१० भदौ, काठमाडौं । आज हरितालिका तीज हिन्दुधर्मावलम्बीले उल्लासमय वातावरणमा मनाउँदैछन् । साथै शिवालयहरुमा महिला भक्तजनको भीड समेत लागेको छ । पशुपतिनाथसहितका शिव मन्दिरको माहोल तस्वीरमा यस्तो देखियो ।






१० भदौ, काठमाडौं । आज हरितालिका तीज हिन्दुधर्मावलम्बीले उल्लासमय वातावरणमा मनाउँदैछन् । साथै शिवालयहरुमा महिला भक्तजनको भीड समेत लागेको छ । पशुपतिनाथसहितका शिव मन्दिरको माहोल तस्वीरमा यस्तो देखियो ।






१० भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्व भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकका रूपमा समेत रहेकाले यसको संरक्षण र प्रवद्र्धन गर्नु आवश्यक रहेको बताएका छन् । नेपाली हिन्दू महिलाको महान पर्व हरितालिका (तीज), २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव कायम होस् भन्ने कामना गरेका छन् ।
यसपर्वमा नेपाली नारीले आफ्नो अटल सौभाग्य तथा समृद्धिका लागि भगवान् शिव र पार्वतीको पूजा आराधना गरी व्रत बस्ने प्रचलन रहेको छ । परापूर्वकालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र सामाजिक सहिष्णुता तथा ऐक्यबद्धताको प्रतिविम्बको रुपमा यस पर्वलाई मनाउँदै आएको पाइन्छ ।
परिवार तथा समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता, मेलमिलाप, निष्ठा, धैर्य र समर्पण कायम गर्न यस पर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपति पौडेलको भनाइ छ । “महिलाविरुद्ध हुनसक्ने भेदभाव, हिंसाजन्य कार्यलगायत सबै किसिमका अन्यायहरूको अन्त्यगरी सभ्य र समतामूलक समाज निर्माण गर्न तीज पर्वले सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने अपेक्षा लिएको छु”, राष्ट्रपतिले सन्देशमा भनेका छन् ।
“शान्ति र प्रेरणाका रूपमा रहने समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्दछन् । आदर्शमय तथा एकतात्मक सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै अझ समुन्नत बनाउन यस्ता मौलिक पर्वको गरिमालाई सम्मानजनक बनाई राख्नु अतिआवश्यक रहेको छ”, राष्ट्रपतिले शुभकामना सन्देशमा भनेका छन् ।
राष्ट्रपति पौडेलले हरितालिका तीज पर्व, २०८२ ले सबै क्षेत्रमा महिलाको सम्मानजनक सहभागितालाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगोस् भन्ने शुभकामना प्रकट गरेका छन् ।

१० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका (तीज)को अवसरमा सबै दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका छन् । उनले नेपाली हिन्दू महिलाको महान् पर्व हरितालिका २०८२ का अवसरमा आज सामाजिक सञ्जालमार्फत शील, सौजन्य र उदारताको पर्व हरितालिका तीजको सबैलाई शुभकामना व्यक्त गरेका हुन् ।
उनले भनेका छन्, “संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस् । सबै दिदीबहिनीहरूलाई हरितालिका तीजको मङ्गलमय शुभकामना ।” प्रधानमन्त्री ओलीले तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको जनाउँदै तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्मअनुशासनसँग गहिरो रूपमा जोडिएको बताए ।
“प्राचीनकालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइन्छ । समय क्रममा महिलामात्रै व्रत बस्ने परम्परा विकसित भयो । अहिलेको समाजमा अझै नयाँ मतहरू पनि आएका छन्”, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्, “हाम्रो संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको छ । पछिल्लो समयमा विज्ञानले पनि व्रतले शरीरलाई फाइदा पुर्याउँछ भन्ने चर्चा गर्न थालेको छ ।”
आज नेपाली हिन्दू महिलाले हरितालिका तीज देवाधिदेव महादेवको पूजाआराधना गरी मनाउँदै छन् । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाको दिन हिन्दू महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर तीज मनाउँछन् ।

१० भदौ, काठमाडौं । हरितालिका (तीज)का अवसरमा आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो छ । आराध्यदेव श्रीपशुपतिनाथको दर्शनार्थीलाई सहज दर्शन गर्न प्रबन्ध पशुपति क्षेत्र विकास कोषले मिलाएको छ । यसका लागि पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले जानकारी दिए ।
केही भक्तजन भने बिहान ३ः०० बजेअघि पशुपति क्षेत्र पुगेर दर्शनका लागि लाममा बसिसकेका थिए । अहिलेसम्म लाममा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्कन सकिने अवस्था रहेको उहाँले बताउनुभयो । पशुपति क्षेत्रमा आज करिब तीन हजार सुरक्षाकर्मी मेला व्यवस्थापनका लागि खटाइएको छ ।
पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने लामको व्यवस्था गरिएको छ । श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । कोषका सूचना अधिकारी अनिता भट्टल मूल मन्दिर प्रवेश गरेर मूल मूर्तिअघि पुगेपछि दर्शन गरेर भक्तजन बाहिरिने गरी व्यवस्थापन गरिएको जानकारी दिइन् ।

१० भदौ, काठमाडौं । हरितालिका (तीज) पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा दर्शनार्थ जाने भक्तजन एवं विशेष गरी हिन्दू नारीहरूको सुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसाद, दर्शनमार्गको व्यवस्थापन एवं सुधार, आकस्मिक स्वास्थ्यसेवा, उपासनासहितको मनोरञ्जनात्मक गीत, सङ्गीत, भजनकीर्तन, दिपावली, व्रतालुको गौदान गर्ने स्थानको व्यवस्थालगायत तयारी पूरा भएको पशुपतिनाथ क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपति क्षेत्रको बाहिरी भागबाट मन्दिर छिर्न चार वटा मागको व्यवस्था गरिएको छ । पहिलो मार्ग गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट हुँदै फर्कने व्यवस्था मिलाइएको छ ।
दोस्रो मार्ग मित्रपार्क–जयवागेश्वरी–पाचागणेश–भीमसेनस्थान–भूवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्ष हुँदै फर्कने व्यवस्था गरिएको छ ।
यस्तै, पिङ्गलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई कोटिलिङ्गेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रूपमा निर्माण गरिएको जुत्ताचप्पल कक्ष हुँदै फर्कन तेस्रो मागको व्यवस्था गरिएको कोषले जनाएको छ ।
चौथो मार्ग तिलगङ्गा–राम मन्दिर हुँदै बागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर श्रीपशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । मूल मन्दिरभित्र भने आठ वटा लामको व्यवस्था गरिएको कोषका निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिए ।

दर्शनार्थीले छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै मन्दिरका चार वटै ढोका खोल्ने व्यवस्था मिलाइएको उनले बताए । श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । दर्शन गरी फर्कंदा पशुपतिनाथ मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि मन्दिरको चन्दन पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगङ्गा, वनकाली, गौशाला, जयवागेश्वरीमा वितरणको व्यवस्था मिलाइएको छ ।
पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा (मन्दिर प्राङ्गणबाहेक) अवलोकन भ्रमण गर्न दिइने कोषका सूचना अधिकारी अनिता भट्टले बताइन् । भक्तजनबाट गौदान, पूर्णपात्रो जस्ता ब्राह्मण प्रयोग गरी गरिने धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्गको दायाँबायाँ क्षेत्रमा व्यवस्था मिलाइएको जानकारी दिइन् ।
बहुमूल्य गरगहना लगाएर र ससाना बालबालिकालाई साथमा लिएर पशुपतिनाथको दर्शनमा नआउन कोषले भक्तजनमा अनुरोध गरेको छ । भगवान् श्रीपशुपतिनाथका नित्य दर्शनार्थीहरू बिहान ५ः३० बजेसम्मका लागि मात्र उपर्युक्तानुसारका चार ढोकामध्ये जुनसुकै ढोकाबाट प्रवेश गरी दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
मन्दिर दर्शनका लागि कुनै पनि किसिमको पासको व्यवस्था नगरिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिए । विगतका वर्षमा जस्तै यसवर्ष पनि तीजका लागि नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी बल नेपालसँग समन्वय गरी सुरक्षाको प्रबन्ध मिलाइएको छ । आवश्यकताअनुसार नेपाली सेनाको सहयोग लिइने कोषले जनाएको छ । साथै राष्ट्रिय अनुसन्धान विभागबाट मेला क्षेत्रमा पर्याप्त अनुगमनको व्यवस्था मिलाइएको छ ।
मेला क्षेत्रमा पाकेटमारी र अनियमित क्रियाकलाप हुन नदिन सादा पोसाकमा प्रहरी खटाइ पर्वको दुई दिन अघिदेखि नै त्यस्ता क्रियाकलापमा संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई राख्ने व्यवस्था भएको छ । यसका साथै स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, सरसफाइलगायत व्यवस्था चुस्त रूपमा गरिएको कोषले जनाएको छ ।

९ भदौ, बेलायत । बेलायतमा आयोजित १६औँ नेपाली मेला १० हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाली दूतावास लण्डनसँँगको सहकार्यमा तमु धिं युकेले, बेलायतको सन्बरीस्थित किम्टन पार्कमा आयोजना गरेको थियो । आइतबार सम्पन्न मेलामा नेपाली मौलिकता झल्कने विभिन्न जातजातिका ४० झाँकी सहभागी थिए । झाँकी प्रतियोगितातर्फ मगर सङ्घ युकेले पहिलो स्थान प्राप्त गरेको छ । पासा पुच गुठी युकेले दोस्रो स्थान प्राप्त गर्दा किरात याक्थुम चुम्लुङ युकेले तेस्रो स्थान हासिल गरेको मेला सञ्चार संयोजक एस के गुरुङ जानकारी दिए ।
मौलिक सांस्कृतिक नृत्य प्रतियोगितामा सहभागी भएका २५ सङ्घ–संस्थामध्ये पासा पुच गुठी युके विजयी भएको छभने दोस्रो स्थानमा तनहुँ समाज युके र तेस्रो स्थान किरात याक्थुमचुम्लुङले प्राप्त गरेको । मेलामा आयोजित एस्वास्डर कपको उपाधि पासा पुच गुठी युकेले जित्योे । किरात याक्थुम चुम्लुङ युके दोस्रो र किरात राई यायोक्खा युकेले तेस्रो स्थान प्राप्त गरे । मेलाको उद्घाटन बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले गरेका थिए । उनले नेपालीहरु जहाँ पुगे पनि नेपालको मौलिकता संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रशंसा गरे । कार्यक्रममा आयोजक समूहका तर्फबाट तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङले नेपालीले सबैलाई धन्यवाद ज्ञापन गरे ।

९ भदौ, काठमाडौं । नेपाली सेनाले आर्थिक वर्ष २०८१\८२ मा संविधानप्रदत्त जिम्मेवारीका अतिरिक्त कम समयमा न्यूनतम लगानी गरी बढीभन्दा बढी जनसमुदाय प्रत्यक्षरूपमा लाभान्वित गराउने उद्देश्यले विभिन्न २२ वटा शीघ्र प्रभावी आयोजना सम्पन्न गरेको छ । सांस्कृतिक तथा पुरातात्विक महत्त्वका संरचनाको मर्मत सम्भार गरी इतिहास एवं संस्कृतिको संरक्षण र समुदायको आवश्यकतामा प्रत्यक्ष टेवा पुर्याउन रु दुई करोड ५६ लाखको लागतमा ती आयोजना सम्पन्न गरिएको नेपाली सेनाका सहायकरथी एवम् प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।
गतवर्ष उपत्यका पृतनाअन्तर्गत एक, पूर्वी, मध्यपूर्वी, मध्य, पश्चिम, मध्य पश्चिम, उत्तर पश्चिम र सुदूरपश्चिम पृतनाअन्तर्गत तीनरतीन वटा शीध्र प्रभावी आयोजना कार्यान्वयनमा ल्याएको थियो । इतिहाससँगै स्थानीय संस्कृतिको जगेर्ना तथा नेपाल एकीकरणको दौरान प्रयोग भएका रणनीतिक एवं ऐतिहासिक महत्वका विभिन्न मठमन्दिर, कोटगढी र दरबारको मर्मत–सम्भार गरिएको छ । सेनाले पुरातत्व विभागसँगको समन्वयबाट परम्परागत निर्माण सामग्रीको प्रयोग गरी बाजुरा स्थित ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वको बडी मालिका मन्दिर पुनर्निर्माण सम्पन्न गरेको छ ।
गत वर्ष सेनाले उदयपुरस्थित चौदण्डी गढी, ओखलढुङ्गाको तलुवागढी, चितवनको उपरदाङ्ग गढी, नुवाकोटको बेलकोट गढी, लमजुङको पुरानकोट, सुर्खेतको बयलकाँडा गढी, डडेलधुराको अमरगढी र पाल्पाको माथागढी तथा गुल्मीको मुसिकोट दरबारको स्तरोन्नति तथा मर्मत–सम्भार गरेको प्रवक्ता बस्नेतले जानकारी दिए । त्यसैगरी सामाजिक मूल्य र मान्यतालाई अक्षुण्ण राखी एकताभाव जागृत गर्ने सांस्कृतिक तथा पर्यटकीय महत्वकाविभिन्न सम्पदाको जगेर्ना गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
इलामको माई स्थान मन्दिर, रामेछापको तिल्केस्थान गढीमा रहेको देवी मन्दिर, नुवाकोटको बेलकोटगढीस्थित निरञ्जना भगवती मन्दिरको स्तरोन्नति गरिएको छ । चितवनको देवघाटस्थित महेश आश्रममा गौशाला, मुस्ताङस्थित कागबेनीमा श्राद्ध स्थलमा ट्रसघर, पर्वतको कटुवाचौपारीमा पुजारी बस्ने कोठासहितको ट्रसघर निर्माण गरिएको छ ।
महिला तथा विकट क्षेत्रका छात्ररछात्राको विद्यालय पहुँचमा सहजता पुर्याउने उद्देश्यले छात्रा शौचालय निर्माण गरिएको छ । सेनाले महोत्तरीको सोनम गाउँपालिकास्थित सरस्वती जनता माविमा छात्रालाई लक्षित गरी चार कोठे छात्रा शौचालय तथा दैलेखको दुल्लु नगरपालिका स्थित तीर्थस्थल पञ्चकोशी मावि वेद विद्या आश्रममा अध्ययनरत छात्रका लागि सेड घर निर्माण गरेको छ ।
यस्तै ‘एक पालिका, एक हेलिप्याड’को नीतिमा सहयोग पुर्याउने लक्ष्यका साथ मुगुको मुगुम कार्मारुङ गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ । यसले जटिल प्रसूति समस्यामा पर्न सक्ने सुत्केरी तथा गर्भवती महिलाको हवाई उद्धार एवं विपद् तथा विभिन्न दुर्घटनाका दौरान आकस्मिक उद्धार कार्यमा समेत सहज बनाउने विश्वास गरिएको छ ।
डडेलधुरा र डोटीका स्थानीयलाई खानेपानीको सहज पहुँच पु¥याउन पिउने पानी ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा धाराको जडान गरिएको छ । पर्यटन तथा पर्यावरणलाई टेवा पु¥याउने उद्देश्यले काठमाडौँको नारायणहिटी सङ्ग्रहालय परिसरमा रहेको झिल पोखरीको मर्मत सम्भारका साथै बाराको कलैया बजारमा नेपालको झन्डा तथा मोनोग्राम निर्माणको कार्य सुरु गरिएको पनि सेनाले जानकारी दिएको छ ।
गत आवमा सम्पन्न भएका शीघ्र प्रभावी आयोजना सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गरिएको पनि सेनाले जनाएको छ । शीघ्र प्रभावी आयोजनाको कार्यान्वयनबाट स्थानीय जनतामा आफ्नो टोल तथा सहरको विकास निर्माण सरसफाइलगायत सौन्दर्यीकरणमा अपनत्व जागृत गराउनुका साथै जनसमुदायमा राष्ट्रिय एकताको भावना समेत अभिवृद्धि हुने विश्वास लिएको छ ।

८ भदौ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालु महिलाका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ । पशुपति क्षेत्रमा तीजको तयारीका बारेमा जानकारी दिन कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले चर्को घाममा लामो समय लाइनमा बस्न असहज हुने भएकाले एकदेखि डेढ घण्टाभित्र दर्शन गरेर फर्की सक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिए । पशुपति क्षेत्रमा तीजको तयारी लगभग सकिएको जानकारी दिँदै उनले तीजमा पशुपतिको बाहिरी भागमा मात्र स्वयंसेवक खटाइने बताए ।
कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले लाइनमा बस्न उचित व्यवस्था मिलाइएको उल्लेख गर्दै मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिने बताए । कोषका संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख अरुणकुमार श्रेष्ठले तीजका अवसरमा पशुपति क्षेत्रमा समाचार सङ्कलन गर्न आउने पत्रकारका लागि सूचना विभाग र सम्बन्धित सञ्चारगृहकै परिचयपत्रले मन्दिरको मुख्य क्षेत्रसम्म जान दिइने बताए ।
तीजका लागि पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, ट्राफिक एवं पार्किङ व्यवस्था, स्वास्थ्य सेवा, सरसफाइ तथा जुत्ता–चप्पल कक्षको व्यवस्थापन एवं सञ्चालन गरिने कोषका सूचना अधिकारी अनिता भट्टले बताइन् ।
यस वर्ष तीज सोमबारदेखि सुरु हुँदैछ । पहिलो दिन सोमबार व्रतालु महिलाले दर खान्छन् । दोस्रो दिन मङ्गलबार तीजको मुख्य दिन हो । यस दिन व्रतालुले निराहार व्रत बसेर भगवान् शिवको पूजाआराधना गर्छन् । बुधबार गणेश चौथी पर्व मनाइन्छ । अन्तिम दिन बिहीबार अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरेपछि चारदिने तीज पर्व समापन हुन्छ ।

८ भदौ, देउखुरी । पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ ।
घोराही उपमहानगरपालिका–१७ का थारू अगुवा सरस्वती चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि (अग्रासन) दिदी–बहिनीका लागि छुट्याइने परिकार छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ । “अटवारी पर्व महत्त्वपूर्ण पर्व हो, हिन्दूहरूको तिजजस्तै महत्त्वपूर्ण छ । हाम्रो समुदायमा दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि पानीसमेत नखाई व्रत बस्छन्”, उहाँले भन्नुभयो, “थारू समुदायमा यो पर्वको छुट्टै महत्व छ ।”
व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याइ अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । दोस्रो दिन बिहान भात, तरकारी पकाई भात तरकारीको अग्रासन दिने गरेको घोराही उपमहानगरपालिकाका–३ का सुरज चौधरीले बताए । “यो पर्वमा विशेषगरी दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि व्रत बस्छौँ, यो पर्व कुसेऔँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ”, उनले भने । उनका अनुसार आफ्ना दिदीबहिनीका घरमा कोसेली पुगेपछि अटवारी पर्व समाप्त हुन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध पनि प्रगाढ हुने विश्वास थारू समुदायमा छ । आफ्ना दिदीबहिनीलाई फलफूल, रोटी र विभिन्न किसिमका परिकार घरमा पुर्याउने गरिन्छ ।
पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकका रूपमा मान्दै आएको थारु संस्कृतविद् अशोक चौधरी बताउनुहुन्छ । अटवारी पर्व ऐतिहासिक घटनासँग जोडिएको छ ।
दाङका थारूराजा दङ्गीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थारूराजा दङीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो । पाँच पाण्डव र द«ोपदी सबै सुर्खेतको काँक्रेविहारमा घुम्न गएका बेला दाङका थारूराजा दङ्गीशरणको राज्यमा शत्रुहरूले आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर पाँच पाण्डवमध्ये भीम भोकैपेटमा पानीसमेत नखाई राजा दङ्गीशरणको पक्षमा लडेका थिए । भीमले राजा दङ्गीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारू समुदायले अटवारी मनाउँदै आएका छन् । भीमजस्तै बलियो हुनका लागि पानीसमेत नखाई थारू समुदायका पुरुषले व्रत बस्ने गरेका छन् ।
यसैबीच, लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बर्का अट्वारी पर्वका अवसरमा आज सर्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका थारू समुदायको बसोबास धेरै रहेका छ जिल्लामा सार्वजनिक बिदा दिएको हो । थारू समुदायको बसोबास बढिरहेको दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको हो ।

८ भदौ, पाटन । मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित भएकी छिन् । मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ बनेकी छिन् । इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन–२ को ग्राण्ड फिनालेमा दुवैजनालाई विजेता घोषणा गरिएको हो । विजेताले जनही रु एक करोड नगद पुरस्कारसहित रु २५ लाख बराबरको जीवन बिमा, हवाई टिकटका साथमा विभिन्न पुस्कार प्राप्त गरेका छन् ।
मेरो डान्स युनिभर्सको फस्ट रनरअप भई अमृता राईले रु २५ लाख नगदसहित सिटिजन्स लाइफबाट रु २० लाखबराबरको जीवन बिमा प्राप्त गरेकी छिन् । सेकेन्ड रनरअप भई सीतु महर्जनले रु १० लाखसहित सिटिजन्स लाइफबाट रु १५ लाखबराबरको जीवन बिमा प्राप्त गरेकी छिन् । थर्ड रनरअप सुरज सिंजाली मगरले रु छ लाख नगदसहित सिटिजन्स लाइफबाट रु १० लाखबराबरको जीवन बिमा तथा फोर्थ रनरअप सुशना कोइरालाले रु पाँच लाख नगद, सिटिजन्स लाइफबाट रु १० लाखबराबरको जीवन बिमा प्राप्त गरेकी छिन् । फिप्थ रनरअफ साजन पाख्रिन तामाङले नगद रु चार लाख र सिटिजन्स लाइफबाट रु १० लाखबराबरको जीवन बिमा प्राप्त गरेकी छिन् ।
यसैगरी मेरो भ्वाइस युनिभर्सको फस्ट रनरअप भई टोपराज तामाङले रु २५ लाख नगदसहित रु २० लाखबराबरको जीवन बिमा तथा सेकेन्ड रनरअप जुनु प्रसाईँले रु १० लाख र १५ लाखबराबरको जीवन बिमा प्राप्त गरेकी छिन् । थर्ड रनरअप वाङ्गे गुरुङले रु छ लाख र सिटिजन्स लाइफबाट रु १० लाखबराबरको जीवन बिमा, फोर्थ रनरअप प्रशान्त पोखरेलले रु पाँच लाख नगद, रु १० लाखबराबरको बिमा तथा फिप्थ रनरअप दीपराज राईले नगद रु चार लाख तथा सिटिजन्स लाइफबाट रु १० लाखबराबरको बिमा प्राप्त गरे ।
कल्चरल ग्रुप डान्स प्रतिस्पर्धामा भुटनिज रेफुजी डान्स ग्रुपले विजेता भई रु २५ लाख र गिफ्ट ह्याम्पर प्राप्त गरेको छ भने फस्ट रनरअप कल्चरल ग्रुप डान्समा मनास्लु वर्ड कलेजले रु १५ लाख प्राप्त गरेको छ । त्यसैगरी, युमा महारानी नृत्य समूह सेकेन्ड रनरअप हुन सफल भइ रु १० लाख प्राप्त गरेको छ । थर्ड रनरअप भएर नेपाल प्रहरीले रु पाँच लाख प्राप्त गरेको छ भने सामूहिक नृत्यतर्फ तरेली सांस्कृतिक ग्रुपले फोर्थ अनरअप भई रु तीन लाख पुरस्कार प्राप्त गरेको छ ।
विजेतालाई सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायतले पुरस्कार तथा ट्रफी प्रदान गरे ।

७ भदौ, काठमाडौं । दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ताअघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रही आएकाले आज बिहानैदेखि यहाँ हजारौँ भक्तजनको घुइँचो भएको हो । यही धार्मिक विश्वासका कारण आज बिहानैदेखि वैदिक सनातन हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको छ ।
गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानैदेखि सुन्दरीजल–जोरपाटी र वाग्मतीको कोरिडोर भएर गुड्ने सवारीसाधन निषेध गरिएको ट्राफिक प्रहरी वृत्त बौद्धले जनाएको छ । यातायात व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, खोजतलासलगायत सेवा पनि मन्दिर क्षेत्रमा दिइएको गोकर्णेश्वर मेला समितिका संयोजक एवं गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले राससलाई जानकारी दिए ।
सत्ययुगमा ब्रह्माले नै स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासका कारण पनि भाद्रकृष्ण औंसीका दिनमा यस मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पूजारी जगदीश भट्टले जानकारी दिए । गोकर्णेश्वरमा आएका भक्तजन भने धार्मिक रूपमा धेरै महत्त्व भए पनि गोकर्णेश्वरमा राम्रो व्यवस्थापन हुन नसक्दा दुःख पाएको बताउँछन् । डोल्पाबाट आएका दर्शनार्थी रणेन्द्र बुढाथोकी गाडीको असुविधाले मेलामा दुःख पाइएको बताउँछन् । “मन्दिर आसपासमा साँघुरो बाटो भएकाले गाडी चल्न नसकेको रहस्य मैले मन्दिरमै आएर थाहा पाएँ”, उनले भने ।
मन्दिरक्षेत्रमा सार्वजनिक जग्गामा घर बनाई बाटो साँघुरो भएकाले जोरपाटीदेखि हिँड्नुपर्दा समस्या भएको पनि उहाँले गुनासो गर्नुभयो । शास्त्रीय रूपमा महत्त्व रहेको पवित्र तीर्थस्थलको सुव्यवस्थापनमा तीन तहका सरकारमध्ये कसैको पनि ध्यान नगएको यहाँ आएपछि थाहा पाएको धेरै भक्तजन बताउँछन् ।
यस क्षेत्रमा वैदिक सनातन हिन्दू धर्मावलम्बी मात्र होइन बिहानैदेखि बौद्ध धर्मावलम्बीको पनि भीड लागेको छ । एक वर्षभित्र पिताको दिवङ्गत भएका बौद्धमार्गी यहाँ आएर श्राद्ध र पूजाआजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरु डुण्डुप लामाले बताए । बौद्धमार्गीले आजको दिनमा गोकर्णमा आई दर्शन गरेमा दिवङ्गत पिताको स्वरूप दर्शन गर्न पाइने विश्वास समेत गर्ने गरेको पनि उहाँले जानकारी दिनुभयो । गोकर्णमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथ दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता रही आएको छ ।
आजैको दिन हिन्दू धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कृत्य गर्नका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी पर्व मनाउँछन् । कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ । त्यसैगरी आफ्ना बाबुलाई मीठो मीठो खान दिई बाबुको मुख हेर्ने पर्व पनि आज देशभर मनाइँदैछ ।

७ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवम् पितृकार्यमा प्रयोग गरिन्छ । यसै अवसरमा छोराछोरी परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।
बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको घुइँचो छ ।
मन्दिरमा लाग्ने मेलाका सबै तयारी गरिएको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले राससलाई जानकारी दिए । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि लाग्ने मेला लाग्ने गर्छ । बेत्रावतीमा पनि पिता दिवङ्गत भएका तर्पण, सिदादान र पिण्डदान गर्न पुग्ने गर्छन् । ‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुलस्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।
आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाए । अरु दान दीन दुःखीलाई दिएपनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

५ भदौं, काठमाडौं । नेपाली गुन्द्रुकको सुप र थाई सुप तोमयाम एउटै मेनुमार्फत प्रस्तुत गरिएको छ । भक्तपुरको रोयल थाईमा बुधबार सम्पन्न भोजनलिपि स्वादको छैटौँ संस्करणमा ऊर्जामन्त्री दीपक खड्का र नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले संयुक्त रूपमा स्वाद लिएर दुवै परिकारको प्रवर्द्धन अभियान सुरु गरे । नेपाली खाना प्रवर्द्धन अभियानको संयोजकत्वमा भोजनलिपि स्वाद र रोयल थाई हस्पिटालिटीले दुवै देशका खानाको प्रस्तुत गरेका हुन् । यहाँ दुवै देशका गरी करिब एक दर्जन परिकार प्रस्तुत गरिएका छन् ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाली र थाई खानाको सांस्कृतिक महत्त्वलाई जोड दिँदै नेपाल र थाइल्यान्डको आपसी सम्बन्धलाई थप सुदृढ बनाउन र नेपाली भोजनको अन्तरराष्ट्रिय प्रचारप्रसारका लागि भोजनलिपि स्वाद कार्यक्रमले भूमिका खेल्ने विश्वास व्यक्त गरे । नेपालका लागि थाई राजदूत सुवापोङ सिरिसोर्न र रोयल थाईका सञ्चालक गणेश ढकालले नेपाली र थाई खाद्य संस्कृतिबीचको सम्बन्धलाई सुदृढ बनाउन दुवै देशका तर्फबाट प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने बताए ।
यसअघि नेपाली खानाका परिकार मात्र प्रस्तुत गर्दै आएको अभियानले छैटौँ संस्करणमा नेपाली र थाई खानालाई संयुक्त रूपमा प्रस्तुत गरी दुवै देशका खाना पारखीको इच्छा पूरा गरिएको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताए । खाना प्रदर्शनीका अतिरिक्त हरितालिका तीजका अवसरमा महिलालाई दर खुवाउने विशेष कार्यक्रम पनि राखिएको थियो ।
भोजनलिपि स्वादका सर्जक सेफ घनश्याम कँडेलले नेपाली खानालाई नेपालभित्र र नेपाल बाहिरका तारे होटलमा बिक्रीको व्यवस्था मिलाउन खानाको गुणस्तर सुधारमा लाग्ने प्रतिबद्धता जनाए । प्रस्तुत नेपाली खानाको तयारीमा सेफ टङ्कराज मगर, इङ्वा सुब्बा, मानबहादुर तामाङलगायतले सहयोग गरेका थिए । भोजनलिपि स्वाद अन्तरराष्ट्रिय सेफद्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित प्रस्तुति हो ।

आज देशभर कृष्णाजन्माष्टमी मनाइएको छ । यस अवधिमा देशभरीका कृष्ण मन्दिरमा भक्तजनको ठूलो भीड देखियो । आज ललितपुरको पाटनमा अधिक भीड लाग्ने गर्छ र राष्ट्रपति रामचन्द्र पौडेल समेत सो मन्दिरमा सरीक भएर पूजा पाठ गरेका छन् ।
यस्तो छ देशभरीका कृष्ण मन्दिरमा आज देखिएको माहोल









३१ साउन, काठमाडौं । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा सङ्लग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा मेला लाग्दछ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ ९इस्कोन०को कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।
यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा रहेका श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।

सङ्गीता राई\रासस
३० साउन, धरान । बिहान उज्यालो हुनासाथ साँझ अबेरसम्म धरानको भानुचोक यात्रुहरूका लागि मन बहलाउने मुख्य केन्द्र बनेको छ । भोजपुर, खोटाङ, धनकुटा, ताप्लेजुङ, पाँचथर, विराटनगर, झापालगायतका पहाडी र तराईका जिल्लातर्फ जाने सवारीसाधनहरूको लाइन लाग्ने यो चोक दिनभर पनि यात्रुको चापले गुञ्जिरहन्छ । बसका सहायकको चर्को बोलावट, यात्रुहरूको हतार र सवारीसाधनका इञ्जिनहरूको गुञ्जनले भानुचोक धरानकै सबैभन्दा व्यस्त चोक बनेको छ । साँझ पर्नासाथ गाडीको चाप घटेपछि सडक छेउका खाली स्थानमा ठेलागाडासहित साना व्यापारी भेला हुन्छन् । साँझपख यहाँको वातावरण खाजाको स्वाद, साथीसङ्गीको भेटघाट र चिया गफले भरिन्छ ।
यही भीडभाडका बेला धरान–१५ की अमृता श्रेष्ठ ठेला तानेर भानुचोक आइपुग्छिन् । उनले विगत १० वर्षदेखि यही चोकमा मःम, चाउमिन र अण्डा रोल बेच्दै आएकी छिन् । “दिनभर घरको काम सकेर साँझपख यही ठेलाबाट व्यापार गर्छु । यही मेहनतले जिन्दगी रमाइलो बनाएको छ”, अमृताले भनिन् । अनुभवले निखारिएको उहाँको हातले दिनमै सयौँ प्लेट मःम तयार पारिएको छ ।
कलेजबाट आउने विद्यार्थीदेखि अफिसबाट फर्कने कर्मचारीसम्म, साँझको खाजाका लागि उनको ठेला गन्तव्य बन्छ । पहिले ३०–३५ रुपैयाँमै मःम र चाउमिन बेचिन्थ्यो, अहिले बजार भाउअनुसार ७० रुपैयाँमा बिक्री हुने गरेको उनले बताइन् । उनले व्यापारका लागि भानुचोकको एउटै कुना रोजेकी छिन् । ठेलाबाट हुने आम्दानीले छोराछोरीको पढाइदेखि घरखर्चसम्म धानिरहेकी छिन् । “कहिलेकाहीँ व्यापार कमी–बेंसी हुन्छ, तर यो मःम ठेलाले दैनिक खर्च सहजै चलाउँछ”, उनले भनिन् ।
अमृता जस्तै पूर्णिमा मगर पनि हरेक साँझ भानुचोकमा मःम, चाउमिन र अण्डा, रोल बेच्दै आएकी छिन् । उनले यो व्यवसाय थालेको सात वर्ष भयो । महिला भएर साँझपख ठेला लिएर सडकमा निस्कनु सजिलो भने थिएन । “डर लाग्थ्यो, अप्ठ्यारो लाग्थ्यो । तर आजसम्म हिम्मत हारिन । अहिले त बानी परिसक्यो”, पूर्णिमाले भनिन् ।
उनले मःम बेच्नुअघि करिब चार वर्ष मकै पोल्ने र आलु चप बेच्ने काम गरेकी थिइन् । तर आम्दानी पर्याप्त नभएपछि मःमको व्यापार सुरु गरेको सुनाउँछिन् । उनी दिनभर घरमै सामग्री तयार पारेर साँझ ५ देखि ६ बजेसम्म भानुचोक आइपुग्छिन् । राति १० बजेसम्म भीडभाड रहन्छ । साँझपखको चिसो मौसम, एकै ठाउँ बसेर व्यापार गर्न पाउँदा रमाइलो लाग्छ । मानिस खाजा खान आउँछन् । त्योबेला भानुचोकको वातावरण नै बेग्लै हुन्छ, उनले सुनाइन् । व्यवसायबाट हुने आम्दानीले आर्थिक मात्र होइन, आत्मिक सन्तुष्टि र आत्मनिर्भरता पनि मिलेको उनको अनुभव छ ।
साँझपखको भानुचोक केबल व्यापारको केन्द्र मात्रै होइन, दिनभरको हतार, धुलो र कोलाहलबाट छुट्कारा पाउने स्थान पनि बनेको छ । चोकका कुनामा रहेका साना चिया पसल, फुटपाथमा राखिएका कुर्सीमा बसेर चटपटे, चाउमिन खाँदै गफ गर्नेको भिडले यसक्षेत्र साँझपख रमाइलो बनाउँछ । साँझपख ठेलाको चापसँगै ट्राफिक व्यवस्थापनमा चुनौती बढेको ट्राफिक प्रहरी बताउँछन् ।
सुनसरी ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार, बिहान यात्रुको भीड रहन्छ भने साँझतिर व्यापारी र ग्राहकको चाप अत्यधिक देखिन्छ । “साँझतिर ठूला सवारी कम भए पनि मोटरसाइकल र साना गाडीहरू जथाभावी पार्किङ गरिन्छ, जसले सडक साँघुरिन्छ र ट्राफिक व्यवस्थापनमा कठिनाइ हुन्छ”, उनले भने ।
उनका अनुसार साँझपख ठेला व्यवसायीको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने भएकाले वातावरण जीवन्त त बन्छ, तर ट्राफिकका पक्षमा चुनौती भने थपिन्छ । तर वडा कार्यालय र नगरपालिकासँग समन्वय गरी आवश्यक व्यवस्थापन गरिँदै आएको उनले जानकारी दिए । ट्राफिक प्रहरी प्रमुख थापाका अनुसार धरानको भानुचोक बिहानैदेखि साँझसम्म व्यस्त रहने क्षेत्र हो । बिहान यात्रुहरू गन्तव्यतर्फ हतारिँदै दौडिन्छन् भने साँझतिर व्यापार गर्ने व्यापारी र खाजाका लागि आउने ग्राहकहरूको चहलपहल बढ्ने गर्दछ । दुवै समयमा ट्राफिकको उपस्थिति अनिवार्य हुनेहुँदा सवारी व्यवस्थापन चुनौतीपूर्ण हुने गरेको उनको भनाइ छ । साँझपख साना सवारीसाधन जथाभावी पार्किङ गर्ने प्रवृत्तिका कारण ट्राफिक व्यवस्थापनमा थप अप्ठ्यारो हुने गरेको छ ।
धरानको भानुचोक साँझपख विशेष रूपमा जीवन्त देखिन्छ । दिनभरको गर्मी, कोलाहल, धुलो र हतारबाट थाकेका मानिसका लागि यो चोक साँझपख विश्राम र भेटघाटको थलो बन्ने गर्छ । सडक छेउका चिया पसल, फुटपाथमा राखिएका प्लास्टिकका कुर्सीमा बसेर मानिस चिया, चटपटे, मःम, चाउमिन खाँदै गफ गर्ने दृश्य सामान्य देखिन्छ ।
भानुचोक साँझतिर युवाहरूको जमघट हुने स्थलसमेत बनेको छ । कोही मोबाइलबाट भिडियो खिचिरहेका हुन्छन्, कोही फोटो लिँदै रमाइरहेका, त कोही कुनामा गीत गाएर मनोरञ्जन गरिरहेका दृश्य भेटिन्छ । साँझपखको झिलिमिली बत्तीले चोकको वातावरण अझै आकर्षक बनाउने गरेको छ । भानुचोक केबल व्यापारिक चहलपहलले भरिएको चोक मात्रै नभई ऐतिहासिक पक्ष बोकेको स्थान पनि हो । ७८ वर्षीय स्थानीयवासी मोहन श्रेष्ठका अनुसार, विगतमा भानुभक्त आचार्यको शालिक राखिएकै कारण यो चोकको नाम ‘भानुचोक’ रहन गएको उनले बताए ।
“अहिले पनि त्यही शालिक यथावत् छ । जनआन्दोलनका बेला नाराबाजी, विद्यार्थी र्याली, राजनीतिक तथा साहित्यिक गतिविधिका लागि यो चोक प्रमुख स्थल थियो”, श्रेष्ठले भने । उनका अनुसार पहिले भानुचोक आसपास सबै टिनका साना चिया पसल हुने गरेका थिए । त्यहीँ बसेर चिया पिउँदै राजनीतिक चर्चा गर्ने चलन थियो, उनले सम्झिए । त्योबेला ठेला भन्ने शब्द नै प्रचलनमा थिएन, तर अहिले साँझपख भने भानुचोक ठेलाको व्यापारले भरिन्छ ।
साँझपख जब बत्तीको उज्यालोले चोक उज्यालो हुन्छ, तब भानुचोक धरानको मुटु हो भन्ने अनुभूति हुन्छ । चोकको एक छेउमा रहेको घण्टाघर धरानको विशेषता मानिन्छ । साँझपख त्यहाँ बसेर रमिता हेर्ने, वरपरको दृश्य नियाल्ने धेरै भेटिन्छन् । धरान उपमहानगरपालिका–२ मा पर्ने भानुचोक सहरको केन्द्रविन्दुका रूपमा परिचित मानिन्छ । केही दशकअघि सुनसान देखिने यो स्थान अहिले सवारीसाधन र मानिसको चापले अत्यधिक व्यस्त विन्दुमा रूपान्तरण भएको छ ।
धरानमा लामो समयदेखि पत्रिका विक्रेताका रूपमा कार्यरत ७५ वर्षीय कृष्णभक्त श्रेष्ठका अनुसार पहिलेको तुलनामा भानुचोक पूर्ण रूपमा बदलिएको छ । पहिले चोक सुनसान हुन्थ्यो, अहिले भीड र चहलपहलले पुरानो स्वरूप हराउँदै गएको उनको भनाइ छ । श्रेष्ठका अनुसार २०४५ सालको विनाशकारी भूकम्पपछि हङ्कङ र मकाउमा रहेका नेपाली आप्रवासीको पहलमा रु ५६ लाख बराबरको लागतमा भानुचोक नजिकै घण्टाघर निर्माण गरिएको थियो । विसं २०४८ मा निर्माण सम्पन्न भएपछि चोकको स्वरूप परिवर्तन हुँदै गएको उनले बताए । “घण्टाघर बनेपछि चोकको जीवन्तता सुरु भयो । वरपर व्यापारिक गतिविधि बढ्न थाले र सहरको गतिको सङ्केत यहीँबाट पत्ता लाग्न थाल्यो”, श्रेष्ठ सुनाउँछन् ।
उनका अनुसार दैनिक हजारौँ मानिसको आवतजावत हुने यो चोक सहरका विभिन्न भागमा जाने सवारीका लागि केन्द्रका रुपमा मानिन्छ । पत्रिका बिक्रेताका रूपमा उनले भानुचोकको विगत र वर्तमान नजिकबाट नियाएका छन् । उनी भन्छिन्, “पहिले धेरैजसो पत्रिका लिएर धरानको छाताचोक कटेर जानुपथ्र्यो, अहिले भानुचोकमै ग्राहक भेटिन्छन् ।” “विकासले नछोएको जस्तो देखिने यो क्षेत्र अहिले धरानकै सबैभन्दा व्यस्त केन्द्र बनेको छ”, श्रेष्ठले बताए ।
उनका अनुसार आधुनिक व्यापारिक भवन, बैंक, खाद्य तथा लत्ताकपडाका पसलहरू, सहरी पूर्वाधार र घण्टाघरजस्ता संरचनाले भानुचोकलाई फरक पहिचान दिएको छ । धरानको चालचुल बुझ्नेले भानुचोक हेर्यो भने सहरको विकासको गति बुझ्न सकिन्छ । साँझपख परिवर्तित रूपमा देखिने भानुचोक अहिले साना व्यापारीका लागि राम्रो आम्दानीको गन्तव्य बनेको छ । साथीभाइसँग जमघट हुने र सस्तो खाजाको खोजीमा आउने सर्वसाधारणका लागि पनि यो स्थान सहज र आकर्षक केन्द्रका रूपमा विकास हुँदै गएको छ ।

राम थापा\रासस
३० साउन, काठमाडौं । लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘म त नराउरी..’ सार्वजनिक भएको दुई दिनमा नै युट्युबमा २० लाखभन्दा बढीपटक हेरिएको छ । तीज पर्वको छेको पारेर बुधबार सार्वजनिक भएको उक्त गीतमा १२ हजार बढीले प्रशंसायुक्त टिप्पणी गरेका छन् । तीज पर्वको परम्परा र मौलिकतालाई पछ्याएका कारण गायिका माझीको गीतलाई दर्शकस्रोताले रुचाएका हुन् । गत वर्ष पनि उहाँको तीज गीत ‘आइन आमा यो तीजमा…’ ले सार्वजनिक भएको दुई दिन नबित्दै युट्युबमा ३० लाख बढी ‘भ्यूज’ बटुलेको थियो ।
माझीले विगत दुई दशकयता बर्सेनि तीज गीत सार्वजनिक गर्दै आएकी छिन् । कतिपयले त विष्णु माझीको गीत आएपछि बल्ल तीज आएको आभास दिने गरेको टिप्पणीसमेत गर्छन् । तीजमात्र नभएर उनका हरेक लोकदोहोरी गीत सफल छन् । सुन्दरमणि अधिकारीको रचना र सङ्गीत रहेको गीत ‘म त नराउरी..’ मा लैङ्गिक असमानताले निम्ताएको नारी बेदनालाई उठान गरिएको छ । गीतमा कुनै बेला नेपाली समाजमा व्याप्त छोरा र छोरीबीचको विभेदको मर्मस्पर्शी कथा छ । गीतले भन्छ–
‘दाइ र भाइले पिपलगेडी खाको
मैले छाम्दा गोजी रित्तै भाको…’
गीतको म्युजिक भिडियोमा ललिता पौडेललगायत कलाकारको अभिनय रहेको छ । विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएकामा गायिका माझीको गीतले भने तीज गीतको मूल मर्मलाई पक्डेको छ । महिलाको संवेदना र मनोविज्ञान गीतमा मुखरित भएको छ । गीतमा मौलिकताको झझल्को छ ।
चर्चित गायक प्रकाश सपुतको रचना र सङ्गीतमा केही दिनअघि युट्युबमा सार्वजनिक तीज गीत ‘नाइँ भनेसी नाइँ…’लाई पनि हालसम्म झण्डै दश लाख पटक हेरिएको छ । गायिका समीक्षा अधिकारी र एलिना चौहानद्वारा स्वरबद्ध उक्त गीतमा पनि महिला अधिकार र सशक्तीकरणको मुद्दा उठाइएको छ । महिलामाथि हुने हिंसा र अत्याचारविरुद्ध सपुतले आफ्नो सृजनालाई केन्द्रित गर्नुभएको छ । गायक सपुतले यसअघि ल्याएको तीज गीत ‘बदला बरिलै..’ र ‘कुरा बुझ्न पर्छ..’ ले पनि चर्चा पाएको थियो ।
गायक पशुपति शर्मा र टीका पुनले गाएको तीज गीत ‘लाइटै बालेर हेर मायाले…’ लाई पनि दर्शक÷स्रोताले साथ दिएका छन् । चार साताअघि ‘पशुपति शर्मा’ युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतलाई हालसम्म १२ लाखभन्दा बढीपटक हेरिएको छ । गायक शर्माकै शब्द र सङ्गीतमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा पनि शर्मा र कलाकार कुञ्जना घिमिरेको अभिनय रहेको छ । गीतमा मायाप्रेमको विषय छ ।
तीज पर्व नजिकिँदै जाँदा यसरी नै युट्युबबाट तीज गीत सार्वजनिक भइरहेका छन् । बर्सेनि तीज आउँदा यस्ता गीत निकाल्ने लहरै चल्छ । तीजको याम सुरू भएपछि कलाकारले अरु विधाका गीतलाई थाँती राख्छन् । तीज गीतले सधैँ चलिरहने लोकदोहोरीलाई पनि ओझेलमा पारिदिन्छ । तीज आउन अब दुई सातामात्र बाँकी छ । तीज गीतले युट्युबमा प्रवेश पाएको भने गत असारदेखि नै हो ।
अनेक विषय, भाव र बान्कीका तीज गीतले पर्वमय माहोलको छनक दिएका छन् । अधिक गीतमा प्रेम र सौन्दर्यको चर्चा छ । कतै श्रीमान्श्रीमती त कहीँ प्रेमीप्रेमिका बीचको मायावी संवाद गीतमा सुन्न पाइन्छ । कतै महिला अधिकार र मुक्तिको आवाज मुखरित भइरहेको छभने कतै नारी बेदनाका स्वर गुञ्जिइरहेका छन् । मनछुने भाका, शब्द र सुरिलो गायकीले कतिपय तीज गीतलाई सरल र श्रुतिमय बनाएको छ । कतिपय गीत सृजनशीलता र मौलिकताको कसीमा औसत स्थानमा छन् ।
पर्व गीतको उपमा पाएको तीज गीतलाई कतिपय कलाकारले त्यसको मूल प्रवृत्तिबाट विमुख पारेको भन्दै चिन्ता पनि व्यक्त हुँदै आएको छ । पहिलेका तीज गीत घटनाप्रद, युग सुहाउँदो, चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे । खासगरी महिलाले तीज गीतलाई वर्षभरिका दुःख, पीरवेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे । महिला मुक्तिको आवाज पनि तीज गीतमा उठ्थ्यो ।
अहिलेका तीज गीतमा भने मायाप्रेमको मुद्दा बढी मुखरित भएको पाइन्छ । कलाकार भने आधुनिक समाज विकाससँगै मानवीय अभिरुचि र प्रविधिमा आएको फड्कोलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नभएको टिप्पणी गर्छन् । केही वर्षअघि तीज गीतलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले केही गायकगायिकालाई प्रतिबन्ध लगाउनेसम्मको अवस्था सृजना भएको थियो । गत वर्ष पनि दर्जन बढी तीज गीत विवादमा मुछिएका थिए । केही गायकगायिकाले त्यस किसिमका गीत गाएकामा क्षमासमेत माग्नुपरेको थियो ।
वरिष्ठ लोकगायिका हरिदेवी कोइराला तीज गीतमा महिलाले आफूले झेल्नुपरेका सामाजिक बन्धन, पारिवारिक अन्याय, अत्याचार आदि समेटिनुपर्ने मान्यता राख्छिन् । अन्धविश्वास र विसङ्गतपूर्ण व्यवहार तोडेर समानतामूलक समाज निर्माणका लागि तीज गीत सहयोगी बन्नुपर्ने उनको बुझाइ छ । पौराणिककालदेखि नै तीज पर्व र गीतको बयान हुँदै आएको भन्दै गायिका कोइरालाले तीज गीतले विशेषगरी महिला अधिकार र मुक्तिको आवाज मुखरित गर्नुपर्ने बताइन् ।

२८ साउन, मुस्ताङ । यहाँको मुक्तिनाथ विकास समितिले मुक्तिनाथ र यसक्षेत्रका धार्मिकस्थललाई दर्शनार्थी मैत्री पूर्वाधार निर्माण गर्न करिब रु चार करोड बजेट विनियोजन गरेको छ । समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मुक्तिनाथ, मुक्तिनाथ रानीपौवा बजार, कागबेनी र दामोदरकुण्ड धार्मिकस्थललगायतका क्षेत्रमा पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरिएको जानकारी दिए ।
विनियोजित बजेट समितिले सम्बन्धित स्थानीय तहसँग लागत साझेदारी गर्ने गरी कार्यान्वयन गर्ने अध्यक्ष भुुसालले बताए । कागबेनीधाममा नदी नियन्त्रण तथा श्राद्धस्थल निर्माणलगायतका लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकासँग रु एक करोड बजेट लागत साझेदारी गर्ने गरी विनियोजन गरेको समितिका कोषाध्यक्ष एवं वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए ।
दामोदरकुण्डमा सुविधायुक्त धर्मशाला र पदमार्गमा आवश्यकता अनुसार धर्मशाला र प्रतिक्षालयलगायतका पूर्वाधार निर्माण गर्न लोघेकर दामोदरकुण्ड गाउँपालिकासँग रु एक करोड बजेट लागत साझेदारी गर्ने गरी बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी मुक्तिनाथ प्रवेशद्वारबाट रानीपौवा बजारक्षेत्रमा छपनी ढुङ्गा विच्छ्याउन वारागुङ मुक्तिक्षेत्र र स्थानीय समुदायसँग लागत साझेदारी गर्ने गरी रु एक करोड २० लाख बजेट विनियोजन गरिएको छ । मुक्तिनाथ विकास समितिले लेक लाग्ने समस्याबाट बचाउन सूचनामूलक ‘ब्रोसर’ र केही थान ‘होर्डिङ बोडर्’ निर्माण गर्ने जनाएको छ । मुक्तिनाथ विकास समितिले आव २०८१\८२ मा भुक्तानी दिन बाँकी रकम २० लाख ६७ हजार ३२१ रूपैयाँ रहेको जनाएको छ । समितिले भौतिक व्यवस्थापन र दर्शनार्थीमैत्री पूर्वाधार निर्माणका लागि उक्त बजेट खर्च भएको र सोको भुक्तानी बुझाउन बाँकी रहेको उल्लेख गरेको छ ।
दश करोड बढी भेटी सङ्कलन
मुक्तिनाथ विकास समितिको खातामा रु १० करोड ३९ लाख ९८ हजार भेटी बापत्को रकम मौज्दात रहेको जनाइएको छ । भक्तजनले रसिद काटेको र नगद चढाएको भेटी गरी उक्त रकम जम्मा भएको हो । यहाँ मुक्तिनाथ विकास समितिको पाँच वटा बैंक तथा वित्तीय संस्थामा सात वटा खाता सञ्चालनमा छ । भारतीय तथा अन्य विदेशी पर्यटकले चढाएको विदेशी मुद्रा मालपोत कार्यायल र जिल्ला प्रहरी कार्यालयमा सुरक्षित राखिएको छ । विदेशी भक्तजनले चढाएको दान भेटी सहज रूपमा सटही हुन नसक्दा त्यसरी राखिएको हो ।
समितिका अनुसार विदेशी मुद्रा सटही हुन बाँकी रहेको अमेरिकी डलर ९१८, मलेसियन रिङ्गेट १५०, क्यानेडियन डलर १००, सिङ्गापुर डलर १५, अष्ट्रेलियन डलर २०० र भारतीय मुद्रा १७ लाख एक हजार ५४८ रूपैयाँ रहेको छ । यसैगरी यहाँ सटही हुन नसकेको भारतीय मुद्रा जिल्ला प्रहरी कार्यालयमा राखिएको समितिले जनाएको छ । मुक्तिनाथ विकास समितिले आव २०८१\८२ मा रु २२ लाख ६७ हजार ५८२ रूपैयाँ खर्च भएको जनाएको छ । उक्त खर्च कर्मचारीको तलब, कम्युटर तथा स्टेशनरी, कर दाखिलालगायत २१ शीर्षकमा भएको समितिले उल्लेख गरेको छ ।

२७ साउन, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पशुपति क्षेत्रमा मनाइने खड्ग जात्रा सोमबार साँझदेखि सुरु भएको छ । आज अपराह्न जयवागीश्वरीमा रोपाइँ जात्रा समापन भएसँगै खड्गजात्रा पनि सम्पन्न हुनेछ। असुरमाथिको विजयको प्रतीकका रुपमा यो जात्रा मनाइन्छ । परापूर्वकालमा युद्ध हुँदा नारीलाई मार्न हुन्न भन्ने मान्यता थियो । युद्धमा बाँचेका पुरुषले नारीको भेष धारण गरेका थिए ।

काठमाडौँ, २५ साउनः प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद ९राजदरबार० भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।
पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै २०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो । हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ । जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरालगायत नेवार समुदायका नागरिकको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हाँस्य कलाकारहरुले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

२४ साउन, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवित (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ । श्रावण महिनामा गरिने स्नान भएकाले यस पर्वलाई श्रावणी स्नान पनि भनिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन सुुरु गरिएको हो ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नाडीमा बाँधिदिएर यो पर्व मनाइएको छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेरिएको छ ।
आजको दिन सप्तऋषिहरू काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिने गरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । आजै मन्त्रिएको जनै फेर्ने गरिएकाले श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिएको गौतमले बताउनुभयो ।
वैदिक गुरु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोका रूपमा मानिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रूपमा पुजिन्छ । अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रूपमा लिइन्छ ।
आजका दिन ११ थरीका गेडागुडी मिसाई भिजाएर टुँसा उमारी क्वाँटी बनाएर खाने गरिन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ । नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइएको छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । राखी बाँध्ने परम्परा अहिले काठमाडौँ उपत्यका र पहाडी जिल्लामा पनि सुरु भएको छ ।
यस अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र ठमेलमा आज राखी बाँध्ने विशेष कार्यक्रम आयोजना गरिएको ब्रह्मकुमार रामसिंह ऐरले राससलाई जानकारी दिनुभयो । केन्द्रले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका अवसरमा राखी बाँध्ने विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ । कार्यक्रममा पूर्वमन्त्री, पूर्वसांसदलगायत समाजका विभिन्न क्षेत्रका महानुभावको सहभागिता रहेको उनले बताए । यस अवसरमा आज काठमाडौँको पशुपति, गोकर्णेश्वर, डोलेश्वर, सन्तानेश्वरलगायत शिवालय, उपत्यकाको उत्तर पूर्वी भेगस्थित मणिचुड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायत ताल, पोखरी र कुण्डहरूमा मेला लागेको छ ।
नेवारी समुदायले श्रावण शुक्ल पूर्णिमालाई गुन्हु पुन्हीका रूपमा मनाएका छन् । विशेषगरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एकथरी संस्कृतिविद्को छ । आजका दिन नेवारी समुदायका मानिसले घण्टाकर्ण राक्षसलाई समाप्त पार्न योगदान गरी मानवीयतालाई बचाउन सहयोग गरेको विश्वासमा भ्यागुतालाई पूजा गर्ने परम्परा रहिआएको छ । बौद्ध दर्शनलाई अँगाल्ने बौद्ध धर्मावलम्बीले भने आजको दिनलाई भगवान् गौतम बुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रूपमा मनाउने गर्दछन् । बौद्ध धर्मग्रन्थ ललितबिस्तरमा यससम्बन्धी विस्तृत व्याख्या गरिएको छ । यसैकारण आज स्वयम्भूमा पनि विशेष मेला लागेको छ ।

१७ साउन, काठमाडौं । वैदिकविधि अनुसार विदेशीमा रहेकाको ग्रहदशा कटाउन ज्योतिषीको सल्लाह अनुसार नेपालमा दैनिक यज्ञ सञ्चालन भइरहेको छ । दक्षिणकाली नगरपालिका–१ बोसनस्थित ब्रह्मानन्द सरस्वती ग्राममा एक दशकअघिदेखि यस्तो यज्ञ भइरहेको हो । नेपाल महर्षि फाउन्डेसन फर वैदिक कल्चरले विदेशबाट अनलाइन माध्यमबाट आउने अनुरोधको यज्ञ गराउँदै आइएको आज यहाँ आयोजित धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन)सँगको अन्तरक्रियामा जानकारी गराइएको हो ।
फाउन्डेसनको कार्यालय सिफलमा हुँदादेखि यस्तो यज्ञ आयोजना हुँदै आएकामा चम्पादेवीमा आफ्नै भवन निर्माण गरी सरेपछि पनि यसलाई निरन्तरता दिइएको संस्थाका अध्यक्ष एवं पूर्व गृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले जानकारी दिए । उनका अनुसार दुई महिनादेखि जर्मनीको शान्तिको सङ्कल्पले ५१ जना वैदिक पण्डितबाट यज्ञ गराइरहेको हो ।
आद्य शङ्कराचार्यले स्थापना गर्नुभएका चार मठमध्ये ज्योर्तिमठका शङ्कराचार्य ब्रह्मानन्द सरस्वतीका चेला महर्षि महेश योगीका जर्मनस्थित भक्तको सहयोगमा त्यहाँको शान्तिको सङ्कल्प गर्दै यज्ञ भइरहेको बाँस्कोटाले उल्लेख गरे । “यज्ञमा ५१ जना पण्डित दुई महिनादेखि पूजापाठ, जपलगायत कर्म गरिरहेका छन् भने अन्य विदेशीको पनि यज्ञ भइरहेको छ । ब्रह्मानन्द सरस्वती ग्राममा हाल १८१ पण्डितले यज्ञ गरिरहेका हुन्”, उनले भने ।
युरोप र अमेरिकाका महर्षिका अन्य भक्तले ज्योतिषीले दिएको सल्लाहअनुसार नेपाली पण्डितबाट यज्ञ हुँदै आएको जनाउँदै उहाँले यहाँ यज्ञ गर्ने पण्डितले बिहान नित्य कर्म सकेर भावातित् ध्यानपश्चात् यज्ञ गर्ने भएकाले यस्तो यज्ञ प्रभावकारी हुने वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको बताए । महर्षि महेश योगीले भावातित् ध्यान र यज्ञमा उच्चारण हुने वैदिक मन्त्रले कसरी प्रभाव पार्छ भनी वैज्ञानिक अनुसन्धान गराउनुभएको थियो । ब्रह्मानन्द सरस्वती ग्राम २६ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
यहाँ बनाइएका भवन एवं यज्ञशाला स्थापत्यवेदको वास्तुशास्त्रका ग्रन्थमा उल्लेख गरिएको नियम पालना गरी बनाएका वास्तुशास्त्री शिवप्रसाद पोखरेलले बताए । उनका अनुसार भौगोलिक वास्तु अनुसार पनि पूर्व र उत्तर भिरालो रहेको, पश्चिम र दक्षिणतर्फ अग्लो रहेको यो भूभाग पवित्र मानिने र यस्ता स्थलमा गरिएको यज्ञलगायत कर्म सफल हुने वास्तुशास्त्रीय ग्रन्थहरूमा वर्णन गरिएको छ ।
ग्राममा गौशाला पनि स्थापना गरी तीन वटा गाई पालिएको छ । यज्ञका लागि गाईको दूध, दही, घ्यू, गहुँत र गोबर यहाँ पालिएका गाईबाट प्राप्त हुने गरेको संस्थाका अध्यक्ष बाँस्कोटाले जानकारी दिए । उनका अनुसार गौशालासँगै फाउन्डेसनले १५ रोपनी जग्गा भाडामा लिएर वैदिक खेती पनि गरिरहेको छ । “जहाँ विषादी प्रयोग गरिँदैन । गाईको मल हाल्ने गरिएको छ । यहाँ उत्पादित तरकारी विषादीरहित हुन्छन्”, उनले भने ।
अन्तरक्रियामा फाउन्डेसनका अध्यक्ष बाँस्कोटाले धर्म, संस्कृतिलगायत सकारात्मक विषयको पत्रकारिता कम भइरहेका बेला स्थापना भएको विधागत पत्रकारको संस्था धार्मिक, सांस्कृतिक पत्रकार समाजले उदाहरणीय काम गरेर देखाउनुपर्नेमा जोड दिए । धार्मिक, सांस्कृतिक पत्रकारले शुद्धीकरण आफैँबाट गर्न नियमित बिहान, बेलुका ध्यान गर्नुपर्ने उनले सुझाव दिए । नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उमीद बागचन्दले अहिले समाजमा सकारात्मक पत्रकारिता आवश्कता रहेको बताउँदै त्यसको नेतृत्व धार्मिक, सांस्कृतिक विधाका पत्रकारले गर्नसक्ने धारणा राखे । यसका लागि ठूला सञ्चार गृहमा धार्मिक, सांस्कृतिक पत्रकारको संस्था पुग्नुपर्ने उनले सुझाव दिए ।

१५ साउन, काठमाडौं । टेलिभिजन कार्यक्रम ‘भद्रगोल’ र ‘सक्किगोनि’ निर्देशन गर्नुभएका अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा ‘झरीपछिको इन्द्रेणी’ नामक चलचित्र बन्ने भएको छ। आज खीर खाने दिनको अवसर पारेर ललितपुरको धन्तेरी बाराही मन्दिरमा उक्त चलचित्रको छायाङ्कन सुरु गरिएको छ ।
चलचित्रका निर्देशक एवं हास्यकलाकार घिमिरेले आम मानिसको भोगाइलाई चलचित्रमा देखाइने बताए । उनले भने, “एउटा घरपरिवारमा भइरहने घटनाक्रमलाई समेटेर चलचित्र तयार गर्दैछौँ । आफ्ना अग्रज एवं समकक्षीसँग मिलेर पहिलो चलचित्र बनाउँदै छु, हामीले देखिरहेका र सुनिरहेका तर नसोचिएको विषयलाई समेटेर चलचित्र निर्माण हुनेछ ।”
‘झरीपछिको इन्द्रेणी’ चलचित्रमा रमेश उप्रेती, दीपाश्री निरौला, गणेश उप्रेती, प्रियाना आचार्य (मुन्नी) लगायत कलाकारले अभिनय गर्ने भएका छन् । काठमाडौँ, ललितपुर र भक्तपुरमा छायाङ्कन हुने चलचित्रमा कुमार व्यञ्जनकार (कुमार बेन) ले कथा लेखन, अर्जुन घिमिरे र विशाल घिमिरेले पटकथा लेखन तथा बुद्ध थापाले छायाङ्कन गर्नुहुने छ ।

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा आज आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा प्रधानमन्त्री ओलीले सबै नेपालीले यस दिनमा खुसीका साथ खीर खाने वातावरण निर्माणमा लाग्न सबैसँग आग्रह गरे । उनले यस वर्ष तराई-मधेसमा सुक्खा लागेकाले राम्रो खेती हुन नसकेक्ने परिस्थिति सिर्जना भएको उल्लेख गर्दै देशको अन्नभण्डारका रुपमा रहेको तराई-मधेसमा सिँचाइको उचित प्रबन्ध गर्न सरकार लागिपरेको बताए ।
प्रधानमन्त्री ओलीले सुनकोसी मरिन डाइभर्सन, रानी जमरा कुलरिया, तमोरलगायतका आयोजना छिटो सक्न सम्बन्धित निकायलाई निर्देशन दिएको समेत जानकारी दिए । विभागका प्रमुख एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाली मौलिक सस्कृतिको जगेर्नाका लागि हरेक वर्ष ‘खीर खाने’ कार्यक्रम आयोजना गर्दै आएको बताए ।

१५ साउन, काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् ।
संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् । “साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ”, उनले भने ।
साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमको भनाइ छ । यसको कुनै शास्त्रीय वचन भने नरहेको उनले बताए । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाएर खुवाउने चलन अझै कायमै छ । ।
चामल, सावधाना, सेवई, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । सावधानलाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी, साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर पनि बनाएर खाने चलन छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ ।
नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने गरेको छ ।

१३ साउन, काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।
आजको दिन घरमा नागका चित्र टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्प लगायतका घस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा पूजा गर्नेहरुको घुइँचो छ । नागको पूजा गरी गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार प्रसादको रुपमा चढाउने र खाने गरिन्छ । वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने भएकाले ऋषिमुनिहरुले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ । नागपञ्चमीसँगै चाडबाडको याम सुरु हुन्छ ।

१२ साउन, काठमाडौं । गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन्। जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने रहेका छन् ।
गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण डुबेको हुनसक्ने आकलन गरिएको छ । बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पठाइसकिएको छ।

९ साउन, काठमाडौं । बौद्ध धर्मावलम्बीको एक महिने गुँला पर्व आजदेखि सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने यो पर्व नेपाल सम्वत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइन्छ । यो पर्व आगामी भदौ ८ गते समापन हुन्छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो, यसअर्थमा नेपाल संवत्को नवौँ महिनामा मनाइने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको संस्कृतिकर्मी बताउँछन् ।
यस पर्वको अवसरमा मुख्यगरी नौ बाजा बजाउने परम्परा छ । गुँला पर्व विशेषगरी बौद्धमार्गीहरुको पर्व भए तापनि गुँला पर्वमा अन्य धर्मावलम्बीहरु समेत सहभागी हुने गर्छन् । पर्वको अवसरमा नगरका बहाः, बही, चैत्यलगायत विभिन्न मठमन्दिरको परिक्रमा गर्ने प्रचलन छ । गुँला पर्वमा बौद्धमार्गीहरु दैनिक महाचैत्यको परिक्रमा गर्नुका साथै उपत्यकाका विभिन्न चैत्यहरुको परिक्रमा गर्छन् ।
यस पर्वको प्रमुख विशेषता न्याकुँ बाजा बजाउनु हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलन वृद्धि भएको छ । जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन, भैरव र अष्टमाट्रिकालगायतका देवीदेवताको समेत परिक्रमा गर्ने प्रचलन छ ।

७ साउन, काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा घण्टी गेट निर्माण गरिएको छ । मन्दिरमा भक्तजनहरूले चढाई पुराना भएका घण्टीलाई व्यवस्थापन गर्न घण्टी गेट निर्माण गरिएको हो । घण्टी गेट पाथीभरा मन्दिरको मूल गेटदेखि पाँच सय मिटर तल निर्माण गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । उनका अनुसार घण्टी गेटको उचाइ तीन मिटर र चौडाइ तीन मिटर रहेको छ ।
यस्तै मन्दिरको मूल गेटदेखि घण्टी गेटसम्म लस्करै घण्टीहरू झुन्ड्याइएको कार्यकारी निर्देशक हाङ्बाङको भनाइ छ । यस्तै मन्दिर क्षेत्रमा घण्टी र त्रिशूल पार्क समेत निर्माण गरिएको छ । घण्टीसँगै पुराना त्रिशूलहरुको पनि व्यवस्थापन गर्नका लागि घण्टी र त्रिशूल पार्क निर्माण गरेको हाङ्बाङले बताए ।
घण्टी गेटका लागि १० लाख, मन्दिरको मूल गेटदेखि घण्टी गेटसम्म घण्टी झुन्ड्याउन १० लाख र घण्टी त्रिशूल पार्कका लागि १० लाख गरी जम्मा ३० लाख रुपियाँको लागतमा उक्त कार्य सम्पन्न भएको छ । यस अघि मन्दिरमा भक्तजनहरूले चढाएको घण्टी लिलामीमा राख्ने कुराले निक्कै चर्चा पाउनुका साथै चौतर्फी आलोचना भएको थियो । त्यसपछि अहिले भक्तजनहरूले चढाएको पुराना घण्टी र त्रिशूलको व्यवस्थापनका लागि घण्टी गेटसँगै पार्क निर्माण गरिएको हो ।

५ साउन, काठमाडौं । साउनको पहिलो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको छ । पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटले सो जानकारी दिँदै दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्न सक्ने पूर्वानुमा गरी व्यवस्था मिलाएको बताए । साउन महिनाको सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन् । यसका लागि विश्व सम्पदा सूचीमा सूचिकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा बिहान तीन बजेदेखि नै भक्तजनको घुइँचो लागेको थियो ।
साउन महिनामा विशेष पूजाका लागि रु सात हजार ५०० भन्दा कमको टिकट नकाटिने कोषले जनाएको छ । साउने सोमबारका अवसरमा विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
भक्तजनका लागि मारवाडी समाजले निःशुल्क भोजनको व्यवस्था मिलाएको छ । यो व्यवस्था सोमबारबाहेकका दिन पनि निरन्तर हुनेछ । कोषले यस वर्षदेखि साउनको सोमबार पशुपतिनाथको दर्शन आउनेका लागि चक्रपथमा निःशुल्क बसको व्यवस्था गरेको छ । चक्रपथ परिक्रमा गरेर चार वटा बसले भक्तजनलाई सेवा दिने कोषले जनाएको छ । यो सेवा साउनका चार वटै सोमबार निरन्तर रहने जनाइएको छ ।