Category: डायस्पोरा

  • नेपाल र चीनका अर्थमन्त्री बीच भारतमा भेटवार्ता

    नेपाल र चीनका अर्थमन्त्री बीच भारतमा भेटवार्ता

    काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी-२० बैठकको क्रममा सोमबार अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो । उनीहरु बीचको द्विपक्षीय वार्तामा आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको छ ।

    ‘एकअर्काको चासो र सरोकारप्रति दुवै पक्ष संवेदनशील रहेको बारेमा पनि दुवै मन्त्रीको समान धारणा रह्यो’, अर्थमन्त्री डा महतको चिनियाँ समकक्षीसँगको भेटबारे उल्लेख गर्दै उनको सचिवालयले भनेको छ, ‘मन्त्री डा महतले चीनले नेपालमा गरेको विकास सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।’

    सन् २०१९ मा नेपाल भ्रमणका क्रममा चीनका राष्ट्रपतिले गरेको सहयोग प्रतिबद्धताबारे पनि दुई देशका अर्थमन्त्रीबीच कुराकानी भएको जनाइएको छ । नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपालको समग्र आर्थिक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    उक्त भेटका अवसरमा मन्त्री डा महतले नेपाल र चीनबीचका महत्त्वपूर्ण सीमानाकाबाट दुई देश जोड्ने सडक परियोजना सहयोगको महत्त्वपूर्ण क्षेत्र हुनसक्ने र दुवै देशका सम्बन्धित निकायले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विश्वास व्यक्त गरे ।

    सुरुङमार्गको प्रसङ्गमा टोखा-छहरे सुरुङमार्ग चाँडो कार्यान्वयनमा आउने उनले आशा व्यक्त गरे । चिनियाँ अर्थमन्त्री कुनले नेपालको विकासमा सहयोगी हुन चाहेको र सहयोगका परियोजना चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे

  • एनआरएन अमेरिका नेतृत्वको प्रतिस्पर्धामा पराजुली-अधिकारी समुह

    एनआरएन अमेरिका नेतृत्वको प्रतिस्पर्धामा पराजुली-अधिकारी समुह

    बिष्णु सिंह (बैजु)
    एनआरएन आजीवन सदस्य

    आगामी जुलाई २२ तारिख २०२३-२५ अवधिका लागि एन आर एन अमेरिकाको पदाधिकारीहरुको चुनाव हुदैछ। सोका लागि बिगतमा एनआरएनको तल्लो तहमा कार्य गरिसकेका दिलु पराजुली अध्यक्ष र रामहरी अधिकारी महाससचिव पदका प्रत्याशी हुन् र उनीहरुको बिगतको कार्य उपलब्धि चर्चामा छन। त्यस्तै अन्य प्रत्यासीहरुमा अन्जन कुमार चौलागाई बरिष्ठ उपाध्यक्ष; चार उपाध्यक्ष पदमा क्रमश राजीव श्रेष्ठ, सन्तोष पहारी, राज ढुंगाना र भानु खरेल रहेका छन। त्यस्तै महिला उपाध्यक्षमा सुन्दरी गुरुङ, युवा उपाध्यक्ष अनुप खनाल, एकदेव शर्मा सचिव, महिला सचिव उर्मिला श्रेष्ठ, कोषाध्यक्ष सरोज सिन्ग्देल, सह-कोषाध्यक्ष रवि सिंह बस्नेत, महिला संयोजक मुवा तिवारी, युवा संयोजक बिकी थापा प्रत्यासी छन।
    बोर्ड सदस्यहरुमा क्रमश: इन्द्रराज पाण्डे, बिष्णु बराल, लक्ष्मण दर्लामी मगर, डा गंगाधर आचार्य, नवराज नेउपाने, मोहन कुसारी, बलराइ, बासुदेव भट्ट, र दिवाकर भट्ट रहेका छन। अनि महिला बोर्ड सदस्यहरुमा क्रमश: दुर्गा तिवारी, सरस्वती शर्मा, रितादेवी प्रधान र सारिका थापा प्रत्यासी रहेका छन।

    ज्याक्सन हाईट्स न्युयोर्कस्थित सत्यनारायण मन्दिर हलमा गत जुलाई १५ मा २१ बुंदे घोषणा पत्र सहित डिलु-रामहरी प्रत्यासी समुहले आफ्नो परिचय कार्यक्रम आयोजना गरिएको थियो। बेद खरेलको प्रमुख अतिथ्यमा कार्यक्रम संचालन गरिएको थियो। साथै डेढ दर्जन बिभिन्न क्षेत्रका काग्रेसी व्यक्तित्वहरु ड्यासमा विराजमान गराईएको थियो।

    शुरुमा अध्यक्ष पदका प्रत्यासी डिलु पराजुलीले आफ्नो भनाइहरु प्रस्तुत गरे। तत्पश्चात महासचिवका प्रत्यासी रामहरी अधिकारीले आफ्नो भनाई राखे। साथै उनले सबै पदका प्रत्यासीहरुको परिचय गराउन सबैलाई ड्यास पछाडि उभ्याएर आफ्नो परिचय दिन लगाए। तर दुई मिनेटमा आफ्नो छोटो परिचय दिन भनिएकोमा छेउ न टुप्पोको लामो भाषण गरे। केहीले भने छोटो परिचय दिदै आफ्नो समुहलाई अत्याधिक मत दिएर जिताउन अपिल गरे। एकातर्फ दुई बजे शुरु गर्ने भनिएको कार्यक्रम ४ बजे शुरु गरिएको थियो। अर्को तर्फ अनावश्यक भाषण गराएर समय बर्बाद गरियो।

    त्यसपछि ड्यासमा बसेकाहरुलाई बोल्न लगाइयो। तिनलाई बोल्न समयको पावन्दी थिएन। तिनले जे मन लाग्यो, जति मनलाग्यो बोले। कसैले जोडदार रुपमा भनि दिए “नेपालको समानुपातिक प्रतिनिधि छनौट गर्ने व्यवस्था ठिक नभएकोले तिनीहरु प्रभावकारी नभएको” भनि ठम्माई दिए। तर ती नेताले योग्य, बिज्ञहरुलाई नछानि सिर्फ आफ्ना आसेपासे, स्वास्नी, नातेदार नियुक्त गरेकोले प्रभावकारी नभएको भन्न सकेनन। उदाहरणको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक बिज्ञ सन्तोष परियार समानुपातिकबाट ल्याएर कति प्रशंसा पाएको बारे बताउन सकेनन। कांग्रेसी धर्मको पालना गरेको बुझिन्थ्यो।

    त्यस्तै अर्का बक्ता, जो पुर्व नेपाल बारका सभापति हुन्, ले संविधानको भाग २, धारा १४ मा सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता दिन सकिने बारे पढेर सुनाए। अनि उनले अब गैर आवासीय च्याप्टरले सिफारिस गरि नागरिकता दिनुपर्ने बारे सुझाए। अहिले नेपालमा अदालतबाट नागरिकता दिन निर्णय भैसकेको छ। “एक महिना भित्र नियमावली बनाएर एनआरएनए नागरिकता वितरण सुरु गरिसक्छौँ” भन्ने प्रतिबद्दता उपप्रधानमन्त्री एवम रक्षामन्त्री पूर्णबहादुर खड्काले जाहेर गरिसकेका छन। त्यसैले यी पुर्व बारका सभापतिका भाषण पनि कुनै तुकको देखिएन।

    त्यसपछि पूर्व प्रधानमन्त्री शुसिल कोइरालाकी सल्लाहकार मृदुला कोइरालालाई बोल्न निम्त्याईयो। उनले एनआरएनको यथार्थता प्रकाश प़ार्दै निम्नस्तरको क्रियाकलापले गैर-आवासीयहरुमा निराशा छाएको स्पष्ट प़ारिदिइन। त्यसैले अब पदमा जाने चाहने प्रत्याीहरुले गैर-आवासीयहरुको मन जित्न निकै मिहेनत गर्नु पर्ने कुरामा जोड दिदै सफलताको शुभकामना दिईन।

    त्यसपछि जातजातिका संस्थाका प्रतिनिधिलाई बोल्न दिने क्रममा दर्शनधारी ठकुरी समाजका मिलन शाहीलाई बोल्न दिईयो। उनले नेपालले अब बशंजको आधारमा नेपाली नागरिकता दिनु पर्ने जोडदार माग राखे। नागरिकता नभएको कारण नेपालमा भएको घरबार बेची अमेरिकामा रकम ल्याउन नसकिएकोले अनेक मुश्किलका बावजुद बल्ल ल्याएको कुरो पनि सुनियो। एकातिर नेपाललाई बिदेशी मुद्रा अभाव भएर बेहाल छ। त्यसैलाई मध्यनजर गरेर गैर-आवासीय नागरिकता दिन तत्परता देखाएको छ। अर्को तर्फ नागरिकताको अभावले बिदेशमा रकम लैजान नसकिएको कुरा सुन्दा कस्तो लाग्छ होला (?) यस्तै कुरो भारत, बर्मा, बंगलादेश र अन्य देशमा रहेका दुई करोड भन्दा बढी नेपाली छन। तिनले यस्तै सोचे वा गरे भने नेपालको अवस्था के होला ? के नेपालको नागरिक बन्न चाहनेले यस्तै सोच्न सुहाउला ? किनकि घरबार बेचेको नेपाली रुपिया त तीनले लैजाने होइनन ? अनेक तिक्डम गरेर बिदेशी मुद्रा नै लानु पर्ने हुन्छ। अनि नेपालको हालत के होला ?

    अनि एनआरएनका पुर्व पदाधिकारी बन्दना कोइरालालाई बोल्न दिईयो। उनले एनआरएनको पदाधिकारी भएर आफुलाई आर्थिक घाटा भएको प्रकाश पारिन। अनि सिता खरेलले आफ्नो भनाइ राख्दै समुहलाई जितको शुभकामना दिइन। त्यस्तै अन्य महिलाहरुले पनि मौकामा चौका हान्दै निकै लामालामा जोडदार भाषण गरे। महिलाहरु निकै कुशल र दमदार भएको जोडदाररुपमा प्रस्तुत गरे। कतिले बुझे, कतिले बुझेनन् थाहा भएन।

    कसैले हर्क साम्पंगसंग तुलना गरेको पनि सुनियो। कसैले बालेन शाहसंग तुलना गरे। अनि आफुलाई तिनैको समकक्षमा राखि बढी से बढी मतदान गर्न माग गरे।

    एकाजना कांग्रेसी बक्ताले सक्षम बिज्ञहरु बिदेशमा रहेकाले नेपालमा फर्की बिकास गर्न आवश्यक भएको बताए। तर तीनले नेपाल भ्रष्टका नेताहरुले गर्दा नै बिज्ञहरु नेपालबाट पलायन भएको नबुझेका रहेनछन्।

    समग्रमा कार्यक्रमलाइ नियाल्दा यो एनआरएनको कार्यक्रम भन्दा पनि काग्रेस कार्यक्रम जस्तो देखिन्थ्यो। यसअघि जितेका पूर्व अध्यक्षत्रय पनि कांग्रेसी नै थिए। अनि तिनले पनि चुनाव पुर्व त्यही सत्यनारायण मन्दिरमा परिचय कार्यक्रम गरेका थिए। त्यहाँ भाषण भट्याउने र सुन्ने नेता नै थिए। अनि चुनावमा उठ्ने र शुभकामना दिने पनि नेता नै थिए। त्यहाँ एनआरएनका आजीवन सदस्यको कुनै मर्यादी थिएन। तिनले एनआरएन सदस्यहरुको मर्का बारे केही कुरा राख्ने समय माग गर्दा पनि बेवास्ता गरिएको थियो।

    स्पष्ट रुपमा कार्यक्रम आयोजक वा संचालक असक्षम र एनआरएन नबुझेका नै देखियो। बाढ्न ल्याइएको घोषणा पत्र समेत बाडिएको देखिएन। न त घोषणा पत्रमा लेखिएको बारे ब्याख्या विश्लेषण नै गरियो।

    एकातिर घोषणा पत्रमा नेपालमा रेमिट्यान्स बढाउने कुरा लेखिएको छ। साथै नेपालमा रेमिट्यान्स पठाउन एनआरएन आईसीसीले आह्वान पनि गरिएको छ। अर्कोतिर गैर-आवासीयले रेमिट्यान्स पठाउँदा बिकृति उत्पन्न भएको र बैंकमा पठाएको रकम सहकारी तिरे पुगेर गैर-आवासीयले दुख खाएको कुरा कुरा आजीवन सदस्यले उठान गर्न समय माग गर्दा पनि समय नदिएर लण्ठाएको पाइयो। त्यस्तै गैर-आवासीयको सुचनाको हक अनुरुप अहिले ललिता निवास काण्डमा के भएको हो सो बारे सदस्यहरुलाई जानकारी गराउन कसैले बोलेको सुनिएन। प्राय: एनआरएनसंग असंबन्धित कुरो मात्र सुनियो।

    यसरी तुक न ताकको छ घण्टा लामो कार्यक्रम गरि बेलुकी ८ बजे सभाध्यक्ष बेद खरेलले कार्यक्रम समापन गरे। अब सर्वसाधारण एनआरएन सदस्यले नभएर नेताहरु र सत्यनारायण्ले नै आशिर्बाद दिएर प्रत्यासी सबैलाई पदाधिकारी बनाई दिउन भन्ने शुभ कामना ! ॐ श्री केशवाय नम:

  • परराष्ट्र मन्त्री थाइल्यान्ड जादै

    परराष्ट्र मन्त्री थाइल्यान्ड जादै

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिट बैठकमा सहभागी हुन आज थाइल्यान्डको बैंकक जाँदैछन् । बिमस्टेक बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास हो । यसलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को स्थानमा भारतले अघि सारेको क्षेत्रीय संगठनको रुपमा पनि लिइन्छ

    बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिट सोमबार हुने तय भएको छ । मन्त्री साउदको सचिवालयका अनुसार उनी मंगलबार फर्कने छन् ।

    बिमस्टेकमा भारत, नेपाल, म्यानमार, थाइल्यान्ड, भुटान, श्रीलंका र बंगलादेश सदस्य मुलुक छन् । यसमा सार्कमा रहेका पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स सामेल छैनन् ।

  • एमाले अध्यक्ष मङ्गलबार कम्बोडिया जाने

    एमाले अध्यक्ष मङ्गलबार कम्बोडिया जाने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार कम्बोडिया जाने भएका छन् ।

    शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्न लागेको जानकारी गराएका हुन् ।

    उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार भ्रमणका क्रममा ओलीले त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्नुका साथै राजनीतिक भेटवार्ता पनि गर्ने कार्यक्रम छ ।

  • राष्ट्रसंघको स्थायी प्रतिनिधिमा लोक बहादुर थापाको नाम सिफारिस

    राष्ट्रसंघको स्थायी प्रतिनिधिमा लोक बहादुर थापाको नाम सिफारिस

    काठमाडौं । सरकारले न्यूयोर्कस्थित राष्ट्रसंघको स्थायी प्रतिनिधिमा लोकबहादुर थापाको नाम सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थापासहित ६ जनाको नाम सिफारिस गरेको हो । उनी अहिले परराष्ट्र मन्त्रालयमा सहसचिव छन् । सरकारले रामप्रसाद सुवेदीलाई जेनेभाका लागि स्थायी प्रतिनिधि सिफारिस गरेको छ ।

  • नेजाद्वारा सम्पादकसँग अन्तरक्रिया

    नेजाद्वारा सम्पादकसँग अन्तरक्रिया

    न्यूयोर्क

    नेजाले उत्तर अमेरिकाबाट सञ्चालित सञ्चारमाध्यमका सम्पादकहरूसँग भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ । उत्तर अमेरिकामा रहेको नेपाली समुदायलाई सूचना सम्प्रेषण गर्न उत्तर अमेरिकामा सञ्चालित नेपाली डायस्पोरा लक्षित सञ्चारमाध्यमहरूको भूमिका महत्त्वपूर्ण रहेको एक कार्यक्रममा औंल्याइएको छ ।

    उत्तर अमेरिकाबाट सञ्चालित नेपाली डायस्पोरा लक्षित सञ्चारमाध्यमका सम्पादकहरूसँग नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले जुलाई ९, २०२३ मा आयोजना गरेको “उत्तर अमेरिकामा सञ्चालित सञ्चारमाध्यमको अवस्था, सम्भावना र चुनौती” विषयक भर्चुअल अन्तरक्रियामा सहभागीहरूले लक्षित वर्गका लागि सूचना सम्प्रेषणमा प्रभावकारी भूमिका निभाएका सञ्चारमाध्यमहरूको व्यावसायिक विकासको सवाल भने चिन्ताको विषय रहेको धारणा राख्नुभयो । समुदायमा रहेर पत्रकारिता गरिरहँदा र समुदायसँग केन्द्रित सञ्चारमाध्यम सञ्चालन गरिरहँदा व्यावसायिक विकासविना यसको निरन्तरताको विषय अहम् चुनौतीको रूपमा रहेको सहभागीहरूको भनाइ थियो ।

    नेपाली भाषाको विस्तार,डायस्पोरामा हुर्कंदो नेपाली पुस्तालाई नेपाली भाषासँग जोड्न, संस्कृति प्रवर्धन र समुदायलाई एकताबद्व बनाउने दिशामा नेपाली डायस्पोरा लक्षित सञ्चारमाध्यमहरूले भूमिका खेल्दै आए पनि अपेक्षाकृत रूपमा गुणात्मक विकास हुन नसकेको भन्दै सहभागीहरूले चिन्ता व्यक्त गर्नुभयो । नेजाले सञ्चारमाध्यमको व्यावसायिक विकास तथा समयसापेक्ष रूपमा प्रविधियुक्त पत्रकारितामा अभ्यस्त बनाउन पत्रकारहरूको क्षमता अभिवृद्धि लक्षित कार्यक्रम गर्न सहभागीहरूको सुझाव थियो ।

    नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता, उपाध्यक्ष सुजन पण्डितको स्वागत मन्तव्य र महासचिव बाबुराम दाहालको सञ्चालनमा भएको कार्यक्रममा संघका संस्थापक अध्यक्ष तथा नेपाली पोष्ट डट कमका प्रधान सम्पादक गिरीश पोखरेल, संघका पूर्वअध्यक्ष तथा एभरेष्ट टाइम्स न्युजका प्रधान सम्पादक आङछिरिङ शेर्पा, नेजाका पूर्वअध्यक्ष एवं ग्लोब नेपाल डट कमका प्रधान सम्पादक गौतम दाहाल, नेजाका पूर्वअध्यक्ष एवं रियल खबर डट कमका प्रधान सम्पादक भोला आचार्यको सहभागिता रहेको थियो ।

    यसैगरी, बीआरटी नेपाल डट कमका प्रधान सम्पादक लोकमणि राई, क्यानाडा खबर डट कमका सम्पादकद्वय बद्री तिमल्सिना र प्रकाश क्षेत्री, डीसी नेपालका विशेष संवाददाता अर्जुन दाहाल, दुरबिन नेपालका सम्पादक शिव नेपाल, घन्टेश्वर अनलाइन डट कमका प्रधान सम्पादक शंकर थापा, हिमालय खबर डट कमका प्रधान सम्पादक बिजय घिमिरे, खसोखास डट कमका सम्पादक दीपक परियार, नेप्लिज डायस्पोरा डट कमका प्रधान सम्पादक सतीश चापागाईं, नेपाल टच डट कमका सम्पादक बेनुप भट्टराई, ओएस नेपाल डट कमका सल्लाहकार सन्दीप चौधरी, सञ्जाल खबर डट कमका प्रबन्ध सम्पादक हरि सुवेदी, यूएस खबर डट कमका प्रधान सम्पादक किशन रेग्मी, सम्पादक ओम आचार्य, विश्व न्युज डट कमका निर्देशक योगेश आदी सहभागी हुनुहुन्थ्यो ।

    यस्तै, अन्तरक्रियामा नेजाका सचिव प्रतिमा बाँस्कोटा, क्षेत्रीय संयोजहरू रोशन अधिकारी, सुपेन्द्र बस्नेत, शंकर थापा, सिर्जना काफ्ले, गोकर्ण लामिछाने, कार्यसमिति सदस्य ईश्वरी न्यौपाने, नेजाका सदस्यहरू सन्तोषी अधिकारी, गोपाल गर्तौला, सञ्चारकर्मी लक्ष्मी क्षेत्रीलगायतको सहभागिता रहेको थियो ।

  • अध्यागमनले एकसाथ ११७ जना कामदारलाई फिर्ता पठाएपछि म्यानपावर कम्पनीको विरोध

    अध्यागमनले एकसाथ ११७ जना कामदारलाई फिर्ता पठाएपछि म्यानपावर कम्पनीको विरोध

    काठमाडौं । म्यानपावर व्यवसायीहरुले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको प्रकरणको विरोध गरेका छन् । शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गर्दै श्रमिकहरुलाई शंकाकै भरमा फर्काएर भएको क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ ।

    संघका अध्यक्ष राजेन्द्र भण्डारीले श्रम स्वीकृति लिएर गएका श्रमिकलाई अन्यायपूर्ण तरिकाले कुवेत जान रोकिएको भन्दै त्यसबाट म्यानपावर व्यवसायीले क्षति बेहोर्नुपरेको बताए । उनले सरकारको एउटा निकायले भिसा जाँच गरेर अनुमति दिने र अर्को निकायले रोक्ने काम गरिएको भन्दै यसमा गलत मनासय पनि रहेको बताए ।

    ‘यसमा हाम्रो र श्रमिकको त्रुटि छैन,’ उनले भने,‘ अध्यागमनमा भिसा नै हेर्न नआउने कर्मचारी र कतिपय गलत मनासय भएका कर्मचारीहरुले दुःख दिएका हुन् ।’बिना कारण वैदेशिक रोजगारीमा जान लागेकालाई रोक लगाउनु जायज नभएको भन्दै व्यवसायीहरुलाई उचित क्षतिपूर्ति दिएर श्रमिकहरुलाई वैदेशिक रोजगारीमा पठाउनु पर्ने माग संघको छ ।

    वैदेशिक रोजगार विभागबाट संस्थागत रुपमा प्रचलित कानून बमोजिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि जान लागेका श्रमिकहरुलाई अध्यागमन विभागका कर्मचारीहरुले गलत सूचना दिने, अनावश्यक दुःख दिई रोजगारीबाट वञ्चित गराउने उद्देश्यबाट प्रेरित भएर हस्तक्षेप गर्नु गलत भएको संघको ठहर छ ।

    वैदेशिक रोजगारमा जाने कामदारको मागपत्र, भिसा, उडान निश्चित भएको हवाई टिकट हेरी जाँचबुझ गरी अन्तिम स्वीकृति दिने अख्तियारी वैदेशिक अध्यागमन कार्यालयको क्षेत्राधिकार नभएर रोजगार विभागको भएको अध्यक्ष भण्डारीले बताए ।

    भिसा र हवाई टिकट बाहेकका अनावश्यक कागजातको जाँच परीक्षण गर्ने, कामदारलाई दुव्र्यवहारका साथ उडान अनुमति नदिई फर्काउँदा कतिपय कामदारको भिषा समाप्त भै रोजगार नै गुम्नेसम्मको अवस्था रहेको बताए । उनले अध्यागमन विभागले अनावश्यक श्रमिक रोक्दा व्यवसायीलाई हवाई टिकटबापत ठूलो आर्थिक क्षति पुगेको बताए ।

    संघका महासचिव मेघनाथ भुर्तेलले अध्यागमनले विना कारण रोक्दा करिब ६० हजार पर्ने टिकट खेर गएको बताए । कम्पनीले कामदार लैजान टिकट नदिने हुँदा श्रमिकलाई समस्या पर्ने बताए । उनले सरकारले यस्ता कार्य तुरुन्त रोकी यस प्रकारका कार्य गर्ने व्यक्तिलाई कानूनी कारबाही गरी व्यवसायी र कामदारलाई परेको क्षतिपूर्ति दिलाउन समेत माग गरे ।

    महिला पुनःस्थापना केन्द्र ९ओरेक०की निमित्त कार्यकारी निर्देशक सुनिता मैनालीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सरकारले रोकेर संविधानमा पाएको अधिकार खोस्ने काम गरेको बताइन् ।

    उनले लामो प्रक्रिया अपनाएर सरकारी निकायले नै दिएको श्रम स्वीकृति लिएर विमानस्थल जाँदा सरकारको अर्को निकायले रोक्नु सरकारी निकायहरुबीच समन्वय नहुदाँ श्रमिकहरुले दुःख पाउन नहुने बताइन् । उनले सरकारले विदेश जान विमान चढ्ने बेलामा सरकारले रोक्नु श्रमिकको आत्मसम्मानमा समेत चोट पुर्याउने काम गरेको जिकिर गरिन् । उनले श्रमिकहरुलाई पुगेको क्षतिपूर्ति राज्यले दिनुपर्ने माग गरिन् ।

    अध्यागमन कार्यालयले २४ असारमा जोर्डन जान लागेका १५ जना श्रमिकलाई पनि रोकेको थियो । भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेतमा जान लगेका १६ जना श्रमिकलाई पनि विमानस्थलबाट फर्काएको थियो । इन्डेक्स म्यानपावरबाट ४७, युथ म्यानपावरबाट ३२ र निलकलम एचआरबाट २४ जना, सुलभ म्यानपावरमार्फत कुवेत जान लागेका ४ जना श्रमिकले रोकिएका थिए।

    विभिन्न कम्पनीहरुमा काम गर्न भन्दै वैदेशिक रोजगार विभागबाट उनीहरूले श्रम स्वीकृति पनि पाइसकेका थिए । तर, अध्यागमनले सोधपुछका क्रममा विदेशमा घरेलु श्रमिकका रुपमा लैजान लागेको देखिएको भन्दै फर्काइदिएको थियो । तर, तिनै भिसा भएकाहरुमध्ये ९ जनालाई शुक्रबार विहान अध्यागमनले कुवेत जान दिइसकेको छ ।

    व्यवसायीहरुले सरकारे यस्तो गतिविधिले श्रमिकको माग ल्याउन समस्या पर्ने बताएका छन् । भिसा जारी भएका श्रमिक समेत रोकेपछि रोजगारदाताले नेपाली श्रमिकको सट्टामा अन्यत्रको श्रमिक लैजाने उनीहरुको दाबी छ । यसले श्रम मामिलामा नेपालको अन्तर्राष्ट्रिय छबि समेत बिग्रने उनीहरुको भनाइ छ ।

  • मलेसियन कम्पनी म्याक्स मनीले नेपालमा रेमिट्यान्स कारोबार गर्न नपाउने

    मलेसियन कम्पनी म्याक्स मनीले नेपालमा रेमिट्यान्स कारोबार गर्न नपाउने

    काठमाडौं । राष्ट्र बैंकले मलेसियन कम्पनी म्याक्स मनीलाई नेपालमा रेमिट्यान्स कारोबारमा प्रतिबन्ध लगाएको छ । यो कम्पनीले रेमिट्यान्स कारोबारबापतको रकम नेपाली इजाजत प्राप्त निकायमार्फत नगरेकाले नेपालको कुनै पनि संस्थासँग कारोबार गर्न नपाउने गरी प्रतिबन्ध लगाएको राष्ट्र बैंकले जनाएको छ ।

    म्याक्स मनीलाई यसअघि पनि प्रतिबन्ध लगाइएकोमा विभिन्न सर्त राखेर प्रतिबन्ध फुकुवा गरी कारोबार सञ्चालन गर्न इजाजत दिइएको थियो । तर फेरि सर्तहरूको बेवास्ता गरी काम गर्न थालेकाले फेरि प्रतिबन्ध गरिएको हुनाले कुनै पनि कम्पनी, सङ्घ–संस्थालगायतले यससँग कारोबार नगर्न–नगराउन राष्ट्र बैंकले अनुरोध गरेको छ ।

  • प्रधानमन्त्री पत्नीको निधनमा मोदीले दिए समवेदना

    प्रधानमन्त्री पत्नीको निधनमा मोदीले दिए समवेदना

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुस्ख व्यक्त गरेका छन् । बुधबार ट्वीटरमार्फत उनले सीता दाहालको निधन भएको खबरले मर्माहत भएको उल्लेख गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना व्यक्त गरेका छन् भने सीता दाहालको आत्माको चीरशान्तिको कामना गरेका छन् ।


    उनले ट्वीटरमा नेपालीमा नै लेखेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । प्रचण्ड प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु । ॐ शान्ति।’

  • भक्तपुरमा १५० शय्याको अस्पताल बनाउन कोरियाले अनुदान दिने

    भक्तपुरमा १५० शय्याको अस्पताल बनाउन कोरियाले अनुदान दिने

    काठमाडौं । भक्तपुरको मध्यपुर थिमीमा १५० शय्याको अस्पताल बनाउन कोरियाले ९५ लाख अमेरिकी डलर खर्चिने भएको छ । अर्थ मन्त्रालय र नेपालीस्थित दक्षिण कोरियाली राजदूतावासबीच अस्पताल परियोजनाका लागि सम्झौता भएको छ । विश्वव्यापी चिकित्सा सेवाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र नेपालस्थित कोरियाली राजदूतावासका राजदूत पार्क ते योङले परियोजना निर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

    कोइकामार्फत ५ वर्षमा (सन् २०२७ सम्म) सम्पन्न हुनेगरी ९५ लाख अमेरिकी डलर (करिब १ अर्ब २३ करोड रुपैयाँ) अस्पताल परियोजनाका लागि खर्च गरिने मन्त्रालयले जनाएको छ । यो परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्यमा कोइका, मध्यपुर थिमी नगरपालिका र हालको ‘नेपाल कोरियामैत्री नगरपालिका अस्पताल’ले कार्यान्वयन गर्नेछन् ।

    मन्त्रालयका अनुसार कोइकाले नेपाल कोरियामैत्री नगरपालिका अस्पताल छेउको जग्गामा १५० शय्याको अस्पताल निर्माण गर्नेछ र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराई अस्पतालका मेडिकल तथा प्रशासनिक कर्मचारीको क्षमता विकास गर्नेछ । अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपालले कोरिया नेपालको नजिकको विकास साझेदारका रूपमा रहँदै आएको उल्लेख गरे ।

  • साउदीमा श्रमिकले अनलाइनबाट गुनासो टिपाउन मिल्ने

    साउदीमा श्रमिकले अनलाइनबाट गुनासो टिपाउन मिल्ने

    काठमाडौं । साउदीमा रहेको नेपाली दूतावासले अनलाइन प्रणालीमार्फत श्रमिकले सबै खाले समस्या र गुनासा टिपाउन मिल्ने अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ । दूतावासले यही सातादेखि रोजगारीका क्रममा समस्यामा परेकाले सहज रूपमा आफ्ना समस्या राख्न सकून् भन्ने उद्देश्यले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो ।

    दूतावासका अनुसार यो प्रणाली सञ्चालनमा आएसँगै अब साउदीमा कार्यरतलाई कुनै अप्ठ्यारो भएमा, गुनासो राख्नु परेमा वा दूतावासको सहयोग चाहिएमा अनलाइनमार्फत नै आफ्ना कुरा राख्न सक्छन् । यो व्यवस्थाले पहिले जस्तो दूतावासको कार्यालय नै पुग्नुपर्ने वा फोन गर्नुपर्ने बाध्यता हटेको छ ।

    दूतावासमा भौतिक उपस्थित हुनुपर्ने वा फोनबाट समस्या राख्दा फोन नउठ्नेलगायतका समस्या श्रमिकले भोग्दै आएका थिए । अब भने अनलाइनमार्फत श्रमिकले राखेका समस्या तथा गुनासोउपर तत्कालै आवश्यक समन्वय थालिने दूतावासले जनाएको छ ।

    दूतावासले समस्या समाधानका लागि के कस्तो पहल र प्रयास गरिरहेको छ भन्ने जानकारी पनि अनलाइनमार्फत नै श्रमिक आफैँले हेर्न सक्ने छन् । आफूले राखेको गुनासोउपर के भइरहेको छ भनेर दूतावासमा सम्पर्क गरिरहन पर्ने बाध्यता पनि यो प्रणालीले हटाएको दूतावासले जनाएको छ ।

  • भारतमा पहिरोमा परि एकै परिवारका तीन नेपालीको मृत्यु

    भारतमा पहिरोमा परि एकै परिवारका तीन नेपालीको मृत्यु

    काठमाडौं । भारतमा पहिरोका कारण एकै घरका तीन जनाको मृत्यु भएको छ। भारतको हिमाञ्चल प्रदेश, सिम्ला जिल्लाको क्यारामा गएको पहिरोमा पुरी तीन जना नेपालीको मृत्यु भएको हो।

    रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका ९ खहरेका ५० वर्षीय देबहादुर वली, उनकी ४८ वर्षीया श्रीमती भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको सोमबार बिहान मृत्यु भएको आफन्त मुकुन्द खड्कालाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । ‘देवबहादुर मेरी ठूली आमाको छोरा दाजु पर्नुहुन्छ,’ खड्काले भनेका छन्, ‘दाजु, भाउजू र उहाँको छोराको पहिरोमा परेको खबर मलाई सँगै रहेका अन्य नेपालीले दिएका हुन्।’

    त्रिवेणी गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर खड्काले पनि बिहान साढे १० बजेदेखि ११ बजेको बीचमा अविरल वर्षापछि झरेको पहिरोको कारण उनीहरूको मृत्यु भएको खबर पाएको बताए। क्यारामा विगत तीन-चार दिनदेखि अविरल वर्षा भइरहेको र उनीहरू कोठाभित्रै रहेको बेलामा पहिरो खसेको वडाध्यक्ष खड्काले बताए।

    वडाध्यक्ष खड्काका अनुसार आमा भिमा र छोरा मोहन २२ दिनअघि मात्रै त्यहाँ पुगेका थिए। देवबहादुर भने गत मंसिरतिर सुरूमा उत्तर प्रदेशको पौरी गएका थिए। त्यहाँबाट उनी पछिल्लो समय सिम्ला पुगेका हुन्। भिमाका जेठा छोरा पनि उनीहरूसँगै बस्ने गरेका थिए। तर पहिरो आएको बेलामा बाहिर भएकाले उनी जोगिएका थिए।

  • जोर्डन उड्नै लागेका १५ जना विमानस्थलबाट फर्काइए

    जोर्डन उड्नै लागेका १५ जना विमानस्थलबाट फर्काइए

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार जोर्डन जान लागेका १५ जना त्यसतर्फ जानबाट रोकिएका छन्। उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ।

    जोर्डन जान लागेकामा एक पुरुष र १४ जना महिला छन्। विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शङ्कास्पद देखिएकाले उनीहरूलाई अध्यागमन विभागबाट खटिएका कर्मचारीले त्यसतर्फ जानबाट रोकेको जानकारी दिए ।

    उनले भने, उक्त विषयमा अध्ययन हुँदैछ, भोलि छलफलका लागि बोलाएका छौँ, व्यवसायीहरू पनि आउनुहोला, अनि उपयुक्त निर्णय हुनेछ।” उनका अनुसार आधिकारिकरूपमा श्रम स्वीकृति नदेखिएको पाइएको छ। उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागको भनाइ छ। रासस

  • कतारी राजासँग नेपाली कार्यबाहक राजदूतको भेट

    कतारी राजासँग नेपाली कार्यबाहक राजदूतको भेट

    काठमाडौं । कतारका लागि नेपाली कार्यवाहक राजदूत कृष्णकुमार सुवेदीले त्यहाँका अमिर (राजा) सँग भेटवार्ता गरेका छन्। इस्लाम समुदायको महान पर्व ‘इद अल अधा’का अवसरमा शुभकामना आदानप्रदान गर्ने क्रममा उनले कतारका अमिर शेख तामिम बिन हमाद अल थानीसँग शिष्टाचार भेट गरेका हुन्।

    उक्त अवसरमा आफूले नेपाल सरकार, नेपाली जनता र आफ्नो व्यक्तिगततर्फबाट कतारी जनता, अमिरको सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेको कार्यवाहक राजदूत सुवेदीले जानकारी दिए। इदका अवसरमा अमिर थानीले कूटनीतिक नियोगका प्रमुखहरूसँग भेटवार्ता एवं शुभकामना आदानप्रदान गर्दै आएका छन्।

    त्यसैगरी कतारका प्रधानमन्त्री मोहम्मेद बिन अब्दुलरहमन बिन जास्सिम अल थानीले पनि कतारस्थित कूटनीतिक नियोगका प्रमुखहरूसँग शुभकामना आदानप्रदान गरेका थिए।

  • राष्ट्रिय योजना आयोगका उपाध्यक्ष चीन प्रस्थान

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष चीन प्रस्थान

    काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ ग्लोबल फर सेयर डेभलपमेन्ट फोरममा सहभागी हुन चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा हुने पहिलो उच्च स्तरीय ग्लोबल फर सेयर डेभलपमेन्ट फोरममा सहभागी हुन डा. श्रेष्ठ शनिबार चीन प्रस्थान गरेका हुन् । उक्त फोरममा विभिन्न २० देशका मन्त्री स्तरीय प्रतिनिधिहरू सहभागी हुँदैछन् ।

    कार्यक्रममा विश्व चर्चित अर्थविद् जेफर स्कास साथै इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आईएफएडी) र फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) जस्ता संस्थाहरूको समेत सहभागिता हुनेछ । फोरममा सहभागिता मुलुक विश्व विकासका लागि विभिन्न एजेण्डामा छलफल गर्ने कार्यक्रम छ । नेपालको प्रतिनिधित्व गर्नुहुँदै उपाध्यक्ष श्रेष्ठले उक्त फोरममा सम्बोधन गर्ने कार्यक्रम छ ।

    आइतबार बेइजिङ फ्रेण्डसीप होटलमा चिनियाँ विकास (सीआईडीसीए) उपमन्त्री डेङ्ख वोइङ र उपाध्यक्षबीच भेटघाट हुनेछ । सोमबार उपाध्यक्षले फोरमको औपचारिक समारोहमा सहभागी हुने तथा सम्बोधन गर्ने कार्यक्रम छ । मङ्गलबार भने उपाध्यक्ष श्रेष्ठ र चिनियाँ उपराष्ट्रपति हान चेङ्खसँग औपचारिक भेटवार्ता हुने छ । सोही दिन राति उपाध्यक्ष श्रेष्ठ स्वदेश फर्किने छन् ।

  • अमेरिकामा नेपाली व्यवसायी भए संगठित

    अमेरिकामा नेपाली व्यवसायी भए संगठित

    काठमाडौं । अमेरिकाको न्युयोर्क, न्युजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय गरेका नेपालीहरु संगठित भएका छन् । व्यवसायिक हकहितकका लागि उनीहरुले ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्स स्थापना गरेका छन् । प्रदीप श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । सदस्यहरूमा नवीन क्षेत्री, लेलिन कँडेल, अमित प्रताप शाह, छेपाक दोर्जे गुरुङ, माम्पी घोष, अन्जन श्रेष्ठ, गोविन्द लामा, मनिता देवि गुरुङ, दीपक श्रेष्ठ र च्छोमो डजेल रहेका छन ।

    सल्लाहकार समितिमा कानुन व्यवसायी खगेन्द्र जिसी, डा विनोद शाह, नवीन शेरचन, नवराज केसी, पासाङ नुरु शेर्पा र जंगबहादुर बम छन् । अमेरिकामा नेपाली मुलका व्यवसायीहरूलाई एकजुट बनाउँदै व्यवसायीहरुको हक र हितका लागि संस्था स्थापना गरिएको सस्थापक अध्यक्ष श्रेष्ठले बताए । तदर्थ समितिले तीन महिनाभित्र सदस्यता वितरण गरेर अधिवेशन गर्ने अभियान सुरु गरेको छ ।

  • एनआरएनए अध्यक्षले भेटे प्रधानमन्त्री

    एनआरएनए अध्यक्षले भेटे प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीसँगको भेटमा नागरिकता ऐनको निर्देशिका र कार्यविधि छिटो निर्माण गरेर गैरआवासीय नेपाली नागरिकताको प्रावधान कार्यान्वयनका लागि उनले अनुरोध गरे । बिहीबार प्रधानमन्त्री प्रचण्डसँगको भेटमा अध्यक्ष आचार्यको नेतृत्वमा संघको प्रतिनिधि मण्डलले यस्तो अनुरोध गरेको हो।

    भेटमा प्रधानमन्त्री प्रचण्डले निर्देशिका र कार्यविधि निर्माणको काम अन्तिम चरणमा रहेको र छिट्टै सम्पन्न हुने विश्वास दिलाउनुभएको जानकारी अध्यक्ष आचार्यको सचिवालयले दिएको छ । यसअघि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेर एनआरएन प्रतिनिधि मण्डलले संघको तर्फबाट आफ्ना सुझाव पेश गरेको थियो। भेटमा गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलगायत अन्य वरिष्ठ अधिकारीको सहभागिता थियो।

  • बाकुमा भेटघाटमा व्यस्त परराष्ट्रमन्त्री

    बाकुमा भेटघाटमा व्यस्त परराष्ट्रमन्त्री

    काठमाडौं । असंलग्न आन्दोलन (नाम) को समन्वय ब्युरोको बैठकमा सहभागी हुन अजरबैजानको राजधानी बाकु पुगेका परराष्ट्रमन्त्री एनपी साउदले बुधबार बैठकलाई सम्बोधन गरेका छन् । यसका साथै उनी विभिन्न मुलुकका मन्त्री तथा राज्यमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्तामा व्यस्त छन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री साउदले मलेसिया र भेनेजुयलाका परराष्ट्रमन्त्री, इथोपियाका परराष्ट्र राज्यमन्त्री र भियतनामका उपपरराष्ट्रमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरे । उक्त भेटवार्तामा द्विपक्षीय चासो र हितका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । उनी मंगलबार त्यसतर्फ गएका हुन् । सोमबारदेखि सुरु भएको बैठक बिहीबार सकिनेछ । मन्त्री साउद शनिबार नेपाल फर्कने कार्यक्रम छ ।

  • माधव नेपालले भेटे श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री

    माधव नेपालले भेटे श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री

    काठमाडौं । श्रीलङ्का भ्रमणमा रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन्।
    बुधबार श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमसिङ्घेको निवासमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धका विभिन्न पक्षमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।

    यस्तै अध्यक्ष नेपालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवर्द्धनेसँग पनि बुधबार साँझ भेटवार्ता गरे। प्रधानमन्त्री निवासमा भएको भेटमा दुई देशको भाइचारा सम्बन्ध, एशियाका मुलुकमा विकसित घटनाक्रमबारे वार्ता भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।

    भेटमा नेपाल र श्रीलङ्काबीच पुरानो मित्रता रहेको बताउँदै दुवै देशले एकअर्कालाई आवश्यक सरसहयोग गर्न सकिने विषयमा पनि छलफल भएको बताइएको छ। अध्यक्ष नेपाल श्रीलङ्कन कम्युनिष्ट पार्टीको ८०औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एशियाका कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन सोमबार श्रीलङ्का प्रस्थान गरेका थिए।

    rss

  • परराष्ट्र मन्त्री अजरबैजान जाने

    परराष्ट्र मन्त्री अजरबैजान जाने

    काठमाडौं । असंलग्न आन्दोलनको एक बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद अजरबैजान जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी मंगलबार बिहान अजरबैजानतर्फ लाग्नेछन् । मन्त्री साउदले अजरबैजानमा असंलग्न आन्दोलनको समन्वय ब्युरोको बैठकमा सहभागिता जनाउनेछन् । अजरबैजानको राजधानी बाकुमा सोमबारदेखि उक्त कार्यक्रम सुरु भइसकेको छ । मन्त्री साउदले बुधबार उक्त कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    बिहीबार असंलग्न आन्दोलनअन्तर्गतको समन्वय ब्युरोको बैठक सकिनेछ । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको समयमा मन्त्री साउदले विभिन्न मुलुकका प्रतिनिधि तथा कार्यक्रममा नेतृत्व गरेर आएका टोलीका प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । मन्त्री साउद शनिबार नेपाल फर्कने कार्यक्रम छ ।

  • श्रीलंका गए माधव नेपाल

    श्रीलंका गए माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल श्रीलंका गएका छन् । श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रम र दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरुको बैठक र सम्मेलनमा भाग लिन अध्यक्ष नेपाल श्रीलंका गएका एकीकृत समाजवादीले जनाएको छ । सम्मेलनमा नेपालले मन्तव्य दिनेछन् ।

    अध्यक्ष नेपाल श्रीलंका गएका बेला एकीकृत समाजवादीको कार्यबाहक अध्यक्षको जिम्मा उपाध्यक्ष राजेन्द्र पाण्डेले पाएका छन् ।

  • गृहमन्त्री स्वदेश फिर्ता

    गृहमन्त्री स्वदेश फिर्ता

    काठमाडौं । जनवादी चीनको पाँचदिने भ्रमण पुरा गरी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किएका छन्। उनलाई छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त सरकारका उपमहासचिव सियाओ फङ्ग , चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सचिव सी छयी र छेन्दुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले बिदाइ गरे। सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ बुधबार चीनको सिचुवान प्रान्त भ्रमणमा गएका थिए। भ्रमणका क्रममा उनले चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता गरेका थिए।

    भेटवार्तामा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउनेबारेमा विचार–विमर्श भएको थियो। उपप्रधानमन्त्री श्रेष्ठले छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए । उनले सिचुवान विश्वविद्यालयमा आयोजित कार्यक्रममा नेपाल–चीन सम्बन्धका बारेमा सम्बोधन मन्तव्य दिएका थिए।

    यस्तै सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफल गरी उनले छेन्दु–काठमाडौँ रुटमा हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा उडान सुरु गर्न आग्रह गरेका थिए। छेन्दुमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिधिमण्डलले सन् २००८ को भूकम्पबाट ठूलो क्षति व्यहोरेको सिचुवान प्रान्तको वान चोन काउन्टीको पुनःनिर्माण तथा भूकम्पीय सङ्ग्रहालयको अवलोकन गरेको थियो। नेपाली प्रतिनिधिमण्डलले जिपिङ जलविद्युत् केन्द्र तथा दुजियाङ सिँचाइ प्रणालीको अवलोकन गरेको थियो । रासस

  • साउदीमा अमेरिकी दूतावासबाहिर गोली चल्दा एक नेपालीको मृत्यु

    साउदीमा अमेरिकी दूतावासबाहिर गोली चल्दा एक नेपालीको मृत्यु

    काठमाडौं । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ । बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि गरेको अलजजिराले जनाएको छ ।

    समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो । त्यही गोलीबारीमा बन्दुकधारी र नेपाली सुरक्षा गार्ड गरी दुई जनाको मृत्यु भएको अलजजिरामा उल्लेख छ ।

    मृत्यु भएका नेपाली सुरक्षागार्डको नाम ठेगाना खुलेको छैन । साउदी प्रेस एजेन्सी (एसपीए)ले पनि घटनामा अमेरिकी वाणिज्य दूतावासको सुरक्षामा खटिएका नेपालीको मृत्यु भएको जनाएको छ । यो घटनामा अमेरिकी नागरिकलाई केही पनि नभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी अधिकारीहरु साउदी अरबका अधिकारीहरुसँग सम्पर्कमा रहेको र घटनाको अनुसन्धान गरिरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

    जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास सन् २०१६ मा पनि निशानामा परेको थियो । अमेरिकी दूतावास नजिकै एक जनाले आत्मघाती बम विस्फोट गराउँदा आत्मघाती आक्रमणकारीको मृत्यु हुनुका साथै दुई जना घाइते भएका थिए ।

  • प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका उपमहासचिव बीच भेट

    प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका उपमहासचिव बीच भेट

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र सङ्घका शान्ति कार्य (पिस अपरेसन) सम्बन्धी उपमहासचिव निज पियरे लाक्रोइसले शिष्टाचार भेट गर्नुभएको छ ।

    बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र उपमहासचिव लाक्रोइसबीच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेट संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपालको योगदानलगायत नेपाल–संयुक्त राष्ट्र साझेदारीमा केन्द्रित रहेको थियो ।

  • चिनियाँ धनाढ्य ज्याक मा काठमाडौंमा

    चिनियाँ धनाढ्य ज्याक मा काठमाडौंमा

    काठमाडौं । चिनियाँ उद्यमी एवं अलिबाबा ग्रुपका संस्थापक ज्याक मा काठमाडौं आएका छन् । उनी सवार विमान बोइङ ७३७ म्याक्स २ बजेर ३० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएयको छ । उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुगेका हुन् । स्रोतका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ ।

    विश्वको ठूलो मध्येको एक इ–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक माको पूरा नाम ज्याक मा युन हो । चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बारमा रहेका उनी विश्वका डलर अर्बपतिहरुको सूचीमा ६३ औं स्थानमा छन् । उनी तीन दिन नेपालमा रहने र चितवन घुम्ने कार्यक्रम छ ।

    फोर्ब्सका अनुसार आजको दिनमा उनको रियलटाइम सम्पत्ति २३.५ बिलियन अमेरिकी डलर छ । विज्ञान र कलामा स्नातकसम्म अध्ययन गरेका उनी ५८ वर्षका मात्रै भए । इकमर्स बिजनेसमा आउनुअघि उनी ह्वाङजाउमा अंग्रेजी विषयका शिक्षक थिए । उनले अलिबाबा १९९९ स्थापना गरेका थिए ।

    चीन बाहिर चिनियाँ बैभवको बिम्बका रुपमा ज्याकलाई लिने गरिन्थ्यो । तर, उनी सन् २०२० को सुरुवाततिरबाट अचानक सार्वजनिक जीवनबाट हराएका थिए । चीन सरकारका नीतिप्रति सार्वजनिकरुपमा आलोचना गरेपछि उनको कम्पनीले ल्याउन लागेको आईपीओ चीन सरकारले रद्द गरिदिएको थियो ।

    उनलाई नजरबन्दमा राखिएको हल्लाकै वीच गत मार्च महिनामा उनी जापानमा देखिएका थिए । चीन सरकारसँग बिबाद भएर आईपीओ रोकिएयता उनी सार्वजनिक जीवनबाट टाढा गुमनाम बस्दै आएका छन् । उनी परिवारसहित टोक्योमा बसिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

  • अष्ट्रेलियाबाट नेपालका पुरातात्विक वस्तु नेपाल फिर्ता ल्याइने

    अष्ट्रेलियाबाट नेपालका पुरातात्विक वस्तु नेपाल फिर्ता ल्याइने

    काठमाडौं । अष्ट्रेलियाको ‘नेशनल ग्यालरी’मा रहेका नेपाली पुरातात्त्विक महत्त्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएको छ । नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति विभिन्न माध्यमबाट क्यानबेरास्थित नेशनल ग्यालरी अफ अष्ट्रेलिया पुगेका थिए । नेशनल ग्यालरीले नै कलाकृति नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो । यसरी हस्तान्तरण गरिएका चार थान काठका कलाकृति साङ्ग्रिला इन्टरनेशनल फ्रेट प्रालिले नेपाल ल्याउन लागेको हो ।

    कूल २२ सेन्टिमिटर उचाइ ४३ दशमलव छ सेन्टिमिटर चौडाइ र ११ सेन्टिमिटर गहिराइको सानो आयातकार प्यानल एउटा र तीनवटा विभिन्न साइजका ‘आर्क’ शैलीका प्यानल छन् । पुरातात्त्विक महत्त्वका कलाकृतिलाई जम्मा तौल २६ केजी रहेको साङ्ग्रिला कार्गोका कार्यकारी निर्देशक सौगात सिंहले जानकारी दिए । नेपाल ल्याएपछि ती पुरातात्त्विक महत्त्वका कलाकृतिहरू पुरातत्त्व विभागमा राखिनेछ । रासस

  • काठमाडौं–बेइजिङ रुटमा हिमालयले थाल्यो नियमित उडान

    काठमाडौं–बेइजिङ रुटमा हिमालयले थाल्यो नियमित उडान

    काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–बेइजिङ नियमित उडान सुरू गरेको छ। एयरलाइन्सले कोभिडले रोकिएको यो रूटको उडान गत शनिबारबाट नियमित थालेको जनाएको छ। यससँगै अब हरेक शनिबार एयरलाइन्सले काठमाडौं–बेइजिङ–काठमाडौं उडान गर्नेछ। चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले दुई राष्ट्रबीच बढ्दो मित्रता र सहयोगको प्रतिनिधित्व गर्दै हिमालय एयरलाइन्सको पहिलो उडानबाट बेइजिङको यात्रा गरेका थिए।

    हिमालय एयरलाइन्सले सुरक्षित, भरपर्दो र आरामदायी हवाई यात्रा प्रदान गर्दै आएको छ र काठमाडौं–बेइजिङ–काठमाडौं रुटद्वारा एयरलाइन्सले आफ्नो सञ्जाल विस्तार गर्दै प्रमुख गन्तव्यहरूबीच कनेक्टिभिटी बढाउने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। ‘काठमाडौं र बेइजिङबीचको निर्धारित उडान सुरू गर्न पाउँदा हामी हर्षित छौं।

    यस क्षेत्रका दुई प्राचीन राजधानीहरूलाई जोड्न र साथै दुई देशबीचको पर्यटन विकासलाई पुनर्जीवित गर्न समेत यसले प्रभावकारी भूमिका निर्वाह गर्ने हुँदा कोभिड–१९ को महामारीपछि यस रुटमा उडानहरू पुनः सुरू हुनु महत्वपूर्ण छ,’ एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने।

    यो उडान सेवाले बेइजिङ र काठमाडौं घुम्न चाहने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प प्रदान गर्ने एयरलाइन्सले बताएको छ। यात्रुहरूले हिमालय एयरलाइन्सको टिकटिङ काउन्टरबाट काठमाडौं–बेइजिङ–काठमाडौं उडानको टिकट बुकिङ गर्न सक्नेछन्।

  • काठमाडौंबाट स्वीट्जरल्याण्ड उड्न लागेका व्यक्तिको साथबाट ९ किलो चरेस बरामद

    काठमाडौंबाट स्वीट्जरल्याण्ड उड्न लागेका व्यक्तिको साथबाट ९ किलो चरेस बरामद

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत इस्तानबुल हुँदै स्वीट्जरल्याण्ड जान लागेका एक व्यक्तिको साथमा झण्डै ९ किलो चरेश बरामद भएको छ।
    विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ ब्यागेज चेकिङ एरियामा माल्दोभाका नागरिक ४१ वर्षीय डेनिस कुक्रेभीको साथबाट अवैध लागूऔषध चरेश ८ केजी ७ सय ४० ग्राम बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

    कुक्रेभीले आफूलाई अनलाइनमा विदेशी मुद्राको सटहीको काम गर्ने व्यक्तिका रुपमा चिनाएका थिए । टर्किस एयरलाइन्सको उडानमार्फत स्तानबुल हुँदै स्वीजरल्याण्ड जान लागेका उनी पक्राउ परेका हु्न् । प्रहरीका अनुसार उनको लगेजभित्र फल्सबटम भेटिएको छ, जसमा खैरो रंगको प्लास्किले र्‍यापिङ गरेर चरेश लैजान लागिएको अवस्थामा बरामद गरिएको हो। उनलाई चरेश विक्री गर्ने व्यक्तिको खोजी भइरहेको ब्यूरोले जनाएको छ।

  • गृहमन्त्री चीन जाने

    गृहमन्त्री चीन जाने

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । मंगलबार साँझ ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जाने उनको सचिवालयमा जानेछन् ।

    चीनको छेन्दुमा हुने एक व्यापार मेलामा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् । उनको टोलीमा गृह मन्त्रालयका केही सहसचिवहरु पनि रहनेछन् ।

    भ्रमणका क्रममा केही भेटघाट र विश्वविद्यालय भ्रमण लगायतको कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । श्रेष्ठ ४ दिन छेन्दुमै रहने र त्यसपछि नेपाल फर्किनेछन्

  • नेपाल र मार्सल आइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना

    नेपाल र मार्सल आइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना

    काठमाडौं । नेपालले मार्सल आइल्यान्डसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । शुक्रबार न्युयोर्कमा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
    न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको लागि नेपालका राजदूत अमृतकुमार राई र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको लागि मार्सल आइल्यान्डकी राजदूत अमातलेन एलिजाबेथ काबुआले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त पत्रमा हस्ताक्षर गरेका हुन् ।

    हस्ताक्षर समारोहमा दुई राजदूतले विभिन्न साझा चासोमा छलफल गरेको न्युयोर्कस्थित नेपाली दूतावासले जनाएको छ । यससँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको संख्या १८१ पुगेको छ । नेपालले गत बिहीबार मात्र अफ्रिकी मुलुक क्यामरुनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । त्यसअघि मे ४ मा नाउरु, फेब्रुअरी १६ मा मलावी र गत वर्ष जुन १६ मा ट्रिनिडाड एन्ड टोबागो र अप्रिल १ मा बेलिजसँग कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले सबैभन्दा पहिला सन् १८१६ मा बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । त्यसपछि सन् १९४७ मा अमेरिकासँग र भारतसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो ।

    अस्ट्रेलिया र हवाईको बीचमा रहेको मार्सल आइल्यान्ड ज्वालामुखी द्वीपहरूको समूहबाट बनेको मुलुक हो । मार्सल आइल्यान्ड सन् १९८६ मा मात्र अमेरिकाबाट स्वतन्त्र भएको थियो । त्यसअघि सन् १९१४ मा मार्सल आइल्यान्डमाथि जापानले कब्जा गरेको थियो । सन् १९१९ पछि भने त्यहाँको प्रशासन लिग अफ नेसन्सको म्यान्डेटअनुसार चल्यो ।

    दोस्रो विश्वयुद्धमा भने अमेरिकाले मार्सल आइल्यान्डमाथि कब्जा जमायो । सन् १९७९ मा मार्सल आइल्यान्डले आफ्नै संविधान बनायो भने सन् १९८६ मा अमेरिकासँग फ्री एसोसियसन सम्झौतामा हस्ताक्षर गर्दै स्वतन्त्र मुलुकका रूपमा स्थापित भयो । सन् १९९१ मा मार्सल आइल्यान्डले संयुक्त राष्ट्र संघको सदस्यता लिएको थियो ।

    मार्सल आइल्यान्डको कूल क्षेत्रफल जम्मा १४१ वर्गकिलोमिटर मात्र रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार मार्सल आइल्यान्डको जनसंख्या करिब ४३ हजार९सन् २०२० को तथ्यांकअनुसार० रहेको छ भने प्रतिव्यक्ति आय करिब ४ हजार अमेरिकी डलर रहेको छ ।

    गणतन्त्रात्मक मुलुक रहेको मार्सल आइल्यान्डका वर्तमान राष्ट्रपति डेभिड काबुआ हुन् । नितिजेला नामक मार्सेलिज संसद्‍मा ३३ जना सांसद रहन्छन् भने उनीहरूको कार्यकाल ४ वर्षको हुन्छ । राजधानी कापुरो रहेको मार्सल आइल्यान्डको मुख्य आम्दानीको क्षेत्र भनेको नरिवल, माछा, पर्यटन र क्युरियो सामग्री हुन् ।