Category: मनोरञ्जन

  • ७ तस्वीरमा दशैं माहोल

    ७ तस्वीरमा दशैं माहोल

    ११ असोज, काठमाडौं । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज बिहानैदेखि देशका विभिन्न भागमा अवस्थित शक्तिपीठमा भक्तजनको भीड छ । साथै दसैँ घर वा पूजा कोठामा स्कन्दमाताको पूजा गरिएको छ । नवरात्रमा देवीको पूजाआराधना गरेमा मनोकामना पूरा हुने विश्वास छ । नवरात्रलाई शक्ति प्राप्तिका लागि साधना गर्न उत्तम समयका रुपमा लिइन्छ ।

    नवरात्रीको अवसरमा बर्दिबास–४ माइस्थानस्थित जिल्लाको प्रसिद्ध शक्तिपीठ पञ्चधुरा माईस्थानमा दर्शनार्थीहरु । तस्बिरः गोपालप्रसाद बराल\रासस

    काठमाडौँ उपत्यका तथन आसपासस्थित गुह्येश्वरी, भुवनेश्वरी, वत्सलेश्वरी र जयवागीश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, शनि, सङ्कटा, शोभाभगवती, विजेश्वरी, कङ्केश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, नक्साल भगवती, चामुण्डामाई, सुन्दरीमाई, इन्द्रायणी, वनदेवी, बज्रयोगिनीलगायत शक्तिपीठमा अहिले पनि भक्तजनको भीड छ ।

    दाङको घोराही उपमहानगरपालिका–१४, झिगौरामा लोकेन्द्र रोका मगरको परिवार बिक्रीका लागि सयपत्रि फूलको माला गाँस्दै । उहाँले सयपत्रिका फूलसँगै विभिन्न प्रजातिका फूलका बेर्ना पनि उत्पादन गर्दै आउनुभएको छ । तस्बिरः सुशीला ओली / रासस

    यसैगरी, नाला भगवती, चण्डेश्वरी, पलाञ्चोक भगवती, पाल्चोक भगवती, कमलामाई, रौतामाई, कालिञ्चोक, पाथीभरा, गहवामाई, मनकामना, इच्छाकामना, दन्तकाली, राजदेवी, छिन्नमस्ता, पाथीभरा, गढीमाई, शैलेश्वरी, विन्ध्यवासिनी, भुवनेश्वरी, सुपादेउराली, उग्रतारालगायत देवी मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् । यी शक्तिपीठलाई विशेष रुपमा सजाइएको छ । देशभर दशैंको माहोल यस्तो देखिएको छ ।

    दसैँका लागि शनिबार काठमाडौँ चाबहिल गणेशस्थानमा किनमेल गर्न आएका सर्वसाधारणको चहलपहल दृश्य ।तस्बिरः हरिराम भेटुवाल\रासस
    कृष्णपुर नगरपालिका–२ बाणीका थारु महिला लालझाडी वन क्षेत्रबाट टिपेका मालुका पात मुठा बाध्दै । दसैँंलगायतका चाडपर्वमा मालुका पातको दुना बनाई देवीदेउताको पूजाआजा गर्नमा र पाहुनालाई परिकार पस्कनमा प्रयोग गरिन्छ । मालुका पातको दुनालाई अति शुद्ध मानिन्छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरू\रासस
    मुस्ताङबाट बिक्रीका लागि बागलुङ बजारमा ल्याइएका च्याङ्ग्राका बथान । हरेक वर्ष दसैँका बेला व्यापारीहरुले सयौँको सङ्ख्यामा च्याङ्ग्रा ल्याउने गर्छन् । तस्बिरः डम्मर बुढामगर\ रासस
    दसैँ मनाउन घर जान शनिबार बिहान गोङ्गबुस्थित नयाँ बसपार्कमा टिकट लिन लामबद्ध यात्रुहरु । तस्बिर : हरिराम भेटुवाल / रासस
  • घटस्थापनापछि एक लाख ३८ हजार यात्रुले काठमाडौँ छाडे

    घटस्थापनापछि एक लाख ३८ हजार यात्रुले काठमाडौँ छाडे

    ९ असोज, काठमाडौं । घटस्थापना पछिका तीन दिनमा एक लाख ३८ हजार दुई सय ९६ यात्रुले काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते (घटस्थापना)का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४ र असोज ८ गते ५७ हजार ५५९ यात्रुले काठमाडौँ छाडेका हुन् ।

    कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरु दसैँ मनाउन घर जान थालेको जानकारी दिए । उनका अनुसार उक्त तथ्याङ्क थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट उक्त यात्रुहरु गन्तव्यस्थलमा गएकाहरुको हो ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले पानी परेका कारण राजमार्गमा पहिरो जाँदा सवारी साधनलाई आवतजावतमा समस्या परेको बताए । “मुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरो जाँदा घण्टौँसम्म सवारी साधन बाटोमा रोकिएका छन्, जसका कारण समयमै काठमाडौँमा बस नआउँदा यात्रुलाई गन्तव्यस्थलसम्म पठाउन समस्या भएको छ,”, अध्यक्ष स्वारले भने ।

    काठमाडौँ गोँगबुस्थित राष्ट्रिय बसपार्क नयाँ बसपार्कमासमेत दसैँमा घर जाने यात्रुको चाप बढ्न थालेको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले नयाँ बसपार्कबाट दैनिक ५०० बस बाहिरिन थालेको बताए ।


    उनले अरु समयमा दैनिक औसतमा दुई सय ५० बस बाहिरिए पनि अहिले उक्त सङ्ख्यामा वृद्धि भएको बताए । यात्रुको सहजताका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न सङ्घ संस्थाको सहकार्यमा काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

  • आश्विन शुक्ल चतुर्थी : आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    आश्विन शुक्ल चतुर्थी : आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    रासस
    ९ असोज, काठमाडौं । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको बताइन्छ । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

    श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा भनिएको छ,“कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा, अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कुष्माण्डाका रूपमा चिनिनुहुन्छ ।” नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । दोस्रो दिन मंगलबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको थियो ।

    बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै विश्वासका साथ वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजाआराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ मनाउँछन् ।

    दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

    नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्छ ।

    यसैगरी उपत्यकाबाहिर पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्छ ।

  • दसैँमा जमारा राखे अशुभ हुन्छ ठान्ने सीमान्तकृत समुदाय

    दसैँमा जमारा राखे अशुभ हुन्छ ठान्ने सीमान्तकृत समुदाय

    ९ असोज, गलकोट । बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्छ । जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङ्गाउने प्रचलन भए पनि बागलुङ नगरपालिका–१ रामरेखाको एक माझी समुदायमा भने अझै दसैँको चहलपहल छैन । घटस्थापनाको दिन राखेको जमरा विजयादशीको दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन भए पनि जमारा नराखी माझी समुदायले दसैँ मनाउने गरेका छन् । जमराबिना दसँै मनाउने अनौठो परम्परालाई यहाँका माझी समुदायले वषौँदेखि निरन्तरता दिँदै आएका छन् ।

    जमरा राखे नराम्रो घटना घट्ने भन्दै दुई पुस्ताभन्दा पहिलेदेखि जमरा नराखी नै दसैँ मनाउँदै आएको माझी समुदायका अगुवाहरूले बताउने गरेका छन् । घरमा जमरा राखे दसैँ नै अशुभ हुने परम्परागत मान्यतका आधारमा जमरा नराखी दसैँ मनाउने गरेको स्थानीय देउकुमारी माझीले बताइन् । पिता पुर्खाले भनेअनुसार अनिष्ट हुने खतरा टार्नका लागि दसैँमा जमरा नराख्ने गरिएको उनको भनाइ छ । करिब डेढ सय वर्षअघिसम्म जमरा राखे पनि पछि अनिष्ट हुन थालेपछि जमरा राख्न छोडिएको भन्ने गरिएको माझीले बताइन् ।


    यो समुदायमा जमरा राखेपछि घरकी कन्याको मृत्यु भएको किंवदन्तीअनुसार जमरा राख्न छोडिएको बताइन्छ । यहाँको खनियाबास र मालढुङ्गामा बस्ने माझीहरूले घरमा जमरा नराखे पनि नजिकको मन्दिरबाट जमरा लगेर दसैँ भने मनाउँदै आएका छन् । “जमरा राख्दा घरकी कन्याको मृत्यु भएको र जमरा नराख्दा मृत्यु हुन छोडेको किंवदन्तीअनुसार जमरा राख्ने चलन छोडिएको बताइन्छ, तर दसैँ भने मनाउँदै आएका छौँ”, माझीले भनिन् ।


    स्थानीय कृष्ण माझीले जमरा नराख्ने चलनमा यहाँका समुदायको साझा सहमति रहेको बताए । जमरा राखेपछि लगातार छोरीचेलीको मृत्यु भएर दसैँ रोकिएकाले जमरा राख्न छोडिएको हो भनेर पुर्खाहरूले भन्दै आएकाले पछिल्लो पुस्ताले पनि त्यसलाई निरन्तरता दिएको उनले सुनाए । खनियाबास र मालढुङ्गामा माझी समुदायका २० परिवारको बसोबास छ । पुर्खौंदेखि कालीगण्डकी नदीमा माछा मार्ने, डुङ्गा खियाउने र बालुवा निकालेर गर्जो टार्दै आएका यहाँका माझीहरूले पछिल्लो समय पेसा परिवर्तन गर्दै आएका छन् ।

  • आज दसैंको तेस्रो दिन : चन्द्रघण्टा देवीको साधना गरिँदै

    आज दसैंको तेस्रो दिन : चन्द्रघण्टा देवीको साधना गरिँदै

    ८ असोज, काठमाडौं । बडा दसैँ एवं नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
    नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका धर्मशास्त्र विषयका पूर्वप्राध्यापक तोयराज नेपालले जानकारी दिए ।


    मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ, उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्नुहुन्छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।

    चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताए । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवं करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने पनि उनले सुनाए ।


    नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवीभागवत लगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर बिताउँछन् ।

    घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन मङ्गलबार पूजा स्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदै छ ।

    नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व मनाउँछन् ।

    दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भीड लाग्छ । बडा दसैँका बाहेक पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवीको विशेष रुपमा आराधना गर्न मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।

  • धवलागिरि आरोहण गर्न २४ जनाले अनुमति लिए

    धवलागिरि आरोहण गर्न २४ जनाले अनुमति लिए

    ७ असोज, म्याग्दी । सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ ९आठ हजार १६७ मिटर० अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । पर्यटन विभागका अनुसार धवलागिरि आरोहणको अनुमति लिएकाबाट रु ५० लाख ७१ हजार सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ ।

    शरदयाममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले प्रतिआरोही नौ सय डलर सलामी दस्तुर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ । विभागले पछिल्लोपटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार गोरखामा रहेको ९आठ हजार १६३ मिटर अग्लो० मनास्लु हिमाल आरोहणका लागि तीन सय ७४ जनाले अनुमति लिएका छन् ।

    शरदयामका आरोहीहरूको रोजाइमा मनास्लु हिमाल पर्ने गरेको छ । आरोहण अनुमति लिनेको सङ्ख्यामा धवलागिरि दोस्रो स्थानमा रहेको छ । आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहेका धवलागिरि–४ का वडासदस्य हरिप्रसाद तिलिजाले बताउनुभयो । यसपालि आरोहण टोली मुस्ताङको मार्फादेखि याकखर्क हुँदै आधार शिविरतर्फ गएका छन् । धवलागिरि गाउँपालिकाको मुदी बगर हुँदै जाने पदमार्ग बिग्रिएको, घुमाउरो र टाढा पर्ने भएकाले मुस्ताङको पदमार्ग प्रयोग गरेर गएका हुन् ।

    गत वसन्तयाममा दुई समूहका १५ जनाले आरोहण अनुमति लिएबापत रु ३६ लाख ९१ हजार राजस्व सङ्कलन भएको थियो । सन् २०२४ को शरदयाममा एउटा समूहका १४ पुरुष पर्वतारोहीले आरोहणको अनुमति लिएकामा रुसका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो । छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणका लागि चुनौती बन्ने गर्छ ।

    अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरि हिमालको सफल आरोहण गर्नुभएको थियो । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए ।

  • दसैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

    दसैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

    ७ असोज, काठमाडौं । आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

    नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त धार्मिक विश्वास रहिआएको छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

    संसारका मुमुक्षु प्राणीलाई सच्चिदाननद रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो हुने गर्दछ । सोमबारदेखि नै देशभरका शक्तिपीठमा भक्तजनको विशेष चहलपहल सुरु भइसकेको छ ।

  • पशुपतिमा नवरात्री महोत्सव

    पशुपतिमा नवरात्री महोत्सव

    ७ असोज, काठमाडौं । बडादसैँका अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ नवरात्री महामहोत्सव’सुरु भएको छ । श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज १६ सम्म सञ्चालन हुनेछ । महोत्सवमा देवी भागवत प्रवचन गरिनेछ । उक्त महोत्सवको उद्घाटन गर्दै परिषद्का अध्यक्ष रामशोभित नायकले पशुपति क्षेत्रलाई धार्मिक तीर्थाटानका माध्यमबाट धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । उनले धार्मिक सहिष्णुता अभिवृद्धि गर्न पनि महोत्सव उपयोगी हुने विश्वास व्यक्त गरे ।


    यसअघि गुहेश्वरीबाट बागमतीसम्म कलशयात्र गरिएको थियो । उद्घाटनका अवसरमा महाआरती विशेष गरिएको थियो । प्रत्येक दिन दुर्गा माताको प्रवचन, तथा भजनकृतन गरिनेछ । यसैगरी, घटस्थापना सुरु भएसँगै देशभरिका नवदुर्गा भगवतीका मन्दिरलाई रङरोगनसहित झिलीमिली बनाइन थालिएको छ । अहिले सहर, बजारदेखि गाउँघरमा दसैँका लागि भन्दै घर पोत्ने र मन्दिर क्षेत्रमा सरसफाइ गर्ने कार्य तीव्र रूपमा अगाडि बढाइएको छ ।

    यसै सिलसिलामा सोमबार घटस्थापनाको दिन काठमाडौँको मैतिदेवी मन्दिरलाई विभिन्न किसिमका झिलीमिली बत्तीले सजाइएको छ । मन्दिर र सो क्षेत्रलाई झकिझकाउ बनाइएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वमा यहाँ नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरिन्छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई ‘बध’ गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।

    नवरात्रको अन्तिम दिन पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

  • गोरखा दरबारको दसैँघरमा जमरा राखियो

    गोरखा दरबारको दसैँघरमा जमरा राखियो

    ६ असोज, गोरखा । गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । वडादसैँ अर्थात् नवरात्रको पहिलो दिन घटस्थापना पर्वका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका मन्दिर, गोरखनाथ मन्दिर र उपल्लो दरबारमा बिहान ९ बजेर १३ मिनेटको शुभसाइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए । परम्परा अनुसार आज बिहान कैलास कोठाबाट देवी भगवतीलाई मूलदरबारको गर्भगृह (पूजा कोठा) मा राखेपछि लगत्तै पानी घडा थापेर त्यसैको शुभसाइतमा जमरा राखिएको उनले बताए ।


    ‘‘कैलास कोठामा देवीलाई राखेपछि बिहानको शुभसाइतमा विधिपूर्वक घटस्थापना अर्थात जमरा राखिएको हो, उहाँले भन्नुभयो, ‘‘जमरा राख्ने तयारीका लागि त्यसअघि नै कालिका मन्दिरको पटाङगिनीमा देवीको पूजामा प्रयोग हुने भाँडावर्तन माझ्ने तथा शैलपुत्रीको पूजाका लागि आवश्यक सामाग्री तयार पार्ने काम गरिन्छ ।’’

    गोरखा दरबारको दसैँघर र कालिका मन्दिरमा एक–एक पाथीका दरले जौँको जमरा राखिएको उनले बताए । त्यस्तै गोरखनाथ मन्दिरमा चार माना तथा उपल्लो कोट र तल्लो कोटमा एक–एक मानाका दरले जमरा राखिएको मूलपूजारी भट्टराईले बताए । घटस्थापनाका दिन गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दूधर्मालम्बीले घर–घरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ । प्रतिपदा सुरु भएसँगै आजदेखि कालिका मन्दिरमा नियमित रुपमा बलि दिने प्रचलनसमेत रहेको छ ।

    त्यस्तै गोरखाको अर्को प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि आज बिहानको शुभसाइतमा जमरा राखिएको मन्दिरका मूलपूजारी इन्सान थापाले जानकारी दिए । घटस्थापनाका दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउँदा शुभ हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

  • शक्तिपीठमा दर्शनार्थीकोे घुइँचो

    शक्तिपीठमा दर्शनार्थीकोे घुइँचो

    ६ असोज, काठमाडौं । नवरात्रको पहिलो दिन आज नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलोदेवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दैछन् । घरको पूजा कोठा वा दसैँघरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ ।

    दसैँ पर्वको पहिलो दिन घटनस्थापनाका अवसरमा सोमबार बिहान काठमाडौँ महानगरपालिका १५ शोभाभगवतीमा पूजाअर्चना तथा दर्शन गर्दै भक्तजन । तस्बिर :हरिराम भेटुवाल / रासस

    नवदुर्गामध्येकी पहिलोदेवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो । गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराणआदि ग्रन्थमा उल्लेख गरिएको छ । शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रुपमा पूजाआराधना गरिन्छ ।

    दसैँको घटनस्थापनाका अवसरमा सोमबार बिहान काठमाडौँ महानगरपालिका-१५ शोभाभगवती मन्दिरमा धूपबत्ती बाल्दै भक्तजन । तस्बिर :हरिराम भेटुवाल / रासस

    हिमालयको तपस्या र प्रार्थनाले शैलपुत्रीदेवी प्रसन्न भएर उहाँको पुत्रीका रुपमा उत्पन्न भएको पनि विभिन्न पुराणमा उल्लेख गरिएको छ । आज घटस्थापनासँगै काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ ।

  • दुर्गा पक्ष सुरु : बडादशैंको रौनक, आज घरघरमा घटस्थापना गरिँदै

    दुर्गा पक्ष सुरु : बडादशैंको रौनक, आज घरघरमा घटस्थापना गरिँदै

    पूर्णप्रसाद मिश्र\रासस

    ६ असोज, काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दशैं आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसँै घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

    आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।

    जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रूपमा समेत प्रयोग गरिन्छ ।

    घटस्थापनाको साइत ०९ : १३ बजे
    आजैका दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको साइत बिहान ०९ः१३ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए ।


    दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

    दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

    नौ दिन नौ दुर्गाको पूजा
    यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भन्ने गरिन्छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दशैं पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

    दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष ।माथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् ।

    नवरात्रभर दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो समेत हुनेगर्छ ।

    विजयादशमीको साइत असोज १६ गते बिहान ११ : ५३ बजे
    नवरात्र भनेरसमेत चिनिने दसँै नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष १० रात र ११ दिनको हुन पुगेको छ । तिथिको घटबढका कारण यस्तो परेकाले यस्तो अवस्थामा खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको समितिका पूर्वअध्यक्ष प्राश्रीकृष्ण अधिकारीले बताए ।
    आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र पूmलप्रसाद ग्रहण गर्ने गरिन्छ ।

    असोज १६ गते देवी विसर्जनको साइत बिहान ०९ : २३ बजे रहेको समितिले जनाएको छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ : ५३ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाइ धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।

    Source : Hamro patro

    हनुमानढोकाको दशैं घरमा विशेष पूजा
    परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसँै घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । आज बिहान वैदिक विधिपूर्वक समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले बताए । दशैं घरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ ।

    रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दशैंको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादशैं लाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ । धेरैजसो शैक्षिक संस्थाले दशैंका अवसरमा आजैदेखि बिदा दिने गरेका छन् ।

  • यस्तो छ विभिन्न देशका लागि दसैँको टीका लगाउने साइत, अमेरिकाको कुन शहरमा कति बजे ?

    यस्तो छ विभिन्न देशका लागि दसैँको टीका लगाउने साइत, अमेरिकाको कुन शहरमा कति बजे ?

    ४ असोज, काठमाडौं । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिको आज यहाँ बसेको बैठकबाट विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिए । विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूबाट दसैँ टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको स्थानीयमानअनुसार सम्बन्धित देशको स्थानीय समयअनुसार शुभ साइत सार्वजनिक गरिएको उनले बताए ।


    समितिले नेपालका लागि असोज १६ गते बिहान ११ः५३ बजे, दिल्ली, भारतका लागि सोही दिन अर्थात् २ अक्टोबरका दिन ११ः४९, न्युयोर्क अमेरिकाका लागि अक्टोबर १ का दिन बिहान ११ः२५, फ्र्याङ्कर्फट केन्टुकी अमेरिकाका लागि बिहान ११ः५७, वोवेन्स्वोरो केण्टुकी अमेरिकाका लागि अक्टोबर ११ः०५, टेक्सासका लागि अक्टोबार ११ः३३, वासिङ्गटन डिसीका लागि ११ः३५, क्यालिफोर्नियाका लागि बिहान ११ः११, कोलोराडोका लागि ११ः२९ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिए ।

    यसैगरी, टोरेण्टो क्यानडाका लागि १ अक्टोबरका दिन बिहान ११ः५५, भ्यानकुभरका लागि ११ः३३, टोकियो जापानका लागि २ अक्टोबरका दिन बिहान ११ः३१, सिड्नी अष्ट्रेलियाका लागि २ अक्टोबरका दिन बिहान ११ः४३, मेलबर्न अष्ट्रेलियाका लागि सोही दिन बिहान ११ः१९, व्रीसवेन अष्ट्रेलियाका लागि बिहान ११ः५३, एडिलेटका लागि ११ः३५, क्यानबेराका लागि ११ः५१, तास्मानियाका लागि ११ः४५, पर्थका लागि ११ः२५ र डार्बिन अष्ट्रेलियाका लागि बिहान ११ः४७ बजेको साइत शुभ रहेको छ ।

    यस्तै, बेलिङ्गटन न्यूजिल्यान्डका लागि २ अक्टोबरका दिन बिहान ११ः२३, लिस्बन पोर्चुगलका लागि सोही दिन बिहान ०९ः२३, लण्डन बेलायतका लागि बिहान ०९ः१७, पेरिस, फ्रान्सका लागि बिहान ०९ः५७, नर्वेको ओस्लोका लागि बिहान १०ः०३, क्वालालम्पुर मलेसियाका लागि बिहान ११ः११, अवुधावी युएइका लागि बिहान १०ः५५, दोहा कतारका लागि बिहान १०ः१३, बैंकक थाइल्याण्डका लागि बिहान १०ः४५, सियोल दक्षिण कोरियाका लागि बिहान १०ः५७, तेल अभिभ इजरायलका लागि बिहान ११ः३५ बजे टिका तोकिएको छ ।

    सिङ्गापुरका लागि बिहान ११ः०९, हङ्गकङ्गका लागि बिहान ११ः४५, साउदी अरेबियाका लागि बिहान १०ः५५, याङ्गून म्यानमारका लागि बिहान १०ः२७, जेनेभा स्विट्जरल्याण्डका लागि बिहान १०ः२५ र माल्टाका लागि बिहान १०ः५५ बजेको साइत स्थानीय समय अनुसार शुभ रहेकाले प्रकाशन गरिएको समितिका उपसभापति प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

  • अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

    अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

    २ असोज, काठमाडौं । ‘द एकेडेमी अफ् मोसन पिक्चर आट्र्स एन्ड साइन्सेस् (अस्कर अवार्ड)’मा नेपालको प्रतिनिधित्व चलचित्र ‘अञ्जिला’ले गर्नेभएको छ । नेपालस्थित अन्तरराष्ट्रिय फिचर चलचित्र छनोट समितिले संयुक्त राज्य अमेरिकामा आयोजना हुने ९८औँ ‘अस्कर अवार्ड’ अन्तर्गत ‘अन्तरराष्ट्रिय फिचर फिल्म’ विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको जानकारी दिएको छ । छनोट समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु, कलात्मकता र त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए ।


    उनले भने, “चलचित्रको गहन मूल्याङ्कनपछि प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखेर हामीले सो चलचित्रलाई छनोट गरेका हौँ ।” चलचित्र ‘अञ्जिला’ नेपाली महिला फुटवल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । खेलाडी सुब्बाले नै अभिनय गर्नुभएको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् । उक्त चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले खेलाडीको विषयमा बनेको चलचित्रले नेपालमा प्रतिनिधित्व गर्नु गौरवको विषय रहेको बताए ।


    “नेपालले खेलमा राम्रो प्रगति गरिरहेको छ, सोही कारण हामीले खेलाडी सुब्बाको जीवनी र सङ्घर्षलाई समेटेर चलचित्र तयार गरेका हौँ । यसले नेपालको सुन्दरतासँगै महिला खेलाडीको सङ्घर्षपूर्ण यात्रा र सफलताको कथा समेटेको छ । यो अन्यका लागि प्रेरणा पनि बन्ने छ”, निर्माता श्रेष्ठले भने । चलचित्र ‘अञ्जिला’मा खेलाडी सुब्बासँगै दयाहाङ राई, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धी तामाङलगायतका कलाकारले अभिनय गरेका छन् । निर्माण पक्षका अनुसार गत वर्ष नेपालमा प्रदर्शन भएको सो चलचित्रले रु नौ करोडको हाराहारीमा व्यापार गर्न सफल भएको थियो ।

  • सेवा र उत्पादन वृद्धिसँगै श्रीलङ्कामा रोजगारी वृद्धि

    सेवा र उत्पादन वृद्धिसँगै श्रीलङ्कामा रोजगारी वृद्धि

    एजेन्सी
    १ असोज, कोलम्बो । सेवा र निर्माण क्षेत्रले भर्तीलाई निरन्तरता दिँदा अगस्ट महिनामा श्रीलङ्कामा रोजगारी वृद्धि भएको छ । यो तथ्याङ्क श्रीलङ्का सेन्ट्रल बैंकले सङ्कलन गरेको पछिल्लो खरिद प्रबन्धक सूचकाङ्क (पिएमआई) मा सार्वजनिक गरिएको हो । सेवा क्षेत्रको पीिएमआई अगस्टमा ६८.९ मा पुगेको छ । यसले सेवा गतिविधिमा बलियो विस्तार भएको सङ्केत गर्दछ । यस विस्तारलाई उच्च सङ्ख्यामा बढेका पर्यटक आगमनसँग जोडिएको थोक तथा खुद्रा व्यापार, व्यक्तिगत सेवाहरू, आवास, खाना र पेय सेवाहरूको उत्कृष्ट प्रदर्शनले टेवा दिएको हो । साथै, ऋण दिने गतिविधि बढेकाले वित्तीय सेवासम्बन्धी व्यवसायिक क्रियाकलाप पनि सुधारिएको देखिन्छ ।

    उत्पादन क्षेत्रको पिएमआई भने अगस्टमा ५५.२ मा पुगेको छ । यसले अघिल्लो महिनाभन्दा केही सुस्त दरमा भए पनि उत्पादन गतिविधि विस्तार भएको जनाउँछ । नयाँ अर्डर र उत्पादन मुख्यतया खाद्य तथा पेय पदार्थ निर्माण क्षेत्रको बलियो प्रदर्शनकै कारण बढेको हो । खरिदको स्टक पनि नयाँ अर्डर र उत्पादनसँगै विस्तार भएको तथ्याङ्कले देखाएको छ । पिएमआईले आगामी तीन महिनामा उत्पादन गतिविधि सकारात्मक रहने अपेक्षा जनाएको छ । यो विशेषगरी वर्षको अन्त्यतिर हुने मौसमी मागका कारण थप सुदृढ हुने अनुमान गरिएको छ ।

  • आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै, के छ महत्व ?

    आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै, के छ महत्व ?

    १ असोज, काठमाडौं । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएकोे हो । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी बिहीबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।

    आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् ।


    प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।


    यही सम्झनामा नेपालका कालीगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारीसाधनमा समेत पूजा आराधना गरिन्छ । वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा मनाउने गर्छन् । पछिल्लो समय नेपालमा वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ ।

    चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्तप्राय : भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या बढ्न थालेको छ । यसैले गर्दा अहिले वास्तु विद्याको महत्व बढेको छ ।

  • विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

    विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

    ३१ भदौ, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको साइत सार्वजनिक गरेको छ । असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे बडादसैँको टीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिए । यस वर्षको बडादसैँ असोज ६ गतेदेखि सुरु हुँदैछ ।

    असोज ६ गते बिहान ०९ः१३ बजे घटस्थापनाको शुभ साइत रहेको उनले बताए । असोज १३ गते सोमबार फूलपाती, असोज १४ गते मङ्गलबार महाअष्टमी र कालरात्रि परेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । असोज १५ गते बुधबार महानवमी र असोज १६ गते बिहीबार विजयादशमी परेको छ । असोज २० गते सोमबार सबै बलि दिइसक्नुपर्ने (अखिलबलिपूर्ति) र त्यसै दिन कोजाग्रत पूर्णिमा परेको समितिका सदस्य लक्ष्मण पन्थीले जानकारी दिए ।

  • जितियाको निराहार व्रत आज

    जितियाको निराहार व्रत आज

    २९ भदौ, महोत्तरी । सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला क्षेत्रका आमाहरूले आज जितिया पर्वको व्रत सुरु गरेका छन् ।
    शनिबार बिहान पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प गर्दै मध्यरातपूर्व ‘ओगटन’ ९दर० खाएसँगै सन्तानवती मिथिलानी (मिथिलाका नारी)ले निराहार व्रत सुरु गरेका हुन् । पितृपक्ष पनि भनिने असोज कृष्णपक्षको अष्टमी तिथिमा यो व्रतको परम्परा छ ।

    शनिबार मध्यरातपछि तत्काल अष्टमी तिथि नलागे पनि व्रतको दिन सुरु भएको हुँदा मिथिलानीले ‘ओगटन’ पछि उपवास सुरु गर्नुपरेको हो । अष्टमी तिथि आज बिहान ८ः४४ बजेदेखि सुरु हुने भए पनि व्रत भने शनिबार मध्यरातपछि सुरु भएको बर्दिबास–२ ॐ शान्तिचोककी बर्तालु नगिनादेवी महतोको भनाइ छ ।


    यो निराहार व्रत भोलि सोमबार बिहान ७ः०० बजेपछि समापन गर्न सकिने मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गमा उल्लेख छ । मिथिला क्षेत्रमा चाडपर्व, शुभकार्य र पितृकार्यसहितका सबै धार्मिक अनुष्ठान यिनै दुई पात्रोका आधारमा गरिने परम्परा छ । जितियाको व्रत समापन एक अहोरात्र कटेपछि नवमी तिथि एक घडी बिताएर गरिन पर्ने व्रत विधान रहेको बर्दिबास–२ का मैथिल कर्मकाण्डका ज्ञाता पण्डित दिनेशकुमार झा बताउँछन् ।


    पितृपक्ष (सोह्रश्राद्ध) मा पर्ने यस पर्वमा बर्तालुले सप्तमी तिथिका दिन पवित्र स्नान गरी पितृको स्मरण गर्दै व्रत सङ्कल्प गरेर चोखोनीतो खाने चलन छ । सोही दिन बर्तालुले पवित्र जलाशयमा नुहाएर सूर्यदेवलाई तोरीको तेल, पिना र आँपको अचार अघ्र्यस्वरुप चढाउँछन् ।

    योसँगै बर्तालुले दिवङ्गत सासू, बूढीसासू, ज्यामै सासू र जेठानी÷देवरानी र मातृकूललाई स्मरण गर्दै व्र्रत पूरा गर्न आशिष र आफ्ना सन्तानको कल्याणका लागि पुकारा गर्छन् । सोह्रश्राद्धमा छोराहरूले आफ्ना पितृलाई तर्पण र पिण्ड दिएर सम्झना गरेजस्तै जितियाका बर्तालुले तीन पुस्ताभित्रका दिवङ्गगत आफन्त महिलालाई तर्पण दिन्छन् । सोही दिन राति ‘ओगटन’ खाएपछि व्रत सुरु गरिन्छ ।

    पर्वको मुख्य दिन आज सबै बर्तालु राजा जिमुतवाहनको कथा सुन्दै छन् । अघि द्वापर युगमा भारत वर्षको नर्वदा नदी तटीय प्रदेशका राजा शालीवाहनका पुत्र देवदूत जिमुतवाहनले असोज कृष्ण अष्टमीकै दिन एक बिधवा ब्राह्मणीका सात भाइ मरेका छोरालाई ब्यँुताएका कथाका आधारमा सन्तानको कल्याणका लागि यो व्रत परम्परा थालिएको मैथिल जनविश्वास छ । यो व्रतबारे भविष्य पुराणमा वर्णन छ । निष्ठा र श्रद्धापूर्वक गरिने जितिया व्रतको प्रभावले सन्तानको कल्याण हुनेसँगै आमाहरूलाई सन्तानले अत्यन्त सुख दिने विश्वास गरिन्छ ।

  • मिथिलामा भदौ पूर्णिमाकै दिन पितृपक्ष सुरु

    मिथिलामा भदौ पूर्णिमाकै दिन पितृपक्ष सुरु

    २२ भदौ, महोत्तरी । भाद्र पूर्णिमाकै दिन यहाँ पितृपक्ष सुरु भएको छ । असोज कृष्णपक्षलाई पितृपक्ष मानिए पनि भाद्र पूर्णिमाकै दिन देवर्षि पितृ तर्पण दिइने परम्पराअनुसार आज नै पितृपक्षको पूर्वविधि देवतर्पणबाट सुरु भएको हो । “मैथिल परम्परामा भाद्र शुक्ल चतुर्दशीकै दिन ‘नौकेश’ (हातगोडाका नङ र कपाल काट्ने विधि) गरेर पितृपक्षमा कूलदेवता, ग्रामदेवता र देवर्षिहरूलाई पहिलो आमन्त्रणा गरी भाद्र पूर्णिमाकै दिन तर्पण दिइन्छ”, महोत्तरीको बर्दिबास–२ का पण्डित महेशकुमार झा भन्छन्, “देवर्षि पितृ तर्पणसँगै पितृपक्ष सुरु भएको मानिने मैथिल परम्परा छ ।” आज कूलदेवता, ग्राम देवता र देवर्षिलाई आमन्त्रण गरी तर्पण दिइएपछि भोलि असोज कृष्णपक्ष प्रतिपदादेखि पक्षभरि आफ्ना दिवङ्गत स्वजनलाई तर्पण दिइनेछ ।

    पितृपक्षमा दिवङ्गत पितृको दुई प्रकारका श्राद्ध विधान छ । पितृपक्षबाहेकका तिथिमा दिवङ्गत भई पहिलो वार्षिकी गरिएका पितृको सम्झनामा यसपक्षमा ‘पार्वण’ श्राद्ध गरिन्छ । यस्तो श्राद्धमा आफ्ना घरका तीन पुस्ता, मावली तीन पुस्ता, अन्य परिवारभित्रका आफन्त र गायत्री गुरुलाई समेत पिण्ड दिइने परम्परा छ । यसलाई महालय श्राद्ध पनि भनिन्छ ।

    त्यसैगरी पितृपक्षभित्रै दिवङ्गत भएका पितृको भने सोही तिथिमा गरिने श्राद्धलाई ‘एकोपार्वण’ भनिन्छ । एकोपार्वणमा एकोदिष्ट (दिवङ्गत तिथिमा सम्बन्धित पितृलाई पिण्ड दिइने) श्राद्ध र पार्वण विधिसमेत गाभिने हुँदा यसलाई ‘एकोपार्वण’ भनिएको पण्डित झाको भनाइ छ । मिथिलामा सामान्यतया पितृपक्षको तर्पण र श्राद्ध तीर्थमा गरिने चलन छ । टाढा तीर्थस्थल जान नसक्नेहरू आफ्नो बस्ती नजिकको पवित्र जलाशयमा गई पितृ तर्पण गर्छन् ।

    मिथिलामा पितृपक्षका सबै दिन तर्पण दिने चलन छ । यो परम्पराले आज महोत्तरीका धार्मिक महत्वका नदी र तलाउ तटमा पहिलो दिनको देवर्षि तर्पण दिनेहरू भरिभराउ छन् । जलेश्वरस्थित भृगु ऋषिको आश्रम नजिकको भार्गवसर, जलेश्वरनाथ महादेव मन्दिर परिसरका वरुण र पुरन्दर सर, मटिहानीस्थित लक्ष्मीसागरसहितका पवित्र तलाउ, रातु, मरहा, बाँके र कुटमेश्वरीसहितका नदी तटमा सामूहिक तर्पण दिनेको भीड भएको हो । यी धार्मिकस्थलमा एक पुरोहितले नै सामूहिक सङ्कल्प पढेर तर्पण गराउँछन् ।

    असोज कृष्णपक्षको अवधिलाई पितृपक्ष (मैथिली बोलीचालीमा पितरपक्ष) र सोह्रश्राद्ध भनिने गरिएको छ । यसपक्षमा पितृहरु (दिवङ्गत आफन्त) स्वर्गबाट पृथ्वीमा ओर्लने विश्वास गरिन्छ । पृथ्वीमा ओर्लेका पितृले सन्तानले दिएको तर्पण र पिण्ड सोझै ग्रहण गर्ने विश्वासले यस अवधिमा तर्पण र श्राद्ध गरी पिण्ड दिने परम्परा चलेको राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउँछन् ।


    पितृपक्षमा बर्दिबास नगरपालिका–५ को टुटेश्वरनाथ महादेव मन्दिरसँगैको मरहा नदी तट, बर्दिबास–३ को राइमण्डल धार्मिक क्षेत्र र रातु, मरहा एवं ओक्सीलगायतका नदीतटमा तर्पण दिने यजमान (श्राद्ध गर्ने कर्ता) लाई सङ्कल्प पढाउन पुरोहितको व्यस्तता पनि निकै बढेको देखिन्छ । कर्तापिच्छे गोत्र, नाउँ र पितृहरूको फरकफरक सङ्कल्प पढ्नुपर्ने भएकाले पुरोहितलाई धपेडी पर्ने गर्छ ।

    पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ (दिवङ्गत परिवारजन) त्रिप्त हुन्छन् भन्ने विश्वासले हिन्दू मैथिल पितृपक्षमा तीर्थस्थलमा श्राद्ध गर्न पुग्छन् । यस पक्षमा पितृपक्ष (पितातर्फ) र मातृपक्ष (मावलीपक्ष)सँगै गुरु, दिवङ्गत राष्ट्रप्रमुख र नजिकका अन्य दिवङ्गत नातेदारलाई तर्पण र पिण्ड दिने चलन छ ।


    मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथिका श्राद्ध गरिने भएकाले यसलाई ‘सोलहसराद’ (सोह्रश्राद्ध) पनि भन्ने गरिन्छ । पूर्णिमा तिथिको पार्वण श्राद्ध पनि औँसीका दिन गरिने भएकाले पक्ष १५ दिनकै भए पनि श्राद्धचाहिँ १६ तिथिका गरिने चलन छ ।

    दसैँं, तिहार र छठजस्ता मुख्य चाडवाडअघि पितृहरूको स्मरण गर्नाले पारिवारिक विघ्न नपर्ने र पितृ तृप्त हुने विश्वास गरिन्छ । यी पर्वबाहेक घरमा आयोजन गरिने माङ्गलिक कार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादिसहितका शुभकार्य) अघि पनि पितृहरूलाई तृप्त गराउन नानीमुखी श्राद्ध र सप्तमातृकाको पूजा गर्ने हिन्दू वैदिक परम्परा रहेको भङ्गाहा–५ का बासिन्दा मैथिल कर्मकाण्डी पुरोहित चन्द्रकान्त झा बताउनुहुन्छ ।

    वर्षका अन्य बेला गरिने शुभकार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादि) अघि नान्यमुखी श्राद्ध गरेर कार्य निर्विघ्न सम्पन्न होस् भन्ने कामनाजस्तै दसैँ, तिहार र छठपर्वको मुखमा पितृहरूलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको झाको कथन छ । हिन्दू परम्परामा पितृपक्षभरि पितृहरू स्वर्गलोकबाट विचरण गर्न मत्र्यलोक (पृथ्वी) झर्ने भएकाले आफ्ना सन्तानले यस पक्षमा दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ ।

  • भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा मेला

    भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा मेला

    २२ भदौ, काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि राजधानीको पश्चिमोत्तर भेगस्थित चन्द्रागिरि नगरपालिका वडा नं १ मा रहेको इन्द्रदहमा मेला लागेको छ । भाद्र शुक्ल चतुर्दशीका दिन शनिबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाएका भक्तजन राति इन्द्रदहमा जाग्राम बस्न जाने परम्परा छ । यो परम्पराअनुसार शनिबार राति नै भक्तजन इन्द्रदह पुगी दिवङ्गत आफन्तका नाममा बत्ती बालेर जाग्राम बसेका थिए ।

    शनिबार राति दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै इन्द्रदह परिसरमा रहेको इन्द्रको मन्दिर क्षेत्रमा बत्ती बालेका भक्तजनले बिहानै इन्द्रदहमा स्नान गरी गणेश, इन्द्रलगायत देवीदेवताको पूजा आराधना सुरु गरेका छन् । चन्द्रागिरि नगरपालिका–१ मा पर्ने यो धार्मिकस्थल प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन लाखौँ भक्तजन पुग्ने गरेका छन् । दिवङ्गतहरू स्वर्ग पुग्ने भएकाले त्यहाँका राजा इन्द्रको विशेष पूजा आराधना गरिने यो अवसरमा इन्द्रदहमा बत्ती बाल्ने, स्नान गरी पूजा आराधना गरे शान्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ ।

  • आज न्वांगी पर्व मनाउँदै चेपाङ समुदाय

    आज न्वांगी पर्व मनाउँदै चेपाङ समुदाय

    २२ भदौ, मुग्लिन । चेपाङ समुदायले आज न्वांगी (छोनाम) पर्व मनाउँदैछन् । सो समुदायले राष्ट्रिय एवं धार्मिक पर्वका रूपमा न्वांगी (छोनाम) पर्व हरेक वर्ष भदौ २२ गते सामूहिक रूपमा मनाउँदै आएका छन् । न्वांगी पर्व भदौ महिनाभरि नै मनाउने भए पनि २२ गते भने सामूहिक रूपमा भेला भएर विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउँदै आएका छन् ।

    यस वर्ष चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा देशभरका चेपाङ एकै ठाउँमा भेला भएर न्वांगी मनाउन लागिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए । उनका अनुसार चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वांगीलाई उत्सवका रूपमा मनाउने गरिएको छ ।

    उक्त उत्सवमा सहभागी हुन नपाउनेले आआफ्नो घर र टोलटोलमा मनाउने गर्छन् । भदौ २२ गते सामूहिक रूपमा न्वांगी मनाउँदै आए पनि आफ्नो कूलअनुसार चेपाङ समुदायले भदौ महिनाभरि नै न्वांगी मनाउने परम्परा रहेको छ । उनले भने, “हामीले भदौ २२ गते न्वांगीलाई राष्ट्रिय रूपमा सामूहिक मनाउँदै आएका छौँ, हाम्रो जातिमा पनि विभिन्न थर हुन्छन् उहाँहरूको कूलअनुसार भदौको पूर्णिमादेखि भदौ महिनाभरि नै मनाउने गरिन्छ ।” उहाँका अनसार चेपाङ जातिका ६४ वटा थर रहेका छन् ।

    चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वांगी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि रहेको उनले बताए । न्वांगीमा चेपाङ झाँक्री ९पान्दे०ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । न्वांगी चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको पर्व हो ।

    राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा चेपाङको सङ्ख्या ८४ हजार ३६४ जना छन् । चेपाङ समुदायका मानिसहरूको २६ जिल्लामा बसोबास रहेको पाइन्छ । चितवनमा मात्र चेपाङको सङ्ख्या ३५ हजार ६३७ छ । यसपछि मकवानपुरमा २३ हजार ६५०, धादिङमा १७ हजार १६० र गोरखामा चार हजा २६८ जना रहेको जनगणना २०७८ को तथ्याङ्कले देखाएको छ ।

    चेपाङहरूको राष्ट्रिय पर्व न्वांगीका अवसरमा बागमती प्रदेश सरकारले २०७९ सालदेखि चितवन, मकवानपुर र धादिङ गरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा दिँदै आाएको अध्यक्ष चेपाङले बताए । साथै गोरखाको गण्डकी गाउँपालिकाले पनि सार्वजनिक बिदा दिँदै आएको छ । चेपाङ समुदायले राष्ट्रिय पर्वका रूपमा आफ्नो घरघर र टोलमा मनाउँदै आएको न्वांगी पर्वलाई नेपाल चेपाङ सङ्घको अगुवाइमा २०६३ सालदेखि भने भदौ २२ गते सामूहिक रूपमा मनाउँदै आएका छन् ।

  • लुम्बिनी भ्रमणमा भारतीय प्रधानन्यायाधीश गवई

    लुम्बिनी भ्रमणमा भारतीय प्रधानन्यायाधीश गवई

    २१ भदौ, लुम्बिनी । भारतका प्रधानन्यायाधीश भुषण रामकृष्ण गवईले आज भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । न्यायपालिकाको सर्वोच्च जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो नेपाल यात्रा हो । लुम्बिनी आगमनलाई उनले विशेष आध्यात्मिक अवसरका रूपमा लिएको बताएका छन् । गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा, सदस्य–सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य श्याम रोक्का, वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईसहित कोषका अधिकारी तथा कर्मचारीहरूले स्वागत गरेका थिए ।

    भ्रमणका क्रममा गवईले लुम्बिनी क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्वबारे जानकारी लिए । उनले मायादेवी मन्दिर परिसरमा पुगेर बुद्ध जन्मस्थल अवलोकन गर्दै सूत्रपाठ गरे । विश्व शान्ति, मानव कल्याण, नेपालको प्रगति र भारत–नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गर्दै दियो प्रज्वलनसमेत गरे । लुम्बिनी भ्रमणपछि गवईले लुम्बिनी विकास कोषका पदाधिकारीहरूसँग गुरुयोजना र हाल सञ्चालनमा रहेका विकास–निर्माणका गतिविधिबारे चासो देखाए ।

    उनले लुम्बिनीलाई अन्तरराष्ट्रियस्तरमा थप प्रचारप्रसार गर्न नेपालले गरेको प्रयासको प्रशंसा गरे । यस क्षेत्रमा भारतको सहकार्य निरन्तर रहने विश्वास उनले व्यक्त गरे । प्रधानन्यायाधीश गवईलाई कोषका उपाध्यक्ष लामाले बुद्धको मूर्ति उपहार प्रदान गरे । उक्त कार्यक्रममा नेपाल र भारतका न्यायाधीश तथा विधिवेत्ताबीच आपसी अनुभव आदानप्रदान, न्याय क्षेत्रका चुनौती तथा सम्भावनाबारेसमेत छलफल गरिएको थियो । प्रधान न्यायाधीश गवईको यस भ्रमणले लुम्बिनीमार्फत नेपालको पर्यटन, सांस्कृतिक र धार्मिक महत्त्व अझै उच्चस्तरमा पुग्ने विश्वास लिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

  • राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

    राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

    २१ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल न्यूरोडस्थित जुद्ध सालिकबाट पैदलमार्फत वसन्तपुर दरबारस्थित गद्दी बैठक पुगेका थिए । विसं २०८० देखि राष्ट्रपति पौडेल इन्द्रजात्रा अवलोकनका क्रममा जुद्ध सालिकबाट पैदलमार्फत गद्दी बैठक जान थालेका छन् । उनीसँगै अन्य विशिष्ट व्यक्तित्वहरू पनि पैदलमार्फत गद्दी बैठक पुग्नुभएको उहाँका प्रेस संयोजक खिला कार्कीले राससलाई जानकारी दिए ।

    जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णप्रसाद पौडेललगायत मन्त्रीगण, उपसभामुख इन्दिरा राना, सांसदहरू, प्रदेशसभा सदस्यहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी भए ।

    जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा फूलमाला एवं दक्षिणा चढाएर यात्रा गराउने अनुमति दिनुभएको थियो । त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा सुरु गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन बिहीबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो ।

    आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान धार्मिक एवं सांस्कृतिक सम्पदा शाखाका प्रमुख राजेन्द्र दाहालले राससलाई जानकारी दिए । उनका अनुसार आइतबार माथिल्लो टोलमा रथयात्रा गराइने छ । भदौ २६ गते बिहीबार महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार जानुभई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ ।

    टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत रहेको छ । भदौ २६ गते राति १०ः३२ बजे इन्द्रध्वज पातन गरेपछि दुई साताभन्दा लामो इन्द्रजात्रा समाप्त हुनेछ । इन्द्रध्वज पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई स्थानीयवासीले घिसार्दै लगी टेकु दोभानस्थित बागमती किनारमा पु¥याएर सेलाउने परम्परा रहेको धार्मिक एवं सांस्कृतिक सम्पदा शाखाका प्रमुख दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु भएको थियो । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेशलगायत विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ । इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो ।

    वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजाआजा गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाचलगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो ।

  • चाडबाड लक्षित सहुलियत पसल भदौ ३० गतेदेखि

    चाडबाड लक्षित सहुलियत पसल भदौ ३० गतेदेखि

    १८ भदौ, काठमाडौं । आसन्न चाडपर्व लक्षित गरी भदौ ३० गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरिने भएका हुन् । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख शिवराम पोखरेलका अनुसार सहुलियत मूल्य पसल सञ्चालनका लागि खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङलाई परिपत्र भइसकेको छ ।

    खाद्य व्यवस्था कम्पनीले सञ्चालन गर्ने सहुलियत मूल्य पसलमा सबै किसिमको चामल तथा दाल, गहुँ, चिनी र गेडागुडीमा प्रतिकिलो रु पाँच छुट हुनेछ । त्यसैगरी चिउरा, आटा, पिठो, मैदामा प्रतिकिलो रु सात छुट पाइनेछ । खानेतेलमा पनि प्रतिलिटर रु सात छुट दिइने जनाइएको छ । कर्णालीका रैथाने उत्पादनहरू जुम्ली मार्सी चामल, कागुनो, चिनो, सिमी, उवा र तितेफापरमा प्रतिकिलो रु १० छुट हुनेछ । जिरा, धनिया, चियापत्ती र जिउँदो खसी बोका तथा च्याङ्ग्राको मूल्यमा प्रतिकिलो रु १० छुट पाइनेछ । खाद्य व्यवस्था कम्पनीले विभिन्न ४६ वटा जिल्लामा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ ।

    साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौँ उपत्यकामा तीनवटा घुम्ती पसलसहित १५ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ । उपत्यकाबाहेक विभिन्न जिल्लामा साल्ट ट्रेडिङले सहुलियत सुविधा उपलब्ध गराउनेछ । साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो रु दुई, चिनीमा प्रतिकिलो रु पाँच, तेलमा प्रतिलिटर रु सात र चिउरा, दाल, पिठो तथा मैदामा प्रतिकिलो समान रु सात छुट दिनेछ ।

    यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रूपमा उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ । चाडबाडका समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

  • ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

    १७ भदौ, ढोरपाटन । एकदशक अघिसम्म ढोरपाटनवासीले बजारबाट सामान ढुवानी गर्न र यात्रा गर्न घोडा खच्चडको प्रयोग गर्दथे । ढोरपाटनमा सडक विस्तार भएर मोटर गुड्न थालेपछि घोडा खच्चड कामविहीन भएका थिए । कामविहीन भएपछि धेरैले घोडा खच्चड पाल्न छोडे भने पाल्दै आएका किसानलाई पनि बेच्न पाए हुन्थ्यो भन्ने लागेको बताउँछन् । बेकामे बनेका घोडा खच्चड बिक्री नहुँदा किसान चिन्तित भएका किसान पछिल्लो समय ढोरपाटनमा पर्यटक बढ्न थालेपछि घोडा व्यवसाय फस्टाउँदै छ ।

    ढोरपाटनमा आउने पर्यटकले घोडामा सवार गर्न, तस्बिर तथा भिडियो खिच्नका लागि घोडा सवार गर्न थालेपछि पहिले बिक्री गरेका किसानले अहिले धमाधम किन्न थालेका छन् । पहिले बेकामे बनेका घोडा अहिले आम्दानीको स्रोत बन्न थालेका व्यवसायीको भनाइ छ । पर्यटकको चाप बढ्दै गएपछि अहिले घोडा व्यवसाय पनि फस्टाउन थालेको ढोरपाटन नगरपालिका ९ का खिमबहादुर विकले बताए । उपत्यकाबाट बुकीपाटनसम्म जानआउन रु चार हजारदेखि पाँच हजारसम्म लिने गरेको उनको भनाइ छ । घोडा चढेर चौरमा फोटो तथा भिडियो खिचेको रु ५० देखि रु १५० लिने जनाउँदै अहिले ढोरपाटनमा धेरैले घोडा किन्न थालेका उनले बताए ।

    “करिब १०(१५ वर्ष अगाडि ढोरपाटनमा घोडा खच्चड नहुने कोही थिएनन्, धेरैले सामान ढुवानी गरेर जीविकोपार्जन गर्थे, टाढाटाढाबाट अप्ठ्यारो बाटोमा घोडा खच्चडले भारी बोकेर ल्याउनेरपुर्‍याउने गर्थे”, उनले भने, “केही वर्ष घोडा खच्चड पालेँ पनि आम्दानी नभएपछि पाद्यन छोडिएको थियो । अहिले दुई–चार जना पर्यटक बोके पनि कमाइ हुन्छ ।”

    ढोरपाटन पुग्ने पर्यटकले उपत्यकासहित बुकीपाटन, निसेलढोर र जलजलासम्म घोडामा जाने गर्छन् । पहिले ढोरपाटनमा उत्पादन भएको आलु, स्याउ, सिमीलगायत वस्तु बजार पुर्‍याउने र बजारबाट अन्य खाद्यान्न ल्याउने घोडा खच्चडले अहिले पर्यटक बोक्न थालेका घोडा व्यवसायी धनराम विकले बताए । अहिले गाडीमार्फत सामान ढुवानी गरे पनि गाडी नपुग्ने स्थानमा घोडाको प्रयोग हुने विकको भनाइ छ । उनका अनुसार पहिले एउटै किसानले दुई दर्जन बढीसम्म घोडा पाल्ने गरे पनि अहिले भने कम पाल्न थालेका छन् ।

    व्यवसायीले घोडा चढाएबापत बढी शुल्क लिने गरेको गुनासो पनि आउने गरेको छ । घोडामा चढेर एकपटक फोटो खिच्दा रु ३०० तिर्नु परेको ढोरपाटन घुम्न आउनुभएका कुलदीप तामाङले बताउनुभयो । सुरुमा रु १०० भने पनि व्यवसायीले अन्तिममा रु ३०० मागेका उहाँको गुनासो छ । पर्यटकबाट बढी शुल्क असुल्ने व्यवसायीलाई कारबाही गर्नुपर्नेमा तामाङले जोड दिए ।


    ढोरपाटनमा पछिल्लो समय दैनिक २०० बढी पर्यटक पुग्ने गरेका छन् । बर्खामा वनफूलसँग रमाउने र हिउँमा हिउँ खेल्न ढोरपाटन आउने पर्यटकको सङ्ख्या बढ्दै गएको हो । ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार आर्थिक वर्ष २०८०–८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेकामा आव २०८१–८२ मा पर्यटकको सङ्ख्या आठ हजारले बढेर २३ हजार ६९२ पुगेको छ ।

  • कांग्रेस सभापति देउवा निवासमा मनाइयो गौरा पर्व

    कांग्रेस सभापति देउवा निवासमा मनाइयो गौरा पर्व

    १५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सुदूरपश्चिमको प्रमुख गौरा पर्व मनाइएको छ ।
    पर्वका अवसरमा सभापति देउवाका धर्मपत्नी एवं परराष्ट्रमन्त्री डा आरजु राणा देउवालगायत सुदूरपश्चिम घर भइ काठमाडौँमा रहेका महिलाले गौराको मूर्तिलाई पार्वतीको प्रतिकका रूपमा पूजा गरे । साथै उनीहरुले देउडा गीत गाउँदै नाच्दै एकापसमा रमाइलो गरे ।

    सो अवसरमा सभापति देउवासँग भेट गरी सङ्घीय मन्त्री, मुख्यमन्त्री, सांसदलगायत सुदूरपश्चिम घर भइ काठमाडौँमा रहेका विभिन्न पेशा र क्षेत्रका व्यक्तित्वले शुभकामना आदानप्रदान गरे । परराष्ट्रमन्त्री डा राणाले धार्मिक अनुष्ठान एवं विशेष पूजाआजासहित शनिबार निवासमा गौरा भित्र्याए । हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजासहित गौरा भित्र्याउने गरिन्छ । विभिन्न वनस्पतिबाट बनेको गौराको मूर्तिलाई देवी पार्वतीको प्रतिकका रूपमा धार्मिक अनुष्ठानका साथ गौरा घर एवं मन्दिरमा भित्र्याउने चलन छ ।

    भाद्र शुक्ल पञ्चमीको बिरुडा पञ्चमीबाट सुरु भई अष्टमीसम्म गरिने गौरा पूजामा महिला निराहार व्रत बसी शिव र गौरीको पूजाअर्चना गर्ने गर्छन् । गौरा पर्व महिलाले सौभाग्य, सुख, शान्ति र समृद्धिका लागि गरिने धार्मिक अनुष्ठान रहेको विश्वास गरिन्छ । गौरा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा विशेष रूपमा मनाउने गरिन्छ ।

    पौराणिककालमा भगवान् शिव महेश्वरको प्राप्तिका लागि गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । यही बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनामा यो पर्व मनाउने परम्परा रही आएको हो ।

  • सुदूरपश्चिममा गौरापर्वः आज मुख्य दिन अठ्यावाली

    सुदूरपश्चिममा गौरापर्वः आज मुख्य दिन अठ्यावाली

    १५ भदौ, बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्ने चलन रहिआएको पण्डित जयानन्द भट्टले बताए ।

    बर्तालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरिका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका छन् । हिजो गौरादेवीमा चढाएको दुबधागो (मन्त्रिएको एक किसिमको धागो) पनि आजै महिलाहरूले धारण गर्ने गर्दछन् । तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै यहाँका महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने गर्दछन् ।

    गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लग्ने गरिन्छ । सोही खलामा महिलाले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ । गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायत प्रसङ्ग बर्तालु महिलाले फागमार्फत नै भन्ने गरेका छन् । बर्तालुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन् । पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् ।

    महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख, शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता रहेको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए । सुदूरपश्चिमेलीहरूले दसैँभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउने गरेका छन् । त्यसैले गौरामा परदेशिएकाहरू पनि घर फर्किने गरेका छन् । गौरामा विवाहित चेलीहरू पनि माइत आउने चलन छ ।

    यसैबीच गौरापर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार सार्वजनिक बिदा दिइएको छ । सरकारले आइतबार भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते सोमबार गौरापर्वको बिदा दिएपछि सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा कायम भएको हो ।

  • गौरापर्वले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा योगदान गरेको छः राष्ट्रपति पौडेल

    गौरापर्वले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा योगदान गरेको छः राष्ट्रपति पौडेल

    १५ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौरापर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, सद्भाव, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

    गौरापर्व, २०८२ को शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले यस्ता पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी परिवार तथा समाजलाई जोड्दै राष्ट्रिय एकता सुदृढ पार्न सहयोग गर्ने उल्लेख गरे । उनले गौरापर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे ।


    हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालका मुलतः पश्चिमी क्षेत्रमा विशेष रूपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपति पौडेलले स्मरण गरे । यस पर्वमा शिव र पार्वती (गौरा) को पूजाअर्चना गरी व्रत बस्ने गरिन्छ, जसको फलस्वरूप शिव र पार्वती तथा इष्ट र कूलदेवता प्रसन्न भई सुख, शान्ति, दीर्घायु र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । यस पर्वमा पाँच वा सोभन्दा बढी प्रकारका गहुँ, धान, केराउ, मास र गहतजस्ता अन्नबाट बनेको ‘बिरुडा’ अर्पण गरी प्रसादका रूपमा ग्रहण गरेर मानवीय जीवन, कृषि संस्कृति र पारिवारिक समृद्धिको कामना गरिन्छ ।

    “यस पर्वका अवसरमा स्थानीयहरू गोलबद्ध भई लोक भाषामा देउडा, धमारी र चैत आदिका माध्यमबाट एकअर्काका दुःख, सुख बाँड्ने गर्दछन् । यस पर्वले बिछोडिएका जोडीहरूको मिलन हुने, आपसी भाइचाराको सम्बन्धमा वृद्धि हुने र पतिपत्नीबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास रहेकाले यसलाई धुमधामपूर्वक मनाउने चलन रहिआएको देखिन्छ”, राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

    हाम्रो समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्ने राष्ट्रपति पौडेलले बताए । उनले गौरापर्वको महत्वका बारेमा प्रष्ट पार्दै भन्नुभएको छ, “यस्ता पर्वले परिवार र समाजलाई जोड्दै राष्ट्रिय एकता सुदृढ पार्न, संस्कृतिको संरक्षण गर्न तथा आध्यात्मिक आस्था र मानवीय जीवनको सुख, शान्तिका लागि सहयोग पुर्याउँदै आएका छन् भन्ने मलाई लाग्दछ ।”

  • भाद्र शुक्ल अष्टमी : धनधान्यकी देवी महालक्ष्मीको विशेष आराधना गरिँदै

    भाद्र शुक्ल अष्टमी : धनधान्यकी देवी महालक्ष्मीको विशेष आराधना गरिँदै

    १५ भदौ, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमी अर्थात् आजैका दिनदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गर्दैछन् । धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । आजदेखि १६ दिन अर्थात् आश्विन कृष्ण सप्तमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ । यस वर्ष भदौ २४ गते बुधबारसम्म यो व्रत गरिन्छ । यो व्रतका क्रममा ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ ।

    प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एक पटकमात्र नुन खाएर महालक्ष्मी व्रत गरिन्छ । सोह्र दिनसम्म प्रत्येक दिन बेलुकी चन्द्रमालाई अघ्र्य दिने गरिन्छ । यसरी व्रत गरेमा धन, सम्पत्ति, वैभव प्राप्त हुने विश्वास छ । यो व्रत विशेष गरेर नारीले गर्ने गरेका छन् । यो व्रतले घरमा महालक्ष्मीको बास भई दुःख दारिद्रय नाश भई सुख, शान्ति मिल्ने धार्मिक विश्वास छ ।

    साक्षात् भगावन् शङ्करले यो व्रत विधि भगवती पार्वतीलाई बताउनुभएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले राससलाई जानकारी दिए । यो व्रतका प्रभावले मृत्युपछि पनि दिव्यधाम प्राप्त हुने, अलक्ष्मी नाश हुनेछ । देवराज इन्द्रले समेत महालक्ष्मीको व्रत एवं पूजा आराधना गरी महालक्ष्मी अष्टकम् नामक स्तोत्रसमेत रचना गरेको महालक्ष्मी व्रत विधिमा उल्लेख गरिएको छ । बिहान, मध्याह्न र साँझसमेत तीनपटक महालक्ष्मी अष्टकम् पाठ गरेमा धनधान्य, सुख, वैभव प्राप्त गर्नुका साथै शत्रुसमेत नाश हुने उनले बताए ।
    प्रत्येक वर्ष भाद्र शुक्ल सप्तमीदेखि आश्विन कृष्ण सप्तमीसम्म १६ दिन, आश्विन शुक्ल पूर्णिमा र कार्तिक कृष्ण आमावास्या गरी तीनपटक विशेष रूपमा महालक्ष्मीको पूजा आराधना गर्ने वैदिक परम्परा छ । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको दुर्गा पक्षका क्रममा पनि महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि पूजा आराधना गरिन्छ ।

  • सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु हुँदै

    सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु हुँदै

    १२ भदौ, बैतडी । सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा आजदेखि सुरु हुँदैछ । यो पर्व चार दिनसम्म सञ्चालन हुने गरेको छ । विशेष गरेर सुदूरका पहाडी समुदायमा मनाइने गौरालाई दसैँभन्दा पनि बढी महत्व दिने गरिएको छ । भाद्र कृष्ण वा शुक्ल पक्षमा मनाइने गौरा पर्व यो वर्ष भाद्र शुक्ल पक्षमा परेको पण्डित जयानन्द भट्टले बताए । पौराणिककालमा भगवान् शिव महेश्वरको प्राप्तिका लागि गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । यही बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनामा यो पर्व मनाउने परम्परा चल्दै आएको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए ।


    यो पर्वमा खास गरेर विवाहित महिलाले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । यस पर्वको पहिलो दिन घर–घरमा तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ । गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रम आयोजना गरेर मनाइन्छ । पहिलो दिन महिलाहरूले निराहार रही आआफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गहँु, केराउ, गहत, मास र गुरुस मिसाएर तामाका भाडामा भिजाउँछन् । यी पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ ।

    दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभमुहूर्तमा सामूहिक रूपमा बिरुडा धोइन्छ । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठमन्दिरमा डालोमा स्थापना गर्ने चलन छ । गौरा भित्र्याएर पूजाअर्चना गरी महिलाहरूले दुबधागो चढाउने प्रचलन छ । चौथो दिन गौराष्टमीका दिन व्रत बसेर महिलाले बिहानैदेखि गौराखलो (गौरा मनाउने स्थल) मा फाग गाएर पूजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितहरूले बताउने गरेका छन् । सोही दिन महिलाले प्रसादका रूपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने गर्छन् ।

    महिलाहरूले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख–शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता रहेको छ । गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ । गौराको मुख्य दिन अठ्यावालीपछि ठाउँ परिवेशअनुसार देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी र देउडा खेल्ने चलन रही आएको छ । यसैबीच, गौरा पर्व गाउँघरमा चहलपहल पनि बढेको छ । पर्व मनाउन रोजगारीका लागि देशबाहिर रहेकाहरू घर फर्किने थालेका छन् ।

  • अब ठूलो पर्दामा ‘हरिबहादुर’

    अब ठूलो पर्दामा ‘हरिबहादुर’

    १२ भदौ, काठमाडौं । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ । उनले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गर्नुभएको उक्त पात्रले समाजका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गर्दै दर्शकको मन जितेको थियो । यो पात्र धेरैका लागि बाल्यकालको अभिन्न हिस्सा बनेको छ । लामो समयदेखि सानो पर्दा र रङ्गमञ्चमा हराइरहेका ‘हरिबहादुर’ नामक पात्रलाई अब दर्शकले ठूलो पर्दा अर्थात् चलचित्रमा देख्न पाउनेछन् ।

    गएको वैशाखमा प्रदर्शन भएको चलचित्र ‘भूठान’ मा गम्भीर पात्रमा देखिएका अभिनेता आचार्यले आगामी चलचित्र ‘हरिबहादुरको जुत्ता’ मार्फत दर्शकलाई हँसाउन र मनोरञ्जन प्रदान गर्न ‘हरिबहादुर’ बनेर प्रस्तुत भए । बुधबार चलचित्रको श्रव्यदृश्य (टिजर) सार्वजनिक गर्दै उनले समसामयिक विषयमा रमाइलो चलचित्र तयार भएको बताए । आचार्यले भने, “भूठान चलचित्रमा काम गरेपछि त्यस्तै किसिमको भूमिका मात्र गर्छ कि भन्ने पनि रहेछ, तर म सबै किसिमको पात्रमा काम गर्न चाहन्छु । ‘हरिबहादुरको जुत्ता’ मा मलाई रमाइलो पात्र निर्वाह गर्दै गरेको देख्न सक्नुहुनेछ ।”

    अभिनेता आचार्यले नै पटकथा तथा संवाद लेखेको चलचित्रको ‘कन्सेप्ट’ का विषयमा चर्चा भएपछि चलचित्रको स्वरूप लिएको रहेछ । “मैले सरोज भाइ (गायक सरोज ओली) लाई चलचित्रको विषय सुनाएको थिएँ, उहाँ नै निर्माणमा अग्रसर भएपछि चलचित्र तयार भएको छ । यसले पर्दामा देखिने पात्रसँग दर्शकलाई जोड्छ भन्नेमा विश्वत छु”, उनले भने ।


    अभिनेता आचार्यले उक्त चलचित्र आउँदो दसैँलाई लक्षित गर्दै असोज १३ गते प्रदर्शन हुने जानकारी दिए । निर्देशक दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको यस चलचित्रमा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, सीता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारले अभिनय गरेका छन् ।


    गायकद्वय सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको चलचित्रमा कृष्णबहादुर थापाले छायाङ्कन, नकुल खड्काले सम्पादन, वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतले सङगीत सिर्जना गरेका छन् ।