नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टीपीएस) एवम् आप्रवासी सम्वन्धि कानुनका बारेमा जुम अन्तरक्रिया सम्पन्न गरेको छ । जुन १८, २०२३ साँझ भएको उक्त अन्तरक्रियामा अमेरिकी आप्रवास कानुनविद् रमेश श्रेष्ठ र अमेरिकामा सक्रिय अधिकार संस्थाकी अभियान संयोजक प्रार्थना गुरुङ एवं अनिल शाहीले टीपीएस र अमेरिकी आप्रवास कानुनबारे प्रकाश पार्दै सहभागीहरूका प्रश्नको जवाफ दिनुभएको थियो । सो अन्तरक्रियामा कानुनविद् श्रेष्ठले टीपीएसमा रहेका व्यक्तिहरूले आफन्तहरूलाई अन्य भिसामा आएका व्यक्तिसरह नै आफन्तहरूलाई अमेरिकामा आमन्त्रण गर्न सक्ने जानकारी दिनुभयो । फरक प्रसंगमा उहाँले भन्नुभयो, ‘टीपीएसमा रहेकाहरूले छोटो अवधिका लागि यात्रा कागजात (ट्राभल डकुमेन्ट) बनाएर अमेरिका बाहिर भ्रमणसमेत गर्न सक्नेछन् ।’ अधिकारकी अभियान संयोजक गुरुङले टीपीएस नवीकरणका लागि अधिकारले अमेरिकाका न्युयोर्क, क्यालिफोर्निया, टेक्सासलगायकाका स्थानमा निःशुल्क टीपीएस क्लिनिक सञ्चानलनको तयारी गरेकोसमेत जानकारी दिनुभयो । यस्तै, अभियानकै अनिल शाहीले टीपीएसको समयावधि थपका लागि मात्र नभई टीपीएस वाहकलाई स्थायी रुपमा अमेरिका बस्ने प्रबन्धका लागि दबाबमूलक अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । अमेरिकाले नेपाललगायत चार मुलुकका टीपीएसधारीका लागि १८ महिनाको समयावधि थप गरेको सन्दर्भमा नेजाले सो अन्तरक्रिया आयोजना गरेको हो । हाल टीपीएस प्राप्त १४ हजार ५ सय नेपाली रहेका छन् । सन् २०१५ मा नेपालमा महाविनाशकारी भूकम्प गएपछि सो समयमा अमेरिकामा रहेका नेपालीहरूका लागि टीपीएस सेवाको घोषणा गरेको थियो । म्याद सकिन केही महिना बाँकी रहँदा डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी डीएचएसले गत १३ जुन, २०२३ मा १८ महिनाका लागि टीपीएसको अवधि थप गर्ने घोषणा गरेको हो । नेपालसँगै एल साल्भाडोर, होन्डुरस र निकारागुवाको पनि टीपीएस सुविधाको म्याद थप गरिएको छ । अब आउँदो २४ अक्टोबरदेखि २३ डिसेम्बरभित्र टीपीएस स्टाटसमा रहेकाहरूले म्याद थपका लाग पुनः दर्ता गर्नुपर्ने छ । नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा भएको सो अन्तरक्रियाको सञ्चालन महासचिव बाबुराम दाहालले गर्नुभएको थियो भने उपाध्यक्ष सुजन पण्डितले स्वागत तथा कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो । सो अवसरमा नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेल, पूर्वअध्यक्ष भोला आचार्यलगायतले धारणा राखेका थिए ।
अन्तरक्रियामा नेजाका पूर्वअध्यक्ष, सल्लाहकार, कार्यसमिति पदाधिकारी तथा सदस्य एवं विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।
काठमाडौं । नेपालको हवाई सुरक्षा तथा हवाई सुरक्षामा संलग्न सुपरीवेक्षण क्षमता अभिवृद्धिमा फ्रान्सको नागरिक उड्डयन प्राधिकरणले सहयोग गर्ने भएको छ। यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र फ्रान्सको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक डामिएनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार फ्रान्स र नेपालबीच प्राविधिक सहायता उपलब्ध गराउन सोमबार फ्रान्सको राजधानी पेरिसमा सम्झौता भएको छ। यससँगै फ्रान्सले नेपाललाई हवाई सुरक्षा अभिवृद्धि गर्न मद्दत पुर्याउने उनले बताए। यो सम्झौता चार वर्षसम्म कायम रहनेछ। सम्झौतामा यदि कुनै मुलुकलाई सम्झौता खारेज गर्नुपर्ने अवस्था आएमा लिखित निवेदन दिनुपर्ने प्रावधान छ। त्यस्तै निवेदन दिएको ६० दिनमा सम्झौता खारेज गर्न सकिनेछ।
नेपाली क्लास बोस्टनले जुन १८ तारिखका दिन अभिभावक दिवस भव्यताका साथ मनाएको छ। अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको ‘अभिभावक दिवस’ नेपालमय भएको थियो। जहाँ नेपाली क्लासमा अध्ययनरत बालबालिकाहरुले नेपाली क्लासमा अध्ययन गर्ने क्रममा सिकेका ज्ञान तथा सीपहरुलाई गीत, संगीत तथा कलाको माध्यमबाट आफ्ना अभिभावकहरुको माझमा पस्किएका थिए।
बालबालिकाहरुले नेपाली राष्ट्रिय गान सयौ थुङ्गा फूलका हामी एउटै माला नेपाली …गीत गाएर कार्यक्रमको शुभारम्भ गरेका थिए। भने अमेरिकाको राष्ट्रिय गान बजाएर साथ दिइएको थियो। बालबालिकाहरुले नेपाल र नेपालीको इतिहास, भूगोल, राष्ट्रियता , नेपालीपन, नेपाली पहिचान, नेपालीत्व, नेपाल प्रेम तथा देश भक्तिले उत्प्रोत राष्ट्रिय गीत ‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ…’ गीत गाउदा सहभागीहरु भावनामा बगेर निकै गर्व महसुस गर्दै बालबालिकाहरुलाई साथ दिएका थिए। कार्यक्रमकै दौरानमा गाइएको ‘रातो र चन्द्र सूर्य…’ नेपाली राष्ट्रिय गीतले नेपालीत्वलाई थप प्रस्फुटित गरेको थियो। नेपालीहरुमा विविधतामा एकता रहेको नेपाली पहिचानको गतिलो प्रमाण दिने विभिन्न जातजातिहरुको मौलिक पहिरनहरुमा सजिएर बालबालिकाहरुले आफ्नो प्रस्तुति दिइरहेको दृश्यहरु साच्चै नमनयोग्य थिए। कलाकारहरु, आयोजक तथा अभिभावकहरु नेपाल र नेपालीप्रतिको माया मोहमा डुबेको त्यो माहोलले कार्यक्रम स्थल अमेरिका नभएर, नेपाल नै हो भन्ने भान पारेको थियो। कार्यक्रममा नेपालको भूगोल , इतिहासका साथै नेपाली भाषा, धर्म, संस्कृति, रितिरिवाज, परमपरा, रहनसहन, पहिचान, राष्ट्रियता आदिलाई सक्दो झल्काउने प्रयास गरिएको थियो। जसका कारण कार्यक्रम स्थल नेपालमय बन्न पुगेको थियो।
अमेरिकाको वार्षिक क्यालेण्डर अनुसार कार्यक्रमको दिन ‘फादर्स डे’ परेकाले कदर स्वरुप समस्त पिताहरुप्रति समर्पित गर्दै ‘पिता’ शिर्षकको कविता वाचन गरिएको थियो। कार्यक्रममा बालबालिकाहरुले नेपाल र नेपाली परिवेशलाई समेटेर तयार पारिएका छोटो मिठो सन्देशमुलक नाटकहरु : ‘ के नेपाल सानो छ ?, अभिभावक र चोरको खुट्टा काट’ प्रस्तुत गरेका थिए।
कार्यक्रमको तालिका अनुसार बालबालिकाहरुले नेपाली गीत/संगीत क्षेत्रमा चर्चित रहेका त्यो डाँडा पारी, लेकाली गाँउकी, गोजीमा दाम छैन, मायाले बाँध्यो, माया जदौ, आज हाम्रो भेट भाको दिन, टाकन टुकन, दर्शन सलाम, छिटको गुन्यु, चरी जस्तै लगायत गीतहरुमा आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए। भने, कार्यक्रमको अन्त्यतिर नेपाली क्लासमा आवद्ध रहेर स्वयंसेवीको भूमिका निर्वाह गर्दै आइरहेका शिक्षक/शिक्षिकाहरु तथा सहयोगीहरुले आफ्नो प्रस्तुति पस्किएपछि साँस्कृतिक कार्यक्रमलाई बिट मारिएको थियो।
भिन्न परिवेश र परिस्थितिमा पनि बालबालिकाहरुले आफ्नो कलाको माध्यमबाट अमूल्य सन्देशसहित नेपाल र नेपालीप्रतिको आघात प्रेम, नेपालीपन, नेपाली पहिचान र नेपालीत्व झल्काउन सफल भएकोमा आयोजक तथा अभिभावकहरु बालबालिकाहरुप्रति आभारी भएका थिए। समग्रमा साँगीतिक कार्यक्रमसहितको ‘अभिभावक दिवस’ भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै नेपाली क्लासकी स्वयंसेवी शिक्षिका तथा कार्यक्रम संयोजक संझना गुरुङ श्रेष्ठले भनिन्, ‘कार्यक्रम एकदमै राम्रो भयो। बच्चाहरुको मेहनत सहयोग, हाम्रो शिक्षक समूहको पहल र अभिभावकहरुको सहयोग भएर यति सफल कार्यक्रम भयो। हामी एकदमै खुशी छौं। र, हाम्रो बच्चाहरुप्रति धेरै नै गर्व छ।’ बच्चाहरुलाई आफ्नो देश र आफ्नो उद्गम स्थलसंग जोड्ने उद्देश्यले प्रारम्भ गरिएको अभियानले सार्थकता पाएको प्रतिक्रिया दिदै श्रेष्ठले यस अभियानमा साथ दिने सबैलाई धन्यवाद समेत व्यक्त गरिन्। कार्यक्रमको बारेमा संक्षिप्त प्रतिक्रिया दिने क्रममा नेपाली क्लासमा स्वयंसेवी शिक्षकको भूमिका निर्वाह गर्दै आएका परशुराम फुयालले भने, ‘कार्यक्रम सफल भएको महसुस गरेका छौं। भाइबहिनीहरुले निकै मेहनत गरे। अभिभावकहरुको अमूल्य साथ र सहयोग रह्यो। त्यसका लागि धन्यवाद ! ‘ उनले थपे, ‘हरेक वर्ष गर्दै आएको ‘अभिभावक दिवस’ आज समयमा सुरु गरेर समयमा सम्पन्न भयो। र, सबै अभिभावकहरुले जसरी प्रशंसा गर्नु भयो। हाम्रा भाइबहिनीहरुले जसरी प्रस्तुति गरे। त्यो हिसाबले हामीले नयाँ पुस्तालाई केही नयाँ कुराहरु नेपाली भाषा, संस्कृति, परम्परा, नेपालको भूगोल, इतिहासको बारेमा केही जानकारी दिन आज सफल भयौं भन्ने आजको अभिभावक दिवसले देखायो।’ फुयालले साबैको साथ सहयोगमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको बताउदै त्यसका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बालबालिकाहरु, अभिभावकहरु, सहकर्मीहरु, पत्रकारहरु, फोटोग्राफरहरु, समरभिल पब्लिक स्कूल, समरभिर आर्ट्स् काउन्सिल, साउण्ड इन्जिनियरहरुलगायत साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
कार्यक्रम मनोरन्जनात्मक, उत्प्रेरक, ज्ञान वर्धक र नेपाल र नेपालीप्रति समर्पित रहेको भनी अभिभावकहरुले पनि प्रतिक्रिया दिएका छन्। अभिभावक दीन बन्धु भट्टले कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै भने, ‘विविध कारणले हाम्रो तन नेपालदेखि टाढा पक्कै छ। तर, मनमा भने नेपाल र नेपालीप्रतिको माया निकै गाढा छ। जो यस कार्यक्रमले पनि पुष्टि गरिदिएको छ।’ उनले भने, ‘नेपालदेखि निकै टाढा भिन्न परिवेश र परिस्थितिमा रहेर पनि नेपाली भाषा, धर्म, संस्कृति, परम्परा, रितिरिवाज, चालचलन आदिलाई भुल्न सकिन्न। र, भुल्नु पनि हुदैन।’ भट्टले कार्यक्रम अत्यन्तै सफल र उदाहरणीय रहेको जनाउदै भने, ‘कार्यक्रम अत्यन्तै सफल रह्यो। नेपाली भाषा सिकाउने भनिएतापनि, नेपाली क्लास बोस्टनले नेपाली पहिचान र नेपालीपनको मुख्य आधार स्तम्भहरु भाषा, धर्म, भेषभूषा, संस्कृति, संस्कार, रितिरिवाज आदिका बारेमा र जीवन उपयोगी अमूल्य ज्ञान तथा सीपहरु सिकाइरहेको छ। जो अत्यन्त उदाहरणीय र कदरयोग्य कार्य हो। यसबाट अन्य संघ संस्थाहरुले पनि सिक्नु पर्दछ।’
कार्यक्रममा सहभागी अभिभावक मिलु शर्माले पनि कार्यक्रम साह्रै राम्रो र मनोरञ्जनात्मक रहेको प्रतिक्रिया दिएकी छिन्। उनले बालबालिकाहरुलाई निकै समय दिएर र मेहन गरेर नाटक, नृत्यहरु सिकाउने शिक्षकहरु र समस्त स्कूल परिवारप्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरिन्। शर्माको भनाइमा सहमति जनाउदै कार्यक्रममा सहभागी रहेकी अभिभावक दिप्ती भट्टराईले पनि बालबालिकाहरुले गरेको प्रस्तुतिहरुप्रति प्रसन्नता व्यक्त गरिन्।बालबालिकाहरुले प्रस्तुत गरेको गीत, नृत्य तथा नाटकहरु र नेपालको बारेमा गरेको प्रस्तुतिहरु प्रशंसनीय रहेको उनको प्रतिक्रिया थियो। नेपालदेखि निकै टाढा भएर पनि बालबालिकाहरुले आफ्नो भाषा, भेषभुषा, नाँच, कला, संस्कृति, उद्गम स्थान आदिको बारेमा अमूल्य ज्ञान तथा सीपहरु नेपाली क्लासका कारण सिक्न पाइरहेको उनको ठम्याइ थियो।
तीन घण्टा बढी सञ्चालन भएको विविध साँस्कृतिक कार्यक्रममा , ४ सय बढीको सहभागिता रहेको थियो। बोस्टन तमु समाज, समरभिल आर्ट्स् काउन्सिल, समरभिल पब्लिक स्कूल र स्थानीय स्वयमसेवी/सहयोगीहरुको सहयोगमा नेपाली क्लास बोस्टनले नेपाली मूलका बालबालिकाहरुलाई सन् २०१४ देखि नै नेपाली भाषा बोल्न, पढ्न र लेख्न सिकाउदै नेपालीपन, नेपाली पहिचान र नेपालीत्वमा केन्द्रित रहेर बालबालिकाहरुका बिच अतिरिक्त क्रियाकलापहरु पनि गर्दै आइरहेको छ। वर्षमा झण्डै ९ महिनासम्म हप्ताको हरेक आइतवार ३ घण्टा निशुल्क अध्यापन गर्ने गरिएको नेपाली क्लासमा, हाल नेपालको पहिचान दिलाउने सगरमाथा, बाग्मती, गण्डकी, कोशी, कर्णाली, लुम्बिनी र महकाली नामाकरण गरिएको ७ वटा कक्षाहरु सञ्चालन भइरहेका छन्। यस शैक्षिक सत्र (२०२२-२०२३)मा २२५ बालबालिकाहरुले सहभागिता जनाएका थिए। सहभागी हुने बालबालिकाहरुको संख्या बढ्दो छ।
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आउँदो ११ औँ महाधिवेशन संयुक्त रूपमा आयोजना गर्ने सहमति गर्दै आपसी विवाद टुङ्ग्याएको छ। यसअघि भएको १० औँ महाधिवेशनपछि सङ्घ दुई समूहमा विभाजित भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा आइतबार दुवै पक्षबिच भएको छलफलमा चारबुँदे सहमति गर्दै एक भएको सङ्घले जानकारी दिएको छ। एकताको महाधिवेशनका रूपमा आगामी अक्टोबरमा ११ औँ महाधिवेशन आयोजना गरिने छ। प्रधानमन्त्री प्रचण्ड र नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ को उपस्थितिमा दुई पक्षले एक हुने सहमतिपत्रमा हस्ताक्षर गरेको सङ्घले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।
प्रधानमन्त्री प्रचण्डले सङ्घको एकताले सरकारलाई समन्वय गर्न सहज भएको प्रतिक्रिया दिएको विज्ञप्तिमा उल्लेख छ। उनले नयाँ विधानलाई परराष्ट्र मन्त्रालयबाट प्रमाणित गरेर एउटै बनाएर अघि बढ्न सुझाव दिए ।सहमतिमा परराष्ट्र मन्त्रालय तथा सङ्घविरुद्ध अदालतमा दायर भएको मुद्दा फिर्ता लिने र सङ्घसँग मेल खाने सोही प्रकृतिका अन्य गतिविधि, संयन्त्र एवं संरचना खारेज गर्ने सहमति भएको छ।
सङ्घका अध्यक्ष विनोद कुँवरले विभाजन भएको संस्था एकताबद्ध बनाएर लैजानेजस्तो महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै बाँकी काम परराष्ट्र मन्त्रालयमा छलफल गरी टुङ्गोमा पु(याउने बताए । सहमतिअनुसार आगामी महाधिवेशन र निर्वाचनमा दुवै पक्षका प्रतिनिधिको सहभागिता विधान अनुसार सुनिश्चित गरिने छ।
पदाधिकारी, सदस्य तथा अन्यलाई विधानमा व्यवस्था गरिए अनुसारको प्राथमिकताका आधारमा महाधिवेशन प्रतिनिधि छनोट गर्ने सहमति भएको छ। त्यस्तै असार १५ गतेसम्म सदस्यता प्रमाणित गर्ने अवसर प्रदान गर्ने, दुई पक्षबिच एक उच्चस्तरीय विधान संशोधन समिति गठन गर्ने र समितिलाई ११ औँ महाधिवेशनको बन्दसत्रले अनुमोदन गर्ने सहमति पनि भएको छ।
न्यूह्यामसायर राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था न्यूह्यामसायर नेपाली समाजमा लाक्पा शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।
शनिबार म्यानचेष्टरमा सम्पन्न समाजको साधारण एवं अधिवेशनबाट दुई वर्षे कार्यकालका लागि निर्विरोध नयाँ समिति चयन भएको हो। समितिका उपाध्यक्षमा माधव गुरुङ, महासचिव प्रभात भट्टराई, कोषाध्यक्ष भेषराज शर्मा, सचिव शेखर राई, सह कोषाध्यक्ष जुनु कडरिया एवं सदस्यहरुमा रन गुरुङ, सुदिप पन्त, प्रदिप कार्की, राम श्रेष्ठ, एलिजा कार्की, जंग गुरुङ, शंकर श्रेष्ठ र मिङ्मा शेर्पा खापा चयन भएका छन् ।
नव निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई निर्वाचन समिति संयोगक शम्भु गुरुङले प्रमाणपत्र वितरण एवं सपथ ग्रहण गराएका थिए । कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष शान्ता विष्टले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै राज्यमा बसोबास गर्ने सबै नेपालीहरुलाई अझ बृहत दृष्टिबाट समेट्न सुझाव दिएका दिएकी थिइन् ।
नव निर्वाचित अध्यक्ष शेर्पाले न्यूह्यासायरमा बसोबास गर्ने सबै उमेर, वर्ग, क्षेत्र, एवं पेशाका नेपालीहरुलाई समेट्ने एवं अग्रजहरुको सर सल्लाह बमोजिम समाजलाई अझ गतिशिल र प्रभावशाली बनाउँदै लैजाने प्रतिवद्धता जनाएका थिए । ‘संस्थाले जुन उचाइ हासिल गरेको छ त्यसलाई खुम्चिन नदिइ अझ व्यापक बनाउने हाम्रो प्रयन्त रहनेछ’ शेर्पाको भनाइ थियो ।
संस्थाका पूर्व अध्यक्षहरु मिन गौतम, रोविन थापा, सोम गुरुङले नयाँ कार्यसमितिलाई सुझाव एवं हौसला प्रदान गरेका थिए । गैर आवासीय नेपाली संघ अमेरिका न्यूह्यामसायर च्याप्टर अध्यक्ष कमल ढुङ्गाना, गुरुङ समाज न्यूह्यामसायरका महासचिव विकास गुरुङ एवं नेपाल सरकारका अवैतिक पर्यटन दूत शिव राईले पनि संस्थाको उत्तरोत्तर प्रगतिको कामना समितको मन्तव्य व्यक्त गरेका थिए ।
निर्वाचन प्रकृयाभन्दा अगाडि समाजका निवर्तमान महासचिव माधव गुरुङले पेश गरेको सांगठनिक प्रतिवेदन एवं कोषाध्यक्ष भेषराज शर्माद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन साधारण सभाले पारित गरेको थियो । सन् २०१० मा स्थापित संस्थाले राज्यमा बसोबास गर्ने नेपालीहरुलाई समेटेर दशैं, तिहार, नेपाली नयाँबर्ष, तीज जस्ता उत्सव सामुहिक रुपले मनाउँदै आएको छ भने बिभिन्न समयमा खेलकुद एवं सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्ने गरेको छ ।
काठमाडौं । साउदी अरबमा दिउँसोको समयमा श्रमिकलाई खुला ठाउँमा काममा लगाउन प्रतिबन्ध लगाइएको छ । साउदीको मानव संसाधन र सामाजिक विकास मन्त्रालय (एमएचआरएसडी) ले आफ्ना श्रमिकलाई चर्को घाममा काममा नलगाउन रोजगारदाता कम्पनी तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ ।
जुन १५ देखि सेप्टेम्बर १५ अर्थात् जेठ ३२ देखि भदौ २९ सम्म तीन महिनाका लागि यस्तो प्रतिबन्ध लगाइएको हो । यो अवधिमा दिउँसो १२ देखि ३ बजेसम्म तीन घण्टा श्रमिकलाई खुला ठाउँको काममा लगाउन पाइँदैन । राष्ट्रिय व्यावसायिक सुरक्षा तथा स्वास्थ्य परिषद्सँगको सहकार्यमा मन्त्रालयले यस्तो प्रतिबन्ध लगाएको हो । खाडी देश साउदीमा यी तीन महिनाको अवधिमा अत्यधिक गर्मी हुन्छ ।
सो अवधिमा दिउँसोको तापक्रम अधिकतम ५० डिग्री सेन्टिगे्रडसम्म पुग्छ । त्यसैले साउदी सरकारले त्यहाँका निजी क्षेत्रमा कार्यरत श्रमिकको स्वास्थ्य सुरक्षाका लागि यो अवधिमा दिउँसोको समयमा काममा लगाउन प्रतिबन्ध लगाएको हो । साउदीमा रहेको नेपाली दूतावासले नेपाली श्रमिकलाई साउदी सरकारले तोकेबाहेकको समयमा कसैले काममा लगाएमा दूतावासलाई जानकारी गराउन आग्रह गरेको छ । साथै दूतावासले असारदेखि भदौसम्म साउदीमा अत्यधिक गर्मी हुने भएकाले सकेसम्म बसेको ठाउँबाट बाहिर नजानसमेत आग्रह गरेको छ ।
काठमाडौं । ग्रिसमा प्रवासीहरु चढेको डुंगा दुर्घटनामा परेको छ । सो क्रममा सयौं हताहती भएको खबर छ । अहिलेसम्म ७८ जनाको शव भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डुंगामा ७५० जना चढेका थिए । अन्य धेरै व्यक्ति वेपत्ता रहेको बताइएको छ । उनीहरुको खोजी भइरहेको छ । बीबीसीका अनुसार धेरै व्यक्ति वेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्छ ।
उक्त डुंगाको तल्लो तलामा करिब एक सय जना बालबालिका र महिलाहरु पनि थिए । दुर्घटनाबाट बाँचेकाहरुले बालबालिकाको संख्याबारे जानकारी दिएको बीबीसीले जनाएको छ । ती महिला र बालबालिकाहरुको अवस्था अज्ञात छ । दुर्घटना बाँचेकाहरुमा धेरैजसो पुरुषहरु छन् । त्यसैले महिला र बालबालिकाहरुको हताहती भएको हुनसक्ने आशंका अधिकारीहरुले गरेका छन् ।
क्षमताभन्दा धेरै मानिस भएकाले डुंगा दुर्घटना भएको अनुमान छ । ग्रिसको सरकारी टेलिभिजन ईआरटीका अनुसार डुंगा दुर्घटनापछि कोस्टगार्डका १२ जनालाई हिरासतमा लिइएको छ । ग्रिस कोस्टगार्डले प्रवासीहरुले खचाखच भरिएको डुंगा देखेको तर रोक्ने कोसिस नगरेको आरोप छ ।
काठमाडौं । नेपाल र युएईबीच श्रम समझदारी नवीकरण भएको छ। युएईसँग चार वर्षअघि श्रम समझदारी भएको थियो। बुधबार दुई देशको संयुक्त कार्यसमितिको काठमाडौंमा बसेको बैठकले समझदारी नवीकरणको निर्णय गरेको हो। छलफलमा नेपालले श्रम र वैदेशिक रोजगार सम्बन्धी पछिल्लो कानुनहरूबारे जानकारी पनि गराएको छ।
श्रमिकहरूको हक तथा अधिकार सुनिश्चितताका विषयमा समेत गहन छलफल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। सरकारले युएईमा नेपालीको न्यूनतम पारिश्रमिक सुनिश्चितता हुनुपर्ने, ज्यान गुमाएकाहरूको शव सहज रूपमा नेपाल ल्याउने व्यवस्था हुनुपर्ने प्रस्ताव गरेको छ।
त्यस्तै त्यहाँ जेल तथा कैदमा रहेका नेपाली श्रमिकहरूलाई आममाफीसहित अभिलेखवद्ध श्रमिकहरूको नेपाल फिर्तीमा सहजीकरण गरिदिन पनि प्रस्ताव गरेको हो। युएई पक्षले नेपालले राखेका विषयमा सकारात्मक रहेको धारणा राखेको छ। युएईले नेपालबाट घरेलु श्रमिक पनि लैजान इच्छा देखाएको छ। यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन समेत युएईले आग्रह गरेको छ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् । उनी मंगलबार मध्यराति पत्नी आरजुसहित सिंगापुर गएको उनको सचिवालयले जनाएको छ ।
देउवा २–२ वर्षमा फलोअपमा जानुपर्नेमा यसपटक ३ वर्षमा सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । उनी एक सातापछि स्वदेश फर्किने कांग्रेस केन्द्रीय कार्यालय सचिवालयले जनाएको छ ।
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले क्यानडामा हुने ग्लोबल टी–२० खेल्ने भएका छन् । गत राति भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवारले र दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले अनुबन्ध गरेको हो । सुरेमा सन्दीपसँगै एलेक्स हेल्स, लिन्टन कुमार दासलगायत खेलाडी रहेका छन् । दीपेन्द्र आबद्ध मोन्टेरियलमा शकिव अल हसन, आन्द्रे रसेललगायत छन् ।
सन्दीपले यसअघिका दुवै सिजनको ग्लोबल टी–२० लिग खेलिसकेका छन् । ग्लोबल टी–२० खेल्ने दीपेन्द्र तेस्रो नेपाली खेलाडी हुन् । यसअघि सन्दीप र सोमपाल कामीले यो लिग खेलिसकेका छन् । यो लिग आउने जुलाइ २० तारिखदेखि सुरु हुनेछ । ग्लोबल टी–२० लिग सन् २०१८ देखि सुरु भएको हो । सन् २०१९ मा दोस्रो संस्करण भएयता यो प्रतियोगिता सञ्चालन हुन सकेको थिएन ।
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलमेसिन सावित्रा भण्डारी साम्बाले युरोपेली क्लबबाट खेल्ने भएकी छन् । नेपाली टिमकी फरवार्ड सावित्रा इजरायलको क्लब हापोएल रानानाबाट त्यहाँको लिग खेल्नका लागि अनुबन्ध भएकी हुन् । क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत सावित्रासँग सम्झौता भएको जनाएको छ । एसियाली भूमिमा पर्ने भए पनि इजरायल युरोपेली महादेशको फुटबल महासंघमा सदस्य छ ।
नेपाल मात्र नभएर दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमध्ये एक रहेकी सावित्राले लामो समयदेखि युरोपमा खेल्ने सपना राखेकी थिइन् र त्यसका लागि उपयुक्त अवसरको खोजीमा थिइन् । घरेलु फुटबलमा विभागीय टोली एपीएफबाट खेल्ने सावित्राले भारतीय महिला लिगमा दुई फरक क्लबबाट खेल्दै तीन उपाधि जितिसकेकी छन् ।
केही समयअघि समाप्त भारतीय महिला लिगमा उनले गोकुलम केरलाबाट खेल्दै उपाधि जितेकी थिइन् । जहाँ उनी २९ गोल गर्दै सर्वपाधिक गोलकर्ताको अवार्ड जित्न सफल भइन् । यसअघि उनले सेथु एफसी र गोकुलम केरलाबाटै लिग उपाधि जितेकी थिइन्
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर प्रस्थान गर्दैछन्। उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् त्यता जान लागेका हुन्। सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर जान लागेको उनको सचिवालयले जनाएको छ ।
पेटसम्बन्धी समस्या देखिएपछि उनी नियमित चेकजाँचका लागि सो मुलुक जान लागेको बताइएको छ । उनी २र२ वर्षमा फलोअपमा जानुपर्नेमा अहिले ३ वर्षमा जान लागेका छन् । पत्नी आरजु देउवासहित सिंगापुर जान लागेका देउवा करिब एक सातापछि स्वदेश फर्कने सचिवालयले जानकारी दिएको छ।
काठमाडौं । नेपालले विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक तर्फ मताधिकार दिने तयारी गरेको छ । निर्वाचन कानूनहरुको एकीकृत मस्यौदामा यस्तो प्रावधान गर्न लागिएको हो । विदेशमा रहेका नेपालीहरुले सम्बन्धित देशबाटै भोट हाल्न पाउने व्यवस्था एकीकृत मस्यौदामा छ । विदेशमा रहेका नेपालीहरुले समानुपातिक तर्फ मात्रै मतदान गर्न पाउने प्रस्ताव गरिएको छ ।
निर्वाचन ‘आयोगले विदेशमा रहेका मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिलाई नेपाली कुटनीतिक नियोगको सहयोगमा सोही मुलुकबाटै प्रतिनिधिसभाको समानुपातिक तर्फको निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनमा मतदान गर्ने व्यवस्था मिलाउने’ एकीकृत ऐनको मस्यौदामा उल्लेख छ ।
कानुन बन्नुअघि नै निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली दर्ता अगाडि बढाउने भएको छ । आगामी साउन एक गतेदेखि विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन सुरु गर्ने तयारी रहेको छ । पहिलो चरणमा खाडी मुलुकहरु युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गरिनेछ ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको चुनावी मैदानमा डाक्टर अर्जुन बन्जाडे र डिलुराम पराजुली आम्ने साम्ने भएका छन्। संघको राष्ट्रिय परिषदको नेतृत्वको बागडोर समाल्ने प्रतिस्पर्धाको दौरानमा अध्यक्ष पदमा उमेदवारी घोषणा गर्दै यि दुइ आम्ने साम्ने भएका हुन्। यस क्रममा संघका पूर्व बरिष्ठ उपाध्यक्ष तथा गत निर्वाचनमा पनि अध्यक्ष पदका प्रत्याशी बनेका डा. अर्जुन बन्जाडेले आगामी दुइ वर्षीय कार्यकाल(२०२३-२५)का लागि अध्यक्ष पदमा आफ्नो उमेदवारी घोषणा गरेका छन्। उनले जुन ११ तारिख आइतवार टेक्सास राज्यको अर्भिङमा एक औपचारिक कार्यक्रमको आयोजना गरी आफ्नो उमेदवारी घोषणा गरेका हुन्। संघको संस्थागत विकासका लागि अझ बढी पारदर्शी, समावेशी, विश्वसनीय र अपनत्व महसुस हुने गरी रूपान्तरण गर्न आवश्यक भएको र त्यसका लागि आगामी निर्वाचन मार्फत कुशल नेतृत्व चयन गर्नु अपरिहार्य भएको जिकीर गर्दै डाक्टर बन्जाडेले त्यसका लागि आफू योग्य भएकाले नै नेतृत्व लिन तयार भएर उमेदवारी घोषणा गरेको प्रस्टिकरण दिएका छन्। ‘पारदर्शी, समावेशी र विश्वसनीय -‘परिवर्तन अपरिहार्य छ’ भन्ने मूल नाराका साथ बन्जाडे चुनावी मैदानमा उत्रिएका छन्। उनले पारदर्शीता, समावेशीता, विश्वसनीयता र अपनत्वलाई आफ्नो चुनावी प्रमुख मुद्दा बनाएका छन्। यस पटकको अधिवेशनले एनआरएनए, अमेरिका संस्था विभाजनको कारक नभइ एकताको संवाहक हो भन्ने सन्देश विश्वव्यापी रुपमा पुर्याउनु पर्ने ऐतिहासिक जिम्मेवारी भएकाले सोका लागि एकता र सहमतिबाटै अधिवेशन सम्पन्न गर्नु पर्दछ भन्नेमा डा. बन्जाडेले जोड दिएका छन्। उनले उमेदवारी घोषणासभालाई सम्बोधन गर्दै भने, ‘ अब अमेरकाको एनआरएनएले एकताको सन्देशदिन जरुरी छ। फुटाउने हैन, जुटाउने अभियानमा जोडिन जरुरी छ।’ सकेसम्म सर्वसम्मत भएर अघि बढ्न सबैलाई अनुरोध गर्दै उनले त्यसका लागि आफू सदैव तयार रहेको बताएका छन्।
उनले उमेदवारी घोषणाका क्रममा आफ्ना भावी अल्पकालीन तथा दिर्घकालीन लक्ष्य तथा कार्ययोजनाहरुको संक्षिप्त खाकासमेत सार्वजनिक गरेका थिए।उनले सार्वजनिक गरेको भावी लक्ष्य तथा कार्ययोजनाहरुमा संस्थाको नाम तथा पहिचान, एनआरएनए कार्ड, स्वास्थ्य,शिक्षा, व्यापार, संस्थागत विकास, नेपाली नागरिकताको निरन्तरता, गैर आवासीय नागरिकता, संघको सदस्यताको आवश्यकता तथा त्यसको मूल्य, नेपालबाट आउने र अमेरिकामै रहेका नेपाली/प्रवासी नेपालीहरुका लागि हेल्प डेस्कको व्यवस्था लगायत विषयहरुलाई प्राथमिकताका साथ उठाएका छन्।
डा.बन्जाडेको प्यानलबाट वर्तमान कार्यसमितिका उपाध्यक्ष विकास उप्रेतिले वरिष्ठ उपाध्यक्ष पदका लागि आफ्नो उमेदवारी घोषणा गरेका छन्। भने वर्तमान कार्यसमितका अर्का उपाध्यक्ष गोपेन्द्र भट्टराईले महासचिव पदमा उमेदवारी घोषणा गरेका छन्। त्यसैगरी, विधानले व्यवस्था गरे अनुसार ४ उपाध्यक्ष पदका लागि उमेदवारी घोषणा गर्नेहरुमा प्रेम तामाङ, नेत्र पाण्डे, ज्ञानेन्द्र गुरुङ र रामचन्द्र पन्त रहेका छन्। डा.बन्जाडेकै प्यानलबाट महिला सचिव पदमा शान्ति पौडेल र युवा संयोजक पदमा तेज पौडेल(बिनोद)ले उमेदवारी दिने घोषणा गरेका छन्।
त्यसैगरी, वर्तमान कार्यसमितिका उपाध्यक्ष डिलुराम पराजुलीले पनि संघको राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले जुन १० तारिख शनिवारका दिन आफ्नै गृह राज्य केन्टकीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी उमेदवारी घोषणा गरेका हुन्। यो संगै सहमति र सहकार्यबाटै अघि बढ्ने दुबै पक्षले बताए पनि, दुबै पक्ष जोडतोड चुनावी मैदनमा आम्ने साम्ने भएकाले सर्वसम्मत नेतृत्व चयन हुने अशा भने निकै कम रहेको देखिन्छ। पराजुलीले आफ्नो उमेदवारी घोषणाका क्रममा गैर आवासीय नेपाली नागरिकताको उपलब्धतालाई सहज बनाउन र वंशजको आधारमा नेपाली नागरिकता दिलाउन पहल गर्ने, अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरुको एकिन विवरण तयार पार्ने र उनीहरुलाई सक्दो सहयोग गर्ने, अमेरिकी सरकारसंग सहकार्य गर्ने, नेपाली र अमेरिकी स्थानीय निकायहरुका बिच समन्वय गराउन पहल गर्ने, नेपाल र नेपालीलाई सहयोग जुटाउने लगायत विषयहरु समेटिएका २१ बुँदे चुनावी घोषणापत्र समेत जारी गरेका थिए। गैर आवासीय नेपालीका साझा सरोकार र संस्थागत विकासलाई थप उचाइ दिन सक्षम, गतिशील र प्रतिबद्ध नेतृत्व आजको आवश्यकता भएको जिकीर गर्दै उनले त्यसका लागि आफू पूर्ण रुपमा योग्य रहेको दावी गरेका छन्। सामाजिक कार्य गर्नका लागि पर्याप्त इच्छा शक्ति, समय, साधन, श्रोत र पारिवारिक सहयोग चाहिने र त्यस हिसाबले आफू नेतृत्व लिन योग्य भएकाले मतदाताले नेतृत्व सुम्पिने विश्वास व्यक्त गरे। संघले दिएको जिम्मेवारी पुरा गर्ने क्रममा मेम्बरसीप ड्राइभको चियरका हैसियतले विभिन्न राज्यहरुमा पुगेर आफ्नो जिम्मेवारी पुरा गरेको र त्यही क्रममा मतदाताहरुको मनोभावना बुझेरै संस्थाको नेतृत्व लिन आफू अघिबढेको पराजुलीको भनाइ छ। उमेदवारी घोषणासभामा आफूले अध्यक्ष पदमै उमेदवारी दिनु पर्नाको कारण प्रस्ट्याउने क्रममा पराजुलीले आफू पदको लोभी नभएतापनि, संस्थालाई परिवर्तन गर्न, पारदर्शी र परिणाममुखी बनाउन आधिकारिक पद नै चाहिने रहेछ भन्ने महसुस गरेकाले अध्यक्ष पदमा उमेदवारी दिनु परेको तर्क प्रस्तुत गरेका थिए। ‘गफ होइन काम, समर्पण र साथ सहयोगले मात्र समाजको सुख दु:खमा सच्चा सारथि बन्न सकिन्छ’ भन्ने चुनावी मुल नारा बनाएर चुनावी मैदानमा उत्रिएका पराजुलीले, उमेदवारी घोषणा कार्यक्रममा आफू एकलैले आफ्नो उमेदवारी घोषणा गरेका थिए। संस्थाको विधान अनुसार विभिन्न पदहरुमा आफ्नो उमेदवारी घोषणा गर्ने क्रम जारी छ।
संस्थाका अनुसार, सन् २०२१ को मे २९ (शनिवार) र मे ३० (आइतवार) का दिन दुइ वर्षीय कार्यकाल(२०२१-२३)का लागि भएको निर्वाचनमा अमेरिकाको २९ राज्यमा रहेका कुल २० हजार १ सय ३८ सदस्यहरु मध्य कुल १५ हजार ७ सय ६८ ले मात्र मतदानमा भाग लिएका थिए। तर, यस पटक भने विविध कारणले संस्थाको सदस्य संख्या ७ हजार २ सय ४३ ले घटेको छ। हाल संस्थामा १२ हजार ८ सय ९५ जना सदस्यहरु रहेका छन्। यस मध्य के कतिले मतदानमा भाग लिने हुन् ? र कस कसले बाजी मार्ने हुन् ? त्यो भने हेर्न बाँकी नै छ।
काठमाडौं । वैदेशिक रोजगारका लागि अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका–७ वेलटार घर भई हाल ललितपुर गोदावरी नगरपालिका–१४ बस्ने ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठ र मुगु छायानाथ रारा नगरपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने ३४ वर्षीय प्रवीन खड्का रहेका छन् ।
श्रेष्ठले ओमनाथ मैनालीलाई वैदेशिक रोजगारका लागि अमेरिका पठाइदिने र त्यसका लागि ३१ लाख लाग्ने भन्दै झुक्याएर सम्पर्कविहीन भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।यसबीचमा श्रेष्ठले पीडितबाट पटकपटक गरी जम्मा ६ लाख २१ हजार रकम लिई ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।
यसैगरी, खड्काले कर्णबहादुर बुढासमेत दुई जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति ११ लाख ५० हजार लाग्ने भन्दै उनीहरूबाट पटकपटक गरी जम्मा ९ लाख रकम लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।
काठमाडौं । कोरोनापछि हिल्सा नाकाबाट मानसरोवर कैलाशको धार्मिक पर्यटकद्वारा दर्शन सुरु भएको छ । कोरोना महामारी भएपछि हिल्सा नाका दुईतर्फी रूपमा सञ्चालनमा आएसँगै मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरू नेपालजञ्ग हुँदै सिमकोट आउन सुरु भएको हो ।
मानसरोवर कैलाशको दर्शनका लागि पहिलो दिन नेपालगञ्जबाट हवाई मार्ग हुँदै ३४ जना धार्मिक पर्यटकहरू सिमकोट आइपुगेका छन् जसमा चार जना भारतीय र बाँकी एनआरएन छन् । गत वैशाख १८ गतेबाट चीनले औपचारिक रूपमा हिल्सा नाका दुईतर्फी रूपमा सञ्चालनमा ल्याएको थियो । २०७६ सालको कोरोनापछि हिल्सा नाकाबाट मानसरोवर कैलाशको दर्शन गर्न पहिलो पटक धार्मिक पर्यटकहरू सिमकोट आइपुगेका हुन् ।
जिल्लामा आइपुगेका पर्यटकमध्ये २४ जना हेलिकोप्टरबाट हिल्सातर्फ जाने छन् भने सिमकोटबाट हिल्सा माउण्टेन एयरको हेलिकोप्टरले छ सटल उडान भरेको थियो । सिमकोटमा बास बस्ने १० जना पर्यटकमध्ये चार जना भारतीय नागरिकहरूले सिमकोटबाट लिमीको लाप्चासम्म पैदल मार्ग हुँदै मानसरोवर कैलाशको दूरदर्शन गर्नेछन् भने बाँकी छ जना हेलिकोप्टरमार्फत हिल्सा जाने छन् । भारतीय पर्यटकहरूलाई हिल्सा नाकाबाट चीनको मानसरोवर कैलाश दर्शन नखुलाएको र जुन २५ तारिखपछि खुल्नेछ ।
मानसरोवर कैलाशको दर्शनका लागि धार्मिक पर्यटकहरू आउन सुरु भएपछि सिमकोट र हिल्साका होटेल तथा पर्यटन व्यवसायी खुसी भएका छन् । कोरोनाको कारण नाका बन्द हुँदा पर्यटकहरू आउन बन्द भएपछि विशेष गरी हिल्सा र सिमकोटका होटेल व्यवसायी मर्कामा परेका थिए । २०७२ सालको भूकम्पपछि हिल्सा नाकाबाट ३० हजार बढी पर्यटकले मानसरोवर कैलाशको दर्शन गरेका थिए ।
काठमाडौं । नेपाल हरित, उत्थानशील र समावेशी विकास (ग्रिड)का कार्य र लगानी प्राथमिकतामाथि सरोकारवालाबीच समीक्षा गरिएको छ । नेपाल सरकार, विकास साझेदारसहित सरोकारवालाको बैठक शुक्रबार आयोजना गरिएको हो । विश्व बैंक र अर्थ मन्त्रालयले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड)सम्बन्धी भिजनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने लगानी प्राथमिकता र अनुकूल नीतिबारे छलफल गर्न शुक्रबार काठमाडौंमा उच्चस्तरीय गोलमेच (राउन्डटेबल) बैठक आयोजना गरेका हुन् ।
कार्यक्रममा सरकार र विकास साझेदारसहित नागरिक समाज, निजी क्षेत्र, युवा समूहको सहभागिता थियो । उक्त अवसरमा सहभागी प्रतिनिधिले नेपाल सरकार र विकास साझेदारहरूबाट असोज २०७८ मा ग्रिड सम्बन्धी “काठमाडौं घोषणापत्र” संयुक्त रूपमा अनुमोदन गरिएयता भएका कार्यान्वयन प्रयासहरूको लेखाजोखा गरेका छन् । कार्यक्रममा मुख्य सचिव शंकर दास बैरागीले नेपालले राष्ट्रिय विकासको दूरदृष्टिका रूपमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) सम्बन्धी अवधारणालाई औपचारिक रूपमै अंगीकार गरेको बताए ।
विभिन्न जोखिमका बीच यो अवधारणा समृद्धि, दिगो आर्थिक वृद्धि, राम्रा रोजगारी र जीविकोपार्जनका अवसर एवं उत्थानशीलताको साधन बन्न सक्ने उनको भनाइ छ । उक्त गोलमेच बैठकले सरकारको मस्यौदा ग्रिड रणनीतिक कार्ययोजनामा उल्लेखित प्राथमिकता प्राप्त कार्यहरूको समेत समीक्षा गरेको छ । ती प्राथमिकता प्राप्त कार्यमा जमिन, जल र वनलाई थप उत्पादनशील, दिगो र एकीकृत रूपमा व्यवस्थापन गर्ने, मानिसहरूलाई नयाँ सीप र उत्थानशील जीविकोपार्जनबाट सुसज्जित बनाउने उल्लेख छ ।
यसैगरी, सहरी विकासलाई हरित बनाउने, खानेपानी तथा सरसफाइको पहुँच र प्रदूषण तथा फोहोरमैला व्यवस्थापन अभिवृद्धि गर्ने, नवीकरणीय ऊर्जा विस्तार गर्ने, यातायात प्रणालीको दिगोपना र उत्थानशीलता बढाउने, विपद् जोखिम व्यवस्थापन र वित्तीय लगानी सुदृढ गर्ने र विपदबाट आइपर्ने आघातहरूप्रति अनुकूलन हुन सामाजिक सुरक्षालाई सबल बनाउने रहेका छन् ।
दक्षिण एसिया क्षेत्रका लागि विश्व बैंकका उपाध्यक्ष मार्टिन रेजरले ग्रिडले आयस्रोत बढाउने, सबैका लागि अवसर सुधार गर्ने र प्रकृतिसँगको सामन्जस्यतामा वृद्धि हासिल गर्ने कार्य गर्ने बताए । ग्रिड सम्बन्धी प्राथमिकताहरूलाई साकार पार्न विश्व बैंक लगायत अन्य विकास साझेदारहरू पूर्णरूपमा प्रतिवद्ध रहेको समेत उनको भनाइ छ । नेपालमा यसको प्रभावकारी नतिजा हेर्न आफूहरु उत्सुक रहेको उनले बताए ।
नेपालको मस्यौदा ग्रिड रणनीतिक कार्ययोजनाले ग्रिड विकासको मार्गतर्फ जान अर्थतन्त्रव्यापी परिवर्तनको व्यवस्था गर्नुका साथै तयारी अवस्थामा रहेका वित्तिय प्रावधान सहितको उच्च प्राथमिकताका लगानी र प्राथमिकता प्राप्त नीतिगत प्रतिवद्धता तय गरेको छ । रणनीतिक कार्ययोजनाका प्राथमिकतामा नेपालका प्रमुख विकास, जलवायु, वातावरणीय र क्षेत्रगत रणनीतिहरूबाट साभार गरिएका छन् । यसका वित्तिय स्रोतहरूमा नेपाल सरकारको सार्वजनिक खर्च, वैदेशिक विकास सहायता, कार्बन वित्त जस्ता नवीनतम स्रोत र निजी क्षेत्र लगानी रहेका छन् ।
बैठकले नेपाल सरकारको नेतृत्वमा रहेको ग्रिड साझेदारीलाई थप मजबुत बनाएको विश्व बैंकले जनाएको छ । यसका २० वटा विकास साझेदार छन् । उक्त बैठक आसन्न रणनीतिक कार्ययोजनाका सम्बन्धमा प्रदेश तथा स्थानीय सरकार र अन्य सरोकारवालाहरूसँग परामर्श सुरू गर्न सरकारका लागि एउटा कोशेढुङ्गा बनेको समेत विश्व बैंकले जनाएको छ ।
ग्रिडको विकास साझेदारमा एसियाली विकास बैंक, फ्रान्स, अष्ट्रेलिया, संयुक्त अधिराज्य, गणतन्त्र कोरिया, युरोपेली संघ, जर्मनी, जापान, फिनल्याण्ड, अन्तर्राष्ट्रिय मुद्रा कोष, नर्वे, स्विट्जरल्याण्ड, संयुक्त राज्य अमेरिका, संयुक्त राष्ट्रसंघ, विश्व बैंक समूह, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ लगायत छन् ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको हितका लागि आफूले सबैभन्दा बढी ध्यान दिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूले सबैभन्दा बढी ध्यान वैदेशिक रोजगारीमा गएका नेपालीहरूको हित र रक्षाका लागि दिएको बताए ।
विदेशमा रहेका नेपालीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने काम अगाडि बढाएको प्रधानमन्त्री दाहालको भनाइ छ । त्यस्तै विदेशस्थित नेपाली दूतावासहरुमा श्रमिक हेल्प डेस्कको व्यवस्था, अनलाइन माध्यमबाटै श्रम स्वीकृति लिने व्यवस्था, वैदेशिक रोजगारीका क्रममा बन्धक बनाइएका, अलपत्र परेका नेपालीहरूको उद्धारलगायतका महत्वपूर्ण कामहरू अगाडि बढाएको पनि उनले उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीका क्रममा अंगभंग वा मृत्यु भएका नागरिकका परिवारका लागि शिक्षा र स्वास्थ्यमा राज्यले अभिभावकीय भूमिका खेल्ने बताए ।
उनले भारत र तेस्रो मुलुकबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भोग्दै आएका समस्या र दुःख, कष्टको सहजीकरण र सम्बोधन गर्न सरकार गम्भीर रूपले लागिरहेको जानकारी गराए । प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणको सन्दर्भमा उल्टोपाल्टो पारेर भ्रम फैलाउन लागिएको भन्दै सचेत हुन आग्रहसमेत गरे । उनले जसले देशमा राजनीतिक परिवर्तन ल्यायो उसले मात्रै देशलाई एकताबद्ध गर्न सक्ने बताए ।
‘जुन शक्ति र विचारले यति ठूलो परिवर्तन नेपालमा सम्भव तुल्यायो । अब त्यही विचार, त्यही प्रवृत्ति र शक्तिले मात्रै राष्ट्रलाई एकताबद्ध गर्न सक्छ । आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नसक्छ । नयाँ योजना र भिजनसहित देशलाई लानसक्छ भन्नेकुरा हामीले साबित गर्न सकेनौँ भने देश दुर्घटनामा पर्ने खतरा छ,’ उनले भने । उनले वैदेशिक रोजगारीबाट नेपाल फर्किएकाहरुका लागि सबै स्थानीय तहमार्फत अवसरहरूको सिर्जना गरिने बताए ।
काठमाडौं । वैदेशिक रोजगारीमा साउदी अरब जाने कामदारले अब सरकारबाट प्रमाणित शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउनुपर्ने भएको छ । नेपालस्थित साउदी दूतावासले १२ जुनदेखि भिसा प्रक्रियाका लागि परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण (एटेस्टेसन) भएको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्न निर्देशन दिएको हो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघराज भुर्तेलका अनुसार यो व्यवस्थाले एसईई वा सोही तहका अन्य शैक्षिक कोर्सभन्दा कम योग्यता भएका श्रमिकले साउदीको भिसाका लागि आवेदन नै दिन नपाउने अवस्था बन्ने बताएका छन् । यसले एसईई वा सो सरह उत्तीर्ण नभए पनि साउदी जाने तयारीमा रहेका श्रमिकहरु अन्योलमा परेका छन् ।
‘एसईई वा एसएलसीभन्दा तलका कक्षामा उत्तीर्ण भएको विद्यालयको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गर्न कुनै सरकारी नियका छैनन्, उनीहरुसँग त्यसको आधिकारिकर एकीकृत रेकर्ड हुँदैन,’ उनले भने,‘परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले कागजात प्रमाणीकरण गर्न सम्बन्धित विषयको सरकारी कार्यालयले गरेको प्रमाणीकरण माग्छ, यस्तो अवस्थामा एसएलसीभन्दा कम पढेकाहरुको प्रमाणपत्र नै प्रमाणीकरण हुन सक्दैन ।’
उनका अनुसार अब एसएलसी उत्तीर्ण नगरेकहरुले साउदी समेत जान नपाउने र एसईई वा त्यसभन्दा माथिको तह उत्तीर्ण गरेकाहरुले पनि प्रमाणपत्र प्रमाणीकरण गर्न राष्ट्रिय परीक्षा बोर्ड वा विश्वविद्यालयहरुमा धाउनुपर्नेछ । त्यसपछि सो कागजातका आधारमा फेरि कन्सुलर सेवा विभागमा लाइन बस्न जानुपर्नेछ ।
वैदेशिक रोजगार व्यवसायी संघले यस विषयमा श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी को ध्यानाकर्षण नै गराएको छ । ज्ञापनपत्र बुझाउँदै संघले कामदारको भिषा प्रक्रियामा अनावश्यक रुपमा शैक्षिक योग्यताको प्रमाणपत्र माग गरेर सो प्रमाणपत्र परराष्ट्र मन्त्रालय अन्तरगत कन्सुलर सेवा बिभागबाट प्रमाणित गरी पुनः साउदी दुतावसबाट प्रमाणीकरण गर्नु पर्ने अनिवार्य अव्यवहारिक, कानुन र प्रचलन विपरीत लागु गर्न लागि परेको आरोप लगाएको छ ।
‘नेपालबाट साउदी अरब लगायत खाडीका देशहरु तथा मलेसियामा जाने कामदार प्रायः अदक्ष कामदार जाने भएको हुदा अन्य मुलुकहरुमा शैक्षिक प्रमाणपत्रको आवश्यक नहुने र सो काममा उनीहरुको पुर्ख्यौली पेशा पनि भएको हुँदा काम गर्न सिप र क्षमता भएको तर, आधिकारिक शैक्षिक योग्यताका प्रमाणपत्र नहुने कारणले गर्दा रोजगारीबाट बञ्चित हुन जाने तवरबाट भएको दूतावासको उक्त काम कारवाही रोक्न कुटनीतिक पहल मार्फत सो प्रावधान खारेज गरी पूर्ववत व्यवस्था गर्न माग गर्छौं,’ संघले भनेको छ ।
अमेरिकाको बोस्टनमा आयोजित बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ सम्पन्न भएको छ। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्लैण्ड(प्याब्फोन-PABFONE)ले आयोजना गरेको ४ दिने कार्यक्रम मे २७ तारिखमा शुभारम्भ भई मे ३० मा सम्पन्न भएको हो।
कार्यक्रम बोस्टन सहरको ५९४ वासिङ्टन स्ट्रिट, ब्रेनट्री (594 Washington Street, Braintree) स्थित प्याब्फोन(PABFONE) को आफ्नै सामुदायिक भवनमा आयोजना गरिएको थियो। मे २१ तारिख आइतावारका दिन पूर्वाङ्गको कार्य सम्पन्न गरेसंगै हरेक दिन विभिन्न धार्मिक क्रियाकलापहरु गरिएको थियो।
४ दिने मुख्य कार्यक्रम अन्तर्गत सामुदायिक भवनमा स्थापना गरिएको पशुपतिनाथ, गौतम बुद्ध लगायत अन्य भगवानका मूर्तिहरुमा धार्मिक विधि अनुसार प्राण प्रतिष्ठा, सामूहिक ईही पूजा, मापरित्राण पाठ, भिक्षु तथा लामा भन्तेहरुबाट दान प्रदान, बौध्द गुरुहरुबाट धम्म ज्ञानको प्रवचनलगायत धार्मिक कार्यहरु सम्पन्न गरिएको थियो। यही शुभसाइतमा लघुरुद्री(१२१ पाठ) लगाउने, होम गर्ने, ब्रतबन्ध गर्ने, लाखबत्ती बाल्ने कार्य पनि सम्पन्न गरिएको थियो भने, हरेक दिन साँझ आरती गरिनुका साथै भक्तजनहरुले कलाकारहरुको साथमा भजन कीर्तन गरेका थिए।
पशुपतिनाथ मन्दिरतर्फ हरिप्रसाद काफ्ले(शैव) र बुद्ध मन्दिरतर्फ समन्त बज्राचार्यले पूजा संयोजकको जिम्मेवारी सम्हालेका थिए। कार्यक्रम तालिका अनुसार धार्मिक क्रियाकलापहरु सम्पन्न गरिसकेपछि सबैले भगवानको नाम लिदै एकै चोटी ताली बजाएर सामूहिक रुपमा सामुदायिक भवनको उद्घाटन गरिएको थियो। उद्घाटनसंगै सहभागीहरुले एक आपसमा बधाई तथा शुभकामना आदानप्रदान गरेका थिए।कार्यक्रममा श्रध्दालु भक्तजनहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
सन् २०१२ मा गठन गरिएको पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यु इंगल्याण्ड(प्याब्फोन- PABFONE) को लामो अथक नेतृत्वदायी भूमिका र समुदायको अमूल्य साथ र सहयोगको कारणले संस्था यो चरणसम्म आइपुग्न सफल भएको हो। धर्म, संस्कृति, परम्परा, रितिरिवाज आदिको संरक्षण, सम्बर्धन र प्रवर्धन गर्ने, सामुदायिक अचल सम्पत्ति जोड्ने, नेपाली समुदायलाई एकताबद्ध गराउने, नेपाली पहिचान,नेपालीपन र नेपालीत्वलाई अक्षुण्ण राख्ने र भावी सन्ततिहरुका लागि पहिचानको आधार स्तम्भहरु स्थापित गर्ने मुख्य उद्देश्यहरु राखेको प्याब्फोन(PABFONE)ले स्थापना कालदेखि नै आफ्नै सामुदायिक भवन जोड्ने र त्यसमा पशुपतिनाथ, गौतम बुद्ध लगायत अन्य देवी देवताहरुका मूर्तिहरुसहितको मन्दिर स्थापना गर्ने महत्वकांक्षी लक्ष्य लिएर अभियान छेडेको थियो। जसले अन्ततोगत्वा समुदायकै अथक साथ, सहयोग र सक्रियतामा सार्थकता पाएको छ। कार्यक्रम अपेक्षा गरे भन्दा पनि बढी प्रभावकारी, उत्साहजन, उत्प्रेरक, आनन्ददायी र फलदायी भएको आयोजकले जनाएको छ।
बृहत् कार्यक्रमका संयोजक प्रल्हाद केसीले कार्यक्रम सफलतापूर्वक संम्पन्न भएसंगै संस्थाको काँधमा थप जिम्मेवारीको भार थपिएको प्रतिक्रिया दिएका छन्। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा निकै खुशी व्यक्त गर्दै उनले भने, ‘आज हामी निकै खुशी भएका छौं। जसले हामीलाई उत्साहित र उत्प्रेरित समेत गरेको छ।र, सबै भन्दा महत्वपूर्ण कुरा संस्थाको काँधमा थप जिम्मेवारीको भार थपिएको छ।’ मुख्य गरी सबैलाई समेटेर प्राप्त उपलब्धिहरु जोगाउनु, अवसरहरुलाई सदुपयोग गर्नु र संस्थागत विकास गर्नु नै कार्यक्रम समापनले दिएको मुख्य जिम्मेवारी रहेको उल्लेख गर्दै संयोजक केसीले थपिएको जिम्मेवारी पूरा गर्न थप एकता, सक्रियता, इमानदारिता र लगनशिलताको खाँचो भएको जिकीर गरे। कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न समुदायको अहम भूमिका रहेको स्मरण गर्दै उनले प्रतक्ष्य परोक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।
संस्थाको बोर्ड अफ ट्रष्टिका अध्यक्ष सुशिल पौडेलले कार्यक्रम अत्यन्त सफल भएको टिप्पणी गरेका छन्। भक्तजनहरुमा निकै प्रसन्नता र उर्जा देखिएको जनाउदै अध्यक्ष पौडेलले भने,’ कार्यक्रम अत्यन्त सफल भएको मैले अनुभव गरेको छु। किन भने जतिपनि भक्तजनहरु आउनु भएको छ।उहाँहरु सबैमा प्रसन्नता र उर्जा देखिएको छ। सबैजना खुशी हुनुहुन्छ। कतिजना आउनु भयो भन्ने लेखाजोखा नै राख्न सकिएको छैन।’ उनले संस्था स्थापना काल भन्दापनि अगाडिदेखि अहिसम्मको विभिन्न काल खण्डमा प्रत्यक्ष परोक्ष रुपमा योगदान पुराउने सबैलाई स्मरण गर्दै जति नै धन्यवाद दिए पनि अपुग हुने बताए।
संस्थाले प्राप्त गरेको उपलब्धिहरुप्रति सबैले गर्व गर्नु पर्ने र अपनत्व ग्रहण गर्नु पर्ने बताउदै बोर्ड अफ ट्रष्टिका अध्यक्ष पौडेलले भने, ‘लामो समयदेखिको सबैको निरन्तर प्रयासले हाम्रो सपना साकार भयो। यसमा सबैले गर्व गरौं। र, अपनत्व ग्रहण गरौं।’
यस सम्बनधमा संस्थाको कार्यसमितिका अध्यक्ष बिष्णु कार्कीले कार्यक्रम सोचेको भन्दा पनि बढी भव्यताका साथ सम्पन्न भएको बताए। अध्यक्ष कार्कीले प्रत्यक्ष अप्रतक्ष्य रुपमा अहोरात्र खटेर कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सबैलाई धन्यवाद दिएका छन्। कार्यक्रम धार्मिक र सामाजिक रुपमै सफल भएको बताउदै उनले भने, ‘कार्यक्रम धार्मिक र सामाजिक दुबै कोणबाट भव्य सफल भयो। तन,मन, धन दिदै अहोरात्र खटेर सहयोग गर्ने सबैलाई संस्थाको तर्फबाट धन्यवाद दिन चाहन्छु।’ कार्यक्रम सम्पन्न भएसंगै मन्दिर र सामुदायिक केन्द्रलाई प्रभावकारी रुपमा नियमित सञ्चालन गर्न चुनौति थपिएको अध्यक्ष कार्कीको बुझाइ छ। उनले थपे,’ कार्यक्रम त भव्यताका साथ सम्पन्न गर्यौ।अब यसलाई प्रभावकारी रुपमा नियमित सञ्चान गर्ने चुनौती थपिएको छ। यो चुनौतीको सामना गर्न समुदायको निरन्तर साथ रलसहयोगको खाँचो छ। त्यसकालागि सबैलाई अनुरोध गर्दछु।’
कार्यक्रम निकै सभ्य र भव्य रुपमा सम्पन्न भएको संस्थाको बोर्ड अफ ट्रष्टिका उपाध्यक्ष मिलन गुरुङको बुझाइ छ। उपाध्यक्ष गुरुङले बुद्ध फाउण्डेशनको स्थापनासंगै मन्दिर र सामुदायिक केन्द्र बनाउने सबैको चाहना पुरा भएको प्रतिक्रिया दिए। सबैको साथ सहयोगले उक्त चाहना पूरा गर्न सम्भव भएको जीकीर गर्दै उनले यस अभियानमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। कोरोना कालमा निकै समस्याहरु झेल्नु परेको स्मरण गर्दै उपाध्यक्ष गुरुङले कुनै पनि योजना बनाउदा कुनै परिस्थितिमा छोड्न नहुने पाठ सिकेको बताए। कोरोना कालको विषम परिस्थितिमा पनि योजनालाई नथाकि, नछाडि सम्पन्न गर्न निरन्तरन्त लागिपरेकाले, अन्ततोगत्वा सफलता हात परेको उनको ठम्याइ थियो।
संस्थाको बोर्ड अफ ट्रष्टिका अर्का उपाध्यक्ष बिरोचन नेपालले पनि संस्थाले देखेको महत्वाकांक्षी सपना, लामो समयदेखिको एकिकृत अथक प्रयासका कारण पुरा भएको र त्यसले उत्साहित गराउनुका साथै थप जिम्मेवारी बोध गराएको प्रतिक्रिया दिएका छन्। कार्यक्रमको कस्तो रह्यो भन्ने कुरा समाजले मुल्याङ्कन गर्ने कुरा भएको बताउदै उनले आयोजकको तर्फबाट सकेको राम्रो गरेको बताए।उनले भने, ‘अब समग्रमा मुल्याङ्कन त समाजले गर्ने हो। हामी आयोजकको टिमबाट हामीले सकेको राम्रो गर्यौ भन्ने हाम्लाई लाग्छ।’ सकेसम्म सबै विधिहरु पूरा गरेर भगवानहरुलाई प्राण दिने कार्य भएको बताउदै उपाध्यक्ष नेपालले दशकौंदेखिको अभियान सफल भएको बताए।
मूर्ति प्राण प्रतिष्ठा एवम् सामुदायिक भवन समुद्घाटन कार्यक्रम सम्पन्न गरिएसंगै अब श्रध्दालु भक्तजनहरुका लागि मन्दिर पूजा, पाठ, दर्शन आदि गर्न नियमित रुपमा खोलिने भएको छ। त्यसैगरी, कार्यक्रमहरु गर्न चाहनेहरुका लागि पनि कार्यक्रम हल सशुल्क लिएर उपलब्ध गराइने भएको छ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो भारत भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् । उनले आफ्नो भ्रमण परिणाममुखी भएको बताए । चार दिने भारत भ्रमण पूरा गरी शनिबार साँझ स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमण विगतका भन्दा परिणाममुखी र कामकाजी भएको बताए ।
‘भ्रमण विगतको भन्दा परिउणामुखी भएको छ, कामकाजी भएको छ, आर्थिक क्रियाकलाप र द्विपक्षीय सहयोगको क्षेत्रमा बढी केन्द्रित भएको छ’ उनले भने । भारत भ्रमणअघि आफूले जे सोचेको त्यो मूलभूत रुपमा पूरा भएको प्रचण्डले बताए । ‘यो भ्रमण जे भनेर गएको थिएँ, मूलभूत रुपमा सोचेको कुरा पूरा भएको छ, केही महत्वपूर्ण दूरगामी सहमति समझदारी भएका छन्’ प्रधानमन्त्री प्रचण्डले भने ।
उनले दुई देशको राजनीतिक नेतृत्व तहमा विश्वासको वातावरण बनेको पनि बताए । ‘ पहिले विश्वासको संकटजस्तो देखिन्थ्यो । नेतृत्व लेभलमा विश्वासको वातावरण बन्यो’ प्रधानमन्त्री प्रचण्डले भने । ऊर्जा व्यापारमा लामो अवधिको सम्झौता हुनु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै १० वर्षमा १० हजार मेगावाट विजुली खरिद गर्ने कुरा गर्नु, पारवहन सम्झौता हुनु, रेलमार्ग, पुल निर्माण सुख्खा बन्दरगाह भारतले अनुदानमा बनाउन तयार हुनुजस्ता कुराले विश्वासको वातावरण बनेको उनको भनाइ छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् । यही जेठ १७ गते भारत भ्रमण गएका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड शुक्रबार भारतको मध्यप्रदेशको इन्दोर पुगेका छन् । उनी आज त्यहाँको विशेष आर्थिक क्षेत्रको भ्रमण सकेर दिल्दी फर्किने छन् । दिल्लीबाट अपराह्न ४ः २० नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं फर्किने कार्यक्रम तय भएको छ ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री स्तरीय भेटवार्तासहित केही सम्झौताहरू भएका छन् । प्रचण्डले भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मुलगायतसँग भेटवार्ता गरिसकेका छन् । भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि सहभागी छन् ।
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मध्यप्रदेशको इन्दोर जाँदैछन् । उनी बिहान ८ बजे नयाँदिल्लीबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । दिउँसो करिब एक बजे प्रधानमन्त्री प्रचण्ड इन्दोर पुग्ने र होटल मेरियटमा बस्ने भ्रमण तालिकामा उल्लेख छ ।
दिउँसो चार बजे मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलसँग उनको भेटघाटको कार्यक्रम छ । उनले इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्टको भ्रमण गर्ने कार्यक्रम छ । इन्दोरको फोहोर व्यवस्थापन नमूनायोग्य मानिन्छ । इन्दोर भारतको सबैभन्दा सफा र फोहोर व्यवस्थापनमा उत्कृष्ट सहरको रुपमा चिनिन्छ ।
बेलुका उनी मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डले इन्दोरमा भाजपा र आरएसएसका नेताहरूसँग भेटघाट गर्ने सम्भावनासमेत छ । प्रधानमन्त्री प्रचण्डले शनिबार जेठ २० गते इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली फर्किने छन् । सोही दिन अपराह्न ४ः२० बजे उनी नयाँदिल्लीबाट काठमाडौं फर्किने कार्यक्रम छ ।
भारतको चारदिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जेठ १७ गते नयाँदिल्ली गएको थियो । प्रधानमन्त्री प्रचण्डले जेठ १९ गते प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु लगायतसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री मोदीसँगको भेटका क्रममा नेपाल र भारतबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको थियो । मूलतः ऊर्जा र पारवहन क्षेत्रमा भएको सहमति ‘ऐतिहासिक’ भएको सम्वद्ध पक्षको दाबी छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको बताएका छन् । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज आफ्ना समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीका रूपमा आफ्नो यो चौथो भारत भ्रमण रहेको स्मरण गर्दै उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौँदेखि सामाजिक, सांस्कृतिकको बलियो जगमा बहुआयामिक रहँदै आएको उल्लेख गरे । उनले भने, “प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको बीचको सम्बन्ध र सहयोगलाई अझ बलियो बनाउनका लागि लिइएको छिमेकी पहिलो नीतिको म प्रशंसा गर्न चाहन्छु।”
प्रधानमन्त्री दाहालले भेटवार्तामा दुई देशबीच व्यापार, पारवाहन, सम्पर्क सञ्जाल, लगानी, जलविद्युत्, विद्युत् व्यापार, सिँचाइ, कृषि, रेल्वे, पुल, प्रसारण लाइन, पेट्रोलियम पाइपलाइन विस्तार, एकीकृत भन्सार जाँचचौकीका साथै अतिरिक्त हवाई प्रवेश विन्दुलगायत बहुआयामिक क्षेत्रलाई अझ बलियो बनाउने विषयमा छलफल भएको बताए ।
उनले भेटवार्तामा नेपालमा निर्माण भइरहेका जलविद्युत् परियोजना तथा अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा पनि छलफल भएको जानकारी दिए । “नेपालको जलविद्युत् क्षेत्र नेपालको आर्थिक उन्नति र ऊर्जा सुरक्षाको आधार मात्रै नभई यो वातावरण संक्षणका लागि पनि महत्त्वपूर्ण छ”, प्रधानमन्त्री दाहालले भने । भारतले हाल नेपालबाट चार सय ५० मेगावाट विद्युत् आयात गरिरहेकामा प्रशंसा गर्दै उनले आगामी दिनमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित चार सय ५६ मेगावाट विद्युत्सहित थप एक हजार दुई सय मेगावाट विद्युत् आयात गर्ने प्रधानमन्त्री मोदीको सकारात्मक प्रतिक्रियाप्रति धन्यवाद ज्ञापन गरे ।
प्रधानमन्त्री दाहालले दीर्घकालीन विद्युत् व्यापार सम्झौताअन्तर्गत आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् नेपालबाट आयात गर्ने सहमति भएको बताउए । यो सन् २०२२ अप्रिलमा दुई देशका प्रधानमन्त्रीबीच भएको सहमतिका आधारमा सम्भव भएको उनको भनाइ छ।
उनले नेपालबाट भारत हुँदै बङ्गलादेशसम्म दैनिक ५० मेगावाट विद्यत् पुर्याउनका लागि गरेको सहयोगको प्रशंसासमेत गरे । उनले विद्युत् व्यापारका सन्दर्भमा नेपाल–भारत–बङ्गलादेशबीच छिट्टै त्रिपक्षीय सम्झौता हुनेमा विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना र चार सय ८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणको सम्झौताले विद्युत् विकास र अन्तरदेशीय प्रसारण लाइनको विकासमा नयाँ सुरुआत भएको बताए । उनले दुई प्रधानमन्त्रीबीच तीन महिनाभित्र बहुउद्देश्यीय पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने र डिपिआर स्वीकृत भएको एक वर्षभित्र कार्यान्वयनको ढाँचा तयार गर्ने सहमति भएको जानकारी दिए ।
उनले टनकपुर नहरबाट नेपालतर्फको सिँचाइ, मनसुन सुरु हुनुअघि नै नेपालको तराई क्षेत्रमा हुनसक्ने बाढीको जोखिम न्यूनीकरणका लागि द्विपक्षीय संयन्त्रले काम गर्ने विषयमा छलफल भएको जानकारी गराए । उनले भारतसँगको व्यापार घाटा न्यूनीकरणका लागि निर्यातमा सहजीकरण गर्न आग्रह गरेको बताए । उनले नेपालको जुटजन्य वस्तुको सामग्रीमा एन्टिडम्पिङ हटाउन आग्रह गरेको बताए ।
प्रधानमन्त्री दाहालले अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौताले दुवै देशका विद्यार्थी, व्यापारी, पर्यटक र तीर्थालुका लागि ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । मोतिहारी–अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने, भारतको सिलुगुडीदेखि झापाको चारआलीसम्म नयाँ पेट्रोलियम पाइपलाइन निर्माण तथा भण्डारण गृह निर्माण गर्ने विषयमा सम्झौता भएको उनको भनाइ छ।
प्रधानमन्त्री दाहालले अतिरिक्त हवाई प्रवेश विन्दुका लागि आफूले छलफल गरेको र सोसम्बन्धमा भारत सकारात्मक पाएको बताए । “भारत सरकारले नेपाल–भारत सीमा नजिक रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’बाट उडानसम्बन्धी स्वीकृति दिएकोमा प्रशंसा गर्दछु। यसबाट सुरक्षित र पूर्णक्षमतामा हवाई उडान हुनेछ”, उनले भने ।
उनले नवनिर्मित भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा उडानको अपेक्षा गरेको बताए । सो अवसर प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको सौहार्दपूर्ण भ्रमणका लागि निम्तो दिँदै आफू स्वागत गर्न आतुर रहेको बताए ।
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच धार्मिक र सांस्कृतिक सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको बताएका छन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तापछि आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले भारत–नेपाल सम्बन्धलाई हिमाल जतिकै उचाइ प्रदान गर्नका लागि काम गरिरहने उल्लेख गरे ।
“यही भावनाअनुसार सबै मुद्दा, चाहे सीमाका हुन्, या अन्य कुनै विषय सबै समाधान गर्छौं”, उनले भने, “यो सुन्दर सम्बन्धलाई थप प्रगाढ बनाउन प्रधानमन्त्री दाहाल र मैले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तीव्र गतिमा अगाडि बढाउन चाहेका छौँ ।”
नौ वर्षअघि सन् २०१४ मा आफूले भारतको प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको तीन महिनाभित्र नेपालको पहिलो भ्रमण गरेको स्मरण गर्दै उनले नौ वर्षमा दुवै देशबीच अनेकौँ क्षेत्रमा कयौं उपलब्धि हासिल भएको उल्लेख गरे । “वीरगञ्जमा नेपालको पहिलो एकीकृत जाँचचौकी (आइसिपी) बनेको छ, भारत–नेपालका बीचमा पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण भएको छ।‘ब्रोडगेज’ रेललाइन स्थापित भएको छ, सीमा क्षेत्रमा नयाँ प्रसारण लाइन निर्माण भएको छ।नेपालबाट चार सय ५० मेगावाट बिजुली आयात गरिरहेका छौँ”, भारतीय प्रधानमन्त्री मोदीले भने ।
उनले भारत–नेपाल ‘पार्टनरसीप’ लाई ‘सुपरहिट’ बनाउन दुवै देशका प्रधानमन्त्रीले महत्त्वपूर्ण निर्णय लिएको उल्लेख गरे । “आज पारवहन सम्झौता सम्पन्न भएको छ।यसमा नेपालीका लागि नयाँ रेलमार्गका साथ भारतको जलमार्गको सुविधा प्राप्त हुनेछ।नयाँ रेल लिङ्क स्थापना गरेर भौतिकरूपमा सम्पर्क सञ्जाल जोडिएको छ”, प्रधानमन्त्री मोदीले भने ।
भारतीय रेल संस्थानमा नेपालका रेलकर्मीलाई प्रशिक्षण प्रदान गर्ने निर्णय लिएको पनि उनले जानकारी दिए । उनले अन्तरदेशीय डिजिटल भुक्तानीसम्बन्धी सम्झौतासँगै हजारौँ विद्यार्थी, लाखौं पर्यटक अथवा तीर्थयात्रीका साथ स्वास्थ्योपचारका लागि भारत आउने नेपालीले लाभ लिने उल्लेख गरे । उनले थप तीनवटा एकीकृत जाँचचौकी निर्माणबाट आर्थिक कनेक्टिभिटी सुदृढ हुने विश्वास व्यक्त गरे ।
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको जनाएको छ। सङ्घका कार्यकारी अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीलाई नेपालको संविधान २०७२ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएको बताए ।
नागरिकता विधेयकले विश्वभर छरिएर रहेका लाखौँ गैरआवासीय नेपालीले सन् २००३ देखि उठाउँदै आएको ‘गैरआवासीय नेपाली नागरिकता’ को माग सम्बोधन गरेको उहाँको भनाइ छ।
“राष्ट्रपति पौडेलको यस कदमले ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूलमन्त्रलाई छिट्टै सार्थक बनाउनेमा पनि हामी विश्वस्त छौँ”, कार्यकारी अध्यक्ष डा.केसीले भने, “विश्वभर रहेका नेपालीलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपाल भित्र्याउन थप दायित्व बोध गरेका छौँ।”
विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपालीको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागिसमेत ठोस वातावरण तयार पार्ने उनको विश्वास छ। सङ्घले नागरिकता विधेयकालाई निष्कर्षमा पुर्याउन भूमिका निर्वाह गरेका प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, सम्पूर्ण राजनीतिक दललगायत कानुनविद्प्रति कृतज्ञता व्यक्त गरेको छ। राष्ट्रपति पौडेलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको छ । यसअघि दुई पटक संघीय संसदले पारित गरेको यो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी ‘होल्ड’ मा राखेकी थिइन् । यो प्रावधानले अब गैरआवासीय नेपालीलाई नागरिकता लिन बाटो खुलेको छ । उनीहरुले अब राजनीतिक र प्रशासनिक बाहेकका अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता पाउनेछन् ।
वंशज वा जन्मको आधारमा स्वयंले वा बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिकता लिई पछि विदेशी मुलुकको नागरिकता लिएको गैरआवासीयले यस्तो व्यवस्था बमोजिम नागरिकता पाउनेछन् । यस्तो व्यवस्था बमोजिम नागरिकता लिन निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण चाहिन्छ । सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण पेश गर्नुपर्छ ।
विदेशी मुलुकको नागरिकता भएको प्रमाण चाहिन्छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण पेश गर्नुपर्छ । नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता पत्र चाहिन्छ । विधेयक प्रमाणीकरण भएपछि नेपाली पुरुषसँग विवाह गरेर आउनेले विदेशी महिलाले तत्कालै अंगीकृत नागरिकता पाउनेछ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा बसोबास गर्ने नेपालीलाई मतदान गर्ने अधिकार दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । चारदिने भारत भ्रमणका क्रममा बुधबार नयाँदिल्ली आएका उनले नेपाली दूतावासमा नेपाली समुदायसँगको छलफलका क्रममा विदेशमा रहेकाहरुलाई मताधिकारको प्रत्याभूत गर्ने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भारतमा रहेका नेपाली समुदायलाई स्वदेश फर्केर नेपालको विकासका लागि योगदान दिन आग्रह गरे । आफूहरुले देशको अर्थतन्त्र पुनरुत्थान गर्ने काम गरिरहेको उनले बताए । मुलुकको आर्थिक, सामाजिक रुपान्तरण, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने पनि प्रधानमन्त्री प्रचण्डले बताए ।
काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड आज महत्वपूर्ण भेटवार्तामा व्यस्त रहने छन् । बुधबार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता सुरु गरेका थिए । सोही क्रममा आज प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् ।
आज बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ताको कार्यसूची तय भएकोछ । कार्यसूची अनुसार दुई समकक्षीबीच आधा घण्टा भेटवार्ता हुनेछ । त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन् । प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।
आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ ।
त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्तरुपमा आयोजना गरेको नेपाल-भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
यसैगरी भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि प्रधानमन्त्री प्रचण्डले आज नै भेटघाट गर्ने कार्यक्रम छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्राबीच भेट भएको छ। बुधबार भारत पुगेका प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीमा होटल मौर्यामा उनीहरूले भेट गरेका हुन्। प्रधानमन्त्री प्रचण्ड गत पुसमा तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक भारत भ्रमणमा गएका हुन्।
दिल्लीमा रहँदा प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय वार्ता गर्ने छन्। द्विपक्षीय वार्तापछि दुई देशबीच केही समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ। दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम पनि छ। दिल्लीमा राजनीतिक भेटघाट सकेर प्रधानमन्त्री प्रचण्ड मध्य प्रदेशको उज्जैन जाने कार्यक्रम छ। उनी जेठ २० गते स्वदेश फर्कने छन्।