकाले त्यसका लागि थप ६० अर्ब डलर लगानी आवश्यक पर्ने गर्गले बताए ।

    इप्पान उपाध्यक्ष उत्तम भ्लोन लामाले नेपालको बैंक मार्फत वा सोझै विद्युत् आयोजनामा सस्तो ब्याजदरको दीर्घकालीन ऋण लगानी गर्न एफएमओलाई आग्रह गरे । एफएमओले एक्लै वा अन्य अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थासँग मिलेर संयूक्त रुपमा भएपनि नेपालको ऊर्जा क्षेत्रमा लगानीको नेतृत्व लिन लामाले आग्रह गरे ।

    एफएमओले नेपालमा एनएमबी बैंकमार्फत ५० मिलियन डलर (साढे ६ अर्ब रुपैयाँ भन्दा बढी) जलविद्युत् आयोजनामा ऋण लगानी गरेको छ । त्यस्तै ८२ मेगावाटको तल्लो सोलु जलविद्युत् आयोजनामा जर्मन विकास बैंक र ओपेक फण्ड सहितका संस्थाबाट भएको ८ अर्ब ऋणको नेतृत्व एफएमओले नै गरेको छ भने २१६ मेगावाटको अपर त्रिशुली–१ जलविद्युत् आयोजनामा २ अर्ब रुपैयाँ सिधै ऋण लगानी गरेको छ ।

  • लिबिया आँधी : नेपाली शान्ति सैनिक सुरक्षित

    लिबिया आँधी : नेपाली शान्ति सैनिक सुरक्षित

    काठमाडौं । लिबियामा डानिएल आँधीले ठूलो धनजनको क्षति गरेको छ । यहाँ १० हजार भन्दा बढी मानिस वेपत्ता भएको खबर छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिबियामा तैनाथ सबै दुई सय ३५ जना नेपाली शान्ति सैनिक भने सुरक्षित रहेको बताइएको छ र सैनिक प्रवक्ता कृष्ण प्रसाद भण्डारीले यस्तो जानकारी गराएका हुन् । घटनास्थलबाट नेपाली शान्ति सैनिकको गार्ड युनिटको शिविर करिब एक सय १३ किलोमिटरको दूरीमा छ ।

    सो भेगमा भने बाढीले क्षति नगरेको उनले जानकारी दिएका छन् । भारी वर्षापछि दुईवटा बाँध फुटेपछि लिबियाको तटीय सहर देर्नाको एक चौथाइ क्षेत्र बाढीमा विलय भएको थियो । नेपाली नागरिक र सेनाका तर्फबाट बाढीपीडितलाई सहयोगका लागि त्यहाँ तैनाथ नेपाली शान्ति सैनिकले केही औषधि र चिकित्सा सामग्री पठाएको छ ।

    ती सामग्री संयुक्त राष्ट्रसङ्घ महासचिवका विशेष प्रतिनिधि र सहायक महासचिवमार्फत् यो सामग्री हस्तान्तरण गरिने भएको छ । बाढीबाट सडक सम्पर्कसमेतविच्छेद भएकाले हवाई अनुगमनबाट लिबियाको पूर्वी क्षेत्रमा भएको क्षतिको प्रारम्भिक अनुमान लिइएको हो ।

  • रामकुमारी झाँक्रीलाई समाजवादीको युरोप, अमेरिका र ल्याटिन अमेरिका संयोजकको जिम्मेवारी

    रामकुमारी झाँक्रीलाई समाजवादीको युरोप, अमेरिका र ल्याटिन अमेरिका संयोजकको जिम्मेवारी

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा असन्तुष्ट रहँदै आएकी रामकुमारी झाँक्रीले प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन गर्ने गरी जिम्मा पाएकी छन्। यसअघि पार्टीले जिम्मेवारी नतोकेको भन्दै उनी असन्तुष्ट थिइन्। पार्टी सचिवको भूमिका रहेकी उनलाई एकीकृत समाजवादीले युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जको समेत जिम्मेवारी तोकेको छ।

    यसैगरी स्थायी कमिटी सदस्य श्रीप्रसाद साहलाई एसिया, अष्ट्रेलिया र अफ्रिका इञ्चार्ज तोकिएको छ। केन्द्रीय कमिटी सदस्य अशोक थापालाई भारत प्रवास इञ्चार्जको जिम्मेवारी दिइएको छ। केन्द्रीय परिषद् सदस्य भीमबहादुर भण्डारी भारत प्रवास कमिटीको सहइञ्चार्ज बनेको अन्तरपार्टी निर्देशन—११ मार्फत् जानकारी गराइएको छ।

    भदौ ५ देखि ७ गतेसम्म ललितपुरमा बसेको पार्टी केन्द्रीय कमिटीको छैटौं बैठक, भदौ १८ र २२ गते बसेको सचिवालयको ६५ औं र ६६ औं बैठकले गरेका विभिन्न निर्णयहरू सर्कुलर गर्दै एकीकृत समाजवादीले कार्य विभाजनबारे जानकारी गराएको हो।

  • विश्वका टप १०० उदयीमान नेताको सूचीमा बालेन

    विश्वका टप १०० उदयीमान नेताको सूचीमा बालेन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विश्वका सय उदाउँदा नेताको सूचीमा पर्न सफल भएका छन् । विश्व प्रतिष्ठित म्यागेजिन टाइमले विश्वका सय उदीयमान नेताको सूचीमा मेयर बालेनलाई समेटेको हो। आगामी दिनमा आफू आबद्ध क्षेत्रलाई स्पष्ट रूप दिन सक्ने र आफ्नो उपस्थितिलाई परिभाषित गर्न सक्नेमध्येबाट टाइम म्यागेजिनले सय जना छनोट गरेको हो।

    जसमा २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह परेका छन्। टाइम म्यागेजिनले सन् २०२२ मा उनी स्वतन्त्र उम्मेदवारको रूपमा खडा भएदेखि नै सम्भावित विजेताका रूपमा उभिएको बताएको छ।

    उनले लगाउने चस्मा, पहिरन नै ‘ब्रान्ड’को रूपमा स्थापित भएको उल्लेख गरेको छ। पुराना राजनीतिक दलहरूप्रतिको आक्रोशलाई स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीया शाहले टिकटक, ट्विटर र इन्स्टाग्राममार्फत् आफ्नो पक्षमा पारेको र ‘बालेन प्रभाव’को रूपमा विस्तार गरेको उल्लेख छ। बालेनकै प्रभावको आलोकमा ३ सय ८५ जना स्वतन्त्रहरूले पुराना र पाका उम्मेदवारहरूलाई पाखा लगाएको पनि टाइमले उल्लेख गरेको छ।

    सन् २०१५ (२०७२ वैशाख १२ र २९) को भूकम्पले तहसनसह बनाएको काठमाडौंमा सरल वाचा प्रस्तुत गरेर आफ्नो छवि विस्तार गरेको पनि म्यागेजिनले सन्दर्भ जोडेको छ। उपयुक्त ढंगले फोहोर व्यवस्थापन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक, र शहरी विकासको साथसाथै सांस्कृतिक सम्पदाको संरक्षण बालेनको प्रतिबद्धताभित्र परेको म्यागेजिनले उल्लेख गरेको छ। बालेनले ल्यान्डफिल साइट प्रयोग गर्न विभिन्न सम्झौतामा हस्ताक्षर गरेको र फोहोरको वर्गीकरण पनि थालेकोसमेत उल्लेख छ।

    त्यस्तै गैरकानूनी मानिने घरहरू भत्काउँदा सहरी गरिबमा त्यसको असर परेको र बालेन आलोचनाको घेराभित्र परेको पनि म्यागेजिनले सन्दर्भ जोडेको छ। म्यागेजिनको सय उदीयमान नेताको सूचीमा युरोपेली संसद्का अध्यक्ष रोबर्टा मेट्सोला, स्कटल्यान्डका फर्सट मिनिस्ट हम्जा युसुफ, युक्रेनको उप्रप्रधान तथा अर्थमन्त्री युलिया सिभरिडियन्कालगायत छन्। टाइम म्यागेजिनले कलकार, प्रतिभावान पपगायक, अन्वेषक, नेता र वकालतजस्ता विधाबाट पनि प्रतिभाशाली र प्रभावशाली सय जना व्यक्तित्व छनोट गरी सूचीकृत गरेको छ।

  • परराष्ट्र मन्त्री न्यूयोर्क पुगे

    परराष्ट्र मन्त्री न्यूयोर्क पुगे

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपालका परराष्ट्रमन्त्री नारायणप्रसाद साउद मङ्गलबार अबेर न्यूयोर्क पुगेका छन् । मन्त्री साउदलाई राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, न्यूयोर्कस्थित नेपाली कन्सुलेट जनरल विष्णु गौतमलगायतका अधिकारीले स्वागत गरे । न्यूयोर्कस्थित नेपाली नियोगले दिएको जानकारी अनुसार परराष्ट्रमन्त्री साउदले राष्ट्रसङ्घको विभिन्न फोरममा सहभागिता जनाउनेछन् । गत सेप्टेम्बर ५ देखि सुरु भएको वार्षिक महासभामा विश्वभरका उच्चस्तरका नेताहरुले सेप्टेम्बर १९ तारिखदेखि सम्बोधन हुने कार्यतालिका रहेको छ ।

    यसपटकको महासभालाई नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी असोज ४ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसपटक विश्वभरका नेताहरुले सद्भावको पुनःनिर्माण प्रारम्भ र विश्वव्यापी ऐक्यबद्धता स् सन् २०३० को एजेण्डाको दु्रतगतिमा कार्यान्वयन र यसको दिगो विकास लक्ष्यतर्फ शान्ति, समृद्धि, प्रगति र सबैका लागि दिगोपन भन्ने मूल नारा तय गरिएको छ ।

    यही सिलसिलामा सेप्टेम्बर १८ र १९ तारिखको दिन दिगो विकाससम्बन्धी सम्मेलन हुनेछ । २० तारिखको दिन विकासका लागि वित्तीय परिचलानका विषयमा उच्चस्तरीय संवाद हुनेछ । सोही दिन जलवायु परिवर्तनसम्बन्धी सम्मेलनसमेत हुनेछ । यस सम्मेलनमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुर्टोसले विश्वभरबाट महासभामा भाग लिन आएका सरकारी, गैरसकारी, व्यावसायिक, नागरिक समाजका प्रतिनिधिलाई जलवायु असरका बारेमा सम्बोधन गर्नेछन् ।

    यसैगरी २० तारिखकै दिन महामारी नियन्त्रण, पूर्वतयारी र उत्तरदायी विषयमा समेत छलफल हुने कार्यक्रम रहेको छ । राष्ट्रसङ्घले दिएको जानकारीअनुसार यसपटकको महासभामा मुख्य कार्यक्रममा भविष्यका लागि मन्त्रिस्तरीय सम्मेलन, युनिभर्सल हेल्थ कभरेज, क्षयरोगविरुद्धको लडाईंका विषयमा छलफल हुने जनाइएको छ । यी कार्यक्रममा नेपालले मन्त्रिस्तरीय, प्रधानमन्त्री स्तरीयरुपमा सहभागिता जनाउनेछ ।

  • वैदेशिक रोजगारीमा रहेका लाखौं युवाको भविश्य खोज्न गम्भीर छु : प्रधानमन्त्री

    वैदेशिक रोजगारीमा रहेका लाखौं युवाको भविश्य खोज्न गम्भीर छु : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताएका छन् । सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालको प्रदेशस्तरीय सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले भने, “यो सभामा मोर्चाका नेताहरूले जुन विषय राख्नुभएको छ, सरकारप्रति जुन समर्थन र प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यो आफैमा महत्त्वपूर्ण छ। यसले मलाई नयाँ ऊर्जा पैदा भएको छ ।’’

    “यसपटक कुरा होइन, काम र एक्सनबाट केही नयाँ गर्न चाहन्छु । जनताका समस्या सम्बोधन गर्न सरकारले जुन मेहेनत गरेको छ, त्यसले हाम्रो इमानदार प्रयासलाई प्रमाणित गरिसकेको छ ।,’’ प्रधानमन्त्रीले भने, “आज देशमा क्रमशः जुन उत्साह पैदा भएको छ । यसले जनतामा भरोसा बढेको छ, देशमा केही हुन्छ भन्ने आशा जागेको छ । यसले निराशालाई चिर्नेछ, समाजवादको आधार तयार पार्न भूमिका खेल्नेछ ।’’

    प्रधानमन्त्रीले भने, “यसपटक मेरो सबैभन्दा धेरै चासो र चिन्ता विदेशमा रहेका लाखौँ नेपाली युवाहरूप्रति छ । उनीहरूको भविष्यबारे नसोचीकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव छैन । त्यसैले यसपटक के गरी उनीहरूको हितरक्षा हुन्छ, के गरी उनीहरूको सुरक्षा र आत्मसम्मान हुन्छ, के गरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, त्यसमा गम्भीरतापूर्वक लागेको छु । विदेशमा रहेका लाखौँ युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रक्रिया सुरु गरेका छौँ। केही महिनाभित्र विदेशमा रहेका २५ लाख नेपाली युवाहरूलाई कोषमा आबद्ध गर्छौँ ।’’

    “युवाहरू देशभित्रै केही गर्न चाहन्छन्, त्यसको वातावरण बनाउने जिम्मेवारी राज्यको हो ।,’’ प्रधानमन्त्रीले भने, “आजबाट विभिन्न १३ देशमा कार्यरत नेपाली राजदूत बोलाएर अन्तरक्रिया सुरु गरेको छु । विदेशमा रहेका नेपाली कामदारहरूका समस्या के छन् र कसरी सम्बोधन गर्ने भन्ने गम्भीर छलफल गर्छौँ ।’’

  • श्रम गन्तब्यलाई सुरक्षित बनाउन प्रधानमन्त्रीको पहल, राजदूत र नियोग प्रमुखसँग छलफल गर्ने

    श्रम गन्तब्यलाई सुरक्षित बनाउन प्रधानमन्त्रीको पहल, राजदूत र नियोग प्रमुखसँग छलफल गर्ने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौँ बोलाएका छन् । उनले विदेशस्थित नेपाली दूतावास तथा कूटनैतिक नियोगका प्रतिनिधिहरूलाई काठमाडौँ बोलाई दुई दिवसीय बैठक आयोजना गरेका हुन् । श्रम आप्रवासनका सवालहरू र कूटनैतिक नियोगको भूमिकाका विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    वैदेशिक श्रम स्वीकृति देखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्नेछ। बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ। यो छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयको सक्रिय सहभागिता रहने जनाएको छ।

    बैठकले सुरक्षित श्रम गन्तव्यको लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने छ। यस प्रकारको बैठक नेपालमा प्रधानमन्त्रीको पहलमा पहिलो पटक हुने भएको हो । बैठक भोलि र पर्सी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चल्ने छ।

  • काठमाडौं–छिन्ताओ सिधा हवाई उडान सुरु

    काठमाडौं–छिन्ताओ सिधा हवाई उडान सुरु

    काठमाडौं । काठमाडौं–छिन्ताओ–काठमाडौं सिधा उडानमार्फत जोडिएका छन् । हिमालउ एयरलाइन्सले सातामा एक उडान गर्ने गरी आजबाट उडान थालेको हो।
    एयरलाइन्सकाअनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार बिहान ९ः१५ मा छिन्ताओका लागि उडेको हो। जियाओडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझको ५ः२२ बजे अवतरण गरेको छ । उडानको अवधि ५ घण्टा ५० मिनेटको हुनेछ। पहिलो उडानमा एक सय जना यात्रु रहेका छन्। दुई देशबीच कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यले उडान थालेको कम्पनीले बताएको छ।

    एयरलाइन्सका अध्यक्ष झोउ एनयोङले काठमाडौं–छिन्ताओ–काठमाडौं उडान हिमालय एयरलाइन्सका लागि महत्वपूर्ण उपलब्धी हुने बताए। उनले छिन्ताओ चीनको महत्वपूर्ण व्यापारीक र वित्तीय केन्द्र रहेकाले एसियालाई युरोपसँग जोड्नेछ। दुई देशबीचको कनेक्टिभिटी, सांस्कृतिक आदानप्रदान, पर्यटन र व्यापार अभिवृद्धिमा भूमिका निर्वाह गर्न पाउँदा अत्यन्तै गौरवान्वित छौं, उनले भने।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दुई देशबीचको पर्यटन र व्यापारको सम्भावना अपार रहेको हुँदा यो उडानले त्यस तर्फ निर्णायक भूमिका निर्वाह गर्ने बताए। यस रूटबाट हिमालय एयरलाइन्सले धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल भित्र्याउने विश्वास लिएको छु। यसै अवसरमा छिन्ताओवासीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिन चाहन्छु, मन्त्री किरातीले भने।


    हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ सुरू गरिएको रूटप्रति उत्साह व्यक्त गरे। उनकाअनुसार हिमालयको मुख्य लक्ष्य चीनका विभिन्न १० पर्यटन क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख पर्यटकलाई नेपालमा स्वागत गर्ने हो।

  • अमेरिका बसी मानव तस्करी गर्ने नाइके पक्राउ

    अमेरिका बसी मानव तस्करी गर्ने नाइके पक्राउ

    काठमाडौं । गैरकानुनी माध्यमबाट अमेरिका पठाउने भन्दै विदेशका विभिन्न स्थानमा पुर्‍याएर अलपत्र पार्ने समूहका नाइके नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतम पक्राउ परेका छन् । रुकुमपूर्व सिस्ने गाउँपालिका घर भई अमेरिकी नागरिक बनेका गौतमलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भारत हुँदै नेपाल प्रवेश गर्ने नाका रुपन्देहीको बेलहियाबाट बुधबार पक्राउ गरेको हो।

    ब्युरो प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार हालसम्म पक्राउ परेका छ जनाले पाँच वटा उजुरी ब्युरोमा दिएको आधारमा गौतमलाई नेपाल प्रवेश गर्नेबित्तिकै पक्राउ गरिएको हो। गौतमलाई पक्राउ गरेको जानकारी ब्युरोले प्रहरी प्रधान कार्यालय हुँदै नेपालस्थित अमेरिकी दूतावासलाई समेत दिएको छ । विभिन्न एजेन्टमार्फत अमेरिका पुर्‍याउने सपना देखाएर गौतमले ठुलो रकम असुली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


    प्रहरीसँगको बयानमा गौतमले गैरकानुनी बाटोबाट झन्डै दुई सय जनालाई अमेरिका पुर्‍याएको स्वीकार गरेका छन्। विभिन्न देशमा पुर्‍याएर गौतमसहितको गिरोहले नेपाली युवाबाट ५० देखि ७० लाख रुपियाँसम्म असुली गर्ने र कतिपयलाई विदेशी मुलुकमा बन्धक बनाई यातना दिने गरेको भन्दै पीडितले ब्युरोमा उजुरी दिएका थिए।

    ब्युरोले गत साउन ७ गते कास्कीका कमल तामाङसहित तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। तामाङ नेपालमा बसेर रकम असुली गर्ने, कागजपत्र मिलाउने र विभिन्न देश पुर्‍याउन विमानको टिकट व्यवस्थापन गर्ने मुख्य एजेन्ट रहेको ब्युरोले जनाएको छ।

    पक्राउ परेका गौतमले भने मेक्सिकोलाई आधार बनाएर असुली गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। यो गिरोहले नेपाली नागरिकलाई अमेरिका पठाउने नाममा दुबई, थाइल्यान्ड, फिलिपिन्स, जाम्बिया, सिङ्गापुर, हङकङलगायतका देशमा लगेर राहदानी र मोबाइल जफत गरी ठुलो रकम असुली गर्ने गरेको पीडितहरूको उजुरीमा उल्लेख छ।

    शारीरिक रूपमा अपाङ्गता भएर ह्विलचेयरको सहारामा हिँडडुल गर्ने गौतम सन् २००५ मा अमेरिका पुगेको खुलेको छ। उनले सन् २००८ मा अमेरिकी नागरिकता प्राप्त गरेको र सन् २०१५ मा अमेरिकी पासपोर्ट लिएको खुलेको छ।

  • अष्ट्रेलिया पठाउने प्रलोभनमा ९ लाख ठगी गर्ने महिला पक्राउ

    अष्ट्रेलिया पठाउने प्रलोभनमा ९ लाख ठगी गर्ने महिला पक्राउ

    काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भनेर ९ लाख रूपैयाँ ठगी गर्ने महिला पक्राउ परेकी छन्। भक्तपुर मध्यपुर थिमि नगरपालिका ४ घर भई हाल काठमाडौं महानगरपालिका २६ बस्ने ५० वर्षीया रत्न केशरी श्रेष्ठ पक्राउ परेकी हुन्। उनलाई शुक्रबार बिहान ७ बजे काठमाडौं महानगरपालिका २६ सामाखुसीबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। ९ लाख रूपैयाँ ठगी गरेको भन्दै श्रेष्ठविरूद्ध आशामाया लामाले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन्।

    अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएको थियो। सोही आधारमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए। प्रहरीका अनुसार रत्न केशरीले आशामायालाई २० लाख रूपैयाँमा अष्ट्रेलिया पुर्‍याइदिने भनेकी रहिछन्।

    त्यही आधारमा उनले ९ लाख रूपैयाँ दिएको र पैसा लिएपछि रत्न केशरी सम्पर्कविहीन भएको उजुरीमा उल्लेख छ। पक्राउ परेकी श्रेष्ठविरूद्ध थप अनुसन्धान तथा कारबाहीका वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी रेग्मीले जानकारी दिए।

  • काठमाडौंबाट दमाममा सिधा हवाई सेवा सुरु

    काठमाडौंबाट दमाममा सिधा हवाई सेवा सुरु

    काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको छ । निगमले बुधबारदेखि साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

    काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिबार उडान गर्ने प्रवक्ता पौडेलले बताए । उनका अनुसार रातिको १०ः४० मा उडान भरेको पहिलो उडानमा १२६ जना यात्रु थिए भने फर्कँदा ११७ जना यात्रु आएका छन् ।

    माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको उनको भनाइ छ । निगमको वेबसाइट तथा नजिकैको ट्राभल एजेन्सीबाट टिकट खरिद गर्न सकिनेछ ।

  • नेपाल र भारतबीच क्यूआर कोड प्रयोग गरी भुक्तानी गर्ने बाटो खुल्यो

    नेपाल र भारतबीच क्यूआर कोड प्रयोग गरी भुक्तानी गर्ने बाटो खुल्यो

    काठमाडौं । नेपाल र भारतका जनताले एक अर्काको देशमा क्युआर प्रयोग गरी भुक्तानी गर्ने बाटो खुला भएको छ । यसका लागि नेपालको भुक्तानी सेवाप्रदायक फोन पे र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपिसिआई)को अन्तर्राष्ट्रिय शाखा एनपिसिआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआइपिएलएम) ले ‘क्रसबोर्डर’ क्युआर भुक्तानी सेवा गर्ने विषयमा साझेदारी गरेका छन् ।

    दुई संस्थाबिचको साझेदारीसँगै दुवै देशका नागरिकले दुई नेटवर्कमा आबद्ध मोबाइल एप प्रयोग गरेर क्युआरमार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न सक्ने छन् । सेवा सञ्चालनका लागि दुवै कम्पनीले तयारी पूरा गरिसकेका छन् । जसमध्ये प्राविधिक एकीकरणको काम अन्तिम चरणमा रहेको छ ।

    प्राविधिक एकीकरणपछि यी दुई कम्पनीको नेटवर्कमा आबद्ध सदस्यले एक अर्काको देशका क्युआर भुक्तानीको सुविधा उपयोग गर्न सक्ने छन् । यस किसिमको साझेदारीले दुवै देशका डिजिटल भुक्तानीमा वृद्धि हुने र अन्तर्राष्ट्रिय बजारमा फराकिलो पहुँच हुने जनाइएको छ ।

    साझेदारीपछि फोन पेका तथा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले दुवै देशको नागरिकको हितका लागि प्रविधिको प्रयोग गराउन पाउनु महत्वपूर्ण कदम भएको बताए । “यो साझेदारीकोे पहलले दुई देशबिचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महìवपूर्ण योगदान पु¥याउनेछ र अन्ततः समृद्धि र विकासलाई बढावा दिने छ,” उनले भने ।


    एनआइपिएलएमले यो साझेदारीलाई नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई जनाउने उल्लेख गरेको छ । यस्तो साझेदारीले सहज क्रस बोर्डर भुक्तानी सहज बनाउने र कारोबार गर्ने तरिकालाई वृद्धि गर्ने कम्पनीले जनाएको छ । फोन पेसँगको साझेदारीलाई कम्पनीले वित्तीय समावेशीकरण र आर्थिक समृद्धिको उत्प्रेरकका रूपमा व्याख्या गरेको छ ।

  • भारतको अडानी ग्रुप र नेपालको चौधरी ग्रुपबीच व्यवसायीक साझेदारी गर्ने सहमति

    भारतको अडानी ग्रुप र नेपालको चौधरी ग्रुपबीच व्यवसायीक साझेदारी गर्ने सहमति

    काठमाडौं । नेपालको चौधरी ग्रुप र भारतको अदानी ग्रुपबीच सिमेन्ट व्यवसाय अभिवृद्धिका लागि रणनीतिक साझेदारी गर्ने सहमति भएको छ। नेपाल र भारतको सम्बन्ध अझै सुदृढ गर्दै लैजाने उद्देश्यले दुई देशका व्यावसायिक घरानाले सिमेन्ट व्यवसायमा नयाँ अध्याय सुरू गरेका हुन्। नेपालसँग जोडिएका भारतीय राज्यहरूमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले यो साझेदारी गरिएको चौधरी ग्रुपले जनाएको छ।

    यसै सन्दर्भमा ग्रुपका प्रबन्ध निर्देशक वरूण चौधरीले यो सहमति दुई देशबीचको आर्थिक र व्यापारिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यमा कोशेढुंगा सावित हुने विश्वास रहेको बताए। उनले अदानी ग्रुपका अध्यक्ष गौतम अदानीले यो रणनीतिक साझेदारी सफल बनाउन नेतृत्व दिई भूमिका खेलेकोमा आभार पनि व्यक्त गरे।

    ‘यस रणनीतिक सहकार्यमार्फत हामी आर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदान दिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौं,’ उनले भने।

    चौधरी ग्रुप र अदानी ग्रुपबीच यो सम्झौता नेपालमै भएको हो। यसले दुई व्यावसायकि घरानाको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोण दर्शाएको र सामूहिक वृद्धि तथा पारस्परिक लाभको यात्रामा अगाडि बढेको पनि उनले बताए। भविष्यमा थप आर्थिक सम्बन्धहरू बढावा दिनेतर्फ यो सहमतिले सकारात्मक प्रभाव पार्ने विश्वास दुवै समूहको छ।

    अदानी ग्रुपको सिमेन्ट व्यवसायसँगको साझेदारी नेपाल र भारतबीचको दिगो सम्बन्धको प्रमाणको रूपमा रहने विश्वास पनि दुवै पक्षको रहेको चौधरी ग्रुपले जनाएको छ। चौधरी ग्रुपले हाल पाल्पामा रहेको कारखानामार्फत् सिजी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

  • जर्मनीमा रोजगारी पठाउने प्रलोभन सहितका विज्ञापनमा भर नपर्न विभागले गरायो सचेत

    जर्मनीमा रोजगारी पठाउने प्रलोभन सहितका विज्ञापनमा भर नपर्न विभागले गरायो सचेत

    काठमाडौं । जर्मनीमा आकर्षक रोजगारी दिने गरी आएको प्रचारहरु गलत भएको वैदेशिक रोजगार विभागले बताएको छ । अनधिकृत व्यक्तिले नक्कली सूचना जारी गरी जर्मनीमा सहायक कामदार छनोटका लागि आवेदन आह्वान भएको भ्रमपूर्ण विज्ञापन र सूचना सामाजिक सञ्जालबाट प्रचार गरेपछि विभागले यस्तो बताएको हो । विभागका निर्देशक कविराज उप्रेतीका अनुसार सामाजिक सञ्जालमा जर्मनीको रोजगारी सम्बन्धी आएका सूचनाहरु गलत हुन् ।

    विभागले यस्ता भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न सरोकारवालामा सूचित समेत गरेको छ । कानुन विपरीत हुने गरी सामाजिक सञ्जालमा सूचना सम्प्रेषण नगर्न समेत विभागले चेतावनी दिएको छ ।

    सरकारले १११ वटा मुलुकलाई वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा खुला गरेको छ । व्यक्तिगत रुपमा नेपाली नागरिक १७८ मुलुकमा रोजगारीका लागि गइरहेका छन् । संस्थागत रुपमा खुला भएको मुलुकमा इजाजत प्राप्त संस्थाले मात्र कामदार पठाउन पाउँछन् ।

  • नेपाली विमानस्थल हुँदै कसरी हङकङ पुग्यो चरेश ?

    नेपाली विमानस्थल हुँदै कसरी हङकङ पुग्यो चरेश ?

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जाँच पास परेर नेपाल एयरलाइन्सको विमानमार्फत हङकङमा चरेश पुगेको पाइएको छ । कार्गो कम्पनीमार्फत पठाइएको किताबको पार्सलमा चरेश भेटिएको सूचना प्राप्त भएपछि प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले पनि छानबिन थालेको छ । हङकङमा चरेश बरामद भएपछि त्यहाँको सुरक्षा संयन्त्रले नेपालस्थित कार्गो कम्पनीलाई खबर गरेको थियो ।

    कार्गोमार्फत त्यसबारे सूचना प्राप्त भएपछि आफूहरुले अनुसन्धान थालेको ब्यूरोका प्रमुख एसएसपी गोविन्द थपलियाले बताएका छन् । उनका अनुसार कति परिणाम हो भन्ने यकिन भइसकेको छैन, तर चरेश गएको भन्ने सूचना पाएपछि छानबिन सुरु भएको छ ।

    विमानस्थलमा लागूऔषध नियन्त्रण ब्यरोको टोली समेत जाँचमा खटिन्छ । तर, जाँच पार गरेर चरेश बाहिरिएपछि छानबिनका लागि ब्यूरोले प्रहरी नायब उपरीक्षक )डीएसपी) अनन्तराम शर्माको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको छ ।

    प्रहरीबाट तर्फबाट भएको हुनसक्ने कमजोरीबारे छानबिन गर्न समितिलाई कार्यादेश दिइएको छ । प्रहरीका अनुसार, गाँजासहितको किताबको पार्सल विराट कार्गोले पठाएको थियो । २६ साउनमा गाँजासहितको पार्सल विमानस्थलबाट बाहिरिएको प्रहरीले जनाएको छ ।

  • संयुक्त राष्ट्रसंघको ७८ औं महासभा सुरु

    संयुक्त राष्ट्रसंघको ७८ औं महासभा सुरु

    काठमाडौं । संयुक्त राष्ट्र संघको ७८ औं महासभा सुरु भएको छ । मंगलबार ७८ औं महासभाका अध्यक्ष डेनिस फ्रान्सिसले महासभाको अधिवेशन उद्घाटन गरे । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको तर्फबाट उपप्रमुख अमिना मोहम्मदले उनको मन्तव्य अधिवेशनमा पढेर सुनाएका थिए ।


    उनले यो निराशाको नभइ काम गर्नुपर्ने क्षण भएको बताए । शान्ति र मानव अधिकारको लागि कार्य, दिगो विकास लक्ष्य, जलवायु परिवर्तनका कारण आएको खतरालाई सम्बोधन गर्नुपर्ने बताए । उत्पादनशील रोजगारी सिर्जना, महिला र युवाहरुका लागि रोजगारीको अवसरमा आवश्यक जोड दिनुपर्ने उनको भनाइ छ ।

    फ्रान्सिसले महासभाको नयाँ शैक्षिक सत्र विश्वको डरलाग्दो अवस्थाका बीचमा सुरु भएको र धेरै चुनौतिहरु रहेको बताए । अहिले भइरहेका विश्वव्यापी समस्या समाधानका लागि काम गर्न आवश्यक रहेको बताए । उनले विश्वव्यापी सहयोग र साझा प्रतिवद्धतामा नविकरण गरी वातावरणलाई जीवन्त बनाउन सबै लाग्नुपर्ने बताए ।

  • बिटिश सरकारले गोरखा सैनिकलाई समान व्यवहार गरेन : प्रधानमन्त्री

    बिटिश सरकारले गोरखा सैनिकलाई समान व्यवहार गरेन : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा सैनिकलाई ब्रिटिश सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन नसकेको बताएका छन् । मङ्गलवार काठमाडौंमा आयोजित पूर्वगोरखा सैनिकको समस्या समाधानका लागि एकदिवसीय अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

    उनले पहिलो र दोस्रो विश्वयुद्धका साथै ब्रिटिशको तर्फबाट लडिएका प्रत्येक युद्धमा अग्रमोर्चामा रहेर देशको रक्षा, विस्तार र सेवामा समर्पित गोरखालीहरूलाई ब्रिटिश सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन नसकेको बताए । उनले यो विषय नेपालीहरूका लागि गम्भीर सरोकार र चुनौतीको विषय बनिरहेको उल्लेख गरे ।

    उनले गोरखालीहरूले ब्रिटिश राज्यको हितको पक्षमा आफ्नो सम्पूर्ण जीवन समर्पित गरे पनि ब्रिटिश सेनामा भर्ती भएका नेपालीहरूलाई तलब, सेवा सुविधा, पेन्सन लगायतका विषयमा समान व्यवहार हुन नसकेकोले सरकारले अहिले भारत र बेलायतसँग यसबारेमा आवश्यक छलफल गर्ने काम गरिरहेको बताए ।
    प्रचण्डले अहिले वैदेशिक रोजगारीमा गएका नेपालीहरूले पनि समान व्यवहार, श्रमको उचित मूल्य र आत्मसम्मान पाउन नसकेको स्वीकार गरे ।

    उनले भुतपूर्व गोरखा सैनिकको समस्या राष्ट्रिय स्तरबाट मात्र समाधान गर्न सक्ने मुद्दा नभएर बहुपक्षीय रूपमा उठाउनुपर्ने र समर्थन गर्नुपर्ने मुद्दा भएको बताए ।
    प्रधानमन्त्री प्रचण्डले गोरखा सैनिकको समस्या समाधानका लागि सरकारले जिम्मेवारपूर्ण ढङ्गले अभिभावकत्व प्रदान गर्ने विश्वास व्यक्त गरे ।

  • भुटान एयरको काठमाडौं उडान ३० भदौबाट सूचारु हुँदै

    भुटान एयरको काठमाडौं उडान ३० भदौबाट सूचारु हुँदै

    काठमाडौं । थिम्पुमा मुख्यालय रहेको भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्सले ३० भदौदेखि काठमाडौं उडान पुनः सुरु गर्ने भएको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसले यस्तो जानकारी दिएको हो ।

    नेपालमा साताको चार उडान हुने भएको छ । आइतबार, सोमबार, बुधबार, र शनिबार गरी साप्ताहिक रुपमा चार उडान हुने कम्पनीले जनाएको छ । पारो–काठमाडौं–दिल्ली रुटमा दुईतर्फी उडान हुँदैछ ।

    निर्धारित फ्लाइटहरु पुनः सुचारु गरेसँगै भुटान एयरलाइन्सले विश्वव्यापी कोभिड–१९ को महामारीका कारण रोकिएको काठमाडौंका उडानहरु पुनः सुरु हुने भएको कम्पनीको भनाइ छ ।

    ‘थन्डर ड्रागनको भूमि’ भनेर चिनिने भुटानले पर्यटन प्रवर्द्धन गर्ने र नेपाल भुटान सम्बन्धलाई सुदृढ गर्ने प्रतिवद्धता अनुरुप सन् २०१३ देखि भुटान एयरलाइन्सले आफ्नो पहिलो काठमाडौं उडानको सुरुवात गरेको थियो । भुटान एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत पेमा नाडिकले जस्तो सुकै चुनौतीपूर्ण समयमा पनि अब उडानहरु नियमित राखिने बताए ।

  • किन नेपाल आएका हुन अमेरिकी सिनेटर होलेन ?

    किन नेपाल आएका हुन अमेरिकी सिनेटर होलेन ?

    काठमाडौं । अमेरिकी संसद्को विदेश मामिला समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेनले नेपाल भ्रमण पुरा गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड अमेरिका जाने मिति नजिकिँदै गर्दा भएको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

    उनी नेपाललागयत दक्षिण एसियाका तीनवटा मुलुक श्रीलंका र माल्दिभ्सको आठ दिने भ्रमणका लागि आएका थिए । शुक्रबार नेपाल आइपुगेका उनी आइतबार नेपालको भ्रमण सकाएर श्रीलंका प्रस्थान गरेका छन् ।

    मेरील्याण्ड राज्यबाट सिनेटर रहेका होलेनले नेपाल भ्रमणका क्रममा विशेष गरी अमेरिकी लगानीमा रहेका परियोजना र आर्थिक तथा राजनीतिक क्षेत्रका विषयमा छलफल गर्ने उद्देश्य रहेको जनाइएको थियो ।

    ‘अमेरिका र यी भ्रमण हुने प्रत्येक देशहरू बीचको सम्बन्धनलाई सुदृढ पार्ने यो भ्रमणको मूल लक्ष्य हो । जसमा सुरक्षा सहयोग, आर्थिक सम्बन्धलाई प्रगाढ बनाउने, जलवायु परिवर्तनसँग लड्ने, प्रजातन्त्र र मानवअधिकारको विकास गर्नेलगायत विषयहरू समावेश छन्’, सिनेटको वेबसाइटमा उनको भ्रमण बारे उल्लेख छ ।

    भ्रमणको अन्तिम दिन सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्दै सिनेटर होलेनले आफू पहिले पनि नेपाल आएको र दोहोर्‍याएर आउन पाउँदा खुसी भएको बताए । ‘नेपाल फर्केर आउन पाउँदा खुसी लागेको छ । म यहाँ सन् १९८० मा आएको थिएँ । यो सुन्दर देश यात्रा गरेको धेरै वर्षपछि संयुक्त राज्य अमेरिका र नेपाली जनताबीचको मित्रताको ७६ वर्ष मनाउँदै गर्दा यहाँ आउन पाउँदा खुसी भएको छु’, उनले भने ।

    उनले पछिल्ला वर्षहरूमा नेपाल धेरै परिवर्तन भएको, तर एउटा कुरा उस्तै रहेको भन्दै प्रशंसा गरे । ‘यस देशको सुन्दरता र सांस्कृतिक सम्पदा अहिल पनि उस्तै छन्’, उनले भने । भ्रमणका क्रममा उनले काठमाडौं र जनकपुरका हिन्दू मन्दिरहरू तथा बौद्ध स्तुपको समेत अवलोकन गरेका उनले नेपालको सुन्दर कुरा भनेको समृद्ध सांस्कृतिक सम्पदा रहेको बताए ।

    उनले अमेरिकाले नेपालसँग बलियो आर्थिक सम्बन्ध विकास गर्न चाहेको बताए । एमसीसी कार्यान्वयको घोषणा भएको केही दिनपछि नेपाल आएका उनले अमेरिकी लगानीमा रहेका विभिन्न परियोजनाको निरिक्षण गरेका थिए ।

    ‘मैले मेरो यात्राको क्रममा एमसीए (एमसीसीको नेपाल शाखा) कार्यालयको भ्रमण गरेको थिएँ । एमसीसी कार्यान्वयन सुरु भएको केही दिनपछि म आएँ’, उनले भने, ‘यसको पाँच वर्षे समयावधि सुरु भएको छ । यो महत्वपूर्ण परियोजनालाई समयमै पूरा गर्न प्रयास गर्ने दृढ संकल्प छ ।’ उनले भ्रमणका क्रममा यहाँका महिला सहकारी, कला क्षेत्र, स्वास्थ्य क्षेत्रलगायत यूएसआईडीले लगानी गरेका परियोजनाहरूको निरीक्षण गरेका छन् । साथै, अमेरिकन चेम्बर अफ कमर्सका सदस्यहरूसँग पनि भेट गरे ।

    उनले नेपालको प्रेस स्वतन्त्रता र मिडिया क्षेत्रको विकासको पनि प्रशंसा गरे । उनले नेपालमा यूएआईडीमार्फत लगानी भएका क्षेत्रको प्रगतिबाट आफू सन्तुष्ट रहेको समेत बताए । उनले नेपालको निजी क्षेत्रसँग सहकार्य गर्न चाहेको भन्दै अमेरिकी व्यापारिक संस्थाहरूले नेपालमा काम गर्न चाहेको बताए । उनले नेपाल र अमेरिकाको संसदबीच सहकार्य गर्न चाहेको भन्दै यस विषयमा छलफल होस् भन्ने चाहेको बताए ।