Category: मनोरञ्जन

  • चैते दशैं आज, देशभर मनाइदै

    चैते दशैं आज, देशभर मनाइदै

    काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
    वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दसैँलाई बडादसैँ भनिन्छ । बडादसैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।

    चैते दसैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको दसैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दसैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रूपमा श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिएको हो । बडादसैँ जस्तै चैते दसैँको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वादन लिनु हो । बडादसैँमा जस्तै चैते दसैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ ।

    उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दसैँका अवसरमा विशेष पूजा हुन्छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवी लगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ ।

    चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ । चैत्र शुक्ल प्रतिपदादेखि नै दसैँ घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ भइरहेको छ । विसं २०६३ सम्म नारायणहिटी राजदरबार अन्तर्गत रहेको दसैँघर त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहत छ ।

  • इस्लाम धर्मावलम्बीले द–उल–फित्र मनाउँदै, आज देशभर सार्वजनिक बिदा

    इस्लाम धर्मावलम्बीले द–उल–फित्र मनाउँदै, आज देशभर सार्वजनिक बिदा

    काठमाडौं । इस्लाम धर्मावलम्बीहरूले आज इद (इद–उल–फित्र) मनाउँदै छन्। रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आइतबार पूरा भएको थियो। उनीहरूले रोजा ब्रतपछि आज ‘इद–उल–फित्र’ मनाउन लागेका हुन्। केही मुस्लिमले ‘इद(उल(फित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन । नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौं महिना हो।

    यो पर्वको ७०औं दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना पनि जान्छन्। इद–उल–फित्रको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत उच्च पदस्थ व्यक्तिहरूले शुभकामना व्यक्त गरेका छन्। सोही अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ।

  • आज काठमाडौंमा घोडेजात्रा

    आज काठमाडौंमा घोडेजात्रा

    काठमाडौं । चैत्र कृष्ण औंसीका दिन आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।

    साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

  • नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देश

    नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देश

    काठमाडौं । नेपाल दक्षिण एसियाको सबैभन्द‍ा खुसी देशको सूचीमा परेको छ। वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२५ को हालै सार्वजनिक रिपोर्टका अनुसार दक्षिण एसियाको सबैभन्द‍ा खुसी देशमध्ये नेपाल शीर्ष स्थानमा परेको छ । विश्वमा सबैभन्दा धेरै खुसी हुने देशको शीर्ष स्थानमा फिनल्याण्ड रहेको छ ।

    डब्लूएचआरका अनुसार दक्षिण एसियामा नेपाल ९२औ स्थानमा रहेको छ । एसियामा पाकिस्तान १०९औ स्थानमा रहेको छ । यसैगरी श्रीलंका १३३औ स्थान, चीन ६८औ स्थान, अमेरिका २४औ स्थान र बंगलादेश १३४औ स्थानमा रहेको छ ।

    यता विश्वको खुशि राष्ट्रको दोस्रोमा डेनमार्क छ। त्यस्तै तेस्रोमा आइसल्याण्ड, चौथौ स्थानमा स्वीडेन, पाँचौ स्थानमा नेदरल्याण्डस्, छैठौं स्थानमा कोस्टारिका, सातौ स्थामा नोर्वे, आठौं स्थानमा इजरायल, नवौं स्थानमा लग्जम्बर्ग र १०औ स्थानमा मेक्सिको रहेको रिपोर्टमा उल्लेख छ । सकारात्मक सोच, नकारात्मक भावना र जीवनको मुल्‍यांकन तथा भावनाको तुलनात्मक अध्‍ययन गरेर खुसी हुने देशहरुको मापन गरिएको रिपोर्टमा उल्लेख छ ।


    उत्कृष्ट १० खुसी देश

    १. फिनल्याण्ड

    २. डेनमार्क

    ३. आइसल्यान्ड

    ४. स्वीडेन

    ५. नेदरल्याण्डस्

    ६. कोस्टारिका

    ७. नोर्वे

    ८. इजरायल

    ९.लग्जम्बर्ग

    १०. मेक्सिको

  • शुक्रबारदेखि ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’

    शुक्रबारदेखि ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’

    काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ दूतावास र पर्यटन मन्त्रालयसँगको सहकार्यमा शुक्रबारदेखि ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ गर्ने भएको छ । महोत्सव ७ चैत २०८१ देखि २९ वैशाख २०८२ सम्म युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र वरपरका सहरमा आयोजना हुने नेपाल पर्यटन बोर्डले जनाएको छ । लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटन केन्द्रका रूपमा प्रवद्र्धन गर्नुका साथै नेपाल, चीन र अन्य राष्ट्रबीच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको आदान–प्रदान प्रोत्साहन दिन महोत्सव आयोजना गरिएको बोर्डले जनाएको छ ।

    ७ चैतदेखि सुरु हुने महोत्सवमा ८ चैतका दिन मायादेवी मन्दिर बाहिर पवित्र उद्यानमा १ सय भिक्षु र ४ सय साधकको सहभागितामा ध्यान सत्र सञ्चालन हुनेछ । ९ चैतमा खेलकुद र विकासका लागि अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन हुनेछ । यसबीच लुम्बिनी शान्ति सांगीतिक कार्यक्रम, झोङ हुआ गुम्बाको २५औं वार्षिकोत्सवका अवसरमा फोटो प्रदर्शनी, बुद्ध दीक्षा समारोह लगायत विविध कार्यक्रम गर्ने र वैशाख पूर्णिमाको दिन विशेष समापन समारोह हुने बोर्डले जारी गरेको विज्ञप्तिमा छ ।

    महोत्सवलाई लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक समिति, युनान माउन्टेनियरिङ तथा आउटडोर स्पोट्र्स संघ, केजीएच ग्रुप, भिभो, दीपल, बुद्ध एयर जस्ता स्थानीय र अन्तर्राष्ट्रिय संस्थाले सहयोग गर्ने छन् । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव नेपालले शान्ति र सांस्कृतिक आदान–प्रदान प्रवद्र्धन गर्न गरेको प्रतिबद्धताको प्रतीकका रूपमा अघि बढाइएको बताए । ‘हामी विश्वभरिका पाहुनालाई लुम्बिनीको आध्यात्मिक अनुभव गर्न र विश्वव्यापी सौहार्दता मनाउन निमन्त्रणा गर्दछौं,’ उनले भने ।

  • मुक्तिनाथमा भारतीय पर्यटकले  क्यूआर स्क्यान गरी भेटी दिन पाउने

    मुक्तिनाथमा भारतीय पर्यटकले क्यूआर स्क्यान गरी भेटी दिन पाउने

    काठमाडौं । प्रभु बैंकले मुक्तिनाथ मन्दिर परिसरमा शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भीम यूपीआई सेवा सुरु गरेको छ। उक्त सेवा सुरुवातसँगै अब भारतका नागरिकले आफ्नो बैंक खाताबाट भीम यूपीआई मार्फत क्यूआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्ने छन् । यसले मुक्तिनाथ मन्दिर आउने भारतीय भक्तजनलाई डिजिटल माध्यमबाट सरल, सुरक्षित र सहज भुक्तानी गर्ने सुविधा प्रदान गर्नुका साथै नेपाल–भारत वित्तीय सम्बन्ध थप सुदृढ बनाउने विश्वास गरिएको छ ।

    साथै, यो सेवाबाट क्रस बोर्डर ।सीमापार) डिजिटल भुक्तानी प्रोत्साहन गर्ने महत्त्वपूर्ण प्रयास भएको छ, जसले भारत र नेपालको वित्तीय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ । कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ति सापकोटा, राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालय प्रमुख दीपकराज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगर, स्थानीय प्रशासन, मन्दिर व्यवस्थापन समिति, धार्मिक गुरुहरू, बैंकका उच्च पदाधिकारी तथा अन्य विशिष्ट व्यक्ति उपस्थित थिए ।

    राष्ट्र बैंक गभर्नर अधिकारीले भीम यूपीआई सेवा सुरुवातले डिजिटल भुक्तानी प्रणाली प्रवर्द्धन गर्दै वित्तीय समावेशनलाई बलियो बनाउने उल्लेख गरे । उनले भक्तजनका लागि यो प्रविधि सुरक्षित, पारदर्शी र सरल हुने विश्वास व्यक्त गर्दै डिजिटल भुक्तानी सर्वसुलभ बनाउन विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।

    गभर्नर अधिकारीले राष्ट्र बैंकले ‘डिजिटल नेपाल’ अभियानलाई प्राथमिकता दिँदै आएको र यस्ता नवीनतम प्रविधि प्रवर्द्धनमा निरन्तर प्रतिबद्ध रहेको बताए ।
    उनले डिजिटल भुक्तानी प्रविधि नेपालभरि सर्वसुलभ बनाउने तथा वित्तीय पहुँच विस्तार गर्ने दिशामा राष्ट्र बैंकले आवश्यक नीति तथा कार्यक्रम अघि बढाउने उल्लेख गरे ।

  • आज तराई मधेशमा होली, सार्वजनिक बिदा

    आज तराई मधेशमा होली, सार्वजनिक बिदा

    काठमाडौं । रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा विहीबार बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ ।

    हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ। तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाउने गरिएको छ ।

    पन्ध्र दिने मिथिला परिक्रमामा सहभागी तीर्थयात्री जनकपुरधामको परिक्रमा गरी आ–आफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाउने चलनमा यहाँ केही फरक देखिएको हो । यस अवसरमा होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन समेत आयोजना गरिन्छ । सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ ।

    हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ । वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ ।

  • राष्ट्रपतिको सन्देश : होलीले राष्ट्रिय एकता बलियो बनाउँछ

    राष्ट्रपतिको सन्देश : होलीले राष्ट्रिय एकता बलियो बनाउँछ

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा अर्थात् होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका हुन् । होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्न प्रेरणा प्रदान गरोस् भनी उनले शुभकामना व्यक्त गरे ।

    ‘विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो । यो पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास लिएको छु’, शुभकामना सन्देशमा भनिएको छ ।

    राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि भएको बताए । उनले नेपालीहरूको विशेष पर्व होलीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

    रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ ।

  • आज फागु पूर्णिमा, पहाडी भेगमा होली खेलिँदै

    आज फागु पूर्णिमा, पहाडी भेगमा होली खेलिँदै

    काठमाडौं । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

    असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।

    होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वको रुपमा मनाउने परम्परा छ । विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ ।

    यसैबीच होलीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र राजनीतिक दलका शीर्ष नेताहरु लगायतले शुभकामना सन्देश दिँदै मर्यादित ढंगले होली मनाउन आग्रह गरेका छन् । प्रहरी प्रशासनले होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगर्न, जथाभाबि रंग र अबिर नदल्न सबैलाई सचेत गराएका छन् । अन्यथा कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

  • पूर्वराजा समर्थकले देखाए काठमाडौंमा विशाल शक्ति प्रदर्शन

    पूर्वराजा समर्थकले देखाए काठमाडौंमा विशाल शक्ति प्रदर्शन

    काठमाडौं । पोखराबाट काठमाडौं आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादी समर्थकहरूले भब्य स्वागत गरेका छन् । विमानस्थलको मुख्य गेटमा जम्मा भएका समर्थकहरूले “फस्ट नेपाल, फस्ट नेपाली, अब बन्छ नेपाल” जस्ता नारा लगाए। पूर्वराजाको समर्थनमा नारा लगाएका समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरेका थिए । विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजाले समर्थकहरूलाई अभिवादन गरे। समर्थकहरूले शाहलाई फूल, माला र खादाले स्वागत गरेका थिए ।

    पूर्वराजालाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित ठूलो संख्यामा समर्थकहरू विमानस्थलको मुख्यद्वारमा भेला भएका थिए। समर्थकहरूको प्रदर्शनका कारण विमानस्थल आसपासको यातायात व्यवस्था प्रभावित भएको थियो । अस्तव्यस्त ट्राफिक व्यवस्थाका कारण बच्चा बोकेका यात्रुहरू लगेज गुडाउँदै हिँडिरहेको देखिन्थे। पूर्वराजालाई रिङरोडमा हजारौं समर्थकले रोडशो मार्फत निर्मल निवास पु¥याएका छन् ।

  • बसन्तपुरमा चीर ठडाइयो, होली उत्सव सुरु

    बसन्तपुरमा चीर ठडाइयो, होली उत्सव सुरु

    काठमाडौं । काठमाडौंको बसन्तपुरमा र‌ङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । यससँगै आजबाट र‌ङ्गहरुको पर्व होली सुरु भएको छ ।
    फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । यही प्रचलन अनुसार शुक्रबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।

    आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ । यस वर्षको होली पर्वको मुख्य दिन फागुन २९ गते र चैत १ गते परेको छ । फागुन २९ गते हिमाली तथा पहाडी जिल्लामा र चैत १ गते तराईरमधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।

  • अष्ट्रेलियामा नेपाली फिल्म अवार्ड हुने

    अष्ट्रेलियामा नेपाली फिल्म अवार्ड हुने

    काठमाडौं । अस्ट्रेलियामा नेपाली फिल्म​ अवार्ड​ आयोज​ना​ हुने भएको छ । डि व्वाइज​ इन्ट​र​टेन्मेन्ट​ नाम​क संस्थाले मे २८ जुन​ १ स​म्म​ अस्ट्रेलियामा ग्लोब​ल​ नेपाली फिल्म​ अवार्ड​ आयोजना ग​र्न​ लागेको जनाएको छ । नेपाली फिल्म​ र​ प​र्य​ट​न​ प्र​वर्धन​ उद्देश्य​स​हित​ अवार्ड​ आयोज​ना ग​र्न​ लागिएको डि व्वाइज​ इन्ट​र​टेन्मेन्ट​का प्र​मुख​ ग​णेश​ म​ल्ल​ले बताए ।

    प​छिल्लो स​म​य​ नेपाली फिल्म​को ब​जार​ अस्ट्रेलियामा राम्रो हुँदै गएको छ​ । अस्ट्रेलियामा निय​मित​ रूप​मा अधिकांश​ नेपाली फिल्म​ प्र​द​र्शन​ हुँँदैआएको छ​ । ठुलो फिल्म​ले करोड​​भन्दा ब​ढीको व्यापार​ अस्ट्रेलियामा मात्र ग​र्ने ग​रेको छ​। य​स​ले नेपाली फिल्म​को बजारलाई राम्रो प्र​वर्धन ग​रेको छ​ । फिल्म​मार्फ​त​ प​र्य​ट​न​ र​ नेपाली फिल्म​का द​र्श​कमा प​नि प्र​वर्धन हुँदै आएको छ​ ।

    फिल्म​, निर्देश​क, कथा, सङ्गीत​, अभिनेता, अभिनेत्री, च​रित्र​ कलाकार​, गाय​क, गायिका, छाँयाकार​, स​म्पाद​क, ब्याकराउन्ड​ स्कोर​ल​गाय​त​ विधा स​मावेश​ हुनेछ​ । प​पुल​र​ हिरो अफ​ द​ इय​र​, प​पुल​र​ हिरोइन​ अफ​ द​ इय​र​ प​नि समावेश​ ग​रिनेछ​ । एक ज​ना च​ल​चित्र​ प​त्र​कार​लाई च​ल​चित्र​ पत्रकारिता पुर​स्कार​ र​ एक ज​ना विशिष्ट​ फिल्म​कर्मीलाई लाइफ​टाइम​ एचिभ​मेन्ट​ अवार्ड​ न​ग​द ​राशीस​हित​ प्र​दान​ ग​रिने आयोजनकले जनाएको छ​।

    अवार्ड​मा स​मावेश​ हुने विधाह​रू, स​ह​भागी कलाकार​ त​था अवार्डको जुरी र​ अन्य​ जान​कारी छिट्टै प​त्र​कार​ स​म्मेल​न​ ग​री सार्वजनिक गरिने आयोजकले ज​नाएको छ​। प​छिल्लो स​म​य​ विकृतिको रूप​मा आयोज​ना भ​इर​हेको अवार्ड​ स​मारोह​लाई व्य​व​स्थित​ र​ प्र​तिष्ठित​ अवार्ड​को रूप​मा आयोज​ना ग​र्न​ कुनै कसर​ बाँकी न​राख्ने प​नि आयोज​कले ब​ताएको छ​ ।

  • ग्याल्पो ल्होसार आज, देशभर सार्वजनिक बिदा

    ग्याल्पो ल्होसार आज, देशभर सार्वजनिक बिदा


    काठमाडौं । बर्सेनि फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ ।

    शेर्पा समुदायले नयाँ वर्ष २१५२ का रूपमा ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

    ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले सुनाए ।

    यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको जानकारी पनि उनले दिए । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरूङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् ।

  • राष्ट्रपतिले गरे पशुपतिमा पूजा-अर्चना

    राष्ट्रपतिले गरे पशुपतिमा पूजा-अर्चना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा बुधबार पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार अपरान्ह पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्न पशुपति पुगेका हुन् । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए ।

    मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव तथा कोषका पदाधिकारी, स्थानीय नियकायका प्रतिनिधि, गुठी संस्थानका अधिकारी लगायतले स्वागत गरेका थिए । महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखले पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ ।

  • शिवरात्रीका अवसरमा राष्ट्रपतिको सन्देश : पशुपति समस्त हिन्दुको गौरव हो

    शिवरात्रीका अवसरमा राष्ट्रपतिको सन्देश : पशुपति समस्त हिन्दुको गौरव हो

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दूका लागि पनि गौरवको विषय भएको बताएका छन् । महाशिवरात्रि पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै उनले भने, “नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ । पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दूहरूको लागि पनि गौरवको विषय हो ।”

    उनले हाम्रो मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिविम्बित भएको उल्लेख गर्दै आराध्यदेव श्री पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुहरूका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको बताए ।

    “वैदिक परम्परामा शिवलाई मुलतः संहारका शक्ति मानिएको भएता पनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सृजनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन्”, उनले भने, “सौम्य शक्तिले मानव चेतनामा असल पक्षको बोध गराइ त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यं शिवं सुन्दरम्’ प्राचीन लोकोक्तिका रूपमा छ ।”

    रौद्र शक्तिले खराब रोजाइबाट उत्पन्न परिणामलाई दण्डित गर्दछ । यसरी मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई हाम्रा अनेक सांस्कृतिक चाडपर्वजस्तै महाशिवरात्रिले पनि बेजोड रूपमा प्रकट गरिरहेको उनको भनाइ छ ।

    निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा एवं शिव महिमा कीर्तन शिवरात्रि पूजाअर्चनाका मुख्य अङ्ग मानिन्छ भने शिवरात्रिको पालनाले योग र मोक्ष दुवैको प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको उनले बताए ।

    “महाशिवरात्रीको यस पावन अवसरमा हामीले पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाहरूको यथोचित संरक्षण एवं संवर्द्धन गर्न प्रण गर्नुपर्छ”, उनले भने, “हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो । काठमाडौँ उपत्यकाको जलाधारका रूपमा रहेको बागमती नदीलाई स्वच्छ र सफा राख्नु हामी सबैको दायित्व हो ।”

    राष्ट्रपति पौडेलले महाशिवरात्री पर्व, २०८१ ले हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । रासस

  • राष्ट्रपति सेना दिवसमा सहभागी हुँदै

    राष्ट्रपति सेना दिवसमा सहभागी हुँदै

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६२औं सेना दिवस समारोहमा सहभागी हुँदैछन् । दिवसमा सहभागी हुन बिहान साढे ९ बजे सैनिक मञ्च टुँडिखेलमा पुग्ने तालिका छ । त्यस्तै राष्ट्रपति पौडेल पशुपतिको दर्शन गर्न पनि जानेछन् । महाशिवरात्रिको अवसरमा उनी पशुपति दर्शनका लागि जान लागेका हुन्। उनी साढे ४ बजे पशुपति जाने तालिका छ ।

    सेना दिवसमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् । आजै साँझ उनी पनि पशुपति दर्शनका लागि जाँदैछन् । काठमाडौंको पशुपतिनाथमा प्रत्येक वर्ष शिवरात्रिमा विशेष मेला लाग्ने गर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ पशुपति दर्शन गरेका थिए ।

  • महाशिवरात्रीमा यस वर्ष पुनः राखियो विशेष पूजा–१५ हजार तिरे लाइन बस्न नपर्ने

    महाशिवरात्रीमा यस वर्ष पुनः राखियो विशेष पूजा–१५ हजार तिरे लाइन बस्न नपर्ने

    काठमाडौं । महाशिवरात्रिको दिनमा पशुपतिनाथमा साँझदेखि भक्तजनहरूले विशेष पूजा गर्न सक्‍ने व्‍यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषका परिषद सदस् एवं प्रचार(प्रचार उपसमितिका संयोजक राजकुमार खत्रीले विशेष पूजा गर्न १५ हजार १ सय रुपैयाँ तिरेर व्यवस्था मिलाइएको जानकारी दिए ।

    उनले भने, ‘महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएका छौं। विशेष पूजाका लागि भक्तजनले १५ हजार १ सय रुपैयाँ तिर्नुपर्छ । उहाँहरूले बिना लाइन १ घण्टामा पूजा सम्पन्न गर्न सक्नुहुन्छ।’ कोषका परिषद सदस्य एवं प्रचारप्रसार समितिका संयोजक राजु खत्रीका अनुसार महाशिवरात्रिको साँझ ७ बजेदेखि सुरू हुने विशेष पूजामा पञ्चामृत रहनेछन् ।

    उनले यसवर्ष बालभोगसहित पञ्चामृत पूजा, रुद्राभिषेक र बालभोगसहित पञ्चामृत पूजा, लघुरुद्राभिषेक, पूरा भोगसहित पञ्चामृत विशेष पूजा हटाइएको बताए । उनले भने, ‘ यसवर्ष विशेष पूजाका विभिन्‍न प्रकार हटाई एक प्रकारको मत्रै विशेष पूजा राखिएको छ। जसमा पञ्चामृत विशेष पूजा रहनेछन् ।’ १५ हजारभन्दा बढी रकमको विशेष पूजामा लाखबत्ती बाल्न पाइने व्यवस्था छ । यस्तै रुद्राभिषेक, पूरा भोग, हवन, सवा लाख बत्तीद्वारा आरति र पञ्चामृत पूजा गर्न पाइन्छ ।

    शिवरात्रिको दिन विशेष पूजामा सहभागी हुन पशुपतिको पश्चिमपट्टि रहेको एसबीआई बैंकमा १५ हजार १ सयको भौचर काटेर बुझाउनु पर्ने प्रचारप्रसार संयोजक खत्रीले बताए । उन‍का अनुसार विशेष पूजाका लागि यसवर्ष २ सय जनाले मात्र गर्न पाउनेछन् । ‘ पहिला विशेष पूजाका धेरै प्रकार हुन्थे। तर यसवर्ष एक प्रकारको मात्रै विशेष पूजा भएकाले २ सय जना मात्रै भाग लिन पाउने व्‍यवस्था गरेका छन् ।

    शिवरात्रिको साँझ ७ बजेदेखि भक्तजनले विशेष पूजा गर्न पाउनेछन्। जसमा पहिलो प्रहर ७ बजेदेखि सुरू हुने छ भने दोस्रो प्रहर ९ बजे, तस्रो प्रहर १२ बजे र चौथो प्रहर ३ बजेसम्म विशेष पूजा चल्ने प्रसारप्रसार प्रमुख राजु खत्रीले बताए । उनले भने, ‘महाशिवरात्रिमा विशेष पूजा गर्नाले शिव तत्व र सत्वगुणको प्रधानता प्राप्त हुन्छ । यो प्रहरमा पूजा, प्रार्थना, सन्ध्यावन्दन, ध्यान आदि गर्नु लाभदायी हुन्छ । यो बेला घरको पूजास्थलमा बत्ती बाल्नु शुभ फलदायी हुन्छ।यसैकारण साँझदेखि विशेष पूजा गर्ने व्यवस्था मिलाएका हौं।’

    पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेला भक्तजनले आफूले इच्छाएको भेटी डिजिटल रुपमा पनि चढाउन पाउनेछन् । आफुले इच्छाएको भेटी डिजिटल वालेट ई(सेवा, मोबाइल बैंकिङ लगायतबाट पनि चढाउन पाउने प्रसारप्रसार प्रमुख राजु खत्रीको भनाइ छ ।

    उनले भने, ‘यसपटक हामीले डिजिटल भेटी चढाउन मिल्‍ने गरी प्रबन्ध मिलाएका छौँ। यहाँ दर्शन गर्न आउने भक्तजनलाई यथाशीघ्र, सहज रूपमा दर्शन साथै भेटी चढाउन सजिलोस होस् भनेर नै ईसेवा लगायतका वालेट राखिदिउका छौं। सभकर स्मार्ट तरिकाले भेटी चढाउन पाओस् भन्ने हाम्रो प्रयास रहेको छ । अघिल्लो वर्षभन्दा यसपटक दर्शन गर्न आउने भक्तजन बढ्ने अनुमान गरेका छौँ।’

    उनले पशुपति प्रवेश गर्ने बाहिर चार वटा लाइन र भित्र पुगेपछि पश्चिम ढोका र उत्तर ढोका तीनरतीन र पूर्व र दक्षिण ढोकामा दुईरदुई वटा लाइन रहने जानकारी दिए । संयोजक खत्रीले पशुपति परिसर प्लाष्टिक निषेधित क्षेत्र भएकाले दर्शन गर्न आउने भक्तजनले सोहीअनुरुप बुझिदिन आग्रह गरे ।


    ‘हामीले फागुन १४ गते बिहान २ बजेर ३० मिनेटदेखि १५ गते बिहीबार ६ बजेसम्म दर्शनका लागि ढोका खुला गर्नेछौँ । यस समयावधिमा पाँच लाख बढीले प्रत्यक्ष दर्शन गर्नुहुने हाम्रो अनुमान छ । यसबाहेक मन्दिर परिसरमा मात्र आउनेको सङ्ख्या जोड्दा त्यो बढ्ने छ’, संयोजक खत्रीले भने ।

    उनले शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाइएको छ ।

    सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइने संयोजक खत्रीले बताए । सुरक्षा व्यवस्था, अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    यसैगरी मन्दिरको मूल ढोकालगायत स्थानमा फूलले सजाउने कार्य शिवरात्रिको एक दिनअघिसम्म पूरा हुने संयोजक खत्रीले जानकारी दिए । उनका अनुसार नागाबाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमा धुनीको व्यवस्था गरिएको छ । महाशिवरात्रिमा छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकबाट हजारौंको सङ्ख्यामा तीर्थालु तथा पर्यटक भित्रिने अपेक्षा गरिएको छ । पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाइएको छ । रासस

  • आज महाशिवरात्री : हिन्दु धर्मावलम्बीले विश्वभर मनाउँदै

    आज महाशिवरात्री : हिन्दु धर्मावलम्बीले विश्वभर मनाउँदै

    काठमाडौं । आज महाशिवरात्रि पर्व पशुपतिनाथसहित देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा घुइँचो छ ।

    पशुपति क्षेत्र विकास कोषले २ सेकेण्डमा १० जनाले पशुपतिनाथ मन्दिरको दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको दाबी गरेको छ । आज भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र लगायत पूजा सामग्री चढाएर पूजा गर्ने गर्छन् ।

    आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ । आजै नेपाली सेना दिवस परेकाले नेपाली सेनाले टुँडिखेलमा शिवरात्रि विशेष समारोह पनि आयोजना गर्दैछ । पशुपतिनाथ दर्शन र सेना दिवसका कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् ।

  • प्रेम सेन्चुरीको ‘माया सारिदेऊ’ गीत श्रोतामाझ

    प्रेम सेन्चुरीको ‘माया सारिदेऊ’ गीत श्रोतामाझ

    न्युयोर्क।

    गायक तथा संगीतकार प्रेम सेन्चुरीले आफ्नो नयाँ गीत ‘माया सारिदेऊ’ सार्वजनिक गरेका छन्। यस गीतलाई म्युजिक भिडियोसहित युट्युबमार्फत श्रोतामाझ प्रस्तुत गरिएको हो ।
    नेपाली संगीतमा अनवरत योगदान दिंदै आएका प्रेमको प्रस्तुत गीतमा भावनाको गहिरो स्पर्श रहेकोले नेपाली संगीतको क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गर्न सकिन्छ ।

    डीपी खनालको रचना रहेको यस गीतमा प्रेम सेन्चुरी र सञ्जिता बरालको सुमधुर स्वर सुन्न सकिन्छ भने गीतमा राजु सिंहले उत्कृष्ट संगीत भरेका छन् साथै बिमल बुढाथोकीले संगीत संयोजन गरेका छन्।

    गीतको भिडियो: प्रेमको कथा र सुन्दर दृश्य :
    ‘माया सारिदेऊ’ गीतको भिडियोले प्रेमका विभिन्न पक्षहरूलाई मनछुने ढंगले प्रस्तुत गरेको छ। भिडियोमा मुख्य भूमिकामा बिक्की पुलामी र अस्मिता जुरेली रहेका छन्। समुद्री किनारको मनमोहक दृश्य, अस्ताउँदो सूर्यको सौन्दर्य, प्रेमी- प्रेमिकाबीचको भावनात्मक सम्बन्धलाई भिडियोमा आकर्षक रूपमा चित्रण गरिएको छ।

    भिडियोको निर्देशन तथा कोरियोग्राफी गोविन्द राईले गरेका छन्, जसले गीतलाई भावनात्मक गहिराइ दिन सफल भएका छन्। सम्पादनको जिम्मा निशान घिमिरेले लिएका छन्, जसले दृश्यलाई थप जीवन्त बनाएका छन्।

    प्रेम सेन्चुरीको सांगीतिक यात्रा र योगदान :

    गायक प्रेम सेन्चुरी नेपाली संगीत उद्योगका एक अनुभवी गायक हुन्। आफ्नो सांगीतिक यात्रामा उनले दर्जनौं उत्कृष्ट गीतहरू दिएका छन्, जसले उनलाई लोकप्रियताको शिखरमा पुर्‍याएको छ। उनका गीतहरूमा मौलिकता, भावना र गहिरो संगीत संयोजन पाइन्छ, जसले श्रोताको मन छुन सफल भएको छ।
    गीतमा समर्पण, चाहना, र संवेदनशीलतालाई सुन्दर शब्द तथा संगीतको माध्यमबाट प्रस्तुत गरिएको उनको पछिल्लो गीत ‘माया सारिदेऊ’ प्रेमको विभिन्न आयामहरूलाई उजागर गर्ने खालको छ।

  • स्वस्थानी व्रत कथा आजबाट समापन

    स्वस्थानी व्रत कथा आजबाट समापन

    काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ ।

    विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।

    सय रोटी वर्तालुले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा वर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ ।

    यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ । सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख गरिएको छ ।

    यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनःमिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको पुनःमिलन भएको कथामा उल्लेख छ ।

    गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथा समेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए ।

    आज मध्याह्न कालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जागराम बसी बिहीबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए।

    उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिने भएको छ । यहाँ करिब दुई सय महिला पुरुषले एक महिना लामो माधवनारायणको कठोर व्रत गरेका छन् । आजको दिनलाई नेवार समुदायले भने सि पुन्हिका रुपमा मनाउँछन् ।

  • उद्योगपति चौधरीले मिथिला थालीमा मनाए वैवाहिक वार्षिकोत्सव

    उद्योगपति चौधरीले मिथिला थालीमा मनाए वैवाहिक वार्षिकोत्सव

    काठमाडौं । काठमाडौं । उद्योगपति चौधरीले आफ्नो वैवाहिक वार्षिकोत्सव मिथिला थालीमा मनाएका छन् । वार्षिकोत्सव मनाउन शुक्रबार साँझ काठमाडौंको गैरिधारास्थित मिथिला थालीमा पुगेका चौधरीको परिवारलाई मास्टर सेफ सन्तोष शाहले विभिन्न परिकार बनाएर खुवाएका हुन् । मास्टर सेफ सन्तोषले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै चौधरीको वर्षगाँठका अवसरमा आफूले विभिन्न परिकार बनाएर खुवाएको जनाएका हुन् । उनका अनुसार वर्षगाँठ मनाउनका लागि उद्योगपनति चौधरीसँगै पत्नी सारिका, छोरा निर्वाण, बुहारी तथा नातिनातिना उपस्थित भएका थिए । वर्षगाँठ मनाउका लागि चौधरी परिवार शुक्रबार साँझ करिब ७स्३० बजेतिर मिथिला थाली पुगेका थिए ।


    मास्टर सेफ शाहले उनीहरूलाई विभिन्न १० वटा शाकाहारी परिकार बनाएर खुवाएका हुन् । चौधरी परिवारका लागि शाहले तीन प्रकारका वेलकम ड्रिंक्स, क्यानापिज कोर्स, एपिटाइजर, फ्रस्ट मेन्स, मेन कोर्स, प्रि(डिजर्ट र डिजर्ट बनाएका हुन् । शाहका अनुसार अधिकांश परिकार बनाउका लागि नेपाली रैथाने उत्पादनको प्रयोग गरिएको हो ।
    उद्योगपति चौधरीको वर्षगाँठका अवसरमा विभिन्न परिकार बनाएर खुवाउन पाउनु मेरा लागि पनि सम्मानको क्षण हो, उनले भनेका छन् । शाहले छोटो समयको सूचना र तयारीबीच विभिन्न परिकार बनाएर खुवाएको बताए । उहाँहरू वार्षिकोत्सव मनाउन आउने भन्नेबारे मलाई दिउसो २ बजेतिर मात्र खबर भयो । सुरूमा त के गर्ने भनेर म आफैं अन्योलमा परेँ । तर करिब ३ घण्टाको तयारीपछि उहाँहरूलाई विभिन्न परिकार खुवाउन पाइयो, शाहले भने ।

    चौधरी परिवारको साथ र सहयोगले मौलिक संस्कृति र पाककलामार्फत नेपालको पहिचान प्रस्तुत गर्ने आफ्नो उत्साह थप बढेको मास्टर सेफ शाह बताउँछन् । त्यसअवसरमा चौधरीसँग नेपाली खाना र यसको विश्वव्यापी प्रबर्धनका विषयमा समेत कुरकानी भएको शाहले बताए । नेपाली मौलिक खानालाई आधुनिक प्रस्तुतीकरणमार्फ विश्वव्यापी बनाउन आवश्यक छ, चौधरीलाई उद्धृत गर्दै मास्टरसेफ शाहले बताए ।

  • आज सरस्वती पूजा, देशभर बालबालिकालाई अक्षाराम्भ गराइदै

    आज सरस्वती पूजा, देशभर बालबालिकालाई अक्षाराम्भ गराइदै

    काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ : ५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो ।

    यसैगरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

    विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

    सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

    आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह ९इही० जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

    उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

  • एक वर्ष पनि नपुग्दै एलिना सम्बन्ध विच्छेदमा

    एक वर्ष पनि नपुग्दै एलिना सम्बन्ध विच्छेदमा

    काठमाडौं । गत ५ वैशाखमा झापा, बिर्तामोडमा तामझामका साथ विवाह गरेको गायिका एलिना चौहान र विष्णु सापकोटाको जोडीले वार्षिकोत्सव पनि मनाउन नपाउँदै सम्बन्ध विच्छेद प्रक्रियामा पुगेको छ । बाग्लुङका विष्णु सापकोटा अष्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । प्रेम सम्बन्धमा रहेकै बेलामा पनि उनीहरूबीच ब्रेकअपको हल्ला फैलिएको थियो ।

    तर, यो हल्लालाई बदर गर्दै उनीहरूले लगनगाँठो कसेका थिए । यो सम्बन्ध सुमधुर रहेन । धेरै समय नबित्दै एलिनाले डिभोर्स गर्न लागेको खबर सतहमा आयो । एलिनाले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेकी हुन् । उनले फिराद पत्रमा सम्बन्ध विच्छेद गर्नुपर्ने कारण खुलाएकी छिन् ।

    पति विष्णुले धेरै शंका गरेकै कारण सम्बन्धमा समस्या देखिएको फिराद पत्रमा उल्लेख गरेकी छिन् ।कार्यक्रममा बाहिर लामो समय बस्नुपर्ने अवस्थामा अनेक शंका–उपशंका गर्ने, कार्यक्रमको बीचमा फोन गरेर घर बोलाउनेजस्ता कारण आफूहरूबीच मनमुटाव भएको उनले उल्लेख गरेकी छिन् ।

    ‘म कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेर्दै अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्ने’भनी सम्बन्ध विच्छेदका लागि फिराद पत्र दर्ता गरेकी हुन्।

    उनले सम्बन्ध विच्छेद गरी स्वतन्त्र भई आ–आफ्नो जीवन विताउन ‘श्रेयष्कर’ हुने उल्लेख गरेकी छिन्। सम्बन्ध विच्छेद गर्दा उनले पतिसँग अंश र माना–चामल नलिने फिराद पत्रमा उल्लेख गरेकी छिन् । निज विपक्षीबाट अंश तथा माना–चामल नलिने गरी यो फिरादपत्र लिई सम्मानित अदालतसमक्ष उपस्थित भएकी छु’उनले लेखेकी छिन् ।

  • आज सोनाम ल्होछार, देशैभरी सार्वजनिक बिदा

    आज सोनाम ल्होछार, देशैभरी सार्वजनिक बिदा

    काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रुपमा सोनाम ल्होछार मनाउँदै छन् । आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ ।

    मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

    भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् । तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाइँदै छ ।

    देशका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।

  • बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार, कस्तो छ स्वास्थ्य ?

    बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार, कस्तो छ स्वास्थ्य ?

    काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा उनी गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई धारिलो हतियारले आक्रमण भएको बताइएको छ । उनको जिउको ६ ठाउँमा चोट लागेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । अस्पतालले उनलाई लागेको चोटमध्ये दुई वटा गहिरो भएको र एउटा उनको मेरुदण्डनजिकै रहेको जनाएको छ ।

    खानको बान्द्रास्थित ’सतगुरु शरण’ भवनको १२ औँ तलामा रहेको निवासमा बिहान करिब २ः४५ बजेतिर एक घुसपैठिया र घरमा काम गर्ने एक महिलाबिच मुठभेड भएपछि छुट्याउने क्रममा चोट लागेको बताइएको छ । घटना बिहान करिब २ः४५ बजेतिर भएको थियो ।

    बलिउड अभिनेता खानको उपचारमा संलग्न लीलावती अस्पतालको चिकित्सकको टोलीले एक विज्ञप्ति जारी गर्दै उनको अवस्था खतरामुक्त रहेको र अहिले स्वास्थ्यमा सुधार भइरहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “बलिउड अभिनेता सैफ अली खानको शल्यक्रिया सफल भएको छ । उनको स्वास्थ्यको प्रगतिको निगरानी उपचारमा संलग्न चिकित्सकहरूले गरिरहेका छन् ।”

    उनको परिवारका सबै सदस्य सुरक्षित रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । अभिनेता खानमाथि भएको आक्रमणको अनुसन्धान टोलीमा रहेका मुम्बई प्रहरीको ‘डीसीपी जोन ९’ दिक्षित गेदामले घटनाको अनुसन्धान भइरहेको बताए ।

  • नुवाकोट, रसुवासहितका जिल्लामा आज गोरु जुधाइ महोत्सव

    नुवाकोट, रसुवासहितका जिल्लामा आज गोरु जुधाइ महोत्सव


    काठमाडौं । माघे सङ्क्रान्ति पर्वका अवसरमा आज नुवाकोटको तारुका, वेत्रावतीलगायत स्थानमा गोरु जुधाइ प्रदर्शनी गरेर मनाउन लागिएको छ ।

    माघे सङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाइ प्रदर्शनीका लागि यस वर्ष तारुका र वेत्रावतीमा पच्चीस हल गोरु दर्ता भएको आयोजक समितिले जनाएको छ ।

    जिल्लाको ताकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा गोरु जुधाइ प्रदर्शनीका लागि १४ हल गोरु दर्ता भएको माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिए । उनका अनुसार किसानले पालेकामध्येबाट जुधाइका तोकिएका मापदण्ड पूरा गरेका गोरु दर्ता भएका छन् । ‘विगत वर्षका तुलनामा जुधाइ प्रदर्शनीमा सहभागी गराउने गोरु दर्ताका लागि मापदण्डमा गरिएको कडाइले यो वर्ष सङ्ख्या कम भएको छ’, संयोजक श्रेष्ठले भने, ‘जुधाइमा सहभागी हुने गोरुको प्रस्तुति उत्कृष्ट र दर्शकलाई भरपू्र मनोरञ्जन दिन प्रदर्शनी केन्द्रित गर्ने लक्ष्य लिएका छौँ ।’

    ‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित आयोजना गरिएको कार्यक्रममार्फत संस्कृतिको जगेर्ना र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउन केन्द्रित गरिँदै आएको संयोजक श्रेष्ठको भनाइ छ ।

    तारुकाको गोरु जुधाइको सुरुआत बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघरमा आउँदा १८८७ सालमा गोरु जुधाएर मनोरञ्जन दिएकाले सोहीको निरन्तरता भनिए पनि इतिहासमा उक्त तथ्य पुष्टि भएको पाइन्न ।

    यस्तै, माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीमा ११ हल गोरु दर्ता भएका छन् । गोरु जुधाउन किसानले पालेकामध्येबाट उत्कृष्ट ११र हल गोरु दर्ता गरेर गोरु जुधाइ प्रदर्शनी गर्न लागिएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ ।

    गोरु जुधाइ प्रदर्शनी कार्यक्रमका संयोजक सुरज लवटका अनुसार गोरु जुधाइ प्रदर्शनीका लागि छनोट भएका गोरुको समूह विभाजन, गोरु जुधाइको नियम र आचारसंहिता, जुध्ने गोरुका धनीलाई दिइने पुरस्कार, चोटपटक तथा कुनै भवितव्य भएमा उपलब्ध गराइने क्षतिपूर्तिसहितको व्यवस्था गरिएको छ ।

    वेत्रावतीमा आयोजित गोरु जुधाइ प्रदर्शनी नेपाल र भोटबीच भएको युद्धअन्तर्गत १८४९ सालमा वेत्रावतीमा भएको व्यापारिक सन्धिपछि नेपाली पक्षको जित भएको उत्सवसँग जोडेर लिने गरिएको छ । यद्यपि उक्त तथ्यको पनि एकीन इतिहास कहीँ उल्लेख छैन ।

    माघे सङ्क्रान्ति मनाउने क्रममा आजै नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपल, लिखु गाउँपालिका–३ सूर्यमतिको कट्टीछाप, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा, शिवपुरी गाउँपालिका–५ शेराबगरलगायत स्थानमा पनि गोरु जुधाइ प्रदर्शनी गरेर किसानले सङ्क्रान्ति पर्वलाई हर्षोल्लासका साथ मनाउने गरेका छन् ।

    किसानले पालेका गोरुलाई एकअर्कासँग अर्थात् ‘वान भर्सेस वान’का आधारमा नछुट्टिएसम्म जुधाइने हुँदा त्यसको अवलोकनका लागि स्वेदश तथा विदेशी पर्यटकहरूको पनि ध्यान केन्द्रित गर्दै आएको छ ।

  • स्वस्थानी व्रत आजबाट आरम्भ

    स्वस्थानी व्रत आजबाट आरम्भ

    काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

    त्यसैले आजको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

    एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ । आजैबाट काठमाडौंको शालीनदीमा स्वस्थानीको मेला सुरु भएको छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्छ ।

    माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौं भक्तजन आउने गर्छन् । स्वस्थानी व्रत हरेक वर्ष विभिन्न बहसका कारण चर्चाको विषय बन्ने गर्छ । स्कन्ध पुराणको केदार खण्डमा रहेको माघ महात्म्यमा समेटिएको यो कथालाई कसैले नारी अधिकारको कुरा गरेर आलोचना गर्छन् भने कसैले तत्कालीन समयको समाजसँग चित्रित गरेर यसलाई स्वाभाविक मान्छन् ।

    यत्तिका बहस चलिरहँदा पनि स्वस्थानीको कथा शुरुआती अवस्थामा नै यस्तै अवस्थामा थियो कि थिएन रु यो कतैको सत्य घटनामा आधारित कथा हो कि होइन रु भन्ने जस्ता मूलभूत विषयमा भने अझै यकिन हुन सकिरहेको छैन ।

  • २ माघमा सत्कार दिवस मनाइने, देशभरीका होटेल व्यवसायी आउँदै

    २ माघमा सत्कार दिवस मनाइने, देशभरीका होटेल व्यवसायी आउँदै

    काठमाडौं । रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्यले २ माघका दिन सत्कार दिवस मनाइने भएको छ । नेपाली खानाको प्रवर्द्धनसँगै होटल क्षेत्रले भोगेको समस्या उजागर गर्दै समस्या खोज्न सो दिन विशेष कार्यक्रमको आयोजना गर्न लागिएको होटल सघं नेपाल (हान) ले जनाएको छ । हानको स्थापनाको दिन पारेर सत्कार दिवस मनाउन लागिएको (हान) का अध्यक्ष विनायक शाहले जानकारी दिए ।

    उनका अनुसार यस दिन देशभरीका होटेल संघ राजधानीमा उपस्थित हुने र आफ्नो रैथाने परिकार प्रस्तुत गर्ने उनले जानकारी दिए । सो अवसरमा नेपाल होटल इयरबुक समेत सार्वजनिक गरिने भएको छ । सो अवसरमा सातै प्रदेशका रैथाने खाना प्रदर्शनीमा राखिने भएको छ । हानले गत वर्षबाट यसरी क्यालेन्डर कार्यक्रम गर्न थालेको हो । हानको वार्षिक साधारणसभा समेत सोही दिन आयोजना हुने भएको छ ।

  • अंग्रेजी नयाँ वर्ष सुरु, विश्वभर मनाईंदै

    अंग्रेजी नयाँ वर्ष सुरु, विश्वभर मनाईंदै

    काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ को बिदाइ र नयाँ वर्ष सन् २०२५ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् ।

    यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

    काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा मानिसहरु भेला भएर नयाँ वर्ष मनाइरहेका छन् । ती स्थानमा आन्तरिक र विदेशी पर्यटकहरुको चहलपहल छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंका ठमेल, बौद्ध, न्यूरोड लगायत स्थानमा मंगलबार बेलुकी नै ‘न्यू इयर इभ’ को रुपमा विशेष चहलपहल देखिएको थियो । विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।

  • तमु ल्होसारमा राष्ट्रपतिको सन्देश : राष्ट्रिय एकता बलियो होस

    तमु ल्होसारमा राष्ट्रपतिको सन्देश : राष्ट्रिय एकता बलियो होस

    काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन् । राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।”

    नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरू भएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने चलन रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले गुरुङ समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लामा यो पर्व धुमधामसँग मनाइने बताएका छन् । नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायको भूमिका प्रशंसनीय रहेको राष्ट्रपतिको कथन छ ।

    राष्ट्रपति पौडेलले तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर भई प्रगति पथमा अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।