काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले विदेशबाट फर्किएकालाई तीनमहिने अभियानमा जोड्ने भएको छ। माओवादीले भर्खरै विदेशबाट फर्किएकालाई जोड्न रिटर्नी सेन्टरको नाममा भ्रातृ सङ्गठन गठन गरेको थियो। विदेशबाट फर्किएका सबै युवालाई पार्टी निर्माणमा केन्द्रित गर्ने गरी वडा खटिने रिटर्नी सेन्टरका अध्यक्ष देवेन्द्र सम्बाहाम्फेले बताएका छन् ।
रिटर्नी सेन्टरको इन्चार्जको जिम्मेवारी पाएका लक्ष्मणदत्त पन्तले बिहीबार आफ्नो कार्यभार सम्हालेका छन् । पार्टी केन्द्रीय सदस्यसमेत रहेका पन्तले सम्बोधन गर्दै रिटर्नी सेन्टर महत्वपूर्ण भ्रातृ सङ्गठन भएकाले विदेशबाट फर्किएका युवालाई एकताबद्ध गरी देश निर्माणमा अभिप्रेरित गरिने बताए ।
“यो वर्ष मात्रै आठ लाख युवा बिदेसिनुप(यो। यसरी नै विदेश जान थाले देशै रित्तिने खतरा भयो,” उनले भने, “अब देशमै बस्ने वातावरण बनाएर उद्यमशील बनाउन अभियान चलाउनुपर्ने देखियो।” रिटर्नी सेन्टरले अभियान चलाएर स्वदेशमै आशा जगाउन अभिप्रेरित गरेमा विश्वका कुनकुनमा पुगेका नेपाली आफ्नो जन्मभूमि फर्किने उनले बताए ।
काठमाडौं । साउदी अरबको जेद्दास्थित नेपाली महावाणिज्यदूतको कार्यालयले राजधानी रियादबाट १३ सय किलोमिटर टाढा रहेको ताबुकमा आयोजित राहदानी शिविरबाट ३ सय ९१ जनाको विद्युतीय राहदानीको फाराम संकलन गरेको छ । गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति, ताबुकको संयोजकत्वमा महावाणिज्यदूतको कार्यालयले राहदानी शिविर गर्न टोली खटाएको हो ।
‘ताबुकबाट रियाद वा जेद्दा जान–आउन निकै कठिन थियो । श्रमिकलाई बिदा पाइदैन्थ्यो । यहाँ नै शिविर भएपछि हाम्रो समय मात्रै होइन रकम पनि बचत भएको छ,’ एनआरएन, ताबुकका अध्यक्ष नरबहादुर खतिवडाले भने ।
महावाणिज्यदूतको कार्यालयले श्रम सहचारी सहचारी तमराज काफ्लेको नेतृत्वमा टोली खटाएको हो । राहदानी शिविरमा फाराम बुझाउनका लागि ताबुक क्षेत्रको दुबा, हाकल, सरमा, अलवज, आरार, ताइमाबाट श्रमिकहरू पुगेका थिए । एकदिने शिविर भएपनि श्रमिकहरुको चाप बढेपछि दुई दिन पुर्याइएको थियो । यसैबीच गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुकको ९औं वार्षिकोत्सवसमेत मनाइएको छ ।
न्यूयोर्क । गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरिकी च्याप्टरको एक प्रतिनिधिमडलले न्यूयोर्कबाट हाउस कांग्रेसमा प्रतिनिधि कांग्रेस वमन ग्रेस मींगसँग भेटवार्ता गरेको छ । फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेको नेतृत्वमा मंगलबार गएको प्रतीनिधि मण्डलले न्युयोर्क-फ्लसींग स्थित कांग्रेस वमनको कार्यालयमा भेट गरेको हो । भेटमा नेपाली आप्रवासीका विविध समस्या तथा समसामयिक विषयमा छलफल भएको थियो ।
फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेको नेतृत्वमा उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू ध्रुव कुँवर क्षेत्री, रेखा श्रेष्ठ, फाउन्डेशनका सदस्यहरु क्रमशः शेखर कार्की, राजीव बतास, पुनम सिटौंला कार्की क्षेत्री, मनोज पडौंल, अनु धिताल लगायत १० जनाको टोलीले भेट गरेको हो । भेटमा अध्यक्ष घिमिरेले काङ्रेस वमनसँगको जिपी फाउण्डेशनले गरेको भेटको उद्देश्यबारे बताएका थिए । उनले कोरोना कहरको डरलाग्दो अवस्थामा गरेको कामको स्मरण गराए ।
भेटघाटको अवसरमा फाउन्डेशन उपाध्यक्ष सुवर्ण लामाले नेपाल अमेरिका बीच आपसी सहयोग र सम्बन्ध प्रगाढ रहेको बताउँदै आगामी दिन हरूमा अझ सुमधुर रहोस भन्ने चाहना भएको बताए । प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारीले अमेरिकामा रहेका लाखौं आप्रवासी कानुनत वस्न र काम गर्न योग्य भए पनि स्थायी बसोवासको अनुमति पाउन अनेकौं सास्ती व्यहोरेको बताए ।
उनले वर्षौं परीवारसँग छुट्टीएर वस्नुपरेको कारणले मानसिक यातना व्यहोरिहेको समेत जानकारी दिए । उनले यस्ता समस्याको एक जिम्मेवार सांसदको हैसियतमा यथासक्य शीघ्र कानुनी रूपमा हल गरिदिन आग्रह गरे ।
कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्रीले आफ्नो ज्यानको पर्वाह नगरी आफु यु एस ऐम्बेसी कावुल, अफगानिस्तानमा सुरक्षा अधिकारीको रूपमा तैनाथ भएको स्मरण गरे । त्यसबोला धेरैको ज्यान बचाएँको भन्दै उनले अमेरिकी सरकार प्रति वफादार भएर गरेको रोचक कार्य सुनाएका थिए । उनले अमेरिकाको कानुन र प्रजातन्त्रात्मक शासन व्यवस्था मानी यही मुलुकमा श्रम पसिना सिंचित गरी वर्षौं देखी बस्दै आएको र आफ्ना दुख पीडा एक अभिभावकीय नाताले कांग्रेस वुम ग्रेस मेंगको नेतृत्वले हलगरी दिन आग्रह गरे ।
अर्का कार्यसमिति सदस्य रेखा श्रेष्ठले आफुले यसै फाउन्डेशन मार्फत विविध सामाजिक कार्यहरूमा यही समाजको सेवामा खटीँदै आएको र आवश्यक पर्दा भोलीका दिनहरूमा पनी खटीरहने प्रण गरिन् ।
व्यक्तिगत एवं सामूहिक समस्याहरूका बारे प्रत्येकले आपसी अन्तर्कृया एवं छलफल गरी कांग्रेस वुमन ग्रेस मेंग सँगखुलेर छलफल गरीएको सो कार्यक्रममा आफ्नो धारणा राख्दै मेंगले आफु यहाँका जनताद्वारा चुनिएको जनप्रतिनिधिको हैसीयतले कुनैपनी पार्टी र व्यक्ति एवं समुदायप्रती निष्पक्ष भै कानुन अनुसार क्रमशः यथासक्य समस्याहरू समाधान गर्न लागी परेको प्रष्ट पारिन् ।
उनले सरकार समक्ष यथेष्ट बजेटको मागगरी विशेष गरी जटील बन्दै गईरहेको आप्रवासी समस्या समाधान गर्न वर्तमान वाईडेन सरकारलाई घच्घच्याईरहेको प्रष्ट पारेकी छिन् । उनले आफु नेपाल र नेपालीलाई असाध्यै माया गर्ने र मौका मिलेमा निकट भविष्यमा नेपालको भ्रमण समेत भएको ईच्छा व्यक्त गरिन् ।
कांग्रेस वुमन ग्रेस मेंगले अमेरिकामा जीपी फाउन्डेशनले गरेको सामाजिक सेवाको उच्च प्रशंसा गर्दै आफुले फाउन्डेशनको कार्यालय भ्रमण गरी यदि आवस्यक भएमा फाउन्डेशनकै कार्यालयमा आप्रवासीहरुको समस्या समाधान गर्न घुम्ती सिविर संचालन गरी नेपाली लगायत स्थानीय समुदायका सेवाग्राहीहरूका समस्या हलगर्न लागि पर्ने वचनबद्दता समेत व्यक्त गरेका छिन् ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भएका छन् । उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने भएका हुन् । उनी त्यतैबाट चीन भ्रमणमा जाने तयारी समेत भइरहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले १६ सेप्टेम्बर (३० भदौ) मा अमेरिकाको न्यूयोर्क जाने र २१ सेप्टेम्बर (४ असोज) मा त्यतैबाट चीन जाने जानकारी गराए ।
अमेरिकाको न्यूयोर्कमा १९ सेप्टेम्बरबाट संयुक्त राष्ट्रसंघको महासभा सुरु हुँदैछ र त्यहाँ २१ सेप्टेम्बरमा आफ्नो सम्बोधन तय भएको प्रचण्डले जानकारी दिए । त्यसपछि २१ सेप्टेम्बरमा चीन जाने उनले बताए । चीनमा २३, २४ र २५ सेप्टेम्बरमा एसियाली खेलकुद कार्यक्रम तय भएको छ ।
२५ सेप्टेम्बरमा स्वदेश फर्किने तय भएको उनले जानकारी दिए । चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि क्वाङसँगको भेटवार्ता तय भएको पनि प्रचण्डले जानकारी दिएका छन् ।
काठमाडौं । विदेशी कामदारले नेपालमा अब अनलाइनबाटै श्रम स्वीकृति तथा इजाजत पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले यस्तो जानकारी गराएको हो । विभागका अनुसार एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली ९आईएलएमआईएस० सञ्चालनको तयारी भइरहेको छ ।
१ भदौदेखि यसलाई कार्यान्वयनमा ल्याइने भएको छ । यो प्रणाली सञ्चालनमा आएसँगै अब गैरनेपाली नागरिकले श्रम स्वीकृति तथा इजाजत अनलाइनबाटै लिन सक्ने छन् । साथै ट्रेड युनियन दर्ता\नवीकरण, श्रमिक आपूर्तिकर्ताको दर्तारनवीकरण, व्यवसायजन्य दुर्घटना विवरण दर्ता, श्रम अडिट पेश, प्रतिष्ठान दर्तालगायत विभागबाट भइरहेका काम समेत अब अनलाइनबाट गर्न सकिने भएको छ । विभागका अनुसार सेवाग्राहीले ‘आईएलएमआईएस डट डीओएलओएस डट जीओभी डट एनपी’मा गएर आवेदन दिन सक्ने भएका छन् ।
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज चीनको कुन्मिङ जाँदैछन् । सातौं चीन–दक्षिण एसिया प्रदर्शनी तथा २७ औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन यादव आज चीन जान लागेका हुन् । उनी सोमबार (आज) अपराह्न ४ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उक्त मेला यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुनेछ । सो मेलाको उदघाटन समारोहलाई उपराष्ट्रपति यादवले सम्बोधन गर्ने कार्यक्रम छ । चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी पत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा सहभागी छन् । उपराष्ट्रपति यादव भदौ ४ गते काठमाडौं फर्किने छन् ।
काठमाडौं । नेपालका बिभिन्न स्थानबाट चोरी गरी बेचिएका पुरातात्विक महत्वका १९औं तथा २०औं शताब्दिका ३९ थान काष्ठजन्य कला, चित्रहरु र मूर्तिहरु नेपाल फर्काइएको छ । यसको तौल १६११ केजी छ । यी सबै बहुमूल्य सामग्री हवाई राज्यस्थित भन्सार तथा सीमा सुरक्षा निकायले सन् २०१० मा बरामद गरेको थियो ।
यी सामानहरु नेपाल तथा तिब्बती सामानहरुको कारोबार गर्ने थोक ब्यापारीमार्फत हवाईमा पुगेका थिए । बहुमूल्य सम्पदाहरु ‘उत्पत्तिको मुलुक’ नेपाल फर्काउन नेपाल सरकारले सन् २०११ मा अमेरिकी सरकारलाई औपचारिक अनुरोध गरेको थियो ।
सबै प्रकृया पूरा गरेर ११ मे २०२३ का दिन अमेरिकास्थित नेपाली राजदूतावासमा हस्तान्तरण कार्यक्रमको आयोजना गरी अमेरिकी सरकारको तर्फबाट नेपाल सरकारलाई दूतावास मार्फत हस्तान्तरण गरिएको थियो ।
तर सामानको तौलका कारण नेपाल पठाउन सहज नभएकोले अमेरिकाको सान डियगोका लागि अवैतनिक महाबाणिज्यदूत ऋषि पुन्नाखर ढकालको सकृयता र पहलमा कतार एयरवेजले निशुल्क ती सामानहरु नेपालसम्म ढुवानी गर्न सहमत भएपछि नेपाली दूतावास अमेरिकाको समन्वयमा ती सामानहरु नेपाल फर्काइएको हो ।
अवैतनिक महाबाणीज्यदूत ढकालले यसअघि आफ्नै पहलमा ८ औं शताब्दीका बुङमतिको मछिन्द्रबहालमा रहेको बुध्दको ढुङ्गाको मूर्ति र १०औं शताब्दट्ठको नृत्यदेबीको काठको मूर्ती नेपाल फर्काईएको थियो । यी सामाग्रीहरु शनिबार नेपाल आइपुग्ने अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भोग्नु परेका समस्या र समाधानका उपायबारे सरकारी निकायका अधिकारीहरुसँग सुझाव मागेका छन् । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको केही मन्त्री र वैदेशिक रोजगारसँग सम्बन्धित सरकारी निकायका अधिकारीहरुसँग संयुक्त छलफल गरी प्रधानमन्त्री प्रचण्डले सुझाव मागेका हुन् ।
छलफलमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा। प्रकाशशरण महत, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव, परराष्ट्र सचिव, श्रम सचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखा हेर्ने सचिव लगायत सहभागी थिए ।
सो छलफलमा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारका समस्या समाधान गर्ने र त्यसलाई मर्यादित बनाउने विषयमा सुझाव मागेका थिए । सुझाव अर्को बैठकमा प्रस्तुत गर्न प्रधानमन्त्री प्रचण्डले भनेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयबाट जारी प्रेस नोटमा लेखिएको छ, ‘छलफलमा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीको क्रममा नेपालीहरूले विभिन्न प्रकृतिका समस्याहरू भोग्नुपरेको चर्चा गर्दै ती समस्याहरूको दीर्घकालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गरी अर्को बैठकमा प्रस्ताव पेश गर्नसमेत निर्देशन दिनुभएको छ ।’
प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकहरूको सम्मान र हितरक्षा गर्न पनि निर्देशन दिएका थिए । छलफलमा सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेबारे समेत छलफल भएको र यसका निम्ति यही साउन ३१ गते एक औपचारिक समारोह समेत आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौं । स्पेनको जनसङ्ख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । उच्चस्तरमा जनसङ्ख्या पुग्नुमा आप्रवासीहरूको मुख्य योगदान रहेको स्पेनको तथ्याङ्क कार्यालयले मङ्गलवार प्रकाशित गरेको अध्ययनले देखाएको हो । त्रैमासिक निरन्तर जनसङ्ख्या तथ्याङ्कले जुलाई १ मा स्पेनमा ४ करोड ८३ लाख ४५ हजार २२३ जना मानिस बसोबास गरिरहेको देखाएको छ ।
जुन अहिलेसम्म रेकर्ड गरिएकोमध्ये सबैभन्दा धेरै हो । २०२३ को दोस्रो त्रैमासिकमा १३ लाख ५ हजार १८६ जनाले वृद्धि भएको छ । थपिएको जनसङ्ख्या मध्ये १ लाख ३९४ जना स्पेन बाहिर जन्मिएका थिए । अब विदेशी भूमिमा जन्मिएका बासिन्दाहरूको कुल सङ्ख्या ८४ लाख ५७ हजार ८८६ पुगेको छ ।
स्पेनका राष्ट्रिय तथ्याङ्क संस्थानका प्राविधिक मिगुएल कार्लोस गालानले भने, ‘यो वृद्धि जन्मको कारणले भएको होइन किनभने जन्म र मृत्यु बिचको भिन्नता व्यावहारिक रूपमा शून्य भएको छ, तर मूलतः के भएको छ कि आप्रवासन बढेको छ ।’ अप्रिल र जुनको बिचमा स्पेन आउने अधिकांश आप्रवासी कोलम्बिया र मोरक्कोका थिए ।
विदेशमा बसोबास गरेर आफ्नो मातृभूमिमा फर्केका स्पेनीहरुको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ । गालानले भने, ‘स्पेनमा जनसङ्ख्या भविष्यमा अलिकति घट्न सक्छ । जनसङ्ख्या घट्न नदिने सुनिश्चित गर्न आप्रवासीहरूको धेरै ठुलो प्रवाह आवश्यक छ ।’
काठमाडौं । साउदीस्थित नेपाली दूतावासले कुवेतमा कम्पनीमा काम गर्ने प्रलोभन देखाई गैरकानुनी रूपमा घरेलु काममा साउदी पु–याइएका चार नेपाली महिलाको उद्धार गरेर स्वदेश पठाएको छ । दूतावासले साउदीमा घरेलु काममा विभिन्न हिंसा र दुव्र्यवहारमा परेका महिलालाई उद्धार गरी तीन महिना दूतावासको अल्पकालीन आवासमा राखेर बुधबार स्वदेश पठाइएको हो ।
दूतावासका अनुसार कम्पनीको काम लगाउने भनेर सरकारसँग श्रम स्वीकृति नै नलिई उनीहरूलाई भारत हुँदै कुवेत पुर्याइएको थियो । कुवेतमा केही महिना काम गरेपछि कुवेतका स्थानीय एजेन्टले उहाँहरूलाई साउदी अरब पुर्याइएको सात महिनासम्म बिनातलब घरमा काम लगाएको सूचनाका आधारमा दूतावासले साउदी प्रहरीको सहयोग लिएर उद्धार गरी अल्पकालीन आवासमा राखेको थियो ।
दूतावासका अनुसार साउदीमा उनीहरूलाई झन्डै सात महिनासम्म घरमालिकले बिनातलब काम लगाएको र बिरामी हुँदासम्म उपचार नगराउने, तलब माग्दा कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिने गरेको पाइएको छ । तीन महिनासम्म चारै जनालाई दूतावासले खाने बस्ने सुविधासहित आवासीय सेवा दिइएको थियो । यसबिचमा दूतावासले साउदीको घरेलु श्रमिक कार्यालयसँग समन्वय गरी उनीहरूको स्वदेश फिर्तीका लागि कानुनी प्रक्रिया मिलाएर बहिर्गमन भिसा लगाएको थियो ।
बहिर्गमन भिसामा उनीहरूलाई हिमालय एयरलाइन्समार्फत दूतावासले बुधबार नेपाल फर्काएको छ । उनीहरूको टिकटको व्यवस्था भने साउदीमा रहेको प्रवासी नेपाली मञ्चले गरेको दूतावासले जानकारी दिएको छ । दूतावासले पछिल्लो समय कागजातविहीन भएर साउदीमा घरेलु काममा आउने महिलाको सङ्ख्या बढेकाले त्यसप्रति सचेत गराउन सरोकारवाला निकायको ध्यानाकर्षणसमेत गराएको छ ।
काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम करार बमोजिम काम नदिई अलपत्र परेको र पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै दुई वटा मेनपावर व्यवसायीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ।
पीडितलाई क्षतिपूर्ति नदिने डिलक्स एचआर सोलुसन र डि–स्क्वार्ड ग्रुप मेनपावर कम्पनीको इजाजतपत्र खारेज गरिएको विभागका प्रवक्ता तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए। उनका अनुसार दुवै कम्पनीले पीडितलाई क्षतिपूर्ति नदिएको र क्षतिपूर्ति दिन आनाकानी गर्दै आएपछि उनीहरुको इजाजतपत्र नै खारेज गरिएको हो।
विभागले एक सूचना प्रकाशित गरी डिलक्स एचआर सोलुसन र डि–स्क्वार्ड ग्रुप म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५१ बमोजिम पीडितको क्षतिपूर्तिबापतको रकम इजाजतपत्र प्राप्त संस्थाको धरौटीबाट फिर्ता गराई वा क्षतिपूर्ति भराई एक लाख जरिवाना गर्ने र इजाजतपत्र रद्द गर्ने निर्णय गरेको जनाएको छ। युएई गएका १७ जना बाइक राइडरले आफूहरुले सम्झौताअनुसार काम नपाएको भन्दै विभागमा उजुरी दिएको विभागले जनाएको छ।
काठमाडौं । इटालीको लाम्पेडुसा टापुनजिकै समुद्रमा आप्रवासीहरू बोकेको डुङ्गा दुर्घटनामा पर्दा ४१ जनाको मृत्यु भएको जीवित व्यक्तिहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्। उक्त दुर्घटनामा परेर बाँच्न सफल चार जनाले उद्धारकर्ताहरूलाई आफूहरू ट्यूनिशियाबाट इटलीतिर जान डुङ्गामा चढेको बताएका छन्।
ती चार जना आइभरी कोस्ट र गिनीका नागरिक हुन्। उनीहरू बुधवार लाम्पेडुसा पुगेका थिए। बाँच्न सफलमध्ये तीन पुरुष र एक महिला छन्। उनीहरू चढेको डुङ्गामा तीन जना बालबालिकासहित ४५ जना भएको उद्धारकर्मीहरूलाई बताएका छन्। उत्तरी अफ्रिकाबाट समुद्री बाटो हुँदै युरोप जाने क्रममा यो वर्ष मात्रै १,८०० जनाले ज्यान गुमाइसकेका छन्। उक्त डुङ्गा सात मिटरजति लामो भएको बताइएको छ।
जीवित व्यक्तिहरूका अनुसार गत साता बिहीवार ट्यूनिशियाको स्फ्याक्सबाट निस्किएको उक्त डुङ्गा केही घण्टामै दुर्घटनामा परेको थियो। एउटा ठूलो छाल बज्रिएपछि डुङ्गा केही बेरमै समुद्रमा डुबेको उनीहरूले बताएका छन्। त्यसमा चढेकामध्ये केवल १७ जनाले लाइभ भेस्ट लगाएको उनीहरूले बताएका छन्।
उनीहरूका अनुसार एउटा मालवाहक पानीजहाजले उनीहरूको उद्धार गरेर इटलीका तटरक्षकहरू जहाजलाई जिम्मा लगाएको थियो। इटलीको तटरक्षक बलले उक्त क्षेत्रमा दुईवटा डुङ्गा दुर्घटनामा परेको जानकारी आइतवार दिएको छ। तर ४१ जनाको ज्यान जानेगरी भएको दुर्घटना उसको विवरणमा परे नपरेको स्पष्ट छैन।
ट्यूनिशियाका अधिकारीहरूका अनुसार लाम्पेडुसाबाट झन्डै १३० किलोमिटर टाढा रहेको स्फ्याक्स सुखद जीवनको अपेक्षामा युरोप प्रवेश गर्ने आप्रवासीहरूका लागि लोकप्रिय मार्गमा पर्छ। हालैका दिनहरूमा इटलीले गस्तीमा खटाएका डुङ्गा र सेवामूलक समूहहरूले लाम्पेडुसा पुगेका झन्डै २,००० आप्रवासीको उद्धार गरेका छन्।
ट्यूनिशियामा अफ्रिकी मूलका अश्वेत जातिका मानिसहरूप्रति जातीय विभेद उच्च भएको छ र मानिसहरू डुङ्गा चढेर देशबाट बाहिरिने प्रयासहरू बढेका छन्। संयुक्त राष्ट्रसङ्घले सन् २०१४ यता भूमध्यसागरमा मध्यभागमा १७,००० जनाको मृत्यु भएको जनाएको छ। यो क्षेत्रमा आप्रवासीहरूले पार गर्ने सबैभन्दा खतरनाक मार्ग पर्छ।
इटलीको चरम दक्षिणपन्थी सरकारले उद्धार गरिएका आप्रवासीहरूलाई लाम्पेडुसा वा सिसिलीमा ओर्लिन दिनुको साटो उद्धारका लागि तैनाथ डुङ्गालाई टाढा रहेका बन्दरगाहमा रोकिन दबाव दिने नीति अवलम्बन गरेको छ। इटली आउने डुङ्गाहरू एकै ठाउँमा केन्द्रित नहोऊन् भन्ने आफ्नो नीति भएको सरकारको दाबी छ। तर गैरसरकारी संस्थाहरूले इटली सरकारको नीतिका कारण डुङ्गा दुर्घटना भइरहने क्षेत्रमा गरिने गस्तीको समय घटेको बताएका छन्। बीबीसी
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकले पाउने क्षतिपूर्ति रकम बढाउने भएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को बजेटले यस्तो रकम बढाउने गरी बजेट तोकेको थियो । सोही अनुसार अब मृतक श्रमिकको परिवारले पाउने क्षतिपूर्ति रकम समेत बढाउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
क्षतिपूर्ति रकमलाई समसामयिक बनाउनु पर्छ भनेर यस वर्ष बजेट विनियोजन भएको भन्दै मन्त्रालयले अब कार्यविधि बनाएर कार्यान्वयनमा लैजाने तयारी गरेको हो । अहिले वैदेशिक रोजगारीमा गएका श्रमिकको विदेशमा नै मृत्यु भएमा परिवारले ७ लाख रुपैयाँ क्षतिपूर्ति पाइरहेका छन् । यसलाई वृद्धि गर्ने तयारी सरकारले गरेको हो ।
मन्त्रालयका अनुसार क्षतिपूर्ति रकम बढाएर ९, १० वा १२ लाख कति पुर्याउने भन्ने बारे कार्यविधिले नै तोक्ने भएको छ । मन्त्रालयका अनुसार यसै कार्यविधिले वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउने श्रमिकका सन्ततिले पाउने छात्रवृत्ति रकमलाई समेत वृद्धि गर्ने भएको छ । सरकारले शिशु कक्षादेखि कक्षा १२ सम्म पढ्न छात्रवृत्ति दिने गरेको छ ।
अहिले ८ कक्षासम्मको अध्ययनका लागि वार्षिक ८ हजार रुपैयाँ छात्रवृत्ति दिइन्छ । ८ कक्षाभन्दा माथि पढ्ने विद्यार्थीले भने वार्षिक १२ हजार रुपैयाँ पाउँदै आएका छन् । यो रकम समेत कति पुग्ने भन्ने बारे कार्यविधिले तोक्ने भएको छ । मृतक परिवारले पाउने क्षतिपूर्ति रकमसँगै विदेशमा पुगेर अङ्गभङ्ग भएर फर्कने, दुःख पाएर फर्कने र अवैधानिक रुपमा पुगेर दुःख पाएका श्रमिकलाई समेत क्षतिपूर्ति उपलब्ध गराउने गरी कार्यविधि बन्ने छ ।
सरकारले श्रमिकको हितका लागि क्रियासिल कोषहरुलाई समेत अब एकीकृत रुपमा सञ्चालन गर्ने भएको छ । रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा गरी अहिले श्रमिकका लागि तीन वटा कोषबाट क्षतिपूर्ति रकम प्रदान गरिँदै आएको छ । अब यी तीन वटै कोषलाई एकीकृत गरी लैजाने गरी गृहकार्य भइरहेको समेत मन्त्रालयले जनाएको छ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चार देशका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार संयुक्त राष्ट्र सङ्घका लागि नियोग, न्युयोर्कका लागि नेपालको राजदूत,स्थायी प्रतिनिधि पदमा लोकबहादुर थापा नियुक्त भएका छन् ।
उनका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले थापासहित राजदूत दानबहादुर तामाङलाई मौरिसस र जाम्बियाका लागि, राजदूत विष्णु पुकार श्रेष्ठलाई कोरिया र ब्राजिलका लागि र राजदूत निर्मलराज काफ्लेलाई पाराग्वेका लागि गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन् । राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम राजदूत नियुक्त गरेका हुन् ।
काठमाडौं । नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित टिम मोन्टेरियल टाइगर्सले ग्लोबल टी–२० क्यानडाको उपाधि हात पारेको छ । अर्का नेपाली स्टार सन्दीप लामिछाने सम्मिलित सर्रे जगुअर्सलाई पाँच विकेटले पराजित गर्दै टाइगर्सले उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको जगुअर्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १३० रन बनाएको थियो ।
जगुअर्सले दिएको १३१ रनको लक्ष्य समान पाँच विकेट गुमाउँदै पूरा गरेपछि टाइगर्स च्याम्पियन बनेको हो । टाइगर्सको जितमा दीपेन्द्रले १७ बलमा एक चौकासहित १६ रन बनाउँदै रिटायर आउट भएका थिए । फाइनल खेलमा सन्दीप भने विकेटविहीन रहे । दीपेन्द्रले पहिलो पटक अन्तर्राष्ट्रिय लिग खेलेका थिए । दुबै नेपाली खेलाडीले लीगमा राम्रो प्रदर्शन गरेका छन् ।
काठमाडौं । एक वर्षको अवधिमा कामदार भिसामा साढे तीन हजार विदेशी नागरिक नेपाल आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०७९–८० मा सो संख्यामा विदेशी नागरिक नेपालमा कामको खोजीमा औपचारिक माध्यमबाट नेपाल आएका हुन् । विभागका अनुसार यो सूचीमा नेपालको छिमेकी मुलुक भारतबाट आएर काम गर्ने वा व्यापार–व्यवसाय गर्नेको तथ्यांक छैन ।
नेपालमा अघिल्लो आवको तुलनामा गत आवमा विदेशी कामदारको आगमन समेत बढेको पाइएको छ । आव २०७८–७९ मा २ हजार ८९२ जना कामदार भिसामा नेपाल आएको आंकडा रहेको छ । त्यसअगाडीको आव २०७७–७८ मा ३ हजार ३३१ जना विदेशी नेपालमा कामदार भिसामा आएका थिए ।
गत आर्थिक वर्ष २०७९–८० मा कीर्तिमानी संख्यामा नेपाली श्रमिक कामको खोजीमा विदेशिएका थिए । यस आवमा एक वर्षमा ७ लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगारीका लागि पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।
यो नयाँ र पुनः श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको एकीकृत आंकडा हो । आर्थिक वर्ष २०७१–७२ मा ६ लाख ९३ हजार ३२ जना नेपाली वैदेशिक रोजगारीमा पुगेका थिए । सो रेकर्ड यस वर्ष तोडिएको हो ।
फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क अमेरिका, फोन्नाले न्युयोर्कस्थित कोरोना पार्कमा संस्थाको पहिलो सम्मेलन सम्पन्न गरेको छ । तदर्थ समितिद्वारा अगष्ट ५ मा आयोजित भेलाको सर्वसम्मतिले अध्यक्ष बिष्णु राना मगरको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । सम्मेलनले प्रत्यक्ष संलग्न र सरोकार रहने पद्दति अनुसार बिज्ञान खनाल, अच्युत सिग्देल, बुद्धिमान तामाङ, निरञ्जन पाण्डे, हरि अधिकारी गरी ५ जना सल्लाहकारमा निर्विरोध गरेको छ ।
सन् २०२१ मा बिज्ञान खनालको पहलमा गठित तदर्थ समितिलाई बिस्तारित र मजबुत बनाउने सहमतिमा निर्बिरोध निर्वाचन सम्पन्न भएको थियो । खनालले नुवाकोटबाट न्युयोर्कमा आई बसोबास गरिरहेका जिल्लाबासीको एकता र सहकार्यको महत्व प्रवासमा अझ रहने आवश्यकता महसुस गरी सांगठनिक हुने पहलको शुरुवात गरिएको थियो ।
न्युयोर्क निवासी नुवाकोटबासीको पहिलो एवम् ऐतिहासिक अधिवेशनको प्रस्तावित बुँदाहरु उपर निम्नानुसार निर्णय गरेका छन् । १, नवनिर्वाचित कार्यसमितिले कम्तिमा बर्षको १ सामुहिक बृहत कार्यक्रम र १ सामुदायिक कार्यक्रम सम्पन्न गर्नेछ । २, फोन्नाको भेलामा उपस्थित सम्पूर्णलाई सदासयता र सहयोगको लागि हार्दिक धन्यबाद ज्ञापन गर्ने ।
फोन्ना अधिवेशनमा अच्युत सिग्देल, शाश्वत सिग्देल, शार्दुल सिग्देल, पल्लवी सुबेदी, बिज्ञान खनाल, भगवती खनाल, आबृती खनाल, अग्रज्ञान खनाल, रामेश्वर खनाल, बिष्णुप्रसाद खनाल, लीला अर्याल खनाल, आकृती खनाल, विलिप खनाल, शिक्षा खनाल, हरीप्रसाद अधिकारी, बिष्णु राना मगर, फिलिक्स राना मगर, किशोर आचार्य, संगिता अधिकारी, साकार आचार्य, शिव शंकर डंगोल, योगेश आदी, उमेश राई, राज गुरुङ्ग, दिपक कुमार खड्का, बाला राई, सम्बिर राम्दान, प्रख्यात दोङ्, चित्र बस्नेत, दिनेश महर्जन, संगिता महर्जन, यादव तिमिल्सिना, पुष्पा लामा, सोनाम याङ्दी, तेन्जिङ लोडे भुटिया, सजबिना लामा, भुवन मान डंगोल, बुद्धमान तामाङ, देबेन्द्र लामा, उत्तम पाण्डे, राज लामिछाने, सरस्वती पराजुली, ईन्द्र प्याकुरेल, निरञ्जन पाण्डे, शान्तजी पन्त, देवकी पाण्डे पन्त,चिरन्जिवि पन्त, समृद्ध पन्त, आदर पन्त, सान्ता तामाङ, लगायतको उपस्थिति रहेको थियो ।
फोन्नाले प्रवासी नुवाकोटबासीको हितका अलावा नुवाकोट जिल्लाको हितमा समेत कार्य गर्ने उद्देश्य राखेको नवनर्वाचित अध्यक्ष बिष्णु मगरले बताएको छ । फोन्नाको ऐतिहासिक/पहिलो अधिवेसनबाट निम्नानुसारको निर्बिरोध निर्वाचित कार्यसमिति तय भएको छ । अध्यक्षः बिष्णु राना मगर उपाध्यक्षः भुवन मान डंगोल सचिवः देवकी पान्डे पन्त कोषाध्यक्षः देबेन्द्र लामा सदस्यः लीला अर्याल सदस्यः इन्द्र प्याकुरेल सदस्यः रामेश्वर खनाल सदस्यः दिपक पण्डित सदस्यः उत्तम पान्डे सदस्यः किशोर आचार्य सदस्यः योगेश आदी
फोन्ना अधिवेशनको समापन नवनर्वाचित उपाध्यक्ष भुवनमान डंगोलले गरेका थिए। कार्यक्रममा उपस्थितलाई आयोजकले कर्टेसी बर्बेक्यू खानपिन गराएका थिए ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयागस्थित गौरीकुण्ठ पहिरोमा बेपत्ता भएका नागरिकको उद्धार र खोजका लागि कूटनीतिक पहल सुरु गरेका छन् । शनिबार साँझ प्रधानमन्त्रीको निजी सचिवालयले सूचना सार्वजनिक गर्दै बेपत्ता नागरिकको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल सुरु गरेको जनाएको छ ।
गौरीकुण्डमा गएको पहिरोमा परेर नेपाली र भारतीय नागरिक बेपत्ता भएको खबरले मर्माहत भएको उनले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले पहिरोमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । ‘
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी १३ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएको खबरले मर्माहत भएको बताएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार टेलिफोन वार्ता भएको छ । दुबै देशका प्रधानमन्त्रीबीचको टेलिफोन वार्तामा नेपाल–भारतबीच आपसी हितका विविध विषयमा समीक्षा गरिएको थियो ।
प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमणका क्रममा भएको छलफल र सहमति कार्यान्वयनका विषयमा फलोअपका रुपमा कुराकानी भएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिएका छन् ।
छलफलमा दुबै देशका प्रधानमन्त्रीले नेपाल भारतको आपसी सहयोगका विभिन्न पक्षहरूको समीक्षा गर्नुका साथै द्विपक्षीय साझेदारीलाई अगाडि बढाउन र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सहमत भएका छन् ।
यसक्रममा प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न भारत भ्रमणको क्रममा भएका छलफललाई र सहमतिको स्मरण गर्दै त्यसको कार्यान्वयनका पक्षमा जोड दिइएको थियो । भारतीय प्रधानमन्त्रीसँगको टेलिफोन वार्ताले दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिइएको छ ।
काठमाडौं । भारतमा भएको कार दुर्घटनामा६ जना नेपाली नागरिकको ज्यान गएको छ । त्यसमध्ये चार जनाएको एकै परिवारका हुन् । भारतको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा उनीहरुको निधन भएको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ । उनीहरु नेपालगन्जका हुन् ।
नेपालगन्जको त्रिभुवन चोकका वैभव गुप्ता, उनकी पत्नी दीपिका गुप्ता,५ वर्षकी छोरी बैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको निधन भएको छ । यसै गरी निलान्स गुप्ता र उनकी बहिनी नीति गुप्ताको पनि भारत श्रावस्तीको एकाउन्न भन्ने स्थानमा शनिवार राति भएको दुर्घटनामा निधन भएको छ ।
दुर्घटनामा निधन हुने ६ जना नै नातेदार भएको बताइएको छ । दुई परिवारका ६ जनाको निधन भएपछि नेपालगन्ज बजार शोकमा परेको छ । वैभव भारत माइतीमा रहेकी पत्नीलाई साथ लिएर फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो ।
काठमाडौं । भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि नेपालले भारतीय पक्षसँग आग्रह गरेको छ । शनिबार परराष्ट्रमन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई टेलिफोन गरेर रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा बिहीबार रातिदेखि परेको वर्षासँगै खसेको पहिरोमा बेपत्ता भएका नेपालीको खोज तथा उद्धारका लागि आग्रह गरेका हुन् ।
रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा परी १९ जना बेपत्ता भएका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार बेपत्तामध्ये अधिकांश नेपाली रहेका छन् । मुख्यमन्त्री धामीले शनिबार बिहानैबाट बेपत्ताहरुको खोजीका लागि सुरक्षाकर्मी र अन्य निकायहरु खटाइएको परराष्ट्रमन्त्री साउदसँग बताएका छन् ।
धामीले रुद्रप्रयागको खराब मौसमका कारण आफ्नो गौरीकुण्ड जाने कार्यक्रम रद्द भए पनि बेपत्ताहरुको खोजीका लागि आफूले स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको पनि बताएका परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ ।
काठमाडौं । गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी डेढ दर्जन मानिस वेपत्ता भएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पहिरोमा परी १९ जना पुरिएको र त्यसमा कम्तिमा १३ जना नेपाली रहेको बताइएको छ ।
बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ । कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो । भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार कालिकोट घर भई गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरुका आफन्तबाट पहिचान खुलेको हो ।
घट्नास्थल वरपर सयौँ नेपाली नागरिक घोडा चालकका रुपमा, स–साना होटल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएका थिए । बेपत्ताको खोजीका लागि भारतीय पक्षसित समन्वय भइरहेको समेत बताइएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो गएको हो ।
उक्त क्षेत्रमा लामो समयदेखि नेपाली नागरिक परिवारका अन्य सदस्यसहित काम गर्दै आएका छन् । सो स्थानमा नेपाली नागरिकले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको बताइएको छ । बेपत्ताको खोजीका लागि नयाँ दिल्लीस्थित दूतावासमार्फत पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौं । विभिन्न देश र नियोगका लागि सरकारले प्रस्तावित गरेको छ राजदूतमध्ये तीन जनाको संसदीय सुनुवाइ पूरा भएको छ । सङ्घीय संसद्अन्तर्गत सार्वजनिक सुनुवाइ समितिको आज बुधवारको बैठकमा न्युयोर्कमा रहेको नेपाली स्थायी नियोग, स्विट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको हो ।
बैठकमा न्युयोर्कका लागि प्रस्तावित राजदूत लोकबहादुर थापा, स्विट्जरल्यान्डका लागि प्रस्तावित राजदूत रामप्रसाद सुवेदी र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टराईले आ–आफ्ना योग्यता, अनुभव, अवधारणा र कार्ययोजना प्रस्तुत गरे ।
उनीहरुले आफूलाई खटाएको नियोग र देशबाट उच्चस्तरीय भ्रमण आदानप्रदान गराउने, दुई देशबीचको सम्बन्ध थप सुदृढ तुल्याउन हरसम्भव प्रयत्न गर्ने, आर्थिक कुटनीतिमा जोड दिने, वैदेशिक लगानी भित्र्याउन पहल गर्ने तथा वैदेशिक सहयोग प्राप्त गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।
यसअघि समिति सदस्यहरूले प्रस्तावित राजदूतलाई देशको प्रतिनिधिका रूपमा काम गर्ने जिम्मेवारी भएकाले देश र नेपाली नागरिकको हितमा गर्व गर्ने ढङ्गबाट कार्यसम्पादन गर्न सुझाव दिँदै हाम्रा प्राकृतिक सम्पदालगायत राष्ट्रिय धरोहरको प्रचारप्रसार तथा परम्परागतबाहेक नयाँ उपलब्धि देखिने गरी काम गर्न निर्देशन दिएका थिए ।
सरकारले परराष्ट्र सेवामा रहेका वरिष्ठ सहसचिवलाई विभिन्न कुटनीतिक नियोग र देशमा राजदूतका लागि प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो । समितिले भोलि बिहीवार प्रस्तावित राजदूत घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (यूएई) र धनबहादुर ओलीको (थाइल्यान्ड) को संसदीय सुनुवाइ गर्नेछ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन ९कोप–२८० मा निमन्त्रणा गरिएको छ । संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुँदैछ । नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले राष्ट्रपतिसँग भेट गरी सो निमन्त्रणा गरेको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा. सुरेश चालिसेले बताएका छन् ।
विश्व जलवायु कार्य शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले पठाएको पत्र राष्ट्रपति पौडेललाई राजदूतले हस्तान्तरण गरे । राष्ट्रपति पौडेललाई जलवायु सम्मेलनका अवसरमा औपचारिक रूपमा सुरु हुने ‘वर्ल्ड क्लाइमेट एक्सन समिट’ तथा डिसेम्बर १ र २ मा आयोजना हुने युएईको ५२औँ राष्ट्रिय दिवसको विशेष समारोहमा सहभागिताका लागि निमन्त्रणा गरिएको छ । रासस
काठमाडौं । प्रेमिकाको नग्न तस्वीर तथा भिडियो पोर्न साइटमा हालेको अभियोगमा एक आरोपीलाई प्रहरीले मलेसियाबाट नेपाल ल्याएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको पत्रका आधारमा इन्टरपोलको एनसीबी (नेशनल कन्ट्रोल ब्यूरो) काठमाडौंले इन्टरपोल हेडक्वार्टरलाई म्यादीका २७ वर्षीय प्रकाश विकविरुद्ध रेड नोटिस जारी गर्न आग्रह गरेको थियो । त्यसअनुसार इन्टरपोल महासचिवालयले २४ माघ २०७८ मा रेड नोटिस जारी गरेको थियो ।
नोटिसका आधारमा इन्टरपोल मलेसियाले विकलाई त्यहाँ पक्राउ गरेको थियो । मलेसियाले उनलाई डिपोर्ट गरेर नेपाल पठाइदिएपछि विकलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साइबर ब्यूरोले पक्राउ गरेको छ । ब्यूरोका एसएसपी नविन्द अर्यालका अनुसार, विकले पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाएर नग्न भिडियो र फोटोहरु रेकर्ड गरेका थिए ।
उनले ती फोटोहरु सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने र आफन्तलाई समेत पठाएर यातना दिएका थिए । ‘पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि उनको नाममा फेक एकाउन्ट समेत बनाएर ती सामग्रीहरु पोर्न साइटमा समेत अपलोड गरेर चरित्रहत्या गरेको पाइएको थियो ‘, अर्यालले भने, ‘उनीलाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले पनि पक्राउ अनुमति दिइसकेको थियो ।’
प्रहरीका अनुसार, अनुसन्धानका क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएको खुलेको थियो । त्यसपछि उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिइएको थियो । साइबर ब्यूरोले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका-१३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने ३७ वर्षीय कपिल बर्मा रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मण्डिखाटारबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष सोनाम लामाको अध्यक्षतामा गठन भएको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडीओ) दर्ता गर्न परराष्ट्र मन्त्रालयलाई आदेश दिएको छ । गत वर्ष एनआरएनएको निर्वाचनमा विवाद भएपछि लामाले नेपाली मूलका विदेशी नागरिक मात्रै रहनेगरी यूएनडीओ दर्ताका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए ।
तर, परराष्ट्र मन्त्रालयले सो संस्था दर्ता गर्न नमानेपछि लामाले सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सो संस्था दर्ता गर्न आदेश दिएको संस्थाका संयोजक लामाले जानकारी दिए ।
सर्वोच्चको फैसलासँग गैरआवासीय नेपालीहरुको वैधानिक रुपमै एकभन्दा बढी संस्थाहरु हुने भएका छन् । गैर आवासीय नेपाली सम्बन्धी ऐनको दफा १६ मा ‘गैर आवासीय नेपालीहरुबीच पारस्परिक सहयोग तथा सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले गैरआवासीय नेपालीहरुले नेपालभित्र गैर आवासीय नेपाली संघ खोल्न पाउनेछन्’ भन्ने व्यवस्था छ । गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ मा गैरआवासीय नेपाली संघ दर्ता गर्न चाहनेले कम्तीमा २५ मुलुकमा ५० जना गैरआवासीय नेपालीले निवेदन दिनुपर्ने उल्लेख छ ।
ऐनको यही व्यवस्थाबमोजिम हाल गैरआवासीय नेपाली संघ दर्ता भएर सञ्चालनमा छ । यो संघ सन् २००३ मा स्थापना भएको हो । तर, गैरआवासीय नेपाली भनेको नेपाली मूलका विदेशी नागरिक वा विदेशमा स्थायी बसोबासको अनुमति पाएका मात्रै (पिपुल अफ नेपाली ओरिजिन– पीएनओ) हुनुपर्ने भन्दै सोनाम लामाले लामो समयदेखि वकालत गर्दै आएका थिए ।
लामो समयको विवादपछि २०७८ चैतमा गैरआवासीय नेपाली संघमा तीन जना अध्यक्ष चुन्ने निर्णय भएपछि सोनाम लामाले ऐनमा भएको व्यवस्थाअनुरुप नयाँ संस्था दर्ताको प्रक्रिया सुरु गरेका थिए । उनले २०७९ वैशाख ६ गते यूएनडीओ दर्ताका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए । २८ मुलुकका ५८ जना गैरआवासीय नेपालीहरुले संयुक्त रुपमा दर्ताको निवेदन दिएका हुन् । सोनामको पक्षमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले पनि छन् ।
तर, त्यसमा परराष्ट्र मन्त्रालयले कुनै जवाफ नदिएपछि सूचनाको हक प्रयोग गरी निवदेनमा भएको प्रगतिको विवरण माग गरेका थिए । त्यसको पनि जवाफ नआएपछि १ मंसिर २०८९ मा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको यूएनडीओका कानुन व्यवसायी आशिष उप्रेतीले जानकारी दिए । सो रिटमाथि आइतबार फैसला भई रिट जारी भएको हो ।
काठमाडौं । इपिएस कोरिया शाखाले पानी जहाज कम्पनीमा पठाउने कामदारका लागि भाषा परीक्षा खुलाएको छ। करिब २ हजार ५०० कामदारका लागि भाषा परीक्षा आह्वान गरिएको हो। भाषा परीक्षा असोज १ गतेदेखि सुरू हुने इपिएस कोरिया शाखाले जानकारी दिएको छ।
‘नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न समझदारी पत्रअनुरूप रोजगार अनुमति प्रणालीअन्तर्गत् गणतन्त्र कोरियामा नेपाली नागरिकलाई पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा संचालन गर्ने आवेदन फाराम दर्ता गर्नुहुन सूचना आह्वान गरिएको छ,’ इपिएस कोरिया शाखाको सूचनामा भनिएको छ।
परीक्षा एकै दिनमा ४ सिफ्ट गरी सञ्चालन हुनेछ। आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने शाखाले बताएको छ। आवेदक संख्या बढी भएमा पहिलो र दोश्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुने बताइएको छ। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा सजाय नपाएको, गणतन्त्र कोरियामा गएर गैरकानूनी गतिविधिमा संलग्न नभएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको, कोरियामा इ–९ र इ–९–१ भिषामा पाँच वर्षभन्दा कम अवधि बसेकोले आवेदन दिन पाउने छन्।
सन् २०२३ को कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा उत्तीर्ण भई सीप परीक्षा दिई बसेका व्यक्तिहरूलेसमेत यस क्षेत्रको परीक्षा आवेदन दर्ता गराउन सक्नेछन्। यो क्षेत्रको भाषा परीक्षामा सामेल भई अनुत्तीर्ण व्यक्तिहरूले पछि हुने अन्य क्षेत्रतर्फको परीक्षा आवेदनहरू प्रकाशित भएमा त्यस परीक्षाका लागिसमेत आवेदन दिन सक्ने शाखाले बताएको छ।
‘कोरियन भाषा परीक्षा उत्तीर्ण हुन भनेको रोजगारीको छनौट प्रकृयामा सामेल हुन रोष्टरमा सूचीकृत हुने भएकाले शत प्रतिशत रोजगारीको ग्यारेन्टी भने नभएको शाखाले बताएको छ। तसर्थ आफ्नो पेशा, व्यवसाय आदिलाई निरन्तरता दिन पनि उसले आग्रह गरेको छ। विगतमा भाषा परीक्षा उत्तीर्ण भए पनि कोरिया जान नपाएको भन्दै आन्दोलनसमेत भएको थियो। त्यसैलाई मध्यनजर गरेर शाखाले पूर्वसूचित गरेको हो।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल तीन देशको भ्रमण सकेर काठमाडौं फर्किएका छन्। उनी शनिबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। त्रिदेशीय भ्रमणका क्रममा उनी गत आइतबार इन्डोनेसिया प्रस्थान गरेका थिए।
अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन इन्डोनेसिया पुगेका अध्यक्ष नेपालले विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे विचार व्यक्त गरेका थिए। बैठकमा सहभागी भएर अध्यक्ष नेपाल मलेसिया र सिंगापुरको भ्रमणमा थिए।
करिब एक साताको भ्रमणमा उनले तीनवटै मुलुकका शीर्ष नेतासँग शिष्टाचार भेट तथा दुई देशीय हितका बारेमा छलफल गरेको पार्टी पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिए। पार्टीका नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष नेपाललाई स्वागत गरेका थिए।
काठमाडौं । विदेशमा रोजगारी गर्न जाँदा पर्यटक वा भिजिट भिसामा नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । खासगरी थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधिक क्षेत्रमा आकर्षक रोजगारीका लागि भन्दै गएका नेपाली बन्धक बनेको भन्दै श्रम स्वीकृतिबिना त्यहाँ नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै रोजगारीका लागि विदेश जानुअघि सरकारका सम्बन्धित कार्यालय र विदेशस्थित नियोगमा सम्पर्क गरेर रोजगारदाता कम्पनीबारे बझ्न पनि भनेको छ ।
‘आफैंले समेत सम्बन्धित कम्पनी, रोजगारदाताबारे वेवसाइट, टेलिफोन र इलमेलमार्फत जाँच गर्नुहुन अनुरोध गरिन्छ’, परराष्ट्र मन्त्रालयले भनेको छ, ‘नक्कली रोजगारीका विज्ञापनहरु प्रायः सामाजिक सञ्जालमा आउने गरेका देखिएकाले यस्ता झुठा आश्वसनमा नपर्न नेपाली नागरिकहरुलाई अनुरोध गरिन्छ