१० साउन, काठमाडौं । नेपाली फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसको एथेन्समा आयोजना हुने अन्तर्राष्ट्रिय ‘मोमेन्ट्स कलेक्टिभ–पालायो फालिरो एथेन्स रिभिएरा फोटो फेस्टिभल–२०२६’ का लागि छनोट भएका छन्। मोमेन्ट्स कलेक्टिभ र ग्रीसको पालायो फालिरो नगरपालिकाको सहकार्यमा आयोजना हुने उक्त महोत्सवका लागि विश्वभरबाट प्राप्त आवेदनमध्ये श्रेष्ठका तीन तस्बिर प्रदर्शनीका लागि स्वीकृत भएका आयोजकले जनाएको छ।
आयोजकका अनुसार महोत्सव आगामी सेप्टेम्बर ४ देखि १३ सम्म ग्रीसको पालायो फालिरो सिटी हल कल्चरल भेन्युमा आयोजना हुनेछ। प्रदर्शनीमा छनोट भएका तस्बिर फुजिफिल्म फोटो पेपरमा मुद्रण गरी प्रदर्शन गरिनेछ। महोत्सवमा सहभागी हुन तीन तस्बिरको सेटबापत १३५ युरो तथा २४ प्रतिशत मूल्य अभिवृद्धि कर ९भ्याट० सहित कुल १६७ दशमलव ४० युरो सहभागिता शुल्क तोकिएको आयोजकले जनाएको छ। छनोट भएका सहभागीले सात दिनभित्र शुल्क भुक्तानी गरी उच्च गुणस्तरका तस्बिर तथा भुक्तानीको प्रमाण पठाउनुपर्ने व्यवस्था गरिएको छ।
श्रेष्ठले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्राकृतिक, सांस्कृतिक तथा पर्यटनसम्बन्धी तस्बिर प्रदर्शन हुने अवसर नेपालको प्रवर्द्धनका लागि महत्वपूर्ण भएको बताए । उनले सहभागिताका लागि आवश्यक शुल्क व्यवस्थापनमा नेपाल पर्यटन बोर्डलगायत सम्बन्धित निकायको सहयोग अपेक्षा गरेका छन् । आयोजकका अनुसार महोत्सवमा प्रदर्शनी सम्पन्न भएपछि सहभागीलाई डिजिटल सहभागिता प्रमाणपत्र प्रदान गरिनेछ। साथै, छनोट भएका तस्बिर आयोजकको वेबसाइट र सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरिने जनाइएको छ।
१० साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का एसिया–प्यासिफिक क्षेत्रीय महिला संयोजक संगीता अधिकारी सुबेदीमाथि जापानमा आयोजित नेपाल फेस्टिवल कार्यक्रमका क्रममा सार्वजनिक स्थलमा भएको अभद्र व्यवहारप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दुख व्यक्त गरेको छ ।
महिलाको सम्मान, सुरक्षा र मर्यादा प्रत्येक सभ्य समाजका आधारभूत स्तम्भ भएको भन्दै संघले कुनै पनि महिलामाथि हुने अभद्र व्यवहार, हिंसा, दुर्व्यवहार, अपमान तथा कुनै पनि प्रकारका अमर्यादित गतिविधिप्रति शून्य सहनशीलताको नीति रहेको बताएको छ ।
घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा न्याय सुनिश्चित गर्न निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गरी दोषी प्रमाणित भए प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्न गैरआवासीय नेपाली संघले सम्बन्धित निकायसँग आग्रह गरेको छ । विदेशमा गर्ने व्यवहार, आचरण र अभिव्यक्तिले व्यक्तिगत पहिचान मात्र होइन, नेपालको छवि, प्रतिष्ठा र नेपाली समुदायको सम्मानसमेत प्रतिनिधित्व गर्ने संघले स्मरण गराएको छ ।
त्यसैले सबैले सभ्य, मर्यादित र जिम्मेवार व्यवहार प्रदर्शन गर्दै आपसी सम्मान, सहिष्णुता र सद्भाव कायम राख्नु आजको आवश्यकता रहेको संघले उल्लेख गरेको छ । गैरआवासीय नेपाली संघ सम्पूर्ण नेपाली समुदायलाई आपसी सम्मान, संयमित तथा जिम्मेवार अभिव्यक्तिको संस्कृतिलाई आत्मसात् गर्दै सबैको सम्मान, सुरक्षा र मर्यादाप्रति प्रतिबद्ध रहन आह्वान गरिएको छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “एक पटकको नेपाली, सधैँको नेपाली” हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन् । अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। “एक पटकको नेपाली, सधैँको नेपाली हौँ भन्ने हाम्रो मान्यतामा हामी स्पष्ट छौँ । ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ ” अर्थमन्त्री वाग्लेले भने ।
प्रवासमा रहेका नेपालीहरू सरकारको विकास र लगानी विस्तारका सद्भावना दूत भएको पनि उनकाे भनाइ छ। नेपालमा अविश्वसनीय जनमतबाट बनेको नयाँ सरकारले सुशासनको जग बसाल्न र आर्थिक विकासको ढोका फराकिलो बनाउन काम गरिरहेको र यसमा प्रवासमा रहेका नेपालीहरूको हातेमालो जरुरी भएको पनि अर्थमन्त्री वाग्लेले बताए ।
“सरकारले बितेका एक सय दिनमा गरेका कामहरू हेर्नुभयो भने हामी उच्च इमानदारीका साथ सुशासन, जनतालाई सरकारी सेवा सहज प्रदान गर्न र अर्थतन्त्रको जहाज मोड्नमा उल्लेखनीय सुरुवात गरेका छौँ,” अर्थमन्त्री वाग्लेले भने, “सरकारको नेतृत्वदेखि मन्त्रीहरूसम्म सबैले उच्च नैतिकताको कसीमा उभिएर काम गरिरहनुभएको छ। मेरिटोक्रेसी, नेतृत्वमा उच्च नैतिकता, भ्रष्टाचारमा शून्य सहनशीलता र अर्थतन्त्रको समुन्नतिका लागि आर्थिक राजकाजको जहाज मोड्ने कदमको थालनी पछिल्लो एक दशककै सुनौलो सुधारको सुरुवात हो।”
बजेटमार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर, राजस्व, बजेटको वितरणमा नयाँ सुरुवात तथा लगानीका नयाँ सम्भावनाका ढोका खोलेको भन्दै उनले प्रवासमा रहेका नेपालीहरूबाट नेपालमा लगानी भित्र्याउने अपेक्षा सरकारले गरेको बताए । नेपालबाट लगानीको प्रतिफल फिर्ता लैजान सरकारले सहजीकरण गर्ने भन्दै उनले आफ्नो वा विदेशी लगानी नेपाल ल्याउन पहलकदमी लिन अस्ट्रेलियामा रहेका नेपालीहरूलाई आग्रह गरे ।
“डायस्पोरालाई नेपालमा लगानी ल्याउन सहजीकरणका महत्त्वपूर्ण ढोकाहरू खोलिएका छन्। तपाईंहरू हाम्रो सद्भावना दूत हुनुहुन्छ। आफैँले कमाएको वैध र विदेशी लगानी नेपालमा ल्याउन तपाईंहरू सबैभन्दा राम्रो सहजकर्ता हो,” अर्थमन्त्रीले भने, “हामीले सरकारका तर्फबाट एनआरएनए बन्ड, अफसोर बन्ड, वैकल्पिक वित्त परिचालन जस्ता रूपान्तरणकारी अवधारणा अघि सारेको नेपालमा तपाईंहरूको लगानी विस्तारका लागि हो।”
सरकारी खाताभन्दा बाहिरबाट अर्थतन्त्रको पुनरुत्थानका लागि यो सहजीकरण गरिएको भन्दै उनले सरकारले थप के-के सहजीकरण गर्नुपर्छ, स्पष्टसँग भन्न पनि उनीहरूलाई आग्रह गरे । अस्ट्रेलियाको कुल जनसङ्ख्याको एक प्रतिशत हाराहारीमा रहनुभएका नेपालीहरू नेपालको समृद्धिका सम्पत्ति भएको भन्दै उनले देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न पनि सबैलाई आग्रह गरे ।
काठमाडौँ, ७ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरिया) का राजदूत पार्क तइ योङबीच शिक्षा तथा प्राविधिक शिक्षामा द्विपक्षीय सहकार्य विस्तारका विषयमा छलफल भएको छ ।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार भएको शिष्टाचार भेटमा नेपाल–दक्षिण कोरियाबीचको ऐतिहासिक सम्बन्ध, शिक्षा क्षेत्रमा कोरिया सरकारको सहयोग, सूचना प्रविधि तथा प्राविधिक शिक्षामा आगामी सहकार्यका सम्भावनाबारे विचार–विमर्श भएको मन्त्रालयले जनाएको छ ।
भेटका क्रममा मन्त्री पोखरेलले आर्थिक समृद्धि र बेरोजगारी न्यूनीकरणका लागि प्राविधिक शिक्षामा लगानी बढाउनु आवश्यक रहेको बताउँदै आगामी पाँच वर्षभित्र कुल बजेटको १५ प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको जानकारी दिए । उनले कृत्रिम बुद्धिमत्ता (एआई) को विकास भए पनि दक्ष प्राविधिक जनशक्तिको आवश्यकता कायम रहने उल्लेख गर्दै यस क्षेत्रमा लगानी विस्तार गरिने बताए । विद्यालय तथा उच्च शिक्षामा प्राज्ञिक स्वायत्तता सुदृढ गर्ने, विश्वविद्यालयहरूबीच ‘फ्याकल्टी एक्सचेन्ज’ कार्यक्रम सञ्चालन गर्ने तथा कोरियाली र नेपाली कम्पनीबीच सहकार्यमार्फत प्राविधिक शिक्षाको विकास गर्न सकिने धारणा पनि उनले।राखे ।
दक्षिण कोरिया सरकारले नेपालमा विद्यालय शिक्षा, उच्च शिक्षा र प्राविधिक शिक्षाको विकासमा सहयोग गर्दै आएको छ । विभिन्न विश्वविद्यालयसँगको सहकार्यका अतिरिक्त मधेश र गण्डकी प्रदेशमा पोलिटेक्निक संस्थानको पूर्वाधार निर्माणमा पनि कोरियाको सहयोग जारी छ ।
राजदूत पार्क तइ योङले शिक्षा, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रमा दक्षिण कोरियाले नेपाललाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै नेपालको शिक्षा सुधार र आर्थिक रूपान्तरणमा आफ्नो सरकार सहकार्यका लागि प्रतिबद्ध रहेको बताए ।
शिक्षा क्षेत्रमा उच्च प्राथमिकता दिएका कारण दक्षिण कोरियाले छोटो समयमै आर्थिक विकास हासिल गरेको उल्लेख गर्दै राजदूत योङले आफ्नो सरकारले कुल बजेटको करिब १५ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्दै आएको जानकारी दिए ।
७ साउन, काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र खाद्य तथा कृषि संगठनका नेपाल प्रतिनिधि केन सिमिजु बीच शिष्टाचार भेटवार्ता भएको छ।
भेटवार्ताका क्रममा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने मौलिक तथा रैथाने वस्तुहरूलाई ब्रान्डिङ गर्ने र तिनलाई स्थायित्व दिने विषयमा विस्तृत छलफल भएको छ। सो अवसरमा भौगोलिक संकेत (GI – Geographical Indication) को अन्तर्राष्ट्रिय प्रावधान र यसको महत्त्वबारे प्रकाश पारिएको थियो।
भेटका क्रममा FAO का प्रतिनिधिले विश्वका अधिकांश देशहरूका साथै एसियाका लगभग सबै राष्ट्रमा जीआई (GI) प्रणाली लागू भइसके तापनि नेपालमा अझै प्रयोगमा आउन नसकेकोप्रति ध्यानाकर्षण गराए । नेपाली रैथाने वस्तुहरूको जीआई दर्ता नहुँदा यहाँका बहुमूल्य ब्रान्डहरू अन्य देशले दर्ता गरिरहेको र त्यसको प्रत्यक्ष मार नेपालले खेप्नु परेको उल्लेख गर्दै उनले यसलाई रोक्न तत्काल पक्का कानुन बनाएर कार्यान्वयनमा लैजान जोड दिए ।
जवाफमा मन्त्री यादवले नेपालको रैथाने उत्पादनको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक कानुन निर्माण गर्न आफू प्रतिबद्ध रहेको र यस विषयमा पहल सुरु गरिसकेको जानकारी गराइन । उनले यस विषयलाई गम्भीरताका साथ लिँदै कानुन मन्त्रालयसँग सहकार्य गरी चाँडै विधेयक तयार पारेर अगाडि बढ्ने बताइन ।
७ साउन, काठमाडौँ । सिटिइभिटी बाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सिटिइभिटी र विभागको संयुक्त टोलीले अनुगमनका क्रममा सिलबन्दी गरेको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालय,शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले उक्त संस्थाको निरीक्षण गरी सिलबन्दी गरेको हो। विशेष गरी वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई लक्षित गरी तोकिएको सर्त विपरीत सीप प्रमाणीकरण प्रमाणपत्र उपलब्ध गराउने गरेको प्राप्त गुनासोका आधारमा कारबाही अघि बढाइएको हो। अनुगमनका क्रममा उक्त संस्थाले प्रचलित कानुन र सर्तहरूको गम्भीर उल्लङ्घन समेत देखिएको छ ।
सीप प्रशिक्षण दिन मात्रै अनुमति पाएको संस्थाले सरकारी निकाय (सिटिइभिटी) लाई मात्र भएको सीप परीक्षण र प्रमाणीकरणको अधिकार अनधिकृत रूपमा प्रयोग गरेको भेटिएको छ। संस्थाले अनुमति लिँदा तोकिएका विधाहरू भन्दा फरक विषयहरूमा पनि तालिम दिने गरेको पाइएको छ।
अनुगमन टोलीले उक्त संस्थाको कार्यालयमा सिलबन्दी गरी आवश्यक कागजात र प्रमाणपत्रहरू अध्ययनका लागि नियन्त्रणमा लिएको छ। अनुगमन टोलीले उपलब्ध गराएको कागजातहरूको अध्ययन अनुसन्धान पश्चात् संस्थामाथि थप कानुनी कारबाही अगाडि बढाइनेछ।
७ साउन, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागमा गुनासो तथा उजुरी व्यवस्थापन अनलाइन प्रणाली (ujuri.dofe.gov.np) को सुरुवात गर्नुभएको छ । मुद्दा तथा अनुसन्धान साथै राहत तथा उद्धार लगायतका संस्थागत उजुरीका लागि अनलाइन प्रणालीको सुरुवात र विभागले पुराना फाइल डिजिटल गरिरहेको कार्यको निरीक्षण गर्दै मन्त्री यादवले अब पीडितहरूले गुनासो तथा उजुरीका लागि काठमाडौँको विभाग धाउनु नपर्ने र विदेशबाटै पनि उजुरी दर्ता गरी कारबाही बारे बुझ्न सकिने बताउनु भयो।
उहाँले भन्नुभयो “तपाईँ विदेशमा हुनुहोस् वा नेपालकै कुनै कुनामा, सरकार तपाईँको साथमा छ। न्यायका लागि अब काठमाडौँ धाइरहनु पर्दैन, आफ्नै हातमा भएको मोबाइलबाट उजुरी दिन र न्यायको प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ।” वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रण गरी श्रमिकलाई सहजै सेवा दिनका लागि सरकार लागिपरेको समेत मन्त्री यादवले बताउनुभयो। निरीक्षणमा विभागकी महानिर्देशक मिरा आचार्य, मन्त्रालयका प्रवक्ता तथा सह-सचिव पीताम्बर घिमिरे लगायतको उपस्थिति थियो।
६ साउन, काठमाडौं । “अमेरिकाको मूल प्रवाहमा मगरहरुको उपस्थिति र सहभागिता उदाँउदो मगर पुस्तालाई मगर भाषा , संस्कार , संस्कृति पुस्तान्तरण आजको आवश्यकता ’’ भन्ने मूल नाराको साथ मगर संघ अमेरिका केन्द्रीय समितिको १०औं बार्षिक साधारण सभा अगस्ट ०८, २०२६ मा म्यासाचुसेट्स राज्यको बोस्टन शहरमा हुने भएको छ ।साधरण सभाको अन्तिम तयारीमा रहेको अध्यक्ष दिप सागर बुढा मगरले बताउनु भयो ।
मगर संघ अमेरिका केन्द्रीय समितिको आयोजना र मगर संघ अमेरिका म्यासाचुसेट्स च्याप्टरको मुख्य ब्यबस्थापनमा हुन लागेको साधारण सभामा प्रमुख अतिथिको रुपमा बिश्वप्रसिद्व पर्वतारोही तथा प्रेरक बक्ता (Motivational Speaker) हरि बुढा मगर बेलायतबाट आउने भएका छन । अफगानिस्तानको युद्वभूमिमा भएको बिस्फोटनमा दुवै खुट्टा गुमाएका बुढा मगर कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायताले विश्वका सातै महाद्वीपका अग्ला हिमाल आरोहण पूरा गर्ने पहिलो ‘डबल एभब नी’ (दुवै खुट्टा घुँडा माथिबाट काटिएको अवस्था) आरोहीका रूपमा कीर्तिमान कायम गरेका व्यक्ति हुन् । रोल्पाको विकट गाउँदेखि ब्रिटिस गोर्खा सैनिक बन्ने सपना, त्यसपछि युद्वमा भोगेको चोट, अनि अन्ततः सातै महादेशका सर्वोच्च शिखरमा पुगेर संसारलाई देखाइएको साहस—हरिको जीवन कथा भावी पुस्ता, विशेषगरी अपांगता भएकाहरूका लागि थप प्रेरणा दिने एउटा जीवित पाठशाला हो ।
नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष मान बहादुर राना मगर अलबानीबाट आदिवासी समुदायको अधिकार र अन्तर्राष्ट्रिय महासंघका सवाल बारे बिशेष सम्बोधन गर्न , अन्तर्राष्ट्रिय मगर महासंघका महासचिब बिरभान घर्ति मगर बेल्जियमबाट अन्तर्राष्ट्रिय मगर महासंघको आवश्यकता र महत्व बारे प्रकाश पार्न र त्रिभुवन विश्वविधालयका प्रोफेसर झकेन्द्र घर्ति मगर नेपालबाट “मगरात सभ्यता, मगर जातिको इतिहास र पहिचान” बारे कार्यपत्र प्रस्तुत गर्न र कार्यक्रमको सफलताको शुभकामना दिन विशिष्ट अतिथिको रुपमा आउदै हुनुहुन्छ । मगर संघ अमेरिका केन्द्रीय समितिका पुर्व अध्यक्ष महेन्द्र थापा मगर, रुद्र आले मगर, कुलदिप राना मगर र निवर्तमान अध्यक्ष याम पुन मगरको बिशेष उपस्थिति रहनेछ ।
संस्थाको इतिहासमै पहिलो पटक बोस्टन शहरबाट “बोस्टन घोषणा पत्र २०२६” पारित हुने र मगर संघ अमेरिका, अमेरिका भर फैलिएको, अमेरिका भर रहेका मगरहरुको एकताको सन्देश दिने अध्यक्ष दिप सागर बुढा मगरले बताउनु भयो । अध्यक्ष बुढा मगरको अनुसार कार्यक्रमलाई “मगर सांस्कृतिक परेड (Magar Cultural Parade) 2026” , “समुदघाटन समारोह” , “बन्द सत्र” र “शुभकामना सांस्कृतिक साँझ 2026” गरि चार चरणमा बिभाजन गरिएको छ । करिब दुई माइलको लामो मगर सांस्कृतिकझाँकी सहितको “मगर सांस्कृतिक परेड (Magar Cultural Parade) 2026” पदयात्रा गरिनेछ । प्रमुख अतिथि बुढा मगरलाई बिशेष अभिनन्दन गरिने छ र बिबिध विधामा संस्थाका धरोहरहरुलाई सम्मान गरिनेछ । “मगर छात्रवृति २०२६” अमेरिकामा अध्यनरत १० जना उतकृष्ट बिधार्थीहरुलाई प्रदान गरिनेछ । संस्थाका नयाँ आजिवन सदस्यहरुलाई सदस्यता प्रदान गरिनेछ। बन्द सत्रको समापन पछि “शुभकामान सांस्कृतिक साँझ 2026” मा चर्चित कलाकारहरुको साथमा बिभिन्न च्याप्टरहरुको बेजोड सांगेतिक प्रस्तुति रहनेछ ।
यसैगरी सभाको मुख्य व्यवस्थापनको हैसियतले म्यसचुसेट्स च्याप्टरले बिभिन्न उप-समितिहरु गठन गरेर कार्यक्रमलाई चुस्त बनाउन लागि परेको म्यसचुसेट्स च्याप्टरका अध्यक्ष देबराज पुन मगरले बताउनु भयो । अमेरिका भर छरिएर रहेका नेपाली र नेपाली मुलका सम्पुर्ण मगरहरुलाई मगर संघ अमेरिकको एउटै छातामुनी गोल्बद्व गरेर आपसी भेटघाट सहयोग आदानप्रदान लगायत बिबिधतामा एकता रहेका हामी मगरहरुको भाषा, भेष, संस्कार संस्कृति र रितिरिवाज तथा परम्पराहरुलाई अमेरिकामा संरक्षण र सम्बर्द्वन गर्दै अमेरिका मै रहेका अन्य नेपाली समुदायहरु संग समन्वय र सहकार्य गर्ने उद्देश्यका साथ मगर संघ अमेरिकाको स्थापना सन २००४ मार्च २८ को दिन न्युयोर्कमा गरिएको हो ।
काठमाडौँ, ६ साउनः आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा लिखुका प्रदीपकुमार श्रेष्ठ र कपिलवस्तु शिवराजकी कविता वेल्वासे छन् । प्रहरीका अनुसार प्रदीपकुमारले कम्बोडिया पठाइदिन्छु भन्दै एक जनाबाट रु चार लाख र कविताले युएई पठाइदिने भन्दै रु एक लाख आठ हजार लिएर सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा खोजतलास गरिएको थियो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौँबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको छ ।
न्युयोर्क न्यूयोर्क, जुलाई १२ — नेपाल र संयुक्त राज्य अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेष्टमेन्ट समिट (NABIS) २०२६ को औपचारिक घोषणा गरेको छ।
आगामी सेप्टेम्बर २५ देखि २७, २०२६ सम्म न्यूयोर्कस्थित न्यूयोर्क जेएफके मेरियट होटल मा आयोजना हुने तीनदिने अन्तर्राष्ट्रिय व्यापार सम्मेलन “Connecting Capital, Ideas & Opportunities” (पूँजी, विचार र अवसरलाई जोड्ने) नाराका साथ सञ्चालन हुनेछ।
समिटमा नेपाल र अमेरिकाका सरकारी प्रतिनिधि, व्यवसायी, लगानीकर्ता, उद्यमी, नीतिनिर्माता तथा विश्वभर फैलिएको नेपाली डायस्पोराको सहभागिता रहने आयोजकले जनाएको छ।
सम्मेलनमार्फत दुई देशबीच व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि विकास र दीर्घकालीन आर्थिक साझेदारी निर्माण गर्ने लक्ष्य राखिएको छ।
समिटको आधिकारिक घोषणा कार्यक्रममा बोल्दै ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रदीप श्रेष्ठ ले NABIS एउटा साधारण सम्मेलन मात्र नभई नेपाल र अमेरिकाबीच आर्थिक सम्बन्धलाई नयाँ दिशामा लैजाने साझा अभियान भएको बताए। “NABIS एउटा सम्मेलनभन्दा धेरै ठूलो अवधारणा हो। यो नेपाल र अमेरिकाबीच बलियो आर्थिक सम्बन्ध निर्माण गर्न प्रतिबद्ध विचार, पूँजी र मानिसहरूलाई जोड्ने एउटा साझा मञ्च हो,” श्रेष्ठले भने। उनले नेपाल पर्यटन, जलविद्युत, सूचना प्रविधि, आधुनिक कृषि, पूर्वाधार विकास, उत्पादनमूलक उद्योग तथा स्टार्टअप क्षेत्रमा ठूलो सम्भावना भएको देश रहेको उल्लेख गरे। अमेरिकामा रहेका नेपाली मूलका सफल व्यवसायी, लगानीकर्ता, प्रविधि विज्ञ र विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका व्यक्तिहरूको ज्ञान, अनुभव र पूँजीलाई नेपालको आर्थिक विकाससँग जोड्ने उद्देश्यले NABIS आयोजना गर्न लागिएको उनले बताए।
श्रेष्ठका अनुसार सम्मेलन केवल छलफलमा सीमित रहने छैन। विचारलाई व्यवसायमा, संवादलाई साझेदारीमा र प्रतिबद्धतालाई वास्तविक लगानीमा रूपान्तरण गर्ने परिणाममुखी मञ्चका रूपमा NABIS २०२६ लाई विकास गरिनेछ। उनले अमेरिकाभर रहेका नेपाली व्यवसायीहरूलाई सशक्त बनाउनु पनि NABIS को महत्वपूर्ण उद्देश्य रहेको बताए। न्यूयोर्कदेखि क्यालिफोर्निया, टेक्सासदेखि इलिनोइस र फ्लोरिडादेखि वासिङ्टनसम्म नेपाली उद्यमीहरूले रेस्टुरेन्ट, होटल, स्वास्थ्य सेवा, सूचना प्रविधि, रियल स्टेट, निर्माण, वित्तीय सेवा, खुद्रा व्यापार, शिक्षा तथा यातायात क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै सम्मेलनले ती व्यवसायीहरूबीच नेटवर्क विस्तार, अनुभव आदानप्रदान र रणनीतिक साझेदारी निर्माण गर्ने अवसर प्रदान गर्ने बताए। “बलियो स्थानीय व्यवसाय नै बलियो समुदायको आधार हो,” श्रेष्ठले भने। नेपाली-अमेरिकी व्यवसायको सफलता समुदायको समग्र आर्थिक र सामाजिक विकाससँग जोडिएको उनको भनाइ थियो। NABIS २०२६ मा नेपालका लगानी सम्भावना, अन्तर्राष्ट्रिय व्यापार तथा पूँजी साझेदारी, प्रविधि र कृत्रिम बुद्धिमत्ता (AI) आधारित नवप्रवर्तन, तथा स्थानीय व्यवसायलाई विश्व बजारसम्म विस्तार गर्ने विषयमा विशेष छलफल हुनेछ। तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा अन्तर्राष्ट्रिय तथा डायस्पोरा नेताहरूको विशेष सम्बोधन, सरकार तथा निजी क्षेत्रबीच संवाद, स्टार्टअप शोकेस तथा उत्पादन सार्वजनिक कार्यक्रम, लगानीकर्ता नेटवर्किङ, व्यवसाय–व्यवसाय तथा व्यवसाय–सरकार (B2B र B2G) भेटघाट, रणनीतिक साझेदारी बैठक तथा गाला डिनर एवं सम्मान कार्यक्रम आयोजना गरिनेछ।
समिट घोषणा कार्यक्रममा NABIS २०२६ को आधिकारिक वेबसाइट सार्वजनिक गर्नुका साथै दर्ता प्रक्रिया पनि सुरु गरिएको छ। स्टार्टअप तथा उद्यमीहरूले आफ्नो व्यवसाय प्रस्तुत गर्न Startup Showcase and Product Launch का लागि आवेदन दिन सक्नेछन्। आयोजकले प्रायोजन, प्रदर्शनी तथा रणनीतिक साझेदारीका लागि पनि अवसर खुला गरेको जनाएको छ।
संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सप्ताह तथा Climate Week NYC को समयमा न्यूयोर्कमा आयोजना हुने भएकाले NABIS २०२६ ले विश्वभरका नीति निर्माता, लगानीकर्ता र व्यवसायिक नेतृत्वसँग प्रत्यक्ष सम्पर्क गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने आयोजकको विश्वास छ। NABIS २०२६ ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सको आयोजनामा तथा न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको सहयोगमा आयोजना हुँदैछ। खसोखास मिडिया पार्टनरको रूपमा रहेको छ। आयोजकका अनुसार आगामी हप्ताहरूमा सम्मेलनका प्रमुख वक्ता, नयाँ साझेदार, दर्तासम्बन्धी अपडेट तथा विस्तृत कार्यक्रम तालिकाबारे थप जानकारी सार्वजनिक गरिनेछ।
काठमाडौँ, ३२ असारः इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा आठ सय ३६ जना इजरायल जाने भएका छन् । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले आज नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबास,वैदेशिक रोजगार विभागका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिको उपस्थितिमा पहिलो खेपमा इजरायल जाने कामदार श्रव्यदृश्यका माध्यमबाट चिट्ठा प्रणालीमार्फत छनोट गरेको हो ।
यहाँस्थित इजरायली दूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार चिट्ठा प्रक्रियामा एक हजार ११५ जना सहभागी भएकामा ७८४ पुरुष र ३३१ महिला चयन भएका छन् । त्यस अवसरमा राजदूत एरीबासले इजरायलको सेवाशुश्रूषा क्षेत्रमा निकट भविष्यमा थप दुई हजार १०० भन्दा बढी रोजगारीका अवसर खुल्ने जानकारी दिए । उनले ‘घरमा आधारित स्याहार सेवा’ तथा ‘कृषि श्रमिक’सम्बन्धी द्विपक्षीय सहमति कार्यान्वयनको चरणमा पुगेको बताए ।
द्विपक्षीय श्रम सम्झौताअन्तर्गत इजरायल जाने नेपाली कामदारले इजरायली कानुनबमोजिम स्थानीय कामदारसरह न्यूनतम पारिश्रमिक तथा सेवासुविधा प्राप्त गर्नेछन् । इजरायल र नेपालबीचको श्रम सहकार्यलाई थप सुदृढ बनाउने दिशामा यो छनोट प्रक्रिया अर्को महत्वपूर्ण उपलब्धि भएको जनाउँदै दुवै देशले भर्ती प्रक्रियामा पारदर्शिता, निष्पक्षता र समान अवसरप्रतिको प्रतिबद्धता दोहोर्याएका छन् ।
काठमाडौँ — नेपाल र दक्षिण कोरियाबिचको श्रम सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाल–कोरिया श्रम सहयोग सेमिनार २०२६ सम्पन्न भएको छ । दक्षिण कोरियाली दूतावास र ईपीएस सेन्टरको सहकार्यमा युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रममा वैदेशिक रोजगारीबाट प्राप्त सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड दिइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रामजी यादवले ईपीएस कार्यक्रमले वित्तीय रेमिट्यान्स मात्र नभई सामाजिक रेमिट्यान्स समेत सिर्जना गरिरहेको बताए । उनका अनुसार कोरियाबाट फर्केका नेपालीहरूले सीप, अनुशासन, आत्मविश्वास र व्यावसायिक अनुभव लिएर आउने गरेका छन्, जसले उनीहरूलाई रोजगारी खोज्नेबाट रोजगारदातामा रूपान्तरण गर्न मद्दत पुर्याएको छ।
मन्त्रालयले हालै सम्मान गरेका सात सफल उद्यमी रिटर्ननीहरूमध्ये दुई जना दक्षिण कोरियाबाटै फर्केका व्यक्तिहरू हुनु यसको सफल उदाहरण रहेको मन्त्री यादवले उल्लेख गरे ।
दक्षिण कोरियाको आफ्नै विकास यात्राको उदाहरण दिँदै मन्त्रीयादवले कुनै समय कोरियाली नागरिकहरू पनि कामको खोजीमा जाने गरेको स्मरण गराउनुभयो। ‘कोरियाको यात्राले नेपालका लागि एउटा महत्त्वपूर्ण सन्देश दिन्छ—कुनै पनि देश श्रमिक पठाउने मुलुकबाट सुरु भएर आफ्नै देशमा आकर्षक अवसरहरू सिर्जना गर्ने राष्ट्रमा रूपान्तरण हुन सक्छ,’ उनले भने । यसका लागि आप्रवासनलाई सीप, बचत, लगानी र उद्यमशीलतामा बदल्ने स्पष्ट राष्ट्रिय दृष्टिकोण र नीति आवश्यक रहेको उनको तर्क थियो।
ईपीएस मोडललाई अन्तर्राष्ट्रिय श्रम आप्रवासनका लागि एउटा उदाहरणीय मोडल मान्दै मन्त्री यादवले यसको पारदर्शी छनोट प्रक्रिया र डिजिटल प्रणालीको प्रशंसा गरे । सरकारले वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन महत्त्वपूर्ण सुधारहरू गरिरहेको र यसमा ईपीएस मोडलबाट धेरै कुरा सिक्न सकिने उनले बताए ।
मन्त्री यादवले दुवै सरकारलाई ईपीएस आकांक्षीहरूका लागि स्पष्ट र भरपर्दो सूचना उपलब्ध गराउन र कार्यस्थलको सुरक्षा तथा कामदारको मानसिक स्वास्थ्यमा ध्यान दिन अनुरोध गर्नुभयो। साथै, कोरियाबाट फर्केका र फर्कने तयारीमा रहेका कामदारहरूका लागि सञ्चालित पुनः एकीकरण कार्यक्रमहरूमा थप सहकार्य गर्न दक्षिण कोरियाली सरकारसँग आग्रह गरिएको छ।
कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत, मलेसियाली राजदूत, विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र ईपीएसमार्फत फर्केका नेपालीहरूको उपस्थिति रहेको थियो।
काठमाडौँ, ३२ असारः राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले आज राष्ट्रपति भवनमा शिष्टाचार बिदाइ भेट गरेका छन् । त्यस अवसरमा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विषयमा कुराकानी भएको थियो । राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत कोर्टेभाललाई बधाई दिँदै आगामी दिनका लागि शुभकामना व्यक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
काठमाडौँ, ३२ असारः उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताका लागि आग्रह गरेकी छिन् । यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले आज मन्त्रालयमा गरेको शिष्टाचार भेटमा उद्योगमन्त्रीले सन् २०१५ मा सुरु भएको ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’ को अवधि सन् २०२५ डिसेम्बरमा पूरा भएकाले नेपाली उत्पादनलाई सो सुविधा पुनः थप गर्न आग्रह गरिन् ।
मन्त्री यादवले दुई देशबीच भएको ‘व्यापार तथा लगानी ढाँचा सम्झौता’ अन्तर्गतको संयन्त्रलाई नियमित संवादमार्फत सक्रिय बनाइ द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइन् । नेपालमा नीतिगत तथा कानुनी सुधारमार्फत लगानीमैत्री वातावरण सुदृढ बनाइएको जानकारी दिँदै उनले थप अमेरिकी लगानीलाई आकर्षित गर्न सरकार उत्सुक रहेको बताइन् ।
मन्त्री यादवले जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्र जस्ता क्षेत्रमा अमेरिकी लगानीका लागि आग्रह गरेको उनको सचिवालयले जनाएको छ । भेटमा अमेरिकी कार्यवाहक राजदूत स्कटले व्यापार सहुलियतको निरन्तरता र लगानी प्रवर्द्धनमा अमेरिका सकारात्मक रहेको बताए ।
काठमाडौँ, ३१ असारः प्रतिनिधिसभाको आजको बैठकबाट ‘अन्तरराष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९ सर्वसम्मतिले अनुमोदन भएको छ । बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सो प्रोटोकल नं २९ का प्रावधानलाई अनुमोदनका लागि प्रस्ताव गर्नुभएको थियो । छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री यादवले सांसदहरूका सुझावलाई ग्रहण गर्दै आगामी दिनका श्रमसम्बन्धी नीति र कानुनमा आवश्यक संशोधन गर्दै प्रभावकारी कार्यान्वयन गर्ने बताए ।
सो प्रस्तावमाथिको छलफलमा सांसदहरू प्रकाश पाठक, रीना उप्रेती, माधवबहादुर थापा, नरेन्द्रकुमार केरुङ, श्रद्धा कुँवर क्षेत्री, डा अर्जुनकुमार कार्की, अशोककुमार चौधरी, ज्ञानु पौडेल, गङ्गालक्ष्मी अवाल, शाहजान खातुन, गुरु बराल, कृष्णहरि बुढाथोकी, गणेशबहादुर विश्वकर्मा र अमृता विकले भाग लिए ।
सांसदहरुले एकातिर अन्तररष्ट्रिय श्रम प्रोटोकल पारित गर्ने र अर्कातिर श्रम सङ्गठनहरू खारेज गर्ने सोच एकापसमा मेल नखाने टिप्पणी गर्दै श्रम शक्तिले राष्ट्र निर्माण हुन्छ भन्ने मान्यताका साथ रोजगारदाता र श्रमिकबीच सरकारले समन्वय बढाउनुपर्ने बताए ।
काठमाडौँ, ३१ असारः नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल पाँचौँ संयुक्त राष्ट्रसङ्घीय प्रहरी प्रमुखको शिखर सम्मेलनमा भाग लिई आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उहाँहरूलाई दुवै सुरक्षा सङ्गठनका प्रहरी अतिरिक्त महानिरीक्षक र नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले स्वागत गरे ।
संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्युयोर्कमा यही असार २३ देखि २४ गतेसम्म उक्त सम्मेलन भएको थियो । सम्मेलनमा संयुक्त राष्ट्रसङ्घ र प्रहरी सङ्गठनबीचको सम्बन्ध, नयाँ प्रविधिको उपयोग, अन्तरराष्ट्रिय सहयोग, सङ्गठनमा लैङ्गिक उत्तरदायित्व, भाषा र प्रशिक्षण तथा उच्चस्तरीय सञ्जाल निर्माणलगायतका विषयमा छलफल भएको जनाइएको छ ।
सम्मेलनका क्रममा न्युर्योक रहँदा महानिरीक्षकद्वय कार्की र पौडेलले संयुक्त राष्ट्रसङ्घ तथा विभिन्न राष्ट्रका उच्चपदस्थ अधिकारीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । सम्मेलनमा भाग लिन उनीहरू यही असार २१ गते त्यसतर्फ गएका थिए ।
जमैका नेपाली समाजद्वारा आयोजित समर बनभोज कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। न्यूयोर्कको जमैका क्षेत्रमा बसोबास गर्दै आएका नेपाली समुदायको उल्लेखनीय सहभागितामा बनभोज गरिएको थियो । आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई सुदृढ बनाउने उद्देश्यले विविध, मनोरञ्जनात्मक, खेलकुद तथा शैक्षिक कार्यक्रम सम्पन्न गरियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका वाणिज्यदूत दधिराम भण्डारीले बिभिन्न कक्षाबाट ग्य्राजुएट गरेका बिद्दार्थीलाई सम्मान गरेका थिए । वाणिज्यदूत भण्डारीको उपस्थितिले यस्ता किसिमका कार्यक्रमहरु गर्न थप हौसला मिलेको आयोजकले जनाएको छ
कार्यक्रममा भर्खरै मात्र पीएचडी उपाधि प्राप्त गर्न सफल जमैका निवासी डा. सूर्य लम्साललाई विशेष सम्मान गरिएको थियो। उहाँको उच्च शैक्षिक उपलब्धिको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको हो । साथै विभिन्न विद्यालय, कलेज तथा विश्वविद्यालयबाट ग्र्याजुएसन सम्पन्न गरेका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो। विद्यार्थीहरूको मेहनत, लगन र सफलताको कदर गर्दै प्रदान गरिएको यस सम्मानले नयाँ पुस्तालाई शिक्षाको क्षेत्रमा अझ अगाडि बढ्न प्रेरणा गर्ने समाजका अध्यक्ष पुस्कर खनालले बताए ।
त्यसैगरी, कार्यक्रममा आयोजित हाजिरी जवाफ प्रतियोगिता (क्विज कन्टेस्ट )मा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । यसका साथै बालबालिका तथा युवाहरूका लागि विभिन्न खेलकुद, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिएका थिए। कार्यक्रममा सहभागी अतिथिहरूले जमैका नेपाली समाजले नेपाली भाषा, संस्कृति, शिक्षा र सामुदायिक एकतालाई प्रवर्द्धन गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले नयाँ पुस्तालाई नेपाली समुदायसँग जोड्न महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरे । समाजले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने प्रमुख अतिथि दधिराम भण्डारी लगायत सम्पूर्ण अतिथिहरू, स्वयंसेवक, प्रायोजक, कलाकार, सहभागीहरु तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहपने सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ।
साथै आगामी दिनमा पनि नेपाली समुदायबीच एकता, सद्भाव, शिक्षा र सामाजिक सहकार्यलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिइने समाजका सदस्य दिपकराज घिमिरेले जानकारी दिए ।
कार्यक्रममा जमैका नेपाली समाजका संस्थापक अध्यक्ष कृष्ण आचार्यलाई बिशेष सम्मान गरिएको थियो । स्थापनाकालदेखि नै संस्थालाई सुदृढ बनाउन उनले गरेको मेहनत र योगदानको उच्च मूल्याङ्कन गर्दै यो सम्मान गरिएको हो । बनभोज कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्ने विभिन्न स्पोन्सर दाताहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
समाजद्वारा आयोजना गरिएको चिठ्ठा (लट्री) कार्यक्रमका विजेतालाई पनि पुरस्कार वितरण गरिएको थियो। प्रथम पुरस्कार बुद्ध पौडेलले प्राप्त गरेका थिए भने द्वितीय, तृतीय र सान्त्वना पुरस्कार चिठ्ठा कार्यक्रममा सहभागीहरुले प्राप्त गरेका थिए । बनभोजको एक आकर्षणको रुपमा रहेको चिठ्ठा कार्यक्रम समाजका सल्लाहकार कृष्णप्रसाद लामिछानेले संचालन गरेका थिए । लट्री कार्यक्रमले सहभागीहरूमा थप उत्साह र मनोरञ्जन प्रदान गर्नुका साथै समाजका गतिविधिहरू संचालन गर्न महत्वपूर्ण भूमिका खेलेको थियो।
जमैकामा लामो समयदेखि बसोबास गरिरहेका एक जेष्ठ नागरिक वृद्धा नमकला खनाललाई सम्मान गरिएको थियो । ८५ बर्षीया खनाल सन् २००६ देखि अमेरिकामा बस्दै आएकी थिइन् ।
उक्त सम्मान कार्यक्रममा विभिन्न संघ–संस्थाका विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो। सबैको उत्साहजनक सहभागीताले कार्यक्रम सब्य र भब्य भएको आयोजकले जनाएको छ ।
काठमाडौँ, २९ असारः चालु आर्थिक वर्ष २०८२–८३ को ११ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्म विप्रेषण आप्रवाह ३८ दशमलव दुई प्रतिशतले वृद्धि भई रु २१ खर्ब २० अर्ब ८० करोड पुगेको छ ।
गत जेठमा मात्र विप्रेषण आप्रवाह रु दुई खर्ब तीन अर्ब ८९ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ७६ अर्ब ३२ करोड थियो । प्रतिवेदनअनुसार यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु २३ दशमलव २१ अर्ब सात करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १६ खर्ब ६९ अर्ब ५१ करोड रहेको थियो । गत जेठ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख ६७ हजार २११ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख ५५ हजार ७३५ रहेको राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौँ, २९ असार । राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले मुलुकको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसनको सफलतापूर्वक सम्पन्न गरी राहदानी सेवा सञ्चालनमा ल्याएको हो ।
करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको विभागले जनाएको छ । यस्तो बृहत् सूचना प्रविधि प्रणालीको कार्यान्वयन भएपछि सुरूआतका दिनहरुमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता, राहदानी वितरणमा सामान्य ढिलाइ देखिनु स्वाभाविक हुनेछ ।
विभागले यस्ता सम्भावित अवस्थाको पूर्वतयारी स्वरूप विभागका प्राविधिक टोली एवं कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञ चौबीसैँ घण्टा तयारी अवस्थामा रही प्रणालीको निरन्तर अनुगमन, परीक्षण तथा सुधारमा खटिरहनुभएको जनाएको छ । यस किसिमका समस्याहरूको शीघ्र तथा दीर्घकालीन समाधान गर्न विभाग पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको विभागले विश्वास दिलाएको छ ।
यस नयाँ प्रणालीको सुरुआती चरणमा, राहदानी अत्यावश्यक भएका सेवाग्राहीहरूले मात्र आवेदन दिनुहुन अनुरोध गरिएको छ । यस सहयोगले नयाँ प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने बताइएको छ । साथै, राहदानी सेवासम्बन्धी कुनै पनि सूचना विभाग वा मन्त्रालयको आधिकारिक माध्यमबाट प्रकाशित सूचना र समाचारलाई मात्र आधार बनाउन सम्पूर्ण सेवाग्राही अनुरोध गरेको छ ।
काठमाडौँ, २६ असार । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु वाणगङ्गा नगरपालिका ८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका १ घर भएका ३५ वर्षीय माधव अर्याल छन् । माधवले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट रु तीन लाख लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका १३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काठमाडौँ पठाइएको छ ।
काठमाडौँ, २६ असारः सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका ८३६ जना नेपालीको उद्धार गरिएको जनाएको छ । परराष्ट्र मन्त्रालयको आज आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट ७०९ जना, म्यानरमारबाट ११३ जना, लावसबाट आठ जना र थाइल्याण्डबाट छ जनाको उद्धार गरिएको जानकारी दिए ।
उनले भने, “दक्षिण पूर्वका कम्बोडया, म्यानमार, लावस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरहरुमा ठगिन पुगेका नेपालीको उद्धार तथा त्यस विषयमा सचेतनाका लागि निरन्तर समन्वय र पहल जारी राखेका छौँ ।”
दूतावासको निरन्तर अनुरोधमा कम्बोडिया सरकारले भिसा अवधिभन्दा बढी बसेका नेपालीको भिसा शुल्क र जरिवाना मिनाहा गर्ने विषयमा छलफल भएको पनि मन्त्रालयले जनाएको छ । यस वर्ष कम्बोडिया सरकारले जम्मा ६०२ जनाको शुल्क मिनाहा गरेको प्रवक्ता पौडेलले बताए । आर्थिक कुटनीतिलाई सघन रुपमा सञ्चालन गर्न आर्थिक वर्ष २०८१/०८२ मा भारत, चीन, अमेरिका, बेलायत, अष्टे«लिया, जापान, जर्मनी, बेल्जियम, दक्षिण कोरिया र युएइ गरी १० र यो वर्ष बाँकी १० देश गरी हाल २० वटा देशका लागि छुट्टाछुट्टै रणनीति तयार पारिएको पनि उनले बताए ।
मन्त्रालयले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउने उद्देश्यले परराष्ट्र मन्त्रालय र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभाग प्रतिबद्ध रहेको पनि जनाएको छ । राहदानी सेवालाई समय सापेक्ष, भरपर्दो र प्रविधिमैत्री बनाउन र नागरिकलाई सहजै सेवा उपलबध गराउन सरकारले राहदानी ऐन २०७६ को पहिलो संशोधनको विधेयकमा सर्वसाधारणको राय प्रतिक्रियाका लागि वेबसाइटमा राखिएको छ भने राय परामर्श एंव सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पेस गरेको छ ।
“छापिएका राहदानी शीघ्र सम्बन्धित जिल्ला र इलाका कार्यालयमा पु¥याउन हुलाक विभागसँग सहकार्य गर्ने विषयमा यही असार १९ गते सम्झौता सम्पन्न भएको छ, सोही दिनबाट उक्त सम्झौता लागू पनि भएको छ”, उनले भने । मन्त्रालयले जनमैत्री सेवा प्रवाह गर्ने उद्देश्यअनुरुप जुनसुकै जिल्लाबाट पनि राहदानीका लागि आवेदन दिन सकिने व्यवस्थाका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ । प्रवक्ता पौडेलले भन्नुभयो, “अर्थात् जो जहाँ बसेको भए पनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिनसक्ने व्यवस्थाका लागि हाल काम भइरहेको छ ।”
काठमाडौँ, २५ असारः उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभलले आज उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल– फ्रान्स सम्बन्धका विविध आयामबारेमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको पारस्परिक सम्मान, सहयोग र मैत्रीमा आधारित सम्बन्ध अझ उन्नत भएको बताए का थिए । उनले फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यहरू ‘स्वतन्त्रता, समानता र भ्रातृत्व’ले नेपालको राजनीतिक आन्दोलनलाई पनि प्रेरित गर्दै आएको उल्लेख गरेका थिए ।
फ्रान्सले युरोपेली सङ्घ (इयु)मार्फत नेपाललाई प्रदान गर्दै आएको सहयोगका लागि उपराष्ट्रपति यादवले धन्यवाद ज्ञापन गर्दै दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे । साथै उपराष्ट्रपति यादवले फ्रान्सको आसन्न राष्ट्रिय दिवसका अवसरमा राजदूत कोर्टेभलमार्फत फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रो र फ्रान्सेली जनताको सुख, शान्ति र समृद्धिको कामना गरे । राजदूत भर्जिनी कोर्टेभलले आफ्नो कार्यकालमा फ्रान्स र नेपालबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास भएको बताएका थिए ।
काठमाडौँ, २५ असारः सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारमा आज भएको उक्त भेटमा सभामुख अर्यालले सरकारले आफ्नो पहिलो १०० दिन पूरा भएको बताउँदै हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे ।
उनले नेपाल र भारतबीचको सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता, सांस्कृतिक तथा सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत तथा कनेक्टिभिटीलगायत क्षेत्रमा रहेका विभिन्न द्विपक्षीय संयन्त्रमार्फत सम्बन्ध अझ सुदृढ हुँदै गएको स्मरण गराए ।
उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको सभामुख अर्यालको भनाइ थियो । उहाँले नागरिक उड्डयन रेल तथा बस सेवामार्फत कनेक्टिभिटी विस्तारले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गर्दै भविष्यमा थप उडान, रेल तथा बस रुट विस्तार हुने अपेक्षा व्यक्त गरे ।
सभामुख अर्यालले भारतको लोकसभाका सभामुख ओम विरलालाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी दिँदै दुवै पक्षका लागि उपयुक्त समयमा उनलाई नेपालमा स्वागत गर्न तत्पर रहेको बताए । भेटमा राजदूत श्रीवास्तवले भारतका लोकसभाका सभामुख विरला नेपाल भ्रमणका लागि इच्छुक रहेको जानकारी गराउँदै नेपालका सभामुख तथा सांसदहरूलाई भारतको संसदीय अभ्यास अध्ययन तथा अवलोकनका लागि भारत भ्रमणको निमन्त्रणा दिएका थिए ।
उनले संसदीय कूटनीति र उच्चस्तरीय राजनीतिक संवादले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै व्यापार, कनेक्टिभिटी, ऊर्जा, शिक्षा तथा जन–जनबीचको सम्बन्ध विस्तारमा भारत सरकार निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।
काठमाडौँ, २४ असारः नेपालको आँखा उपचार सेवाको कम्बोडियाको विदेश तथा अन्तरराष्ट्रिय सहयोग मन्त्रालयको स्थायी सचिव तथा प्रधानमन्त्रीकी निजी सल्लाहकार इट सोफियाले उच्च प्रशंसा गरेकी छिन् ।
थाइल्यान्डका लागि नेपाली राजदूत (कम्बोडियाका समेत) धनबहादुर ओलीसँग हालै भएको भेटमा उनले नेपालको आँखा उपचार सेवा एवं शिक्षाको उच्च प्रशंसा गरेकी हुन् । थाइल्यान्डस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्ति अनुसार सो भेटमा स्थायी सचिव सोफियाले यही असार २० र २१ गते कम्पोङ चाम प्रान्तमा निःशुल्क आँखा उपचार शिविरबाट कम्बोडियाली नागरिक लाभान्वित भएको र शिविर सफलतापूर्वक आयोजना गरेकामा नेपालको उच्च प्रसंशा गरिन् ।
कम्बोडियाका साझेदारहरूसँगका सहकार्यमा नेपाल नेत्रज्योति सङ्घ, लुम्बिनी आँखा संस्थान तथा अनुसन्धान केन्द्र (रण अम्बिका शाह आँखा अस्पताल) तथा राजदूतावासको संयुक्त प्रयासमा सो शिविर सम्पन्न भएको थियो ।
भेटमा उनीहरुबीचमा आँखा उपचार लगायत जनस्वास्थ्यको क्षेत्रमा थप सहयोगको खोजी गर्ने शिक्षा, कृषि, पर्यटन र आपसी हितका अन्य क्षेत्रमा सहयोग विस्तार गर्ने र दुई देशबीचको आर्थिक तथा व्यापारिक सहयोग बढाउने क्षेत्रमा पनि कुराकानी भएको विज्ञप्तिमा उल्लेख छ ।
सो अवसरमा राजदूत ओलीले आँखा स्वास्थ्यको क्षेत्रमा कम्बोडियाको क्षमता सुदृढ गर्न तालिम तथा अन्य आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएर सहयोग विस्तार गर्न नेपाल तयार रहेको जानकारी गराएका थिए । उनले कम्बोडियाका जनतामा यस्ता सेवाको अत्यधिक मागलाई ध्यानमा राख्दै निकट भविष्यमा अर्को आँखा उपचार शिविर आयोजना गर्न नेपाल तयार रहेको स्थायी सचिव सोफियलाई अवगत गराए ।
साथै दुई देशबीचको पर्यटन सम्भावनालाई उजागर गर्दै उनीहरुले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र कम्बोडियाको विश्वप्रसिद्ध सांस्कृतिक तथा धार्मिक सम्पदा क्षेत्र अङ्कोर वाटबीचको सम्बन्धलाई सुदृढ गर्दै बौद्ध तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने महत्त्वमा जोड दिए । यसक्रममा नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरको प्राविधिक सहकार्य तथा थाइल्यान्डस्थित नेपाली राजदूतावास ९कम्बोडियासमेत०को समन्वयमा कम्बोडियाको कम्पोङ चाम प्रान्तमा दुईदिने निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ ।
यही असार २० र २१ गते कम्पोङ चाम प्रान्तीय अस्पतालमा पहिलोपटक सञ्चालन गरिएको उक्त शिविरमार्फत एक हजार दुई कम्बोडियाली नागरिकले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा लिएका थिए । सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार शिविरमा सेवा लिनेमा ६४१ महिला र ३६१ पुरुष रहेका थिए ।
उनले आँखा परीक्षणका क्रममा ३७३ जनालाई निःशुल्क औषधि, ४०७ जनालाई चश्मा तथा १९२ जनालाई औषधिसहित चश्मा वितरण गरिएको जानकारी दिए । उनका अनुसार शिविरमा ९३ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको छ । उनीहरूलाई थप उपचारका लागि स्थानीय अस्पतालमा ‘रेफर’ गरिएको थियो । शिविरको शुभारम्भ राजदूत ओली र कम्पोङ चाम प्रान्तका गभर्नर उन चान्दाले संयुक्त रूपमा गरेका थिए ।
ज्योतिष आचार्य डा. प्रकाश पौडेल जुलाई २०२६ मा शुक्र, सूर्य, बुध र शनि ग्रहको गोचर परिवर्तनले सबै राशिमा विशेष प्रभाव पार्नेछ । जुलाई ४ मा शुक्र सिंह राशिमा, जुलाई १६ मा सूर्य कर्कट राशिमा प्रवेश गर्नेछन् । जुलाई २४ मा बुध मार्गी हुनेछन् भने जुलाई २७ मा शनि मीन राशिमा वक्री हुनेछन् । यी ग्रहहरुको प्रभावले करियर, धन, प्रेम, स्वास्थ्य र पारिवारिक जीवनमा परिवर्तन ल्याउने संकेत देखिन्छ ।
वैदिक ज्योतिषअनुसार जन्म समयमा चन्द्रमा रहेको राशिलाई चन्द्र राशि वा जन्म राशि भनिन्छ । चन्द्र राशिका आधारमा व्यक्तिको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरुको विश्लेषण गरिन्छ । यहाँ प्रस्तुत गरिएको जुलाई २०२६ को मासिक राशिफल चन्द्र राशि र ग्रहहरुको गोचरका आधारमा तयार गरिएको हो । यसबाट तपाईंले यो महिनामा जीवनमा आउने सम्भावित परिवर्तन, अवसर र चुनौतीबारे जानकारी प्राप्त गर्न सक्नुहुनेछ । साथै, ग्रहजन्य बाधा कम गर्न सरल ज्योतिषीय उपायहरु पनि समावेश गरिएको छ ।
मेष
जुलाई महिना मेष राशिका लागि मेहनतपछि सफलता दिने समय रहनेछ । रोकिएका कामहरु अघि बढ्नेछन् र करियरमा नयाँ अवसर प्राप्त हुनेछ । आर्थिक पक्ष बलियो बन्नेछ तर खर्चमा नियन्त्रण आवश्यक हुनेछ । व्यापार तथा नोकरीमा प्रगतिको सम्भावना छ । महिनाको उत्तरार्धमा मानसम्मान र सामाजिक प्रतिष्ठा बढ्ने संकेत देखिन्छ । उपाय : मंगलबार हनुमानजीको पूजा गरी ‘ॐ हनुमते नमः’ मन्त्र जप गर्नुहोस् ।
वृष वृष राशिका लागि यो महिना आर्थिक सुधार र स्थिरताको समय रहनेछ । व्यापार तथा नोकरीमा प्रगति हुनेछ । नयाँ सम्पत्ति वा सवारी खरिदको सोच बन्न सक्छ । प्रेम सम्बन्धमा मधुरता बढ्नेछ । उपाय : दैनिक ‘ॐ श्रीं महालक्ष्म्यै नमः’ मन्त्र जप गर्नुहोस् ।
मिथुन मिथुन राशिका लागि जुलाई नयाँ योजना र अवसरको महिना रहनेछ । बोल्ने कला र बुद्धिमत्ताबाट लाभ मिल्नेछ । यात्राबाट फाइदा हुनेछ । अध्ययन तथा व्यापारमा राम्रो सफलता प्राप्त हुन सक्छ । उपाय : प्रतिदिन ‘ॐ गं गणपतये नमः’ मन्त्र जप गर्नुहोस् ।
कर्कट कर्कट राशिका लागि जुलाई महिना गुरुको शुभ प्रभावले भाग्य बलियो रहनेछ । करियर, शिक्षा र व्यवसायमा राम्रो प्रगति हुनेछ । परिवारमा सुख र शान्ति बढ्नेछ । विदेशसँग सम्बन्धित काममा सफलता मिल्ने सम्भावना छ । उपाय : ‘ॐ नमः शिवाय’ मन्त्र जप गर्नुहोस् । सोमबार शिवजीलाई जल अर्पण गर्नुहोस् ।
सिंह सिंह राशिका लागि जुलाई महिना सामाजिक सम्मान र आत्मविश्वास बढ्ने समय हो । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । आर्थिक स्थिति सुधार हुनेछ तर अहंकार र रिसबाट टाढा रहनु राम्रो हुनेछ । उपाय : हरेक बिहान सूर्यलाई जल चढाउनुहोस् ।
कन्या कन्या राशिका लागि जुलाई महिना निकै लाभदायक रहनेछ । व्यापार, शेयर बजार र करियरमा सफलता मिल्ने सम्भावना छ । मित्र तथा परिवारबाट राम्रो सहयोग प्राप्त हुनेछ । नयाँ योजना तथा लगानीबाट लाभ मिल्न सक्छ भने कार्यक्षेत्रमा सम्मान र जिम्मेवारी बढ्ने संकेत देखिन्छ । विद्यार्थीहरुका लागि अध्ययन तथा प्रतिस्पर्धात्मक क्षेत्रमा प्रगतिको समय रहनेछ । उपाय : गणेशजीको पूजा गरी गणेश चालीसा पाठ गर्नुहोस् र बुधवार हरियो वस्तु दान गर्नु शुभ रहनेछ ।
तुला तुला राशिका लागि यो महिना सम्बन्ध सुधार र आर्थिक राहतको समय रहनेछ । पुराना विवाद हट्न सक्छन् र प्रेम सम्बन्धमा मधुरता बढ्नेछ । करियरमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ भने व्यापार तथा साझेदारीका काममा पनि लाभ मिल्न सक्छ । सामाजिक सम्बन्ध बलियो बन्नेछन् र परिवारबाट राम्रो साथ सहयोग प्राप्त हुनेछ । महिनाको उत्तरार्धमा रोकिएका कामहरु पूरा हुने संकेत देखिन्छ । उपाय : प्रतिदिन ‘ॐ श्रीं महालक्ष्म्यै नमः’ मन्त्र जप गर्नुहोस् र शुक्रबार सेतो मिठाई दान गर्नु शुभ रहनेछ ।
वृश्चिक वृश्चिक राशिका लागि जुलाई महिना प्रगतिदायक महिना रहनेछ। रोकिएका काम पूरा हुनेछन् । व्यवसायमा लाभ र सामाजिक सम्मान बढ्नेछ । सम्बन्धमा धैर्य अपनाउनु आवश्यक हुनेछ । कामकाज र व्यवसायमा राम्रो सफलता मिल्नेछ । परिवारबाट सहयोग प्राप्त हुनेछ । नयाँ सम्बन्धमा सावधानी अपनाउनुहोस् । उपाय : हनुमान चालिसा पाठ गर्नु शुभ हुनेछ ।
धनु धनु राशिका लागि जुलाई महिना भाग्य र परिश्रम दुवै बलियो रहनेछन् । नयाँ आय स्रोत बन्ने सम्भावना छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । लगानी गर्दा सोचविचार गर्नु आवश्यक छ । करियरमा प्रगति र सम्मान प्राप्त हुनेछ । स्वास्थ्यमा पेटसम्बन्धी समस्या देखिन सक्छ । उपाय : ‘ॐ नमो भगवते वासुदेवाय’ मन्त्र जप गर्नुहोस् ।
मकर मकर राशिका लागि जुलाई महिना जिम्मेवारी र अवसर दुवै लिएर आउनेछ । नोकरी तथा व्यवसायमा नयाँ सम्भावना देखिनेछ । आर्थिक आम्दानी राम्रो भए पनि खर्च बढ्न सक्छ । पारिवारिक सम्बन्धमा धैर्य आवश्यक हुनेछ । कानुनी विषयमा सावधानी अपनाउनु राम्रो हुनेछ । उपाय : प्रत्येक शनिबार ‘ॐ शं शनैश्चराय नमः’ मन्त्र जप गर्नुहोस् ।
कुम्भ कुम्भ राशिका लागि जुलाई महिना सम्बन्ध र आर्थिक विषयमा उतारचढाव आउन सक्छ । गलत संगतबाट टाढा रहनु राम्रो हुनेछ । महिनाको अन्त्यतिर करियरमा सुधार आउने संकेत छ। कामको अवसर प्राप्त हुन सक्छ भने रोकिएका कामहरु पनि विस्तारै पूरा हुँदै जानेछन् । परिवारसँगको सम्बन्धमा धैर्य र समझदारी राख्नुभयो भने मानसिक शान्ति मिल्नेछ । उपाय : प्रतिदिन हनुमान चालिसा पाठ गर्नुहोस् ।
मीन मीन राशिका लागि जुलाई महिना भाग्य र अवसरले भरिएको रहनेछ । शिक्षा, प्रेम र व्यवसायमा सफलता प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । रोकिएका कामहरु पूरा हुनेछन् र आर्थिक अवस्था पनि विस्तारै मजबुत बन्ने संकेत छ । परिवारबाट सहयोग प्राप्त हुनेछ भने प्रेम सम्बन्धमा मधुरता बढ्नेछ । उपाय : प्रतिदिन ‘ॐ नमो नारायण’ मन्त्र जप गर्नुहोस् र बिहीबार पहेंलो वस्तु दान गर्नु शुभ रहनेछ ।
धार्मिक आस्था, धर्मस्थल वा धार्मिक प्रतीकप्रति अपमानजनक व्यवहार नगर्ने ।
लागूऔषध (ड्रग्स)सम्बन्धी कुनै पनि गतिविधिमा संलग्न नहुने ।
मदिरा सेवन गरेर सार्वजनिक रुपमा हंगामा नगर्ने वा सवारी नचलाउने ।
सार्वजनिक शिष्टाचारविपरीत अशोभनीय व्यवहार नगर्ने ।
सरकारी अनुमतिबिना चन्दा संकलन नगर्ने ।
अनुमतिबिना प्रदर्शन, ¥याली वा राजनीतिक गतिविधिसम्बन्धी कार्यक्रम आयोजना वा प्रचारप्रसार नगर्ने ।
क् सरकारी, सुरक्षा तथा अन्य संवेदनशील स्थानहरुको फोटो वा भिडियो खिचेर अनधिकृत रुपमा प्रसारण नगर्ने ।
युद्ध वा सुरक्षा घटनासँग सम्बन्धित भिडियो तथा तस्बिर नखिच्ने ।
सामाजिक सञ्जालमा युद्ध, सुरक्षा अवस्था वा अन्य संवेदनशील विषयका अपुष्ट सामग्री लाइक, शेयर वा प्रसारण नगर्ने ।
कम्पनीको अनुमति वा कानुनी प्रक्रिया पूरा नगरी जागिर छाडेर अन्यत्र बसोवास नगर्ने ।
आफ्नो राहदानी, एमिरेट्स आईडी, बैंक कार्ड (एटीएम) वा अन्य महत्वपूर्ण कागजात अपरिचित व्यक्तिलाई नदिने ।
सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पु¥याउने वा त्यस्ता गतिविधिमा संलग्न नहुने ।
सवारी चालक तथा सर्वसाधारणले ट्राफिक नियमहरुको पूर्ण पालना गर्ने, किनकि पालना नगरेमा यसले गम्भीर कानुनी तथा सुरक्षा समस्या निम्त्याउन सक्छ ।
ध्यान दिनुपर्ने कुरा सामाजिक सञ्जालमा रिसको भरमा लेखिएको टिप्पणी, पोस्ट वा सन्देशसमेत कानुनी प्रमाण बन्न सक्छ ।
अपुष्ट समाचार वा अफवाह फैलाउँदा कानुनी कारबाही हुन सक्छ ।
यस्ता गतिविधिमा संलग्न भए जरिवाना, कैद सजाय वा विदेशी नागरिकको हकमा देश निकाला (डिपोर्ट)सम्म हुन सक्छ ।
रोजगार सम्झौता, कम्पनीका नियम तथा यूएईको श्रम कानुनको पालना गर्नु प्रत्येक श्रमिकको दायित्व हो ।
यूएईका कानुन, स्थानीय संस्कृति र सामाजिक मूल्य–मान्यताको सम्मान गर्नु नै सुरक्षित र सफल प्रवासी जीवनको आधार हो । कानुनको सम्मान गरौं, जिम्मेवार नागरिकको परिचय दिऔं ।
२२ असार, दुबई । सन् २००८ मा रोजगारका लागि संयुक्त अरब इमिरेट्स (यूएई) आएका सन्तोष भट्टराईलाई शारजाह विमानस्थलमा बिताएको पहिलो रात अझै ताजै लाग्छ । रस अल खैमास्थित राक सेरामिक्समा सिनियर आईटी एक्जिक्युटिभका रुपमा कार्यभार सम्हाल्न आएका उनलाई त्यही रात एक नेपाली यात्रुले भनेका शब्द आज पनि सम्झना छन्– ‘भविष्य राम्रो छ’ । त्यसपछि भट्टराईले पछाडि फर्कनु परेको छैन ।
नेपालमा सूचना प्रविधि विषयमा अध्ययन गरेका भट्टराईले सन् २००५ मा स्नातक तह पूरा गरेका थिए । उनले भारत सरकारको विदेश मन्त्रालयको छात्रवृत्तिमा ‘एडभान्स नेटवर्किङ टेक्नोलोजी’ तालिम प्राप्त गरेका थिए । सन् २००४ देखि २००८ सम्म नेपालस्थित भारतीय दूतावासमा सिस्टम एड्मिनिस्ट्रेटरका रुपमा काम गरेका उनले त्यसपछि भने यूएईको यात्रा थालेका हुन् ।
यूएईमा उनको करिअर राक सेरामिक्सबाट शुरु भयो, जहाँ उनले सन् २०१५ सम्म विभिन्न सूचना प्रविधि परियोजनाको नेतृत्व गरे । हाल उनी लाटिक्रेट मिडल इस्ट एलएलसीमा ‘रिजनल म्यानेजर–आईटी एण्ड स्पेसल प्रोजेक्ट्स’का रुपमा कार्यरत छन् । करिब दुई दशक लामो व्यावसायिक यात्राको अनुभव सुनाउँदै भट्टराई नेपाली युवाको क्षमता विश्वस्तरको रहेको बताउँछन् । ‘सूचना प्रविधि, इन्जिनियरिङ, चार्टर्ड एकाउन्टेन्सी वा अन्य कुनै पनि क्षेत्रमा नेपाली युवाको ज्ञान र मेहनत अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कमजोर छैन,’ उनी भन्छन् ।
उनका अनुसार यूएईमा दक्ष जनशक्तिको माग निरन्तर बढिरहेको छ । नेपाल सरकारले ‘जब सर्चिङ भिजिट भिसा’ जस्ता विषयमा कूटनीतिक पहल गर्न सके नेपाली युवाका लागि थप अवसर सिर्जना हुन सक्छन् । साथै, उनले नेपाललाई यूएईका लागि सम्भावित ‘आउटसोर्सिङ हब’का रुपमा विकास गर्न सकिने धारणा राख्छन् ।
प्राविधिक सेवा, लेखा व्यवस्थापन, कल सेन्टर तथा इन्जिनियरिङ डिजाइनजस्ता क्षेत्रमा नेपाल–यूएई सहकार्य विस्तार गर्न सके दुवै मुलुकका संस्थाले लागत घटाउने र दक्ष जनशक्तिको आवश्यकता पूरा गर्ने लाभ लिन सक्ने उनको विश्वास छ । ‘सही नीति, संस्थागत संरचना र अन्तर्राष्ट्रिय सहकार्य भए नेपालले आफ्नो दक्ष जनशक्तिलाई विश्व बजारसँग जोड्न सक्छ,’ भट्टराई भन्छन् ।
२२ असार, यूएई । इलामको रमणीय पहाडी बस्ती फिक्कल गैरीगाउँका प्रभाकर शर्मा आज संयुक्त अरब इमिरेट्स (यूएई)को एक बहुप्रतिष्ठित कम्पनीमा सूचना प्रविधि (आईटी– टिकटिङ) विभाग प्रमुखका रुपमा कार्यरत छन् । सामान्य किसान परिवारमा जन्मिएर अन्तर्राष्ट्रिय स्तरको जिम्मेवारी सम्हाल्न पुग्नु उनका लागि केवल व्यक्तिगत सफलता मात्र होइन, नेपाली युवाको क्षमता, दक्षता र सम्भावनाको सशक्त उदाहरण पनि हो । उनले आफ्नो कर्म र संघर्षमार्फत नेपालीहरु केवल श्रमशक्तिमा मात्र होइन, प्राविधिक दक्षतामा समेत विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने प्रमाणित गरेका छन् ।
२०४४ साल फागुन २१ गते साविक फिक्कल गाविसको गैरीगाउँ, हाल सूर्योदय नगरपालिका–९ मा प्रभाकरको जन्म भएको थियो । मध्यमवर्गीय किसान परिवारमा हुर्किएका प्रभाकरका बाबुआमाको मुख्य आम्दानीको स्रोत खेतीपाती नै थियो । आर्थिक अभाव भए पनि परिवारमा शिक्षाप्रतिको दृष्टिकोण भने सकारात्मक र प्रगतिशील थियो ।
प्रभाकरकी आमा एसएलसी उत्तीर्ण भएकी शिक्षित महिला हुनुहुन्थ्यो । आमाले स्थानीय शिशु स्याहार केन्द्रमा काम पाएपछि प्रभाकरले त्यहीँबाट आफ्नो शैक्षिक यात्रा शुरु गरे । त्यसपछि उनी आफ्ना दाजुसँगै कजिनीस्थित आदर्श प्राथमिक विद्यालयमा भर्ना भए र कक्षा ४ सम्म अध्ययन गरे । सीमित स्रोत–साधन भएको ग्रामीण वातावरणमा पनि उनले निरन्तर शिक्षा हासिल गर्दै आफ्नो अध्ययनलाई अगाडि बढाए ।
उनको जीवनमा एउटा महत्वपूर्ण मोड अंग्रेजी शिक्षक श्याम भण्डारीको आगमनले ल्यायो । भण्डारी, सल्लाहपछि प्रभाकरकै घरमा बस्न थाले । दिउँसो बोर्डिङ स्कूलमा पढाउने उनले बिहान–बेलुका अंग्रेजी तथा अन्य विषय पढाउन थालेपछि प्रभाकर, उनका दाजु र कान्छी दिदीको पढाइमा उल्लेखनीय सुधार आयो । गुणस्तरीय शिक्षाको त्यो अवसरले उनीहरुको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्यो ।
श्याम भण्डारीकै सल्लाहमा आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि बाबुआमाले छोराछोरीलाई बोर्डिङ स्कूलमा पढाउने निर्णय गरे । त्यो सजिलो निर्णय थिएन । तर ३ जना विद्यार्थी भर्ना गर्दा एक जनालाई निःशुल्क पढाउने बोर्डिङ स्कूलले दिएको सहुलियत व्यवस्थाले परिवारलाई केही राहत दियो ।
यसपछि प्रभाकर इभरल्याण्ड बोर्डिङ स्कूल, फिक्कलमा भर्ना भए र कक्षा ८ सम्म अध्ययन गरे । ग्रामीण परिवेशमा भएका कारण घरको सबै कामहरुमा पनि सहयोग गर्नुपथ्र्यो (गाईलाई घाँस, खोलेको व्यवस्था गर्ने, थलो भकारो, दाउरा, पूजापाठ, खाना बनाउने इत्यादि) यी सबै काम सघाएर डेढ घण्टाको पैदल यात्रा गरेर स्कूल जानु पथ्र्यो । कक्षा ५, ६ र ७ को अध्ययन त्यही स्कूलमा पूरा गरेर उनी र उनका दाजु सनराइज बोर्डिङ स्कुल, फिक्कलमा गए । कक्षा ८, ९ र १० को अध्ययन त्यहीँबाट पूरा गरे ।
तर त्यतिबेला उक्त विद्यालयले एसएलसी परीक्षाको अनुमति नपाएकाले प्रभाकरले अन्तिम परीक्षा भने स्थानीय फिक्कल माध्यमिक विद्यालयबाट दिए । २०५९ सालमा उनले दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरे । यो सफलता उनको शैक्षिक यात्राको अर्को महत्वपूर्ण आधार बन्यो ।
उनको बुबा खेतीपातीबाहेक दूध संकलन गर्नुहुन्थ्यो र डेरी विकास निगमलाई बेच्नुहुन्थ्यो । पछि त्यही व्यवसायलाई सहकारीमा परिणत गरेर व्यवस्थापकको भूमिकामा रहनुभयो । पछि उहाँले ग्रामीण पशु उपचारको तालिम लिने अवसर पनि पाउनुभयो र अभ्यास गर्न थाल्नुभयो । उनकी आमा पनि महिला विकास शाखाका विभिन्न पहलहरुमा संलग्न हुनुहुन्थ्यो र पछि बचत तथा ऋण सहकारी संस्था स्थापना गरी व्यवस्थापक बन्नुभयो । जसले गर्दा उनीहरुको आर्थिक स्थितिमा केही सुधार आयो ।
दुवै छोराको पढाइ राम्रो देखेपछि उनका बाबुले थप ठूलो निर्णय लिए– उनीहरुलाई झापामा पढाउने । भविष्यको उज्यालो सम्भावनालाई ध्यानमा राख्दै ऋणधन गरेर भए पनि पढाउनुपर्छ भन्ने उद्देश्यले बिर्तामोडमा भर्ना गरियो । प्रभाकरले गोमेन्द्र बहुमुखी कलेज, बिर्तामोडमा कम्प्युटर साइन्स विषय लिए भने उनका दाजुले मानविकी संकाय रोजे ।
घरको संरक्षण र अभिभावकीय निगरानीबाट टाढा भएपछि पढाइमा अपेक्षित सफलता प्राप्त हुन सकेन । तर उनी कहिल्यै असफल भएनन् । संघर्षकै बीच उनले प्लस टु अध्ययन पूरा गरे । प्लस टु सकेपछि उनका दाजु सेनामा भर्ती हुने उद्देश्यले धरानतिर लागे भने प्रभाकरले थप अध्ययनका लागि फरक बाटो रोजे । सन् २००५ मा उनी काठमाडौं पुगे । काठमाडौंमा दिदी–भिनाजुको साथले उनको जीवनमा अर्को महत्वपूर्ण मोड लियो ।
भिनाजु डिल्ली आचार्यकै सल्लाहमा प्रभाकरले नोबेल कलेज, सिनामंगलमा कम्प्युटर इन्फर्मेसन विषयमा स्नातक अध्ययन शुरु गरे ।
जीवन साथीसँगको त्यो संयोगको भेट सन् २००९ मा दिदी–भिनाजु अमेरिका गएपछि प्रभाकरले विदेश जाने लक्ष्यसहित आईईएलटीएस अध्ययन शुरु गरे, जसले अन्तर्राष्ट्रिय अवसरतर्फ नयाँ ढोका खोल्यो । आईईएलटीएस अध्ययनकै क्रममा उनले काठमाडौंमा केही समय ट्रेनीका रुपमा काम गरे र पछि गौरीघाटस्थित एक विद्यालयमा कम्प्युटर साइन्स अध्यापन गर्न थाले ।
शिक्षकका रुपमा बिताएको समयले उनको प्राविधिक ज्ञानलाई निखार्नुका साथै जीवनमा विशेष मोड पनि ल्यायो । सोही विद्यालयमा कार्यरत प्रज्ञा घिमिरेसँग उनको चिनजान प्रेममा परिणत भयो र लामो सम्बन्धपछि उनीहरुले सन् २०१३ को डिसेम्बरमा विवाह गरे । आज प्रभाकरको जीवनयात्राकी महत्वपूर्ण सहयात्री बनेकी छन्– प्रज्ञा ।
विदेश यात्राको प्रारम्भ यसबीच प्रभाकरको जीवनमा विदेशको अवसर पनि ढकढक्याउन थालिसकेको थियो । उनका दाजु सन् २००७ मै यूएई पुगिसकेका थिए । दाजुकै सल्लाह र आग्रहमा सन् २०१० मा एक रिक्त पदका लागि प्रभाकरलाई दुबई आउन प्रस्ताव आयो । नयाँ अवसर र आकर्षक सम्भावनाले उत्साहित प्रभाकरले सन् २०१० अक्टोबर १ मा जीवनमै पहिलो पटक विमान चढेर दुबईको यात्रा गरे र उक्त पदका लागि उनले आवेदन दिए ।
आशा थियो– साक्षात्कारपछि नयाँ अध्याय शुरु हुनेछ । तर भाग्यले तत्काल साथ दिएन । अन्तर्वार्ताको चरणमै पुग्न नपाउँदै उक्त पद नै खारेज भयो । सपना अधुरै रह्यो । त्यसपछि उनले करिब २५–३० स्थानमा जागिरका लागि प्रयास गरे । कतिपय सामान्य कामका अवसर आए, तर उनले आफ्नो क्षेत्रमा बाहेक अन्यत्र काम नगर्ने अडान लिए ।
त्यो निर्णय सजिलो थिएन । विदेशको अपरिचित भूमिमा बेरोजगार भएर बस्नु मानसिक रुपमा चुनौतीपूर्ण थियो । तर आफ्नो सीप र क्षमतामाथिको विश्वासले उनलाई डगमगाउन दिएन । यही क्रममा उनका दाजुका साथी कपिल खड्काले सहयोगको हात बढाए । कपिलको आग्रहमा प्रभाकर दुबईस्थित ‘यस होटल’मा अन्तर्वार्ताका लागि पुगे । उनले आफ्नो बायोडाटा बुझाए । होटलले मासिक १७५० दिरामसहित अन्य सुविधा दिने प्रस्ताव राख्यो । तत्काल निर्णय नगरी उनले सोचेर जवाफ दिने बताए । त्यसबेला कपिल पनि सोही होटलमा कार्यरत थिए ।
केही सल्लाहपछि प्रभाकरले दस दिनपछिको टिकट सारे । खबर नआएपछि भोलिपल्ट नेपाल फर्किने तयारीमा किनमेल गरिरहेका बेला होटलबाट फोन आयो । मानव संसाधन विभागले अन्तर्वार्ताका लागि बोलाएको खबर थियो । अन्तर्वार्तापछि मेडिकल परीक्षण गर्नुपर्ने भयो । प्रभाकरले आफू नेपाल फर्किन लागेको जानकारी गराएपछि कम्पनीले सहज रुपमा नेपाल फर्किएर मेडिकल रिपोर्ट पठाउन आग्रह ग¥यो र पुनः टिकट पठाइदिने आश्वासन दियो । त्यसपछि उनी नेपाल फर्किए ।
नेपाल फर्किएको ठीक २० दिनपछि, अर्थात् सन् २०११ जनवरी २ मा उनलाई पुनः दुबईको टिकट पठाइयो । जनवरी ३ देखि उनले आईटी सपोर्ट पदमा औपचारिक रुपमा वैदेशिक रोजगारीको यात्रा शुरु गरे । त्यो नै उनको अन्तर्राष्ट्रिय करियरको पहिलो औपचारिक पाइला थियो । त्यहाँ उनले दुई वर्षसम्म इमानदारिता र दक्षताका साथ काम गरे ।
सन् २०१३ मा उनले यूएईकै प्रतिष्ठित ‘थिम पार्क फेरारी वल्र्ड’मा आईटी विशेषज्ञका रुपमा नयाँ यात्रा शुरु गरे । यो अवसरले उनको करियरलाई नयाँ उचाइमा पु¥यायो । प्रविधि क्षेत्रमा आफ्नो दक्षता, नेतृत्व क्षमता र समस्या समाधान गर्ने शैलीले उनले छोटो समयमै आफूलाई प्रमाणित गरे ।
सन् २०१६ मा व्यवस्थापक पदका लागि प्रतिस्पर्धा खुल्यो । त्यो अवसर प्रभाकरका लागि केवल पदोन्नतिको अवसर मात्र थिएन, आफ्नो क्षमताको वास्तविक परीक्षण पनि थियो । पढाइमा जस्तै उनले यहाँ पनि हार व्यहोर्नुपरेन । प्रतिस्पर्धामा सफल हुँदै व्यवस्थापक बने । यो उपलब्धिले उनको पद, प्रतिष्ठा, मासिक आम्दानी र सेवा–सुविधामा उल्लेखनीय परिवर्तन ल्यायो ।
त्यसपछि उनको करियर उकालो लाग्दै गयो । सन् २०२२ मा लाइन म्यानेजरबाट उनी सिनियर म्यानेजरमा पदोन्नति भए । दुई वर्षसम्म उक्त जिम्मेवारी सम्हालेपछि सन् २०२४ मा उनले मिराल ग्रुप छाडेर अर्को कम्पनीमा नयाँ यात्रा शुरु गरे । त्यहाँ सन् २०२६ मार्चसम्म काम गरेपछि पुनः अप्रिल महिनादेखि मिराल ग्रुपमै फर्किएर कार्यरत छन् ।
सफलताको सुन्दर कथा प्रभाकरको परिवार आज प्रभाकरको परिवार पनि सफलताको अर्को सुन्दर कथा बनेको छ । उनकी श्रीमती प्रज्ञा घिमिरे अबुधाबीकै एक चर्चित अस्पतालमा मार्केटिङ प्रतिनिधिका रुपमा कार्यरत छिन् । उनीहरुकी नौ वर्षीया एक छोरी छिन्, जसले परिवारको खुसीलाई अझ पूर्ण बनाएको छ ।
तर यो सहज यात्राको अन्त्यमा पुगेको सफलता होइन । यूएईका सुरुवाती दिनहरु निकै संघर्षपूर्ण थिए । सीमित आम्दानी, जिम्मेवारी र भविष्यको अनिश्चितताबीच उनले निरन्तर संघर्ष गरे । आज भने परिस्थितिले पूर्ण मोड लिएको छ । परिवार आर्थिक रुपमा सबल बनेको छ ।
उनका ९८ वर्षीय हजुरबा अहिले नेपालमै छन् । दाजुको बसोवास हाल क्यानडामा छ । बाबुआमा कहिले क्यानडा त कहिले अबुधाबी गर्दै परिवारसँग समय बिताइरहेका छन् । यसले परिवारको सम्बन्धलाई अझ बलियो बनाएको छ । आज प्रभाकर आफ्नो वर्तमान अवस्थाप्रति अत्यन्त सन्तुष्ट छन् । परिवार खुसी छ, जीवन व्यवस्थित छ र करियर सुदृढ छ ।
भारतीयको प्रभूत्वमा नेपाली लिडर यूएईको आईटी क्षेत्रमा भारतीयहरुको प्रभूत्व रहेको अवस्थामा सीमित नेपालीहरुमध्ये उच्च व्यवस्थापकीय पदमा पुग्नु आफैंमा ठूलो उपलब्धि हो । आज प्रभाकर केवल यूएईको एक सफल आईटी व्यवस्थापक मात्र होइनन्, नेपाली प्राविधिक जनशक्तिको अन्तर्राष्ट्रिय सम्भावनाका एक सशक्त प्रतिनिधि पनि बनेका छन् । वर्षौंको अनुभव, संघर्ष र सफलतापछि उनी अहिले यूएईको सूचना प्रविधि क्षेत्रको अवस्थालाई नजिकबाट बुझ्ने अवस्थामा पुगेका छन् ।
उनका अनुसार अहिले यूएईमा सूचना प्रविधि क्षेत्रको सम्भावना अत्यन्तै व्यापक छ । डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा, डाटा व्यवस्थापन र क्लाउड कम्प्युटिङजस्ता क्षेत्रमा तीव्र विस्तार भइरहेकाले दक्ष जनशक्तिको माग निरन्तर बढिरहेको छ । यही कारणले यूएईलाई उनी ‘अवसरको खानी’का रुपमा व्याख्या गर्छन् ।
प्रभाकरको बुझाइमा नेपाली आईटी विज्ञहरुको गुणस्तर अन्तर्राष्ट्रिय बजारमा निकै राम्रो मानिन्छ । सीप, मेहनत र समस्या समाधान गर्ने क्षमताका आधारमा नेपालीहरु कुनै पनि देशका जनशक्तिभन्दा कम छैनन् । तर यूएईको आईटी बजारमा भारतीयहरुको अत्यधिक बाहुल्यता रहेको सन्दर्भमा त्यो घेरा तोड्नु अहिले नेपालीहरुका लागि मुख्य चुनौती बनेको छ ।
उनी भन्छन्, ‘हाम्रो क्षमता राम्रो छ, तर पहुँच कमजोर छ । अवसरसम्म पुग्ने बाटो खुलाउन सके नेपालीहरु यूएईको आईटी बजारमा उल्लेखनीय रुपमा स्थापित हुन सक्छन् ।’
उनको विचारमा नेपाल सरकारले यो क्षेत्रलाई रणनीतिक रुपमा प्राथमिकतामा राख्न सके देशले दक्ष जनशक्तिमार्फत ठूलो मात्रामा वैदेशिक आम्दानी भिœयाउन सक्छ । अहिले विश्वभर आईटी सेवाको माग तीव्र गतिमा बढिरहेको अवस्थामा नेपालले आफ्ना युवालाई दक्ष बनाएर अन्तर्राष्ट्रिय बजारमा पठाउने नीति अपनाउनुपर्ने उनको सुझाव छ ।
प्रभाकरका अनुसार यो केवल सरकारको दायित्व मात्र होइन । सामाजिक संघसंस्था, व्यावसायिक संगठन र स्वयं यस क्षेत्रमा कार्यरत दक्ष व्यक्तिहरुले पनि आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्छ । यदि यी सबै पक्ष एकै दिशामा अघि बढ्न सके यूएईको आईटी बजारमा नेपालीहरुको पहुँच उल्लेखनीय रुपमा विस्तार हुन सक्छ ।
उनी भन्छन्, ‘यूएईमा अवसर खोज्न आउनेहरुका लागि अहिलेको समय उपयुक्त छ । यहाँ कम्पनीहरुसँग सिधै सम्पर्क गरेर आफ्नो क्षमता प्रस्तुत गर्न सकिन्छ । अझ अहिलेको डिजिटल युगमा यूएईमै बसेर मात्र होइन, नेपालमै बसेर पनि यहाँका कम्पनीका लागि काम गर्ने अवसरहरु बढिरहेका छन् ।’ उनको यो अनुभवले नयाँ पुस्तालाई एउटा महत्वपूर्ण सन्देश दिन्छ– विश्व बजारमा अवसर खोज्न विदेश जानु मात्र अन्तिम विकल्प होइन सीप, दक्षता र सही नेटवर्क भए आफ्नै देशमा बसेर पनि अन्तर्राष्ट्रिय स्तरको करियर निर्माण गर्न सकिन्छ ।
सामाजिक जीवनमा सक्रियता व्यावसायिक सफलतासँगै प्रभाकर र उनकी जीवनसंगिनी प्रज्ञा सामाजिक सेवामा पनि सक्रिय रहँदै आएका छन् । व्यक्तिगत सफलतालाई समाजप्रतिको जिम्मेवारीसँग जोड्दै उनीहरु यूएईका विभिन्न नेपाली संघसंस्थामार्फत आर्थिक सहयोग, राहत वितरण तथा मानवीय सेवामा निरन्तर संलग्न छन् । विशेषगरी कोभिड–१९ महामारीका समयमा यूएईमा समस्यामा परेका नेपालीहरुलाई राहत, समन्वय र आवश्यक सहयोग उपलब्ध गराउन उनीहरुले महत्वपूर्ण योगदान दिएका थिए ।
साथै, नेपालमा बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्तिका बेला पनि उनीहरुले विभिन्न माध्यमबाट सहयोग गर्दै आएका छन् । बहुसांस्कृतिक समाजमा मानवसेवा सीमाभन्दा माथिको विषय हो भन्ने मान्यतालाई व्यवहारमा उतार्दै यो दम्पतीले समाजसेवामार्फत नेपाली समुदायमा सकारात्मक छाप छोड्न सफल भएका छन् । प्रभाकर र प्रज्ञाको जीवनयात्रा केवल सफलता, संघर्ष र समर्पणको कथा मात्र होइन यो समाजप्रति उत्तरदायित्व, परिवारप्रतिको समर्पण र मातृभूमिप्रतिको अपनत्वको पनि कथा हो ।
इलामको एउटा सामान्य गाउँबाट शुरु भएको यो यात्रा आज अन्तर्राष्ट्रिय आईटी बजारसम्म पुगेको छ । यो केवल एउटा व्यक्तिको उपलब्धि होइन, सम्भावनाको खोजीमा रहेका हजारौं नेपाली युवाका लागि प्रेरणाको कथा हो । प्रभाकरको कथाले यही सन्देश दिन्छ– सपना साना वा ठूला हुँदैनन्, तिनलाई साकार पार्ने साहस र निरन्तरता नै सफलताको वास्तविक आधार हो ।
अवसरको खोजी, सीपप्रतिको निष्ठा र आत्मविश्वासको बलमा नेपाली युवाले विश्वको जुनसुकै कुनामा पनि आफ्नो पहिचान बनाउन सक्छन् भन्ने सन्देश प्रभाकरको जीवनले स्पष्ट रुपमा दिएको छ । मेहनत, धैर्य र स्पष्ट लक्ष्य भए गाउँको सामान्य परिवारबाट पनि विश्वस्तरको सफलता सम्भव हुन्छ भन्ने जीवित प्रमाण हुन्– प्रभाकर शर्मा ।
विश्व न्यूजको यूएई अंकमा हामीले स्वास्थ्य सचेतना सामग्री प्रकाशित गर्दै आएका छौं । यस अंकमा हामी गर्मीबाट कसरी बच्ने भन्नेबारे उल्लेख गर्दैछौं ।
प्रशस्त मात्रामा पानी पिउने, तिर्खा लागेपछि मात्र होइन नियमित रुपमा पानी सेवन गर्ने । घाममा काम गर्दा वा हिँड्दा टोपी, छाता र सनग्लास प्रयोग गर्ने ।
हल्का, फुस्रो र सुती कपडा लगाउने ।
दिउँसो १२ः३० देखि ३ः०० बजेसम्म सकेसम्म प्रत्यक्ष घाममा नबस्ने ।
बाहिरी क्षेत्रमा काम गर्नेहरुले नियमित विश्राम लिने ।
शरीरमा पानीको मात्रा कायम राख्न कागती, नुन पानी, नरिवल पानी, ओआरएस र खनिजयुक्त पेय पदार्थ सेवन गर्ने ।
अत्यधिक चिया, कफी तथा चिनीजन्य पेय पदार्थको सेवन कम गर्ने । पार्किङमा राखिएको बन्द सवारीसाधनभित्र बालबालिका वा वृद्धवृद्धालाई नछोड्ने । टाउको दुख्ने, चक्कर लाग्ने, अत्यधिक पसिना आउने वा वाकवाकी लाग्ने जस्ता लक्षण देखिए तुरुन्त चिसो स्थानमा जाने ।
घर तथा कार्यस्थलमा एसी वा पर्याप्त हावाप्रवाहको व्यवस्था गर्ने ।
उपलब्ध गराएको सुरक्षा व्यवस्था अनिवार्य रुपमा प्रयोग गर्ने ।
वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा दीर्घरोगीहरुको विशेष हेरचाह गर्ने ।
रमजान वा उपवासका बेला स्वास्थ्य अवस्थाअनुसार चिकित्सकको सल्लाह लिनु उपयुक्त हुने ।
आपतकालीन अवस्थामा नजिकको स्वास्थ्य संस्था वा आपतकालीन सेवासँग तत्काल सम्पर्क गर्ने ।
यूएई सरकारको विशेष निर्देशन
१५ जुनदेखि १५ सेप्टेम्बरसम्म ‘मिड–डे ब्रेक’ नियम पालना गर्ने ।
रोजगारदाताले श्रमिकका लागि छायाँ, चिसो पानी, प्राथमिक उपचार सामग्री र विश्रामस्थलको व्यवस्था गर्नुपर्ने ।
नियम उल्लंघन गर्ने कम्पनीमाथि जरिवाना र कानुनी कारबाही हुन सक्ने ।
यी उपायहरु अपनाउँदा अत्यधिक गर्मीका कारण हुने स्वास्थ्य जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ ।
२२ असार, यूएई । स्याङ्जाको सामान्य परिवारमा हुर्किएका रमेश श्रेष्ठले आफ्नो जीवनमा सफलता कुनै सहज यात्राबाट हासिल गरेका होइनन् । संघर्ष, असफलता, धैर्य र निरन्तर प्रयासको लामो शृङ्खलापछि उनी आज यूएईको नेपाली समाजदेखि अन्तर्राष्ट्रिय स्तरमा परिचित नेपाली उद्यमी तथा सामाजिक अभियन्ताका रुपमा स्थापित भएका छन् । उनको जीवनयात्राले एउटा स्पष्ट सन्देश दिन्छ– सफलता परिस्थितिले होइन, निरन्तर प्रयासले निर्धारण गर्छ ।
रमेश श्रेष्ठको बाल्यकाल साधारण नेपाली परिवारमा बित्यो । परिवारले उनलाई इमानदारी, अनुशासन र मेहनतका मूल्य सिकायो । व्यवसायमा संलग्न रहेका उनका बुवाले व्यापारसँगै सामाजिक सेवामा पनि सक्रिय भूमिका निर्वाह गर्थे । यही वातावरणले रमेशमा सानैदेखि जिम्मेवारीबोध, नेतृत्व क्षमता र समाजप्रतिको उत्तरदायित्वको भावना विकास गरायो । उनी केवल पढाइमा मात्र सीमित रहेनन्, परिवारको व्यवसायमा पनि सहभागी भए । व्यापार सञ्चालन, ग्राहकसँगको व्यवहार र निर्णय क्षमताका प्रारम्भिक अनुभवले उनलाई व्यावहारिक जीवनका महत्वपूर्ण पाठ सिकायो ।
एसएलसी उत्तीर्ण गरेपछि उनले कमर्श विषयमा अध्ययनलाई निरन्तरता दिए । अध्ययनसँगै व्यवसायमा सक्रिय रहँदा उनले उद्यमशीलताको वास्तविक अर्थ बुझ्न थाले । कलेज जीवनमा उनी विभिन्न सामाजिक तथा विद्यार्थी गतिविधिमा पनि सहभागी भए । जिल्लास्तरका संघसंस्थामा सक्रिय भूमिकाले उनको नेतृत्व क्षमता अझ परिष्कृत बनायो । यही अनुभवले भविष्यमा सामाजिक र व्यावसायिक दुवै क्षेत्रमा नेतृत्व गर्ने आत्मविश्वास प्रदान ग¥यो ।
सन २००१ तिर उनले औपचारिक रुपमा आफ्नै व्यवसाय शुरु गरे । पोखरा र स्याङ्जामा इलेक्ट्रिकल सामग्री वितरणको कामबाट उद्यमशीलताको यात्रा अघि बढाए । तर त्यो समय नेपाल द्वन्द्वको चपेटामा थियो । राजनीतिक अस्थिरता र असुरक्षाले व्यापारमा प्रत्यक्ष असर पा¥यो । उनले करिब २० लाख रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नुप¥यो । धेरैका लागि यस्तो अवस्था अन्तिम हार बन्न सक्थ्यो । तर श्रेष्ठले त्यसलाई अन्त्य होइन, नयाँ शुरुवातका रुपमा लिए । असफलताले उनलाई निराश बनाउनुको सट्टा थप परिपक्व बनायो ।
अन्ततः सन् २००८ मा उनले दुबई जाने निर्णय गरे । त्यहाँ उनले रोड्स एण्ड ट्रान्सपोर्ट अथोरिटी (आरटीए) अन्तर्गत बस चालकका रुपमा काम शुरु गरे । मासिक चार हजार सात सय दिराम तलब पाउने यो जागिरले आर्थिक आधार त दियो, तर जीवन भने सहज थिएन । बिहानदेखि रातिसम्मको कडा मेहनत, परिवारबाट टाढा बस्नुपर्ने पीडा र नयाँ वातावरणसँग घुलमिल हुनुपर्ने चुनौतीले प्रारम्भिक समय निकै कठिन बनायो ।
केही वर्ष उनको जीवनको सबैभन्दा चुनौतीपूर्ण चरणमध्ये एक थियो । तर उनले कठिनाइसँग सम्झौता गरेनन्, बरु त्यसलाई अवसरमा रूपान्तरण गर्ने प्रयास गरे । पछि परिवारलाई पनि दुबई ल्याएपछि मानसिक रुपमा थप सशक्त बने । परिवारको साथले उनीभित्र नयाँ ऊर्जा थपियो । यही अवधिमा उनले अनुशासन, समय व्यवस्थापन र जिम्मेवारीको महत्वलाई अझ गहिरोसँग आत्मसात् गरे । दुबई बसाइका क्रममा उनले वैदेशिक रोजगारी र मानव संसाधन व्यवस्थापनको क्षेत्रलाई नजिकबाट बुझ्ने अवसर पाए ।
अनुभव बढ्दै जाँदा उनले आफ्नै रिक्रुटमेन्ट व्यवसाय सञ्चालन गर्ने योजना बनाए । विभिन्न कम्पनीमा काम गर्दै आवश्यक ज्ञान र अनुभव संकलन गरेपछि सन् २०१५ मा उनले ‘डेस्टिनी ह्युमन रिसोर्स’ स्थापना गरे । यही कम्पनीमार्फत नेपाली युवालाई वैदेशिक रोजगारीका अवसर उपलब्ध गराउन थाले । नेपाली कामदारको मेहनत, इमानदारी र सीप अन्तर्राष्ट्रिय बजारमा विश्वासिलो रहेको अनुभवले उनको व्यवसायलाई विस्तार गर्न सहयोग पु¥यायो । क्रमशः उनले भारत, श्रीलंका, भियतनाम, इन्डोनेसिया लगायतका देशबाट समेत जनशक्ति व्यवस्थापन गर्ने काम शुरु गरे ।
व्यवसायसँगै रमेश श्रेष्ठ सामाजिक क्षेत्रमा पनि सक्रिय रहे । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईमा उनले विभिन्न जिम्मेवारी सम्हाले । उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारीसम्म पुग्दा उनले नेपाली समुदायलाई एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । विशेषगरी यूएईमा एनआरएनएलाई आधिकारिक रुपमा दर्ता गराउने प्रक्रियामा उनको नेतृत्वलाई उल्लेखनीय उपलब्धिका रुपमा हेरिन्छ । उनका लागि सामाजिक सेवा व्यवसायभन्दा अलग विषय होइन, समाजप्रतिको दायित्वको निरन्तरता थियो ।
तर सफलता हासिल गर्ने क्रममा उनले फेरि अर्को ठूलो चुनौतीको सामना गर्नुप¥यो । सन् २०१४ तिर निर्माण क्षेत्रमा प्रवेश गर्दै ‘कन्स्ट्रक्सन कम्पनी’ स्थापना गरे । व्यवसाय विस्तार गर्ने उद्देश्यले शुरु गरिएको यो प्रयास साझेदारसँगको विवादका कारण असफल भयो । करिब ३० लाख दिराम बराबरको आर्थिक क्षति मात्रै होइन, कानुनी झन्झटसमेत बेहोर्नुप¥यो । यो उनको जीवनको अत्यन्त कठिन मोड थियो । तर विगतका अनुभवले उनलाई एउटा कुरा सिकाइसकेको थियो– असफलता स्थायी हुँदैन । उनले निर्माण क्षेत्रबाट बाहिरिने निर्णय गरे र फेरि आफ्नो मुख्य दक्षता रहेको रिक्रुटमेन्ट व्यवसायमै केन्द्रित भए ।
त्यसपछि उनले ‘जीसीडी वल्र्डवाइड’ स्थापना गर्दै व्यवसायलाई नयाँ ढंगले विस्तार गर्न थाले । यूएईमा जीसीडी एचआर एन्ड म्यानेजमेन्ट कन्सल्टेन्सी र जीसीडी डकुमेन्ट सर्भिसेज स्थापना गरे । सन् २०१६ मा जीसीडी क्लिनिङ कम्पनी एलएलसी शुरु गर्दै सेवा क्षेत्रमै अर्को सफल पाइला चाले । बिस्तारै उनका कम्पनीहरुले स्थायित्व प्राप्त गरे र अन्तर्राष्ट्रिय बजारमा आफ्नो विश्वसनीयता स्थापित गर्न सफल भए ।
कोभिड–१९ महामारीले विश्व अर्थतन्त्रलाई गम्भीर रुपमा प्रभावित बनाएको बेला पनि रमेश श्रेष्ठले व्यवसायलाई रोकेनन् । चुनौतीका बीच नयाँ अवसर खोज्दै उनले युरोपेली मुलुकहरु– क्रोएसिया, पोल्याण्ड, लिथुआनिया, हंगेरी र माल्टा लगायतमा नेपाली कामदार पठाउने प्रक्रिया शुरु गरे । बदलिँदो श्रम बजारअनुसार व्यवसायलाई रूपान्तरण गर्ने क्षमताले उनलाई अन्य उद्यमीभन्दा फरक बनायो । आज उनका कम्पनीमार्फत हरेक वर्ष हजारौं नेपालीले वैदेशिक रोजगारीका अवसर प्राप्त गरिरहेका छन् । अहिले उनको कम्पनीमा २०० जनाभन्दा बढीले रोजगारी पाएका छन् ।
हाल नेपाल, यूएई, भारत लगायत विभिन्न देशमा उनका कार्यालय सञ्चालनमा छन् । सयौं कर्मचारीको टोलीसँग उनले अन्तर्राष्ट्रिय स्तरको मानव संसाधन व्यवस्थापन व्यवसाय सञ्चालन गरिरहेका छन् । व्यवसाय विस्तारसँगै उनले रोजगारी सिर्जना, सीप विकास र नेपाली श्रमिकलाई सुरक्षित वैदेशिक रोजगारीमा जोड्ने कामलाई प्राथमिकतामा राखेका छन् ।
सयौं नेपालीलाई वैदेशिक रोजगारीमा जोड्ने रिक्रुटमेन्ट व्यवसाय सञ्चालन गर्नु आफैंमा चुनौतीपूर्ण काम भएको रमेश श्रेष्ठ बताउँछन् । ठूलो संख्यामा श्रमिकसँग काम गर्दा कहिलेकाहीँ समस्या देखिनु स्वाभाविक भए पनि त्यस्ता समस्या संवाद र कानुनी प्रक्रियामार्फत समाधान गर्न सकिने उनको भनाइ छ । ‘हाम्रो उद्देश्य श्रमिकलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउनु हो,’ श्रेष्ठ भन्छन् । व्यवसायको मूल उद्देश्य नाफा मात्र नभई नेपाली श्रमिकलाई रोजगारीको अवसरसँग जोड्दै उनीहरुको हितमा काम गर्नु रहेको उनको दाबी छ ।
व्यवसायसँगै रमेश श्रेष्ठ सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । उनी हाल गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व क्षेत्रीय संयोजकका रुपमा कार्यरत छन् । यस भूमिकामार्फत उनले मध्यपूर्वमा रहेका नेपाली समुदायका हकहित, श्रमिक कल्याण तथा संगठन सुदृढीकरणका विषयमा सक्रिय रुपमा काम गरिरहेका छन् ।
रमेश श्रेष्ठको जीवन केवल व्यक्तिगत सफलताको कथा होइन । यो असफलताबाट उठ्ने साहस, परिस्थितिलाई अवसरमा बदल्ने दृष्टिकोण र निरन्तर संघर्षको उदाहरण पनि हो । उनले भोगेका चुनौतीहरुले देखाउँछन् कि व्यवसायमा जोखिम अपरिहार्य हुन्छ, तर सही निर्णय, धैर्य र आत्मविश्वासले कठिन परिस्थितिलाई पनि पार गर्न सकिन्छ । परिवारको साथ, अनुशासन, इमानदारी र स्पष्ट लक्ष्यप्रतिको प्रतिबद्धताले नै सफलताको आधार तयार गर्छ भन्ने सन्देश उनको यात्राले दिन्छ ।
सानो शहरबाट शुरु भएको यात्रा आज अन्तर्राष्ट्रिय उद्यमशीलताको पहिचानसम्म पुगेको छ । संघर्षका अनेक अध्याय पार गर्दै उनले आफू मात्र होइन, हजारौं नेपालीका लागि रोजगारी र आशाको ढोका खोल्ने काम गरेका छन् । यही कारण रमेश श्रेष्ठको जीवनकथा केवल सफल व्यवसायीको परिचय होइन, संघर्षरत युवाका लागि प्रेरणाको स्रोत पनि बनेको छ । कठिनाइलाई हार होइन, सिकाइका रुपमा स्वीकार गर्ने र अवसरलाई मेहनतसँग जोड्ने जो–कोहीका लागि उनको यात्रा अनुकरणीय उदाहरण बनेर उभिएको छ ।