Category: डायस्पोरा

  • विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

    विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

    काठमाडौँ, ९ भदौः प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा घर भइ हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–१० बस्ने २९ वर्षीया सुष्मा भण्डारी, सिन्धुली घर भइ हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरइपालिका–९ बस्ने २८ वर्षीया करिना देवकोटा, झापा घर भइ काठमाडौँ महानगरपालिका–३ बस्ने २७ वर्षीय साजन खनाल, दोलखा घर भइ भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ३४ वर्षीय पेमा लामा तथा ओखलढुङ्गा घर भइ काठमाडौँ महानगरपालिका–१५ बस्ने २७ वर्षीया तोमकुमारी थापा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    पक्राउ परेका मध्ये सुष्माले चेक रिपब्लिक पठाइदिने भन्दै रु पाँच लाख ३५ हजार, करिनाले लिथुआनिया पठाइदिने भन्दै रु दुइ लाख ५० हजार, साजनले फिनल्याण्ड पठाइदिने भन्दै रु १२ लाख, पेमाले रोमानिया पठाइदिने भन्दै रु एक लाख र तोमकुमारीले माल्टा पठाइदिने भन्दै रु एक लाख ३५ हजार लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।


    प्रहरीले सुष्मालाई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–१०, करिना र साजनलाई काठमाडौँ महानगरपालिका–३ तथा पेमालाई काठमाडौँ महानगरपालिका–१२ र तोमकुमारीलाई काठमाडौँ महानगरपालिका–१५ बाट पक्राउ गरिएको जनाएको छ । उनीहरूलाई आज आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताए ।

  • पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    सुनसरी, ९ भदौः आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि ओठमा मीठो मुस्कान । सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङको पछिल्लो परिचय । देशभित्र धेरै स्थानमा ‘ड्रागन फ्रुट’को राम्रो खेती भएको सुने पनि आफ्नो जग्गामा होला कि नहोला भन्ने द्विविधा छँदै थियो । ‘तँ आट म पुर्‍याउँछु’ भन्ने मनमा राखेर सुरु गरेको ड्रागन फ्रुटखेतीले आज कृपाश्वरलाई नाम मात्रै होइन राम्रै दामसमेत दिएको छ । लामो समय भारतीय सेनामा सेवा गरेपछि अवकाश लिएका सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङले व्यावसायिक ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् ।


    उनले दुई बिघा क्षेत्रफलमा उक्त खेती गरेर वार्षिक रु ५५ लाखदेखि ६० लाखसम्म आम्दानी गर्दै आएका छन् । करिब २८ वर्ष भारतीय सेनामा सेवा गर्नुभएका घलेले अवकाशपछि कृषि व्यवसायमा लागेका हुन् । उनले विसं २०७४ मा ‘सर्जुमा ड्रागन फ्रुट कृषि फार्म’ स्थापना गरी व्यावसायिक रूपमा खेती सुरु गरेका थिए । करिब २२ वर्षअघि मलेसियाबाट ल्याइएको रातो पिङ प्रजातिको एउटा बिरुवाबाट उनले ड्रागन फ्रुटखेती सुरु गरेका हुन् । सुरुमा यसको बजार र स्वास्थ्यसम्बन्धी उपयोगिताबारे धेरै जानकारी नभए पनि विस्तारै माग र मूल्य बढ्दै गएपछि उनले खेती विस्तार गरेका हुन् ।


    हाल उहाँको फार्ममा करिब ५०० ड्रागन फ्रुटका बोट छन् । अन्य फलफूलले वर्षमा एकपटक मात्र उत्पादन दिने भए पनि ड्रागन फ्रुटले मौसममा नौदेखि १० पटकसम्म उत्पादन दिने भएकाले आम्दानी नियमित हुने गरेको घलेले बताए ।
    फार्म सञ्चालन, मल, औजार र मजदुरका लागि वार्षिक करिब रु आठदेखि नौ लाख खर्च हुने गरेको उनले बताए । फल उत्पादनसँगै बिरुवा बिक्रीबाट पनि आम्दानी हुने गरेको छ । वार्षिक रु चार लाखभन्दा बढीको बिरुवा बिक्री हुने गरेको घलेले जानकारी दिए ।


    पहिले प्रतिबोट रु चारदेखि पाँचमा बिक्री हुने बिरुवा मागअनुसार रु ५० देखि ७० सम्ममा बिक्री हुने गरेको उनले सुनाए । फार्मबाट ड्रागन फ्रुट खुद्रा प्रतिकिलो रु ३५० र थोकमा रु ३०० मा बिक्री हुने गरेको छ । बेमौसममा भने प्रतिकिलो रु ४५० देखि ५०० सम्ममा बिक्री हुने गरेको छ । फार्ममा मासिक रु १६ हजार तलब पाउने दुई जना स्थायी कर्मचारी छन् । दैनिक रु ८०० ज्यालामा आठ÷नौ जना मजदुरले काम गर्छन् । फल टिप्ने र मल हाल्ने समयमा मजदुरको सङ्ख्या थपिने गरेको घलेले बताए ।


    गत वर्ष फार्ममा २७ मेट्रिकटन ड्रागन फ्रुट उत्पादन भएको थियो । यस वर्ष ३० मेट्रिकटनभन्दा बढी उत्पादन हुने अनुमान गरिएको छ । उत्पादित फल काठमाडौँ, पोखरा, हेटौँडा र बुटवल पठाउने गरिएको छ । यस्तै, धरान, इटहरी, इनरुवा र विराटनगरलगायत स्थानीय बजारमा पनि बिक्री हुने गरेको छ । धेरै व्यापारी फार्म मै आएर फल लैजाने गरेका छन् ।

    घलेका अनुसार ड्रागन फ्रुट खेतीका लागि पानी नजम्ने, खुला र अत्यधिक चिसो नहुने स्थान उपयुक्त हुन्छ । कहिलेकाहीँ ढुसी तथा फङ्गस रोगका कारण उत्पादनमा असर पर्ने भए पनि नियमित निगरानी र व्यवस्थापन गर्नसके राम्रो उत्पादन लिन सकिने उनको अनुभव छ । गत वर्ष फङ्गस रोगको समस्या देखिए पनि यस वर्ष त्यसको असर कम रहेकाले उत्पादन बढ्ने उनले बताए ।
    ड्रागन फ्रुटमा वैशाखदेखि फूल लाग्न सुरु हुन्छ । जेठको अन्तिम सातादेखि फल टिप्न सुरु गरिने र कात्तिकसम्म लगातार फल लाग्ने गरेको घलेले बताए । बत्ती जडान गरी बेमौसमामा तीनदेखि चार पटकसम्म फल उत्पादन गर्न सकिने र त्यस समयमा मूल्य पनि बढ्ने उनको भनाइ छ ।

    घलेले कृषि व्यवसायबाट राम्रो आम्दानीसँगै स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गर्न सकिने बताए । “अल्छी नगरी मेहनत गर्दा नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ”, उनले भने । ड्रागन फ्रुट खेतीमा योगदान पु¥याएबापत घलेले उत्कृष्ट किसानका रूपमा विभिन्न सङ्घसंस्थाबाट एक दर्जनभन्दा बढी सम्मान प्राप्त गरिसकेका छन् । पछिल्लो समय युवापुस्तामा ड्रागन फ्रुट खेतीप्रति आकर्षण बढ्दै गएको उनले बताए । रामधुनी नगरपालिका–७ मा मात्रै हाल १० भन्दाबढी घरधुरीले ड्रागन फ्रुटखेती गर्दै आएका छन् । विदेशबाट फर्किएका युवाले यसबाट राम्रो आम्दानी गरिरहेको घलेले बताए ।


    “दैनिक विदेश पलायन भइरहेका युवाले आफ्नै देशमा व्यवसाय गरेर राम्रो आम्दानी गर्न सक्छन् । अर्काको देशमा दुःख गर्नुपर्ने अवस्था आउँदैन”, उनले भने, “छोटो समयमा राम्रो आम्दानी गर्न चाहनेका लागि ड्रागन फ्रुटखेती राम्रो विकल्प बन्न सक्छ ।” उनका अनुसार सुरुआतमा केही मेहनत गरेपछि ठूलो लगानी र धेरै मेहनत गरिरहनुपर्दैन । बिरुवा रोपेको एक वर्षदेखि फल दिन सुरु गर्ने भएकाले ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ ।

  • चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

    चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

    काठमाडौँ, ७ भदौः नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), नेपालबीच देशमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्य गरेर अघि बढ्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । एनसीसी अध्यक्ष कमलेश अग्रवाल एनआरएनए अध्यक्ष डा हेमराज शर्माबीच आज काठमाडौँमा आयोजित एक कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

    दुवैपक्षबीच भएको समझदारीपत्रमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन गर्ने, व्यापार, उद्योग तथा उद्यमशीलताको विकासलाई सहजीकरण गर्ने समावेश गरिएको छ । एनसीसीका अध्यक्ष अग्रवालले दुवै पक्षबीच भएको समझदारीले नेपालमा गैरआवासीय नेपालीले प्रत्यक्ष वैदेशिक लगानी भित्राउनको लागि मार्गप्रशस्त गर्ने बताए ।


    “हामी दुवै पक्षबीच भएको समझदारीले नेपालमा स्वदेशी तथा गैरआवासीय नेपाली व्यावसायिक समुदायउबीच सहकार्य सुदृढ गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेका छौँ”, उनले भने, “दुवै पक्षबीच ज्ञान हस्तान्तरण, नवप्रवर्तन तथा प्रविधि आदानप्रदान गर्नका लागि मार्गप्रशस्त गर्नेछ ।”

    एनआरएनएका अध्यक्ष डा शर्माले नेपालका विभिन्न कानुनी जटिलताको कारणले वैदेशिक लगानी भित्राउनको लागि समस्या भइरहेको गुनासो गरे । “दुवैबीच भएको समझदारीपत्रले पक्कै पनि व्यापार प्रवर्द्धन र देशमा प्रत्यक्ष लगानी भित्राउनको लागि नीतिगत रूपमा सहज वातावरण बनाउन आवश्यक छ ।”

    दुवैपक्षबीच भएको समझदारीमा एनसीसी र एनआरएनएले संयुक्त रूपमा लगानी सम्मेलन, रोड–शो, व्यापारिक शिखर सम्मेलन तथा व्यावसायिक कार्यक्रम आयोजना गर्नेछन् । त्यस्ता कार्यक्रममार्फत विदेशी तथा गैरआवासीय नेपाली लगानीकर्ता र नेपालका स्थानीय व्यवसायीबीच प्रत्यक्ष सम्पर्क तथा व्यावसायिक साझेदारीको अवसर सिर्जना गरिनेछ ।

    त्यसैगरी निर्यातमुखी उद्योगको प्रवर्द्धन, साना तथा मझौला उद्यम (एसएमई) र स्टार्टअपलाई सहयोग तथा संयुक्त पहल सञ्चालन गर्ने विषयमा पनि सहकार्य गर्ने उल्लेख गरिएको छ । क्षमता अभिवृद्धिका लागि तालिम, कार्यशाला तथा सेमिनार आयोजना गर्नुका साथै दुवै पक्षले आफ्नो अनुभव, विशेषज्ञता र उत्कृष्ट अभ्यास आदानप्रदान गर्ने सहमति गरेका छन् । व्यावसायिक वातावरण सुधारका लागि आवश्यक नीतिगत सुधारको सिफारिस गर्न तथा सरकार र सम्बन्धित सरोकारवालासँग संवाद र समन्वय गर्न पनि दुवै संस्थाले सहकार्य गर्ने समझदारीपत्रमा उल्लेख गरिएको छ ।

    अध्यक्ष अग्रवालले आर्थिक नीति र कानुनी संरचनामा स्थिरता तथा स्पष्टता नभएसम्म स्वदेशी र विदेशी लगानीकर्ता पूर्ण भित्राउन नसकिने बताए । “आजको समझदारीपत्र केवल कागजमा सीमित हुनु हुँदैन,” उनले भने, “यसलाई व्यवहारमा उतार्दै लगानी, व्यापार, रोजगारी र आर्थिक रूपान्तरणका क्षेत्रमा ठोस परिणाम दिनुपर्छ ।”

    अध्यक्ष शर्माले विश्वभर छरिएर रहेका नेपालीको सीप, ज्ञान, अनुभव र पूँजीलाई नेपालको विकाससँग जोड्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइने बताए । उनले लएनआरएनए केवल विदेशमा बस्नेको संस्था मात्र नभई विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकीकृत गर्दै नेपालको आर्थिक, सामाजिक तथा लगानी विकासमा योगदान पुर्‍याउने साझा मञ्चको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

  • अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    एक अमेरिकी सङ्घीय न्यायाधीशले ७५ देशका नागरिकहरूलाई लक्षित गरी देशमा स्थायी रूपमा बसोबास गर्न चाहनेहरूका लागि भिसा प्रतिबन्ध खारेज गरिदिएका छन् । यसले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन दमन अभियानलाई झट्का दिएको छ । न्युयोर्कको दक्षिणी जिल्लामा शुक्रबार जारी आदेशमा न्यायाधीश जीनेट भर्गासले यस नीतिलाई ‘कानुनविपरीत’ भएको बताएका छन् ।

    विदेशमन्त्री मार्को रुबियोले यसलाई जारी गर्दा आफ्नो ‘कानूनी अधिकार’ नाघेको बताए । जनवरीमा लागू भएको यस नीतिले अफगानिस्तान, ब्राजिल, इजिप्ट, इरान, इराक, नाइजेरिया, सोमालिया, थाइल्याण्ड र यमनलगायत ७५ देशका नागरिकहरूका लागि आप्रवासी भिसा प्रक्रिया निलम्बन गरेको थियो ।

    विदेश मन्त्रालयले भिसा प्रक्रिया निलम्बनको घोषणा गर्दै भनेको थियो, “यो निर्णय ‘उच्च जोखिमयुक्त देशबाट आउने आप्रवासीहरूले अमेरिकामा गैरकानूनी रूपमा कल्याणकारी सुविधा प्रयोग नगरून् वा सार्वजनिक भार नबनून् भनेर सुनिश्चित गर्न’ गरिएको हो।” भर्गासले आदेशमा भनेका छन् । “कन्सुलर अधिकारीहरूलाई आवेदक अन्यथा योग्य ठहरिए पनि केवल आवेदकको मूल देशका आधारमा आप्रवासी भिसा अस्वीकार गर्न गलत रूपमा आदेश दिइएको थियो ।”

    शुक्रबारको फैसलाले केवल यस नीतिमा आधारित कुनै पनि भिसाको लागि अस्वीकृतिलाई खारेज गर्छ। सरकारले यस फैसलालाई पुनरावेदन गर्न सक्नेछ । ट्रम्पले लाखौँ अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने वाचासहित राष्ट्रपतीय निर्वाचनका लागि अभियान चलाउनुभएको थियो र ह्वाइट हाउसमा पुनः फर्केपछि निर्वासनलाई तीव्र बनाउने तथा सीमापार आवागमन घटाउने उद्देश्यले विभिन्न कदम चालेका थिए ।

  • राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई

    काठमाडौँ, ६ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित भएकोमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र बङ्गलादेशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको प्रतिबद्धता दोहो¥याएका छन् । शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले नेपाल र बङ्गलादेशका जनतालाई आपसमा जोड्ने गहिरो जनस्तरीय सम्बन्धसहित विद्यमान बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

  • परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

    परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

    काठमाडौँ, ४ भदौः परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मोनैखिरले शिष्टाचार भेट गरेका छन्र्नुर । मन्त्रालयमा आज भएको उक्त भेटमा उनीहरुबीच नेपाल–साउदी अरब बीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, नेपाली श्रमिकको सुरक्षा तथा कल्याण र आपसी हितका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

    भेटका क्रममा दुवै पक्षले नेपाल र साउदी अरबबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको महत्वलाई स्मरण गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण तथा आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । परराष्ट्रमन्त्री खनालले दुई देशबाट हुने उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप गति दिनाका साथै आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न योगदान पु¥याउने बताए ।

    “नेपाल र साउदी अरब बीचको कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठ महत्वपूर्ण अवसर हो । आगामी दिनमा दुवै देशबीच उच्चस्तरीय भ्रमण र संवादलाई निरन्तरता दिँदै आपसी हितका क्षेत्रमा सहकार्य थप विस्तार गर्नुपर्छ,” उनले भन्नुभयो । भेटमा मन्त्री खनालले हालै क्षेत्रीय द्वन्द्वका क्रममा साउदी अरबले आफ्ना नागरिक तथा साउदी अरबमा रहेका नेपाली श्रमिकको सुरक्षा र संरक्षणका लागि अपनाएका सुरक्षा तथा सुरक्षात्मक उपायप्रति धन्यवाद व्यक्त गरेका थिए ।

    साउदी अरबमा कार्यरत केही नेपाली श्रमिकले आफूले गरेको कामको उचित पारिश्रमिक प्राप्त नगरेको भन्ने ‘रिपोर्ट’प्रति मन्त्री खनालले चासो व्यक्त गर्दै त्यस्ता विषयमा आवश्यक ध्यान दिन साउदी पक्षलाई आग्रह गरे । उनले साउदी अरबमा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल फिर्ता ल्याउने कार्यमा साउदी अधिकारीहरूले पु¥याउँदै आएको सहयोगको पनि प्रशंसा गरे।

    भेटमा दुवै पक्षले नेपाल–साउदी अरबबीच विद्यमान सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै पारस्परिक हितका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । राजनीतिक परामर्श, लगानी, पर्यटन, हवाई सम्पर्क, श्रम गतिशीलता तथा साउदी अरबमा रहेका नेपाली श्रमिकको कल्याणलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो ।

    “नेपाल साउदी अरबसँग राजनीतिक तथा कूटनीतिक सम्बन्धसँगै लगानी, पर्यटन, हवाई सम्पर्क, श्रम र अन्य आर्थिक क्षेत्रमा सहकार्य विस्तार गर्न इच्छुक छ । दुई देशबीचको विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई अब थप परिणाममुखी साझेदारीमा रूपान्तरण गर्न आवश्यक छ,” मन्त्री खनालले भने । नेपाल र साउदी अरबबीच सन् १९७७ मार्च १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ ।

  • पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

    काठमाडौँ, ४ भदौः नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ । नेपालस्थित जापानी राजदूतावासले ‘मनास्लु प्लेटिनम जुब्ली’ कार्यक्रम सफल बनाउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरेको हो । नेपालस्थित जापानी राजदूत माइदा तोरुले मनास्लु हिमालको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा नेपाल पर्वतारोहण सङ्घले ‘मनास्लु प्लेटिनम जुब्ली’ सफलतापूर्वक सम्पन्न गरेको भन्दै आज सम्मान गरेको हो ।

    राजदू त तोरुले नेपाल पर्वतरोहण सङ्घका अध्यक्ष फुरगेल्जे शेर्पालाई उक्त सम्मानपत्र प्रदान गरे । सम्मान ग्रहणपछि अध्यक्ष शेर्पाले जापानी दूतावासबाट प्राप्त यो सम्मान नेपाल पर्वतारोहण सङ्घका लागि ठूलो उपलब्धि भएको बताए । उनले मनास्लु हिमालको आरोहण इतिहास र नेपाल–जापानबीचको पर्वतीय सम्बन्धलाई थप सुदृढ बनाउन सङ्घले निरन्तर भूमिका निर्वाह गर्ने उल्लेख गरे ।


    कार्यक्रममा राजदूत तोरुले ‘मनास्लु प्लेटिनम जुब्ली’ कार्यक्रम सफल बनाउन नेपाल पर्वतारोहण सङ्घले खेलेको महत्वपूर्ण भूमिकाको कदरस्वरूप सम्मान गरिएको बताए । कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका पदाधिकारी, सदस्य तथा नेपालस्थित जापानी राजदूतावासको प्रतिनिधिको सहभागिता रहेको थियो ।

  • भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता

    भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता

    काठमाडौँ, ३ भदौः प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ तथा श्रीमती कोमल सेठ चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदिपजङ्ग केसी र उनकी धर्मपत्नीले बिदाइ गरे ।

    भ्रमणको दौरान सेनाध्यक्ष सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए । उनले आफ्नो भ्रमणको दौरान राष्ट्रपति, प्रधानमन्त्री एवं रक्षा मन्त्री र प्रधान सेनापतिसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए । सेनाध्यक्ष सेठको भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुगेको नेपाली सेनाले जनाएको छ ।

  • परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट

    काठमाडौँ, २ भदौः परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली सङ्घ (ईयू)का राजदूत भेरोनिक लोरेन्जोले आज बिदाइ भेट गरेकी छिन् । परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल–ईयू सम्बन्ध, आपसी हित तथा चासोका विभिन्न विषयमा छलफल भएको थियो । सो अवसरमा राजदूत लोरेन्जोले परराष्ट्र मन्त्रालयसँगको उत्कृष्ट सम्बन्धका लागि धन्यवाद व्यक्त गर्दै मन्त्रालय सहयोगी, सक्रिय र उत्तरदायी रहेको बताइन् । उनले परराष्ट्रमन्त्री खनालको नेतृत्व र मार्गदर्शनप्रति खुसी व्यक्त गरिन् ।


    परराष्ट्रमन्त्री खनालले राजदूत लोरेन्जोको खुलापन, इमानदारी र सहयोगका लागि धन्यवाद दिँदै नेपाल र परराष्ट्र मन्त्रालयप्रति उनले देखाएको सहयोगको प्रशंसा गरे । भेटमा राजदूत लोरेन्जोले ईयू नेपालसँग हिमाल तथा पानीसम्बन्धी एजेन्डामा सहकार्य गर्न इच्छुक रहेको बताए । परराष्ट्रमन्त्री खनालले हिमालसम्बन्धी विषय नेपाल सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै सगरमाथा संवादको दोस्रो संस्करण आगामी वर्ष आयोजना हुने जानकारी दिए । राजदूत लोरेन्जोले सुरक्षित, व्यवस्थित र मर्यादित आप्रवासनका क्षेत्रमा ईयूले नेपालसँग सहकार्य गर्ने योजना रहेको बताइन् ।


    मन्त्री खनालले उक्त प्रस्तावको स्वागत गर्दै थप अध्ययन तथा विचारका लागि विस्तृत जानकारी उपलब्ध गराउन आग्रह गरे । उनले सुरक्षित र मर्यादित आप्रवासन नेपालका लागि प्राथमिकताको विषय रहेको उल्लेख गर्दै विदेशमा रहेका नेपाली डायस्पोराको संरक्षणप्रति सरकार गम्भीर छ भने ।


    भेटवार्तामा नेपाल अल्पविकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुने प्रक्रियामा देखिएको स्थगनका विषयमा समेत छलफल भएको थियो । राजदूत लोरेन्जोले नेपालले ठोस कार्ययोजना र आवश्यक विवरण प्रस्तुत गरेपछि ईयूले सहयोग गर्ने बताइन् । त्यस अवसरमा नेपाली कला, संस्कृति तथा सभ्यताको प्रवर्द्धन, खुलापन र अभिव्यक्ति स्वतन्त्रताका विषयमा समेत छलफल भएको थियो ।

    राजदूत लोरेन्जोले नेवा कला प्रदर्शनीसम्बन्धी कार्यक्रमका लागि परराष्ट्र मन्त्रालयको सहयोगका लागि आग्रह गरेकी थिइन् । जवाफमा मन्त्री खनालले नेपालको सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि सरकारको निरन्तर सहयोग र प्रतिबद्धता रहने बताए ।

  • नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ : पर्यटन मन्त्री

    नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ : पर्यटन मन्त्री

    काठमाडौँ, २ भदौः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई यूरोपेली सङ्घको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढताका साथ अघि बढिरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयगत विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले उडान सुरक्षाप्रतिको नेपालको प्रतिबद्धता, सुधारात्मक कार्ययोजनाको कार्यान्वयन, नियामकीय क्षमता अभिवृद्धि, संस्थागत सुधार र यूरोपेली सङ्घसँगको निरन्तर संवादका आधारमा छिट्टै सो सूचीबाट हट्ने विश्वास व्यक्त गरे । उनले यूरोपेली सङ्घबाट सुधारात्मक कार्ययोजनाको समीक्षा नतिजा प्राप्त भएपछि यसका आधारमा आवश्यक थप कदम अघि बढाइने स्पष्ट पारे ।


    यूरोपेली सङ्घको उडान सुरक्षा सूचीबाट नेपाललाई हटाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको जनाउँदै मन्त्री पौडेलले नेपाललाई उक्त सूचीबाट हटाउन उडान सुरक्षा प्रणालीको सुधारसँगै नियामकीय क्षमता अभिवृद्धि, संस्थागत सुधार र कूटनीतिक पहललाई समानान्तररूपमा अघि बढाइएको बताए ।


    यूरोपेली सङ्घले सन् २०२३ को सेप्टेम्बर ११–१५ नेपालमा स्थलगत उडान सुरक्षा मूल्याङ्कन सम्पन्न गरेको थियो । “उक्त मूल्याङ्कनको खुला निष्कर्षलाई अहिलेसम्म कार्यान्वयन नभएको अवस्था थियो । हामी आइसकेपछि ५ जुन २०२६ मा युरोपेली सङ्घसमक्ष यसको विवरण पेस गरेका छौँ, सङ्घले पनि १२ जुन २०२६ मा पठाएको जानकारी अनुसार ती सुधारात्मका कार्ययोजनाको समीक्षा छिट्टै उपलब्ध गराउने भन्नुभएको छ”, मन्त्री पौडेलले भने । उनले हवाई सुरक्षा तथा नियमनसम्बन्धी प्राविधिक क्षमता अभिवृद्धिका लागि अन्तरराष्ट्रिय साझेदारसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।


    “संस्थागत सुधारतर्फ महत्त्वपूर्ण काम अघि बढाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामकीय निकाय र सेवा प्रदायक निकायकारूपमा विशिष्टकृट गरी छुट्टाछुट्टै संस्थागत संरचना स्थापना गर्ने सन्दर्भमा आवश्यक विधेयक तर्जुमा गरिसकिएको र छिट्टै सदनमा पेस गरिनेछ”, मन्त्री पौडेलले भने ।


    प्राविधिक तथा संस्थागत सुधारसँगै सरकारले यस विषयमा कूटनीतिक तहबाट निरन्तर सक्रिय पहल भइरहेको जानकारी दिँदै उनले यसक्रममा नेपालका लागि यूरोपेली सङ्घका राजदूतसँग व्यक्तिगत रूपमा भेटघाट गरी नेपालले उडान सुरक्षाका सुधारका क्षेत्रमा गरेको प्रगति, सुधारात्मक कार्ययोजनाको कार्यान्वयन र आगामी योजनाबारे छलफल गरिएको स्पष्ट पारे ।


    यूरोपेली सङ्घका सदस्य राष्ट्रका नेपालस्थित र गैरआवासीय राजदूतसँग पनि भेटघाट गरी नेपाललाई उडान सुरक्षा सूचीबाट हटाउने विषयमा नेपालको प्रतिबद्धता, सुधारका प्रयास र आगामी कार्यदिशाबारे जानकारी गराउँदै आवश्यक सहयोग र सकारात्मक भूमिकाका लागि आग्रह गरिएको उनको भनाइ छ ।

    “नेपाललाई यूरोपेली सङ्घको उडान सुरक्षा सूचीबाट हटाउने विषय केवल कूटनीतिक पहलबाट मात्र होइन, उडान क्षेत्रमा वास्तविक र मापनयोग्य सुधारमार्फत सुनिश्चित गर्नुपर्छ”, मन्त्री पौडेलले भने, “अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डअनुसार प्राविधिक र नियमामकीय सुधारलाई तीव्रता दिइएको छ । यूरोपेली सङ्घ र सदस्य राष्ट्रसँग उच्चस्तरीय कूटनीतिक संवादलाई निरन्तरता दिइएको छ ।”

  • राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल

    राहदानी विधेयकले राहदानी व्यवस्थापन प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउँछः मन्त्री खनाल


    काठमाडौँ, २ भदौः परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी विधेयक, २०८३ ले राहदानी जारी, रद्द र व्यवस्थापन तथा समग्र प्रक्रियालाई अन्तरराष्ट्रिय मान्यता अनुकूल बनाउने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले संशोधनमार्फत अन्तरराष्ट्रिय नागरिक उड्डयन (आइकाओ) को मापदण्ड र अन्तरराष्ट्रिय विश्वसनीयतालाई थप मजबुद बनाउने प्रयास गरिएको बताए ।

    मन्त्री खनालले विधेयकमार्फत प्रक्रियागत झन्झटलाई सरलीकृत गर्ने प्रयास गरिएको स्पष्ट पारे । “सक्कल कागजात पेस भएपछि अनावश्यक प्रतिलिपि मागिरहने पुरानो प्रशासनिक झन्झटलाई अन्त्य गरिएको छ”, उनले भने, “नागरिकले नागरिकताका आवेदन दिएको स्थानबाट मात्रै राहदानी लिनुपर्ने अव्यावहारिक बन्धन हटाइ सहज वितरणको व्यवस्था गरिएको छ ।”

    उक्त प्रस्तावमाथिको छलफलमा वर्षमान पुन, पद्मा अर्याल, पुष्पराज कँडेल, यज्ञमणि न्यौपाने, गङ्गालक्ष्मी अवाल, इन्दिरा राना मगर, हर्कराज राई, माधवबहादुर थापा, पारशमणि गेलाललगायत ३५ सांसदले भाग लिए । बैठकले उक्त प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।

    बैठकमा सभामुख डोलप्रसाद अर्यालले सो विधेयकमाथि संशोधनको सूचना दिन चाहने सांसदलाई सङ्घीय संसद् सचिवालयमा सूचना दिनसक्ने जानकारी गराए । त्यसअघि बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८१÷०८२’ पेस गरिन् ।


    सभामुख अर्यालले आजका लागि निर्धारित ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्ने बुँदा कार्यसूचीबाट हटाइएको जानकारी गराए । प्रतिनिधिसभा बैठक यही भदौ ३ गते अपराह्न १ बजे बस्नेछ ।

  • प्रदेशसभा सदस्य देउवा अमेरिकाबाट फर्किएनन्, नेपालमा पदमुक्त

    प्रदेशसभा सदस्य देउवा अमेरिकाबाट फर्किएनन्, नेपालमा पदमुक्त

    सुदूरपश्चिम, २ भदौँः सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवालाई पदमुक्त गरिएको छ ।
    सुदूरपश्चिम प्रदेशसभाका सचिव देवबहादुर बोगटीले नेपालको संविधान र प्रदेशसभा नियमावलीको प्रावधानअनुसार लगातार १० भन्दा बढी बैठकमा बिना सूचना अनुपस्थित रहेका कारण उनलाई पदमुक्त गरिएको जानकारी दिए । आजै सभामुख भीमबहादुर भण्डारीले देउवालाई पदमुक्त गर्नेसम्बन्धी निर्णय गरेको उनले बताए ।


    नेपालको संविधानको धारा १८० को (घ) मा प्रदेशसभा सदस्यको स्थान रिक्त हुनेसम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफामा सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित हुने प्रदेशसभा सदस्यको पद रिक्त हुने व्यवस्था छ । यस्तै, सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० ले पनि सोहीअनुसार व्यवस्था गरेको छ । देउवा गत वर्ष भदौ २८ गते जेनजी आन्दोलनलगत्तै व्यक्तिगत कामका लागि अमेरिका गएका थिए । उनी यसयता नेपाल फर्किएका छैनन् ।

  • विमानस्थलबाट निगमका दुई कर्मचारी पक्राउ

    विमानस्थलबाट निगमका दुई कर्मचारी पक्राउ


    काठमाडौँ, १ भदौः नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारीलाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२६, गोँगबु बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीया ममता पाण्डे रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।


    प्रहरीका अनुसार बज्राचार्यको साथबाट अमेरिकी डलर चार हजार ३०० तथा पाण्डेको साथबाट पनि सोही बराबरको डलर बरामद भएको छ । नेपाल वायुसेवा निगमको उडान नम्बर आरए १५ बाट काठमाडौँबाट क्वालालम्पुर जान लागेका उनीलाई विमानस्थलको अन्तरराष्ट्रिय उडानतर्फको प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ क्षेत्रमा शरीर खानतलासी गर्ने क्रममा विदेशी मुद्रा फेला परेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि बरामद मुद्रासहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक पठाइएको प्रवक्ता सिलवालले बताए ।

  • राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

    राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान


    काठमाडौँ, १ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले भारतीयस्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनापति सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।


    नेपाल र भारतबीच सन् १९५० देखि एक(अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्पराअनुसार सेठलाई सो सम्मान गरिएको हो । तीन दिने नेपाल भ्रमणका लागि सेनाध्यक्ष सेठ आइतबार नेपाल आइपुगेका हुन् । उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार र नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू एवं नेपालका लागि भारतका राजदूतको उपस्थिति थियो ।

  • नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

    नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी


    काठमाडौँ, १ भदौः नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी भएका छन् । समितिको गएराति सम्पन्न तेस्रो अधिवेशनबाट पाँच जना प्रतिस्पर्धीलाई पराजित गर्दै नेम्वाङ विजयी भएका हुन् । उनले २६६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी सिपी पौडयालले १३८ मत प्राप्त गर्नुभएको निर्वाचन प्रमुख भक्त थापाले जानकारी दिए ।


    यसैगरी, वरिष्ठ उपसभापतिमा विनोद भट्ट, हरिप्रसाद शर्मा, निमा बोम्जम, सञ्जीव श्रेष्ठ र श्रीराम थापा, युवा उपसभापतिमा सुशील खत्री, महामन्त्रीमा नारायण खनाल र गौतम दाहाल सहमहामन्त्रीमा अर्जुन बम र अनिता परियार र कोषाध्यक्षमा नारायणप्रसाद पोखरेल विजयी भए ।

    यसैगरी, सदस्यमा खेमराज बाँस्तोला, हरिप्रसाद खनाल, राजुप्रसाद रौनियार, देवराम ओली, पवन शर्मा, बलबहादुर केसी, मीनबहादुर खड्का, बेगबहादुर हमाल, लोकनाथ तिम्सिना, विश्वमान आङ्देम्बे, राजेन्द्र रेग्मी, दिनेश डाँगी, नवराज न्यौपाने, रोशनकुमार ढुङ्गाना, नेत्र केसी र अनिल पाण्डे विजयी हुनुभएको निर्वाचन प्रमुख थापाले बताए । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि विभिन्न जनसम्पर्क समितिको अधिवेशन सुरु भएको छ । नेपाली जनसम्पर्क समिति अमेरिकाको निर्वाचन भने ११ वर्षपछि भएको हो ।

  • टप एन्ड टी–२० मा नेपाल ‘ए’को परीक्षा, अवसरको सदुपयोग होला ?

    टप एन्ड टी–२० मा नेपाल ‘ए’को परीक्षा, अवसरको सदुपयोग होला ?

    रासस
    १ भदौ, काठमाडौं । अष्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा नेपाल दोस्रोपटक सहभागिता जनाउने तयारीमा छ । यसपटक नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिनियर टोलीको सट्टा ‘ए’ टिमलाई अष्ट्रेलिया पठाउन लागेको हो । टप एन्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टोलीमा अनुभवी र युवा खेलाडीको मिश्रण छ ।

    अनिलकुमार साहको कप्तानीमा रहेको टोली सन्तुलित रहेकाले नतिजा उत्कृष्ट निकाल्नेमा प्रशिक्षक र खेलाडी आशावादी छन् । नेपाल ‘ए’ टोलीका मुख्य प्रशिक्षक राजु बस्न्यातले खेलाडीले राम्रो तयारी गरेकाले अष्ट्रेलियामा सकारात्मक नतिजा निकाल्ने सम्भावना बलियो रहेको प्रतिक्रिया दिए । त्यहाँको पिचसँग घुलमिल हुन चुनौती रहे पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नेमा उनी विश्वस्त छन् ।


    “पछिल्लो १०–१२ दिनदेखि हामी नियमित अभ्यास गरिरहेका थियौँ । तयारी र टिम राम्रो छ । टोलीमा अनुभवी र युवा खेलाडीको राम्रो सहभागिता छ । अष्ट्रेलियामा रहँदा टी–२० र ५० ओभरको क्रिकेटमा पनि राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौँ । त्यहाँको अवस्थाको आत्मसात् गर्दै नेपाल ‘ए’ टिमका खेलाडीले उत्कृष्ट खेल्नेमा आशावादी छु”, मुख्य प्रशिक्षक बस्न्यातले टोलीको बिदाइ कार्यक्रममा भने ।


    उनले नेपाली क्रिकेटलाई बलियो बनाउन ‘ए’ टिमको अवधारण महत्त्वपूर्ण रहेको उल्लेख गरे । “दीर्घकालका लागि नेपाल ‘ए’ टिमको अवधारणा एकदमै राम्रो छ । पछिल्ला दिनहरूमा हेर्ने हो भने ‘ए’ टिमबाट नयाँ खेलाडी पनि सिनियर टिममा सिफ्ट भइरहेका छन् । यस्तै, सिनियर टोलीका खेलाडी लयमा फर्किनका लागि ‘ए’ टिममा आउने जुन अभ्यास भइरहेको छ, त्यसले नेपाली क्रिकेटको स्ट्रेन्थ बढाउन ‘ए’ टिम महत्त्वपूर्ण छ”, मुख्य प्रशिक्षक बस्न्यातले भने ।
    ‘राम्रो तयारीका साथ अस्ट्रेलिया जाँदैछौँ’

    नेपाल ‘ए’ टोलीका कप्तान साहले फरक–फरक तरिकाले अभ्यास गरेकाले टप एन्ड टी–२० सिरिजमा आफूहरूले उत्कृष्ट प्रदर्शन गर्ने बताए । अष्ट्रेलियाको महत्त्वपूर्ण प्रतियोगितामा सहभागिता जनाउन पाउँदा उत्साहित रहेको उनले बताए ।

    “हामीले पछिल्लो ८–१० दिनदेखि हेडकोचको निगरानीमा निरन्तर अभ्यास गरिरहेका थियौँ । त्यहाँको कन्डिसनअनुसार कसरी खेल्ने भन्नेबारे योजनाबद्ध प्रशिक्षण गर्यौँ । नेपाल ‘ए’ टोलीका लागि अष्ट्रेलिया भ्रमण महत्त्वपूर्ण छ”, कप्तान साहले भने, “कम समयमा पनि क्यानले क्याम्पको आयोजना गरेर सहयोग गर्यो । टप एन्ड टी–२० सिरिजजस्तो प्रतियोगितामा सहभागिता जनाउने अवसर जुराएको छ, त्यसका लागि क्यानलाई धन्यवाद । हामी यो प्रतियोगितामा पाएको मौकालाई सदुपयोग गर्न उत्साहित छौँ ।”

    नतिजामा सुधार गर्ने मौका

    नेपालले दोस्रोपटक टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन लागेको हो । गत संस्करणमा नेपालको सिनियर पुरुष टिमले यो प्रतियोगिता खेलेको थियो । उक्त संस्करणमा नेपालले लिग चरणको छ खेलमध्ये दुईमा जित र चार खेलमा पराजय व्यहोरेको थियो । यसपालि त्यो नतिजामा सुधार गरेर उपाधि जित्ने नेपाल ‘ए’ टोलीको योजना छ ।

    उक्त सिरिजमा नेपालले पहिलो खेल २१ अगस्टमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध खेल्नेछ । त्यस्तै, २२ अगस्टमा बङ्गलादेश हाई पर्फर्मेन्स, २४ अगस्टमा होबार्ट हरिकेन्स, २६ अगस्टमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, २७ अगस्टमा हैदराबाद किङ्समेन एकेडेमी तथा २९ अगस्टमा भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने तालिका छ ।

    टप एन्ड टी–२० सिरिजपछि नेपाल ‘ए’ले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अष्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेलसमेत खेल्ने क्यानले जनाएको छ । नेपालको सिनियर टोली एसिसी प्रिमियर लिगमा व्यस्त हुने भएकाले क्यानले ‘ए’ टोलीलाई अष्ट्रेलिया पठाउन लागेको हो । अष्ट्रेलिया जाने नेपाली ‘ए’ टोलीमा अनिलकुमार साह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, कुशल मल्ल, राशिद खान, पवन सर्राफ, दीपक डुम्रे, नारायण जोशी, आकाश चन्द, शाहब आलम, विपिन खत्री, रिजन ढकाल र युवराज खत्री छन् ।

  • भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा


    काठमाडौँ, ३१ साउनः प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने भ्रमणको सिलसिलामा आज काठमाडौँ आइपुगेका छन् । पाँच सदस्यीय भ्रमण दलमा उनकी धर्मपत्नी कोमल सेठ पनि सहभागी छिन् । उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसी र उनकी धर्मपत्नीले स्वागत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    भ्रमणका क्रममा सेनाध्यक्ष सेठलाई आगामी भदौ १ गते राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ ।

  • विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

    विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

    काठमाडौँ, ३१ साउनः विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता निर्धारण गरेको छ ।

    यसअघि त्रिभुवन विश्वविद्यालयले गर्दै आएको समकक्षता निर्धारणको जिम्मेवारी सरकारले विश्वविद्यालय अनुदान आयोगलाई दिएपछि आयोगले काम सुरु गरेको हो । आयोगका नवनियुक्त अध्यक्ष प्राडा खड्गबहादुर केसीले आफूले साउन २२ गते पदबहाली गरेको र साउन २५ गतेदेखि समकक्षता निर्धारणसम्बन्धी निर्णय गर्न थालिएको बताए ।


    उनका अनुसार हाल त्रिभुवन विश्वविद्यालयकै समकक्षता निर्धारण कार्यविधिअनुसार काम भइरहेको छ भने आयोगको नयाँ कार्यविधि स्वीकृतिको चरणमा छ। विज्ञ जनशक्ति अभाव भएपछि आयोगले त्रिभुवन विश्वविद्यालयबाट कर्मचारी काजमा ल्याएर समकक्षता निर्धारण गरिरहेको छ । आयोगका सदस्य पदहरू रिक्त रहेकाले ती पदमा नियुक्ति भएपछि नयाँ कार्यविधिले पूर्णता पाउने अध्यक्ष केसीले बताए । प्रस्तावित कार्यविधिमा आयोगका सचिवको अध्यक्षतामा समकक्षता निर्धारण समिति गठनको व्यवस्था गरिएको छ ।

    आयोगले साउन १ गतेदेखि समकक्षताका लागि अनलाइन माध्यमबाट आवेदन दिन खुला गरेको थियो। यसअघि उच्च शिक्षाको समकक्षता निर्धारणको काम त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षको कार्यालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले गर्दै आएको थियो। सरकारले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०८२’ मार्फत ‘विश्वविद्यालय अनुदान आयोग ऐन, २०५०’ संशोधन गरी विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्रदान गरिने शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने अधिकार आयोगलाई दिएको हो।

    शिक्षा तथा खेलकुद मन्त्रालयका उच्चाधिकारीका अनुसार नयाँ व्यवस्थाले विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थी तथा नेपालका विभिन्न विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता निर्धारणलाई एउटै केन्द्रीय निकायबाट व्यवस्थित गर्ने आधार तयार गरेको छ । संशोधित कानुनले आयोगलाई क्रेडिट ट्रान्सफर तथा विश्वविद्यालयको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए)सम्बन्धी काम गर्ने अधिकार प्रत्यायोजन गरिएको छ । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रबाट यसअघि जारी भएका समकक्षता प्रमाणपत्र भने नयाँ व्यवस्थाका कारण पुनः समकक्षता गराउनुपर्दैैन ।

  • इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त

    इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त

    काठमाडौँ, ३१ साउनःपरराष्ट्रमन्त्री शिशिर खनालले इन्डोनेसियाको फ्लोरेस द्वीपमा भएको भूकम्पबाट जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गरेका छन् । भूकम्पको विनाश भोगिसकेको नेपालले प्राकृतिक विपद्का पीडा र दुःखलाई बुझेको बताउँदै सामाजिक सञ्जालमार्फत मन्त्री खनालले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट इन्डोनेसिया सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता तथा सहानुभूति व्यक्त गरेका छन् ।

    “नेपाल सरकार तथा नेपाली जनताले भूकम्पमा परी ज्यान गुमाएकाहरूका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्,” भूकम्पबाट प्रभावित, बेपत्ता तथा विस्थापित सबैको सुरक्षा, उद्धार तथा राहतका साथै शीघ्र पुनःस्थापनाको कामना गर्दै उनले लेखेका छन् ।

  • नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह

    नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह


    ३० साउन, काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन् । चीनको ग्वाङझाउ सहरमा आजबाट सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिँदै उनले यस्तो धारणा राखेका हुन् ।

    सरकारले लगानीको माहोल बनाउने, देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन गरिरहेको भन्दै उहाँले नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरूलाई आग्रह गरे । “प्रवासी साथीहरू, अब नेपाल आएर ढुक्कसँग नेपालमा लगानी गर्नुहोस्। पर्यटन, सूचना प्रविधि क्षेत्रमा, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषिमा र आयात प्रतिस्थापन हुने क्षेत्रहरूमा लगानी गर्नुहोस्,” उनले भिडियो सन्देशमार्फत भने ।


    सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको उहाँको भनाइ छ। बजेटबाट २७ वटा नयाँ कानुनी ऐन ल्याएर लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको भन्दै अर्थमन्त्री वाग्लेले सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताए । सरकारको आम्दानी बढाउन कर प्रणालीमा सुधार गरेको पनि उहाँको भनाइ छ। बजेटमार्फत आर्थिक राजकाजको जहाज मोडेको र पहिलो वर्ष सुधारको सुरुआत मात्रै गरेको उनले बताए ।


    “पहिलो वर्ष सुधारको सुरुआत गर्यौँ, दोस्रो वर्ष अझै फराकिलो सुधारको काम अघि बढ्नेछ। तेस्रो र चौथो वर्ष सुधारको नतिजा देखिनेछ। चौथो र पाँचौँ वर्षमा यसको प्रतिफल जनताले पाउनेछन्,” अर्थमन्त्रीले भने । यी सबै लक्ष्य प्राप्तिका लागि आन्तरिक स्रोत अत्यन्तै महत्वपूर्ण भएको, बाह्य लगानीको स्रोत अप्ठ्यारो अवस्थामा रहेको र यही बेला प्रवासीको ज्ञान र पुँजी सरकारलाई चाहिएको उनको भनाइ छ।

    प्रवासको पुँजी र लगानी परिचालनको विषयमा पार्टीको घोषणा पत्रमा पनि उल्लेख भएको र सरकारले पनि विशेष पहल गरिएको उनले बताए । “निर्वाचनको घोषणापत्रमा पनि हामीले सफ्ट पावरको उपयोगका कुरा गरेका थियौँ। अहिले सरकारले डायस्पोराको लगानी र ज्ञान नेपाल भित्र्याउने नीति लिएको छ।

    केही दिन अघि मात्रै हामीले धितोपत्र बाँडफाँड तथा निष्काशन नियमावलीमा संशोधन गरेर नेपाल सरकार र एनआरएन इन्भेस्टमेन्ट फण्डबाट जारी हुने सेयरको हिस्सा ८५ प्रतिशत पुर्याएका छौँ,” अर्थमन्त्रीले भने, “आउनुहोस्, ढुक्क भएर लगानी गर्नुहोस्। आफ्नो ज्ञान र सीपलाई यहाँ प्रयोग गर्नुहोस्।” सरकारले रुग्ण उद्योगहरूलाई पनि ब्युँताउँदै गरेको र यसलाई पुनर्ताजगी गरेर सञ्चालनका लागि राम्रो सीप र ज्ञान भएकालाई दिने भन्दै त्यसमा पनि प्रवासले सहभागिता जनाउन सक्ने अर्थमन्त्रीले बताए ।

  • प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना

    प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना


    काठमाडौँ, ३० साउन । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा उनका समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदीसहित भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गरेका छन् ।

    उनले नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकट सम्बन्ध तथा दुई देशबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गरेका छन् । “नेपाल र भारतबीचका गहिरो ऐतिहासिक सम्बन्ध, जनताबीचको निकट सम्बन्ध र सहकार्य आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस्,” प्रधानमन्त्री शाहले शुभकामना सन्देशमा भनेका छन् ।

  • परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    काठमाडौँ, ३० साउनः परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतका विदेशमन्त्री एस. जयशङ्कर, भारत सरकार तथा मैत्रीपूर्ण भारतीय जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । नेपाल र भारतबीच गहिरो ऐतिहासिक तथा सभ्यतागत सम्बन्ध, घनिष्ठ जनस्तरीय सम्पर्क तथा बहुआयामिक साझेदारी रहेको उल्लेख गर्दै सन्देशमा उनले आगामी दिनमा नेपाल–भारतबीचको आत्मीय सम्बन्ध, मित्रता र आपसी सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

    नेपाल र भारतबीच शताब्दीयौँदेखि रहँदै आएको पारस्परिक सद्भाव, सांस्कृतिक निकटता र सहकार्यले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गर्दै शुभकामना सन्देशमा साझा हितका क्षेत्रमा सहकार्य विस्तार हुँदै जाने अपेक्षा पनि मन्त्री खनालले गरेका छन् ।

  • बाबाधाम गएका तीन तीर्थयात्रीको निधन, १२ घाइते

    बाबाधाम गएका तीन तीर्थयात्रीको निधन, १२ घाइते

    रौतहट, २९ साउनः बोलबम यात्राका क्रममा भारतको झारखण्डस्थित बाबाधामतर्फ गएका रौतहट गरुडाका तीर्थयात्री सवार बस आज बिहान दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । झारखण्डको सतगावाँ क्षेत्रमा ट्रकसँग ठोक्किएर बसमा सवार तीर्थयात्री गरुडा नगरपालिका–६ का ६० वर्षीय नवलकिशोर जयसवाल र निजकी श्रीमती सुन्दरबाला देवी तथा १२ वर्षीय शिवम महतोको मृत्यु भएको हो ।

    गरुडा नगरपालिका–६ का वडाध्यक्ष रामबाबु चौधरीले बस दुर्घटनामा परी आफ्ना गाउँका तीन जना तीर्थयात्रीको मृत्यु भएको र १५ जना जति घाइते भएको जानकारी दिए । उनका अनुसार बसमा करिब ४५ जना नेपाली तीर्थयात्री रहेको र घाइतेहरूको झारखण्डअन्तर्गत सतगावाँस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु तथा घाइते हुने अधिकांश तीर्थयात्री गरुडा–६ पोठियाहीका बासिन्दा रहेका छन् ।

    बस दुर्घटनामा परेको जानकारी पाउनासाथ मृतक तथा घाइतेका आफन्तजन घटनास्थलतर्फ गएको र गरुडा–६ स्थित पोठियाही गाउँ अहिले शोकमा डुबेको वडा अध्यक्ष चौधरीले जानकारी दिए ।


    सोही घटनाका विषयमा जानकारी दिनुहुँदै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सीताराम रिजालले पाँच दिनअघि बाबाधाम प्रस्थान गरेका धार्मिक तीर्थयात्री सवार बस आज बिहान झारखण्डको सतगावाँ क्षेत्रमा ट्रकसँग ठोक्किदा तीन जनाको मृत्यु र १२ जना घाइते भएको बताउ । उनले मृतकको शव नेपाल ल्याउन र घाइते तीर्थयात्रीको उपचारको व्यवस्था मिलाउन झारखण्डस्थित प्रहरी संयन्त्रसँग पहल गरिएको र आवश्यक देखिए घटनास्थलतर्फ जाने तयारीसमेत भइरहेको जानकारी दिए ।


    यसैबीच स्थानीयवासीको तर्फबाट निधन भएकाको शव नपाल ल्याउन र घाइतेहरूको राम्रोसँग उपचार व्यवस्था मिलाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गरिएको छ । रौतहटमा पछिल्ला वर्षहरूमा पहेँलो वस्त्र पहिरेर बोलबम भन्दै बाबाधाम तीर्थयात्रा जानेक्रम बढेको छ ।

  • नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार

    नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार

    काठमाडौँ, २९ साउनः परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्याएका छन् । उनले नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध पञ्चशीलका सिद्धान्त, असल छिमेकीपन, पारस्परिक साझेदारी, सहकार्य, समानता र एकअर्काका भावना र संवेदनशीलताप्रतिको सम्मानमा आधारित रहेको बताए ।


    नेपाल र चीनबीचको कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव समारोह तथा २०२६ नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगिताको पुरस्कार वितरण समारोहका अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा बोल्दै परराष्ट्रसचिव राईले यो वार्षिकोत्सव ‘हाम्रो कूटनीतिक पात्रोको एउटा सिलसिलामात्र नभई चिरस्थायी सम्बन्धको प्रमाण हो’ भने ।


    सात दशकको अवधिमा द्विपक्षीय सम्बन्ध, परम्परागत सम्बन्ध र सांस्कृतिक आदानप्रदानबाट साझा समृद्धिका लागि बृहत् साझेदारीसम्म विस्तार भएको परराष्ट्रसचिव राईले उल्लेख गरे । उनका अनुसार उच्चस्तरीय भ्रमणलगायत विभिन्न तहका आदानप्रदानले नेपाल–चीन सम्बन्धका सबै पक्षमा गतिशीलता र जीवन्तता भर्दै मित्रता बढाएका छन् ।

    द्विपक्षीय सम्बन्धका साथै नेपाल र चीनले नियममा आधारित विश्वव्यापी व्यवस्थाका लागि बहुपक्षीयताप्रति दृढ प्रतिबद्धता जनाएको र साझा हितका विषयमा विभिन्न बहुपक्षीय मञ्चमा सहकार्य गर्दै आएको उनले बताए । एक असल मित्र र नजिकको छिमेकीका रूपमा चीनले हासिल गरेको अद्भूत आर्थिक विकासप्रति नेपालले गौरव गरेको र त्यसबाट सिक्न तथा फस्टाउँदो चिनियाँ अर्थतन्त्रसँग नेपालको आर्थिक सहकार्य पनि गहिरो बनाउन चाहेको उनले स्पष्ट पारे ।

    विगत सात दशकमा नेपाल र चीनबीच व्यापार, लगानी, पूर्वाधार विकास, पर्यटन, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धमा व्यापक विस्तार भएको छ भन्दै सचिव राईले ट्रान्स–हिमालयन बहुआयामिक सम्पर्क सञ्जाल र यसको शीघ्र कार्यान्वयनलाई नेपालले महत्व दिने बताए ।

    सो अवसरमा चिनियाँ राजदूत चाङ माओमिङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि हालसम्म अन्तरराष्ट्रिय परिदृश्य जतिसुकै परिवर्तन भए पनि एकअर्कालाई सम्मान, विश्वास र समर्थन गर्दै आएको र सुखदुःखमा सँगसँगै उभिने असल छिमेकी, असल मित्र र असल साझेदार भएको धारणा राखे ।


    नेपालमा नयाँ सरकार गठन भएदेखि नेपाल–चीनबीचको राजनीतिक पारस्परिक विश्वास गहन हँुदै गएको र उच्चस्तरीय ‘बेल्ट एन्ड रोड सहकार्य’ ठोस परिणामसहित अगाडि बढिरहेको चिनियाँ राजदूतको भनाइ छ । व्यापार तथा अर्थतन्त्र, पूर्वाधार, सम्पर्क–सञ्जाल, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलगायतका क्षेत्रमा नयाँ प्रगति हासिल भएको भन्दै राजदूत माओमिङले ठूलो सङ्ख्यामा चिनियाँ पर्यटक नेपालको अनुपम सुन्दरता हेर्न आइरहेको बताए । दुई देशका जनताबीचको यी सामान्य तर न्यानो आदानप्रदान नै आजको नेपाल–चीन सम्बन्धको वास्तविक जग भएको राजदूत माओमिङको कथन थियो ।

    सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले गर्नुभएको नेपालको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई ‘विकास र समृद्धिका लागि दीर्घकालीन रणनीतिक साझेदारी’को स्तरमा पुर्याएको राजदूत माओमिङले स्मरण गरे । राजदूत माओमिङले चीनले सधैँ शान्तिपूर्ण विकासको बाटो अवलम्बन गर्दै आएको तथा सबै देश उनीहरूको आकार, शक्ति वा जेसुकै आर्थिक अवस्थाजस्तो भए पनि एकअर्कालाई सम्मान, समान व्यवहार गर्नुपर्छ र शान्तिपूर्वक सहअस्तित्वमा रहनुपर्छ भन्ने मान्यता राख्दै आएको विचार व्यक्त गरे ।


    उनले चीन नेपालसँग पारस्परिक सम्मान र पारस्परिक लाभमा आधारित भई दुई देशबीचको सम्बन्धलाई अझ अगाडि बढाउन, दुवै देशबीच भएका महत्त्वपूर्ण समझदारी कार्यान्वयन गर्न र नेपाल–चीनबीच साझा भविष्यको समुदाय निर्माणलाई अगाडि बढाउन तयार रहेको जानकारी गराए । राजदूत माओमिङले डिजिटल युगमा छोटा श्रव्यदृश्य सामग्रीले भाषा, दूरी र संस्कृतिका सीमाभन्दा माथि उठेर विषयवस्तुलाई केही सेकेन्डमै व्यापक दर्शकसमक्ष पुर्याउन सक्ने भन्दै खुसी व्यक्त गरे ।

    यस वर्षको नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगितामा ठूलो सङ्ख्यामा भिडियोहरू प्राप्त भएका र प्रतिस्पर्धीहरूले नेपाल–चीन सम्बन्धका विविध आयाम र दुई देशका सुन्दर दृश्य समेटेकामा प्रशंसा गरे । श्रव्यदृश्य सामग्रीमा भावना र आत्मियता जोडिएको भन्दै उहाँले नेपाल–चीन सम्बन्ध केवल कूटनीतिक कागजातमा लेखिएको राजनीतिक सहमतिमात्र नभई दुई देशका जनताबीचको व्यापक सहकार्य, आदानप्रदान र भ्रमणमा पनि जीवित रहेको बताए ।


    कार्यक्रममा नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगितामा विजयी प्रतिस्पर्धीलाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो । प्रतियोगितामा दिपेश स्याङ्दानले प्रथम पुरस्कार पुरस्कारसँगै रु ५० हजार प्राप्त गरे । सो अवसरमा विभिन्न राजनीतिक दलका नेता, कूटनीतिज्ञ, व्यवसायी तथा अन्य क्षेत्रका व्यक्तिको उपस्थिति थियो ।

  • प्रमुख प्रतिपक्षी नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

    प्रमुख प्रतिपक्षी नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

    काठमाडौँ, २८ साउनः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा आङ्देम्बेको शुक्रबारदेखि हुने चीन भ्रमण, ग्वाङ्झाउमा नेपाली संवत्अनुसार यही साउन ३० र ३१ गते आयोजना हुने गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एघारौँ एसिया क्षेत्रीय सम्मेलन तथा नेपाल–चीन द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ ।

    नेता आङ्देम्बेले आफ्नो चीन भ्रमणलाई सम्मेलनको सहभागितामा मात्र सीमित नराखी नेपाल–चीन सम्बन्ध, चिनियाँ विकास तथा शासन अभ्यास र दुई देशका संसद् तथा राजनीतिक दलबीचको सम्बन्धबारे अनुभव आदानप्रदान गरिएको बताए । नेपाल–चीन सम्बन्धलाई सरकार सरकारका सम्बन्धमा मात्र सीमित नराखी जनस्तरसम्म विस्तार गर्नुपर्ने धारणा उनको थियो । राजदूत माओमिङले पनि नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्नुपर्नेमा जोड दिए ।

  • पर्यटनमन्त्री पौडेलद्वारा दिवङ्गत आरोहीप्रति श्रद्धाञ्जली

    पर्यटनमन्त्री पौडेलद्वारा दिवङ्गत आरोहीप्रति श्रद्धाञ्जली

    काठमाडौँ, २८ साउनः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलले पाकिस्तानको ‘ब्रोड पिक’ मा हिमपहिरोमा परी ज्यान गुमाउनुभएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । गत साउन १४ गते हिमपहिरोमा परी ज्यान गुमाएका आरोही किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको पार्थिव शरिरमा आज माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

    उनले आरोहीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का महासचिव राजेन्द्र लामाले राससलाई जानकारी दिए । यही साउन २६ गते पाकिस्तानबाट नेपाल ल्याइएको शवमध्ये दोलखाका ग्यालु शेर्पा र सङ्खुवासभाका निमा शेर्पाको शव बौद्धस्थित शेर्पा गुम्बामा र दोलखाको रोल्वालिङका किली पेम्बा शेर्पाको शव आफ्नै घरमा राखेर बौद्ध परम्पराअनुसार पुजा गरिएको छ ।

    ग्यालु शेर्पा र निमा शेर्पाको आजै अन्त्येष्टि गरिएको छ भने किली पेम्बा शेर्पाको शुक्रबार अन्त्येष्टि गरिने महासचिव लामाले बताए । हिमपहिरोमा ज्यान गुमाएका गोरखाका पुरबहादुर गुरुङ ‘युक्ता’को भने साउन २१ गते नै अन्त्येष्टि गरिएको थियो । सोही हिमपहिरोमा ज्यान गुमाएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ को शव भने बेलायत लगिएको छ । उनको परिवार बेलायतमै रहेकाले शव बेलायत लगिएको हो । दुर्घटनास्थलबाट अझै एक नेपाली आरोहीको शव ल्याउन बाँकी रहेको छ । उक्त दुर्घटनामा ६ नेपालीसहित १० आरोहीले ज्यान गुमाएका थिए ।

  • समझदारीपत्रमा हस्ताक्षर

    समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौँ, २७ साउनः नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भारत सरकारले रु ८० करोड ३० लाख बराबरको सहयोग उपलब्ध गराउने भएको छ । परियोजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका सम्बन्धित निकाय र नेपालस्थित भारतीय राजदूतावासका अधिकारीले मङ्गलबार हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार कोशी प्रदेशको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘डिजिटलाइजेसन’, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा कृषि उत्पादन सङ्कलन तथा बिक्री केन्द्र निर्माण हुनेछ ।

    यस्तै, मोरङको बेलबारी नगरपालिका–३ मा बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण र सुनसरीको बर्जु गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण गरिनेछ । त्यस्तै, बागमती प्रदेशको धादिङको ज्वालामुखी गाउँपालिका–६ मा नगदे कृषि तथा पशुपन्छी केन्द्र भवन, कर्णाली प्रदेशको दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ मा १० शय्याको अस्पताल निर्माण हुनेछ । त्यस्तै, हुम्लाको सर्केगाड गाउँपालिका–४ मा कृषि प्रवद्र्धन केन्द्र र गण्डकी प्रदेशको स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ मा कोल्ड स्टोर निर्माण गरिनेछ । यी परियोजना नेपाल सरकारका स्थानीय निकाय तथा संस्थामार्फत कार्यान्वयन गरिने छ ।

  • अमेरिकी विदेश मन्त्रालयद्वारा एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

    अमेरिकी विदेश मन्त्रालयद्वारा एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

    वासिङ्टन, २६ साउन (रासस–क्युएनए) । अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक अभियान अनुरूप राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि विदेशी नागरिकहरूका लागि जारी गरिएका एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको जनाएको छ । विज्ञप्ति जारी गर्दै मन्त्रालयले अमेरिकी भिसा सर्तहरू उल्लङ्घन गर्ने, अपराध गर्ने, अमेरिकी नागरिकहरू विरुद्ध हिंसाको आह्वान गर्ने, अमेरिकीहरूलाई धोका दिने, आप्रवासन प्रणालीको दुरुपयोग गर्ने वा राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने विदेशी नागरिकहरूलाई लक्षित गरी भिसा रद्द गरेको बताएको छ ।

    कानुन प्रवर्तन अधिकारीहरूसँगको अन्तरक्रियामा मन्त्रालयले आक्रमण, मध्यपान वा लागुऔषधको प्रयोग गरी गाडी चलाउनु, चोरी र लागुऔषधसँग सम्बन्धित विभिन्न अपराधहरू लगायतका मुख्य कारणहरूले अधिकांश भिसा रद्द गरिएको बताएको छ । अमेरिकी विदेश मन्त्रालयले यसअघि जनवरीमा एक लाखभन्दा बढी भिसा रद्द गरेको घोषणा गरेको थियो । यो गत वर्ष ट्रम्पको ह्वाइट हाउस पुनरागमनपछि ट्रम्प प्रशासनले सुरु गरेको आप्रवासन नियन्त्रण नीतिको कार्यन्वयन भएको जनाइएको छ ।

  • ‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै

    ‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै

    काठमाडौँ, २६ साउनः पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदै छ । निधन भएकामध्ये किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत अपराह्न ४ः४५ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त दुर्घटनामा निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’ को शव यही साउन २१ गते नेपाल ल्याइसकिएको छ । दुर्घटनास्थलबाट एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीन जनाको शव फिर्ता ल्याउन बाँकी रहेको बताइएको छ ।

  • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

    प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

    काठमाडौँ, २५ साउनः प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उनीहरुबीच नेपाल–भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

    प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए । राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाए । यसैगरी, प्रधानमन्त्री शाहसँग आजै नेपालका लागि चीनका राजदूत चाङ माओमिङले पनि भेट गरेका छन् ।