Category: डायस्पोरा

  • पाल्पाली भलिबल कप २०२६ सम्पन्न

    पाल्पाली भलिबल कप २०२६ सम्पन्न

    राजा बगर
    दुबई
    पाल्पाली समाज यूएईले ‘पाल्पाली भलिबल कप २०२६’ सम्पन्न गरेको छ । यूएईको दुबईस्थित अल खवानिज स्पोर्ट क्लबमा जुलाई ५ मा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ उक्त खेल प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा आयोजक पाल्पाली समाज यूएईको दुई टिमसहित १५ टिम सहभागी भएका थिए । प्रतियोगिताको उपाधि परदेशी हातेमालो भलिबल टिम ‘ए’ प्रथम र आयोजक पाल्पाली समाज यूएईको ‘ए’ टिम उपविजेता बनेको थियो । त्यसैगरी सान्त्वना पुरस्कार पाल्पाली समाजकै ‘बी’ टिम र कास्की आदर्श समाजको टिमले हात पारेका थिए ।


    कार्यक्रममा प्रमुख अथितिको रुपमा दुबईमा रहेको नेपाली महावाणिज्य दूतावासका उपमहावाणिज्यदूत कृष्ण चापागार्इं रहेका थिए । प्रमुख अतिथिको हातबाट बल सर्भिस गरेर प्रतियोगिताको उद्घाटन गरिएको थियो । कार्यक्रममा यूएईमा रहेका विभिन्न संस्थाका प्रमुखहरु र खेलप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।


    उक्त प्रतियोगिताको प्रथम पुरस्कार राशि यूएई दिहराम ५५५५ (नेरु करिब २ लाख ३० हजार) द्वितीय पुरस्कार यूएई दिहराम ३१११ (नेरु करिब १ लाख ३० हजार) शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । सान्तवना पुरस्कारस्वरुप ६५० यूएई दिहराम (नेरु करिब २८ हजार) प्रदान गरिएको थियो । पाल्पाली समाज यूएईले स्थापनादेखि विभिन्न सामाजिक, सांस्कृतिक, सहयोगी कार्यहरु गर्दै आइरहेको छ ।

  • यूएई नेपाली क्रिकेट एसोसिएसनको तदर्थ समिति गठन

    यूएई नेपाली क्रिकेट एसोसिएसनको तदर्थ समिति गठन

    यूएई । यूएईमा रहेर लामो समयदेखि क्रिकेट खेल क्षेत्रमा क्रियाशील रहेका खेलाडी, समूह र व्यक्तिहरुको सक्रियतामा यूएई नेपाली क्रिकेट एसोसिएसनको तदर्थ समिति गठन भएको छ । दुबईस्थित डबल ट्री होटलको सभाहलमा ५ जुलाईमा आयोजित भेलाले नितेश लामाको अध्यक्षतामा यूएई नेपाली क्रिकेट एसोसिएसनको तदर्थ समिति गठन गरेको हो ।

    जसको वरिष्ठ उपाध्यक्षमा दिपान्कर डंगोल, उपाध्यक्षहरुमा विजय कार्की र अनिल पौडेल, महासचिवमा सूर्यविक्रम श्रेष्ठ, कोषाध्यक्षमा सुनिल रसाइली रहेका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः अनाश्रित सापकोटा, गणेश तिमिल्सिना, ज्युलहक अन्सारी, प्रविन कार्की, चित्र पुन, महेन्द्र परियार, नरेन्द्र धामी, सञ्जीव शाह, गणेश थापा र सञ्जय पुन रहेका छन् ।


    भेलाले ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसअनुसार रमेश श्रेष्ठ, मनोज मरहठ्ठा, राजाराम सुवेदी, इन्द्र थापा र सन्तोष खनाल रहेका छन् ।
    कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष मनोज श्रेष्ठ, मध्यपूर्व संयोजक रमेश श्रेष्ठ, यूएईमा क्रियाशील विभिन्न वैचारिक संघसंस्था, एनआरएन यूएई, नेपाल पत्रकार महासंघ लगायतको आतिथ्यता रहेको थियो ।


    कार्यक्रममा विभिन्न वक्ताहरुले शुभकामना मन्तव्य राख्दै विविध कारणले परदेसिन बाध्य भई यूएईमा रहेका नेपाली क्रिकेटप्रेमीहरुको लागि खुशीको खबर भन्दै एसोसिएसनले नेपाली क्रिकेट खेलाडीहरुको क्षमता र दक्षता अभिवृद्धि गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुग्ने खेलाडीहरुको विकास गर्न सफल रहोस् भन्ने शुभकामना दिएका थिए ।


    नवगठित तदर्थ समितिले यूएईमा क्रियाशील विभिन्न नेपाली क्रिकेट क्लबहरु र व्यक्तिहरु समेटेर बृहत भेलामार्फत एसोसिएसनलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

  • यूएईमा घर बेच्दै किशोर

    यूएईमा घर बेच्दै किशोर

    यूएई । के यूएईमा घर किन्न चाहनुहुन्छ ? घर, जग्गा, फ्ल्याट र अन्य प्रोपर्टीमा लगानी गर्न चाहनुहुन्छ ? नेपाली प्रवर्तक किशोर शाक्यलाई सम्झिए पुग्छ । सन् २००५ मा भिजिट भिसामा यूएई आएका किशोर प्रोपर्टी कन्सल्टेन्ट (रियल इस्टेट ब्रोकर) हँुदै आज के एण्ड कोर रियल इस्टेट एलएलसी स्थापना गरेर त्यसको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न सफल भएका छन् । उनै किशोरको सफलताको कथा उनकै शब्दमा :

    २००५ डिसेम्बर १३ । त्यो दिन मेरो जीवनको एउटा नयाँ अध्याय शुरु भएको दिन थियो । गृहयुद्धको पीडाले आक्रान्त नेपाल छाडेर म आफ्ना ६ जना साथीसँग भ्रमण (भिजिट) भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) आइपुगें । भविष्य कस्तो हुनेछ भन्ने कुनै निश्चितता थिएन । कलेजको पढाइ अधुरै थियो । अनुभव शून्य थियो । तर मनमा एउटा सपना थियो– मेहनत गरेर आफ्नो भविष्य आफैं निर्माण गर्ने ।


    मेरो पहिलो गन्तव्य बन्यो रस अल खैमाह । कुनै अनुभव नभए पनि पाँचतारे होटलमा वेटरको काम गर्ने अवसर पाएँ । शुरुआत सहज थिएन तर प्रत्येक चुनौतीलाई सिकाइको अवसरका रुपमा लिएँ । इमानदारी, निरन्तर मेहनत र सिक्ने चाहनाका कारण मैले क्रमशः पदोन्नति प्राप्त गर्दै व्यावसायिक यात्रा अघि बढाएँ । होटल क्षेत्रमा काम गर्दा संसारभरका मानिसहरुसँग भेट्ने, उनीहरुको संस्कृति बुझ्ने र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्ने अनुभवले मेरो व्यक्तित्व र सोचलाई नयाँ उचाइमा पु¥यायो ।


    सन् २०११ मा मैले पर्यटन क्षेत्रमा ट्राभल कन्सर्जका रुपमा नयाँ यात्रा शुरु गरें । पाँच वर्षसम्म अन्तर्राष्ट्रिय पर्यटकहरुसँग काम गर्दै ग्राहक सेवा, व्यवस्थापन र सम्बन्ध निर्माणका क्षेत्रमा महत्वपूर्ण अनुभव हासिल गरें । सन् २०१६ मा पर्यटन क्षेत्रमा कार्यरत रहँदै रियल इस्टेट क्षेत्रमा पनि पहिलो पाइला चालें । यही क्षेत्रमा मेरो भविष्य देख्न थालेको थिएँ । अन्ततः सन् २०१९ मा पूर्णकालीन रुपमा रियल इस्टेट व्यवसायमा समर्पित हुने निर्णय गरें । संयोगवश त्यसको केही समयपछि विश्वलाई कोभिड–१९ महामारीले प्रभावित बनायो । पर्यटन उद्योग लगभग ठप्प भयो, तर मैले त्यो संकटलाई अवसरमा बदल्ने अठोट लिएँ ।


    प्रोपर्टी कन्सल्टेन्ट (रियल इस्टेट ब्रोकर)का रुपमा शुरु भएको यात्रा आज के एण्ड कोर रियल इस्टेट एलएलसी स्थापना गरेर त्यसको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने सफलतासम्म आइपुगेको छ । आज म विश्वभरका लगानीकर्ता तथा परिवारहरुलाई यूएईको तीव्र गतिमा विकास भइरहेको रस अल खैमाहमा लगानीका अवसरहरु पहिचान गराउन सहयोग गरिरहेको छु । दुई दशकभन्दा बढी समयदेखि यही भूमिलाई आफ्नो दोस्रो घरका रुपमा अपनाउन पाएकोमा म गर्व गर्छु ।


    रस अल खैमाह आज विश्वको ध्यान आकर्षित गरिरहेको इमिरेट्स हो । यूएई तथा सम्पूर्ण खाडी क्षेत्रकै पहिलो गेमिङ रिसोर्ट विन अल मर्जान परियोजनासँगै यहाँ पर्यटन, आतिथ्य, पूर्वाधार र रियल इस्टेट क्षेत्रमा अभूतपूर्व सम्भावनाहरु सिर्जना भइरहेका छन् । यस्ता अवसरहरुलाई सही ढंगले उपयोग गर्न चाहने लगानीकर्ताहरुका लागि म आफ्नो अनुभव र ज्ञान बाँड्न सधैं तत्पर छु ।


    विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुसँग मेरो एउटा विनम्र आग्रह छ– आफ्नो मातृभूमिलाई कहिल्यै नबिर्सनुहोस् । जहाँ भए पनि नेपालसँगको सम्बन्ध जीवित राख्नुहोस् । यदि अवसर देख्नुहुन्छ भने नेपालमा लगानी गर्नुहोस् । व्यवसाय गर्नुहोस्, रोजगारी सिर्जना गर्नुहोस् र देशको समृद्धिमा आफ्नो योगदान दिनुहोस् । नेपालमा गरिएको लगानी केवल आर्थिक निर्णय होइन, त्यो आफ्नै माटो, आफ्नै पहिचान र भावी पुस्ताप्रतिको जिम्मेवारी पनि हो ।


    यदि तपाईं अन्तर्राष्ट्रिय रुपमा आफ्नो लगानी विस्तार गर्न चाहनुहुन्छ भने यूएई, विशेषगरी रस अल खैमाह, उत्कृष्ट गन्तव्य बन्न सक्छ । यहाँको दुई दशकभन्दा लामो बसाइ र रियल इस्टेट क्षेत्रमा हासिल गरेको अनुभवका आधारमा तपाईंलाई सही निर्णय लिन आवश्यक मार्गदर्शन गर्न पाउँदा मलाई खुशी हुनेछ ।


    मेरो जीवनयात्राले मलाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ– सफलताको शुरुआत तपाईं कहाँबाट गर्नुभयो भन्ने होइन, तपाईंले आफ्नो लक्ष्यप्रति कति इमानदारीका साथ निरन्तर प्रयास गर्नुभयो भन्ने हो । त्यसैले ठूलो सपना देख्नुहोस् । कडा मेहनत गर्नुहोस् । सिक्न कहिल्यै नछोड्नुहोस् । विनम्र रहनुहोस् । विवेकपूर्ण लगानी गर्नुहोस् । र जीवनको जुनसुकै उचाइमा पुगे पनि आफ्नो जन्मभूमि र आफ्ना जरा कहिल्यै नबिर्सनुहोस् । त्यही नै वास्तविक सफलता हो ।

    किशोर शाक्य
    संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)
    के एण्ड कोर रियल इस्टेट एलएलसी
    [email protected]

  • प्रवासी नेपाली एकता समाज, यूएईमा आचार्य

    प्रवासी नेपाली एकता समाज, यूएईमा आचार्य

    यूएई । राष्ट्रिय प्रजातन्त्र पार्टीको यूएई संगठन प्रवासी नेपाली एकता समाज, यूएईको अध्यक्षमा नारायण आचार्य सर्वसम्मत चयन भएका छन् । बरदुबईको गाउँबेशी रेष्टुरेण्टको सभाहलमा ५ जुलाईमा आयोजित समाजको तेस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

    नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हरि कँडेल, महिला उपाध्यक्षमा वसन्ती रायमाझी, उपाध्यक्षमा रामप्रसाद पाण्डे र हरिहर जयसवाल, महासचिवमा रामप्रसाद ढकाल, सचिवमा सागर दाहाल र सन्तोषकुमार न्यौपाने (सम्पत कुमार), कोषाध्यक्षमा सञ्जीव आर्यवीर, सहकोषाध्यक्षमा विजय तिवारी, सहसचिवमा अर्पणा ढुङ्गाना र बलेन्द्र मल्ल, प्रवक्तामा कृष्ण खड्का तथा सहप्रवक्तामा मित्रलाल कुँवर निर्वाचित भएका हुन् । निर्वाचन समितिका संयोजक गोपालप्रसाद पराजुलीले उक्त कार्यसमिति घोषणा गरेका थिए ।


    त्यसैगरी सदस्यहरुमा पार्वती सिग्देल, दीपा सुवेदी, छविलाल पाण्डे, टीकाराम कोइराला, ज्योती खनाल, रमा शर्मा, स्वेता नेपाल, देवी पाण्डे, बिन्दु पाण्डे, पञ्चकुमारी छेत्री, गीता खरेल, दुर्गा सापकोटा, मणि काश्यप, अनीश सुनार, रमेश गिरी र दुर्गाप्रसाद कोइराला चयन भएका छन् ।


    अधिवेशन समाजका तत्कालीन कार्यबाहक अध्यक्ष नारायण आचार्यको अध्यक्षता तथा र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तोयानाथ लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद ढकालले गरेका थिए । कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


    वसन्ती रायमाझीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तोयानाथ लम्सालले विदेशमा रहेका नेपालीहरु नै राष्ट्र र राष्ट्रिताको सवालमा गम्भीर हुने उल्लेख गर्दै प्रवासी नेपालीहरुको एकता, श्रमिक अधिकार, सामाजिक सेवा तथा संस्कृति संरक्षणमा संस्थाले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।

  • सङ्गेको लगनको प्रतिफल : सामान्य बारिस्टाबाट प्रोफेसनल ब्रुअरसम्मको यात्रा

    सङ्गेको लगनको प्रतिफल : सामान्य बारिस्टाबाट प्रोफेसनल ब्रुअरसम्मको यात्रा

    अबुधाबी । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा कार्यरत नेपाली युवा सङ्गे थिङले अन्तर्राष्ट्रिय क्राफ्ट बियर उद्योगमा उल्लेखनीय सफलता हासिल गरेका छन् । अबुधाबीस्थित Craft by Side Hustle मा ब्रुअरका रुपमा कार्यरत थिङ आफू यूएई तथा खाडी क्षेत्रका पहिलो नेपाली प्रोफेसनल क्राफ्ट बियर ब्रुअर भएको दाबी गर्छन् । आतिथ्य तथा पेय पदार्थ उद्योगमा उनको उपलब्धिलाई नेपाली युवाका लागि नयाँ सम्भावनाको उदाहरणका रुपमा हेरिएको छ ।


    काठमाडौंको स्वयम्भूमा जन्मिएका थिङ सन् २०१७ मा १८ वर्षको उमेरमा रोजगारीका लागि यूएई आएका थिए । उनले दुबईको एक कफी घरमा जुनियर बारिस्टाका रुपमा आफ्नो व्यावसायिक यात्रा शुरु गरेका थिए । कफीप्रतिको रुचि, निरन्तर अभ्यास र सिक्ने इच्छाशक्तिका कारण उनले छोटो समयमै बारिस्टा क्षेत्रमा आफ्नो दक्षता विकास गरे ।


    सन् २०१८–२०१९ मा उनले यूएईमा कार्यरत नेपाली कफी श्रमिकहरुसँग मिलेर ‘नेपाली बारिस्टा कम्युनिटी’ स्थापना गर्न महत्वपूर्ण भूमिका खेले । उक्त समूहले नेपाली बारिस्टाबीच सीप विकास, अनुभव आदान–प्रदान र व्यावसायिक सहकार्यलाई प्रवद्र्धन गर्दै आएको छ ।


    पछि उनी स्पेशालिटी कफी शप सञ्चालनमा आबद्ध भए । त्यहाँ उनले नयाँ कफी तथा पेय पदार्थका रेसिपी विकास गर्नुका साथै हेड बारिस्टाको जिम्मेवारी पनि सम्हाले । त्यसपछि बार टेन्डिङ क्षेत्रमा प्रवेश गर्दै उनले स्पिरिट, वाइन, ककटेल र बियरसम्बन्धी अध्ययन तथा व्यावहारिक अनुभव हासिल गरे । यही अनुभवले उनलाई क्राफ्ट बियर उत्पादनतर्फ आकर्षित गरायो ।


    त्यसपछि उनी अबुधाबीस्थित Craft by Side Hustle मा बार टेन्डरका रुपमा आबद्ध भए । बारमा कामसँगै ब्रुअरीको उत्पादनमा नयाँ प्रयोग र अनुसन्धान प्रक्रियामा सक्रिय रुपमा सहभागी हुँदै उनले ब्रुइङसम्बन्धी प्राविधिक ज्ञान हासिल गरे । उनको मेहनत, अनुशासन र सिकाइप्रतिको लगावबाट प्रभावित म्यानेजर ब्रुमास्टरले उनलाई पूर्णकालीन ब्रुइङ अप्रेन्टिसको अवसर प्रदान गरेका थिए ।


    करिब एक वर्षको प्रशिक्षणपछि ब्रुमास्टर अमेरिका फर्किएपछि कम्पनीले सम्पूर्ण ब्रुइङ जिम्मेवारी थिङलाई सुम्पियो । उनले उत्पादनको गुणस्तर कायम राख्दै कम्पनीको विश्वास जितेका छन् । हालसम्म उनले १८० भन्दा बढी ब्याच क्राफ्ट बियरको उत्पादन प्रयोग गरिसकेका छन् भने ८० भन्दा बढी नयाँ बियर शैली र रेसिपी विकास गरेका छन् ।

    उनले तयार गरेको ‘Himalayan Haze’ नेपाली समुदाय र मातृभूमि नेपालप्रति समर्पित विशेष क्राफ्ट बियरका रुपमा परिचित छ । थिङका अनुसार नेपाली युवाले परम्परागत रोजगारीमा मात्र सीमित नभई सीप, अध्ययन र निरन्तर अभ्यासका माध्यमबाट विश्व बजारमा नयाँ क्षेत्रको नेतृत्वसमेत गर्न सक्छन् । सामान्य बारिस्टाबाट अन्तर्राष्ट्रिय स्तरका प्रोफेसनल ब्रुअरसम्मको उनको यात्रा मेहनत, लगन र व्यावसायिक दक्षताको प्रेरणादायी उदाहरण बनेको छ ।

  • ब्लोअपमा : कुशल बुचा

    ब्लोअपमा : कुशल बुचा

    ठेगाना : गुल्मी दरबार गाउँपालिका–७, चारपाला, गुल्मी
    हाल : दुबई, संयुक्त अरब इमिरेट्स
    उमेर : ३८ वर्ष
    उचाइ : १७३ सेन्टिमिटर
    शैक्षिक योग्यता : डिप्लोमा

    कुशल बुचा दुबईमा कार्यरत एक सक्रिय समाजसेवी, कलाकार तथा मोडल हुन् । उनी हाल इक्लिप्स इलेक्ट्रोनिक्स डीएमसीसीमा बिक्री कार्यकारीका रुपमा कार्यरत छन् । कला तथा मनोरञ्जन क्षेत्रमा उनले विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । सन् २०१८ मा दुबईमा आयोजित मोडल गीत अवार्डअन्तर्गत उत्कृष्ट मोडल सम्मान प्राप्त गरेका थिए ।

    त्यसैगरी सन् २०२१ मा दुबईमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय सामाजिक अवार्ड अन्तर्गत वर्षकै उत्कृष्ट कलाकार सम्मानबाट विभूषित भएका थिए । सन् २०२२ मा दुबईमा आयोजित प्रथम अन्तर्राष्ट्रिय सामाजिक मल्टिपल अवार्ड अन्तर्गत उनले उत्कृष्ट मोडल सम्मान प्राप्त गरेका थिए । सामाजिक क्षेत्रमा पनि उनी उत्तिकै सक्रिय छन् । उनी इनास, यूएईका वरिष्ठ उपाध्यक्ष हुन् । साथै गुल्मी सेवा समाज, यूएईका आजीवन सदस्यका रुपमा आबद्ध छन् ।


    उनी अजवा स्वयंसेवक टोली, यूएईका सञ्चार प्रमुख तथा पर्यवेक्षकका रुपमा कार्यरत छन् । उक्त टोलीमार्फत उनले संयुक्त अरब इमिरेट्स सरकारद्वारा आयोजित ५० भन्दा बढी स्वयंसेवी कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै सक्रिय रुपमा सेवा प्रदान गरेका छन् ।

  • यूएईमा नेपाली : मेहनत, अवसर र अनुभव

    यूएईमा नेपाली : मेहनत, अवसर र अनुभव

    निश्चल दाहाल/ यूएई
    यूएईको मरुभूमिमा साँझ पर्दा अबुधाबीका सडकहरु बत्तीले उज्यालो हुन्छन्, दुबईका अग्लो भवनहरु चम्किन्छन् र अल ऐनका बगैंचाले हरियाली देखाउँछन् । संसारले यस देशलाई आधुनिक र समृद्ध देशका रुपमा चिन्छ । तर, यो विकासको पछाडि लाखौं श्रमिकको मेहनत छ । तीमध्ये नेपालीहरु पनि छन् ।
    धेरै नेपालीका लागि यूएई काम गर्ने ठाउँ हो । समयसँगै यो केवल रोजगारीको स्थान मात्र रहँदैन । यहाँ बसेर मानिस परिपक्व र जिम्मेवार बन्छन् ।


    नेपालबाट आएका प्रत्येक नेपालीको आफ्नै कारण छ । कोही ऋण तिर्न आएका छन्, कोही छोराछोरीलाई शिक्षा दिन, कोही घर बनाउन त कोही व्यवसाय शुरु गर्न । बाहिरबाट हेर्दा उनीहरु एउटै जस्ता देखिए पनि प्रत्येकको आफ्नो लक्ष्य छ ।
    सरकारी तथ्यांकअनुसार यूएईमा करिब साढे चार लाख नेपाली छन् भनिन्छ । तर, वास्तविक संख्या आठ लाखभन्दा बढी छ । रेमिट्यान्सबाट नेपालमा अर्बौं रुपैयाँ भित्रिएको छ । तर यी तथ्यांकले परिवारसँग बितेका जन्मदिन, दशैं–तिहार, आमाबाबुले छोराछोरीको पहिलो पाइला मोबाइलबाट हेरेका क्षण र केहीले अन्तिम दर्शनसमेत नपाएका अवस्था देखाउँदैनन् ।


    हामी रेमिट्यान्स पठाउने मात्र होइनौं । हामी काम गर्ने मानिस हौं । यूएईप्रति हामी कृतज्ञ छौं किनकि यसले नेपालीलाई काम गर्ने अवसर दिएको छ । यहाँको नियम, समयको पालना, अनुशासन र सुरक्षाले धेरै कुरा सिकाएको छ । सफलता अनुशासन, समयपालन र निरन्तर मेहनतबाट आउँछ भन्ने बुझिएको छ ।


    आज यूएईमा सडक सफा गर्ने कामदारदेखि अस्पतालका स्वास्थ्यकर्मी, होटलका कर्मचारी, इन्जिनियर, व्यवस्थापक र व्यवसायीसम्म नेपालीहरु काम गरिरहेका छन् । यहाँ ‘नेपाली’ शब्द विश्वाससँग जोडिएको छ । यो व्यक्तिगत उपलब्धि होइन, वर्षौंदेखि इमानदार भएर काम गर्ने नेपाली समुदायको सामूहिक सम्मान हो ।
    यूएईले रोजगारीसँगै आत्मविश्वास पनि दिएको छ । विभिन्न भाषा र संस्कृतिका मानिससँग काम गर्ने अनुभव भएको छ ।


    तर संघर्ष पनि छ । दिनभर काम गरेर लेबर क्याम्पमा फर्कने कामदार, छोराछोरीबाट टाढा बस्ने आमा र रातभर ओभरटाइम गर्ने युवाले कठिनाइ भोगिरहेका छन् । यी कथाहरु समाचारमा आउँदैनन् तर यिनैले धेरै नेपाली परिवारको भविष्य बनाइरहेका छन् ।


    प्रवासमा आमाको खाना, गाउँको वातावरण, साथीभाइसँगको चिया र चाडपर्वको महत्व बढी महसुस हुन्छ । त्यसैले अपरिचित नेपाली भेट्दा पनि नजिकको मान्छे जस्तो लाग्छ । ‘नमस्ते’ वा ‘जय नेपाल’ भन्ने शब्दले पनि सहयोग पुग्छ ।


    अब सोच्नुपर्ने कुरा छ– नेपाल फर्कंदा बैंकको बचत मात्र ल्याउने कि यहाँ सिकेका बानीहरु पनि ? समयको सम्मान, कामप्रतिको इमानदारी, सफाइ, नियम पालना, प्रविधिको प्रयोग र सिक्ने बानी नेपालका लागि उपयोगी हुन सक्छन् । हामीले पठाएको रेमिट्यान्सले परिवार र नेपालको अर्थतन्त्रलाई सहयोग पु¥याएको छ । साथै, नेपालीको इमानदार छवि बनाउन मद्दत गरेको छ ।


    थकित अनुहार लिएर फर्कने नेपालीहरुको मेहनत देखिन्छ । उनीहरु घर र परिवारको सम्झना राखेर काम गरिरहेका छन् । यूएईको बालुवामा बगेको पसिना सुक्ला तर काम र अनुभव बाँकी रहन्छ ।


    यो देशप्रति सम्मान र कृतज्ञता छ किनकि यसले अवसर र सुरक्षित वातावरण दिएको छ । नेपालप्रतिको सम्बन्ध भने कम हुँदैन किनकि अन्तिम गन्तव्य त्यही हो । हामी जहाँ छौं, जुनसुकै काममा छौं, आफ्नो परिवार र नेपालको प्रतिनिधि भएर बाँचिरहेका छौं ।


    यूएईमा काम गरिरहेका सबै नेपाली दाजुभाइ–दिदीबहिनीलाई सम्मान । अवसर दिने संयुक्त अरब इमिरेट्सप्रति कृतज्ञता ।

  • ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

    ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

    काठमाडौँ, २३ साउनः नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासङ्घ र ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लबबीच समझदारी भएको छ । मस्कटस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विशेषकुमार साहको उपस्थितिमा शुक्रबार आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष गोविन्दप्रसाद घिमिरे र क्लबका अध्यक्ष सुरेश खड्काले समझदारीपत्रमा हस्ताक्षर गरे ।


    महासङ्घकाअनुसार ओमानमा नेपाली निर्यातकर्तालाई स्थानीय साना तथा मझौला व्यवसायी, व्यापारी तथा सम्भावित खरिदकर्तासँग जोड्न दुवै संस्थाले संस्थागत मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछन् । यसबाट नेपाली उत्पादनका लागि नयाँ बजार तथा व्यापारिक सञ्जाल विस्तार हुनेछ ।

    सम्झौतापत्रमा ‘मेड इन नेपाल’ उत्पादनको प्रवद्र्धनलाई प्राथमिकता दिइएको, ओमानमा आयोजना हुने सांस्कृतिक तथा सामुदायिक कार्यक्रममा नेपाली चिया, कफी, अलैँची तथा विभिन्न मसला, हस्तकला, फेल्ट, गार्मेन्ट, कार्पेट, जडीबुटीजन्य सामग्री तथा परम्परागत पोशाकलगायत नेपाली उत्पादनको प्रवर्द्धनका लागि स्टल तथा प्रदर्शनीको व्यवस्था गरिन उल्लेख छ ।

    ओमानको भन्सार प्रक्रिया, आयातसम्बन्धी मापदण्ड, गुणस्तर तथा हलाल प्रमाणीकरण र व्यापारिक नीतिबारे क्लबले महासङ्घलाई जानकारी गराउनका साथै आवश्यकतानुसार समन्वय गर्नेछ ।

  • ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’

    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’

    काठमाडौँ, २२ साउनः परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः विकसित क्षेत्रीय व्यवस्थामा चीन–भारत–नेपाल त्रिपक्षीय सम्बन्ध’ शीर्षकमा ललितपुरमा आज आयोजित अन्तरराष्ट्रिय सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् । उनले आर्थिक कूटनीतिको उद्देश्य नेपाली नागरिकको जीवनस्तरमा सुधार ल्याउनु तथा व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, पर्यटन, प्रविधि, नवप्रवर्तन र दिगो विकासका अवसर सिर्जना गर्नु हो भने ।

    परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्नसक्ने बताउँदै परराष्ट्रमन्त्री खनालले आफ्ना दुवै छिमेकीसँग सार्वभौम समानता, पारस्परिक सम्मान, पारस्परिक हित तथा एकअर्काका चासोप्रति नेपाल संवेदनशील रहेको बताए ।


    उनले एसियाको तीव्र आर्थिक रूपान्तरणले साझा समृद्धिका लागि अभूतपूर्व अवसर सिर्जना गरेको बताउँदै सहकार्य नै दिगो विकास र दीर्घकालीन समृद्धिको भरपर्दो माध्यम हो भने । “आर्थिक कूटनीति हाम्रो परराष्ट्र नीतिको केन्द्रीय प्राथमिकता बनेको छ । नेपाल दिगो, समावेशी र उत्थानशील विकासका लागि सबै मित्रराष्ट्रसँग सहकार्य गर्न तयार छ,” परराष्ट्रमन्त्रीले भने । चीन र भारतको आर्थिक उन्नतिले नेपालसहित छिमेकी मुलुकलाई व्यापार विस्तार, लगानी आकर्षण, पूर्वाधार तथा ‘कनेक्टिभिटी’ विकास, पर्यटन प्रवद्र्धन र आर्थिक सहकार्य विस्तारका नयाँ अवसर प्रदान गरेको उनले बताए ।

    दक्षिण एसियामा आर्थिक विकासका व्यापक सम्भावना भए पनि अपेक्षाकृत क्षेत्रीय आर्थिक एकीकरण हुन नसकेको वास्तविकता सुनाउँदै परराष्ट्रमन्त्रीले कनेक्टिभिटी, सहज व्यापार, लगानी प्रवाह तथा आपूर्ति शृङ्खला सुदृढ गर्न सकेमा यो समृद्ध बन्न लामो समय नलाग्ने बताए । “हाम्रो सहकार्यको सफलता हामीले कति सम्झौता ग¥यौँ भन्ने होइन, आफ्ना नागरिकका लागि कति अवसर सिर्जना गर्न सक्यौँ भन्ने आधारमा मापन हुनुपर्छ,” उनले भने ।

    वर्तमान सरकारले आर्थिक रूपान्तरणलाई राष्ट्रिय प्राथमिकतामा राखेको दोहोर्याउँदै उनले गुणस्तरीय लगानी, पूर्वाधार विकास, निर्यात प्रवद्र्धन, पर्यटन, स्वच्छ ऊर्जा, डिजिटल रूपान्तरण, नवप्रवर्तन तथा निजी क्षेत्रको विकासमा विशेष जोड दिएको बताए । चीन र भारतको विकासलाई मुलुकको आर्थिक उन्नयनका लागि अवसरका रूपमा लिइएको बताउँदै उनले देशलाई भूपरिवेष्टित मुलुकबाट चीन र दक्षिण एसियालाई जोड्ने गतिशील पुलका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारे । भगवान् बुद्धको जन्मस्थल, गुरु पद्मसम्भवको आध्यात्मिक विरासत, सगरमाथा तथा विश्व सम्पदा सूचीका अनेक सम्पदाले मुलुकको सौम्य शक्तिलाई अझ सुदृढ बनाएको उनको कथन थियो ।

    उनले क्षेत्रीय सहकार्य, ऊर्जा सुरक्षा, जलवायु परिवर्तन, डिजिटल रूपान्तरण, अनुसन्धान, नवप्रवर्तन तथा जनस्तरीय सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउँदै विश्वविद्यालय, अनुसन्धान एवं विद्वत् संस्था तथाबीचको सहकार्यलाई पनि सशक्त बनाउनुपर्नेमा जोड दिए । बहुध्रुवीय विश्वमा विश्वास, पारस्परिक सम्मान र साझा हितमा आधारित साझेदारी निर्माण गर्नुपर्नेमा जोड दिँदै परराष्ट्रमन्त्री खनालले नेपाल त्यस दिशामा रचनात्मक र सकारात्मक भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको बताए । नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट र फुदान विश्वविद्यालयको दक्षिण एसिया अध्ययन केन्द्रको संयुक्त आयोजनामा सम्मेलन भएको हो ।

  • सान्फ्रासिस्को महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा प्रवाह हुने

    सान्फ्रासिस्को महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा प्रवाह हुने

    काठमाडौँ, २२ साउनः संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित नेपालको महावाणिज्यदूतावासबाट आगामी भदौ १५ गतेसम्म मात्र सेवा प्रवाह हुने भएको छ । सान्फ्रासिस्कामा रहेको नेपालको महावाणिज्यदूतावासले आज सूचना जारी गर्दै सरकारको निर्णयअनुसार महावाणिज्यदूतावास बन्द हुने प्रक्रियामा रहेकाले त्यहाँबाट प्रदान हुँदै आएका राहदानी तथा कन्सुलर सेवा आगामी भदौ १५ गते (अगष्ट ३१, २०२६) सम्म मात्र उपलब्ध हुने जनाएको छ ।

    सूचनामा भदौ १५ पछि राहदानी तथा कन्सुलर सेवा पूर्ण रूपमा बन्द हुने जनाउँदै आवश्यक सेवा लिनुपर्ने सेवाग्राहीलाई तोकिएको समयभित्रै सेवा प्राप्त गर्न अनुरोध गरिएको छ । यसैबीच, जुलाई ६, २०२६ सम्म महावाणिज्यदूतावासमा प्रत्यक्ष उपस्थित भएर वा महावाणिज्यदूतावासद्वारा सञ्चालन गरिएको राहदानी घुम्ती सेवामार्फत राहदानीका लागि आवेदन दिएका सेवाग्राहीको नयाँ राहदानी तयार भई महावाणिज्यदूतावासमा प्राप्त भइसकेको सूचनामा उल्लेख छ । महावाणिज्यदूतावासले राहदानी बुझ्न बाँकी रहेका सबै आवेदकलाई यथाशीघ्र उपस्थित भई आफ्नो राहदानी बुझिलिनसमेत आग्रह गरेको छ ।

  • चर्चा कमाउँदै बिमला दिदी

    चर्चा कमाउँदै बिमला दिदी

    कल्पना घिमिरे
    न्यूयोर्क
    कुनै बेला सायद बिमलाले कल्पनासम्म गरेकी थिइनन्, विश्व अर्थतन्त्र, व्यापार, सञ्चार र अवसरको केन्द्र अमेरिकाको न्यूयोर्क शहरमा आफ्नै रेस्टुरेन्ट हुनेछ र त्यही रेस्टुरेन्टकै माध्यमबाट आफू चर्चा परिचर्चाको शिखरमा पुगिनेछ भन्ने ।
    अहिले उनी न्यूयोर्कमा एक उत्कृष्ट व्यवसायीमा दर्ज भएकी छिन् । न्यूयोर्क शहरभित्रका २५ हजारभन्दा बढी रेस्टुरेन्टबीच बिमला हमाल श्रेष्ठको रेस्टुरेन्ट (नेपाली भान्छा घर) १०० उत्कृष्ट रेस्टुरेन्टको सूचिमा परेको छ । जुन नेपालीको बाक्लो बस्ती रहेको ज्याक्सन हाइट्समा अवस्थित छ ।


    सन् २०२६ को न्यूयोर्क टाइम्स म्यागेजिनले तयार गरेको सय वटा रेस्टुरेन्टको सूचिमा आफ्नो स्थान बनाउनु बिमलाका लागि सामान्य थिएन ।
    निरन्तरको मेहनत र लामो समयको संघर्षले मात्रै यो सफलता हात पारेको उनी बताउँछिन् । उनले गरेको व्यवसाय कर्मले अन्तर्राष्ट्रियस्तरसम्म नेपाली समुदायको नाम रोशन गरिरहेको भन्दै विभिन्न नेपाली संघसंस्थाले उनलाई शुभकामना र हौसला दिइरहेका छन् । अहिले उनलाई भेट्न रेस्टुरेन्टमा थुप्रै खालका समूहहरु आइरहेका छन् ।


    न्यूयोर्क टाइम्समै काम गरिरहेका विद्यार्थी भाइबहिनीहरु आएर रेस्टुरेन्टको सबै खानाको स्वाद लिने र कुराकानी गर्ने गरिरहेका छन् । ‘हिजो मात्रै गोरेहरुको एक ग्रुप आएर अन्तरवार्ता लिए, आधा घण्टा अन्तरवार्ता लिएको मलाई ५ सय डलर दिएर गए’, खुसीले गद्गद् हुँदै उनले सुनाइन्– ‘मेरो रेस्टुरेन्टबारे पत्रपत्रिकामा आउन थालेपछि वर्षौंवर्षदेखि ज्याक्सन हाइट्स आसपासमा बसोवास गरिरहेका र पहिले कहिल्यै नभेटेका नेपालीहरु भेट्न आइरहनुभएको छ ।’ केही राणा परिवारका सदस्यसमेत रेस्टुरेन्टमा आएर आफूलाई भेटेको उनी बताउँछिन् ।


    नेपाली स्वाद, संस्कृति र पहिचानलाई विश्वमाझ स्थापित गरिरहेको नेपाली भान्छा घरको यो सफलता सम्पूर्ण नेपाली समुदायका लागि गर्वको विषय बनेको छ ।
    यसअघि पनि बिमलाको रेस्टुरेन्टले पाँच पटकसम्म ‘मम क्रल’ जित्दै आएको थियो । न्यूयोर्क सिटीले हरेक वर्ष आयोजना गर्दै आएको मम क्रल (मम प्रतियोगिता)मा ३३ भन्दा बढी नेपाली रेस्टुरेन्टहरु भाग लिंदै आएका छन् । त्यसमा बिमलाको रेस्टुरेन्ट ५ पटकसम्म उत्कृष्ट मम जित्न सफल भएको थियो । के–कसरी मापन गर्ने भन्नेबारेमा आफूहरुलाई जानकारी नै नहुने पनि उनले बताइन् ।


    ‘मेरो रेस्टुरेन्टमा नेपाली मात्र होइन अन्य विभिन्न मुलुकका थुप्रै ग्राहकहरु आउँछन् । रेस्टुरेन्टमा आउने सबै ग्राहक हाम्रा लागि समान हुन् । उनीहरुकै सेवामा हामी सधैं व्यस्त हुन्छौं । कतिबेला को आएर के–के छानबिन गरेर गए थाहै भएन ।’
    उनी आफ्नो अनुभव सुनाउँदै थिइन्, ‘न्यूयोर्क टाइम्समा १०० को सूचीमा मेरो रेस्टुरेन्ट परेको छ भन्ने मलाई थाहै थिएन ।

    न्यूयोर्क नेपाली काम पोस्टको भाइ लेलिन कँडेलले ‘नेपाली भान्छाघरलाई धेरै बधाई न्यूयोर्क टाइम्सको १०० रेस्टुरेन्टहरुको सूचीमा पर्न सफल भएकोमा‘ भनेर फेसबुकमा पोस्ट गर्नु भएछ । त्यो स्टाटस मेरो साथीले देखेर मलाई स्क्रिनसट पठाउँदा म झसङ्ग भएँ । पहिले त के हो भन्ने पनि थाहा भएन ।’


    स्याङ्जाको वालिङमा जन्मिएकी बिमला सन् २००८ मा अमेरिका आएकी थिइन् । बिमलाका शुरुवाती दिनहरु पटक्कै सहज थिएनन् । काम पाउन गाह्रो थियो । एउटा इन्डियनको घरमा घरेलु कामदारको रुपमा काम गरेर अमेरिकामा संघर्ष शुरु गरेकी थिइन् । आफूले केही व्यवसाय गर्न पाए हुन्थ्यो भन्ने हुटहुटीले ४ जना साथीहरुसँग मिलेर सन् २०१५ मा नेपाली भान्छाघर स्थापना गरेकी हुन् ।

    एक्लो जीवनमा धेरै दुःख र संघर्षपछि मात्रै यो अवस्थामा आइपुगेको उनी सम्झिन्छिन्, ‘पार्टनरहरुको विश्वासमा सबै छोडी दिँदा उनीहरुले नै फसाएर रेस्टुरेन्ट बन्द गर्नुपर्नेसम्मको अवस्था आएको थियो । उनले लङआइल्याण्डमा काम गर्दागर्दै रेस्टुरेन्ट सञ्चालनमा ल्याएकी थिइन् । साथीहरुको समेत पैसा आफैंले हालिदिएर रेस्टुरेन्टमा लगानी गरेकी उनी हप्तामा एकदुई दिन आएर रेस्टुरेन्ट हेर्ने गर्थिन् । त्यसैबीच पार्टनरहरुले भाडा नतिरेर घरबेटीले रेस्टुरेन्ट नै बन्द गरिदिएको थियो । त्यसपछि उनले एक्लै पुनः सञ्चालन गरेकी हुन् ।


    उनका अनुसार, आफूले पूरै विश्वास गरेर रेस्टुरेन्ट जिम्मा लगाएका पार्टनरबाटै ठूलो धोका पाएकी थिइन् । उनी आफैंले साथीहरु सबैको पैसा हालिदिएर रेस्टुरेन्टको पार्टनर बनाएकी थिइन् । तर ती साथीहरु मिलेर रेस्टुरेन्टमा बिमलाको कुनै स्वामित्व नरहने र रेस्टुरेन्टमा हकदाबी गर्न नपाउने गरी झुक्याएर कानुनी कागजात तयार पारेछन् ।


    ‘बैंकबाट पैसा झिक्नको लागि कागजात मिलेन साइन गरिदिनु भन्दै भुर्तेल ल फर्ममा पठाए । त्यहाँ पुग्दा वकिलले सबै बताएपछि म त छाँगाबाटै खसें’, उनी आफ्नो जीवन भोगाइ सुनाउँदै थिइन् । केही गर्न खोज्दा खाली दुःख र अप्ठेरो मात्रै आउँथ्यो । भगवान पनि मेरो पक्षमा छैनन् भन्ने लाग्थ्यो ।’


    उनले एक्लै चलाएको रेस्टुरेन्टको व्यापार राम्रै चलेको थियो । सन् २०२० मा कोभिड आएर २ महिना रेस्टुरेन्ट बन्द गर्नु प¥यो । पछि रेस्टुरेन्ट खोले पनि ग्राहक कोही आउँदैन थिए । अनलाइनबाट अर्डर लिएर सामान पु¥याउन घरघर जान्थिन् । उनले कोरोनाको समयमा धेरै नेपालीलाई खाना दिएर सहयोग गरेकी थिइन् । त्यति मात्र होइन ज्याक्सन हाइट्स नजिकै रहेको एल्मष्र्ट हस्पिटलमा कार्यरत डाक्टरहरुलाई समेत निशुल्क खाना खुवाएर सहयोग गरेकी थिइन् ।


    उनी बिहान सबेरैदेखि रातको १२÷१ बजेसम्म काम गरिरहेकी भेटिन्छिन् । ग्राहकको मेनुअनुसारको खाना पकाउने, रेस्टुरेन्टमा आवश्यक पर्ने सामान किनमेल गर्ने र ग्राहकको सेवामा खटिने सबै आफैं गर्छिन् ।


    एकातिर कडा मेहनत र लगनशीलताले उनलाई सफलता, चर्चा र सम्मानको उचाइमा पु¥याइरहेको छ भने अर्कोतिर उनको जीवनको अर्को पाटो उत्तिकै पीडादायी छ । अमेरिका आएदेखि आजसम्म उनले नेपाल फर्कने अवसर पाएकी छैनन् ।

    ३ वर्षकी छोरी, ६ वर्षको छोरो र श्रीमान् छोडेर परदेसिएकी बिमलाले न त आफ्ना सन्तान र परिवार नै भेट्न पाएकी छिन् । सफलताको शिखर चुमिरहेकी बिमलाको मनको एउटा कुनामा भने परिवारबाट टाढिनुपरेको पीडा आज पनि उत्तिकै गहिरो भएर बसेको छ । तर उनी निराश छैनन्, ‘एक दिन त भेट अवश्य होला नि,’ उनी मुस्कुराउँछिन् ।

  • प्रेमको दर्शन : विश्वासदेखि शंकासम्म

    प्रेमको दर्शन : विश्वासदेखि शंकासम्म

    आरएल श्रमजीवी
    लण्डन, बेलायत

    ‘प्रेम विश्वासमा रोपिन्छ, भरोसामा बढ्छ, श्रद्धामा फक्रिन्छ, आशामा जिउँछ, आधुनिकतामा घायल हुन्छ, महत्वाकांक्षाले बिरामी पर्छ र शंकाले मर्छ ।’
    प्रेम केवल एउटा सुन्दर वाक्य मात्र होइन; यो मानव सभ्यताले हजारौं वर्षदेखि भोग्दै आएको अनुभूतिको शृङ्खला पनि हो । प्रेम कुनै आकस्मिक घटना होइन, यो मन मस्तिष्कको एउटा दीर्घ यात्रा हो ।

    यसको जन्म हुन्छ, यो हुर्किन्छ, फुल्छ, फल्छ, घाइते हुन्छ, रोगी बन्छ र कहिलेकाहीँ आफ्नै छायाँसँग हारेर मर्छ । प्रेमको पहिलो शर्त सौन्दर्य होइन, सम्पत्ति होइन, आकर्षण पनि होइन– विश्वास हो । विश्वास भनेको दुई मनबीच बाँधिएको अदृश्य पुल हो, जसलाई न आँधीले भत्काउन सक्छ, न दूरीले च्यात्न सक्छ । जहाँ विश्वास हुन्छ, त्यहाँ प्रमाणको आवश्यकता पर्दैन; त्यहाँ आँखाले भन्दा हृदयले देख्छ । विश्वास प्रेमको बीउ मात्र होइन, त्यसको पहिलो प्राण हो ।

    तर बीउ रोपेर मात्र वन बन्दैन । त्यसलाई हुर्काउने शक्ति भनेको भरोसा हो । भरोसा भनेको जीवनको सबैभन्दा अँध्यारो रातमा पनि, ‘तिमी छौ’ भन्ने उज्यालो अनुभूति हो । मानिस संसारसँग हार्न सक्छ, तर जसको काँधमा भरोसा गर्न सक्छ, ऊ जीवनसँग कहिल्यै हार्दैन । प्रेममा भरोसा भनेको भविष्यलाई हात समातेर हिँड्ने साहस हो ।


    प्रेममा जब श्रद्धा मिसिन्छ, तब प्रेम वासनाबाट मुक्त भएर साधनामा रुपान्तरण हुन्छ । श्रद्धा भनेको प्रिय व्यक्तिलाई आफ्नो स्वामित्वको वस्तु होइन, एउटा स्वतन्त्र ब्रह्माण्डका रुपमा स्वीकार गर्नु हो । जहाँ श्रद्धा हुन्छ, त्यहाँ अधिकारभन्दा सम्मान ठूलो हुन्छ; नियन्त्रणभन्दा स्वतन्त्रता प्रिय हुन्छ । श्रद्धाले प्रेमलाई मन्दिर बनाउँछ, जहाँ अहंकारले प्रवेश गर्न सक्दैन । त्यसैले प्रेमलाई पूजा पनि भन्ने गरिन्छ ।


    प्रेमको श्वास भनेको आशा हो । आशा नहुने हो भने प्रेम पहिलो बिछोडमै मर्छ । प्रेमीहरु वर्षौं कुर्न सक्छन्, समुद्र पार गर्न सक्छन्, पहाड चढ्न सक्छन्, हजारौं पीडा सहन सक्छन्, किनकि उनीहरुलाई आशा हुन्छ– एक दिन भेट हुनेछ, एक दिन सबै पीडा अर्थपूर्ण हुनेछ । आशा नै प्रेमको अदृश्य धड्कन हो । त्यही धिपधिपे बत्तीमा प्रेम बाँच्छ । तर आधुनिक समयसँगै मानिसले सूचना प्रविधिमा अभूतपूर्व उन्नति ग¥यो ।

    सामाजिक सञ्जालले संसार सानो भयो, तर मनहरु कहिलेकाहीँ टाढा भए । आधुनिकता आफैं दोषी होइन; दोष तब जन्मन्छ जब सम्बन्धलाई पनि उपभोगको वस्तु बनाइन्छ । आज सम्बन्धहरु पनि मोबाइलका एपझैं सजिलै डाउनलोड र डिलिट हुन थाले । धैर्यको ठाउँ हतारले लियो, समर्पणको ठाउँ विकल्पले लियो, संवादको ठाउँ प्रदर्शनले लियो । यहीँनेर प्रेम पहिलोपटक घाइते भएको हो कि ?
    जब प्रेममा महत्वाकांक्षा प्रवेश गर्छ मान्छे दुःखी हुन्छ ।

    सपना देख्नु मानव स्वभाव हो, तर जब सपना यति ठूलो हुन्छ कि त्यसमा सम्बन्धका लागि ठाउँ नै बाँकी रहँदैन, तब प्रेम रोगी बन्छ । धन, पद, प्रसिद्धि र सफलताको दौडमा कहिलेकाहीँ मानिसले आफूलाई प्रेम गर्ने मानिसलाई पछि छोडिदिन्छ । अन्ततः शिखरमा पुग्दा उसले थाहा पाउँछ– संसार जितेछ, तर आफूलाई निस्वार्थ माया गर्ने एउटा मन गुमाइसकेको रहेछ ।

    र अन्तिम दृश्यमा मञ्चमा आउँछ शंका– प्रेमको मौन हत्यारा । प्रेमलाई बाहिरी शत्रुले भन्दा धेरै आफ्नै मनका शंकाहरुले नष्ट गरेका हुन्छन् । शंका एउटा यस्तो विष हो, जसले शरीर होइन, विश्वासलाई सल्काउँछ र भष्म बनाइदिन्छ । यसले प्रश्न जन्माउँछ, संवाद मार्छ, मुस्कानलाई मौन बनाउँछ र अन्ततः प्रेमलाई जीवित शवमा बदलिदिन्छ । अर्थात् जिउँदो लास बनाउँछ । शंका चिच्याएर आउँदैन; ऊ सुस्केराभित्र लुकेर सुस्तरी आउँछ ।


    त्यसैले उसको प्रहार सबैभन्दा घातक हुन्छ । सायद यही कारणले महान् प्रेमकथाहरु अमर बने– किनकि उनीहरुले प्रेमलाई अधिकार होइन, विश्वास ठाने; स्वार्थ होइन, समर्पण ठाने; प्राप्ति होइन, त्याग ठाने । प्रेमको अन्तिम सत्य सँगै बाँच्नु मात्र होइन, एकअर्काको मन मस्तिष्कलाई उज्यालो बनाउनु पनि हो । प्रेमलाई बचाउन कुनै जादु चाहिँदैन ।

    केवल यति सम्झनुपर्छ– विश्वास हरायो भने प्रेमको जन्मस्थल नै उजाड हुन्छ; भरोसा हरायो भने यात्रा रोकिन्छ; श्रद्धा हरायो भने प्रेम अपमानमा बदलिन्छ; आशा हरायो भने धड्कन रोकिन्छ; महत्वाकांक्षाले सम्बन्धलाई निल्यो भने प्रेम रोगी हुन्छ; र शंकाले मनमा घर बनायो भने प्रेमको मृत्यु निश्चित हुन्छ ।


    त्यसैले प्रेम गर्नु भनेको कसैलाई आफ्नो बनाउनुभन्दा पहिले आफूभित्र विश्वास, धैर्य, सम्मान र सत्यलाई जीवित राख्नु हो । किनकि अन्ततः प्रेम दुई शरीरको मिलन होइन– दुई मनले एकअर्काको अस्तित्वलाई निस्वार्थ रुपमा स्वीकार गर्ने दुर्लभ अनि गहिरो अनुभूति हो प्रेम । प्रेम त्यहीँ अमर हुन्छ, जहाँ विश्वास कहिल्यै मर्दैन ।

  • पेरिसमा अधिकारीका एकल काव्य साँझ

    पेरिसमा अधिकारीका एकल काव्य साँझ

    काठमाडौँ, २१ साउन । फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा पाठशाला सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
    आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तिका सन्दर्भमा कवि तथा गीतकार दिनेश अधिकारीको ‘एकल काव्य साँझ’ मा उनले पाठशाला स्थापनाका लागि दूतावासले आवश्यक सहयोग एवं सामग्री उपलब्ध गराउने विश्वास दिलाए । राजदूत भट्टराईले फ्रान्समा नेपाली समूदायको बाक्लो उपस्थिती रहेकाले पेरिसमा श्रष्टाबाटै गीतसङ्गीत सुन्ने अवसर प्राप्त हुन सुखद भएको बताए ।

    नेपाली दूतावास फ्रान्स र अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा आयोजित सो कार्यक्रममा अधिकारीले आफ्ना दुई दर्जन कविता वाचन गरेका थिए । अनेसास फ्रान्सका अध्यक्ष प्रशान्त उप्रेतीसहित राम पाण्डे, हरिहर अर्याल र सुमित्रा बुर्लाकोटीले प्रवासमा रहँदा नेपाली सङ्गीतको महत्त्वले अझ प्राथमिकता पाउने भनाइ राखे । सो अवसरमा गायक रन बराइलीले गीतकार अधिकारीका गीत गाएका थिए ।

  • मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम

    मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम

    काठमाडौँ, २१ साउनः ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले ‘व्यापार तथा सम्बन्ध स्थापना’ विषयक कार्यक्रम गरिएको छ । नेपालबाट निर्यातयोग्य उत्पादन, नेपालमा उपलब्ध लगानीका अवसर तथा नेपाली र ओमानी व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तारका विषयमा हालै सो कार्यक्रम गरिएको त्यहाँस्थित राजदूतावासले जनाएको छ ।

    कार्यक्रममा कार्यवाहक राजदूत विशेषकुमार साहले ओमानलाई व्यापार तथा लगानी प्रवर्द्धनका लागि नेपालले महत्त्वपूर्ण साझेदारका रूपमा प्राथमिकतामा राखेको उल्लेख गरे । नेपालबाट पहिलोपटक उच्चस्तरीय व्यापारिक प्रतिनिधिमण्डलको भ्रमण भएकामा उनले खुशी व्यक्त गरे । नेपालमा उपलब्ध लगानीका अवसर, लगानी प्रक्रिया, संस्थागत व्यवस्था तथा ओमानी लगानीकर्ताका लागि नेपाल किन आकर्षक गन्तव्य हुन सक्छ भन्ने विषयमा प्रस्तुति दिए ।


    प्रस्तुतिपछि उनले सगरमाथा आरोहण गर्ने पहिलो ओमानी महिला नादिरा अल हार्थी तथा हिमपहिरोमा परी निधन भएका अन्य पर्वतारोहीप्रति श्रद्धाञ्जली अर्पण गरे । निर्यात व्यवसारी महासङ्घ नेपालका अध्यक्ष गोविन्द घिमिरेले नेपालबाट निर्यात गर्न सकिने प्रतिस्पर्धात्मक लाभ भएका उत्पादनहरूको सम्भावना तथा निर्यातमुखी अर्थतन्त्र प्रवर्द्धनका लागि महासङ्घले गरिरहेका प्रयासबारे जानकारी गराए ।


    त्यसैगरी, नेपाल हस्तकला महासङ्घका अध्यक्ष रविन्द्र शाक्यले नेपाली हस्तकलाको मौलिकता, परम्परागत सीप र ओमान तथा खाडी मुलुकमा रहेका व्यापारिक सम्भावनाबारे जानकारी गराए । कार्यक्रममा विभिन्न नेपाली उत्पादनको प्रदर्शनीसमेत गरिएको थियो ।

    कार्यक्रममा नेपालबाट गएको उच्चस्तरीय व्यापारिक प्रतिनिधिमण्डल, ओमानस्थित व्यवसाय तथा हाइपरमार्केटका प्रमुख कार्यकारी अधिकृत, निर्देशक, प्रतिनिधि, सञ्चारकर्मी तथा ओमानस्थित नेपाली व्यवसायीसहित ७० भन्दा बढीको सहभागिता रहेको दूतावासले जनाएको छ ।

  • ब्रोड पिकमा मृत्यु भएका चार पर्वतारोहीको शव आधार शिविर ल्याइयो

    ब्रोड पिकमा मृत्यु भएका चार पर्वतारोहीको शव आधार शिविर ल्याइयो

    स्कर्दु, २१ साउन (रासस–एएफपी) । खोज टोलीले प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा र उनको टोलीका तीन सदस्यको शव हिमपहिरोमा परेर मृत्यु भएको हिमालको आधार शिविरमा पु¥याएको पाकिस्तानको अल्पाइन क्लबले बुधबार जनाएको छ । जुलाई ३०मा हिमपहिरो गएको थियो, जसले गर्दा विश्वको अग्लो हिमालमध्ये एक ब्रोड पिकमा ४३ वर्षीय नेपाली पर्वतारोही पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तरराष्ट्रिय अभियानसँग सम्पर्क विच्छेद भएको थियो । उनको कम्पनीले कोही पनि जीवित नभएको पुष्टि गरेको छ ।

    पाकिस्तानको अल्पाइन क्लब (एसीपी)ले ब्रोड पिकमा अत्यन्त चुनौतीपूर्ण र प्राविधिक रूपमा जटिल उद्धार अभियानपछि नेपाली पर्वतारोही निर्मल पुर्जा, निमा शेर्पा, किलु शेर्पा तथा चिनियाँ पर्वतारोही झोङ वाङको शव सफलतापूर्वक निकालेर आधार शिविरमा सुरक्षित रूपमा ल्याइएको जनाएको छ । एसीपीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो ।

    “आजको दिन एउटा महत्त्वपूर्ण उपलब्धि हो, तर तीन जना पर्वतारोही अझै पनि बेपत्ता छन्,” क्लबले भन्यो । “हामी परिस्थितिले अनुमति दिएसम्म उनीहरूलाई पत्ता लगाउन र पुनः प्राप्ति गर्न सबै सम्भावित प्रयासलाई समर्थन गर्न प्रतिबद्ध छौँ, ताकि उनीहरूलाई पनि आफ्ना प्रियजनकहाँ घर फर्काउन सकियोस्,” क्लबले भनेको छ ।

    टोलीका अन्य तीन सदस्य एक अमेरिकी महिला, एक ओमानी महिला र एक नेपाली पुरुषका शव पहिले नै पहाडबाट उत्तरी पाकिस्तानी शहर स्कार्दुमा उडाइएको थियो । दुई नेपाली नागरिक र एक पाकिस्तानी नागरिकको शव अझै फेला परेको छैन । उत्तरी पाकिस्तानको काराकोरम पर्वतमालामा अवस्थित ब्रोड पिक विश्वको १२औँ अग्लो हिमाल हो र यसलाई आठ हजार मिटरभन्दा बढी अग्ला आरोहणमध्ये सबैभन्दा कठिन र प्राविधिक आरोहणमध्ये एक मानिन्छ । यो हिमालमा पहिलो पटक १९५७ मा अस्ट्रियाली टोलीले आरोहण गरेको थियो ।

  • गंगाको गर्विलो सफलता : बागलुङमा रेडियो सर्भिसदेखि बेल्जियमको सफल व्यवसायीसम्म

    गंगाको गर्विलो सफलता : बागलुङमा रेडियो सर्भिसदेखि बेल्जियमको सफल व्यवसायीसम्म

    जीवनमा सबैले अवसर पाउँदैनन् । कसैले अवसर खोज्नुपर्छ, कसैले अवसर आफैं सिर्जना गर्नुपर्छ । बागलुङका गंगाप्रसाद शर्मा आचार्य अवसर आफैंले सिर्जना गर्ने सफल पात्र हुन् । पञ्चकोटकोे अभाव, पढाइको असफलता, राजनीतिमा पराजय र विदेशी भूमिमा शून्यबाट शुरु भएको संघर्षलाई उनले सफलताको उचाइमा पु¥याएका छन् । आज उनी बेल्जियमका सफल नेपाली व्यवसायीमध्ये एक हुन् । व्यवसायसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अन्तर्राष्ट्रिय बागलुङ समाजको नेतृत्व गरिरहेका शर्मा धेरै नेपालीका लागि प्रेरणाका स्रोत बनेका छन् । यस पटकको विश्व सन्देशमा हामीले यिनै शर्माको सफलताको कथाका बारेमा चर्चा गर्नेछौं ।


    विसं २०२५, भदौ २६ गते तत्कालीन लहरेपिपल–२, पञ्चकोट (हाल : बागलुङ नगरपालिका–८) मा जन्मिएका शर्माको बाल्यकाल कुनै सुविधासम्पन्न परिवारमा बितेन । चार भाइका कान्छो छोरा हुन् उनी । तर उनका दुई बहिनी पनि छन् । अरु बालबालिका खेल्ने उमेरमा उनी घाँस काट्थे, दाउरा बोक्थे, मेलापात गर्थे । बिहान विद्यालय र बेलुका परिवारको काम– यही थियो उनको दैनिक जीवन । स्थानीय मूलपानी प्राथमिक विद्यालयबाट निमाविसम्मको अध्ययन गरेपछि धौलागिरि वीरेन्द्र माध्यमिक विद्यालय, रातामाटामा भर्ना भए ।


    तर, घरको कामधन्दासँगै पढ्नुपर्ने बाध्यताले उनले २०४२ सालको एसएलसी परीक्षामा सफलता प्राप्त गर्न सकेनन् । धेरैका लागि त्यो असफलता जीवनको अन्त्यजस्तो हुन सक्थ्यो । तर शर्माले त्यसलाई अन्त्य होइन, नयाँ शुरुआत बनाए । असफलतापछि उनी निराश भएनन्, बरु नयाँ–नयाँ विकल्प के हुन सक्छन् भनेर लागे ।

    सफलता खोज्दै वनारस
    नेपालमा सम्भावना साँघुरिँदै गएको महसुस गरेपछि उनी भारतको वनारस पुगे । पहिले–पहिले पढ्नका लागि वनारस जाने चलन थियो । पाका पुरानाहरुमध्ये अधिकांशले वनारसबाटै अध्ययन पूरा गरेका थिए । वनारसमा उनले इलेक्ट्रोनिक्स विषयमा डिप्लोमा अध्ययन गरे । सीप सिकेपछि आफ्नै व्यवसाय गर्ने सपना बोकेर तीन वर्षपछि नेपाल फर्किए ।


    २०४३ सालमा ढिकीचौरकी जमुनासँग विवाह गरेपछि उनको जीवनले अप्रत्याशित मोड लियो । विवाह भएको केही दिन नबित्दै उनलाई परिवारबाट अलग गरिए । अलग हुँदा उनले सम्पत्ति पाएनन्, बरु १२ हजार रुपैयाँ ऋणको भारी बोक्नुप¥यो । नयाँ परिवार, नयाँ जिम्मेवारी र टाउकोमा ऋण– यही नै उनको वैवाहिक जीवनको पहिलो उपहार बन्यो ।


    बागलुङ बजार झरेपछि बस्न एउटा सानो छाप्रो पाए । त्यही छाप्रोको एउटा कुनामा दुई सय रुपैयाँ लगानी गरेर सानो टेबुल राखे र रेडियो मर्मत गर्ने काम शुरु गरे । बिहानदेखि साँझसम्म ग्राहकको रेडियो मर्मत गर्दा कमाइभन्दा आत्मविश्वास बढिरहेको थियो । झण्डै डेढ वर्षको अथक मेहनतपछि उनले चार हजार रुपैयाँ ऋण तिरे । तर आठ हजार रुपैयाँ अझै बाँकी थियो ।


    ऋण दिने साहु तिलकबहादुर कार्की निकै कडा स्वभावका थिए । बाँकी रकमका लागि पटक–पटक ताकेता गर्थे । आर्थिक अभावभन्दा पनि त्यो मानसिक दबाबले गंगाप्रसादलाई धेरै पिरोल्थ्यो । अन्ततः उनले फेरि भारत जाने निर्णय गरे । २०४५ सालमा भारत पुगे, एक वर्षसम्म निरन्तर काम गरे र फर्किएपछि साहुको सम्पूर्ण ऋण चुक्ता गरे ।


    आज उनी स्वीकार्छन्, त्यो ऋणले उनलाई दुःख दियो, तर त्यसैले जिम्मेवारी र आत्मनिर्भरताको पाठ पनि सिकायो । ऋणमुक्त भएपछि उनले फेरि बागलुङ बजारमै ’शर्मा रेडियो सर्भिस’ सञ्चालन गर्न थाले । व्यवसाय विस्तार हुँदै थियो, ग्राहकको विश्वास पनि बढ्दै थियो । तर जीवनले अर्को परीक्षा तयार गरिरहेको थियो ।


    २०४८–४९ सालतिर उनकी पत्नी जमुना गम्भीर बिरामी भइन् । उपचार गर्नुपर्ने थियो, तर हातमा पैसा थिएन । अन्ततः १६० रुपैयाँ ऋण मागेर उपचार गराउनुपरेको घटना आज पनि उनको स्मृतिमा ताजै छ । ‘त्यतिबेला १६० रुपैयाँ जुटाउन नसक्ने अवस्थाबाट गुज्रिएको मान्छे हुँ’, उनी विगत सम्झिँदै भन्छन् ।

    सायद त्यसैले आज पनि उनले पैसाको मूल्य केवल अंकमा होइन, संघर्षमा नाप्छन् । रेडियो, घडी तथा विद्युतीय सामग्री मर्मत गर्ने व्यवसायले उनलाई आत्मविश्वास दियो । विसं २०४४ देखि २०५१ सालसम्म उनले यही व्यवसाय सञ्चालन गरे । त्यो व्यवसाय केवल आम्दानीको स्रोत थिएन; यसले उनलाई मेहनत, अनुशासन र ग्राहकको विश्वास जित्ने कला पनि सिकायो ।


    २०५१ सालमा स्थानीय निर्वाचन आयो । समाजका लागि केही गर्ने उद्देश्यले शर्मा वडा सदस्य पदमा स्वतन्त्र उम्मेदवार बने । निर्वाचनको परिणाम आयो । उनी जम्मा तीन मतले पराजित भए । जीवनमा कहिलेकाहीँ एउटा हारले मानिसको सम्पूर्ण गन्तव्य बदलिदिन्छ । शर्माका लागि पनि त्यो तीन मतको अन्तर निर्णायक बन्यो । उनले नेपालभित्र भन्दा बाहिर सम्भावना खोज्ने निर्णय गरे ।


    विदेश जाने सपना सजिलो थिएन । व्यवसाय बिस्तार गर्ने योजना बुनेका उनले सटर खोज्न थाले । शुरुमा कसैले सटर दिएनन् । तर स्थानीय देवबहादुर श्रेष्ठले बाहुनको छोरो हो, यसले भाडा तिर्छ भनेर उनलाई सटर दिए । यसले व्यवसायसँगै आम्दानी पनि बढ्यो । डेल्टन कम्पनीको डिलर पाए । चारजना छोराछोरी भएकाले सोचेजस्तो बसाइँ भने हुन सकेन ।


    पसलमा बसिरहेका बेलामा एक दिन एकजना साथीले युरोप जान्छस् भनेपछि उनी खुसी भए । भने जान्छु । दलालमार्फत उनले ३ लाख ८० हजार रुपैयाँ तिरे । सांस्कृतिक टोलीका सदस्य अर्थात् ’झाक्री’ बनेर २०५२ सालमा बेल्जियम पुगे । आफू कलाकार नभए पनि जीवन बदल्ने सपना भने वास्तविक थियो । उनीसँगै गएका धेरै नेपालीजस्तै उनी पनि अपरिचित देश, अपरिचित भाषा र अनिश्चित भविष्यको सामना गरिरहेका थिए ।


    बेल्जियम पुगेपछिको संघर्षको कुरा त सुनिसाध्य नै छैन । पहिलो तीन दिन उनी सडकमै सुत्न बाध्य भए । भोक, चिसो र अनिश्चित भविष्यसँग जुधिरहेका ती रातहरु उनका जीवनका सबैभन्दा कठिन दिन थिए । ‘अब के गर्ने ?’ यही प्रश्नले उनलाई सताइरहेको थियो ।


    त्यहीबेला भेटिएका एक भारतीय नागरिकले उनलाई काम खोजिदिए । गंगाप्रसाद आज पनि त्यो सहयोगलाई जीवनको टर्निङ प्वाइन्ट मान्छन् । बिहान सबेरै खेतमा गोलभेंडा टिप्न जाने, साँझ भारतीय रेष्टुरेन्टमा भाँडा माझ्ने– उनको दैनिकी यही थियो । तर उनले आफूलाई मजदुरीमै सीमित राखेनन् । कामसँगै उनले बेल्जियममै कुकिङ अध्ययन शुरु गरे । डच भाषा सिके । स्थानीय समाज र बजार बुझ्न थाले ।


    भारतीय नागरिकको सहयोगमा रेष्टुरेन्टमा भाडा माझ्ने कामबाट नयाँ जीवन शुरु गरे । दिनभरि काम र राति अध्ययन– उनको दिनचर्या यही थियो । श्रमसँगै उनले भाषा सिके, स्थानीय समाज बुझ्दै गए र आफूलाई युरोपेली कार्यसंस्कृतिअनुसार ढाल्दै लगे । धेरै नेपालीहरु विदेशमा राम्रो अवसरको प्रतीक्षामा समय बिताउँछन् । शर्मा भने जुन अवसर पाए, त्यसलाई नै भविष्य निर्माणको आधार बनाए ।


    आज त्यही परिवारका चार सन्तान आफ्नै क्षेत्रमा स्थापित छन् । जेठो छोरा सिभिल इन्जिनियर छन् भने बुहारी स्पेनिस आर्किटेक्ट । जेठी छोरी र ज्वाइँ अमेरिकामा चिकित्सकका रुपमा कार्यरत छन् । कान्छो छोरा र कान्छी छोरी बेल्जियम सरकारको सेवामा कार्यरत छन् ।

    अपमान, जसले सफलता सिकायो
    गंगाप्रसादको जीवनमा अभावभन्दा गहिरो चोट अपमानले दिएको छ । २०४६ सालको भारत–नेपाल नाकाबन्दीका बेला मट्टीतेलको चरम अभाव थियो । बिजुली नहुँदा रेडियो मर्मत गर्न स्टोभमा आइरन तताएर सोल्डरिङ गर्नुपथ्र्यो । त्यसका लागि दैनिक मट्टीतेल आवश्यक थियो । सीडीओ कार्यालयमा मट्टीतेलको चिट माग्न पुगेका उनलाई सहयोग गर्नुको सट्टा अपमान गरियो । जसले उनलाई विद्रोही बनायो । ‘तेरो छोराछोरी मैले पालिदिने हो र ?’ भन्ने कटु वाक्य सुन्नुप¥यो । चर्पीमा थुन्ने धम्कीसमेत दिइयो ।


    त्यो दिन उनी निराश भएर फर्किन सक्थे । तर उनले हार मानेनन् । अन्ततः बागलुङका नेता तेजेन्द्र खड्काको सहयोगमा उनले दैनिक तीन लिटर मट्टीतेल पाउने व्यवस्था मिलाए । त्यो मट्टीतेल केवल इन्धन थिएन, त्यो उनको व्यवसाय जोगाउने आधार थियो । आज उनी भन्छन्, ‘जीवनमा मलाई सबैभन्दा धेरै प्रेरणा सहयोगले भन्दा अपमानले दिएको छ ।’


    सन् २००७ मा उनले बैंकबाट ऋण लिएर बेल्जियममा एउटा घर किने । त्यो घर केवल बसोवासका लागि थिएन । घरको तल्लो तलामा उनले आफ्नै सुपरमार्केट शुरु गरे । सुपरमार्केट सफल भयो । त्यसपछि उनले आतिथ्य क्षेत्रमा पाइला टेके । एकपछि अर्को गर्दै रेष्टुरेन्ट सञ्चालन गर्न थाले । व्यवसाय विस्तारसँगै रोजगारी पनि सिर्जना भयो । एक समय दुई सय रुपैयाँ लगानी गरेर टेबुल राख्ने व्यक्ति आज आफ्ना व्यवसायमार्फत करिब २० जनालाई रोजगारी दिने उद्यमी बने ।


    लुभेनस्थित ‘होली काउ’ रेष्टुरेन्ट अहिले नेपाली तथा विदेशी ग्राहकबीच लोकप्रिय छ । तर त्यस रेष्टुरेन्टको सफलताभन्दा पनि गंगाप्रसादलाई आफ्नो विगतले बढी छुन्छ । बागलुङबाट नुन–तेल किन्न स्याङ्जाको पुतलीखेतसम्म पैदल हिँडेको बालक, १६० रुपैयाँ ऋण खोजेर पत्नीको उपचार गराएको श्रीमान्, सडकमा तीन रात बिताएको प्रवासी, भाँडा माझ्दै भाषा सिकेको मजदुर– यी सबै पात्र आज पनि उनीभित्र जीवित छन् । सायद त्यसैले सफलता आएपछि पनि उनी जमिन छोडेका छैनन् ।
    उनका लागि व्यवसाय भनेको केवल नाफा कमाउने माध्यम होइन; संघर्षलाई सम्मान गर्ने, रोजगारी सिर्जना गर्ने र समाजलाई केही फर्काउने अभियान हो ।

    बेल्जियमले सिकाएको श्रमको सम्मान
    बेल्जियममा बिताएका करिब दुई दशकले गंगाप्रसाद शर्मा आचार्यलाई केवल सफल व्यवसायी मात्र बनाएन, काम गर्ने संस्कार, समयको मूल्य र प्रणालीको महत्व पनि सिकायो । उनी भन्छन्, ‘बेल्जियममा श्रमको सम्मान छ । समयको मूल्य छ । मानिसले मानिसलाई सम्मान गर्छ । मेहनत गर्नेले अवसर पाउँछ । त्यहाँ व्यक्ति होइन, प्रणाली बलियो छ ।’

    नेपाल र बेल्जियमबीचको सबैभन्दा ठूलो फरक पनि उनी यही मान्छन् । उनका अनुसार नेपालमा प्रतिभा र मेहनतको अभाव छैन, तर प्रणाली कमजोर हुँदा मेहनती मानिसले आफ्नो क्षमताअनुसार अवसर पाउन सक्दैन । सायद यही अनुभूतिले उनलाई व्यवसायी मात्र होइन, समुदाय निर्माणमा सक्रिय अभियन्ता पनि बनायो ।


    बेल्जियम पुगेपछि उनको परिचय केवल एक प्रवासी कामदार वा व्यवसायीसम्म सीमित रहेन । शुरुमा गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको सदस्य बने । त्यसपछि उपाध्यक्ष, अध्यक्ष हुँदै अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यसम्म पुगे ।


    तीन दर्जनभन्दा बढी सामाजिक तथा प्रवासी संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका गंगाप्रसाद बागलुङ समाज बेल्जियमका संस्थापक अध्यक्ष हुन्् । उनी अन्तर्राष्ट्रिय बागलुङ समाजका पनि संस्थापक हुन् र हाल त्यसै संस्थाको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । उनीका लागि नेतृत्व पद होइन, जिम्मेवारी हो । ‘संस्था बनाउन सजिलो छ, टिकाउन गाह्रो छ’, उनी भन्छन्, ‘त्यसका लागि विश्वास जित्नुपर्छ ।’

    नेपाल फर्किने तयारीमा गंगाप्रसाद
    जीवनको कठिन यात्रामा उनकी जीवनसंगिनी जमुना शर्मा सधैं साथमा रहिन् । आज जमुना सामाजिक अभियानमा सक्रिय छिन् । गैरआवासीय नेपाली संघलगायत विभिन्न संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी छन् । उनको संघर्षमय जीवनमा आधारित ’फार वे’ पुस्तक प्रकाशित भइसकेको छ ।


    गंगाप्रसादका लागि सन्तानको सफलता व्यक्तिगत गौरवभन्दा बढी संघर्षको प्रतिफल हो । ‘हामीले दुःख भोग्यौं, उनीहरुले अवसर पाए’, उनी सन्तोष व्यक्त गर्छन् । विदेशमा सफलता प्राप्त गरेपछि धेरैको लक्ष्य त्यहीँ स्थायी बसोवास गर्ने हुन्छ । तर गंगाप्रसादको सोच फरक छ । उनी अब नेपाल फर्किने तयारीमा छन् ।
    ‘नेपाल फर्किने निर्णय गरेपछि मनमा बेग्लै आनन्द आएको छ’, उनी मुस्कुराउँदै भन्छन्् । बागलुङको पञ्चकोटमा उनले झण्डै ५० रोपनी जग्गा किनेका छन् । काठमाडौं, पोखरा र बागलुङमा आतिथ्य (हस्पिटालिटी) क्षेत्रको ठूलो लगानी गर्ने योजना बनाएका छन् ।


    सरकारले लगानीमैत्री वातावरण बनाइदिए आफू एक्लै होइन, यसै वर्ष कम्तीमा १० जना प्रवासी नेपाली व्यवसायीसँगै नेपाल फर्किने उनको विश्वास छ । नेपाल फर्किने उनको उद्देश्य केवल आफ्नो व्यवसाय विस्तार गर्नु होइन । उनी पाँच सयभन्दा बढी युवालाई रोजगारी दिने लक्ष्यसहित योजना बनाइरहेका छन् ।


    विदेशमा सिकेको व्यवस्थापन, सेवा संस्कृति र व्यवसायिक अनुभवलाई नेपालमै प्रयोग गर्ने उनको चाहना छ । ‘रोजगारी सिर्जना गर्न सकियो भने मात्रै वैदेशिक पलायन रोकिन्छ’, उनी भन्छन् ।


    व्यवसायसँगै समाजसेवामा पनि गंगाप्रसादको योगदान उल्लेखनीय छ । उनको सक्रियतामा बलेवाको जनता धन माध्यमिक विद्यालयमा स्टेशनरी सहयोग पुगेको छ । धौलागिरि अस्पतालमा रक्तसंकलनका लागि फ्रिज उपलब्ध गराइएको छ । कारागारमा पुस्तकालय स्थापना, गोरखाको विद्यालयमा खानेपानी आयोजना, विद्यामन्दिर पुस्तकालय तथा मानव सेवा आश्रमलाई सहयोग पु¥याउन उनले महत्वपूर्ण भूमिका खेलेका छन् ।


    व्यक्तिगत रुपमा पनि धेरै विद्यार्थी, बिरामी र विपन्न परिवारलाई सहयोग गर्दै आएका छन् । विशेषगरी ‘महिला बचाऔं अभियान’ अन्तर्गत स्तन क्यान्सरबाट पीडित महिलालाई प्रत्येक वर्ष सहयोग गर्ने उनको अभियान अहिले पनि जारी छ । हालसम्म तीन जना महिलाले त्यसबाट प्रत्यक्ष सहयोग पाइसकेका छन् । उनका लागि समाजसेवा प्रचारको विषय होइन, जीवनको उत्तरदायित्व हो ।

    जन्मभूमि बागलुङमै केही गर्ने हुटहुटी
    गंगाप्रसादको अहिलेको सबैभन्दा ठूलो सपना आफ्नै जन्मथलो बागलुङसँग जोडिएको छ । उनको अनुमानमा विश्वका विभिन्न मुलुकमा करिब एक लाख बागलुङेली रहेका छन् । उनीहरुको सीप, अनुभव र पूँजीलाई जिल्लामा भिœयाएर स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारीमा लगानी गर्ने उनको योजना छ । उनी विश्वास गर्छन्, यदि प्रवासी नेपालीको अनुभव र स्थानीय सम्भावना जोड्न सकियो भने बागलुङलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन सकिन्छ ।


    ‘विदेश पठाउने जिल्ला होइन, विदेशबाट फर्कने जिल्ला बनाउनुपर्छ’, उनी भन्छन् । प्रवासी नेपालीप्रति राज्यको दृष्टिकोणबारे भने उनी केही असन्तुष्ट देखिन्छन् । उनको बुझाइमा गैरआवासीय नेपालीहरूलाई अझै पनि पूर्ण साझेदारका रुपमा स्वीकार गरिएको छैन । ‘हामी कर तिर्छौं, लगानी गर्न चाहन्छौं, देशका लागि केही गर्न चाहन्छौं’, उनी भन्छन्, ‘तर त्यसअनुसारको वातावरण चाहियो । जन्मका आधारमा नागरिकताको अधिकार र लगानीको सुरक्षाले धेरै नेपाली फर्किन सक्छन् ।’ उनको आग्रह सरल छ– सरकारले विश्वासको वातावरण बनाओस्, बाँकी काम प्रवासी नेपालीले आफैं गर्न सक्छन् ।

    विगतबाट शिक्षा र आत्मबल लिन्छु
    गंगाप्रसाद शर्मा आचार्य आफ्नो विगतलाई कहिल्यै बिर्सन चाहँदैनन । ‘यो ठाउँसम्म पुग्छु भन्ने मैले कहिल्यै सोचेको थिइनँ’, उनी भन्छन्– ‘जीवनले कल्पनाभन्दा धेरै दियो । त्यसैले विगत बिर्सनु हुँदैन ।’ कुराकानीको अन्त्यमा उनले केही क्षण मौन बसेर एउटा वाक्य सुनाए, जसले सायद उनको सम्पूर्ण जीवनको सार बोकेको छ– ‘जीवन संघर्ष हो । हार मान्ने होइन । केही गर्न नसके चुप लाग्नु राम्रो । तर जे गरे पनि समयको मूल्य बुझ्नुपर्छ । पैसा खान र लाउन मात्रै होइन, अरुलाई दिन पनि जान्नुपर्छ ।’


    त्यही दर्शनले बागलुङको एउटा सामान्य गाउँका युवकलाई बेल्जियमको सफल व्यवसायी बनायो । र त्यही दर्शन लिएर उनी फेरि आफ्नै माटो फर्किन लागेका छन् । सायद अब उनको अर्को संघर्ष व्यक्तिगत सफलताका लागि होइन, आफ्नै गाउँ, आफ्नै जिल्ला र आफ्नै देशका लागि हुनेछ ।


    गंगाप्रसाद शर्मा आचार्यको जीवनले एउटा स्पष्ट सन्देश दिन्छ– सपना देख्न धन चाहिँदैन, तर सपना पूरा गर्न धैर्य, श्रम र इमान चाहिन्छ । जीवनले जतिसुकै अप्ठ्यारो मोड किन नदिओस्, हार नमान्नेहरु अन्ततः आफ्नै भाग्यका निर्माता बन्छन् ।


    गंगाको कथा कुनै व्यक्तिको सफलताको कथा मात्र होइन । यो हजारौं प्रवासी नेपालीको सम्भावनाको कथा हो । संघर्षबाट भाग्ने होइन, संघर्षलाई अवसरमा बदल्ने साहस गर्ने हो भने असम्भव जस्तो देखिने सपना पनि पूरा हुन सक्छ भन्ने उदाहरण उनी हुन् ।

  • दोहोरो नागरिकता युगमा विश्व

    दोहोरो नागरिकता युगमा विश्व

    सुरेन्द्र नेपाल श्रेष्ठ
    एउटा समय थियो, जब एउटै व्यक्तिसँग दुई देशको नागरिकता हुनु निकै अनौठो र दुर्लभ मानिन्थ्यो । अधिकांश देशका कानूनले यसलाई स्वीकार गर्दैनथे । यदि कुनै व्यक्तिले अर्को देशको नागरिकता प्राप्त ग¥यो भने उसले आफ्नो जन्म देशको नागरिकता गुमाउनुपर्ने कडा व्यवस्था थियो । त्यसबेला नागरिकतालाई केवल एउटा कानुनी परिचयको रुपमा मात्र नभई राष्ट्रप्रतिको निष्ठा, सार्वभौमिकता र राष्ट्रिय सुरक्षासँग जोडिएको अत्यन्तै संवेदनशील विषयका रुपमा हेरिन्थ्यो । त्यसैले ‘एक व्यक्ति, एक नागरिकता’को अवधारणा नै विश्वका धेरै देशहरुको मूल नीति बनेको थियो ।


    तर २१औं शताब्दीको बदलिँदो राजनीतिक, आर्थिक र सामाजिक परिवेशले नागरिकताप्रतिको त्यो पुरानो सोचलाई नै परिवर्तन गरिदिएको छ । विश्वव्यापी आप्रवासन, अन्तर्राष्ट्रिय व्यापार, उच्च शिक्षा, अन्तरदेशीय विवाह, प्रविधिको विकास र मानिसहरुको बढ्दो गतिशीलताले नागरिकताको अर्थ अब एउटा भूगोलभित्र मात्र सीमित राख्न नसकिने अवस्था सिर्जना गरेको छ ।


    आज विश्वको कुल जनसंख्या करिब ८.२ अर्ब पुगेको छ । यसमध्ये करिब ३० करोड ४० लाख मानिसहरु आफ्नो जन्मदेशभन्दा बाहिर बसोवास गरिरहेका छन् । जुन विश्वको कुल जनसंख्याको करिब ३.७ प्रतिशत हो । अर्थात्, विश्वका प्रत्येक १०० जनामध्ये झण्डै ४ जना मानिस अन्तर्राष्ट्रिय आप्रवासीका रुपमा अर्को देशमा जीवन बिताइरहेका छन् । यो संख्या आफैंमा एउटा विशाल विश्वव्यापी समुदाय हो । यीमध्ये करोडौं मानिसहरु रोजगारी, शिक्षा, व्यवसाय, विवाह वा स्थायी भविष्यका लागि आफू बसेको देशको नागरिकता लिनुपर्ने अवस्थामा पुग्छन् ।


    यो संख्या कति ठूलो हो भन्ने बुझ्नका लागि तुलना गर्दा यो एउटा सामान्य जनसंख्या समूह मात्र होइन, विश्वको एउटा विशाल समुदाय हो । ३० करोड ४० लाख मानिसको संख्या करिब संयुक्त राज्य अमेरिकाको कुल जनसंख्याको नजिक पुग्छ र इन्डोनेसिया, पाकिस्तान वा ब्राजिलजस्ता ठूला देशहरुको जनसंख्याभन्दा पनि बढी हो । यदि यसलाई केही ठूला युरोपेली देशहरुसँग तुलना गर्ने हो भने बेलायत, फ्रान्स, जर्मनी, इटाली र स्पेनजस्ता पाँच प्रमुख देशहरुको संयुक्त जनसंख्यासँग लगभग बराबर हुन्छ ।


    अर्को शब्दमा भन्नुपर्दा, विश्वभर आफ्नो जन्मभूमिभन्दा बाहिर बस्ने मानिसहरुको संख्या विश्वका करिब १ सय ५० भन्दा बढी साना राष्ट्रहरुको संयुक्त जनसंख्याभन्दा ठूलो छ । यदि अन्तर्राष्ट्रिय आप्रवासीहरुलाई एउटा छुट्टै देशका नागरिकका रुपमा हेर्ने हो भने यो विश्वकै सबैभन्दा ठूलो जनसंख्या भएका राष्ट्रहरुको सूचीमा पर्ने स्तरको संख्या हो । यही कारणले आज धेरै देशहरुले विदेशमा रहेका आफ्ना नागरिक वा नागरिक मूलका समुदायलाई केवल आप्रवासीका रुपमा होइन आर्थिक, सांस्कृतिक र कूटनीतिक शक्तिका रुपमा हेर्न थालेका छन् ।


    यस्तो बदलिएको विश्व यथार्थलाई स्वीकार गर्दै धेरै राष्ट्रहरुले नागरिकतासम्बन्धी आफ्नो पुरानो नीति पुनर्विचार गर्न थालेका छन् । सन् २०२६ सम्म आइपुग्दा संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमध्ये १४० भन्दा बढी देश, अर्थात् करिब ७५ प्रतिशत राष्ट्रहरुले कुनै न कुनै रुपमा दोहोरो वा बहु नागरिकतालाई स्वीकार गरिसकेका छन् । नागरिकतासम्बन्धी अन्तर्राष्ट्रिय अनुसन्धान संस्था ‘ग्लोबलसिट’का अध्ययनहरुले पनि पछिल्ला दशकहरुमा विश्वको झुकाव एकल नागरिकताबाट बहु नागरिकतातर्फ बढिरहेको देखाउँछन् । बीसौं शताब्दीको अधिकांश समयमा अपवाद मानिने दोहोरो नागरिकता आज धेरै देशहरुमा सामान्य अभ्यास बन्दै गएको छ ।


    विश्वको नक्सा हेर्दा यो परिवर्तन स्पष्ट देखिन्छ । उत्तर र दक्षिण अमेरिकाका अधिकांश देशहरु दोहोरो नागरिकताको पक्षमा छन् । संयुक्त राज्य अमेरिका, क्यानडा, मेक्सिको, ब्राजिल, अर्जेन्टिना, चिली, कोलम्बिया र पेरु लगायतका देशहरुले आफ्ना नागरिकलाई अर्को देशको नागरिकता लिए पनि पुरानो नागरिकता कायम राख्न अनुमति दिएका छन् ।

    युरोपमा पनि बेलायत, आयरल्याण्ड, फ्रान्स, इटाली, पोर्चुगल, स्विडेन, फिनल्याण्ड, डेनमार्क, स्विट्जरल्याण्ड लगायत धेरै देशहरुले दोहोरो नागरिकतालाई मान्यता दिएका छन् । अफ्रिका महादेशका ५४ वटा देशमध्ये करिब २८ देशले दोहोरो नागरिकतालाई पूर्णरुपमा स्वीकार गरेका छन् । थप २० भन्दा बढी देशहरुले केही शर्त वा सीमासहित दोहोरो नागरिकतालाई अनुमति दिएका छन् ।


    विश्वका धेरै राष्ट्रहरुले आफ्नो डायस्पोरालाई राष्ट्र निर्माणको महत्वपूर्ण साझेदार बनाएका छन् । उदाहरणका लागि, आयरल्याण्डको जनसंख्या करिब ५.४ मिलियन भए पनि आयरिश मूलका मानिसहरु विश्वभर ७० देखि ८० मिलियन रहेको अनुमान गरिन्छ । इजरायलले पनि आफ्नो डायस्पोरासँगको सम्बन्धलाई राष्ट्रिय रणनीतिको केन्द्रमा राखेको छ ।

    भारतले पूर्ण दोहोरो नागरिकता नदिए पनि ओभरसिज सिटिजन अफ इन्डिया (ओसीआई)मार्फत करोडौं भारतीय मूलका मानिसलाई दीर्घकालीन सम्बन्धमा बाँधेर राखेको छ । यी उदाहरणहरुले देखाउँछन् कि आधुनिक राष्ट्रहरुले आफ्ना नागरिकलाई सीमाभित्र मात्र होइन, सीमाबाहिर पनि राष्ट्रिय सम्पत्तिका रुपमा हेर्न थालेका छन् ।


    विकसित देशहरुले दोहोरो नागरिकतालाई केवल व्यक्तिगत अधिकारको विषयका रुपमा मात्र होइन, राष्ट्रिय हितसँग जोडिएको रणनीतिक नीतिका रुपमा पनि हेर्न थालेका छन् । लामो समयसम्म कडा नीति अपनाएको जर्मनीले जुन २०२४ देखि लागू भएको नयाँ नागरिकता कानूनमार्फत बहु नागरिकतालाई सहज बनायो । जर्मनीले नागरिकता प्राप्त गर्ने प्रक्रियालाई पनि सरल बनाउँदै सामान्य बसोवास अवधिलाई आठ वर्षबाट पाँच वर्षमा झारेको छ ।

    विशेष उपलब्धि भएका व्यक्तिका लागि यो अवधि अझ कम गर्न सकिने व्यवस्था गरिएको छ । जर्मन सरकारको दक्ष जनशक्ति आकर्षित गर्न, विदेशी मूलका मानिसहरुलाई समाजमा राम्रोसँग समाहित गर्न र विश्वव्यापी प्रतिभाको प्रतिस्पर्धामा अघि बढ्न यस्तो सुधार आवश्यक छ भन्ने तर्क थियो । नर्वेले सन् २०२० मा र युक्रेनले सन् २०२५ मा पनि आफ्ना नागरिकता नीतिमा परिवर्तन गरेका छन् ।


    तर सबै देशहरुले एउटै बाटो अपनाएका छैनन् । केही राष्ट्रहरुले शर्तसहित दोहोरो नागरिकता स्वीकार गरेका छन् भने केहीले अझै कडा प्रतिबन्ध कायम राखेका छन् । चीनले दोहोरो नागरिकतालाई पूर्ण रुपमा अस्वीकार गर्छ । भारतले पनि विदेशी नागरिकता लिएपछि भारतीय नागरिकता कायम राख्ने व्यवस्था गरेको छैन । धेरैले भारतको ओभरसिज सिटिजन अफ इन्डिया (ओसीआई) कार्डलाई दोहोरो नागरिकता ठान्ने गरे पनि त्यो वास्तविक नागरिकता होइन; यो विशेष सुविधा प्रदान गर्ने व्यवस्था मात्र हो ।

    जापान, सिंगापुर, मलेसिया, इन्डोनेसिया लगायतका देशहरुले पनि अझै सीमित वा प्रतिबन्धित नीति अपनाएका छन् । नेपाल पनि यही समूहमा पर्छ । नेपालको वर्तमान कानुनी व्यवस्थाअनुसार कुनै नेपाली नागरिकले अर्को देशको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता स्वतः समाप्त हुन्छ ।

    संविधानले गैरआवासीय नेपालीका लागि सीमित अधिकारसहितको नागरिकताको व्यवस्था गरे पनि व्यवहारमा प्रयोग भएका छैनन् । त्यो पूर्ण नागरिकताको विकल्प बन्न सक्दैन । आज लाखौं नेपालीहरु रोजगारी, शिक्षा, व्यवसाय र सुरक्षित भविष्यको खोजीमा संसारका विभिन्न देशमा बसोवास गरिरहेका छन् । उनीहरुमध्ये धेरैका लागि आफू बसेको देशको नागरिकता लिनु बाध्यता वा आवश्यकता बन्न सक्छ । विकसित देशको नागरिकता प्राप्त गरेपछि रोजगारी, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र कानुनी स्थायित्वका अवसरहरु सहज हुन्छन् ।

    त्यसैले आफ्नो जीवनलाई सुरक्षित बनाउन धेरै नेपालीहरुले नयाँ देशको नागरिकता लिनुपर्ने अवस्था आउँछ । तर समस्या त्यहाँ शुरु हुन्छ, जहाँ अर्को देशको नागरिकता लिँदा नेपाली नागरिकता समाप्त हुन्छ । एउटा पुस्ताले कानुनी रुपमा नेपाली नागरिकता गुमाउँदा त्यसको असर आउने पुस्तासम्म पुग्न सक्छ । उनीहरु नेपाली मूलका हुन सक्छन्, नेपाली भाषा, संस्कृति, परम्परा र पारिवारिक इतिहाससँग जोडिएका हुन सक्छन्, तर कानुनी रुपमा आफूलाई नेपाली नागरिक भन्न पाउने अधिकार भने उनीहरुसँग नहुन सक्छ ।


    त्यसैले नागरिकताको निरन्तरताको बहस केवल आर्थिक फाइदा, लगानी वा रेमिट्यान्समा मात्र सीमित छैन । यो त भविष्यमा विश्वभर छरिएर रहेका नेपाली समुदायसँग नेपालको सम्बन्ध कसरी जोगाएर राख्ने भन्ने एउटा गम्भीर प्रश्न पनि हो । यदि विदेशमा जन्मिएका नेपाली मूलका सन्तानहरु क्रमशः नेपालको कानुनी दायराबाट टाढिँदै गए भने भविष्यमा ठूलो नेपाली डायस्पोरा त हुनेछ, तर मातृभूमिसँगको औपचारिक सम्बन्ध भने क्रमशः कमजोर हुँदै जानेछ ।


    विश्वका धेरै राष्ट्रहरुले यही चुनौतीलाई महसुस गर्दै आफ्नो डायस्पोरासँग आत्मीयता कायम राख्ने नीति बनाएका छन् । उनीहरुले विदेशमा रहेका आफ्ना नागरिक वा उनीहरुका सन्तानलाई विभिन्न माध्यमबाट मातृभूमिसँग जोड्ने काम गरेका छन् । यसको उद्देश्य केवल पैसा मात्र जुटाउनु होइन, बरु उनीहरुको ज्ञान, सीप, प्रविधि, संस्कृति र अन्तर्राष्ट्रिय पहुँचलाई राष्ट्र निर्माणको आधार बनाउनु पनि हो ।


    नेपालको सन्दर्भमा पनि विदेशमा रहेका नेपालीहरुको भूमिका निकै महत्वपूर्ण छ । सरकारी अनुमान र गैरआवासीय नेपाली संघको तथ्यांक हेर्ने हो भने ५० लाखभन्दा बढी नेपाली मूलका मानिसहरु विश्वका १५० भन्दा बढी देशमा बसोवास गरिरहेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकले पछिल्ला वर्षहरुमा वार्षिक करिब १.५ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको देखाउँछ ।

    जुन नेपालको कुल गार्हस्थ्य उत्पादनको झण्डै एक चौथाइ हिस्सा हो । तर, विदेशमा रहेका नेपालीहरुको योगदानलाई केवल पैसाको आधारमा मात्र मापन गर्नु उचित हुँदैन । उनीहरुको ज्ञान, सीप, पूँजी, प्रविधि, अनुभव र अन्तर्राष्ट्रिय सञ्जाल पनि नेपालका लागि ठूलो सम्पत्ति हुन् र यसको जगेर्ना गर्न अनिवार्य हुन्छ ।

    (लेखक अधिवक्ता श्रेष्ठ तीन दशकदेखि बेलायतमा बसोवास गर्दै आएका छन् ।)

  • परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण

    परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण

    काठमाडौँ, १९ साउनः नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए)ले कूटनीतिक भाषा प्रशिक्षण सुरु गरेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सोमबार त्रिपुरेश्वरस्थित सगरमाथा सभाकक्षमा आयोजना गरेको कूटनीतिक भाषा प्रशिक्षणसम्बन्धी अभिमुखीकरण कार्यक्रम–२०२६ मार्फत प्रशिक्षणको औपचारिक सुरुआत गरिएको हो ।

    कार्यक्रमको उद्घाटन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक भाषा प्रशिक्षणसम्बन्धी पहलको औपचारिक शुभारम्भ गरे । परराष्ट्रमन्त्री खनालले कूटनीतिको मूल आधार नै संवाद रहेको बताए । नयाँ भाषा सिकाइले विश्वदृष्टिलाई फराकिलो बनाउने उल्लेख गर्दै उनले नयाँ समुदायसँग सम्बन्ध स्थापित गर्न, विचार प्रत्यक्ष रूपमा आदानप्रदान गर्न तथा नेपालको जानकारी विश्वभर पु¥याउन भाषिक दक्षताले महत्वपूर्ण भूमिका खेल्ने बताए । भाषा प्रशिक्षण कार्यक्रमको उद्देश्य परराष्ट्र सेवाका अधिकृतहरूको भाषिक दक्षता अभिवृद्धि गर्दै कूटनीतिक संलग्नता तथा अन्तरराष्ट्रिय क्षेत्रमा उनीहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउनु रहेको आइएफएले जनाएको छ ।

    आइएफएकी कार्यकारी निर्देशक रोजिना ताम्राकारले विश्वास निर्माण, कूटनीतिक सम्बन्ध सुदृढीकरण तथा नेपालको ‘सफ्ट पावर’ र सार्वजनिक कूटनीति प्रवर्द्धनमा भाषा तथा सांस्कृतिक समझदारीको महत्व रहेको बताइन् । उनले कार्यक्रमको सफलता र निरन्तरताका लागि सहभागी अधिकृतको अनुशासन र निरन्तर प्रतिबद्धताका साथै परराष्ट्र मन्त्रालयको संस्थागत स्वामित्व र निरन्तर सहयोग आवश्यक रहेकामा जोड दिइन् ।

    नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चिनियाँ भाषा सिकाइ तथा नेपाल–चीन सम्बन्धका विषयमा मन्तव्य दिए । त्यसैगरी, नेपालका लागि फ्रान्सेली राजदूतावासकी कार्यवाहक राजदूत एल्जा क्यालेले फ्रान्सेली भाषा सिकाइ तथा नेपाल–फ्रान्स सम्बन्धका विषयमा धारणा राखे ।

    त्रिभुवन विश्वविद्यालयस्थित कन्फ्युसियस इन्स्टिच्युटका नेपाल निर्देशक डा बलराम दुवाल र अलायन्स फ्रान्सेज द काठमाडौँकी पाठ्यक्रम निर्देशक आन–लोर पोटिएले क्रमशः चिनियाँ र फ्रान्सेली भाषा प्रशिक्षणसम्बन्धी पाठ्यक्रमको परिचय दिँदै यसको संरचना तथा सिकाइका उद्देश्यबारे जानकारी गराए । आइएफएका अनुसार चिनियाँ भाषा प्रशिक्षण त्रिभुवन विश्वविद्यालयस्थित कन्फ्युसियस इन्स्टिच्युटको सहकार्यमा तथा फ्रान्सेली भाषा प्रशिक्षण अलायन्स फ्रान्सेज द काठमाडौँको सहयोगमा सञ्चालन हुनेछ । यस्तै, अरबी भाषा प्रशिक्षणसमेत आगामी दुई साताभित्र सुरु गरिनेछ । चिनियाँ भाषा कक्षा प्रत्येक साता तीन दिन तथा फ्रान्सेली र अरबी भाषा कक्षा प्रत्येक साता दुई–दुई दिन सञ्चालन हुनेछन् ।

    प्रत्येक कक्षा डेढ घण्टाको हुनेछ । आइएफएले विदेशी भाषा सिकाइलाई क्रमशः नेपालको कूटनीतिक प्रशिक्षण प्रणालीमा एकीकृत गर्दै नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने बृहत्तर प्रयासअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।

  • १५ वर्ष पुरानो राहदानी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

    १५ वर्ष पुरानो राहदानी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

    काठमाडौँ, १९ साउनः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राहदानी ऐनअन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ । ब्युरोका प्रवक्ता अनुप शमशेर जबराका अनुसार तिब्बती शरणार्थीका नाममा गैरकानुनी यात्रा अनुमतिपत्र जारी गरेको आरोपमा सहसचिव भट्टराई पक्राउ परेका छन् ।

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर भएसँगै ब्युरोले भट्टराईलाई सोमबार त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । यात्रा अनुमतिपत्रसहित उपस्थित भएका व्यक्तिको राष्ट्रियतामाथि शङ्का लागेपछि गरिएको सोधपुछका क्रममा जर्मन राजदूतावासले २०६८ जेठ २० गते पाँच थान सक्कल यात्रा अनुमति पत्र अनुसन्धान तथा कारबाहीका लागि ब्युरोमा पठाएको थियो ।


    यात्रा अनुमतिपत्र जारी गर्ने कार्यमा तत्कालीन परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा शाखा अधिकृत रहेका भट्टराईको संलग्नता देखिएको सिआइबीले जनाएको छ ।

  • परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

    काठमाडौँ, १८ साउनः परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ जन्दानशातारबीच भेटवार्ता भएको छ ।
    सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल र मङ्गोलियाबीचको द्विपक्षीय सम्बन्ध, भूराजनीतिक समानता, विकास, व्यापार, साझेदारी तथा बौद्ध मूल्य–मान्यताका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

    सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल र मङ्गोलियाबीच भूराजनीतिक रूपमा धेरै समानता रहेको उल्लेख गर्दै नेपालले मङ्गोलियाको अनुभवबाट विभिन्न विषयमा सिक्न सक्ने बताए । उनले विकास, व्यापार, साझेदारी तथा बौद्ध मूल्य–मान्यताका क्षेत्रमा दुई मुलुकबीच सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्त गरे ।
    मन्त्री खनालले नेपाल र मङ्गोलियाले भूपरिवेष्टित मुलुकको अधिकार तथा हितका पक्षमा संयुक्त रूपमा आवाज उठाउन सक्ने बताए । उनले मङ्गोलियाले आफ्ना छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्दै साझेदारी व्यवस्थापनमा विश्वस्तरमा पहिचान बनाउन सफल भएको भन्दै भनी प्रशंसा गरे ।


    भेटवार्तामा नेपाल र मङ्गोलियाबीचको द्विपक्षीय तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावित उपायहरूबारे समेत छलफल भएको थियो । मन्त्री खनालले नेपालको नयाँ सरकार मङ्गोलियासँग आध्यात्मिक साझेदारका रूपमा सम्बन्ध थप सुदृढ गर्न इच्छुक रहेको बताए । उनले दुई मुलुकबीच विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउन नेपाल प्रतिबद्ध रहेको स्पष्ट पारे । त्यस अवसरमा पूर्वप्रधानमन्त्री जन्दानशातारले नेपाल र मङ्गोलियाबीच रहेका भौगोलिक समानताहरूको चर्चा गर्दै बदलिँदो विश्व व्यवस्थामा मंगोलिया र नेपालजस्ता साना मुलुक एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।


    उनले नेपाल र मङ्गोलियाबीच साझा बौद्ध मूल्य–मान्यता तथा संस्कृति रहेको उल्लेख गर्दै दुवै मुलुक एक–अर्काका आध्यात्मिक छिमेकी रहेको बताए । उनले बौद्ध धर्मका मूल्य–मान्यता, संस्कृति तथा नेपालमा चेस खेलको विकासका क्षेत्रमा सहकार्य गर्न मङ्गोलिया इच्छुक रहेको जानकारी दिए ।

  • लण्डनका नेपाली व्यवसायी खनालले मेफेयरमा खोले नयाँ फार्मेसी

    लण्डनका नेपाली व्यवसायी खनालले मेफेयरमा खोले नयाँ फार्मेसी

    १७ साउन, काठमाडौं । नेपालबाट लण्डन गएर लामो समयदेखि उद्योग तथा व्यवसाय सञ्चालन गरेका उद्यमी समीर खनालले मध्य लन्डनको प्रतिष्ठित मेफेयरमा रोजवुड फार्मेसी सञ्चालनमा ल्याएका छन् । डेढ दशकदेखि नेपालमा उत्पादित जडिवुटीलाई लण्डनमा प्रवद्र्धन गर्दै आएका खनालले स्थापना गरेको फार्मेसीको लन्डनमा एक विशेष समारोहका बीच युएईको शाही परिवार सदस्य शेख फैसल बिन खालिद अल कासिमीले शुभारम्भ गरे ।


    मेफेयर लन्डनको सबैभन्दा सम्पन्न र प्रतिष्ठित ठाउँमध्ये एक हो । खनालले उक्त स्थानमा आफ्नै ‘प्रोपर्र्टी’ उक्त फार्मेसी सञ्चालन ल्याएका हुन् । उक्त स्थानमा लक्जरी किनमेल, विश्वस्तरीय होटल, उत्कृष्ट रेस्टुरेन्ट, जर्जियाली वास्तुकला र हाइड पार्कलगायत रहेको छ ।

    फार्मेसी उदघाटन समारोहमा गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी अध्यक्ष डा हेमराज शर्मा, एनआरएनए युके अध्यक्ष राजेन्द्र पुडासैनी, ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष विराज भट्ट, चितवन एड ट्रस्टका अध्यक्ष राजु आचार्य, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष इन्जिनीयर दिपक कुँवर, उद्यमीहरु एलएन पाण्डे, कमल पौडेल, बसन्त नेपाललगायत ब्रिटिश र नेपाली व्यवसायी एवम् समुदायका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

    उनीहरुले मेफेयरजस्तो प्रतिष्ठित र सम्पन्न ठाउँमा नेपाली व्यवसायीले व्यवसाय खोल्नु सारा नेपालीको लागि खुशी र गर्वको विषय भएको बताए । लन्डनको प्रतिष्ठित लोकेसनमा प्रिमियम ब्रान्डमा नेपाली उत्पादनहरु उपलब्ध गराइएकोमा खुशी व्यक्त गर्दै उनीहरुले यसले नपाली उत्पादन मात्र नभइ सिंगो देशकै प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे ।

    गैरआवासीय नेपाली समुदायकै एक सदस्यले व्यवसायिक रुपमा हासिल गरेको यो सफलता सिंगो समुदायका लागि प्रोत्साहन र प्रेरणाको विषय हुने उनीहरुले बताए । कार्यक्रममा रोजवुड फार्मेसीका प्रवन्ध निर्देशक खनालले सबै अतिथिलाई उपस्थितीको लागि शुभकामना तथा कृतज्ञता व्यक्त गरे । उनले आफ्नो ब्रान्ड सरयूमार्फत अन्तर्राष्ट्रिय बजारमा उच्च गुणस्तरका नेपाली उत्पादनहरू प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    सरयूले नेपालबाट प्रिमियम हिमालयन जङ्गली मह, यार्सागुम्बा, शिलाजित जस्ता बहुमुल्य नेपाली जडिबुटीको कच्चापदार्थ नेपालबाट आयत गरी लण्डनमा उत्पादन गरी विक्रिवितरण गर्दै आएको छ । व्यवसायी खनालले रोजवुड फार्मेसी औषधि बिक्री गर्ने ठाउँ मात्र नभई यसले नेपाली उत्पादनलाई विश्व बजारमा परिचय गराउने प्लेटफर्मको रूपमा पनि काम गर्ने बताए ।

    अन्य फार्मेसीमा उपलब्ध सामग्री रोजवुड फार्मेसीमा पनि समान मूल्यमा उपलब्ध छन् । तर प्रिमियम ब्रान्डका सामग्रीको भने सोहिअनुसार मूल्य निर्धारण गरिएको छ । व्यवसायी खनालले नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार विस्तार गर्न आफू प्रतिबद्ध रहेको बताए ।

    चितवन स्थायी घर भई काठमाडौँको महाराजगञ्ज बस्दै आएका खनाल अध्ययनका लागि बेलायत प्रवेश गरी निरन्तरको मेहनत र पेशाप्रतिको इमान्दारिताका जगमा अहिले यहाँसम्म आइपुगेका हुन् । “मेहनत त आवश्यक पर्छ नै, तर त्यति मात्रै भएर पुग्दैन, सहि समय र सहि ठाउँमा कडा मेहनत गरियो भने अवश्य सफल भइन्छ भन्ने मेरो सिकाइ हो,”– उनले भने। खनालले आगामी दिनमा आफ्नो व्यवसायलाई निरन्तर रुपमा अगाडि बढाउने बताए ।

  • निर्मल पूर्जाको शव ५७ सय मिटरमा भेटियो

    निर्मल पूर्जाको शव ५७ सय मिटरमा भेटियो

    १७ साउन, काठमाडौं । पर्वतारोही निर्मल पुर्जाको शव पाकिस्तानको ब्रोड पिक हिमालमा फेला परेको उद्धारकर्ताहरूले बताएका छन्। पाकिस्तानको अल्पाइन क्लबले आइतबार जनाएअनुसार उनको शव समुद्री सतहबाट करिब ५,७०० मिटर उचाइमा फेला परेको हो।

    सोही क्षेत्रमा थप तीनवटा शव पनि देखिएको भए पनि पहिचान भएको छैन। ४३ वर्षीय पुर्जाको निधन भएको घोषणा शनिबार उनको कम्पनी एलिट एक्स्पेडिसन्सले गरेको थियो। कम्पनीका अनुसार हिमपहिरोमा परी ज्यान गुमाउने १० जनामध्ये उनी पनि एक थिए।

    नेपालमा जन्मिएका र पछि बेलायती सेनामा सेवा गरेका पुर्जाले सन् २०१९ मा विश्वका १४ वटा सर्वोच्च हिमाल छ महिनाभन्दा केही बढी समयमै आरोहण गरेर विश्वभर ख्याति कमाएका थिए। अल्पाइन क्लबका अनुसार उद्धार टोलीले फेला परेका शवहरूलाई जापानी शिविरमा ल्याउनेछ।

  • अमेरिकी भिसा पाउन नेपालसहित ५० देशका नागरिकले ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

    अमेरिकी भिसा पाउन नेपालसहित ५० देशका नागरिकले ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

    १७ साउन, काठमाडौं । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि लागू गरेको पर्यटकीय तथा व्यापारिक भिसासम्बन्धी ‘भिसा धरौटी’ प्रणालीलाई स्थायी बनाउने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले एक वर्षसम्म सञ्चालन गरिएको परीक्षण कार्यक्रम सफल भएको निष्कर्ष निकाल्दै उक्त व्यवस्थालाई स्थायी नियमका रूपमा लागू गर्ने निर्णय गरेको हो ।

    नयाँ व्यवस्थाअनुसार अमेरिका भ्रमण वा व्यापारिक प्रयोजनका लागि बी–१ र बी–२ भिसाका लागि आवेदन दिने नेपाली नागरिकले भिसा प्राप्त गर्नुअघि अनिवार्य रूपमा कम्तीमा १० हजारदेखि अधिकतम २० हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्नेछ । नेपाली रुपैयाँमा यो रकम करिब ३० लाख रुपैयाँसम्म पुग्न सक्छ ।

    यसअघि परीक्षण कार्यक्रम सञ्चालनका क्रममा कन्सुलर अधिकारीको विवेकमा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी तोक्ने व्यवस्था थियो । तर नयाँ नियम लागू भएपछि ५ हजार डलरको विकल्प हटाइएको छ । अब १० हजार र २० हजार अमेरिकी डलर गरी दुईवटा विकल्प मात्र कायम गरिएको छ ।

    यो रकम भिसा अन्तर्वार्ताअघि नै जम्मा गर्नुपर्नेछ । भिसा अस्वीकृत भएमा वा अमेरिका प्रवेश गरेपछि भिसाको अवधि समाप्त हुनुअघि नियमअनुसार स्वदेश फर्किएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

    यो व्यवस्था मुख्य रूपमा अमेरिका भ्रमण, पर्यटन तथा व्यापारिक प्रयोजनका लागि बी–१ र बी–२ भिसा आवेदन दिने नागरिकका लागि लागू हुनेछ । दक्षिण एसियाबाट नेपाल, बंगलादेश र भुटान यस सूचीमा परेका छन् । त्यस्तै, अफ्रिकाका अधिकांश मुलुकसहित विश्वका ५० देशका नागरिकलाई यो व्यवस्थाको दायरामा राखिएको छ ।

    अमेरिकाले भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बस्ने अर्थात् ‘भिसा ओभरस्टे’ गर्ने प्रवृत्ति नियन्त्रण गर्न यो व्यवस्था लागू गरेको जनाएको छ । अमेरिकी सरकारी तथ्यांकअनुसार भिसाको अवधि नाघेर बसेका व्यक्तिलाई पक्राउ गरी स्वदेश फिर्ता गर्न प्रतिव्यक्ति करिब १८ हजार अमेरिकी डलर खर्च हुने भएकाले यस्तो व्यवस्था गरिएको हो ।

  • ‘निम्सदाइ’ को निधनले गैरआवासीय नेपाली संघ स्तब्ध

    ‘निम्सदाइ’ को निधनले गैरआवासीय नेपाली संघ स्तब्ध

    १६ साउन, काठमाडौं । विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाइ’ पुर्जाको दुःखद निधनको खबरले गैरआवासीय नेपाली संघ (एनआरएनए) स्तब्ध भएको बताएको छ । विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरी विश्व कीर्तिमान कायम गरेका निर्मल ‘निम्सदाइ’ पुर्जा केवल नेपालको मात्र नभई विश्वभर रहेका गैरआवासीय नेपालीहरूको पनि गौरव तथा प्रेरणाका स्रोत भएको संघको भनाई छ ।

    एक गैरआवासीय नेपालीका रूपमा उनले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीको साहस, क्षमता र पहिचानलाई विश्वसामु गौरवका साथ स्थापित गरेको संघले जनाएको छ । उनको असामयिक निधनसँगै गैरआवासीय नेपाली समुदायले एक असाधारण अभियन्ता, प्रेरणादायी व्यक्तित्व तथा विश्वमञ्चमा नेपालीको साहस र क्षमताको परिचय गराउने अमूल्य धरोहर गुमाएको संघको भनाई छ ।

    उनका असम्भवलाई सम्भव बनाउने सोच, अदम्य साहस, दृढ संकल्प, समर्पण र राष्ट्रप्रतिको योगदान नेपाल तथा विश्वभर रहेका नेपालीहरूको मनमस्तिष्कमा सदैव अमर रहने समेत संघले जनाएको छ । योगदान नेपाल र विश्वभर रहेका नेपालीहरुको मनमष्तिस्कमा सदैव अमर रहने समेत उल्लेख गरिएको छ ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्मल ‘निम्सदाइ’ पुर्जा सहित यस दुःखद घटनामा ज्यान गुमाउनु भएका छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दछ। साथै, शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

  • एनआरएनएद्धारा राष्ट्रपतिसमक्ष विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत

    एनआरएनएद्धारा राष्ट्रपतिसमक्ष विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत

    काठमाडौं, साउन १६ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शिष्टाचार भेट गरी संघद्वारा आयोजना गरिने विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत गरेका छन् । भेटमा संघका उपमहासचिव कृष्ण पोखरेल पनि सहभागी भए ।

    भेटका क्रममा उपाध्यक्ष डा. रेग्मीले विश्व ज्ञान सम्मेलनको तयारीबारे जानकारी गराउँदै विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक तथा विभिन्न क्षेत्रका दक्ष जनशक्तिलाई नेपालको विकाससँग प्रभावकारी रूपमा जोड्ने उद्देश्य रहेको बताए । उनले सम्मेलनमार्फत विदेशमा आर्जन भएको ज्ञान, सीप, प्रविधि, नवप्रवर्तन तथा अनुभवलाई नेपालको समृद्धि र दिगो विकासमा उपयोग गर्ने लक्ष्य रहेको उल्लेख गरे ।


    उनले नेपाल सरकार, निजी क्षेत्र, विश्वविद्यालय तथा विश्वभर रहेका नेपाली विज्ञहरूबीच दीर्घकालीन ज्ञान साझेदारी, अनुसन्धान सहकार्य र नवप्रवर्तनको वातावरण निर्माण गर्न विश्व ज्ञान सम्मेलन महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे । साथै, यस साताभरि नेपाल सरकारका विभिन्न मन्त्रालय, निकाय तथा उच्च पदस्थ पदाधिकारीहरूसँग भएका भेटघाट, छलफल र त्यसबाट प्राप्त सकारात्मक प्रगतिबारे पनि राष्ट्रपतिलाई जानकारी गराए ।


    सो अवसरमा संघका उपमहासचिव कृष्ण पोखरेलले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी संवैधानिक व्यवस्थाको कार्यान्वयन अझै पूर्ण रूपमा व्यवहारमा आउन नसकेको उल्लेख गर्दै त्यसका कारण गैरआवासीय नेपालीहरूले विभिन्न प्रशासनिक तथा कानुनी जटिलता भोग्नुपरेको विषयमा राष्ट्रपतिसमक्ष अवगत गराए ।
    जवाफमा राष्ट्रपति पौडेलले विश्वभर रहेका नेपाली विज्ञहरूलाई एउटै मञ्चमा ल्याई ज्ञान, सीप र अनुभवको आदानप्रदान गर्ने उद्देश्यसहित विश्व ज्ञान सम्मेलन आयोजना गर्न लागिएको पहलको प्रशंसा गर्दै यसलाई अत्यन्त सकारात्मक र समयसापेक्ष अभियानका रूपमा लिनुभएको बताए । उनले नेपालको समृद्धिका लागि विदेशबाट पूँजी मात्र नभई ज्ञान, सीप, प्रविधि र नवप्रवर्तनको समेत लगानी आवश्यक रहेकोमा जोड दिए ।


    राष्ट्रपतिले विदेशमा रहेका नेपालीहरूको बौद्धिक क्षमता, अनुभव र विशेषज्ञतालाई नेपालको विकाससँग प्रभावकारी रूपमा जोड्न सके देशले दीर्घकालीन रूपमा ठूलो लाभ लिन सक्ने उल्लेख गर्दै विश्व ज्ञान सम्मेलनले त्यस दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनले गैरआवासीय नेपाली समुदायले नेपालको आर्थिक, सामाजिक तथा बौद्धिक विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने उल्लेख गर्दै सरकार, निजी क्षेत्र, शैक्षिक संस्थाहरू तथा गैरआवासीय नेपाली समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएको जानकारी उपाध्यक्ष रेग्मीले दिए ।

  • निर्मल पूर्जासहित १० आरोही पाकिस्तानमा हिमाल चढ्दा वेपत्ता

    निर्मल पूर्जासहित १० आरोही पाकिस्तानमा हिमाल चढ्दा वेपत्ता

    १५ साउन, काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन बनेको छ । बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन् ।

    टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपाली नागरिक रहेका छन् । टोलीका नेता निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । मौसम अनुकूल भएमा खोज तथा उद्धारका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन् ।

    विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ । पाकिस्तानको अल्पाइन क्लबले विज्ञप्ति जारी गर्दै सरकारी निकायसँग निरन्तर समन्वयमा रही तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ । हेलिकोप्टर परिचालनसहित उपलब्ध सबै स्रोत–साधन यथाशीघ्र परिचालन गर्न हरसम्भव प्रयास भइरहेको क्लबले उल्लेख गरेको छ ।

    क्लबले सबै आरोहीहरूको सकुशल उद्धारको कामना गर्दै यस कठिन घडीमा उनीहरूका परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति ऐक्यबद्धता जनाएको छ । निर्मल पुर्जा सन् २००३ मा बेलायती सेनामा भर्ती भएका थिए भने सन् २००९ मा रोयल मरीन बनेका थिए । सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको यात्राका क्रममा पर्वतारोहणप्रति आकर्षित भएका उनले सुरुमा आधार शिविरबाट फर्किने योजना बनाए पनि निर्णय परिवर्तन गर्दै सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसयता उनी विश्वकै चर्चित पर्वतारोहीमध्ये एकका रूपमा स्थापित भएका छन् ।

  • उत्तरी कुवेतमा भएको आक्रमणमा एक नेपालीको निधन

    उत्तरी कुवेतमा भएको आक्रमणमा एक नेपालीको निधन

    काठमाडौँ, साउन १४ गते । उत्तरी कुवेतमा बिहीबार बिहान भएको एक आक्रमणमा परी एक जना नेपाली नागरिकको ज्यान गएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो। मन्त्रालयका अनुसार आक्रमणमा परी नेपाली नागरिकको निधन भएको दुःखद् खबर प्राप्त भएलगत्तै घटनाको आधिकारिकता र विस्तृत विवरण उपलब्ध गराउन कुवेतस्थित नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिएको जनाएको छ।

    कुवेतस्थित नेपाली राजदूतावासले त्यहाँका सम्बद्ध सरकारी निकाय तथा सम्बन्धित कम्पनीसँग निरन्तर र नजिकको सम्पर्कमा रहेर घटनाबारे थप जानकारी लिने काम गरिरहेको मन्त्रालयले जनाएको छ। यस विषयमा आधिकारिक निकायबाट थप विवरण प्राप्त हुनासाथ सार्वजनिक गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

  • सञ्चारमन्त्री तिमिल्सिनासँग एनआरएनए प्रतिनिधिको भेट, के भयो कुराकानी ?

    सञ्चारमन्त्री तिमिल्सिनासँग एनआरएनए प्रतिनिधिको भेट, के भयो कुराकानी ?

    १२ साउन, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन) को ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशको विकाससँग जोड्नेगरी सरकारले नीतिगत, कानुनी तथा व्यावहारिक सुधारलाई प्राथमिकता दिएको बताएका छन् । उनले विदेशमा रहेका नेपालीको अनुभव र लगानीलाई राष्ट्र निर्माणमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सूचना प्रविधि, कृत्रिम बौद्धिकता (एआई), डाटा सेन्टर तथा डिजिटल पूर्वाधारजस्ता क्षेत्रमा लगानीका लागि नेपाल तयार रहेको स्पष्ट पारे ।


    आज सूचना र तथा सञ्चार मन्त्रालयमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीसँग भएको भेटवार्तामा सञ्चारमन्त्री डा. तिमिल्सिनाले सरकारले देशमा लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक सुधारका काम अघि बढाइरहेको बताए । छलफलमा एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष ज्ञानेन्द्र रेग्मी, उपमहासचिव कृष्ण पोखरेललगायतको सहभागिता थियो ।

    भेटका क्रममा एनआरएनएका प्रतिनिधिहरुले सन् २०२७ को जनवरीमा काठमाडौँमा आयोजना हुने चौथो ‘एनआरएनए ग्लोबल नलेज कन्भेन्सन–२०२७’ को तयारीबारे जानकारी गराएका छन्। उक्त सम्मेलनले विश्वभर रहेका नेपालीको ज्ञान, सीप, अनुभव र नवप्रवर्तनलाई नेपालको विकाससँग जोड्ने उद्देश्य राखेको एनआरएनले जनाएको छ।

    छलफलमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले सरकारले विभिन्न स्थानमा आधुनिक डाटा सेन्टर निर्माणको प्रक्रिया अघि बढाइरहेको बताउँदै ती परियोजनामा स्वदेशी तथा विदेशी लगानी दुवैको आवश्यकता रहेको बताए । एआई, डाटा सेन्टर, डिजिटल पूर्वाधार र सूचना प्रविधिसँग सम्बन्धित क्षेत्रमा लगानी गर्न उपयुक्त वातावरण बनेको उल्लेख गर्दै उनले लगानीकर्ताका लागि थप सहज वातावरण तयार गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले विदेशमा बसोबास गर्ने नेपालीले स्वदेशप्रति गहिरो माया राख्ने र देशका लागि केही गर्न चाहने भावना सकारात्मक रहेको उल्लेख गरे ।

    त्यस सम्भावनालाई नीतिगत रूपमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले नेपालमा सीप, प्रविधि र पुँजी भित्र्याएर राष्ट्र निर्माणमा योगदान गर्न गैरआवासीय नेपालीलाई आग्रह गरे । अहिले सरकारले सुशासन र नागरिक सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर राजनीतिक संस्कारमा समेत परिवर्तन ल्याउने उद्देश्यका साथ काम गरिरहेको उल्लेख गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले सुधारका प्रयासमा विभिन्न समस्या तथा व्यवधान आए पनि निरन्तर अघि बढ्ने स्पष्ट पारे ।


    “अहिले जहाँ हेरे पनि सुधार गर्नुपर्ने मात्रै देखिन्छ । हरेक ठाउँमा समस्या र चुनौतीका चाङ छन् । नियत सही हुँदा पनि काम गर्ने क्रममा व्यवधान आउन सक्छन् । अहिले के गर्नेभन्दा पनि कसरी गर्ने भन्ने विषय बढी महत्वपूर्ण बनेको छ” उनले भने । सरकारले प्रक्रियामुखी कार्यशैलीभन्दा नतिजामुखी कार्य सम्पादनलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले नागरिकलाई प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर सरकार अघि बढिरहेको बताए । नीति, योजना र बजेट कार्यान्वयनमा व्यावहारिक सुधार गर्दै सुशासन र डिजिटल प्रणालीको विस्तारमा सरकार केन्द्रित रहेको सञ्चारमन्त्री तिमिल्सिनाको भनाइ छ।

    एनआरएनएका प्रतिनिधिहरुले पनि सरकारले अघि सारेका डिजिटल रूपान्तरण, विद्युतीय शासन, कृत्रिम बौद्धिकता, सुशासन तथा डिजिटलाइजेसनका कार्यक्रम कार्यान्वयनमा सहकार्य गर्न आफूहरू तयार रहेको बताए । कृषि, पर्यटन, सूचना प्रविधि, नवप्रवर्तन तथा अन्य उत्पादनमूलक क्षेत्रमा ज्ञान, सीप र लगानीमार्फत एनआरएनले सहयोग गरिरहेको उल्लेख गर्दै एनआरएनले सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटसँग मेल खाने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दैआएको एनआरएनएले जानकारी दिएको छ।

    एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राईले गैरआवासीय नेपालीलाई निश्चित अधिकारसहितको नागरिकता उपलब्ध गराउने सरकारको निर्णयलाई सकारात्मक कदमको रूपमा स्वागत गर्दै त्यसको कार्यान्वयनलाई थप सहज बनाउन आग्रह गरिन् । उनले गैरआवासीय नेपालीसम्बन्धी ऐन संशोधनका लागि तयार भएको विधेयकलाई पनि सरकारले शीघ्र अघि बढाउनुपर्ने आवश्यकता औँल्याइन् ।

    गैरआवासीय नेपालीले नेपालमा सम्पत्ति खरिद–बिक्री, सवारीचालक अनुमतिपत्र प्राप्ति लगायतका सेवामा विभिन्न व्यावहारिक समस्या भोग्नुपरेको तथा आफ्नै देश आउँदा समेत भिसासम्बन्धी जटिलताको सामना गर्नुपरेको उनले उल्लेख गरिन् । “एक पटकको नेपाली सधैँको नेपाली” भन्ने अवधारणाअनुसार सरकारले व्यावहारिक नीति अवलम्बन गर्न सके नेपालमा थप सीप, प्रविधि र पुँजी भित्रिने विश्वास उनले व्यक्त गरिन् ।


    छलफलको क्रममा एनआरएनएका उपाध्यक्ष ज्ञानेन्द्र रेग्मीले विदेशमा रहेका नेपालीले वर्तमान सरकारसँग ठुलो अपेक्षा राखेको बताउँदै संविधानले गैरआवासीय नेपालीलाई प्रदान गरेका राजनीतिक अधिकारबाहेकका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने धारणा राखे । उनले गैरआवासीय नेपालीका हितमा केही सकारात्मक नीतिगत व्यवस्था भए पनि त्यसको कार्यान्वयनमा ढिलाइ हुन नहुने बताउँदै विदेशमा रहेका नेपालीको ज्ञान, अनुभव, प्रविधि र लगानीलाई नेपालसँग जोड्ने वातावरण अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

    एनआरएनले आयोजना गर्ने विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल सरकारको उच्चस्तरीय तथा आधिकारिक सहभागिताको अपेक्षा गरिएको पनि एनआरएनले जनाएको छ । त्यस्ता सम्मेलनमार्फत विश्वभर छरिएर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता, उद्यमी र लगानीकर्ताको ज्ञान तथा अनुभवलाई नेपालको आर्थिक, सामाजिक र प्राविधिक विकाससँग जोड्ने उद्देश्य रहेको एनआरएनएले जनाएको छ।

  • प्रधानमन्त्री बालेनलाई भारतले दियो औपचारिक भ्रमणको निम्तो

    प्रधानमन्त्री बालेनलाई भारतले दियो औपचारिक भ्रमणको निम्तो

    १२ साउन, काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको बताएका छन् । उनले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । कहिले भ्रमण हुने र कहिलेको लागि दिएको भन्ने चाहिँ उनले खुलाएका छैनन् । पत्रकारले हालै नेपाली अधिकारीले भारत भ्रमण गरेको र त्यो प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको सन्दर्भमा रहेको भन्दै यसबारे प्रश्न गरेका थिए ।

    उक्तप्रश्नको जवाफमा प्रवक्ता जैसवालले भने,’पहिलो प्रश्नकोबारेमा म जानकार छैन । नेपालका प्रधानमन्त्रीको भ्रमणकोबारे निमन्त्रणा गइसकेको छ ।’

    प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले केही साता अघि भारत भ्रमण गरी भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेको खबर थियो । यो प्रसंगतर्फ इंगित गर्दै पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता जैसवालले त्यसबारे आफूलाई जानकारी नरहेको बताएका थिए।

  • पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

    पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

    १२ साउन, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका २ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको हो। मन्त्रालयले उनिहरुलाई विगतमा सफाई पेश गर्न १५ दिनको म्याद दिएको थियो। उक्त अवधिभित्र उनिहरुले पेश गरेको सफाई सन्तोशजनक नदेखिएकोले दोस्रो पटकका लागि ३० दिनको म्याद दिई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ।

    उनीहरुले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको पाइएको मन्त्रालयको सुचनामा उल्लेख छ । सूचना अनुसार २ जना कर्मचारी नापी अधिकृत हुन्। निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदन समेत दिन नपाइने कानुनि व्यवस्था छ । स्वीकृत बिदा समाप्त भएपछि ३० दिन भित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐनविपरीतको कार्य गरेकोले उनीहरुलाई स्पष्टीकरणको सोधिएको हो ।

    मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरि कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले ३० दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न भनिएको छ । मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।