Category: मनोरञ्जन

  • आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

    आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

    काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होछार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

    गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

    पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ ।

  • फेवातालमा आजबाट ड्रागन बोट रेस फेस्टिभल

    फेवातालमा आजबाट ड्रागन बोट रेस फेस्टिभल

    काठमाडौं । नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आजदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँदैछ ।

    पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी हुँदैछन् । प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा २० टोली सहभागी हुनेछन् ।

    प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी एक सय २९ खेलाडी यही पुस ११ गते पोखरा आएका थिए । सहभागी टोलीले फेवातालमा दैनिक अभ्यास गरिरहेका छन् । प्रतियोगितामा चीनको आठ, सिङ्गापुरको एक तथा बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुने भएका छन् । प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्याफ्टिङ एजेन्सिज एशोसिएशन नारा सहित नेपालका ११ टोलीको सहभागिता रहने छ ।

    प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर दौडका विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृर्तीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।

  • बेलायती राजदूत दम्पत्तिले जनकपुरधाममा मनाए २२ औं वैवाहिक वर्षगाँठ

    बेलायती राजदूत दम्पत्तिले जनकपुरधाममा मनाए २२ औं वैवाहिक वर्षगाँठ

    काठमाडौं । बेलायती राजदूत रोब फेनलेले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ ऐतिहासिक र सांस्कृतिक सहर जनकपुरधामको जानकी मन्दिरमा मनाएका छन् । राजदुत फेन्लेका पत्नी जुलिया फेनलेसँग आफ्नो जिवनको विशेष दिन २२ औं वैवाहिक वर्षगाँठ शनिबार बिहान जानकी मन्दिर परिसरमा मिथिला परम्पराअनुसार मनाएका हुन् ।

    गत वर्ष जनकपुरधाम भ्रमणका क्रममा यहाँको कला, संस्कृति र ऐतिहासिक महत्वबाट प्रभावित हुनुभएका राजदूत फेनलेले आफ्नो वर्षगाँठलाई यस क्षेत्रको सांस्कृतिसँग जोड्ने निर्णय गर्नुहुँदै वर्षगाँठ मनाएका हुन् । राम–सीताको प्रेमकथालाई सम्झँदै उहाँले जानकी मन्दिरको वातावरणले वैवाहिक सम्बन्धको नवीन अनुभूति दिएको बताए ।

    राजदूत फेनलेले भने, “जनकपुरधाम विवाहका लागि उपयुक्त गन्तव्य हो, सबैले जनकपुरधाम भ्रमण गर्नुपर्छ ।” उनको भनाइले जनकपुरधामको पर्यटन र सांस्कृतिक प्रवर्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

    जानकी मन्दिरका उत्तराधिकारी महन्थराम रोशन दास वैष्णवले राजदूत दम्पतीलाई मिथिलाशैली अनुसारको परम्परागत विवाहविधिमा सम्पन्न गराए । उनले यो अवसरलाई प्रेम र परम्पराको प्रतीक भन्दै जनकपुरधामलाई विवाह गन्तव्यका रूपमा विकास गर्न सरकारलाई अपिल गरे ।

    कार्यक्रममा प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल, संस्कृतिमन्त्री रानी शर्मा तिवारी र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलगायत प्रमुख व्यक्तित्वको उपस्थिति थियो ।

  • लोकप्रिय भारतीय गायक सोनु निगम काठमाडौंमा

    लोकप्रिय भारतीय गायक सोनु निगम काठमाडौंमा

    काठमाडौं । भारतका प्रसिद्ध गायक सोनु निगम आज यहाँको हायात चौरमा हुने साङ्गीतिक कार्यक्रमका लागि काठमाडौँ आएका छन् । ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रममा सहभागी हुन उनी काठमाडौँ आएका हुन् । उनी एयरइन्डियाको विमानमार्फत आज दिउँसो काठमाडौँ आएका हुन् । उनको १९ सदस्यीय साङ्गीतिक समूह ब्यान्ड मेम्बर भने आज बिहानै आएका थिए।

    नेपाली टच नेपालको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन नेपाल आएका गायक निगमले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली दर्शकसँग साक्षात्कार गर्न आतुर रहेको प्रतिक्रिया दिए । उनले भने, “मैले नेपाली गीत धेरै गाए पनि नेपालमा पहिलोपटक साङ्गीतिक कार्यक्रममा प्रस्तुत हुँदैछु। नेपालीसँग साक्षात्कार गर्ने अवसर जुटेको छ, म यसलाई स्मरणीय बनाउनेछु।”

    आयोजक नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकसँगै नेपाली गीतसङ्गीत पनि प्रस्तुत गर्नसक्ने भएकाले ल्याइएको बताए । कार्यक्रमका लागि न्युनतम रु दुई हजारदेखि अधिकतम रु ५० हजारसम्मको टिकट शुल्क राखिएको छ। गायक निगमले स्वर दिनुभएको नेपाली गीतहरू ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फूलको डाली डालीमा’, ‘यो मायाले हेरन’लगायत लोकप्रिय छन्। रासस

  • आज क्रिसमस डे’ देशभर सार्वजनिक बिदा

    आज क्रिसमस डे’ देशभर सार्वजनिक बिदा

    काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाउँदैछन् । यस दिनका अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।


    उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सीबी गहतराज बताउँछन् ।

    विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासंघले महोत्सवका रुपमा मनाउने थालेको हो । दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ । यस दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिएका छन् ।

    हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासंघको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासंघले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ । महासंघ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने महासंघका अध्यक्ष गहतराजले बताए ।

    पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ । यी स्थानमा येशु ख्रीष्ट जन्मोत्सवका रुपमा क्रिसमस मनाउने तयारी भएको छ ।

  • पोखरामा हट एयर बलुन महोत्सव आजबाट

    पोखरामा हट एयर बलुन महोत्सव आजबाट

    काठमाडौं । पर्यटकीय नगरी पोखरामा आजबाट अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । पर्यटन क्षेत्रलाई कोरोना महामारीपूर्वको अवस्थामा फर्काउन सक्रिय भूमिका खेल्ने विश्वाससाथ बेलुन नेपाल प्रालिले नेपालमा पहिलो पटक महोत्सव आयोजना गरेको हो । ९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झन्डै दुई दर्जन बेलुन पोखराको आकासमा उडाइने छ । महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनामलगायत विभिन्न देशको प्रतिनिधित्व छ । यो महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटक पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ ।

    ४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमशृङ्खला सहित माछापुच्छ्रे र धौलागिरि साथै पोखरा उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने छ । महोत्वसमा हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि आयोजना हुनेछ । महोत्सव अवधिभरि पोखराका स्थानीय सांगीतिक ब्यान्डका साथै दीपक बज्राचार्य एन्ड टिम, राजु लामा एन्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एन्ड ख्वपः ब्यान्ड जस्ता नेपाली कलाकारको सांगीतिक प्रस्तुति पनि हुनेछन् ।

    नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए), पोखरा महानगरपालिका र पोखरा पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोगमा करिज्म्याटिक डिजिटल सोलुसनले महोत्सव व्यवस्थापन गरेको छ । महोत्सवको संयुक्त आयोजकमा पोखरा पर्यटन परिषद् पनि छ । कार्यक्रमको ब्रान्ड एम्बेसडरमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन् ।

  • पोखरामा दोस्रो ‘ड्रागन बोट फेस्टिभल’, नेपालसहित ५० देशमा एकसाथ आयोजना

    पोखरामा दोस्रो ‘ड्रागन बोट फेस्टिभल’, नेपालसहित ५० देशमा एकसाथ आयोजना

    काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा दोस्रो ‘ड्रागन बोट फेस्टिभल’ आयोजना हुने भएको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा फेस्टिभल हुन लागेको हो । १४ देखि १५ पुस ९२९–३० डिसेम्बर २०२४० सम्म आयोजना हुन लागेको ड्रागन बोट फेस्टिभलमा नेपालका ११, चीन ८ र सिंगापुरका एक गरी २० समूह सहभागी हुने आयोजकले जनाएको छ ।

    २ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले ५ हजार अमेरिकी डलर, उपविजेताले २ हजार डलर र तृतीयले १ हजार २ सय डलर पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी सहभागी बाँकी १७ समूहलाई प्रतिसमूह ५ सय डलर प्रदान गरिने छ ।

    ड्रागन बोटको दोस्रो संस्करण पनि फेवातालमै हुनेछ । चीन सरकारकै अगुवाइमा नेपालमा पहिलो पटक २०२३ मा ड्रागन बोट फेस्टिभल सफलतापूर्वक आयोजना गरिएको थियो । चीनले यस खालका प्रतियोगिता विश्वका ५० देशमा आयोजना गर्ने गरेको छ । प्रतियोगिताले नेपाल र चीनका नागरिकबीच सुमधुर सम्बन्ध स्थापित हुनाका साथै नेपालको पर्यटन प्रर्वद्धन हुने अपेक्षा छ ।

    चिनियाँले मनाउने यस पर्वलाई २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ । चीनमा प्रचलित लुनार क्यालेन्डरको पाँचौं महिनाको पाँच गते चीनमा ड्रागन बोट फेस्टिभल आयोजना हुन्छ ।

    चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यस चाड मनाउने परम्परा छ । यो चाड मनाउन चीन सरकारले सार्वजनिक बिदा दिन्छ । चीनमा बालबालिकादेखि बुढाबुढीसम्मले हर्षोल्लासपूर्वक यो चाड मनाउँछन् । चिनियाँ भाषामा ‘डुआन्यु जी’ भनिने ड्रागन बोट फेस्टिभल चीनका चार ठूला चाडमध्ये एक हो । चीनमा ड्रागनलाई सकारात्मक शक्तिका रूपमा लिइन्छ ।

    चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार पनि हो । २०१९ मा चीनबाट १ लाख ६९ हजार ५ सय ३४ र २०२३ मा ६० हजार ८ सय ७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । २०२४ जनवरीदेखि नोभेम्बरसम्म ९२ हजार ८ सय ४८ चिनीयाँ पर्यटक नेपाल आएका थिए ।

  • हाम्रा पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

    हाम्रा पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति


    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

    उधौली पर्व २०८१ का अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

    राष्ट्रपति पौडेलले किरात समुदायका मुलतः राई, लिम्बू, सुनुवार र याक्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा साकेला सिली (नृत्य) गर्दै विविध कार्यक्रमका साथ मनाउने उल्लेख गरेका छन् ।

    उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने स्पष्ट पार्दै उनले भनेका छन्, ‘यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गरिनुका साथै सह होस् भन्ने कामनासहित भूमिको पूजा पनि गर्ने गरिन्छ ।’

    प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किरात समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको उनको भनाइ छ ।

    विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको राष्ट्रपतिको कथन छ । यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।

    राष्ट्रपति पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वाससहित पुनः उधौली पर्वको शुभकामना व्यक्त गरेका छन् ।

  • आज उधौली, धान्य पुर्णिमा : सार्वजनिक बिदा

    आज उधौली, धान्य पुर्णिमा : सार्वजनिक बिदा


    काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् ।

    उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् ।

    किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ ।

    भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली (नाच)सहित पर्व मनाउछन् । ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिकस्थल मानिन्छ । सानो हात्तीवनमा आज पूजाआजा सहित किरात चाड विशेष रूपमा मनाइन्छ ।

    पूजापछि आ–आफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ । वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलता अनुरुपका कामका रूपमा समेत लिइने संस्कृतिका अनुसन्धाता राईले बताए । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने प्रकृयालाई उधौली र उभौली पर्वको रुपमा लिने गरिन्छ ।

    उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे)लाई धन्यवाद दिने गरिन्छ । यो पर्वका अवसरमा आज  सार्वजनिक बिदा दिइएको छ ।

  • हिमाली भेगमा हिमपात सुरु

    हिमाली भेगमा हिमपात सुरु

    काठमाडौं । पश्चिमी वायुको प्रभावले पश्चिम नेपालमा हल्का वर्षा र हिमाली तथा उच्च पहाडी भेगमा हिमपात भएको छ । हिमपात र वर्षाले बालीनालीलाई फाइदा हुने भए पनि चिसो बढेर जनजीवन भने प्रभावित भएको छ । बझाङ, हुम्ला लगायतका जिल्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलसँगै गए रातिदेखि हिमपात सुरु भएको हो । आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

    राष्ट्रिय समाचार समिति (रासस) ले आज बिहानसम्म हुम्ला सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको जनाएको छ । उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा पनि एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहरालाई उद्धृत गर्दै राससले जनाएको छ । हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरीसकेको छ ।

    यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् । हिमपातले बालीनाली र फलफूल सप्रिने किसानहरू बताउँछन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बीनि प्रदेश र कोशी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। मध्य र पुर्वी तराइका धेरे भू–भागमा हुस्सु र थोरै भू–भागमा कुहिरो लागेको छ।

    सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का वर्षा पनि भइरहेको छ। आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरु हल्का वर्षाको सम्भावना छ।

  • एभरेष्ट वेसक्याम्पमा पुगे क्रिकेटर धवन

    एभरेष्ट वेसक्याम्पमा पुगे क्रिकेटर धवन

    काठमाडौं । नेपाल प्रिमियर लिए (एनपीएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेस्ट बेसक्याम्पको अवलोकन गरेका छन् ।
    उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले आइतबार एभरेस्ट बेसक्याम्पको अवलोकन गरेका हुन् । उनीहरुले ३–४ घन्टा एभरेस्ट बेसक्याम्पमा बिताएका थिए ।

    एभरेस्ट बेसक्याम्पको अवलोकनपछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका छन् । यसअघि उनले पशुपतिनाथ मन्दिरको दर्शन समेत गरेका थिए । शिखरले आउँदो मार्चमा नेपालको भ्रमणमा आउने चाहना व्यक्त गरेका छन् ।

    कर्णालीबाट ४ खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाए । उनलाई कर्णालीले प्रत्येक खेलको ३० हजार डलर पारिश्रमिक दिने गरी एनपीएलमा भित्राएको थियो । भारत फर्किएका उनले नेपालमा एनपिएल खेल्दा राम्रो अनुभव भएको बताए । ‘राम्रो अनुभव भयो । नेपालका खेलाडीलाई केही सिकाउने र मैले पनि केही मौका पाएँ’ उनले भने ।

  • योगेश आदीको ‘तिम्रै बजारमा’ बजारमा आउँदै गर्दा

    योगेश आदीको ‘तिम्रै बजारमा’ बजारमा आउँदै गर्दा

    दीपकराज पाण्डे, न्युयोर्क

    बजारमा निस्कने थुप्रै गीतहरुको माझ योगेश आदीको रचना र स्वरमा “तिम्रै बजारमा” युट्युब मार्फत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । बियोगान्त भावको गीत उनले रक शैलीमा गाएको छ । न्युयोर्कका संगीतकर्मी ओम कर्माचार्यको संगीत र छायाँकन रहेको गीतको सम्पुर्ण कार्यसम्पादन न्युयोर्क सहरमा गरिएको हो ।

    योगेशसँग संगत गरेको करिव ३० वर्षमा मैले उसलाई नेपाल ‘ल’ क्याम्पसको छतदेखि पार्टी पिकनिकसम्म सुनेको छु । ऊ लेख्ने मान्छे हो भन्ने धेरैलाई थाहा हुनसक्छ तर “तिमीले गाउन पनि सक्छौ, गाऊ !” भनेर उत्प्रेरणा गर्ने मध्ये म पनि हुँ । समग्रमा योगेश सम्भावनाको खानि हो । उसले के के जान्दैन ? भन्दापनि ‘के चाहिँ जान्दैन ?’ भनेर म सधै भनि राखेको हुन्छु । उनको हरेक प्रयासले त्यो बिधालाई न्याय गर्ने कुरामा म विश्वास राख्छु ।

    तिम्रै बजारमा…

    आजभन्दा करिव ११ वर्ष अघि योगेशको रचनामा निस्किएको गीति एल्बम् “शाश्वत संसार” मैले कैयौ पटक सुनिसकेपछि तिमीले अरुपनि गीतहरु लेख्नुपर्छ भनेर भनिराख्थें । आज गाएर नै संगीत प्रतिको थप समर्पण पेश गरेको छ ।

    योगेशको रचना सधै यथार्थपरक हुने गर्छ । उनले लेखेको सयौं लेख रचनाहरु मात्र होइन कि उनको करिव १८ बर्ष पहिले प्रकाशित कविता संग्रह “मेरो दुरबिनबाट” नै तथ्य पुष्टि हुन्छ ।

    योगेशको नयाँ कृतिले उनलाई थप उर्जा प्रदान गर्नेछ । यो ट्रेजेडी रक गीतले नयाँ पुस्ताको मात्र होइनकि सबैको मन छुनेछ भन्ने विश्वास लिएको छु । शुभकामना !

  • आज विवाह पञ्चमी, धनकपुरमा धुमधामसहित मनाइदैं

    आज विवाह पञ्चमी, धनकपुरमा धुमधामसहित मनाइदैं

    काठमाडौं । जनकपुरधाममा आज सीताराम विवाहपञ्चमी महोत्सव धुमधामसाथ मनाइँदै छ। मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा यो महोत्सव प्रत्येक वर्ष जनकपुरमा भव्यताका साथ मनाइन्छ । मंसिर १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवको मुख्य दिन आज हो।

    त्रेता युगमा प्राचीन मिथिलाको राजधानी जनकपुरमा जसरी राम र सीताको विवाह भएको मान्याता छ त्यसरी नै अहिले पनि राम–जानकीको डोलालाई स्वयम्बर गराएर वैदिक परम्पराअनुसार विवाह गर्ने गरिएको छ । आज दिउँसो बाजागाजा र झाकीसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्कन्छ । यी डोलाहरू जनकपुरको ऐतिहासिक रंगभूमि मैदान, बाह्रविघामा पुगेर मिलन भएपछि डोलाफेर गरी स्वयम्बर गरिन्छ ।

    राम मन्दिरका महन्थ रामगिरी भगवान रामका पिता राजा दशरथको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव राजा जनकको भूमिकामा छोरी पक्षको प्रतिनिधित्व गर्छन् । स्वयम्बरपश्चात दुवै डोलाले नगर परिक्रमा गर्दै जानकी मन्दिरमा प्रवेश गर्छन् । साँझदेखि वैदिक परम्पराअनुसार राम र जानकीको विवाह विधि सुरु हुन्छ। मैथिली परम्पराअनुसार रातभर विशेष विवाह विधि सम्पन्न गरिन्छ ।

    राम र जानकीको डोला अवलोकन गर्न र स्वयम्बर तथा विवाह समारोह हेर्न जनकपुरधाममा श्रद्धालुहरूको ठूलो भीड लागेको छ । यसपटक अयोध्याबाट आएका साधुसन्तहरूको जन्तीले महोत्सवलाई थप रौनक बनाएको छ। श्रद्धालुहरूको आगमन जारी छ । सप्ताहव्यापी महोत्सवअन्तर्गत हिजो पाँचौँ दिन जानकीको मटकोर सम्पन्न भएको थियो। यसअघि महोत्सवका पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेको छ ।

    आज रामसीताको विवाहपछि भोलि रामकलेवा कार्यक्रमसँगै महोत्सव विधिवत रूपमा समापन हुनेछ। रामकलेवामा जन्तीलाई मिथिलाको ५६ व्यञ्ज भोजन खुवाएर दक्षिणा दिएर बिदा गरिन्छ । विवाहपञ्चमी महोत्सवमा स्थानीय कला र संस्कृतिको झल्को दिने विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ। बालबालिकाले राम, सीता, र लक्ष्मण बनेर नाटक प्रदर्शन गर्छन् भने नाचगान, भजन–कीर्तन, झाँकी, र पूजाआजा गरिन्छ । यसैबीच, विवाहपञ्चमीको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

  • जनकपुरधाममा विवाह महोत्सव सुरु

    जनकपुरधाममा विवाह महोत्सव सुरु

    काठमाडौं । जनकपुरधाममा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत शुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा हरेक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ । सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ । दोस्रो दिन भोलि फूलबारी लीला, तेस्रो दिन मङ्गलवार धनुष यज्ञ, चौथो दिन बुधवार तीलकोत्सव, पाँचौ दिन मङ्सिर २० गते मटकोर र मङ्सिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।

    महोत्सवको अन्तिम दिन मङ्सिर २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रूपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ । नगरदर्शनका क्रममा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालबालिकालाई जानकी मन्दिरको प्राङ्गणमा घुमाइने जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले बताउनुभयो । त्रेता युगमा भगवान् श्रीराम र जनकनन्दिनी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाउने प्रचलन छ ।

    महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईधर्मावलम्बी पनि सामेल हुने गरेका छन् । महोत्सव सम्पन्न गर्न जानकी मन्दिरमा सर्वदपक्षीय बैठक सम्पन्न भएको छ । यो वर्ष पनि विवाहपञ्चममीमा सहभागी हुन भारतको अयोध्याबाट प्रतीकात्मक रूपमा जन्ती आउने कार्यक्रम छ ।

  • संगीत नै जीवनसार, संगीत नै आधारमान्ने ओम कर्माचार्यसँग गफिदैं जाँदा

    संगीत नै जीवनसार, संगीत नै आधारमान्ने ओम कर्माचार्यसँग गफिदैं जाँदा

    “संगीत मेरो लागि जीवनको सार हो । संगीतले मेरो मन मस्तिष्कमा स्वस्तिशान्ति कायम भइ रहन्छ, त्यसैले म बिगत ३० वर्षदेखि यसैमा व्यवसाय एवम् साधक भएर लागिरहेको छु । कहिले गाएर, कहिले बजाएर, त कहिले अरुलाई गाउन लगाएर बसेको छु।” रुचि र रहरलाई व्यवसायमा परिणत गर्न सफल न्युयोर्क सहरका एक संगीत साधक ओम कर्माचार्यको यो अभिव्यक्तिले सबैलाई गीत संगीतप्रति लाग्न प्रेरित गर्दछ ।

    नेपालमा लामै समयदेखि गीतसंगीतको व्यवसायमा लागेतापनि न्युयोर्क सहरमा भने सन् २०१४ देखि ॐ मेगा अडियो भिडियो प्रडक्सन् स्टुडियो सञ्चालन गर्दै आइरहेका छन्, जुन अमेरिकामा नेपालीले संचालन गरेको पहिलो एक मात्र रेकर्डिङ स्टुडियो हो । कर्माचार्यले हालसम्म अमेरिकामा मात्र अनगिन्ति गीत रेकर्ड गराइ सकेका छन् । उनको स्टुडियोमा हिन्दी, भुटानी, टिबेटन र नेपाली मात्र होइन कि, हेसियन्, स्पानिश एवम् अंग्रेजी लगायत धरै भाषाका गीतहरु समेत उनको स्टुडियोमा रेकर्ड भएका छन् ।

    टेलिभिजनमा समेत कार्यक्रम चलाएका ओमको जीवनक्रम हेर्दा उनी म्युजिक, मिडिया र मनोरञ्जनकै लागि जन्मिएको जस्तो प्रतित हुन्छ । विभिन्न कार्यक्रमहरुमा स्टेज समेत गर्ने उनले बिभिन्न कार्यक्रममा सम्मान समेत ग्रहण गरिसकेका छन् ।

    काठमाडौं डिल्ली बजारको नेवार परिवारमा जन्मेहुर्के पनि शुद्ध खस नेपाली भाषा बोल्ने उनको वाक्पटुताले पनि यो व्यवसायमा सहयोग गरेको उनको अनुभव छ । संगीतमय जीवनको बारेमा जिज्ञासा राख्दा ‘जीवन अनुभवको संगालो’ रहेको कर्माचार्यको ठहर छ ।

    आफ्नै शब्द, स्वर र संगीतमा समेत दर्जनौं गीत रेकर्ड गराई सकेका उनलाई चर्चा र प्रशिद्धिको बारेमा प्रश्न गर्दा ‘काम गर्दै जाने हो, चर्चा भए पनि नभएपनि गुनासो नरहेको’ हाँसेर बताउँछन् ।

    नेपालीको रेकर्डिङ् स्टुडियोमा यदाकदा बिदेशीहरुपनि गीत रेकर्ड गर्न आउँदा गर्व महसुस् गर्ने ओमको निकट भविष्यमा नै न्युयोर्क सहरको जीवनमा आधारित एउटा नेपाली फिल्म बनाउने योजना रहेको बताए ।

    शुरुका दिनमा गरिखाने वर्गको बाहुल्यता रहेको न्युयोर्क सहरको ज्याक्सन हाइट्समा रेकर्डिङ् स्टुडियो सञ्चालन गर्न लाग्दा नजिकका चिनेजानेका साथीभाइले नै ‘हुँदैन / सक्दैन’ भनेर कटाक्ष गरेको सम्झँदै “आफ्नो लगनको अगाडि भगवान पनि झुक्छ । म आफुलाई मेहेनती छु जस्तो लाग्छ” भन्दै मुस्कुराउँछन् ।

    “अमेरिकाको भिसा लागेपछि अब मैले परदेशको व्यस्त जीवनशैलीमा संगीत श्रृजना र रेकर्डिङ व्यवसायलाई कसरी निरन्तरता दिन सकुँला र ? भनेर चिन्तित भएको थिएँ, तर यतिबेला मैले चाहेको जस्तो गर्न सकेको छु। यो पनि मेरो अन्तरमनको जीत हो” कुरै कुरामा पनि संगीतको भोक देखिने ओमलाई रेडियो नेपाल तथा टिभीदेखि अमेरिकासम्मको संघर्षको कथा लेख्न मन भएको पनि सुनाए ।

    मेरो निष्कर्षमा ओम संगीत बिना बाँच्न नसक्ने एउटा उम्दा सर्जक र साधक हो । ओमले लेखेका गीतहरु पढ्दा, उनले संगीत भरेका गीतहरु सुन्दा र उनले बनाएका म्युजिक भिडियोहरु हेर्दा उनले नछोएका संगीत र गीत सम्वन्धि बिधा नै बाँकी छैन जस्तो भाहान हुन्छ ।
    उनको यो उर्जा र समर्पणले आगामी दिनमा नेपाली संगीतले थप फक्रने वातावरण पाओस् । शुभेक्षा !

  • आज बालाचतुर्दशी, पशुपतिमा मेला

    आज बालाचतुर्दशी, पशुपतिमा मेला

    काठमाडौं । बालाचतुर्दशीको अघिल्लो दिन पितृका नाममा बत्ती बाल्नेहरुको पशुपतिनाथ मन्दिर परिसरमा घुइँचो लागेको छ । आज त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् ।

    बालाचतुर्दशीको अघिल्लो रात शुक्रबार दिवङ्गत पितृका नाममा दीपदान गर्न भक्तजनहरु पशुपतिनाथ परिसरमा आएर रातभर जाग्राम बस्छन् । शुक्रबार दीपदान गरी रातभर जाग्राम बस्ने भक्तजनले शनिबार बिहानै पितृको सम्झनामा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।

    एक सय आठ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा सतबीज छर्ने गरिन्छ । शतबीज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गरिन्छ ।
    प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको मार्गशीर्ष कृष्ण त्रयोदशीको बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ । भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लागेको छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । भीड व्यवस्थापन र सुरक्षाका लागि पशुपति क्षेत्रमा बिहीबार बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति छ ।

    दिवंगत पितृका नाममा राति बत्ती बाली चतुर्दशीका दिन बिहान शतबीज छर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष कैलाश क्षेत्रमा पसल राख्न नदिइने भएको छ । विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा राति बत्ती बाली चतुर्दशीका दिन बिहान शतबीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने कोषका सदस्य सचिव डा। मिलनकुमार थापाले जानकारी दिए । तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कानुनी कारबाही हुने उनले बताए । दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउँसो दुई बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । नाम दर्ता गरेर बत्ती बाल्नेका लागि कोषले दुई हजार १०० रुपैयाँका दरले शुल्क लिएको छ ।

    बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ । काठमाडौं महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गरिदिएको छ । यस्तै मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०लाई अनुरोध गरिएको छ ।

    जाडो मौसम भएकाले भक्तजनका लागि पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नेपाली सेनाले पाँच वटा ठूला पाल उपलब्ध गराएको छ । मेलाका लागि सुरक्षा व्यवस्था, सवारीसाधन व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी पूरा भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । मेलामा सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, बिजुलीबत्ती व्यवस्थापन, मेला क्षेत्रमा राखिने पसलको व्यवस्थापन, स्वयंसेवक परिचालनलगायत तयारी पनि पूरा भएको कोषले जनाएको छ ।

  • विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई धरहरा चढ्न ५० प्रतिशत छुट

    विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई धरहरा चढ्न ५० प्रतिशत छुट


    काठमाडौं । विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् । यसअघि परिक्षणका रूपमा निशुल्क धरहरा खुला गरिएकाे थियाे । अब धरहरा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गर्न लागिएकाे हाे । प्रतिव्यक्ति २ सय रूपैया शुल्क ताेकिएकाे छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई भने साे रकममा ५० प्रतिशत सहुलियत हुने शहरी विकास मन्त्रालयले जनाएकाे छ ।
    विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मङ्सिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न बिहिबार बसेकाे मन्त्रीपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको छ।
    सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ भने सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १हजार रुपैयाँ शुल्क तोकिएको छ।
    त्यस्तै धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ। धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ।
    त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघन्टा ५ हजार तोकिएको छ। त्यस्तै धरहरा परिसरमा व्यावसायिक भिडियो छाँयाकन गर्न प्रतिघन्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघन्टा १ हजार रुपैयाँ तोकिएको छ।

  • ‘पूर्णबहादुरको सारङ्गी’ले रच्यो इतिहास, बन्यो सर्वाधिक कमाई गर्ने नेपाली चलचित्र

    ‘पूर्णबहादुरको सारङ्गी’ले रच्यो इतिहास, बन्यो सर्वाधिक कमाई गर्ने नेपाली चलचित्र

    काठमाडौं । पूर्णबहादुरको सारङ्गी’ले कमाईको मामलामा इतिहास रचेको छ । यो चलचित्र सर्वाधिक कमाउने घरेलु फिल्म बनेको छ । प्रदर्शनको १३ औं दिन मंगलबारसम्म फिल्मले देशव्यापी २५ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले १२ कात्तिकसम्मको कलेक्सन सार्वजनिक गरेको छ ।

    फिल्मले मंगलबार मात्रै २ करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ । फिल्मले बुधबार २ करोडभन्दा धेरै कमाउने प्रक्षेपण गरिएको छ । ‘कबड्डी ४’ को कमाइलाई उछिन्दै विजय बराल स्टारर फिल्मले धेरै कमाउने घरेलु फिल्मको रुपमा इतिहास रचेको हो । निर्माताले दिएको आधारमा कबड्डी ४ को कलेक्सन (२३ करोड ५० लाख) र चलचित्र विकास बोर्डले दिएको तथ्यांकको आधारमा (२१ करोड ३८ लाख) हो ।


    टिकट बिक्रीको ट्रेन्ड हेर्दा ‘पूर्णबहादुरको सारङ्गी’को गति तत्काल रोकिने छाँटकाँट छैन । झण्डै ६ दशक लामो घरेलु फिल्मको इतिहासमा फिल्मको यो कमाइलाई अभूतपूर्व रुपमा लिइएको छ । फिल्मले सर्वाधिक कलेक्सनको रुपमा मात्र इतिहास रचेन । सर्वाधिक शो पाउने फिल्मको रेकर्ड समेत राख्यो । अहिले पनि मुलुकका ४५० भन्दा धेरै शो यो फिल्मको कब्जामा छ ।

    साथै, ‘पूर्णबहादुरको सारङ्गी’ एकैदिनमा सर्वाधिक कमाउने नेपाली फिल्म समेत बन्यो । फिल्मले कात्तिक २४ गते एकैदिन ३ करोड ८९ लाख रुपैयाँ ग्रस कमाएको थियो । ‘कबड्डी ४’ को २ करोड ९० लाखको ग्रसलाई बाँसुरी फिल्म्सकै पछिल्लो सहकार्यको फिल्मले उछिनेको हो ।

  • आज हरिबोधिनी एकादशी पर्व, देशभर मनाइदै

    आज हरिबोधिनी एकादशी पर्व, देशभर मनाइदै

    काठमाडौं । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।

    आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

    हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

    आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दशदिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

    तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद् ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।

  • न्युयोर्कमा न्हू दँया भिंतुना र नेसं. ११४५ याली सम्पन्न

    न्युयोर्कमा न्हू दँया भिंतुना र नेसं. ११४५ याली सम्पन्न

    न्युयोर्क ।

    नेपाल सम्वत् ११४५ को उपलक्ष्यमा नेवाः गुठी न्युयोर्क र नेवाः नखः न्युयोर्कको संयुक्त आयोजनामा गत नोभेम्बर २ तारिख शनिवारका दिन अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाईटको डाइभर्सिटी प्लाजामा न्हू दँया भिंतुना र्‍यालीको आयोजना गरिएको थियो । २०८१ कार्तिक १७ गते शनिबार, प्रतिपदा तिथि तदनुसार नेपाल सम्वत ११४५ को नयाँ बर्षको पहिलो दिन हो । नेपाल सम्वत नेपालको राष्ट्रिय सम्वत हो ।

    तिहारको चौथौं दिन म्ह पूजा अर्थात् गोवर्धन पूजाको दिनमा पर्ने नयाँ वर्ष नियमित रुपमा देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गर्दै भव्यताका साथ मनाउँदै आइरहेको छ । न्हू दँया भिंतुना कार्यक्रम सुरु हुनु अगाडि उपस्थित सबैलाई परम्परागत रुपमा सगुन स्वरुप टीका, फूल र कोखा वितरण गरिएको थियो ।

    नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्दै सुरु भएको न्हू दँया भिंतुना कार्यक्रमको सञ्चालन नेवाः नखः न्युयोर्कका महासचिव श्री तुलसी नारायण चित्रकारले गर्नु भएको थियो । कार्यक्रममा नेवाः गुठीका अध्यक्ष श्री विजय मान सिंले उपस्थित सबैलाई स्वागत गर्नुका साथै सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्नु भयो । उहाँले नेपाल सम्वतको महत्त्व र औचित्यको बारेमा जानकारी गराउनु भएको थियो । शंखधर साख्वाले तत्कालिन समयमा सबैको ऋण तिरेर सबैजनालाई ऋणमुक्त गरेको अवसरमा नेपाल सम्वत सञ्चालनमा आएको जानकारी दिनु भयो ।

    नेपाल जनजाति महासंघ अमेरिकाकी कोषाध्यक्ष श्रीमति कृष्णा महर्जनले नेपाल सम्वत नेपाली सबैको सम्वत भएको बताउनु भयो । कार्यक्रममा नेवाः गुठीका सदस्य राजेन्द्र महर्जनले न्हू दँया भिंतुना र्‍यालीको नाराको बारेमा जानकारी गराउनु भएको थियो ।

    कार्यक्रमको अन्त्यमा नेवाः नखः न्युयोर्कका अध्यक्ष डा. नरेश मान शाक्यले नेपाल सम्वत कसरी सञ्चालनमा आएको हो भन्ने जानकारी गराउँदै यसको महत्त्व भावी पुस्तासम्म पुर्याउनु पर्नेमा जोड दिनु भयो । उहाँले कार्यक्रममा उपस्थित सबै सहभागी, सहयोगी र स्वयंसेवकहरु लाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

    तत्पश्चात न्हू दँया भिंतुना र्‍याली सुरु भयो जसमा सयौं जनाको सहभागिता थियो । शंखधर साख्वाको फोटो भएको व्यानर सहित विभिन्न प्लेकार्डका साथमा नेपाल सम्वत सम्बन्धि विभिन्न नारा लगाउँदै न्युर्योकको ज्याक्सन हाइट्स् परिक्रमा गरेको थियो । जातिय पहिरणमा उपस्थित भएका सहभागिहरुका साथमा परम्परागत बाजागाजा सहित भिंतुना र्‍यालीले नगर परिक्रममा गर्दा धेरैजसो नगरवासीको ध्यान आकर्षण गरेको थियो । कतिपय अमेरिकन तथा अमेरिकामा बसोबास गर्ने अन्य देशका नागरिकहरुले भिंतुना कार्यक्रम र नेपाल सम्वतको बारेमा जानकारीका लागि सोधपुछ गरेका थिए । अमेरिकामा बसोबास गर्ने गैर नेपालीहरुले समेत अभिरुचिपूर्वक र्‍याली अवलोकन गर्नुका साथै र्‍यालीको भिडियो रेकर्ड गरेका थिए ।

    प्रत्येक बर्ष दुबै संस्थाले संयुक्त रुपमा नेपाल सम्वतको उपलक्ष्यमा भिन्तुना र्‍याली गर्दै आएको कुरा नेवा: नख: न्युयोर्कका पूर्व अध्यक्ष तथा सल्लाहाकार विष्णुमान प्रधानले जानकारी दिनु भयो।

  • पाथीभरा केबलकार शिलान्यास, १५ महिनाभित्र बनाइसक्ने लक्ष्य

    पाथीभरा केबलकार शिलान्यास, १५ महिनाभित्र बनाइसक्ने लक्ष्य

    काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् । राजनीतिक दलका प्रतिनिधिहरू तथा जिल्लावासीको उल्लेख्य उपस्थितिमा पाथीभरा देविको जय–जयकारसहित केबलकार निर्माणको शिलान्यास गरिएको निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले जानकारी दिए ।

    जिल्लाका सबै राजनीतिक दलका प्रतिनिधिहरू, माननीयज्यू, मेयर ज्यूसहित जनप्रतिनिधिहरू तथा स्थानीयहरूको उल्लेख उपस्थितिमा केबलकार निर्माणको शिलान्यास गरेका छौं । अब काम द्रुत गतिमा हुन्छ,’ निर्माण कम्पनीका सञ्चालक केदेमले भने । पाथीभरा केवलकार कुनै एउटा कम्पनीको मात्र नभएर यो समग्र ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँग जोडिएको, र ताप्लेजुङ तथा समग्रमा कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशीढुङ्गा बन्ने बताउँदै केवलकार निर्माणकार्य द्रुत स्तरमा अगाडि बढाउन सबै पक्षले सहयोग गर्नुपर्ने मेयर मादेनले बताए ।

    यस अघि केबलकार निर्माण हुने क्षेत्रमा रहेका रूखहरू हटाइएको र शुक्रबार केबलकार निर्माणको औपचारिक शिलान्यास भएको केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताए । पौडेलले अबको १५ महिना भित्र केबलकार चड्न पाइने जानकारी दिए । उनका अनुसार पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि केबलकार लाभदायक बन्नेछ ।

  • छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइयो

    छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइयो

    काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न भएको छ । व्रतालुहरुले हिजो अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । त्यसपछि रातभर जाग्राम बसेका उनीहरुले आज उदाउँदो सूर्यलाई अर्घ दिएका हुन् । श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व चार दिनसम्म मनाइन्छ ।

    सूर्यको उपासना र छठी माताको पूजाआराधनाले पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
    यही विश्वासका साथ छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा भेला भएर श्रद्धालुहरुले पूजासमाग्री सूर्यलाई अर्घ दिने गर्दछन् ।

    यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठेकुवा, भुसुवा, केरा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफूल चढाउने गरिन्छ ।

    अर्घ्य दिइएका छठ पूजाको सामग्री प्रसादको रुपमा ग्रहण गर्ने तथा वितरण गर्ने प्रचलन छ । पहिलापहिला मिथिलाञ्चलसहित तराई मधेशका बासिन्दाले मात्र मनाउने छठ पर्व पछिल्लो समय पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।
    काठमाडौं उपत्यकामा बसोबास गर्नेहरुले कमलपोखरी, गौरीघाट लगायतका स्थानबाट छठ पूजा गरेका छन् ।

  • छठको मूख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा आराधना

    छठको मूख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा आराधना

    काठमाडौं । सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन हो । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् । आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ । छठको मुख्य दिन भएकाले आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । काठमाडौं उपत्यकासहित तराई मधेशका जिल्लाहरुमा छठको रौनक छ । छठको अवसरमा काठमाडौंका आठ स्थानमा छठघाट निर्माण गरिएको छ ।

    काठमाडौं महानगरपालिकाका अनुसार वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडानम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारा र वडा नम्बर ३२ को कोटेश्वर दोभानमा छठघाट निर्माण गरिएको हो । यी स्थानमा सरसफाइ, रंगरोगन, सजावट र सुरक्षा प्रबन्ध लगायतको व्यवस्था मिलाइएको छ ।

    जनकपुरधामका धार्मिक एवं ऐतिहासिक सरोवरहरु गंगासागर, अंगराज सागर, धनुष सागर, दशरथ तलाउ, गोरधोइ पोखरी लगायतको किनारमा श्रद्धालुहरू बिहानैदेखि पूजा सामग्री लिएर जम्मा हुन थालेका छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन जनकपुरका सरोवरहरू सिङ्गारिएका छन् ।

    यस्तै ग्रामीण क्षेत्रका पोखरी, तालतलैया, र खोलाकिनारका जलाशयहरू पनि झकिझकाउ पारिएको छ । कतिपय ठाउँमा बिहानैदेखि त कतै अपराह्न पूजा सामग्री लिएर भक्तजनहरू जलाशय किनारमा भेला हुन्छन् । पोखरी नहुने क्षेत्रमा इनारहरू सजाएर छठ पूजा गर्ने परम्परा छ ।

    अस्ताउँदो सूर्यलाई अर्घ दिन आज साँझ राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरु पनि छठ पूजास्थल जाने कार्यक्रम छ । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउने गरेका छन् । पछिल्लो समय राजधानीसँगै अन्य क्षेत्र समुदायले पनि छठ मनाउँदा सामाजिक सद्भाव र एकता कायम भएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःखकष्ट हट्ने जनविश्वास छ । छठको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिएका छन् ।

  • काठमाडौको ८ ठाउँमा छ्ठ मनाइदै

    काठमाडौको ८ ठाउँमा छ्ठ मनाइदै

    काठमाडौं । तिहारको समापनसँगै छठ पर्वको हर्षेल्लाष शुरू भएको छ । छठ पर्व सूर्यदेवको अनुष्ठान हो । हरेक मानवले जन्मदेखि मृत्युपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जा केन्द्र सूर्यसँगको मानवको सहअस्तित्वसँगै सांस्कृतिक पृष्ठभूमि पनि जोडिएको छ छठसँग ।

    तराईको केहि क्षेत्र केन्द्रित मनाइने छठ पर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलित हुँदै आएको छ । सद्भाव अनि दातृत्वको प्रतीक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदी, तालतलैया र पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरू, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई दूधको अर्घ्य दिएर मनाइन्छ ।

    यी सबै आस्था  र संस्कारहरूलाई सम्मान प्रकट गर्दै महानगरपालिकाले छठ पर्व व्यवस्थापनका लागि निम्न ८ स्थान तोकिएका छन ।

    – गौरी घाट, वडा ८

    – कोटेश्वर दोभान, वडा ३२

    – कमल पोखरी, वडा १

    – वंशीघाट, वडा ११

    – बालाजु बाइसधारा, वडा १६

    – धौखेल खोला, वडा १३

    – कुमारी क्लब, वडा १४

    – भुवनेश्वरी मन्दिर, वडा १४

    काठमाडौं महानगरपालिकाका माथि उल्लेखित स्थानमा छठ पर्व मनाउनका लागि पोखरी सरसफाइ, पोखरी वरिपरि रङ्गरोगन र छठ पर्व स्थल व्यवस्थापनको कामलाई द्रुतता दिएको मेयर बालेनले जनाएका छन् । यसका साथै सम्बन्धित वडाबाट पनि प्रत्यक्ष रूपमा काम गरिरहेको उनले बताएका छन् ।

  • छठ पर्व आजबाट सुरु

    छठ पर्व आजबाट सुरु

    काठमाडौं । सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्व आजबाट विधिवत् रुपमा प्रारम्भ भएको छ । पहिलो दिन आज (मंगलबार) नहाय खाय मनाइँदै छ । आजको दिन ब्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने गर्छन् ।

    पारिवारिक सुख(समृद्धि एवं सन्तानको कल्याणका लागि मनाइने यस पर्वको दोस्रो दिन बुधबार खरना परेको छ । बुधबार साँझ ब्रतालुले चामल, सक्खर र दूधबाट तयार गरिएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना विधि पूरा गर्नेछन् । तेस्रो दिन बिहीबार छठको मुख्य दिन सौझकारक रहेको छ । यो दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्री सहित जलाशय किनारमा अर्घ दिने परम्परा छ ।

    अन्तिम दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ । यस दिनलाई पारन भन्ने गरिन्छ । छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्ती लगायतको सामग्रीहरु चढाइन्छ ।

    त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी एवं विविध प्रकारको मिठाई तथा फलफूल आदि सूर्यदेवलाई अर्घको रुपमा चढाउने गरिन्छ । छठ पर्वमा विशेष गरी अर्घ दिन ब्रतालुले ४८ घण्टा अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ । यसकारण छठ पर्वलाई निष्ठाको कठोर साधना मानिन्छ ।

    अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिन चढाइएको सामग्री प्रसादको रूपमा ग्रहण तथा वितरण गर्ने चलन छ । त्यस कारण यस पर्वलाई सामाजिक सद्भाव र एकताको प्रतीक मानिन्छ । तराई(मधेशमा छठ पर्वको तयारीले अहिले पूरै क्षेत्र उत्सवमय बनेको छ । पूजा सामग्री किनमेलका लागि बजारमा घुइँचो लागेको छ भने नदी, पोखरी तथा जलाशयका घाटहरूलाई विशेष रूपमा सजाउने काम भइरहेको छ ।

    जनकपुरको गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ ताल लगायतका ऐतिहासिक जलाशय किनारहरूलाई नवदुलही झैं सजाउने काम जारी छ । मिथिलाञ्चल सहित तराई–मधेशमा अहिले छठको सुमधुर गीतले गुञ्जायमान बनेको छ । पछिल्लो समय पहाडी क्षेत्रका बासिन्दाहरूले पनि छठ पर्व मनाउन थालेका छन् ।

  • यम पन्चकको आज पाचौं दिन, भाइटिका मनाइदै

    यम पन्चकको आज पाचौं दिन, भाइटिका मनाइदै


    काठमाडौं । यमपञ्चकको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन् ।

    प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाउँदछन् । टीकाका लागि उत्तम साइत ११ बजेर ३७ मिनेट तोकिएको छ ।

    दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

  • नेवार समुदायको नयाँ वर्ष नेपाल सम्वत आज

    नेवार समुदायको नयाँ वर्ष नेपाल सम्वत आज

    काठमाडौं । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका हुन् । पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।

    ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उनले भने । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।

    गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएका थिए । विसं २०६५ मा प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । काठमाडौंमा कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरुआत गर्ने परम्परासमेत अझै छ ।

  • गाई, गोरु र गोवर्दन पूजा आज

    गाई, गोरु र गोवर्दन पूजा आज

    काठमाडौं । आज कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात तिहारको चौंथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
    गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

    गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर सङ्कल्प पढिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ ।

    आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ । आजै गोरु र कृषकको पूजाआजा पनि गरिंदैछ । वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।

    गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषिकर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।

    आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदा÷सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

  • म्ह पूजा आज, नेवारी समूदायमा मनाइदैं

    म्ह पूजा आज, नेवारी समूदायमा मनाइदैं

    काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

    आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ । यही शास्त्रीय मान्यता र विश्वासका आधारमा आत्म (म्हः) पूजा गर्ने परम्परा बसेको हो । यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा मनाउने गरिएको छ ।

  • आज तिहारको कुनै पर्व नहुने

    आज तिहारको कुनै पर्व नहुने

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज कात्तिक १६ गते शुक्रबार कुनै पनि चाडपर्व छैन। औंसी भए पनि तिहारको कुनै पर्व भने नपरेको समितिले जनाएको छ । यस वर्ष तिथि घटबढले औंसीका बेला सूर्योदय भएकाले आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताए ।
    विहीबार बिहान कुकुर पूजा र साँझ लक्ष्मीपूजा गरिएको छ । शुक्रबार यमपञ्चकको कुनै पर्व नभएको र औंसीसहित कार्तिक शुक्ल प्रतिपदाका दिन गरिने गाई पूजा शनिबार अर्थात् कात्तिक १७ गते परेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यद्यपि प्रत्येक महिनाको औंसीलाई पर्व मानिन्छ । औंसीमा विशेषगरी पितृकर्म हुने गर्छ ।

    नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औंसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औंसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । गाईलाई गौमाताका रूपमा सम्मान गरिने भएकाले वर्षका ३६५ दिन नै गाई पूजा गर्न पनि सकिन्छ । तर तिहारका अवसरमा गरिने गाई पूजा भने शनिबार नै गर्नुपर्ने समितिको भनाइ छ । यसैले गाईतिहार पनि शनिबार नै मनाइन्छ ।

    कात्तिक १७ गते शनिबार भने गाईगोरु पूजा, गोवद्र्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरी छवटा पर्व एकै दिन परेको समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रोमा उल्लेख छ । तिथिका घटबढका कारण यस वर्ष पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष ६ दिनसम्म लम्बिएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मंगलबार सुरु भएको थियो । यो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइले विधिपूर्वक टीका लगाएपछि सकिन्छ । टीकाको साइत बिहान ११ बजेर ३७ मिनेटमा छ ।