Category: डायस्पोरा

  • गैरआवासीय नेपाली संघ अमेरिकाको अब आफ्नै भवन

    गैरआवासीय नेपाली संघ अमेरिकाको अब आफ्नै भवन

    काठमाडौं । गैर आवासीय नेपाली सङ्घ, अमेरिकाले करिब तीन लाख डलरमा भवन खरिद गरेको छ । एक समारोहबिच मुटुरोग विशेषज्ञ डा.भगवान् कोइरालाले उक्त भवनको उद्घाटन गरे । उद्घाटनपछि छोटो मन्तव्य व्यक्त गर्दै डा. कोइरालाले एनआरएनले नयाँ भवन खरिद गर्नु एक नयाँ आयाम भएको बताए । उनले आगामी दिनमा एनआरएनले महत्त्वपूर्ण काम गर्न सकोस् भन्ने कामना गर्दै एनआरएनलाई आफूहरूको सधैँ साथ र सहयोग रहने बताए ।

    समारोहमा उपस्थित डा. रमेशकान्त अधिकारीले बधाई र खुसी व्यक्त गरे । भवन खरिद एनआरएन अभियानमा लागेका सबैजनाका लागि यो खुसीको कुरा भएको बताएका छन् । उनीहरुले आगामी दिनमा एनआरएन अमेरिकाले महत्त्वपूर्ण काम गर्ने अपेक्षा व्यक्त गरे । भर्जिनिया क्षेत्रका एनआरएनमा सक्रिय मानिसहरू भवन खरिदपछि खुसी भएका छन् । एनआरएन भर्जिनिया च्याप्टरका पूर्व अध्यक्ष तथा आइसिसी सदस्य गोविन्द सुवेदीले एनआरएन अमेरिकालाई धन्यवाद दिँदै यो एक ऐतिहासिक उपलब्धि र सफलता भएको बताए ।

  • प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तालिका यस्तो छ…

    प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तालिका यस्तो छ…

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि आज भारतको नयाँदिल्ली जाँदैछन् । प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्नेछ । भारत प्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ः२५ मा पत्रकार सम्मेलन गर्ने छन् ।

    नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि प्रधानमन्त्री प्रचण्ड दिउँसो साढे ३ बजे सरदार पटेल मार्गमा रहेको होटल मौर्यमा पुग्ने छन् । प्रचण्डसहितका अतिथिहरुलाई भारत सरकारले होटल मौर्यमै बस्ने व्यवस्था मिलाएको छ ।


    सो होटलमा साँझ ६ बजे भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले छुट्टा छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले प्रधानमन्त्री प्रचण्डसँग करिब आधा घण्टा छलफल गर्ने समय निर्धारण गरिएको छ ।

    त्यसपछि भोलि (जेठ १८ गते) बिहान साढे १० बजे प्रधानमन्त्री प्रचण्ड राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा जानेछन् । त्यहाँ पुष्पहार अर्पण गरेपछि हैदरावाद हाउसमा फर्किनेछन् । नेपाल र भारतबाट सार्वजनिक गरिएको प्रधानमन्त्री प्रचण्डको भ्रमण तालिकामा भारतका विपक्षी लगायत दलका अन्य नेताहरुसँग भेट्ने कि नभेट्ने भन्ने उल्लेख छैन ।

    हैदरावाद हाउसमा बिहान ११ बजे प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ । प्रचण्ड र मोदीबीच आधा घण्टा भेट्ने समय छुट्याइएको छ ।

    त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन् । प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । सोही दिन मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । सोही दिन प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्नेछन् । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ ।

    त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्तरुपमा आयोजना गरेको नेपाल(भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

    यसैगरी भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि प्रधानमन्त्री प्रचण्डले भेटघाट गर्ने कार्यक्रम छ ।

    नेपाल र भारतबाट सार्वजनिक गरिएको प्रधानमन्त्री प्रचण्डको भ्रमण तालिकामा भारतका विपक्षी लगायत दलका अन्य नेताहरुसँग भेट्ने कि नभेट्ने भन्ने उल्लेख छैन ।

    भ्रमणको तेस्रो दिन शुक्रबार (जेठ १९ गते) प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको उज्जैन र इन्दोर भ्रमणमा जानेछन् । चौथो दिन (जेठ २० गते) शनिबार इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्ट र विशेष आर्थिक क्षेत्रको भ्रमण गरेर दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली फर्किने छन् ।

    सोही दिन नयाँदिल्लीबाट नेपाल एयरलाइन्सको अपराह्न ४ः२० को उडानबाट उनी काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, प्रचण्डकी छोरी गंगा दाहाललगायत छन् ।

  • पशुपतिनाथ तथा बुद्ध मन्दिरमा लघुरुद्री र होम गर्ने धार्मिक कार्य सम्पन्न

    पशुपतिनाथ तथा बुद्ध मन्दिरमा लघुरुद्री र होम गर्ने धार्मिक कार्य सम्पन्न

    सुपेन्द्र बस्नेत, बोष्टन

    अमेरिकाको ऐतिहासिक सहर बोष्टनमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा लघुरुद्री(१२१ पाठ) लगाउनुका साथै “विशेष होम” गर्ने धार्मिक कार्य सम्पन्न भएको छ। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्लैण्ड(प्याब्फोन-PABFONE)द्वारा आयोजित बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ अन्तर्गत मे २९ तारिख सोमवारका दिन उक्त धार्मिक कार्य सम्पन्न गरिएको हो। मे २७ तारिखदेखि शुभारम्भ भएको मुख्य कार्यक्रमको तेश्रो दिन, पूर्व कार्यतालिका अनुसार नै लघुरुद्री गरिएको थियो। एकादशिनि रुद्रीको एघार पटक पुनरावृत्ति पाठ गर्नुलाई लघुरुद्री भनिन्छ। यसअघि नै, धार्मिक कार्य सम्पन्न गर्ने जिम्मेवारी सम्हालिरहेका पण्डितहरुले पशुपतिनाथ र बुद्ध मन्दिरमा नियमित पूजा पाठ गर्नुका साथै धार्मिक विधि अनुसार भगवान शिवको मूर्तिमा प्राण प्रतिष्ठा विशेष पूजा गरेका थिए। बृहत कार्यक्रम अन्तर्गत पशुपतिनाथ मन्दिर तर्फको पूजा पाठको मुख्य जिम्मेवारी सम्हाल्दै आएका पूजा संयोजक हरिप्रसाद काफ्ले(शैव)ले सोमवार सम्पन्न कार्यक्रमको संक्षिप्त जानकारी दिए अनुसार सोमवार घृताधिवासमा रहेका भगवान पशुपतिनाथलाई अन्नाधिवास, औसध्याधिवास र पु्ष्पाधिवासमा राखिएको थियो। मे ३० तारिखमा भगवानलाई बस्त्राधिवास र सैय्याधिवासका लागि अनुरोध गरिने छ।

    सोमवारको कार्यक्रम निकै उत्साहजनक, गर्विलो, प्रभावकारी र फलदायी भएको जिकीर गर्दै काफ्लेले भने,’ कार्यक्रम निकै उत्साहजनक र गर्व गर्न लायक रह्यो। सारमा भन्नु पर्दा सोमवारको कार्यक्रम निकै प्रभावकारी र फलदायी भयो।’

    कार्यक्रममा श्रध्दालु भक्तजनहरुको उल्लेखनीय सहभागिता रहेकोमा हर्ष व्यक्त गर्दै उनले भने, ‘चुम्बकमा फलाम घोटिरह्यो भने त्यो फलामले पनि चुम्बकको काम गर्न थाल्छ। त्यस्तै झल्को देखियो साोमवारको कार्यक्रममा। बोस्टन सप्ताहको झल्को दिने गरी नेपाली समुदायले कार्यक्रमलाई सफल बनाउन साथ, सहयोग दिनुका साथै सक्रिय सहभागिता जनाइरहेका छन्। जो अत्यन्त कदरयोग्य छ। त्यसका लागि नमन गर्न चाहन्छु।’

    पशुपतिनाथ मन्दिरतर्फका पूजा संयोजक काफ्लेका अनुसार सोही दिन मन्दिरको बाहिरपट्टीको प्राङ्गणमा हिन्दू धार्मिक विधि अनुसार विशेष होम गर्ने कार्य पनि सम्पन्न गरिएको थियो।

    कार्यक्रममा उल्लेखनीय संख्यामा सहभागी भएका श्रद्धालु भक्तजनहरुले मन्त्रमुग्ध भएर पूजा, पाठ, ध्यान, जप, आराधन गर्दै धार्मिक कार्यमा सक्रिय सहभागिता जनाएका थिए। यसै सिलसिलामा भजन कीर्तन टोलीले भजन कीर्तन गरेका थिए। भने, श्रद्धालु भक्तजनहरुले पनि मन खोलेर नाँच्दै गाउदै भजन कीर्तन टोलीलाई साथ दिएका थिए। साँझ पख दैनिक गरिने आरती सम्पन्न गरिएको थियो।र, अन्तमा भगवान गौतम बुद्धलाई श्रध्दाका साथ स्मरण गर्दै ५ मिनट ध्यान गरेर २९ तारिखको कार्यक्रमलाई बिट मारिएको थियो।

    ४ दिने बृहत धार्मिक तथा सामाजिक कार्यक्रमको अन्तिम दिन अर्थात मे ३० तारिख मंगलवारका दिन, पशुपतिनाथ, गौतम बुद्ध लगायत भगवानहरुको मूतिहरुमा प्राण प्रतिष्ठा गर्ने कार्य सम्पन्न गर्ने, लाख बत्ती बाल्ने, दान दिने, ब्रतबन्ध गर्ने लगायत धार्मिक कार्य सम्पन्न गर्ने गरि कार्यक्रम तालिका बनाइएको छ। त्यसैगरी, सोही दिन औपचारिक कार्यक्रम गरी सामुदायिक भवनको विधिवत् समुद्घाटन गरिनेछ ।र, साँझ भजन कीर्तनसहित उत्सव मनाउदै खुशीयाली साटासाट गर्ने योजना रहेको आयोजकले जनाएको छ।

  • भारतीय संसदको नक्साबारे आधिकारिकता बुझ्छु : प्रधानमन्त्री

    भारतीय संसदको नक्साबारे आधिकारिकता बुझ्छु : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको नयाँ संसद भवनमा राखिएको नयाँ नक्साको आधिकारिकता बुझ्ने बताएका छन्। भारतीय संसद भवनको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगरको नाम समेत उल्लेख भएको विषयमा मंगलबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा कुरा उठेको थियो। सांसदहरु पूर्णबहादुर घर्ती, लेखनाथ दाहाल, माधव सापकोटा लगायतले नेपाली भूमि भारतको नक्सामा समावेश भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। प्रचण्डको जवाफ उद्धृत गर्दै एक सांसदले भने, ‘मैले पनि न्युज सुनेको हुँ, थप बुझौंला। आधिकारिकता के हो बुझ्छु।’

    सांसद लेखनाथ दाहालले संसदीय दलको बैठकमा भारतको संसद भवनमा राखिएको नक्साको विषय उठेको तर आधिकारिकता पुष्टि नभएको बताएका छन् । उनका अनुसार सहमति हुने तर कार्यान्वयन नहुने सम्झौता नगर्न प्रधानमन्त्री प्रचण्डलाई सांसदहरुको सुझाव छ। ‘सहमति गर्ने कार्यान्वयन नहुने नहोस्। यही वर्ष कार्यान्वयन हुने मात्रै सहमति गरौं। मल कारखाना, उर्जा र हवाई रुटको कुरामा केन्द्रित हुँदा कार्यान्वयन हुने र प्रतिफल प्राप्त हुनसक्ने हुन सक्छ’, सांसदहरुको सुझावबारे दाहालले भने। प्रधानमन्त्री प्रचण्ड चारदिने भ्रमणका लागि बुधबार भारत जाँदैछन्।आफ्नो भ्रमणबारे जानकारी गराउँदै उनले नकारात्मक र तत्काल कार्यान्वयन नहुने विषय अगाडि नबढ्ने बताएका छन्।

  • विदेश अध्ययनमा जाने विद्यार्थीसँग लिइने सेवा शूल्क बढ्यो

    विदेश अध्ययनमा जाने विद्यार्थीसँग लिइने सेवा शूल्क बढ्यो

    काठमाडौं । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा लाग्ने कर बढेको छ । आज संसदमा प्रस्तुत भएको आर्थिक विधेयक २०८० ले शिक्षा सेवा शूल्क बढाएको हो । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शूल्कवापत विदेशी सटही सुविधा दिँदा त्यस्तो सटही रकममा लाग्ने शिक्षा सेवा शूल्क तीन प्रतिशत पु¥याइएको छ ।

    यसअघि दुई प्रतिशत रहेकोमा एक प्रतिशत बिन्दुले बढाएर तीन प्रतिशत पुर्‍याइएको हो । सरकारले शैक्षिक परामर्शदातामार्फत विदेशमा अध्ययन गर्न नो अब्जेक्सन सर्टिफिकेट लिँदा र विदेशी विश्वविद्यालयमा बैंकबाट विदेशी मुद्रा पठाउँदा सम्बन्धित शैक्षिक परामर्श संस्थाको स्थायी लेखा नम्बर अनिवार्यरुपमा उल्लेख गर्नुपर्ने व्यवस्था समेत गरेको छ ।

  • अखण्ड भारतको नाममा भारतले संसद भवनमा राखेको नक्साप्रति नेपालको आपत्ति

    अखण्ड भारतको नाममा भारतले संसद भवनमा राखेको नक्साप्रति नेपालको आपत्ति

    काठमाडौं । भारतले अखण्ड भारतको नाममा आफ्नो नयाँ संसद भवनमा राखेको नक्साप्रति नेपालमा तिव्र विरोध सुरु भएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्साले नेपाल लगायतका छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्ने बताएका छन् । त्यसैले सो नक्साको अभिप्रायबारे भारतीय नेतृत्वले जानकारी दिनुपर्ने उनले उल्लेख गरेका छन् ।

    भारतले हालै उदघाटन गरेको नयाँ संसद भवनमा ‘अखण्ड भारत’को नाममा नक्सा राखिएको छ । सो नक्सामा नेपाल र पाकिस्तानका भूभागसमेत उल्लेख छ । नक्साभित्र नेपालका लुम्बिनी र कपिलवस्तु तथा भारतबाट छुटेर बनेको पाकिस्तानको तक्षशिलालाई स्पष्ट देखाइएको छ ।


    यसबारे पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘अखण्ड भारतको विवादास्पद नक्साले नेपाल लगायतका छिमेकमा अनावश्यक र हानिकारण कूटनीतिक विवाद निम्ताउन सक्छ । यसले भारतका निकटतम छिमेकीहरुबीचको द्विपक्षीय सम्बन्धलाई बिगार्ने र अविश्वास बढाउने सम्भावना छ । त्यसैले भारतीय नेतृत्वले यस नक्साको वास्तविक अभिप्रायलाई समयमै जानकारी दिनु बुद्धिमानी हुन्छ ।’

  • दुई पूर्वमिस नेपालले अमेरिकाबाट लिँदैछन् उच्च शिक्षा

    दुई पूर्वमिस नेपालले अमेरिकाबाट लिँदैछन् उच्च शिक्षा

    काठमाडौं । पूर्वमिस नेपाल वर्ल्ड श्रृंखला खतिवडाले प्रतिष्ठित अमेरिकी विश्वविद्यालय हावर्डबाट सहरी विकास विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकी छन् । उनले ग्राजुएसन गरेको क्षणलाई तस्वीरमार्फत सेयर गर्दै खुसी बाँडेकी छन् ।

    ‘मैले ग्राजुएसन गरें । अब तपाईंले मलाई आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नुहुन्छ,’ उनले इन्स्टाग्राममा लेखेकी छन् । दीक्षितस्वरुपको कालो पोसाक र प्रमाणपत्रको उक्त तस्वीरमा उनी लेख्छिन्, ‘मेरो परिवारबिना मैले यो काम गर्न सक्ने थिइनँ । मेरो जितमा ताली बजाउने, मलाई हरेक परिस्थितिमा साथ दिने र मैले नगर्दा पनि विश्वास गर्ने मेरो परिवारलाई म धेरै माया गर्छु ।’

    श्रृंखलाका बुवा तथा पूर्वमन्त्री विरोध खतिवडा, आमा मुनु सिग्देल र भाइ पनि ग्राजुएसन समारोहमा सहभागी हुन यतिबेला अमेरिकामा छन् । तस्वीरमा उनीहरुले छोरीलाई साथ दिंदै हर्षित भएको देख्न सकिन्छ ।

    यसैबीच, मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठ पनि अध्ययनका लागि हार्वर्डमा जाने भएकी छन् । उनले यो सरप्राइज शनिबार गोदावरीमा सम्पन्न मिस नेपालको ग्राण्ड फिनालेमा सेयर गरेकी थिइन् भने इन्स्टाग्राममा समेत उल्लेख गरेकी छन् । सन् २०२३-२०२४ का लागि आफूले हार्वर्ड मेडिकल स्कुलमा आफूले स्नातकोत्तरको कोर्स गर्न लागेको उनले जनाएकी छन् ।

    विश्वभरका हजारौं आवेदकमध्येबाट आफू स्नातकोत्तर पाठ्यक्रमका लागि समावेश भएको र यो कोर्सअन्तर्गत पेसेन्ट सेफ्टी, क्वालिटी र हेल्थ लिडरसिप क्लास समावेश हुने उनको भनाइ छ ।‘म ब्रह्माण्डप्रति धेरै कृतज्ञ छु,’ उनले लेखेकी छन् ।

  • धार्मिक स्वतन्त्रता सम्बन्धी अमेरिकी प्रतिवेदनमाथि असन्तुष्टी जनाउँदै नेपालले अमेरिकालाई लेख्यो कुटनीतिक नोट

    धार्मिक स्वतन्त्रता सम्बन्धी अमेरिकी प्रतिवेदनमाथि असन्तुष्टी जनाउँदै नेपालले अमेरिकालाई लेख्यो कुटनीतिक नोट

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको धार्मिक स्वतन्त्रतासम्बन्धी एउटा प्रतिवेदनमा नेपालबारे उल्लेख भएका विषयवस्तुप्रति असहमति जनाउँदै सरकारले अमेरिकालाई कूटनीतिक नोट लेखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो जानकारी दिए । प्रचण्डले संसद्‌लाई गराएको जानकारीअनुसार नेपालको परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित अमेरिकी दूतावासमार्फत् अमेरिकी प्रतिवेदनप्रति असहमति जनाएको हो।

    सन् २०२२ को धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनमा नागरिक समाजलाई उद्धृत गर्दै भारतको सत्तारूढ दल भारतीय जनता पार्टी भाजपा र अन्य समूहहरूले नेपालका नेताहरूलाई ‘हिन्दू राज्यमा फर्किने’ विषयमा समर्थन गर्न दबाव दिइरहेको जनाइएको छ। आइतवार अबेरसम्म अमेरिकाले त्यसको कुनै जवाफ दिएको छैन। कूटनीतिक असहमति व्यक्त गर्न पठाइने यस्तो नोटमा उल्लेखित विवरण पनि मन्त्रालयले गोप्य राखेको छ।

    प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिपक्षी सांसदहरूले अमेरिकी प्रतिवेदनबारे चासो राखेका थिए। “अमेरिकाको सरकारी निकायले नेपालमा धर्मान्तरण र धर्म अतिक्रमण जस्ता विषयमा गम्भीर प्रतिवेदन सार्वजनिक गरेको छ र यसमा हाम्रो मित्रराष्ट्र भारतलाई समेत प्रतिवेदनले तानेको छ,” नेकपा एमालेका सचिव योगेश भट्टराईले संसद्‌मा शनिवार भनेका छन् । “प्रधानमन्त्रीले त्यस विषयमा केही पनि बोल्नु भएन। नेपाल सरकारको धारणा म बुझ्न चाहन्छु।” नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि यसअघि प्रतिवेदनबारे विरोध जनाएको थियो।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिवेदनमा असहमति राख्दै नेपालस्थित अमेरिकी राजदूतलाई पत्र पठाएको उक्त पार्टीले जनाएको छ। नीति तथा कार्यक्रमबारे सांसदहरूका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भट्टराईले राखेको चासोबारे पनि बोलेका थिए। “धर्मान्तरणबारे के भएको छ भनेर सोध्नु भएको छ। नेपाल सरकारको तर्फबाट गम्भीर ध्यानाकर्षणसहित अमेरिकी दूतावासमार्फत् अमेरिकी सरकारलाई नोट पठाइसकिएको छ, यो के हो भनेर,” प्रधानमन्त्री प्रचण्डले भने।


    प्रत्येक वर्ष अमेरिकी विदेश मन्त्रालयले तयार पार्ने यस्तो प्रतिवेदन त्यहाँको संसद्‌मा प्रस्तुत गर्नका लागि अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता ऐन १९९८ अनुसार तयार गरिएको हुन्छ। यसअघि भारतले पनि यस्तो प्रतिवेदनको आलोचना गरेको थियो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भनेका थिए, “यस्ता रिपोर्ट भ्रामक सूचना र गलत विश्लेषणमा आधारित हुन्छन्।”

  • ८ महिनामा ७४१ जना विदेशीले नेपालमा लिए श्रम स्वीकृति

    ८ महिनामा ७४१ जना विदेशीले नेपालमा लिए श्रम स्वीकृति

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९–८० को ८ महिनाको अवधिमा ७४१ जना विदेशीले नेपालमा श्रम स्वीकृति पाएका छन् । आर्थिक सर्वेक्षण २०७९–८० अनुसार यस वर्ष फागुनसम्म उक्त संख्यामा विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति पाएका हुन् । यस अवधिमा ७९५ जना विदेशीको श्रम स्वीकृति नवीकरण भएको छ ।

    आर्थिक वर्ष २०७८–७९ को एक वर्षको अवधिमा कुल ९५० जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । २०७७–७८ मा यो संख्या १०९० थियो । २०७४–७५ मा १ हजार ६०८ जनाले नयाँ श्रम स्वीकृति लिएको तथ्यांकले देखाएको छ । श्रम स्वीकृति नवीकरण आर्थिक २०७७–७८ मा १३ सय जनाले गरेको तथ्यांक छ ।

  • काठमाडौंबाट बेंगलोर उडेको जहाज काठमाडौं फिर्ता

    काठमाडौंबाट बेंगलोर उडेको जहाज काठमाडौं फिर्ता

    काठमाडौं । काठमाडौंबाट भारतको बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको छ ।

    शनिबार दिउँसो पौने २ बजे काठमाडौंबाट बेंगलोरतर्फ उडेको आर ए २४४ कलसाइनको विमान चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार अहिले प्राविधिकहरुले उक्त जहाजको परीक्षण गरिरहेका छन् ।

  • माधव नेपाल न्यूजील्याण्ड प्रस्थान

    माधव नेपाल न्यूजील्याण्ड प्रस्थान

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज (शुक्रबार) न्युजिल्याण्ड प्रस्थान गरेका छन् । न्युजिल्याण्डको अकल्याण्ड सहरमा सोमबार हुन लागेको ‘७०औँ माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ मा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    तेञ्जिङ नोर्गे शेर्पा र एडमिन हिलारीले पहिलो पटक सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेका अवसरमा सोमबार न्युजिल्याण्ड आयोजना गरिने सभालाई अध्यक्ष नेपालले विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्ने बताइएको छ ।


    उनले न्युजिल्याण्ड सरकारका प्रतिनिधिसँग दुई देशीय हितका पक्षमा छलफल गर्नुहुनेछ । करिब एक साताको भ्रमणका क्रममा अध्यक्ष नेपाल अष्ट्रेलियाको सिड्नीमा गैरआवासीय नेपाली सङ्घ तथा प्रवासी नेपाली एकता मञ्चले गर्ने कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ ।

    दुवै मुलुकको भ्रमणका क्रममा उनले विभिन्न नेता, त्यहाँस्थित नेपाली समुदाय, पार्टी निकट प्रवासी नेपाली एकता मञ्चका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्नेछन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका छन् । अध्यक्ष नेपाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका विभिन्न तहका नेताले बिदाइ गरे ।

  • प्रधानमन्त्रीको भ्रमणको तयारीलाई लिएर भारतीय विदेशमन्त्री र नेपाली राजदूतबीच भेट

    प्रधानमन्त्रीको भ्रमणको तयारीलाई लिएर भारतीय विदेशमन्त्री र नेपाली राजदूतबीच भेट

    काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारीका विषयमा नेपाल र भारतका अधिकारीबीच तयारी तिब्र बनेको छ । भ्रमणकै विषयलाई लिएर भारतस्थित नेपाली दूतावास र भारतको विदेश मन्त्रालयबिच दौडधुप बढेको हो । भ्रमणको व्यवस्थापनमा सघाउँदै दिल्लीस्थित दूतावासले मन्त्रालयसँग बृहत् छलफल र भेटवार्ता उच्च पारेको छ।

    सोही क्रममा राजदूत डा. शङ्करप्रसाद शर्माले भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्करसँग बिहीबार गरेको भेटवार्तामा पुरानो बहुआयामिक सम्बन्धलाई थप फराकिलो, बलियो र गहिरो बनाउने इच्छा र प्रतिबद्धता दुवै पक्षबाट व्यक्त गरिएको राजदूत शर्माले जानकारी दिए ।

    भारतका विदेशमन्त्री जयशङ्करले पनि राजदूत शर्मासँग गहिरो र बहुआयामिक साझेदारी रहेको मित्रवत् सम्बन्धका विषयमा छलफल भएको सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् । आगामी दिनमा दुई देशबिचको सम्बन्धलाई थप फराकिलो बनाउन पहल गर्ने प्रतिबद्धता विदेशमन्त्री जयशङ्करले व्यक्त गरेका छन् । प्रधानमन्त्रीबाट आगामी १७ गतेबाट भारत भ्रमणको तयारी छ ।

  • माओवादी नेतृत्व र चिनियाँ कम्युनिष्ट पार्टीबीच चीनमा भेटवार्ता

    माओवादी नेतृत्व र चिनियाँ कम्युनिष्ट पार्टीबीच चीनमा भेटवार्ता

    काठमाडौं । चीन भ्रमणमा रहेका नेकपा ९माओवादी केन्द्र० का उपाध्यक्ष एवं निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच बिहीबार भेटवार्ता भएको छ । निवर्तमान सभामुख सापकोटा नेतृत्वको माओवादी पार्टी प्रतिनिधिमण्डल र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीबीच बिहीबार चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो ।

    उनीहरुबीच सुरुमा एक्लाएक्लै र त्यसपछि पदाधिकारीसहित भेटवार्ता भएको थियो । उनीहरुबीच दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको भेटमा सहभागी एक नेताले जनाए ।

    भेटमा चिनियाँ विदेश विभाग प्रमुख लिउले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले लिएको आर्थिक विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने बताएका छन् । जवाफमा उपाध्यक्ष सापकोटाले चीन नेपालको छिमेकीमात्र नभएर विकास साझेदार भएको चर्चा गर्दै नेपालको आर्थिक सामाजिक विकासमा पुर्‍याएको सहयोगका लागि चीनलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि चीनले सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका थिए ।

    यही जेठ ५ गते २० सदस्यीय सापकोटा नेतृत्वको पार्टी प्रतिनिधिमण्डल चीन गएको थियो । सुरुमा ल्हासा र मानसरोवरको भ्रमण एवं अवलोकन गरेको सापकोटा नेतृत्वको टोली अहिले राजधानी बेइजिङमा छ । भ्रमण टोलीमा पूर्वसभामुख सापकोटासहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आचार्य छन् । यसैगरी प्रदेश अध्यक्षहरु र केन्द्रीय नेताहरु पनि भ्रमण टोलीमा छन् । सापकोटा नेतृत्वको टोली जेठ १८ मा स्वदेश फर्कने कार्यक्रम छ ।

  • क्वालालाम्पुर-भैरहवा रुटको भाडा ११ हजार ४६१ मात्र

    क्वालालाम्पुर-भैरहवा रुटको भाडा ११ हजार ४६१ मात्र

    काठमाडौं । नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको प्रमोशनल भाडादर झनै घटेको छ । सुरुवातमा १२ हजार ७ सय रुपैयाँ तोकेको यस रुटको भाडा अब ११ हजार ४६१ रुपैयाँमा झारिएको निगमले जनाएको छ । काठमाडौंबाट क्वालालाम्पुर जाने ए३२० जहाज क्वालालाम्पुरबाट भैरहवा अवतरण गर्ने छ । त्यसपछि सो जहाज भैरहवाबाट काठमाडौं आउने छ । यो गौतमबुद्ध विमानस्थलबाट नेवानिले गर्न लागेको पहिलो नियमित तथा व्यावसायिक उडान हुने छ ।

    यस रुटमा २९ जेठ (१२ जुन)बाट निगमले सातामा एक उडानको तयारी गरेको छ । व्यावसायिक सम्भाव्यताका आधारमा निगमले यस रुटमा उडान बढाउने भएको छ । क्वालालाम्पुर–भैरहवा–काठमाडौं रुटको भाडा भने मात्र १२ हजार ३४६ रुपैयाँ तोकिएको छ । यसअघि सार्वजनिक यो रुटको भाडादर १४ हजार ७२० रुपैयाँ थियो । यस रुटमा यात्रुले ४५ किलो ब्यागेज निःशुल्क बोक्न सक्नेछन् ।

  • प्रधानमन्त्री चार दिने भ्रमणमा भारत जाने तयारी

    प्रधानमन्त्री चार दिने भ्रमणमा भारत जाने तयारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् । दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको बताइएको छ । भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । शुक्रबार वा शनिबार प्रेस रिलिज सार्वजनिक हुने समेत बताइएको छ ।

    नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एकसाथ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे जानकारी दिन प्रेस रिलिज सार्वजनिक गर्ने तयारी भएको हो । प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत जाने र १८ गते समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् । जेठ १९ गते उनी मुम्बई जाने र २० गते स्वदेश फर्किने गरी भ्रमणको तालिकालाई अन्तिम रुप दिने तयारी छ ।

  • नेपाल एयरलाइन्सले अष्ट्रेलियामा सिधा उडान गर्दै

    नेपाल एयरलाइन्सले अष्ट्रेलियामा सिधा उडान गर्दै

    काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ। सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र स्लट दिएको हो। विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले उल्लेख गरेको छ।

    विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियाली नागरिक उड्डयनसँग उडान अनुमतिका लागि आवश्यक कागजात बुझाएको छ। निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार निगमको जहाज तत्काललाई सिङ्गापुरमा ‘टेक्निकल अवतरण’ गरेर सिड्नी उड्नेछ।

    आगामी असार ६ गते (जुन २१ तारिख)लाई लक्षित गरेर उडान स्वीकृतिका लागि स्लट, अवतरण पर्मिटलगायतका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ, स्लट पाइएको छ, बाँकी प्रक्रियामै छ”, उनले भने । उडानका लागि निगमले हाल जिएसए (जनरल सेल्स एजेन्ट) छनोट लगायत प्रक्रिया पनि अगाडि बढाएको छ।

    त्यस्तै, निगमले सिङ्गापुर र सिड्नीमा इन्धनका लागि पनि कम्पनी छनोटको काम गरिरहेको उल्लेख गरेको छ। सिङ्गापुर र सिड्नी विमानस्थलका लागि एमआरओ (मेन्टेनन्स, मर्मत र अपरेशन) समेत छनोट गरिसकेको छ। निगमले वाइडबडी ‘ए’ ३३० जहाजबाट अष्ट्रेलियाको सिड्नीमा सिधा उडानको तयारी गरेको जनाएको छ।

  • यूएईको अबुधावीमा एक नेपालीले जिते १० लाख दिरामको चिठ्ठा

    यूएईको अबुधावीमा एक नेपालीले जिते १० लाख दिरामको चिठ्ठा

    काठमाडौं । यूएईको अबुधाबीमा कार्यरत एक नेपाली युवकले १० लाख दिरामको चिठ्ठा जितेका छन् । अबुधाबीको निजी कम्पनीमा मेसिन अपरेटरको रुपमा कार्यरत सूर्य नामका नेपाली युवकले मासिक बुझ्दै आएको तलबभन्दा २५० गुणा बढीको चिठ्ठा जितेका हुन् । उनको सामान्य तलब २ हजारदेखि ४ हजार दिराम बीचमा भए पनि उनले महजुज ड्रमार्फत् १० लाख दिरामको चिठ्ठा जितेको यूएईको द नेशनल न्युज डटकमले जनाएको छ । लक्की ड्र विजेता भनेर सूर्यको फोटोसहित समाचार प्रकाशित गरेको अनलाइनमा उनको पूरा नाम र नेपालको ठेगाना भने उल्लेख छैन ।

    अविश्वसनीय रुपमा भाग्यशाली चिठ्ठा जितेपछि उनले भविष्यको योजना बनाइरहेको समाचारमा उल्लेख छ । उक्त अनलाइनसँगको कुराकानीमा सूर्यले चिठ्ठा रकम परिवारको जीवन सुधार्न खर्च गर्ने बताएका छन् । ‘म सधैं मेरो परिवारको भविष्यप्रति चिन्तित हुन्छु,’ उनले भनेका छन्, ‘मेरो जीवन नै परिवर्तन गराइदिने यो जितप्रति महजुजप्रति आभारी छु ।’ नेपालमा रहेकी आफ्नी आमाको लागि घर किन्ने र छोराको शिक्षामा खर्च गर्ने उनको योजना छ ।

    शनिबारको लक्की ड्र घोषणा हुने बेला उनी आफ्नो नियमित काममा थिए । आफू विजेता बनेको जानकारी उनले सोमबारमात्र पाएका थिए । महजुजको लक्की ड्र हरेक शनिबार हुन्छ । सहभागीहरुले महजुजको ३५ दिराम पर्ने पानीको बोतल किनेर चिठ्ठामा सहभागी हुन पाउँछन् । यसबाट हरेक हप्ता १० लाख (१ मिलियन) दिराम बराबरको चिठ्ठा घोषणा हुन्छ । यो चिठ्ठाको उच्चतम राशी भने २० लाख दिरामको छ । महजुजले आफ्नो वेबसाइट र फेसबुक पेजमा १० लाख दिरामको विजेता भनेर सूर्यको फोटो पोष्ट गरेको छ । तर, उनको बारेमा विष्तृत विवरण भने उल्लेख छैन ।

  • विदेशमा रहेका नेपालीले अब आईएमईबाट सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने

    विदेशमा रहेका नेपालीले अब आईएमईबाट सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने

    काठमाडौं । विदेशमा रहेका नेपालीले आईएमईबाट सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने भएका छन् । सामाजिक सुरक्षा कोष र आईएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरूलाई सुरक्षा कोषमा रकम सङ्कलनको सेवा प्रदान गर्ने गरी सम्झौता भएको हो ।

    सम्झौतापत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आईएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौताको कार्यान्वयनपछि विदेशमा रहेका आईएमई काउन्टर तथा साझेदारहरूमार्फत् वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले योगदानबापतको रकम कोषमा जम्मा गर्न सक्नेछन्।

    आईएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले विदेशमा रहेका लाखौँ नेपालीलाई कोषमा योगदान गर्ने रकम जम्मा गर्न सहज हुने गरी यो सम्झौताअनुसारको छिट्टै व्यवस्था मिलाइने जानकारी दिए । कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षा योजनाको प्रवर्द्धनका लागि समेत सहयोग पुग्ने उनको भनाइ छ।

    सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक ज्ञवालीले आईएमई तथा यसका साझेदारहरूको विश्वव्यापी सञ्जाल भएकाले कोषले अघि बढाएको योजनामा सहभागिता बढाउन तथा कोषमा योगदान गर्नेहरूलाई रकम पठाउन सहज हुने विश्वास व्यक्त गरे ।

    यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामजिक सुरक्षा योजनाअन्तर्गत कम्तीमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् अहिले न्यूनतम दुई हजार दुई रुपैयाँ मासिक रूपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने व्यवस्था मिलाएको थियो।

  • गोकुलम केरलाले जित्यो आइ-लीगको उपाधि, साम्बा बनिन् सर्वाधिक गोलकर्ता

    गोकुलम केरलाले जित्यो आइ-लीगको उपाधि, साम्बा बनिन् सर्वाधिक गोलकर्ता

    काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी साम्बा सम्मिलित गोकुलम केरलाले भारतीय महिला फुटबल लिगको उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनल भिडन्तमा किकस्टार्टलाई ५–० गोलले पराजित गर्दै गोकुलम लगातार तेस्रो सिजन महिला लिग च्याम्पियन बनेको हो।

    गोलकुलको जितमा साम्बाले खेलको पाँचौ मिनेटमा पहिलो गोल गरिन्। सन्धियाले २२ र ५२ मिनेटमा गरी दुई गोल गरिन्। त्यसअघि इन्दुमतिले ३७ मिनेटमा पेनाल्टीमा अर्को गोल गरेकी थिइन्। ८० मिनेटमा रोजा देवीले गोल गरेपछि गोकुलम उपाधितर्फ अघि बढेको थियो। साम्बाले प्रतियोगिताभरमा २९ गोल गर्न सफल भइन्। उनले भारतको महिला लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाइन्।

    यो सिजन साम्बाले पाँच ह्याट्रिक समेत गरिन्। उनी तीन खेलमा प्लेयर अफ दि म्याच समेत भइन्। फाइनलमा पुगेको अर्को टिम किकस्टार्टबाट नेपालका सरु लिम्बु र रेनुका नगरकोटीले खेलेका थिए। यो सिजनको लिगमा साम्बा, सरु, रेनुकासँगै नेपालबाट अनिता बस्नेत (लर्ड्स), एन्जिला तुम्बापो सुब्बा (सेथु) र रेखा पौडेल (स्पोर्ट्स ओडिसा) गरी ६ महिला फुटबलरले खेल्ने मौका पाए। गोलकिपर एन्जिलाले लिगमा सर्वाधिक ६ क्लिनसिट राखिन् भने सरु लिम्बुले सात गोल गर्न सफल भइन्।

  • विदेश पुर्याइदिने लोभमा १० महिनामा ७६ करोड ठगी

    विदेश पुर्याइदिने लोभमा १० महिनामा ७६ करोड ठगी

    काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको दस महिनामा गैरकानुनी बिचौलिया र एजेन्टहरूले झन्डै ७६ करोड रूपैयाँ ठगी गरेको पाइएको छ। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म दर्ता भएका नौ सय २५ वटा उजुरीमा ७५ करोड ७७ लाख ४१ हजार २१४ रूपैयाँ ठगी रकम दाबी गरिएको छ। यो रकम दाबी वैदेशिक रोजगारीमा श्रमिक पठाउन अनुमति नै नपाएका गैरकानुनी एजेन्ट र बिचौलियाले गरेको ठगीबाट भएको जनाइएको छ।

    वैदेशिक रोजगारीमा श्रमिक पठाउनकै लागि विभागसँग अनुमति लिएका म्यानपावर कम्पनीबाहेक अन्य कोही पनि एजेन्टले रोजगारीका लागि श्रमिक पठाउन नपाउने सरकारी नियम छ। तर पनि सरकारको नियमविपरीत एजेन्ट र बिचौलियाबाट हुने ठगीका उजुरी बर्सेनि बढ्न थालेको विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए। उनका अनुसार अघिल्लो वर्षको तुलना यो वर्ष ठगी भएका उजुरी बढेका छन्।

    पछिल्लो केही समययता वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजत नै नलिएका व्यक्तिहरूबाट भएको ठगीको उजुरी महिनामै सयभन्दा बढी पर्न थालेका छन्। विभागले गएको वैशाख महिनामा मात्रै एजेन्ट र बिचौलियाबाट भएको ठगीको एक सय चार वटा उजुरी परेको जानकारी दिएको छ।

    गएको आर्थिक वर्षमा एजेन्टहरूबाट ठगी भएको ६ सय ९५ वटा उजुरी विभागमा परेको थियो। ती उजुरी उपर ५० करोड ४४ लाख ६१ हजार २०३ रूपैयाँ रकम दाबी गरिएको थियो। अघिल्लो आर्थिक वर्ष २०७८र०७९ देखि अहिलेसम्म एजेन्ट र बिचौलियाबाट एक अर्ब २६ करोड २२ लाख दुई हजार चार सय १७ रूपैयाँ ठगी भएको छ। विभागमा परेको एक हजार छ सय २० वटा उजुरी उपर यो रकम दाबी गरिएको हो।

    चालु आर्थिक वर्षको दस महिनामा परेका नौ सय २५ वटा उजुरीमध्ये ७७ वटा मुद्दा अदालतमा दायर गरिएको छ भने एक सय ७६ बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। यसैगरी विभागकै रोहबरमा एक सय ३५ जनाले मिलापत्र गरेका छन्। मिलापत्रमार्फत एजेन्टहरूले नौ करोड ४३ लाख ५६ हजार एक सय रूपैयाँ फिर्ता गरेका जनाइएको छ। गैरकानुनी एजेन्ट र बिचौलियामार्फत भएको ठगीको उजुरी उपर विभागले अनुसन्धान गर्ने, प्रमाण जुटाएर अदालतमा मुद्दा दायर र मिल्छु भन्नेहरूलाई मिलापत्र गराउने गरेको विभागका निर्देशक तथा सूचना अधिकारी सुवेदीले जानकारी दिए।

    rss

  • भिजिट भिसामा खाडी जानेमाथि निगरानी बढाइने

    भिजिट भिसामा खाडी जानेमाथि निगरानी बढाइने

    काठमाडौं । सरकारले भिजिट भिसामा खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएको छ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सबै अध्यागमन कार्यालयहरुलाई निर्देशन जारी गर्दै भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी हुन सक्ने सम्भावित ठाउँमा यात्रा गर्ने व्यक्तिहरुप्रति पूर्ण सतर्कताका साथ काम गर्ने भनेका छन् ।

    खासगरी भिजिट भिसामा खाडी मुलुक, टर्की, फिलिपिन्स, थाइल्याण्ड र मलेसिया जाने यात्रुमाथि बढी निगरानी गर्न निर्देशन दिइएको छ । यस्ता मुलुकका भ्रमणमा जाने व्यक्तिको आवश्यक कागजात, भ्रमणको उद्देश्य जस्ता विषयमा सूक्ष्म अध्ययन तथा क्रम भेरिफिकेसन गर्न भनिएको छ ।

    साथै कागजातको वैधताको समेत अध्ययन गर्न महानिर्देशक अधिकारीले अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएका छन् । भिजिट भिसामा प्रस्थान अनुमति दिंदा नाता प्रमाणित लगायत आवश्यक कागजात अनिवार्य रुपमा ‘नेपाल पोर्ट सिस्टम’मा अपलोड गर्न समेत विभागले निर्देशन दिएको छ ।

  • बेलायतमा नेपाली श्रमिकमाथि शोषण भएको भन्दै विरोध

    बेलायतमा नेपाली श्रमिकमाथि शोषण भएको भन्दै विरोध

    काठमाडौं । बेलायतमा मौसमी श्रमिकका रूपमा कार्यरत नेपालीलगायतका आप्रवासी श्रमिकमाथि चरम शोषण भएको भन्दै सरोकारवाला संस्थाहरूले विरोधको आवाज उठाउन थालेका छन् । आप्रवासी श्रमिकको अधिकारको क्षेत्रमा क्रियाशील संस्था सामाजिक न्यायका लागि कानुनी मञ्च (नेपाल), शरणार्थी तथा आप्रवासी आन्दोलन अनुसन्धान एकाइ (बङ्गलादेश) आप्रवासीहरूको कल्याणका लागि संयुक्त परिषद्, बेचबिखनविरुद्ध र शोषण अनुुगमन एकाइलगायतका प्राज्ञिक तथा अनुसन्धान गर्नेसहितका आधा दर्जनभन्दा बढी सरोकारवाला संस्थाले बेलायतमा श्रमिकमाथि भएको शोषणको विरोध गरेका हुुन् ।

    ती संस्थाले विभिन्न देशबाट मौसमी श्रमिकका रूपमा बेलायत जाने विभिन्न देशका आप्रवासी श्रमिकले जाने बेलामा नै चर्को शुल्क तिर्न परेको र बेलायत पुगिसकेपछि पनि बाध्यकारी श्रम गर्न बाध्य पारेको भन्दै बेलायत सरकारको ध्यानाकर्षण गराएका छन् । ती संस्थाले संयुक्त रूपमा बेलायत सरकारलाई पठाएको पत्रमा मौसमी श्रमिकका रूपमा बेलायत जाने आप्रवासीले हजारौँ पाउन्ड शुल्क तिर्न परेको र बेलायतमा पनि श्रमिकहरू बाध्यकारी श्रममा परेको उल्लेख गरिएको छ । बेलायतका सरकारी तथा गैरसरकारी विज्ञहरूले गरेको अध्ययनमा बेलायतमा मौसमी श्रमिकमा गएकाले जागिर सुरक्षित गर्न हजारौँ पाउन्ड तिर्नुु परेको पाइएको छ ।

  • पोर्चुगलमा सञ्चालित नेपाली राहदानी शिविरमा संकलन भयो ५ करोड २२ लाख राजस्व

    पोर्चुगलमा सञ्चालित नेपाली राहदानी शिविरमा संकलन भयो ५ करोड २२ लाख राजस्व

    काठमाडौं । पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट पाँच करोड २२ लाख राजस्व सङ्कलन भएको छ । राजधानी लिस्बनमा करिब एक महिनासम्म सञ्चालन भएको उक्त शिविरबाट सो राजस्व सङ्कलन भएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिए ।

    शिविरबाट २३०८ नेपालीले प्रत्यक्ष दर्ता प्रणालीमार्फत विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि आवेदन दिएका थिए । राहदानी तयार भए पछि अवैतनिक नेपाली महावाणिज्य दूतावास लिस्बनमार्फत सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइनेछ । राहदानी विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको प्राविधिकसहितको टोलीले लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकरणमा राहदानी सेवा प्रदान गरेको हो ।

    टोलीमा फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका प्रतिनिधिको समेत सहभागिता रहेको थियो । गत मार्च २९ देखि अप्रिल २५ तारिखसम्म सञ्चालन भएको शिविरबाट टोलीले राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नेपालीको राहदानी बनाउनका लागि आवेदन फारम सङ्कलन गरेको थियो ।

    परराष्ट्र मन्त्रालयले राहदानी नै नभएका र कागजातसम्बन्धी समस्यामा परेका नेपालीका लागि विशेष व्यवस्था गरेर पोर्चुगलमा शिविर सञ्चालन गरेको र शिविरबाट समस्यामा परेका अधिकांश नेपाली लाभान्वित भएको राजदूत अधिकारीले बताए ।

    ‘पछिल्लो समय विभिन्न मुलुक हुँदै युरोप आएका अधिकांश नेपाली पोर्चुगल पस्ने गरेका छन् । त्यसरी पोर्चुगल छिर्ने नेपालीले राहदानी सुरक्षित गर्न नसक्दा त्यहाँ राहदानीलगायतका कागजातसम्बन्धी समस्या बढ्दै गएको हो’, उनले भने, ‘विदेशी मुलुकमा राहदानीबिना कुनै पनि कागजी प्रक्रिया सम्भव नै छैन, अझै दूतावास नै नभएका ठाउँमा त झनै समस्या हुन्छ, त्यसैले राहदानी सुरक्षित राख्नका लागि आफैँले सतर्कता र सावधानी अपनाउनुपर्छ ।’

    विद्युतीय राहदानी बनाउन प्राविधिकरुपमा खर्चिलो र झन्झटिलो हुने भएकाले पटक–पटक टोली आउन सम्भव नरहेको उल्लेख गर्दै उनले राहदानीलाई सुरक्षितरुपमा जतन गरेर राख्न सुझाव दिए ।

  • नेपाल टेलिकममा भारत र थाइल्याण्डबाट कल गर्दा लाग्ने रोमिङ सेवा शूल्कमा भारी कटौती

    नेपाल टेलिकममा भारत र थाइल्याण्डबाट कल गर्दा लाग्ने रोमिङ सेवा शूल्कमा भारी कटौती

    काठमाडौं । नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल घटाएको छ । अन्तर्राष्टिय दूरसञ्चार दिवसको अवसर पारेर आजदेखि रोमिङ महसुल भारी मात्रामा घटाइएको टेलिकमले जनाएको छ । गत चैतमा भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भारत भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीहरुले रोमिङ महसुल घटाउन माग गरेका थिए । सो भ्रमणपछि मन्त्री शर्माले नेपाल टेलिकमलाई रोमिङ महसुल घटाउन निर्देशन दिएकी थिइन् ।

    मन्त्रीको निर्देशपछि करिब दुई महिना गृहकार्य गरी नेपाल टेलिकमले भारत र थाइल्याण्डमा रोमिङ महसुल घटाएको मन्त्री शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिएका छन् । नयाँ दरअनुसार नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा अब प्रतिमिनेट सात रुपैयाँ मात्रै शुल्क लाग्नेछ । नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि अब प्रतिमिनेट सात रुपैयाँ नै लाग्ने छ भने एसएमएस गर्दा पनि प्रति एसएमएस सात रुपैयाँ नै लाग्ने छ ।

    यसअघि रोमिङ सेवा लिएर भारतको कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ र एसएमएस गर्दा प्रति एसएमएस २४ रुपैयाँ लाग्ने गरेको थियो । त्यस्तै थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट थाइल्याण्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा अब प्रतिमिनेट ५० रुपैयाँ लाग्ने भएको छ । यसअघि यस्तो सेवा लिंदा प्रतिमिनेट १३५ रुपैयाँ लाग्ने गरेको थियो ।

    त्यसैगरी थाइल्याण्डमा नेपाल टेलिकमको सिममा आएको कल उठाउँमा प्रतिमिनेट ९० रुपैयाँ लाग्दै आएकोमा अब प्रतिमिनेट २५ रुपैयाँ लाग्ने भएको छ । थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट एसएमएस गर्दा प्रति एसएमएस ३४ रुपैयाँ लाग्ने गरेकोमा अब १० रुपैयाँ मात्रै लाग्ने छ । त्यस्तै भारत र थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट डाटा चलाउँदा हाल प्रति एमबी ४० रुपैयाँ लाग्दै आएकोमा अब प्रति एक सय केवीको ४९ पैसा अर्थात प्रति एमबी पाँच रुपैयाँ मात्रै लाग्ने छ ।

  • दातृ निकायसँग प्रधानमन्त्रीले के भने ?

    दातृ निकायसँग प्रधानमन्त्रीले के भने ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्रतिवेदनपछि पनि नेपालले विकास साझेदार निकायबाट निरन्तर सहयोग अपेक्षा गरेको बताएका छन् । नेपालस्थित कूटनीतिक नियोग, राष्ट्र संघीय नियोग तथा विकास साझेदारका प्रमुखहरुलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यसै वर्षको अगस्टरसेप्टेम्बरमा आउने प्रतिवेदनपछि पनि सहयोग निरन्तर हुने अपेक्षा राखेको बताए ।

    ‘हामीले यसै वर्षको अगस्टरसेप्टेम्बरमा मूल्यांकन र प्रतिवेदन प्रकाशनपछि पनि हाम्रा साझेदारहरुबाट सधैँ जस्तो निरन्तर सहकार्य र समझदारी खोजेका छौं,’ दाहालले भने । देशमा आर्थिक समस्या गहिरिँदै गएको विश्लेषण भइरहँदा प्रधानमन्त्री दाहालले विदेशी राजदूत, विकास साझेदार प्रतिनिधिहरूलाई सम्बोधन गरेका हुन् ।

    नेपालले वित्तीय अपराध नियन्त्रणका लागि कानुन निर्माण नगर्दा र भएका कानुन पनि कार्यान्वयन नगर्दा एएफटीएफको ुग्रे लिस्टु मा पर्ने जोखिम बढेको छ । नेपाल ‘ग्रे लिस्ट’मा परे विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा एसियाली विकास बैंक जस्ता दातृ निकायबाट ऋण प्राप्त गर्ने सम्भावना कम हुन्छ । वैदेशिक सहयोग तथा प्रत्यक्ष वैदेशिक लगानी भित्रने सम्भावना कम हुन्छ । त्यसपछि पनि सुधार नभए देश कालोसूचीमा जाने र विश्वव्यापी नाकाबन्दीको सिकार हुने अवस्था आउने विज्ञहरूले बताउँदै आएका छन् ।

    गत फागुनमा सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने एएफएटीएफ अन्तर्गतको एसिया प्रशान्त समूह (एपीजी) ले नेपाललाई यो सूचीमा राख्न प्रतिवेदन दिएको थियो । सोमबारको सम्बोधनमा प्रधानमन्त्री दाहालले नेपाल देखा परिरहेका नयाँ चुनौती समाना गर्न निरन्तर रुपमा आफ्नो क्षमतालाई सुधार गर्न प्रतिबद्ध रहेको बताए । ‘राष्ट्रसंघ तथा अन्य क्षेत्रीय संगठनहरुमा हाम्रो देखिने प्रोएक्टिभ भूमिका रहँदै आएको छ । नेपाल अन्तर्राष्ट्रिय जिम्मेवारीहरुको दह्रो समर्थक र सिर्जनाकर्ता हो,ु दाहालले भने, ‘सन् २००२ मा एपीजी (एसिया प्यासिफिक ग्रुप)को सदस्य बनेपछि नेपालमा एएफटीएफको सिफारिसहरु पालन गर्ने कार्यमा निकै सुधार भएको छ ।’

    प्रधानमन्त्री दाहालले देखा परिरहेका नयाँ चुनौतीहरुलाई सम्बोधन गर्न आफ्नो क्षमता निरन्तर रुपमा सुधार गर्न नेपाल प्रतिबद्ध रहेको बताएका थिए । दाहालले एपीजीको महासभाअघि नै असार महिनाभित्र विधेयक पारित गर्नका लागि उच्चस्तरीय राजनीतिक प्रतिबद्धता रहेको पनि बताए । साथै संसद्‍मा प्रस्तुत गरेको विधेयक विस्तृत भएको उनको भनाइ थियो । ‘नयाँ र उदाउँदो चुनौतीहरु सम्बोधन गर्ने र हाम्रो कार्यान्वयन क्षमता अभिवृद्धि गर्नेछौं, उनले भने । यस क्रममा उनले धेरै समस्या समाधान गर्ने कानुनी व्यवस्था गरिएको पनि बताएका थिए ।

  • अमेरिकाको बोस्टनमा २५६७ औं बुद्ध जयन्ति मनाइयो

    अमेरिकाको बोस्टनमा २५६७ औं बुद्ध जयन्ति मनाइयो

    सुपेन्द्र बस्नेत, बोष्टन

    अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन सहरमा शान्तिका अग्रदूत मानिने शिद्धार्थ गौतम बुद्धको २५६७ औं जन्म जयन्ति मनाइएको छ। यस वर्ष गत बैशाख २२ गते शुक्रवारका दिन २५६७ औं बुद्ध जयन्ती परेको थियो। यसै अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरी बैशाख शुक्ल पूर्णिमाका दिन नेपालको लुम्बिनीमा जन्मिएका महात्मा बुद्धको स्मरण गर्दै ग्रेटर बोस्टन न्यू इंग्लैण्डबासी नेपाली समुदायले बुद्ध जयन्ति मनाएका हुन्। यस अवसरमा गत मे १३ तारिख शनिवारका दिन पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्लैण्ड (प्याब्फोन-PABFONE) र ग्रेटर बोस्टन नेपाली समुदाय(जिबिएनसि-GBNC)ले, ५९४ वासिङ्टन स्ट्रिट, ब्रेनट्री (594 Washington Street,Braintree) स्थित प्याब्फोन(PABFONE)को आफ्नै सामुदायिक भवनमा संयुक्त रुपमा एक विशेष कार्यक्रमको आयोजना गरेको थियो।

    कार्यक्रम तालिका अनुसार गुरु समन्त श्रीरत्न बज्राचार्यले बुद्धधर्मको विधि अनुसार बुद्ध पूजा गर्नुका साथै मन्त्र ध्यान गरेका थिए। धार्मिक विधि र प्रक्रिया अनुसार पूजा,ध्यान, पाठ, जप आदि गरिसकेपछि लामा धिर गुरुङले बुद्धका दिव्य ज्ञान तथा वचनहरु, उपदेशहरु र बुद्धका योगदानहरुमा केन्द्रित रहेर बुद्धधर्मका बारेमा प्रवचन दिएका थिए। यसैगरी, बुद्ध धर्मका जानकार तथा भिक्षु कोन्चोक लामा शोनामले पनि शाक्य मुनी गौतम बुद्ध तथा बौध्दधर्मका बारेमा चर्चा परिचर्चा गरेका थिए। यसै अवसरमा, प्याब्फोन(PABFONE)द्वारा आयोजित बृहत् धार्मिक तथा सामुदायिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम मूल आयोजक समिति’का संयोजक प्रल्हाद केसीले यही आउदो मे २७ देखि ३० तारिखसम्म हुने ४ दिने बृहत धार्मिक तथा सामुदायिक कार्यक्रमका बारेमा प्रकाश पारेका थिए। उनले कार्यक्रममा सक्रिय सहभागिता जनाउन नेपाली समुदायलाई चुले निम्तो दिदै कार्यक्रम उत्सवका रुपमा मनाउन अनुरोध गरेका थिए। कार्यक्रममा प्याब्फोन(PABFONE)का बोर्ड अफ ट्रष्टीका अध्यक्ष सुशिल पौडेल, जिबिएनसि(GBNC)की अध्यक्ष अञ्जु थापालगायतले कार्यक्रमको औचित्य, महत्व, सान्दर्भिकता र सामुदायिक सहभागिताका बारेमा प्रष्टिकरण दिदै आआफ्नो मन्तव्य व्यक्त गरेका थिए।

    कार्यक्रममा सहभागीहरुले भगवान बुद्धको ध्यान, जप, पूजा, पाठ तथा आराधना गरेका थिए। उनीहरुले गुरु तथा वक्ताहरुले बुद्ध र बौध्दधर्मका बारेमा व्यक्त गरेका अमूल्य वचनहरु श्रवण गर्नुका साथै विश्व शान्तिको कामना गर्दै एक आपसमा शुभकामना समेत आदानप्रदान गरेका थिए। प्याब्फोन(PABFONE)को कार्यसमितिकी उपाध्यक्ष एलिना श्रेष्ठले संयोजनकारी भूमिका निर्वाह गरेको कार्यक्रममा जिबिएनसि(GBNC)की अध्यक्ष अन्जु थापाको नेतृत्वको टोलीले, प्याब्फोन(PABFONE) भवन परिसरभित्रै प्रसाद(खिर,सेलरोटी,पुरी,चिया आदि) पकाएर भक्तजनहरुलाई खुवाएको थियो।
    कार्यक्रमका बारेमा जानकारी दिदै संस्थाका बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष मिलन गुरुङले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिए। संस्थाको आफ्नै भवनमा पहिलो पटक मनाइएको बुद्ध जयन्ती अन्तर्गत गरिएका धार्मिक तथा प्रवचन कार्यक्रमले सहभागीहरुलाई जीवन उपयोगी अमूल्य सकारात्मक सन्देश दिन सफल भएको उनले जिकीर गरे।

    नेपाली पहिचान र नेपालीत्वका लागि विविध धार्मिक तथा सामाजिक कार्यहरु गर्ने उद्देश्यका साथ सन् २०१२ मा स्थापना भएको प्याब्फोन(PABFONE)ले, स्थापना कालदेखि नै आफ्नै सामुदायिक भवन जोड्ने र त्यसमा पशुपतिनाथ, गौतम बुद्ध लगायत अन्य देवी देवताहरुका मूर्तिहरुसहितको मन्दिर स्थापना गर्ने महत्वकांक्षी लक्ष्य लिएर अभियान छेडेको थियो। जस अनुसार उक्त समुदायिक भवनमा अहिले भगवान शिवको मूर्तिसहित पशुपतिनाथ मन्दिर र भगवान बुद्धको मूर्तिसहित स्तूपा निर्माण गरिएको छ। संस्थाले भवनमा स्थापित भगवान शिव तथा बुद्धलगायत अन्य देवी देवताहरुको मूर्तिहरुमा प्राण प्रतिष्ठा गर्ने तथा सामुदायिक भवनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरेको छ। यही मे २७ देखि ३० तारिखसम्म विविध धार्मिक तथा सामाजिक क्रियाकलापहरु हुने यस कार्यक्रमलाई उत्सवका रुपमा मनाउदै सफलतापूर्वक सम्पन्न गर्न यतिबेला आयोजक अहोरात्र खटिरहेको छ। र, तयारीलाई प्राथमिकताका साथ तिब्रता दिइरहेको छ।आयोजकले यस अवसरलाई उत्सवका रुपमा मनाउने उद्देश्यले सक्रिय सहभागिताका लागि सम्पूर्ण नेपाली समुदायलाई चुले निम्तो समेत दिएको छ।

  • ९ महिनामा ६ लाख युवाले लिए श्रम स्वीकृति

    ९ महिनामा ६ लाख युवाले लिए श्रम स्वीकृति

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९–८० को नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ । यो नयाँ श्रम स्वीकृति र पुनःश्रमस्वीकृति लिनेको कुल सङ्ख्या हो ।

    प्रत्येक दिन दुई हजार बढीले श्रम स्वीकृति लिने गरेका छन् । गत साउन महिनामा ६३ हजार ३९, भदौमा ७६ हजार चार सय तीन, असोजमा ६२ हजार सात सय छ, कात्तिकमा ७८ हजार तीन सय ७०, मङ्सिरमा ६८ हजार पाँच सय ६४, पुसमा ६५ हजार चार सय ६४, माघमा ६४ हजार दुई सय ८४, फागुनमा ६१ हजार आठ सय ४५ र चैत महिनामा ६१ हजार चार सय ७८ जनाले श्रम स्वीकृति लिएका विभागको तथ्याङ्क छ ।

    सबैभन्दा बढी मलेसिया, साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (युएई) का लागि श्रम स्वीकृति जारी भएको छ । गत वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५१.५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५.५ प्रतिशतले वृद्धि भएको छ । चैतसम्म तीन लाख ८७ हजार आठ सय ३९ ले नयाँ संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति र दुई लाख १७ हजार नौ सय ५९ जनाले पुनःश्रम स्वीकृति लिएका छन् ।

    वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै विप्रेषण आप्रवाहमा पनि सुधार देखिएको छ । चालु आवको नौ महिनामा रु नौ खर्ब तीन अर्ब ३९ करोड विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २४.२ प्रतिशतले बढी हो ।

  • श्रमिक बाहेक घुमफिर र अध्ययनमा गएर फर्कने नेपालीले साथमा दोस्रो मोवाइल ल्याउन चाहे भन्सार लाग्ने

    श्रमिक बाहेक घुमफिर र अध्ययनमा गएर फर्कने नेपालीले साथमा दोस्रो मोवाइल ल्याउन चाहे भन्सार लाग्ने

    काठमाडौं । विदेशबाट फर्किंदा थप एउटा मोबाइल ल्याउन दिने गरी मन्त्रिपरिषद् बैठकले गरेको निर्णयमा भन्सार विभागले थप व्याख्या गरी सार्वजनिक गरेको छ । विभागका अनुसार अब सरकारसँग श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाले मात्रै थप एउटा मोबाइल शतप्रतिशत भन्सार छुटमा ल्याउन पाउने भएका छन् । विदेशबाट फर्किने अन्य नागरिकलाई सो छुट नदिइने भएको छ ।

    यसअघि सबै यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश, २०७७ बमोजिम विदेशबाट फर्कने यात्रुहरूले आफूले प्रयोग गरिरहेको मोबाइल फोन थान १ महसुल नतिरी ल्याउन पाउने व्यवस्था थियो ।
    भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार विदेशबाट फर्किएका जोसुकै यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश बमोजिम विदेशवाट फर्किने यात्रुहरुले आफूले प्रयोग गरिरहेको १ थान मोबाइल फोन सेटको घोषणा भन्सार कार्यालयमा गर्नु पर्ने छैन । जो सुकैले एक थान मोबाइल महसुल नतिरी ल्याउन पाइने छ ।

    सोही सुविधाको ब्यहोराअनुसार उक्त फोन नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एडीएमएस०मा व्यक्ति स्वयमले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने सूचनामा उल्लेख छ । पहिलो फोनका हकमा जोसुकैले पनि छुट पाउने भएपनि दोस्रो फोनको हकमा भने वैदेशिक रोजगारीमा ६ महिनाभन्दा बढी काम गरेर फर्किएकाहरुले मात्रै भन्सार छुट सुविधा पाउनेछन् ।

    विभागका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएर कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले महसुल सुविधामा ल्याउन पाउने थप १ थान मोबाइल फोन ल्याएमा त्यसको भने भन्सार प्रज्ञापनपत्र लिनुपर्नेछ । वैदेशिक रोजगारीमा गएकाहरुले ल्याएको दोस्रो मोबाइलको भन्सार कार्यालयमा घोषणा गरी प्रज्ञापनपत्र निःशुल्क पाइने प्रज्ञापनपत्र लिनुपर्नेछ । सोही प्रज्ञापनपत्रका आधारमा एमडीएमएसमा सो फोन दर्ता गर्न सकिने छ ।

    तर, भ्रमणमा गएर फर्किएका, वैदेशिक अध्ययनबाट फर्किएकासहित अन्य प्रयोजनमा विदेश गएर नेपाल फर्किएकाहरुले ल्याउने दोस्रो फोनमा भने भन्सार महसुल लाग्नेछ । दोस्रो फोनको भन्सार प्रक्रिया पुरा गर्दा तोकिएको महसुल तिरेपछि प्रज्ञापन पत्र पाइने र त्यही प्रज्ञापनपत्रका आधारभा एमडीएमएसमा दर्ता हुन सकिने व्यवस्था गरिएको प्रवक्ता खड्काले बताए ।

    विदेशबाट ल्यााएर नेपाली मोबइल सेवा प्रदायकको सिम प्रयोग भएको १५ दिनभित्र फोन दर्ता नभए उक्त फोन नेपालमा चल्ने छैन । २६ वैशखमा बसेको मन्त्रिपरिषद् बैठकले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले थप १ थान मोबाइल फोन समेत ल्याएमा कुनै पनि महसुल नलाग्ने निर्णय गरेको थियो ।

  • रुस भ्रमण सकेर स्वदेश फिर्ता भए राष्ट्रिय सभा अध्यक्ष, के दियो रुसले सन्देश

    रुस भ्रमण सकेर स्वदेश फिर्ता भए राष्ट्रिय सभा अध्यक्ष, के दियो रुसले सन्देश

    काठमाडौं । रुस भ्रमणमा गएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको आठ सदस्यीय टोली नेपाल फर्किएको छ। मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अध्यक्ष तिमिल्सिनासहितको रुस भ्रमणमा गएको टोली स्वदेश फर्किएको हो। रुस भ्रमणका क्रममा रुसका उच्च पदस्थ व्यक्तिसँग भेटवार्ता गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

    रुसी संसद नेपालसँग सम्बन्ध विस्तार गर्नका लागि तयार रहेको भेटका क्रममा रुसी पदाधिकारीले बताएका थिए । सोभियत संघको कालखण्डमा भन्दा पनि अझै बढी सहयोग र सम्बन्ध विस्तार गर्न रुस तयार रहेको सन्देश उनीमार्फत प्राप्त भएको छ ।
    उनले दुई देशका संसदबीचको सम्पर्क, सम्बन्ध र समझदारी पत्र हस्ताक्षर मात्रै नभइ पूर्वाधारको विकास, नेपाली विद्यार्थी रुसमा अध्ययन गर्न जाने कुरामा वृद्धि गर्ने र जिटुजीमार्फत् रासायनिक मल उपलब्ध गराउन सहयोग गर्ने विषयमा पनि छलफल भएको र त्यसमा रुस सरकार सकारात्मक रहेको जानकारी दिए ।


    जिटुजीमार्फत् रासायनिक मल सस्तोमा उपलब्ध गराउन सहयोग गर्ने कुरामा पनि छलफल भएको उनको भनाई छ । गहुँ उपलब्ध गराउने, व्यापार विस्तार गर्ने कुरामा पनि रुस सरकार सकारात्मक रहेको उनले बताए । रुस नेपाल सरकारबाट प्रस्ताव भए कान्ति बाल अस्पतालको स्तरवृद्धि गर्ने कुरामा तयार रहेको उनले जानकारी दिए ।

  • एनआरएनएको सदस्यता विस्तार अभियान कार्यक्रम बोस्टनमा

    एनआरएनएको सदस्यता विस्तार अभियान कार्यक्रम बोस्टनमा

    सुपेन्द्र बस्नेत, बोस्टन

    अमेरिकाको बोस्टन सहरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले संस्थाको सदस्यता विस्तार अभियान कार्यक्रम गरेको छ। पुराना सदस्यहरुको सदस्यता नवीकरण गर्न र नयाँलाई सदस्य बन्न उत्प्रेरित गर्ने तथा संस्थाले यसवर्षदेखि प्रयोगमा ल्याएको स्मार्ट सदस्यताका बारेमा जानकारी दिने मुख्य उद्देश्यले एनआरएनए मासाच्युसेट्स च्याप्टरले आयोजना गरेको कार्यक्रम, गत अप्रिल २३ तारिख आइतवारका दिन गरिएको हो।

    यतिबेला संस्थाको अधिवेशन नजिकिदै गरेकाले एनआरएनए राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले उपाध्यक्ष दिलुराम पराजुलीको नेतृत्वमा अमेरिकाभर सदस्यता विस्तार गर्ने अभियानलाई तीव्रता दिइरहेको छ ।
    मासाचुसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङको अध्यक्षता तथा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्, अमेरिकाज क्षेत्रकी महिला संयोजक तृष्णा काफ्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

    प्रमुख अतिथि काफ्लेले संस्थामा गुट–उपगुट भएका कारण संस्था गम्भीर समस्यामा परिरहेको बताउदै उक्त समस्याबाट संस्थालाई मुक्ति दिलाउन सबै एकजुट भएर गुट–उपगुटको अन्त्य गर्नुपर्ने बताइन्। संस्था भित्र हुने राजनितिक नै समस्याको मूल जड भएको उनको ठम्याइ थियो। ‘हामी मुखले संस्थाभित्र राजनीति गर्नु हुन्न भन्छौँ। तर, मनमा चाहिँ हुन्छ। मनबाट पनि राजनीतिलाई फाल्नु पर्दछ।’ भन्दै प्रमुख अतिथि काफ्लेले संस्थामा राजनितिलाई प्रशय दिन नहुनेमा जोड दिइन्।

    कार्यक्रमका अतिथि तथा एनआरएनए राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण जिबी पन्थले संस्थाले सम्पन्न गरेका क्रियाकलापहरु र प्राप्त उपलब्धिहरुका बारेमा जानकारी गराएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी हुने महाधिवेशन एकताको महाधिवेशन हुने विश्वास व्यक्त गरे। उनले भने, ‘अब हुने महाधिवेशन एकताको महाधिवेशन हुनेछ। त्यसैले एकताको सन्देश दिन चाहन्छु। विभाजित नहौं। सबैले आ–आफ्नो कमिकमजोरीहरु सच्याएर एकताको महाधिवेशनमा जोडिन अनुरोध गर्दछु।’

    कार्यक्रममा एनआरएनए(NRNA) राष्ट्रिय समन्वय परिषद, अमेरकाका उपाध्यक्ष तथा सदस्यता बिस्तार अभियानका प्रमुख दिलुराम पराजुलीले कार्यक्रमको औचित्य र सदस्यताको महत्वका बारेमा प्रकाश पारेका थिए। ढिलो नगरी संस्थाको स्मार्ट सदस्यता लिन सबैलाई अनुरोध गर्दै उनले भने, ‘ खुशीको कुरा स्मार्ट एनआरएनए(NRNA) बनाउने अभियानले सार्थकता पाएको छ। यो अत्यन्त सुरक्षित छ। विश्वस्त रहेर आफू सदस्य बनी आफ्नो परिवार, साथी भाइ, छरछिमेकीहरुलाई पनि सदस्य बनाउन अनुरोध गर्दछु।’

    कार्यक्रममा एनआरएनए(NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत गठित नागरिकता समितिका सदस्य रुद्र अर्याल, एनआरएनए (NRNA)राष्ट्रिय समन्वय परिषद, अमेरिकाका उपाध्यक्ष गोपेन्द्र राज भट्टराई, संस्थाका पूर्व वरिष्ठ उपाध्यक्ष अर्जुन बन्जाडे, प्रवासी नेपाली मञ्च(प्रनेम), अमेरिकाका केन्द्रीय उपाध्यक्ष भिम प्रकाश ओली र एनआरएनए(NRNA)राष्ट्रिय समन्वय परिषद, अमेरिकाकी महिला संयोजक सुन्दरी गुरुङले कार्यक्रममा सम्बोधन गरेका थिए। वक्ताहरुले गैर आवासीय नेपालीहरुको सामूहिक मुद्दाहरुलाई संबोधन गराउन, संस्थामा देखा परेका समस्याहरु समाधान गर्न, सदस्यहरुको हित गर्न र संस्थाको गरिमा बढाउन सबै एकजुट भएर अघि बढ्नु परेमा जोड दिएका थिए।

    मासाच्युसेट्स च्याप्टरका सचिव प्रचण्ड श्रेष्ठले सञ्चान गरेको कार्यक्रमा संस्थाका उपाध्यक्ष राजु(खुम)गुरङले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको अन्तमा, मासाच्युसेट्स च्याप्टरका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष प्रेम तामाङले कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरु र सहभागीहरुलाई धन्यवाद दिदै आगामी दिनमा एकबद्ध भएर अघि बढ्न सबैलाई आग्रह गरेका थिए।

    कार्यक्रममा नेपाली नयाँ वर्ष २०८० को शुभकामनासमेत आदानप्रदान गरिएको थियो।