Category: डायस्पोरा

  • कस्तो छ राष्ट्रपतिको स्वास्थ्य ?

    कस्तो छ राष्ट्रपतिको स्वास्थ्य ?

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ। भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचाररत पौडेलको स्वास्थ्यमा सुधार आएको नेपाली राजदूतावासले जनाएको छ। उनी उक्त अस्पतालमा भर्ना भएको आइतबार पाँचौ दिन हो। चिकित्सकहरूले राष्ट्रपति पौडेलको स्वास्थ्य उपचारमा क्रमिक सुधार आएको जनाएका हुन्।

  • अष्ट्रेलियामा हुण्डी कारोबारमा ठगिँदै नेपाली, रोक्न पहल

    अष्ट्रेलियामा हुण्डी कारोबारमा ठगिँदै नेपाली, रोक्न पहल

    काठमाडौं । अष्ट्रेलियामा हुण्डिको अवैध कारोबारमार्फत नेपाली विद्यार्थी ठगिने क्रमम नरोकिएपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले बैंकिङ प्रणालीको सहजिकरणको पहल थालेका छन्। राजदूत पोखरेलले अष्ट्रेलियाको केन्द्रीय बैंक रिजर्भ बैंक अफ अष्ट्रेलियाका गभर्नर फिलिप विलियम लोसँग भेटवार्ता गर्दै बैंकिङ प्रणामार्फत नेपालमा रेमिट्यान्स पठाउने प्रक्रियालाई सहजिकरण गर्न आग्रह गरेका छन्। राजदूत पोखरेल र अष्ट्रेलियाका गभर्नर बीचको भेटका क्रममा नेपाल र अष्ट्रेलियाको बैंकिङ सहकार्य, रेमिट्यान्स पठाउने झण्झटिलो प्रक्रिया र शुल्कका बिषयमा छलफल भएको थियो।

    वाणिज्य बैंकबीचको आपसी सहकार्य र साझेदारीका विविध विषयमासमेत छलफल भएको नेपाली राजदूतावासले जानकारी दिएको छ। राजदूत पोखरेलले अष्ट्रेलियामा बढ्दो नेपाली समुदायको बारेमा अवगत गराउँदै अष्ट्रेलियाबाट नेपाल पठाइने रेमिट्यान्सको मोडललाई सहज बनाउन गरेको आग्रहलाई अष्ट्रेलियाका गभर्नरले समेत सकारात्मक रुपमा लिएको राजदूत पोखरेलले जानकारी दिए। भेटका क्रममा सहायक गभर्नर (बिजनेस सर्भिसेज) मिशेल म्याकफी, रिजर्भ बैंकका बैंकिङ प्रमुख माइकल प्लम्प र न्यु साउथ वेल्सका अवैतनिक महावाणिज्यदूत दीपककुमार खड्काको सहभागिता थियो।

    राजदूत पोखरेलले हुण्डीबाट नेपाल पैसा पठाउने काम गैरकानुनी भएकोले अस्ट्रेलियामा रहेका आम नेपालीलाई बैकिङ च्यानलबाट मात्र पैसा पठाउन पुनः आग्रह गरेका छन्। ‘उताबाट विद्यार्थी आउँदा डलर लिएर आउने र यताबाट पठाएको डलर अर्कै ठाउँमा पुग्ने भएकोले हुण्डी गैरकानुनी हो’, उनले भने, ‘त्यसैले जिम्मेवार नागरिकको हैसियतले सबैले आफूले पठाएको पैसा नेपाल पुग्ने गरी बैकिङ च्यानलबाट मात्र पठाउनुहोला।’ आफू आएदेखि यस विषयमा गम्भीर रहेको भन्दै उनले केही बैंकसँग सहजताका लागि छलफल समेत भएको बताए।

    हुण्डीका विषयमा निकै गम्भीर देखिएका राजदूत पोखरेलले प्रारम्भीक रूपमा आग्रह र अनुरोध भएको भन्दै यो नरोकिए आफूहरू अन्य कदम चाल्न पनि तयार रहेको बताए। अस्ट्रेलियामा अध्ययन गर्न आएका करिब ७० हजार नेपाली विद्यार्थीमध्ये अधिकांशले ‍हुन्डीबाटै पैसा पठाउने गरेको एक तथ्यांकले देखाउँछ। यसरी दैनिक हजारौं विद्यार्थीले एक दुई रूपैयाँको लोभमा थाहै नपाई वा लहलहैमा लागेर लाखौं डलर नेपाल पठाइरहेका छन्। पछिल्लो समय यसबारे नेपाल सरकारले पनि चासो देखाउन थालेको छ।

    बैंकबाट रेमिट्यान्स पठाउन झण्झटिलो प्रक्रिया, शुल्क बढी लाग्ने कारणले हुण्डीको कारोबार फस्टाएको पाइएको छ । यस्ता विभिन्न कारणले सोझा सिधा नेपाली विद्यार्थी थोरै पैसा र सजिलोको खोजीमा लाग्दा हुण्डीबाट लाखौँ लाख ठगिने गरेका छन्। बैंकिङ प्रणाली मार्फत रेमिट्यान्सलाई सहजिकरण गरिएमा हुण्डिको कारोबारसँगै बढ्दै गरेको अवैद्य आर्थिक कारोबारको ठगी समेत रोकिने अपेक्षा गरिएको छ।

  • कतारमा रहेका नेपालीले दूतावासबाटै श्रम स्वीकृति सेवा पाउने

    कतारमा रहेका नेपालीले दूतावासबाटै श्रम स्वीकृति सेवा पाउने

    काठमाडौं । कतारमा रहेको नेपाली दूतावासले आउँदो मङ्गलबार अर्थात् वैशाख १२ देखि श्रम स्वीकृति सेवा प्रदान गर्ने भएको छ । सरकारले विदेशमा रहेका नेपाली दूतावासबाट पनि श्रम स्वीकृति सेवा प्रदान गर्ने निर्णय गरेसँगै सो सेवा प्रदान गर्ने दूतावासले जनाएको छ । दूतावासले दैनिक ५० वटासम्म श्रम स्वीकृतिको टोकन खुलाउने विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

    कतार दूतावासको यो तयारीसँगै करार अवधि सकिएपछि पुनः श्रम स्वीकृतिका लागि स्वदेश आउनुपर्ने बाध्यता हटेको छ । सरकारले केही महिनाअगाडि मन्त्रीस्तरीय निर्णय गर्दै श्रम गन्तव्य देशबाट श्रम स्वीकृतिको व्यवस्था गर्ने घोषणा गरेको थियो । दूतावासबाट श्रम स्वीकृति बढीमा दुई पटकसम्म लिन पाइने व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ ।

    पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली ९फेमिस०मा आबद्ध भएर अनलाइनबाटै आवेदन दिन सकिने जनाइएको छ । श्रम स्वीकृति लिनका लागि कल्याणकारी कोष, जीवन बीमा र सामाजिक सुरक्षा कोषमा रकम बुझाउनुपर्ने हुन्छ । कनेक्ट आईपीएस, इसेवा, खल्तीलगायत एपबाट यस्तो रकम तिर्न सकिने व्यवस्था गरिएको दूतावासले जनाएको छ । त्यसो त मलेसियामा रहेको दूतावासले पनि यही वैशाख १५ देखि पुनः श्रम स्वीकृति दिने तयारी गरिएको जनाएको छ ।

  • कतारमा जागिर लगाइदिने लोभमा ६३ लाख ठगि गरेको आरोपमा एक पक्राउ

    कतारमा जागिर लगाइदिने लोभमा ६३ लाख ठगि गरेको आरोपमा एक पक्राउ

    काठमाडौं । कतार पुलिसको जागिरका लागि कतार पठाइदिन्छु भनी रकम ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका ४ घर भई हाल काठमाडौंको टोखा बस्‍ने ४१ वर्षीय पूर्णकुमार दाहाल रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले झापाको भद्रपुरबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ । उनले टोखा बस्‍ने चन्द्रबहादुर खत्रीसमेत गरी १८ जनालाई कतारमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्‍दै प्रतिव्‍यक्ति ७ लाखका दरले ६३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

  • कस्तो छ राष्ट्रपतिको स्वास्थ्य ?

    कस्तो छ राष्ट्रपतिको स्वास्थ्य ?

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थितिमा क्रमिक सुधार देखिएको छ । दिल्लीस्थित नेपाली राजदूतावासले राष्ट्रपतिको उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धृत गर्दै स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ । राष्ट्रपति पौडेलको बुधबारबाट दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान(एम्स)मा उपचारमा छन् ।

    एम्सको भीआईपी आईसीयूमा राखेर उनको उपाचार भइरहेको छ । उनलाई दिइएको ‘अक्सिजन सपोर्ट’ बिहीबारबाट हटाइएको छ । उनको स्वास्थ्यस्थिति हेरेर बिहीबार सम्भवतः आईसीयूबाट बाहिर प्राइभेट वार्डमा सार्ने सम्भावना छ ।


    उनको छातीमा संक्रमण देखिएको छ । काठमाडौं शिक्षण अस्पतालमा उपचार भइरहेका बेला परिवारजन तथा चिकित्सकहरुसँगको सरसल्लाहपछि सरकारले उनलाई ‘बेटर’ उपचारका लागि दिल्ली पठाउने निर्णय गरेको थियो ।

    भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले उनको शीघ्र स्वास्थ्यलाभको सन्देश अस्पतालमा पठाएकी छन् । मुर्मूका तर्फबाट राष्ट्रपति कार्यालयका कर्मचारीले पुष्पगुच्छा र सन्देश अस्पतालमा लिएर आएका थिए ।

    यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि स्वास्थ्यलाभको सन्देश पठाइसकेका छन् । विदेश मन्त्रालयका अधिकारीहरु नियमितरुपमा एम्स अस्पतालमा आउजाउ गरिरहेका छन् ।


    बिहीबार नर्थ डेस्क प्रमुख अनुराग श्रीवास्तव अस्पताल पुगेर परिवारजनलाई भेटेका छन् । यसअघि विदेश सचिव विनयमोहन क्वात्रा पनि अस्पताल पुगेको पारिवारिक स्रोतले जनाएको छ ।

  • राष्ट्रपति पौडेललाई भारतीय प्रधानमन्त्री मोदीले गरे स्वास्थ्य लाभको कामना

    राष्ट्रपति पौडेललाई भारतीय प्रधानमन्त्री मोदीले गरे स्वास्थ्य लाभको कामना

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यलाभको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् । मोदीले विदेशसचिव विनयमोहन क्वात्रामार्फत स्वास्थ्यलाभको कामना गर्दै अस्पतालमै फूलको गुच्छा पठाएका हुन् । राष्ट्रपति पौडेललाई थप उपचारका लागि बुधबार बिहान भारतको राजधानी नयाँ दिल्ली लगिएको थियो । उनलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गरिँदैछ । राष्ट्रपति पौडेललाई एम्सको भीआईपी आईसीयूमा राखेर उपचार सुरु गरिएको भारतीय दूतावासले जनाएको छ ।

    ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूलाई भारतीय प्रधानमन्त्री मोदीजीको तर्फबाट स्वास्थ्यलाभको कामना गर्दै फूलको गच्छा प्राप्त भएको छ । मोदीजीले विदेशसचिव विनयमोहन क्वात्रालाई स्वास्थ्यलाभको सन्देश पठाएका हुन्,’ राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले कान्तिपुरसित भने । यसैबीच राष्ट्रपति पौडेलको स्वास्थ्य स्थिर रहेको र उनी चिकित्सकहरूको निगरानीमा रहेको भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पौडेलको उपचार बुधबार दिउँसोबाट सुरु गरिएको दूतावासले जानकारी दिएको छ ।

  • विदेश अध्ययनका लागि एक वर्षमा १ लाख १७ हजार एनओसी जारी, कुन देशमा कति ?

    विदेश अध्ययनका लागि एक वर्षमा १ लाख १७ हजार एनओसी जारी, कुन देशमा कति ?

    काठमाडौं । अध्ययनका लागि नेपालबाट एक वर्षमा सवा एक लाख युवा विदेशिएका छन् । २०७९ सालमा विदेशमा अध्ययन गर्न जान १ लाख १७ हजार जनाले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएको सरकारको तथ्यांक छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार विभिन्न ७२ देशमा अध्ययन गर्न जान १ लाख १७ हजार ५६३ जनाले एनओसी लिएका हुन् ।

    विद्यार्थीले विभिन्न ५६ वटा शैक्षिक कार्यक्रमको लागि एनओसी लिएको शाखा प्रमुख बासुदेव वस्तीले जानकारी दिए । वैदेशिक अध्ययन गर्नको लागि सबै भन्दा बढी अस्ट्रेलियाका लागि एनओसी लिएका छन् । शाखाका अनुसार गएको वर्ष अस्ट्रेलियाका लागि मात्रै ५० हजार ७४२ जनाले एनओसी लिएका छन् ।

    जापानका लागि २० हजार ३ जनाले, क्यानडाका लागि १६ हजार ७१६ जनाले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् । त्यस्तै संयुक्त अधिराज्य बेलायतका लागि ८ हजार ७०७ जनाले, अमेरिकाको लागि ५ हजार ८२ जनाले, दक्षिण कोरियाका लागि दुई हजार २२५ जनाले एनओसी लिएका छन् ।


    विद्यार्थीले नयाँ एनओसी लिँदा पुरानो रद्द गर्नुपर्छ । यसवर्ष १७ हजार ७७५ वटा पुरानो एनओसी रद्द भएको शाखाले जनाएको छ । विदेश जाने अनुमति पत्र लिनेहरुबाट सरकारले २७ करोड ५३ लाख रुपैयाँ राजस्व उठाएको छ ।

  • अमेरिकासहितका मुलुक पठाइदिन्छु भन्दै साढे ३ करोड ठग्ने एक जना पक्राउ

    अमेरिकासहितका मुलुक पठाइदिन्छु भन्दै साढे ३ करोड ठग्ने एक जना पक्राउ

    काठमाडौं । अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट एक जनालाई पक्राउ गरेको छ । रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत, जापानलगायतका देशमा जान ३० लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक ४ लाख कमाइ हुने लोभ देखाएर विभिन्न व्यक्तिबाट ३ करोड ५६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको आरोपमा प्रहरीले भक्तपुरका उज्जल खड्कालाई पक्राउ गरेको हो ।

    व्यक्तिहरुबाट ३ करोड ५६ लाख ८ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले पक्राउ गरिदिन भनेपछि पक्राउ गरेर बुझाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

  • ९ महिनामा ६ लाख युवा काम खोज्दै विदेशिए

    ९ महिनामा ६ लाख युवा काम खोज्दै विदेशिए

    काठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्या ६ लाख नाघेको छ । आर्थिक वर्ष सकिन ३ महिना बाँकी छँदै चैतसम्म नयाँ श्रम स्वीकृति लिएर एवम् पुरानो स्वीकृति नवीकरण गरेर वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ५ हजार ७९८ पुगेको वैदेशिक रोजगार विभागले जनााएको छ ।

    कोरोना महामारी सुरु भएपछि सुस्ताएको वैदेशिक रोजगारीमा जानेको संख्या यो वर्ष पुनः नयाँ कीर्तिमान राख्ने बाटोमा अग्रसर छ । विदेशबाट श्रमिकको माग बढ्दा यो वर्षका केही महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ७० हजारभन्दा माथि थियो । तर, पछिल्ला महिनामा यस्तो संख्या विस्तारै कम हुँदै गएको छ ।

    चैत महिनामा मात्रै ६१ हजार ४७८ जना नेपाली युवा श्रमका लागि स्वीकृति लिएर विदेश गएका छन् । गत साउनदेखि फागुनसम्म ५ लाख ४४ हजार ३२० नेपाली विदेशमा श्रमका लागि पुगिसकेका थिए । वैदेशिक रोजगार विभागका अनुसार चैतसम्म ३ लाख ८७ हजार ८३९ जना अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत(नयाँ) श्रम स्वीकृति लिएका छन् । यो अवधिमा २ लाख २४ हजार ९७९ जनाले पुनः श्रम स्वीकृति लिएर विदेश उडेका छन् ।

    यो वर्ष मलेसियामा नेपाली श्रमिकको माग बढेको छ । खाडी देशहरुबाट श्रमिकको माग केही सुस्ताए पनि निराशाजनक अवस्था छैन । विभागको तथ्यांकअनुसार फागुन महिनामा मलेसियाका लागि १६ हजार २६५ जनाले श्रम स्वीकृति लिएका छन् । साउदी अरबमा ११ हजार ३६४ जना पुगेका छन् । कतारका लागि ११ हजार २४९ जनाले श्रम स्वीकृति लिएका छन् ।

    युनाइटेड अरब इमिरेट्समा मात्र १० हजार १९३ जना विदेशिएका छन् । कुवेतका लागि २ हजार ७९४ जना, कोरियामा २ हजार ३२३ जनाले स्वीकृति लिएका छन् । रोमानियामा १ हजार ५७८, जापानमा ९२८, बहराइनमा ६७४, क्रोयसियामा ५४०, पोल्याण्डमा ४७८, ओमानमा ४५३, साइप्रसमा ४४४ र मकाउमा ३१९ जना नेपाली रोजगारीका लागि गएका छन् ।

  • अन्तर्राष्ट्रिय लगानीकर्तासँग अर्थमन्त्रीले लिए सुझाव

    अन्तर्राष्ट्रिय लगानीकर्तासँग अर्थमन्त्रीले लिए सुझाव

    काठमाडौं । नेपालमा लगानी विस्तारमा अपनाउनु पर्ने उपायबारे लगानीकर्ताले अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष सुझाव प्रस्तुत गरेका छन् । अर्थमन्त्री डा। महतसँग स्वीस राजदूत एलिजावेथ भोन केपलर र अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताहरुको संस्था डेभलभमेन्ट फाइनान्स इन्स्टिच्युसन (डीएफआई) का प्रतिनिधिहरुबीच बुधबार छलफल भएको छ ।

    सो अवसरमा नेपालमा निजी लगानी विस्तार गर्ने सम्भावनाबारे छलफल भएको अर्थ मन्त्री डा. महतको सचिवालयले जनाएको छ । सो अवसरमा नेपालको विकासमा आवश्यक निजी पूँजी र कर्जाको वित्त विस्तार गरी लगानी बढाउने विषयमा छलफल भएको छ । प्रक्रियागत र नीतिगत सहजीकरण गरेर नेपालमा लगानी आकर्षित गर्ने विषयमा ६ वटा डीएफआईका प्रतिनिधिहरुले सुझाव प्रस्तुत गरेका थिए । सो क्रममा मन्त्री महतले डीएफआईका प्रतिनिधिहरुबाट प्राप्त सुझावहरु अध्ययन गरी उपयुक्त सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    नेपालको लगानी क्षेत्रमा रहेको नीतिगत र नीयमन संयन्त्रबारे चर्चा गर्दै मन्त्री महतले लगानी आकर्षण गर्न नयाँ ढंगले वर्तमान सरकार लागिरहेको बताए । सन् २०२६ पछि नेपाल अति कम विकसित मुलुकहरुको सूचीबाट स्तरोन्नतिका लागि सिफारिस गरेको सन्दर्भमा अब परम्परागत वैदेशिक सहायता कम गरी विकासका लागि नयाँ औजारहरु लिएर अगाडि बढ्न आजको छलफल सान्दर्भिक रहेको डा. महतले बताएका छन् । छलफलमा डीएफआईका तर्फबाट एडीबी, ब्रिटिसको बीआईआई, अमेरिकाको डीएफसी, नेदरल्याडको एफएमओ, फ्रान्सको प्रोपार्को र स्वीसको एसआईएफईएमका प्रतिनिधि सहभागी थिए ।

  • तातोपानी नाकाबाट अब वस्तु निर्यात पनि खुल्ने

    तातोपानी नाकाबाट अब वस्तु निर्यात पनि खुल्ने

    काठमाडौं । ७२ सालको विनाशकारी भूकम्पको गएको सात वर्षदेखि मालवाहक रुपमा सञ्चालित भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट निर्यात खुलाउन चीन र नेपालबीच सहमति भएको छ । मंगलबार भएको नेपाल–चीनको सीमा मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा चीनले निकासीसहित ६ बुँदे सहमति भएको हो ।

    नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक भएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार यस छलफलमा चीनका उच्च अधिकारीले नाकालाई स्थायी रुपमा सञ्चालन गर्न वैशाख १८ (मे १) बाट नाका खोल्नेसहित ६ बुँदे मौखिक निर्णय भएको हो ।

    यसअघि दुई पटक क्रमशः फागुन ४ र चैत ६ गते नेपालबाट जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक सम्पन्न भयो । त्यतिखेर मितेरी पुल र खासाकै भवनमा सीमा सुरक्षाको विषयमा ‘काउन्टर पार्ट मिटिङ’ बस्दा चीन पक्ष नाका खोल्न सकारात्मक देखिएर सल्लाह सुझाव मागेका थिए ।

    मंगलबारको ‘काउन्टर पार्ट मिटिङ’मा सीमाबाट निर्यातसहित कोभिड १९ सावधानी अपनाउने सूचना सप्रेषण, अन्तरदेशीय सीमा नाका सुरक्षा व्यवस्था, अपराध नियन्त्रण र न्यूनीकरण संवेदनशील रहेर गस्ती, थप चेक प्वाइन्टमा कडा जाँच, सूचना आदानप्रदानजस्ता मुख्य विषय थिए ।


    बैठकमा सीमा सुरक्षा सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक रवि केसी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा थिए । चीनबाट बोर्डर कन्ट्रोल प्रमुख सु गाङ, खासा अनुसन्धान प्रमुख गे साङ,सहायक प्रमुख युन डान, न्यालम र खासा प्रहरी स्टेसनका प्रमुखद्वय डान ड्रओ र जियान क्यान, न्यालम कानुन तथा अनुसन्धान प्रमुख जिया सी डुनझुललगायतका अन्य अधिकारी सहभागी थिए ।

  • विदेशमा बसेका नेपालीलाई विश्व अर्थतन्त्रसँग जोड्ने प्रयासबारे छलफल

    विदेशमा बसेका नेपालीलाई विश्व अर्थतन्त्रसँग जोड्ने प्रयासबारे छलफल

    काठमाडौं । विदेशमा बसेका नेपालीहरुलाई लक्षित गरी मुलुकलाई विश्व डिजिटल अर्थतन्त्रसँग जोड्ने प्रयास स्वरुप एक हाइब्रिड (व्यक्तिगत उपस्थिति र प्रविधिमार्फत भेला) कार्यक्रम सम्पन्न भएको छ । वासिङ्टन डीसीस्थित नेपाली दूतावास र विश्व बैंक ग्रुपको नेपालस्थित कार्यालयले संयुक्त रुपमा आइतबार ‘कनेक्टिङ नेपाल विथ द ग्लोबल डिजिटल इकोनोमी’ (नेपाललाई विश्व डिजिटल अर्थतन्त्रसँग जोड्दै) शीर्षकमा कार्यक्रम गरेका हुन् ।

    नेपालको व्यवसायमा डिजिटल र प्रविधि क्षेत्रसम्बन्धी कम्पनीहरु बढिरहेको अवस्थालाई मध्यनजर गरेर त्यस विषयमा छलफल गरिएको हो । कार्यक्रमको सुरुआतमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले अमेरिकामा रहेका र नेपालमा रहेका प्राविधिक कम्पनीका माथिल्लो तहमा काम गर्ने पदाधिकारीहरुलाई दुई महत्त्वपूर्ण प्रश्नको जवाफ दिन आग्रह गरेका थिए । ‘तपाईँहरुलाई बोल्नको लागि हामीले ६ प्रश्नहरु पठाएका छौं । त्यसमा ४ प्रश्नहरुको उत्तर तपाईँ दिन वा नदिन पनि सक्नु हुन्छ । तर दुई प्रश्नको भने तपाईँहरुले उत्तर दिनु होला,’ राजदूत खत्रीले भने ।

    दुई प्रश्नहरुमध्ये ‘सन् २०३० सम्ममा डिजिटल नेपाल कस्तो देख्नु हुन्छ ? र आगामी दुई वर्षमा आफू कार्यरत कम्पनीले नेपालको लागि के गर्न सक्छ ? भन्ने थिए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल सरकार डिजिटल क्षेत्रको विकासमा लागिपरेको बताइन् । उनले त्यसको लागि आवश्यक सूचना तथा प्रविधि विधेयकहरु यही संसदमा पेस गर्ने बताइन् । उनले भनिन्,‘ त्यसको लागि आवश्यक गृहकार्य पनि मन्त्रालयले गरिरहेको छ ।’

    यस क्रममा अर्थमन्त्री प्रकाश शरण महतले सूचना प्रविधिमा नेपालमा धेरै रुपान्तरण भइरहेको बताएका थिए । उनले यो कार्यक्रमले डायस्पोरासँग जोड्ने उल्लेख गर्दै ठूला संख्यामा विदेशमा रहेका नेपालीहरुले देशको सूचना प्रविधि क्षेत्रमा सहयोग गर्ने आशा व्यक्त गरे । ‘हाम्रो डिजिटल अर्थतन्त्र अब बढ्नुपर्छ । सरकारले नेपालमा लगानीको वातावरणलाई सहज बनाएको छ,’ उनले भने । कार्यक्रममा परराष्ट्र सचिव भरतराज पौड्याल, अर्थसचिव तोयम राय, विश्व बैंकका नेपाल प्रमुख फरिस हदाद जेर्भोस लगायतले आफ्नो भनाइ राखेका थिए ।

  • मलेसिया पठाउँछु भन्दै ठगी गर्ने एक महिला पक्राउ

    मलेसिया पठाउँछु भन्दै ठगी गर्ने एक महिला पक्राउ

    काठमाडौं । मलेसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० बानेश्वर थापागाउँ बस्‍ने ५१ वर्षीया बिमला थापा रहेकी छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वर थापागाउँबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ । उनले वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भी कमल चौधरीसँग रकम लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

  • किराँत याक्थुङ चुम्लुङ अमेरिकाको नवौं महाधिवेशन सम्पन्न

    किराँत याक्थुङ चुम्लुङ अमेरिकाको नवौं महाधिवेशन सम्पन्न

    न्युयोर्क

    किराँत याक्थुङ चुम्लुङ अमेरिकाको नवौं महाधिवेशनले आगामी ( २०२३- २०२५ ) २ बर्षे कार्यकालको निमित्त दिपक थेबे लिम्बुको नेतृत्वमा २६ सदस्यीय कार्य समिति चयन गरेको छ । आज सम्पन्न भएको महाधिवेशनको खुलासत्र निवर्तमान अध्यक्ष सुमन थाम्सुहाङले अध्यक्षता गरेका थिए भने महासचिव सुर्य लिङ्देनले चुम्लुङको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त कार्यक्रम संचालन गरेका थिए ।कार्यक्रममा हालै मात्र पहिचानको आन्दोलनमा सहादत प्राप्त गरेका सहिद लाजेहाङ लिम्बु उर्फ पदम लिम्बुको फोटोमा माल्यार्पण गरीएको थियो । कार्यक्रममा लोक चेम्जोङ, पुर्ण थेबे, दिपेश खाम्बेक र देबेन्द्र सम्बाहाङ्फेले पहिचानको मुद्धामा चुम्लुङ अमेरिकाले खेल्ने महत्वपूर्ण भूमिकाको बारेमा आफ्नो भनाई राखेका थिए । मुनिन्द्र नेम्बाङ प्रमुख दिपेश लिम्बु र वीरेन्द्र लाबुङ सदस्य रहेको निर्वाचन समितिले निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरी सफल कार्यकालको शुभकामना दिएका थिए ।

    चुम्लुङको नयाँ कार्य समितिमा अध्यक्ष दिपक थेबे, बरिष्ठ उपाध्यक्ष सरोज थाङ्देन, उपाध्यक्षहरु बिबस माङ्मु ( म्यासाचुसेट्स ), निलम जबेगु ( न्युयोर्क ), पुर्ण कुबेर थक्लुङ ( मेरील्याण्ड ), महासचिव बिमल चेम्जोङ, सह- सचिवहरु बन्दना तुम्बाहाङ्फे, घनेन्द्र माबो ( मेरील्याण्ड ) र कोषाध्यक्ष निर्मला कन्दङ्वा चोङ्बाङ, सहकोषाध्यक्ष जीवन खजुम चयन भएका छन् त्यस्तै सदस्यहरु क्रमश दिक्षा जबेगु ( न्युजर्सी ), सागर हाङसरुम्बा, केपी शेर्मा, निरु थेबे ( न्युजर्सी ), नविना मादेन, धन योङहाङ, सन्तोष लाबुङ, सरस्वती कन्दङ्वा, सजना लिम्बु, सुर्य थेबे ( मेरील्याण्ड ), किर्तन लिम्बु ( मेरील्याण्ड ), सोनिया फागो यकयक ( मेरील्याण्ड ), सुरेन्द्र थेगिम ( ओहायो ), त्रिमेन माबो ( मेरील्याण्ड ), बिपिन बिक्रम नेम्बाङ ( भर्जिन्या ) र साबि लिङ्देन (न्युयोर्क) लाई चयन गरेको छ ।

  • नयाँ परराष्ट्र मन्त्रीलाई समकक्षीको बधाई

    नयाँ परराष्ट्र मन्त्रीलाई समकक्षीको बधाई

    काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदलाई भारतका विदेशमन्त्री एस। जयशंकरले बधाई दिएका छन् । जयशंकरले ट्विटरमार्फत् मन्त्री साउदलाई बधाई दिएका हुन् । साउदलाई बधाई दिँदै जयशंकरले ट्विटरमा लेखेका छन्,‘हाम्रो बहुआयामिक साझेदारीलाई बलियो बनाउन आगामी दिनमा सँगै काम गर्ने आशा राखेको छु । तपाईँको नयाँ भूमिकामा सफलताको शुभकामना छ ।’

    साउद आइतबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालबाट नियुक्त भई पद तथा गोपनियताको शपथ लिँदै जिम्मेवारी सम्हालेका छन् । मन्त्री साउदले आइतबार नै शपथग्रहणपछि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गरेका थिए ।

  • भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख नेपालमा

    भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख नेपालमा

    काठमाडौं । भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका छन् । उनी धनगढी आएका छन् । उनी धनगढीमा जारी मानसखण्ड सम्मेलन समापन समारोहमा सहभागी हुन सडकमार्गबाट आएका हुन् । उनलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक योजनामन्त्री प्रकाश देउवा र आर्थिक मामिलामन्त्री नरेश शाहीले स्वागत गरे ।

    सुदूरपश्चिम सरकारको सहयोग तथा सुदूरपश्चिम विश्वविधालय, भारत उत्तराखण्डको कुमाऊ विश्वविद्यालयको संयुक्त आयोजनामा भइरहेको सम्मेलनको समापन समारोहमा प्रमुख वक्ताका रूपमा चौथाइवालेले सम्बोधन गर्ने कार्यक्रम छ । समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद आरजु देउवाको समेत उपस्थिति हुने आयोजकले जनाएको छ ।

  • राष्ट्रपति बेलायत भ्रमणमा जाने तयारी

    राष्ट्रपति बेलायत भ्रमणमा जाने तयारी

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बेलायत भ्रमणमा जाने तयारी गरेका छन् । बेलायतका राजा चार्ल्सको राज्याभिषेक कार्यक्रममा सहभागी हुन उनी बेलायत भ्रमणमा जान लागेको राष्ट्रपति कार्यालय स्रोतलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाएका छन् । बेलायती राजा चार्ल्सको राज्याभिषेक कार्यक्रम ६ मे अर्थात् २३ वैशाखमा हुँदैछ । त्यसका लागि राष्ट्रपति पौडेल २१ वा २२ वैशाखमा जाने स्रोतको भनाइ छ । राष्ट्रपतिको रुपमा पौडेलको यही नै पहिलो विदेश भ्रमण हुनेछ । बेलायत नेपालसँग पहिलो दौत्य सम्बन्ध कायम भएको मुलुक हो ।

  • उपचारपछि पहिलो पटक चन्द्र भण्डारीको भिडियो सन्देश सार्वजनिक

    उपचारपछि पहिलो पटक चन्द्र भण्डारीको भिडियो सन्देश सार्वजनिक

    काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्। मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको छ। सांसद भण्डारीले नयाँ वर्षको शुभकामना दिँदै जारी गरेको भिडिओ सन्देशमा भनेका छन्, ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरूसँग म सहभागी हुन सकिरहेको छैन।

    हजुरहरूको माया, सद्भाव, प्रेम र प्रार्थनाका कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ।’ उनले छिट्टै नै स्वदेश फर्किने पनि बताएका छन्। ‘छिट्टै नै म तपाईंहरूसँग उपस्थित भएर, त्यहीँ नै मेरो स्वास्थ्य उपचार गर्नेछु,’ उनले भने, ‘नयाँ वर्षका अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दछु।

    बुद्धनगरस्थित निवासमा खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा भण्डारी र उनकी आमा गत फागुन ३ गते गम्भीर घाइते भएका थिए। कीर्तिपुर अस्पतालमा उपचारका क्रममा सांसद भण्डारीकी आमा हरिकलाको फागुन ४ गते निधन भएको थियो। सांसद भण्डारीलाई फागुन ४ मा थप उपचारका लागि मुम्बई लगिएको थियो।

  • सामान्य प्रशासन मन्त्री अमेरिका प्रस्थान

    सामान्य प्रशासन मन्त्री अमेरिका प्रस्थान

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा हुने आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औं सत्रमा सहभागी हुन मन्त्री मोदी अमेरिका प्रस्थान गरेका हुन् । यो सत्र वैशाख ०४ गतेबाट सुरु हुँदैछ । सत्रमा मन्त्री मोदीले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यतालिका रहेको बताइएको छ । सत्र २८ अप्रिल २०२३ सम्म सञ्चालन हुनेछ ।

    सत्रमा आदिवासी जनजाति, मानव स्वास्थ्य, ग्रह, क्षेत्रीय स्वास्थ्य र जलवायु परिवर्तन लगायतका सम्बन्धमा बृहतर छलफल हुनेछ । मन्त्री मोदीसँगै भ्रमण दलमा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, आयोगका सदस्यहरु सुबोधसिंह थारु, भोलाराम चौधरी, डा. उमा शंकरप्रसाद चौधरी, आदिवासी जनजाति आयोगका सदस्य सूर्य गुरुङ, मन्त्री मोदीका प्रमुख स्वकीय सचिव बिरु मण्डल सहभागी छन् ।

  • सिन्धुलीमा कार दुर्घटना हुँदा चार भारतीयको मृत्यु

    सिन्धुलीमा कार दुर्घटना हुँदा चार भारतीयको मृत्यु

    काठमाडौं । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटनामा परेको छ । दुर्घटनामा चार भारतीय नागरिकको मृत्यु भएको छ । मंगलबार राति साढे १२ बजे भारतीय नम्बरप्लेटको बीआर–६ डिडी –६८७ कार दुर्घटना भएको र चार जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा एक जना पुरुष घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल पठाइएको छ । दुर्घटनाको कारण खुलेको छैन ।

  • वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारको बीमा रकममा ठगी गर्ने नासु र बीमा कम्पनीका अधिकृत सार्वजनिक

    वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारको बीमा रकममा ठगी गर्ने नासु र बीमा कम्पनीका अधिकृत सार्वजनिक

    काठमाडौं । वैदेशिक रोजगारमा जाँदा ज्यान गुमाएका व्यक्तिहरूको मृत्यु हुँदा पाउने बिमा रकम ठगी गर्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिमा कम्पनीमा कार्यरत जुनियर अधिकृतलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा सूर्यज्योति जीवन बिमामा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी छन्। यसअघि प्रहरीले गत शुक्रबार ६ जनालाई सार्वजनिक गरेको थियो।

    शुक्रबार नै अर्घाखाँची घर भई वैदेशिक रोजगार बोर्डमा कार्यरत नायब सुब्बा ३६ वर्षीय पशुपति अधिकारीलाई पक्राउ गरेको थियो। उनीहरूले नै गिरोहलाई मृतक परिवारको सूचना दिएको खुलेपछि प्रहरीले पक्राउ गरेको हो। यसअघि पक्राउ पर्नेमा सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर गोले, रवीन्द्र मोक्तान, विनोदकुमार लामा, डिकबहादुर मल्ल र काभ्रेका रामबहादुर तामाङ छन्। आफूहरू ठगिएको भन्दै दुई जनाले प्रहरीमा उजुरी गरेपछि कार्यालयले अनुसन्धान सुरू गरेको थियो। प्रहरीले उनीहरूलाई पक्राउ गर्दा ३५ जनाको कागजात पनि बरामद गरेको थियो।

    उनीहरूले पीडितलाई विमानस्थलमै भेटेर कुराकानी अघि बढाउने गरेको खुलेको थियो। त्यहाँ कुराकानी गरेर बिमा रकम सहज रूपमा उपलब्ध गराइदिने भन्दै पीडितलाई केही समय काठमाडौंको एक होटलमा राख्ने गरेका थिए। त्‍यस्तै १३-१४ लाख पीडितले पाउनुपर्नेमा ७-८ लाख रुपैयाँ भने आफैंले राखेर बाँकी रकम भने पीडितलाई दिने गरेका थिए। उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ ।

  • सरकारले खारेज गर्यो सबै पर्यटन सदभावना दूतको नियुक्ति

    सरकारले खारेज गर्यो सबै पर्यटन सदभावना दूतको नियुक्ति

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि नियुक्त भएका सबै पर्यटन सद्‍भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि २०७९ स्वीकृति गर्दै प्रक्रिया पुरा गर्ने गरी पुनः नियुक्त हुन सक्ने निर्णय गरी यसअघिका नियुक्ति भने खारेज गर्ने निर्णय मन्त्रालयले गरेको पर्यटन मन्त्री सुदन किरातीले जानकारी दिए । कार्यविधि नबन्दै अघिल्लो सरकारले दुई दर्जन स्थानमा पर्यटन सद्‍भावना दूत तोकेको थियो ।

    यस्ता सद्‍भावना दूतहरु अवैतनिक हुने गर्छन् । तर, सरकारी नियुक्तिको लाभमा आफ्नो प्रतिष्ठा र व्यवसाय विस्तारमा धेरैजसो व्यक्ति सक्रिय हुने गरेको देखिन्छ । जसमा नेता र पार्टी निकटका व्यक्तिहरुलाई नियुक्तिमा प्राथमिकता दिने प्रचलन रहेको छ । अब भने मन्त्रालयले ‘सद्‍भावना दूत’ भन्ने स्थानमा ‘पर्यटन प्रवर्द्धक’ भन्ने शब्द राख्ने गरी कार्यविधि बनाएको छ ।

  • सपूतसंग साक्षात्कार गर्दै नेपाली नयाँ वर्ष मनाउन आतुर छन् बोस्टनवासी नेपाली समुदाय

    सपूतसंग साक्षात्कार गर्दै नेपाली नयाँ वर्ष मनाउन आतुर छन् बोस्टनवासी नेपाली समुदाय

    सुपेन्द्र बस्नेत, बोष्टन

    नेपाली पात्रो अनुसार नयाँ वर्ष २०८० साल प्रारम्भ हुन अब केही दिन मात्र बाँकी छ। नेपालमा मात्र नभएर विदेशमा रहेका नेपालीहरु पनि नयाँ वर्षलाई उत्साह र उमङ्गका साथ मनाउदै नयाँ साललाई स्वागत गर्ने तयारीमा छन्। यसै सन्दर्भमा अमेरिकाको मासाचुसेट्स राज्यको ऐतिहासिक सहर बोस्टनमा रहेका नेपालीहरुले पनि नेपाली साँगीतिक माहोलमा नयाँ वर्ष मनाउदै २०८० साललाई स्वागत गर्ने तयारी गरिरहेका छन्।यस अवसरमा बोस्टन स्थित नेपाली समुदायको संस्था ‘ग्रेटर बोस्टन नेपाली समुदाय (जिबीएनसी-GBNC)’ले नयाँ वर्ष २०८० को पहिलो दिन बैशाख १ गते तदनुसार अप्रिल १४ तारिख सुक्रवार साँझ साँगीतिक कार्यक्रम ‘बैशाखी साँझ -२०८०’ को आयोजना गरेको छ। संस्थाले गर्ने आफ्नो प्रमुख वार्षिक क्रियाकलापहरुको तालिका अनुसार नै ‘बैशाखी साँझ -२०८०’ को आयोजना गरिएको हो। जसलाई संस्थाले लामो समयदेखि निरन्तरता दिदै आइरहेको छ।

    नेपाल र नेपालीप्रतिको आत्मीय सामिप्यता दर्शाउदै र नेपाली साँगीतिक माहोलमा रमाउदै एक आपसमा शुभकामना आदानप्रदान गर्ने मुख्य उद्देश्य रहेको यस कार्यक्रम,
    बोस्टन सहरको 400 Cardinal Medeiros Avenue, Cambridge मा हुदैछ। साँझ ५ बजेदेखि राती साँडे ११ बजेसम्म सञ्चान हुने यस कार्यक्रमको मुख्य आकर्षकका रुपमा, नेपाली साँगीतिक क्षेत्रका चर्चित गायक ‘प्रकाश सपुत’ रहने आयोजकले जनाएको छ।

    कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष अन्जु थापाका अनुसार
    सपूतलाई ‘बैशाखी साँझ-२०८०’ मा विशेष अतिथिका रुपमा निम्त्याइएको छ। र, कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरु गाउदै दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाउने छन्। उनले भनिन्, ‘यस पटकको बैशाखी साँझको विशेष अतिथिका रुपमा, चर्चित गायक प्रकाश सपुत हुने छन्। उनले नेपाली साँगीतिक क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै विशेष अतिथिका रुपमा निम्त्याएका छौं। जो बोस्टनवासी नेपाली समुदायको मनोभावना अनुसारकै निर्णय हो।’ अध्यक्ष थापाले भनिन् , ‘आसा छ, कार्यक्रमले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिलाउनुका साथै सपूतले नेपाली गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको पनि कदर हुनेछ।’

    यस कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित हुदै आफ्ना चर्चित साँगीतिक कोसेलीहरु पस्कने तयारीमा रहेका सपूतसंग साक्षात्कार गर्दै नेपाली नयाँ वर्ष भव्य र सभ्य रुपमा मनाउन बोस्टनवासी नेपाली समुदाय निकै आतुर रहेका छन्।

    पछिल्लो समय मार्मिक सन्देशसहित भरपूर मनोरञ्जन दिलाउने सपूतका गीतहरु – मायाको मुखैमा चिनी…, किन सर्छेउ पर…आउन वर वर, हे जोतिसेले तिम्रै हुने भने अहिले… (तीज गित), गलबन्दी च्यातियो तिम्ले तानेर…
    बोल माया …, बदला बरिलै…, मेरो पनि हैन र यो देश…, ‘कुरा बुज्न पर्च… ,पीर …निकै चर्चामा रहेका छन्।

    कार्यक्रम आयोजक संस्था जिबिएनसि(GBNC)का वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक सन्दिप भट्टराईले दिएको जानकारी अनुसार, कार्यक्रममा स्थानीय नेपाली
    कलाकारहरु बिराज गुरुङ, संयक अधिकारी, पूजा घिमिरे, राज लामा, निरज खत्री, नित्य शर्मा, सोनाली राभण्डारी, सुदा गुरुङ, रोनिशीका थापा लगायतले पनि आ-आफ्नो साँगीतिक कोशेली पस्कने तयारी गरिरहेका छन् भने, डिजे मुकुन्द र डिजे डिले कार्यक्रमलाई थप रौनक र मनोरञ्जनात्मक बनाउन महत्वपूर्ण योगदान गर्ने भएका छन्।
    उनका अनुसार कार्यक्रमको तयारी लगभग पुरा भैसकेको छ। ४ सय वटा टिकट बिक्री गर्ने लक्ष्य राखिए अनुसार नै सम्पूर्ण टिकटहरु पनि बिक्री भैसकेको छ।
    कार्यक्रमलाई नेस्ट रियल स्टेट (NEST real estate) ले मुख्य प्रायोजन गरेको छ भने, सनसेट डेकोर (SUNSET Decor), जेनट्राभल डट कम(Zentravels .com) लगायतले पनि आर्थिक सहयोग रहेका छन्।
    कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न हुनेमा आयोजक विश्वस्त रहेको छ।

  • गैरआवासीय नेपाली संघको कार्यकारी अध्यक्षको जिम्मेवारी बद्री केसीलाई

    गैरआवासीय नेपाली संघको कार्यकारी अध्यक्षको जिम्मेवारी बद्री केसीलाई

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा कार्यकारी अध्यक्षताको कार्यभार हस्तान्तरण गरिएको छ । एक वर्षअघि भएको सङ्घको १०औँ महाधिवेशनमा बहुपदीय पद्धतिबाट तीन अध्यक्ष चयन गरिएको थियो । महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रबिना थापाले शुक्रबार छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी अर्का अध्यक्ष डा. बद्री केसीलाई कार्यभार हस्तान्तरण गरेकी हुन् ।

    यसअघि अर्का अध्यक्ष कुल आचार्यले छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी जिम्मेवारी हस्तान्तरण गरेका थिए । कार्यकारी अध्यक्ष डा. केसीले छ महिना कार्यभार सम्हालेसँगै यस अवधिमा सङ्घको ११औँ महाधिवेशन पनि गर्नुपर्ने तालिका छ । समारोहमा अध्यक्ष केसीले आगामी छ महिनामा गर्ने कामबारे जानकारी गराएका थिए । यसैगरी, अध्यक्ष थापाले विगत छ महिनामा भए गरेका कामबारे अवगत गराएकी छिन् ।

    अध्यक्ष आचार्यले सहमतिअनुसार आगामी ११औँ महाधिवेशन एकताको महाधिवेशन हुने र त्यसमा सङ्घका सबै सदस्य अट्ने विश्वास व्यक्त गरे । कार्यक्रममा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष भवन भट्ट, सङ्घका पदाधिकारी तथा पूर्वपदाधिकारीले नेपालको समृद्धिमा योगदान दिने र सङ्घलाई आफ्नो उद्देश्यअनुसारको अभियानमा डोर्‍याउन सबैको सहयोगको अपेक्षा गरे ।

  • चिनियाँ अनुदान सहयोगमा निर्माणाधिन परियोजना छिटो सक्ने सहमति

    चिनियाँ अनुदान सहयोगमा निर्माणाधिन परियोजना छिटो सक्ने सहमति

    काठमाडौं । नेपाली र चिनियाँ अधिकारीहरूबीच चिनियाँ अनुदान सहयोगमा निर्माण भएका विभिन्न पूर्वाधार विकास आयोजना तथा चिनियाँ ठेक्कामा रहेका आयोजनाको प्रगति समीक्षा भएको छ । चिनियाँ सहयोगमा नेपालमा बनेका पूर्वाधारहरुको बारेमा बेइजिङमा शुक्रबार नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १५ औं बैठकमा छलफल भएको हो । यस अवसरमा ती आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने दुई देशका अधिकारीहरूबीच सहमति भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

    संयन्त्रको बैठकमा परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयका उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापा, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठसहित दूतावासका अन्य पदाधिकारी नेपालको तर्फबाट सहभागी थिए । चीनको तर्फबाट उपविदेश मन्त्री सुन बिइतोङले टोलीको नेतृत्व गरेका थिए । बैठकमा आर्थिक सहयोग, व्यापार, लगानी र पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्ध लगायतका क्षेत्रमा सहयोग सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।

  • वैदेशिक रोजगारीमा ज्यान गुमाएका नागरिकको सूचना बेचेर ठगी गर्ने नासु पक्राउ

    वैदेशिक रोजगारीमा ज्यान गुमाएका नागरिकको सूचना बेचेर ठगी गर्ने नासु पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारी रहेका छन् ।

    वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाको सूचना बेच्ने गरेको खुलेपछि आज नासु अधिकारीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक डा मनोज केसीले जानकारी दिए । वैदेशिक रोजगारीमा मृत्यु भएका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न गिरोहका छ जना पक्राउ गरी आज सार्वजनिक गरेपछि उनीहरूले दिएको बयानका आधारमा उनलाई पक्राउ गरिएको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

  • ९ महिनामा ८० हजार विद्यार्थीले लिए विदेश पढ्न अनुमति

    ९ महिनामा ८० हजार विद्यार्थीले लिए विदेश पढ्न अनुमति

    काठमाडौं । चालु आवको ९ महिनाको अवधिमा (साउनदेखि चैत २२ सम्म) झण्डै ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमति पत्र एनओसी लिएका छन् । वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार साउनयता ७९ हजार ३०९ जनाले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् । अहिले शाखाले एनओसीका लागि अनलाइन आवेदन दिएको एक दिनमा रुजु गर्ने र अर्को दिन एनओसी दिने गरेको छ । बिहीवार ६०९ अनलाइन आवेदन परेकामा ५२९ आवेदन स्वीकृत भएको छ ।

    आवेदन स्वीकृत भएको ५ सय आवेदकले शुक्रबार एनओसी पत्र पाउनेछन् । विभिन्न देशमा अध्ययन गर्न जानको लागि अहिले औसतमा दैनिक ६ सय जनाले वैदेशिक अध्ययन अनुमति पत्रका लागि आवेदन दिइरहेको शाखाले जनाएको छ । शाखाले अहिले सेवा प्रवाहलाई सहज र छिटो बनाउदै लगेको दाबी गरेको छ । अनलाइनबाट आवेदन दिने, रुजु गर्ने र एनओसी पाउने समय सम्बन्धित विद्यार्थीलाई जानकारी गराउन थालेपछि लाइन बस्नेको संख्या घटेको शाखाले दाबी गरेको छ ।

  • सिक्किम पहिरोमा ३ जना नेपाली परेको पुष्टी

    सिक्किम पहिरोमा ३ जना नेपाली परेको पुष्टी

    काठमाडौं । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा तीन नेपाली परेको पुष्टी भएको छ । घटनामा सात जनाको मृत्यु भएको छ । जसमधये ३ जना नेपाली रहेको स्थानीय अधिकारीले पुष्टी गरेका छन् । घटनामा करिब एक दर्जन घाइते छन् । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको गान्तोकका अधिकारीहरुले जनाएका छन् । अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन् ।

    स्थानीय समय अनुसार मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका गरिएको इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ । १४ जनालाई उद्धार गरेर नजिकैको आर्मी क्याम्पमा लगिएको थियो ।

    तीमध्ये सात जनाको मृत्यु भएको र अन्य सात जनालाई प्राथमिक उपचार गरी गान्तोक फर्काएको भारतीय सेनाले विज्ञप्ति निकालेर जानकारी दिएको छ । चीनसँग सिमाना जोडिएको नाथुला भारतको महत्वपूर्ण हिमाली नाकाहरुमध्ये एक हो । पर्यटकीय गन्तव्य पनि भएको यो क्षेत्र गान्तोकबाट करिब ५५ किलोमिटर टाढा पर्दछ ।

  • नेपालमा काम गर्छन् १० हजार विदेशी श्रमिक, कुन मुलुकका कति ?

    नेपालमा काम गर्छन् १० हजार विदेशी श्रमिक, कुन मुलुकका कति ?

    काठमाडौं । नेपालका ठूला परियोजनामा देखिएको दक्ष श्रमिकको अभाव विदेशबाट पूर्ति हुँदै आएको छ । यहाँ सञ्चालित विभिन्न परियोजनामा आवश्यक दक्ष श्रमिकको आपूर्ति विदेशबाट हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ । विदेशी श्रमिकलाई नेपालमा काम गर्ने इजाजत दिँदै आएको श्रम तथा व्यवसायजन्य विभागका अनुसार अहिले त्यस्ता परियोजनामा करिब एक सय भन्दाबढी मुलुकका श्रमिक कार्यरत छन् । नेपालमा सबैभन्दा बढी चिनियाँ श्रमिक छन् ।

    बेलायत, अमेरिका, दक्षिण कोरिया, भारत, जापानलगायत मुलुकका श्रमिकको सङ्ख्या पनि उल्लेख्य छ । सन् २०१७ यता सबैभन्दा बढी सात हजार पाँच सय चिनियाँ नागरिकले श्रम इजाजत लिएर नेपालमा काम गरेका छन् । दुई हजार चार सय ९५ पुराना (नवीकरण) र पाँच हजार २४ नयाँ चिनियाँ श्रमिकले श्रम इजाजत लिएका छन् ।

    संयुक्त अधिराज्यका ४८८, संयुक्तराज्य अमेरिकाका ३३२, दक्षिण कोरियाका २४०, भारतका २३०, जापानका १९०, अष्ट्रेलियाका ११६, श्रीलङ्काका ११३, जर्मनीका ९८, इटालीका ८२, फ्रान्स र फिलिपिन्सका ७९र७९ तथा बङ्गलादेशका ५६ श्रमिक कार्यरत रहेका विभागको तथ्याङ्कमा उल्लेख छ ।

    विभागका महानिर्देशक कृष्णप्रसाद ज्ञवालीले विदेशी दक्ष श्रमिकले नेपालमा अनुमति लिएर काम गर्दै आएको बताए । नेपालमा सञ्चालित चिनियाँ परियोजनाको सङ्ख्या बढी भएकाले यहाँ काम गर्ने चिनियाँ श्रमिकको सङ्ख्या अन्य मुलुकको तुलनामा बढी देखिएको उनको भनाइ छ ।

    “नेपालमा धेरै चिनियाँ प्रोजेक्ट सञ्चालित छन्, द्रुतमार्ग, सडक, जलविद्युत्, भूकम्पपछिको पुनर्निर्माणका परियोजना तथा विभिन्न ठेक्कामा चिनियाँ श्रमिकको संलग्नता रहको छ”, उनले भने ।


    प्रोजेक्ट इन्जिनियर, सुरुङ तथा हाइड्रो इन्जिनियर, विभिन्न गैरसरकारी संस्था, पाइटल, मेन्टिनेन्स इन्जिनियर, मेकानिकललगायत प्राविधिक पदमा विदेशी श्रमिक संलग्न हुने गरेको विभागले जनाएको छ । रोजगारदाताले कुनै विदेशी नागरिकलाई काममा लगाउँदा विदेशी नागरिक राख्नका लागि विभागबाट श्रम इजाजत लिनुपर्ने व्यवस्था छ । विभागले विदेशी नागरिकको श्रम इजाजत व्यवस्थापनसम्बन्धी निर्देशिका–२०७५ अनुसार विदेशी श्रमिकलाई श्रम इजाजत दिँदै आएको छ ।

    नेपालमा काम गर्न आउने विदेशी श्रमिकलाई सम्बन्धित मन्त्रालयको सिफारिस र गृह मन्त्रालयका कार्य सहमतिका आधारमा मात्रै श्रम स्वीकृति दिइँदै आइएको विभागका महानिर्देशक ज्ञवालीले जानकारी दिए । विभागले विदेशी श्रमिकलाई एक वर्षका लागि श्रम इजाजत दिने गरेको छ । प्रत्येक वर्ष श्रम इजाजत नवीकरण गर्नुपर्छ ।

    विशिष्ट दक्ष प्राविधिक श्रमिकको हकमा पटक पटक गरी बढीमा पाँच वर्ष र अन्य विदेशी श्रमिकको हकमा पटक पटक गरी बढीमा तीन वर्षका लागि श्रम इजाजत दिनेछ । छ महिनाको अवधिका लागि प्रतिव्यक्ति रु १५ हजार र छ महिनाभन्दा बढी अवधिका लागि प्रतिव्यक्ति रु २० हजार दस्तुर तिर्नुपर्ने निर्देशिकामा उल्लेख छ । रासस

  • मलेसियाले हटाउने भयो अनिवार्य मृत्युदण्डको प्रावधान, १३०० कैदीको ज्यान जोगिने

    मलेसियाले हटाउने भयो अनिवार्य मृत्युदण्डको प्रावधान, १३०० कैदीको ज्यान जोगिने

    काठमाडौं । मलेशियाको संसद्‌ले देशको कानुनमा अनिवार्य मृत्युदण्डको सजाय हटाउने पक्षमा मतदान गरेको छ। यो कदमसँगै मृत्युदण्डको सजाय पाउन सक्ने १,३०० कैदीको ज्यान जोगिन सक्ने बीबीसीले लेखेको छ । कैयौँ नेपालीहरू पनि वैदेशिक रोजगारीका लागि पुग्ने गरेको दक्षिण पूर्वी एशियाको यो देशले सन् २०१८ यता मृत्युदण्ड स्थगन गरेको छ।

    संसद्‌ले पारित गरेको व्यवस्था कार्यान्वयनमा आएसँगै हत्या र आतङ्कवादसहित ११ प्रकारका गम्भीर अपराधमा दिइने अनिवार्य मृत्युदण्डको सजाय हट्नेछ। यद्यपि असाधारण घटनाहरूमा मृत्युदण्डको आदेश दिन सक्ने न्यायाधीशहरूले स्वःविवेकीय अधिकार कायमै राखिएको छ। सबैभन्दा गम्भीर अपराधमा अदालतले ४० वर्ष कारावास हुने जस्ता आजीवन जेल सजाय र कोर्रा लगाउने जस्ता सजाय तोक्न सक्ने सांसदहरूले बताएका छन्।


    सोमवार त्यहाँको संसद्लाई सम्बोधन गर्दै मलेशियाका उप कानुनमन्त्रीले मृत्युदण्ड अपरिवर्तनीय रहे पनि यसले अपराधलाई निरुत्साहित नगरेको बताए। “मृत्युदण्डले जस्तो नतिजा ल्याउनुपर्थ्यो त्यो ल्याएन,” रामकरपाल सिंहले भने। नयाँ कानुनले यसअघि नै मृत्युदण्डको फैसला सुनाइएका तर सजाय पाउन बाँकी मानिसहरूलाई पनि ९० दिनभित्र सजायबारे पुनरावेदन माग गर्ने समय दिने छ।

    मलेशियामा हाल १,३४१ कैदीहरू छन्। मलेशियामा ३४ वटा अपराधमा मृत्युदण्ड दिइन्छ। तीमध्ये सोमवार अघि ११ वटामा अनिवार्य मृत्युदण्ड दिइन्थ्यो। विद्यमान मृत्युदण्डको कानुनी व्यवस्था उल्टाउने प्रक्रिया गत जुनमा सुरु भएको थियो। पूर्वप्रधानमन्त्री इस्माइल साब्री यकोब नेतृत्वको सरकारले अनिवार्य मृत्युदण्डको सजाय हटाउने घोषणा सुरु गरेको थियो। मृत्युदण्डको अन्त्यका लागि दुई वटा विधेयक गत साता संसद्‌मा दर्ता गरिएका थिए।

    अझैसम्म मृत्युदण्डको सजाय दिइने ५३ देशहरूमध्ये मलेशिया पनि एक हो। यो क्षेत्रमा चीन र सिङ्गापुरमा पनि मृत्युदण्डको सजाय दिने कानुन छ। मलेशियाको सरकारी तथ्याङ्क अनुसार यो देशमा सन् १९९२ देखि २०२३को बीचमा करिब १३१८ जना कैदीहरूलाई झुन्ड्याएर मृत्युदण्ड दिइएको छ।
    यसअघि मलेशियामा नेपालीहरूलाई पनि मृत्युदण्डको सजाय दिने फैसला भएका थिए। कतिपय त्यस्ता खाले फैसलामा पुनरावेदन हुँदा मृत्युदण्ड नदिन आदेश भएका विवरण आएका थिए।

    अधिकारीहरूका अनुसार सन् २००८ मा विदेश जाने कामदारहरूको तथ्याङ्क राख्न थालिएयता मलेशिया नेपालीहरूको एउटा प्रमुख श्रम गन्तव्यको रूपमा रहेको देखिन्छ। झन्डै १५० वटा देशमा नेपाली कामदारहरू पुगेको भए पनि ८० प्रतिशतभन्दा बढी नेपाली कामदार खाडीका छ देश र मलेशियामा काम गर्न जाने गर्छन्। दुई महिना अघि नेपाल आएका मलेशियाका गृहमन्त्री सैफुदिन नासितुन इस्माइलले नेपालबाट ‘उल्लेख्य सङ्ख्यामा’ कामदार लैजाने प्रतिवद्धता जनाएको विवरण आएका थिए।