Category: डायस्पोरा

  • दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिक मृत फेला

    दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिक मृत फेला

    काठमाडौं । दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिक मृत फेला परेका छन्। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण शान्ति सेना बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठा हिजो बिहीबार मृत भेटिएका हुन्।।

    जाजरकोट जिल्ला खलङ्गा गाउँपालिका–६ का बाँठाको रूम्बेकस्थित गणमा रहेको गाडीको वर्कशपमा झुण्डिएको अवस्थामा फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। निजको पार्थिव शरीर पोर्टमर्टमको प्रक्रिया तथा अनुसन्धान पूरा भएपछि स्वदेश ल्याइने छ।

  • वैदेशिक रोजगारीमा असम्बन्धित व्यक्तिको प्रलोभनमा नपर्न सरकारले गरायो सचेत

    वैदेशिक रोजगारीमा असम्बन्धित व्यक्तिको प्रलोभनमा नपर्न सरकारले गरायो सचेत

    काठमाडौं । वैदेशिक रोजगारीका लागि असम्बिन्धत व्यक्तिको प्रलोभनमा नपर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सचेत गराएको छ । पछिल्लो समय आकर्षक सेवा सुविधाको प्रलोभन देखाई माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगललगात युरोपियन श्रम गन्तब्य मुलुकमा रोजगारी दिने बाहनामा लाखौं ठगी भइरहेको खबर सार्वजनिक भएसँगै मन्त्रालयले सचेत गराएको हो ।

    यसबारे सूक्ष्म अध्ययन समेत भइरहेको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा जान नेपाल सरकारले खुला गरेको मुलुकमा कानुनतः तीन प्रकारले मात्र जान सकिने भन्दै सो भन्दा अतिरिक्त प्रक्रियाबाट जान खोज्दा हुने जोखिमतर्फ मन्त्रालयले सचेत गराएको हो । जीटूजी सम्झौता, वैदेशिक रोजगार विभागमा दर्ता भई अध्यावधिक भएको इजाजत प्राप्त संस्था व्यक्तिगत श्रम स्वीकृति लिएर यी मुलुकमा जान सकिन्छ ।

    इजाजत प्राप्त संस्थामार्फत वैदेशिक रोजगारीमा जाँदा आफू जान चाहेको मुलुक, कामको विवरण, तलव, सेवा सुविधा, आवश्यक सीप तालिम, रोजगारदाताले तोकेको सेवा शुल्क र फ्री भिसा फ्री टिकेटको प्रावधानबारे संस्थामा आफैं उपस्थित भएर जानकारी लिन वा वैदेशिक रोजगार विभागबाट यकिन गर्न समेत मन्त्रालयले सचेत गराएको छ ।

    अनाधिकृत व्यक्ति वा संस्थाले सञ्चारमाध्य तथा सामाजिक सञ्जालमा राखेको सूचनामा विश्वास नगर्न भन्दै मन्त्रालयले सूचित गरेको छ । ठगि नियन्त्रण गर्न प्रहरी, रोजगार कार्यालय, मन्त्रालयमा खबर गर्न समेत मन्त्रालयले सरोकारवालासँग आग्रह गरेको छ ।

  • १९ औं एसियाली खेलकुदमा नेपालले २९ खेलमा भाग लिने

    १९ औं एसियाली खेलकुदमा नेपालले २९ खेलमा भाग लिने

    काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा नेपालले विभिन्न २९ खेलमा २ सय ३४ खेलाडी सहभागी गराउने भएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार भएको १९ औं एसियाली खेलकुद तयारी तथा सहभागिता सम्बन्धमा राष्ट्रिय खेलसंगको छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपालले २ सय ३४ खेलाडी सहभागी गराउने जानकारी दिए ।

    सदस्य–सचिव घिसिङले खेलाडीको ‘प्लेइङ किट्स’ का लागि संघलाई तयारी थाल्न बताउदै कुनै संघले तयारीका निम्ति अन्तर्राष्ट्रिय प्रतियोगिता, वैदेशिक प्रशिक्षण वा विदेशी प्रशिक्षक स्वदेशमा झिकाउन चाहेमा आवश्यकताका आधारमा एसियाली खेलकुद तयारी सचिवालयमा प्रस्ताव पेश गर्न बताए।

    उनले आवश्यक पर्ने खेल सामाग्रीको तुरुन्त विवरण तयारी गरी प्रकृया अगाडि बढाउन तयारी सचिवालयलाई निर्देशन दिए । नेपाल ट्रायथलन संघका अध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले हरेक विषयमा परिषद्को मात्र भर नपरी खेलाडीको सुविधाका लागि सम्बन्धित संघले पनि प्रयास गर्नु पर्नेमा जोड दिदै परिषद् र ओलम्पिक कमिटीबीच हरेक विषयमा समन्वय भइरहेको बताए ।

    कार्यक्रममा तयारी सचिवालयबाट भएका प्रगति विवरण प्रस्तुत गरिएको थियो । उपस्थित संघका प्रतिनिधिले खेलाडीको प्रशिक्षण, सुविधा, बसोवास, प्रशिक्षण स्थल, वैदेशिक प्रशिक्षण, खेल सामाग्री, स्पाइरिङ पार्टनर, विमालगायतका विषयमा धारणा राखेका थिए। हाङझाव एसियाड असोज ६ गतदेखि सुरु हुँदै छ ।

  • अन्तर्राष्ट्रिय भाषिक ओलम्पियाडमा भाग लिन नेपाली टोली बुल्गेरिया प्रस्थान

    अन्तर्राष्ट्रिय भाषिक ओलम्पियाडमा भाग लिन नेपाली टोली बुल्गेरिया प्रस्थान

    काठमाडौं । अन्तर्राष्ट्रिय भाषिक ओलम्पियाडमा भाग लिन नेपाली टोली बुल्गेरियाको बान्स्कोमा पुगेको छ। टोलीमा काठमाडौं विश्वविद्यालयका कम्प्युटेशनल लिङ्गुइस्ट तथा सह–प्राध्यापक बालकृष्ण बल, ट्रिनिटी कलेजका ४ विद्यार्थी र २ पर्यवेक्षक सहभागी छन्। उक्त भाषिक ओलम्पियाड जुलाई २१(२९ सम्म सञ्चालन हुनेछ। पहिलोपल्ट सन् २०१९ मा दक्षिण कोरियामा भाग लिएको नेपाली टोलीको यो दोस्रो सहभागिता हो।

    ओलम्पियाडमा विभिन्न देशका करिब ४० टोली र २०० भन्दा बढीको सहभागिता छ। नेपालमा राष्ट्रिय भाषिक ओलम्पियाड हिमालयन कम्प्युटेशनल लिङ्गुइस्टिक ओलम्पियाडको ब्यानर र ल्याङ्ग्वेज टेक्नोलोजी केन्द्रको सहकार्यमा हरेक वर्ष सञ्चालन हुँदै आएको छ। विभिन्न सरकारी तथा गैर(सरकारी संस्थाहरूले सन् २०१७ देखि नै सञ्चालन गर्न सहयोग पुर्‍याइरहेका छन्। अन्तर्राष्ट्रिय भाषिक ओलम्पियाड सन् २००३ देखि सुरू भएको हो।

    यस ओलम्पियाडमा माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीहरूका बीच पजल तथा भाषिक प्याटर्नहरूका समाधान खोज्ने प्रतिस्पर्धा गराइन्छ। प्रतिस्पर्धा दुवै व्यक्तिगत तथा समूहगत प्रकृतिका हुन्छन् र संसारमा बोलिने जुनसुकै भाषाको व्याकरण, शब्द विन्यास आदिसँग जोडिएको हुन्छ। यद्यपि सोधिने प्रश्नका समाधान निकाल्न कुनै पनि खास भाषाको ज्ञान हुन जरूरी भने हुँदैन।

    दोस्रो पटक मात्र अन्तर्राष्ट्रिय स्तरको यस्तो ओलम्पियाडमा भाग लिइरहेको नेपालले पनि राम्रो नतिजा ल्याउने प्रशस्त सम्भावना देखिन्छ। यसका लागि उपयुक्त तालिमको वातावरण र अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणको भने अत्यन्त खाँचो छ।

  • प्रधानमन्त्री आज स्वदेश फर्किदै

    प्रधानमन्त्री आज स्वदेश फर्किदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किने भएका छन् । इटलीको ४ दिने भ्रमण सकाएर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन्। उनी कतार एअरलाइन्सको विमानमार्फत विहान १० बजे त्रिभुवन विमानस्थल अवरण गर्ने प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले जानकारी दिएका छन्। प्रधानमन्त्री प्रचण्ड युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन साउन ६ गते साँझ इटली गएका थिए।

    त्यहाँ उनले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए। रोममा रहँदा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा कृषि र जलविद्युत्का क्षेत्रमा सहकार्य तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको थियो ।

    संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको थियो। भेटका क्रममा उनीहरूबीच पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्रसङ्घबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको थियो ।

    प्रधानमन्त्री प्रचण्डसँगै कृषिमन्त्री बेदुराम भुषाल, राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी पनि आज स्वदेश फर्कने छन्। विमानस्थल अवतरण भएपछि प्रधानमन्त्रीले पत्रकारहरूसँग साक्षात्कार गर्ने कार्यक्रम छ।

  • प्रचण्डले गरे इटालीमा स्टुडियो ओलम्पिकको रोमाको भ्रमण

    प्रचण्डले गरे इटालीमा स्टुडियो ओलम्पिकको रोमाको भ्रमण

    काठमाडौैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिकको रोमा’को अवलोकन गरेका छन् । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनले उक्त रङ्गशालाका बारेमा अभिरुचिपूर्वक जिज्ञासा राखेको बताइएको छ ।

    रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले खेलाडी आउने जाने मार्ग, प्यारापिट, खेलपछि आयोजना गरिने पत्रकार सम्मेलन कक्ष, रङ्गशाला सञ्चालक क्रममा प्रयोग गरिने सबै क्षेत्रको अवलोकन गरे । उनले रङ्गशालामा प्रदर्शनीमा राखिएको इटालीले प्राप्त गरेको पहिलो शिल्ड, खेलाडीका जर्सीलगायतको अवलोकन गरे ।

    प्रधानमन्त्री प्रचण्डलाई रङ्गशालाका अधिकारीहरूले सम्पूर्ण जानकारी गराएका थिए । उक्त रङ्गशाला सन् १९६० देखि सञ्चालनमा आएको हो । सो रङ्गशालामा विशेष गरी फुटबल, रग्बी र एथलेटिक्सका खेलहरू हुने अधिकारीहरूले जानकारी दिएका थिए ।

  • नेपालमा विकास, समृद्धि र सुशासनको नयाँ अभियान सुरु भएको छ : प्रधानमन्त्री

    नेपालमा विकास, समृद्धि र सुशासनको नयाँ अभियान सुरु भएको छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा उनले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालेको बताए ।

    आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथितीको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्त्वपूर्ण कामको थालनी गरेको बताए ।


    जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको जानकारी दिँदै उनले अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई सही ट्र्याकमा ल्याइएको बताए । “सामाजिक सुरक्षा कोषमा बढीभन्दा बढी श्रमिकलाई आबद्ध गर्ने, अझ विदेशमा बस्ने श्रमिकलाई कोषमा जोड्ने काम गरेका छौँ”, प्रधानमन्त्री दाहालले भने, “सामाजिक सेवा तथा जनतालाई प्रत्यक्ष राहत दिनेबाट सरकारले कामको थालनी गरेको छ ।”

    नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहित विपरित र सङ्गठित अपराधका रुपमा काम भएको देखिएकाले सरकारले उक्त कदम चालेको बताए । “शरणार्थी प्रकरणमा राष्ट्रहित विपरितको काम भएको देखियो, सरकारले फोहोर सफा गर्न यो कदम चालेको हो”, उनले भने ।

    प्रधानमन्त्री दाहालले ललिता निवास प्रकरणको छानविनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम सुरु भएको बताए । “यो राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता गराउने अभियान हो । यो प्रकरण ललिता निवासको कुरा मात्रै होइन, देशभर चलेको माफियागिरीको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको अभियानसँग जोडिएको छ”, उनले भने ।

  • नेपाल र पाकिस्तानबीच सिधा हवाई सेवा सञ्चालन गर्न चेम्बरको माग

    नेपाल र पाकिस्तानबीच सिधा हवाई सेवा सञ्चालन गर्न चेम्बरको माग

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालनका लागि पहल गर्न नवनियुक्त राजदूत अब्रर हुसैन हास्मीसमक्ष आग्रह गरेको छ । दुई मुलुकबीचको व्यापार सहजीकरण एवम् पर्यटकीय गतिविधि वृद्धि गर्नका लागि सिधा हवाई सम्पर्क आवश्यक रहेको चेम्बरले जनाएको छ ।

    नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत हास्मीसागको भेटमा अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीचको व्यापार वृद्धि, पर्यटन आदान प्रदान एवम् आर्थिक, व्यापारिक गतिविधि विस्तारका लागि तत्काल काठमाडौं–कराँची हवाई सेवा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।


    हवाई सेवा सञ्चालन गर्न दुई मुलुकबीच सरकारी तबरबाटै पहल गर्न र निजी क्षेत्रमा पनि सहकार्य गराउन अध्यक्ष मल्लले राजदूत हास्मीसँग आग्रह गरे । ‘नेपाल र पाकिस्तानबीच हवाई दूरी जम्मा ३ घण्टाको छ, यसलाई सदुपयोग गर्न सकियो भने दुई मुलुकबीचको व्यापार वृद्धि र पर्यटन विस्तार गर्न सकिन्छ’ मल्लले भने ‘सार्क सदस्य राष्ट्रको हैसियतले अन्य थुप्रै आर्थिक गतिविधि बढाएर दुवै मुलुकले लाभ प्राप्त गर्न सक्छन् ।’

    नेपाल चेम्बर अफ कमर्स र पाकिस्तान चेम्बर अफ कमर्सबीच थुप्रै क्षेत्रमा व्यापारिक सहकार्यको सम्भावना रहेकाले उच्चस्तरीय भेटवार्ताका लागि आफूहरु तयार रहेको उनले बताए । निजी क्षेत्रबीचको सहकार्य मार्फत हवाई सेवा सञ्चालन, साना तथा मझौला उद्योगमा संयुक्त लगानी बढाएर दुवै देशले लाभ लिन सक्ने प्रचुर सम्भावना रहेको अध्यक्ष मल्लको भनाइ छ । नेपालका लागि पाकिस्तानी राजदूत हास्मीले हवाई सेवा सञ्चालनका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने बताए ।

    पाकिस्ताबाट नेपालले अहिले औषधि, प्रशोधित छालाजन्य पदार्थ, मेसिनरी बस्तु, जुत्ता, चप्पल लगायतका वस्तु आयत गर्दै आएको भने मह, कफी , चिया, हस्तकलाका सामान, अलैंची, आाखाको लेन्स, उनी धागो लगायतका वस्तु निर्यात गर्ने गरेको छ । यसले पर्यटन गतिविधि बढाउन पनि सहज हुने अध्यक्ष मल्लको भनाइ छ ।

  • खाद्य प्रणालीमा परिवर्तन आवश्यक : प्रधानमन्त्री

    खाद्य प्रणालीमा परिवर्तन आवश्यक : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताएका छन् । उनले हाम्रो खाद्य प्रणालीमा परिवर्तन गर्नुपनि भोकविरुद्धको लड्ने अस्त्र भएको बताए ।

    संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना भएको ‘युनाटेड नेसन्स् फूड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई आज (मङ्गलबार) सम्बोधन गर्दै प्रधानमन्त्रीले दिगो भविष्यका लागि मार्ग प्रशस्त गर्न आधुनिक खाद्य प्रणाली कम्जोर साबित भएकाले त्यसमा सुधार ल्याउनु जरुरी रहेको उल्लेख गरे ।

    वर्तमान खाद्य प्रणालीले जैविक विविधतालाई क्षिण बनाएको, असमानता बढाएको, असमान उत्पादन र उपभोगलाई मात्रै प्रश्रय दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । त्यस्ता प्रणालीले हरितगृह ग्यास उत्सर्जनमा बढवा दिएको, जलवायु परिवर्तनमा प्रभाव पारेको र परम्परागत अभ्यासलाई खण्डित गरेको उनले बताए ।

    खाद्य प्रणालीका कारण नसर्ने रोगको वृद्धिले जनस्वास्थ्यमा नकारात्मक प्रभाव परेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, “खाद्य प्रणालीमा हामीले गर्ने परिवर्तनले मात्रै यस्ता विविध चुनौतीलाई सम्बोधन गर्न सकिन्छ ।” प्रधानमन्त्री प्रचण्डले खाद्य प्रणालीमा ल्याइने परिवर्तनले मात्रै जीविकोपार्जनमा सुधार, आर्थिक विकासमा बढवा दिई गुणस्तरीय जीवनयापनका लागि योगदान गर्न सकिने स्पष्ट पारे ।

    उनले त्यस्तो रूपान्तरणले थप समतामूलक, लचिलो र दिगो खाद्य प्रणालीको नेतृत्व गर्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले नेपालमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ मार्फत कानुनी दायरा तयार पारी दिगो खाद्य प्रणालीमा जोड दिएको जानकारी गराउनुभयो । स्वास्थ्य, कृषि, खाद्य सुरक्षा र पोषणमा खाद्य सुशासन र नीतिमा तादम्यता ल्याउनका लागि सो व्यवस्था एक महत्त्वपूर्ण साधन भएको प्रधानमन्त्रीको भनाइ छ ।

    सन् २०२१ मा सम्पन्न ‘युएन फुड सिस्टम समिट’ले तय गरेको मार्गनिर्देशअनुसार विद्यमान खाद्य प्रणालीमा रहेको कमजोरी पत्ता लगाई त्यसलाई सुधार गर्न र रूपान्तरणको मार्ग तय गर्न सरोकारवालासँग राष्ट्रिय र प्रादेशिकरुपमा सघन छलफल गरिएको प्रधानमन्त्रीको भनाइ छ ।

    दिगो विकास लक्ष्यले तय गरेको लक्ष्यअनुसारको कामलाई सुव्यवस्थित रूपमा अगाडि बढाउनका लागि खाद्य प्रणाली रुपान्तरणसमबन्धी रणनीतिक योजना (सन् २०२२–२०३०) तयार पारी कार्यान्वयनमा ल्याइसकिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।


    नेपाल किफायती, सुरक्षित, स्वस्थ र पौष्टिक आहारका लागि दिगो खाद्य शृङ्खला विकास गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्रीको प्रस्टोक्ति छ । उनले कृषि उत्पादकत्वमा सुधार, स्थानीय खेतीको प्रवर्द्धन गर्दै फोहोररहित भण्डारणका लागि लगानी केन्द्रित गरेको बताए । सार्वजनिक–निजी साझेदारीमार्फत पूर्वाधारको विकास र मूल्य शृङ्खलामा सुधारका लागि प्रोत्साहित गरिएको प्रधानमन्त्रीको कथन छ । रासस

  • इटालीमा बंगलादेश र नेपालका प्रधानमन्त्री बीच भेटवार्ता

    इटालीमा बंगलादेश र नेपालका प्रधानमन्त्री बीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशी समकक्षीबीच आपसी हितका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उहाँहरुबीच राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा भेटवार्ता भएको हो ।

    उनीहरुबीच कृषि, जलविद्युतको क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि महत्त्वपूर्ण छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । त्यसका अलावा दुई प्रधानमन्त्रीबीच क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा पनि महत्त्वपूर्ण छलफल भएको थियो ।

    सो अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसाल, परराष्ट्र मन्त्रालयका अधिकारीका अलावा नेपाली प्रतिनिधिमण्डलका सदस्यको सहभागिता थियो । त्यस्तै, बङ्गलादेशका उच्च सरकारी अधिकारीको पनि उपस्थिति थियो ।

    बङ्गलादेशले नेपालबाट तत्कालै ४० मेगावाट बिजुली लैजाने तयारी गरेको छ । यस्तै, सन् २०४० सम्म नौ हजार मेगावाट बिजुली लैजाने बताउँदै आएको छ । केही महत्त्वपूर्ण जलविद्युत आयोजनामा समेत बङ्गलादेशले लगानी गर्ने तयारी गरेको छ ।

    प्रधानमन्त्री प्रचण्डको हालैको भारत भ्रमणका क्रममा नेपाल, भारत र बङ्गलादेशबीच विद्युत व्यापारका सम्बन्धमा त्रिदेशीय सहमतिको वातावरणसमेत बनेको छ । यस्तै, नेपाल र बङ्गलादेशबीच रहेका विभिन्न संयन्त्रमार्फत द्विपक्षीय हित र चासोका क्षेत्रमा समेत विचार विमर्शका अलावा, अनुभवको आदानप्रदानसमेत भइरहेको छ ।

  • अमेरिका पठाउने भन्दै ठगी गर्ने एक जना पक्राउ

    अमेरिका पठाउने भन्दै ठगी गर्ने एक जना पक्राउ

    काठमाडौं । अमेरिका पठाउने भन्दै मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले पोखरा घर भई काठमाडौंको गुहेश्वरी पन्चकन्या मार्गमा डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई पक्राउ गरेको हो। उनलाई ब्युरोले आइतबार पक्राउ गरेको एसपी नरहरि रेग्मीले जानकारी दिए।

    सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभलालच र भ्रममा पारेर अवैधानिक बाटो हुँदै अमेरिका लगिदिने भनेर उनी लगायतले धेरै नेपालीहरूलाई अन्य देशमा पुर्‍याएर अलपत्र पारेका छन्,’ रेग्मीले भने, ‘बन्धक बनाएर यातना दिने र फिरौती समेत लिएको पायौं।’ कमल तामाङसहित केही व्यक्तिहरूले अमेरिका लैजाने भन्दै मानव बेचबिखन गरेको भन्‍दै ब्युरोमा चारवटा जाहेरी परेको छ।

    उनले हवाईमार्ग मार्फत अमेरिका लैजाने प्रलोभन देखाएर जनही ११ लाख ३० हजारदेखि ६० लाख रूपैयाँसम्म लिएको एसपी रेग्मीले बताए। उनीहरूले कुल २ करोड २६ लाख २३ हजार ८९० रूपैयाँ लिएको आरोप छ। यसरी रकम लिएर पीडितहरूलाई अवैध बाटो भारतको नयाँ दिल्ली, श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, लाओस र जाम्बिया लगायत देशहरूमा पुर्‍याएर अलपत्र पारेको एसपी रेग्मीले बताए।

    अलपत्र पारेर पीडितहरूसँग थप रकम माग गरेको समेत पाइएको छ। अमेरिका लैजाने भनेर ओसारपसार गर्नेमा पनि नेपालीहरू नै संलग्न रहेको एसपी रेग्मीले बताए। उनका अनुसार तामाङ लगायतको समूह नेपाल लगायत विभिन्न देशहरूमा बसेर आआफ्नो जिम्मेवारी बाँडफाँट गरी संगठित रूपमै परिचालित भएको छ।

    विशेषगरी १६ देखि ५० वर्ष उमेर समूहका पुरूषहरू मानव बेचबिखनको जोखिममा छन्। यस्तै पीडितहरूले ठूलो रकम बुझाए पनि होटल खर्च, टिकट खर्च लगायत पनि आफैंलाई बेहोर्न लगाउने गरेको पनि देखिएको प्रहरीले जनाएको छ। उनीहरूले विशेष गरी भिजिट भिसाको दुरूपयोग गरी त्यहाँ पुर्‍याउने गरेका हुन्। ब्युरोले यस घटनामा थप व्यक्तिहरूको समेत संलग्नता रहेको भन्दै उनीहरूको खोजी गरिरहेको छ। पक्राउ परेका तामाङमाथि भने थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट म्याद थप भएको ब्युरोले जनाएको छ।

  • अतिकम मुलुकले कृषिमा लगानी बढाउनु जरुरी छ : प्रधानमन्त्री

    अतिकम मुलुकले कृषिमा लगानी बढाउनु जरुरी छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका छन् । इटालीको रोममा आयोजित फुड सिस्टम समिटलाई सम्बोधन गर्दै उनले कृषि उत्पादकत्व दोब्बर तुल्याउनका लागि दिगो खाद्य उत्पादन प्रणाली सुनिश्चित गर्ने पारिस्थितीक प्रणाली कायम राख्ने गरी लचिलो कृषि अभ्यासमा संलग्न हुनुपर्ने आवश्यकतासमेत औँल्याए ।


    आम मानिसको जीविकोपार्जन, आम्दानी र खाद्यान्नको मूल्यमा समेत कोभिड–१९ महामारीको प्रभाव विनाशकारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले खाद्य असुरक्षाका पछाडि चरम मौसमी घटना, आर्थिक झट्का, मानव, जनावर र बाली स्वास्थ्य पनि उत्तिकै जिम्मेवार रहेको उल्लेख गरे ।

    प्रधानमन्त्री दाहालले अल्पविकसित देशहरु नै खाद्य असुरक्षाको केन्द्रविन्दु रहेको तथ्य पेस गरे । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)का अनुसार, अल्पविकसित देशका दुई सय ५१ मिलियनभन्दा बढी मानिस गम्भीर खाद्य असुरक्षाको जोखिममा छन् । यस्तै, ५० प्रतिशतभन्दा बढीले न्यून पोषणमा छन् ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी ती देश हौँ, जहाँ आवश्यकताहरु धेरै छन्, तर क्षमता सीमित मात्रै छ । हाम्रो कृषि, खाद्य प्रणाली जोखिम र अनिश्चिततामा रहँदै आएको छ ।’ बढ्दो खाद्य असुरक्षा र पोषण सङ्कटलाई उपेक्षा गर्न नहुने स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले अल्पविकसित देशहरुमा बस्ने मानिसलाई आशाको सञ्चार गराउन सामूहिक प्रतिबद्धता जरुरी रहेको आवश्यकता औँल्याए ।

    जोखिमहरुको सामना गर्दै सबैभन्दा कमजोरलाई सहयोग उपलब्ध गराउन विविध खालका सामाजिक सुरक्षाका उपाय अपनाउनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले कामका लागि खाद्यान्न कार्यक्रम, आर्थिक सहयोग जस्ता कार्यक्रममार्फत कमजोर समुदायमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

    प्रधानमन्त्रीले जलवायु परिवर्तनको सामना गर्दै उत्पादकत्व बढाउनका लागि साना किसानलाई प्रविधि, मल, बजार, बाली विविधीकरण, सहज लगानी र पूर्वाधारमा सहज पहुँच जरुरी रहेको बताए ।

    उनले सबैभन्दा कमजोर मानिसलाई खाद्य असुरक्षा, कुपोषण र स्वास्थ्य समस्याजस्ता जोखिमबाट सुरक्षित रहेको विश्वास दिलाउनुपर्नेमा जोड दिए ।’हामीसँग भोक र कुपोषणको पीडाबाट मुक्त संसार सुनिश्चित गर्ने अवसर छ । यसलाई मनन गरेर व्यवहारमा कार्यान्वयन गरौँ,’ उनले थपे ।

    दोहा कार्यक्रमले अति गरिब र जोखिममा परेकालाई अत्यावश्यक सहायता प्रवाह गर्न, अल्पविकसित देशका लागि खाद्य भण्डारण प्रणालीको परिकल्पना गरेका स्मरण गर्दै प्रधानमन्त्री दाहालले त्यसका लागि पहल गरेकामा यसका सरोकारवालाई धन्यवाद दिए ।

    प्रधानमन्त्री दाहालले एजेन्डा २०३० मार्फत खाद्य पर्याप्तता, सुरक्षित, किफायती र पौष्टिक आहारका माध्यमबाट खाद्य सुरक्षा प्राप्त गर्न, पोषणमा सुधार गर्न र दिगो कृषि प्रवद्र्धनका लागि सक्षम रहेको उल्लेख गरे ।

  • यूरोपमा रहेका नेपालीको समस्या समाधानमा लागि पर्छु : प्रधानमन्त्री

    यूरोपमा रहेका नेपालीको समस्या समाधानमा लागि पर्छु : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने बताएका छन् । सोमबार रोममा नेपाली जनप्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
    प्रधानमन्त्रीको निजी सचिवालयले अनुसार भेटमा प्रधानमन्त्रीले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने र देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले ठूलाठूला भ्रष्टाचार र तस्करीलाई कारबाही गर्न सरकारले अठोट लिएकाले राष्ट्र निर्माणमा सबैको साथ आवश्यक रहेको बताए ।

    सो अवसरमा नेपाल सरकारले गरेका कामले विदेशमा भएका नेपालीहरूमा देश बन्ने भो भन्ने आत्मविश्वास बढेको र त्यसका लागि प्रधानमन्त्रीलाई बधाई दिनुका साथै आफूहरू साथमा रहने प्रतिबद्धता प्रतिनिधिहरूले जनाएका छन् । कार्यक्रमको सुरुमा प्रधानमन्त्रीकी जीवनसङ्गिनी स्व। सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

  • प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका महासचिवबीच भेटवार्ता

    प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका महासचिवबीच भेटवार्ता

    काठमाडौं । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ । सोमबार संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्-२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता भएको हो ।

    खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्वखाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

    नेपालको खाद्य सुरक्षाका साथै नेपालले भोगिरहेको चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगका बारेमा त्यसअवसरमा महत्वपूर्ण छलफल हुनेछ। यस्तै, रोममा गैरआवासीय नेपाली सङ्घले आयोजना गर्ने अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन्। प्रधानमन्त्री प्रचण्ड यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

  • माओवादी केन्द्रका नेताहरु भारत भ्रमणमा

    माओवादी केन्द्रका नेताहरु भारत भ्रमणमा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली भारत प्रस्थान गरेको छ । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी ९भाजपा०को निमन्त्रणामा भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली छ दिने भारत भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गरेको हो ।

    दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष भुसालले भ्रमण दुई पार्टीबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित हुने जानकारी दिइन् । मुख्यतः भाजपा र हाम्रो पार्टीगत सम्बन्धलाई सृदृढ पार्ने कुरा हो, उनले भने, हामी सबैतिर सुमधुर सम्बन्धमा छौँ । चिनियाँ कम्युनिष्ट पार्टीसँग भाइचारा सम्बन्ध र भाजपासँग मैत्री सम्बन्ध हो । उनका अनुसार छ दिने भ्रमणमा भाजपाको केन्द्रीय नेतृत्वसँग अन्तक्रिया र छलफल गर्ने कार्यक्रम छ ।

  • पोल्याण्ड पठाइदिन्छु भनेर ठगि गर्ने एक जना पक्राउ

    पोल्याण्ड पठाइदिन्छु भनेर ठगि गर्ने एक जना पक्राउ

    काठमाडौं । पोल्‍याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्‍चनपुरको कृष्णपुर नगरपालिका २ घर भई हाल हाल ललितपुरको महालक्ष्मी नगरपालिका १ बस्‍ने ४२ वर्षीय पुष्पराज जोशी रहेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए । जोशीले पोल्याण्ड पठाइदिन्छु भन्‍दै पटक पटक गरेर पीडितसँग १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

  • इटालीतर्फ लागे प्रधानमन्त्री

    इटालीतर्फ लागे प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली प्रस्थान गरेका छन्। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड इटली गएका हुन्।

    कतार एयरलाइन्सको उडानमार्फत् इटली प्रस्थान गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची छ।

    भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको इटली भ्रमण स्वीकृत गरेको थियो। उनी चार दिनपछि स्वदेश फर्कने छन्।

  • नेपालबाट ३८ वर्षअघि हराएको मूर्ति बेलायतमा भेटियो, नेपाललाई फिर्ता

    नेपालबाट ३८ वर्षअघि हराएको मूर्ति बेलायतमा भेटियो, नेपाललाई फिर्ता

    काठमाडौं । ललितपुरको पाटनबाट सन् १९८५ मा हराएको प्राचीन मूर्ति बेलायतबाट नेपाल सरकारलाई फिर्ता गरिएको छ । ११औं शताब्दिको उक्त सूर्य मूर्ति बेलायतले नेपाललाई यही बिहीबार फिर्ता गरेको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ ।

    लण्डनस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै उक्त कलाकृति ७९ सेन्टिमिटर उचाइ, १५ सेन्टिमिटर चौडाइ र ४१ किलोग्राम तौल रहेको जनाएको छ । दूतावासले जारी गरेको विज्ञप्ति अनुसार उक्त मूर्ति बेलायती निजी संकलकले दूतावासलाई हस्तान्तरण गरेका थिए ।

    यस्तै उक्त मूर्ति नेपाल सरकारको पूरातत्व विभागमार्फत् यसको वास्तविक स्थानमै पठाइने पनि बताइएको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा सांस्कृतिक कलाकृति फिर्ता गरिनुले हराएको सांस्कृतिक वस्तुको पुनःस्थापनाका लागि नेपालको प्रयासमा सकारात्मक योगदान पुर्‍याएको उल्लेख छ ।

  • इराकले निकाल्यो स्वीडेनका राजदूत

    इराकले निकाल्यो स्वीडेनका राजदूत

    काठमाडौं । स्वीडेनको राजधानी स्टकहोममा कुरान जलाइएको विरोधमा इराकले स्विडेनका राजदूतलाई देश निकाला गरेको छ । कुरान जलाइएको विरोधमा बिहीबार बग्दादमा विशाल प्रदर्शन भएको छ । मध्य बगदादमा रहेको स्विडेनको दूतावासमा प्रदर्शनकारीहरूले आक्रमण गरी आगो लगाएका थिए । सामाजिक सञ्जाल सार्वजनिक भएका भिडियोमा स्विडेनको दूतावासभित्र प्रदर्शनकारीहरूको ठूलो भीड लागेको र त्यहाँबाट धुवाँको मुस्लो निस्किएको देखिएको थियो ।

    दक्षिणी इराकको नासिरियामा रहेको अल जजिराका महमूद अब्देलवाहेदका अनुसार बिहीबार बिहानै दूतावासमा प्रदर्शनकारीहरूले प्रभावशाली इराकी शिया धार्मिक र राजनीतिक नेता मुक्तादा अल–सद्रलाई चित्रण गर्ने झण्डा फहराएका थिए । अल–सद्रका समर्थकहरूले बिहीबार स्टकहोममा इराकी दूतावास अगाडि कुरान जलाउने दोस्रो योजनाको विरोधमा दूतावास जलाउनआह्वान गरेका थिए ।

    इराक सरकारले बिहीबार नै स्टकहोमबाट आफ्ना कूटनीतिज्ञलाई फिर्ता बोलाएको घोषणा गरेको थियो । प्रधानमन्त्री मोहम्मद शिया अलसुदानीले स्वीडेनबाट आफ्नो राष्ट्रका कार्यवाहक राजदूतलाई कुरान जलाएको विरोधमा फिर्ता बोलाएको तथा स्वीडेनको टेलिकम कर्पोरेशन एरिक्सनको इराकमा व्यवसाय सञ्चालन गर्ने अनुमति खारेज गरेको अल जजीराले जनाएको छ ।

    यसैबीच, स्विडेनको विदेश मन्त्रालयले दूतावास घटनाको निन्दा गर्दै इराकी अधिकारीहरूलाई कूटनीतिक नियोग र कूटनीतिज्ञहरूको सुरक्षामा ध्यान दिन अनुरोध गरेको छ । साथै मन्त्रालयले बग्दादस्थित दूतावासका सबै कर्मचारी सुरक्षित रहेका बताएको छ ।

    साउदी अरबले पनि कुरानको अपमान भएकामा त्यसको निन्दा गर्दै रियादस्थित स्विडेनका कूटनीतिज्ञलाई विदेश मन्त्रालयमा बोलाएर विरोधपत्र हस्तान्तरण गरेको छ । मुसलमानहरूको पवित्र तीर्थ भएको मुसलमानबहुल खाडी राष्ट्रले अपमानजक गतिविधि रोक्नेतर्फ गम्भीर भएर लाग्न स्विडेन सरकारलाई अनुरोध गरेको छ । रासस\एएनआई

  • प्रधानमन्त्री प्रचण्ड आज इटाली जाँदै

    प्रधानमन्त्री प्रचण्ड आज इटाली जाँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तीनदिने इटाली भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । लामो समयपछि उच्चस्तरीय भ्रमण हुन लागेको हो। इटालीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालयले भ्रमणको आवश्यक तयारी करिब पूरा भएको जनाएको छ।

    ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट व्यक्त गर्नुपर्ने औपचारिक धारणा, त्यसका लागि आवश्यक कार्यसूची तथा त्यहाँ रहँदा हुन सक्ने सम्भावित आदानप्रदानका लागि आवश्यक सम्झौता र समझदारीका खाका तयार भएका छन्। मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार प्रधानमन्त्री प्रचण्डको औपचारिक भ्रमणका लागि गृहकार्य अन्तिम चरणमा पुगेको छ। बाँकी तयारी शुक्रबार अबेरसम्म चलेको थियो।

    प्रधानमन्त्री प्रचण्डसँग उहाँकी छोरी गङ्गा दाहाल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू पनि साथै जानुहुने भएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ।

    साथै सोही दिन आयोजना हुने विद्यालय भोजनको एजेन्डा बोकेको छुट्टै सत्रमा र मङ्गलबार खाद्य प्रणाली परिवर्तनको एजेन्डाको सत्रमा पनि अध्यक्षको हैसियतमा सहभागी हुनुहुने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ। जसका लागि नेपालले निर्वाह गर्नुपर्ने भूमिकासहितका अवधारणापत्रको तयारी पनि मन्त्रालयले गरेको छ।

    सम्मेलनको साइडलाइन कार्यक्रम अनुसार प्रधानमन्त्री प्रचण्डले खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायत संयुक्त राष्ट्रसङ्घीय प्रणालीका विशिष्ट पदाधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । रोमस्थित गैरआवासीय नेपाली सङ्घ, इटालीले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले इटालीमा रहनुभएका नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम छ ।

  • इयूले नेपाललाई दिने भयो करिब ११ अर्ब अनुदान

    इयूले नेपाललाई दिने भयो करिब ११ अर्ब अनुदान

    काठमाडौं । बेलायतले नेपाललाई करिब ११ अर्ब रुपैयाँ बराबर अनुदान दिने भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा नेपाल सरकार र युरोपेली संघबीच ‘गुणस्तर शिक्षा सबैका लागि र जलवायु परिवर्तनमा स्थानीय अनुकूलन’ विषयमा सम्झौता भएको हो । सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि ईयूका राजदूत नोना डेप्रेजले हस्ताक्षर गरे ।

    ‘गुणस्तरिय शिक्षा सबैका लागि शिक्षा’ विद्यालय शिक्षा क्षेत्र योजनाका लागि ५० मिलियन युरो अर्थात ७ अर्ब ३८ करोड रुपैयाँ बराबरको अनुदान सम्झौता भएको छ । जलवायु परिवर्तनका लागि स्थानीय अनुकूलन’ पहलका लागि २२ मिलियन युरो अर्थात ३ अर्ब २५ करोड बराबरको अनुदान सम्झौता भएको हो ।

    उक्त सम्झौता अनुसार सबैका लागि गुणस्तरीय शिक्षा’ ले सरकारको विद्यालय शिक्षा कार्यान्वयनमा सहयोग पुर्‍याउने अर्थसचिव अर्जुन पोखरेलले बताए । उनले नेपालको सामाजिक र आर्थिक विकासमा सक्रिय भुमिका खेल्न महत्वपूर्ण योगदानको आशा रहेको बताए । उनले सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा युरोपेली संघलाई धन्यवाद दिए । युरोपियनले नेपालको दिगो सुदृढीकरणका लागि जलवायु परिवर्तनको अनुकूलनमा सहयोग गर्न आवश्यक रहेको पोखरेलले बताए ।

    युरोपेली संघ र फिनल्याण्ड, टोली युरोपको रूपमा, स्थानीय र प्रान्तीय सरकारहरूसँग काम गर्न जारी राख्ने संघले जनाएको छ । नेपालले विकास र जलवायु कार्यलाई सन्तुलनमा राख्ने इमान्दार प्रयास गरिरहेको भन्दै संघले नेपालको प्रशंसा गरेको छ । प्रकोप जोखिम न्यूनीकरणसम्बन्धी योजना र विकासमा ध्यान केन्द्रित गर्न, स्थानीय तहलाई सक्षम बनाउन, मानवीय तथा वित्तीय क्षमता अभिवृद्धि गर्ने खर्च हुनेछ ।

  • कोरियाबाट फर्किएकालाई खुल्यो पुन: भाषा परीक्षा

    कोरियाबाट फर्किएकालाई खुल्यो पुन: भाषा परीक्षा

    काठमाडौं । कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ। पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सक्ने शाखाले सूचना प्रकाशित गरेर जानकारी दिएको हो। परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा प्रकाशन असोज ३ गते हुने शाखाले बताएको छ।

    ‘नेपाल सरकार र गणतन्त्र कोरिया सरकार बीच सम्पन्न समझदारीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरुलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रियाअनुरूप आवेदन खुला गरिएको हो,’ शाखाले सूचना प्रकाशित गरेर भनेको छ।

    इच्छुक नेपाली नागरिक हुनुपर्ने, इपिएसअन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै स्वैच्छिक रूपले नेपाल फर्केका कामदारहरूले आवेदन दिन सक्नेछन्। आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्ने शाखाले बताएको छ।

    त्यस्तै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैरकानुनी रूपमा बसोबास नगरेको, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएको व्यक्ति हुनुपर्ने छ। कोरियामा इ–९ र ३–९–१ भिसामा पाँच वर्ष भन्दा बढी अवधि नबसेका र कोरियाको मानव संशाधान विभाग बाट इपिएस भाषा परीक्षामा सहभागी हुन सक्ने भनेर नामावलीमा नाम भएकाले फारम पर्न पाउने पनि शाखाले जानकारी दिएको छ।

  • नेपाली नर्सलाई बेलायत पठाउने प्रक्रिया सुरु

    नेपाली नर्सलाई बेलायत पठाउने प्रक्रिया सुरु

    काठमाडौं । नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउने भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन खुलाएको छ । पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो ।

    नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्‍बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा एक सय जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो । श्रम मन्त्रालय र बेलायती दूतावास, काठमाडौंले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिअनुसार, बेलायत जान इच्छुक नेपाली नर्सले शुक्रबारदेखि आवेदन दिन सक्नेछन् । श्रम मन्त्रालयले नेपाली नर्सलाई आवेदन दिन छुट्टै एप्लिकेसन पोट्रल समेत बनाएको छ ।

    बेलायत जान इच्छुक नर्सले शुक्रबारदेखि कात्तिक २ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । सरकारले ‘गभर्मेन्ट टु गभर्मेन्ट (जीटुजी) प्रक्रियाबाट बेलायतमा नर्सिङ जनशक्ति पठाउन लागेको हो । उनीहरूले वार्षिक झण्डै ४७ लाख रुपैयाँ तलब पाउनेछन् भने बेलायतमा रजिस्ट्रर नर्स भइसकेपछि वार्षिक ५८ लाख ५५ हजारसम्म तलब पाउनेछन् ।

    उनीहरूले ५ वर्ष मात्र काम गर्न पाउनेछन् । नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा लैजान गत भदौमा दुई देशबीच सम्झौता भएको थियो । सम्झौता अनुसार बेलायतमा रोजगारीमा जान आईईएलटीएसमा न्यूनतम ७ अंक अनिवार्य रुपमा ल्याउनुपर्नेछ ।

    त्यसैगरी, बेलायत जान चाहानेले कम्तीमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ । २ वर्षको कार्यअनुभव (वर्किङ एक्सपिरियन्स) पनि अनिवार्य गरिएको छ । यस्तो योग्यता पूरा गरेकाहरुमध्ये संक्षित सूची तयार (सर्ट लिस्टिङ) गरेर अन्तर्वार्तामार्फत बेलायत जान पाउनेहरु छानिने छन् । त्यस्तै, रोजगारीका लागि छनोट भएर बेलायत पुगेकाहरूले फेरि त्यहाँको नर्सिङ काउन्सिलको परीक्षा पनि दिनुपर्नेछ ।

    प्रोटोकलले यस्तो आवेदन दिन तोकिएका योग्यताहरु पूरा भएको हुनुपर्ने अनिवार्य गरेको छ । नेपाल नर्सिङ परिषद्को तथ्याङ्‍कअनुसार हालसम्म नेपालमा करिब ७४ हजार नर्सले सेवाका लागि अनुमति (लाइसेन्स) लिएका छन् । नेपालमा कति सक्रिय र कति विदेशी नर्स छन् भन्ने तथ्यांक परिषद्‍सँग छैन । पढाइका लागि विदेश जानुअघि नर्सहरूले नर्सिङ काउन्सिलको स्वीकृति लिनुपर्ने भए पनि पढाइबाहेक अन्य कामका लागि विदेश जान स्वीकृति चाहिंदैन ।

    नेपालमा ४५ हजार नर्सिङ जनशक्ति मात्र सक्रिय भएको नेपाल नर्सिङ संघको अनुमानित तथ्यांक छ । तीमध्ये नेपाल सरकार अन्तर्गत स्थायी र करारमा १८ हजार नर्स कार्यरत छन् । यस्तै, करिब १७ हजार नर्स निजी अस्पतालमा र बाँकी शैक्षिक क्षेत्रमा काम गरिरहेका छन् । यस्तै, करिब ३० हजार नर्स अहिले पनि बेरोजगार रहेको हुनसक्ने अनुमान छ । यस्तै, करिब २९ हजारले विदेश जानका लागि भेरिफिकेशन लिएका छन् ।

  • रास्वपा सांसद गौतमलाई ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड

    रास्वपा सांसद गौतमलाई ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन् । अवार्डका लागि सोवितासँगै चिलीकी महिला तथा लैंगिक समतामन्त्री एन्टोनिया कस्मिका लगायत विभिन्न देशका १५ सांसद, मेयर लगायतलाई सर्टलिस्टमा समेटिएका थिए ।

    संस्थाले सर्टलिस्टमा समावेशमध्ये ५ जनालाई अवार्ड प्रदान गर्दै आएको छ । आयोजक वन योङ वर्ल्डका अनुसार प्रतिस्पर्धीहरूमध्येबाट २७ वर्षीया सोबिता गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट र न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड हात पारेका हुन् ।

    संस्थाले नेपाली इतिहासमा सबैभन्दा कान्छी सांसद र रास्वपाको संस्थापक सदस्यको रूपमा गौतमलाई सर्ट लिस्टमा छनौट गरेको थियो । उनलाई बिजुली नपुगेको गाउँमा जन्मिएकी र राम्रो स्रोत साधन नभएको सरकारी विद्यालयमा पढेकी सोबिता आफ्नो भाषण सामाजिक सञ्जालमा अत्यधिक रुचाइएसँगै राजनीति उदाएकी पात्रको रूपमा चिनाइएको छ ।

    आफ्नो समुदाय र देशमा युवा मानिसमा सकारात्मक प्रभाव पार्न भूमिका खेलिरहेका विश्वका उच्च राजनीतिज्ञमध्ये पाँच जनालाई यो उपाधि दिने निर्णय गरिएको आयोजकले बुधबार राति घोषणा गरेको हो । संस्थाले द वन योङ वर्ल्ड पोलिटिसिएन अफ द इयर अवार्ड हरेक वर्ष १८-३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञहरूलाई प्रदान गर्छ ।

    द वन योङ वर्ल्ड युवा नेतृत्व सशक्तीकरण र विकासका लागि स्थापित बेलायती संस्था हो । संस्थाले बेलफास्ट बेलायतमा आगामी २ देखि ५ अक्टोबरसम्म द वन योङ वर्ल्ड समिट गर्दैछ । सम्मेलनलाई आयरल्याण्डकी पूर्वराष्ट्रपति मेरी रबिन्सन, नोबेल पुरस्कार बिजेता प्रो। मुहम्मद युनुस, कोस्टारिकाकी पूर्वराष्ट्रपति लउरा चिन्चिल्ला लगायतले सम्बोधन गर्ने आयोजकले उल्लेख गरेको छ ।

  • प्रस्तावित राजदूतबारे उजुरी आह्वान

    प्रस्तावित राजदूतबारे उजुरी आह्वान

    काठमाडौं । विभिन्न मुलुक तथा नियोगका लागि प्रस्तावित ६ जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

    यसअघि सरकारले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा सिफारिस तेजबहादुर क्षेत्रीको नाम सिफारिस गरेको छ । यस्तै, कुवेतका लागि प्रस्तावित राजदूतमा घनश्याम लम्साल, थाइल्याण्डका लागि प्रस्तावित राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि प्रस्तावित राजदूतमा सुधीर भट्टाराई छन् ।

    संसद सचिवालयका सहसचिव एकराम गिरीका अनुसार उजुरी दिने समय १० दिनको रहनेछ । बिहीबार गोरखापत्रमा सूचना प्रकाशन भएपछि प्रस्तावित राजदूतविरुद्ध जो कोही नेपाली नागरिकले उजुरी दिन सक्नेछन् । प्रस्तावित राजदूत तथा विभिन्न नियोगका प्रतिनिधिहरुको सुनुवाइका लागि प्रष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिनुपर्ने हुन्छ ।

    मन्त्रिपरिषदको बैठकले सिफारिस गरेका प्रस्तावित राजदूतहरु संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । राजदूत नियुक्तिमा समावेशिता हुनुपर्ने विषयमा समेत समितिमा छलफल भएको गिरीले जानकारी दिए । समावेशितालाई ख्याल गरिनुपर्छ भन्ने समितिको समेत मान्यता रहेको उनले बताए ।

  • प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा जाने

    प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा जाने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटली जाने भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको भ्रमण स्वीकृत गरेको छ ।
    बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जान लागेको जानकारी दिइन् ।

    प्रतिनिधिमण्डलमा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल समेत सहभागी हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेकी शर्माले जानकारी दिइन् । प्रधानमन्त्री प्रचण्ड साउन ६ गते बेलुका इटली प्रस्थान गर्ने र एक हप्तापछि स्वदेश फर्कने कार्यक्रम तय भएको बताइएको छ ।

  • भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान

    भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्वर रहेकोले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै महतले भारतीय उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका हुन् ।

    भर्खर मात्र भारतसँग दश हजार मेगावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत खपत गर्ने उद्योगलाई समेत प्रशस्तै सम्भावनाका ढोका खोलेको उनले बताए । नेपालमा जलविद्युत बाह्रै महिना सस्तो दरमा उपलब्ध हुने अवस्था आइसकेको, नेपालबाट उत्पादित सामानले भारतमा पनि सहज पहुँच प्राप्त गर्ने हुँदा लगानीमा सहजता बढ्दै जाने क्रममा रहेको उनको भनाई छ ।


    नेपालमा विद्युत मात्र नभई कृषि उद्यम, सूचना प्रविधि पर्यटन समेत आकर्षक क्षेत्र रहेको , कृषि तथा पर्यटन उद्योगमा लगानीको अपार सम्भावना रहेको , प्रतिफल फिर्ता लैजान नीतिगत रूपमा कुनै समस्या पनि नरहेकाले निर्धक्क भइ लगानी गर्न अनुरोध गरे ।

    नेपालमा सूचना प्रविधिको विकासले गति लिन थालेको र प्रशस्तै जनशक्तिको उपलब्धताले गर्दा लगानीकर्तालाई झनै आकर्षित गर्न सक्ने , भारतमा भन्दा सस्तो दरमै जनशक्ति उपयोग गर्न सकिने हुँदा प्रतिस्पर्धि क्षमता समेत बढ्न सक्ने सम्भावना रहेको कार्यक्रममा उनले बताए ।


    गुजरात उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष संदिप ईन्जिनियरले गुजरातका उद्योगी व्यवसायिहरू नेपालमा लगानी विस्तार तथा व्यवसाय स्थापना गर्न ईच्छुक रहेको बताउदै त्यसकोलागि प्रक्रियागत सहजीकरण गरिदिन अनुरोध गरे । कार्यक्रममा अर्थ मन्त्रालय र दिल्ली स्थित नेपाली दुताबासका अधिकारीहरूले लगानी सम्भावनाका विषयमा प्रस्तुति दिएका थिए ।

  • निर्वाचन पर्यवेक्षकको भूमिकामा केपी शर्मा ओली कम्बोडिया प्रस्थान

    निर्वाचन पर्यवेक्षकको भूमिकामा केपी शर्मा ओली कम्बोडिया प्रस्थान

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि ओली मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य र उपमहासचिव विष्णु रिमाललगायत छन् ।

    कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएको उनको सचिवालयले उल्लेख गरेको छ ।

  • भारतीय समकक्षीसँगको भेटमा अर्थमन्त्रीले के भने ?

    भारतीय समकक्षीसँगको भेटमा अर्थमन्त्रीले के भने ?

    काठमाडौं । भारतको गुजरातमा जारी जी–२० अर्थमन्त्रीहरुको बैठकको अवसरमा अर्थमन्त्री डा। प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सितारामण बीच द्विपक्षीय छलफल भएको छ । बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

    नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै देशका अर्थमन्त्रीले जोड दिएका छन् । अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सम्पन्न विद्युत निर्यात सम्बन्धी समझदारी कार्यान्वयनबाट आगामी १० वर्षमा १० हजार मेघावाट जल विद्युत भारत निकासी भई व्यापार घाटा घटाउन मद्दत मिल्ने विषय उल्लेख गरे ।

    दुई देशबीचको व्यापार तथा लगानी सहजीकरणका लागि मिलेर काम गर्ने विषयमा एउटै मत रह्यो । भारतका अर्थमन्त्रीले एन पीएचएल र भारतको इन्टरनेसनल पेमेन्ट लिमिटेड बीच भएको समझदारी बमोजिम संयुक्त विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयन गर्न छिटो काम अघि बढाउन अनुरोध गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । अर्थमन्त्री महतले छिट्टै कार्यान्वयनमा लैजाने गरी संयन्त्र स्थापना गर्न काम गर्ने बताए ।

    भेटवार्ताका अवसरमा नेपालको सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीको लागि राम्रो विकल्प रहेको र व्यावसायिक सम्भाव्यता एवम् पर्याप्त जनशक्ति उपलब्ध भएकोले सो क्षेत्रमा लगानी बढाउन समेत अनुरोध गरे । आपसी हितका आर्थिक क्षेत्रमा आगामी दिनमा सम्बन्ध विस्तार गर्दै जानु पर्नेमा दुवै देशका अर्थमन्त्रीले जोड दिए ।

  • स्वास्थ्य मन्त्रीले भेटे बेलायती समकक्षी

    स्वास्थ्य मन्त्रीले भेटे बेलायती समकक्षी

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्य (बेलायत) का स्वास्थ्य राज्यमन्त्री विल क्वीन्ससँग संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । सोमबार भएको भेटमा स्वास्थ्यमन्त्री बस्नेतले बेलायत सरकारले नेपालको आर्थिक र सामाजिक विकास विशेषगरी स्वास्थ्य क्षेत्रमा पुर्‍याएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यसमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गरेको नेपाली दूतावास लन्डनले जनाएको छ ।

    नेपाल र बेलायतबीच हालै सम्पन्न बेलायतमा नेपाली नर्सका लागि रोजगारीसम्बन्धी सम्झौताप्रति खुसी व्यक्त गर्दै नेपाली स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धिका लागि सहयोग गर्न अनुरोधसमेत गरेका थिए ।

    बेलायती स्वास्थ्यमन्त्री क्वीन्सले नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहने, नेपालको नर्सिङ क्षेत्रको क्षमता अभिवृद्धिमा थप सहयोगका लागि कार्य भइरहेको र नेपाली नर्सहरूको बेलायत आगमनबाट दुई देशका लागि फाइदा पुग्ने व्यक्त गरेको दूतावासले उल्लेख गरेको छ ।

    स्वास्थ्य बस्नेत मन्त्रीले आइतबार विन्चेस्टरमा रहेको रोयल ह्याम्सायर काउन्टी हस्पिटलको तालिम केन्द्र, इमर्जेन्सी विभाग तथा वार्डहरूको भ्रमण गरी त्यहाँ नेपालबाट ल्याइने नर्सहरूको तालिम तथा स्थानान्तरण प्रक्रियाका बारेमा जानकारी लिनुभएको दूतावासकी उपनियोग प्रमुख रोशन खनालले बताए । उक्त भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसमेत सहभागी थिए । मन्त्री बस्नेत गत असार २९ गते संयुक्त अधिराज्यको भ्रमणमा आएका हुन् ।