Category: मनोरञ्जन

  • आरोही कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको सफल आरोहण

    आरोही कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको सफल आरोहण

    १३ जेठ, काठमाडौं । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औँ पटक सगरमाथा आरोहण सफल गरेका छन् । सोलुखुम्बु थामेका ५५ वर्षीय शेर्पाले आज बिहान ४ः०० बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैँले राखेको कीर्तिमान तोडेका हुन् ।

    अघिल्लो वर्ष शेर्पाले २९ र ३० औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए । पर्यटन विभागका अनुसार आजदेखि सगरमाथा आरोहण सकिनेछ । यो ‘सिजन’मा ४६ आरोही समूहका ४५८ जनाले आरोहण अनुमति लिएका थिए । उनीहरुमध्ये करिब ५०० जनाले सगरमाथा आरोहण गरेको जनाइएको छ ।

  • पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनर्पाक’ निर्माण

    पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनर्पाक’ निर्माण

    रासस
    १३ जेठ, ढोरपाटन । बागलुङको बरेङ गाउँपालिका-१ र २ को सिमानामा पर्ने पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनपार्क’ निर्माण गरिएको छ । बरेङ बजार नजिकै रहेको ठूल्डाँडा क्षेत्रमा गाउँपालिकाले रु ४० लाख लागतमा ‘फनपार्क’ निर्माण गरी सञ्चालनमा ल्याएको हो । पार्क सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । तीन वर्ष अगाडि निर्माण सुरु गरिएको पार्क यसै वर्षदेखि सञ्चालनमा आएको गाउँपालिका कार्यालयले जनाएको छ ।

    एक दशक अगाडिसम्म झाँडीले ढाकिएको उक्त क्षेत्र अहिले रमणीय बनेको स्थानीय बताउँछन् । पार्क निर्माण भएपछि बरेङसहित बागलुङको गलकोट, जैमिनी, गुल्मी, स्याङ्जालगायत ठाउँबाट आन्तरिक पर्यटक घुम्न आउने गरेका स्थानीय चित्र थापाले बताए । गर्मीयाम सुरु भएपछि पार्कमा रहेका रुखका छहारीमा बस्न आउनेको सङ्ख्या बढेको उनको भनाइ छ ।

    करिब दुई हेक्टर क्षेत्रफलमा बनेको पार्कमा बालबालिकाका लागि खेल्ने, वनभोजस्थल, भवन, फोटो खिच्नेस्थाललगायत पूर्वाधार बनेकाले आन्तरिक पर्यटकको आकर्षण बढेको थापाले उल्लेख गरे । बरेङका सबै वडासहित गुल्मी, स्याङ्या, माछापुच्छ्रेलगायत हिमालहरू अवलोकन गर्न सकिने भएकाले ठूल्डाँडा र पार्क पर्यटकका लागि आकर्षण केन्द्र बनेको उनले बताए । उनले भने, “पहिले हामीले यहाँ गाईभैँसी चराउने गथ्र्यौँ, अहिले सुन्दर पार्क बनेको छ । सामाजिक सञ्जालको प्रयोगले पार्कको प्रचारप्रसार भएपछि आन्तरिक पर्यटक आउने गरेका छन्, यहाँ फोटो, भिडियो खिच्न, वनभोज खान, हिमालको अवलोकन गर्न पर्यटक आउने गरेका छन् ।”

    बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले पदमार्ग र मोटरबाटोले ठूल्डाँडा जोडेपछि पर्यटकको आगमनमा वृद्धि आएको बताए । ठूल्डाँडामा पार्कसहित खानेपानी, शौचालय, बालबालिकाका लागि खेल्ने स्थान, वनभोजस्थल, आरामका लागि भवन, फोटो खिच्न पूर्वाधार बनाइएको उनको भनाइ छ । पार्कमा खुला व्यायामशालासमेत निर्माण गरिएको अध्यक्ष शर्माले जानकारी दिए ।


    “यो ठाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि प्रचारप्रार र पर्याप्त पूर्वाधार नहुँदा आझेलमा परेको थियो, यसलाई संरक्षण र प्रवर्द्धन गरी स्थानीयको आयआर्जनको स्रोत विकास गर्नुपर्छ भन्ने उद्देश्यल यहाँ पूर्वधार निर्माण गर्‍यौँ, पदमार्ग र मोटरबाटो दुवैले जोड्यौँ”, अध्यक्ष शमाले भने, “अहिले ‘फनपार्क’मा व्यायामशालासहित थुप्रै संरचना बनेका छन्, जसले गर्दा यहाँ दैनिक पर्यटक आउने गरेका छन् । वरपर रहेका रुखसहित पोखरी पनि संरक्षण गरेर राखेका छौँ ।”

  • अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने

    अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने

    रासस
    १३ जेठ, कास्की । अन्नपूर्ण प्रथम हिमाल ९८,०९१ मिटर० आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा यस वर्ष हीरक महोत्सव मनाइने भएको छ । अन्नपूर्ण (नर्थ)को आधार शिविरमा पहिलोपटक कार्यक्रम गर्न लागिएको हो । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वले अन्नपूर्ण प्रथम हिमालयको सफल आरोहण गरेको थियो । हर्जोगसँगै लुइस लचेनल र दुई नेपाली शेर्पा उक्त आरोहणमा सहभागी थिए ।

    नेपालमा आठ हजार मिटरभन्दा अग्ला हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी, अन्नपूर्ण गाउँपालिका म्याग्दीको व्यवस्थापनमा हीरक महोत्सव मनाउन लागिएको सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

    आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने भएकाले सोही स्थानमा हीरक महोत्सव मनाइने नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले जानकारी दिए । “हामीले पहिलोपटक आरोहण भएको सम्बन्धित स्थानमा पुगेर कार्यक्रम गर्दैछौँ । यसबाट नेपालको पर्वतीय पर्यटनको थप प्रवर्द्धन हुनेछ”, उनले भने ।

    महोत्सवमा फ्रान्सलगायत युरोप–अमेरिकालगायत देशका १२ राजदूतलाई समेत निमन्त्रणा गरिएको लामिछानेले जानकारी दिए । नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा यही जेठ १७ देखि १९ गतेसम्म पदयात्रा गरिने छ । पदयात्रामा फ्रान्स र नेपालका विशिष्ट व्यक्तिको सहभागिता हुने टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।


    मौरिस हार्जोगका छोरा माथियास इमानुएल म्याक्सिमिलियन हार्जोग र उहाँका परिवारसहित १४ सदस्यीय टोली नेपाल आइपुगेको छ । आधार शिविरबाट ३० किलोमिटर दूरीको म्याराथन दौडसमेत आयोजना गरिएको अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष भरतकुमार पुनले बताए ।

    उनका अनुसार आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावरण गरिने छ । आधार शिविरमा निर्माण भएको खुला सङ्ग्रहालय र नारच्याङबाट आधार शिविर जोड्ने पदमार्गलाई ‘मौरिस हर्जोग पदमार्ग’ नामकराण गरिएको छ । उक्त पदमार्गका साथै सालिकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पुनले जानकारी दिए ।

  • लोमान्थाङमा ‘तिजी’ पर्व सुरु

    लोमान्थाङमा ‘तिजी’ पर्व सुरु

    रासस
    ११ जेठ, मुस्ताङ । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका लोमान्थाङमा शनिबारदेखि सदियौं वर्षदेखि चल्दै आइरहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजी औपचारिक रूपमा सुरु भएको छ । उपल्लो मुस्ताङमा तिजी पर्वलाई सबैभन्दा महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ ।

    उपल्लो मुस्ताङको लोछोदिन समुदायका गुरुङ र विष्ट समुदायका मानिस एकै थलोमा भेला भएर तिजी पर्वलाई हर्ष र उल्लासका साथ मनाउने प्रचलन छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्डको संयुक्त आर्थिक सहयोग तथा लोमान्थाङस्थित छोदे गुम्बाको व्यवस्थापनमा लोमान्थाङस्थित मुस्ताङ सांस्कृतिक राजाको दरबार परिसरमा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व ‘तिजी’ शुभारम्भ गरिएको हो । तिजीलाई तिब्बती भाषामा ‘तेन्जी’ पर्व भन्ने गरिन्छ ।

    तिजी पर्वका बेलामा उपल्लो मुस्ताङका स्थानीय नागरिकले आफ्नो आर्थिक हैसियतअनुसार खानपान गर्ने, नयाँ मौलिक वेशभूषासहितको लुगा र गरगहना लगाउने गर्छन् । तिजी पर्व अवधिभर गुम्बा र छोर्तेनमा गएर सामूहिक पूजाआजा गर्ने धार्मिक चलन छ । उपल्लो मुस्ताङमा तिजी पर्व तीनसम्म मनाइने प्रचलन रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।

    “तिजी पर्व एक किसिमको धार्मिक पूजा नै हो, तर यो धार्मिक पूजालाई लोछोदिन समुदायले पर्वका रूपमा विस्तार गरेको हो”, उनले भने, “उपल्लो मुस्ताङको लोछोदिन समुदायलाई कसैबाट आक्रमण नहोस्, शान्ति स्थापना होस्, सबैको भलो होस् भन्ने उद्देश्यले तिजी पूजाको रूपमा यो पर्व चल्दै आइरहेको हो ।”

    तिजी पर्वमा उपल्लो मुस्ताङअन्तर्गत साविकका सातवटै गाविसका मानिस लोमान्थाङस्थित तिजी पर्वमा उपस्थित भएर शान्ति पूजापाठमा सरिक हुनुपर्ने धार्मिक प्रचलन रहेको अध्यक्ष विष्टको भनाइ छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उपल्लो मुस्ताङको धार्मिक तथा ऐतिहासिक पर्व तिजी उपल्लो मुस्ताङको सांस्कृतिक धरोहरका रूपमा रहेको बताए । यो पर्वले उपल्लो मुस्ताङको समृद्धि, विकास र शान्ति स्थापना गर्न तथा उपल्लो मुस्ताङका नागरिकलाई भावानात्मक रूपमा एकताबद्ध गर्न तिजी पर्वले महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको उल्लेख गरे ।

    तिजी पर्व आठौँ शताब्दीदेखि धर्मगुरु पद्मसम्भवको पालादेखि सुरु भएको लोमान्थाङस्थित लोमान्थाङ छोदे गुम्बाका लामा झ्याम्पा घ्याचो गुरुङले बताए । गुरु पद्मसम्भवको पालादेखि सुरु भएको तिजी पर्व उपल्लो मुस्ताङमा पन्ध्राँै शताब्दीमा मुस्ताङी दोस्रो राजाका छोरा आङ्जेन साङ्वोको पालादेखि सुरु भएको छोदे गुम्बाका लामा गुरुङको भनाइ छ ।

    पछिल्लो अवस्थामा उपल्लो मुस्ताङमा तिजी पर्व चल्दै गर्दा विभिन्न काखखण्डमा तिजी पर्व रोकिँदै र सुरु हुँदै आएकामा सन् १९६३ देखि नियमित रूपमा उपल्लो मुस्ताङमा तिजी सञ्चालन हुँदै आइरहेको छोदे गुम्बाका लामा गुरुङले जनाउनुभयो । त्यसो त विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरना सङ्क्रमणको जोखिमका कारण सन् २०२० देखि तीन वर्ष उपल्लो मुस्ताङमा तिजी पर्व रोकिएको लामा गुरुङले उल्लेख गरे ।


    लोमान्थाङमा ऐतिहासिक तथा धार्मिक एवं सांस्कृतिक पर्व तिजी तीन दिनसम्म नियमित रुपमा सञ्चालन हुने गर्छ । त्यस अवधिमा तीन दिनसम्म बिहान ६ः०० देखि १२ बजेसम्म त्यहाँको गुम्बामा लामाद्वारा बज्रकिलया देवता र महाकाल देवताको पूजापाठ गर्ने गरिन्छ । यसरी पूजापाठ गर्दा उपल्लो मुस्ताङलाई कसैले कुदृष्टि नलगाओस्, विश्व भातृत्व र शान्ति कायम होस्, रोगब्याधी र अनष्टि नहोस्, अन्नबाली सप्रियोस्, प्राकृतिक विपद्को सामाना गर्न नपरोस्, सबै लोछोदिन समुदायमा सुख, शान्ति समृद्धि छाओस् भन्ने कामना गर्दै छोदे गुम्बाका लामाहरूले सामूहिक पूजा गर्ने प्रचलन रहेको लामा झ्यम्पा घ्याचो गुरुङले जानकारी दिए ।


    यसैगरी तिजी पर्वको तीन दिनसम्म बिहानको धार्मिक पूजापाठपछि लोमान्थाङस्थित मुस्ताङी सांस्कृतिक राजाको दरबार परिसर अगाडि छोदे गुम्बाका लामाबाट बज्रकिलया र महाकाल देवताको नृत्य अभ्यास प्रस्तुत गर्ने गरिन्छ । यो प्रक्रिया तीन दिनसम्म नियमित चल्ने लामा गुरुङले सुनाए । तिजी पर्वको अवसरमा लोमान्थाङको ऐतिहासिक दरबार अगाडि छोदे गुम्बाका लामाले ५४ प्रकारका बज्रकिलया र महाकाल देवताको नृत्य अभ्यास प्रस्तुत गर्ने चलन रहेको छ ।

  • ८ वर्षपछि ठूलो पर्दामा फर्किए महानायक राजेश हमाल, नरसिंहा अवतार प्रदर्शनमा

    ८ वर्षपछि ठूलो पर्दामा फर्किए महानायक राजेश हमाल, नरसिंहा अवतार प्रदर्शनमा

    ९ जेठ, काठमाडौं । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका छन् । उनले अभिनय गरेको चलचित्र ‘नरसिंहा अवतार’ आजदेखि नेपालभर प्रदर्शनमा आएको छ । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताए । “मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिएँ । तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ । यस चलचित्रमा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेको जस्तो भूमिका पाएँ । चलचित्रको विषयवस्तु, म सुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा म चलचित्रमार्फत ठूलो पर्दामा पुनः आएँ”, अभिनेता हमालले भने ।

    अभिनेता हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तापनि चित्त बुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट गरे । विशेषतः उनले अभिनय गरेको दुई चलचित्र ‘वाग्मती’ र ‘सकुन्तला’ असफल भएपछि चलचित्रभन्दा विज्ञापन, मेला महोत्सव र टेलिभिजनजस्ता कार्यक्रममा व्यस्त थिए ।
    “कथावस्तु मन परेर अभिनय गरेका चलचित्र प्रदर्शनमा आउँदा मैले ‘मेकिङ’ मा त्यो गुणस्तरीयता पाइन् । त्यसकारण केही समय विश्राम लिएँ र त्यो समयमा म अन्य गतिविधिमा व्यस्त भएँ । यसपटक सबैले मेहनत गरेका छौँ, दर्शक प्रतिक्रिया बुझ्न म पनि प्रतीक्षारत छु”, अभिनेता हमालले भने । निर्देशक दिवाकर भट्टराईले स्थापित अभिनेता हमाललाई पुनः चलचित्रको पर्दामा ल्याउनु आफ्ना लागि अवसर र चुनौती रहेको बताए ।

    “अभिनेता हमालको प्रशंसक (फ्यान) का बारेमा मैले बोल्नै पर्दैन । हाँलाई हेर्न चलचित्र भवनसम्म आउनुहुने दर्शकले निराश हुनुपर्दैन, आफूले गरेको कामप्रति विश्वस्त छु । हाम्रो चलचित्रको मुख्य आकर्षण कथा नै हो, त्यहाँ परिवेशअनुसार सबै ‘पात्र’लाई सुहाउँदो भूमिकामा प्रस्तुत गरेको छु”, निर्देशक भट्टराईले भने ।


    उक्त चलचित्रमा अभिनेता हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाले अभिनय गरेका छन् । चलचित्र ‘नरसिंहाः अवतार’ नेपालभर १३३ शो प्राप्त गरेको निर्माण पक्षले जनाएका छन् । नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले चलचित्रलाई संयुक्त रुपमा निर्माण गरेका छन् ।

  • ‘सगरमाथा संवाद’का विशिष्ट पाहुनाद्वारा हिमशृङ्खला दृश्यावलोकन

    ‘सगरमाथा संवाद’का विशिष्ट पाहुनाद्वारा हिमशृङ्खला दृश्यावलोकन

    ४ जेठ, काठमाडौं । बहुप्रतिक्षित ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनालाई हिमशृङ्खला दृश्यावलोकन गराइएको छ । पर्वतीय उडान (माउन्टेन फ्लाइट)मार्फत उनीहरूलाई सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको नेतृत्वमा विदेशी पाहुना ‘माउन्टेन फ्लाइट’मा गएका हुन् । यसका लागि परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले समन्वय गरेका थिए । करिब एक घण्टाको ‘माउन्टेन फ्लाइट’मा सहभागीले नीलो आकाशमुनि चाँदीका घेराझैँ टल्किने मनमोहक हिमशृङ्खलाको दृश्यावलोकन गरेका थिए ।

    साहसिक गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी पाहुनालाई ‘माउन्टेन फ्लाइट’ गराइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयक पहिलोपटक आयोजित अन्तरराष्ट्रियस्तरको ‘सगरमाथा संवाद’मा स्वदेशी र विदेशी गरी तीन सय ५० जनाभन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ ।

    नेपालका केही निजी वायुसेवा कम्पनीले पर्वतीय उडान भर्दै आएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ७ः०० बजे पर्वतीय उडान हुने गरेको छ । पर्वतीय उडान करिब एक घण्टाको हुने जनाइएको छ । उडानमा सगरमाथा, मकालु, नुप्से, गौरीशङ्करलगायत अन्य हिमशृङ्खलाको मनोरम दृश्य हेर्न सकिन्छ ।

  • हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा

    हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा

    रासस
    ४ जेठ, मुस्ताङ । पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टाँसी’को छायाङ्कन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ । सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर यहाँका तीन स्थानीय तहका विभिन्न स्थानमा फिल्म ‘टासी’को छायाङ्कन गरिन लागिएको हो । हलिउडदेखि बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित फिल्म ‘टासी’को ठूलो जम्बो टोली यहाँ आइपुगेका छन् भने कतिपय आउने क्रममा रहेको बताइएको छ । अमेरिकी प्रविधि कम्पनी एप्पलले हलिउड फिल्म ‘टासी’ निर्माण गर्न लागेको हो ।

    नेपालका विभिन्न जिल्लामा छायाङ्कन गर्ने योजना बनाइरहेको सो फिल्मको युनिट यतिबेलामा भने छायाङ्कनका लागि यहाँ आइपुगेको छायाङ्कन स्थल सहजकर्ता पाल्गेन गुरुङले जानकारी दिए ।उनका अनुसार उक्त फिल्मका लागि करिब ३०० भन्दाबढी जनशक्तिसहित ८० बढी कार तथा भ्यान, साना ठूला सामान बोक्ने ट्रक ५० भन्दाबढी र शौचालय, बाथरुम, भान्सा तथा सुत्नेसमेतको व्यवस्था भएका १० भन्दा बढी सवारी साधन मुस्ताङ भित्रिएका छन् ।

    उक्त टोली यहाँ आएपछि जोमसोम र पुथाङ विमानस्थलका करिब दुई दर्जन होटल एक महिनाका लागि अग्रिम बुकिङ भइसकेको गुरुङले जानकारी दिए । घरपझोङ गाउँपालिका–५ को कुछ्प तेरङ्गा गुम्बा र घरपझोङ–१ को लक्कीमा सो फिल्मको छायाङ्कन हुने सहजकर्ता गुरुङले उल्लेख गरे । यसैगरी थासाङ गाउँपालिकाको बोक्सी खोला र बारागुङ मुक्तिक्षेत्रको पुराङ, झारकोट, धार्काजुङ, फल्याक खेलमैदान तथा लुप्रा पासमा फिल्मको छायाङ्कन गर्ने योजना रहेको गुरुङको भनाइ छ ।

    सगरमाथा आरोही शेर्पाको हिमाल आरोहरण, हिमाली सभ्यता, यहाँको जैविक विविधतालगायत परिदृष्य फिल्ममा समेटिने बताइएको छ । मुस्ताङमा यो फिल्म छायाङ्कनका लागि वेडनेस आउटडोर कम्पनीले सम्बन्धित यहाँका स्थानीय तहलाई ‘लोकेशन’ छायाङ्कनका लागि एक हप्ताअघि राजस्व शुल्कसमेत बुझाइसकेको छ । जिल्लाका तीन पालिकामा छायाङ्कन हुने फिल्मको युनिट आएसँगै जोमसोमका होटल भरिभराउ भएको पर्यटन व्यवसायी राकेश भट्टचनले जानकारी दिए ।

    पर्यटन व्यवसायी भट्टचनले राष्ट्रिय गौरवको कोरला सडक सहज भएसँगै मुस्ताङमा हलिउड, बलिउड र कलिउड फिल्म छायाङ्कन गर्नेक्रम बढेको बताए । “मुस्ताङमा यस प्रकारका फिल्म छायाङ्कनले यहाँको आर्थिक विकासमा ठूलो योगदान पुग्ने र फिल्मका माध्यमबाट यहाँको पर्यटन विकास र प्रवर्द्धनमा ठूलो सहयोग पु¥याउँछ”, उनले भने ।


    मुस्ताङमा सडक सञ्जालको विकास नहुँदाका बखत बलिउड फिल्म ‘खुदा गवाह’ छायाङ्कन भएको थियो । त्यसपछि सबैभन्दा ठूलो लागतको हलिउड चलचित्र ‘टासी’ छायाङ्कन हुन लागेको हो । मुस्ताङका धार्मिक तथा पर्वतीय पर्यटन विकासमा यहाँ छायाङ्कन हुने चलचित्रले टेवा पु¥याउने गरेको छ । मुस्ताङमा पछिल्लो १० वर्षको अन्तरालमा दर्जनौँ नेपाली, हिन्दी र अङ्ग्रजी फिल्म छायाङ्कन भइसकेका छन् । यसैगरी सट मुभी, म्युजिक भिडियो र डकुमेन्ट्रीका लागि पनि मुस्ताङ प्रसिद्ध छायाङ्कन केन्द्र बन्दै जान थालेको छ ।

  • ढकमक्क फुलेका गुलमोहरले पर्यटक लोभ्याउँदै

    ढकमक्क फुलेका गुलमोहरले पर्यटक लोभ्याउँदै

    रासस

    ४ जेठ, झापा । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका छन् । गुलमोहरको फोटो तथा श्रव्यदृश्य खिच्न पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

    “कति पर्यटक आउँछन् भनेर तथ्याङ्क राखिएको छैन”, गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले भने, पर्यटकको चहलपहल बढेपछि स्थानीय तहले सो स्थानमा सुविधाका लागि गत वर्ष खानेपानी, शौचालय र चौतारो निर्माण गरिदिएको छ । साना होटल र चिया पसल पनि खुल्ने क्रम जारी छ ।

    झापाबाट ताप्लेजुङ जोड्ने मेची राजमार्गमा पर्ने उक्त स्थानमा बर्ने चिया बगान पनि रहेको छ । चिया बगानको सदावहार हरियालीका माझमा ढकमक्क राताम्य भएर फुलेका गुलमोहरले हरेक यात्रुलाई आकर्षित गर्ने गरेको छ । शनिबार र सार्वजनिक बिदाका दिन अन्य दिनभन्दा बढी पर्यटक आउने गरेका अध्यक्ष प्रसाईँले बताए । पालिकाले गत वर्ष त्यस वरपर दुई सयभन्दा बढी गुलमोहरका बिरुवा रोपेको छ ।

    पालिकाले गुलमोहरको रुख भएको सडक छेउको आधा किलोमिटर क्षेत्रमा ब्लक बिछ्याएर सडकलाई फराकिलो बनाएको छ । पर्यटकले त्यसलाई ‘टिकटक रोड’ नाम दिएका छन् । इलामको कन्याम, श्रीअन्तु, माइपोखरीलगायत पर्यटकीयस्थल जाँदै गरेका व्यक्ति गुलमोहरको सौन्दर्यबाट मोहित बन्ने गरेका छन् ।


    यहाँबाट एक किलोमिटर उत्तर बुद्धशान्तिकै वडा नं ६ मा कोशी प्रदेशकै लामो झोलुङ्गे पुल रहेको छ । झोलुङ्गे पुल हेर्न जानेसमेत बाटैमा रहेको गुलमोहरको सौन्दर्यको आनन्द लिन भुल्दैनन् । गुलमोहरले आकर्षित गर्दा यहाँका सवारीसाधनहरुमा यात्रुको चाप बढाएका छ ।

  • भारतीय अभिनेत्री नोरा फतेही नेपालमा

    भारतीय अभिनेत्री नोरा फतेही नेपालमा

    ३ जेठ, काठमाडौं । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले नेपाल र नेपालीबाट आफूले माया पाइरहेको बताएकी छिन् । आज त्रिभुवन न्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा आएर प्रस्तुति दिन पाउँदा उत्साहित भएको बताइन् । “म नेपालीलाई भेट्न उत्साहित छु । हामीले आफ्नो तयारी गरिसकेका छौँ, नेपालीलाई प्रत्यक्ष भेटेर मनोरञ्जन दिने उद्देश्यले म नेपाल आइपुगेकी हुँ । यो मेरो पहिलो नेपाल भ्रमण हो”, अभिनेत्री फतेहीले भनिन्, उनले नेपालको आतिथ्य र सहयोगी भावना प्रशंसनीय रहेको बताइन् ।

    उनी संयुक्त अरब इमिरेट्सबाट आज फ्लाई दुबईबाट नेपाल आएकी हुन् । उनको
    नृत्य टोलीमा रहेका अन्य २३ सदस्य शुक्रबार नै नेपाल आइसकेका छन् । उनले आजै तारागाउँस्थित ह्यात चौरमा ‘नोरा फतेही लाइभ इन नेपाल’ नामक कार्यक्रम प्रस्तुति दिनेछिन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेहीलाई नेपाल ल्याइएको वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका मनिष कार्कीले जानकारी दिए ।

    उनले भने, “मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ, नेपालमा अभिनेत्री फतेहीको माग देखेर हामीले कार्यक्रमका लागि गरेको अनुरोधमा उहाँ सहमत हुनुभएको हो । उहाँसँगै नेपाली कलाकारले पनि सम्मानित रूपमा स्टेजमा आफूलाई प्रमाणित गर्नुहुनेछ ।”

    आयोजक कार्कीका अनुसार अभिनेत्री फतेही आइतबार बिहान भारत फर्किनेछिन् । इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गरेको छ । अभिनेत्री फतेहीको ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन् । उक्त कार्यक्रममा नेपाली कलाकारहरूमा गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामालगायतले प्रस्तुति दिने आयोजकले जनाएको छ ।

  • बेलायतमा नेपाली भजन महोत्सव

    बेलायतमा नेपाली भजन महोत्सव

    ३१ वैशाख, बेलायत । बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली समाज युके’को आयोजना दोस्रो भजन महोत्सव सम्पन्न भएको छ । लण्डन, स्कटल्याण्ड, वेल्स, बर्मिङ्घम तथा उल्भरह्याम्टनलगायत आठ स्थानमा बसोबास गर्ने नेपालीहरुको सांस्कृतिक झाँकीसहितका टोली वेष्टमिडल्यान्डस्को उल्भरह्याम्पटस्थित श्रीकृष्ण मन्दिरमा जम्मा भएका थिए । ‘आफ्नो पहिचान धर्म संस्कृति र आदर्शलाई जोगाउँ, सभ्य र उन्नत जीवनलाई अँगालौँ’ भन्ने नारासहित सम्पन्न महोत्सवमा आठवटै टोलीले आ–आफ्नो भजन प्रस्तुत गरेका थिए ।

    महोत्सव उद्घाटन गर्दैै उल्भरह्याम्टन काउन्सिलका मेयर लिन्डा लिचले, बेलायतमा जीवन बिताइरहेका नेपालीहरुले आफ्नो संस्कृति संरक्षणमा खेलेको भूमिकाप्रति खुसी व्यक्त गरे । उनले भने, “म नेपाली समाजले आफ्नो संस्कृति जोगाउन खेलेको भूमिकाको प्रशंसा गर्छु र यस अभियान आगामी दिनमा पनि निरन्तर रहनेमा विश्वस्त छु ।” महोत्सवमा यसपटक धेरै टोली सहभागी भएको र सहभागीको सङ्ख्या पनि बढेको जानकारी दिँदै कार्यक्रम संयोजक नेपाली समाज वेष्टमिडल्यान्डस्का पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक शिव खरेलले नेपाली संस्कृति संरक्षणका लागि बेलायतमा रहेका नेपाली समुदाय सचेत बन्दै गएकामा भन्दै खुसी व्यक्त गरे ।


    महोत्सवमा ६०० भन्दाबढीको सहभागिता थियो । उनले भने, “नेपाली समुदायमा नेपाली धर्म र संस्कृतिप्रतिको धारणा पुनःजागरण गराउन महोत्सव आयोजना गर्न थालिएको हो, यसमा हामी सफल भएका छौँ ।” साझा नेपाली समाज युकेका अध्यक्ष दीपक सापकोटाले कार्यक्रमले नेपाली धर्म र संस्कृतिको संरक्षण र प्रचारका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्रवासमा बसेर पनि नेपालको धर्म संस्कृतिको जगेर्ना गर्ने र खासगरी नयाँपुस्तालाई सनातन संस्कार र संस्कृति सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

    नेपाली समाज वेष्टमिडल्यान्ड्सका अध्यक्ष भीम शर्माले कार्यक्रमले बेलायतमै जन्मिएका नेपाली पुस्तालाई आफ्नो संस्कृतिबारे जान्नका लागि यो ठूलो अवसर भएको बताए । महोत्सवमा सहभागी भजन मण्डलीले भजन प्रस्तुत गर्नुका साथै नेपाली कला, संस्कृति, वेषभूषा झल्किने नृत्य प्रस्तुत गरेका थिए । त्यसअवसरमा निःशुल्क रुपमा नेपाली खानाका परिकार उपलब्ध गराइएको थियो ।
    रासस

  • बनेपामा बन्ने भयो ‘इन्डोर’ छायाङ्कन स्टुडियो, प्रधानमन्त्रीले गरे शिलान्यास

    बनेपामा बन्ने भयो ‘इन्डोर’ छायाङ्कन स्टुडियो, प्रधानमन्त्रीले गरे शिलान्यास

    रासस
    ३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक ‘इन्डोर’ छायाङ्कन स्टुडियो निर्माण आरम्भ हुनु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा चलचित्र विकास बोर्डद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चलचित्र क्षेत्रको मागबमोजिम अब काभ्रेको बनेपामा स्टुडियो बन्ने बताए ।

    उनले चलचित्रकर्मीले करिब छ दशकदेखि उठाउँदै आएको माग सम्बोधन हुने प्रक्रियामा रहेको पनि बताए ।प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा उक्त स्टुडियो निर्माण गर्ने निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तनलगायत विविध कारणले काम अवरुद्ध भएको थियो ।

    “त्यसबेलाको जति अहिले राज्यको ढुुकुुटीमा पैसा छैन तर पनि थालेका काम हामी पूरा गर्छौं । यसका लागि बजेट विनियोजन हुन्छ । काम थालेपछि सफल हुुन्छ । यसलाई पनि सफल बनाउनुुपर्छ । यो निर्माण आरम्भ उद्घोषले यस क्षेत्रमा युुग परिवर्तन सुरु भएको छ”, प्रधानमन्त्री ओलीले भने, “ओरालो लागेको अर्थतन्त्रलाई हामीले लयमा ल्याएका छौँ, अब यो अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्दैन । हामी सिने क्षेत्रप्रति सधँै सकारात्मक र सहयोगी छौँ ।”

    बालाजुुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने सम्बन्धमा सो अवसरमा सहभागी सञ्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीले १० दिनभित्र त्यसको छानबिन गरी प्रतिवेदन दिन निर्देशन दिए । उनले राजनीतिमा कतिपयले अभिनय गर्न थाले पनि आफूूहरु राजनीतिलाई यथार्थमा बदल्ने साधनका रुपमा लिएर काम गरिरहेको बताए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुुब्बा गुरुङ, पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, बागमती प्रदेशका सांसद कञ्चनचन्द्र वादे, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याललगायत सहभागी थिए ।

  • स्वयम्भूनाथ क्षेत्रमा बौद्धमार्गीको घुइँचो, बुद्धको अस्तुधातु दर्शनका लागि राखियो

    स्वयम्भूनाथ क्षेत्रमा बौद्धमार्गीको घुइँचो, बुद्धको अस्तुधातु दर्शनका लागि राखियो

    रासस

    २९ वैशाख, काठमाडौं । आज दुई हजार ५६९औँ बुद्धजयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदैछ । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा पनि आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ । बुद्धजयन्तीका अवसरमा आज स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिरमा विशेष पूजाअर्चना हुनेछ । स्वयम्भू क्षेत्रमा आज नेपाल सरकारका उच्च ओहोदाका विशिष्ट व्यक्ति, बौर्ध धर्मगुरु, भीक्षु, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न देशबाट आएका विशिष्ट पाहुनालगायतले पूजाअर्चना गर्ने कार्यक्रम छ ।

    स्वयम्भूनाथ परिसरभित्रै रहेको आनन्दकुटी विहारमा बुद्धको अस्तुधातु पूजाआजा र दर्शनका लागि राखिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भीक्षु धर्ममूर्तिले जानकारी दिए । बुद्धको अस्तुधातु बुद्धजयन्तीका दिन मात्रै सर्वसाधारणको दर्शनका लागि राखिँदै आइएको छ । दिउँसो सार्वजनिक बौद्धसभा आयोजना गरिएको छ । स्वयम्भूनाथ क्षेत्रमा विभिन्न पूजाआजा, रक्तदान तथा प्रसाद वितरणका कार्यक्रम हुने जनाइएको छ ।

  • वैशाख शुक्ल पूर्णिमा :चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै

    वैशाख शुक्ल पूर्णिमा :चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै

    रासस
    २९ वैशाख, काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँ गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गी लगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ ।

    नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाई छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेती पाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ । यस पर्वका अवसरमा चण्डी नाच समेत नाचिन्छ । यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।

    किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको छ । खोटाङ्को ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ ।

    किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण शुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन शुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् । यो पर्व किराँत राई समुदायको महत्वपूर्ण पर्वका रुपमा रहेको छ ।

  • लुम्बिनीमा बुद्धजयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना हुँदै

    लुम्बिनीमा बुद्धजयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना हुँदै

    २९ वैशाख, लुम्बिनी । भगवान गौतम बुद्धको २५६९औँ जयन्ती आज मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्तीको बिशेष कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित बुद्ध पूर्णिमा विशेष समारोह आज प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अन्तरराष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा कार्यक्रम हुने लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बताए ।

    विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित सङ्घीय तथा प्रदेशमन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, कूटनीतिक नियोगका प्रतिनिधिका साथै विदेशी पाहुनाहरुको समेत सहभागिता रहने छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्युं) वैशाख शुक्ल पूर्णिमाकै तिथीमा परेकाले यस दिनलाई बुद्ध जयन्तीको रुपमा नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धजयन्ती मनाउने गरिएको छ ।

    विकास कोषले पच्चीस सय ६९औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस २०८२ तीन दिनसम्म विविध कार्यक्रम गरी मनाउने जनाएको छ । विकास कोषले बुद्धको जीवनीसँग सम्बन्धित लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहमा वैशाख तीन दिनसम्म बुद्धजयन्तीका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

    २५६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस-२०८२ को अवसरमा सोमबार लुम्बिनीमा निकालिएको शोभायात्रामा सहभागीहरु । तस्बिर : राधेश्याम विश्वकर्मा/ रासस

    कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले वैशाख २८, २९ र ३० गते तीनदिन उत्सवका रुपमा बुद्ध जयन्ती मनाइने बताए । उनले लुम्बिनीको विकासका लागि सुशासनको आवश्यकता पनि उत्तिकै अपरिहार्य बताउँदै बुद्धजयन्ती मुलुक र विश्वकै लागि गौरवको विषय भएको बताए । गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र परिनिर्माणको त्रियोग बौद्ध पूर्णिमाकै दिन हुनुले पनि यो दिन विशेष महत्वको भएको उपाध्यक्ष लामाले बताए। गौतमबुद्धको जन्म २६४९ वर्ष अघि ईपू६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैँचामा वैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो ।

    लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले दक्षिण एसियाका दुई ठूला शक्तिशाली राष्ट्र भारत र पाकिस्तान युद्ध उन्मुख भइरहेका बेलामा बुद्धजयन्तीका दिन लुम्बिनीबाट शान्तिको सन्देश जाओस् भन्ने प्रयत्न लुम्बिनी विकास कोषले राखेको बताए । तीनदिने कार्यक्रमअन्तर्गत वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ सम्पन्न भएको छ । बुद्धजयन्तीको मुल कार्यक्रम अघि आज भिक्षु भिक्षुणी, लामा गुरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थनासभा र शोभायात्रा हुनेछ ।

    यसका साथै बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत अस्तिधातु रहेको रामग्राम, प्राचिन तिलौराकोट दरबार, कुदान, देवदहमा पनि बुद्धजयन्तीका अवसरमा कोष र स्थानीय तहहरुसँगको समन्वयमा विविध कार्यक्रम गरेर मनाइने उनले बताए । बुद्धजयन्तीको भोलिपल्ट वैशाख ३० गते हरेक वर्ष आयोजना हुने बोधिसत्व सिद्धार्थको शोभायात्रा र लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलवस्तुको तिलौराकोट लगिने कार्यक्रम रहेको छ । लुम्बिनीबाट कपिलवस्तुसम्म मायादेवी मार्ग हुँदै बुद्धकालीन अवस्थाको झल्को दिनेगरी शोभायात्रा गरिने छ ।

  • गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गरौं : राष्ट्रपति

    गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गरौं : राष्ट्रपति

    २९ वैशाक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन् । पच्चीस सय ६९औँ बुद्धजयन्तीका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् । सन्देशमा भनिएको छ, “बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव, एसियाका तारा एवं विश्व शान्तिका अग्रदूत गौतम बुद्धको पच्चीस सय ६९ औँ बुद्धजयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बी एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।”

    वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतमबुद्धको त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतमबुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिनका रूपमा बुद्धजयन्ती मनाउने गरिन्छ । यस दिन गुम्बा, विहार, मठ, स्तूपा र चैत्यमा बुद्धको विशेष पूजा–अर्चना, प्रार्थना, ध्यान, प्रवचनलगायत विविध कार्यक्रम गरी बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति अर्पण गरिन्छ ।

    राष्ट्रपतिले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिएको पनि सन्देशमा व्यक्त गरेका छन् । गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबीच शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भनी राष्ट्रपतिले कामना समेत व्यक्त गरेका छन् ।

  • सगरमाथालाई नजिकैबाट नियाल्न ‘गौरीटाप’

    सगरमाथालाई नजिकैबाट नियाल्न ‘गौरीटाप’

    कमलकुमार बस्नेत/रासस

    २८ वैशाख, सोलुखुम्बु । बिहानको चिसो सिरसिर हावामा कालोचियाको चुस्की लिँदै गौरीटापमा अघिल्लो रात आइपुगेका सहभागीहरु सूर्योदयको पर्खाइमा थिए । नजिकैबाट सगरमाथालगायतका हिमाल हेर्न लालायित उनीहरुले मोबाइलको क्यामरा सगरमाथातर्फ तेस्र्याएका थिए । कोही हिमाल र गुँरासलाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्दै थिए त कोही राजेश हमाल, क्याप्टेन विजय लामा, आनिछोइङ डोल्मालगायतका कलाकारसँगको तस्बिर आफ्नो क्यामेरा र मोबाइलमा कैद गर्दै थिए ।

    सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य गौरीटाप प्रवद्र्धन गर्न कलाकार, उद्यमी, पर्यटनकर्मी, व्यवसायीलगायत विभिन्न क्षेत्रमा सक्रिय करिब २०० जनाले शुक्रबार र शनिबार गौरीटाप र ओखलढुङ्गाको रुम्जाटारमा बिताए । ‘स्पार्क कार’को आयोजनामा सञ्चालित ‘स्पार्क एड्भेञ्चर’ कार्यक्रमले विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुलाई यहाँसम्म ल्याएको थियो ।

    प्रचूर सम्भावनाका बाबजुद ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो । यसका लागि काठमाडौँबाट करिब ५० विद्युतीय सवारीसाधनमा उनीहरु सोलुुखुम्बु आइपुगेका थिए । “स्पार्क एड्भेञ्चरको उद्देश्य ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र विद्युतीय सवारीसाधनमार्फत ग्रिन मोबिलिटी प्रवर्द्धन गर्नु हो, पहिलो संस्करण लम्जुङको भुजुङ र दोस्रो संस्करण दोखलाको शैलुङमा आयोजना गरिएको थियो, यसपटक गौरीटाप रोजाइमा प¥यो”, स्पार्क कारका निर्देशक सीताराम घिमिरेले भने ।


    निर्देशक घिमिरेका अनुसार सगरमाथालाई नजिकबाट नियाल्नका लागि गौरीटाप काठमाडौँबाट सबैभन्दा नजिकको गन्तव्य हो । कालोपत्र सडकलगायतका पूर्वाधारको सुविधा हुँदा पनि आवश्यक प्रचारप्रचारको अभावमा गौरीटाप पर्यटकीय गन्तव्य बन्न नकसेको उनको भनाइ छ । समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय गन्तव्य हो । काठमाडौँबाट २३० किलोमिटरको दूरीमा रहेको गौरीटाप सत्ययुगमा माता गौरीले तपस्या गरेको स्थान भएको लामो समयदेखि गौरीटापमा रहनुभएका लौरेश्वर बाबाले बताए ।
    “माता गौरीले तपस्या गरेको स्थानमा रहेको शीलामा ‘गौरी’ नामक गाईले दूध दिने क्रममा बाघले आक्रमण गरेको र सो क्रममा गाईको टाप (खुर) ढुङ्गामा बसेकाले यस ठाउँको नाम गौरीटाप रहन गएको जनविश्वास छ”, उनले भने । चारपाङ्ग्रे सवारीसाधनमै पुग्न सकिने गौरीटापबाट सगरमाथालगायतका आठ हजार मिटरभन्दा अग्ला गौरीशङ्कर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनजङ्घालगायतका हिमाल तथा चुचुराको दृश्यावलोकन गर्न सकिन्छ । लालीगुराँसको घनाजङ्गल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुराँस पाइन्छन् । धार्मिक दृष्टिले महत्त्वपूर्ण गौरीटापमा गौरीशङ्कर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर र शिव पञ्चायन मन्दिर छन् ।

    नेपाली चलचित्रका अभिनेता राजेश हमालले गौरीटाप अत्यन्तै सुन्दर र रमणीय स्थान रहेको उल्लेख गर्दै यहाँ आउनपाउँदा खुसी लागेको बताए । “काठमाडौँदेखि गौरीटापसम्म सहज यात्रा गर्दै यहाँ आइपुगेका थियौँ, यहाँबाट देखिने सगरमाथालगायतका हिमाल र सूर्योदयको दृश्य निकै सुन्दर लाग्यो, यहाँको पर्यटन प्रवद्र्धन गर्न आवश्यक सहयोगका लागि म सबैलाई आह्वान गर्दछु”, उनले भने । गौरीटापमा अघिल्लो टेन्टक्याम्पिङ गर्दै रमाइलो गरेपछि शनिबार दिउँसो उक्त टोली ओखलढुङ्गाको रुम्जाटार झरेको थियो । उक्त टोलीलाई रुम्झाटारमा स्थानीय पालिकाका जनप्रतिनिधिका साथै गुरुङ, राई, नेवारलगायतका समुदायले स्वागत गरेका थिए । रुम्जाटारस्थित बौद्ध गुम्बामा स्वागत गरिनुका साथै गुम्बाबारे आवश्यक जानकारी दिइएको थियो ।

    शनिबार साँझ कलाकारहरु विमलराज क्षेत्री, सुनिता दुलाल, सन्दीप क्षेत्री, राजा राजेन्द्र, आस्था राउत र राजु लामा एण्ड मंगोलियन हर्टले आफ्नो प्रस्तुति दिएका थिए । उनीहरुले सांस्कृतिक एकता, रैथाने खाना र संस्कृतिको प्रवद्र्धन गर्न आग्रह गरे । उनीहरुले ‘घुमिफिरी रुम्जाटार’ भन्ने उखान नेपाली जनजिब्रोमा प्रचलित रहेको उल्लेख गर्दै यसैमार्फत यहाँको प्रचारप्रसार गर्न सकिने बताए ।

    बिबिसी मास्टरसेफ सन्तोष साहले यहाँको रैथाने परिकार खान पाउँदा निकै खुसी लागेको बताए । “विशेष गरी गुन्द्रुक र न्यूरोको अचारको स्वाद निकै मीठो लायो, यहाँसम्म आएर यहाँको कला र संस्कृति, भूगोल जान्न पाउनुलाई मैले ठूलो उपलब्धि मानेको छु”, उनले भने । गुरुङ समुदायको बाहुल्यता रहेको रुम्जाटार कुनै समय भेडापालन र राडीपाखीका लागि प्रख्यात थियो । यहाँ उत्पादन हुने भेडाको ऊनबाट बनेको राडीपाखी रुम्जाटार विमानस्थलबाट काठमाडौँसम्म पु¥याइन्थ्यो ।

  • ८५ वर्ष पुरानो टिकटले जापान एक्स्पो प्रवेश

    ८५ वर्ष पुरानो टिकटले जापान एक्स्पो प्रवेश

    २६ वैशाख, टोकियो । एक व्यक्तिलाई युद्ध बढ्दै गएपछि रद्द गरिएको सन् १९४० को कार्यक्रमको टिकटले जापानको वर्ल्ड एक्स्पोमा प्रवेश गराइएको आयोजकले बताएका छन् । ‘ग्रान्ड इन्टरनेशनल एक्स्पोजिुन अफ जापान’ टोकियोमा हुने कार्यक्रमका लागि टिकटहरू सन् १९३८ मा जारी गरिएको थियो, तर जापान दोस्रो विश्वयुद्धमा संलग्न भएपछि कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको थियो । पश्चिमी सहर ओसाकामा आयोजित एक्स्पो २०२५ का आयोजकहरूले एक वक्तव्यमा उनीहरूले सन् १९४० को कार्यक्रमको टिकटधारीहरूलाई प्रवेश दिने निर्णय गरेको बताएका छन् । उनीहरूले सोमबार पुरानो टिकटको सट्टामा एक्स्पो २०२५ का दुई दिने पास उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख छ ।

    स्थानीय सञ्चार माध्यमले सन् १९४० को टिकटवाला २५ वर्षीय फुमिया ताकेनावा रहेको जनाएको छ । उनी टोकियोमा बस्छने् । तर ओसाकामा आफ्ना अभिभावकको घरमा घुम्न आएका थिए । ताकेनावा एक्स्पो–सम्बन्धित स्मारिकाका सङ्ग्रहकर्ता हुन् । मार्चमा उनले अनलाइनमार्फत सन् १९४० को टिकट खरिद गरेका थिए । उनीहरूले ताकेनावाको तस्बिर प्रकाशित गरेका छन् जसमा उनी मुस्कुराउँदै र विस्तृत रातो र कालो डिजाइन भएको पुरानो टिकट देखाउँदै छन् । पेरिसमा आइफेल टावर ल्याउने एक्स्पो वर्ल्ड्स फेयर सन् १८५१ मा लन्डनको क्रिस्टल प्यालेस प्रदर्शनीसँग सुरु भएको थियो र अब प्रत्येक पाँच वर्षमा विभिन्न स्थानमा आयोजना गरिन्छ ।

    जापानमा अघिल्लो एक्स्पोहरू – सन् १९७० मा ओसाकामा र सन् २००५ मा आइची क्षेत्रमा – ले सन् १९४० को घटनाका पासधारकलाई ‘आमन्त्रण टिकट’ दिने समान नीतिहरू राखेको एक्स्पो २०२५ का आयोजकहरूले बताएका छन् । ताकेनावा भनिएका व्यक्ति विशाल सेतो र रातो ‘टावर अफ द सन’ का प्रशंसक रहेको बताइएको छ । ‘टावर अफ द सन’ सन् १९७० को ओसाका एक्स्पोको प्रतीक हो र अझै पनि महानगरको एक पार्कमा उभिएको छ ।

  • विदेशमा निर्माण हुने सबै चलचित्रमाथि शतप्रतिशत कर लगाउने ट्रम्पको आदेश

    विदेशमा निर्माण हुने सबै चलचित्रमाथि शतप्रतिशत कर लगाउने ट्रम्पको आदेश

    २२ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी फिल्मनिर्माता र स्टुडियोहरू विदेशमा काम गर्ने प्रवृत्तिले हलिउड ‘विनाश’ भइरहेको दाबी गर्दै संयुक्त राज्य अमेरिका बाहिर बनेका सबै चलचित्रमा नयाँ कर लगाउने आदेश दिएको बताएका छन् । ह्वाइट हाउस आफ्नो आक्रामक व्यापार नीतिहरूमाथि बढ्दो आलोचनाको सिकारमा परेको बेला यो घोषणा आएको छ जसमा ट्रम्पले विश्वभरिका देशहरूमा व्यापक कर लगाएका छन् ।

    “म वाणिज्य मन्त्रायल र संयुक्त राज्य व्यापार प्रतिनिधिलाई हाम्रो देशमा आउने विदेशी भूमिमा उत्पादित कुनै पनि र सबै चलचित्रमा एक सय प्रतिशत कर लगाउने प्रक्रिया तुरुन्त सुरु गर्न अधिकार दिँदैछु”, उनले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा लेखेका छन्, “हामी चलचित्रहरू फेरि अमेरिकामै बनेको चाहन्छौँ ।” वाणिज्यमन्त्री हावर्ड लुटनिकले ट्रम्पको सन्देश पुनः पोस्ट गर्दै भने, “हामी यसमा काम गरिरहेका छौँ ।”

    कर कसरी कार्यान्वयन गरिने भन्नेबारे कुनै विवरण दिइएको छैन । धेरै सामानमा एक सय ४५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपतिको जुझारू व्यापार नीतिहरूको भार लिएको चीनले गत महिना आफूले आयात गरेको अमेरिकी चलचित्रको सङ्ख्या घटाउने बताएपछि ट्रम्पको पोस्ट आएको हो । “अमेरिकाको चलचित्र उद्योग धेरै छिटो मर्न थालेको छ । अन्य देशले हाम्रा फिल्म निर्माता र स्टुडियोहरूलाई संयुक्त राज्य अमेरिकाबाट टाढा लैजान सबै प्रकारका प्रोत्साहनहरू दिइरहेका छन्”, उत्पादन अन्य देशहरूमा आकर्षित हुनु ‘राष्ट्रिय सुरक्षा खतरा’ भएको दाबी गर्दै ट्रम्पले आइतबार लेखेका छन्, “हलिउड, र संयुक्त राज्य अमेरिकाभित्रका अन्य धेरै क्षेत्र ध्वस्त भइरहेका छन् ।”

    चलचित्र उद्योगका लागि प्रभावहरू–वा वास्तवमा करहरू कसरी लागु गरिनेछ– भन्ने तत्काल स्पष्ट थिएन । पर्दाका लागि बढ्दो लोकप्रिय र लाभदायक उत्पादन क्षेत्र टेलिभिजन शृङ्खला प्रभावित हुनेछ कि भन्नेबारे ट्रम्पको पोस्टमा कुनै उल्लेख गरिएको थिएन । हलिउड संयुक्त राज्य अमेरिकाको अर्थतन्त्रको एक प्रमुख क्षेत्र हो ।

    यस क्षेत्रले मोशन पिक्चर एसोसिएसनको पछिल्लो तथ्याङ्क अनुसार २०२२ मा २३ लाखभन्दा बढी रोजगारी र दुई खर्ब ७९ अर्ब डलरको बिक्री उत्पन्न गरेको थियो । तर हलिउड हड्ताल र कोभिड महामारीको प्रभावको पृष्ठभूमिमा उद्योगले अझै पनि आफ्नो गति पुनः प्राप्त गर्न सङ्घर्ष गरिरहेको उद्योगका भित्रीहरूले बताएका छन् । हड्ताल र कोभिड महामारीले अमेरिकीहरूले चलचित्रहरू खपत गर्ने तरिका परिवर्तन गरेको छ र थिएटरमा भन्दा घरमा हेर्ने छनोट गरेको छ ।

    उत्पादन ट्र्याकिङ सेवा प्रोडप्रोको जनवरीको रिपोर्ट अनुसार संयुक्त राज्य अमेरिका १४ अर्ब ५० करोड डलरको उत्पादन खर्चसहित एक शीर्ष फिल्मिङ केन्द्र हो । यद्यपि त्यो रकम दुई वर्ष अघिको तुलनामा २६ प्रतिशतले घटेको छ । यद्यपि स्टुडियो कार्यकारीहरूको सर्वेक्षणले सन् २०२५ र २०२६ का लागि उनीहरूको शीर्ष पाँच मनपर्ने उत्पादन स्थानहरू प्रस्तावमा प्रतिस्पर्धी कर प्रोत्साहन योजनाहरूका कारण संयुक्त राज्य अमेरिका बाहिर रहेको खुलासा गरेको छ । पहिलो टोरन्टो, त्यसपछि बेलायत, भ्यानकुभर, मध्य युरोप र त्यसपछि अस्ट्रेलिया थिए । क्यालिफोर्निया छैटौँ स्थानमा आएको छ ।

  • ढोरपाटनमा सकियो सिकारयामः ११ नाउर र सात झारलको सिकार

    ढोरपाटनमा सकियो सिकारयामः ११ नाउर र सात झारलको सिकार

    १९ वैशाख, ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकारयाम सकिएको छ । दोस्रो याममा ११ नाउर र सात झारलमात्र सिकार भएको छ । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्न बोलपत्र आह्वान गरी १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार गर्ने अनुमति दिएको थियो ।

    सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एन्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका थिए । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको फागुने, सुनदह, घुस्तुङ, दोगाडीलगायत ब्लकमा पुगेका थिए ।

    ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीका अनुसार, चैत २६ गतेदेखि सिकारी ढोरपाटन आएका थिए । सिकारीले सुनदह ब्लकमा दुई नाउर र दुई झारल, घुस्तुङ ब्लकमा तीन नाउर र तीन झारल, दोगाडी ब्लकमा चार नाउर र एक झारल, फागुने ब्लकमा एक नाउर र एक झारल र बार्सेमा एक नाउरको सिकार थिए । १२ बँदेलको सिकार अनुमति दिए पनि एउटा पनि सिकार भएन ।

    दोस्रो याम (फागुन–वैशाख)का लागि वैशाख १६ गतेसम्म सिकारीले सिकार खेलेका थिए । सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिर्टस काठमाडौँले सिकारीमार्फत दुई नाउर, दुई र दुई बँदेल सिकार गर्न अनुमति पाएको थियो । यो कम्पनीले एउटा नाउर र एउटा झारल मात्र सिकार गरेको छ । ट्रयाक्स एण्ड ट्रेल्स प्रालिमार्फत अमेरिकन सिकारीले दुई नाउर र दुई झारल सिकार गर्ने अनुमति पाएकामा सबै वन्यजन्तुको सिकार गरेको उनले बताए ।

    त्यसैगरी हिमालयन सफारिज प्रालि काठमाडौँमार्फत तीन सिकारीले तीन नाउर, एक झारलका लागि अनमति पाएकामा तीन नाउर र एक झारल सिकार गरेका छन् । ग्लोबल सफारिज नेपाल प्रालिमार्फत दुई सिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको सिकार गर्ने अनुमति पाएका थिए । त्यसमध्ये दुई नाउर र एक झारलको सिकार गरेका छन् । नेपाल ट्राभल एक्सपिडिसन प्रालिमार्फत तीन सिकारीले तीन नाउर, तीन झरल र तीन बँदेल सिकार गर्ने अनुमति पाएकामा दुई नाउर मात्र सिकार गरेको सुवेदीले जानकारी दिए ।


    ओपन नेपाल वाइल्डलाइफ सफारिज एन्ड ट्रेक्स प्रालिमार्फत तीन सिकारीले एक नाउर, दुई झारल र तीन बँदेलको सिकार गर्न अनुमति पाएकामा एक नाउर र दुई झारलको सिकार गरेको उनले बताए । दोस्रो सिकार आयममा अमेरिका, अर्जेन्टिना, स्पेनिस, फ्रान्सबाट सिकारी आएका थिए । ढोरपाटनमा हरेक वर्ष (असोज–मङ्सिर) पहिलो र (फागुन–वैशाख) दोस्रो याममा सिकार हुने गर्छ ।

  • पर्सामा रातको १० बजेपछि ‘डिजे’ बजाउन प्रतिबन्ध

    पर्सामा रातको १० बजेपछि ‘डिजे’ बजाउन प्रतिबन्ध

    १८ वैशाख, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकको स्वास्थ्य र दैनिकीसमेत प्रभावित हुनेगरी विवाह, व्रतबन्ध तथा धार्मिक÷सांस्कृतिक कार्यक्रममा प्रयोग हुने डिजेलगायत उपकरण प्रयोगलाई निरुत्साहित गर्नका लागि अनुरोध गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बुधबार बसेको बैठकले ध्वनि प्रदूषणका गतिविधि निरुत्साहित गर्नका लागि आह्वान गरेको हो । “सांस्कृतिक कार्यक्रमहरूमा गरिने आतसबाजी र पटाकाको प्रयोगलाई पूर्ण रूपले प्रतिबन्ध लगाउने निर्णय भएको छ”, उनले भने, “यो निर्णयविरुद्ध कार्य गर्ने÷गराउनेलाई कानुनको दायरामा ल्याइनेछ । सीमावर्ती क्षेत्रबाट हुने पटाका, डिजेलगायतका उपकरणको प्रवेशलाई कडाइका साथ नियमन गरिनेछ ।”

    बैठकले होटल, क्याटरिङ र पार्टी प्यालेसमा प्रयोग गरिने डिजेलगायतका उपकरणको प्रयोगलाई रातको १०ः०० बजेपश्चात् पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ । प्रशासनले विवाह, व्रतबन्ध तथा धार्मिक÷सांस्कृतिक कार्यक्रमको बुकिङ गर्दा सम्बन्धित होटल÷पार्टी प्यालेसले आयोजकसँग डिजे, पटाकाको प्रयोगलाई पूर्ण बन्देज लगाइएको विषय खुलाई सो बेहोराको सहमतिपत्रमा हस्ताक्षर गराएर मात्र बुकिङ गर्ने निर्णय गरेको प्रजिअ अर्यालले जानकारी दिए ।
    साथै, यस क्षेत्रका व्यवसायीहरूले नेपाल सरकारलाई बुझाउनुपर्ने राजस्व र बक्यौता रकम नियमित रूपमा बुझाउने र सोको सूक्ष्म अनुगमन गरी कारबाहीको दायरामा ल्याउने पनि निर्णय भएको छ । जिल्ला प्रहरी प्रमुख गौतम मिश्रले ऐन कानुनविपरीत पटाका तथा आतसबाजी गर्नेलाई विस्फोटक पदार्थ ऐनबमोजिम कारबाहीको दायरामा ल्याइने जानकारी दिए । “सुरक्षा निकायले पनि निरन्तर अनुगमन गरेर कानुनविपरीत कार्य गर्नेलाई कानुनी दायरामा ल्याउनेछौँ”, उनले भने ।
    होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जका अध्यक्ष हरि पन्तले विवाह तथा अन्य सांस्कृतिक कार्यक्रममा बजाइने डिजेलाई व्यवस्थित गर्न आवश्यक भएको बताए । यहाँका सिटी पार्टी प्यालेसका सञ्चालकहरूले बजाउनका लागि अनावश्यक दबाब आउने गरेकाले त्यस्ता गतिविधिलाई पनि निरुत्साहित गरिनुपर्नेमा जोड दिए ।

  • तनहुँमा मोनोरेलको सम्भाव्यता अध्ययन गरिँदै

    तनहुँमा मोनोरेलको सम्भाव्यता अध्ययन गरिँदै

    १६ वैशाख, दमौली । जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको पर्यटकीय स्थल छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन थालिएको छ । छम्केश्वरी पर्यटन विकास समितिको नेतृत्वमा आँबुखैरेनी गाउँपालिका ५ स्थित छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन सुरु गरिएको हो । काठमाडौँस्थित केडी मेटल वर्कसपका इञ्जिनियरको सहभागितामा आजदेखि अध्ययन सुरु गरिएको समितिका अध्यक्ष कृष्णमान तामाङले जानकारी दिए । समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा मोनोरेल सञ्चालन गर्न सकिए प्रदेशकै उत्कृष्ट गन्तव्यस्थल बनाउन सकिने उनको भनाइ छ ।

    छिम्केश्वरी माई मन्दिरको दर्शनका लागि आउने अशक्त, अपाङ्गता, वृद्धवृद्धालाई लक्षित गरी ठूल्ढुङ्गाबाट मन्दिरसम्म छ सय मिटर दूरीको मोनोरेल सञ्चालन गर्ने लक्ष्य लिइएको तामाङले बताए । उनले भने, “पहिलो चरणमा नापजाँच सुरु गरिएको छ । लागतसहितको प्रतिवेदन एक हप्ताभित्र आइपुग्छ । त्यसपश्चात् थप प्रक्रिया अगाडि बढाउँछौँ ।” छिम्केश्वरीमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेको तथ्याङ्क छ ।

    छिम्केश्वरीमा पर्यटकीय पूर्वाधार निर्माण गरेर धेरै पर्यटक भित्र्याउने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनले भने, “हामी छिम्केश्वरीको एकीकृत पर्यटकीय विकासमा जुटेका छौँ । त्यसका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्छौँ ।” गाउँपालिकाले छिम्केश्वरीमा पूर्वाधार निर्माण गरेर समग्र गाउँपालिकाको विकासको योजना अगाडि बढाएको चुमानको भनाइ छ ।

    छिम्केश्वरीमा सडक असुविधा, खानेपानी अभाव, विद्युत् समस्या, मोबाइल नेटवर्क र टावर व्यवस्थापनलगायत समस्या रहेकाले त्यसको क्रमशः निराकरण हुँदै जाने उनले बताए । सडक सञ्जाल स्तरोन्नतिका क्रममा रहेको भन्दै चुमानले खानेपानीको बजेट स्रोत भएर विस्तृत परियोजना प्रतिवेदन गरेर ठेक्का लगाउन बाँकी रहेको जानकारी दिए । छिम्केश्वरीमा पानीको अभाव हुँदा विकास निर्माणमा बाधा पुग्दै आएको छ ।

    खानेपानी सुविधाका लागि खानेपानी मन्त्रालयबाट बजेट विनियोजन भई विस्तृत परियोजना प्रतिवेदनको चरणमा रहेको चुमानको भनाइ छ । उनले भने, “वडा नं ४, ५ र ६ लाई समेटेर एकीकृत छिम्केश्वरी खानेपानी आयोजना अगाडि बढाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) भइरहेको छ । डिपिआर सकिएपछि मन्त्रालयबाट ठेक्का आह्वान हुनेछ ।” उहाँका अनुसार खानेपानीका लागि करिब रु १० करोड लाग्ने अनुमान छ ।

    विशेषगरी यहाँ फागुपूर्णिमा, वैशाख १ गतेको नयाँ वर्षलगायत बेला यहाँ पर्यटकको ठूलो भीड लाग्ने गरेको छ । त्यसका अलवा दैनिक रुपमा पनि यहाँ पर्यटकको आगमन बढिरहेको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष तामाङले जानकारी दिए । उनका अनुसार आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरीमा रहेको छिम्केश्वरी मन्दिर जीर्णोद्वार गरिसकेको छ । यसअघि रहेको पुरानो मन्दिरलाई जीर्णोद्वार गरी मन्दिरलाई आकर्षक बनाइएको छ । मन्दिरमा पित्तलको छानो राखिएको छ ।

    गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक जनविश्वास रहिआएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई यहाँ अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोहीस्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रेलगायत हिमाल आँखै अगाडि हेर्न सकिन्छ ।

    छिम्केश्वरी मन्दिर पुग्न गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण भइसकेको छ । आर्थिक वर्ष २०७५–७६ मा रु ४१ लाख ६३ हजार ७०६ को लागतमा चार सय ८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ भने आव २०७६–७७ मा रु ३५ लाख ९९ हजार १४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।

  • जनकपुरमा जानकी जन्मोत्सव सुरु

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    १६ वैशाख, धनुषा । पवित्र जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रम सुरु भएको छ । जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताउनुभयो ।

    साथै, अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी रहनेछ । जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मङ्गलबार बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीमा जानकीको शाही स्नान गरिनेछ । सोही दिन अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिने कार्यक्रम तय भएको छ ।

    जानकी जन्मदेखि छठिहारसम्म हरेक दिन साँझ ७ बजे जानकी मन्दिरको गर्भगृहमा जन्म बधाई गान गाइन्छ । मन्दिर व्यवस्थापन समितिका अनुसार यही वैशाख २४ गते जनकपुरधाम उपासनाका लागि मटकोर कार्यक्रम आयोजना गरिने छ भने वैशाख २५ गते धार्मिक तथा सांस्कृतिक गीतसहित सीताराम विवाह महोत्सव मनाइनेछ । सोहीदिन मानस मोहिनी सध्या देवीबाट विशेष रामकथा वाचन कार्यक्रमसमेत गरिने उत्तराधिकारी दासले जानकारी दिए । उनका अनुसार जनकपुरधाममा जानकी जन्मोत्सव विशेष धुमधामका साथ मनाउन व्यापक तयारी गरिएको छ ।

  • वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    १४ वैशाख, काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

    छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

    सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् ।

    सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको उहाँले बताउनुभयो । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

    दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए । यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ ।

    मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए । यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्न नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ ।

  • चलचित्र छायाङ्कनकोे ‘हब’ बन्दै मुस्ताङ

    चलचित्र छायाङ्कनकोे ‘हब’ बन्दै मुस्ताङ

    सुन्दरकुमार थकाली / रासस

    २ वैशाख, मुस्ताङ । पछिल्लो समय बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै यहाँ चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनेको छ । संघीय राजधानि काठमाडौँबाट एक दिनमै यहाँ आउन सकिनेहुँदा जिल्लाका विभिन्न स्थानमा चलचित्र छायाङ्कन गर्नेक्रम बढेको हो । साथै विभिन्न हलिउड, बलिउड र कलिउडका चलचित्र छायाङ्कन गर्नका लागि जनशक्ति, उपकरण र बन्दोबस्तीका सामान ढुवानी गर्न सहज भएसँगै मुस्ताङमा चलचित्र छायाङ्कन गर्नेहरु आकर्षित भएका हुन् ।


    जिल्लाको पृथक भूगोलमा छायाङ्कन गर्न पछिल्लो समय चलचित्रकर्मी निकै लालायित हुने गरेको पाइएको छ । हिमाली शृङ्खला, प्राकृतिक भूगोल, जैविक तथा सांस्कृतिक विविधताका साथै यहाँको लोभलाग्दो कृषि र पशुपालन गर्ने संस्कृतिलाई चलचित्रको पर्दामा कैद गर्न पछिल्ला केही वर्षयता चलचित्रकर्मीको लर्को नै लाग्ने गरेको पाइएको छ ।

    सडक नहुँदाको तत्कालीन अप्ठ्यारो परिस्थितिमा समेत मुस्ताङमा हिन्दी चलचित्र खुदा गवाह सुटिङ भएको थियो । भारतीय अभिनेता अमिता बच्चन त्यस समयको कठिन परिस्थितिका बेला पनि मुस्ताङ आएर सुटिङ सकाउनुभएको थियो । तर, त्यसबेलाको कठिन परिस्थिति अहिले पूरै फेरिएको छ । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले एकैदिन मुस्ताङ आएर चलचित्र सुटिङ गर्न पाइने भएकाले पनि मुस्ताङमा चलचित्र छायाङ्कनका लागि आउनेको सङ्ख्या बढ्दै गइरहेकोे जानकारी दिनुभयो । जिल्लामा विभिन्न देशका चलचित्र, म्युजिक भिडियो र डकुमेन्ट्री फिल्म सुटिङ गर्न सहज हुनेगरी यहाँका स्थानीय तहले सीमित राजस्व सङ्कलन गर्ने गरेको उहाँको भनाइ छ । उहाँले यसप्रकारका चलचित्रको छायाङ्कनले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको उल्लेख गर्नुभयो ।

    पछिल्ला पाँच वर्षयता दर्जनौँ नेपाल चलचित्र, म्युजिक भिडियो र डकुमेन्ट्री फिल्म यहाँ सुटिङ भइसकेका छन् । मुस्ताङको कालीगण्डकी बगर, सदियौँ वर्ष पुराना गुम्बा, माने, छोर्तेन, गुफा, तालतलैयाका साथै फरक–फरक प्राकृतिक सौन्दर्यताकै कारण जिल्ल चलचित्र सुटिङको हब बन्दै गएको हो ।

    जिल्लामा हिन्दी चलचित्र खुदा गवाह करिब ४० को दशकमा सुटिङ भएको हो । पछिल्लो पाँच वर्षयता मुस्ताङमा चिनो, प्रेमगीत, सम्हालिन्छ कहिले मन, कबड्डी, जेरी, ब्याज नम्बर सिक्टिन, भकुन्डो, छिरिङलगायत दर्जनौँ चलचित्र सुटिङ भएका थिए । यहाँ सुटिङले यहाँको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान पुगेको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजका सचिव नीरज थकालीले बताए । उनले चलचित्रका माध्यमबाट यहाँका कला, संस्कृति, मौलिकता र सम्पदालाई उजागार गर्न ठूलो सहयोग पुगेको जनाए ।

    त्यसैगरी, जिल्लामा चलचित्र सुटिङका लागि आएका नेपाल चलचित्र प्राविधिक सङ्घका उपाध्यक्ष अर्जुनप्रसाद पोखरेलले यहाँ चलचित्र छायाङ्कन गर्ने उपयुक्त र सहज गन्तव्य भएको दाबी गरे । जिल्ला नेपालकै स्वर्गरुपी जिल्ला भएको उल्लेख गर्दै उनले यस्तो स्थानमा सरकारले चलचित्र स्टुडियो स्थापना गर्न सकेमा यस क्षेत्रको मात्र नभई सिङ्गो गण्डकी प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुर्याउने बताए । यसका लागि तीन तहको सरकारले पहल गर्न आवश्यक उनको भनाइ छ ।

    निलगिरि र धवलागिरिलगायत यहाँ साना दर्जनौँ हिमाल अवस्थित छन्, सबै हिमालमा क्षणभरमै पुग्न सकिने, होटल र यातायात पहिलेको तुलनामा निकै सहज हुँदै जान थालेको छ, यसैले पनि ९० प्रतिशत चलचित्रकर्मीले यही ठाउँमा आएर सुटिङ गर्न थाल्ने छन् । यहाँ चलचित्र सुटिङ गर्न पाउँदा स्थानीय पालिका र समुदायबाट ठूलो सहयोग प्राप्त भएको उपाध्यक्ष पोखरेलले बताए । मुस्ताङमा यहाँका ताल, गुम्बा, लेक, खर्क, हिमाल, जैविक विविधता र संस्कृति महत्त्वपूर्ण विशेषता रहेको बताए । मुस्ताङको तल्लो क्षेत्र थासाङमा सेकुङ ताल, भुतर्छो ताल र टिटी ताल अवस्थित छन् ।

    कालीगण्डकी नदीको सुन्दर तटीय बस्ती र अनि खर्कमा चर्दै गरेका याक चौँरीका बथानले झनै चलचित्रलाई सुसज्तित पारिदिन्छ । घरपझोङ गाउँपालिकामा पर्यटकीय सांस्कृतिक गाउँ मार्फा, ठिनी, स्याङ र जोमसोममा प्राचीन संस्कृति अवलोकन गर्न पाइन्छ । यस पालिकामा ढुम्बाताल र क्षमाताल अवस्थित छ । वारागुङ मुक्ति क्षेत्रमा मुक्तिनाथ मन्दिर, कागबेनी, झोङ, तेताङ, छुसाङ, मुस्ताङ गेटलगायत स्थानमा चलचित्र छायाङ्कन गर्ने गरिएको छ ।

    लोमान्थाङमा मुस्ताङी राजाको सात सय वर्ष पुरानो दरबार, गुफा, गुम्बा, माने र छोर्तेनहरु अवलोकन गर्न सकिन्छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि गुरु पद्यसम्भवले निर्माण गरेको लोघेकर गुम्बा, चराङ गुम्बा, ढाक्मर रेड पहाडलगायत यहाँका संस्कृति झल्काउने मौलिक परम्परागत बस्ती रहेको छ ।

  • आजदेखि नववर्ष २०८२ प्रारम्भ, देशभर मनाइदैं

    आजदेखि नववर्ष २०८२ प्रारम्भ, देशभर मनाइदैं

    १ वैशाख, काठमाडौं । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन् ।

    “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, उनले भने । सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।

    हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।

    चान्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत १७ गतेदेखि नै सुरु भइसकेको छ । चैत १७ गतेदेखि सिद्धार्थी नामको संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । वैदिक सनातन हिन्दू धर्म अनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो । अहिले चलिरहेको सिद्धार्थी ५३ औँ संवत्सर हो ।

  • २०८१ साल नेपाली चलचित्रका लागि उर्बर वर्ष

    २०८१ साल नेपाली चलचित्रका लागि उर्बर वर्ष

    ३० चैत, काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष–२०८१, समग्रमा सुखद रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा रू ४६ करोड ८० लाख (ग्रस)व्यापार गरेको तथ्याङ्क सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम (बक्स अफिस)’ मा छ । यही कारण विसं २०८१ लाई नेपाली चलचित्रको इतिहासमा स्मरणयोग्य बनिसकेको छ ।

    अन्तिम चलचित्रका रूपमा ‘पिताम्बर’ र ‘कर्मा’ गत चैत २९ गतेदेखि प्रदर्शन भएको सहित यो वर्ष ‘बक्सअफिस’ को तथ्याङ्कअनुसार ६२ नेपाली चलचित्र प्रदर्शन भएका छन् । यसरी स्वदेशी ६२ चलचित्र प्रदर्शन हुँदा विदेशी ८४ भएका छन् । यो वर्ष नेपाली चलचित्रका दर्शक उलेख्य रूपमा बढेको चलचित्र वितरक तथा प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले बताए ।

    उनले भने, “यो वर्ष दसैँ र तिहारमा प्रदर्शन भएका चलचित्रले दर्शकलाई चलचित्र भवनमा तान्न सफल भए । स–परिवार नै चलचित्र हेर्न आएको पाइयो । पारिवारिक चलचित्रले दर्शक बढाउन महत्त्वपूर्ण भूमिका खेलेको जस्तो लागेको छ । यस वर्षको सफलताले आउँदो वर्ष चलचित्र निर्माणमा वृद्धि हुनेछ ।”

    उनले चलचित्र भवन सञ्चालक (प्रदर्शक) ले यसवर्ष १८ घण्टाभन्दा बढी काम गरेको बताए । आउँदो वर्ष विसं २०८२ को सुरूआती दिन वैशाख १ मा समग्र चलचित्रको व्यापार राम्रो हुने निर्देशक पुर्नेन्दु झाको बुझाइ छ । उनले आउँदो वर्ष नेपाली चलचित्रका लागि महत्त्वपूर्ण भएको बताए ।

    “यो वर्ष प्राप्त सफलताले नयाँ र पुराना दुवै चलचित्रकर्मीको सक्रियता निर्माणमा बढेको छ, आउँदो वर्ष ती चलचित्रकर्मीले चलचित्र लिएर दर्शकसम्म आउनु हुनेछ । नयाँ दर्शकलाई आकर्षित गर्न सके आउँदो वर्ष नेपाली चलचित्रले नयाँ सुरूआत गर्नेछ । यो वर्षको व्यावसायिक सफलतालाई नाघ्नु नै चुनौती देखिएको छ”, निर्देशक झाले भने ।


    उनी विसं २०८२ ले यस वर्ष बनेको बजारको आकार बढाउन सक्नुपर्नेमा जोड दिन्छन् । आउँदो वर्ष विसं २०८२ मा ८० हाराहारीमा चलचित्र प्रदर्शन हुने अनुमान चलचित्रकर्मीले गरेका छन् । ‘बक्सअफिस’ मा रहेको तथ्याङ्कअनुसार ५९ नेपाली चलचित्रले कूल कमाइ रू एक अर्ब ८० करोड गरेको छ । तथ्याङ्क बाँकी रहेका तीन चलचित्र ‘वसन्त’, ‘पिताम्बर’ र ‘कर्मा’ सहित प्रदर्शनरत अन्य नेपाली चलचित्रको व्यापार (ग्रस) पाँच करोड भएको अनुमान चलचित्रकर्मीको छ । यस कारण नेपाली बजारको आकार रू एक अर्ब ८५ करोडको हाराहारीमा पुगेको अनुमान गरिएको छ ।
    राससको सहयोगमा

  • तामाङ समुदायमा चैत्र शुक्ल पूर्णिमाः बौद्धमा बत्ती बालेर बालाजुमा स्नान

    तामाङ समुदायमा चैत्र शुक्ल पूर्णिमाः बौद्धमा बत्ती बालेर बालाजुमा स्नान

    ३० चैत, काठमाडौं । पितृको मुक्तिको कामना गर्दै बौद्ध चैत्य परिसरमा शुक्रबार रातभर बत्ती बालेका बौद्ध धर्मावलम्बी तामाङ समुदाय स्नान गर्न बालाजु बाइस धारातर्फ प्रस्थान गरेका छन् । बालाजु बाइस धारामा स्नान गर्न भक्तजन बिहानैदेखि प्रस्थान गरेका काठमाडौँ महानगरपालिका वडा नं ६ का वडाअध्यक्ष भुवन लामाले राससलाई जानकारी दिए । चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा आई पूजा गरेर दिवङ्गत पितृका नाममा बत्ती बाल्ने, पूर्णिमाका दिन बिहान बालाजु २२ धारामा स्नान गरी नागार्जुनको जामाचो र स्वयम्भूमा दर्शन गर्ने प्रचलन छ ।

    तेमालका अन्तिम तामाङ राजा रिन्छिन दोर्जेको कालदेखि यो पर्वलाई राष्ट्रिय मान्यता दिइ बौद्धमा आएर मेला लाग्ने परम्पराको थालनी भएको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वध्यक्ष राजकुमार लामा बताउँछन् । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिन स्तूपमा बत्ती बालेमा पितृले मुक्ति पाउने धार्मिक विश्वास छ ।


    जात्राका अवसरमा बौद्ध क्षेत्रमा तामाङ सेलो र तामाङ संस्कृति झल्कने वेशभूषा एवं ¥याली आयोजना भएको थियो । हिजोदेखि सुरु भएको बौद्धको तेमाल जात्रा आज बालाजु २२ धारा, जामाचो र स्वयम्भू पुगेर स्नान, पूजा आराधनापछि सम्पन्न हुन्छ । जात्रामा काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, काठमाडौँ र मकवानपुरलगायत जिल्लाका तामाङ समुदायको सहभागिता थियो ।

  • जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाख अन्तिम साता

    जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाख अन्तिम साता

    ३० चैत, जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा आगामी वैशाख २७ गतेदेखि प्रतियोगिता सुरु हुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा छैटौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको हो । खेलकुद पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको क्लबले विगत १७ वर्षदेखि जुम्लामा खेलकुद विकास, सामाजिक उत्थान र बालबालिकाको हितमा काम गर्दै आएको छ । क्लबका संरक्षक तथा ओलम्पियन हरिबहादुर रोकायको नेतृत्वमा प्रतियोगिता हरेक वर्ष हुँदै आएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए । अन्तरराष्ट्रिय मापदण्डअनुसार दूरी ५१ किलोमिटर तोकिएको छ ।

    अध्यक्ष शाहीले भने, “दौडको रुट पनि परिवर्तन गरिएको छ । यसबाट जुम्लादेखि रारासम्मको पदयात्रा प्रवर्द्धनसमेत योगदान पुग्ने विश्वास छ ।”प्रतियोगिताका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालयले सहयोग गरेको छ । माथिल्लो मिलीचौरदेखि राराताल किनार, ठाकुर बाबाको मन्दिरहुँदै हुटुमा समापन हुने गरी तय गरिएको क्लबका अध्यक्ष शाहीले जानकारी दिए । दौडमा सहभागी खेलाडीले तिरेको दर्ता शुल्कको १० प्रतिशत उच्च पर्वतीय प्रशिक्षण भवन निर्माणका लागि छुट्याइएको छ । भवन क्लबका संरक्षक रोकायले प्रदान गरेको जग्गामा निर्माण गरिनेछ ।

    प्रतियोगितामा ५१ किलोमिटर अल्ट्रा दौड, पाँच किलोमिटर खुल्ला दौड (उद्योगी, व्यापारी, कर्मचारी) र १९ वर्ष मुनीका विद्यार्थीका लागि १० किलोमिटर दौडको व्यवस्था गरिएको छ । दौडमा स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय धावकको सहभागिता रहने छ । विगतमा बेलायत, नेदरल्याण्ड, भारत, इटाली र अमेरिकासमेतबाट समेत धावकले भाग लिएका थिए । दौड चन्दननाथ भैरवनाथको आँगन, खलङ्गा बजारको जुम्लाबाट शुरु भई मुगुको रारा तालको हुटुमा समापन हुने छ ।

    एकाउन्न किलोमिटर प्रतियोगितामा प्रथम हुने (महिला÷पुरुष) रु एक\एक लाख प्रदान गरिने छ । यस्तै (महिला र पुरुष) दोस्रो स्थान हासिल गर्नेलाई जनही रु ७५ हजार, तृतियलाई रु ५० हजार, चौथोलाई रु २० हजार पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ । पाँच किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई (महिला र पुरुष) रु पाँच हजार, दोस्रोलाई रु तीन हजार र तृतिय हुनेलाई रु तीन हजार प्रदान गरिने छ । विद्यालयस्तरीय १० किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई (महिला÷पुरुष) रु १० हजार, दोस्रो हुनेलाई रु ६ हजार र तृतिय हुनेलाई रु चार हजार पुरस्कार प्रदान गरिने छ ।

  • धरानमा पहिलो पटक राष्ट्रिय ‘फाइट नाइट’ हुने

    धरानमा पहिलो पटक राष्ट्रिय ‘फाइट नाइट’ हुने

    २९ चैत, धरान । बक्सिङ खेलको प्रवर्द्धन र नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले धरानमा पहिलो पटक राष्ट्रियस्तरको ‘आइबिए प्रो एन्ड एमेचर महिला–पुरुष फाइट नाइट २०२५’ हुने भएको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर आगामी वैशाख १२ गते यहाँ कार्यक्रम आयोजना गरिएको आयोजक धरान बक्सिङ सङ्घका अध्यक्ष दीपक राईले बताए । धरानमा राष्ट्रियस्तरको यो प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागिएको उनले जानकारी दिए । प्रतियोगितामा ‘प्रोफेसनल’ (प्रो) र ‘एमेचर’ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ ।

    प्रतियोगितामा कोशी प्रदेशबाट प्रो प्रतिस्पर्धामा धरान, धनकुटा, झापा र उदयपुर तथा गण्डकी प्रदेशका पोखरा र बाग्मती प्रदेशको काठमाडौँबाट खेलाडी सहभागि हुनेछन् । एमेचर विधामा भने धरान, धनकुटा, उदयपुर र झापाका खेलाडीले सहभागिता जनाउने धरान बक्सिङ संस्थाका सचिव महेश आले मगरले जानकारी दिए । ‘फाइट नाइट’ प्रतियोगितामा महिला र पुरुष दुवै राष्ट्रियस्तरका खेलाडीबीच प्रदेशस्तरीय प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिता धरान उपमहानगरपालिका(१५ स्थित किरात याक्थुङ चुम्लुङहिमको हलमा विभिन्न साङ्गीतिक कार्यक्रमसहित हुने संस्थाका सचिव आले मगरले बताए । (

  • आज रामनवमी, देशभर सार्वजनिक बिदा

    आज रामनवमी, देशभर सार्वजनिक बिदा

    काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौं अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेको कथन छ ।

    धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम रामनवमी पर्व मनाउनुको महत्व रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गर्नुभएको बताउँछन् । ‘जसलाई अहिले पनि रामराज्य भनिन्छ, रामको राज्यबाट जसरी सारा मानिस खुसी थिए, अहिलेका शासकले त्यस्तै बन्न सक्नुपर्छ, त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित थिए, यसैले रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ, हामीले यसलाई अनुसरण गर्नसके मात्र यो पर्व मनाउनुको अर्थ हुन्छ’, उनले भने ।

    रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ । यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजा, पाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ ।

    परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दसैँ मानिने गरेकामा धेरै गर्मीका कारण असोजमा मनाउन थालिएको भनाइ छ । चैत र असोजको नवरात्रलाई जाग्रत दसैंका रूपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दसैं भनिन्छ । यसैगरी व्रतार्क नामक ग्रन्थको अगस्त्य संहितामा चैत्र शुक्ल नवमीमा व्रत उपवास बसी श्रद्धा भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भई वैकुण्ठ बास प्राप्त हुने उल्लेख छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ ।

    त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

    आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौं अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । यो वर्षको अवसरमा आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।