Category: डायस्पोरा

  • नेपालका नयाँ विमानस्थल चलाउन चीनसँग प्रस्ताव गर्छु : प्रधानमन्त्री

    नेपालका नयाँ विमानस्थल चलाउन चीनसँग प्रस्ताव गर्छु : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणका बेला पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि प्रस्ताव गर्ने बताएका छन्।
    समाजवादी मोर्चाले शुक्रबार पोखरामा गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले आसन्न चीन भ्रमणको प्रसंग निकाल्दै भने, ‘पोखरा र लुम्बिनी एयरपोर्ट तथा मुस्ताङको कोरला र गोरखाको रूइला नाका खोल्न प्रस्ताव गर्छु।’ चीन भ्रमणका एजेन्डाबारे शुक्रबार बिहान मन्त्रालयगत एजेन्डामा छलफल गरिएको उनले बताए।

    उनले रसुवा नाकाबाट क्रस बोर्डर प्रशारण लाइन बनाएर चीनमा बिजुली व्यापार गर्नेबारे पनि छलफल भइरहेको जानकारी गराएका थिए। किमाथाङ्का नाकाबाट पनि प्रशारण लाइनको सम्भाव्यता अध्ययन गर्ने भन्दै उनले यसमा चीनको पनि चासो रहेको बताएका थिए।

    चीनले नेपालको कृषिमा चासो राखेको उनको भनाइ छ। नेपालबाट चीनमा घाँस र मासुको व्यापार गर्न सकिने प्रधानमन्त्री दाहालको भनाइ छ। ‘चीनले नेपालबाट सुकेको घाँस ठूलो मात्रामा लान चाहन्छ, तिब्बतमा राँगाको मासुको माग रहेछ,’ उनले भने, ‘खोरेत नियन्त्रण गर्‍यौं भने खर्बौंको मासु बेच्न सकिन्छ।’

  • एमाले नेताहरुको एक टोली चीन भ्रमणमा

    एमाले नेताहरुको एक टोली चीन भ्रमणमा

    काठमाडौं । नेकपा (एमाले)का उच्चस्तरका नेता चीन भ्रमणमा गएका छन् । महासचिव शङ्कर पोखरेल नेतृत्वमा रहेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल साँझ चीनतर्फ प्रस्थान गरेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिएका छन् ।

    चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको टोलीमा पार्टीका केन्द्रीय सदस्यसहित २२ जना रहेका छन् । भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा। राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, अखिल नेपाल महिला सङ्घका अध्यक्ष दुकाभद्र हमाललगायत केन्द्रीय तहका नेता सहभागी छन् ।

    भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य सहर छोङछिङ, बेइजिङ र छिङहाइको १३ दिनसम्म भ्रमण गर्नेछ । भ्रमणको बेला नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र एमाले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने एमाले प्रचार विभागका सचिव विष्टले जानकारी दिए । उनका अनुसार भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुनेछ ।

  • ८ वर्षपछि तातोपानी नाकाबाट सुरु भयो आवतजावत

    ८ वर्षपछि तातोपानी नाकाबाट सुरु भयो आवतजावत

    काठमाडौं । नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरू भएको छ। आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन्।

    सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए। नाका खुलाउन नेतृत्वदायी भूमिका खेल्नुभएका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ बिहानै तातोपानी नाका पुगेका थिए।

    तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा पुगेका उनले अब नाका पूर्ण सञ्चालनमा आएको बताए। विसं २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्णरुपमा बन्द थियो ।

    नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो। भूकम्पबाट सृजित कठिनाइ पन्छाएर सीमितरुपमा मात्रै सञ्चालन भएको नाका विसं २०७६ फागुनमा विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि नाका पुनःबन्द भएको थियो।

    चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ (१ मे) बाट दोहोरो आयात निर्यात खुलाइएको थियो। आयात निर्यात खुलेलगत्तै मानिस आवतजावतका लागि संसद्मा सापकोटाले आवाज पनि उठाउनुभएको थियो ।

    साथै कूटनीतिक भेटघाट तथा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए। केही समयअघि चिनियाँ अधिकारीले आजैदेखि मानिस ओहोरदोहोरका लागि नाका सञ्चालन गर्ने तयार रहेको खबर पठाएका थिए। त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए।

  • परराष्ट्रले चीनको नक्साबारे के दियो जवाफ ?

    परराष्ट्रले चीनको नक्साबारे के दियो जवाफ ?

    काठमाडौं । चीनले हालै सार्वजनिक गरेको नक्साबारे परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। गत अगष्ट २८ मा चीनले नेपालको भूभाग भारतमा देखाएको नक्सा सार्वजनिक गरेको थियो। चीनले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक क्षेत्र भारतमा देखाइएको छ।

    सो विषयबारे प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले भनेको छ( सन् २०२० मा नेपालको संसदले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको छ। यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार स्पष्ट रूपमा विश्वास गर्छ। यसका साथै मन्त्रालयले नेपाल सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध रहेको बताएको छ।

  • चीनले नयाँ नक्सा जारी गरेपछि मेयर बालेनले रद्द गरे भ्रमण

    चीनले नयाँ नक्सा जारी गरेपछि मेयर बालेनले रद्द गरे भ्रमण

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीनले हालै जारी गरेको नक्साप्रति आपत्ति जनाउँदै चीन भ्रमण रद्द गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बालेनले नैतिकताका आधारमा चीन भ्रमणमा नजाने निर्णय गरेको जानकारी दिएका छन्।

    बालेनले लेखेका छन्, हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं। केही दिनपहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ। नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं। त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु।

    गत सोमबार चीनको प्राकृतिक स्रोत मन्त्रालयले झेजियाङ प्रान्तको देकिङ काउन्टीमा आयजित एक कार्यक्रममा नक्सा सार्वजनिक गरेको थियो। सीमाबारे जनचेतना अभिवृद्धि गर्ने सप्ताह र सर्भेइङ एन्ड म्यापिङ पब्लिसिटी डेका अवसरमा नयाँ नक्सा जारी गरिएको हो। भारतीय सञ्चारमाध्यमहरूले चीनको नयाँ नक्सामा अरूणाचल प्रदेश र अक्साई चीनलगायत भूमि पनि समेटिएको बताएका छन्। द हिन्दुका अनुसार चीनको नयाँ नक्सामा अरूणाचल प्रदेश चीनको क्षेत्र समेटिएको छ।

    ती दुई क्षेत्रबारे भारत र चीनबीच विवाद छ। चीनले यसअघि पनि ती ठाउँलाई आफ्नै नक्सामा राख्ने गरेको थियो। केही समयअघि चीनले अरूणाचलका ११ ठाउँको नाम परिवर्तन गरेको थियो। भारत र चीनबीच लद्दाखदेखि अरूणाचलसम्म सीमा विवाद छ। चीनले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिम्मियाधुरा, लिपुलेक क्षेत्र भारतमा देखाइएको छ।

  • अमेरिकी संसदीय प्रतिनिधिमण्डले राष्ट्रपतिसँग गर्यो भेट

    अमेरिकी संसदीय प्रतिनिधिमण्डले राष्ट्रपतिसँग गर्यो भेट

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ। मार्क पोकनको नेतृत्वमा आएको अमेरीकी सांसदहरूको प्रतिनिधिमण्डलले राष्ट्रपति भवन शीतल निवासमा सो भेटवार्ता गरेका हुन्।

    भेटमा राष्ट्रपति पौडेलले समाजमा मानवीय मूल्य कायम गर्नका लागि सबैभन्दा पहिले लोकतन्त्र स्थापित हुन जरूरी रहेको बताउँदै पछिल्लो समय लोकतन्त्रको स्थापनासँगै नेपालमा नयाँ संविधानले समावेशी प्रावधानसहितका मानवीय मूल्यहरूलाई स्थापित गरेको धारणा व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

    राष्ट्रपति पौडेलले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका कारण विभिन्न सीमान्तकृत समुदायका समस्याहरू महसुस गर्न सकेका कारण नै नयाँ संविधानमा मानवीय मूल्यका ती व्यवस्थाहरू समेट्न सकिएको सन्दर्भ उल्लेख गरे।

    ‘लामो संघर्षपछि नेपालमा राजनीतिक रूपले लोकतन्त्र स्थापित भए पनि त्यहीअनुसारको सामाजिक व्यवस्था र अवस्था परिवर्तन गर्न धेरै काम गर्न बाँंकी रहेको छ’, उनले भने।

    त्यसमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणका एजेण्डा नेपालका लागि महत्वपूर्ण रहने राष्ट्रपति पौडेलले उल्लेख गरे। प्रतिनिधिमण्डलमा सांसदहरू मार्क पोकन, डान किल्डी, भेरोनिका एस्कोबार र सुसन वाइल्ड, नेपालस्थित अमेरिकी राजदूत डिन थोम्पसन लगायतको सहभागिता थियो।

  • नेपाली क्रिकेटका लागि आज ऐतिहासिक दिन, एसिया कपमा पाकिस्तानको सामना गर्दै

    नेपाली क्रिकेटका लागि आज ऐतिहासिक दिन, एसिया कपमा पाकिस्तानको सामना गर्दै

    काठमाडौं । नेपाली क्रिकेट इतिहासमा आजको दिन महत्वपूर्ण रुपमा लेखिँदैछ । नेपाले पहिलो पटक एसिया कपको १६ औं संस्करणमा डेब्यू गर्दैछ । जसमा पहिलो खेल नेपाल र पाकिस्तान खेल्दा विश्वको नम्बर १ टोलीसँग नेपालको भेट हुँदैछ । एकदिवसीय क्रिकेटमा पाकिस्तान वरियताको शीर्ष स्थानमा छ ।

    पाकिस्तानको मुल्तानमा अपराह्न तीन बजे एसिया कपको उद्घाटन खेल हुँदैछ। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपालले पाकिस्तान र भारतसँग पहिलोपटक प्रतिस्पर्धा गर्ने अवसर पाउँदैछ। पाकिस्तानी टिममा विश्व ब्याट्सम्यान वरीयताको शीर्ष स्थानमा रहेका बाबर अजाम छन्।

    पाकिस्तानका कप्तानसमेत रहेका बाबरविरुद्ध नेपाली बलरले बलिङ गर्नू चुनौतीपूर्ण हुनेछ। यस्तै वरीयताको तेस्रो नम्बरमा रहेका इमाम उल हक र पाँचौ नम्बरमा रहेका फखर जमान पनि पाकिस्तानका मुख्य ब्याटर हुन्। बलिङमा ‍पाकिस्तानका साहीन शाह अफ्रिदी लयमा छन्। उनको तीव्र गतिको बलिङको सामना गर्न नेपाली ब्याट्सम्यानका लागि कठिन हुनेछ। अफ्रिदी विश्व वरीयतामा नवौं स्थानमा छन्। १० टिम सहभागी भएको एसिसी प्रिमियर कप जितेको नेपाली टिम एसोसिएट राष्ट्रमा बलियो टिम हो।

    विश्वकप छनोटमा जिम्बावेविरूद्ध ब्याटिङमा उत्कृष्ट सुरुवात गरेको नेपाल टिम पाकिस्तानसँग निडर भएर प्रस्तुत हुने कप्तान रोहितकुमार पौडेलको विश्वास छ। पौडेलले खेलअघि पाकिस्तानविरूद्धको खेल स्मरणीय बनाउने पनि बताएका थिए। ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखसँगै कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लमाथि नेपाली टिमको विश्वास हुनेछ।

    यस्तै अलराउन्डर गुल्सन झा पनि नेपालको आसा हुन्। आइसिसीले गुल्सनलाई एसिया कपमा नेपाली टिममा प्रभाव पार्न सक्ने खेलाडीको सूचीमा स्थान दिएको छ। बलिङमा लेगस्पिनर सन्दीप लामिछाने नेपालका मुख्य हतियार हुन्। तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसीको अनुभवबाट नेपालले फाइदा उठाउन सक्नु पर्नेछ।

    स्पिनर ललित राजवंशीले पछिल्लो समय नेपाललाई चाहिएको बेला विकेट लिइरहेका छन्। उनले पनि एसिया कपमा आफ्नो क्षमता प्रस्तुत गर्ने अपेक्षा गर्न सकिन्छ। अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देशले एसिया कप २०२३ भाग लिँदैछन्।

  • साउदीमा समस्यामा परेर स्वदेश फर्कने नेपालीको संख्या बढ्दै

    साउदीमा समस्यामा परेर स्वदेश फर्कने नेपालीको संख्या बढ्दै

    काठमाडौं । साउदी अरबमा समस्यामा परेर नेपाल फर्कने कामदारको संख्या बढ्न थालेको छ । साउदीस्थित नेपाली दूतावासका अनुसार अगस्ट (साउन १६ देखि भदौ २९ सम्म) महिनामा मात्रै समस्यामा परेर स्वदेश फर्किन दूतावासमार्फत २१५ जनाले ‘एक्जिट’ भिसा लगाएका छन् । दूतावासका अनुसार अगस्ट ३ मा ७९ जनाले, अगस्ट १० मा ४१ जनाले, अगस्ट २२ मा ५८ जनाले र अगस्ट २९ मा ३७ जना गरी २१५ जनाले साउदीबाट स्वदेश फर्कने अनुमति अर्थात् एक्जिट भिसा पाएका छन् ।

    साउदीमा समस्यामा परेका अकामा (साउदीको आवासीय अनुमतिपत्र) को म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेको भएमा वा साउदी पुगेको तीन महिनाभन्दा बढी समयसम्म पनि कम्पनीले अकामा नबनाइदिएमा र हुरुब लागेका श्रमिकलाई स्वदेश फिर्तीका लागि दूतावासले एक्जिट भिसाको प्रक्रियामा सहजीकरण गरिरहेको दूतावासले जानकारी गराएको छ ।

  • कुवेतमा नेपाली डाक्टरलाई रोजगारीमा पठाउने विज्ञापन गरेका दुई म्यानपावर कम्पनी निलम्बित

    कुवेतमा नेपाली डाक्टरलाई रोजगारीमा पठाउने विज्ञापन गरेका दुई म्यानपावर कम्पनी निलम्बित

    काठमाडौं । स्वीकृति नै नलिई सामाजिक सञ्जालमार्फत झुटो विज्ञापन गर्नुका साथै अन्य गैरकानुनी गतिविधि गरेको पाइएपछि वैदेशिक रोजगार विभागले दुई म्यानपावरलाई निलम्बन गरेको छ । विभागको स्वीकृति बिना सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली डाक्टरहरूलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै झुटो विज्ञापन गरेको पाइएपछि ओमेगा इन्टरनेशनल प्रालिलाई विभागले निलम्बन गरेको छ ।

    यसका साथै सीपयुक्त व्यक्तिहरूलाई व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा पठाउनका लागि यो म्यानपावरले आफ्नो संस्थाको भवनभित्र अन्य दुई वटा संस्था राखी छेउकै भवनमा इजुकेशनल इन्टिच्युट एण्ड कन्सल्टेन्सी समेत राखेर वर्किङ भिसाको प्रलोभन देखाउने गरेको पाइएको विभागले जनाएको छ ।

    यस्तै व्यक्तिगत रूपमा दक्ष र सीपयुक्त श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने गरेको पाइएपछि ओक्सन इन्टरनेशनल प्रालि अर्थात् अभतार ह्युमन रिसोर्स प्रालिलाई पनि विभागले निलम्बन गरेको छ । दुवै म्यानपावरलाई मङ्गलवार निलम्बन गर्ने निर्णय भएको वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिएका छन् ।

    वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजत लिएका म्यानपावरहरूले व्यक्तिगत रूपमा कुनै पनि श्रमिक पठाउन पाउँदैनन् । यसो गरेमा वैदेशिक रोजगार ऐन २०६४ उल्लङ्घन गरेको हुन्छ । कुनै पनि म्यानपावर कम्पनीले वैदेशिक रोजगारीको विज्ञापन गर्नुअघि विभागसँग पूर्व स्वीकृति लिन पर्छ ।

    तर पछिल्लो समय विभिन्न सामाजिक सञ्जालका माध्यममार्फत वैदेशिक रोजगारीको झुटो र भ्रामक विज्ञापन गर्ने र मान्छेहरू ठग्ने क्रम बढेको छ । यस्तो ठगी म्यानपावर कम्पनीहरूले नै गरिरहेका छन् । त्यसैले वैदेशिक रोजगारीमा जान इच्छुकहरूलाई सामाजिक सञ्जालमा आउने वैदेशिक रोजगारीका विज्ञापनमा विश्वास नगर्न अनुरोध गरेको छ ।

    कानुन विपरीत सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीको विज्ञापनका साथै अन्य गतिविधि नगर्न विभागले सबै म्यानपावर कम्पनीहरूलाई अनुरोधसमेत गरेको छ । यसअघि पनि सामाजिक सञ्जालमार्फत विभागको स्वीकृति विनै वैदेशिक रोजगारीको विज्ञापन गर्ने दुई म्यानपावरलाई विभागले दुई लाख रुपैयाँ जरिवाना गरेको थियो ।

  • ड्रुक एयरले पारोबाट पोखरामा सिधा उडान गर्दै

    ड्रुक एयरले पारोबाट पोखरामा सिधा उडान गर्दै

    काठमाडौं । भुटानको वायुसेवा कम्पनी रोयल भुटान (ड्रुक एयर)ले भुटानको पारो विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडान गर्ने भएको छ । उसले चार्टर्ड उडानका लागि अनुमति मागेको हो । रोयल भुटानले आगामी भदौ २३ गते (सेप्टेम्बर ९ देखि) चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ ।

    प्राधिकरणका अनुसार वायुसेवाले चार्टर्ड उडानको रिपोर्ट प्राप्त भएपछि ड्रुकले पारो–पोखरा–पारो दैनिक नियमित उडान गर्ने तयारी छ । नियमित सफल भएमा पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो उडान समेत हुने छ ।

  • ‘विदेशबाट लगानी भित्राउन आर्थिक कूटनीति आवश्यक’

    ‘विदेशबाट लगानी भित्राउन आर्थिक कूटनीति आवश्यक’

    काठमाडौं । नेपाल उद्योग परिसंघले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरी आर्थिक कूटनीतिमा जोड दिन सुझाव दिएको छ । वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरुको प्रवर्द्धन गर्न, पर्यटन प्रवर्द्धन गर्नका लागि आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्नुपर्ने परिसंघको भनाइ छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यवसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको भन्दै मन्त्री साउदको ध्यानाकर्षण गराए ।


    परिसंघले भारतदेखि विराटनगरसम्म सुरु भएको कार्गो रेल्वे सेवा सञ्चालनका लागि निरन्तरता दिनुपर्ने, नेपाल भारतबीच मोटर भेइकल एग्रिमेन्ट गरी नेपाली मालबाहक तथा अन्य सवारी साधनको आवतजावतलाई सहज बनाइनुपर्ने सुझाव दिएको छ । सो क्रममा मन्त्री साउदले परिसंघले उठाएका विषयहरुलाई उच्च प्राथमिकतामा राख्ने आश्वासन दिए । प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थायित्व, सहज व्यवसायिक वातावरण र छिटो छरितो निर्णय गर्ने संयन्त्र आवश्यक रहेको अध्यक्ष अग्रवालको भनाइ छ ।

  • ब्रिटिश गोर्खाले भने : नेपाली नागरिकता कायमै होस

    ब्रिटिश गोर्खाले भने : नेपाली नागरिकता कायमै होस

    काठमाडौं । ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानले बेलायती सेनामा भर्ना भएका र सेवा निवृत्त भएका नेपालीहरुको नागरिकता कायम हुनुपर्ने माग गरेको छ । आइतबार अभियानले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुको नेपाली नागरिकताले निरन्तरता नपाए बेलायतमा बस्दै आएका बहालवाला र पूर्व बेलायती सैनिक बेलायत नै पलायन हुने बताए । संयोजक सुनबहादुर तामाङले गोर्खालीहरु अपराधी हो भन्ने प्रश्न गर्दै गोर्खालीहरुको नागरिकता खोस्नु अन्यायपूर्ण हुने धारणा राखे ।

    ‘हामी र ब्रिटिश गोर्खाका सन्ततिहरुको नेपालको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्छ । यो मागलाई हामीले नेपालको संविधान २०७२ को निर्माण देखिनै उठाउँदै आएका हौं । आज आठ वर्ष भएको तर, खासै केही भएन । ब्रिटिश गोरखाहरुको पेन्सनमात्रै बर्षेनी २० देखि २२ अर्ब नेपालमा प्रवेश गर्छ । यदि गोरखालीहरुलाई विदेशी बनाउने हो भने यो २० देखि २२ अर्ब पैसा पलायन हुन्छ’, उनले भने ।

    ब्रिटिश गोर्खाको नागरिकताले निरन्तरता नपाए गोर्खाहरुको चल अचल सम्पत्ति पूूर्ण रुपमा पलायन हुने र नेपाललाई ठूलो क्षति हुने तामाङले बताए । ‘बेलायत सुरक्षित र समृद्ध हुनुमा गोर्खालीहरुको ठूलो भूमिका छ । यसको लागि गोर्खाहरुले ज्यान दिए सबै चिज दिए । गोर्खालीहरु बेलायतमा बस्न पाउनुपर्छ, यो अंग्रेजको मात्र देश होइन । गोरखालीहरुको पनि देश हो’, उनले भने ।

  • नेपाल एयरलाइन्सले भैरहवालाई हङकङ र नयाँ दिल्लीसँग जोडने

    नेपाल एयरलाइन्सले भैरहवालाई हङकङ र नयाँ दिल्लीसँग जोडने

    काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने भएको छ । कम्पनीले १२ भदौ २०८० ९मंगलबार०देखि काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने घोषणा गरेको हो ।

    भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको कम्पनीले वताएको छ । उडान तालिका अनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्ने भएको छ । तत्पश्चात ट्रान्जिट भइ हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन् ।

    यात्रुको सुविधाका लागि चेक इन गर्दा नै गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ । यात्रुहरुले निगमको कार्यालय वा निगमको वेबसाइटमा लगइन गरी निगमको टिकट किन्न सक्ने भएका छन् । यसअघि निगमले क्वालालाम्पुरलाई भैरहवासँग जोडेर नियमित उडान गरिरहेको छ । निगमको यो उडानसँगै अब भैरहवामा समेत यात्रुले सहज सेवा पाउने अपेक्षा गरिएको छ ।

  • स्याङ्जाको छुर्पी अमेरिका निर्यात

    स्याङ्जाको छुर्पी अमेरिका निर्यात

    काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएकोसमेत बताए ।


    “हामीले यहाँ सङ्कलित दूधबाट छुर्पी, पनिर, दही, नौनीघ्यू, आइसक्रिमलगायतका वस्तु उत्पादन गर्दै आएका छौँ, छुर्पी अमेरिका निर्यात हुँदै आएको छ ”, उनले भने, “दूधबाट बनेका परिकार स्थानीय बजारमा बिक्री गरेर पनि काठमाडौँ निर्यात गर्ने गरेका छौँ ।” उनले विशेष गरेर सहकारीले उत्पादन गरेको छुर्पीमात्र अमेरिका निर्यात हुने गरेको दाबी गरे । यहाँको दुग्ध सङ्कलन केन्द्रमा वालिङ नगरपालिकासहित दक्षिणी पर्वतबाट समेत कृषकले दूध जम्मा गर्ने गरेका छन् ।

    “साना किसान कृषि सहकारीले सञ्चालन गरेको डेरीमा दैनिक आठ सयदेखि एक हजार एक सय लिटरसम्म दूध सङ्कलन हुन्छ”, उनले भने, “दैनिक २५ देखि ३० किलोसम्म छुर्पी उत्पादन हुँदै आएको छ, दूधको सिजनमा छुर्पीको उत्पादन धेरै नै हुन्छ ।” अध्यक्ष अर्यालले प्रतिकिलो छुर्पीलाई रु एक हजारदेखि एक हजार एक सयसम्म पर्ने बताउनुभयो । उहाँले दूधबाट उत्पादित परिकारको बजारीकरणका लागि समस्या नभएको बताए ।


    सहकारीका प्रबन्धक लक्ष्मी पोख्रेल रेग्मीले प्रतिलिटर दुई रुपैयाँ ५० पैसा दूधमा दिएको अनुदानले कृषक व्यावसायिक गाईभैँसीपालनमा आकर्षित हुँदै गएको बताइन् । “कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री, लहरेबालीका बीउबिजन, घाँसका बिरुवा वितरण गर्दै आएका छौँ”, उनले भनिन्, “बाख्रापालक कृषकलाई बोयर बोका, एक सय ५० किलोदेखि माथि अदुवा लगाउने कृषकलाई किलोमा रु २५ अनुदान दिँदै आएका छौँ ।”

    प्रबन्धक रेग्मीले प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनासँगको सहकार्यमा गत आर्थिक वर्षमा १० जना कृषकलाई ‘भँैसी अनुदान कार्यक्रम’ अन्तर्गत ५० प्रतिशत अनुदान उपलब्ध गराएको बताइन् । उनले २८ जना कृषकलाई ‘भकारो सुधार कार्यक्रम’अन्तर्गत अनुदान वितरण गरिएकोसमेत जानकारी दिनुभयो ।

    विसं २०७५ मा स्थापन भएको सहकारीमा दुई हजार आठ सय ५० शेयर सदस्य रहेका छन् । सहकारीले चालु आर्थिक वर्षमा पशुधन सुरक्षण कार्यक्रमअन्तर्गत निःशुल्क पशु बीमा कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । कृषि पेसातर्फ किसानलाई आकर्षित गर्दै रोजगारीको सिर्जना गर्ने उद्देश्यले कृषकलाई अनुदान दिँदै आएको प्रबन्धक रेग्मीको भनाइ छ । रासस

  • ग्रीसमा अपहरण, नेपालमा फिरौती माग

    ग्रीसमा अपहरण, नेपालमा फिरौती माग

    काठमाडौं । ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिएको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा महालक्ष्मी नगरपालिका ५ का ३२ वर्षीय शिव राज कुँवर, काठमाडौं तार्केश्वर नगरपालिका ५ कुमालटार बस्ने ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तु शिवराज नगरपालिका १ का ३२ वर्षीय प्रकाश बेलाबासे र पर्वत फलेवास नगरपालिका १ शंखपोखरी का ४२ वर्षीय दिल बहादुर थापा रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले उनीहरूलाई विभिन्‍न स्थानबाट पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार थप अनुसन्धानको क्रममा ग्रिस तथा दुवईबाट ह्वाटस् एपमार्फत पीडित परिवारहरूलाई सम्पर्क गरी नेपाली २१ लाख ७५ हजार रुपैयाँ फिरौती रकम नेपालमा लिने कुँवरलाई गौरिघाटबाट भदौ २ गते, फिरौती लिएको रकम कुँवरसँग लिन सम्पर्क भएका अर्याललाई काठमाडौं तार्केश्वरबाट भदौ ३ गते, दुवईबाट नेपालमा कुँवरलाई फिरौती रकम लिन लगाउने तथा अर्याललाई रकम दिनु भन्ने बेलबासेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ ६ गते र दुबईमा बेलबासेलाई रकम नेपालको अर्याललाई दिनु भनि सम्पर्क नम्बर दिने थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ ६ गते पक्राउ गरेको हो ।

    पक्राउ परेका उनीहरूमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • प्रभावशाली अमेरिकी सिनेटर होलेन नेपाल आउँदै

    प्रभावशाली अमेरिकी सिनेटर होलेन नेपाल आउँदै

    काठमाडौं । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपाल भ्रमणमा आउने भएका छन् । उनी सेप्टेम्बर पहिलो साता काठमाडौं आउने भएका हुन् । सिनेटर भ्यान होलेनको कार्यालयका अनुसार नेपाल भ्रमणको क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्नेछन् । उनले अमेरिकी सहयोगमा सञ्चालित प्रोजेक्ट र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्ने कार्यक्रम छ ।

    उनको भ्रमणले नेपाल र अमेरिकाको राजनीतिक तथा व्यावसायिक साझेदारी मजबुत हुने विश्वास लिइएको छ । त्यसैगरी उनले अमेरिकाको नेपालमा हुने सहयोगको बारेमा समेत छलफल गर्ने तय भएको छ । खासगरी स्वास्थ्य क्षेत्रमा र विद्युत् तथा यातायात पूर्वाधारमा महत्त्वपूर्ण लगानीको आधार तय गरिनेछ । क्रिस भ्यान होलेन अमेरिकाको डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन् ।

  • लेवनानमा नेपाली श्रमिक लैजाने प्रस्ताव

    लेवनानमा नेपाली श्रमिक लैजाने प्रस्ताव

    काठमाडौं । लेबनानमा नेपाली श्रमिकका लागि धेरै क्षेत्रमा अवसर रहेकाले श्रमिक लैजाने प्रस्ताव आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र लेबनानका अवैतनिक महावाणिज्यदूत एलचेख मोहम्मद गोजाएलबिच बिहीबार मन्त्रालयमा भएको भेटका क्रममा सो लेबनानका तर्फबाट यस्तो प्रस्ताव आएको हो । लेबनानको प्रस्तावमा मन्त्री भण्डारीले श्रम समझदारीका लागि मस्यौदा बनाएर आदानप्रदान गर्ने र सोही आधारमा अगाडि बढ्ने बताउनुभयो ।

    भेटका क्रममा गोजाएलले लेबनानमा विभिन्न क्षेत्रमा नेपाली श्रमिकका लागि रोजगारीको अवसर रहेको र केही श्रमिकलाई लैजान सकिने बताए । मन्त्रालयका सहसचिव राजीव पोखरेलले श्रम समझदारी गरेर नेपाली श्रमिक पठाउने विषयमा श्रममन्त्री भण्डारी र महावाणिज्यदूत गोजाएलबिच कुराकानी भएको जानकारी दिए ।
    श्रम समझदारीको मस्यौदातयार पारेर सोही आधारमा अगाडि बढ्न मन्त्रालय तयार देखिएको छ । लेबनानमा हाल एक हजार दुई सय नेपाली छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर प्रत्येक वर्ष केही नेपाली जाने गरेका छन् । लेबनानले विशेष गरी घरेलु श्रमिक लैजाने प्रस्ताव गरेको हो ।

    त्यस्तै निर्माण क्षेत्रका लागि समेत श्रमिक लैजान सकिने बताएको हो । लेबनानमा अहिले ठुल्ठुला भवन तथा निर्माण क्षेत्रमा राम्रो अवसर देखिएको छ । त्यस्तै हस्पिटालिटी क्षेत्रका लागि समेत नेपाली श्रमिक लैजाने प्रस्ताव गरेको हो ।

    ठुल्ठुला होटल खुलिरहेको भन्दै त्यसका लागि केही नेपाली श्रमिक लैजाने प्रस्ताव आएको सहसचिव पोखरेलले जानकारी दिए । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९र८० मा सात लाख ७० हजार बढीले श्रम स्वीकृति लिएकामा ५४ जना नेपाली व्यक्तिगत श्रम स्वीकृति लिएर लेबनान गएका छन् ।

  • क्यानडामा व्यस्त अर्थमन्त्री

    क्यानडामा व्यस्त अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वन्यजन्तु आवातजावतमैत्री पूर्वाधार बनाउन अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन् । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) ७ औं विश्व सम्मेलनको उद्घाटन समारोहमा भाग लिँदै उनले नेपालमा मानव र जंगली जनावरबीच द्वन्द्वको सिर्जना भएको र यसबाट धनजनको क्षति तथा यसका लागि नेपालले ठूलो स्रोत साधन खर्च गर्नु परेको बताए ।

    मन्त्री महतले वन तथा वन्यजन्तु संरक्षणको लागि सडक लगायतका पूर्वाधार निर्माणमा वन्यजन्तु आवतजावतमैत्री पूर्वाधार निर्माणको साथै मानव वन्यजन्तु द्वन्द्वका कारण प्रभावित समुदायहरूका लागि जोखिम बीमा तथा स्वरोजगार एवम् आय आर्जनका लागि अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोगका लागि आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।


    अर्थमन्त्री डा. महतले वातावरण संरक्षणको क्षेत्रमा नेपालले गरेका प्रयास तथा उपलब्धिको बारेमा प्रकाश पारेका थिए । मन्त्री महतले नेपालले सामुदायिक वनको अवधारणाबाट वनले ओगटेको क्षेत्रफल झण्डै ४५ प्रतिशत पुर्‍याएको, पछिल्लो दशकमा बाघको संख्यामा तेब्बर वृद्धि तथा गैंडाको संख्यामा झण्डै दोब्बर वृद्धि भएको जानकारी दिए ।

    क्यानाडाको भ्यानकुभरमा आयोजित सम्मेलनमा सहभागी हुँदै उनले विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग द्विपक्षीय विषयमा छलफल गरेका हुन् । सो अवसरमा विश्व वन्यजन्तु कोषका प्रमुख संरक्षण अधिकृत निक शेखरन, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम प्रशासक अकिम स्टिनर तथा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघकी निर्देशक डा. ग्रेथल अग्वीलरसँग जलवायु परिवर्तनले पारेको विश्वव्यापी प्रभाव तथा नेपालले सामना गर्नुपरेका चुनौतीहरू एवम् त्यसको न्यूनीकरण गर्ने उपायहरूको बारेमा छलफल गरेका हुन् ।

    त्यस क्रममा नेपाललाई सीप तथा क्षमता विकासका साथै वित्तीय स्रोतको आवश्यकता रहेको विषय पनि उनले उल्लेख गरे । वातावरणीय कोष तथा सुविधाका कार्यक्रमहरु ठोस नतिजा प्राप्त हुने गरी राष्ट्रिय प्रणालीबाट परिचालन गर्नु पर्नेमा जोड दिंदै यस्ता कार्यक्रमहरुले स्थानीय जनताको जीवनस्तर र आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउनु पर्ने बताए ।

    ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी ९जीईएफ०को ७ औं विश्व सम्मेलनमा ८३ देशका मन्त्रीहरू तथा १८५ देशमा प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनको समापन अगस्ट २५ मा हुनेछ ।

  • कामको खोजीमा एक महिनामा विदेशिए ५५ हजार नेपाली

    कामको खोजीमा एक महिनामा विदेशिए ५५ हजार नेपाली

    काठमाडौं । आर्थिक वर्ष (आव) को पहिलो महिना (साउन)मा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५५ हजार ५७५ जना रहेको छ । यो अघिल्लो आवको साउनको तुलनामा ७ हजार ४६४ जना कम हो ।

    आव २०७९–८० को साउन महिनामा ६३ हजार ३९ जना नेपालीले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७९–८० को एक वर्षको अवधिमा ७ लाख ७१ हजार ३२७ जना नेपालीले श्रम स्वीकृति लिएका थिए । यो कीर्तिमानी संख्या हो । साउनमा मात्र ३९ हजार १५२ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।

    वैदेशिक रोजगार व्यवसायीमार्फत २९ हजार २२४ र व्यक्तिगतमा ७ हजार ५६८ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्‍क छ । जीटूजी सम्झौता अनुसार यस महिनामा २ हजार ३६० जना विदेश गएका छन् । यो सबै दक्षिण कोरिया गएको संख्या हो । साउनमा श्रम स्वीकृति लिनेमध्ये महिलाको संख्या ७ हजार ७२५ जना रहेको छ । जसमध्ये कोरियामा मात्र १३५ जना महिला विदेशिएका छन् ।

    साउनमा युरोपमा जाने नेपालीको संख्या पनि उल्लेख्य देखिन्छ । क्रोएसियाका लागि १६ सय ४९ जनाले श्रम स्वीकृति यस महिनामा लिएका छन् । पोल्याण्डका लागि ४६२, साइप्रसमा ४७८, रोमानियाका लागि ४७३, बेलायतमा १७७, रुसमा ५३, माल्टामा ६७२ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्‍क छ ।

    साउनमा नेपाली धेरै संख्यामा पुगेको मुलुक यूएई हो । गत वर्षभरमा मलेसियामा धेरै नेपाली गएका थिए । साउनमा भने यूएईमा ११ हजार ८७८ जनाले श्रम स्वीकृति लिएका छन् । दोस्रो स्थानमा कतार रहेको छ । कतारमा साउनमा १० हजार ५६१ जना विदेशिएका छन् । साउदी अरेबियमा १० हजार ३० जना गएका छन् ।

    मलेसियामा भने ९ हजार २६८ जना गएको तथ्याङ्‍क छ । कुवेतमा ३ हजार ७१७ जना नेपाली साउनमा पुगेका छन् । दक्षिण कोरियामा २ हजार ४१४ जना पुगेका छन् । २०७९ साल साउनमा मलेसियामा मात्र २४ हजार ४८४ जना नेपाली कामदारले श्रम स्वीकृति लिएका थिए । दोस्रो स्थानमा कतार थियो । जसमा १२ हजार ५६८ जना पुगेका थिए । यो वर्ष भने मलेसिया जाने कामदारको संख्या केही खस्किएको छ ।

  • प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण स्वीकृत

    प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण स्वीकृत

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन भदौ ३० मा अमेरिकाको न्युयोर्क जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण कार्यक्रम स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले प्रधानमन्त्रीको भ्रमण निश्चित भएको जानकारी दिएकी छिन् ।


    प्रधानमन्त्री दाहालले न्युयोर्कमा आधा दर्जनभन्दा बढी महत्त्वपूर्ण कार्यक्रममा सहभागिता जनाउने र द्विपक्षीय साइड–लाइन भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका हुन् । प्रधानमन्त्री दाहालले असोज १ र २ मा हुने दिगो विकासका लक्ष्यहरू (एसडीजी) सम्मेलनमा नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

    एसडीजी सम्मेलन–२०२३ मा नेपालले आफ्नो प्रगति र समीक्षा गर्नेछ । दाहालले असोज ३ मा यूएनको ७८ औं महासभामा सम्बोधन गर्नेछन् । ‘इलिमिनेट एम्बिसन समिट’, ‘फाइन्डिङ अफ डेभलपमेन्ट समिट’, अतिकम विकसित राष्ट्रहरू (एलडीसी) को अध्यक्षता गर्दै बैठक सञ्चालन गर्ने, ‘पान्डामिक प्रिभेन्सन प्रिपियरनेस एन्ड एस्पोन्स समिट’ तथा स्वास्थ्यसम्बन्धी चार कार्यक्रममा प्रधानमन्त्रीको सहभागिता रहनेछ ।

    दाहाल न्युयोर्कबाट नेपाल नआई सिधै चीनतर्फ जाने तयारी छ । मन्त्रिपरिषद्ले चीन भ्रमणको निर्णय भने गरिसकेको छैन । उनले असोज ५ देखि ७ सम्म चीनमा द्विपक्षीय भेटवार्ता गरेर नेपाल फर्कने कार्यक्रम छ । प्रधानमन्त्री असोज ६ देखि हाङचाओमा सुरु हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा अथितिका रूपमा सहभागी हुनेछन् ।

    सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ । गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री भएपछि दाहालले जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसपछि उनी इटाली प्रस्थान गरे । साउन ८–१० मा रोममा भएको ‘युनाइटेड नेसन्स फुड सिस्टम समिट–२०२३ स्टकटेकिङ मुभमेन्ट’ मा उनले नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

  • अमेरिकामा सकृय पत्रकारहरुलाई तारा-किशन फाउण्डेसनले सम्मान गर्ने

    अमेरिकामा सकृय पत्रकारहरुलाई तारा-किशन फाउण्डेसनले सम्मान गर्ने

    न्युयोर्क

    नेपाली भाषामा पत्रकारिता गर्ने अमेरिकाभरका २१ जना नेपाली पत्रकारहरुलाई तारा-किशन फाउण्डेसनले सम्मान गर्ने भएको छ । नेपाली भाषा, लिपि, साहित्य र संस्कृतिको जगेर्ना एवं प्रवर्द्धनमा योगदान पुर्याए बापत फाउण्डेसनले अगष्ट २६, २०२३ शनिवार अपरान्ह १:३० बजे न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा सम्मान कार्यक्रम राखेको विज्ञप्तिमा जनाएको छ ।

    विज्ञप्तिमा उल्लेख गरे अनुसार;

    तारा-किशन फाउण्डेसनले नेपाली भाषा; साहित्य; र संस्कृतिको जगेर्ना एवं प्रवर्द्धन गर्ने हेतुले विभिन्न समयमा विभिन्न कार्यक्रम गरिरहेको छ । यसै सिलसिलामा अमेरिकी प्रवासमा रहेर पनि नेपाली भाषामा संचारकर्म गरिरहेका नेपाली मिडियाका प्रधान सम्पादक/सञ्चालकहरुलाई उहाँहरुले नेपाली भाषाको जगेर्ना र प्रवर्द्धन गर्न खेल्नु भएको भूमिकालाई सम्मान गर्न यही अगष्ट २६ तारिख शनिवारको दिन न्यूयोर्क सहरको ज्याक्सन हाईट्स्स्थित सत्यनारायण मन्दिरमा एक विशेष सम्मान कार्यक्रमको आयोजना गर्न लागिएको कुरा जानकारी गराउन चाहन्छौं। सम्मानित हुनेहरूमा क्यालिफोर्निया, वाशिंङटन डिसी, टेक्सास, भर्जिनिया न्युजर्सी र न्युयोर्कका चिरपरिचित नेपाली भाषामा निरन्तर लेखिरहने २१ जना मिडिया तथा प्रधानसम्पादक हुनुहन्छ।

    सो कार्यक्रममा सुदूरपश्चिम वा कर्णाली प्रदेशमा गाईने प्रचलित डेउडा गीतका बरिष्ठ गायक शंकर विष्ट र गायिका प्राज्ञ चाँदनी मल्ललाई पनि सम्मान गरिने कार्यक्रम रहेको छ ।

    अमेरिकाका लागि न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत श्री विष्णुप्रसाद गौतमको प्रमुख आतिथ्यमा हुन लागेको सो सम्मान कार्यक्रममा नेपाली समुदायका प्रतिष्ठित व्यक्तिव्यक्तित्वहरु लगायत केही विदेशी पाहुनाहरुको पनि उपस्थिति रहनेछ ।

    कार्यक्रममा उपस्थितिको निम्ति समुदायका सबैलाई खुल्ला निमन्त्रणा गरिएको छ ।औपचारिक कार्यक्रम पश्चात डेउडा नाच, गौ:रा नाच, र तीजका गितहरूले रमाइलो मनोरन्जनका साथ रात्री भोजन गराईनेछ ।

    स्मरण रहोस्, तारा-किशन फाउण्डेशनले यस अघि न्यूयोर्कमा पटक-पटक साहित्यिक र सास्कृतिक कार्यक्रम तथा गौ:रा पर्व सम्पन्न गरिसकेको र गत वर्ष सुदूर पश्चिमको दार्चुलामा जेष्ठ १३ देखि जेष्ठ १५ सम्म तीनदिने बृहत् साहित्य सम्मेलन एवं दार्चुला महोत्सव पनि सफलता र भव्यताका साथ सम्पन्न गरिसकेको थियो भने बिभिन्न समयमा नेपालका बिभिन्न ठाउॅमा खाद्दयान तथा स्कूलका सामाग्री बितरण गर्दै आएको छ ।

  • चन्द्रयान अभियान सफल भएकोमा प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीलाई दिए बधाई

    चन्द्रयान अभियान सफल भएकोमा प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीलाई दिए बधाई

    काठमाडौं । चन्द्रमाको दक्षिणी ध्रुव नजिक भारतीय चन्द्रयान–३ अवतरण गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान अवतरण गरेर भारतले अन्तरिक्ष यात्रामा इतिहास बनाए लगत्तै प्रधानमन्त्री प्रचण्डले ट्वीटरमार्फत् भारतीय समकक्षी मोदीलाई बधाई दिएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले भारतका समकक्षी मोदीलाई बधाई दिँदै भनेका छन्, ‘‘मित्रराष्ट्र भारतले “चन्द्रयान–३” नामक यान चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको खबरले प्रफुल्लित छु। मित्रराष्ट्र भारतको यस सफलताबाट अन्तरीक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ, संसारभरिका वैज्ञानिक एवं अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको छ। यस ऐतिहासिक कार्यका निम्ति समकक्षी महामहिम नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतामा नेपाल सरकार र नेपाली जनताको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु।’’

    चन्द्रयान–३ सफलतापूर्वक अवतरण भएसँगै भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने चौथो देश भएको छ। रुसको लुना–२५ चन्द्रमाको सोही क्षेत्रमा अवतरण हुने क्रममा दुर्घटना भएको केही दिनपछि भारतको यो महात्वाकांक्षी प्रयास गरेको हो। चन्द्रमाको दक्षिणी ध्रुवमा हिमजलको खोजी चन्द्रयान–३ को मुख्य लक्ष्य भएका बताउँदै इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन ९इसरो०ले त्यहाँ सधैँ छायामा रहने सतह अधिक रहेका र उक्त क्षेत्रमा पानीको सम्भावना रहेको जनाएको छ।

    अमेरिका, पूर्वसोभियत सङ्घ र चीनले चन्द्रमाको भूमध्य रेखा नजिक ‘सफ्ट ल्यान्डिङ’ गरे पनि कसैले पनि दक्षिणी ध्रुवमा अवतरण गरेका थिएनन्। सन् २०१९ मा दक्षिणी ध्रुव नजिक आफ्नो चन्द्रयान–२ अवतरण गर्ने भारतको प्रयास असफल भएको थियो। त्यतिबेला चन्द्रयान–२ चन्द्रमाको सतहमा खसेको थियो। त्यसैले भारतीय मात्र नभई अन्तरिक्ष विज्ञानमा रुची राख्ने सबैको दृष्टि चन्द्रयान–३ मा थियो।

  • प्रविधिमा विदेशी लगानी बढाउन कोरिया सरकार समक्ष सञ्चारमन्त्रीको आह्वान

    प्रविधिमा विदेशी लगानी बढाउन कोरिया सरकार समक्ष सञ्चारमन्त्रीको आह्वान

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सूचना प्रविधिमा कोरियाली लगानी बढाउन नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङसँग आग्रह गरेकी छिन् । सिंहदरबारस्थित मन्त्री शर्माको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सूचना प्रविधिको क्षेत्रमा हुनसक्ने सहकार्यका बारेमा कुराकानी भएको मन्त्री शर्माको सचिवालयले जनाएको छ ।

    भेटमा मन्त्री शर्माले सूचना प्रविधिको विकासका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न इच्छुक रहेको बताएकी छिन् । उनले नेपालको आर्थिक समृद्धिको प्रमुख आधार अब सूचना तथा सञ्चार प्रविधि हुने भन्दै यो क्षेत्रको विकास गर्न राष्ट्रहितमा हुने गरी सबैसँग सहकार्य गर्न इच्छुक रहेको बताइन् ।

    नेपाल सरकारले यो वर्षदेखि वार्षिक पूँजीगत बजेटको एक प्रतिशत आविष्कार र नवप्रवर्तनमा लगाउने घोषणा गरिसकेको उल्लेख गर्दै उनले सूचना प्रविधिको विकासलाई आर्थिक समृद्धिको आधारको रुपमा लिन थालिएको बताइन् । भर्खरै मात्रै साइबर सुरक्षा नीति जारी गरेको उल्लेख गर्दै मन्त्री शर्माले चाँडै साइबर सुरक्षा केन्द्र स्थापना गर्ने तयारीमा रहेको बताइन् ।

    अहिले चलिरहेको डाटा सेन्टर स्थापनामा कोरियाले गरेको सहयोगको स्मरण र प्रशंसा गर्दै उनले यसलाई थप सुरक्षित र भरपर्दो बनाउन थालिएको जानकारी दिइन् । मन्त्री शर्माले यो वर्षभित्र आईसीटी एक्जिविसन, डिजिटल च्याम्पियन, व्यावसायिक तालिम, डिजिटल साक्षरतालगायतका कार्यक्रम सञ्चालन गर्न गइरहेको जानकारी दिंदै यसमा विभिन्न देशका अनुभवहरु नेपालका लागि फलदायी हुने बताइन् ।

    चालु आर्थिक वर्षभित्र सबै वडा तहसम्म इन्टरनेट सुविधा पुर्‍याउने तयारी थालेको जानकारी दिंदै उनले अब फोरजीको सेवा सबै ठाउँ विस्तार गरेर फाइभजी विस्तार गर्ने बताइन् । ‘सबै वडा तहसम्म इन्टरनेट विस्तार गर्दा नेपालमा सूचना प्रविधिको क्षेत्रमा नयाँ फड्को हुनेछ,’ मन्त्री शर्माले भनिन्, ‘नेपालको सूचना तथा सञ्चार प्रविधिको विकासका लागि कोरियालगायत अन्तर्राष्ट्रिय समुदायसँग जीटूजी, पिटूपी ९सरकार–सरकार, जनता–जनता० सहयोग आदानप्रदान गर्न हामी इच्छुक छौं ।’

    राजदूत तइयोङले नेपालले साइबर सुरक्षाका लागि पारित गरेको साइबर सुरक्षा नीति र पहल महत्वपूर्ण भएको बताए । कोरिया नेपालमा बैदेशिक लगानी गर्ने चौथो मुलुक रहेको जानकारी दिंदै उनले सूचना प्रविधि क्षेत्रमा लगानी बढोस् भन्ने कोरियाको चाहना रहेको बताए । कोरियाले ईपीएसमार्फत श्रमिक लैजाने १६ देशमध्ये नेपाललाई प्रमुख देशको रुपमा राखेको उल्लेख गर्दै उनले कोभिड(१९ अघिजस्तै नेपालमा अब कोरियाली पर्यटकहरुको संख्या पनि वृद्धि हुन थालेको बताए ।

    संयुक्त राष्ट्रसंघको नतिजाअनुसार कोरिया विश्वमा इगभर्नेन्सको क्षेत्रमा तेस्रो मुलुक रहेको जानकारी दिंदै रादजूत तइयोङले नेपालमा पनि यसको आवश्यकता रहेको सुझाव दिए । नेपालमा सरकारी तहबाट मात्र नभई निजी क्षेत्रबाट पनि ठूलो सहयोग भइरहेको उल्लेख गर्दै पुल्चोक क्याम्पसमा सामसुङले इन्नोभेसन सेन्टरमा सहयोग गरिरहेको बताए ।

  • औषधीमा नेपालले लगानी बढाउँछ : स्वास्थ्य मन्त्री

    औषधीमा नेपालले लगानी बढाउँछ : स्वास्थ्य मन्त्री

    गुजरात । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले परम्परागत औषधिको विकास र विस्तार गर्न नेपाल सरकारले लगानी बढाउने प्रतिबद्वता व्यक्त गरेका छन् ।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र भारत सरकारको संयुक्त आयोजनामा भारतको गुजरातस्थित गान्धीनगरमा आयोजना गरिएको परम्परागत चिकित्सासम्बन्धी डब्लूएचओ विश्वव्यापी शिखर सम्मेलनको प्लेनरी सेसनलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले परम्परागत औषधिको विकास र विस्तारका लागि नेपाल सरकारले लगानी बढाउने बताएका हुन् ।


    नेपालमा ८० प्रतिशत जनता अहिले पनि ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै कुनै न कुनै रुपमा परम्परागत औषधिको प्रयोग गर्ने गरेको दाबी गर्दै सरकारले लगानी बिस्तारैसँग यसको सेवाको गुणस्तर बढाउन पनि पहल गर्नुपर्ने जोड दिइएको छ ।

    मन्त्री बस्नेतले भने, ‘‘परम्परागत ओषधिको विकास र विस्तार गर्ने अहिले उपयुक्त समय हो । यसमा हामीले ढिलो गर्नु हुँदैन ।’’ संसारका सबै देशसँग परम्परागत औषधिका क्षेत्रमा आ–आफ्ना अनुभव भएको बताउँदै मन्त्री बस्नेतले आयुर्वेदिक र परम्परागत औषधिको उत्पादनमा ज्ञान र अनुभव आदान प्रदान गरेर सहकार्य गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।


    सम्मेलनमा सहभागी विभिन्न देशका स्वास्थ्य मन्त्री र स्वास्थ्यका अधिकारीहरुले आयुर्बेदिक क्षेत्रमा उच्चस्तरीय जनशक्तिको छात्रवृति बढाउने, आयुर्वेद तथा प्राकृतिक चिकित्सामा अनुसन्धानमा सहकार्य गर्ने, दुई देशको उत्पादनलाई आयात निर्यातमा सहजीकरण गर्नेलगायतमा छलफल भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बाशुदेव उपाध्यायले जानकारी दिए ।


    उनका अनुसार विश्वका विभिन्न देशमा आधुनिक र परम्परागत चिकित्साको एकीकृत सेवा प्रवाहको विषयमा विद्यमान अवस्था र नेपालको अवस्थाका विषयमा पनि छलफल भएको थियो । सम्मेलनले डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडनोम गेब्रेयेससले परम्परागत औषधि र यसको विकासमा विश्वका सबै देशहरुबिच सहकार्य आवश्यक रहेको चर्चा गरे ।


    सम्मेलनको उदघाटन समारोहमा भारतका केन्द्रीय स्वास्थ्य मन्त्री डा. मनसुख मांडविया र केन्द्रीय आयुष मन्त्री सर्वानन्द सोनोवालले आधुनिक औषधिको प्रयोगले मात्र अबको उपचार सम्भव नहुने कुरा विगतको कोरोनाले देखाइसकेको बताउँदै परम्परागत औषधिको विकासमा सर्वपक्षीय साझेदारी आवश्यक रहेकोमा जोड दिए । सम्मेलनमा डब्लूएचओ सदस्य देशका स्वास्थ्य मन्त्रीहरु, स्वास्थ्य मन्त्रालयका अधिकारी र अनुसन्धानकर्ता सहभागी थिए ।

  • अर्थमन्त्री महत क्यानडा प्रस्थान

    अर्थमन्त्री महत क्यानडा प्रस्थान

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत नेपालको ५ सदस्यीय टोलीसहित क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को ७औँ सभामा भाग अर्थमन्त्री महत आइबार साँझ ९ः३० मा क्यानडा प्रस्थान गरेका हुन् ।

    अर्थमन्त्रीसँगै अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा गएका छन् । न तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थमन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि क्यानडा प्रस्थान गरेका छन् ।

    अर्थमन्त्री डा. महत उक्त सभामा भाइस प्रेसिडेन्टका रुपमा सहभागिता जनाउँदै छन् । जीईएफ एसेम्बली प्रत्येक ४ वर्षमा आयोजना हुने गरेको छ। उक्त सम्मेलमा विश्वभरका १ सय ८५ देशको सहभागिता रहनेछ।

    अर्थमन्त्री डा. महत करिब १ साता क्यानडामा रहने कार्यक्रम छ । क्यानडा बसाईको क्रममा अर्थमन्त्री महतले त्यहाँ रहेका गैर(आवसीय नेपाली र अन्य दातृनिकायहरुसँग भेटघाट गर्नेछन् । उनीहरुसँग नेपालमा लगानी भित्र्याउन विषयमा मन्त्री महतले छलफल गर्ने कार्यक्रम तय भएको छ ।

    यस्तै अर्थमन्त्री महतले यसैक्रममा विदेशी लगानीकर्ताहरुसँग समेत नेपालमा लगानी भित्र्याउनका लागि साइड बैठक गर्ने कार्यक्रम तय भएको छ । उक्त सम्मेलनमा भाग लिएर अर्थमन्त्री महत भदौ ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

  • नेपालको पानी र साउदीको तेल साटफेर गरौं : पर्यटन मन्त्री

    नेपालको पानी र साउदीको तेल साटफेर गरौं : पर्यटन मन्त्री

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले साउदी अरेवियाका राजदूत साद अबु हाइमेद समक्ष तेल र पानी साटफेर गर्ने प्रस्ताव गरेका छन् । आइतबार भएको भेटबारे जानकारी दिँदै पर्यटन मन्त्री किरातीले लेखेका छन्, ‘साउदीको तेल र नेपालको पानी साटेर सम्बन्धलाई अझ प्रगाढ बनाउँ ।’

    भेटमा आफूले उठाएका सवालबारे उनी भन्छन्, ‘पैसाको धनी साउदीले प्रकृतिको धनी नेपालमा पानी र पर्यटनमा लगानी गर्नुहोस् ।’ तातो साउदीबाट चिसो सगरमाथाको देश नेपाल घुम्न पर्यटक पठाउन समेत पर्यटन मन्त्रीले राजदूत हाइमेदसँग आग्रह गरेका छन् । उनले पोखरा र भैरहवा विमानस्थलमा साउदीबाट सिधा उडानको पहल गर्न समेत आग्रह गरेका छन् ।

  • नेवानिले अब साउदीको दमाममा उडान गर्ने, भाडा ३५ हजार

    नेवानिले अब साउदीको दमाममा उडान गर्ने, भाडा ३५ हजार

    काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौंबाट दमाममा नियमित सिधा उडान गर्ने गरी आजदेखि टिकट बुकिङ खुला गरिएको हो।

    नेपाल एयरलाइन्सको यो ११औं अन्तर्राष्ट्रिय उडान गन्तव्य हो। यसअघि निगमले साउदी अरेबियाको रियादमा पनि उडान गरिरहेको थियो। उडान तालिकाअनुसार काठमाडौं–दमाम–काठमाडौं सेक्टरमा निगमले साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको निगमका प्रवक्ता पौडेलले जानकारी दिए।

    काठमाडौं–दमामको प्रवर्द्धनात्मक भाडादर ३५ हजार रुपैयाँ तोकिएको छ। दमाम–काठमाडौंका लागि भने पाँच सय ९६ साउदी रियाल तोकिएको छ। निगमको उडान विस्तारबाट नेपालीहरूको बाहुल्यता रहेको साउदीबाट नेपाल आवागमन सहज र सुलभ हुने विश्वास गरिएको छ। निगमले अहिले दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाजमार्फत आठ देशका ११ गन्तव्यमा उडान भरिरहेको छ।

  • गैरआवासीय नेपालीलाई सहज रुपमा नागरिकता दिलाउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

    गैरआवासीय नेपालीलाई सहज रुपमा नागरिकता दिलाउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गैरआवासीय नेपालीलाई सहज रूपमा नागरिकता दिलाउन थप पहल गर्ने बताएका छन् । गैरआवासीय नेपाली सङ्घको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनको निम्ता गर्न गएको सङ्घका प्रतिनिधिमण्डलसँगको भेटमा उनले गैरआवासीय नेपाली नागरिकताको सहज कार्यान्वयनमा सरकार सकारात्मक रहेको बताए ।

    विदेशमा रहेका नेपाली नागरिकले राहदानी प्राप्तिलगायतका समस्या खेप्नु परेको विषयमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो अवस्था मूल्याङ्कन गरी कूटनीतिक पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यान्वयनमा सङ्घले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा यस्ता योजनालाई अझ बृहत् रूपमा अघि बढाउन आग्रह गरे ।


    गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष डा. बद्री केसीको नेतृत्वको सो प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डलाई विश्व सम्मेलनको निमन्त्रणा दिएको हो । अध्यक्ष डा. केसीले आगामी अक्टोबरमा हुने ११ औँ महाधिवेशन तथा विश्व सम्मेलन र सोही अवसरमा हुने विश्व ज्ञान सम्मेलन र युवा तथा महिला सम्मेलनको विषयमा प्रधानमन्त्रीलाई जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले विश्व सम्मेलनको सफल आयोजनाका लागि शुभकामना दिँदै आफू पनि उपस्थित हुने प्रतिबद्धता व्यक्त गरे ।
    भेटमा सङ्घका अर्का अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीका लागि नागरिकता प्राप्तिको बाटो खुलिसकेको र नियमावली निर्माणको चरणमा रहेकाले त्यसलाई सहज र सङ्घमैत्री बनाउन प्रधानमन्त्रीको तहबाटै पहल गरिदिन आग्रह गरे ।

  • नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै विदेशियो १ खर्ब

    नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै विदेशियो १ खर्ब

    काठमाडौं । नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरुले आर्थिक वर्ष ०७९–८० मा १ खर्ब रुपैयाँ लगेका छन् । सो आवमा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आव ०७८–७९ मा पढ्नका लागि विदेश जानेहरुसँगै ६७ अर्ब ७० करोड रुपैयाँ विदेशिएको थियो । विदेश जाने नेपालीले लैजाने पैसा करीब ५० प्रतिशतले बढेको हो ।

    यस आवमा पढ्न जानेहरुले मात्र ३३ अर्ब रुपैयाँ बढी विदेश लगेको नेपाल राष्ट्र बैंकको वार्षिक तथ्यांकमा उल्लेख छ । यस आवमा नेपालबाट भ्रमणमा जानेहरुले ४४ अर्ब रुपैयाँ विदेश लगेका छन् । अघिल्लो वर्ष भ्रमणमा जानेहरुले ३० अर्ब रुपैयाँ विदेशमा खर्च गरेका थिए ।

    विदेशबाट नेपाल आउने पर्यटकले गर्ने खर्च भने मात्र ६१ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यो आव अघिल्लो आवमा ३२ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो । सेवातर्फ नेपाल आउने भन्दा नेपालबाट बाहिरिने रकम ठूलो हुँदा नेपालको सेवा क्षेत्र ८३ अर्ब ८५ करोड रुपैयाँ घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो घाटा अघिल्लो आवको तुलनामा भने केही घटेको छ ।

  • दुई म्यानपावर र दुई कन्सल्टेन्सीलाई २–२ लाख जरिवाना

    दुई म्यानपावर र दुई कन्सल्टेन्सीलाई २–२ लाख जरिवाना

    काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनविपरीत काम गर्ने दुई वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र दुई कन्सल्टेन्सीलाई कारबाही गरेको छ । विभागले ऐन र नीतिविपरीत अवैधानिक विज्ञापन गरेकाले ऐन अनुसार दुई–दुई लाख रुपियाँ जरिबाना गरेको हो ।

    विभागले स्वीकृतिबिना सामाजिक सञ्जालको प्रयोग गरी नेपाली युवालाई वैदेशिक रोजगारमा पठाइदिने भन्दै विज्ञापन गरेको तथा राहदानी सङ्कलन गरेको आरोपमा काठमाडौँको वसुन्धरास्थित क्यापिटल रिक्रुटमेन्ट सर्भिस प्रालि र इगल म्यानपावर कन्सल्टेन्ट प्रालिलाई कारबाही गरेको हो ।

    त्यस्तै विभागले ऐन अनुसार वैदेशिक रोजगारसँग सम्बन्धित विज्ञापन सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा हालेर सर्वसाधारणलाई भ्रम सिर्जना गरेको आरोपमा ललितपुरस्थित सुयान एजुकेसन प्रालि र ललितपुरमै रहेको एलाइट टु वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एन्ड ट्रेनिङ सेन्टरमा स्थलगत अनुगमन गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

    विभागले यसै सम्बन्धमा सूचना जारी गर्दै आमसर्वसाधारण युवालाई सामाजिक सञ्जालमा आउने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न अनुरोध गरेको छ । साथै विभागको स्वीकृति नलिई वैदेशिक रोजगारको प्रलोभनमा विज्ञापन प्रकाशन–प्रसारण नगर्न ध्यानाकर्षण गराएको छ ।